Category: मनोरञ्जन

  • फागुपूर्णिमा (होली)ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

    फागुपूर्णिमा (होली)ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

    काठमाडौँ, १८ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।

    राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

    असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।


    रङ्गहरूको पर्वका रुपमा प्रत्येक वर्ष फागुपूर्णिमा (होली) पर्व देशभर वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुन्छ ।

    राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको र त्यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरेका छन् ।

  • गण्डकीमा पनि भीडभाड गरेर फागु खेल्न नपाइने

    गण्डकीमा पनि भीडभाड गरेर फागु खेल्न नपाइने

    गण्डकी, १५ फागुन । प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि सार्वजनिकस्थलमा भीडभाड हुने गरी खेल्न नपाइने भएको छ ।
    निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिक भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रुपमा सूचीत गरेको हो । कार्यालयले आज जारी गरेको सूचनामा फागु पर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको उल्लेख छ ।

    परिवार मिलेर घरपरिसरमा सभ्य र सुसंस्कृत रुपमा फागु पर्व मनाउन कार्यालयले आग्रह गरेको छ । फागु पूर्णिमा मनाउने क्रममा सुरक्षा नियम र आचारसहिंता पालना गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरिएको छ । फागु खेल्ने क्रममा प्रचलित कानुन विपरीत कार्य गरेको पाइएमा जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने कार्यालयले जनाएको छ । यही फागुन १८ गते पहाड र १९ गते तराई क्षेत्रमा फागुपूर्णिमा मनाइँदैछ ।

  • यस पटकको होली पर्व घरभित्र मनाउन र राजनीतिक प्रतीक प्रयोग नगर्न आग्रह

    यस पटकको होली पर्व घरभित्र मनाउन र राजनीतिक प्रतीक प्रयोग नगर्न आग्रह

    काठमाडौँ, १५ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिकस्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।

    कार्यालयद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आआफ्नो घर परिषरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन बाधा नपर्ने स्पष्ट पार्दै खुला सडक र सार्वजनिक स्थानमा अनावश्यक भीड जम्मा गर्ने, कार्यक्रम आयोजना गर्ने र मदिरा सेवन तथा वितरण गर्ने कार्य नगर्न अनुरोध गरेको छ ।

    कार्यालयले आसन्न निर्वाचनलाई लक्षित गर्दै लागू भएको निर्वाचन आचारसंहिताको कार्यान्वयनमा जोड दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा जुलुस, आमसभा वा प्रचारप्रसारमा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा, स्टिकर अङ्कित टोपी, टी–सर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।

    होलीका अवसरमा यस्ता सामग्री प्रयोग गरी आचारसंहिताविपरीत गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ । सूचनामा कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, मदिरा सेवन गरी सार्वजनिक मर्यादा भङ्ग गर्ने, हो–हल्ला तथा अराजक गतिविधि गर्ने काम कानुनविपरीत हुने उल्लेख गरिएको छ ।

  • जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

    जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

    धर्मेन्द्र झा र टिकाराम सुनार/रासस

    काठमाडौँ, १५ फागुनः “जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय हो, चिन्तनको पाठशाला हो”, मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णका यी शब्दहरू केवल औपचारिक सम्बोधनका वाक्य होइनन्, जनकपुरको आत्माको अनुवाद हुन् । जनकपुरधाम–जहाँ प्रत्येक गल्लीमा कथा छ, प्रत्येक मन्दिरमा स्मृति छ, प्रत्येक आँगनमा अरिपनको रेखा छ र प्रत्येक आवाजमा मैथिलीको मिठास छ ।

    यही सहरमा विगत १० वर्षदेखि एउटा महोत्सव हुँदै आएको छ– जनकपुरधाम साहित्य–कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव । हरेक दुई वर्षमा हुने यो महोत्सवको पाँचौँ शुङ्खला हालै (फागुन ५–८) सम्पन्न भएको छ । यसपटक पनि रङ्गमञ्चको उज्यालो, लोकगीतको लय र बहसको तापमा मैथिली सभ्यताको सांस्कृतिक पुनर्जागरणका स्वर गुञ्जिए ।

    यो महोत्सव मैथिली विकास कोषको आयोजनामा २०७३ सालदेखि निरन्तर हुँदै आएको छ । पाँचौँ संस्करणसम्म आइपुग्दा यसले एउटा स्पष्ट सन्देश स्थापित गरेको छ– मैथिली राष्ट्रियताले केवल भावना खोजेको छैनस यसले सांस्कृतिक चेतनाको सुसङ्गठित पुनर्जागरण खोजेको छ । पछिल्लो समय यो महोत्सव मैथिली राष्ट्रियताको सांस्कृतिक पुनर्जागरणका लागि ऊर्जा भर्ने एक साझा मञ्चका रूपमा विकास हुँदै गएको छ ।

    महोत्सवले जीवित सङ्ग्रहालय र चिन्तनको पाठशालाका रूपमा चिनिँदै आएको जनकपुरको सभ्यतालाई पुनर्ताजगी गर्न योगदान पुगिरहेको जानकाहरू बताउँछन् । यही सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख कर्णले भनेका थिए, “साहित्य, कला र नाटक कुनै पनि समाजको सभ्यताका प्रमाण हुन् । यिनले मानव हृदयलाई जोड्ने पुलको काम गर्छन् । नाटकले समाजको यथार्थ बोल्छ, साहित्यले चेतना भर्छ र कलाले सभ्यतालाई रङ्गाउँछ । प्रत्येक दुई वर्षमा आयोजना हुने यस महोत्सवले मधेसको मौलिक संस्कृति, अनुभूति र पर्यटनको सम्भावनालाई विश्वसम्म पुर्याउन जुन योगदान गर्दै आएको छ, त्यो प्रशंसनीय छ ।”

    उनको यो कथनले महोत्सवको सार र जनकपुरको सांस्कृतिक आयामलाई सटीक रूपमा समेट्छ । वास्तवमा, मिथिलाको सांस्कृतिक धरातलमा उभिएको जनकपुर नाट्य महोत्सव केवल साङ्गीतिक वा रङ्गमञ्चीय कार्यक्रम होइनस यो पहिचान, इतिहास र समकालीन चेतनाको समागम हो ।

    जनकपुरधामः सभ्यताको जीवित पाठशाला

    प्राचीन विदेहको प्रज्ञा, माता जानकीको पवित्र पदचाप र मिथिलाको अनन्य वैभव बोकेको जनकपुरधाम धार्मिक आस्थाको केन्द्रमात्र होइन, यो बहुपरम्परा, बहुभाषिकता र बहुसांस्कृतिक सहअस्तित्वको जीवन्त अभ्यासस्थल हो । यही ऐतिहासिक भूमिमा मैथिली विकास कोषले विगत एक दशकदेखि प्रत्येक दुई वर्षमा नाट्य महोत्सव आयोजना गर्दै आएको छ । कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार महोत्सवको उद्देश्य उत्सव मनाउनुमात्र होइन, यहाँको वैभवशाली संस्कृतिको उजागर गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ध्यानाकर्षण गर्नु हो ।

    उनी भन्छन्, “हाम्रो इतिहास कति समृद्ध छ भन्ने देखाउनुमात्रै छैन, त्यसलाई कसरी जोगाउने र नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्ने भनेर विमर्श पनि गर्नुछ । महोत्सव त्यसकै माध्यम हो । भाषा, चित्रकला, नाटक, साहित्यिक गोष्ठी र विमर्शमार्फत मिथिलाको बहुआयामिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने प्रयास गरिरहेका छौँ ।”

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले महोत्सवलाई ‘मैथिली जरुवा संस्कृति’को सिर्जनात्मक मञ्चका रूपमा चित्रित गरेका छन् । “मैथिली समाजको विकास भनेको केवल सांस्कृतिक संरक्षण होइन, यो समावेशी सहभागिता, राष्ट्रिय एकता र मानव–पर्यावरणीय सहअस्तित्वको सशक्त आधार हो । यसलाई सामुदायिक–प्रादेशिक पहलसहित राष्ट्रिय अन्तरराष्ट्रिय पहुँच पुर्याउन आफ्नो नवजागरण र सचेत गतिशीलता आवश्यक छ । उनी भन्छन्, “जनकपुर नाट्य महोत्सवले स्थानीय कला, भाषा र संस्कृतिलाई ‘राष्ट्रिय भावधारा र सांस्कृतिक नारा’मा स्वअस्थित्व र अपनत्वको मौलिक अभिव्यक्ति दिँदै राष्ट्रिय–अन्तरराष्ट्रिय रूपमा पहिचान विस्तार गर्न सशक्त सांस्कृतिक मञ्चको भूमिका निर्वाह गरिरहेको छ ।”

