Category: मनोरञ्जन

  • सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

    सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

    कमल खत्री–रासस
    म्याग्दी, ३० असोजः अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकको आगमन बढे पनि सञ्चारको पहुँच नहुँदा पर्यटकले सास्ती पाएका छन् ।

    असोजको सुरुआतदेखि दैनिक १५० देखि ३०० जनासम्म पर्यटक आधार शिविर क्षेत्रको भ्रमणमा पुगेका छन् । सञ्चारको पहुँच नहुँदा पदमार्ग र आधार शिविर क्षेत्रमा सञ्चालनमा रहेका होटलसँग सम्पर्क नगरिकनै पुग्नुपर्ने बाध्यताले पर्यटकको बसोबासमा समस्या भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता समेत रहनुभएका पर्यटन व्यवसायी तेज गुरुङले बताए । उनका अनुसार, यस पदमार्गको हुमखोलासम्म विद्युत् र मोबाइल फोनको पहुँच पुगेको छ ।

    “हुमखोलादेखि आधार शिविरसम्मको क्षेत्रमा मोबाइल फोनको सञ्चार र विद्युत् पहुँच पुग्न सकेको छैन, साँधीखर्कको गुराँसेडाँडामा नेपाल टेलिकमको मोबाइल फोनको सामान्य पहुँच छ, आधार शिविर पुगेर फर्कने करिब दुईदिनको यात्राअवधिमा सञ्चार सम्पर्कविच्छेद हुने भएकाले पर्यटकको सुविधा र सुरक्षाका लागि सञ्चारको पहुँच अनिवार्य बनेको छ”, पर्यटन व्यवसायी गुरुङले भने ।


    विसं २०६८ देखि स्थानीयवासीको अग्रसरतामा नारच्याङगाउँदेखि अन्नपूर्ण प्रथम आधार शिविरसम्म पदमार्ग निर्माण सुरु भएको थियो । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको र हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग निर्माण गरी ठाउँ–ठाउँमा होटल सञ्चालनमा आएपछि अहिले यो क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आधार शिविरको मनोरम पञ्चकुण्ड तालसँगै झरना, खोला र रमणीय भू–वनोटका कारण पर्यटकको आगमन बढेको छ । होटलको क्षमताभन्दा बढी पर्यटक आउँदा होटल व्यवसायीलाई पर्यटकको खाना र बसोबासको प्रबन्ध मिलाउन हम्मेहम्मे हुने गरेको छ ।

    अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहे पनि विद्युत् र सञ्चारको पहुँच, खानेपानीको सुविधा विस्तार तथा सडकमार्गको स्तरोन्नति तत्काल गर्नेपर्ने देखिएको विराटनगरबाट समूहमा भ्रमणमा आउनुभएका मोहन अटलले गुनासो गरे । पदमार्ग क्षेत्रमा रहेका होटलमा बुकिङ गर्न मोबाइल फोन र इन्टरनेटको पहुँच पु¥याउनतर्फ सरकार तथा सरोकारवालाको ध्यान जानुपर्ने उनले बताए ।
    यस पदमार्गअन्तर्गत हुमखोला, फुतफुते झरना, साँधीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा टेन्टमा बस्ने सुविधासहितका होटल सञ्चालनमा रहेका छन् । सञ्चारसँगै विद्युत् सुविधा नहुँदा खाना पकाउने ग्याँस र बत्तीको लागि जेनेरेटरको व्यवस्था गर्दा खर्चिलो तथा झण्झट व्यहोर्नुपरेको होटल व्यवसायी बताउँछन् । कम्तीमा दुईदिनको पदयात्रा अवधिमा पर्यटक सञ्चार सम्र्पकबाट विच्छेद हुँदा बिरामी भएको र हिमपातको कारण अलपत्र परेको समयमा उद्धारमासमेत समस्या हुँदै आएको छ । हिमाल आरोहणमा आउने टोलीले स्याटेलाइट प्रविधिको फोनको प्रयोग गर्ने गरे पनि अन्य पर्यटकमाझ सञ्चार सम्पर्कको माध्यम र पहुँच छैन ।

    हिमाली क्षेत्रको पर्यटक उद्धारमा सक्रिय रहनुभएका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले दुई दिनको पदयात्रा अवधिमा सञ्चार सम्पर्क नहुँदा पर्यटक बेखबर हुने भएकाले आपत्कालीन समय र बिरामी भएको समयमा उद्धारमा सकस हुने गरेको बताए । “पर्यटक घुम्न आएको समयमा बेमौसममा हिमपात हुनसक्छ, हिमपहिरो नै जान पनि सक्छ, आपत्कालीन रुपमा कसरी उद्धार माग्ने सञ्चारको कुनै पहुँच छैन, पर्यटकको हराएको समयमा धेरै पटक खोजीकार्यमा सञ्चार नहुँदा कठिन हुने गरको छ, पदमार्गमा रहेका होटलमा कम्तीमा स्याटेलाइट वा वाकिटकी फोन राख्न आवश्यक छ”, उनले भने ।


