Category: मनोरञ्जन

  • नेपाली र हिन्दी मिश्रित गीत अमेरिकाको टाइम्स स्क्वायरबाट सार्वजनिक

    नेपाली र हिन्दी मिश्रित गीत अमेरिकाको टाइम्स स्क्वायरबाट सार्वजनिक

    काठमाडौं । नेपाली र हिन्दी भाषा मिश्रित म्युजिक भिडियो झ्याइँ न्यूयोर्कको टाइम्स स्क्वायरबाट सार्वजनिक गरिएको छ । दुई ठूला स्क्रिन नास्दग र मिडटाउनबाट शनिबार उक्त म्युजिक भिडियो सार्वजनिक गरियो । अमेरिकी प्रडक्सन कम्पनी ‘एटमुन’ले नेपाली कलाकार र बलिउडका चर्चित प्रोडक्सन टिमसँगको सहकार्यमा बनाएको म्युजिक भिडियो निर्माणमा करिब १० करोड रुपैयाँ खर्च गरिएको छ । यो गीत अमेरिकामा जन्मेहुर्केकी गायिका मन्जयाश्री भट्टले गाएकी हुन् भने गीतमा देव नेगीले पनि स्वर दिएका छन् ।

    गीतको भिडियोमा पनि मन्जयाश्री आफैँ देखिएकी छिन् । उक्त गीतमा चर्चित नेपाली लोकगीत झ्याइ पार्‍यो मलाई रत्यौलीको झिल्केले झ्याइ पार्‍यो बोलको गीतको अंशसमेत समावेश गरिएको छ । बलिउडका चर्चित सिनिमेटोग्राफर विनोद प्रधानको निर्देशन रहेको गीत उनी आफैँले खिचेका छन् । यो गीतमा मन्जयाश्रीसँगै अर्का नेपाली राहुल शर्मा जोडिएका छन् ।

    राहुल मुम्बई बसेर साउन्ड इन्जिनियरिङ गर्छन् । यो गीतमा साउन्ड इन्जिनियरिङको भाग उनैले सम्हालेका हुन् । गीतको मिक्सिङ र मास्टरिङ शर्माले नै गरेका हुन् । बलिउडकै प्रख्यात निर्देशक सञ्जयलीला भन्साली, धर्मा प्रोडक्सनसँग काम गरिसकेका राहुलले हिरामण्डी, मिर्जापुर, गणपथ, फोनबुथ लगायत फिल्ममा साउन्ड इन्जिनियरका रुपमा काम गरिसकेका छन् ।

    ुपठानु र ुवारुजस्ता फिल्ममा कोरियोग्राफी गरेका चर्चित कोरियोग्राफर बोस्को सिजरले यो गीतको कोरियोग्राफी गरेका हुन् । एटमुन ठूलो बजेटका म्युजिक भिडियो मात्रै होइन, सहकार्य गरेरै ठूला बजेटकै फिल्म निर्माण गर्ने योजनामा छ । मन्जयाश्री एटमुनले निर्माण गर्ने फिल्ममा पनि देखिने बताइएको छ । एटमुन अमेरिकामा अवस्थित चर्चित प्रोडक्सन कम्पनी हो ।

    एटमुनका अनुसार यो गीत बलिउडमा बनेका म्युजिक भिडियोमध्ये धेरै खर्चमा बनेको गीत हो । गीतको एउटा दृश्यमा मन्जयाश्री सिंहासनमा बसेको देखाइएको छ । उक्त गद्दीमा उनी बसेको दृश्यमा उनले लगाएको पहिरन वास्तविक सुनजडित हो । साथै, सुनजडित गद्दी नै निर्माण गर्न डिजाइनरलाई महिनौं लागेको बताइएको छ ।

  • प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म कस्तो छ ?

    प्रधानमन्त्री ओलीले अभिनय गरेको फिल्म कस्तो छ ?

    काठमाडौं । एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । सार्वजनिक श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत दृश्यमा देखिएका छन् । २०७७ सालमा एसिड पीडितका लागि ल्याइएको अध्यादेशका कारण प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गरिएको थियो ।

    निर्देशक, निर्माता तथा अभिनेता रमित ढुङ्गानाका अनुसार चलचित्रलाई वास्तविक रुपमै तयार पार्न यसो गरिएको हो । सामाजिक विषयवस्तु उठान गरिएको र एसिड आक्रमण जस्तो कार्यलाई जरैबाट निर्मूल गर्न यस्ता चलचित्र बन्नु जरुरी रहेकाो उनी बताउँछन् ।


    चलचित्रमा अभिनय गरेकी एसिड पीडित मुस्कान खातुनले समाजमा यस्ता अपराधलाई कम गर्न चलचित्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छिन् ।


    चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाही समेत देखिएका छन् । शिवम् अधिकारीको कथा रहेको चलचित्रमा प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गरेका छन् ।

  • आज नागपञ्चमी, के छ महत्व ?

    आज नागपञ्चमी, के छ महत्व ?

    काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ ।

    साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

    आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ । नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ ।

    वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ ।

  • यस वर्षको मिस नेपालको उपाधी आश्मा कुमारी केसीलाई

    यस वर्षको मिस नेपालको उपाधी आश्मा कुमारी केसीलाई

    काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो ।

    उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् । आज मिस नेपालको ग्राण्ड फाइनल भएको हो ।

  • सञ्चालनमा आयो पाँचतारे हिल्टन होटेल

    सञ्चालनमा आयो पाँचतारे हिल्टन होटेल

    काठमाडौं । काठमाडौंको नक्सालमा पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालनमा आएको छ। शंकर समूहको लगानी रहेको यो होटल शुक्रबारदेखि सञ्चालनमा आएको हो। उक्त समूहले चेन होटल हिल्टन वल्डवाइड म्यानेज लिमिटेडसँग सम्झौता गरी हिल्टन काठमाडौं सिटी सेन्टरको होटल सञ्चालनमा ल्याएको हो।
    १० रोपनी क्षेत्रफलमा फैलिएको यो होटल १७ तलाको बनेको छ। होटलमा एक सय ७२ वटा कोठा छन्। होटलमा रूफ टप बार, ब्यांकेट हल, स्पा, अल डे डाइनिङ रेस्टुरेन्ट र स्विमिङ पुल रहेको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटर दुरीमा रहेको हिल्टन काठमाडौंबाट पर्यटकीय सहर ठमेलमा पनि सहजै पहुँच राख्न सकिने ब्राण्ड म्यानेजमेन्ट तथा हिल्टनका वरिष्ठ उपाध्यक्ष अलेक्जेण्डर जयारिचले बताए। होटलबाट नारायणहिटी संग्रहालय र दरबारमार्ग पनि नजिकै रहेकाले काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदामा पनि सहज पहुँच हुने उनको भनाइ छ। नेपालमा हिल्टनको परिचयात्मक आतिथ्यतालाई प्रवेश गराउँदै होटलले अतिथिका लागि विशेष अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    हिलटन इण्डियाका वरिष्ठ उपाध्यक्ष तथा कन्ट्रि हेड जुबिन सक्सेनाले सांस्कृतिक सम्पदा र उल्लेखनीय पर्यटन सम्भाव्यता बोकेको नेपाल जस्तो देशमा हिल्टन काठमाडौंको शुभारम्भ गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए। शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिल्टन ब्राण्डसँग जोडिएर काठमाडौंमा फस्टाउँदै गइरहेको पर्यटन उद्योगको आधारशिला बन्न र विश्वभरका अतिथिहरूलाई स्वागत गर्न तत्पर रहेको बताए।

