Category: मनोरञ्जन

  • पोखरामा २७ औँ पोखरा सडक महोत्सव पुस १३ देखि

    पोखरामा २७ औँ पोखरा सडक महोत्सव पुस १३ देखि

    धरान (सुनसरी), २८ मङ्सिरः पोखराको लेकसाइड क्षेत्रमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको छ । आगामी जनवरी १ तारिखमा रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल ९रेवान० पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड क्षेत्रमा करिब तीन दशमलव पाँच किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन गरिने आयोजकले आज इटहरीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । रेवान पोखराका संयोजक वसन्त गौतमका अनुसार ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको महोत्सवले खाना, संस्कृति र सङ्गीतको प्रवर्द्धनका साथै पोखराको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

    एक समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन नेपाली पर्यटक भारतको गोवा र थाइल्याण्ड जाने प्रचलन रहेकामा पोखरा सडक महोत्सवले ‘अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य’का रूपमा पोखरालाई स्थापित गर्न सफल भएको उनले बताए । “हाल यो महोत्सव पोखराको पहिचान र पर्यटन प्रवर्द्धनका क्षेत्रमा ‘ब्रान्ड’का रूपमा अघि बढिरहेको छ”, उनले भने ।


    विसं २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्ला विभिन्न आन्दोलनजस्ता चुनौतीका बाबजुत पनि महोत्सव निरन्तर आयोजना हुँदै आएको संयोजक गौतमले बताए । उनले प्रत्येक सङ्कटपछि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःरुत्थान गर्न तथा ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वसामु प्रवाह गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखे ।


    पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईले महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउँदै स्थानीय कृषिउपज, हस्तकला तथा घरेलु सामग्रीको प्रवर्द्धन र बजारीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । क्रिसमस र नयाँ वर्षको अवसरमा विदेशी पर्यटकलाई नेपालमै आकर्षित गरी विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने उनको भनाइ छ ।

    यस वर्ष पोखरा महानगरपालिकाद्वारा घोषणा गरिएको ‘पोखरा भ्रमण वर्ष २०२५’सँग सहकार्य गर्दै महोत्सव आयोजना हुन लागेको आयोजकले जनाएको छ । महोत्सवका प्रमुख आकर्षणमा नेपालका विभिन्न जातजातिका सांस्कृतिक झाँकी र नृत्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारसहितका खानाको फुड फेस्टिभल (खाना महोत्सव), ख्यातिप्राप्त कलाकारद्वारा कला प्रस्तुत, लोकदोहोरी, फेवातालमा ‘बोट रेस’, ‘वेटर रेस’, रस्साकस्सी, पर्यटनसम्बन्धी ‘टक सो’, वृत्तचित्र तथा फोटो प्रदर्शनी रहेका संयोजक गौतमले जानकारी दिए ।

    महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सहप्रायोजकमा बोटलर्स नेपाल (तराई) लिमिटेड, दि नेपाल डिस्टिलरी प्रालि, यति डिस्टिलरी प्रालि र नेपाल टेलिकम रहेका छन् । बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक रहेको आयोजकले जनाएको छ ।

  • नेपाल–चीन कूटनीतिक सम्बन्ध ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा सांस्कृतिक कार्यक्रम

    नेपाल–चीन कूटनीतिक सम्बन्ध ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा सांस्कृतिक कार्यक्रम

    काठमाडौँ, २७ मङ्सिरः नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छन्दुस्थित नेपाली महावाणिज्यदूतावासले आज जनाएको छ । त्यस क्रममा नेपाली चिया, कफी, फेल्ट, पश्मिना, धूप, सिङिङ बाउल, थान्कालगायतका नेपाली उत्पादनहरूको प्रदर्शनी गरिएको थियो ।

    सांस्कृतिक आदानप्रदानअन्तर्गत चिनियाँ परम्परागत वाद्ययन्त्र ‘गुछिन’को वादन तथा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा परम्परागत नृत्यहरू प्रदर्शन गरिएका थिए । महावाणिज्यदूतावासको संयोजनमा भएका ती कार्यक्रममा छोङछिङ युझोङ जिल्ला सरकार, छोङछिङ नगरपालिका र नेपाल पर्यटन बोर्डका पदाधिकारीलगातय ५० जना सहभागी थिए ।

  • एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’

    एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’

    काठमाडौँ, २७ मङ्सिर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीलाई प्रोत्साहनका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा आज राति ९ः०० बजेदेखि एनपिएलका विजेता टोलीका खेलाडीसहित अन्य आठ वटै टोलीका खेलाडीको सहभागितामा ‘एनपिएल नाइट’ हुन लागेको हो ।

    कार्यक्रममा एनपिएल दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्ससहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, पोखरा एभेञ्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्टुस्का खेलाडीको सहभागिता रहने क्लबका प्रमुख रविन श्रेष्ठले जानकारी दिए । “नेपालमा क्रिकेटको राम्रो इतिहास रचिँदैछ । एनपिएल खेल्न विभिन्न मुलुकका खेलाडी यहाँ आएका छन् । यसले नेपालको पहिचान थप बढाउनुका साथै एनपिएलका माध्यमबाट प्रचारप्रसार हुँदा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ”, उनले भने ।


    एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब मनोरञ्जनात्मक साझेदार बनेको थियो । यसअघि क्लबका प्रमुख श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले एनपिएल दोस्रो सिजनका लागि एलओडी मनोरञ्जनात्मक साझेदार बन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । आगामी वर्षमा पनि क्लब मनोरञ्जनात्मक साझेदार बन्ने क्यानले जनाएको छ ।

  • एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

    एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

    रासस
    म्याग्दी, २६ मङ्सिरः म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ । सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ ।

    बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले विसं १९३० को दशकमा स्थापना र १९८० को दशकमा निर्माण भएको गणेश मन्दिरलाई गुठीयार र नगरपालिकाको करिब रु २० लाख २५ हजार लगानीमा पुनर्निर्माण गरिएको जानकारी दिए । “पुरानो मन्दिरलाई भत्काएर भक्तपुरे इँटा र बुट्टे काठको प्रयोग गरेर निर्माण भएको मन्दिरको छाना पित्तलले छाइएको छ”, उनले भने, “बेनी नगरपालिकाले गत आर्थिक वर्षमा रु छ लाख अनुदान उपलब्ध गराएको थियो । समुदायले अनुदानभन्दा बढी सहयोग जुटाएका छन् ।”

    हालसम्म रु १९ लाख ९३ हजार ७९५ खर्च, रु १७ लाख ६९ हजार ९७४ आम्दानी र रु दुई लाख २३ हजार ८२१ भुक्तानी दिन बाँकी रहेको निर्माण समितिका किशोर श्रेष्ठले बताए । मन्दिरको वरपर राखिएको बत्ती बाल्ने दियोको खर्च जोड्दा कूल रु २० लाख २५ हजार पुग्ने उनले बताए । बेनीका स्व मोतिकुमार श्रेष्ठले गुठी स्थापना गरेर गणेश मन्दिर बनाएका थिए । मन्दिर जीर्ण भएपछि निर्माणकर्ता मोतिकुमारका छोरा जयन्द्र श्रेष्ठ राजभण्डारीलगायत परिवारसँग समन्वय गरेर पुनर्निर्माण गरिएको हो ।

    मन्दिर पुनर्निर्माणमा जुटेको रकममा मोतिकुमारका परिवारका सदस्य र आफन्तहरुको योगदान बढी छ । प्रत्येक दिन नित्य पूजा हुने गणेश मन्दिरमा गणेशचौथी र मङ्गलचौथी तिथिमा विशेष पूजाआजा हुने गर्छ । पुनर्निर्माण सकिएपछि यसै हप्ता हिन्दू धर्मावलम्बीहरुको भगवान् गणेशको मूर्तिको प्राण प्रतिष्ठा गरेर नियमित पूजाआजा सुरु गरिएको छ ।

    यहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । बेनी बजारमा हरेक वर्षको घण्टा कर्ण चतुर्थीदेखि हरितालिका तीजसम्म देखाइने बर्खे नाचको समापन यही गणेश मन्दिर परिसरमा गरिन्छ । गणेश मन्दिर बेनी बजारको पुरानो धार्मिकस्थल हो । बेनी भ्रमणमा आउने पाहुना र पर्यटकका लागि गणेश मन्दिर र नजिकैको बेनीकोत आकर्षण हो ।

  • पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

    पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

    म्याग्दी, २३ मङ्सिरः म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीयमा पर्ने भुरुङ–तातोपानी–घोडेपानी–उल्लेरी–वीरेठाँटी–नयाँपुल खण्डको पुरानो पदमार्ग असहजताका कारण सडक विस्थापित भएपछि पदयात्रीले वैकल्पिक पदमार्ग प्रयोग गर्न थालेका हुन् । पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पवर्तको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थललाई समेटेको छ । कास्कीको उल्लेरी, म्याग्दीको मोहरेडाँडा, पुनहिल, घोडेपानी, स्वाँत, खोप्रा, खयरबराही ताल, बयली, मुल्डे भ्यु पोइन्ट, घान्द्रुक, लान्द्रुक हुँदै घम्पुस जोड्ने पदमार्ग सञ्चालनमा आएको हो ।

