Category: मनोरञ्जन

  • महाशिवरात्री पर्व आज, शिवमन्दिरमा भीड

    महाशिवरात्री पर्व आज, शिवमन्दिरमा भीड

    काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ ।

    आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ । आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दै छ ।

  • पशुपतिनाथमा शिवरात्रीको तयारी कस्तो छ ?

    पशुपतिनाथमा शिवरात्रीको तयारी कस्तो छ ?

    काठमाडौं । महाशिवरात्रि पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात उपसमिति गठन गरी काम अन्तिम चरणमा पुर्याएको छ । कोषले महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवम् धार्मिक कार्यक्रम, सजावट तथा मेला बजारलाई निर्बाधरूपमा सञ्चालन गर्ने जनाएको हो ।


    यसैगरी महाशिवरात्रिका दिन राति २ बजेदेखि पशुपतिनाथ मन्दिरको चार वटै ढोका खोली भक्तजनलाई सहज दर्शन गराइने कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए । उनले यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको जानकारी दिए ।

    पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ । महाशिवरात्रिका दिन पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना सवयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुनेछन् ।

  • अब विराटनगरमा राती १२ बजेसम्म होटेल खुल्ने

    अब विराटनगरमा राती १२ बजेसम्म होटेल खुल्ने

    काठमाडौं । विराटनगर महानगरपालिका भित्र अब रातको १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । यसअघि १० बजेपछि नै बन्द गर्नुपर्ने बाध्यता थियो । सरोकारवालाको बैठकले अब १२ बजेसम्म होटल व्यवसाय चलाउन पाइने गरी समय तोकेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि पटक(पटक महानगरलाई आग्रह गर्दै आएका थिए । व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक राखेको थियो ।

    बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ ।

  • अमेरिकाका १४ शहरमा नेपाली कमेडी कलाकारले दिए प्रस्तुती

    अमेरिकाका १४ शहरमा नेपाली कमेडी कलाकारले दिए प्रस्तुती

    काठमाडौं । अमेरिकाका विभिन्न सहरमा नेपाली हास्यव्यंग कलाकारले दर्शकलाई हँसाएका छन्। फ्लाई नेपाको आयोजनामा अब हाँस्छ अमेरिका शीर्षकमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा हास्यकलाकार सन्दिप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णु प्रसाद पौडेल), साजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुअरी २४ सम्म अमेरिकाको विभिन्न १४ सहरमा प्रस्तुती दिएका हुन् ।


    उनीहरूले जनवरी १२ मा नर्थ क्यारोलिना, १५ मा मिचिगन, २० मा न्यूयोर्क, २१ मा कनेक्टीक्युट, २२ मा बोस्टन, २९ मा रोचेस्टर् न्युयोर्क मा प्रस्तुती दिएका थिए। यस्तै फेब्रुअरी २ मा ह्युस्टन, ३ मा डालस टेक्सास, ९ मा लस एन्जल्स, १२ मा सन फ्रान्सिस्को, १६ मा भर्जिनिया, १७ मा ह्यारिसवर्ग पेन्सिलभेनिया, १८ मा बाल्टिमोर, मेरिल्याण्ड र २४ मा कोलम्बस, ओहायोमा आफ्नो प्रस्तुती दिएका हुन्। अमेरिकाको हरेक कार्यक्रममा सफलताका साथ सम्पन्न भएको संयोजक विनोद अधिकारीले जानकारी दिएका छन् । अमेरिकाको पूर्वदेखि पश्चिमसम्म रहेका नेपालीबीच पुग्न सफल भएको उनले बताए ।