    हिल्टन काठमाडौंमा ५ अनुपम डाइनिङ भेन्युहरू उपलब्ध छन्। जसमा स्थानीय परिकारका स्वादहरूदेखि अन्तर्राष्ट्रिय स्तरका स्वादहरूको मिश्रण छन्। भवनको पूर्वाधारमा जर्मन प्रविधिको भूकम्प प्रतिरोधात्मक उपकरणहरू जडान गरिएको छ। हिल्टन काठमाडौं एसिया प्यासिफिक क्षेत्रमा रहेका लगभग ९० वटा हिल्टन होटल एण्ड रिसोर्टहरूसँग जोडिएको छ।

    जसमा हालै सञ्चालनमा आएको हिल्टन सिंगापुर अर्चार्ड र हिल्टन सेगन पनि रहेका छन् भने सांघाई, हैदराबाद र कियोतोमा सञ्चालनको तयारीमा छन्। हिल्टन होटल्स एण्ड रिसोर्ट्सका बारेमा अन्य जानकारी स्टोरिज फ्रम हिल्टनबाट पढ्न सकिन्छ।

  • सरकारले आइतबार दियो काठमाडौंमा सार्वजनिक बिदा

    सरकारले आइतबार दियो काठमाडौंमा सार्वजनिक बिदा

    काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । यो बिदा काठमाडौं, भक्तपुर र ललितपुरमा लागू हुनेछ ।

  • जब लुम्बिनीबाट देखियो मनमोहक हिमाल…

    जब लुम्बिनीबाट देखियो मनमोहक हिमाल…

    काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छ भन्दा धेरैले नपत्याउन सक्छन् तर असार(साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ । अहिले मौसम सफा भइदिँदा केही दिनदेखि हिमशृङ्खलाका मनोरम दृश्य अवलोकन गरी लुम्बिनी भ्रमणमा आएका पर्यटक रमाइरहेका देखिन्छन् ।

    श्रीलङ्काबाट बौद्ध तीर्थयात्री लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले हाम्रा लागि दुर्लभ मानिने हिमाली दृश्य प्रत्यक्षरूपमा देख्न पाएकामा खुसीको सीमा नरहेको धारणा व्यक्त गरे । उनले भगवान् बुद्धको जन्म हिमालयको काखमा भएको भन्ने भनाइ लुम्बिनी भ्रमणबाट पुष्टि भएको उल्लेख गर्दै कम्तीमा एक पटक लुम्बिनी भ्रमण गर्न समस्त बुद्धमार्गी एवम् प्रकृति प्रेमीसँग अनुरोध गरे ।


    वर्षातपछि छर्लङ्ग खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमशृङ्खला देख्दा जो कोही पनि लोभिने अवस्था छ । प्राय असार(साउन महिनामा पानी परेपछि मौसम सफा भएको समयमा लुम्बिनीबाट अन्नपूर्ण, धौलागिरिलगायत हिमालहरू देखिने गरेको मायादेवी मन्दिरमा वर्षौँदेखि पूजाआजा गर्दै आएका स्थानीय योगेन्द्रनाथ पाण्डे बताउँछन् ।


    बुद्ध जन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटन प्रवर्द्धनमा जोड्न सकिएको छैन भन्दै पर्यटनविद् एवम् लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले भने, “समग्र पक्षलाई समेटेर लुम्बिनीको प्रचार(प्रसार हुन सकेको छैन । भगवान् बुद्धलेसमेत आफ्नो घर हिमालको फेदी बाणगङ्गा नदी किनारमा रहेको बताउनुभएको सन्दर्भमा बुद्धसँग हिमाललाईसमेत जोडेर पर्यटन प्रवर्द्धन अभियानलाई सफल र सार्थक बनाउन सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।”

    तराईको समथर पुण्यभूमिमा अवस्थित मायादेवी र अशोक स्तम्भको छेउबाट हिमशृङ्खला देख्न पाउनु आफैँमा महत्त्वपूर्ण पक्ष हो । लुम्बिनीसहित तराईका अधिकांश जिल्लाबाट असार-साउनमा मौसम सफा भएको बेलामा मनमोहक हिमालसहित रमणीय दृश्य अवलोकन गर्न सकिने स्थानीयवासी बताउँछन् । रासस

  • नेपालको फेसन दुनियाँको नायक–फुपू तेन्जिङ शेर्पा

    नेपालको फेसन दुनियाँको नायक–फुपू तेन्जिङ शेर्पा

    प्रेमकृष्ण श्रेष्ठ, काठमाडौं ।

    बलिवुडमा सन १९६९ मा एउटा चलचित्र आएको थियो—‘प्रिन्स’ । जस्मा त्यसबेलाका चकलेटी हिरो शम्मि कपुर बैजयन्ती मालालाई हेदै गीत गाउँछन् ‘बदन पे सितारे लपेटे हुए ओ जान ए तमन्ना किधर जा रही हो’ । त्यतिबेला गीतकार हसरत जयपुरीको शब्दले, बैजयन्ती मालाले लगाएको झिमिमिली साडीमा धेरैको नजर गएको थियो । ‘प्रिन्स’ चलचित्र प्रदर्शन भएपछि त्यो समयमा त्यस्तो साडी खुब बिक्री भयो भनिन्छ । आज भन्दा ५५ वर्षअघि नै फेसनले त्यस्तो प्रभाव पारेको थियो भने अहिले झन प्रविधिको विकासले फेसनको शक्तिशाली प्रभावको सहजै अनुमान लगाउन सकिन्छ ।
    सन १९६५ मा ‘आरजु’ चलचित्र आएपछि ‘साधना हेयर कट’, सन १९९०मा ‘आशिकी’ आए पछि ‘राहुल राय’ कट सँगै नायक, नायिका र मोडलले लगाउने विसिन्न वान्कीको पोशाकलाई दुनियाँले दिवाना भएर पछ्याएका हामीले सुनेका छौँ, हेरेका छौँ । हलिवुड, बलिवुडमा मात्र होइन, कलिवुडमा पनि फेसनको प्रभाव हामीले देख्दै आएका छौँ ।

