Category: मनोरञ्जन

  • दशैंका शुभसाइत सार्वजनिक, टिकाको उत्तम समय कति ?

    दशैंका शुभसाइत सार्वजनिक, टिकाको उत्तम समय कति ?

    काठमाडौं । यस वर्ष दसैंको टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ। शुक्रबार पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ।

    विजया दशमी असोज २६ गते शनिबार परेको छ। घटस्थापनाका लागि असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चांग समितिले जनाएको छ। टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने पनि समितिले उल्लेख गरेको छ।

  • संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी दरवारमार्ग कन्सर्ट आयोजना, प्रधानमन्त्री सहभागी

    संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी दरवारमार्ग कन्सर्ट आयोजना, प्रधानमन्त्री सहभागी

    काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले बिहीबार काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । यही संविधान दिवसको अवसर पारेर सरकारले दरबारमार्गमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको हो । ‘नेशनल डे कन्सर्ट’मा सर्वसाधारणहरूले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर उत्सव मनाइरहेका छन् भने राष्ट्रिय स्तरका कलाकारहरूले आफ्नो सांगितिक प्रस्तुती दिए ।

    सांगितिक कार्यक्रम अवधिकर दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । नेशनल डे कन्सर्टमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका थिए । प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्‍य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक सहभागी भएका थिए । कन्सर्टमा एलिमेन्ट्स र कुटुम्ब ब्याण्डले आफ्ना हिट गीत गाएर दर्शकलाई मनोरञ्जन दिए । सुगम पोखरेल, दीपक लिम्बु, सुवानी मोक्तान, कुन्ती मोक्तान, आनन्द कार्की लगायतले आफ्ना गीतमा दर्शक नचाए । सबैले राष्ट्रिय भावनाले ओतप्रोत गीत गाएर संविधान दिवस मनाउन आग्रह गरे ।

    आफ्ना लोकप्रिय ब्याण्ड र कलाकारलाई सुन्न दरबारमार्ग राती अबेरसम्म उर्लिएको थियो । प्रधानमन्त्री ओली स्टेजमा उक्लिएर कन्सर्टका सहभागिलाई संक्षिप्त सम्बोधन गर्दै संविधान दिवसको शुभकामना दिए । गायक लिम्बुले ‘रातो र चन्द्र सूर्य जंगी निशान’ गाउँदा प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी लगायतले स्टेजबाट राष्ट्रिय झण्डासहित साथ दिएका थिए । आतसबाजी समेत गरिएको थियो । कन्सर्टलाई पूर्वमिस नेपाल सुगरिका केसी र पडकास्टर संजय अग्रवालले होस्ट गरेका थिए ।

    संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ । शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ । सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ । आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ ।

  • आज संविधान दिवस, धुमधामसहित मनाइदैं

    आज संविधान दिवस, धुमधामसहित मनाइदैं

    काठमाडौं । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् ।
    टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ । आजै राष्ट्रपति पौडेलले शीतल निवासमा पनि एक कार्यक्रम आयोजना गरेका छन् । साँझ भने दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना हुँदै छ । ‘नेशनल डे कन्सर्ट’ नाममा हुन लागेको सांगीतिक कार्यक्रमका लागि हिजोदेखि नै दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।

    संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ । शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ । सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ । आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ ।

  • इजरायलबाट अपाङ्गता भएका १२ सहित ९६ पर्यटक एक साथ नेपाल घुमफिरमा

    इजरायलबाट अपाङ्गता भएका १२ सहित ९६ पर्यटक एक साथ नेपाल घुमफिरमा


    काठमाडौं । अपाङ्गता भएका १२ सहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली राजदुतावासको समन्यवमा नेपाल आएको सो टोलीलाई मंगलवार राती इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरे ।

    सालोम राफ्टिङ टे«क्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ्ग र मुस्ताङ्गका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ । बुधबार काठमाण्डौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टर मार्फत मनाङ्गको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसमेबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाण्डौ फर्किने तालिका रहेको छ । 

    अपाङ्गता भएका पर्यटकहरुको आगमन र उहाँहरुले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपाङ्गमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए ।

    विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको उल्लेख नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे ।

    “नेपाल प्रकृतिको अनुपम उपहार हो । यो देश साच्चिकै सुन्दर छ । यहाँको कला संस्कृति र परम्परा र प्रकृतिर आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँदछ । विगतका वर्षहरुमा नेपाल भ्रमणमा आएका  अपाङ्गता भएका पर्यटकहरुको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन् । यो संख्या आउँदा दिनमा पुनः बढ्नेछ, उनले भने ।

  • संविधान दिवसमा सांगितिक कार्यक्रम हुने, दरवारमार्गमा आवागमन रोकियो

    संविधान दिवसमा सांगितिक कार्यक्रम हुने, दरवारमार्गमा आवागमन रोकियो

    काठमाडौं । संविधान दिवसको दिन दरबारमार्गमा सांगीतिक कार्यक्रम हुने भएको छ । त्यसको स्टेज बनाउन थालिएाके छ । जसले गर्दा सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

    सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

    सदाझैं यस वर्ष पनि असोज २, ३ र ४ गते दीपावलीसहित विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउन गृह मन्त्रालयले मातहतका सरकारी कार्यालयहरुमा परिपत्र गरेको थियो । दिवस मनाउन तीनै तहका सरकारमा संविधान दिवस मनाउन आयोजक समिति गठन गरिएको छ । काठमाडौंमा नागरिकस्तरमा हुने भनिएको सांगीतिक कार्यक्रमलाई ‘नेशनल डे कन्सर्ट’ भनिएको छ ।

    कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत गायक(गायिका सहित चर्चित ब्याण्डहरु कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिनेछन् । उक्त कन्सर्टले नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्ने विश्वास छ ।

  • किन समातीय बसन्तपुरबाट बालेनका समर्थक

    किन समातीय बसन्तपुरबाट बालेनका समर्थक

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएको करिब साढे ३ घण्टापछि प्रहरीले उनीहरुलाई छाडेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले नियन्त्रण लिइएका सबैलाई छाडिएको हो । उनका अनुसार सुरुमा १३ जना र पछि १ जना गरी १४ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको थियो ।

    मंगलबार इन्द्रजात्राको अवसरमा बसन्तपुर क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर युवाहरु पुगेका थिए । त्यसपछि उनीहरुलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिएको थियो । स्थानीयसँग विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी थियो । दिउँसो साढे १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरीले ५ बजेतिर छाडेको हो ।

  • आज विश्वकर्मा पूजा, के छ महत्व ?

    आज विश्वकर्मा पूजा, के छ महत्व ?

    काठमाडौं । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

    बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

    द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकैरातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।
    प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रबीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेलले बताए ।
    यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनसमेतमा पूजा आराधना गरिन्छ ।


    यस अवसरमा आज नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय डिल्लीबजारमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा वास्तु शास्त्रका विषयमा छलफल एवं प्रवचन कार्यक्रम गरिनेछ । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी लगायतको उपस्थिति रहने जनाइएको छ । रासस

  • आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा बिदा

    आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा बिदा

    काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ ।

    उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

    इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौं दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । ‘भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले बताए ।

    यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।

  • ३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?

    ३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?

    काठमाडौं । हिउँ चितुवा र याकको संरक्षण तथा दीगो पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङमा असोज ३ देख ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।

    जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) नेपाल र आन्ट फाउडेशनको सयूक्त आयोजना तथा चामे गाँउपालिका र मनाङ्ग ङिस्याङ गाँउपालिको सहकार्यमा विभिन्न संघसस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल संघ मनाङको सहभागिता तथा नमस्ते मनाङको संयोजनमा मैंत्रीपूण फुटबल आयोजना गर्न लागिएको आईतबार काठाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


    हिँउ चितुवाले हिमालको पारिस्थतिक प्रणालीलाइ सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने मात्र नभई हिँउ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि भएकोले यसको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्न लागिएको बाइकोस नेपालका संस्थापक तथा संरक्षणविद डा.पारसविक्रम सिंहले जानकारी दिए ।

    संस्थाले गतवर्ष भदौ २५ देखि २७ गतेसम्म मनाङ्गका विभिन्न ३ स्थानमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । समूह सतहबाट २६०० मिटर उचाईमा रहेको तिमाङ, र ३२०० मिटर उचाईमा रहेको मुङ्जी फुटबल मैदानमा सेलिब्रेटि टिम हिमालयन स्नो लिवपर्ड (राष्ट्रिय स्तरका ख्याती प्राप्त खेलाडीहरु, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरु) र स्थानिय खेलाडी टिम कान्जिसरा याक र मनाङ ङिस्याङ याक (स्थानिय युवाहरु) विच मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्न लागिएको आयोजक आन्ट फाउण्डेनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिए ।


    नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङलाई हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबको रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । पत्रकार सम्मेलनमा फुटबल टीमका टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो ।

  • ऋषिपञ्चमी पर्व आज मनाइंदै, यस्तो छ महत्व

    ऋषिपञ्चमी पर्व आज मनाइंदै, यस्तो छ महत्व

    काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

    हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले जानी नजानी गरिएको पापबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।

    आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको प्रा डा भट्टराईले बताए । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

    ऋषिपञ्चमीको अवसरमा आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गरेका छन् ।

  • नेपाल आए बलिउड स्टार नवाजुद्दिन सिद्दिकी

    नेपाल आए बलिउड स्टार नवाजुद्दिन सिद्दिकी

    काठमाडौं । नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन बलिउड स्टार नवाजुद्दिन सिद्दिकी काठमाडौं आइपुगेका छन् । शनिबार इण्डिगो एयरवेजबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

    काठमाडौं एयरपोर्टमा पनि सामान्य यात्रुजस्तै गरी प्रस्तुत भएका थिए । फ्यानहरुले उनलाई घेरेका थिए । उनले सञ्चारमाध्यमसँग कुरा गर्दै नेपाली फिल्म र मेकरको प्रशंसा गरेका छन् । अभिनेता सिद्दिकी पहिलोपटक नेपाल आएका हुन् ।

  • आज गणेश चतुर्थी, यस्तो छ महत्व

    आज गणेश चतुर्थी, यस्तो छ महत्व

    काठमाडौं । भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी नेपाल र भारत विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो । हामी सनातनीहरूले भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मान्छौं, साथै विद्या, वुद्धि, समृद्धि, र सौभाग्यका देवता पनि यिनै गणेशजीलाई नै मानिन्छ ।

    मानिसहरूलाई आफ्नो जीवनमा आइपर्ने कुनै पनि समस्या, अवरोध वा नकारात्मक तत्त्वहरू हटाउन, नयाँ कार्यको सुरुआत गर्न, भगवानको कृपा द्वारा आशीर्वाद प्राप्त गर्न भगवान गणेशजीलाई पूजा गर्ने गरिन्छ । यो पर्व भारत र नेपालका धेरै ठाउँहरूमा यस पर्वलाई निकै उत्साहका साथ मनाइन्छ ।

