Category: मनोरञ्जन

  • रसुवा, नुवाकोट र धादिङमा जुधाइयो गोरु

    रसुवा, नुवाकोट र धादिङमा जुधाइयो गोरु

    मलेखु (धादिङ), १ पुस स् माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो । त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४, लाइगाउँमा १०, नीलकण्ठ नगरपालिकाको धुवाकोट–९, खाल्टेमा सात, मर्स्याङछापमा पाँच, सुनौलाबजारमा आठ, खनियाबासको दार्खा १७, मार्पकमा चार, फुलखर्कमा ११, बुढाथुममा नौ र ज्वालामुखीको मैदीमा छ हल गोरु जुधाइएको आयोजकहरुले जानकारी दिएका छन् ।

    जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व जोडिएको मूलपानीका शम्भु थापाले बताउनुभयो । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बतबीचको भोट सन्धी १९४९ सँग जोडिएको छ । बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका निम्ति माघे सङ्क्रान्तिका दिन गोरु जुधाएर थालनी गरिएको किम्बदन्ती रही आएको जानकारहरु बताउँछन् ।

    बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढे गोरुहरू जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ । पहिला पहिला छिमेकीले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगिताका रुपमा गोरु जुधाइँदै आएको छ । कुन साँढे गोरु कुनसँग जुधाउने, उमेर र आकार निक्र्यौल गरिन्छ । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ ।

    वर्खाभरि खेतबारी जोत्ने र हिउँदमा बलियो बनाएर पालेको गोरुलाई किसानले मनोरञ्जनका लागि झुधाउँदै आएकामा पछिल्लो वर्षहरुमा प्रतियोगिताको रुपमा जुधाउने गरिएको हो । मनोरञ्जन, भेटघाट र मित्रता नवीकरण गर्ने अवसरका रुपमा विकसित हुँदै आएको मैदीकी सुशीला विश्वकर्माले जानकारी दिइन् । ऐतिहासिक प्रमाण नभेटिए गोरु जुधाइ परम्परा १०० वर्षभन्दा पुरानो मानिन्छ । माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ ।

  • माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

    माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

    काठमाडौँ, १ माघः राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।


    राष्ट्रपति पौडेलले भनेका छन्, “माघे सङ्क्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पु¥याउनाका साथै सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”

    माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ ।

    राष्ट्रपति पौडेलले आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको पनि उल्लेख गरेका छन् । विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । शुभकामना सन्देशमा भनिएको छ, “माघे सङ्क्रान्ति एवम् माघी पर्वबाट संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”

  • उत्तरायणको पहिलो दिन : मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

    उत्तरायणको पहिलो दिन : मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

    काठमाडौँ, १ माघः सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

    यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

    बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ ।

    आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेद चिकित्सकको भनाइ छ ।

    तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमा समेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

    सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शय्यामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको बताइन्छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ । माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

    यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ । माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।

  • देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

    देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

    दमौली (तनहुँ), ३० पुसः माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मेलाको सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै यस वर्ष तीन लाखले मेला भर्ने अनुमान गरिएको उल्लेख गरे ।

    ज्योतिषीय गणना अनुसार सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति) भनिन्छ । माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले धार्मिक पुण्य प्राप्ति हुने मान्यता र जनविश्वास रहिआएको बरालले बताए । साथै पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन पनि मकर सङ्क्रान्तिको दिन भएको विश्वास रहिआएको उनले उल्लेख गरे ।


    मेलाअवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कदा देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको बरालले जानकारी दिए । नवलपुरतर्फका भक्तजनहरू हर्दीको कालीगण्डकीको पुल तरेर देवघाट आउन सक्छन् । साथै मुग्लिनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिँधै देवघाटधाम प्रवेश गर्ने र फर्कदा सोही बाटोबाट फर्किने व्यवस्था मिलाइएको छ ।

    चिवनतर्फबाट आउने सवारीसाधनको पार्किङका लागि साना सवारीसाधनलाई सीताराम संस्कृत माविको परिसरभित्र व्यवस्था मिलाइएको छ भने ठूला सवारीसाधन (बस, मिनीबस, माइक्रो) आदिका लागि दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) बाट उत्तर–पूर्वक्षेत्रमा रहेको बसपार्कमा पार्किङको व्यवस्था मिलाइएको बरालले जानकारी दिए । तनहुँतर्फ पैदल मार्गबाट प्रवेश गर्दा पुलको मुख, हरिहर चोक, हरिहर मन्दिर, गलेश्वर चोक हुँदै वेणीसङ्गम र फर्कदा वेणीसङ्गम, गलेश्वर आश्रम, गलेश्वर चोक, चक्रवर्ती मन्दिर, महेश सन्यास आश्रम, टाउन चोक, हरिहर चोक हुँदै पुलको मुख निस्कने मार्ग कायम गरिएको छ ।

    देवघाट क्षेत्र विकास समितिले तीर्थयात्रीको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस् भन्ने उद्देश्यले तनहुँ, चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुखसँग समन्वय गरेको समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले जानकारी दिए । उक्त दिन तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।

    तीर्थस्थलमा धुम्रपान, मांस, मदिरा एवं सुर्तीजन्यपदार्थ निषेध गरिएको छ । ती वस्तुहरू बिक्रीवितरण, ओसारपसार तथा सेवन नगरी सहयोग पु¥याउन समितिका अध्यक्ष डा लौडारीले आग्रह गरे । “वेणीमा स्नान गर्ने क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ”, उनले बताए । आज बिहान देवघाटधामका विभिन्न आश्रमका पीठाधीशहरूको उपस्थितिमा धार्मिक विधि अनुसार वेणीसङ्गममा लिङ््गो गाडेर मेलाको शुभारम्भ गरिने समितिले जनाएको छ ।

  • ढिक्री बनाउन व्यस्त थारू समुदाय

    ढिक्री बनाउन व्यस्त थारू समुदाय

    तुलसीपुर (दाङ), २८ पुसः दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उनी अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन् । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ ।उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । थारू समुदायले हरेक चाडपर्वमा मुख्य परिकारका रूपमा ढिक्री पकाउने गर्छन् । सुङ्गुरको मासु, माछा, घोँगीलगायतसँग ढिक्री खाने चलन छ । यी परिकार थारू समुदायका प्रख्यात परिकार हुन् ।

    कसरी बनाइन्छ ढिक्री ?

    चामलको पीठोबाट ढिक्री बन्छ । चामलाई मुछेर त्यसलाई लाम्चो आकार दिइन्छ । खासगरी माघीमा लाम्चो आकार दिए पनि दसैँमा भने गोलो आकारको बनाइन्छ । त्यस्तै तिहारमा चेप्टो, दियो जस्तो बनाइन्छ । त्यसलाई पानीको बाफमा आधा घण्टा जति उसिनेपछि ढिक्री तयार हुन्छ । खासगरी उसिनेर ढिक्री बनाइने भएकाले त्यसले स्वास्थ्यमा असर गर्दैन । किनकि त्यसमा चिल्लो पनि हुँदैन भने चिनी पनि राखिँदैन । यसरी ढिक्री खाएमा मान्छेको आयु बढ्ने पौराणिक मान्यता रहेको छ ।

  • चन्द्रागिरिबाट सर्जकहरुले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई

    चन्द्रागिरिबाट सर्जकहरुले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई

    रासस

    काठमाडौँ, २७ पुस । आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपालभर विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरिन्छ । यही दिवसका अवसरमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा पृथ्वीनारायण शाह तथा नेपालको राष्ट्रियतासम्बन्धी रचनाहरू प्रस्तुत गरेर उनलाई स्मरण गरे ।

    सर्जकहरूले पृथ्वीनाराण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानको इतिहाससँगै जोडिएर आउने काठमाडौँको चन्द्रागिरि डाँडामा पुगेर त्यहाँस्थित पृथ्वीनारायणको सालिकसामु उनको योगदान तथा नेपालको राष्ट्रियतासम्बन्धी सृजना तथा रचनाहरू प्रस्तुत गरेर श्रद्धाभाव प्रकट गरे ।

    शनिबार थर्डपोल ग्रुपद्वारा चन्द्रागिरिस्थित पृथ्वीनारायण शाहको सालिक परिसरमा आयोजित कार्यक्रममा इतिहासकार प्रा डा दिनेशराज पन्तले पृथ्वीनारायण शाहले यही डाँडाबाट काठमाडौँ उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहित काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने योजना बनाएको इतिहास सुनाए । चन्द्रागिरि डाँडा नेपाल एकीकरणको अभियानसँगै जोडिएर आउने एक ऐतिहासिक स्थल रहेको बताउँदै उनले नेपाल र नेपालीको पहिचान दिलाउने एक वीर योद्धा तथा राष्ट्र निर्माताका रूपमा पृथ्वीनारायण शाहको स्मरण गरे ।
    वरिष्ठ कवि एवं गीतकार एसपी कोइराला ‘चिरेर हेर यो मेरो छाती’ शीर्षकको कवितामा लेख्छन् :

    चिरेर हेर यो मेरो छाती झण्डाले बनेको ।
    उठेर हेर अलिक माथि माटोले भनेको ।।

    उनले नेपालका पुर्खाले यो देशका लागि गरेको योगदानको स्मरण गर्दै वर्तमान पुस्ताले पनि भोलिका लागि केही गरेर नाम राख्नुपर्ने धारणा राखे । नेपालीपन राष्ट्र र राष्ट्रियताका लागि अब केही गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

    अर्का वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारी आफ्नो कवितामा लेख्छन्,

    तराई हो अन्नबाली पहाड हो पानी ।
    अन्न पानीजस्तै मिली बाँच्नुपर्छ हामी ।।

    पृथ्वीनारायण शाहले नेपाली भूभागको एकीकरण गरी सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा बाँधेको प्रसङ्ग उनले कवितामा प्रस्तुत गरेका छन् । आफ्नो देशप्रेमलाई उनी यसरी व्यक्त गर्छन् ः

    सक्छौ त माया गर यो देशलाई ।
    सक्दैनौ बिन्ती गाली नगरिदेऊ ।।
    शिरमा छ देशको असङ्ख्य पीडा ।
    रिसले जीउमा काँडा नकोरिदेऊ ।।