  • भरतपुर भ्रमण वर्षको उद्घाटन १८ फागुनमा हुँदै

    भरतपुर भ्रमण वर्षको उद्घाटन १८ फागुनमा हुँदै

    काठमाडौं । चितवनको भरतपुर महागनरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को औपचारिक उद्घाटन फागुन १८ गते गर्ने तयारी गरेको जनाएको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर भरतपुर भ्रमण बर्षको बारेमा जानकारी गराउँदै करीव ५० हजार मानिसहरु उद्घाटन समारोहमा सहभागी हुने दावी गरेको छ । घुमौं भरतपुर भन्ने नाराका साथ शुभारम्भ गर्न लागिएको भ्रमण बर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने र उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्रीहरु, प्रदेश प्रमुखहरु, मुख्यमन्त्रीहरु, सांसदहरुसहितका विशिष्ट ब्यक्तिहरु उपस्थित हुने महानगरले जनाएको छ ।

    उद्घाटन समारोहमा राष्ट्रिय कलाकारहरू बद्री पंगेनी, राजु परियार, एलिना चौहान लगायतको प्रस्तुति रहनेछ भने, विभिन्न सांस्कृतिक झाँकीहरु प्रर्दशनी गरिने महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । महानगरपलिकाका २९ वटै वडाका वडाध्यक्षहरुको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न समाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुने नगर प्रमुख दाहालले जानकारी दिइन् ।

    भ्रमण बर्ष सफल बनाउन महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा ७ सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, सल्लाहकार समिती, विभिन्न ३० वटा उपसमितिहरु गठन गरिएको छ ।

    महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइ अवधि बृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले भ्रमण बर्ष आयोजना गरिएको जनाएको छ । भ्रमण बर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको नगर प्रमुख दाहालले बताइन् ।

    भरतपुर भ्रमण बर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा बर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुने महानगरका पर्यटन विज्ञ विश्व सुवेदीले बताए । भ्रमण बर्षमा करीव २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटकहरूले भरतपुर भ्रमण गर्ने अपेक्षा महानगरको छ । महानगरपालिकालका ७ बटा प्रमुख सहित २२ बटा पर्यटकीय गन्तब्यहरुको भ्रमण गर्न सकिने गरी प्रचारप्रसार गरिएको छ ।

    भरतपुरलाई चिनाउँदै यहाँ आर्थिक सम्भावनाको खोजी, लगानीको वातवरण निर्माण गर्न पनि भ्रमण बर्ष महत्वपूर्ण कोशेढुंगा हुने अपेक्षा राखिएको नगर प्रमुख दाहालले बताइन् । भ्रमण बर्षमा आउने पर्यटकलाई सेवा प्रदान गर्न महानगरपालिका भित्र होटलहरुमा ७ हजार ५ सय र सौराहादेखि गैंडाकोटसम्म १५ हजार वेड तयारी अवस्थामा राखिएको पर्यटन विज्ञ सुवेदीले बताए । भ्रमण बर्षमा आउने पाहुनाहरुलाई लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा घोषणा गरेका छन् र यो क्रम जारी नै छ ।

    भ्रमण बर्ष भरी सञ्चालन गरिने विविध गतिविधीहरुले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको पर्यटन विज्ञ सुवेदीले बताए ।

    भ्रमण बर्ष अवधिभरि अन्तर्राष्ट्रिय सफारी मार्ट, जङ्गल फेस्टिबल, युवा सम्मेलन, अन्तर्राष्ट्रिय लगानी सम्मेलन, साहित्य कार्यक्रम, हेरिटेज, म्याराथन, सेमिनारहरूको आयोजना, राजदूत, लेखक, ब्लगरहरूको भ्रमण, ट्राभल एजेन्सी, टुर अपरेटरहरूको सम्मेलन, विज्ञ समूह सहितको कार्यशाला गोष्ठी, खेलकूद प्रतियोगिताहरू, पर्यटन तथा वातावरणसँग सम्बद्ध दिवसहरू, जातीय सांस्कृतिक कार्यक्रम, फुड फेस्टवल जस्ता क्रियाकलापहरु सञ्चालन हुने पर्यटन विज्ञ सुवेदीले बताए ।

  • नेपालका ३४ विमानस्थलमा टेलिकमको निशूल्क वाइफाई हुने

    नेपालका ३४ विमानस्थलमा टेलिकमको निशूल्क वाइफाई हुने

    काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच ११ फागुनमा फ्री वाइफाइ इन्टरनेट सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    सहमति अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाइ नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्री वाइफाइ इन्टरनेट सेवा सञ्चालन गर्नेछ । त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।

