Category: मनोरञ्जन

  • ऐतिहासिक नमोबुद्ध जात्रा सुरु

    ऐतिहासिक नमोबुद्ध जात्रा सुरु

    काभ्रेपलाञ्चोक, १८ कात्तिक । नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज साँझदेखि जात्रा सुरु भएको छ । जात्राअन्तर्गत आज साँझदेखि बौद्ध धर्मालम्बीले नमोबुद्धमा पितृको सम्झानामा ‘दीप प्रज्वलन’ गर्दछन् । कात्तिक शुक्लपूर्णिमा तिथि अर्थात् बुधबार दिनभरसमेत बत्ती बाल्ने गरिन्छ । जात्राअन्तर्गत रातिदेखि शनिबार बिहानसम्म मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गर्नेको पनि उत्तिकै भीड लाग्ने गर्दछ ।

    नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा दीप प्रज्वलन गरिन्छ । लामा अनसार बत्ती बाल्नाले पितृलाई वर्षभरी उज्यालो हुने मान्यता अनुसार यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ । पितृमोक्ष तथा आत्मा शान्तिका लागि बत्ती बाल्ने गरिएको लामाको भनाइ छ ।

    पूर्णिमाको दिन भने शान्तिका प्रतिक गौतमबुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन मानिने भएकाले उक्त दिनमा भने विशेष ठूलो भीड लाग्ने गर्दछ । किंबदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको स्थान मानिन्छ ।

    द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मालम्बीको निकै ठूलो भीड लाग्ने गर्दै आएको हो । मेलामा बर्सेनि करिब ५० हजारले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    विशेषगरी तामाङ र नेवार समुदायका धर्मालम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामा गुरु कान्छा लामा बताउँछन् । उनका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो ।

    पाँच डमरु जन्माएका बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको कथन छ । लामा गुरुकाअनुसार राजकुमारले बघिनिलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताएका थिए । तत्पश्चात राजारानी शङ्खेश्वरी अजि–अजिमाको नामले चिनिँदै आएको उनले बताए । संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ ।

    उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँंले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति छ । जात्रा–मेला बाहेक पनि नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने स्थानीय राकेश लामाले बताए । मेलामा यसवर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहने अनुमान गरिएको छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालन हुँदै आएको छ ।

  • धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘ऋषिकेश’

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘ऋषिकेश’

    रासस
    तानसेन, १८ कात्तिकः यहाँको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्र (रिडी) मा रहेको ऋषिकेशलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालीगण्डकी नदीमा नुहाउने क्रममा भेटिएको शिला अर्थात् मूर्तिलाई कालीगण्डकी र रिडी खोलाको सङ्गम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् ।

    पाँच सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा हरिबोधनी एकादशीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा छ । यस वर्ष पनि ऋषिकेश भगवान्को रथयात्रा निकालिएको छ । देशका विभिन्न स्थानबाट आएका तीर्थयात्री, साधुसन्त र भक्तजनको यहाँ ठूलो उपस्थिति थियो । मन्दिरमा रथयात्राका दिनमात्रै करिब पाँच हजार भक्तजनले पूजाआजा गरेका छन् । अघिपछि पनि मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको पुजारी विवेक भट्टराईले बताए । उनका अनुसार ठूलो सङ्ख्यामा आएका भक्तजनले रथलाई रुरु क्षेत्रधामस्थित ऋषिकेश मन्दिर परिसरबाट रिडी बजार, ऋषिकेश क्षेत्र, अर्गली बजार क्षेत्रमा परिक्रमा गराई भगवान्को दर्शन पूजाआजा गरेका थिए ।

    रुरु क्षेत्रधामलाई ‘नेपालको चारधाम’मध्ये एक मानिन्छ । यहाँको धार्मिक महत्त्व विष्णु भगवान्को अवतार ऋषिकेशसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार रुरु क्षेत्रको रिडीमा स्नान गरी भगवान् ऋषिकेशको दर्शन गरे पापकर्म नाश भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले जानकारी दिए ।


    यहाँ वर्षभरि तीर्थयात्रीको आगमन हुने गरेको छ । विशेषगरी माघेसङ्क्रान्ति र ऋषिकेश रथयात्राका अवसरमा हजारौँ सङ्ख्यामा भक्तजन जम्मा हुने गर्छन् । हालका वर्षमा रुरु क्षेत्रलाई धार्मिक पर्यटनस्थलका रूपमा विकास गर्न स्थानीय सरकार, धार्मिक गुठी संस्था र विभिन्न सङ्घसंस्थाले पहल गरेका छन् ।