    यसैगरी अर्का वरिष्ठ कवि डा राजुबाबु श्रेष्ठ आफ्नो कवितामार्फत पृथ्वीनारायण शाहको स्मरण गर्दै लेख्छन्,

    उसैले कोरेको हो खुकुरीले बैरीहरूको गर्धन छप्काएर
    यो देशको गाढा सीमा रेखा
    उसैले सिर्जेको हो
    टुक्राटुक्रा जोडेर
    एउटा सिङ्गो सार्वभौम यो देश
    उसैले बनाएको हो
    गुमनाम यो देशको सुकिलो पहिचान ।

    यो राष्ट्रको निर्माण पृथ्वीनारायण शाहले गरेको इतिहासको व्याख्या गर्दै कवि श्रेष्ठले तर उनैको सालिक ढाल्न उद्धत रहेकोप्रति दुःख पोख्छन् ।
    ‘मानचित्रमा उभिएर’ शीर्षकको कवितामा कवि मणि लोहनीले हामी सबै नेपालीले पुज्ने मन्दिर, हामीले बुद्ध भेटेको गुम्बा, हामीले भाक्ने देउराली होस् या हामीले प्रार्थना गर्ने मस्जिद या चर्च एउटै भएको राष्ट्रिय एकताको भाव प्रस्तुत गर्छन् । वर्तमान नेपाल पृथ्वीनारायण शाहले भनेकै चार जात छत्तीस वर्णको फूलबारीजस्तै रहेको उनको काव्य भाव थियो ।

    यस्तै राष्ट्रप्रेमका भावनाहरू कवि हेम प्रभासको ‘अब म पनि घर जान्छु’, नारायण निराशीको ‘आफ्नो सुरक्षा गर’ र एलिसा ढुङ्गानाको ‘रिसको विपक्षमा’ शीर्षकका कविताहरूमा पोखिएका छन् ।

    त्यसैगरी, प्रभाती किरणको ‘स्वाभिमान’, प्रधुम्न जोशीको ‘कस्तो होला भगवान्को घर’, कृष्ण बञ्जाडेको ‘मेरो अपूरो रहर’, दिनेश परियारको ‘बिषे नगर्चीको सम्झना’ र अनिता कोइरालाको ‘मानवताको मलामी बन्न सक्दिन’ शीर्षकका कवितामा पनि राष्ट्र र राष्ट्रियताको महत्वका साथै मुलुकको वर्तमान विषम परिस्थिति र राजनीतिक विसङ्गतिका बारेमा प्रशस्त मात्रामा उल्लेख गरिएको छ ।

    सर्जकहरूले चार किल्ला तोडेर सुनौला सपना देख्ने र सयौँ फूल जोडेर राष्ट्रिय एकताको माला उन्ने वीर पुरुषका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै नेपाललाई धर्तीकै स्वर्गको एक देशका रूपमा तुलना गरेका छन् ।

    चन्द्रागिरि डाँडामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा बर्सेनि राष्ट्रिय एकता दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना हुने गर्दछ । कार्यक्रममा चन्द्रागिरि हिल्सका कम्पनी सचिव झलक शर्मा पौडेलले देशका विभिन्न स्थानमा सालिक ढालिरहेको अवस्थामा नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिक चन्द्रागिरि डाँडामा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको स्मरण गराए ।

  • थारु बस्तीमा बढ्यो माघीको चहलपहल

    थारु बस्तीमा बढ्यो माघीको चहलपहल

    कञ्चनपुर, २६ पुस । थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका बस्तीहरूमा चहलपहल निकै बढेको छ ।
    माघीको आगमनसँगै थारु गाउँहरूमा बिहानदेखि साँझसम्म पुरुष र महिला दुवैको व्यस्तता बढेको छ । कसैले दाउरा जोहो गरिरहेका छन् भने कसैले वनबाट साल र मालुका पात सङ्कलन गरिरहेका छन् । महिलाहरू घरआँगनमा बसेर पातका दुना–टपरी बनाउन व्यस्त छन् । “माघीमा पाहुनालाई दुना–टपरीमै खाना पस्किने चलन छ”, कृष्णपुर नगरपालिका–२, वाणिका दुर्गा चौधरीले भने, “यसले थारु समुदायको प्रकृतिसँगको आत्मीय सम्बन्ध झल्काउँछ ।”

    उनका अनुसार थारु समुदायका मौलिक परिकारहरू माघी पर्वको केन्द्रमा रहन्छन्, ती परिकारहरूलाई घरकै महिलाहरूले पात गाँसेर बनाएका दुनाटपरीमा दिने चलन छ । माघीमा अनिवार्य मानिने ‘ढिक्री’, ‘अनदीको भात’, ‘सुँगुरको मासु’ र ‘जाँड’ बनाउने तयारी अहिले अन्तिम चरणमा पुगेको उनले बताए ।

    “माघीका लागि महिलाहरू घरघरमा अनदी चामल भिजाउने, पकाउने र जाँड राख्ने काममा व्यस्त छन्”, शुक्लाफाँटा नगरपालिका–२ का पूर्व बरघर भरतबहादुर चौधरीले भने, “घरका पुरुषहरू सुँगुरको जोहोमा लागेका छौँ ।” उनका अनुसार केही महिला र पुरुषहरू नदी, खोला, तालतलैया र पोखरीमा माछा मार्ने कार्यमा समेत संलग्न भइरहेका छन् । बालबालिकादेखि वृद्धसम्मको सहभागितामा हुने यी तयारीले गाउँमा सामूहिकताको भावना बलियो बनाउने उनको भनाइ रहेको छ ।

    साँझ पर्न नपाउँदै गाउँका चोक र खुला आँगनमा मादलको ताल सुनिन थालिसकेको छ । “मघौटा नृत्यको अभ्यासले गाउँको वातावरण झन जीवन्त बनेको छ”, शुक्लाफाँटा नगरपालिका–७ का कालुराम डगौराले भने, “युवायुवतीहरू माघीमा देखाउने नृत्यको अभ्यासमा जुटेका छन् भने ज्येष्ठ नागरिकहरू पुराना माघीका कथा र अनुभव सुनाउँदै बसिरहेका देखिन्छन् ।”

    माघी पर्वमा विवाहित चेलीबेटीहरूलाई माइती बोलाउने चलन रहेकाले उनीहरूलाई निम्ता दिन थालिएको छ । पर्वको स्वागतमा थारु बस्तीका कच्ची घरहरू लिपपोत गरेर चिटिक्क पारिएका छन् भने पक्की घरहरू रङरोगन गरिएका छन् । आँगन सफा गरिएको छ, गोठघर मर्मत गरिएको छ । गाउँका साझास्थल, मन्दिर र बाटोघाटोमा सामूहिक सरसफाइ अभियान चलाइएको शुक्लाफाँटा नगरपालिका–३ का बरघर राजु चौधरीले जानकारी दिए ।


    कञ्चनपुरका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र बेलौरी नगरपालिकाका थारु बहुल क्षेत्रहरूमा माघी विशेष सांस्कृतिक कार्यक्रम तथा महोत्सवको तयारी पनि तीव्र गतिमा भइरहेको छ । माघी पर्वलाई शत्रुता भुलेर मित्रता गाँस्ने पर्वका रूपमा लिइने गरिन्छ । “पुराना मनमुटाव माघीमा टुङ्ग्याउने, आपसी सम्बन्ध सुधार्ने र नयाँ वर्षलाई सकारात्मक सोचका साथ सुरु गर्ने परम्परा थारु समाजमा गहिरो छ”, जोनापुर गाउँका बडघर सुरेश चौधरीले भने ।

    उनका अनुसार अनुसार माघी केवल खानपान र रमाइलोमा सीमित पर्व होइन, यो थारु समुदायको पहिचान, संस्कृति र सामाजिक एकताको प्रतीकका रूपमा रहेको छ । माघीको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये गाउँको नयाँ नेतृत्व चयन हो । माघीकै अवसरमा बस्ने गाउँसभा ‘देवानी’ मा वर्षभरको आय–व्ययको समीक्षा गरिनुका साथै आगामी वर्षका लागि नयाँ भल्मन्सा (गाउँ प्रमुख), बरघर, चौकीदार र गुरुवाको चयन गरिन्छ ।

  • प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

    प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

    काठमाडौँ, २० पुसः नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ । श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गर्नुभएको उक्त चलचित्रमा अहिनेता राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसँगै स्वयं निर्देशक क्षेत्रीले अभिनय गरेका छन् ।

    प्रवासमा पुग्ने जोकोहीले चलचित्रको कथामा आफू वा आफ्नो समाजलाई पाउने निर्देशक क्षेत्रीले बताए । उनले भने, “हामीले भौतिक रूपमा देखिने दुःखका धेरै चर्चा गरे पनि मानसिक रूपमा भोहिरहेको यातनालाई बेवास्ता गर्छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यको कथालाई लिएर चलचित्र तयार गरेका छौँ । चलचित्रले प्रवासी जीवनको एउटा नदेखिएको सरलझैँ लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ ।”

    निर्देशक क्षेत्रीले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रित गरेर चलचित्र तयार गरेकाले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फलदायी हुने जानकारी दिए । छायाँकारसमेत रहेका निर्माता रविन आचार्यले निर्माण गर्नुभएको उक्त चलचित्रमा कथा, पटकथा तथा संवाद स्वयं निर्देशक क्षेत्रीले नै तयार गरेका छन् ।

  • आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

    आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

    काठमाडौँ, १९ पुस । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् ।

    पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत् हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

    सय रोटी बर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

    सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । “स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उनले भने ।

    यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए ।


    यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला सुरु गरिँदै छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्,” इतिहासकार श्रेष्ठले भने ।

    यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा आजदेखि मेला लाग्दै छ । यसका लागि सबै तयारी पूरा भएको शालीनदी व्यवस्थापन समितिले जनाएको छ । शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट भक्तजन आउने गरेका छन् ।

  • मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका नारी

    मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका नारी

    रासस
    कञ्चनपुर, १८ पुस । शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै छिन् । उमेरले पाको देखिए पनि उनको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ । मौलिक परम्परागत पहिरनमा सजिएर ‘छलो’ (छलिया) नृत्य खेलिरहेको उनलाई देख्दा जोकोही चकित पर्छन् ।