    आजको समय नै फेसनको हो भन्दा अत्युक्ति नहोला । शब्द भन्दा संगीत बढी सुनिने, संगीत भन्दा भिडियो बढी हेर्ने र भिडियोमा पनि मोडलको फेसनलाई नियाल्ने प्रवृति बढदै गएको छ । चलचित्र हेरिसकेपछि आम दर्शकमा फलानो गीतमा मिरुना मगरले लगाएको पोशाक कस्तो राम्रो थियो भन्नेखालको धारणा पनि समिक्षासँगै उनिनु स्वभाविक हो । अहिलेको समयमा, सौन्दर्यमा अझ सौन्दर्यको जोड गर्ने फेसनलाई हामी नजरअन्दाज गर्न सक्दैनौ ।
    नेपालको फेसनमा योगदानको हिसाबले सँधै स्मरणमा लिपिक्क टाँसिराख्नु पर्ने एक गौरवशाली नाम हो–फुपू तेन्जिङ शेर्पा । तेन्जिङ शेर्पाका रुपमा परिचित उनको परिचय यतिमै काफी हुन्न । इभेन्ट व्यवस्थापक हुँदै गायन र अभिनयमा समेत अनुभव सँगालिसकेका फुपू तेन्जिङ शेर्पा पछिल्लो समय फेसनबारे अध्यापन गराउनेतर्फ बढी उन्मुख छन् । जसको श्रेय उनी आफै हुन् । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका प्रबन्धक निर्देशकसमेत रहेका उनी भन्छन् –“सौन्दर्य प्रतियोगिता आयोजना र व्यवस्थापन गरेको झण्डै दुई दशकको अनुभवलाई फेसन इन्स्टिच्युटमार्फत शेयर गर्दैछु ।”
    पछिल्लो समय प्यासिफिक इभेन्ट म्यानेज्मेन्टमार्फत फेसन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आएका उनले करिब पाँच वर्ष यता भने आईआईएफटीमार्फत फेसन डिजाइनर उत्पादन गर्दै आएका छन् । जसले नेपाली फेसन दुनियाँमा इँटा थप्ने काम गरेको छ ।
    यति मात्र होइन, नेपालमा पहिलोपटक जातीय एवं क्षेत्रीयरुपमा सौन्दर्य प्रतियोगिताको ट्रेण्ड भित्रयाउने पनि उनी नै हुन् । जतिखेर नेपालमा नगन्यरुपमा मात्र सौन्दर्य प्रतियोगिताहरु हुने गर्दथ्यो । त्यतिखेर फुपू तेन्जिङ शेर्पाले ‘मिस टिन शेर्पा’ आयोजना गरे । सन २००४ मा ‘मिस टिन शेर्पा’ आयोजना गर्दा ‘मिस नेपाल’ बाहेकका सौन्दर्य प्रतियोगिता नियमित थिएनन् । तर त्यो अवस्थामा समेत विभिन्न जात एवं समुदाय केन्द्रित सौन्दर्य प्रतियोगिताहरु उनले आयोजना गरे ।
    सन २००३ मा ‘किड क्वीन पोखरा’ आयोजना गरेर ब्युटी पेजेन्टमा हात हात हालेका फुपू तेन्जिङ शेर्पा भन्छन्, “जतिखेर सौन्दर्य प्रतियोगिता गर्न सुरु गरेको थिएँ, त्यो समय गार्मेन्ट व्यवसायी धरासायी अवस्थामा थियो । त्यस्तो अवस्थामा समेत ब्युटी पेजेन्ट गर्नु आफैमा चुनौति थियो । तर, मैले नियमित ब्युटी पेजेन्ट गर्दै आएँ ।”
    पूर्वी नेपालको विकट जिल्ला ताप्लेजुङको लेलेप –५ ( हाल फक्ताङलुङ –६ मा पर्छ ) मा जन्मिएर पनि सौन्दर्य प्रतियोगिता र फेसनलाई व्यवसायीरुपमा अँगाल्न सफल फुपू तेन्जिङ शेर्पा आफ्नो विगतलाई स्मरण गर्दै भन्छन्– “पाटन हाइस्कुलबाट एसएलसी उतीर्ण गरेपछि नमुना कलेजमा व्यवस्थापन विषय लिएर अध्ययन सुरु गरेँ, त्यससँगै फेसन डिजाइनिङ कोर्स गरेँ । फेसन डिजाइनिङको कोर्स सकेलगत्तै सौन्दर्य प्रतियोगितामा हात हालेको हुँ ।”
    ‘किड क्वीन पोखरा –२००३’ पछि सौन्दर्य प्रतियोगितालाई निरन्तरता दिएका उनले त्यसपछि धरान, विराटनगर, चितवन र काठमाडौंमा सौन्दर्य प्रतियोगिता आयोजना गरे । त्यसबीचमा उनले ‘मिस टिन शेर्पा–२००४’ आयोजना गरेर जातीय सौन्दर्य प्रतियोगितातिर उनी लम्किए । जसले नेपालमा सौन्दर्य प्रतियोगिताको नयाँ ट्रेण्ड नै ल्यायो । ‘किड क्वीन पोखरा’, ‘किड क्विन विराटनगर’, चितवन, काठमाडौं गरिरहेकै अवस्था सन २००५ मा ‘मिस नेवा’ आयोजना गरे जुन अहिले नियमित छ । ‘मिस टिन शेपार्’, ‘मिस नेवा’, ‘मिस लिटिल नेवा’ हुँदै सन २०१७ मा आएर ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ गरे । जतिखेर अन्य आयोजकहरु पनि फुपू तेन्जिङ शेर्पाले प्रारम्भ गरेको जातीय तथा समुदाय केन्द्रित सौन्दर्य प्रतियोगितालाई पछयाउँदै विभिन्न जात, वर्ग, समुदाय, कलेज हुँदै टोलसम्मको नाममा सौन्दर्य प्रतियोगिता सुरु गरे । सन २००३ देखि सन २०२४ सम्म आइपुग्दा तीन सयभन्दा बढी सौन्दर्य प्रतियोगिता, फेसन शो म्युजिकल इभेन्टहरु आयोजना गरिसकेका छन् ।
    उनी इभेन्ट तथा सौन्दर्य प्रतियोगिताहरुमा मात्र सिमित रहेनन्, गीतसंगीत तथा चलचित्रमा समेत देखिए । केही चलचित्र र म्युजिक भिडियोमा मोडलिङ गरेका उनी शेर्पा समुदायका प्रथम अभिनेतासमेत हुन् ।
    ‘राहदानी’ नामक नेपाली फिल्ममा अभिनय गरेर वाहवाह कमाएका उनले कलाकारितालाई सौख र रहरको रुपमा मात्र लिए । गायन, अभिनय र मोडलिङबारे उनी भन्छन् –“मलाई हरेक मान्छे कलाकार जस्तो लाग्छ । त्यही सोचेर मैले आफूलाई परीक्षण मात्र गरेको हुँ, व्यवसायिकरुपमा अँगाल्ने सोच आएन । अहिले पनि छैन ।”
    करिब सात वर्ष यता काठमाडौंको बागबजारस्थित बागबजार प्लाजामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन सञ्चालन गर्दै आएका छन् । आईआईएफटीको कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा समेत ब्राण्ड खुलिसकेको छ । आईआईएफटीले करिब तीन वर्षकै बीचमा एक हजारभन्दा बढी युवायुवतीलाई फेसन डिजाइनिङको प्रशिक्षण दिइसकेको छ ।
    आईआईएफटी काठमाडौंकै उत्कृष्ट फेसन इन्स्टिच्युटको रुपमा स्थापित छ, जसले ‘मिस नेपाल’, ‘मिस मंगोल नेपाल’ लगायतका दजनौँ गन्तिका सौन्दर्य प्रतियोगिताका लागि आफ्नो डिजाइनिङ पहिरण उपलब्ध गराइसकेको छ ।
    आईआईएफटीले सन २०२० मा ‘बेस्ट फेसन एकेडेमी अवार्ड’ पाएको थियो भने हालैमात्र ब्युटी पेजेन्ट एसोसिएसन नेपाल ( बिपान ) का भाइस प्रेसिडेन्ट तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कार्यकारी सदस्यसमेत रहेका फूपु तेन्जिङ शेर्पाले आईआईएफटीमार्फत ‘कर्पोरेट विजिनेस एक्सेलेन्स अवार्ड–२०२२’ पाए । फेसनप्रतिको के्रज बढदै जाँदा आईआईएफटी सहरकै उत्कृष्ट इन्स्टिच्युटमा दर्ज भएको छ । जसबाट फूपु तेन्जिङ शेर्पा उत्साहित छन् । उनी भन्छन्–“आईआईएफटी अझ गुणस्तरीय फेसन इन्स्टिच्युटका रुपमा अगाडि बढाउने प्रयास हुँदैछ । फेसन के्रज बढदै जानु र इन्स्टिच्युटले स्तरीय डिजाइनिङ शिक्षा प्रदान गर्न सके स्वरोजगारी बढने उनको विश्वास छ ।”
    शेर्पा ग्रुपको अध्यक्षको रुपमा कार्यरत शेर्पाले काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा विगत लामो समयदेखि ‘फुड कोर्ट’समेत संचालन गर्दै आएका छन् ।