    फ्री वाइफाइ नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनका लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ । त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्री वाइफाइ सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ ।

  • राष्ट्रपति आज बागलुङ र अछाम जाँदै

    राष्ट्रपति आज बागलुङ र अछाम जाँदै

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ र अछाम जाने भएका छन् । राष्ट्रपति पौडेल बागलुङको सर्वसिद्धिधाम पञ्चकोट जाने कार्यक्रम छ । बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन् । बिहान ९ बजेर तीस मिनेटमा राष्ट्रपति पौडेल पञ्चकोट जाने महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिएका छन् । राष्ट्रपति आउने भएपछि बागलुङको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति पौडेलबाट पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको उद्घाटन, यज्ञ मण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

    आजै राष्ट्रपति पौडेल अछाम जाने भएका छन् । नेपालको चार धाम मध्यको एक वैद्यनाथ धाममा बिहीबार देखी सुरु हुने कोटि होम महायज्ञको उद्घाटनका लागी अछाम जान लागेका हुन् । जिल्लाको साँफेबगर नगरपालिका १ मा आजदेखि १४४ वर्ष पछि सुरु हुन लागेको कोटिहोम महायज्ञ शिवरात्रि सम्म चल्ने छ । राष्ट्रपति पौडेल आउने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको छ । कोटिहोम महायज्ञको तयारी पुरा भएको प्रचारप्रसार समिति संयोजक शिवबहादुर कुँवरले जानकारी दिएका छन् । वैद्यनाथ धाममा हरेक ६ वर्षमा लक्ष होम सहितको अर्ध कुम्भ मेला , हरेक १२ वर्षको अन्तरमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला र १४४ वर्षको अन्तरमा कोटि होम महायज्ञ सहितको महाकुम्भमेला लाग्छ ।

  • आगामी वर्षको दशैं असोज २६ गते

    आगामी वर्षको दशैं असोज २६ गते

    काठमाडौं । २०८१ सालको दशैंको टीका असोज २६ गते परेको छ । तिहारको भाइटीका कात्तिक १८ गते परेको छ । यसैगरी, असोज १७ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुनेछ । २४ गते बिहीबारदेखि असोज २८ गते सोमबारसम्म अर्थात् फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा छ । यस्तै, आगामी वर्षका बिदाहरु सार्वजनिक गर्दै सरकारले तिहारका लागि भने कात्तिक १५ गतेदेखि १९ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने भएको छ ।

    सरकारले आगामी वर्ष कुल ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।

  • सरस्वती पूजामा राष्ट्रपतिको सन्देश: नवीन खोजमा प्रेरित गरोस

    सरस्वती पूजामा राष्ट्रपतिको सन्देश: नवीन खोजमा प्रेरित गरोस

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रूपमा रहेको बताएका छन्। सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताए।

    सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रुपमा पुजिने बताउँदै राष्ट्रपति पौडेलले आजका दिन आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उल्लेख गरेका छन्। ‘सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ। नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ, राष्ट्रपति पौडेलले शुभकामना भनेका छन्।

    उनले वसन्त पञ्चमी पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्दै सबै नेपालीमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना पनि व्यक्त गरेका छन्। आजका दिनलाई सरस्वती जन्मोत्सवको रूपमा पनि मनाइने उल्लेख गर्दै उनले वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाएको बताएका छन्।

    राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा शुभकामना व्यक्त गरेका छन् ।

  • आज श्रीपञ्चमी, सरस्वती देवीको पूजा–अर्चना

    आज श्रीपञ्चमी, सरस्वती देवीको पूजा–अर्चना

    काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चनासहित श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ। ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू पनि सहभागी हुने चलन छ ।

    यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा(आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । आजको दिन विद्यालयहरूले सरस्वती पूजा कार्यक्रम गरेका छन् ।

    संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग(कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।

  • मेनुका पौडेललाई राष्ट्रपतिको सम्मान

    मेनुका पौडेललाई राष्ट्रपतिको सम्मान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को उत्कृष्ट दशमा परेकी गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।
    सोमबार शितल निवासमा राष्ट्रपति पौडेलले गायिका मेनुकालाई सम्मान गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च बनाएको बताएका थिए। ‘मेहनत र अभ्यासले मानिसलाई सफल बनाउँछ,’ उनले भने।

  • आज सोनाम ल्होसार, देशभर मनाइंदै

    आज सोनाम ल्होसार, देशभर मनाइंदै

    काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

    भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।

  • फागुन १ गतेदेखि गोपीकृष्णहल बन्द हुने

    फागुन १ गतेदेखि गोपीकृष्णहल बन्द हुने

    काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। मूभिजका प्रवन्ध निर्देशक निरक पौडेलको शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै यो कुराको जानकारी दिएका हुन् ।
    ‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा चलचित्र निर्माण, प्रर्दशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा ब्यक्त गर्न सकिन्न नै, पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

  • राजनीतिक विश्लेषक प्रेमकृष्ण श्रेष्ठको ‘थ्वं छ खोला‘ आउँदै

    राजनीतिक विश्लेषक प्रेमकृष्ण श्रेष्ठको ‘थ्वं छ खोला‘ आउँदै

    किर्तिपुर

    नेवारी गीतको बजार अहिले राम्रो हुँदै गएको छ । ‘सालुगु गाचा’ र ‘अयला लुवया’ पछि सांगीतिक फडको लिएको बजारमा अहिले नेवारी गीतको संख्या बढदै गएको छ । यही मेसोमा राजनीतिक विश्लेषक तथा गीतकार प्रेमकृष्ण श्रेष्ठको शब्द र गायक ईश्वर मागियाको नयाँ नेवारी गीत ‘थ्वं छ खोला’ बजारमा आउने तर्खरमा छ । नेपाली भाषाको गायकहरु पनि विस्तारै नेपाल भाषाको गीतमा प्रवेश गर्नुलाई सुखद पक्षको रुपमा लिन सकिन्छ ।

  • चर्चित पाकिस्तानी गायक असलम नेपाल आउने

    चर्चित पाकिस्तानी गायक असलम नेपाल आउने

    काठमाडौं । पाकिस्तानी चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । असलमले नयाँ वर्षको पूर्वसन्ध्यामा होटल ह्यात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ । चैत ३० गते ‘आतिफ असलम लाइभ इन नेपाल’ मा प्रस्तुति दिने असलम त्यसको एक दिनअघि नै नेपाल आउँदै छन् । कार्यक्रम एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले गर्न लागेको हो ।

    आयोजकका अनुसार केही दिनको नेपाल बसाइमा उनले उनले विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गर्नेछन् । सांगीतिक कार्यक्रमका लागि असलम दोस्रोपटक नेपाल आउन लागेका हुन् । उनी यसअघि सन् २०१२ मा दशरथ रंगशालामा भएको सांगीतिक कार्यक्रमका लागि नेपाल आएका थिए । आयोजकका अनुसार असलमको कार्यक्रममा नेपालका अन्य चर्चित कलाकारको समेत सहभागिता रहनेछ ।

  • आज देशभरका चलचित्र घर बन्द हुने

    आज देशभरका चलचित्र घर बन्द हुने

    काठमाडौं । सोमबार देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयको समर्थन गर्दै क्युएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएको छ ।

  • इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

    इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

    काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ बाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई दोस्रो लता मंगेश्कर भनी प्रशंसा गर्ने पनि छन् । उनी बाहिरिएपछि निर्णायकहरू पनि दुःखी बनेका छन् ।

    मेनुका सोमबार घर फर्किंदैछिन्। मुम्बईबाट बिहान साढे १० बजे उनी बागडोगरा विमानस्थल ओर्लिने छिन् । मेनुकालाई बाजागाजासहित स्वागत सम्मान गर्न उनका प्रशंसकसहितको टोली बागडोगरा विमानस्थल जाने कार्यक्रम छ । इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दिवारी, सप्तक संगीत विद्यालय झापा लगायतका संघ संस्थाले सम्मान गर्ने कार्यक्रम तय गरेका छन् ।

  • आफैले दिएको मृत्युको खबर आफैले झुटो सावित गरिन मोडल पुनमले

    आफैले दिएको मृत्युको खबर आफैले झुटो सावित गरिन मोडल पुनमले

    काठमाडौं । इन्स्टाग्राममा आफ्नो ‘मृत्युको खबर’ सार्वजनिक गरिएको एक दिनपछि भारतीय मोडल पुनम पाण्डेले इन्स्टाग्राममै आफू जीवित रहेको बताएकी छिन्। शनिवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडिओ सन्देश जारी गर्दै उनले भनिन्, म तपाईँहरू सबैसँग केही महत्त्वपूर्ण कुरा शेअर गर्न आवश्यक ठान्छु। म जीवित छु। एक दिनअघि पुनम पाण्डेको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको खबर आएको थियो।

    शनिवार पोस्ट गरिएको भिडिओमा पुनम पाण्डेले भनेकी छन्, आउनुस् जनचेतना फैलाएर एक अर्कालाई सजग बनाऔँ र प्रत्येक महिलालाई आवश्यक कदमहरूबारे जानकारी गराउने कुरा सुनिश्चित गरौँ। यो रोगको विनाशकारी प्रभावलाई अन्त्य गर्न मिलेर काम गरौँ। शुक्रवार पुनम पाण्डेको मृत्युको खबर बाहिरिएपछि धेरै प्रश्न उठिरहेका थिए। सामाजिक सञ्जालमा धेरैले यो खबर पत्याउन सकेनन्। पुनम पाण्डेको परिवारले सार्वजनिक रूपमा केही बोलेको छैन।

    उनको मृत्यु कहाँ भएको हो भन्ने जानकारी नआएकाले शुक्रवार साँझसम्म शङ्काको वातावरण बनेको थियो। बत्तीस वर्षीया पुनम पाण्डे सामाजिक सञ्जाल र मोडलिङको क्षेत्रमा चर्चित नाम हुन्। यसअघि समेत उनले चर्चामा आउन विवादास्पद तरिका अपनाएकी थिइन्।

  • पोखराको हट एयर बेलुन अब तीन गुणासम्म उचाईमा उड्ने

    पोखराको हट एयर बेलुन अब तीन गुणासम्म उचाईमा उड्ने

    काठमाडौं । हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यो साविकको तुलनामा तीन गुणा बढी हो । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपास दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपाल अध्यक्ष विक्रम बाडेले बताए ।

    पोखरा लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तराष्ट्रिय विमानस्थल टावर फ्रिक्वेन्सी निरन्तर अनुगमन गरी उडान गर्न मन्त्रीस्तरको निर्णय अनुसार अनुमति प्रदान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोललाई उदद्धृत गर्दै कम्पनीले जनाएको छ ।

    उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुन उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययनपछि अनुमति प्राप्त गरेको बाडेले बताएका छन् । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन । बेलुन आकारमा देखिने यसको ‘इनभेलप’ भित्र पंखाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ ।

    तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित हुन्छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्छन् । सूर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छ्न भने सूर्यास्त मन पराउनेले साँझको । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ ।

    उचाइमा उडान हुने भएकाले पन्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ताचप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ । क्यामेरा÷मोबाइलबाट फोटो खिच्दा तल नझरोस् भनेर सावधानी अपनाउनुपर्छ ।

    सीमित उडान हुने भएकाले पहिले नै बुकिङ गरेर जाँदा राम्रो हुन्छ । आधा घन्टा उडान गर्न नेपालीले ९ जहार ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । ३ देखि ९ वर्षका बालबालिकालाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । भारतीय तथा सार्क राष्ट्रका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क तोकिएको छ ।

  • भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेको निधन

    भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेको निधन

    एजेन्सी । भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्। ३२ वर्षीय पाण्डे पाठेघरको मुखको क्यान्सरबाट पीडित रहेको आजतकले जनाएको छ। परिवारजनले उनको इन्स्टाग्राम ह्यान्डलमार्फत पूनमको निधन भएको जानकारी दिएका हुन् ।

    उनी ३२ वर्षकी थिइन् । उक्त पोष्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ। पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पूनमलाई गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ।

    उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो। शोकको यस समयमा हामी गोपनियता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं।’

  • यती एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

    यती एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

    काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले एकसाथ दुइटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो ।

    विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ । थपिएका जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन् । ती जहाज यतीका क्याप्टेनहरूले नै बंगलादेश ढाकाबाट नेपाल ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

    उनका अनुसार कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी एक सातापछि उडान थाल्ने छ । यतीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले आन्तरिक हवाई सेवा अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्र्याउने नीति लिइएको र जहाज थप गरेसँगै यात्रुलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

    सन् २०२४ भित्रै थप तीन जहाज ल्याई १० पु¥याउने लक्ष्य रहेको र यसले गुमेको बजार हिस्सा कायम गर्दै यात्रुलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने उनले बताए । यती एयरलाइन्समा हालै एसियन लाइफ इन्स्योरेन्स नयाँ लगानीकर्ताका रूपमा भित्रिएको थियो । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणका लागि आईपीओ जारी गर्ने लक्ष्य लिएको छ । हाल यतीले सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज तथा पर्वतीय उडान गर्दै आएको छ ।

  • मुस्ताङको सिन्तामणि विश्वकै उत्कृष्ट होटेल सूचीमा

    मुस्ताङको सिन्तामणि विश्वकै उत्कृष्ट होटेल सूचीमा

    काठमाडौं । अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल पर्न सफल भएका छन् । जसको पहिलो स्थानमा नेपालको सिन्तामणि परेको हो । स्थानीय ढुंगा प्रयोगबाट निर्मित यो रिसोर्ट दुई वर्षअघि मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । पदयात्रा, स्थानीय परिकार र संस्कृतिका कारण यो रिसोर्ट उत्कृष्ट सूचीमा परेको हो । यहाँ शताब्दिऔं पुराना बौद्ध गुम्बाको अनुभूति गर्न सकिन्छ ।

    हिमाली याकको मोमो, तिब्बती थुक्पा जस्ता परिकारको समेत नेशनल जियोग्राफिकले प्रशंसा गरेको छ । यो सूचीमा श्रीलंकाबाट कुरुलु बे र भुटानको इन्ड बियोन्ड पुनाखा रिभर लजसमेत परेका छन् । नेशनल जियोग्राफिकका सम्पादक, लेखक, फोटोग्राफर र अन्वेषकले यो सूची तयार पारेको यसको अनलाइन साइटले जनाएको छ ।

    नेपालको हिमालयको दुर्गम स्थानदेखि लक्स लन्डन क्र्यास प्याडसम्म मन पराइएका उत्कृष्ट होटलमा परेका छन्,’ नेशनल जियोग्राफिकले लेखेको छ । नेशनल जियोग्राफिक अमेरिकाबाट सन् १८८८ देखि निरन्तर प्रकाशित हुँदै आएको मासिक म्यागाजिन हो । यसको मासिक सर्कुलेसन १८ लाख प्रति छ ।

  • पशुपति क्षेत्रको अतिक्रमिक संरचना हटाउन मन्त्री किरातीको निर्देशन

    पशुपति क्षेत्रको अतिक्रमिक संरचना हटाउन मन्त्री किरातीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरेर बनाइएका अवैधानिक संरचना खाली गराउन निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषको सञ्चालक समिति बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । बैठकको एजेन्डामाथि लिखित निर्णय गराउँदै मन्त्री किराँतीले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचना सञ्चालनमा रहेको भन्दै तत्काल अवैधानिक संरचना हटाउन कोषका पदाधिकारीलाई निर्देशन दिए ।