    विशेषगरी महाराष्ट्र राज्यमा दस दिनसम्म यस पर्वलाई विशाल रूपमा मनाइन्छ, जहाँ भगवान गणेशको मूर्ति स्थापना गरिन्छ र धुमधामका साथ पूजापाठ गरिन्छ र अन्त्यमा मूर्ति विसर्जन गरिन्छ ।

    यो पर्वले समाजमा एकता र सहयोगको भावना पनि ल्याउँछ । मानिसहरू सामूहिक रूपमा मण्डप सजाएर भगवान गणेशको मूर्ति स्थापना गर्छन्, र प्रायस् सबै समुदायका मानिसहरू पूजा, भजनकृतन, र विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने गर्दछन् ।

    गणेश चतुर्थीमा गरिएको भगवान गणेशजीको पूजा, निष्ठा, व्रत उपासना र तपको प्रभावद्वारा गणपति भगवानको आशीर्वाद प्राप्त हुने र जीवनमा सुख, शान्ति, र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

    गणेश, वक्रतुन्ड, लम्बोदर, विनायक, एकदन्त, गजाधर जस्ता नामले परिचित भगवान गणेशजीको लागि धेरै भक्तजनहरू यो दिन व्रत बस्छन् ।

    व्रतालुहरूले केवल फलफूल वा एक छाक मात्र खान्छन् र भगवान गणेशको पूजा गरी व्रत पूरा गर्छन् । गणेश चतुर्थीको दिन मानिसहरूले भगवान गणेशको माटोको प्रतिमा ल्याएर आफ्नो घर वा मण्डपमा स्थापना गर्दछन् र स्थापना गरिएको मूर्तिमा प्राणप्रतिष्ठा गरिन्छ त्यसपछि भगवान गणेशको मूर्तिलाई फूल, माला, दुबो, अगरबत्ती, धूप, दीप, पान, सुपारी आदि चढाएर विशेष पूजा गरिन्छ ।

    गणेश भगवानलाई लड्डु र मोदक चढाइन्छ, किनभने यो उहाँको प्रिय मिठाई हो। गणेशजीलाई प्रसाद स्वरूप विभिन्न प्रकारका मिठाई र फलफूल चढाइन्छ । गणेश चतुर्थीको अवसरमा मन्दिरहरूमा र घरहरूमा गणेश भगवानको स्तुति र भजन गाइन्छ । पछि मूर्तिलाई नदी, पोखरी वा समुद्रमा लगेर विसर्जन गरिन्छ ।

    यस दिन देखिने चन्द्रमामा दोष हुन्छ भनेर शास्त्रमा उल्लेख भएको हुनाले, त्यसैले चन्द्रमा हेर्न हुँदैन देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहिआएको छ, तर कसैको हानी नोक्सानी गर्नु वा चोर्नु चै राम्रो पक्कै होइन ।

    गणेश चतुर्थी केवल धार्मिक चाड मात्र नभएर सामाजिक, सांस्कृतिक, आध्यात्मिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण छ । यसले समुदायलाई एकताबद्ध राख्ने, परम्परालाई संरक्षण गर्ने र व्यक्तिगत तथा सामाजिक उन्नतिको माध्यम बन्ने कार्य गर्दछ । भगवान गणेशको कृपाले जीवनका सबै क्षेत्रहरूमा सफलता, समृद्धि र शान्ति प्राप्त होस् भन्ने आशयका साथ यो चाड मनाइन्छ।

  • आज तीज पर्व, देशभर मनाईदैं

    आज तीज पर्व, देशभर मनाईदैं

    काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ ।

    तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । व्रत निराहार, जलाहार र फलाहार गरी तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने धर्मशास्त्रका जानकार डा. रामचन्द्र उपाध्याय बताउँछन् । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उनको भनाइ छ ।

    अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने विधानसमेत छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।

    यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर नाचगान गर्दछन् ।

    बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

  • हरितालिका तीज : आज दर खाने दिन

    हरितालिका तीज : आज दर खाने दिन

    काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यसै दिनदेखि दिनबाट सुरु हुन्छ ।

    दर खाने दिन परिवार, नातेदार र आफन्तहरू बीचको एकता र मेलमिलापको प्रतीक हो । यस दिन परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरूलाई आमन्त्रित गरिन्छ । सबैजना एक ठाउँमा भेला भएर भोजन गर्छन्, जसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । तीज र दर खाने दिन महिलाहरूका लागि विशेष अवसर हो, जहाँ उनीहरू आफ्नो सुखदुःख बाँड्न सक्छन् । यो दिन महिलाहरूले एकापसमा आत्मीयता साटासाट गरेर सामाजिक, मानसिक र भावनात्मक रूपमा सशक्त बन्ने मौका पाउँछन् ।

    शाब्दिक रूपमा दर भनेको दरो या बलियो भन्ने बुझिन्छ । भोलि व्रत या पूजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा अघिल्लो दिनको राति दरिलो वा आडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो, यही चलनलाई ‘दर खाने दिन’ भनिएको हो ।

    ज्योतिषाचार्य एवम् वास्तुविद् पण्डित नारायणप्रसाद दुलालका अनुसार धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाकै दिन दर खाई तृतीयामा व्रत तथा पूजाको प्रभावले महादेव स्वामी पाएको विश्वास छ । ‘त्यसैले दर खाने दिनले सामाजिक, सांस्कृतिक, र धार्मिक दृष्टिकोणले विशेष महत्त्व राख्दछ,’ उनले भने ।