    दशदेखि १५ दिनमा यात्रा पूरा गर्न सकिने यस पदमार्गलाई सडकले असर नगरेको पदयात्री बताउँछन् । उच्च पहाडी र हिमाली क्षेत्रको भूगोलमा हिमशृङ्खला, सूर्योदय, वनजङ्गल, पक्षी, भेडा, चौँरीको घुम्ती गोठ, वन्यजन्तुको अवलोकन गर्दै यात्रा गर्न पाइने पथप्रदर्शक दिनेशकुमार घिमिरेले बताए । “ग्रामीण जीवनशैली, शान्त र एकान्त वातावरण यो पदमार्गको आकर्षण हो”, उनले भने, “सडकलाई छलेर विशुद्ध पदयात्रा गर्न र प्रकृतिसँग रमाउन पाइने भएकाले पर्यटकको रोजाइमा परेको छ ।”

    गाउँगाउँमा सडक विस्तारसँगै पुराना पदमार्ग विलय भएको घिमिरेले बताए । पर्यटकीय राजधानी पोखराबाट नजिक भएकाले पनि नयाँ वैकल्पिक पदमार्गमा पर्यटक आकर्षित भएका उनको भनाइ छ । गत महिना घिमिरेले बेलायतका पाँच जना पर्यटकलाई यो पदमार्गको भ्रमण गराएका थिए । पर्यटन व्यवसायीले पदमार्गलाई धौलागिरि अन्नपूर्ण नामकरण गरेका छन् ।

    पदमार्गमा पर्ने स्वाँतका होटल व्यवसायी बलबहादुर तिलिजा पुनका अनुसार हाल दैनिक १०० जना पर्यटक यो नयाँ वैकल्पिक पदमार्गको भ्रमणमा आउने गरेका छन् । “पर्यटक आउन थालेपछि बजारबाट गाउँ फर्किएर होटल व्यवसाय सुरु गरेको छु”, उनले भने, “अन्य ठाउँमा होटल र रेष्टुरेन्ट थपिनेक्रम बढेको छ ।”

    समुन्द्री सतहबाट दुई हजार ३०० मिटर उचाइमा रहेको स्वाँतलाई पदयात्रीले थकान मेटाउन विश्राम गर्ने थलोका रुपमा विकास भएको छ । समुन्द्री सतहबाट तीन हजार ६०० मिटर उचाइको खोप्रा लेक यस पदमार्गको मुख्य आकर्षण हो । क्याम्पिङ र होटलमा बास बस्ने गरेर पदयात्रा गर्न सकिने विकल्प रहेको बयलीका होटल व्यवसायी लोकबहादुर पुर्जाले बताए । वनजङ्गल, भिर र खोल्सा भएकाले गाइडसहित यात्रामा आउन उनले सुझाव दिए । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले पदमार्गका सामुदायिक लजको क्षमता विस्तार, पदमार्ग स्तरोन्नति, निर्माण र नयाँ गन्तव्य पहिचानसँगै प्रवद्र्धनमा जोड दिएको बताए ।

  • स्वरसम्राट् नारायण गोपालको ३५ औँ स्मृति दिवस मनाइदैं

    स्वरसम्राट् नारायण गोपालको ३५ औँ स्मृति दिवस मनाइदैं

    काठमाडौँ, १९ मङ्सिरः प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाउनुभएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन् ।

    ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए, कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्….’, ‘अल्झेछ क्यारे पछ्यौरी..’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् । मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।

  • आज किराँत समुदायमा उँधौली पर्व मनाईदैं, देशभर सार्वजनिक बिदा

    आज किराँत समुदायमा उँधौली पर्व मनाईदैं, देशभर सार्वजनिक बिदा

    काठमाडौँ, १८ मङ्सिर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए ।

    यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् । किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उँधौलीका नामले चिनिने बताउनुहुन्छ ।

    किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ । भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याबु्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

    ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ ।

    पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ । वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने अनुसन्धाता राईले बताउनुभयो । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।

    उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् । खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । राससबाट

  • मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा पर्व

    मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा पर्व

    काठमाडौँ, १८ मङ्सिर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

    यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा समेत मेला लाग्ने गर्दछ ।

    नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योःमरि बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउनुहुन्छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

    नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा पर्व मनाउँछन् । साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योःमरि सगुनका रूपमा उपहार पठाउने चलनसमेत नेवार समुदायमा रहेको छ ।

  • पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

    पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

    काठमाडौँ, १८ मङ्सिरः विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । यस्तै मध्येका एक हुन्, संस्कृतिविद् हरिप्रसाद सोडारी । पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उनले बताए ।


    मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउँछन् । । विश्वसम्पदा क्षेत्रमा यस्ता सामग्री राखेपछि पुरातत्व विभागले विश्वसम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै यसलाई हटाउन पत्राचार गरेको थियो । विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले पत्राचार गरेलगत्तै कोषले बार हटाएको बताए ।

  • राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

    राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

    काठमाडौँ, १८ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

    प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा बताउनुभएको छ ।

    “विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध, वातावरण अनुकूल जीवन व्यवस्थापन, एकता, सहकार्य, सांस्कृतिक संरक्षण, श्रमको सम्मान, पूर्वजप्रतिको आस्थालाई अझ मजबुत बनाउन सहयोग पु¥याएको महसुस गरेको छु”, सन्देशमा उहाँले भन्नुभएको छ ।

    उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ ।

    किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउने गरेका छन् ।

    उधौलीपर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ । रासस

  • नेवारी कला, संस्कृति जोगाउन पाल्पामा यःमरी महोत्सव

    नेवारी कला, संस्कृति जोगाउन पाल्पामा यःमरी महोत्सव

    तानसेन, १४ मङ्सिरः तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो । पछिल्लो समय स्थानीय परिकार, वेशभूषा कला, संस्कृति, परम्परा, संस्कार हराउँदै गएको अवस्थामा पहिचान जोगाउँदै इतिहासबारे युवापुस्तामा जानकारी गराउन महोत्सव गरिएको क्लबले जनाएको छ ।

    नेवारी परम्पराअनुसार मङ्सिर पूर्णिमाका दिन नयाँ धान भित्र्याएपछि घरभित्र धानको भकारी बनाउने, धानको भकारीलाई विधिवत रूपमा गशेण, शिवलगायत भगवान्को स्वरुप बनाएर पूजाआजा गर्ने र नयाँ धानको यःमरी बनाएर खाने र खुवाउने चलन रहेकाले नेवारी कला, संस्कृति बचाउन महोत्सवको आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष बेशान्तर शाक्यले बताए ।

    यःमरी नेवारी समुदायले मात्र बनाउने र बढी मात्रा खाने प्रचलन छ । ‘य’ भनेको नेवारी भाषामा मनपर्ने मरी भनेको रोटी अर्थात् मनपर्ने रोटीका रूपमा नेवारी समुदायमा लिने गरिन्छ । यःमरी चाकु, गुँड, खुवा र तिललाई चामलो पीठोभित्र राखेर पकाइन्छ र तातो खाने गरिन्छ । महोत्सवमा २५ कक्ष रहेका थिए । जहाँ दर्शकले स्वादअनुसारका विभिन्न परिकारको उपभोग गरेका थिए ।

  • भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

    भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

    म्याग्दी, १२ मङ्सिर । भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ । गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेर मन्दिर परिसर रातमा पनि उज्यालो भएको हो । म्याग्दीमा पहिलोपटक गलेश्वरमा बिहीबार यस्तो प्रविधिको विद्युत् लाइट जडान गरिएको हो ।

    रु नौ लाख ७४ हजार खर्चेर बत्ती जडान गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । “गलेश्वर मन्दिर दर्शनका लागि आएका भक्तजनले चढाएको भेटीलगायत आन्तरिक आम्दानी परिचालन गरेर बत्ती जडान गरिएको हो”, उनले भने, “रातको समयमा पनि उज्यालो भएपछि भक्तजनलाई सहज, सुरक्षा व्यवस्थापनमा सहयोग पुग्नुका साथै गलेश्वर मन्दिर परिसर पनि रमणीय देखिएको छ ।”

    सोह्र मिटर अग्लो विद्युत्को पोलको टुप्पामा चारैतिर फर्काएर चार–चार सय वाट क्षमताका आठ वटा बत्ती राखिएको छ । अग्लो पोलमा राखिएको बत्तीले मन्दिर परिसरलाई उज्यालो बनाएको छ । रातको समयमा मात्र बत्ती बल्ने र दिउँसो बन्द हुने स्वचालित उपकरण जडान भएको छ । कोषका संरक्षकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बत्तीको स्वीच थिचेर बिहीबार साँझ उद्घाटन गरे । कोषका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीलगायत प्राविधिक र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि टोलीको उपस्थिति थियो ।

    हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउनको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

    गलेश्वर मन्दिरमा दाताले चढाउने भेटी र दाताको सहयोग पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिएको छ । यस वर्ष बेनी नगरपालिकासँग साझेदारी गरेर गलेश्वर बजार सौन्दर्यकरण योजनालाई निरन्तरता दिइएको कोषका सदस्यसचिव सम्मरबहादुर थापाले बताए । उनका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक सङ्गीतमय बनाउन सात ठाउँमा स्पिकर जडान गर्ने तयारी भएको छ ।

  • आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

    आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

    काठमाडौँ, ९ मङ्सिरः त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

    त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

    महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

    रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् । रङ्गभूमि मैदानमा वर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिने हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

    श्रद्धालु भक्तजन बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।
    उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत रहेको छ ।

  • बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

    बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

    मुम्बई, ९ मङ्सिर (रासस–एएफपी) । भारतीय सिनेमाका अत्यन्त लोकप्रिय, बहुप्रतिभाशाली र पुस्ता–पुस्ताले मन पराइएका बलिउड सुपरस्टार धर्मेन्द्रको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ । रोमान्टिक कमेडीदेखि उच्चस्तरीय एक्सन ब्लकबस्टरसम्म समान कौशलका साथ अभिनय गर्ने उहाँको क्षमता प्रशंसनीय मानिन्थ्यो । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि दिँदै भन्नुभयो, “धर्मेन्द्रजीको निधनले भारतीय सिनेमामा एउटा युगको अन्त्य भएको छ । उहाँ एक प्रतिष्ठित कलाकार मात्र होइन, हरेक भूमिकामा गहिराइ, आकर्षण र मौलिकता भर्ने अद्वितीय अभिनय प्रतिभाका धनी व्यक्ति हुनुहुन्थ्यो ।”

    अभिनेता धर्मेन्द्रको स्वास्थ्य पछिल्ला महिनाहरूमा राम्रो थिएन र उपचारका लागि केही समयअघि उहाँलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।
    धर्मेन्द्रले करिब छ दशक लामो आफ्नो चम्किलो करियरमा २५० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभयो । साथै उहाँले संसद् सदस्यके रूपमा पनि सेवा गर्नुभयो र भारतका उच्च नागरिक सम्मानमध्ये एक प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुनुभयो । सन् १९८० को दशकमा उहाँले एक्सनप्रधान चलचित्रहरूको लामो शृङ्खलामा काम गर्दै ‘हि–म्यान’ उपनाम पाउनुभयो । त्यसअघि–पछि उहाँले गरेका थुप्रै बेजोड भूमिकाहरू आज पनि बलिउड इतिहासका अविस्मरणीय कोसेढुङ्गाका रूपमा सम्झिन्छन् ।

    धर्मेन्द्रको सबैभन्दा चर्चित र प्रिय भूमिकामध्ये सन् १९७५ को क्लासिक फिल्म ‘सोले’ मा उहाँले निभाएको ‘वीरु’ विशेष उल्लेखनीय मानिन्छ । वीरुको हाँसो, जोश र उदार मनका लागि उहाँ आज पनि दर्शकमाझ उत्तिकै लोकप्रिय हुनुहुन्छ । छ सन्तानका पिता धर्मेन्द्र आफ्ना छोराहरू—सन्नी देओल र बबी देओल—अभिनीत चलचित्रहरूको निर्माणमा समेत सक्रिय हुनुहुन्थ्यो, जसले देओल परिवारको बलिउड यात्रालाई निरन्तरता दियो । उहाँको अन्तिम अभिनय यात्रा भने निर्देशक श्रीराम राघवनको आगामी चलचित्र ‘इक्किस’ हुनेछ, जसको प्रदर्शन अर्को महिना निर्धारित गरिएको छ ।

  • विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

    विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

    जनकपुर, ८ मङ्सिर । जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचाँै दिन माता जानकीको मटकोर विधि मनाइएको छ । त्रेतायुगमा भगवान् श्रीराम र माता सीताबीच भएको विवाहको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज मटकोर सम्पन्न गरिएको हो । त्यस क्रममा जानकी मन्दिरबाट बाजागाजासहित जनकपुरधामको एतिहासिक गङ्गासागरमा पुगेर भव्यतापूर्वक मटकोर सम्पन्न भएको हो । यो विवाहपूर्वको विधि हो ।


    आज महोत्तरीको मटिहानीमा पनि ‘मटकोर’ सम्पन्न भएको छ । मटिहानीस्थित लक्ष्मीनारायण मठले रामजानकी विवाह महोत्सवको ‘मटकोर’ विधि सम्पन्न गरेको हो । हिन्दू मैथिल परम्परामा विवाहको एक दिनपूर्व कर्मकाण्डीय विधिले ‘मटकोर’ सम्पन्न गर्ने चलन छ । त्रेता युगमा चन्द्रमासको मङ्सिर शुक्लपञ्चमीका दिन अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र विदेह (मिथिला) नरेश शिरध्वज जनककी पुत्री जानकीको विवाह भएको सम्झनामा प्रत्येक वर्ष उत्सवका साथ यो पर्व मनाउने चलन छ । यसपालि मङ्सिर शुकल पञ्चमी भोलि मङ्गलबार हुँदा ‘मटकोर’ आज सम्पन्न गरिएको हो ।

    ‘मटकोर’ विधिमा मिथिलानीहरु जानकीस्वरुपा कन्यालाई अघि लगाएर मङ्गलगीत गाउँदै सागर पुगेर भूमिपूजन गर्दै माटो खनेर ल्याउँछन् । माटो खन्ने कार्यमा पूरुषहरूको पनि सहयोग लिइन्छ । खनिएको माटोले मठ परिसरकै मन्दिरको प्राङ्गणमा वैदिक विधिपूर्वक वेदी बनाइन्छ । यस अवसरमा जानकीस्वरुपा पात्रलाई बसाइ मङ्गलगीत गाइँदै विवाहको पूर्वाङ्ग (कन्याको घरमा विवाहपूर्व गरिने वैदिक विधि) सम्पन्न गरिन्छ ।

  • विवाह पञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक

    विवाह पञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक

    जनकपुर, ८ मङ्सिरः विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाममा आजदेखि तीन दिनसम्म माछा÷मासु र मदिरा बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ । आज राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि उक्त रोक लगाएको हो ।

    विवाहपञ्चमी महामहोत्सव यही मङ्सिर ९ गते सुरक्षित, मर्यादित र सौहार्द्रपूर्ण वातावरणमा मनाउने सन्दर्भमा बसेको सरोकारवालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचनामा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री–वितरण, पशुपक्षी मारकाट, माछा मासु बिक्री–वितरण, उत्पादनलगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ ।

    सूचना विपरीत निषेधित क्षेत्रमा उक्त कार्य गरिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही भई जाने व्यहोरा उल्लेख गरिएको छ । मिथिलाको सांस्कृतिक, धार्मिक र पौराणिक पर्वका रुपमा रहेको रामजानकी विवाह महोत्सवलाई लक्षित गरी निषेध गरिएको सहायक प्रजिअ दाहालले बताए । यसैबीच विवाहपञ्चमी महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन तथा शान्तिसुरक्षा प्रभावकारी बनाउन जनकपुरधाममा नेपाल प्रहरी र शास्त्र प्रहरीका गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

  • बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट

    बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट

    मुम्बई, ४ मङ्सिर (रासस–एएफपी) । करिब ६० अर्ब डलरको भारतीय बलिउड उद्योग अहिले गम्भीर विश्वसनीयता सङ्कटमा परेको छ । उद्योगभित्रका जानकारहरूका अनुसार हेरफेर गरिएको फिल्म समीक्षा, फुलाइएका बक्स अफिस तथ्याङ्क र नक्कली टिकट बिक्रीका दाबीहरूले दर्शकको धारणा विकृत बनाइरहेको छ, जसले अन्ततः टिकट बिक्रीमै नकारात्मक असर पारिरहेको छ ।

    स्ट्रिमिङ प्लेटफर्महरूले परम्परागत सिनेमालाई प्रतिस्पर्धामा पारेका छन्, तर उद्योग भित्रकै व्यक्तिहरू बलिउडका धेरै समस्या स्वयं उद्योग–प्रेरित हुन् भन्छन् । फिल्म रिलिज हुनुअघि नै ‘सुपरहिट’ घोषणा गर्ने प्रवृत्तिबाट लिएर प्रभावकर्ताहरूलाई भुक्तानीमा सकारात्मक समीक्षा लेखाउने प्रचलनसम्मका सबै कारणले दर्शकको विश्वास घट्दै गएको छ ।