    तत्काल कानुनी प्रक्रिया पुराएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका आलिसान घर खाली गराउन मन्त्री किराँतीले निर्देशन दिए । कोषले समेत मन्त्रीको निर्देशन अनुसार यस्तो संरचना हटाउने निर्णय गरेको छ । पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका–८ गाँचा पोखरीस्थित साविक कित्ता नं. ९३, हालको कित्ता नं. १०२, ३३३, ३३५, ११०, ४१९, ३११, २८६, ११२, ११७, २८३, गरी ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिगत प्रयोजनमा प्रयोग भइरहेको कोषले जनाएको छ ।

    वडा नम्बर ३ भगवानस्थानमा साविक कित्ता नं. ५१ बाट हालको कित्ता नं। १४३, १४४, ६५, २८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएको कोषले जनाएको छ । सिफलको लामा पोखरी रहेको कित्ता नं. १३५, १८०, ८३ मा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको कोषको भनाइ छ । अतिक्रमण गरेर बनाइएका भौतिक संरचना हटाउन कानुनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्यांकन महानगरलाई बुझाउने कोषले निर्णय गरेको छ ।

    कोष सदस्यसमेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्राविधिक मूल्यांकन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताएको मन्त्री किराँतीको सचिवालयले जनाएको छ । गोठाटारस्थित पशुपतिको क्षेत्र विकास कोषको नाममा रहेको ५ सय ३४ रोपनी जग्गामध्ये हराएको २९ रोपनी जग्गा खोज्न मन्त्रालयले समिति गठन गर्ने निर्णय समेत भएको छ ।

    हराएको जग्गा खोजी गर्न पूर्वसचिवस्तरीय उच्च समिति गठन गरिने मन्त्री किराँतीले जानकारी दिए । कुनै शक्ति केन्द्रको दबाब आफूलाई सह्य नहुने भन्दै उनले पशुपतिको बेथिति निर्मूल गर्नुपर्ने बताए । कोषको बैठकले पशुपति आर्यघाटको आरतीको विषयमा छानबिन गरी निर्णय खारेज गर्न कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।

  • श्री एयरलाइन्सको माउण्टेन फ्लाइटबाट अब कैलाश पर्वत अवलोकन गर्न सकिने

    श्री एयरलाइन्सको माउण्टेन फ्लाइटबाट अब कैलाश पर्वत अवलोकन गर्न सकिने

    काठमाडौं । श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर देखिने गरी पर्वतीय उडान थालेको छ । नेपालको इतिहासमै पहिलोपटक एयरलाइन्सको सिआरजे नाइनएन एमबी विमानले नेपालगञ्ज विमानस्थलबाट मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको हो।

    एयरलाइन्सले सोमबार प्रेस नोट नारी गर्दै नेपाली भूभागबाट कैलाश पर्वत तथा मानसरोवर उडान गरेको यो नै पहिलो रहेको जनाएको छ। श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो।

    क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो। नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशी लगायत धार्मिक पर्यटकहरू आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धि हुने विश्वास रहेको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए। प्रबन्धक मानन्धरका अनुसार नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौंमा ल्याइ पशुपतिनाथ दर्शन गराउने योजना रहेको छ।

  • चीन र थाइल्याण्डले एक-अर्का मुलुकका नागरिकको भ्रमणमा भिसा नलिने

    चीन र थाइल्याण्डले एक-अर्का मुलुकका नागरिकको भ्रमणमा भिसा नलिने

    काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन् । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। थाइल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धा–नुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो टिप्पणी गरेका छन् ।

    यसले पक्कै पनि द्विपक्षीय जनता–जनताबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने मन्त्री वाङको विश्वास छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले छिमेकी देशहरूसँगको कूटनीतिमा थाइल्याण्डलाई चीनले सधैं प्राथमिकताका रूपमा हेरेको बताएका छन् ।

    उनले एक चीन सिद्धान्तप्रति थाइल्यान्डको दृढ प्रतिबद्धता र विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहलका लागि सक्रिय सहयोगको चीनले सदैव प्रशंसा गरेको बताए । आगामी वर्ष चीन–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव मनाउने उल्लेख गर्दै वाङले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले बदलिँदो अन्तर्राष्ट्रिय परिदृश्यको परीक्षालाई सामना गरेको र त्यसमा बलियो हुँदै गएको बताए । रासस, सिन्ह्वा

  • फिल्म खेल्दै केपी ओली, के हो भूमिका ?

    फिल्म खेल्दै केपी ओली, के हो भूमिका ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्म खेल्ने भएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म नमेटिने घाउमा अभिनय गर्न लागेका हुन्। काठमाडौंमा आइतबार फिल्मको औपचारिक घोषणा गरिएको हो। सो कार्यक्रममा ओलीसमेत उपस्थित रहेका थिए। फिल्ममा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुनेछन्। फिल्ममा तेजाब आक्रमणमा परेका किशोरी र महिलाको जीवनका कथालाई समेटिनेछ।

    ‘एसिड आक्रमण जस्ता घटना घटिरहेका छन्। यो अन्त्य हुनुपर्छ। यसै अभियानमा जोडिएको छ( नमिटिने घाउ। यो एउटा अभियान र प्रभावकारी अंग हो, कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन्। मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन। एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन। उनका साथीभाइ र परिवारलाई पनि बारम्बार पीडा दिइरहेको हुन्छ। नमेटिने घाउले केही हदसम्म यसलाई अन्त्य गर्छ भन्ने मलाई लागेको छ।’

    एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनमा यो फिल्म आधारित रहनेछ। एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहनेछ। एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्ने छिन्। उनले पनि यही फिल्मबाट डेब्यू गर्न लागेकी हुन्।

  • तराईमा हुस्सु–कुहिरो, हवाई उडान प्रभावित

    तराईमा हुस्सु–कुहिरो, हवाई उडान प्रभावित

    काठमाडौं । तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सु–कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ । पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेक भू भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेपनि वर्षा हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना छ । तराईमा हुस्सुका कारण उडान प्रभावित भएको छ । नेपालगन्ज विमानस्थलमा पछिल्लो तीन दिनयता उडान प्रभावित बनेको हो ।

  • पाथिभरामा सुरु भयो हिमपात

    पाथिभरामा सुरु भयो हिमपात

    काठमाडौं । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबारदेखि वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । शुक्रबार साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो ।

    फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी शेर्पाले बताए । शेर्पाका अनुसार हिमाली क्षेत्रमा अहिले हिमपात भइरहेको छ । ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो । यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले ९टीएमजे० क्षेत्रमा पनि हिमपात भएको छ ।

    जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन् । यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ । हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन् । त्यस्तै नगदे बाली अलैंची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ । जिल्लाको उच्च स्थानीयमा हिमपात भएसँगै अध्यधिक चिसो बढ्को छ ।

  • स्वस्थानी व्रत प्रारम्भ

    स्वस्थानी व्रत प्रारम्भ

    काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ ।

    स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

    आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।

    माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौं भक्तजन आउने गर्छन् । स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चाको विषय बन्ने गर्छ ।

    स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् । यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन रु यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन ? भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।

  • मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा

    मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा

    काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेल टप १० मा प्रवेश गरेकी छन् । गएराति प्रशारण भएको श्रृंखलाबाट उनी इण्डियन आइडलको १४ औं संस्करणको टप १० मा प्रवेश गरेकी हुन् ।

    गएराति उनले आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर फास्ट बिटको गीत गाएकी थिइन् । जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए ।

    बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भयो ।

    मेनुकाको गायिकीको भारतमा प्रशंसा भइरहेको छ । मेनुकाले केही समय अगाडि रिलिज भएको चलचित्र ‘सलार’मा गीत गाउने अवसर पाएकी थिइन् । मेनुका नेपाल आइडलबाट टप ११ बाट बाहिरिएकी थिइन् ।