    राजर्षिजनक विश्वविद्यालयका उपकुलपति प्रा डा अमरप्रसाद यादव पनि यस महोत्सवलाई मिथिलाको सांस्कृतिक ऊर्जा नयाँ पुस्तामा सञ्चार गर्ने प्रभावकारी माध्यम बन्दै गएको उल्लेख गर्छन । “मिथिलाको माटो आफैँमा जीवन्त काव्य हो । यहाँको अरिपन, भजन, नचारी र नाट्य परम्पराले समाजको ऐना देखाउँछ । महोत्सवले यसलाई विश्वसम्म पुर्याउन टेवा दिएको छ”, उनको भनाइ छ, “राजर्षिजनकको यो तपोभूमिमा साहित्य केवल मनोरञ्जनका साधनमात्र नभएर जीवनपद्धति र संस्कारका अभिभाज्य रङ्ग हुन् । यो महोत्सवले मैथिली भाषाको मिठास, मिथिला चित्रकलाको गहिराइ र रङ्गमञ्चको जीवन्ततालाई वैश्विक क्षितिजसम्म विस्तारमा योगदान गरिरहेको छ ।”

    शोभायात्रा : सडकमा देखिने समावेशी मिथिला

    महोत्सवको सबैभन्दा आकर्षक र अर्थपूर्ण आयाम हो– पहिलो दिनको शोभायात्रा तथा सांस्कृतिक झाँकी प्रदर्शनी । मिथिलाको परम्परागत पहिरन, लोकसंस्कार, बहुभाषिक–बहुसांस्कृतिक झाँकी र विभिन्न समुदायको सहभागिताले उक्त दिन जनकपुरको सडकलाई सांस्कृतिक रङ्मञ्चमा रूपान्तरण गर्छ । जानकारहरू यसलाई एक प्रकारको सांस्कृतिक घोषणाको रूपमा चित्रण गर्छन् । त्यहाँ सहभागीको भावभङ्गीले घोषणा गर्छ, “हामी छौँ, हाम्रो इतिहास छ, हाम्रो भाषा छ ।”

    यस्तै, उद्घाटन सत्रमा प्रस्तुत हुने सांस्कृतिक झाँकीले मैथिल सभ्यताको जीवन्तता, अनेकतामा एकता, मौलिक पहिचानसँग वर्तमान समाज र नवपुस्तालाई साक्षात्कार गर्ने अवसर दिन्छ । मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’ भन्छन्, “मिथिलाको कुरा किताबमा पढेरमात्रै होइन, सडकमा देखेर अनुभूति हुन्छ । यहाँ मुस्लिम समुदायका किशोरीदेखि सीमान्त समुदायका प्रस्तुति देख्दा साँचो अर्थमा समावेशी मिथिलाको झल्को पाइन्छ । त्यसलाई नवपुस्ताले महसुस गर्नेगरी प्रसार गरेको अनुभूत हुन्छ ।”

    शोभायात्रामा मुस्लिम समुदायका किशोरीदेखि तामाङ सेलोसम्मको सहभागिताले एउटा गहिरो सन्देश दिन्छ– मिथिला कुनै एक जाति वा समुदायको मात्रै होइन, यो सबै जाति र सभ्यताको साझा विरासत हो । विविधतामा एकताको यो दृश्यले नयाँ पुस्तालाई पुस्तकभन्दा पर प्रत्यक्ष अनुभूतिमार्फत आफ्नो सभ्यतासँग साक्षात्कार गराउँछ ।

    कोषका नाटक समिति संयोजक साहित्यकार रमेश रञ्जनको शब्दमा भन्ने हो भने महोत्सव जनकपुरको ‘गौरवशाली अतित र ऊर्जायुक्त वर्तमान’ लाई जोड्ने पुल बन्दै गएको छ । “जनकपुर ऐतिहासिक, सांस्कृतिक र बौद्धिक दृष्टिले महत्त्वपूर्ण भूमि हो । बदलिँदो समय र विश्वव्यापी प्रभावका कारण सामाजिक–सांस्कृतिक चुनौतीहरू देखिए पनि सकारात्मक र सिर्जनात्मक प्रयासमार्फत समाजलाई सही दिशामा अघि बढाउन सकिन्छ”, उनी भन्छन्, “जनकपुर नाट्य महोत्सवले स्थानीय प्रतिभा, मौलिक विषयवस्तु र समसामयिक यथार्थलाई मञ्चमार्फत प्रस्तुत गरी समाजमा चेतना र सांस्कृतिक जागरण फैलाउने काम गरिरहेको छ ।”

    नाटक र विमर्श : भावनाबाट विचारतर्फ

    महोत्सव केवल मनोरञ्जनमा सीमित छैन । यसपटक यहाँ ‘उठलै किए विहाडि ?’, ‘नागरिक आन्दोलनः भूत, वर्तमान र भविष्य’, ‘सुगम प्रदेशमे दुर्लभ शिक्षा’, ‘लेबर सोल्जर’, ‘सीमान्तक स्वर’ जस्ता विषयमा गहन विमर्श भयो । चार दिनसम्म भाषा, संस्कृति, शिक्षा, रोजगारी, राजनीतिक चेतना, नागरिक आन्दोलन, सीमान्त आवाज र समसामयिक मधेसका मुद्दामाथि गहन बहस भयो । यसले नीतिगत हस्तक्षेपका लागि पनि दबाब सृजना गरिरहेको छ ।

    त्यहाँ मिथिलाको पहिचान, आदिम सभ्यताको गौरबगाथाबारे चर्चा, वर्तमानका उल्झनबारे विमर्श र सुन्दर भविष्यका लागि गहन चिन्तन पनि हुन्छ । प्रस्तुतिका विधा फरक थिए– विमर्श, नाटक मञ्चन, कवि गोष्ठी, मिथिला चित्रकला तथा हस्तकला प्रदर्शनी, वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम तथा अन्य सङ्गोष्ठी । भाषा र शैली पनि फरकफरक थिए, तर निष्कर्षमा मिथिला र मैथिली सभ्यता तथा पहिचानको निजत्व, महत्व एवं प्रभुत्वबारे पुनर्ताजगीको प्रयास भयो ।

    वरिष्ठ पत्रकार एवं कोषका सदस्यसचिव श्यामसुन्दर शशी भन्छन्, “मैथिल राष्ट्रियता भावनाको विषयमात्र होइनस यो राजनीतिक चेतनासँग पनि जोडिएको छ । आफ्नो भाषा र भूगोलबारे नबोल्ने समाज अन्य हिसाबले पनि सशक्त हुन सक्दैन । त्यसैले हामीले सांस्कृतिक जागरणको कुरामात्रै होइन मधेसको नवीन पहिचानको चर्चा र चिन्ताबारे विमर्श गरिरहेका छौँ ।”

    उनले चुरेको दोहन, पानी सङ्कट, शिक्षा र रोजगारीको अभावजस्ता विषयलाई पनि सांस्कृतिक विमर्शसँग जोड्न आवश्यक रहेको बताए । “संस्कृति केवल विगतको स्मरण गर्ने चिज होइन, भविष्य जोगाउने हतियार पनि हो । उल्लेखित विषयले महोत्सवलाई यथार्थसँग जोडेको छ । महोत्सवले भावनात्मक आवेगलाई नीतिगत विमर्शतर्फ रूपान्तरण गर्ने प्रयत्न गरिरहेको छ”, शशीले भने ।
    विभाजित समय र साझा मञ्च

    हाल देश निर्वाचनमय छ । राजनीतिक ध्रुवीकरणले समाजलाई कित्ताकाट गरिरहेको छ । यस्तो समयमा महोत्सवले सबै विचार र समुदायलाई एउटै थलोमा ल्यायो । यहाँ उठान गरिएका मुद्दालाई ‘राजनीतिक स्वामित्व’को विषय बनाउन झक्झक्यायो । यसले नयाँ भाष्य निर्माण गर्न खोजेको थियो– निषेधमा होइन, सहकार्यमै सबैको हित र आत्मसम्मान सुरक्षित हुन्छ ।