    निर्माता तथा वितरक सुनील वाध्वाले भने, “यदि तपाईंले प्रभावकर्ताहरू वा आलोचकहरूलाई संलग्न गर्नुभएन भने फिल्म राम्रो भए पनि उनीहरूले नराम्रै समीक्षा लेख्छन् । उल्टो, फिल्म कमजोर भए पनि निर्माता वा स्टुडियोले भुक्तानी गरे सकारात्मक समीक्षा आउने गर्छ ।” उनका अनुसार यसले समीक्षाको विश्वसनीयता नै धराशायी बनाइरहेको छ ।

    व्यवसाय विश्लेषक तथा अनुभवी वितरक राज बंसलले हालका प्रारम्भिक समीक्षाप्रति दर्शकहरू अत्यन्तै शङ्कित भएको बताए । “मिडियाले चार तारा दियो कि मानिसहरू मलाई म्यासेज गर्छन्—‘सर, यसको अर्थ फिल्म राम्रो छैन रहेछ ।’ फिल्म साँच्चिकै राम्रो भए पनि उनीहरूले अब विश्वास गर्दैनन्”, उनले टिप्पणी गरे ।
    यस अविश्वासको प्रत्यक्ष असर बक्स अफिसमा देखिन थालेको उद्योग भित्रकै विशेषज्ञहरूको भनाइ छ ।

    धेरै दर्शकले फिल्म रिलिजको पहिलो दिन नै हेर्न जाने परम्परा तोडेर ‘साँचो प्रतिक्रिया’ आउञ्जेल पर्खिन थालेका छन्, जसले उद्घाटन दिनको टिकट बिक्रीलाई ठूलो झड्का दिइरहेको छ । भित्री सूत्रहरूका अनुसार केही प्रभावकर्ताहरूले ‘रेट कार्ड’ नै तयार पारेका छन्—समीक्षा वा प्रचारका लागि भुक्तानीको निश्चित दर, जुन कमजोर प्रमोशन भएका फिल्महरूको लागि अझै महँगो पर्छ । यसलाई बढाउने अर्को अभ्यास भनेको निर्माताहरू आफैँले उद्घाटन–हप्तामा थोक टिकट खरिद गरी बक्स अफिस नम्बर कृत्रिम रूपमा बढाउनु हो ।

    जेम सिनेमाज, जयपुरका मालिक सुधीर कासलीवालले शाहरुख खानको एक चलचित्रका क्रममा सयौँ अनलाइन बुकिङ देखिए पनि हलमा थोरै दर्शक मात्र उपस्थित भएको अनुभव सुनाउँदै भने, “यदि निर्माता, निर्देशक र कलाकारहरूले नै टिकट किनिरहने यो चलन जारी रह्यो भने बलिउडको भविष्य अत्यन्तै अन्धकार देखिन्छ । गलत सन्देश पठाइन्छ, दर्शक भ्रमित हुन्छन् र राम्रो सामग्री बिना उद्योग उठ्नै सक्दैन ।”

    हालैको विवाद अक्षय कुमार अभिनीत फाइटर–जेट एक्शन फिल्म ‘स्काईफोर्स’ सँग पनि जोडिएको छ । निर्देशकले ब्लक–बुकिङको आरोप अस्वीकार गरे पनि मुम्बईका एक अनुभवी व्यापार–विश्लेषकले यसको वास्तविक कलेक्सन करिब ६० लाख डलर रहेको, तर रिपोर्ट गरिएको रकम ९० लाख डलरभन्दा बढी रहेको दाबी गरे । “अनलाइनमा घर–भरिएको देखिन्थ्यो तर धेरै हलहरू खाली नै थिए”, विश्लेषकले नाम नखुलाइकन भने ।

    बंसलका अनुसार मिडिया वा प्रभावकर्ताहरूका सामान्यतया ‘सकारात्मक समीक्षाको खेल’ नखेल्नेहरूलाई उद्योगबाटै हुत्याइने जोखिम बढेको छ । “जब म कलेक्सन कमजोर भएको लेख्छु, कलाकार र निर्माताहरूले हटाइदिन आग्रह गर्छन्”, उनले सुनाए । वितरक वाध्वाले सन् २०२५ को रोमान्टिक–कमेडी–हरर फिल्म ‘थम्मा’ को कलेक्सन पनि हेरफेर गरिएको दाबी गर्दै वास्तविक बिक्री करिब एक करोड ५० लाख डलर रहेको बताए । तर रिपोर्ट भने एक करोड ८० लाख डलरको गरिएको थियो । निर्देशक आदित्य सरपोतदारले भने आफ्नो सङ्ख्या ‘सबैभन्दा सही’ भएको जिकिर गर्दै निर्माता र व्यापारका कलेक्सन आँकडामा हल चलिरहेका बेला असान्दर्भिक भिन्नता हुन सक्ने बताए ।


    विज्ञहरूको चेतावनी स्पष्ट छ—बक्स अफिस तथ्याङ्कमा हेरफेर गर्नुको दीर्घकालीन असर गम्भीर हुन सक्छ । यो प्रवृत्तिले नयाँ प्रतिभाहरूका अवसर सङ्कुचित बनाउने, स्टारहरूको पारिश्रमिक अनावश्यक रूपमा बढाउने र उद्योगको विश्वसनीयता झनै खस्काउने जोखिम हुन्छ । “दर्शक मूर्ख छैनन्, उनीहरू सत्य चिन्न जान्छन्”, वाध्वाले भने ।


    यता, स्ट्रिमिङ प्लेटफर्महरूले पनि आफ्नो रणनीति कडाइ गर्दै बक्स अफिस तथ्याङ्कको अडिट अनिवार्य बनाउन थालेका छन् । यसले निर्माताहरूलाई पारदर्शितातर्फ धकेलिरहेको छ । “स्ट्रिमरहरू अब धेरै सावधान भइसके”, वाध्वाले भने । तर तिनै विशेषज्ञहरूको निष्कर्ष के छ भने यो चलन चाँडै रोकिइहाल्ने कुनै सङ्केत छैन । निर्माता तथा स्टुडियोहरूले ‘टिकट किनेर नम्बर बढाउने भोक’ छोड्ने दिन नआएसम्म बलिउडको यो आत्मघाती अभ्यास निरन्तर चलिरहने सम्भावना छ ।

  • बालाचतुर्दशी : डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

    बालाचतुर्दशी : डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

    भक्तपुर, ३ मङ्सिरः यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर जाग्राम बसी आज बालाचतुर्दशीका दिन शतबीज छर्नेको भीड लागेको हो । चाँगुनारायण र सूर्यविनायकका विभिन्न शिवालयमा पनि शतबीज छर्नेको भीड लागेको छ ।

    केही वर्ष अगाडिसम्म शतबीज छर्न पाशुपत क्षेत्र जाने गरेका यहाँका स्थानीय डोलेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्गको निर्माण भएसँगै डोलेश्वर महादेवको मूल दीपबाट बत्ती सल्काएर यहीँ महादीप बालेर शतबीज र्छन थालेका हुन् । त्यसैगरी, चाँगुनारायण नगरपालिका–५गोकुलधाम एवं मच्छेनारायण मन्दिर, सूर्यविनायकको सिपाडोलस्थित आशापुरी महादेव गुण्डुको अनन्तलिङ्ेश्वर मन्दिर परिसरमा स्थानीयले शतबीज छरेका छन् ।

  • देवघाटधाममा शतबीज छर्नेको घुइँचो

    देवघाटधाममा शतबीज छर्नेको घुइँचो

    दमौली, ३ मङ्सिर । पितृउद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् । देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न आएका हुन् ।

    शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताए । हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जाँै, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

  • डोलेश्वरदेखि गोकुलधामसम्म पितृका नाममा महादीप बालेर रातभर जाग्राम बस्दै श्रद्धालु

    डोलेश्वरदेखि गोकुलधामसम्म पितृका नाममा महादीप बालेर रातभर जाग्राम बस्दै श्रद्धालु

    भक्तपुर, ३ मङ्सिर । बालाचतुर्दशी पर्वका दिन आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि गोकुलधामसम्मका महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले आफ्ना नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन् ।

    सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर परिसरमा ५०० भन्दा स्थानीयले आफ्ना दिवङ्गत पितृको सम्झनामा आज साँझ दीप तथा महादीप बालेका छन् । आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप, तथा महादीप बालेर जाग्राह बस्नेहरुका लागि मन्दिरको सत्तलमा व्यवस्थापन गरेको सूर्यविनायक नगरपालिका–८ सिपोडोलका स्थानीय एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासभिव हरिशरण बस्नेतले जानकारी दिए ।