  • दोलखा भीमेश्वर मन्दिरमा आयो पसिना, यस्तो छ मान्यता

    दोलखा भीमेश्वर मन्दिरमा आयो पसिना, यस्तो छ मान्यता

    काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आउन थालेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार भीमेश्वरको शिलामा दिउँसो १ : ४० देखि ‘पसिना’ आउन थालेको हो । शिलाको बाँयाबाट ‘पसिना’ निरन्तर आइरहेको स्थानीयले जनाएका छन् ।

    भीमेश्वरको शिलामा पसिना’ आएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्ठा बजाउने, धुपबत्ती गर्नुका मन्दिरका मुख्य व्यक्तिहरुले शिलामा पंखाले हम्किने गरिरहेका छन् ।


    भीमेश्वरको शिला (चट्टान) मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको भन्ने जनविश्वास छ । शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठुलो भीड मन्दिरमा लागेको छ । मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

    ‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए । भीमेश्वरको शिलामा पसिना आएमा परिवर्तनको संकेतका रुपमा लिन जनविश्वास रहेको छ । शिलामा ‘पसिना’ आएकाले राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन छ । जसका लागि राष्ट्रपतिबाट हुने क्षमापूजाका विषयमा छलफल भइरहेको छ ।

    ‘पसिना’ पुछेको कपास राष्ट्र प्रमुख र सर्वसाधारणमा बाँड्ने चलन छ । उक्त कपासलाई खाममा हालेर राष्ट्रपतिकोमा पुर्‍याउने चलन छ । राजाको शासनकालमा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो हाल राष्ट्रपतिबाट पूजा गरिँदै आएको छ । विक्रम संवत् १९९०, २००७, २०२८ र २०७० र २०७७ सालमा पनि भीमेश्वरको शिलामा ‘पसिना’ आएको थियो ।

  • हरिशयनी एकादशी आजबाट सुरु, के छ महत्व ?

    हरिशयनी एकादशी आजबाट सुरु, के छ महत्व ?

    काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ।
    एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

    असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन्। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ।

    एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

    वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ।

    चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

    rss

  • पशुपतिमा श्रावण महिनाभर भिड, कसरी हुँदैछ व्यवस्थापन ?

    पशुपतिमा श्रावण महिनाभर भिड, कसरी हुँदैछ व्यवस्थापन ?

    काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
    अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भिड लाग्ने गर्दछ ।

    साउने सोमबारका व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ । यस वर्ष साउन महिनामै पशुपति क्षेत्रमा कोटी होम र शिवपुराण पाठ परायणलगायतका कार्यक्रम राखिएकाले भिडभाड अझै बढ्ने अनुमान छ ।

    यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । ती चार सोमबार, चार शनिबारका साथै साउन महिनामै परेका नागपञ्चमी र गुरुपूर्णिमाको दिन पनि पशुपतिमा भक्तजनको भिड हुने गर्दछ । त्यसैले भक्तजनको सुविधा, सुरक्षा प्रबन्ध लगायतका तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । भिडलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउनेदेखि दमकल र एम्बुलेन्सको पनि व्यवस्था गरिएको अधिकारीले बताए ।

    पशुपतिनाथ मन्दिरमा हरितालिका ९तीज०, बाला चतुर्दशी, महाशिवरात्रि, वैशाख १ गतेको नयाँ वर्ष, अक्षय तृतीया, जनैपूर्णिमाजस्ता पर्वमा एक वा दुई दिन पशुपति क्षेत्रमा भिड हुने भएपनि साउन महिनामा भने महिनैभर भक्तजनको भिड लाग्ने गर्दछ ।

    साउन महिनाभर पशुपतिनाथ मूल मन्दिरका चारैवटा ढोका बिहान तीन बजेदेखि नै खुला गरिने छ । कोषले असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको थियो । साउन महिनाभर भक्तजनका लागि सहज होस् भनी चारै ढोका बिहान तीन बजेदेखि नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

  • भद्रकाली मन्दिर पुनर्निर्माण थालियो

    भद्रकाली मन्दिर पुनर्निर्माण थालियो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर परिसरका भवनहरू पुनर्निर्माण गर्न थालेको छ । मन्दिरको दक्षिण–पश्चिमबाट भवन पुनर्निर्माण सुरु भएको हो । महानगर उपप्रमुख सुनिता डंगोलले जग पूजा गरेर पुनर्निर्माण शिलान्यास गरिन् । मन्दिरका संरचना २०७२ सालको भूकम्पबाट जीर्ण अवस्थामा पुगेका थिए । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी, सत्तल लगायत संरचना छन् । पुनर्निर्माण लागत ३६ करोड रुपैयाँ रहेको महानगरले जनाएको छ ।

    सम्पदा तथा पर्यटन विभाग वरिष्ठ इन्जिनियर रविन्द्र रिजालका अनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कबोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनर्निर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग ६ जेठमा सम्झौता भएपछि ३ असारमा महानगरले कार्यादेश दिएको थियो । मन्दिर पुनर्निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुने महानगरले जनाएको छ । उत्तर (भृकुटीमण्डप) तर्फ दइटा ब्लक आपसमा जोडिएका हुनेछन् ।

    यस्तै दक्षिण (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) तीन ब्लक हुनेछन् । यिनीहरू पनि आपसमा जोडिएका हुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो । महानगरका अनुसार पुनर्निर्माण क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ ।

    ‘अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समिति सहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्ने छ,’ उपप्रमुख डंगोलले भनिन् । महानगरले गुठी संस्थान, पुरातत्व विभाग, भद्रकाली गुथिसहित सरोकारवालाको पुनर्निर्माण साझेदारसँग ३० जेठमा ‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाहरूको पुनर्निर्माण सम्बन्धमा’ बैठक बसेर पुनर्निर्माणको काम दक्षिण–पश्चिम भागबाट सुरु गर्ने निर्णय गरेको थियो ।

  • मनोरन्जन कर बुझाउन महानगरको ताकेता

    मनोरन्जन कर बुझाउन महानगरको ताकेता

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ । काठमाडौँ क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी र क्लबलाई राजस्व नबुझाएको भन्दै ताकेता गरेको छ ।

    बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक पटक लिखित फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गर्ने गरेको भन्दै महानगरले ३५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ । उक्त अवधिभित्र कर दाखिला नगरे नगराएमा आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही गर्ने समेत सूचनाद्वारा जानकारी गराएको छ ।

  • साउथ एसियन ट्राभल अवार्ड्स नेपालमा हुने

    साउथ एसियन ट्राभल अवार्ड्स नेपालमा हुने

    काठमाडौं । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) को ८औं संस्करण नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहयोगमा यो कार्यक्रम नेपालमा आयोजना गर्न लागिएको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो । कार्यक्रम १९ सेप्टेम्बर २०२४ मा आयोजना हुने भएको छ । यस भेगका पर्यटन व्यवसायीबीच नेटवर्किङ अवसरका रुपमा समेत कार्यक्रम फलदायी हुने आयोजकको भनाइ छ ।

    यस भेगको आतिथ्य क्षेत्रमा उत्कृष्ट काम गरेका कम्पनीहरू पुरस्कृत हुने समेत आयोजकको भनाइ छ । साटाको अघिल्ला संस्करणहरु दक्षिण एसियाका अन्य पर्यटकीय सहरमा आयोजना गरिएको थियो । जसमा श्रीलंकाको गल, भारतको मुम्बई र बैंगलौर, माल्दिभ्सको मालेसहितका सहर रहेका छन् ।

  • राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनमा खुला

    राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनमा खुला

    काठमाडौं । चितवनको ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले दियालो बंगला खुला गरेका हुन् । २०१९ सालमा निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो ।

    नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए । भरतपुर वडा नम्बर १ मा रहेको यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ ।

    विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ । दियालो बंगला क्षेत्र ५२ बिघाको छ । बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारी थप पाँच बिघा जमिन छ । पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्‍याउने आशा व्यक्त गरे ।

    मन्त्री तामाङले पूर्वराजाहरुले पूर्व पश्चिम र राज्यको सबै ठाँउमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको बताए ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा दियालो बंगला सर्वसाधारणका लागि खुला गरेको जानकारी दिइन् । नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरुको विलासी जीवनशैली दियालो बंगला दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन् ।

  • राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला गरिँदै

    राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला गरिँदै

    काठमाडौं । चितवनस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चितवनमा रहेको ऐतिहासिक दियालो बंगलाको अनुगमन गर्दै यस्तो जानकारी गराएका हुन् ।

    यो बंगला विगतमा पूर्व राजाहरूले सञ्चालन गर्दै आएकोका थिए । अहिले नेपाल ट्रष्टको नाममा रहेको छ । दियालो बंगला दरबारमा १७ माघ २०२८ मा राजा महेन्द्रको निधन भएको थियो । राजा महेन्द्रले २०१८ सालमा निर्माण सुरु गरेर २६ सालमा निर्माण सकेको दियालो बंगलामा महेन्द्रपछि उनका छोरा वीरेन्द्रको परिवारसहित हिउँदमा गएर बेलाबेला बस्ने गरेका थिए ।

    बंगलामा राजा महेन्द्रको शयन कक्ष छ । त्यसको सिरानीमा राजा महेन्द्रले प्रयोग गर्ने दुईवटा हतियार छन् । त्यति बेलैका बिस्तारा, पलङ र गलैचाहरू छन् । स्मोकिङ जोन साथै बार पनि रहेको छ । नारायणगढ बजारदेखि चार किलो मिटर पर नारायणगढ-मुग्लिन सडक र देवघाट जाने सडकको आडमा दरबार क्षेत्र रहेको छ । जंगलभित्र रहेको दरबार नजिकै उत्तरमा नारायणी नदी पनि छ । दरबार क्षेत्र इतिहास बुझ्न र अध्ययन गर्न चाहनेहरूका लागि उपयुक्त स्थल हुने देखिएको छ ।

  • नेपाल आइडल ५ को उपाधी करण परियारलाई

    नेपाल आइडल ५ को उपाधी करण परियारलाई

    काठमाडौं । नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्ट मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई हराउँदै उनी विजेता बने । दर्शकको भोटको आधारमा उनी विजेता चुनिए ।

    उपाधिसँगै उनले ट्रफी, २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे ।

    दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे । चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो । नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए ।

    ग्रान्ड फिनालेमा नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईं, पूर्वप्रतिस्पर्धी समेत रहेका गायक-गायिकाहरु प्रताप दास, प्रवीण बेडवाल, मेनुका पौडेल, अफ्सर अली, यो सिजनका टप १० प्रतिस्पर्धी लगायतले प्रस्तुति दिएका थिए । नेपाल आइडललाई एपीवान टेलिभिजनले निर्माण गर्दै आएको छ । शोका निर्देशक सुरेश पौडेल हुन् ।

  • नेपथ्यले अमेरिकामा म्युजिकल टुर गर्ने;‘टर्मिनल फाइभ’ न्युयोर्क भेन्यू

    नेपथ्यले अमेरिकामा म्युजिकल टुर गर्ने;‘टर्मिनल फाइभ’ न्युयोर्क भेन्यू

    न्युयोर्क ।

    नेपालकै चर्चित लोक रक समुह नेपथ्यले न्यूयोर्कको म्यानह्याटनस्थित टर्मिनल फाइभमा सांगितिक प्रस्तुति दिने भएको छ । तीन हजार दर्शक अटाउने क्षमता भएको टर्मिनल फाइभमा नेपथ्यले आगामी अगष्ट ३० को साँझमा सांगितिक प्रस्तुति दिने भएको हो ।

    टर्मिनल फाइभ न्ययोर्कको ठूलो सांगितिक कार्यक्रमहरु हुने ठाउँ हो । न्यूयोर्कमा याक प्रोडक्सन, डिजे रित र इसेन्स स्माइल्सले नेपथ्यको ऐतिहासिक साँझ कार्यक्रम गर्न लागेको हो । ‘नेपथ्य जस्तो लामो इतिहास भएको लोकप्रिय नेपाली ब्याण्डलाई न्यूयोर्कमा प्रस्तुत गर्न पाउँदा हामी एकदमै उत्साहित छौं,’ इसेन्स स्माइल्सकी डा. सुलोचना गुरुङले भनिन्, ‘यो ऐतिहासिक सांगितिक कार्यक्रमलाई सार्थक बनाउन यहाँहरु सबैको साथ सहयोगको अपेक्षा गरेका छौं ।
    आयोजकले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि नेपथ्यको सांगितिक कार्यक्रमबारे जानकारी दिएको हो । नेपथ्य भएकैले म्यानह्याटनको टर्मिनल फाइभमा कार्यक्रम गर्न लागेको याक प्रोडक्शनकी छोमो डसेलले बताइन् । ‘स्पिकिङ फ्र्याङ्क्ली, इट्स अ भेरी एक्पेन्सिभ प्रोजेक्ट, बट्, वि क्यान्नट डु इन अ स्मल भेन्यू,’ उनले भनिन्, ‘अगेन, दे आर नेपथ्य, वि रेस्पेक्ट द्याट।’

    उनले ‘इन पर्सन’ टिकट ज्यादै कम भएको भन्दै नेपाली गीत संगीतका पारखी र नेपथ्यका फ्यानहरुलाई अनलाई टिकट किन्न अनुरोध गरिन् । ‘जति सस्तोमा बेच्न सकिन्छ अहिले त्यति सस्तोमा टिकट अनलाइन उपलब्ध छ,’ उनले भनिन्, ‘अहिले फस्र्ट फेजमा टिकट नकिने पछि फेज टुमा टिकटको मुल्य बढ्छ ।’ अहिले टिकटको अनलाइन मुल्य करिब १ सय ५ डलर छ । त्यसमध्ये ८० डलर आयोजकले पाउने छन् ।

    ‘नेपथ्य आफैमा ठूलो नाम हो,’ डिजे रितका ठिले थकालीले भने, ‘नेपथ्यले २०१६ मा एक पटक कन्सर्ट गर्नुभएको थियो । यति धेरै वर्षपछि आफैँले कन्सर्ट आयोजना गर्न पाउँदा गर्व लागिरहेको छ ।’ कार्यक्रम आयोजनास्थलमा पार्किङ पाउने सम्भावना कम छ, साथै, पे पार्किङ महंगो भएकाले सार्बजनिक सवारी साधन प्रयोग गर्नु उपयुक्त हुने आयोजक ठिले थकालीले जानकारी दिए ।

    टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको क्यूआर कोड स्क्यान गर्नु गरेर टिकट बुक गर्न सकिने छ। साथै, टर्मिनल फाइभको वेवसाइट वा गुगल सर्च गर्दा पनि टिकट खरिदको लिंक सजिलै भेटिन्छ ।

    टर्मिनल फाइभमा साँझ ठीक ९ बजे नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले बताएका छन् । कार्यक्रमस्थलमा नेपाली खानाको स्टल समेत हुने छ । आयोजकले कार्यक्रममा मदिराजन्य पदार्थ राख्ने छैन, तर टर्मिनल फाइभ ब्यबस्थापनको बार भने खुला रहने छ । नेपथ्यले लोक संगितलाई रक शैलीमा गाएर नेपाली संगितलाई अन्तराष्ट्रियकरण गर्न ठूलो भूमिका खेलेको छ । बन्दको समयमा शान्तिका लागि शिक्षा अभियान लिएर गाउँ गाउँमा पुगेको थियो ।