    मन्दिर पुनःनिर्माण, तीर्थपथ सुधार, खानेपानी र सरसफाइजस्ता आधारभूत संरचना विस्तारसँगै रुरुक्षेत्र अहिले आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको स्थानीयवासी कमल खनालले बताउनुभयो । यो रथयात्रा केबल धार्मिक श्रद्धाको प्रतीक मात्र नभई सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ । ऋषिकेश भगवानको रथयात्राका लागि तानसेन नगरपालिकाले स्थानीय बिदासमेत दिने गरेको छ ।

  • मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका पुस्ता

    मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका पुस्ता

    राष्ट्रिय समाचार समिति
    १६ कात्तिक, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ लेडाहाका ७० वर्षीय दुलामणि गुरौ केही वर्षदेखि मेडरी नाच युवाहरूलाई सिकाउँदै आएका छन् । थारू समुदायको पौराणिक महत्त्व बोकेको मेडरी नाच लोप हुन थालेपछि दुलामणिसँगै पाका पुस्ता यसको संरक्षणमा जुटेका हुन् ।
    थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान थालेपछि पाका पुस्ताले नाच संरक्षणका लागि कला, सीप हस्तान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन् । दुलामणि गुरौले अहिले मेडरी नाच समूहको नेतृत्वसँगै नाचको संरक्षणका लागि नयाँ पुस्तालाई पनि सिकाउन थालेका हुन् । पुरानो पाको पुस्ताकाले मात्र मेडरी नाचको जगेर्ना गर्न सम्भव नभएकाले युवालाई पनि सिकाउने पहल गरिरहेको गुरौले बताए ।

    “मेडरी नाच्न धेरै जना हुनुपर्छ, अहिले धेरै हामी ७० वर्ष पार गरेका पाका पुस्ता छौँ, इच्छा देखाउने युवाहरूलाई पनि सिकाउँदै नाचमा जोडिरहेका छौँ”, उनले भने, “युवा पुस्तालाई यो नाचको महत्त्व बुझाउँदै सिक्न प्रेरित गरिरहेका छौँ ।” हरेक वर्ष हरिबोधिनी एकादशीका दिन मध्यविन्दु नगरपालिका–३ लेडाहादेखि कावासोती नगरपालिका–१५ गुन्द्रहीसम्म धार्मिक विधिअनुसार नाच्दै जाने गरिएको छ । महाभारतमा आधारित मेडरी नाच थारू समुदायको ऐतिहासिक नाचमध्येको एक रहेको मेडरी नाच नचनिया गुरौले बताए ।


    “मेडरी नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनिया गोलाकार रूपमा नाच्ने गरिन्छ”, उनले भने, “यो नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीता हरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाइँमा पाँच पाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ ।”

    थारू समुदायका अन्य नाच युवा पुस्ताले जगेर्ना गर्दै आए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको स्थानीय गेनाराम महतोले बताए । “दैवी शक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उनले भने, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ ।”

    महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताकासहितको ठूलो बाँसको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरबारको प्रयोग हुन्छ । यस नाचप्रति केही युवाहरूले चासो देखाएर सिक्न थालेको हुमबहादुर थनेतले बताए ।

    “यस नाचका लागि आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवाहरूमा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ”, थनेतले भने । थारू समुदायको लाठीनाच र झाम्टा नाचप्रति युवा पुस्ताको आकर्षण देखिए पनि मेडरी नाच अहिले पनि पाका पुस्ताकै भर पर्नुपर्ने अवस्था रहेको छ । थारू संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्त्व रहेको चुनिलाल थनेतले बताए । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्त्व बिर्सिँदै गएको उनको गुनासो छ ।

    “पहिलेपहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले मात्र नाच नचाउन गाह्रो हुन थालेको छ”, थनेतले भने, “अहिले केही युवाको सहभागिता बढ्न थालेको छ ।” थारू समुदायमा कृष्ण लीला र महाभारतमा आधारित मेडरी नाच मात्र देखाउने गरिएको छ भने सीता हरण नाच लोप हुने अवस्थामा पुगेको दुलामणि गुरौले बताए ।

  • हरिबोधिनी एकादशीः एक दिनमै २६ हजारले गरे चाँगुनारायण दर्शन

    हरिबोधिनी एकादशीः एक दिनमै २६ हजारले गरे चाँगुनारायण दर्शन

    भक्तपुर, कात्तिक १५ गते। भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन्। नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित एक हजार ८०० वर्ष पुरानो लिच्छवीकालीन ऐतिहासिक चाँगुनारायण मन्दिरको आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका हुन्। मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चारमध्येको जेठो नारायणका रूपमा मानिँदै आइएको चाँगुनारायण नगरपालिका–४ स्थित विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड घुइँचो लागेको बताए ।

    पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको जानकारी दिए । चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पुण्य प्राप्त हुने मान्यता रहेकाले यहाँ बिहानदेखि भक्तजनको घुइँचो लागेको उनको भनाई छ ।
    धार्मिक मान्यताअनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्तपछि थकित भगवान् विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान् विष्णु पुनः जागा हुने भएकाले यसलाई हरिबोधनी अर्थात् ‘हरि जागरण’को प्रतीकका रूपमा मानिने परम्परा रहँदै आएको छ ।


    आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नगर पर्ने र आशीर्वाद प्राप्त हुने जनविश्वास रहिआएको छ । चाँगुनारायण नगरपालिकाले यस वर्ष सञ्चालन गरेको नगरकोट भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमन वृद्धि गर्न नगरले मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । मन्दिरलाई सयपत्री फूलको मालाले सिङ्गारिनाका साथै रात्रिकालीन प्रहरका लागि झिलीमिली बत्तीले रौनक बनाइएको थियो ।


    मन्दिर आउने नाका तथा स्वागतद्वार सिङ्गारिएको बताउँदै उनले मेलाका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित बनाइएको उल्लेख गरे । नगरप्रमुख खत्रीले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँचवटा नाकाबाट मन्दिर आउन सक्ने गरी सडकको व्यवस्थापन गर्नाका साथै ट्राफिक व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरिएको जानकारी दिए ।


    हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको आज परम्पराअनुसार मठलाई सिङ्गारेर पूजा गरी माला लगाई दामोदरसँग विवाह गरिदिने परम्परा छ। आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सक्खरखण्डको परिकार खाने प्रचलनसमेत रहेको छ। त्यसैगरी चाँगुनारायण नगरपालिकाल–५ छालिङ गोकुल गाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा पनि बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ। नारायणका पूजा एवं दर्शन गर्न बर्तालुहरुको भीड लागेको स्थानीय गोकर्ण पुरीले जानकारी दिए । रासस

  • देशभरीका नारायण मन्दिरमा आज दिनभर भक्तजनको घुँइचो

    देशभरीका नारायण मन्दिरमा आज दिनभर भक्तजनको घुँइचो

    काठमाडौँ, कात्तिक १५ गते । हरिबोधिनी एकादशीको अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचङ्गुनारायण स्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना ठूला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको हो ।

    मन्दिरमा आज विशेष मेला लागेको छ । साथै नागार्जुन नगरपालिका –७ रामकोटस्थित बद्रीनारायण धाममा पनि मेला लागेको छ । यसैगरी तनहुँको व्यास नगरपालिका –९ स्थित सिद्धेश्वर राजापानी महादेव मन्दिरमा एकादशी मेला लागेको छ। काठमाडौँ उपत्यकाका चार नारायणस्थानमा जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थान र नारायणहिटीस्थित चतुर्बाहु नारायण मन्दिरको दर्शन गर्दा चार नारायणको दर्शन एवं पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यी दुवै मन्दिर शेषशायी भगवान् नारायण विराजमान हुनुहुन्छ ।

    बूढानीलकण्ठको नारायणस्थानमा ठूलो ढुङ्गामा निर्मित हर र हरि भगवानको यस्तो मूर्ति विश्वमा अन्यत्र कतै नभएको बताइन्छ । वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी, बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लागेको छ।

    प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको दिनलाई हरिबोधिनी एकादशी भनिन्छ ।

    हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रतगरी विशेष पूजा गर्दैआएकोमा आज दामोदरसँग तुलसीको विवाह गर्ने प्रचलन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठनजिकै विष्णुको प्रतीकका रुपमा निगालाका लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । रासस

  • आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    १५ कात्तिक, काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

    विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

    कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिन पनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।

    आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

    तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

    तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

    आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

    किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

    कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।

    आजका दिन धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । यसैगरी काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

    यसैगरी नारायणहिटस्थित चातुव्र्युह नारायणस्थानमा गई पूजा, आराधना एवं दर्शन गर्नाले पनि काठमाडौँ उपत्यकाका चारै नारायणस्थानमा पुगे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको मन्दिरका मठाधीश डा राजेश्वरानन्दले जानकारी दिनुभयो । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

    रासस

  • उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

    उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

    ११ कात्तिक, काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।

    काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरु छठ पर्व मनाइएको छ । यस वर्ष गुह्येश्वरी–गौरीघाट क्षेत्रमा मात्रै छठ पूजा गर्नेको सङ्ख्या पाँच लाख पुगेको छ । नेपालको तराई भेगका सबैजसो तलाउ आकर्षक रुपमा सजाइएका थिए । जहाँ भक्तिपूर्व यो पर्व मनाउने गरिन्छ ।

  • छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने छ : राष्ट्रपति

    छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने छ : राष्ट्रपति

    १० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
    छठ पर्व २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

    छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ ।

    छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास छ । राष्ट्रपति पौडेलले भनेका छन्, ‘सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।’

  • छठमा प्रधानमन्त्रीको शुभकामना : नेपालबीच एकता र सद्भावको खाँचो

    छठमा प्रधानमन्त्रीको शुभकामना : नेपालबीच एकता र सद्भावको खाँचो

    १० कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सूर्य आराधनाको महान् पर्व छठका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहन सबैलाई आग्रह गरेकी छन् । शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थामा सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो औंल्याएकी छन् । सत्य, अहिंसा र प्रकृतिप्रेममा अभिप्रेरित यो पर्वले तराई–पहाडबीचको सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्ने सेतुको काम गरिरहेको उनले उल्लेख गरेकी छन् ।

    उनको शुभकामना सन्देशमा लेखिएको छ, ‘छठसहित हाम्रा चाडपर्वहरू हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन् । अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझ बढी एकता र सद्भावको खाँचो छ ।’ प्रधानमन्त्रीले हालको राजनीतिक परिस्थितिलाई सन्तुलित बनाउँदै आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यमा जोड दिएकी छन् ।

    सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन भन्दै उनले आफ्ना अडान वा असन्तुष्टि भए पनि शान्तिपूर्ण रूपमा राखी आम जनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु नै लोकतन्त्रको सर्वोत्तम विधि भएको उल्लेख गरेकी छन् । प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई एक ‘राष्ट्रिय अनुष्ठान’ का रूपमा ग्रहण गरी सफल बनाउन सम्पूर्ण नागरिक, राजनीतिक दल र सरोकारवालालाई आह्वान गरेकी छन् ।

    ‘जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ,’ उनले भनेकी छन्, ‘सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ ।’ छठको सन्दर्भमा उनले पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारमा देखिने उत्सवका दृश्यहरूले नेपाली समाजमा सद्भाव र खुशी फैलाओस् भन्ने कामना पनि गरेकी छन् ।

  • आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै

    आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइदै

    १० कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।

    अस्ताउँदो सूर्यलाई अर्घ दिन राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंका विभिन्न स्थानमा पूजास्थल निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । यसले सामाजिक सद्भाव र एकता कायम गरेको छ।

    छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा पनि स्थापित भएको छ ।

  • छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

    छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

    ९ कात्तिक, जनकपुरधाम । आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ । आज दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् ।

    यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ । सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व हिजो शनिबार ‘नहाय-खाय’ विधिबाट सुरु भएको थियो । सो दिन ब्रतालुहरूले स्नान गरी अरबा–अरबाइन तथा चोखो भोजन ग्रहण गरेर आगामी उपवासको तयारी गर्छन् ।

    भोलि सोमबार छठ पर्वको तेस्रो तथा मुख्य दिन सौझकारक अर्थात् ब्रतालुहरूले जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व छठपर्व विधिवत समापन हुने छ । छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया-कुरबार र हाँडीलगायत सामग्री चढाउने गरिन्छ । प्रसादमा ठकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा, विभिन्न मिठाई तथा फलफूल चढाइन्छ ।