    नेपालको पर्वतारोहण इतिहासमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । पर्वतारोहणको क्षेत्रमा इतिहास बोकेको यस पदमार्गको पहिचान गरि पदमार्ग, आश्रयस्थल, टिसप, होटल लगायतका पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि अहिले यस पदमार्गमा पर्यटकको आगमन बढेको छ । विगतका वर्षमा खाना र बस्नका लागि आफैँ बन्दोबस्तीको सामान बोकेर जानुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै हटे पनि सञ्चार र विद्युत्को पहुँच विस्तारमा लाग्नुपर्ने आवश्यकता देखिएको छ ।

  • तिहारको फूलले ढकमक्क देश

    तिहारको फूलले ढकमक्क देश

    ३० असोज, काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार घर आगनमै आइपुगेको छ । यस चाडमा फूल र बत्तिको अधिक माग हुन्छ । पछिल्लो समय व्यवसायीहरुले नेपाललाई फूलमा आत्मनिर्भर बनाउँदै लगेका छन् । फलस्वरुप यतिबेला देशका विभिन्न स्थानमा तिहारका फूलले ढकमक्क भएको देखिन्छ ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी किसान अनिला बस्नेत सयपत्री फूल टिप्दै । तीन रोपनी जमिनमा व्यावसायिक रुपमा गरेको फूलखतीबाट रु तीन लाख आम्दानी भएको उहाँ बताउनुहुन्छ । तस्बिरः रमेश गिरी/रासस
    प्रदर्शनीमा सजाइएको फूल ललितपुर, २९ असोजः फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२’ को प्रदर्शनी स्टलमा सजाएर राखिएको फूल । तस्बिरः हरिराम भेटुवाल/ रासस
    तिहारलाई लक्षित गर्दै भक्तपुरको पोटरी स्क्वायरमा सुकाइएकाे माटोका भाँडा । तस्बिर ः रमेश गिरी / रासस
  • गोदावरी पुष्प मेलाको रौनक

    गोदावरी पुष्प मेलाको रौनक

    पाटन, ३० असोज । १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ । प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताए ।

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस


    “पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको मेहनतले आफ्नै प्रयासमा भए गरेको काम सराहनीय छ, पुष्प व्यवसायमा विश्वमा आएको परिवर्तन र अभ्यासलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ, गुणस्तरीय स्वनियमनलाई उद्यमीहरूले ध्यान दिनुपर्छ”, उनले भने । उनले नेपाल सरकारले लागू गरेको बीउबिजन नियमावलीका आधारमा आलंकारिक बिरुवाहरूलाई दर्ता गर्ने कार्यलाई अगाडि बढाइएको जानकारी गराउँदै नेपाली पुष्प व्यवसायको विकास र विस्तारका लागि अवैधानिक रूपमा आउने फूललाई रोकेर देशभित्रका पुष्प व्यवसायीहरूलाई प्रोत्साहन गर्न व्यवसायीहरूले नै सहयोग गर्नुपर्नेमा जोड दिए ।


    “कृषि विधेयक तयार भएर पनि संसद् नभएको कारणले अल्झिएर रहेको छ, कृषि क्षेत्रका हितलाई समेटेर कृषि नीति तयार भएको छ, मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ, पुष्प व्यवसायीहरूको हितका लागि व्यवसायको संरचनाको जोखिमको मूल्याङ्कन गरेर बिमा गर्ने व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्ने प्रयास जारी छ”, उनले भने ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा बुधबार फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२’ समारोह उदघाटन गर्नुहुँदै । उक्त प्रदर्शनी आजदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । तस्बिरः हरिराम भेटुवाल/रासस


    उनले प्लास्टिकका फूलहरूलाई उपयोगमा नियन्त्रण गरेर पुष्प व्यवसायीहरूलाई प्रोत्साहनमा जोड दिनुपर्छ भन्दै देश बाहिरबाट आउने कृषिजन्य एवं पुष्पजन्य सामग्रीको क्वारेन्टाइन परीक्षणका विषयमा ध्यान दिएर नियन्त्रण गर्ने काम गर्छौं भने ।
    नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पुष्प व्यवसायको प्रवर्द्धनका लागि बीउबिजनको विकास र प्रदर्शनीका लागि सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनमा घुसपैठ भएर समाजले पचाउन नसक्ने र २१ औँ शताब्दीमा नसुहाउने खालको अपराधिक काम भएको भन्दै त्यसलाई निरुत्साहित गर्दै व्यावसायिक वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताए ।

    फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी’मा राखिएका फूल अवलोकन गर्दै सर्वसाधारण ।तस्बिरः हरिराम भेटुवाल/रासस


    पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसायको प्रवद्र्धनका साथै रोजगारीमा समेत महत्त्वपूर्ण योगदान दिने धारणा राखे । फ्लोरिकल्चर एसोसिएनि नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि हरेक वर्ष लगातार रूपमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै आइरहेको जानकारी गराए । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९० वटा स्टल रहेका छन् । प्रदर्शनीमा रु ४० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

    प्रदर्शनीमा सजाइएको फूल ललितपुर, २९ असोजः फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२’ को प्रदर्शनी स्टलमा सजाएर राखिएको फूल । तस्बिरः हरिराम भेटुवाल/ रासस
  • कोप्चे–बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