    मधेसका विभिन्न भूभागमा बेलाबेला सामाजिक तथा धार्मिक द्वन्द्वको स्थिति बन्छ । यो मञ्चले निषेध होइन, बरु यो भूगोलमा बस्ने हिन्दू, मुस्लिम, पहाडी, मधेसी, दलित र सीमान्तकृत सबै जातजाति र धर्मबीचको सहकार्यले नै सुन्दर भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको छ । वरिष्ठ साहित्यकार एवं कोषका संस्थापक अध्यक्ष डा राजेन्द्र विमलका अनुसार महोत्सवले विभाजित मनस्थितिलाई जोड्ने प्रयास गर्दै आएको छ । यहाँ कला, साहित्य र राजनीति सबै विषयमा गहन विमर्श हुन्छ । यो चिन्तन परम्परालाई पुनर्जीवित गर्ने अभियान हो ।

    जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले पनि महोत्सवले जातीय, भाषिक र सांस्कृतिक विविधतामा एकताको भाव जगाउन सहयोग गरेको बताए । “नेपालका धेरै सभ्यता, मौलिक विशिष्टतायुक्त कला–संस्कृति, रहनसहनमध्ये मिथिलाको आफ्नै छुट्टै प्राचिन पहिचान छ । त्यसको जगेर्ना गर्न सबै लाग्नुपर्छ । महोत्सवले विविध मुद्दामा एउटा स्पष्ट दृष्टिकोण दिइरहेको छ, तिनको व्यावहारिक कार्यान्वयनका लागि सबैसँग मिलेर काम गर्न उपमहानगरपालिका तयार छ”, उनको भनाइ थियो ।

    कोषका अध्यक्ष चौधरीका अनुसार महोत्सवको लक्ष्य इतिहासको गौरव देखाउनुमात्र होइन, त्यसलाई जोगाउने र प्राज्ञिक परम्परालाई जीवन्त राख्ने हो । विभिन्न जातजाति र समुदायका सांस्कृतिक झाँकी, साहित्यिक गोष्ठी, नाटक मञ्चन र अन्तरक्रियाले यस उद्देश्यलाई मूर्तरूप दिइरहेको छ ।

    सरकार तथा सरोकार भएकाहरूको प्रतिबद्धता

    मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले उद्घाटन मन्तव्यमा महोत्सवलाई प्रदेशका सबै भाषा, साहित्य र सांस्कृतिक एकताको साझा मञ्चको रूपमा चित्रित गर्नुभयो । उहाँले भन्नुभयो, “यो महोत्सव राष्ट्रिय तथा वैश्विक परिवेशमा मैथिली कला, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यस अभियानमा प्रदेश सरकारले आवश्यक सहकार्य र सहयोग गर्छ ।”

    शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले पनि स्थानीय समुदायमा भाषा र संस्कृतिप्रति गर्वको भावना बढाउन महोत्सव सफल भइरहेको उल्लेख गर्दै प्रदेश सरकार सहआयोजकका रूपमा यस अभियानमा जोडिएकामा खुसी व्यक्त गर्नुभयो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले महोत्सवका क्रममा उठेका मुद्दा सम्बोधन र भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनका लागि सहकार्य गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।


    पछिल्लो समय हरेक सांस्कृतिक सभ्यताले संरक्षण र पुस्तान्तरणको स्पष्ट आधार खोजिरहेका छन् । यस्तो बेला ‘जनकपुरधाम साहित्य–कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव’ सम्पन्न हुनु स्वयंमा महत्त्वपूर्ण छ । हरेक दुई वर्षमा आयोजना हुने यो महोत्सव मिथिलाको साझा विरासतको उत्सव र एकीकृत भविष्यको लागि एक सुन्दर सङ्कल्पका रूपमा विकास हुँदै गएको छ ।

    महोत्सवले युवा पुस्तामा मैथिली भाषा र संस्कृतिप्रति नयाँ आत्मविश्वास जागृत गर्न थालेको छ । वक्तृत्वकला, चित्रकला प्रदर्शनी, पुस्तक मेला र नाट्य प्रशिक्षणले पुस्तान्तरणको प्रक्रिया सुदृढ बनाउँदै लगेको विश्वास गरिएको छ । मैथिली विकास कोषको आयोजना र प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम र नेपोभिट टायल्स प्रालिको सहआयोजनामा सम्पन्न महोत्सवलाई भावनात्मक सम्बन्ध विस्तारमा थप प्रभावकारी बनाउने गरी विकास गरिनुपर्ने स्थानीयको भनाइ छ ।

  • प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ?

    प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ?

    काठमाडौँ, १३ फागुनः चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा एटदरेट बक्सअफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन ९ गतेसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो । गत माघ १६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘आ बाट आमा’ ले रु ११ करोड २४ लाख छ हजार ९६९ कमाइ गरेको छ ।

    मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको उक्त चलचित्रका लागि कूल चार लाख २३ हजार १११ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गरेका छन् ।


    चन्द्र पन्तले निर्देशन गर्नुभएको उक्त चलचित्रमा अभिमन्यू निरवीले संवाद लेखन, गम्भीर विष्टले नृत्य निर्देशन र कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत सिर्जना गरेका छन् । गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘कुमारी’ ले रु ६३ लाख २४ हजार ७१ कमाइ गरेको छ ।

    दिनेश राउतको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल १९ हजार ३७९ टिकट बिक्री भएका छन् । अविशेक खड्का र आकृतीराज भण्डारीलगायतको अभिनय रहेको चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन । जेनजीको प्रेम कथा भनिएको चलचित्रले दर्शक समीक्षा राम्रो पाउन नसक्दा त्यसको असर व्यापारमा परेको देखिएको छ ।

    गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘रमिताको पिरती’ ले रु २५ लाख ५५ हजार ८३ कमाइ गरेको छ । नवनिर्देशक सुदीप्ता अधिकारीको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल सात हजार ८०३ टिकट बिक्री भएका छन् । आना शर्मा, धीरज मगर, विनय श्रेष्ठ, समिर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको उक्त चलचित्रले दर्शक समीक्षा राम्रो प्राप्त गरेता व्यापार भने राम्रो गर्न सकेको छैन । माघ २३ मा प्रदर्शन भएका दुवै चलचित्रको व्यापार निकै न्यून भएको छ ।

    गत फागुन १ गतेदेखि प्रदर्शन भएका तीन चलचित्र ‘श्री बुकुरो’, ‘शिवांश ः च्याप्टर १’ र ‘बिगुल’ ले अपेक्षाकृत व्यापार गर्न नसकेपछि प्रदर्शन स्थगित गरिसकेका छन् । सुदीप भूपाल सिंहले निर्देशन गर्नुभएको चलचित्र ‘श्री बुकुरो’ ले रु दुई लाख ७२ हजार ९३० कमाइ गरेको छ । यसले पहिलो सातामा गरेको यो निकै न्यून व्यापार हो । अभिनेत्री लक्ष्मी गिरी, आशिर्वाद क्षेत्री, निकिता आचार्य, राजन इशान, उत्तम केसी, रोशनी कार्कीलगायतका कलाकारले अभिनय गरेको चलचित्रका लागि कूल ८०५ टिकट बिक्री भएका छन् ।

    फागुन १ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘शिवांश’ ले रु दुई लाख ६१ हजार ७५० कमाइ गरेको छ । सन्तोषकुमार आत्रेयले निर्देशन गरेको चलचित्रका लागि कूल ७८७ टिकट बिक्री भएका छन् । चलचित्र अभिनेता प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सविर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ । अञ्जान केसीले कथा लेख्नुभएको चलचित्रको पटकथा बारत लिम्बूको रहेको छ ।

    फागुन १ गतेदेखि नै प्रदर्शन भएको चलचित्र ‘विगुलले’ ले रु आठ लाख ९७ हजार ४१० कमाइ गरेको छ । रमेश कोइरालाको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल दुई हजार ६०९ टिकट बिक्री भएका छन् । चलचित्र बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ ।

  • भक्तपुरमा पनि होली पर्व सुरु

    भक्तपुरमा पनि होली पर्व सुरु

    भक्तपुर, १३ फागुनः भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्गलाई झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात चिरोथान होली पर्व सुरु भएको छ । फागुण शुक्ल अष्टमीको दिन साँझ नेपाल भाषाबाट लज्ज अर्थात भीमसेनको लिङ्ग प्रतीकका रुपमा काठको मुढाबट बनेको तीन हात लामो, ३० इञ्च गोलाइको काठको लिङ्गलाई आज कमलपोखरीमा पखालेर सफा गरी ल्याउने र पूर्णिमाको साँझ सो भीमसेनको लज्जलाई ब्रम्हायणीको खोलामा लगि पखालेर ल्याउने प्रचलन छ ।