    केही वर्ष अगाडिसम्म पशुपति जाँदै आएका यहाँका बासिन्दा डालेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्गको व्यवस्था भएपछि डोलेश्वर महादेव मन्दिरको मूल दीपबाट दीप प्रज्वलन गरी रातभरि जाग्राम बस्न थालेका छन् । उनीहरु भोलिपल्ट बिहानै स्नान गरी १०८ शिवलिङ्ग र महादेव मन्दिर परिसरमा शतबीज छरेर बालाचर्तुदशी पर्व मनाउँछन् ।

    चाँगुनारायण नगरपालिका–५ छालिङ्गस्थित गोकुलधाममा पनि आज रातभर जाग्राम बस्नेहरुको भीड छ । मच्छेनारायण मन्दिरसँगै रहेको १०८ शिवलिङ्गमा भोलि बिहान शतबिज छर्ने र आज रातभरि मन्दिर परिसरमा जागाम बसेर आफ्ना पितृका सम्झनामा महादीप बाल्ने व्यवस्था गरेसँगै यहाँका बासिन्दाले पशुपतिको विकल्पको रुपमा यस मन्दिरलाई प्रयोग गरेको गोकुलधाममा स्थानीय युवा गोकर्ण पुरीले जानकारी दिए ।


    उनले भने, “यहाँका बासिन्दाले मन्दिरमै आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप महादीप बालेर जाग्राम बसेका छन् । रातभर जाग्राम बस्नेलाई मन्दिरमा बस्ने र सुरक्षाको व्यवस्था गरिएको छ । यहाँका बासिन्दालाई अहिले पशुपतिको घुइँचोमा जानुपर्दैन, आफ्नै गाउँमा सजिलैसँग पर्व मनाउन थालेका छन् ।”

    सूर्यविनायककै सिपाडोलस्थित आशापुरी महादेव मन्दिर, वडा नं ७ गुण्डुको अनन्तलिङ्ेश्वर महादेव मन्दिर, वडा नं। १ सिरुटारको चरखण्डीश्वर महादेव मन्दिर, सोमलिङेश्वर महादेव मन्दिर र गुप्तेश्वर महादेव मन्दिरमा यहाँका बासिन्दाले रातभरि जाग्राम बसेर दीप तथा महाद्धीप बालेर आज रातभर जाग्राम बस्ने छन् ।

    बुधबार बिहान शतबीज छर्दै बालाचतुदर्शी पर्व पनि यही मनाउनेछन् । मन्दिरसँगैको खोलामा दीप बिसर्जन गर्ने र शतबीज छर्ने व्यवस्था भएपछि सहज भएको हो । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारस्थित सङ्गमेश्वर महादेव मन्दिरमा महादीप बालेर रातभचर जाग्राम बसेका छन् ।

    त्यस्तै चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमा यहाँका बासिन्दाले दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बसेका छन् । विगतमा पशुपतिमा जार्दै आएका यहाँका बासिन्दाले मन्दिरमै १०८ शिवलिङ्गसमेत बनाएपछि बालाचतुर्दशी यहीँ मनाउन थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति भक्तपुरका पूर्वप्रमुख नवराज गेलालले जानकारी दिनुभयो ।

    चाँगुनारायण–८ सुडालमा रहेको ठूली ब्रम्हायणी मन्दिर परिसरको शिरानमा निर्मित पशुपतिनाथको मन्दिर र चौसठ्ठी शिवलिङ्गमा बाला चतुर्दशीको अवसरमा मेला लागेको छ । विगत चार वर्षदेखि स्थानीयले महादीप बालेर रातभर जाग्राम बस्दै बिहान सतबीज छर्ने र होमहोमादी पूजा गरेको लक्ष्मण पुरीले जानकारी दिए ।

  • फर्किएको रैथाने खान्कीको रौनक

    फर्किएको रैथाने खान्कीको रौनक

    अच्युत रेग्मी\रासस

    काठमाडौँ, २ मङ्सिरः एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो । त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरुले र कोदो गरिबले खान्छन् भन्ने थियो । यसकारण गाउँघरमा कतैकतै त घरभित्र ढिँडो खाने र बाहिर कुकुरलाई चाहिँ एकगाँस दूधभात दिने गरेको तथ्यहरु पनि सुन्न पाइन्थ्यो ।

    अहिले जमाना बदलिएको, छ, समय फेरिएको छ । मानिस गाउँघरको त के कुरा सहर बजारका ठूलै होटलमा पनि ढिँडो खोज्दै जान थालेका छन् । ढिँडो अब लुकेर र लुकाएर खाने खान्की नभएर मनपर्ने खाना मात्र नभएर रोजाइको खानामा पर्न थालेको छ । त्यसैले मानिसले अहिले ढिँडो खाँदा गर्व गर्छन् र सामाजिक सञ्जालमा आज ढिँडो खाइयो भनेर तस्बिर पोष्ट गर्ने गर्छन् ।

    पहिले दुर्लभ मानिएको भात अहिले विकल्पको खाना भएको छ । घरमा होस् या होटलमा, मानिसहरुले सकेसम्म भात खाँदैनन् । रोटी, च्याख्ला या ढिँडो नै रोजाइमा पर्न थालेको छ । पहिलेको धनीमानी तथा सानको खाना भातलाई अहिले मानिस रोगको घरका रुपमा लिन्छन् । किनभने चिकित्सकहरु नै धेरै भात नखान सुझाउँछन् । सकेसम्म अर्गानिक खाना, रैथाने उत्पादनको खान्की र सकेसम्म भात थोरै खानुपर्ने चिकित्सकहरुको सल्लाह छ ।

    पहिलेको तुलनामा अहिले मानिसमा आफ्नो स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि भएको देखिन्छ । त्यसैले मानिस विषादी प्रयोग नभएको, रैथाने उत्पादन तथा कार्बोहाइड्रेट धेरै नभएका खानेकुरा रोज्न थालेका छन् । खाद्य, पोषण तथा जनस्वास्थ्यविद् डा अरुणा उप्रेती पछिल्लो समय पहिलेका रैथाने अन्न जस्तै कोदो, फापर, गुद्रुक, मकै तथा च्याख्ला र दाल भात धेरैको रोजाइमा पर्न थालेको बताउनुहुन्छ । रक्तचाप, मधुमेहलगायत रोगबाट जोगिनका लागि पनि बजारका र आधुनिक खानेकुराभन्दा रैथाने खाना नै खानुपर्छ भन्ने चेतना मानिसमा बढ्दै गएको उहाँको अनुभव छ ।

    “पहिला रैथाने खाना खाँदा अपहेलित हुने अवस्था पनि थियो । तर अहिले त्यस्तो छैन, सञ्चारमाध्यमले गर्दा रैथाने खानातर्फ मानिस आकर्षित भएका छन् । पहिला मैले कोदो खाएँभन्दा मान्छेलाई अपमान महसुुस पनि हुने गरेको थियो । अहिले भने पाँचतारे होटलमै पनि कोदो, फापरको रोटी ढिँडो पाउन सकिन्छ । मेन्युमा नै पनि यस्ता परिकार लेख्न थालिएको देखिन्छ”, उहाँ भन्नुहुन्छ ।

    मानिसमा शारीरिक व्यायाम आदि कम हुँदै गएको र बजारका खानेकुराको मात्रा बढ्दै गएकाले अर्गानिक तरिकाबाट उत्पादन गरिएका यस्ता स्थानीय, रैथाने खानाले स्वास्थ्यलाई राम्रो गर्ने उहाँको सुझाव छ । केही वर्ष पहिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापास्थित आफ्नो घरमा नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन नेताद्वय एवं पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएको विषयले चर्चा पायो ।

    प्रसाईंले दुई पूर्वप्रधानमन्त्रीसँगै बसेर मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएसँगै बजारमा मार्सी चामलको चर्चा चुलियो । मार्सी चामलको ‘ब्राण्डिङ’ गरेर अहिले ललितपुरको झम्सिखेलमा ‘मार्सी थकाली’ सञ्चालनमा आएको छ ।

    मार्सी धान विशेषतः चिसो हावापानीमा उत्पादन हुने धान हो । चिसो हावापानीमा उत्पादन हुने भएकाले मार्सी चामलको खाना स्वादिलो हुने गरेको छ । मार्सी थकालीका सञ्चालक मधुसुदन ढकाल हिमाली क्षेत्रमा उत्पादित हुने धानलाई आफ्नो रेष्टुरेन्टले ‘ब्राण्ड’ बनाएर अगाडि बढाएको बताउनुहुन्छ । मार्सी थकालीमा मार्सी खानासहित स्थानीयस्तरमा उत्पादित गुन्द्रुक, कालिज, बँधिया कुखुरा, बट्टाई, च्याङ्ग्राको सुकुटी, गँगटा, घुँगी, लोकल कुखुरालगायत रैथाने स्वाद लिन पाइन्छ ।

    काठमाडौँको लाजिम्पाटस्थित बुकी बुटिक होटलका व्यवस्थापक मनिष श्रेष्ठ केही वर्षअघिसम्म मानिस होटलमा विशेषगरी भात खान नै आउने गरेकामा अहिले उनीहरुको खानपिनमा निकै परिवर्तन आएको आफूले पाएको अनुभव सुनाउनुहुन्छ ।

    माानिस बढी त लोकल अथवा रैथाने उत्पादनमा नै बढी आकर्षित हुने गरेको बताउँदै श्रेष्ठ भात नै खोजे पनि मानिसले मार्सी चामल या अरु नै त्यस्तै रैथाने चामलको भात खोज्ने नत्र ढिँडोलगायत अरु खानेकुरा मन पराउने गरेको बताउनुहुन्छ ।

    त्यसैले आफूले स्थानीय उत्पादन, मार्सी चामलको थाली, लोकल कुखुरा तथा गाउँघरबाटै रैथाने गेडागुडी, कालो मासको दाल र लोकल सागहरु मगाउने गरेको उहाँको भनाइ छ । यही कारणले अहिले सो होटल परिसरमा हरेक शनिबार बिहान स्थानीय एवं रैथाने उत्पादन जस्तै जुम्लाको सिमी, मुस्ताङको आलु, जुम्ली मार्सी चामल, फापर एवं काठमाडौँकै पनि काँठतिरका सागसब्जी र गेडागुडीका अर्गानिक उत्पादनको बजार लाग्ने गरेको श्रेष्ठ बताउनुहुन्छ ।

    सेफ्स एशोसियसन नेपालका पूर्वअध्यक्ष एवं काठमाडौँको नागार्जुनस्थित नागार्जुन रिसोर्टका सल्लाहकार सेफ गोविन्दनरसिंह केसी रैथाने खाना खानेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको बताउनुहुन्छ ।

    “पहिले त होटलमा गएर खाने भनेको ठूलाबडाले मात्र हो भन्ने थियो, किनभने मानिससँग पैसा नै हुँदैनथ्यो । कहिलेकाहीँ होटल जानेहरुले पनि रैथानेभन्दा पनि होटलको आधुनिक परिकार नै खोज्थे । तर अहिले त्यस्तो छैन । मानिस ठूलै होटलमा गएर पनि अर्गानिक तथा रैथाने खाना खोज्ने गरेका छन् । यो चाहिँ स्वास्थ्यसम्बन्धी एक प्रकारको चेतना पनि हो”, उहाँ भन्नुहुन्छ ।

    विगतमा सोल्टी होटलको सेफसमेत रहनुभएका केसी पहिले अहिलेजस्तो तरकारी आदिमा विषादी प्रयोग गर्ने चलन नरहेकाले होटलको खाना पनि त्यति अस्वस्थ हुँदैनथ्यो भन्नुहुन्छ । केसीको अनुभवमा अहिले उत्पादन बढाउन अनेकथरि औषधि, मलको प्रयोगले गर्ने र यस्ता समाचारले मानिसमा चेतना बढेको बताउँदै काठमाडौँका मानिस रैथाने खाना तथा स्थानीय उत्पादन खोज्दै अहिले नागार्जुन रिसोर्ट जस्तै काँठ क्षेत्रका होटलमा पुग्ने गरेका छन् ।

    काठमाडौँको डाँडागाउँस्थित रोयल भिल्ला रिसोर्टका सञ्चालक पुष्कल मल्लको अनुभव पनि त्यस्तै छ । काठमाडौँको भिडभाडबाट केही पर जङ्गल नजिक रहेको आफ्नो रिसोर्टमा पनि स्थानीय एवं नेपाली स्वादका खानामा ‘इञ्जोय’ गर्न मानिस आउने गरेको बताउनुहुन्छ ।

    “पछिल्लो समय नेपाली खानाप्रति मानिसको रुचि बढेको देख्छु । हामीकहाँ पनि धेरै गेष्ट काठमाडौँबाटै आउनुहुन्छ र नेपाली मात्र नभएर रैथाने र अर्गानिक खाना नै खोज्नुहुन्छ, ढिँडो, गुद्रुक, सिस्नु फापर, मार्सी चामलको भात, लोकल कुखुराको झोल आदि खाने प्रचलन अहिले धेरै बढेको छ । धेरैको रोजाइ टिपिकल खाना पर्ने गर्दछ”, मल्ल भन्नुहुन्छ ।

    केही वर्षयता राजधानी काठमाडौँ सहरभित्रभन्दा पनि काँठ क्षेत्रमा बढी नै मात्रामा होटल रेष्टुरेन्टहरु खुलेका छन् । ती होटलमा सहरका तुलनामा धेरै नै पाहुना जाने गरेको सञ्चालकहरुको अनुभव छ ।

    राजधानी काठमाडौँबाहेक नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको विमानस्थल नजिक रहेको ‘एयरपोर्ट’ थकाली, चिप्लेढुङ्गाको मन्त्र थकाली, फेवाताल ड्यामसाइडस्थित मोनालिसा थकाली, पोखराको नौडाँडामा रहेको भण्डारी भान्सा घर, चितवनको भरतपुरस्थित पाते ढिँडो थकाली, भरतपुरमै रहेको बाजेको माछा महललगायत थुप्रै होटल तथा रेष्टुरेन्टहरुले पारखीहरुलाई स्थानीय रैथाने खानाको स्वाद चखाइरहेका छन् ।

  • पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

    पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

    काठमाडौँ, २ मङ्सिर । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।

    यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात मङ्गलबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् । मङ्गलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको मङ्गलबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ।

    आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

    शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । धर्मशास्त्रविद् प्रा तोयराज नेपाल शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्नुहुन्छ । “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्य क्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उहाँले भन्नुभयो ।

    बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

    यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

    त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

    आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

    माता, पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने धर्मशास्त्रविद् नेपालले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
    रासस

  • ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

    ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

    काठमाडौँ, २७ कात्तिकः निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छिन् । बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायाङ्कन गरिएको उक्त चलचित्रको दोस्रो चरणको छायाङ्कन नेपालमा हुने निर्देशक चाम्सले बताए । उनले भने, “नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ भन्ने सोच राखेर नै मैले प्रायः चलचित्रमा प्रतिभा भएका नव कलाकारलाई अवसर दिन्छु । यसपटक पनि बेलायतमा बसोबास गर्दै आएकी गुरुङले चलचित्रमा शीर्ष भूमिकामा अभिनय गरेकी छिन् । चलचित्रमा उनको पात्रको नाम सुम्निमा हुने भएका चलचित्रको नाम पनि सोही राखिएको हो ।”

    निर्देशक चाम्सले ‘सुम्निमा’ कुनै धर्म वा संस्कृतिसँग जोडिएको नभई विशुद्ध प्रेमकथामा तयार गरिएको चलचित्र रहेको बता्रए । चलचित्रमा नव अभिनेत्री गुरुङसँगै कुन्साङ बमजन, अनुपविक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बालगायतका कलाकारले अभिनय गरेका छन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको चलचित्र ‘सुम्निमा’ अन्तरराष्ट्रिय बजारलाई लक्षित गर्दै तयार हुने निर्देशक चाम्सले बताए ।


    “हामीले बजार विस्तार र वृद्धिलाई सोचेर चलचित्र बनाउनु पर्छ । बजार र दर्शक बढाउने गरी हामीले काम गरेमा मात्र आगामी दिन चलचित्र क्षेत्रका लागि सुनौला हुनेछन्”, निर्देशक चाम्सले भने । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’लाई बेलायतको एक चलचित्र भवनमा ‘आइम्याक्स’ प्रविधिमा विशेष प्रदर्शन गरिएको थियो । नेपाली चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा ढालेर प्रदर्शन गरिएको पहिलोपटक थियो । निर्देशक चाम्सले निर्देशन गरेको पछिल्लो चलचित्र ‘अञ्जिला’ सफल भएको थियो । उक्त चलचित्र महिला फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार गरिएको थियो ।

  • सदर चिडियाखानामा अवलोकनमा राखियो कालो रङको चितुवा

    सदर चिडियाखानामा अवलोकनमा राखियो कालो रङको चितुवा

    काठमाडौँ, २६ कात्तिक । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा ९ब्ल्याक प्यान्थर० अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले राससलाई जानकारी दिए ।

    पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो । यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।

  • २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    काठमाडौँ, २६ कात्तिक । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ ।
    यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

    उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताए । उनले भने, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकले दिनुभएको व्यावसायिक तथ्याङ्क भने चलचित्र विकास बोर्डको भन्दा बढी छ । यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ।”


    यसअघि गत वैशाखमा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ ले रु ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गरेको थियो । चलचित्र ‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् ।

  • अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

    अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

    काठमाडौँ, २४ कात्तिक । अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गरेको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन् । कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाए । उक्त चलचित्रमा हरिया पात्रले उहाँको लोकप्रियता आम दर्शकसम्म पु¥यायो । उही अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘अभिमन्यु ः च्याप्टर १’ आगामी मङ्सिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