    दार्चुलाको धुलगडाबाट उनी तराई बसाइँ झरेको करिब तीन दशक बितिसकेको छ । पहाडको कठोर जीवन छाडेर सहज जीवनको खोजीमा तराई झर्दा परम्परा पनि हराउँदै गएको थियो । द्रोपती धामीलाई भने पहाडको त्यो संस्कृतिको सम्झना अझै ताजा छ । “पहाडमा हुँदा महिलाहरू भेला भएर छलो खेल्थ्यौँ”, उनी सम्झिन्छन्, “तर तराई झरेपछि विस्तारै त्यो परम्परा हराउँदै गयो ।”

    तराई झरेसँगै मौलिक पहिरनको स्थान आधुनिक पहिरनले लिन थाल्यो । टको, झुमझुमी, पागडो, घाँघरो, चोलो, पोती, डोरीजस्ता पहिरन लगाउन छाडिँदै गए । द्रोपती धामीका अनुसार लोकलाज, आधुनिक देखिने चाहना र परम्परागत कपडा सिउने कारिगरको अभावले गर्दा धेरैले पुरानो पहिरन त्यागे । “केहीलाई आधुनिक बन्ने रहर थियो, केहीलाई लगाउने रहर हुँदाहुँदै पनि सिउने मान्छे नै भेटिएन”, उनी भन्छिन् ।


    परम्परागत पहिरन हराउँदै जाँदा त्यससँग जोडिएको ‘छलो’ नृत्यको रौनक पनि हराउँदै गयो । यही अवस्थाले द्रोपतीलगायत केही महिलालाई चिन्तित बनायो । त्यसैक्रममा गाउँका महिलाहरू भेला भएर मौलिक पहिरन जोगाउने निर्णय गरे । छलो समाज गठन गरियो । समाजकी सक्रिय सदस्य चन्द्रा ठगुन्ना भन्छिन्, “पहिरन सिउन सबैलाई आउँदैनथ्यो, पहाडमा लगाइनेजस्तै पहिरनका लागि कपडा छानेर सिउने मान्छे खोज्यौँ र सिउन लगायौँ ।”

    अहिले ती महिलाहरू सुदूरपश्चिमको महत्त्वपूर्ण चाड गौरा, देउडा प्रतियोगिता, विभिन्न सामाजिक समारोह, विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा आफ्नै मौलिक पहिरनमा सहभागी हुन थालेका छन् । परम्परागत पहिरनमै छलो नृत्यसमेत देखाउने गर्दछन् ।

    परम्परागत पहिरन तयार गर्न रु तीनदेखि पाँच हजारसम्म खर्च लागे पनि त्यसले पहिचान जोगाएको अनुभूति उहाँहरूमा छ । “यो पहिरनले हामीलाई हाम्रो संस्कृति सम्झाउँछ”, चन्द्रा भन्छिन्, “अरूलाई पनि संस्कृति जोगाउन प्रेरित गर्छ ।” छलो समाजमा २२ वर्षदेखि ६८ वर्षसम्मका ४० बढी महिला आबद्ध छन् । पाका महिलाले तन्नेरीलाई मौलिक पहिरनको महत्व बुझाउनेमात्र होइन, छलो नृत्य पनि सिकाउँदै आएका छन् । पहिला पुरुष र महिला मिलेर छलो खेल्ने चलन थियो । तर अहिले पुरुषहरूले यो नृत्य छाडेपछि महिलाले नै परम्परा जोगाइरहेका छन् ।

    परम्परागत पहिरनले पहिचान जोगिएपछि अहिले आधुनिक पहिरन लगाउने महिलाहरू पनि स्वःस्फुर्त रूपमा मौलिक पहिरन सिउन थालेका छन् । पछिल्ला पाँच वर्षयता महिला सङ्गठित रूपमा परम्परा र पहिरन संरक्षणमा लागेका छन् । पचपन्न वर्षीया अमला ठगुन्ना संस्कृति र पहिरन जोगिएकामा निकै खुसी छिन् । “अरु समुदायले आफ्नो पहिरन लगाएको देख्दा हामीले किन छाड्यौँ भनेर मनमा द्वन्द्व चल्थ्यो”, उनि भन्छिन्, “अहिले आफैँ पहिरन लगाएर छलो देखाउन जाँदा छुट्टै आनन्द मिल्छ ।”

    पहाडमा महिलाहरूले छिट (फर्कावाद)को कपडाबाट बनाइएको आठदेखि १२ पाटासम्मको घाँघरो–चोलो लगाउने गर्थे । यस्तो पहिरन लगाउने महिलालाई सभ्य र सम्पन्न परिवारको रूपमा हेरिन्थ्यो । घाँघरो–चोलोसँगै आँगडो, टाउकामा सेतो कपडाको टँको, कम्मरमा सेतो पागडो बाँधिन्थ्यो । गहनामा सुनको नथिया, कानको मुदणा, नाकको बुलाकी, हातमा चाँदीका बाला, घाँटीमा चाँदीको सुत्ता र खुट्टामा पायल लगाइन्थ्यो ।

    पूर्वशिक्षक शङ्करदत्त जोशीका अनुसार ती गहना गाउँघरकै लुहार र तिरुवा जातिका व्यक्तिहरूले बनाउँथे । पहाडको कष्टकर जीवनलाई त्यागेर तराई बसाइँसराइपछि अन्य समुदायको चालचलनमा रम्न थालेसँगै पुरानो लवाइखवाई हराउँदै गएको उनी बताउँछन् । “परम्परा हरायो भने पहिचान नै हराउँछ”, उनी भन्छन्, “त्यसैले परम्परा जोगाउने महिलालाई सबैले हौसला दिनुपर्छ ।”

    छलोमा बाजा बजाउँदै आएका जयबहादुर टमटाले अहिले पञ्चेबाजाको अभाव रहेको गुनासो गर्नुभयो । “बाजाबिना छलो अधुरो हुन्छ”, उनी भन्छन्, “बाबुबाजेकै पालादेखि बजाउँदै आएका हौँ, यसलाई निरन्तरता दिन स्थानीय सरकारले चासो दिनुपर्छ ।”

    शुक्लाफाँटामा केही महिलाको प्रयासले मौलिक पहिरन र छलो नृत्य पुनर्जीवित हुँदै गएको छ । “महिलाहरूको यो पहल केवल नाचगान वा पहिरनमा सीमित छैन, यो सुदूरपश्चिमको पहिचान, इतिहास र सांस्कृतिक आत्माको संरक्षणको सङ्घर्षका रूपमा रहेको छ”, सुदूरपश्चिमको संस्कृतिलाई नजिकबाट नियाल्दै आउनुभएका कृष्णबहादुर ठगुन्ना भन्छन्, “परम्परा जोगाउने यो यात्रामा स्थानीय तह, राज्य र समाजको साथ जरुरी देखिन्छ ।”

  • ठमेलदेखि न्यूयोर्कसम्म यसरी मनाइयो नयाँ वर्ष (तस्वीर कथा)

    ठमेलदेखि न्यूयोर्कसम्म यसरी मनाइयो नयाँ वर्ष (तस्वीर कथा)

    काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।

    Young couple share a tender moment celebrating the New Year’s with other people outside Red Square with the Spasskaya Tower and the St. Basil’s Cathedral, in the background, in Moscow, on Thursday, Jan. 1, 2026. (AP Photo)

    नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ ।

    People celebrate New Year’s Eve, in Rome, Thursday, Jan. 1, 2026. (AP Photo/Alessandra Tarantino)

    यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन् ।

    Fireworks explode around the Burj Khalifa, the world’s tallest building, during New Year’s Eve celebrations in Dubai, United Arab Emirates, Thursday, Jan. 1, 2026. (AP Photo/Fatima Shbair)


    ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।

    इस्वी संवतको नयाँ वर्षको स्वागतार्थ बुधबार राति पोखराको लेकसाइडमा आयोजित सडक महोत्सवमा रमाउँदै गरेका सर्वसाधारण । तस्बिर ः जमुनावर्षा शर्मा / रासस

    इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ ।

    “Baesemanne” (broom men) with long-handled juniper brooms, scary wooden masks and air-filled pig bladders “Soeiblaatere”, participate in the 102nd traditional “Achetringele” procession in Laupen, Switzerland, on Wednesday, Dec. 31, 2025, held to drive away evil spirits for the new year. (Anthony Anex/Keystone via AP)

    नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

    General view of the Hogmanay New Year’s Eve celebrations, in Edinburgh, Scotland, Wednesday, Dec. 31, 2025.(Steve Welsh/PA via AP)
    Police and the Rosguardia (National Guard) servicemen secure an area, closed for celebrations on New Year’s Eve, outside Red Square, in Moscow, on Wednesday, Dec. 31, 2025. (AP Photo)
    Fireworks light-up the sky in central London to celebrate the New Year on Thursday, Jan. 1, 2026. (AP Photo/Alberto Pezzali)
    Fireworks illuminate the night sky over Zurich, Switzerland, during the New Year’s Eve celebrations, on Thursday, Jan. 1, 2026. (Andreas Becker/Keystone via AP)
    इस्वी संवतको नयाँ वर्षकाे पहिलो दिन बिहीबार बिहान दाङको घोराही उपमहानगरपालिका–१३ स्थित मौलाकोटबाट देखिएको सूर्योदय। तस्बिर : कुलदीप न्यौपाने / रासस
  • आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइदै

    आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइदै

    काठमाडौँ, १७ पुस । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

    दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

  • नयाँ वर्ष सन् २०२६ सुरु

    नयाँ वर्ष सन् २०२६ सुरु

    काठमाडौँ, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ ।

    यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन् ।३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन ।

    त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ । इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

  • चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान

    चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान

    काठमाडौँ, १६ पुस । ‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ । स्वदेशी चलचित्रको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले बोर्डले ‘डिजिटाइजेसन’का लागि इच्छुक निर्माता वा अधिकार प्राप्त व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो ।

    बोर्डले आज एक सूचना जारी गर्दै उक्त प्रक्रियामा सहभागी हुन चाहनेले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । बोर्डका अनुसार ‘डिजिटल’ स्वरूपमा रूपान्तरण भएपछि पुराना चलचित्रको गुणस्तर सुधार हुनुका साथै ती चलचित्रलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सहज हुनेछ ।