    कोप्चे–बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

    रासस
    भोजपुर, २९ असोजः भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ ।
    नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनःसञ्चालनमा आएको हो । दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ ।

    हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि यात्रुलाई सहजता मिलेको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिए । “नदीको बहाव घटेसँगै जलयात्रा पुनःसञ्चालन भएको छ”, उनले भने, “अहिले कोप्चेबाट बराह क्षेत्रसम्म बोट चल्न थालेको छ । पानी अझ कम भएमा चतरा पुलसम्म जलयात्रा सम्भव हुन्छ ।” दक्षिणी भेगका स्थानीय अब जेटबोट चढेर धरान, इटहरी, विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन् । यसअघि तीन–चार घण्टा पैदल यात्रा गरेर चतरा पुग्नुपर्ने अवस्थामा अहिले करिब १९ किलोमिटर दूरी २०–२५ मिनेटमा पार गर्न सकिने भएको छ ।

    कोप्चे–बराह क्षेत्रबीचको भाडा रु ५०० र चतरा पुग्न रु ७०० तोकिएको छ । जेटबोट सञ्चालनले बिरामी परेका नागरिकलाई सहरका ठूला अस्पतालसम्म छिटो पु¥याएर उपचार गर्न सहज भएको स्थानीय लालबहादुर प्रधानले बताए । “चाडपर्वको समयमा जेटबोट सञ्चालनले विशेष सुविधा भएको छ”, उनले भने, “भोजपुर सदरमुकाम हुँदै तराई पुग्दा करिब २०० किलोमिटर यात्रा गर्नुपथ्र्यो ।

    अहिले जलमार्गले त्यही दुरी छोट्याइ दिएको छ ।” गाउँपालिकाले यस जलयात्रालाई पर्यटनसँग जोड्ने उद्देश्य राख्दै पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार, जलयात्रा सञ्चालनले हतुवागढी क्षेत्र र तराईका जिल्लाबीचको दुरी घटाउने मात्र नभई स्थानीय पर्यटन र आर्थिक गतिविधिमा टेवा पु¥याउनेछ ।

  • कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

    कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

    काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उनले भने ।


    यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।

    यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।

    गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म ९म्ह० पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म ९म्ह० पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन् ।

    यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताए । यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ । शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ ।

    शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाईलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ ।

    यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।

  • नेपालमा हिउँद लागेको संकेत गर्ने ७ तस्वीर

    नेपालमा हिउँद लागेको संकेत गर्ने ७ तस्वीर

    काठमाडौँ, २६ असोजः हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।

    कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । मौसम सफा रहँदा पृष्ठभूमीमा समेत हिँउद लागेको झल्को देखिन्छ । त्यस्तै प्रतिनिधि तस्वीर यहाँ प्रस्तुत गरिएको छ ।

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान खेतबाट गोरुगाडामा धान पराल घरतर्फ लैजाँदै । दुर्गम ग्रामीण क्षेत्रहरुमा कृषि उपज बोक्नका लागि गोरुगाडालाई प्रयोगमा ल्याउने प्रचलन कायमै रहेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
    सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिका वडा नंं ४ स्थित बोहोरेटाको दुर्गाप्रसाद आचार्यको घर बाहिर थाक्रामा राखिएको मकै । घुन, पुतली र कीराले नखाओस् र नकुहियोस् भनी ग्रामीण भेगमा मकै थाक्रामा राखिन्छ । तस्बिर: रमेशढुंगेल/रासस
    अन्नपूर्ण हिमशृङ्खला म्याग्दी, २६ असोजः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिलबाट देखिएको अन्नपूर्ण हिमशृङ्खला । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलबाट अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको साथै सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम/रासस
    पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल र आसपासको भू भाग । तस्बिरः सन्तोष पुर्कुटी/रासस
    सङ्खुवासभाको पाँचखपन नगरपालिका-१ मा अवस्थित १९१ मिटर अग्लो घोर्ले झरना । उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकको पर्यटकीय गन्तव्य बनेको छ। तस्बिरः भविन कार्की/रासस
    बादलको घुम्टोले ढाकेको बङ्लाचुnLको भू-भाग र सिस्ने हिमाल दाङ, २६ असोज M दाङको बङ्लाचुली गाउँपालिका- ४ स्थित जुम्लेपानीबाट आइतबार बिहान देखिएको बादलले ढाकेको बङ्लाचुलीको भू-भाग र रुकुमको सिस्ने हिमाल ।तस्बिर : कुलदीप न्यौपाने/ रासस
  • तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

    तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

    काठमाडौँ, २४ असोजः काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनका लागि महानगरले आगामी कात्तिक १ देखि ६ गतेसम्म ३२ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको जानकारी दिए ।