    कार्यक्रमलाई सफल बनाउनका लागि नेपाली गीत संगीतप्रमी तथा शुभेक्षुकहरुलाई कार्यक्रममा आएर सहयोग गरीदिन आयोजकले अनुरोध गरेको छ ।
    नेपाली श्रोता र दर्शकहरुबीच चर्चित ब्याण्ड नेपथ्यले नयाँ र सर्वकालिक हिट गीतहरु प्रस्तुत गर्ने छ । दर्शकको भावनालाई बुझेर स्टेजमा प्रस्तुती दिने साथै नाच्न र नचाउन माहिर समूह नेपथ्यले बेलायतको वेम्ब्ली स्टेडियम लगायत विदेशका ६५ तथा स्वदेशमा ५० बढी स्थानमा कन्सर्ट गरिसकेको छ ।
    नेपथ्यको अमेरिकाको म्युजिकल टुर अगस्ट ३ बाट कोलोराडो बोल्डर थियटरबाट सुरु हुने छ । नेपथ्यले हालसम्म अगस्ट ६ र ७ मा पेन्सिलभेनियाको द फोरम अडिटोरियम, अगस्ट ९ र १० मा सान फ्रान्सिस्कोको द वारफिल्ड, अगस्ट १६ र १७ मा ओहायोको केम्बा लाइभ तथा अगस्ट २३ र २४ मा टेक्सासस्थित अर्भिङको टोयोटा म्युजिक फ्याक्ट्रीमा सांगितिक प्रस्तुति दिने तय भइसकेको छ । त्यस्तै अगस्ष्ट २३ मै बस्टनको रोयलमा पनि नेपथ्यको सांगितिक कार्यक्रम राखिएको छ ।

  • आज बकर इद, सार्वजनिक बिदा

    आज बकर इद, सार्वजनिक बिदा

    काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ। यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ।

    हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउछन्। जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए।

    ‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’ उनले भने।

    यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ। मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।

    मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउँछन्। यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

  • मनकामना केवलकार ५० दिन बन्द हुने

    मनकामना केवलकार ५० दिन बन्द हुने

    काठमाडौं । मनकामना केबलकार ५० दिन बन्द हुने भएको छ । केबलकारको डिजिटल प्रणालीमा स्तरोन्नति गर्नका लागि यही असार ३१ गतेदेखि ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । एनालग प्रविधिमा रहेको केबलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालीका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

    डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको कम्पनीले जनाएको छ । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब महाप्रबन्धक शेरचनले बताए । स्तरोन्नतिका लागि दक्ष प्राविधिक अस्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै आउने उनले बताए ।

  • गोसाईंकुण्ड गंगादशहरा मेला; सन्तान प्राप्ति हुने किम्बदन्ति

    गोसाईंकुण्ड गंगादशहरा मेला; सन्तान प्राप्ति हुने किम्बदन्ति

    सरस्वती न्यौपाने
    रसुवा

    रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने धार्मिकस्थल गोसाईंकुण्डमा जेठ २५ गतेबाट गंगादशहरा मेला लाग्ने भएको छ । सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, “जोडी मिलोस्” भनेर भाकल गर्दा जोडी मिल्ने धार्मिक किंवदन्ति रहेको छ।

    जीवनमा सके ३ पटक, नसके १ पटक भएपनि पुग्नै पर्ने ठाउँ गोसाईंकुण्ड ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित रहेको छ । गोसाईंकुण्ड चौंथाइ माइल फराकिलो निलो पानीको सरोवर हो । यस वरपर १ सय ८ वटा कुण्डहरू रहेका छन् । जसमध्ये पार्वतीकुण्ड पनि हो । मुख्य गोसाईंकुण्ड चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक बनावट र कुण्डहरूले नै यसलाई आकर्षक बनाइदिएको छ । यात्रामा भेटिने तामाङ संस्कृति र प्राकृतिक छटाले मन तानिन्छ । गोसाईंकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्दछ ।यस कुण्डलाई सन २००७ सेम्टेम्वरमा रामसार सूचिमा समावेश गरिएको छ ।

    जेठ २५ गतेबाट १० दिनसम्म लाग्ने गंगादशहरा मेला भर्न देश विदेशबाट मानिसहरूको विशेष भिड लाग्छ । बर्सेनि दुई चोटी दशहरा मेला र जनैपुर्निमाको वेला मेला लाग्छ तर ९ वर्ष यता १२ महिना नै मानिसहरू आवतजावत गरिरहन्छन् । कोही हाइकिङका लागि, कोही तामाङ संस्कृति हेर्न कोही धार्मिक हिसाबले जोडी मिलोस् सन्तान प्राप्त होस भन्नका लागि कोही सुख शान्तिका लागि कामनाका लागि आउने गर्छन् ।

    भगवान् शिवले कालकुट विष सेवन गरेर सम्पूर्ण प्राणी जगतलाई बचाउन आफुले खाएर घाँटीमा अडकिएपछि पानीको खोजीमा हिडिरहदा सारा ब्रह्माण्ड नै घुम्दा कहीँ शुद्ध र चोखो ठाउँ नभेटेपछि हिडदै जाँदा बेत्रावतीमा आइपुगेर पानी खान लाग्दा वेतको लौरो छोडिएकोले बेत्रावती भएको भन्ने गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डियम बताउँछन् । त्यसपछि शिव भगवान् उकालो लागेर गोसाईंकुण्ड पुगेर समाहित भएको हो भन्ने भनाई रहेको छ ।

    गोसाईंकुण्ड नेपालको दोस्रो ठुलो पदमार्ग अन्तर्गत पर्दछ । धेरैजसो स्वदेशी तथा विदेशी विद्यार्थीहरू यस क्षेत्रमा अध्ययन तथा अन्वेषणका लागि पुग्ने गर्दछन् । आफूलाई बाघको डमरु भनि अङ्ग्रेजहरूलाई थरथर बनाउने नेपालका राष्ट्रिय विभूति श्री अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाईंकुण्ड मै आएर गरेका थिए । त्यसैले गोसाईंकुण्डमा अहिले राष्ट्रिय विभूति अमर सिंह थापाले बास बसेको स्थानमा उहाँको सालिक बनाइएको छ। यसै कारण स्वदेशी तथा विदेशी पर्यटकहरू धार्मिक एवम् प्राकृतिक सौन्दर्यता र प्रकृतिलाई नजिकबाट नियालेर यससँग लुकामारी खेल्न यस क्षेत्रमा पुग्दछन्।

    यस क्षेत्रमा तामाङ समुदायको बसोबास रहेको छ । तसर्थ तामाङ समुदायको भेषभुषा, रहनसहन र संस्कृति यस क्षेत्रको अर्को आकर्षणको केन्द्र हो। तामाङ संस्कृति अनुसार गोसाईंकुण्ड मेलामा विभिन्न लामा, झाँक्री नाच तथा तामाङ सेलो नृत्य समेत देख्न सकिन्छ। यसै कारण यस क्षेत्रको चर्चा परिचर्चा दिन प्रतिदिन बढ्दो क्रममा छ।

    • कसरी पुग्ने ?