    तीजको दिन भोले बाबाको व्रत बस्दा भोको पेट भयो भने स्वाभाविक रुपमा व्रतालुको ध्यान भोक र भोजनतिर जाने भएकोले पूर्ण ध्यान भगवानमा मात्र जाओस् भन्ने उद्देश्यले अघिल्लै दिन खाइने पौष्टिकताले भरिपूर्ण दरिलो परिकार भोजन गर्ने चलन छ । परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरू सबैजना एक ठाउँमा भेला भएर विशेष रूपमा गीतसङ्गीत, नृत्य र भजनकीर्तनको पनि आयोजना गरिन्छ । यो दिन पारिवारिक वातावरणलाई अझ रमाइलो बनाउँछ । यो समयमा परम्परागत गीतहरू पनि गाइन्छन् जसमा दुःख, सुख र भावनाहरू व्यक्त हुन्छन् ।

    तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले योग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ । तीजमा महिलाहरूले दरका रूपमा खीर, पुरी, तरकारी, सेल रोटी, मिठाइहरू आदि बनाउने परम्परा पनि छ ।

    स्थान अनुसार दरखाने परिकारहरू फरक(फरक छन् । त्यस्तै आधुनिकतासँगै परिकारहरूमा पनि फरक आउन थालेको देखिन्छ । हिजोआज तीज आउनुभन्दा हप्तौँ अघिदेखि नै दर खाने र खुवाउने कार्यक्रम हुने गर्दछन् ।

  • लायन्स क्लब न्युयोर्कको “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” सम्पन्न

    लायन्स क्लब न्युयोर्कको “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” सम्पन्न

    न्यूयोर्क ।

    हरितालिका तीजको अवसरमा अमेरिकाको न्यूयोर्कमा लायन्स क्लब न्युयोर्कद्वारा आयोजना गरिएको “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” सम्पन्न भएको छ । गत अगस्ट ३१, शनिबार सॅाझ न्युयोर्कको क्विन्सस्थित सत्यनारायण मन्दिरको प्रांगणमा क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा भएको नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा “तीज बिशेष कार्यक्रम तथा नृत्य प्रतियोगिता” मा तीज नृत्य प्रतियोगितामा रिजवुड नेपाली समाज प्रथम हुन सफल भएको हो । 


    उक्त प्रतियोगितामा रिजवुड नेपाली समाज प्रथम, नेपाली अमेरिकन कलाकार संघ द्वितीय र म्याग्दी समाज न्युयोर्कले तृतीय स्थान हात पार्दै क्रमशः  नगद उपहार अमेरिकन ५०० डलर, ३०० डलर र २०० डलर सहित ट्रफी र प्रमाण-पत्र प्राप्त गरेको हो । 
    सो नृत्य प्रतियोगितामा बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई, बरिष्ठ नृत्य निर्देशक शिव बिक र नृत्यंगना बसन्ती राईले निर्णायक मण्डलको भुमिका खेल्नु भएको थियो ।
    “प्रवासमा नेपाली कला संस्कृति भेषभुषा र रितिरिवाजको संरक्षण तथा प्रबर्धनको अभियान” भन्ने नाराका साथ दुई क्लबको आयोजनामा न्यूयोर्कको क्विन्समा “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” को आयोजना गरिएको हो । 


    क्विन्स केटिएम लायन्स क्लबकी अध्यक्ष तथा जोन चेयर लायन रश्मी श्रेष्ठ र क्विन्स बुद्ध लायन्स क्लबका अध्यक्ष चन्द्र नेपालीको अध्यक्षता तथा नेपाली महाबाणिज्य दुतावासको कार्यालय, न्युयोर्कका सहायक बाणिज्यदुत संगिता न्यौपानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । भने क्विन्स केटिएम लायन्स क्लबका अफिसरद्वय चार्टर अध्यक्ष रुद्र पुन, नेपालकी पुर्ब सांसद तथा क्लबकी सल्लाहकार शान्ती जिरेल, उपाध्यक्ष रुपा शाह, सचिब करुणा श्रेष्ठ, कोषाध्यक्ष अरुणा तामांग, मेम्बरशिप चेयर आशा पाण्डे, सर्भिस चेयर निशा बुढा, क्लब डिरेक्टर निक्की गौचन, क्लब सब-डिरेक्टर देबी गौत्तम, मार्केटिंग चेयर भगवती कार्की, लायन टेमर बिष्णु तामांग, टेल ट्विस्टर अनिता केसी र सदस्यद्वय अनिता कार्की र कृष्ण देवी लोप्चनको सकृय सहयोग र उता क्विन्स बुद्ध लायन्स क्लबका तर्फबाट अफिसरद्वय रिजन चेयर दिपक राज घिमिरे, पुर्ब जेन चेयर तथा पुर्ब अध्यक्ष अर्जुन गौडेल, चार्टर अध्यक्ष कृष्ण आचार्य, पुर्ब अध्यक्ष बेगम पंडित, पुर्ब अध्यक्ष रिमाया नेपाली, उपाध्यक्षद्वय बुद्ध पौडेल, सोनु मल्ल, सांग दोर्जि शेर्पा र शिबजी खड्का, मेम्बरशिप चेयर पुर्ण ब. पाईजा मगर, कोषाध्यक्ष चिनु घले र सदस्य सुदिप श्रेष्ठको सकृय सहयोगार्थमा कार्यक्रममा समाजका सामाजिक अगुवा, संचारकर्मी लगाएत ४०० जनाको उपस्थितीमा कार्यक्रम भब्य सम्पन्न भएको हो । 
    नृत्य प्रतियोगितामा क्विन्स बुद्ध लायन्स क्लब, क्विन्स केटिएम लायन्स क्लब, जमैका नेपाली समाज, रिजवुड नेपाली समाज, म्याग्दि समाज न्युयोर्क, नारी एकता न्युयोर्क र नेपाली अमेरिकन कलाकार संघ गरी जम्मा ७ वटा टिमले भाग लिएको थियो । 
    सो कार्यक्रममा नेपाली महिला रेस्लर, गायिका तथा मोडल अस्मिता जुरेली र मिस कस्मोपोलिटन वर्ल्ड २०१९, मोडल तथा ईभेन्ट कोरियाग्राफर प्रिया रानी लामालाई पनि प्रमाण पत्र सहित सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन क्विन्स बुद्ध लायन्स क्लबका पूर्व अध्यक्ष, जोन चेयर, कलाकर तथा संचारकर्मी विक्की पुलामीले  गरेका थिए ।