    यसअघि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दुर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’, ‘शान्तिदीप’ लगायतका केही चलचित्रहरू ‘डिजिटाइजेसन’ गरिसकेको छ । ती चलचित्रमा अङ्ग्रेजी भाषामा ‘सवटाइटल’ पनि राखिएका छन् ।

    बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत चलचित्रको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको छ । गत मङ्सिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले यही पुस १२ गतेसम्म रु २८ लाख ७८ हजार ८३६ आम्दानी गरेको छ । एकता पौडेलले निर्देशन गर्नुभएको चलचित्र ‘हर्ष’ का लागि जम्मा आठ हजार ८६८ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गर्नुरेका छन् ।


    गत मङ्सिर १८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘अभिमन्यू ः च्याप्टर १’ ले सोही अवधिसम्म रु २१ लाख ५० हजार ४०२ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गर्नुभएको उक्त चलचित्रको छ हजार ८६१ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरीलगायत कलाकारले अभिनय गरेका छन् ।

    मङ्सिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोहि अवधिमा रु छ लाख ७५ हजार ३३ कमाइ गरेको छ । उक्त चलचित्रको कूल दुई हजार १४१ वटा टिकट बिक्री भएका छन् । शोभित बस्नेतले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन् । मङ्सिर २६ मा प्रदर्शन भएको चलचित्र ‘लोकन्ती’ ले रु ४ लाख १२ हजार ५४० र ‘चिराग’ ले रु ६८ हजार ४५० कमाइ गरेको छ ।

    यही पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पनि घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गर्नुभएको उक्त चलचित्रले सोही अवधिमा रु ६२ लाख ६९ हजार ४७५ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन् ।

    भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य ९मुन्नी०, अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् । हाल प्रदर्शनरत चलचित्रमध्ये गत कात्तिक १४ गतेदेखि प्रदर्शन सुरू भएको ‘परान’ ले रु १७ करोड ६७ लाख ३६ हजार ८२८ कमाइ गरेको छ ।

    दीपकप्रसाद आचार्यले निर्देशन गर्नुभएको उक्त चलचित्रले प्रदर्शनको ५१ औँ दिन पूरा गर्दा गएको शनिबारसम्म छ लाख २७ हजार ५८५ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, सुव्रत आचार्यलगायतले अभिनय गरेका छन् । चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ।

  • युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ : प्रधानमन्त्री

    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ : प्रधानमन्त्री

    काठमाडौँ, १५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन् । उनले जतिसुकै मतभेद भए पनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको बताइन् । ‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’द्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मुख्य आधार उल्लासमय वातावरणसहित स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताइन् ।


    उनले राजनीतिक दलका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस भएसँगै प्रतिनिधि सभा सदस्यको निर्वाचन सुनिश्चित भएको छ भनिन् । आसन्न निर्वाचनका सन्दर्भमा जिम्मेवार राजनीतिक दलसहित र युवाहरूबाट प्राप्त अमूल्य सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले सम्बद्ध सबै पक्षको सहयोगमा उत्साहपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गरिन् ।

    शान्ति, सुरक्षाको प्रत्याभूतिसहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गरी मुलुकलाई राजनीतिक निकास दिन अहोरात्र खटिरहेको सरकारलाई साथ दिन सबैसँग अनुरोध गरेकी छिन् ।

  • प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

    काठमाडौँ, १५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेकी छिन् । तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरिन् ।

    उनले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, “यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् ।”

  • आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा

    आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा

    काठमाडौँ, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

    गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

    पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ ।

    कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिनेछ । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता छ ।

  • चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

    चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

    नारायण ढुङ्गाना–रासस
    चितवन, १४ पुस । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, “यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध सेतु मात्रै बनेको छैन, हात्ती संरक्षणको सन्देश दिन र चितवनमा पर्यटक आगमन वृद्धि गर्न सफल भएको छ ।”

    भीमकाय हात्तीका गतिविधि प्रस्तुत गरी चितवनको पर्यटन प्रवद्र्धन र वन्यजन्तु संरक्षणको प्रयास थालिएको २१ वर्ष पुगेको छ । सन् २००४ मा सुरु गर्दा हात्ती क्याराभान र ‘अन्तरराष्ट्रिय हात्ती दौड’ प्रतियोगिताका रुपमा आयोजना गरिएको थियो । कार्यक्रमले केही वर्षमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्याति कमायो । पछिल्ला समयमा पशु अधिकारका कुरा उठेपछि अझै हात्तीमैत्री कार्यक्रम कसरी आयोजना गर्न सकिन्छ भनेर चिन्तन मनन हुँदै परिमार्जित रुपमा हात्ती महोत्सव आयोजना भइरहेको छ । यसपालि पुस ११ शुक्रबारदेखि सुरु भएको महोत्सव आइतवार सम्पन्न भएको छ ।

    “यो चितवनकै पर्याय र सौराहाको ब्राण्ड भइसकेको कार्यक्रम हो”, क्षेत्रीय होटल संघ चितवनका पूर्व कोषाध्यक्ष तथा होटल सेभेनस्टारका सञ्चालक माधव दुवाडी भन्नुहुन्छ । उहाँले हात्ती महोत्सवकै कारण यो अफ सिजनमा सौरहामा २० देखि ३० प्रतिशतसम्म पर्यटक भित्र्याउन सफल भएको दावी उहाँले गर्नुभयो । अहिले क्रिसमको समय हो । अंग्रेजी नयाँ वर्ष संघारमा रहेको छ । यो समयमा आएका पर्यकटहरु क्रिसमस मनाउन आफ्नै देश फर्किन्छन् । विगतमा अहिले जस्तो नेपालमा आन्तरिक पर्यटकको चाप थिएन । पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक आएनन् भने सुनसान हुने गर्छ । अफ सिजनमा फर्किन लागेका पर्यटक रोकेर बसाई लम्ब्याउन र नयाँ पर्यटक बोलाउन यस्ता कार्यक्रम उपयुक्त मानिने पर्यटनविज्ञ विश्व सुवेदीको प्रतिक्रिया छ ।

    सौराहामा रहेका हात्ती चितवनकै शान हो । यहाँ टाँगा, घोडाहरु लोप भइसके । हात्तीका गतिविधिले वन्यजन्तु पर्यटनमा ठूलो योगदान पुगेको हात्तीविज्ञ डा कमल गैरे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वन्यजन्तु पर्यटनका लागि हात्ती नभइ हुन्न, संरक्षणका लागि पनि हात्ती चाहिन्छ कुनै बाघ, गैंडा वस्तीमा आउँदा हात्ती नै प्रयोग गर्नुपर्छ, त्यसैले पर्यटनसँग हात्तीलाई नजिक्याउनु, सम्बन्ध विस्तार गर्नुले वन्यजन्तु पर्यटनमा महत्वपूर्ण टेवा पुग्छ र पुगेको पनि छ, यो हात्ती महोत्सव त्यसैको पर्याय हो ।”

    चितवन हात्ती महोत्सव चितवन, ११ पुस : चितवनको सौरहामा क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनद्वारा शुक्रबार आयोजित १९औँ चितवन हात्ती महोत्सवमा र्‍याली गर्दै हात्तीहरू । तस्बिर : गोपाल दाहाल / रासस

    यसरी सुरु भएको थियो हात्ती महोत्सव

    क्रिसमसका समयमा सौराहामा पर्यटक शुन्य भए । विदेशी पर्यटक नआउँदा र आएका पर्यटक फर्किँदा सौराहा सुनसान हुन्थ्यो । सन् २००४ मा हात्ती दौडको सूरुवात गर्ने मध्यका एक क्षेत्रीय होटल संघ चितवनका तत्कालीन उपाध्यक्ष हरिभक्त घिमिरेका अनुसार कोरियामा बस्ने नवराज पन्तले हात्ती क्याराभानको प्रस्ताव गर्नुभएको थियो । पर्यटकका समूह घुमाउन ल्याउने हुँदा सौराहामा धेरै हात्ती देखेपछि उहाँले सो प्रस्ताव गर्नुभएको थियो ।

    त्यसबेला क्षेत्रीय होटल संघका अध्यक्ष हुनुहुन्थ्यो घनश्याम श्रेष्ठ, उपाध्यक्ष हरिभक्त घिमिरे उहाँहरुसँगै अग्रज पर्यटन व्यवसायी गिरिधारी चौधरी, शङ्कर सैंजु, रामकुमार अर्यालबीच छलफल भयो र क्षेत्रीय होटल संघले कार्यक्रम गर्ने निष्कर्ष निकाल्यो । अनि हात्तीको क्याराभान ९लस्कर० र हात्ती दौड प्रतियोगिता आयोजना गरिएको घिमिरेले सुनाउनुभयो ।

    सन् २००४ बाट प्रतियोगिता सुरु भयो । देश र विदेशका नाम चलेका पर्यटनसँगसम्बद्ध संस्था सहभागी भए । विश्वका पत्रकारको ध्यान तान्यो र कार्यक्रम विश्वव्यापी बन्यो । त्यसपछि व्यावसायी उत्साहित भए । कार्यक्रम देखाउँदा आन्तरिक र बाह्य पर्यटकको चाप राम्रो भएकाले अझै व्यवस्थित गर्दै जाने निधोमा व्यवसायीहरु पुगे ।

    त्यसबेला मुख्य आकर्षण हात्ती दौड भए पनि टाँगा, गाडा, डुंगा दौडका कार्यक्रम हुन्थे । विभिन्न मुलुकका व्यवसायिक घरानाले स्पोन्सर गरेका हुन्थे । झण्डै एक दशक हात्ती दौड प्रतियोगिता राम्रै भयो । चितवनको ब्राण्ड बन्यो । विश्वकै एक मात्र कार्यक्रम बन्यो । जसले देश र विदेशका पर्यटकलाई तान्न पनि सफल भयो । अफ सिजनमा पर्यटक आगमन केही बढाएपछि दौडलाई अझै विकसित गरेर अन्य गतिविधि समावेश गर्न थालियो । सौराहाका व्यवसायीहरुलाई यो थप प्रेरणा भने पश्चिम चितवनको मेघौलीमा टाइगर टप्स होटलले आयोजना गर्ने अन्तरराष्ट्रिय हात्ती पोलोले पनि दिएको थियो । हात्तीमाथि चढेर पोलो स्टिकले भुँइमा रहेको पोलो बललाई पोष्टमा छिराएर खेलिने पोलो खेलमा देशी र विदेशी पर्यटकको बाक्लो चाप हुन्थ्यो ।