    काठमाडौँको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानव शास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ । गोसाईंकुण्ड जाने विद्यार्थी, शिक्षक र अन्वेषकहरू सुन्दरीजल ९१८९५ मिटरबाट यात्रा आरम्भ गर्छन् । हुन त धेरैजसो यात्रीहरू त्रिशूलीबाट जान्छन् तर सुन्दरीजलको बाटो छोटो मानिन्छ। सुन्दरीजल कट्नासाथ कतै पहेँलो त कतै रातो र कमेरे माटोको चिप्लो बाटो पार गर्नुपर्छ, अनि आउँछ, तामाङ बस्ति, मूल खर्क। गुराँस र दियार सल्लाका वनमा वैशाख(जेठमा गुराँससँग प्रीति लगाउँदै उक्लिएपछि आइपुग्छ, बोड्लाङ भन्ज्याङ। यो भन्ज्याङ काटेर अझै उकालो लागेपछि पहिलो बास चिसापानी पुगिन्छ।

    पूर्वबाट आउने जाने मुख्य मार्ग पाटी भन्ज्याङ । यहाँबाट ठाडै उकालो हिँडेपछि साँझ बास बस्न कुटुम्साङ पुगिन्छ। कुटुम्साङबाट हिँडेको दिन लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गरिन्छ र साँझ थाडेपाटी पुगिन्छ।

    गोसाईंकुण्ड क्षेत्रको पहिलो कुण्ड, सूर्यकुण्ड यहाँबाट केही तल झरेपछि आइपुग्छ, गोसाईंकुण्ड । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ। गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् । गोसाईंकुण्ड त्रिशूली नदीको उद्गम हो। विषले निस्लोट भएका शिवले जमिनमा गाडेको त्रिशूलबाट तीन वटा जलधारा निस्केको विश्वास गरिन्छ, जुन पानीको नदीलाई त्रिशूली भनिन्छ। गोसाइँकुण्डमा सबैभन्दा ठुलो मेला गङ्गा दशहरा र जनपूर्णिमामा मेला लाग्छ।

    गोसाईंकुण्ड स्नान गरेर तल रुझ्दै गर्दा भैरव नाग कुण्ड देखिन्छ। वैशाख जेठमा जाँदा चोल्याङ र तेन्जे डाँडाको काखैकाख हिँड्दा सेतो गुराँसका फूलहरू देखिन्छ। काठमाडौँबाट माछापोखरी बालाजु कंलकि,गल्छी देविघाट, वट्टार, त्रिशूली, बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै गोसाईंकुण्ड पुगिन्छ ।

    लाङटाङ राष्ट्रिय निकुञ्जको मज्जा पनि लिन सकिन्छ। धुन्चेबाट उत्तरतिर लागे तातोपानी पुगिन्छ। कार्तिकमा मेला लाग्ने यहाँको तातोपानीमा नुहाए बाथ र कुष्ठरोग निको हुने विश्वास गरिन्छ। तर यहाँसम्म पुग्नका लागि थप तीन दिन लाग्छ। चिलिमे जलविद्युत् आयोजना बाटैमा पर्छ। धुन्चेबाट गाडी र बेत्रावतीतिरको पैदल यात्रा दुई विकल्प छन् ।

    तस्विरहरु : खोजराज गोले

  • आज बुद्ध जयन्ती, विश्वभर मनाइँदै

    आज बुद्ध जयन्ती, विश्वभर मनाइँदै

    काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको जयन्ती नेपालसहित विश्वभर मनाइन्छ ।


    बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात् निधन वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीले बुद्धलाई भगवानको रुपमा पुज्ने गर्दछन् ।

    बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्दछन् । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप प्रज्वलन गरेका थिए ।

    बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा आयोजित फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझलाई पनि उनले सम्बोधन गरेका थिए ।

    इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको ।लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको सन्तानको रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका अनौं दुःख देखेर चिन्तित भई २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएको बताइन्छ ।

    बुद्धजयन्तीको अवसरमा बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले सबैलाई आह्वान गरेको छ । आज बुद्ध जयन्ती र उँभौली पर्व एकै दिन परेको छ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

  • भियतनामबाट जहाज चार्टर्ड गरी एक साथ नेपाल आए २१८ लक्जरी पर्यटक

    भियतनामबाट जहाज चार्टर्ड गरी एक साथ नेपाल आए २१८ लक्जरी पर्यटक

    काठमाडौं । नेपालका गुम्बा र चैत्यहरुको अवलोकन गर्न चार्टर विमानमा काठमाडौं २ सय १८ जना भियतनामी पर्यटक काठमाडौं आएका छन् । उनीहरु एक साता नेपालमा बसेका हुन् । उनीहरु शनिबार स्वदेश फर्किँने कार्यक्रम छ । एक साताका लागि नेपाल आएका उनीहरुले ७ रात ८ दिन नेपालमा बिताएको रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए ।

    पराजुलीका अनुसार, यी भियतनामी बौद्ध धर्मावलम्बीहरूले काठमाडौं उपत्यकका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गरे । ‘बिहीबार उनीहरु हेलेसी गएँ,’ पराजुलीले भने, ‘आज उताबाट फर्केर भोलि हिमालय एयरलायन्सको चार्टर विमानमा भियतनाम फर्किंदै छन् ।’


    ‘हृवाइट गुम्बा, फर्पिङ, स्वयम्भू, नमोबुद्ध र पाटनको भ्रमण अवलोकन गर्ने यी पर्यटकहरुले नेपाल बाट बुद्धको सन्देश बोकेर जाँदैछन् । त्यसैले यो समूहको भ्रमणलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छौं,’ रुप्सेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । रुप्सेले यत्रो संख्यामा चार्टर विमानमार्फत पर्यटक आएको पहिलो भएको दाबी गरेको छ ।

  • सगरमाथामा तयार भयो नयाँ सिजनको बाटो

    सगरमाथामा तयार भयो नयाँ सिजनको बाटो

    काठमाडौं । सगरमाथा चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने काम सम्पन्न भएको छ । पर्यटन विभागका अनुसार आइसफल डाक्टर र सहयोगीको टोली २८ वैशाश शुक्रबारको दिन राती ८ बजेर १५ मिनेट जाँदा चुचुरोसम्म पुगेका छन् । टोलीमा १० जना सहभागी थिए । शुक्रबार बिहान ५ बजेबाट सगरमाथाको चौथो शिविरबाट बाटो बनाउन थालिएको थियो । चुचुरोसम्म डोरी टाँगने तथा बाटो बनाउने काम सम्पन्न भएसँगै अब आरोहीका लागि सगरमाथा चुचुरो चुम्ने बाटो खुला भएको छ ।

    यस पटक सेभेन समिट प्रालिले बाटो बनाउने कामको जिम्मेवारी पाएको थियो । यस टोलीको प्रमुख दोलखाका डेन्डी शेर्पा थिए । उनको साथमा सोलुखुम्बुका तेन्जिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, लाक्पा शेर्पा, दावा रिन्जे शेर्पा, दावा शेर्पा, पाम दोर्जि शेर्पा, सुक बहादुर तामाङ, नामग्याल दोर्जे तामाङ र लाक्जा रिन्जी शेर्पाले सफल आरोहण समेत गरेका छन् ।

  • ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट

    ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट

    काठमाडौं । ललितपुरमा आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । आज रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो ४ बजेपछि पुल्चोकबाट तानेर गाबहालमा पुर्‍याइनेछ । यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ ।

    त्यसपछि मीननाथको रथलाई टंगलबाट तानेर पुल्चोक पुर्‍याइएपछि मात्र रातो मच्छिन्द्रनाथको रथलाई मीननाथको रथको पछि लगाएर पुल्चोकबाट तानिनेछ । आज मात्र मीननाथको रथलाई अघि लगाएर तानिनेछ । भोलिदेखि मीननाथको रथलाई मच्छिन्द्रनाथको रथको पछि लगाएर तानिने चलन छ ।