    “मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्नु स्वाभाविक हो । यो मेरो सङ्घर्षको फल हो र मैले पात्रलाई जीवन्त बनाउन सकेको प्रयत्न गरेको छु”, अभिनेता चौरासियाले भने । पहिलोपटक आफूले कथालाई अगाडि बढाउने अवसर पाउँदा अभिनेता चौरासियाले बाल्यकालमै कलाकारिता गर्ने सपना पूरा भएको महसुस गरेका छन् । तर, उनी कलाकारिताको यात्रा त्यति सहज भने थिएन ।

    “अभिनय गर्ने लक्ष्य राखेपछि पढाइलाई मैले प्राथमिकतामा राखिन । काठमाडौँ आएपछि भोकमरी र बेरोजगारीको कठोर अनुभव सहँे । अभिनयप्रतिको मोहका कारण विदेश जाने दबाबका बीच आफ्नो शैक्षिक प्रमाणपत्र नष्ट गरेर नेपालमै बस्ने निर्णय गरे । त्यसपछि परिवारसँगको सम्बन्ध पनि टाढियो”, उनले भने ।
    अभिनय सिक्ने जोशमा उहाँले भारतको दिल्लीसम्म पुगेर प्रयास गरे, तर सफल हुन सक्नुभएन । फलतः नेपालमै ‘एक्टर्स स्टुडियो’ बाट अभिनय सिक्ने र रङ्गमञ्चमा प्रस्तुती दिँदै कलाकारिता यात्राको सुरुआत गरे । ‘रेशम फिलिली’ मा ‘हरिया’ पात्रमार्फत दर्शकको ध्यान तान्न सफल भएपछि निर्देशकले उनलाई खोज्न थाले । तर, उनको सपना झै मुख्य भूमिका नभई सहायक र ‘हरिया’ जस्ता भूमिका प्रस्ताव भए ।

    “म मुख्य भूमिकामा केही फरक गर्न चाहन्थेँ । त्यसकारण मैले केही प्रस्ताव स्वीकार गरिन । जब मैले केही प्रस्ताव अस्वीकार गरेँ, त्यसको असर मेरो करियरमा प¥यो, मलाई चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउनै छाड्यो”, अभिनेता चौरासियाले भने । आफूले सोचे जस्तो चलचित्रमा भूमिका नपाएपछि उनले केही समय अभिनयदेखि टाढा रहँदै माछा बेच्ने काम गरे । तर, कोरोना महामारीका कारण त्यो सफल हुन सकेन । अभिनयबाहेकका काममा निरन्तर असफल भइरहँदा उनलाई चलचित्र ‘फेरि रेशम फिलिली’ मा अभिनय गर्ने प्रस्ताव आयो । पाँच वर्षपछि आफ्नै कर्ममा फर्किएका अभिनेता चौरासियालाई एकदिन निर्माता विनोद पौडेलले मुख्य अभिनेताको प्रस्ताव गरे ।


    “मैले जीवनभर जसका लागि सङ्घर्ष गरेँ, त्यो मौका अब पाएको छु । त्यो क्षण शब्दमा वर्णन गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ”, उनले भने । चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उनले परिवारप्रति जिम्मेवार र सुरक्षात्मक पात्रको भूमिका निर्वाह गरेका छन् ।
    मधेसको पृष्ठभूमिमा आधारित उक्त चलचित्रमा उनीसँगै किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रमा सुशान्त गौतमले निर्देशन, मुकेश खनालले लेखन, शरद महतोले छायाङ्कन र मदन घिमिरेले सम्पादन गरेका छन् ।

  • फेवातालस्थित ताल बाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

    फेवातालस्थित ताल बाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

    ऋषिराम बराल/रासस

    लेखनाथ (कास्की), २३ कात्तिकः पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनर्निर्माण थालनी गरिएको थियो । मन्दिरको पुनर्निर्माण ८० प्रतिशत सकिएको जानकारी तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम पहारीले दिए । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय छ ।

    उहाँले फेवातालको मध्यभागको ढिस्कोमा मन्दिर रहेकै कारण मन्दिर ढल्कँदा झनै जोखिम सृजना भएकाले पुनर्निर्माण गर्नुपरेको बताए । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनर्निर्माणका लागि बाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागले पुनर्निर्माणका लागि काम अगाडि बढाएको हो ।
    भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा हटाइसकिएको थियो । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरेका थिए । पोखराको लेकसाइड आउने पर्यटकको मुख्य गन्तव्यका रूपमा फेवातालको मध्यभागमा अवस्थित तालवाराही मन्दिर रहने गर्छ ।

    पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । मन्दिर पुनर्निर्माण सम्पन्न गर्न रु एक करोड ८४ लाख लाग्ने जानकारी अध्यक्ष पहारीले दिए । प्यागोडा शैलीमै कालिगढ भक्तपुर र ललितपुरबाट मगाएर वर्तमान स्वरुपमै मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । मन्दिर पुनर्निर्माण गर्न पुरातत्व विभागले रु छ लाख दिएको छभने अन्य रकम तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिको कोषबाट र भक्तजनबाट सहयोग जुटाएर पुनर्निर्माण सम्पन्न गरिनेछ ।

    पुनर्निर्माण एक वर्षभित्र सक्ने भनिएको भए तापनि विविध कारणले पुनर्निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको छ । तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीका अनुसार आउँदो वैशाखभित्र सर्वसाधारण भक्तजनले दर्शन र पूजाआजा गर्न सक्नेगरी पुनर्निर्माण सक्नेगरी तयारी गरिएको छ । मुख्य काम मन्दिरको छानो छाउने र वरपरको रेलिङ निर्माण बाँकी छ ।

    कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाइ मन्दिर स्थापना गरेको बताइन्छ । यस मन्दिरको अस्तित्व १६६९ सालदेखि कायम रहिआएको छ । कतैकतै १४४७ सालदेखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो त्यहींँ मन्दिर स्थापना गरी वाराहीका रूपमा पुजिन थालिएको मन्दिरका पुजारी उमेश पहारीले सुनाए ।


    पर्यटकीय नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नैपर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ । यसकारण मन्दिरमा पर्यटकको घुइँचो लागिरहन्छ । माछापुच्छे हिमालको छायाँ फेवातालमा परेको मन्दिरबाट मनोरम दृश्य देख्नुका साथै पर्यटकीय गन्तव्य सराङकोट, पुम्दीकोट, कास्कीकोट दरबारलगायतका स्थान यहाँबाट देख्न सकिन्छ । कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वमा यहाँ मेला लाग्छ, पुजारी पहारीले भने ।
    यस्तो छ किंवदन्ती

    स्थानीय अग्रज ८० वर्षीय रमेशबहादुर भट्टराईका अनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती रहेको र एक दिन बेलुका एक वृद्ध जोगी बास माग्दै त्यस बस्तीमा आए, कसैले बास नदिएपछि उनी एक वृद्धाकामा पुगे । वृद्धाले बास बस्न दिइन् । तर खान भने ढुटोको रोटीमात्र भएको सुनाइन् । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते । घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भने, “यो गाउँ चाँडै जलमग्न हुनेछ । तपाईँ भने अग्लो ठाउँमा चाँडै जानु ।”

    जोगी हिँडेको केही समयमा आवाज आयो । आवाजसँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाँचिन् । फेरि एक दिन विशाल वर्षा आयो । वर्षापछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ ।

    फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको मध्यभागमा अवस्थित पुरानो मन्दिर तालवाराही भगवतीको पूजाआजाको प्रारम्भ १४६७ सालबाट भएको हो भने १८६८ सालबाट नित्य पूजाआजा सुरु भएको जानकारी मन्दिरका सूचना अधिकारी राजेन्द्र खत्रीले दिए ।


    सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले २०१७ सालमा सुरु गरेका थिए । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने २०५३ सालमा आएरमात्र भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जोकोहीलाई आनन्दित तुल्याउनुका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।

    कुल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण र गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ । तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताए ।

    तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उहाँले बताउनुभयो । मन्दिर गुठीका नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ ।

  • भगवान बुद्धका पवित्र अवशेष भुटानको यात्रामा

    भगवान बुद्धका पवित्र अवशेष भुटानको यात्रामा

    थिम्पू, २३ कात्तिक (रासस–एएनआई) । भारत र भुटानबीचको गहिरो आध्यात्मिक र सांस्कृतिक सम्बन्धको प्रतीकस्वरूप भगवान बुद्धका पवित्र अवशेषहरू शनिबार भुटानको यात्रामा लागेका छन् । नयाँदिल्लीस्थित राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित ती अवशेषहरूलाई भारतका केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता मन्त्री डा. वीरेन्द्र कुमारको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले भारतीय वायुसेनाको विमानमार्फत थिम्पू पु¥याएको हो ।