    यसरी लज्जा बोकेर पखालेर ल्याउने व्यक्तिको पुत्रलाभ हुने जनविश्वास छ । लिङ्गलाई कमलपोखरीमा पखालेर सफा गरी ल्याएपछि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा परिक्रमा गराइएको थियो ।

    घर र पसलमा घुमाउन ल्याएको लिङ्गको पूजाआजा गरी दर्शन गर्नाले व्यापार–व्यवसायमा उन्नति प्रगति हुने जनविश्वास छ । काठको लिङ्ग प्रदर्शनसँगै भीमसेन गुठीका गायजुहरुले ‘भीमसेन देया लज्ज खङ लो वानला, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले देखेर लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ बोलको यौनरस युक्त गीत गाउँदै नगर परिक्रमा गराएको थियो ।

    फागुपूर्णिमाको दिन साँझपख यसै लिङ्गलाई एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । लिङ्ग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने यकिन तथ्य फेला नपरे पनि राजा जगतप्रकाश मल्लले १७औँ शताब्दीमा निर्माण गरेको यस मन्दिरमा सोही बेलादेखि यो प्रचलन रहेको बताउँदै आएको छ ।

    फागु पर्वको सुरुवात भएको जनाउन काठमाडौँको वसन्तपुरमा चीर स्वायगु (चीर गाडे) सँगै भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखि लिङ्ग प्रदर्शनमा राखिएको हो । लिङ्गसँगै यौन समागमनको दृश्य झल्कने गरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिङ्ग प्रवेश गराइएको छ ।

    झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यस दृश्यलाई भीमसेन र द्रौपदीको यौन समागमका रुपमा लिने गरिएको संस्कृतिकर्मी यशोधरा मानन्धरले जानकारी दिए । वसन्त ऋतुको आगमनसँगै फागु पर्वलाई सृष्टिलाई अभिप्रेरित गर्ने पर्वका रुपमा मनाइने बताउँदै उहाँले यो समय कामदेव आफैँ सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देशसमेत यसले दिएको उनले जानकारी दिए ।

    चीर स्वायगु अर्थात् चीर गाड्ने कार्यलाई शिवशक्ति मिलनका रुपमा लिने गरेको उनी बताउँछन् । संस्कृतिविद् मानन्धरका अनुसार महादेवको ११औँ अवतारमध्ये भीमसेन एउटा भएकाले यस पर्वलाई महादेव र पार्वतीको प्रतीकका रुपमा लिने गरेको बताउँछन् । फागुपूर्णिमाको दिन साँझ सो लिङ्गलाई एक व्यक्तिले काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा रहँदै आएको छ ।

  • वसन्तपुरमा चीर ठड्याएपछि सुरु भयो फागुको रौनक

    वसन्तपुरमा चीर ठड्याएपछि सुरु भयो फागुको रौनक

    काठमाडौँ, १२ फागुनः काठमाडौँको वसन्तपुरमा रहेको कुमारी घर र गद्दी बैठक छेउमा कपडाको रङ्गीचङ्गी ध्वजायुक्त चीर ठड्याइएसँगै यस वर्षको फागुको रौनक सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँकै तँलाछीका धालासिक्व मानन्धर सनाः गू खलका सदस्यहरूले चीर ठड्याउने चलन छ । यो वसन्त ऋतुको आगमन भएको सङ्केत पनि हो ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जुराएको साइतअनुसार बिहान ७ बजेर १३ बजे पूर्व फर्काएर चिरोत्थान गरिएको हो । यसपछि उपत्यकावासीमा रङ र खुसीको पर्व फागु (होली) सुरु पर्व भएको छ । यस वर्ष फागुको उल्लास आगामी आठ दिनसम्म रहनेछ । अष्टमीदेखि पूर्णिमासम्म मनाइने यो पर्वले मानिसहरूलाई जातीय र सामाजिक विभेद बिर्सेर एउटै रङमा समाहित गराउने विश्वास गरिन्छ ।

    धार्मिक र ज्योतिषीय गणनाअनुसार यस वर्ष फागुको मुख्य दिनअर्थात् पूर्णिमा फागुन १८ गते सोमबार परेको छ । सोही दिन पहाडी जिल्लाहरूमा रङ खेलेर हर्षोल्लासका साथ फागु मनाइनेछ । तराईका जिल्लाहरूमा भने त्यसको भोलिपल्टअर्थात् फागुन १९ गते मङ्गलबार यो पर्व मनाइने तयारी छ ।

    समितिले दिएको साइतअनुसार फागुन १८ गते सोमबार साँझ ५ बजेर ३१ बजे मिनेटको साइतमा चीर ढालेपछि पर्व समापन हुनेछ । ढालिएको चीर घिसार्दै टुँडिखेल पुर्‍याइनेछ । त्यही साँझ ५ बजेर ५१ मिनेटमा चीर दाह (जलाउने) गरिनेछ । चीर जलेसँगै यस वर्षको फागु पवको औपचारिक रूपमा समापन हुनेछ ।

  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    काठमाडौँ, ८ फागुन । तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आएको टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सकिने भएको छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ । युवामाझ लोकप्रिय रहेको सामाजिक सञ्जाललाई आयोगले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्न लागेको छ ।

    यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर आयोगले टिकटक भिडियो बनाउने निर्वाचनलाई केन्द्रमा राखेर निर्वाचन आयोगले टिकटक भिडियो बनाउने अभियान चलाउने भएको छ । राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य, सभ्य बनाउनका लागि आयोगले टिकटक भिडियो बनाउने प्रतियोगिता सञ्चालन गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षाका लागि यस खालको प्रतियोगिता अगाडि बढाउन लागेको हो ।

    निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाजस्ता विषयमा आधारित भएर एक मिनेटबराबरको टिकटक भिडियो बनाई आफ्नो सामाजिक सञ्जालमा राख्नुपर्ने छ । यही फागुन १७ गतेसम्म आयोगको इमेलमा समेत टिकटक पठाउनुपर्नेछ । आयोगमा प्राप्त भएका सबै टिकटक भिडियोमा सबैभन्दा बढी भ्युअर्स भएका टिकटकलाई आयोगले निश्चित रकम प्रदान गर्नेछ । आयोगले त्यस्ता टिकटकलाई धेरै भ्युअर्स भएका पहिलो टिकटकलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजारका दरले पुरस्कृत गरी प्रमाणपत्र प्रदान गर्नेछ ।

    टिकटक भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिवेशमा तयार पार्नुपर्नेछ । भिडियो संवादमूलक एवं सन्देशमूलक हुनुपर्नेछ । आफ्ने मौलिक, अडियो र अभिनय भएको भिडियोलाई विशेष प्राथमिकता दिइने आयोगले जनाएको छ । निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता, महत्व र मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्यका बारेमा जानकारी दिइएको हुनुपर्नेछ । यस्तै, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीजस्ता छुट्टाछुट्टै विषयवस्तुमा आधारित भएर भिडियो बनाउनुपर्नेछ ।

    कुनै एक व्यक्तिले एउटा विषयमा एउटा भिडियो पठाउन सक्नेछन् । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर भिडियो निर्माण गर्न सक्ने आयोगले जनाएको छ । त्यसरी प्राप्त भएका भिडियोमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देशलाई आयोगले आफ्ना सामाजिक सञ्जालबाट प्रसारण गर्न स्क्नेछ । तोकिएको शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिनेछ । उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगबाट हुने सूचनामा उल्लेख छ ।

  • पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति

    पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति

    काठमाडौँ, ६ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् । आज ग्याल्पो ल्होसार, २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्दै ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेमा विश्वास व्यक्त गरे ।

    उनले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि हार्दिक शुभकामना दिएका छन् । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ ।

    पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको गुथुक र खाप्से जस्ता परिकार सबै जना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

  • आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

    आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ, ६ फागुन । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।

    नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ ।

    नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ । यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ ।


    यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशिर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीहरुको मौलिक पहिचान हो ।

  • पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

    पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

    काठमाडौँ, ५ फागुनः महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ । विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको संस्थानका पूर्वउपप्रशासक एवं साधुसन्त बिदाइको धेरैपटक संयोजन गर्नुभएका दीपकबहादुर पाण्डेले राससलाई जानकारी दिए ।

    बिदाइका लागि संस्थानले करिब रु ३० लाख बजेट छुट्याएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको छ । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको पाण्डेले जानकारी दिए । नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ ।

    पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र पशुपति परिसरका विभिन्न स्थानमा गरी करिब चार हजारदेखि बढी साधुसन्त नेपाल बाहिरबाट आई बसेका छन् । प्रत्येक स्थानमा फरक सम्प्रदायका साधु रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जनाकारी दिए । “पहिले पशुपतिमा नागाबाबा र साधुसन्तलाई भोजन गराई थापाथलीस्थित कालमोचनघाटबाट दक्षिणासहित बिदाइ गरिन्थ्यो ।

    कोत पर्वमा मारिएका सबैलाई कालमोचनघाटमा जलाइएकाले शिवरात्रिमा धेरै साधुसन्तलाई यहाँबाट बिदाइ गर्दा मृतआत्माले शान्ति पाउँछ भन्ने विश्वासका साथ कालमोचनघाटबाट बिदाइ गर्ने गरिएको थियो । अहिले त्यो परम्परा हटेको छ । हाल पशुपतिको पश्चिम मूल ढोकाबाट नागा बाबा र साधुसन्तलाई बिदाइ गर्न थालिएको छ”, उनले भने ।


    पशुपति जस्तै महाशिवरात्रिको अवसर पारेर थापाथली कालमोचनघाटमा रहेका वैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र नाथ अखडामा आई बसेका नागा बाबा एवं साधुसन्तलाई पनि आजै दान दक्षिणासहित बिदाइ गरिने संस्थानले जनाएको छ । यी साधुसन्तलाई कालमोचनघाटबाटै बिदाइ गरिन्छ ।
    पशुपतिनाथ मन्दिरमा २०६८ चैत २६ गते लागू गरिएको भेटीघाटी पारदर्शी तथा पूजा व्यवस्था नियमावली पछि २०६९ सालको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले पनि दान दक्षिणा दिई भोजन गराएर नागाबाबा र साधुसन्तलाई बिदाइ गर्न थालेको थियो ।

    “कोषले रु पाँच हजार एकदेखि रु १०१ सम्म दक्षिणा दिने तयारी गरेको छ”, कोष सञ्चालक परिषद् सदस्य एवं साधुसन्त सेवा तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति संयोजक शिला पन्तले भने, “कोषले रु पाँच हजार एक २० साधुलाई, रु एक हजार एक दुई सय साधुलाई, रु ७०१ एक हजार साधुलाई, रु ५०१ एक हजार साधुलाई, रु ३०१ एक हजार तीन सय साधुलाई, रु २०१ जोगी सबैलाई र लाइनमा बस्ने जति सबैलाई रु १०१ दक्षिणास्वरुप दिनेछ”। साधुलाई दान दक्षिणाका लागि रु आठ लाख बजेट कोषले छुट्याएको उनले जानकारी दिए ।

    कोषले दान दक्षिणासहित पशुपतिनाथमा वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुलाई बिदाइको तयारी गरेको छ । महाशिवरात्रिमा आएका नागा बाबा र साधुसन्तलाई पशुपतिनाथ मन्दिरभित्र पाँच दिन र बाहिर चार दिन धुनी जगाउनलाई रु सात लाखको ५० हजार किलो दाउरा किनिएको संस्थानका उपप्रशासक पाण्डेले बताए ।


    भेटीघाटी पारदर्शी गरी पशुपतिनाथ मन्दिरलाई नेपालकै उदाहरणीय मन्दिरका रूपमा स्थापित गराउने उद्देश्यका साथ २०६८ चैत २६ देखि कोषको भेटी बाकसमा जम्मा गरिएको भेटी रु १५ करोड पुगिसकेको पनि कोषले जनाएको छ ।

    पशुपतिमा फोहरको डङ्गुर

    शिवरात्रीको मेलापछि पशुपति क्षेत्र भने फोहरको डङ्गुरले भरिएको छ । करोडौँको सम्पत्ति भएको नेपालको राष्ट्रदेव पशुपतिको मन्दिर परिसरमा एउटा मेला सकिएपछि फोहरको डङ्गुर थुप्रिनु लाजमर्दो भएको कोषका पूर्वसदस्यसमेत रहिसक्नुभएका स्थानीयवासी गोपालप्रसाद सुवेदीले बताए । “कोषले राम्रो व्यवस्थापन गर्न सकेको भए पशुपति क्षेत्रमा फोहर बसिरहने थिएन”, उनले भने ।

    फोहरको डङ्गुरका कारण शिवरात्रिपछि पशुपति दर्शन गर्न आउने भक्तजन नाक थुनेर मन्दिरभित्र प्रवेश गर्नुपर्ने दुःखदायी अवस्था रहेको कीर्तिपुरबाट दर्शनका लागि आएकी दर्शनार्थी लक्ष्मी शर्मा दाहालले बताइन् । हजारौँ कर्मचारी भएको कोषले फोहर तत्काल व्यवस्थापन गर्न नसक्नु कोषको बेइज्जतको विषय भएको आमभक्तजनको गुनासो रहेको छ ।

    कोषका सदस्य सचिव डा टण्डनले लाखौँ भक्तजनको आगमनका कारण फूल प्रसादले पशुपति क्षेत्र फोहर देखिएकामा सफाइ सुरु गरी सकिएकाले बिहीबारसम्म पूर्ण रूपमा सफाइ सकिने बताए ।

    rss


    नागाबाबा हेर्नेको घुइँचो

    शिवरात्रिका लागि पशुपतिमा नागाबाबाको आगमन हुन थालेपछि फागुन कृष्ण एकादशीदेखि हेर्न आउनेको घुइँचो लागेको छ । शिवरात्रि अगाडिका दुई दिन र शिवरात्रि पछिका दुई दिन पशुपतिमा नागाबाबा रहने भएकाले हेर्न आउनेको घुइँचो लागेको हो । नागाबाबालाई हेर्न आउनेमा अन्य व्यक्तिका अतिरिक्त क्याम्पस अध्ययन गर्ने छात्रछात्राको सङ्ख्या पनि उल्लेख्य देखिएका मन्दिर परिसरमा पूजापाठ गर्र्दै आउनुभएका पण्डित सुन्दर शर्मा कुइँकेलले बताए ।

    क्याम्पसको पोशाकमा आउने गरेका छात्रछात्रा शिवरात्रिका अवसरमा पशुपति मन्दिरभित्रै छिर्ने गरेका छन् । शिवरात्रि अगाडि आफ्ना साथीसँग पशुपति बाहिर घुम्ने छात्रछात्रा शिवरात्रिका अवसरमा भने भित्रै छिरेर नागाबाबाको दर्शन गरेका उनको भनाइ छ । भारत वनारसबाट आउनुभएका सन्त स्वामी महेशानन्दले नेपालमा रहेको पशुपतिनाथ मन्दिर भारतका विभिन्न स्थानमा रहेका द्वादश ज्योतिर्लिङ्गको पनि शिर भएकाले प्रत्येक वर्ष शिवरात्रिमा दर्शनका लागि आउने गरेको बताए ।

  • विदेश पलायनको कथा रहेको ‘पहाड’ नयाँ वर्षमा प्रदर्शन

    विदेश पलायनको कथा रहेको ‘पहाड’ नयाँ वर्षमा प्रदर्शन

    काठमाडौँ, ४ फागुनः वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्या चित्रण गरिएको चलचित्रको प्रदर्शन मिति वितरक तथा प्रदर्शकसँगको छलफलमा तय गरिएको निर्देशक घिमिरेले जानकारी दिए ।

    उनले भने, “मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । चलचित्र हेरिरहँदा दर्शकले आफ्नोपन र आफ्नो कथा पाउनु हुनेछ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।”

    चलचित्र ‘बलिदान’मा मदनकृष्ण श्रेष्ठ, ‘चिनो’मा स्वर्गीय अभिनेता सुनिल थापासँग काम गरेका निर्देशक घिमिरेले नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वास व्यक्त गरे । उनले समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दर्शकसमक्ष पु¥याउने बताए । ओजस्वी केसीले निर्माण गरेको उक्त चलचित्रलाई प्रसिद्ध छायाकार प्रमोद प्रधानले छायाङ्कन गरेका छन् ।


    चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु ल्याउँदै छन् । चलचित्रको प्राविधिक समूहमा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले ‘प्रोडक्सन डिजाइनर’को जिम्मेवारी सम्हालेकी छिन् । चलचित्रमा रञ्जित गजमेरले सङ्गीत दिएका छन् ।

  • राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

    राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

    काठमाडौँ, ३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए ।

    मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हासहितका मन्त्रीहरू, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए । महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।