    “अवैध रुपमा विदेशबाट आयात गरिएका फूल बिक्रीमा प्रतिबन्ध लगाउनु र स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनु नै हाम्रो उद्देश्य हो, अवैध रुपमा विदेशबाट आएका फूललाई महानगरपालिकाले जफत गर्नेछ”, उनले भने ।
    महानगरपालिकाले काठमाडौँको नयाँबानेश्वरस्थित एनवी सेन्टर, शङ्खमुलको बिगमार्ट, नयाँ बानेश्वरको आइप्लेक्स मल, मध्यबानेश्वरको सेल्सबेरी, बत्तिसपुतलीको फोनेक्स टावर, तीनकुनेचौर, सिफल चौर, चाबहिलको एसी कम्लेक्स, चाबहिल गणेशस्थान, केएल टावर, चाबहिल सेन्टर अगाडि, स्वयम्भुको धर्मचक्र पार्क, कालिमाटी ब्याङ्वेट, कालिमाटी धौखेलबाट बिक्रीवितरण गरिनेछ ।

    यस्तै, कलङ्कीको भाटभटेनी, नयाँबजारको भ्याली कोल्डस्टोर्स, माछापोखरीको बुद्धमल, नयाँबसपार्क पुल, हाँडीगाउँको गणेशमन्दिर, सामाखुशीको कोइरालामार्ट, महाराजगञ्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, बालुवाटारको बिगमार्ट, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौँ मल, पुरानो बसपार्क, पुतलीसडकको न्यूप्लाजालगायतका स्थानबाट बिक्रीवितरण हुने महानगर प्रहरी प्रमुख पाण्डेले बताए ।


    त्यस अवसरमा नेपाल चेम्बर अफ कमर्शका कृषि, वन तथा जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले स्वदेशी फूल स्वदेशमा प्रयोग गर्ने मुख्य उद्देश्यका साथ विगत तीन वर्षदेखि काठमाडौँ महानगरपालिकाको समन्वयमा नेपाली फूललाई प्रोत्साहन गरिँदै आएको बताए । नेपाल फ्लोलिकल्चर एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले कृषक र राज्यलाई समृद्ध बनाउनका लागि महानगरले लिएको नीतिलाई कार्यान्वयनका लागि एशोसिएसनले सहयोग गर्ने बताए ।

    एशोसिएसनले नेपाली फूललाई प्रोत्साहन गर्नका लागि आगामी असोज २९ देखि कात्तिक २ गतेसम्म १८औँ गोदावरी फूल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो । एशोसिएसनले हाल काठमाडौँ उपत्यकामा तिहारका लागि ४० लाख माला खपत हुने अनुमान गरेको छ । नेपालमा उत्पादित फूलले नेपालको बजार धान्नसक्ने एशोसिएसनले जनाएको छ ।

  • ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

    ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

    राष्ट्रिय समाचार समिति (रासस)
    खोटाङ, २४ असोज । जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका चार सय ३६ जना छोरीचेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् ।

    जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत छोरीचेलीलाई घरदेखि माइतीघर र माइतीघरदेखि घरसम्म तथा मावलीघरसम्म लैजान र फर्काउने सेवा दिएका छन् । चाडपर्वको मौकामा अर्थाभाव तथा यातायातको पहुँच नपुगेको र सार्वजनिक सवारीसाधन भरिभराउ हँुदा भनेजस्तो सिट नपाएर माइती÷मावली जान नपाउने छोरीचेलीलाई लक्षित गरेर अभियान चलाइएको हो ।

    दसैँको टीका (असोज १६ देखि असोज १९ गते) सम्म सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न सडकखण्डको ३५ किलोमिटर दूरीभित्रका छोरीचेलीलाई माइत, मावल र घर फर्काउने सेवा दिइएको थियो । अभियानमा जोडिएका युवाले ६६ वटा मोटरसाइकल र शुभम् फाउण्डेसनको एउटा चारपाङ्ग्रे जीपमार्फत सेवा दिएका हुन् ।

    दशवटै स्थानीय तहमा संयोजक तोकेर सञ्चालन गरिएको अभियानअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारबाट २०५ जनालाई मोटरसाइकल र ९० जनालाई जीपबाट निःशुल्क यातायात सेवा प्रदान गरिएको युवा समूहले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारबाट २३ जना, केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारबाट ७५, दिप्रुङ चुइचुम्माबाट २१ तथा रावाबेँसीबाट २२ जनाले मोटरसाइकल सेवा लिएका छन् ।

    पहाडी भूगोल, कच्ची सडक र बर्खायामका कारण बिग्रेर अवरुद्ध बनेका सडकमा सबैतिर सार्वजनिक यातायात पुग्न नसक्ने अवस्था भएपछि छोरीचेलीलाई घरदेखि माइती तथा माइतीघरदेखि आफ्नो घरसम्म आवतजावत गराउन अभियान सञ्चालन गरिएको संयोजक राईले जानकारी दिनुभयो । “बिनास्वार्थ चाडपर्वमा समयमै गन्तव्य पुग्न र फर्कन सहज होस् भन्ने मानवीय भावनाले अभियान चलाएका हौँ । अब तिहारलक्षित अभियान पनि चलाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “तिहारका लागि आउँदो कात्तिक ५ देखि ७ गतेसम्म अभियान चलाउने तयारी गरिएको छ । यस वर्षको दसैँ र तिहारमा करिब एक हजार छोरीचेलीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।”

    यस वर्षका लागि अभियान चलाउन जनसम्पर्कका लागि दिक्तेल बजारस्थित किरातचोकमा सचिवालय नै स्थापना गरिएको थियो । मौसममा आएको खराबी तथा सबै ठाउँमा मोबाईल फोनको टावर नटिप्ने भएकाले सम्पर्कका लागि सचिवालय स्थापना गरेर निःशुल्क यातायात सेवा प्रदान गरिएको थियो ।