  • नेपालबाट अपहरणमा परेको जहाजबारेको वेव सिरिज द कान्दाहार हाइज्याक किन विवादमा ?

    नेपालबाट अपहरणमा परेको जहाजबारेको वेव सिरिज द कान्दाहार हाइज्याक किन विवादमा ?

    काठमाडौं । नेटफ्लिक्समा स्ट्रिमिङ वेब सिरिज ‘आईसी ८१४ ः द कान्दाहार हाइज्याक’ विवादमा तानिएको छ । थ्रिलर सिरिजको चर्चा भारतसहित नेपालमा पनि भएको हो । भारतीय यात्रुवाहक जहाजलाई अपहरणकारीले काठमाडौं विमानस्थल हुँदै अफगानिस्तानको कान्दाहार पुर्‍याएको वास्तविक घटनाको कथावस्तुमा सिरिज बनेको छ ।

    यो घटना २४ डिसेम्बर १९९९ मा भएको थियो । विजय बर्माको शीर्ष भूमिका रहेको सिरिजको छायांकन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर गरिएको छ । यो सिरिजको प्रस्तुतीकरणलाई लिएर नेपाली नेटिजनले सामाजिक सञ्जालका पेजहरुमा बहस थालेका छन् ।

    वास्तविक घटना भएपनि सिरिजको चित्रण यथार्थपरक नभएको उनीहरुको तर्क छ । विमानस्थलमा सुरक्षा खुकुलो बनाइएकोदेखि सुरक्षामा खटिने प्रहरीलाई कमजोर देखाइएको, हाइज्याक गरिंदाको दृश्यमा ‘आई लभ यु काठमाण्डू’ लेखिएको टिसर्ट लगाएर काठमाडौंलाई बदनाम गरिएको छ ।

    भारतमा भने विमान अपहरणमा संलग्न पात्रको नामलाई लिएर विवाद चलिरहेको छ । पात्रको नाम शंकर र भोला जस्ता हिन्दूको नाम राखिएकोप्रति आपत्ति जनाइएको छ । कतिपयले सिरिज बहिष्कारको माग गरिरहेका छन् । यो विवादबीच भारतको सूचना तथा प्रसारण मन्त्रालयले नेटफ्लिक्सको भारतका कन्टेन्ट प्रमुखलाई स्पष्टीकरणका लागि बोलाएको छ ।

    यो वेब सिरिज ‘आईसी ८१४ ः द कान्दाहार हाइज्याक’ पत्रकार श्रीन्जय चौधरी र अपहरणमा परेका विमानका पाइलट क्याप्टेन देवी शरणले लेखेको पुस्तक ‘फ्लाइट इन फियरः द क्याप्टन्स स्टोरी’मा आधारित छ । विजय वर्मा, नसिरुद्दीन शाह, पंकज कपुर, अरविन्द स्वामी, मनोज पाहवा, अनुपम त्रिपाठी, दीया मिर्जा, पत्रलेखा, अमृता पुरी, दिव्यन्दु भट्टाचार्य र कुमुद मिश्रा मुख्य भूमिकामा छन् । यो श्रृंखला गत साता (२९ अगस्ट) मा रिलिज भएको थियो ।

  • आज कुशे औंसी, बुबाको मुख हेर्ने दिनका रुपमा मनाईंदै

    आज कुशे औंसी, बुबाको मुख हेर्ने दिनका रुपमा मनाईंदै

    काठमाडौं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ(आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

    आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ ।

    ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।
    बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    आजको दिन थोरै दान गरेपनि हजारौ‍ं गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । प्रत्येक वर्ष भाद्रकृष्ण औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारत समेतबाट हजारौं भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका छन् ।

  • थाइल्याण्डमा पाटाले गर्यो नेपाल प्रवर्द्धन

    थाइल्याण्डमा पाटाले गर्यो नेपाल प्रवर्द्धन

    थाइल्यान्डको बैंककमा आयोजित प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ट्राभल मार्ट २०२४ मा नेपाल प्रवर्द्धन गरिएको छ । नेपालबाट १८ निजी कम्पनीसहित पाटा नेपालले सहभागिता जनाएको थियो । पाटा ट्राभल मार्टमा ४५ वटा गन्तव्यबाट ९ सयभन्दा बढी प्रतिनिधि सहभागि थिए । २४ गन्तव्यका १६८ विक्रेता संस्थाबाट २६६ जना प्रतिनिधिका साथै ३१ स्रोत बजारका १७३ संस्थाबाट १९१ क्रेता प्रतिनिधि सहभागी भएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।


    पाटाको मुख्यालय थाइल्यान्ड स्थानान्तरणको २५औं वर्षको अवसरमा मार्टको ४७औं संस्करण थाइल्यान्डको राजधानी बैंककमास्थित ’क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टर’ मा आयोजना गरिएको थियो । पाटा नेपाल च्याप्टरले वर्ष २०२३–२४ मा पाटाको उद्देश्य र भावना अनुरूप पर्यटन क्षेत्रको प्रवर्द्धन, बजारीकरण र दिगो विकासका लागि सम्पन्न गरेका उत्कृष्ट गतिविधिहरूको सम्मानस्वरूप’ पाटा अवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरेको छ ।

    २८ अगस्टमा आयोजित पाटा गोल्ड अवार्ड प्रस्तुति समारोहमा नेपाल पर्यटन बोर्डको एसटीएलआर परियोजनाले समुदायमा आधारित पर्यटन विधामा पाटा गोल्ड अवार्ड र इन्टरपिड डीएमसी नेपाललाई ‘सस्टेनाबिलिटी एन्ड सोसियल रेस्पोन्सीबिलिटी’ विधामा ग्रान्ड टाइटल विजेता अवार्ड प्रदान गरियो ।

  • चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

    चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

    काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डिसी सत्तारुढ दल एमाले निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवम् चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् ।


    बोर्ड अध्यक्ष पदका लागि डिसीसँगै चलचित्र निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम सिफारिस भएको थियो । सिफारिस भएकामध्ये मन्त्रिपरिषद बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

  • लायन्स क्लब न्युयोर्कले “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” गर्ने

    लायन्स क्लब न्युयोर्कले “तीज बिशेष दर तथा नृत्य प्रतियोगिता” गर्ने

    न्युयोर्क ।

    न्युयोर्कमा नेपालीहरुले नेतृत्व गरेको २ वटा क्लबले “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” को आयोजना गर्दैछ । 
    आगामी अगस्ट ३१, शनिबार सॅाझ ६ः३० बजेदेखि १२ः०० बजेसम्म क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा नेपाली महिलाहरुको महापर्व हरितालिका तिजको बिशेष अवसरमा “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिताको आयोजना न्युयोर्कको क्विन्स, वुडसाईडस्थित सत्यनारायण मन्दिरको प्रांगणमा गर्न लागेको हो ।

    उक्त कार्यक्रम ब्यवस्थापनको सहजता एवम् आयोजनाको आर्थिक भार संस्थालाई कम होस् भनि अनुदान स्वरुप आमन्त्रित चेलिबेटी तथा पाल्नुहुने सबैको लागि समान लागू हुने गरी $२० शुल्क पनि राखिएको छ ।

    उक्त दिन तीज बिशेष दरको साथै नृत्य प्रतियोगिताको आयोजन हुनेछ, जहाँ न्युयोर्कका ७ संस्थाले एकल वा सामुहिक तीज गीत नृत्य प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । 
    नृत्य प्रतियोगितामा बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई, शिव बिक र न्युयोर्कमा रही बिगत २ दशकदेखि नृत्य गर्दै आएकी नृत्यंगना बसन्ती राई निर्णायकको भुमिकामा रहने छ ।

  • पाल्पाको ऐतिहासिक भगवती जात्रा आज, राष्ट्रपति जाने

    पाल्पाको ऐतिहासिक भगवती जात्रा आज, राष्ट्रपति जाने

    काठमाडौं । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज निकालिँदै छ । यस वर्षको रथ जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुँदैछन् । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको छ । कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरबाट धुमधामका साथ विजयोत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन छ ।

    तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथलाई विक्रम संवत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको थियो । युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको र त्ययसता प्रत्येक वर्ष विजयी उत्सवका रुपमा रथ यात्रा निकाल्न थालिएको थियो ।

    कर्णेल थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेका थिए । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जात्राको अवसरमा शुभकामना सन्देश दिँदै प्रदेशको समग्र विकासका लागि ऐतिहासिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउने योजना रहेको बताएका छन् । प्रदेशभित्रका १२ जिल्ला हिमाल, पहाड र तराई जोड्ने गरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेको बताएका हुन् ।

  • गौरा पर्व आज, सुदूरपश्चिममा धुमधामले मनाइदै

    गौरा पर्व आज, सुदूरपश्चिममा धुमधामले मनाइदै

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् ।

    सुदूरपश्चिमको मौलिका संस्कृतिको रुपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ(आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ । गौरा पर्वमा काम विशेष र रोजगारीका सिलसिलामा भारतलगायतका देशमा गएकाहरु फर्किएपछि गाउँघरहरु भरिभराज भएका छन् ।
    भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुआत गर्दछन् ।

    भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ ।
    भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ । भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो ९मन्त्रिएको एक किसिमको धागो० चढाउने चलन छ ।

    अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला ९आँगन०मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । आजको दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्थालगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुखदुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।

  • मंगलबार राष्ट्रपति पाल्पा जाने, के छ कार्यक्रम ?

    मंगलबार राष्ट्रपति पाल्पा जाने, के छ कार्यक्रम ?

    काठमाडौं । पाल्पास्थित भगवती रथयात्रामा पहिलोपटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रणजीरेश्वरी भगवतीको रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका हुन् । भगवती गुठीका अनुसार भगवती मन्दिरमा पूजा आराधना र रथयात्राको अवलोकेनका लागि लागि राष्ट्रपति पौडेलको उपस्थिति हु ने पक्का भएको छ ।

    नेपाल(अंग्रेज युद्धमा नुवाकोट जितगढीमा अंग्रेज सेनालाई पराजित गरेको खुसीयालीमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा भगवती जात्रा ९भगवतीको रथ यात्रा० निकाल्दै आइएको छ । यसपटक १०५ औं रथ यात्रा निकाल्ने तयारी जारी छ । तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथयात्रा विक्रम सम्वत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको थियो ।

    युद्धमा विजयपश्चात् १८७२ मा निर्माण थालनी गरी १८७६ सालमा तीन तले मन्दिर पूरा गरेको र त्ययसता प्रत्येक वर्ष विजयी उत्सवका रुपमा रथ यात्रा निकाल्न थालिएको थियो । कर्णेल थापा नेतृत्वको फौजले १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेका थिए । यसैबीच यस वर्षको भगवती रथ यात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लालाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    लुम्बिनी प्रदेश सरकार, आन्तिर मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै ११ गते मंगलबारको दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयको कानुन अधिकृत अस्मिता अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा पाल्पा जिल्लामा ११ गते भगवतीको जात्राको अवसरमा सार्वजनिक बिदादा दिइएको उल्लेख छ ।

  • श्रीकृष्ण जन्माष्टमी पर्व आज, हिन्दु धर्मावलम्बीले विश्वभर मनाउँदै

    श्रीकृष्ण जन्माष्टमी पर्व आज, हिन्दु धर्मावलम्बीले विश्वभर मनाउँदै

    काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ ।


    यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

    ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

    यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले शुभकामना सन्देश दिएका छन् ।

  • एनआरएनए न्युयोर्क च्याप्टरको मूल आयोजनामा हरितालिका तीज २०२४ हुने

    एनआरएनए न्युयोर्क च्याप्टरको मूल आयोजनामा हरितालिका तीज २०२४ हुने

    हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज पर्वको रौंनक घरदेशदेखि परदेशसम्म शुरू भइसेको छ । हिजोआज अरू जातिका महिलाले पनि यो चाड मनाउन थालेको पाइन्छ । मान्छे जति आधुनिक बने पनि जन्मसॅगै लिएर आएको संस्कार र संस्कृति छोड्न सक्दैन । हामी जहाँ गएपनि जहाँ रहेपनि हाम्रो संस्कार र संस्कृति हामीसॅगै गएको हुन्छ ।

    हिमालयपुत्री पार्वतीले भगवान शिवजी पतिको रूपमा पाउॅ भनी ब्रत बसेको र त्यसैअनुरूप शिवजीलाई पतिको रूपमा प्राप्त गरेको दिनलाई तीजको स्वरूप दिइएको भन्ने पौराणिक कथामा उल्लेख भएको पाइन्छ ।

    यही अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए) न्युयोर्क च्याप्टरको मूल आयोजनामा संयुक्त “हरितालिका तीज २०२४” कार्यक्रम आयोजना हुन गइरहेको छ।

    यसै क्रममा सह- आयोजक बाग्लुङ सेवा समाज अमेरिका, फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाली अमेरिकन कलाकार संघ,धादिङ नेपाली समाज अमेरिका र काभ्रे अमेरिका कल्याणकारी समाज न्युयोर्क रहेका छन्।

    विगतका वर्षहरूमा सत्यनारायण मन्दिरमा हुने गरेको यो कार्यक्रम दिदीबहिनीहरूको उल्लेख्य सहभागिता अनुसार हलको क्षमता कम भएकोले दिदीबहिनीहरूले भोग्नु परेको समस्यालाई ध्यानमा राखेर यो पटकको हरितालिका तीज कार्यक्रम दिव्यधाम मन्दिरमा हुन गइरहेको छ ।

    यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

    तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु हॅुदैन । यसो गर्नाले तीजको खास अर्थ र महत्व ओझेलमा पर्छ । यद्यपि तीज पर्वलाई हामीले परम्परागत् विधि र मान्यता अनुसार परिष्कृत गर्दे लैजानु पर्दछ ।

    यस बर्षको न्युयोर्केली तीज पनि गत बर्षहरु जस्तै भव्य, सभ्य र सांस्कृतिक हुने विश्वास लिएकी छु । सम्पूर्णमा सामाजिक, धार्मिक र सांस्कृतिक एक्यबद्दता र सद्भावको लागि मिलेर रमाएर तीज मनाउन आउनहुन समेत आमन्त्रण गर्दछु ।

  • आज गाइजात्रा, बागमती प्रदेशमा सार्वजनिक बिदा

    आज गाइजात्रा, बागमती प्रदेशमा सार्वजनिक बिदा

    काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ।

    एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

    यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

  • आज जनै पूर्णिमा र रक्षा बन्धन, विश्वभर नेपालीले मनाउँदै

    आज जनै पूर्णिमा र रक्षा बन्धन, विश्वभर नेपालीले मनाउँदै

    काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले आज दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने, डोरो बाँध्नुपर्ने र अन्यलाई साइत हेर्न नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    श्रावण शुक्ल पूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

    यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रका जानकार डा। वासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको उनले बताए ।

    तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गर्दछन् ।

    अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । डा। शास्त्रीका अनुसार वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।

    रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको चहलपहल छ ।

    यसैगरी रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा पनि बिहानैदेखि मेला लागेको छ ।

    नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

    जनैपूर्णिमाका विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाई ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

  • जनैपूर्णिमा अघि पहिलो पटक गोसाइँकुण्डमा पुर्याइयो बिजुली

    जनैपूर्णिमा अघि पहिलो पटक गोसाइँकुण्डमा पुर्याइयो बिजुली

    काठमाडौं\रासस । भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्‍याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ । धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् ।

    विसं २०३८ मा जिल्लामा विद्युत् सेवा विस्तार भएपनि गोसाइँकुण्डमा पहिलो पटक शुक्रबार विद्युत् लाइन सञ्चालन गरिएको हो । नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख सञ्जिप भट्टराईका अनुसार गणेश गौडा बुद्ध मन्दिर र गोसाइँकुण्डमा दुई सय भन्दाबढी बत्ती बालिसकिएको छ । यहाँ बिजुली पुर्‍याउन लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज विभाग, जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, गोसाइँकुण्ड गाउँपालिकालगायत सरोकार भएका निकाय तथा स्थानीयले सहयोग गरेका उनले बताए ।

    चन्दनबारीबाट कुण्डसम्म १४ किलोमिटर विद्युत् लाइन निर्माण गरी मेलालाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले बिजुली बत्ती पुर्‍याइएको प्रमुख भट्टराईले उल्लेख गरे । विद्युत् लाइन विस्तारसँगै खाना पकाउन तथा दैनिक कार्यमा सहजता अउनाका साथै वन पैदावारको व्यायभारमा शून्यता आई वन तथा वनस्पति संरक्षणमा सहयोग पुग्ने स्थानीयले बताएका छन् ।

    विद्युत् सेवा विस्तार भएसँगै तीर्थ जादाँ लेक लागेका यात्रुलाई शुक्रबारदेखि नै विद्युत्को सहायतबाट अक्सिजन दिन सुरू गरिएको गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घले जनाएको छ । सङ्घबाट खटाएका चिकित्सक टोलीले प्राथमिक उपचार सेवा प्रदान गरिरहेको बताउँदै शुक्रबार साँझसम्म एक सय ५० जना यात्रीलाई अक्सिजन दिइएको सङ्घका व्यवस्थापक प्रकाश खत्रीले जानकारी दिए ।

    शनिबार बिहान दुई हजार तीर्थयात्रीले सुलाद्री आरोहण गरिरहेका राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । तीर्थयात्रीको उपचारका लागि धुञ्चेको शिवमन्दिर चोकमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । साथै मिनि गोसाइँकुण्ड, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

    गोसाइँकुण्ड मेला भर्न आउने यात्रीको सुरक्षाका लागि एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन, बिरामी यात्रीको उद्धार गर्न उद्धार समूहको समेत व्यवस्था गरिएकाले निर्धक्कका साथ यात्रा गर्न सम्पुर्ण यात्रीलाई अनुरोध गरिएको प्रजिअ खनालले बताए ।

    गोरखनाथलाई गोसाइँकुण्डको पवित्र जलस्नान गराउन आवश्यक सुरक्षाका साथ गोरखनाथलाई शिरमा राखी आएका बाबाका समूह शनिबार बिहान सुलाद्री पर्वततर्फ प्रस्थान गरिसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए । भक्तजन आउने क्रम जारी रहेकाले ट्राफिक व्यवस्थापन पनि कडा परिएको उनले बताए ।

  • नेपथ्यको सुरमा झुल्दै अमेरिका

    नेपथ्यको सुरमा झुल्दै अमेरिका

    काठमाडौं । अमेरिका भ्रमणमा रहेको लोकरक ब्यान्ड ‘नेपथ्य’ ले क्यालिफोर्निया राज्यमा आफ्नो दोस्रो प्रस्तुति दिएको छ । ब्यान्ड सानफ्रान्सिस्कोको प्रसिद्ध ‘वारफिल्ड हल’ मा दोस्रो पटक प्रस्तुत भएको हो । ‘नेपथ्य’ ले आठ वर्षअघि उक्त हलमा प्रस्तुति दिएको थियो । गायक अमृत गुरुङले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट प्रस्तुति सुरु गरेका थिए ।

    कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’ हुँदै अगाडि बढेको कार्यक्रम ‘मै नाचे छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ गीतसँगै सकिएको थियो । कार्यक्रममा ब्यान्डका स्थापनाकालदेखि हालसम्मका नयाँ–पुराना गरी १७ वटा गीत प्रस्तुत गरिएका थिए ।

    कार्यक्रममा अमृतले दर्शकहरूलाई नेपाली भाषा र पहिचान जोगाएर बस्न आग्रहसमेत गरेका थिए । ‘विश्वकै अग्ला सांगीतिक हस्तीहरू उभिएको यसै मञ्चमा दोस्रो पटक भव्य र सभ्य दर्शकका अघि पाइला राख्न पाउँदा अनुगृहीत महसुस गरिरहेको छु,’ उनले भने, ‘म यो आर्जनलाई तमाम नेपाली संगीतप्रेमीहरूप्रति समर्पित गर्न चाहन्छु ।’

    कार्यक्रममा उपस्थित दर्शकहरू प्रस्तुत गीतसँगै निकै झुमेका थिए । गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

    ‘नेपथ्य’ को तेस्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यु’ मा अगस्ट १७ मा हुँदै छ । त्यसपछि क्रमशः डालस, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसबर्गमा कार्यक्रम हुने जनाइएको छ ।

  • आज साउने अन्तिम सोमबार, शिवालयमा घुइंचो

    आज साउने अन्तिम सोमबार, शिवालयमा घुइंचो

    काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।

    साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ।
    साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ। यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन्।