  • प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

    प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

    काठमाडौँ, ३ फागुनः महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गर्नुभएको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र काठमाडौँ महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि शिवरात्रि पर्वको दिन आज पशुपतिनाथको दर्शन तथा पूजाआराधना गरेका थिए ।

  • महाशिवरात्रिः पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा

    महाशिवरात्रिः पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा

    काठमाडौँ, ३ फागुनः महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि देवाधिदेव महादेवको पूजा आराधना एवं दर्शनका लागि भक्तजनको लामो लाम लागेको छ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ । यही वचनका आधारमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम लागेको हो ।


    पशुपतिनाथका चारवटै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । पशुपतिनाथका चारै ढोका खुलेदेखि नै भक्तजनले निरन्तर रुपमा सहजै दर्शन गरिरहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव एवं प्रवक्ता सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए । पशुपति क्षेत्रमा अहिले लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लामबद्ध भएका थिए । भक्तजनलाई यस वर्ष तीन वटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ ।

    मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

    अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए । तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गरी भक्तजनलाई सहज व्यवस्था मिलाइएको छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ ।

    वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

    फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।


    व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।


    राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

    महाशिवरात्रि पर्वको अवसरमा आइतबार केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर परिसरमा दर्शनार्थीको घुइँचो । तस्बिरः रमेश गिरी: रासस

    दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकाली लगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, नागेश्वर, तारकेश्वर नगरपालिका वडा नं। ४ मा रहेको बाणेश्वर, भक्तपुरको डोलेश्वर लगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको जनाइएको छ ।


    आइतबार दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ : ३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सरसफाइ
    महाशिवरात्रि पर्वका अवसरमा क्रिएसन नेपालले सफा गरौं अभियानअन्तर्गत पशुपतिनाथ क्षेत्रमा पाँचसय भन्दा बढी सफाइकर्मी परिचालन गरेको छ ।

    दि कोकालाकोला फाउण्डेसनको सहयोगमा क्लाइमेट स्मार्ट सिटिज परियोजनाअन्तर्गत पशुपतिक्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिएको क्रिएसनका कार्यक्रम निर्देशक सुजाता कोइरालाले बताइन् । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रभित्र दर्शनार्थीहरुको लाखौंको संख्यामा घुईंचो लाग्ने भएको हुँदा सरसफाइ अभियान सञ्चालन गरिएका क्रिएसन नेपालका महासचिव रोशना सुवेदीले बताइन् । स्वयंसेवकहरुले लगातार तिन दिनसम्म पशुपतिक्षेत्रमा सरसफाइ गतिविधि सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

  • आज २६३औँ सेना दिवस मनाइँदै

    आज २६३औँ सेना दिवस मनाइँदै

    काठमाडौँ, ३ फागुनः नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उनी नेपाली सेनाको परमाधिपति छन् ।


    सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । जङ्गीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
    सेनाको इतिहास र अन्तरराष्ट्रिय छवि

    नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्ठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छाड्न सफल छ ।

    सैनिक वीरपुर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, ‘चेनअफ कमान्ड’ र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहिआएको छ ।

    नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । सैनिक सङ्गठनमा समावेशिता बढ्दै गएको छ । पछिल्लो समय महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ ।

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ६२ हजार ४९६ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ ।

    विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७४ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ७७ सैनिक घाइते भएका छन् । विश्वका १० मिसनमा हाल ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन् । महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमा छ ।

    विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्तर सहभागीले यसलाई पुष्टि गरेको छ ।

    सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै आएको सेनाले जनाएको छ ।

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गराउन नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा छ ।

  • आज महाशिवरात्रि पर्व मनाइँदै

    आज महाशिवरात्रि पर्व मनाइँदै

    काठमाडौँ, ३ फागुन । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ ।

    मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

    फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

    व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।

    राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

    पशुपतिका चार ढोका खुला

    यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जानकारी दिए । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने उनले बताए ।
    महाशिवरात्रिका अवसरमा आज बिहान २ः०० बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।

    पशुपतिमा भक्तजन काठमाडौँ, ३ फागुनः महाशिवरात्री पर्वका अवसरमा आइतबार बिहान भगवान् शिवको पूजा आराधना तथा दर्शन गर्न पशुपतिनाथ मन्दिरमा आएका भक्तजन। तस्बिरः हरिराम भेटुवाल/रासस

    पशुपति दर्शनका तीन बाहिरी लाइन

    यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

    अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिनेगरी व्यवस्थापन गर्ने योजना बनाइएको उनले जानकारी दिए । आवश्यकता अनुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन–तीन र पश्चिमबाट चारवटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।

    दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । त्यसैगरी, राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुन्छ ।

  • महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

    महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

    काठमाडौँ, २ फागुनः महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ । देश, विदेशबाट आएका साधुसन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ । महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ । कतिले सेवा सुरु गरिसकेका छन्भने कतिले सेवाको तयारी गरेका छन् । महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रूपमै खटिएर काम गरिरहेका छन् ।

    हंसमण्डप क्षेत्रको स्थलगत अनुगमनमा खटिनुभएका कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष सफाइमा विशेष ध्यान दिइएको बताए । पशुपति क्षेत्रमा आएका साधुसन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष लागिरहेको उहाँले उल्लेख गर्नुभयो । यस वर्ष चार हजारदेखि चार हजार ५०० सम्म साधुसन्त आउने अनुमान गरिएको उनले जानकारी दिए ।


    गत वर्षभन्दा यस वर्ष साधुसन्त बढी आउने अनुमान गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा सेवा दिइरहेका स्वयंसेवी संस्थाको दृष्टिमा भने यस वर्ष विगतमा भन्दा कम मानिस अघिल्लो दिन पशुपति क्षेत्रमा आएका कोषाध्यक्ष सापकोटाले बताए । हंसमण्डपमा भोजन सेवामा खटिएका विनोद लीला अग्रवाल आज दिउँसो विगत वर्षभन्दा कम भक्तजन आएका उल्लेख गरे । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पनि मानिसको आवागमन कम भएको हुनसक्ने उनको अनुमान छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ । फूलमालाले विशेष रुपमा सिँगारेर आकर्षक बनाइएको छ ।

    आर्यघाट र राममन्दिर क्षेत्रको वाग्मती किनारमा सफाइ

    ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको ६६६औँ हप्ताको सफाइ पशुपति क्षेत्रस्थित राममन्दिरमुनिको नदी किनारमा गरिएको छ । फागुन ३ गते आइतबार महाशिवरात्रि पर्वको तयारीका लागि पशुपति क्षेत्रको राममन्दिर, आर्यघाटसँगै यहाँको नदी किनारमा सरसफाइ गरिएको हो ।

    सफाइमा कोषका सञ्चालक परिषद् सदस्य रामेश्वर सङ्गतसहित कर्मचारी, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगर वातावरण विभागका प्रमुख सरिता राई, महानगर टेकुका प्रमुख मीनबहादुर थापासहित कर्मचारी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलगायत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा आज त्यस क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । आजको सफाइमा त्यस क्षेत्रबाट कुहिने र नकुहिने लगभग १८ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको पनि उनलले जानकारी दिए ।

  • टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

    टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

    काठमाडौँ, २९ माघः नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गरे ।

    सो कार्यक्रममा प्रधानसेनापति सिग्देलले श्री नं १ विपद् व्यवस्थापन गण, श्री नं २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट झण्डा प्रदान गरे । प्रधानसेनापति सिग्देलले केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता २०८२ मा प्रथम र द्वितीय हुने क्रमशः श्री उपत्यका पृतना र श्री मध्य पश्चिम पृतनालाई पुरस्कृत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सो अवसरमा प्रधानसेनापति सिग्देलले प्रधानसेनापति व्यानर प्रतियोगिता २०८२ मा युद्धक गण, युद्ध मद्दती गण र युद्धक गुल्मतर्फ प्रथम हुने क्रमशः नयाँ श्रीनाथ गण, त्रिनेत्रदल गण र ईन्द्रदल गुल्म लगायत उक्त प्रतियोगिताको विभिन्न विधाहरूमा प्रथम हुने युनिटहरूलाई पुरस्कृत गर्नुभयो ।

    प्रकृति संरक्षण ट्रफि प्रतियोगिता–२०८२ अन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुन सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सङ्ग्राम शार्दूल गुल्मलाई प्रकृति संरक्षण ट्रफी तथा पुरस्कार प्रदान गरे ।


    कार्यक्रममा प्रधानसेनापति सिग्देलले सेना दिवस–२०८२ को उपलक्ष्यमा प्रधानसेनापति प्रशंसा निशान प्राप्त गर्ने रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान, मानार्थ उपसेनानी दर्जामा पदोन्नति पदिकलाई दज्र्यानी चिन्ह प्रदान गरे ।

    कार्यक्रममा उनले अवकाशपश्चात् विभिन्न तवरबाट समाजमा पुयाएको योगदानको कदरस्वरूप उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई समेत पुरस्कृत गरे । सेना दिवस–२०८२ हरेक वर्ष महाशिवरात्रिका दिन सैनिक मञ्च टुुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यस वर्ष महाशिवरात्रि पर्व आगामी फागुन ३ मनाइँदै छ ।

  • राष्ट्रियसभामा चलचित्र विधेयक पेस हुँदै

    राष्ट्रियसभामा चलचित्र विधेयक पेस हुँदै

    काठमाडौँ, २८ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छिन् । सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्नेछिन् ।


    यसैगरी, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् । बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने कार्यसूची छ ।

    त्यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन व्यवस्थापन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    रासस
    काठमाडौँ, २६ माघः यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी काम अघि बढाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए । उनले भने, “महाशिवरात्रिको तयारीका लागि समिति पूर्ण रूपमा सक्रिय छ । साधु–सन्त, भक्तजन तथा दर्शनार्थीलाई सुविधा पु¥याउने लक्ष्यका साथ व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात र प्रचार–प्रसारलगायत क्षेत्रमा काम भइरहेको छ ।”

    महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने भएकाले भीड व्यवस्थापन, सुरक्षा व्यवस्था र आपत्कालीन सेवामा विशेष ध्यान दिइएको र सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँगको समन्वयमा तयारीलाई तीव्रता दिइएको प्रवक्ता जोशीले बताए । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिले महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्य राखेको छ ।

    महाशिवरात्रि पर्वलाई लक्षित गर्दै अहिले पशुपतिनाथमा साधु–सन्तहरूको आगमन हुने क्रम तीव्र रूपमा सुरु भएको छ । देशका विभिन्न भू–भागका साथै छिमेकी मुलुक भारतबाट साधु–सन्तहरू पशुपतिनाथ क्षेत्रमा आउन थालेका छन् । महाशिवरात्रि पर्व नजिकिँदै जाँदा यहाँ साधु–सन्तहरूको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विभिन्न अखडा तथा सम्प्रदायका साधु–सन्तहरू पशुपति क्षेत्रमा आइपुगी आ–आफ्ना धुनी स्थापना गर्न थालेका छन् ।

    साधु–सन्तहरूले पशुपति क्षेत्रका विभिन्न स्थानमा ध्यान, तपस्या र साधनाका लागि धुनी तयार गरिरहेका छन् । यस वर्ष महाशिवरात्रि पर्व फागुन ३ गते परेको छ । महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति क्षेत्रमा धार्मिक गतिविधि बढ्दै गएको छ । साधु–सन्तहरूको आगमनसँगै भक्तजनको आवागमन पनि बढ्न थालेको कोषले जनाएको छ ।

    महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व भएकाले स्वदेशी तथा विदेशी श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । यस पर्वलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार तथा सम्बन्धित निकायहरू सक्रिय रूपमा जुटिरहेका छन् ।

  • डान्सलाई ‘हेप्ने सोच’प्रति चुनौती दिँदै ईशा, नाचेरै बनाइन् आमाका लागि घर

    डान्सलाई ‘हेप्ने सोच’प्रति चुनौती दिँदै ईशा, नाचेरै बनाइन् आमाका लागि घर

    दुबई, यूएई । ‘डान्स गरेर केही पाइँदैन’ भन्ने सामाजिक सोचलाई व्यवहारमै चुनौती दिँदै नेपाली म्युजिक भिडियो क्षेत्रमा सक्रिय कलाकार ईशा परियारले डान्समार्फत कमाएको आम्दानीबाट आफ्नी आमाका लागि घर निर्माण गरेकी छन् । सुनसरीको कालाबन्जर स्थायी ठेगाना भएकी परियार सन् १९९९ मा जन्मिएकी हुन् । ५ फिट ३ इन्च उचाइकी उनले कक्षा १२ सम्म अध्ययन गरेकी छन् ।

    हाल उनी युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा बसोवास गर्दै आएकी छन् । ईशा परियार नेपाली म्युजिक भिडियो क्षेत्रमा उदीयमान कलाकारका रुपमा चिनिँदै आएकी छन् । उनले विभिन्न नेपाली म्युजिक भिडियोहरुमा अभिनय गर्दै आफ्नो पहिचान बनाएकी हुन् । अभिनयप्रतिको लगाव, क्यामेरामा देखिने आत्मविश्वास र सहज प्रस्तुतीकरणका कारण उनी दर्शकमाझ रुचाइँदो बन्दै गएकी छन् ।


    सन् २०२१ देखि यूएईमा रहँदै आएकी परियार प्रवासमा रहेर पनि नेपाली कला–संस्कृतिको प्रवद्र्धनमा सक्रिय रहँदै आएकी छन् । विदेशमा रहेर डान्स तथा अभिनयलाई पेशाको रुपमा अघि बढाउनु सजिलो नभए पनि उनले निरन्तर संघर्षमार्फत आफ्नो लक्ष्य हासिल गरेकी हुन् । नेपाली समाजमा डान्स भन्नेबित्तिकै गरिने पूर्वाग्रही टिप्पणी र विशेषगरी विदेश आएर डान्स गर्ने युवतीप्रतिको नकारात्मक दृष्टिकोणलाई तोड्ने उदाहरणका रुपमा परियारको संघर्षलाई हेरिएको छ ।

    उनले डान्सबाट कमाएको पैसाले आमाको सपना पूरा गर्दै घर निर्माण गरेपछि यो विषय झन् चर्चामा आएको हो । ‘डान्सलाई कामको रुपमा स्वीकार नगर्ने सोचका लागि यो एउटा जवाफ हो,’ परियारले भनिन्, ‘डान्स मेरो पहिचान मात्र होइन, आमाको सपना पूरा गर्ने माध्यम पनि बनेको छ ।’

    उनको यो उपलब्धिलाई धेरैले प्रेरणादायी उदाहरणका रुपमा लिएका छन् भने सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया आइरहेका छन् । यस घटनाले पेशा, श्रम र महिलाप्रतिको सामाजिक दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने सन्देश दिएको छ ।

  • कविता : युद्ध रोकिएपछि…

    कविता : युद्ध रोकिएपछि…

    सुरज गैह्रे ‘विवश’

    युद्ध…
    एक दिन रोकिन्छ ।
    हातमा हतियार होइन,
    अनि मुटुमा माफ गर्ने आँसु लिएर
    मानिस फेरि मानिस हुन सिक्छ ।

    तर…
    युद्ध रोकियो भन्दैमा
    सबै ठिक हुन्छ भनेर नसोच ।
    तपाईंले देख्नु हुनेछः
    सहर बाँकी छन्– तर मानिस छैनन् ।

    कतै बास्ना हराएको हुन्छ…
    कतै छायाँ मात्र हिँडिरहेको हुन्छ ।
    मानव सभ्यताको किताब खुल्लै हुन्छ–
    तर त्यहाँ अक्षर छैन, केवल खरानी ।

    ‘युद्ध रोकियो…’
    भनेर कसैले घन्टी बजाउँछ ।
    अनि सुनिन्छ —
    ‘अब सुरु भयो नयाँ युग ।’

    हो, युग सुरु हुन्छ…
    तर त्यस युगमा
    हामी के बाँच्यौं भन्ने कुरा
    कल्पना भन्दा परको पीडा हुन्छ ।

    कसैले प्रश्न गर्छः
    ‘के बाँच्छ ?’
    ‘के सकिन्छ फेरि सुरु गर्न ?’

    बाँच्छ संवेदना ।
    बाँच्छ लाज ।
    बाँच्छ त्यो हात,
    जसले भर्खर युद्धको घाउमा
    पहिलो मलम लगायो…

    डराउनु पर्दैन, मित्र ।
    मृत्यु निश्चित हो —
    तर यो मृत्यु युद्धको होइन,
    त्यो घमण्डको हो, जुन युद्ध जन्माउँछ ।

    त्यसैले…
    जब तिमी मलम ल्याउँछौ,
    त्यस क्षण
    युद्धभन्दा ठूलो विजेता तिमी नै हौ ।

  • महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

    महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

    काठमाडौँ, २५ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस वर्षको महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको समिति काठमाडौँ महानगरपालिका, वडा नं ८ कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधिलाई पनि सदस्य राखिएको छ । समिति पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारीका लागि काम गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति बनाएर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि काम भइरहेको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए । मूल समारोह समितिअन्तर्गत सुरक्षा उपसमितिको बैठक शुक्रबार बसेको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको सुरक्षा उपसमितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको पनि उपस्थिति थियो । बैठकमा महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था मिलाउनेबारेमा छलफल भएको उनले बताए ।

  • गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

    गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

    गोरखा, २३ माघ । जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा लगन जुराएर शुक्रबार प्रमुख बाली मकैको धुमधामले विवाह सम्पन्न गरेका छन् । बिहे नगरी मकै रोप्नुहुन्न भन्ने धार्मिक, सांस्कृतिक मान्यताअनुसार लाप्राकीले शुक्रबार मकै बिहे गरेका हुन् । “मकैको बिहे गरेपछि अब बल्ल बारीमा रोप्ने काम सुरु हुन्छ”, स्थानीय मार्सिङ गुरुङले भने, “यसपालि माघ शुक्ल पूर्णिमामा गाउँमा सिमेभुमे पूजा भयो । त्यसलगत्तै लगन छोपेर आज मकैको बिहे गरेका हौैँ ।”

    उनका अनुसार आज लाप्राकका गाउँले नै उर्लिएर धुमधामका साथ विवाह सम्पन्न गरेका हुन् । गाउँले सबै मकैको जन्ती गए, मकैको भोज भतेर खाए, नाचगान गरे । उत्तरी गोरखाको धार्चे गाउँपालिकाभित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापुलगायत गाउँमा परापूर्वकालदेखि मकै विवाह गर्ने चलन छ । अरु गाउँमा अनुकूलको लगन पारेर मकै बिहे सम्पन्न गर्दैछन् ।

    प्रकृति पूजक यहाँका बोन धर्माटलम्बीहरू मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रूपमा रहेको मकैखेती लगाउन सुरु गर्छन् । मकैको उब्जनी राम्रो होओस्, असिना पानीले नष्ट नगरोस्, रोग नफैलियोस् भनेर यहाँ मकैको बिहे गर्ने गरेको अर्का स्थानीय राम गुरुङ बताउँछन् । ज्योतिषीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ ।

    विवाहका दिन बिहानैदेखि गाउँभरिका मानिस लाप्राकको ठूलो आँगनमा जम्मा हुन्छन् । अनि सिङ्गारेर एकजना बालकलाई डोलीमा राखेर ढ्याङ्ग्रो, मादल र झ्यालीलगायत बाजागाजासहित जन्ती जाने गर्छन् । ठूलो आँगनबाट मनिडाँडा हुँदै केहीपर जङ्गलमा बेहुली घरका रूपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ ।

    जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन् । जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरु बीउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोपिने लाप्राकका बिसबहादुर गुरुङ बताउँछन् । बेलुका फेरि ठूलोआँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाचसँगै मकै बिहे समापन हुने गुरुङले बताए ।

    “यो पुरानो परम्परा हो, यसरी मकैको बिहे गरेपछि बल्ल मकै लगाउन सुरु हुन्छ । बिहे नगरी मकै लगाउँदा अशुभ हुन्छ भन्ने मान्यता छ”, स्थानीय मार्सिङ गुरुङले भने । लाप्राकवासीले हरेक वर्ष माघको अन्तिम तथा फागुन महिनाको पहिलो हप्ताभित्र मकैको विवाह सम्पन्न गर्ने गरेको उनले भने । धार्चे गाउँपालिकाले मकै बिहेलाई प्रवर्द्धन गर्न वृत्तचित्र बनाएको छ ।

  • राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

    राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

    काठमाडौँ, ९ माघः राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए । राष्ट्रपति पौडेलले विद्याकीदेवी सरस्वतीको पूजाआराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

    समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत उपस्थित थिए । वसन्त पञ्चमीका अवसरमा विद्याकीदेवी सरस्वतीको पूजाआराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।

  • राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

    राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

    काठमाडौँ, ९ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

    माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा मानिने परम्परा रहिआएको उल्लेख गर्दै उनले आजको यस शुभदिनमा आफ्ना बालबालिकालाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने प्रचलन पनि रहिआएको बताएका छन् । “सङ्गीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र साइत जुराउनुपर्ने शुभकार्यका लागि समेत यही दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ”, उनले भनेका छन् ।


    आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकतामात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने अवसर पनि भएको उनको भनाइ छ । शुभकामना सन्देशमा भनिएको छ, “वसन्त पञ्चमीको प्राकृतिक महत्त्व उत्तिकै छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले यस पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतासमेतलाई दर्शाउँछ, विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लागेको छ ।”

  • आज माघ शुक्ल पञ्चमी–श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

    आज माघ शुक्ल पञ्चमी–श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

    काठमाडौँ, ९ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

    चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

    आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही०जस्ता सामाजिक तथा धार्मिककार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भका साथै नाक, कान छेडिदिने गरिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

    वसन्त श्रवण

    यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । शुक्रबार बिहान १०ः२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्न साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले राससलाई जानकारी दिए ।
    वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

  • सोनाम ल्होछार आज, देशभर सार्वजनिक बिदा

    सोनाम ल्होछार आज, देशभर सार्वजनिक बिदा

    ५ माघ, काठमाडौं । आज २८६२ औँ सोनाम ल्होछार पर्व मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।

    तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होछार महोत्सव आयोजना गरिएको छ ।

    विगतमा सोनाम ल्होछारको बिदा कटौती गरेको सरकारले पछि देशैभर बिदा दिन थालेको छ । विभिन्न प्रदेश र स्थानीय सरकारले पनि सार्वजनिक बिदा दिएका छन् । पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन् । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।

  • रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

    रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

    तानसेन (पाल्पा), २ माघः पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहनैदेखि घुइँचो लागेको हो । रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा स्नान गरी ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्यलाभ प्राप्त हुनुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले माघे सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने गरेको रुरु सञ्चार प्रालिका अध्यक्ष चुरामणी तिमिल्सेनाले उल्लेख गरे ।


    माघे सङ्क्रान्तिको अवसरमा परम्परादेखि कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माइली र कान्छी सङ्क्रान्तिका रूपमा धार्मिक मेला लाग्दै आएको उनले जानकारी दिए । नेपालका चारधाममध्ये एक रुरु धाममा देशभित्रका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेका अध्यक्ष तिमिल्सेनाले बताए । माघे सङ्क्रान्तिको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले नजानेर गरेका पाप नाश हुने, मृत्यु पछि स्वर्गमा बास हुने जनविश्वास रहेकाले श्रद्धालुहरू यहाँ आउने गरेका तिमिल्सेनाले विश्वास व्यक्त गरे ।


    मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा स्याङ्जातर्फ जान तीनमुखे पुल निर्माण भएको छ । पाल्पा, गुल्मी र स्याङ्जातर्फ जाने तीनमुखे पुलमा पनि भक्तजनको बाक्लो उपस्थिति रहेको रुरु सञ्चार प्रालिका अध्यक्ष तिमिल्सेनाले बताए । “कालीगण्डकी जलविद्युत् आयोजना मिर्मिमा पानी थुनिएकाले यहाँ नदी सानो छ । स्नान गर्न र ऋषिकेशव दर्शन गर्न आउने भक्तजनलाई तीनमुखे पुलले सहज बनाएको छ”, उनले भने । पाल्पातर्फ रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा स्याङ्जा र गुल्मीबाट मेला भर्न आउने दर्शनार्थी पूजा गर्न घुइँचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पर्यटक आकर्षित गर्न यस वर्ष युवाहरूले रिडी खोलालाई थुनेर ताल निर्माण गरेका छन् ।

    धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङलगायत जिल्लाबाट काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयोलगायत घरेलु सामग्रीका साथै हुम्ला, जुम्लाको ओखरको घाँजीलगायत सामग्री बिक्रीका लागि राखिएका रुरु सञ्चार प्रालिका अध्यक्ष तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार पाल्पा तथा गुल्मीको थोर्गासहित आसपासका किसानले गुँड, खुदो, चाकुका साथै स्थानीय उत्पादनका दुई सयभन्दा बढी कक्ष राखिएका छन् ।