    आर्थिक अवस्था कमजोर भएका र सवारीसाधनको पहुँच नभएका छोरीचेलीलाई घरबाट माइतीघर र माइतीघरबाट घरसम्म आउनेजाने सेवा दिइएको युवा समूहले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको सचिवालयमा सेवाग्राहीको विवरण सङ्कलन गर्दै निःशुल्क यातायात सेवा दिइएको सचिवालय सदस्य अनिशा रम्तेलले जानकारी दिनुभयो ।

    युवा समूहले सञचालन गरेको अभियानका लागि विभिन्न निकायले इन्धन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो समूहले गत वर्षको दसैँतिहारमा चार सय १५ छोरीचेलीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराएको थियो ।

  • आश्विन शुक्ल पूर्णिमाः आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

    आश्विन शुक्ल पूर्णिमाः आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

    काठमाडौँ, २१ असोजः प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

    आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानगरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।


    कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने सोमबार राति नै मनाइएको छ ।

    मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान सुरु, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको समितिका सदस्य भट्टराईले सुनाए । वैदिक सनातन धर्ममा कार्तिक मासमा गरिने स्नान र दानको ठूलो महत्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । कार्तिक मासमा गरिएको दान अक्षय हुने भएकाले देउसीभैलो खेल्नेलाई पनि दान दिने प्रचलन सुरु भएको हो ।

  • कोजाग्रत पूर्णिमाः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमाः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै

    काठमाडौँ, २१ असोजः धनधान्यकी देवी महालक्ष्मीको सोमबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घरघरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ ।

    शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्ति पनि आजै समापन गरिएको हो । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिनेक्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ ।

    आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आमनेपालीले आआफ्नो गच्छेअनुसार मनाएका छन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिइ सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल बताउँछन् । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

    लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई ‘कौमुदी’ पनि भनिन्छ । आज सोमबार जुवा खेल्ने विधानसमेत रहेको उहाँले बताउनुभयो । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा आराधना गरिएको छ ।

  • आदिनाथमा एकमहिने मेला सुरु

    आदिनाथमा एकमहिने मेला सुरु

    २१ असोज, काठमाडौं । कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला सुरु भएको छ । काठमाडौँको दक्षिणी भेग चोभारडाँडास्थित आदिनाथ मन्दिरमा उक्त मेला सुरु भएको हो । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति राखिएका छन् । जसलाई अर्धनारेश्वर ‘आदिनाथ’ भनिन्छ । मन्दिरमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रूपमा आस्था प्रकट गर्ने गर्दछन् । कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेलामा काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजन सहभागी हुने गर्दछन् ।

    मेलामा सहभागी भएमा भय, रोग र विघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधि तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि छ । बौद्धमार्गीले लोकेश्वरका रुपमा पूजा गर्ने मन्दिरमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्ध धर्मावलम्बको विश्वास छ । लिच्छवीकालीन राजा अंशुबर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्त्विक महत्वको छ ।

    हिन्दू धर्मावलम्बीले शिवशक्तिका रूपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रूपमा आदिनाथलाई पूजा गर्ने गर्दछन् । बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रूपमा र हिन्दू धर्मावलम्बीले आदिनाथका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । मेला अवधिभर प्रत्येक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्दछ ।

    काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त मन्दिर नजिकै चोभारडाँडाबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । उक्त मन्दिरबाट नजिकै रहेको मञ्जुश्री पार्क, जलविनायक मन्दिर, टौदह पनि धार्मिक महत्वका स्थल हुन् ।

  • आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

    काठमाडौँ, २० असोजः बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।
    आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।

    आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल बताउँछन ।


    माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

    कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि असोज २१ गते मङ्गलबारदेखि सुरु हुने जनाइएको छ । आकाशदीपदान पनि मङ्गलबार साँझदेखि नै सुरु गरिँदैे छ ।

  • नेपालमा दशैंको टीका रमझम, तस्वीर कथा

    नेपालमा दशैंको टीका रमझम, तस्वीर कथा

    आज हिन्दु धर्मावलम्बीले महान चाड विजयादशमीको टीका तथा ग्रहण गरिरहेका छन् । विजयादशमीको दिन मान्यजनबाट टीका तथा आर्शिवाद ग्रहण गर्ने प्रचलन रहेको छ । आज नेपालका विभिन्न स्थानमा दशैं उत्साव यस्तो देखियो….

    राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार विजया दशमीको दिनमा राष्ट्रपति कार्यालय शितलनिवासमा मूल पूजारी अर्जुन न्यौपानेलाई टीका तथा जमरा लगाई दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ-रासस
    मध्यनेपाल नगरपालिका–६ भोर्लेटारमा घरघरमा बडादसैँको दसौँ दिन बिहीबार विजयदशमीमा मान्यजनबाट टीका ग्रहण गरी आशिर्वाद लिँदै सर्वसाधरण । तस्बिरः देवेन्द्र गुरुङ\रासस
    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका थारु महिला पितृ पूजा गरेपछिको सामग्री सनवोरा नदीमा विषर्जन गर्न लैजाँदै । यो कार्यलाई थारु भाषामा पित्तर असराई भन्ने गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरू /रासस
    सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाटमा माटोबाट निर्माण गरिएको कलात्मक देवी दुर्गा भवानीको प्रतिमा । दसैँसहित अन्य पर्वका बेलामा सुनसरीमा माटाबाट निर्माण गरिएको कलात्मक प्रतिमा राखेर पूजा आराधाना
    सुनसरीको इनरुवा नगरपालिका–१ स्थित भगवती मन्दिरमा राखिएको जमरा विजया दशमीका दिन बिहीबार बिहान घरतर्फ लैजाँदै स्थानीय बासिन्दा। मन्दिर समितिले प्रतिव्यक्ति दुई सय रुपियाँ शुल्क लिएर स्थानीयको जमरा मन्दिरमा राख्ने गरेको छ। तस्बिरः नवीन गड्तौला\रासस
    बडादसैँको अवसरमा बागलुङ नगरपालिका–८ सिगाना पात्लेमा चर्खेपिङ खेलेर रमाउँदै बालबालिका। तस्बिरः खेमराज गौतम\रासस
    काठमाडौँ, १६ असोज बडादसौका दिन बिहीबार काठमाडौँको तारकेश्वर नगरपालिका(९स्थित मनमैजु मन्दिरमा बिहीबार बिहान पूजाअर्चना गर्न तथा जमरा चढाउन आएका भक्तजन ।तस्बिर : हरिराम भेटुवाल / रासस
  • राष्ट्रपतिले पुरोहितबाट गरे दशैंको टीका ग्रहण

    राष्ट्रपतिले पुरोहितबाट गरे दशैंको टीका ग्रहण

    १६ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले राससलाई जानकारी दिइन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिएका थिए ।

  • विजयादशमीमा दिइने आशीर्वाद यस्तो छ

    विजयादशमीमा दिइने आशीर्वाद यस्तो छ

    १६ असोज, काठमाडौं । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

    आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
    ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
    शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
    विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

    अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

    यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

    जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
    दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

    आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्छ ।

  • दशैंको टिका लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

    दशैंको टिका लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

    १६ असोज, काठमाडौं । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने पाइएको छ । धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार टीका लगाइ दिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले बताए । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

    आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ ।

    घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

    त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

  • आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत

    आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत

    १६ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ ।

    त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

    आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

    बिहान ९ बजेर २३ मिनेटको साइतमा देवी बिसर्जन गर्ने र राज्य सञ्चालकले ११ बजेर ५३ मिनेटमा टीका लगाउनुपर्ने गरी साइत तोकिएको छ । विजयादशमी आफैंमा शुभ दिन हो । टीका जमरा शक्तिस्वरुपा देवी भगवतीको प्रसाद हो । त्यसैले प्रसाद ग्रहण गर्न सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता छ । तर राज्य सञ्चालकहरुले भने उत्तम साइतमै टीका ग्रहण गर्नुपर्ने भनेर साइत निर्धारण गरिएको हो ।
    समितिका सदस्य देवमणि भट्टराईका अनुसार दशैंको टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्ने नियम छ । कसैलाई टाढा जानुपर्ने वाध्यात्मक अवस्थामा भने बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि सकिने उनले बताए । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ । नेपालभर दशैं महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एकापसमा जम्मा भई दशैं मनाउने गर्छन् ।

  • प्रधानमन्त्री कार्कीले टीका नलगाउने

    प्रधानमन्त्री कार्कीले टीका नलगाउने

    १५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छिन् । बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।

  • यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    १५ असोज, काठमाडौं । दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले दुई दिनमा रु एक करोड पाँच लाख ६५ हजार व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ ।

    उक्त चलचित्रले पहिलो दिन असोज १३ गते नेपालभर प्राप्त गरेको २४४ ‘शो’बाट रु ५७ लाख १९ हजार ३४० र दोस्रो दिन दुई सय १३ शोबाट रु ४८ लाख ४६ हजारको व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।
    यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले प्रदर्शनको दुई दिनमा रु ५९ लाख ५८ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त चलचित्रले असोज १३ गते १३४ शोबाट रु २४ लाख ८५ हजार ६४ र दोस्रो दिन रु ३४ लाख ७३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त चलचित्रले पहिलो दिन र दोस्रो दिन समान ‘शो’ पाएको छ ।

    दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
    अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याएका हुन् । प्रदर्शनरत तेस्रो चलचित्र ‘माइतीघर’ ले प्रदर्शनको दुई दिनमा रु ३८ लाख ६३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त चलचित्रले असोज १३ गते पहिलो दिन १४४ ‘शो’बाट रु १८ लाख ९६ हजार ४५५ र दोस्रो दिन १३० ‘शो’बाट रु १९ लाख ६७ हजारको व्यापार ९ग्रस कलेक्सन० गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ ।

    रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गर्नुभएको यस चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् । पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएको छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।