    त्यस्तै चाप सौराहामा पनि भित्र्याउन गरिएको प्रयासमा व्यवसायी सफल भए । पछि टाइगरटप्स होटल निकुञ्जबाट हट्यो र विस्तारै विभिन्न जिल्लामा सारिएको पोलो बन्द भयो र सौराहामा आयोजना हुने हात्ती महोत्सव कार्यक्रममा पोलो पनि समावेश गरिएको थियो । हात्ती दौडलाई बृहत बनाउँदै जाने क्रममा हात्ती महोत्सवकै रुपमा आयोजना गर्न थालियो । त्यसमा हात्तीको वनभोज र हात्ती सुन्दरी प्रतियोगिता थपेसँगै थप आकर्षण भयो । क्रमैसँग अन्य यस्ता कार्यक्रम हुँदै आइरहेका छन् । गणेश भगवानका रुपमा यसपाली आज हात्तीको पूजा पनि गरिएको छ ।

    हुन त वन्यजन्तु पर्यटनको उत्कृष्ट गन्तव्य हो चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु छ र चितवनको पर्यटक पनि छ । त्यसैले वन्यजन्तुका क्रियाकलाप, उनीहरुका आनीवानी, रहनसहन तथा मौलिक संस्कृति हेर्न पर्यटकहरु यहाँ लालायित हुन्छन् । पर्यटकहरु चितवन र सौराहा घुम्न आउनुको मुख्य चाह नै बाघ, गैंडा, हात्तीलगायत वन्यजन्तु अवलोकन हो । नेपालमा दुर्लभ एक सिंगे गैंडाको मुख्य वासस्थान पनि चितवन हो ।

    महोत्सव हात्तीमैत्री

    अहिले हात्ती तथा पर्यटक महोत्सव थप वन्यजन्तुमैत्री बनाउँदै आयोजना हुँदै आएको छ । हात्तीलाई दुःख दिएको भन्दै सन् २०१३ बाटै पशु अधिकारकर्मीहरुले हात्ती दौडको विरोध हुन थालेका थिए । त्यसपछि हात्तीहरुलाई यातना भयो, कुटियो दौडाइयो भनेपछि त्यसको केही वर्षपछि दौड स्थगित गरी हात्ती महोत्सव नाम दिएर हात्तीको वनभोज सुरु गरिएको थियो ।

    हात्तीका छावाबीचको फुटबल सुरु गरियो । छावा बीचको फुटबल खुबै रोमाञ्चक भयो । जनावरले पनि मान्छेले जस्तै फुटबल खेल्न थाले । अजंगको हात्तीले मान्छेले झैँ गोलपोष्ट ताकेर फुटबल सुट गर्दा पर्यटकहरु लालायित भए । दर्शकले भरपुर मनोरञ्जन लिए । त्यसपछि ब्राण्ड नै छावाको फुटबल भयो । अनि हात्ती सुन्दरी प्रतियोगिता र हात्ती बनभोज सुरु भयो र अहिले पनि जारी छ ।

    विभिन्न रङ र चकले छालामा कोर्दा असर गर्ने भन्दै पशु अधिकारकर्मीहरुले त्यसको पनि विरोध गरे । फूटबलको पनि विरोध भयो । फेरि उनीहरुसँग छलफल गरेर कार्यक्रमलाई थप हात्तीमैत्री बनाउने सहमति भयो । गत वर्ष सहमतिसँगै अनुगमनसमेत गरेर हात्ती महोत्सव आयोजना गरिएको थियो ।

    थप हात्तीमैत्री कसरी गर्न सकिन्छ भनेर गत वर्ष सहमति नै गरेर हात्ती महोत्सव आयोजना गरिएको गत वर्षका संयोजक रामकुमार अर्याल स्मरण गर्नुहुन्छ । अनुगमन समिति नै बनाएर काम गरिएको उहाँले बताउनुभयो । विस्तारै यसपाली हात्तीका छावाको पेनाल्टी सुटआउट, सुन्दरी प्रतियोगिता, हात्ती वनभोज, हात्तीको पूजा गर्ने कार्यक्रमरु आयोजना भएका छन् । हात्ती पोलोको सांकेतिक रुप पनि प्रस्तुगरिएको थियो ।

    अहिले हात्ती वनभोज पेनाल्टी सुटआउटको विरोध भइरहनुले गलत नियत जोडिएको दावी गर्नुहुन्छ क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनाल । उहाँ भन्नुहुन्छ, “अधिकारकर्मीहरुले वास्तविकता के हो, हात्तीको दिनचर्या के हो ? हात्तीको खाना के हो ? भनेर बुझ्नुपर्छ, उसलाई चलायमान पनि गराउनुपर्छ, एकै ठाउँमा बाँधेर मात्रै राख्न पनि हुन्न, आफ्नो परिवारको सदस्य बच्चादेखि पालेर राखेको हात्तीलाई हान्ने, घोच्ने भन्ने त कुरै आउँदैन ।”

    कार्यक्रमकै कारण अहिले सौराहामा पर्यटकहरुको राम्रै उपस्थिति भएको हात्ती महोत्सव संयोजक गुणराज थपलिया बताउनुहुन्छ । “कुनै पनि क्रियाकलाप हात्तीमैत्री भन्दा बाहिर छैन, हामी व्यवसायीले करोडौँ लगानी गरेर आफ्नै सदस्य सरह पालिएको हात्तीलाई यातना दिने भन्ने कुरा कल्पना गर्नै सकिँदैन”, उहाँले भन्नुभयो, “आएका पर्यटकहरु हात्तीसँगै नजिक हुन, हात्तीका क्रियाकलाप हेर्न, तस्वीर लिन, हात्तीसँग रमाउन चाहन्छन्, पर्यटककै चाहनामा महोत्सव भइरहेको छ, तर विरोध हुनु विडम्बना र अर्थहीन छ ।”

    हात्ती महोत्सवको विरोध गर्र्दै आउनुभएका पशु अधिकारकर्मी सुराजन श्रेष्ठ बाहिर देखिँदा रमाइलो देखिए पनि महोत्सवभन्दा पछाडि भने यातना दिने गरेको पाइएपछि हात्तीको अधिकारको लागि आवाज उठाएको बताउनुहुन्छ । सामाजिक सञ्जालमा उहाँले राख्न्नुभएको एक भिडियो सामाग्रीमा भन्नुभएको छ, “हात्ती भएर सौराहाको पर्यटकलाई सहयोग पुगेको छ, हात्तीको महत्व पनि ठूलो छ, हात्ती छ र सौराहामा पर्यटक छ भन्नेमा सहमत छु तर हात्तीलाई क्रुर व्यवहारले पर्यटन दिगो हुँदैन, त्यसैको विरोध हो हाम्रो ।”

    उहाँहरुकै विरोधले हात्ती महोत्सवमा हात्तीको उपयोगका कार्यक्रमलाई परिमार्जन गर्दै थप हात्तीमैत्री बनाउँदै आइएको क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष दीपक भट्टराई बताउनुहुन्छ । ३० वर्षसम्म हात्तीको रेखदेख र उपचार गर्नुभएका हात्ती चिकित्सक तथा हात्तीविज्ञ डा कमल गैरे मान्छेलाई त व्यायाम चाहिन्छ, विहान मर्निङ वाक गर्नुपर्छ, हात्तीका लागि सामान्य खेल खेलाउनु उनीहरुको स्वास्थ्यका लागि राम्रै भएको प्रतिक्रिया दिनुहुन्छ । उहाँले भन्नुभयो, “यातना दिनुहुन्न सही कुरा हो, तर सौराहामा त्यसरी यातना दिएर हात्तीका गतिविधि देखाइएको मैले फेला पारेको छैन, अहिलेको अवस्थामा विरोध गर्नु भनेको वन्यजन्तु पर्यटक देख्न नसक्नेहरुको काम हो ।”

  • सौराहामा हात्ती महोत्सव : आज हात्ती पूजा र वनभोज

    सौराहामा हात्ती महोत्सव : आज हात्ती पूजा र वनभोज

    नारायणगढ (चितवन) १३ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहल बनेको छ ।

    महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, पेनाल्टी सुटआउटलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि सम्पन्न भएका छन् । साथै स्वदेशी तथा विदेशी पर्यटकको मागलाई ध्यानमा राख्दै विश्वप्रसिद्ध हात्ती पोलोको झल्को पनि शनिबार महोत्सवस्थल बाघमारा चौरमा प्रस्तुत गरिएको थियो । महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार हात्ती पोलोका केही सामग्री उपलब्ध भएकाले पर्यटकहरूको माग र उत्साह बढाउन खेलको झल्को प्रस्तुत गरिएको हो । “खेल पूर्ण रूपमा सञ्चालन हुन नसके पनि यसको झल्को देखाउँदा दर्शक तथा पर्यटक निकै उत्साहित भए”, उनले भने ।


    संयोजक थपलियाले महोत्सवको अन्तिम दिन आज हात्ती पूजन गरिने जानकारी दिँदै हात्तीलाई भगवान्का रूपमा मानी पूजा गर्न लागिएको बताउनुभयो । साथै आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको छ । “यसपटक हात्तीको वनभोज बफेट शैलीमा हुनेछ । हात्तीलाई मनपर्ने परिकारहरू राखिनेछन्, जसबाट हात्तीले आफूलाई मन लागेको जति खान पाउनेछन् । यसले हात्तीलाई रमाइलो महसुस गराउँछ”, उनले भने ।


    हात्तीमाथि यातना गरिएको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उहाँले हात्ती पनि पीडा र खुसी महसुस गर्ने संवेदनशील जीव भएको उल्लेख गरे । हात्तीलाई कसरी पीडा हुन्छ र कसरी खुसी हुन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । महोत्सवमा हामीले कुनै पनि प्रकारका यातनाजन्य गतिविधि गरेका छैनौँ”, उनले भने ।

    सौराहास्थित बाघमारा चौरमा आयोजित महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजकका रूपमा रहेको छ । महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० वटा हात्ती सहभागी भएका छन् । आयोजक संस्थाले हरेक वर्ष यही समयमा महोत्सव आयोजना गर्दै आएको छ ।

  • चालीस वर्षीया पुनमकली बनिन् ‘मिस हात्ती सुन्दरी–२०८२’