    नोभेम्बर ८ देखि १८ सम्म भुटानमा हुने सार्वजनिक प्रदर्शनी भुटानका चौथो राजा जिग्मे सिङ्गे वाङचुकको ७० औँ जन्मदिवसको अवसरमा आयोजना गरिएको ग्लोबल पिस प्रेयर फेस्टिभल (जिपिपिएफ) को प्रमुख अङ्ग हो । यसको उद्देश्य विश्व शान्ति र मानव कल्याणको सन्देश प्रवद्र्धन गर्नु रहेको छ । वज्रयान बौद्ध धर्मको एक मात्र आधिकारिक राष्ट्र भुटानले आफ्नो गहिरो आध्यात्मिक परम्पराको सम्मानका रूपमा यो घटनालाई अत्यन्त महत्त्वका साथ मनाउँदैछ । पवित्र अवशेषहरू भुटान सरकार र मठीय निकायको ऐतिहासिक केन्द्र ताशिचो जोङस्थित कुएनरी हलमा प्रदर्शित गरिनेछन् ।

    प्रदर्शनीसँगै गुरु पद्मसम्भवको जीवन, भगवान बुद्धका अवशेषहरूको उत्खनन र बुद्धका शिक्षाको अन्वेषण गर्ने गरी तीनवटा विशेष प्रदर्शनीहरू पनि आयोजना गरिने कार्यक्रम छ । यसअघि नोभेम्बर ४ मा भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा थिम्पूको चाङ्लिमिथाङ स्टेडियममा ग्लोबल पिस प्रेयर फेस्टिभल २०२५ सुरु भएको थियो । यो १३ दिने आध्यात्मिक महोत्सवमा विश्वभरका बौद्ध धर्मगुरु, अभ्यासकर्ताहरू र शान्ति समर्थकहरू एकत्रित भई करुणा, सद्भाव र विश्व शान्तिको सन्देश फैलाउने अभियानमा संलग्न छन् ।

    भुटानको शाही सरकारले आयोजना गरेको यस पर्वमा पवित्र अनुष्ठान, गैर–साम्प्रदायिक शान्ति प्रार्थना, बाजागुरु मन्त्रको सामूहिक पाठ, सार्वजनिक आशीर्वाद र कालचक्र सशक्तीकरणजस्ता धार्मिक कार्यक्रमहरू समावेश छन् । थेरवाद, महायान र वज्रयान परम्पराका प्रख्यात बौद्ध आचार्य, विद्वान र गुरुहरूले सहभागी हुँदै भुटानले विश्व शान्ति र सद्भावका लागि माया, दया र जागरूकताको रूपान्तरणकारी शक्ति प्रयोग गर्ने आफ्नो प्रतिबद्धता प्रदर्शन गरिरहेको छ ।

    यो चाड केन्द्रीय मठ निकायद्वारा कुएन्सेलफोद्राङमा सम्पन्न जब्जी धोचोग नामक पवित्र अनुष्ठानबाट सुरु भएको हो । यो दुर्लभ धार्मिक विधिले शरीर, वाणी र मनका नकारात्मक कर्महरूलाई शुद्ध पार्ने उद्देश्यले शान्तिपूर्ण प्रसाद र क्रोधित संरक्षण दुवैको संयोजन गर्दछ । चाङ्लिमिथाङ मैदानमा विभिन्न बौद्ध सम्प्रदायका प्रतिनिधिहरूले अङ्ग्रेजी, तिब्बती र जोङ्खासहित विविध भाषामा विश्व शान्तिका लागि प्रार्थना गर्नेछन् । प्रदर्शनी र अनुष्ठानका क्रममा शिक्षा, व्याख्या र अनुवादहरू पनि उपलब्ध गराइनेछन् ।

    कार्यक्रमका प्रमुख लामाहरूले भक्तजनहरूलाई सार्वजनिक आशीर्वाद दिनेछन् र त्यसपछि विश्व शान्तिका साझा आकांक्षामा एकताबद्ध हुने उद्देश्यले बाजागुरु मन्त्रको सामूहिक पाठ गरिनेछ, जसले श्रद्धा, ध्यान र करुणाको भावनालाई बलियो बनाउनेछ ।

  • हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ चलचित्र घोषणा

    हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ चलचित्र घोषणा

    काठमाडौँ, २० कात्तिकः अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । उनले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिए । निर्देशक निरौलाले भने, “हामीले पाँच जना दाजुभाइको कथालाई लिएर चलचित्र तयार गर्दैछौँ । यसको विषयसँग मिल्दो भएकाले पाँच पाण्डव नाम राखिएको हो । यसले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि प्रवाह गर्नेछ ।”

    उनले चलचित्रमा अभिनेता आचार्यसँगै सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले), दीपाश्री निरौला, रजनी गुरुङलगायतको अभिनय रहने जानकारी दिए । छायाङ्कन अगाडि अन्य कलाकारको परिचय मिडियामा गराउने निर्देशक निरौलाले बताए । कालीरानी फिल्म्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता नवीन श्रेष्ठ छन् । ‘पाँच पाण्डव’ले हिन्दू महाकाव्य महाभारतका केन्द्रीय पात्र पाँच पाण्डवलाई आधुनिकता राखेर चलचित्रमा प्रस्तुत गरिने लेखक पौडेलले जानकारी दिए ।

  • विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

    विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

    थिम्पू (भुटान), १९ कात्तिक (रासस\एएनआई) । भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ । यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ । यसले द्वन्द्व र विभाजनले दिग्भ्रमित संसारमा शान्ति, करुणा र सद्भावलाई बढावा दिन सबै बौद्ध परम्पराहरूका आध्यात्मिकहरूलाई एकजुट गर्ने भुमिका खेल्ने जनाइएको छ ।

    भुटानी सरकारले आयोजना गरेको विश्वव्यापी शान्ति प्रार्थना महोत्सवमा पवित्र अनुष्ठान, गैर–साम्प्रदायिक विश्वव्यापी शान्ति प्रार्थना, सामूहिक पाठ, सार्वजनिक आशीर्वाद र कालचक्र सशक्तिकरण समावेश भएको जनाइएको छ । थेरवाद, महायान र वज्रयान परम्पराका प्रख्यात लामा, विद्वान र अभ्यासकर्ताहरूको सहभागिता रहेको यो उत्सवले विश्वव्यापी सद्भावका लागि माया–दया र जागरूकताको रूपान्तरणकारी शक्तिको उपयोग गर्ने भुटानको प्रयासलाई प्रतिबिम्बित गर्दछ ।

    कुएन्सेलफोद्राङमा केन्द्रीय मठ निकायद्वारा सञ्चालित जब्जी धोचोगको पवित्र अनुष्ठानबाट महोत्सव सुरु भएको र यो दुर्लभ अनुष्ठानले, नकारात्मक कर्मको शरीर, बोली र मनलाई शुद्ध गर्न क्रोधित संरक्षणको साथ शान्तिपूर्ण प्रसादहरू संयोजन गर्दछ । चाङ्लिमिथाङ मैदानमा, विभिन्न बौद्ध सम्प्रदायका प्रतिनिधिहरू एकीकृत विश्वव्यापी शान्ति प्रार्थनामा सामेल हुनेछन् । अङ्ग्रेजी, तिब्बती र जोङ्खासहितका धेरै भाषाहरूमा विश्व शान्तिका लागि प्रार्थना गरिने छ । लामाहरूले भक्तहरूलाई सार्वजनिक आशीर्वाद दिनेछन्, भने विश्व शान्तिका लागि सहभागीहरूलाई एकताबद्ध गर्न बजागुरु मन्त्रको सामूहिक पाठ हुनेछ ।

    महोत्सवको मुख्य आकर्षण “कालचक्र इनिसिएसन एन्ड एम्पावरमेन्ट” हुनेछ, जसको अध्यक्षता परम पूज्य जे खेन्पोले गर्नु हुने छ । यसले व्यक्ति र ब्रह्माण्डबिचको पवित्र सम्बन्ध र सबै प्राणीहरूमा विद्यमान जन्मजात बुद्ध प्रकृतिका बारेमा गहन शिक्षा प्रदान गर्नेछ । महोत्सवमा मुख्य समारोहका अतिरिक्त, कालचक्र परम्परामा विद्वतापूर्ण सेमिनारहरू सँगै कालचक्र कला र कलाकृतिहरूको प्रदर्शनी हुनेछ ।

    यी घटनाहरूले बौद्ध धर्मको आध्यात्मिक सम्पदाको संरक्षण र साझेदारी गर्ने भुटानको स्थायी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । भुटानको विश्वव्यापी शान्ति प्रार्थना महोत्सव एकता, भक्ति र सामूहिक उपचारको ऐतिहासिक अवसरको अवसर हो जसले बढ्दो विभाजित संसारमा करुणा, विश्वास र आशाको शक्तिशाली सन्देश प्रदान गर्दछ ।