  • तलेजु मन्दिर खुल्लाः बिहानैदेखि दर्शनार्थी घुइँचो

    तलेजु मन्दिर खुल्लाः बिहानैदेखि दर्शनार्थी घुइँचो

    १५ असोज, भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ । महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ । सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको र जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी भन्ने धार्मिक किंवदन्ती रहेको छ ।

    राजाले क्षमायाचना गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन मन्दिरमा प्रकट हुने जनविश्वास छ ।
    एक अर्को किंवदन्तीअनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीको रूपमा प्रवेश गरेको भन्ने गरिन्छ । त्यसै बेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रूपमा पुज्न थालिएको हो । कुमारी पुज्ने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडौँ र ललितपुरमा बिस्तार भएको भक्तपुर तलेजुका मुख्य नाइके नरेन्द्रप्रसाद जोशीले बताए । विजयादशमीको दिन बिहीबार जीवित देवी कुमारीको हातबाट टीका थाप्ने प्रचलन छ ।

    यस्तै, महाअष्टमीका दिन राति मनाइने ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएको छ । महिषासुरको प्रतीक मानिने निक्खर राँगो जात्रा स्थानीय व्यासी टोलबाट दौडाउँदै यालाछें, बालाखु हुँदै दरबार स्क्वायरसम्म ल्याएर तलेजुमा पुर्‍याई कालरात्री पूजा गरिएको थियो ।

    जात्राका क्रममा स्थानीयहरूले बाटोको दुवै छेउमा बसी सुकुन्दा बत्ती बालेर राँगोलाई पूजा गर्ने प्रचलन छ । जात्रा दरबार स्क्वायरमा पुगेपछि खड्ग लिएर बसेका पूजारीले राँगोलाई मूलचोक भित्र्याउन आदेश दिएसँगै तलेजुको मूलचोकमा पुर्‍याएर तलेजुमा कालरात्री मनाइएको तलेजुका मुख्य नाइके जोशीले जानकारी दिए ।


    दसैँ महाअष्टमीको अवसरमा तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिएर कालरात्री मनाइएको उनले बताए । गुठी संस्थान कार्यालय अर्थात् सरकारको व्यवस्थापनमा वर्षौदेखि चल्दै आएको बलि दिने परम्पराअनुसार यसपटक पनि बलि पूजा गरिएको हो ।

  • देशैभरी मनाइयो महाअष्टमी

    देशैभरी मनाइयो महाअष्टमी

    १४ असोज, काठमाडौं । बडादसैँको नवौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक पूजाआराधना गरी आज देशभर महाअष्टमी पर्व मनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा मनाउने प्रचलन छ । सामान्यतया यो पर्व बडादसैँको आठौँ दिन पर्ने गरे पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले आज नवौँ दिन परेको हो ।

    यस अवसरमा शास्त्रसम्मत रूपमा दसैँँघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गरिएको छ । दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा, सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठसमेत गरिएको छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवीमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले समेत मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहुन्छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाउन पनि यस्तो गर्ने गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

    आजका दिन उपत्यकाभित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरमा पनि बलीसहित पूजाआजा गर्नेहरूको बिहानैदेखि भीड लागेको थियो । यसैगरी उपत्यका बाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि बलीसहित पूजाआराधना गर्न श्रद्धालुको घुँइचो लागेको जनाइएको छ ।

    आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी बलीसहित पूजाआजा गरिन्छ । यस अवसरमा देवीका शस्त्रअस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबली नचढाउनेहरूले भने पूजाकोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजाआजा गरेका छन् ।

    आजकै दिन राति कालरात्रीका रूपमा पशुबलीको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । महाअष्टमीका दिन आज राती हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्री पूजा गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए । महानवमीका अवसरमा बुधबार बिहान पनि ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिने उनले बताए ।

  • आश्विन शुक्ल सप्तमी : पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    आश्विन शुक्ल सप्तमी : पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    १३ असोज, काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजा कोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ ।
    प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

    नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजाआराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए ।

  • सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    १३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो ।

    फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

    बडादसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो । नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यमले फूलपाती बढाइँको प्रत्यक्ष प्रसारण गरेका थिए ।

  • गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

    गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

    १३ असोज, गोरखा । गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।
    बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उनको भनाइ छ । गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन् । गोरखा दरबारको दसैँघरबाट बाजागाजासहितको ¥याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।
    “गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पु¥याएपछि आजै साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ”, उनले भने । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने गरिएको छ ।

    जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले गोरखा दरबारको फूलपातीको विदाई गरेर हनुमान ढोका दरबार पठाए । गोरखा दरबारको दसैँघरमा पनि आज साँझ हर्ष बढाइका साथ फूलपाती भित्र्याइन्छ ।

  • आज घर घरमा फूलपाती भित्र्याइँदै

    आज घर घरमा फूलपाती भित्र्याइँदै

    १३ असोज, काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

    नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्” उनले भने ।


    फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा भट्टराईले जानकारी दिए । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका छ जना ब्राह्मणले ल्याउने परम्परा छ ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकोमा गणतन्त्र स्थापनापछि संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

    यस वर्षको फूलपाती सोमबार अपराह्न साँढे चार बजे भित्र्याइने कार्यक्रम छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