    चालीस वर्षीया पुनमकली बनिन् ‘मिस हात्ती सुन्दरी–२०८२’

    चितवन, १२ पुस । सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आज दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ४० वर्षीया पुनमकलीले जितेकी छन् । चार वटा हात्तीलाई पछि पार्दै पुनमकलीले ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि जितेकी हुन् । होटल लेण्डमार्क पोखरासँग आबद्ध पुनमकलीले कुल ३०० पूर्णाङ्कमध्ये २५० अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरिन् । महोत्सवका सह–आयोजक संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका व्यवस्थापक विनोद तिमिल्सेनाका अनुसार प्रतियोगितामा सेल्फीकली, चम्पाकली, पूजाकली र समृद्धिकली सहभागी थिए ।

    प्रतियोगितामा होटल गौतम बर्दिवाससँग आबद्ध २० वर्षीया हात्ती सेल्फीकलीले २३५ अङ्क ल्याएर दोस्रो स्थान हासिल गरिन् भने हेरिटेज ट्राभल काठमाडौँसँग आबद्ध ३५ वर्षीया हात्ती चम्पाकलीले २२४ अङ्क प्राप्त गर्दै तेस्रो भइन् । यसैगरी, होटल श्रीनगर पाल्पासँग आबद्ध ४० वर्षीया पूजाकली चौथो र हिमालय सोसल जर्नीसँग आबद्ध २६ वर्षीया समृद्धिकलीले पाँचौँ स्थान हासिल गरिन् ।

    क्षेत्रीय होटल सङ्घ नेपाल चितवनद्वारा शनिबार सौराहमा आयोजित १९औँ चितवन हात्ती महोत्सव प्रतियोगितामा पुनम कली बनिन् मिस हात्ती ‘सुन्दरी २०८२ ’। तस्बिरः चन्द्रकला क्षेत्री /रासस

    राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा अमिर सडौलाका अनुसार प्रतियोगितामा हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, सुन्दरता, सजावटसँगै हात्ती र माउतेबीचको सम्बन्ध, हात्तीको स्वास्थ्य अवस्था तथा हेरचाहको स्तरको मूल्याङ्कन गरिन्छ । सोही आधारमा सुन्दरी हात्ती छनोट गरिने उनले जानकारी दिए । “विशेषगरी माउतेले दिएको आदेश हात्तीले कत्तिको पालना गरेको छ, माउते–हात्तीबीचको समन्वय, अनुशासनलगायत पक्षमा अङ्क प्रदान गरी अन्तिम निर्णय गरिन्छ”, डा सडौलाले भने ।


    क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहासहित जिल्लाको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव आयोजना हुँदै आएको छ । महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । सौराहास्थित बाघमारा चौरमा जारी महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेको छ ।

  • पशुपतिनाथलाई जाडोबाट जोगाउन  गरियो धनुर्मास पूजा

    पशुपतिनाथलाई जाडोबाट जोगाउन गरियो धनुर्मास पूजा

    काठमाडौँ, ११ पुस । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि बिहीबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए ।
    बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ ।

    बिहीबार रातभर धनुर्मास पूजा गरेपछि शुक्रबार आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वास छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । शनिबार बिहानदेखि भने नियमित पूजा आराधना गरिन्छ ।

  • बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

    बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

    बेथलेहेम (प्यालेस्टिनी क्षेत्रहरू), १० पुस (रासस–एएफपी) । गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा बढी समयपछि बेथलेहेम सहरले पहिलो पटक क्रिसमस पर्व मनाएको छ । बुधबार राति येशू ख्रीष्टको जन्मस्थल मानिने ऐतिहासिक चर्च अफ द नेटिभिटीमा सयौँ श्रद्धालुहरू भेला भई सामूहिक प्रार्थनामा सहभागी भए । सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणसँगै सुरु भएको द्वन्द्वका कारण विगतका वर्षहरूमा बेथलेहेमको क्रिसमस उत्सव शोक र मौनताले ढाकिएको थियो । तर यस वर्ष गाजामा लागू गरिएको नाजुक युद्धविरामको सन्दर्भमा वेस्ट बैंकको यस सहरमा परेड, सङ्गीत र प्रार्थनासहित उत्सवको माहोल पुनः फर्किएको देखियो ।

    मध्यरातभन्दा अघि नै चर्च अफ द नेटिभिटी श्रद्धालुहरूले भरिएको थियो । राति ११ः१५ बजे अङ्ग सङ्गीत ९ओर्गान म्युजिक० को धुनसँगै पादरीहरूको जुलुस सुरु भयो । जेरुसेलमका ल्याटिन प्याट्रिआर्क कार्डिनल पियरबेटिस्टा पिज्जाबालाले क्रसको सङ्केत गर्दै उपस्थित श्रद्धालुहरूलाई आशीर्वाद प्रदान गर्नुभयो ।
    धर्मोपदेशमा उहाँले शान्ति, आशा र पुनर्जन्मको सन्देश दिनुहुँदै क्रिसमसको कथाले आजको अशान्त विश्वमा पनि गहिरो अर्थ राख्ने बताउनुभयो । “क्रिसमसले हामीलाई प्रभुत्वभन्दा माथि उठेर प्रेम, एकता र न्यायको शक्ति पुनः चिन्ने अवसर दिन्छ”, उहाँले भन्नुभयो । हालै युद्धग्रस्त गाजाको भ्रमणको स्मरण गर्दै उहाँले युद्धविरामका बाबजुद पनि पीडा अझै बाँकी रहेको उल्लेख गर्नुभयो, तर त्यहाँका मानिसहरूको साहस र फेरि उठ्ने इच्छाले आफूलाई प्रेरित गरेको पनि बताउनुभयो ।

    उता भ्याटिकनमा पोप लियो चौधौँले सेन्ट पिटरको बेसिलिकामा आफ्नो पहिलो क्रिसमस मास दिनुहुँदै विश्वभर २४ घण्टाको शान्तिको आह्वान गर्नुभयो । पोप फ्रान्सिसको निधनपछि निर्वाचित अमेरिकी पोन्टिफले क्रिसमसलाई ‘विश्वास, दान र आशाको पर्व’ का रूपमा वर्णन गर्नुभयो । बेथलेहेमको म्याङ्गर स्क्वायरमा ड्रम र ब्यागपाइपको धुन गुञ्जियो । युवा तथा वृद्ध इसाई श्रद्धालुहरू नाचगानसहित स्क्वायरमा भेला भए । १७ वर्षीया मिलाग्रोस अन्स्टासले युद्धका कारण लामो समय उत्सव मनाउन नपाएको पीडा सम्झँदै यस वर्षको खुसी विशेष भएको बताउनुभयो ।

    सहरका साँघुरा सडकमा परेड निकालियो, सान्ता क्लजको वेशमा मानिसहरूले बालबालिकालाई मिठाइ र खेलौना बाँडे । साँझ पर्नासाथ बहुरङ्गी बत्ती र विशाल क्रिसमस ट्रीले चर्च अफ द नेटिभिटी वरिपरि उज्यालो छर्‍यो । चौथो शताब्दीमा निर्माण भएको यो बेसिलिका इसाईहरूको लागि अत्यन्तै पवित्र मानिन्छ । स्थानीय बासिन्दाहरूले क्रिसमस उत्सवको पुनरागमनले सहरमा जीवन र आशा फर्किने विश्वास व्यक्त गरेका छन् । छिमेकी सहर बेत जालाका जर्ज हन्नाले ‘उत्सवबिनाको क्रिसमस कल्पना गर्नै सकिँदैन’ भन्नुभयो ।

    इटालियन तीर्थयात्री कार्मेलिना पिडिमोन्टेले बेथलेहेमको दृश्यले आफूलाई गहिरो आशा दिएको बताउँदै ‘हृदयमा प्रेम भए युद्धबिनाको संसार सम्भव छ’ भन्नुभयो । यसैबीच सिरियाको दमास्कसमा पनि सुरक्षा चिन्ताबीच क्रिसमस बत्तीले पुरानो सहर झलमलाएको थियो । विश्वका अन्य भागहरूमा पनि परिवारहरू क्रिसमसको पूर्वसन्ध्यामा भेला भए । यद्यपि कतिपय स्थानमा हालैका हिंसात्मक घटनाले शोकपूर्ण वातावरण पनि देखियो, तर समग्रमा क्रिसमसले संसारभर आशा, एकता र शान्तिको कामना बोकेको सन्देश फैलाएको छ ।

  • कुन देशमा कसरी मनाइदैछ क्रिसमस ? (तस्वीर कथा)

    कुन देशमा कसरी मनाइदैछ क्रिसमस ? (तस्वीर कथा)

    काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

    A woman poses for amid Christmas lights in Istanbul, Wednesday, Dec. 24, 2025. (AP Photo/Emrah Gurel)

    पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए ।

    A woman takes a selfie amid Christmas lights in Istanbul, Wednesday, Dec. 24, 2025. (AP Photo/Emrah Gurel)

    उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका बताए ।

    Pope Leo XIV celebrates the Christmas Eve Mass in St. Peter’s Basilica at The Vatican, Wednesday, Dec.24, 2025. (AP Photo/Gregorio Borgia)


    मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ ।

    Revelers attend the annual Surfing Santas event on Christmas Eve, Wednesday, Dec. 24, 2025, in Cocoa Beach, Fla. (Dalton Smith/@NPI Productions/Florida Space Coast via AP)

    विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उनले बताए ।

    People celebrate Christmas Eve at a bar in Damascus, Syria, early Thursday, Dec. 25, 2025. (AP Photo/Omar Sanadiki)


    महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएकोे जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए ।

    TOPSHOT – Christian devotees arrive to attend a Christmas Eve mass at the St. Mary’s Cathedral in Yangon on December 24, 2025. (Photo by Sai Aung MAIN / AFP)

    दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

    President Donald Trump, speaks accompanied by first lady Melania Trump, during a NORAD, North American Aerospace Defense Command, Tracks Santa Operation call at his Mar-a-Lago club, Wednesday, Dec. 24, 2025, in Palm Beach, Fla. (AP Photo/Alex Brandon)

    पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ ।

    (251224) — CAIRO, Dec. 24, 2025 (Xinhua) — People admire festive lights at a shopping mall in Cairo, Egypt, Dec. 24, 2025. (Xinhua/Ahmed Gomaa)

