Category: मनोरञ्जन

  • विवाह बन्धनमा बाधिँइन् गायिका एलिना चौहान

    विवाह बन्धनमा बाधिँइन् गायिका एलिना चौहान

    काठमाडौं । गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले बागलुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् ।

    विष्णु जन्ती लिएर मंगलबारै झापा पुगेका थिए । उनी बागलुङबाटै गएका हुन् । हिजो उनीहरुको हल्दी र मेहन्दी समारोह भएको थियो ।

    विष्णु सापकोटा भने अष्ट्रेलियामा बस्दै आएका छन् । एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए ।

  • आज रामनवमी पर्व मनाईदैं

    आज रामनवमी पर्व मनाईदैं

    काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

    भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ”, उनले भने , “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्ने चलन छ ।”

  • आज चैते दशैं, देशैभर मनाइँदै

    आज चैते दशैं, देशैभर मनाइँदै

    काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । चैते दशैंमा पनि दहि–चिउरा खाने र देवीको पूजापाठ गर्ने चलन छ । काठमाडौं उपत्यका देवी मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ ।

    चैते दशैंमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । अष्टमीको दिन देवी उपासना र बलीसहित पूजा गरिन्छ । यसैगरी नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ । रामनवमीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ ।


    संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । यी दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविदहरु बताउँछन् ।

    राष्ट्रिय अभिलेखालयमा मध्यकालमा चारवटै दशैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाण पाउन सकिन्छ । राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख पाइन्छ । यसले मध्यकालमा सर्वसाधारणले समेत धुमधामका साथ चारवटै दशैं मनाउने गरेको प्रमाण दिन्छ ।

    अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदुर्गालाई चढाउने गरिन्छ ।

  • आँबु खैरेनीमा चल्न चाल्यो मोटरबोट

    आँबु खैरेनीमा चल्न चाल्यो मोटरबोट

    काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरी आइतबारदेखि मोटरबोटको व्यावसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बीबी (बिष्णु) ढकालले जानकारी दिए । ढकालका अनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो ।

    कम्पनीले थप लगानी गरी जलाशय किनारमा ’बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको हो ।

    आइतबार मोटरबोटको उद्घाटन गर्दै गण्डकी प्रदेशका विना विभागीयमन्त्री हरिबहादुर चुमानले विभिन्न अप्ठ्यारो छिचोल्दै मोटरबोट सञ्चालन गर्नमा सफल भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा अन्तरपालिका पर्यटन प्रवर्द्धनमा पालिकाहरु अग्रसर हुनुपर्नेमा चुमनले जोड दिए ।

    तनहुँकै अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरी र पहाडकी रानी बन्दीपुर जोड्ने बाटोको स्तरोन्नति गरी यस क्षेत्रको पर्यटन प्रवर्द्धन र ग्रामीण जीवन सहज बनाउने प्रदेश सरकारको योजना रहेको चुमानले बताए । ऐना पहरा, छिम्केश्वरी, होमस्टे लगायतका विभिन्न गन्तव्यको प्रवर्द्धन गर्दै पालिकालाई पर्यटकीय हब बनाउन लागि परेको आबुँखैरेनीले दुई वर्षको पहलपछि मोटरबोट सञ्चालन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

    मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ । मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ, १० देखि १२ मिनेटका लागि ५ सय रुपैयाँ र १५ देखि २० एक हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

  • मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ

    मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ

    काठमाडौं । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको मूल विधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि सोमबार बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ । जनकपुरधामको गंगासागर, अर्गजासरमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ । यसपटक पनि चैती छठको लागि गंगासागर र अर्गजासर दुल्ही झै सजाइएको छ । चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

    चारदिनसम्म मअत्यन्त नियम निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय(खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।

    आज सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखिनै ब्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठी माताको ध्यान गर्दै दिनानाथलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ । ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुने चलन छ । कात्तिकमा मनाइने छठ पर्व जतिको उल्लेख्य संख्यमा चैती छठपर्व मनाउनेको नभए भएपनि बर्सेनि संख्या बढ्दै गएको छ ।

  • आजबाट ठमेल र दरवारमार्ग २४ सै घण्टा खुला

    आजबाट ठमेल र दरवारमार्ग २४ सै घण्टा खुला

    काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरी उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए।

    उनले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए। ‘जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहेपनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्नेगरी बजार खुला रहन्छ,’ उनले भने। ‍ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको उनको भनाइ छ।

    प्रमुख जिल्ला अधिकारी बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ। ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ। ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ।

    रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएकोछ। उनले भगवान्वहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको बताए। ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ।

    यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाईन सवारी साधानको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताए। यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उक्त बजारलाई २४ सै घण्टा खुला गर्न लागिएको बताए। उनले व्यवसायको पाटोबाट गर्नुपर्ने आन्तरिक तयारी पुरा भएको उल्लेख गरे।

    दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले २४ सै घण्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।
    उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेको प्रमुख आतिथ्यतामा विभिन्न सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तिको उपस्थितिमा आज अपराह्न एक कार्यक्रम आयोजना गरी उक्त क्षेत्र चौबिसै घण्टा खुला राख्ने घोषणा हुनेछ।

  • आजबाट नयाँ वर्ष सुरु, २०८१ साल सुरु

    आजबाट नयाँ वर्ष सुरु, २०८१ साल सुरु

    काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

    नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।

    नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

    विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत् शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ ।

    विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासविदहरू बताउँछन् ।

  • विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौं’

    विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौं’

    काठमाडौं । ‘कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहितका कलाकार सवार कार दुर्घटनापछि रोकिएको प्रसारण आजदेखि प्रसारण हुने भएको छ । भण्डारीले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् । ‘जीवन एक भोगाई हो । मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ । सबै सिकाई र भोगाइको क्रम हो, दुई साता अगाडि म र मेरो टिमले गरेको गल्तीले म लगायत टिमका साथीहरू दुर्घटनामा पर्‍यौं भण्डारीले भनेका छन्’ । ‘दुर्घटनाले हामीलाई र विशेष गरि मलाई धेरै कुरा सिकाएको छ र झक्झकाएको छ’ उनले लेखेका छन्।

    चैत्र ८ गते राति भण्डारीसहित ६ जना चढेको बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा कारमा रहेका निर्देशक भण्डारीसहित, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका थिए ।

  • ‘जारी’को रेकर्ड तोड्ने बाटोमा ‘महाजात्रा’

    ‘जारी’को रेकर्ड तोड्ने बाटोमा ‘महाजात्रा’

    काठमाडौं । चैत ९ गतेबाट रिलिज भएको फिल्म ‘महाजात्रा’ भोलि शुक्रबारबाट चौथो सातामा प्रवेश गर्दैछ। तेस्रो सातामा आइपुग्दा फिल्मले १४ करोड ग्रस गरिसकेको छ। यो वर्ष सर्वाधिक ग्रसको रेकर्ड राखेको फिल्म ‘जारी’को कलेक्सनलाई चौथो सातामा भेट्ने निर्माण पक्षले दाबी गरेको छ।

    ‘महाजात्रा’ निर्देशक प्रदीप भट्टराईका फिल्म ‘शत्रु गते’ले बक्सअफिसमा १४ करोडको ग्रस कलेक्सन गरेको थियो। यो रेकर्डलाई ‘महाजात्रा’ले यसै साताबाट उछिन्ने करिब निश्चित छ। अब ‘जारी’को रेकर्ड तोड्ने बाटोमा ‘महाजात्रा’ देखिन्छ ।

    गत बैशाखमा आएको ‘जारी’ले सय दिन मनाउँदा १७ करोड १७ लाखमाथिको व्यापार गरेको थियो । ‘डिग्री माइला’का बावजूद पनि चौंथो हप्तामा ‘महाजात्रा’लाई पर्याप्त शोज मिलेको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरको ८ वटा हलमा कूल ३४ शोज दिएको छ । अन्य हलसहितको जोड्दा चौंथो हप्तामा पनि फिल्मले एक सय बढी शोज पाएको छ ।

  • आज इद उल फित्र, सार्वजनिक बिदा

    आज इद उल फित्र, सार्वजनिक बिदा

    काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
    ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ।

    हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

    ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

  • बिस्केट जात्रा आजबाट, ९ दिनसम्म चल्ने

    बिस्केट जात्रा आजबाट, ९ दिनसम्म चल्ने

    काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ । जात्राका लागि अत्यावश्यक भैरव र भद्रकालीको रथ निर्माण लगायतका सबै तयारी पूरा भएको गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन् ।

    सरकारी पूजा बिहान ११ बजे र सर्वसाधारणको पूजा दिउँसो ३ बजेभित्र सकेर दिउँसो ३ बजेदेखि भैरवको रथ तान्न सुरु गर्ने योजना रहेको उनले जानकारी दिइन् । दिउँसो ३ बजेदेखि रथ तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने तयारी छ । गुठी संस्थान भक्तपुरले रथयात्राको सम्पूर्ण खर्च व्यवस्थापन गरेको छ ।

    लिच्छवीकालदेखि सुरु भएको बिस्केट जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गर्ने परम्परा छ । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ ।

    चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्राएपछि बिस्केट जात्रा सुरु हुने परम्परा छ । रथ तान्ने क्रममा टोलवासीबीच ढुंगा हानाहान र झडप हुने गरेकाले शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ । जात्रालाई मर्यादित बनाउन मदिरा बिक्रीवितरणमा रोक समेत लगाइएको छ । जात्रा सुरु हुनुपूर्व शान्ति र सद्भावको कामना गर्दै भक्तपुर नगरपालिकाले बिहान दत्तात्रय मन्दिरदेखि न्यातपोलसम्म र्‍याली आयोजना गरेको छ ।

  • बराह क्षेत्रमा आजबाट सुरु हुँदैछ कुम्भ मेला, राष्ट्रपति जाँदै

    बराह क्षेत्रमा आजबाट सुरु हुँदैछ कुम्भ मेला, राष्ट्रपति जाँदै

    काठमाडौं । धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर चतरामा पुग्ने र महाकुम्भ मेला उदघाटन गर्ने कार्यक्रम छ । त्यहाँ करिब तीन घण्टा बिताएर राष्ट्रपति पौडेल उदयपुर हुँदै काठमाडौं फर्किने छन् । महाकुम्भ मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको व्यवस्थापन, सुरक्षा प्रबन्ध लगायत सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

    हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२–१२ वर्षको अवधिमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठूलो मेलाको रुपमा परिचित छ ।

    कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतलाई समेत निमन्त्रणा गरिएको छ । मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाकोसमेत सहभागिता रहने बताइएको छ ।

    भारतका बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र शास्त्री पनि आउँदो वैशाख ५ गते चतरा आउने कार्यक्रम तय भएको छ । कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकसमेत गरी दुई हजार बढी सुरक्षाकर्मीहरू खटाइएको छ ।

    मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भण्डारा, बसपार्क लगायतको व्यवस्था गरिएको छ । भक्तजनका लागि खाने, बस्ने र बिरामी हुँदा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।

  • जुगल हिमालमा पहिलो पटक आरोहण हुँदै, कोरियन र नेपाली आरोही जाने

    जुगल हिमालमा पहिलो पटक आरोहण हुँदै, कोरियन र नेपाली आरोही जाने

    काठमाडौं । जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विशेष रुपमा मनाइने भएको छ । पाल सरकारले २८ चैत २०७९ मा सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गरेको थियो । यो हिमालको पहिलो आरोहणका लागि ३ नेपाली र ७ जना दक्षिण कोरियाली सहभागी टिम जाने भएको छ । टोली २४ चैतका दिन प्रस्थान गर्ने नेपाल पर्वतारोहण संघले जानकारी गराएको छ ।

    टोलीमा कोरियाली विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अमहोङ गिलले नेतृत्व गर्दैछन् । नेपालको तर्फबाट कीर्तिमानी आरोही तथा संघका प्रथम उपाध्यक्ष दावा याङजुम शेर्पाले नेतृत्व गर्ने भएका छन् । यो टोलीले १३ वैशाख २०८१ मा चुचुरो चढी काठमाडौं फर्कने योजना बनाएको छ । यो आरोहणलाई नेपाल सरकार, पर्यटन बोर्डले समेत सहयोग गर्ने भएका छन् । यसअघि सरकारले हिमाल आरोहणमा लाग्ने रोयल्टी दस्तुर मिनाहा गरेको थियो ।

    शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टोलीलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्दैछन् । हिमाल आरोहणसँगै ५० जना कोरियाली पदयात्री जुगल हिमाल क्षेत्रको पदयात्रामा जाने भएका छन् । यसले नेपालको पर्यटनमा समेत योगदान गर्ने भएको छ । १६ वैशाखका दिन टोलीलाई काठमाडौंमा सम्मान गरिने भएको छ ।

  • क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै

    क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउनु हुने भएको छ । शुक्रवार बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा क्वार्ज क्रिष्टल प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा आउन लागेको गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिएका छन् ।

    क्वार्ज क्रिष्टल बहुचर्चित हिराको धातु भएकाले यसको ऐतिहासिक महत्व छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट क्रिष्टल राख्ने काम हुने भएको छ । गत असार १४ गते गोरखा नगरपालिका–७ सतिपिपलका राममाया शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो ।

    त्यही क्र्वाज क्रिष्टललाई जिल्ला प्रहरी कार्यालयबाट बाजागाजा सहित बजार परिक्रम गराउँदै दरबार लैजाने कार्यक्रम रहेको छ । गोरखा नगरपालिकाले बजेट विनियोजन गरे सँगै अहिले क्वार्ज क्रिष्टल राख्नको लागि मजबुत खालको सिसाको बक्स बनाइएको छ । पारदर्शी सिसाबाट बनेको उक्त बक्स ३ फिट लम्बाई, २ फिट चौडाइ र २ फिट उचाइको हुन्छ ।

    त्यस क्वार्ज क्रिष्टल राख्नको लागि काठबाट बनेको ऐतिहासिक, पुरातात्त्विक झल्को दिने गरी बुट्टा कुदिएको टेबल निर्माण गरिएको छ । टेबुल मुनिको विद्युतीय प्रकाश क्वार्ज क्रिष्टलाई आकर्षण बनाइएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको गद्दी र धार्मिक र पुरातात्त्विक महत्वका क्वार्ज क्रिष्टल एकै ठाउँमा राख्दा यसले पर्यटन प्रबद्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

  • गायक राजेश पायल राई प्रहरी नियन्त्रणमा

    गायक राजेश पायल राई प्रहरी नियन्त्रणमा

    काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् । राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिएका छन् ।

    गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ । गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • ज्याकलिन फर्नान्डिज नेपालमा

    ज्याकलिन फर्नान्डिज नेपालमा

    काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । त्रिभुवन विमानस्थलमा ज्याकलिनलाई आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरे । रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् । ज्वेलर्सका अध्यक्ष महर्जनले नेपाली गहनलाई अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्न ज्याकलिनको उपस्थितिले महत्वपूर्ण सन्देश दिने बताए ।

  • तराई-मधेशमा आज होली पर्व, सार्वजनिक बिदा

    तराई-मधेशमा आज होली पर्व, सार्वजनिक बिदा

    काठमाडौं । रंगहरूको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा आइतबार नै होली मनाइएको थियो । पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।

    हिमाली र पहाडी जिल्लाहरुमा भने आइतबार सार्वजनिक बिदा थियो । त्यसो त तराई मधेशमा दिनदिनै होली पर्वको रौनक छ । आइतबारदेखि सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेशमा छ । प्रदेशका आठवटै जिल्लाका उत्तरवर्त्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते (पहाडी) मूलका हिन्दू समुदायले आइतबार नै होली मनाएका छन् ।

    साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूणिर्मा सकिएर लाग्ने प्रतिपदा तिथिमा होली खेल्ने परम्परा छ । यसअनुसार तराई मधेशका अधिकांश ठाउँमा सोमबार (आज) होली पर्व मनाइँदैछ । मिथिलाको माध्यमिकी परिक्रमा क्षेत्रभित्र अन्तगृह परिक्रमा सम्पन्न गरिएपछि त्यसको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ । यसअनुसार सोमबार अन्तगृह परिक्रमा गरिएपछि मंगलबार होली खेलिनेछ ।

    स्थानअनुसार मनाइने होलीको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेगमा ‘फागु पूणिर्मा’ र तराई(मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई-मधेशका अधिकांश क्षेत्रमा पूणिर्माको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ ।

    पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ(आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।

    हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।

  • होली खेल्ने क्रममा झण्डै १ सय जना पक्राउ

    होली खेल्ने क्रममा झण्डै १ सय जना पक्राउ

    काठमाडौं । होली मनाउने क्रममा जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा ८३ पुरुष र ९ महिला काठमाडौंबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी दीपेश बस्यालका अनुसार पक्राउ परेकाहरूलाई अवस्था हेरेर आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।

    त्यसैगरी काठमाडौंबाट मादक पदार्थ सेवन गरेर चलाइएका २९५ वटा २ पांग्रे सवारी (मोटरसाइक–स्कुटर) र ७ वटा ४ पांग्रे सवारी गरी ३०२ थान सवारी साधन नियन्त्रणमा लिइएको छ । अन्य अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ । होलीलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो । ट्राफिक चेकिङदेखि सादा पोशाकमा प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।

  • प्रधानमन्त्री भन्छन् : होलीले समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिन्छ

    प्रधानमन्त्री भन्छन् : होलीले समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिन्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्ने समेत बताए ।

    ‘पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई-मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा -होलीपर्व_को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘होलीपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु ।’

    असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होलीपर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनको भनाइ छ ।

    ‘नेपाली समाजमा विद्यमान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले हाम्रो राष्ट्रिय स्वाभिमान र गौरवलाई मात्रै स्थापित गरेका छैनन्, एकले अर्काको पहिचान, स्वाभिमान र संस्कृतिलाई सम्मान र आत्मसात् गर्ने राष्ट्रिय संस्कृतिको विकाससमेत गरेका छन् । रङहरूको पर्वका रूपमा स्थापित होलीपर्व पनि त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ’, शुभकामना सन्देशमा उनले भनेका छन् ।

    प्रधानमन्त्री दाहालले भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर्वहरू एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रूपमा स्थापित भएको बताएका छन् । उनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपलीको साझा पहिचान भएको बताउँदै प्रत्येक जातजाति र धर्मावलम्बीका आ(आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको समेत उल्लेख गरेका छन् ।

    ‘हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ(आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन्’, शुभकामना सन्देशमा उनले भनेका छन् ।

  • होलीमा राष्ट्रपतिको सन्देशः राष्ट्रिय एकता थप मजवुत बनोस

    होलीमा राष्ट्रपतिको सन्देशः राष्ट्रिय एकता थप मजवुत बनोस

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागुपूर्णिमा (होलीपर्व) को शुभकामना दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै होलीले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने बताएका छन् ।

    उनले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् । उपराष्ट्रपति यादवले आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होलीपर्व शालिनता, परस्पर मेलमिलाप र आत्मीयता अभिवृद्धि गर्ने अवसर भएको बताएका छन् ।

    बहुआयामिक महत्व बोकेको यस पर्वका ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई नयाँ पिँढीमा हस्तान्तरण गर्ने र यसका सकारात्मकतालाई अङ्गीकार गर्दै यसलाई जीवन्त बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

  • आज होली, पहाडी भेगमा सार्वजनिक बिदा

    आज होली, पहाडी भेगमा सार्वजनिक बिदा

    काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो ।

    स्थानअनुसार मनाइने होलीको नाम पनि फरक(फरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई(मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।

    सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।

  • होलीमा कसरी हुँदैछ राजधानीको सुरक्षा व्यवस्थापन ?

    होलीमा कसरी हुँदैछ राजधानीको सुरक्षा व्यवस्थापन ?

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्व (होली)लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा कडाइ गर्ने भएको छ ।
    उपत्यकाका सडकहरूमा अधिकतम ट्राफिक प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइ गर्ने तयारी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताएका छन् । उनका अनुसार होली पर्व मनाउने क्रममा हुने दुर्घटना न्यूनीकरणका लागि यस वर्ष काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ ।

    यसका साथै ३० वटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ति तथा चेक प्वाइन्टसमेत राख्ने तयारी गरिएको छ । सुरक्षा योजना अनुसार मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गरिनेछ । यसका लागि करिब एक हजार जना ट्राफिक प्रहरी खटिने एसएसपी श्रेष्ठले बताए । अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाइ गरी ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेमाथि निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

    विशेषगरी मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो-हल्ला गर्ने, झै-झगडागर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने एसएसपी श्रेष्ठले बताए ।

  • ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने तयारी

    ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने तयारी

    काठमाडौं । ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले २४ घण्टा ठमेल र दरबारमार्ग खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी गरेको हो । ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुल्ला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना समेत बनाउन सुरु गरेको छ ।

    ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै खुला हुन्छ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गछौं ।’

    ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैं घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ । हाल दुबै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

  • ज्याकलिन फर्नान्डिज नेपाल आउने

    ज्याकलिन फर्नान्डिज नेपाल आउने

    काठमाडौं । गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा ज्वेलरी फेसन रनवे हुन लागेको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन् ।

    सोही रनवेका लागि आउन लागेका मोडल किम गुडबर्नले पुरुष डायमण्ड कलेक्सन प्रस्तुत गर्ने जनाइएको छ । यो कार्यक्रमबारे सार्वजनिक गरिएको भिडियो सन्देशमा ज्याकलिनले आफू नेपाल आउन लागेकोमा उत्साहित रहेको बताएकी छन् ।

    ज्याकलिन आउने खबरसहित आरबी डायमण्डले लोगो पनि सार्वजनिक गरेको छ । आरबीले सोही कार्यक्रममा व्यावसायिक दूतको रुपमा चर्चित कन्टेन्ट क्रिएटर रेहान श्रेष्ठलाई नियुक्त गरेको छ । ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनले नेपाली गहनलाई अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्न ज्याकलिनको उपस्थितिले महत्वपूर्ण सन्देश दिने बताए ।

  • ओली र राजेश हमालबीच सिनेमा संवाद हुने

    ओली र राजेश हमालबीच सिनेमा संवाद हुने

    काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ ।

    नेता र अभिनेताबिचको संवाद राष्ट्रिय सभागृहको हलमा निःशुल्क अवलोकन गर्न पाइने छ । चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिए ।

    महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्ने, नम्रता शर्माले चलचित्रमा लैङ्गिक असमानताले पारेको प्रभावका बारेमा र अभिनेतृ रिमा विश्वकर्माले गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्ने कार्यक्रम रहेको छ । बिहीबार सुरु भएर सोमबार समापन हुने महोत्सवमा दुवै छलफलका कार्यक्रम आइतबार पर्यटन बोर्डको हलमा हुने छ ।

    छलफलका शृङ्खला अन्तर्गत नै शनिबार प्रविधिविज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्न सक्ने असरका बारेमा एकल प्रस्तुति दिने कार्यक्रम रहेको छ । शनिबार नै फिल्म समीक्षक प्रभाकर गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुङ्गानासँग ‘समीक्षा ताली कि गाली’ शीर्षकमा बहस चलाउने छन् ।

    शुक्रबार भने चलचित्र पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसर शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउने कार्यक्रम रहेको छ । गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ को प्रदर्शनसँगै यो सालको निफ सुरु गरिने कार्यक्रम रहेको छ । यस पटकको संस्करणमा ४० देशका ८८ चलचित्र देखाइने जानकारी दिइएको छ ।

  • ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व

    ओस्कारमा ‘ओपेनहाइमर’को वर्चस्व

    काठमाडौं । ९६ औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’ले धुम मच्चाएको छ । आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले ७ विधामा जित हाँसिल गर्यो । फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने जुनियरले पहिलो ओस्कारको रुपमा यो फिल्मबाट सहायक अभिनेतामा बाजी मारे । ‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो ।

    यस्तो छ सर्वश्रेष्ठ सूची

    फिल्म: ओपेनहाइमर
    निर्देशक: क्रिस्टोफर नोलन (ओपेनहाइमर)
    अभिनेता: किलियन मर्फी (ओपेनहाइमर)
    अभिनेत्री: एम्मा स्टोन (पुअर थिंग्स)
    सहायक अभिनेता: रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)
    सहायक अभिनेत्री: द–भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
    एडप्टेड स्क्रिनप्ले:अमेरिकन फिक्सन
    ओर्जिनल स्क्रिनप्ले:एनाटोमी अफ अ फल
    छायांकन: ओपेनहाइमर
    ओर्जिनल सङ: बिली एलिस (बार्बी)
    कस्ट्युम डिजाइन: पुअर थिंग्स
    ध्वनी: द जोन अफ इन्ट्रेस्ट
    ओर्जिनल स्कोर:ओपेनहाइमर
    डकुमेन्ट्री फिचर: ट्वेन्टी डेज इन मौरिपल
    अन्तर्राष्ट्रिय फिचर: द जोन अफ इन्ट्रेस्ट
    मेकअप एण्ड हेयरस्टाइलिङ: पुअर थिंग्स
    प्रोडक्सन डिजाइन:पुअर थिंग्स
    सम्पादन: ओपेनहाइमर
    भिजुअल इफेक्ट:गोडजिला माइनस वन

  • शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार आज, देशभर सार्वजनिक बिदा

    शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार आज, देशभर सार्वजनिक बिदा

    काठमाडौं । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होछार मनाउँदैछन् । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ ।

    यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् । ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।


    शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

  • महाशिवरात्रीमा पशुपतिमा मात्र ४ हजार सुरक्षाकर्मी

    महाशिवरात्रीमा पशुपतिमा मात्र ४ हजार सुरक्षाकर्मी

    काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरेर सुरक्षाकर्मी परिचालन गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार प्रहरी जनशक्ति विहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीको नेतृत्वमा टोली खटिने छ । पशुपति क्षेत्रमा हुन सक्ने अवान्छित गतिविधिलाई ड्रोनबाट समेत निगरानीको व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्रमा आपतकालीन उद्धार टोली र एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ ।

  • नेपाली सेना दिवस आज, टुडिखेलमा विशेष कार्यक्रम

    नेपाली सेना दिवस आज, टुडिखेलमा विशेष कार्यक्रम

    काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

    नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

    सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती पनि हुनेछ ।

    जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको बताएका छन् । सङ्गठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उनले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराँउदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नविर्सन सुझाव दिएका छन् ।

  • महाशिवरात्रीमा पशुपतिको भिआइपी पास बन्द

    महाशिवरात्रीमा पशुपतिको भिआइपी पास बन्द

    काठमाडौं । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ । विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो । त्यसका लागि तीलगंगातर्फको मार्ग प्रयोग गरिन्थ्यो ।
    तर यसपटक भीआईपी पास बन्द गरिएको र तीलगंगा मार्गलाई भक्तपुर, ललितपुर र पूर्वतर्फबाट आउने भक्तजनहरुको सहजताका लागि प्रयोग गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार क्षेत्रीले जानकारी दिए ।

    पशुपतिनाथ मन्दिर दर्शनका लागि आज बिहान २ बजेदेखि नै खुला गरिएको छ । पहिले चार वटा ढोकामा चारवटा ¥याम्प दर्शनका लागि प्रयोग हुन्थ्यो भने यसपालि फरक छ । उत्तरतर्फ तीनवटा ¥याम्प बनाइएको छ । यसैगरी पूर्व, पश्चिम र दक्षिणतर्फबाट दुई–दुईवटा र्याम्प बनाइएको छ । बौद्ध, साँखु, सुन्दरीजलतर्फबाट आउने व्यक्तिहरुका लागि गुह्येश्वरी भन्दा माथि यातायात कार्यालयसँगै रहेको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ । यसका लागि आठ नम्बर वडा कार्यालयसँग समन्वय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।