  • आश्विन शुक्ल सप्तमी : दुर्गा पक्षको आठौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल सप्तमी : दुर्गा पक्षको आठौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

    १३ असोज, काठमाडौं । वडादसैैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेपनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौँ दिनमा पुगेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको हो । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

    दोस्रो दिन मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बिहीबार र पाँचौ दिन शुक्रबार सूर्योदय कालमा चौथी तिथि रहेकाले दुवै दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएकाले यस वर्षको नवरात्र दशरात्र बनेको छ । छैटौँ दिन शनिबार स्कन्दमाता र सातौँ दिन आइतबार कात्यायनी देवीको पूजा आराधना गरियो ।

    आठौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

    नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् । आश्विन शुक्ल सप्तमीका दिन आज पूजा कोठा वा दशैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

  • कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान नगर्ने

    कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान नगर्ने

    १२ असोज, काठमाडौं । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नहुने जानकारी दिए । विसं २०३३ मा जननायक बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदानप्रदान गर्दै आएको थियो ।

    कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,“चाडवाडको समयमा समग्र मुलुकका नागरिक शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालयसमेत आगजनी गरी ध्वस्त पारिएको अवस्थामा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ ।” आम नेपाली आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकाले कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगर्ने कांग्रेसले जनाएको छ ।

  • ७ तस्वीरमा दशैं माहोल

    ७ तस्वीरमा दशैं माहोल

    ११ असोज, काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि देशका विभिन्न भागमा अवस्थित शक्तिपीठमा भक्तजनको भीड छ । साथै दसैँ घर वा पूजा कोठामा स्कन्दमाताको पूजा गरिएको छ । नवरात्रमा देवीको पूजाआराधना गरेमा मनोकामना पूरा हुने विश्वास छ । नवरात्रलाई शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ ।

    नवरात्रीको अवसरमा बर्दिबास–४ माइस्थानस्थित जिल्लाको प्रसिद्ध शक्तिपीठ पञ्चधुरा माईस्थानमा दर्शनार्थीहरु । तस्बिरः गोपालप्रसाद बराल\रासस

    काठमाडौँ उपत्यका तथन आसपासस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागीश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शनि, सङ्कटा, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठमा अहिले पनि भक्तजनको भीड छ ।

    दाङको घोराही उपमहानगरपालिका–१४, झिगौरामा लोकेन्द्र रोका मगरको परिवार बिक्रीका लागि सयपत्रि फूलको माला गाँस्दै । उहाँले सयपत्रिका फूलसँगै विभिन्न प्रजातिका फूलका बेर्ना पनि उत्पादन गर्दै आउनुभएको छ । तस्बिरः सुशीला ओली / रासस

    यसैगरी, नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक भगवती, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, पाथीभरा, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारालगायत देवी मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । यी शक्तिपीठलाई विशेष रुपमा सजाइएको छ । देशभर दशैंको माहोल यस्तो देखिएको छ ।

    दसैँका लागि शनिबार काठमाडौँ चाबहिल गणेशस्थानमा किनमेल गर्न आएका सर्वसाधारणको चहलपहल दृश्य ।तस्बिरः हरिराम भेटुवाल\रासस
    कृष्णपुर नगरपालिका–२ बाणीका थारु महिला लालझाडी वन क्षेत्रबाट टिपेका मालुका पात मुठा बाध्दै । दसैँंलगायतका चाडपर्वमा मालुका पातको दुना बनाई देवीदेउताको पूजाआजा गर्नमा र पाहुनालाई परिकार पस्कनमा प्रयोग गरिन्छ । मालुका पातको दुनालाई अति शुद्ध मानिन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरू\रासस
    मुस्ताङबाट बिक्रीका लागि बागलुङ बजारमा ल्याइएका च्याङ्ग्राका बथान । हरेक वर्ष दसैँका बेला व्यापारीहरुले सयौँको सङ्ख्यामा च्याङ्ग्रा ल्याउने गर्छन् । तस्बिरः डम्मर बुढामगर\ रासस
    दसैँ मनाउन घर जान शनिबार बिहान गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट लिन लामबद्ध यात्रुहरु । तस्बिर : हरिराम भेटुवाल / रासस
  • घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

    घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

    ९ असोज, काठमाडौं । घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन् ।

    कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार उक्त तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरु गन्तव्यस्थलमा गएकाहरुको हो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधनलाई आवतजावतमा समस्या परेको बताए । “मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौँसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,”, अध्यक्ष स्वारले भने ।

    काठमाडौँ गोँगबुस्थित राष्ट्रिय बसपार्क नयाँ बसपार्कमासमेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए ।


    उनले अरु समयमा दैनिक औसतमा दुई सय ५० बस बाहिरिए पनि अहिले उक्त सङ्ख्यामा वृद्धि भएको बताए । यात्रुको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

  • आश्विन शुक्ल चतुर्थी : आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल चतुर्थी : आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    रासस
    ९ असोज, काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

    श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ,“कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा, अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ ।” नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन मंगलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।

    बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ मनाउँछन् ।

    दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

    नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ ।

    यसैगरी उपत्यकाबाहिर पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ ।