Category: मनोरञ्जन

  • आज हरितालिका तीज, धुमधामले मनाइदै

    आज हरितालिका तीज, धुमधामले मनाइदै

    काठमाडौं । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज, आज देशभर धुमधामसहित मनाइदैछ । श्रीमानको लामो आयूको कामना गर्दै यस दिन महिलाहरु व्रत बस्छन् ।

    शिव मन्दिरमा पुगेर भगवान शिवको पूजा आरधना गर्छन् भने दिनभर नाचगान गरी रमाइलो गरी यो चाड मनाउन प्रचलन रहेका छ । यस दिन सरकारले बिदा घोषणा गरेको हुन्छ ।

    काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि महिला भक्तालुको घुइचो शुरु भइसकेको छ ।

    रातो साडीमा सजिएर मन्दिर पुग्ने महिलाहरुको ताँतीका कारण आज शिवालय, पार्क तथा सडक निकै आकर्षक देखिन्छन् । नेपालमा मात्र नभई विदेशमा समेत यसको विशेष रौनक हुन्छ ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टका अनुसार विदेशमा सबै महिलाले रातो साडी लगाएर सडकमा निस्कदा त्यसको खास महत्व हुन्छ ।

    सोहीकारण सडक महोत्सव तथा तीज विशेष कार्यक्रम गरी विदेशमा विभिन्न शहरमा यो चाड मनाइदैछ ।

    यस वर्षको तीजलाई नेपाल भ्रमण वर्षको तयारीका रुपमा समेत लिइने उनले बताउँदै आएका छन् । पशुपतिनाथमा मात्र आज ७ लाखले दर्शन गर्ने विश्वास रहेको छ । पुरुषलाई बिहान ६ बजेबाटै प्रवेश निषेध भइसकेको छ ।

  • जिवित देवि कुमारीलाई मासिक ५० हजार भत्ता

    जिवित देवि कुमारीलाई मासिक ५० हजार भत्ता

    काठमाडौं । काठमाडौं महानगरपालिकाले जीवित देवी कुमारीको मासिक भत्ता बढाएको छ ।

    यसअघि २५ हजार रुपैयाँ मासिक दिँदै आएकोमा अब शतप्रतिशत बढाएर ५० हजार पर्याइएको महानगरपालिकाले जानकारी दिएको छ ।

    आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी मेयर विद्यासुन्दर शाक्यले कुमारीको मासिक भत्ता बढाउने घोषणा गरेका हुन् ।

    पूर्वकुमारीले मासिक १५ र पूर्व गणेश र पूर्व भैरवले १२–१२ हजार प्राप्त गर्नेसमेत कार्यक्रममा जानकारी गराइयो । चिताइदारको पनि मासिक भत्ता ५० हजार पुर्याइएको छ भने पूर्वचिताइदारले मासिक १५ हजार पाउने भएका छन् ।

    उनीहरुको यसअघिको रकम ८\८ हजार रुपैयाँ रहेको थियो । सोही कार्यक्रममा काठमाडौँ महानगरपालिकाले ईन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक दिएको छ ।

    इन्द्रजात्रालाई नेपालको पहिचानका रुपमा स्थापित गर्न विभिन्न मुलुकबाट विशिष्ट पाहुनाहरुसमेत बोलाउने तयारी गरिएको छ । काठमाडौं उपत्यका सांस्कृतिक विशेषताका कारण पनि विश्वभर परिचित शहर हो ।

  • शुरु भयो तीजको रौनक, आज दरखाने दिन

    शुरु भयो तीजको रौनक, आज दरखाने दिन

    काठमाडौं । महिला हिन्दु धर्मावलम्वीहरुको महान चाड हरितालीका तीज शुरु भएको छ । भाद्र शूल्क द्धितियादेखि पञ्चमीसम्म मनाइने यो चाड आइतबारबाट शुरु भएको हो ।

    आइतबार चेलीबेटी आफ्नो माइतीमा पुगेर मिठो मसिनो खाने र तृतियाको दिन निराहार व्रत बस्ने प्रचलन रहेको छ ।

    त्यसकारण दर खाने दिन रातको १२ बजेसम्म पनि खीरलगायतका परिकार बनाएर खाने प्रचलन परम्परागत रुपमा रहिआएको छ । तीजमा मूख्यगरी भगवान शिवजीको पूजा आराधना गरिन्छ ।

    यसबेला महिलाहरु तीज विशेष गीतमा नाचखान गर्दै दुखव्यथा पोख्नुका साथै साथीसँगीसग खुसी साट्ने गर्छन् । यो पर्व नेपालभर र भारतका पनि केही स्थानमा मनाउने प्रचलन रहेको छ ।

    आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै महिला व्रत बस्छन् । शिवजीलाई कुनै बाधा व्यवधान नआओस भनेर पार्वतीले निराहार व्रत बसेको सम्झनामा यो पर्व मनाउने गरिएको किंवदन्ती रहिआएको छ ।

    यस दिन पशुपतिनाथ मन्दिरमा खास मेला लाग्छ । यसबाहेक देशभरका शिवमन्दिरमा महिलाहरु उल्लासमय वातावरणमा सहभागी हुन्छन् ।

    पशुपतिनाथ मन्दिरमा दर्शनका लागि सबै तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

  • कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज

    कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज

    काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले घरघरमा कुश भित्राएर आज कुशे औंसी मनाउँदैछन् । हरेक वर्ष भाद्र औंशीका दिन यो पर्व मनाइन्छ ।

    ब्राह्मणले विशेष पूजाआजा गरी भित्राएको कुशलाई आआफ्ना जजमानका घरमा पुरयाउने र त्यसवापत जजमानले दान दक्षिणा गर्ने प्रचलन रही आएको छ ।

    कुश केवल धार्मिक अनुष्ठानमा प्रयोग हुने वनस्पति मात्र होइन, यसको बहुआयामिक महत्व रहेको छ । वैज्ञानिक दृष्टिकोणबाट पनि कुशको विशेष महत्व रहेको छ ।

    देव तथा पितृ कार्यमा कुश अनिवार्य हुन्छ । कुश भगवान विण्णुको प्रतिक समेत मानिन्छ । त्यसकारण विण्णु विराजमान नभएको धार्मिक अनुष्ठान पुरा नहुने विश्वास रहेको छ ।

    आज बुबाको मुख हेर्ने दिन पनि हो । यस दिन काठमाडौंको गोकर्णमा ठूलो मेला लाग्छ । बुबा नहुनेहरुले यस स्थानमा पुगी स्वर्गीय पिताको नाममा श्राद्ध गर्छन् ।

    बुबा हुनेहरुले भने आफ्ना बुबालाई मिठो मसिनो खुवाएर यो चाड मनाउने प्रचलन छ । दुई दिन पछि तीजको दरखाने दिन ।

    सोहीकारण चेलीहरु माइतिबाट आफ्नो बुबालाई उपहार बोकेर आजै माइतितर्फ लाग्ने र तीज सकाएर घर फर्कने परम्परागत प्रचलन हो ।

  • ह्याप्पी तीज

    ह्याप्पी तीज

    अच्युत सिग्देल / न्यूयोर्क

    शनिवार सॉझ सिमसिमे पानीले कच्याक कुचुक्क परेका क्विन्सका गल्ली होसियारपूर्वक काट्दै अर्को राम्रो फेएरको पर्खाईमा थिएँ । पॉच मिनेट परबाट एउटा तिस मिनेटको रिक्वेस्ट ऑउछ। रेगुलर रेट र ४.४० रेटिङ, नाम – सबनम । विशाल जमैका एरियामा बाक्लिदो साउथ एसियन बस्तीबाट कुनै आफ्नै सहदेशी होला कि भन्ने सोच्दै पिकअप प्वाईन्टमा रोकिन्छु ।

    रातो टल्किएको साडीमा धपक्कै बलेका सुनौला तिलहरी र राता हरिया पोते चमक्क चम्कन्दा, सँघारमा आएको तीजको रौसले यो अध्यारो बस्ती छिचोल्ने नेपाली नै भएको अनुमान गर्न गार्हो पर्दैन ।

    अलि छिटो आउनु, धेरै नमात्नु, गहना ख्याल गर्नु भन्ने आदेशात्मक स्वर नेपथ्यमा सुनिन्छ। उबर एपमा तिन मिनेट बितिसक्छ । ‘क्यानसल ईट, ईफ प्यासैन्जर ईज नट सोईङ अप’ भन्ने मेसेज पपअप हुन्छ । ढोका खोलेर उभिएकी महिला र गाडीको दुरी दशमिटर होला तर तीन मिनेट जुत्ता लगाउँदैमा बिते जस्तो लाग्छ ।

    सरी, लिलिट लेट भन्छिन। लुकिङ मिररमा आई कन्ट्याक बनाएर म “ईट्स ओ के” भन्छु । ऑखा जुध्छन् “नमस्ते” अभिवादन दिन्छु। सन्चै हुनुहुन्छ नि ? म फिस्स हॉस्ने प्रयास गर्छु, उनी मेरो हुलिया तर्फ आखॉ दौडाउँछिन । मेरो अभिवादन उनलाई सुदुर पूर्वेली भाषाको भेले जस्तो लाग्छ कि सायद । ४.९४ को मेरो रेटिङ र आई एम फ्रम टप अप दि वर्ल्ड । स्पिक्स – ईङ्लिस, नेपाली, हिन्दी र युन पोको स्पान्योलमा सायद आखॉ गएको छैन होला भन्ने ठान्छु। म एड्रेस भन्छु उनी “एस” भन्छिन् । म कुन रूट जाने सोध्छु । उनी फास्टर रूट बताउँछिन् ।

    कसैको पर्सनल मामलामा नबोल्ने र पूर्ण व्यवसायिक र औपचारिकता निभाऊने कर्म स्वरूप विण्डसिल्डले फालेको आकासको दर्कने पानीको गातिमा म गाडि कुदाउँछु । २५ माईल मेक्सिममको रूललाई फलो गर्दा पनि खाल्डाखुल्टी जोगाउनु धेरै हम्मे पर्छ। लगातार पानी परेर ताल परेका सडकमा खिईएका टायरहरू सर्पको चालमा फिलिली नाच्छन् कयौं पटक ।

    आई हर्ट रेडियोले आउँदै गरेको ग्रैमी अवार्डको नोमिनेसन हिट गीत नन् स्टप बजाई रहन्छ । मलाई मन पर्ने एड सेरिन र हिपहप क्विन नवोदित कार्डि बीलाई मन मनै शुभकामना दिन्छु। बच्चाहरूको आईडल निकोदोलियनबाट उदाएकी एरिना ग्रान्देको जीतको सम्भावना त्यतिकै छ ।तर मलाई उनी खास लाग्दिनन् । टेलर स्विफ्टको यू निड टु काल्म डाउनले जित्ने संभावना धेरै नै भए जस्तो लाग्छ। नेभिगेटर एप वेजले गाडी ग्राण्ड सेन्ट्रल पार्कवे छिचोलेर १० एक्जिट लिदै एलआईई एक्सप्रेस वे लान्छ। मेरो मौनता र भारी वर्षें झरीलो परिवेशले खिन्नतामा उभिएका न्याउरा सडक लाईटलाई उनका रसिला टेलीगफले तातो बनाउँछ।

    उनी फटाफट दुईचार कल सकाउँछिन । साथीहरूको साडी गहनाको चर्चा गर्छिन सायद। प्रोसेको र सेतोनोदे पप र स्याम्पिएन फर्माईस सुनिन्छ । उनको अन्तिम कलले म एक्साईटेड हुन्छु । पार्टी सकिए पछि भेट्ने कुरा गर्दैछिन, म निर्क्योल गर्छु उताबाट केटा बोलि रहेको छ । रातको समय फोनको आवाज बाहिर नै प्रष्टिएको छ । आजकल बुढ़ाले शंका गर्न थालेकोले छोटो भेट तय हुन्छ सायद । हाम्रो पेशा पनि गज्जबको छ । अर्काको भान्सादेखि विस्तरासम्म र घर बजारदेखि अफिससम्मको नालीवेली सुनिदिनु पर्ने । यो भैया जेन्टल रहेछ राती यसैलाई लिन बोलाउँछु; उनले मलाई ईंगित गर्दै भनेको जस्तो लाग्छ। उनको फोन काटियो । उनी मसँग हिन्दीमा कुरा गर्न थालिन ।

    मैले नियालेर  मिररबाट उनको अनुहार हेर्ने प्रयास गरें । फोनको लाईटले उज्यालोमा चम्किएकी उनी लाम्चो मोहडा र बदामी ऑखा र अलि बाटूलो एैजेरू पलाए जस्तो फूली भएको नाक आर्य मँगोलको समिश्रण जस्तै रहिछन । अन्तराष्ट्रमा नेपालीको पहिचान सायद यस्तै छ। उनी म तिर पुलुक्क हेर्छिन् । पलभर ऑखा चार हुन्छन । उनी अलि अघि सर्छिन । उनको स्यानल परफ्युमले मगमगीले मन मुग्ध बनाउँछ ।

    भैया आप बहुत ह्याड्सम हो । उनी तेल लगाउँछिन। फर्किने लिफ़्ट हो भन्ने मलाई बुझ्न कठीन पर्दैन । म हिन्दी टोनलाई पन्जावी टच दिएर “आप तो मनिषा कोईराला से भि अच्छि लगती हो” भनिदिन्छु । उनी फुरूङ पर्छिन उनी एकै सासमा बलिउड फ्यान भएको, खानहरू मन पर्ने, ईन्डिएन केटा मन पर्ने कुरा गर्छिन । म पनि नेपाली केटी विश्वमा सबैभन्दा राम्रा हुन्छन भनिदिन्छु । केरिङ सेयरिङमा नेपाली नम्वर वन, ईमान्दार र कर्तव्यनिष्ट विउटीफूल ईन एण्ड आउट । उनको अनुहारमा व्लसिङ छाउँछ । उनी पहेलो पूर्णिमामाको चन्द्रमा जस्तै छल्किन्छिन ।

    करकापमा एरेन्ज मेरिज, सी सेक्सनबाट एक छोरा पाएको र श्रीमान् अली डफर जस्तो एज डिफेरेन्ट भएको। मनको कुरा नबुझ्ने, साथी भन्दा वोस बढि हुने, निर्देशात्मक र वोल्ड स्कूलिङ मनि सेयरिङ मेन्टालिटी । पार्टी मन नपराउने कन्जुस, समय नदिने । फेमेली फोकस्ड अलि ईन्डिपेन्डेन्सी नदिने कन्जरभेटिभ भएको बताउछिन। म मन मनै सोच्छु मान्छे किन आफूसँग भएको ख़ुशी भरपुर समेट्न सक्दैन? किन बैकल्पिक सपनामा बॉच्छ ? सायद मन भँवरा झै चन्चल छ, नयॉ र मनमोहकतामा आकर्षित हुन्छ।

    उदास नदी जस्तै एकोहोरो झै बगेको उनको मुड मैले बिगार्न चाहिन । ज़िन्दगी नै अनुभव र एक रोडल कोस्टर एड्भेन्चर भएकोले समय बहावसँग बग्दै आफूलाई परिवर्तन गर्न जरूरी रहने कुरा बताएँ । नयॉ सभ्यता सँगै सँस्कार बदल्नु पर्ने रहन सहन र जीवन शैलीमा परिवर्तन हुन आवस्यक छ। जीवनस्तर उकास्न सोच र शिक्षा आवस्यक छ भने । शिक्षाले उनी हल्का बिच्किए जस्तो लाग्यो । मैले वातावरणलाई एउटै रफ्तारमा लाने प्रयत्न गरें । तिमी विजनेस वोमन हो ? भनेर सोधि दिएँ । उनी झन नज़िक आईन् । आफू भि भि आई पीकोमा वेवीसिटर गर्ने बताईन । रिपव्लिकन पार्टीको नेता, ठूलो मान्छे र व्यापारी छ । टिप्स, गिफ्ट प्रस्सत हुने र एक्ट्राले नै आफ्नो खर्च चल्छ भनिन।

    त्यसैले आएको तीन चार बर्षमा नै जमैकामा घर किनेको । घर भाडाबाट राम्रो सेभिङ हुने र उनी बारम्वार आफूलाई ईन्डिपेन्डेण्ट उन्मुख रहेको बताउदै थिईन ।

    मैले उनको श्रीमान प्रतिको बिकर्षणको कारण जान्न चाहे। यो डिभोर्स लिने मनोदशाको मुख्य जड नै सामान्य असमझदारी र स्पेस नदिने कारण हो। मैले बिवाह एक कम्परमाईजिङ र म्यूचुअल अण्डर स्ट्यान्डिङ हो भने।