    अर्घ्य दिने ब्रतालुहरूले ४८ घण्टासम्म जलसमेत नखाई कठोर उपवास बस्ने परम्परा रहेको छ । सबै परिकार र विधिहरू पूर्ण अत्यन्त नियम निष्ठाका साथ तयार गर्नुपर्ने गर्नुपर्ने भएकाले छठलाई अत्यन्तै निष्ठाको कठोर पर्वका रूपमा मानिन्छ ।

  • मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

    मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

    ८ कात्तिक, काठमाडौं । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठुलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।

    गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए । उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको बताए । गुप्ताले यो वर्ष प्रतिअर्घ्य ६०० निर्धारण गरिएको बताए । उनले भने, “सबैले दिँदैनन् । नदिनेले पनि यहाँ अर्घ्य राख्छन् । प्रत्येक वर्ष तीन ३००–३५० रुपियाँ पुर्जा काट्ने गरेको छ । श्रद्धालु भक्तजनहरूबाट आएको रुपियाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ ।”

    गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेको छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ । गङ्गासागरमा तीन वटा समितिले सजावटको काम गर्ने गरेको छ । यस्तै, अरगजासरमा छठको घाटको निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि आफूहरू तयारीमा जुटिसकेको बताए । उनले सजावट तथा सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए ।
    कर्णले यस पोखरीमा हिन्दूहरू मात्र नभई मुस्लिम समुदायका पनि केही व्यक्तिहरू रहने गरेको बताए । “कर्णले घाटमा अर्घ्य राख्नेहरूबाट सहयोगस्वरूप रकम लिने गरिएको र अर्घ्य राख्नेसँग कुनै दबाव हुँदैन, हामीले सहयोगस्वरूप आर्थिक सहयोग गरिदिन आग्रह गर्छौँ”, उनले भने ।

    शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ । यस पोखरीमा पाँच हजारभन्दा बढी अर्घ्य रहने गरेको र यो प्रत्येक वर्ष बढ्ने गरेको छ । मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहेकाले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरू बनाउने गरिन्छ ।

    त्यस्तै, यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ । जनकपुरधामको बजारहरूमा बाँसबाट र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ । छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ । मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन् ।

    चारदिनसम्म मनाइने छठपर्व भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ । चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ । दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन् । यस विधिलाई ‘खरना’ भनिन्छ ।

    त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरिनेछ । रासस

  • राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

    राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

    ६ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो । भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । अहिले विश्वभर रहेका नेपालीले भाइटिका लगाइरहेका छन् ।

  • अमेरिकासहित कुन देशमा कति बजे भाइटिकाको उत्तम साइत ?

    अमेरिकासहित कुन देशमा कति बजे भाइटिकाको उत्तम साइत ?

    ६ कात्तिक, काठमाडौं । नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ । नेपालमा कात्तिक ६ गते अर्थात् अक्टुर २३ मा भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा निर्धारण गरिए पनि भारतको दिल्लीमा २३ अक्टुबरमा ११ बजेर ५५ मिनेटमा टीकाको साइत जुराइएको छ । अमेरिका र क्यानडामा भने २२ अक्टोबरमै भाइटीका लगाउने शुभ साइत थियो ।

    यस्तो छ विश्वका विभिन्न देशमा लगाइने भाइटीकाको उत्तम साइत

  • आज भाइटीका मनाईदै, उत्तम साइत ११ः३९ बजे

    आज भाइटीका मनाईदै, उत्तम साइत ११ः३९ बजे

    ५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

    नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ । तर आज आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालले बताए । तर राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौं दिनमा भाइटीका परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

    तिहारको भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ । यस दिन भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गर्नु पर्दछ ।

    त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाइदिने गर्दछन् । अनि मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिएर आशीर्वाद दिन्छन् ।

    तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीका पाँच रंगको हुनुपर्ने धर्मशास्त्रविद एवम् नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले बताए । उनका अनुसार तिहारको भाइटीकामा रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँचवटा रंगको प्रयोग गर्नुपर्छ । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

  • आजदेखि सुरु भयो नेपाल संवत् ११४६

    आजदेखि सुरु भयो नेपाल संवत् ११४६

    ५ कात्तिक, काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ ।

    ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो’, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ ।

    गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । राससबाट

  • नेवार समुदायले आज म्हः पूजा गर्दै

    नेवार समुदायले आज म्हः पूजा गर्दै

    ५ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ । यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।