    आज गाबहालका बासिन्दाहरुले छवयालाभू मनाइरहेका छन् भने अहिले मच्छिन्द्रनाथको दर्शनका लागि पुल्चोकमा भक्तजनको घुइँचो लागेको छ । आज रथ तानिने भएकोले मच्छिन्द्रनाथको रथमा हरियो धूपी लगायतले सिँगारपटार गर्ने काम हुनेछ ।
    रथलाई जात्रा अवधिभर ललितपुरको विभिन्न टोलमा घुमाउने प्रचलन रहेको छ । रथ तान्नुअघि र गन्तव्यमा पुगेपछि गुरुज्यूको पल्टनबाट सलामी दिने चलन छ । मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

    १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, काठमाण्डौका तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका किसान ललितचक्रले रातो मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट ल्याएको किंवदन्ती छ ।

  • चतराधाममा लाग्ने कुम्भ मेला सम्पन्न, करीव ४० लाख गरे दर्शन

    चतराधाममा लाग्ने कुम्भ मेला सम्पन्न, करीव ४० लाख गरे दर्शन

    काठमाडौं । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते सुरु भएको थियो । मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए । मेला आयोजना गर्न सङ्घीय सरकारले ७० लाख र प्रदेश सरकारले ५५ लाख प्रदान गरेको थियो । मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए ।

    कुम्भस्नान गर्न जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुगेका थिए । प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक छ वर्षमा अर्धकुम्भ र बाह्र वर्षमा पूर्णकुम्भ मेला लाग्ने गरेको छ ।

  • अमेरिकामा गुन्जिने भयो ब्यान्ड ‘१९७४ एडी’

    अमेरिकामा गुन्जिने भयो ब्यान्ड ‘१९७४ एडी’

    काठमाडौं । लोकप्रिय ब्यान्ड १९७४ एडीले वर्षको पहिलो अन्तर्राष्ट्रिय कन्सर्ट अमेरिकाबाट सुरु गर्ने भएको छ । २९ वैशाखमा मिनिसोटाबाट कन्सर्ट यात्रा सुरु हुने ब्यान्डले जनाएको हो । स्थापनाको ३० वर्षमा पुगेको यो ब्यान्ड अमेरिकाको ६ सहरमा गुञ्जँदैछ । कन्सर्टका लागि सदस्यद्वय निराकार याक्थुङ्बा, मनोजकुमार केसी र संजय श्रेष्ठ अमेरिका पुगिसकेका छन् । बाँकी तीन सदस्य फिरोज स्याङ्देन, एड्रियन प्रधान र मनोज सिंह उतै बसोबास गरिरहेका छन् ।


    सन् १९९४ मा स्कुल पढाइरहेका शिक्षक मिलेर स्थापना भएको यो ब्याण्डले सन् २०२४ लाई विशेष वर्षको रूपमा मनाउन धेरैभन्दा धेरै फ्यानहरूसम्म पुग्ने अभियानस्वरुप कन्सर्टको आयोजना गर्ने योजनामा छ । अमेरिकाको कन्सर्ट भने जेठ २६ मा सियाटल सहरमा आयोजनासँगै समापन हुने ब्यान्डका व्यवस्थापक तथा पर्कसनिस्ट सञ्जय श्रेष्ठले जानकारी दिए । अमेरिकापछि जापान, अस्ट्रेलियालगायत देशमा पनि कन्सर्ट गर्ने तयारी भइरहेको संजयले जनाए ।

  • आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइँदै

    आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइँदै

    काठमाडौं । बुधबार मातातीर्थ औंसी। आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ। आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्। यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ।

    धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ। आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ। पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ।

    आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ। आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गरिरहेका स्थानीय नवीन न्यौपानेले राससलाई बताए। मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ।

    मातातीर्थ कुण्ड परिसरमा मङ्गलबार साँझ बत्ती बालेर मातृभक्ति प्रकट गर्दै माताविहीन सन्तान भजनकीर्तन गरेर रातभर जागा रहेका जानकारी दिँदै उनले मातातीर्थ संरक्षण तथा विकास संस्थाले मेला व्यवस्थित गर्न विभिन्न समिति गठन गरेको बताए।
    रासस

  • सगरमाथा दिवस आधार शिविरमा  मनाउने तयारी

    सगरमाथा दिवस आधार शिविरमा मनाउने तयारी

    काठमाडौं । सरकारले यस वर्षको सगरमाथा दिवस आधार शिविरमा मनाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितराज तामाङले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अघिल्लो साता मन्त्रीको अध्यक्षतामा हुने सगरमाथा आयोजक समितिको बैठक बसेको थियो । सो बैठकले सगरमाथा दिवसको मूख्य कार्यक्रम प्रधानमन्त्रीको उपस्थितिमा आधार शिविरमा गर्न तयारी थाल्ने निर्णय गरेको उनले जानकारी दिए । सगरमाथा दिवस २९ मेमा पर्छ ।

    सामान्यतया १५ जेठका दिन गणतन्त्र दिवस र बजेट समेत पर्ने गर्छ । सोहीकारण प्रधानमन्त्रीलाई लैजान सम्भव हुने थिएन । यस पटक २९ मे १६ जेठमा पर्ने भएकाले प्रधानमन्त्रीको समय मिलाउन समेत सम्भव देखिएको उनले बताए ।

  • रुट परिवर्तन गरी सगरमाथा चढ्ने बाटो बनाइदैं

    रुट परिवर्तन गरी सगरमाथा चढ्ने बाटो बनाइदैं

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा प्रयोग भइरहेको रुट १० वर्षपछि परिवर्तन गरिएको छ । सन् २०२४ को वसन्त ऋतुका लागि आरोहण रुट बनाइरहेका ‘आइसफल डाक्टर’ हरू बुधबार ‘क्याम्प वान’ नजिकै नयाँ रुटबाट बाटो बनाउँदै ‘क्याम्प टु’ सम्म उक्लिन सफल भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनका अनुसार ‘ल्हो ला पिक’ नजिकैबाट साविकभन्दा अलग रुट खोली आइसफल डाक्टरहरू क्याम्प वानबाट माथि उक्लिन सफल भएका हुन् ।

    २०१४ भन्दा अगाडि प्रयोग भएको बाटो नजिकैबाट नयाँ रुट खोलिएको हो । विगत वर्षहरूमा प्रयोग भएको रुटमा हिउँ अस्थिर भएको र पटक–पटक रुट खोल्ने प्रयास असफल भएपछि आइसफल डाक्टरहरूले नयाँ रुट खोलेर अगाडि बढ्न सफल भएको उनले जानकारी दिए । यहाँ बाटो बनाउन खटिएको विशेषज्ञ टोलीले कम्तीमा १५ दिनसम्म हिउँको अवस्थिति अवलोकन गरी जोखिम विश्लेषण गरेका थिए । हिँउ बढी नै चलायमान भइरहेपछि नयाँ रुट खोलेर अगाडि बढेको उनले बताए ।

    अबको एक सातामै बाटो बनाउने टोली सगरमाथा चुचुरो पुग्ने अपेक्षा गरिएको विभागले जनाएको छ । सगरमाथामा सगरमाथा प्रदूषण नियन्त्रण समितिले रुट बनाउने काम गर्दै आएको छ । सगरमाथाको ५ हजार ३ सय ८० मिटरमा आधार शिविर रहेको छ । पहिलो शिविर ६ हजार ६५ मिटरमा छ । दोस्रो, तेस्रो र चौथो शिविरपछि चुचुरो पुग्ने गरी रुट बनाइन्छ । यसपालि बाटो बनाउने काममा आठजना विज्ञ आरोही खटिएका छन् ।