    महासङ्घको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् । यहाँ विश्वभर मनाइरहेको क्रिसमसका केही तस्वीर उपलब्ध छन् ।

    An American flag is seen on a rooftop as people walk on a street, Monday, Dec. 22, 2025, in the Queens neighborhood of New York. (AP Photo/Yuki Iwamura)
  • राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

    राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

    काठमाडौँ, १० पुस । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उनले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख गरे ।

    सन्देशमा भनिएको छ, “इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्षको डिसेम्बर २५ लाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । नेपालमा यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्वलाई मनाउने गरिएको छ ।

    प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन रहेको यस पर्वमा मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न तथा इतिहास र संस्कृति जोगाउँदै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचारालाई प्रवद्र्धन गर्न यस दिनले प्रेरणा प्रदान गर्ने अपेक्षा गरिन्छ ।

    यस्ता पर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।” इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गरेका छन् ।

  • डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा

    डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा

    काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका उनले बताए ।


    मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उनले बताए । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएकोे जनाइएको छ ।

    कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

    पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ । महासङ्घको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।

  • हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

    हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

    काठमाडौँ, ९ पुस । नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ ।
    काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको आयोजकको भनाइ छ ।


    कार्यक्रमले चिनियाँ एनिमेसनमा प्रविधि र संस्कृतिको संयोजनलाई नजिकबाट अनुभूति गर्ने अवसर दिएको सहभागीले बताएका छन् । गत बुधबार ‘सेतो सर्प’ चलचित्रको प्रदर्शन, सिर्जनात्मक टोलीसँग अनलाइन अन्तरक्रिया तथा ब्लाइन्ड–बक्स गतिविधिहरू सञ्चालन गरिएका थिए । ‘विगतको जीवनको भाग्य’ विषयमा आधारित चलचित्रले चिनियाँ पौराणिक कथाको समकालीन पुनःव्याख्या प्रस्तुत गर्दै दर्शकलाई गहिरो रूपमा आकर्षित गरेको थियो ।

    गत बिहीबार आयोजित ‘फिङ्गरटिप क्रिएसन्स’ कार्यशाला कार्यक्रमको मुख्य आकर्षण बनेको थियो । कार्यशालामा नेपाली कलाकारहरूले परम्परागत हस्तनिर्मित कागज निर्माण प्रक्रिया प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले स्थानीय रूपमा उपलब्ध पर्यावरण–मैत्री कागज प्रयोग गरी ‘नयाँ देवताहरू याङ जियान’, ‘सेतो सर्प’ र ‘हेई २’ जस्ता चिनियाँ एनिमेसन चलचित्रबाट प्रेरित पोस्टर तथा दृश्यात्मक कलाकृतिहरू सिर्जना गरेका थिए ।

    यसले चिनियाँ एनिमेसन र नेपाली हस्तकला परम्पराबीचको सृजनात्मक फ्युजनलाई उजागर गरेको जनाइएको छ । सोही दिन नयाँ देवताहरू याङ जियान’को स्क्रिनिङ गरिएको थियो । प्रदर्शनीमा बेइजिङ नर्मल युनिभर्सिटीका प्राध्यापक झाङ यानले ‘एआई(सञ्चालित रूपान्तरण र फिल्म उद्योगमा नवीनता’ शीर्षकमा व्याख्यान दिँदै एआइले फिल्म निर्माण र उद्योग विकासलाई कसरी पुनःआकार दिइरहेको छ भन्ने विषयमा विद्यार्थीहरूसँग संवाद गरेका थिए । सांस्कृतिक–रचनात्मक क्षेत्रका प्रमुख योजनाकार ली कियानले यस्ता सामग्रीले नेपाली युवालाई चिनियाँ एनिमेसनको दृश्य आकर्षण मात्र होइन, त्यसभित्र नीहित नवप्रवर्तनको सांस्कृतिक भावना पनि बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

  • रवि र बालेन मध्यराती एउटै गाडीमा, समर्थक दंग

    रवि र बालेन मध्यराती एउटै गाडीमा, समर्थक दंग

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मध्यराती एउटै गाडीमा देखिएका छन् । उनीहरुबीच सोमबार राती छलफल भएको थियो । छलफलपछि एउटै गाडीमा बाहिरिए । वैकल्पिक शक्ति एक हुनुपर्ने माग गरिरहेका समर्थकहरु यतिबेला सामाजिक संजालमा खुसी व्यक्त गरिरहेका छन् । स्रोतहरुका अनुसार दुई नेताबीच सहकार्य गर्नेबारे केन्द्रित भई छलफल भएको छ ।

    गएराति असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा रवि र बालेनबिच भेटवार्ता भएको भएको हो । भेटमा सहभागी असिम साहले भेट सौहार्दपूर्ण भएको र मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको बताए । भेटमा भएका छलफलका विषय भने सार्वजनिक गरिएका छैनन् ।

    असिम साहले पत्रकासँग भने, ‘बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो । त्यसको सुखद सुरुवात भएको छ । सन्देश केहो भने दुई जना मिलेर जाने हो । अब अगाडि बढ्ने हो ।’ उनले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

  • अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

    अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

    काठमाडौँ, ८ पुस । अमेरिकाका विभिन्न सात सहरमा बस्ने नेपाली जातिका प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीय किशोरी आर्या खनाल प्रथम भएकी छिन् भने नृत्य प्रतिस्पर्धामा कोलम्बसकै १३ वर्षीय खुसी अधिकारी विजयी भएकी छन् ।

    नेपाली जातिहरुको बाक्लो बस्ती भएका ओहायोको कोलम्बस, एक्रोन, सिन्सिनाटी तथा पेन्सिलभेनियाको ह्यारिसवर्ग, ल्यानकास्टर, पिट्सवर्ग र स्क्रान्टनका प्रतिभाहरुले भाग लिएका थिए । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ओहायोको एक्रोनमा भेला भएका यी प्रतिभाहरुबीच यही डिसेम्बर २० र २१ मा प्रतियोगिता आयोजना भएको थियो ।

    प्रस्तुतिमा गायनतर्फ सिन्सिनाटीका दिगान्त गुरुङ दोस्रो भएका थिए भने नृत्यतर्फ ल्यानकास्टरकी आयुसा चापागाई दोस्रो भएको फाउण्डेसनले विज्ञप्तिमार्फत जनाएको छ । त्यसैगरी कोलम्बसकै कुञ्जन सुवेदी गायनतर्फ तेस्रो भइन भने ह्यारिसवर्गकी सामन्था क्षेत्री नृत्यतर्फ तेस्रो पुरस्कार जित्न सफल भइन । अमेरिकामै जन्मे हुर्केका नेपाली जातिका बालबालिका र किशोर किशोरीहरुलाई नेपाली कला संस्कृतितर्फ आकर्षित गर्ने चुनौतीपूर्ण कार्य विगत १० वर्षदेखि निरन्तर गरिहेको बताउँदै फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भुटानबाट लखेटिनु पर्दा नछाडेको नेपाली संस्कृतिलाई पुस्तान्तरणको अभियानमा सबैको साथको अपेक्षा गरे ।
    विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्दै नेपाली जातिको पहिचान लिएर गर्वका साथ जीवन जीउन सिकाउन फाउण्डेसनले सात सहरहरुमा सातवटा नेपाली नृत्य र सङ्गीतका कक्षाहरु सञ्चालन गरिरहेको जानकारी दिए । यी कक्षाहरुमा एक हजार ३०० नेपाली मूलका बालबालिका, किशोर किशोरीहरु अध्ययनरत छन् ।

    यी विद्यार्थीहरुबाट विद्यालयमै गइ अडिसन गराइ छानेर ल्याइएका १०–१० जनाका विद्यार्थीका समूहबीच गराइएको नृत्य प्रतियोगितामा पेन्सिलभेनियाको ल्यान्काष्टर समूह प्रथम भयो भने पेन्सिलभेनियाकै ह्यारिसवर्ग समूह दोस्रो र ओहायोको कोलम्बस समूह तेस्रो भएको छ । प्रतिस्पर्धामा एकल गायन, एकल नृत्य र समूह नृत्यमा प्रथम हुनेले तीन हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् भने दोस्रो हुनेले दुई हजार र तेस्रो हुनेले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

    गायन प्रतियागिताको निर्णायकम अञ्जु पन्त, सुजता वर्मा र गायक अर्जुन रसाइली थिए । नृत्यतर्फका निर्णायकमा दिलीप रायमाझी, सारङ्गा श्रेष्ठ र नृत्यविद् आरती शर्मा थिए । कार्यक्रम संयोजक चन्द्र पराजुलीका अनुसार गायनतर्फ २२ जना प्रतिस्पर्धी र नृत्यतर्फ ३४ जना सहभागी थिए । सामूहिक नृत्यतर्फ छ वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।

  • योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

    योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

    रासस
    म्याग्दी, ७ पुसः पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङगल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको ‘स्वर्गाश्रम’ प्राकृतिक रुपमा रमणीय, धार्मिक हिसाबले ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।


    परापूर्वकालमा तपस्या गर्न ऋषिमुनीहरु आउने स्वर्गाश्रम आधुनिक समाजमा विपाशना, योग, ध्यान, घुमघाम र प्राकृतिक दृष्य अवलोकनका लागि पूर्वाधार बनेको छ । आधारभूत पूर्वाधार तयार भए पनि स्वर्गाश्रममा पर्याप्त पाहुना, भक्तजन र पर्यटक भित्र्याउन नसकिएको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो । “पछिल्लो एक दशकमा स्वर्गाश्रममा कच्ची सडक, पदमार्ग, खानेपानी, विद्युत्, सञ्चार सुविधा विस्तार, आश्रयस्थल भवन, घेराबार निर्माण भएको छ,” उहाँले भन्नुभयो “स्थानीयस्तरमा सीमित बनेको स्वर्गाश्रमको महत्वलाई उजागर गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ ।”

    बेनी नगरपालिका, वडा कार्यालय, स्वर्गाश्रम क्षेत्र विकास समितिको साझेदारीमा त्यहाँ आधारभूत पूर्वाधार तयार गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो । आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि महायज्ञ आयोजना गरेर सहयोग जुटाइएको थियो । महायज्ञबाट सङ्कलित रकम र सरकारी निकायको सहयोगमा गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण भएको हो । बेनी नगरपालिकाको सहयोगमा स्वर्गाश्रम परिसरमा ढुङ्गा विछ्याउने, पदमार्ग र घेराबार निर्माण भएको वडा सदस्यसमेत रहेका स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताउनुभयो ।