  • आज तिहारको ५ औं दिन, गाइ पूजा गरिँदै

    आज तिहारको ५ औं दिन, गाइ पूजा गरिँदै

    ५ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।
    गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

    गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ । गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

    राससबाट

  • कार्तिक कृष्ण अमावास्यः श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा

    कार्तिक कृष्ण अमावास्यः श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा

    काठमाडौँ, कात्तिक ४ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गरी श्रद्धा भक्तिका साथ लक्ष्मीपूजा पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । लक्ष्मी पूजाका लागि सोमबार साँझ आँगन, मूलढोका हुँदै लक्ष्मी स्थापना गर्ने पूजाकोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अविरले लक्ष्मीको पाइला बनाएर लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाउँदै लक्ष्मीपूजा गर्ने परम्परा छ ।

    दीपमालिकासमेत गरेर मनाइने यो पर्वमा दीपावली गरिसकेपछि पूजाकोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरी गरगहना, पैसा पूजा गर्नुका साथै फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरेर दक्षिणासमेत दिने गरिन्छ । सोमबार घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वाससमेत छ ।

    घरका साथै व्यापारिक प्रतिष्ठानमा विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकासहित प्रमुख सहर उज्यालोले झिलिमिलि बनेको छ । उज्यालोले घरबाहिरको वातावरण उल्लासमय बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी चहलपहल तिहारमा देखिएको छ । यसैले लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर पर्ने चार प्रमुख रात्रिमध्ये यो पनि एक रात्रि हो ।

    सोमबार साँझ युवायुवतीहरूले समूह बनाई घरघरमा भैलो खेलेका छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताउनुभयो । “भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”, उहाँले भन्नुभयो ।

    कर्णाली प्रदेशको खसराज्यमा शासन गरेका बलिराजाले भैलोको चलन चलाएको भनी त्यस क्षेत्रमा चर्चा हुने गरेको छ । यो पर्वमा भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटीसमेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा नकारात्मक असर गर्ने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको प्राडा गौतमले बताए ।

    सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा सोमबार बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मीपूजा गरिएको प्राडा गौतमले जानकारी दिए ।


    उनका अनुसार विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने जनविश्वास रहेकाले सोहीअनुसार लक्ष्मीपूजा गरिएको हो । रासस

  • लक्ष्मी पूजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट मात्र

    लक्ष्मी पूजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट मात्र

    लक्ष्मी पूजाको साँझ विद्युतको अधिकतम माग १६५० मेगावाट मात्र रहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज ६ः५० बजे सबैभन्दा उच्च माग मापन गरिएको छ । साँझ आन्तरिक माग १६५० पुरा गरी १०१५ मेगावाट विद्युत निर्यात समेत भएको छ । यससँगै आजको माग धान्न कुल २६६५ मेगावाट नै पर्याप्त भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आज काठमाडौं सहित ठूलो शहरमा विद्युत अपत ह्वात्तै बढ्छ । तर, पछिल्ला दिनमा लक्ष्मी पूजामा समेत अधिकतम माग कम हुन थालेको छ ।

  • दिपावलीमा धपक्कै बल्यो काठमाडौं

    दिपावलीमा धपक्कै बल्यो काठमाडौं

    ३ कात्तिक, काठमाडौं । लक्ष्मी पूजा तथा दिपावली आज नेपालभर हर्षोल्लाससहित मनाइयो । यस अवसरमा आज काठमाडौं विशेष रुपमा सिंगारियो । झिलिमिली लाइटका कारण आजको साँझ काठमाडौं धपक्कै बलेको थियो । सन्ध्याकालिन काठमाडौं नियाल्न अग्लो स्थानमा जाने प्रचलन समेत बढेको छ ।

  • तिहारमा राष्ट्रपतिको सन्देश : पर्वले एकताको सुत्रमा बाध्ने छ

    तिहारमा राष्ट्रपतिको सन्देश : पर्वले एकताको सुत्रमा बाध्ने छ

    ३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन् । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज एक सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

    ‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ’, राष्ट्रपतिले सन्देशमा भनेका छन् ।

    राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भएको उल्लेख गरेका छन् । तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस भन्ने उनले कामना गरेका छन् ।

    तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ । यस पर्वमा काग, कुकुर, गाई, गोरु, पर्वत आदिको सम्मान गर्ने, पूजा गर्ने तथा लक्ष्मी पूजाको दिनमा भगवती लक्ष्मीको पूजा आराधना गरिन्छ । भाइटीकाका दिनमा दाजुभाइ तथा दिदीबहिनीबीच आपसमा टीका लगाई सद्भावका साथ पूजा अर्चना गरी हर्षोल्लासका साथ यो पर्व मनाइन्छ । भाइटीका लगाउने, म्हपूजा गरी आत्मशुद्धि गर्नेजस्ता चलनले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकार माथिको प्रकाशको विजयजस्ता सन्देशहरू प्रवाह गरेको देखिने राष्ट्रपतिले उल्लेख गरेका छन् ।

  • प्रधानमन्त्रीबाट तिहारको सन्देश : एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति हो

    प्रधानमन्त्रीबाट तिहारको सन्देश : एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति हो

    ३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उक्त शुभकामना व्यक्त गरेकी हुन् । ‘कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो’, शुभकामना सन्देशमा भनिएको छ,’तसर्थ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔं ।’

    प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेको र यसका निम्ति राजनीतिक संवाद र सुरक्षास्थिति सुधारको काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको सन्देशमा उल्लेख गरेकी छन् । सन्देशमा भनिएको छ, ‘फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस् कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौं ।’

    यस वर्षको परिवर्तनको असिम आकाङ्क्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, ‘भदौको महान् जेनजी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ, यसबीचमा जेनजीले चाहेको सुशासन र विकासको आधारशीला तयार पनि भएको छ ।’ दीपावलीको उज्यालोसँगै आउने यी पर्व जीवनमा आशा, विश्वास र समृद्धिका प्रतीक भएको र अन्धकारमाथि उज्यालोको, निराशामाथि आशाको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा यी पर्वहरू मनाउने गरेको सन्देशमा छ ।

    रासस

  • तिहारको तेस्रो दिन आज कुकुर पूजा

    तिहारको तेस्रो दिन आज कुकुर पूजा

    ३ कात्तिक, काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।

    कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिए । वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

    आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन् । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।


    यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । तिथि घटबढका कारण लक्ष्मी पूजा पनि आजै गरिँदैछ । बिहान कुकुर पूजा गरेपछि साँझ लक्ष्मी पूजा गरिँदैछ ।

    रासस

  • पुरानै कालजयी गितले धान्दैछ तिहारको संगित

    पुरानै कालजयी गितले धान्दैछ तिहारको संगित

    काठमाडौँ, २ कात्तिकः उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसङगीतको पनि आफ्नै विशेषता छ । ती गीतसङ्गीतमा अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ ।

    चलचित्र ‘स्वर्ग’मा समावेश ‘तिहारै आयो लौ झिलीमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत भएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका हुन् । यादव खरेलको रचना गरेको गीतमा शम्भुजीत बाँस्कोटाले सङ्गीत सृजना गरेका थिए ।
    ‘दियो बाली साँझको’ गीत उत्तिकै लोकप्रिय छ । चलचित्र ‘चिनो’मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन् । कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सृजना गर्नुभएको गीतमा गायिका आशा भोस्लेले स्वर दिएका थिए । निर्देशक तुलसी घिमिरेले चलचित्र तिहारको गीत र प्रसङ्गलाई कथावस्तुअनुसार नै प्रस्तुत गरेका थिए ।

    मनिला सोताङले गाएको चलचित्र ‘अन्याय’मा समावेश ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । गीतकार रत्नशमशेर थापाले शब्द रचना गरेको गीतमा रञ्जित गजमेरले सङ्गीत सृजना गरेका छन् । अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायतका कलाकारहरू प्रस्तुत भएको गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्छ ।

    चलचित्र ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’लगायतका गीतहरू नै तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन् । नेपाली संस्कृतिलाई समेटेर यी गीतहरू अझै लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको गायक तथा सङ्गीतकार अर्जुन पोखरेलले बताए ।


    उनले भने, “ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो । गीतिसङ्ग्रहको तुलनामा चलचित्रका गीतहरू बढी प्रचार हुने गरेका छन् । त्यहीँ कारण तिहारमात्र नभई दसैँ, होलीलगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन् ।” गायक तथा सङ्गीतकार पोखरेलले उल्लेखित गीतहरू चाडपर्वमा मात्र गुञ्जिने र लागत खर्च बढी हुने भएकाले नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताए ।