    उहाँका अनुसार समुद्रि सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित स्वर्गाश्रममा दुई सय वर्षअघि ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रुपमा परिचित छ । “आश्रम नजिकैको गुफामा सप्तऋषिले तपस्या गरेको किंबदन्ती छ,” जिसीले भन्नुभयो “स्वर्गाश्रमको दर्शन गरेमा अन्य पाँच पवित्र तीर्थस्थलको दर्शन र मनोकामना पूरा हुने जनविश्वास छ ।”

    फाट्टफुट्ट रुपमा नेपाल र भारतका विभिन्न ठाउँका तपस्वीहरु स्वर्गाश्रममा आउने गरेका छन् । हिमालको काँखमा शान्त वातावरणमा योग, ध्यान र विपाशनाका लागि स्वर्गाश्रम उपयुक्त भएको योगी बद्रीनाथले बताउनुभयो । “पहिले यहाँ तपस्विहरुले ओडारमा बस्नुपर्ने समस्या थियो,” उहाँले भन्नुभयो “पूर्वाधार निर्माण भएपछि सहज भएको छ ।”

    अर्का योगी त्रीशक्तिनाथले यहाँ आउँदा कोलाहल र तनावबाट मुक्ति मिल्ने भएकाले स्वर्गाश्रम नाम रहन गएको बताउनुभयो । स्वर्गाश्रमबाट मनोरम हिमशृङ्खला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । गुर्जा, चुरेन, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृष्य अवलोकन गर्न सकिन्छ । नागबेनी परेर बगेको म्याग्दी नदी, जिल्ला सदरमुकाम बेनी बजार, पर्वतको मल्लाज, म्याग्दीको अर्थुङ्गे, पुलाचौर, कुहुँ, बरङ्जा, बाबियाचौर, भकिम्ली गाउँको दृष्य अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रमको फेदीमा रहेको बागखोरमा उद्यान छ । जहाँ हिमशृङ्खला अवलोकन गर्दै वनभोज खान सकिन्छ ।

    हरेक वर्षको वैशाख १ गते स्वर्गाश्रमदेखि केहीमाथि म्याग्दी र बागलुङको सिमानामा रहेको बेलढुङ्गासम्म रथयात्रा गर्ने चलन छ । स्वर्गाश्रम र बेलढुङ्गाको एकीकृत पर्यटन विकासमा बागलुङको काठेखोलाको धम्जा र म्याग्दीको बेनी नगरपालिकाको भकिम्लीको वडा कार्यालय र सङ्घ संस्थाले साझेदारी गर्दै आएका छन् । स्वर्गाश्रमको महत्वलाई उजागर गर्ने उद्देश्यले आइतबार दोस्रो विश्व योग दिवसको अवसरमा यहाँ कार्यक्रम आयोजना गरिएको थियो । बेनी नगरपालिका–३ को कार्यालयको सहयोगमा नविन आनन्द योग केन्द्र नेपाल र स्वर्गाश्रम क्षेत्र विकास समितिको आयोजनामा स्वर्गाश्रममा ध्यान दिवस मनाइएको हो ।

    दिवसको अवसरमा योग, ध्यानको नमूना प्रदर्शन, प्रवचन र नृत्य प्रस्तुत गरिएको थियो । दिवस मनाउनका लागि बेनी, गलेश्वर, तातोपानी, बाबियाचौर र दरवाङका योगी तथा स्थानीयवासी स्वर्गाश्रममा भेला भएका थिए । बेनीदेखि भकिम्ली र काठेखोलाको धम्जा हुँदै स्वर्गाश्रम पुग्न सकिन्छ । बेनीदेखि एक घण्टा ३० मिनेट गाडीमा यात्रा गरेपछि स्वर्गाश्रम पुगिन्छ । त्यहाँ कच्ची सडक पुगेको छ । धम्जामा बेलढुङ्गा होमस्टे सञ्चालन भएको छ ।

    भकिम्लीको भुकभुके र मुसुङका बासिन्दाले पनि स्वर्गाश्रम, बेलढुङ्गा घुम्न आउने पाहुनालाई घरमा खाने, बस्ने व्यवस्था मिलाएका छन् । भुकभुके र मुसुङमा होमस्टे सञ्चालनको तयारी भएको स्वर्गाश्रम क्षेत्र विकास समितिका कोषाध्यक्ष पूर्णमाया जिसीले बताउनुभयो । आफै बन्दोबस्तीका सामान ल्याएर आउने पाहुना र पर्यटकले स्वर्गाश्रम र बाघखोरको आश्रयस्थल भवनमा पकाएर खान सक्छन् ।

  • साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

    साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

    रियाद, ७ पुस (रासस–एपी) । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि मदिरा किन्न पाउने भएका छन् । यो कदमलाई एक समय अत्यन्त रूढीवादी मानिएको राज्यले अपनाइरहेको उदारीकरण नीतिको पछिल्लो चरणका रूपमा हेरिएको छ ।

    यस विषयमा कुनै औपचारिक घोषणा गरिएको छैन । तर जानकारी बाहिरिएसँगै राजधानी रियादको डिप्लोमेटिक क्वार्टरमा रहेको विवेकपूर्ण र अचिह्नित स्टोर बाहिर कार र मानिसहरूको लामो लाइन देखिन थालेको छ । यो स्टोर सन् २०२४ जनवरीमा गैर–मुस्लिम कूटनीतिज्ञहरूका लागि मात्र खोलिएको थियो । हाल नयाँ नियमअनुसार प्रिमियम रेसिडेन्सी अनुमति प्राप्त गैर–मुस्लिम विदेशीहरूलाई पनि खरिद गर्न अनुमति दिइएको छ । यस्तो रेसिडेन्सी विशेष सीप भएका विज्ञ, लगानीकर्ता तथा उद्यमीहरूलाई प्रदान गरिन्छ ।

    इस्लामका सबैभन्दा पवित्र स्थलहरूको घर साउदी अरेबियामा सन् १९५० को दशकदेखि मदिरा पूर्ण रूपमा प्रतिबन्धित छ । उक्त स्टोरलाई राज्यले मदिराको सीमित र नियन्त्रित बिक्री कसरी सम्भव हुन्छ भन्ने सावधानीपूर्वक परीक्षणका रूपमा लिएको विश्लेषकहरूको भनाइ छ ।

    साउदी अरबका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमान र उनका ता राजा सलमानको नेतृत्वमा राज्यले पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार विस्तार र तेलमा निर्भर अर्थतन्त्र घटाउने उद्देश्यले व्यापक सामाजिक–आर्थिक सुधार अघि बढाइरहेको छ । यसअन्तर्गत चलचित्र हल खोलिएका छन्, महिलालाई गाडी चलाउन अनुमति दिइएको छ र ठूला सङ्गीत महोत्सवहरू आयोजना हुन थालेका छन् । यद्यपि राजनीतिक अभिव्यक्ति र असहमतिको विषयमा राज्य अझै कडा छ, जहाँ कडा सजायसम्मको व्यवस्था छ ।

    सामान्य जनताका लागि भने मदिरा अझै प्रतिबन्धित नै छ । उक्त अचिह्नित पसल शुल्क–मुक्त स्टोर जस्तै देखिन्छ र यसको स्वामित्व आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । सुरक्षाको व्यवस्था कडा छ । आगन्तुकहरू प्रवेशअघि योग्यता जाँच र सुरक्षा परीक्षणबाट गुज्रनुपर्छ । भित्र मोबाइल फोन र क्यामेरा प्रतिबन्धित छन्, स्मार्ट चश्मासमेत जाँच गरिन्छ ।

    एसोसिएटेड प्रेसले पसलबाट निस्किएका केही ग्राहकहरूसँग कुरा गरेको छ । मदिरासँग जोडिएको सामाजिक संवेदनशीलताका कारण उनीहरूले नाम नखुलाउने सर्तमा प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार मूल्यहरू निकै महँगा छन् । कूटनीतिज्ञहरूलाई कर छुट दिइए पनि प्रिमियम रेसिडेन्सी धारकहरूलाई त्यो सुविधा छैन । पसलमा मदिराको सङ्ग्रह तुलनात्मक रूपमा राम्रो भए पनि बियर र वाइनको छनोट केही सीमित रहेको उनीहरूको भनाइ छ ।

    प्रिमियम रेसिडेन्सी योजना विश्वव्यापी प्रतिभा र लगानी आकर्षित गर्ने साउदी रणनीतिअन्तर्गत सुरु गरिएको हो । यसका लागि साउदी प्रायोजक आवश्यक पर्दैन र यसले सम्पत्ति किन्न, व्यवसाय सुरु गर्न र परिवारलाई प्रायोजन गर्न पाउने अधिकार दिन्छ, तर उच्च आय वा ठूलो लगानी अनिवार्य छ । मदिरा चाहने धेरै साउदी र बासिन्दाहरू छिमेकी बहराइन जाने गर्छन् । त्यहाँ मदिरा कानूनी रूपमा उपलब्ध छ ।

    सप्ताहन्त र बिदामा बहराइन साउदीसहित खाडी क्षेत्रका आगन्तुकले भरिने गर्छ । दुबई जानु अझ महँगो विकल्प मानिन्छ । कतिपयले तस्करी गरिएको महँगो वा जोखिमपूर्ण घरेलु मदिराको सहारा पनि लिन्छन् । यसका विकल्पका रूपमा कतिपय साउदीहरूले मदिरा–रहित पेय पदार्थ रोज्ने गरेका छन्, विशेष गरी ठूला कार्यक्रम र उत्सवहरूमा, जहाँ मदिरा–रहित बियर स्ट्यान्डमा लामो लाइन देखिनु असामान्य छैन ।


    इतिहासमा फर्किँदा, साउदी अरबका संस्थापक राजा अब्दुलअजिजले सन् १९५१ मा आफ्ना छोरा राजकुमार मिशारीले नशामा जेद्दामा बेलायती उप–वाणिज्यदूत सिरिल ओसमानलाई गोली हानी हत्या गरेको घटनापछि मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएका थिए ।