    पछिल्लो समय पनि चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन् । तर सङ्ख्या निकै न्यून छ । पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेकाले पछिल्लो समय बनेका गीतसङ्गीतले पुराना कालजयी गीतलाई विस्थापित गर्न सकेका छैनन् ।

    राससको सहयोगमा

  • नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन

    नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन

    काठमाडौँ, २ कात्तिकः काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गरेका छन् । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरे । आज बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उहाँले कागको आवाज निकाल्नासाथ काग भेला भएका थिए । दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्छन् । उनीसँग मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन निकाल्ने कला पनि छ ।

    उनका अनुसार, विगतका वर्षहरूमा उनले कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले विमानस्थल परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका छन् । दुलालले भने, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो । कागलाई यमराजको दूतका रूपमा मानिन्छ । यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ ।”

    काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गर्नुभएको छभने बहुप्रतिभाको धनी दुलालको चर्चा गरेका छन् । कार्यक्रमको मुख्य प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र भरत विश्वकर्मा रहेका छन् । सहप्रायोजकमा ह्याम्स हस्पिटल, शङ्करप्रसाद आचार्य, चुडा मैनाली, होराइजन स्पा, नौकरी नेपाल र शान्ति तथा ग्रामीण विकास केन्द्र नेपाल रहेका थिए ।

  • कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

    काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए ।


    यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

    ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ । यहाँ कागको ठूलो मूर्ति बनाइएको छ ।

    दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

    यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

  • नयाँ भाँडा किनेर मनाइयो धनतेरस

    नयाँ भाँडा किनेर मनाइयो धनतेरस

    काठमाडौँ, १ कात्तिकः कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजाकोठामा राखी कुबेरको पूजाआराधना गरी मनाइएको छ । धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा आज कुबेरको विशेष पूजाआराधना गरिएको हो । केहीले आज कुबेरको पूजा गरे पनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाको दिन गर्दछन् ।

    भाण्ड त्रयोदशीसमेत भनिने आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुनचाँदीका गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको बजारमा घुइँचो लागेको छ ।

    आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामले पनि चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानदेखि ग्राहकको भीड लागेको थियो । तिहार लाग्नु एक साताअघिदेखि नै भाँडाको बिक्री बढेको भाँडा व्यवसायी देवप्रसाद बानियाँले जानकारी दिए । भाँडा पसलमा एक साताअघिदेखि तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रूपमा साजसज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म पनि जारी रहन्छ ।

  • काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न नदिइने

    काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न नदिइने

    १ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ । दिपावलीको अवसरमा देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका नौ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ ।

    ‘सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव थल बनाउन पाइने छैन’, सूचनामा भनिएको छ । चाडपर्वको समयमा सम्पत्ति चोरीको सम्भावना अधिक हुने गरेको विगतको घटनाबाट समेत पुष्टि भएको उल्लेख गर्दै सूचनामा घर खाली नहुने गरी चनाखो र सतर्क भई आआफ्नो घर रेखदेख गर्न, घर छोड्नुपरेको खण्डमा छिमेकीलाई जानकारी गराउन र शंकास्पद व्यक्ति आएको खण्डमा नजिकको प्रहरी एवम् सुरक्षा एकाइमा खबर गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

    अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्नेलगायतका उपभोक्ता हित विपरीतका कार्य नगर्न भनिएको छ । सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादर भन्दा बढी भाडा नलिने, ट्राफिक नियम पालना गर्ने र गराउने कार्य गर्न समेत ध्यानाकर्षण गराइएको छ । गैरकानूनी रुपमा चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

  • सुरु भयो नेपालीको दोस्रो महान पर्व तिहार

    सुरु भयो नेपालीको दोस्रो महान पर्व तिहार

    १ कात्तिक, काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    काग तिहार भने आइतबार परेको उनले बताए । बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए ।

    यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गरिन्छ ।

    कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताए । सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मान्यता छ ।

    कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।

    गाईगोरु एवं गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म ९म्ह० पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ ।

    कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।

    सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने उनले सुनाए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

    झिलीमिलीको चाड भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि राजधानीलगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजा गरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिने क्रम पनि शहरी क्षेत्रमा बढ्न थालेको छ ।

    बडादसैंसम्म सुनसान प्रायः हुने काठमाडौं उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बन्छ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवद्र्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि देउसी भैलो खेल्ने परम्परा पनि छ ।
    कौडा, लंगुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्काउन भने छाडिएको छैन ।