    दिल मागे मोर, पेप्सीकोलाको एड नै सहि कति व्यवहारिक नभएको तर्क सारें । सेयरिङ इनकम, एक्सपेन्सेज र रेस्पोन्सिबिलीटी । ज्वाईन्ट फेमेली र सौहाद्रताको वकालत गरें। उनी लाईफ़ एक बार पाईने हो । मनले चाहेको गर्न पाउनु पर्ने । आफ्नो कमाईमा बांच्न सक्ने भए पछि श्रीमानको कचकच कति सहने ? सामान्य सम्वन्धदेखि घर व्यवहार र ओछ्यानमा समेत डोमिनेट हुनु पर्ने कारणको उत्तर खोज्दै थिईन। सेल्फ़ ब्यालेन्स र सेल्फ़ डिसिजन मेकिङ र स्वतन्त्रतामा उनको जोड थियो। मैले स्वतन्त्रता र स्वच्छन्दताको फरक सोधे । उनले टेक्निकल्ली एउटै भएको बताईन ।

    उनको उद्देलित मनोदशालाई शान्त पार्न मैले गर गहना र साडीको तारीफ़ गरेँ । उनले आफूलाई यो पटक्कै मन नपर्ने जिकिर गरिन । नलगाए समाजले के भन्ला भन्ने डर । अनावस्यक खर्च र सामाजिक सँजाल र साथीसँगीको लहलही र लहड। कुनै कर्मकाण्डीले पार्वती र महादेवको कथामा समाजबाध्ने आधार स्वरूप सुरू गरेको लहलहै परम्परामा अडेको सांसारिक प्रदर्शनी र सो कल्ड सँस्कृती करकापमा धानिदिएको उनको तर्क थियो।

    मैले तिम्रा ब्रतले श्रीमानको आयु बढ्छ रे हो ? प्रश्न गरें। उनले आजकलको केटीहरूको कम्तीमा दर्जन व्वाईफ्रेन्ड रहने र मेरो ब्रतले कुन चाँहिको आयू बढ्ने होला ? प्रतिप्रश्न गरिन। म हॉसे सायद उनको यो जोक थियो।

    केटाहरू राडारले स्कानिङ सर्च गरेजस्तो राम्री केटीहरू छान्दै हिड्छन र मानसिक रूममा मानिस भन्ने जातको चरित्र नै भ्रष्ट भएको उनले थपिन् । हामी दुबै हॉस्यौ । उनले थपिन आप भि तो कम नहि है, लड्कि लोग फ्रष्ट ग्लिम्समे हि पता करती है । कौन कित्ना पानी मै है । म सम्हालिने प्रयास गरे । उनको आवाजसँगै बगेको तातो हावा मेरो कान नजिकै न्यानो बनाएर बत्तिदै थियो। फरासिली रहिछन् ।

    डिस्टिनेसन आयो, मैले “ट्रिप एण्ड” गर्नु अगाडी उनले भरे लिन आउन अनुरोध गरिन । मैले घर फर्कदा बाटो पर्यो भने पस्छु भनें । मेरो प्रोफाईलबाट नम्बर लिईसकोको बताईन् । तर जाँदा जाँदै “सी यू भैया आप बहुत अच्छे  हो” भनिन । म, झण्डै चारकिलो सुन लगाएकि अग्ली नारी साडी उचालेर अध्यारो प्यासेजबाट हिल बजाउदै हिडेको हेरिरहरें। उनको सुरक्षित पार्टी प्यालेस ईन्ट्री कुरेर बसिरहें । ढोकामा पुगेपछि हात हल्लाएर गईन । मैलै मनमनै भनें “ह्यापी तिज” । भरे मदहोशीको फाईदा उठाएर तिम्रा महँगा गहना कसैले नलुटुन । तिमी सधै खुसी रहनु भन्ने कामना गरेँ । ह्यापी तीज सबनम !

  • नायिका नम्रता श्रेष्ठ अब सफल व्यवसायी

    नायिका नम्रता श्रेष्ठ अब सफल व्यवसायी

    काठमाडौं

    नेपाली चलचित्र क्षेत्रमा स्थापित नायिकाका रुपमा परिचय बनाएकी नायिका नम्रता श्रेष्ठ अहिले फुरुंग छन् । चलचित्र सानो संसारबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी सफल मोडल, अभिनेत्रीसँगै व्यवसायी एवम् निर्मात्रीसमेत बनेकी छन् । अहिले उनी आफैंले निर्माण गरेको चलचित्रको प्रदर्शनको तयारीमा लाग्दै गर्दा सफल व्यवसायी एवम् निर्मात्री बन्ने लक्ष्य राखेकी छन् । कुनै समय अश्लील भिडियोका कारण विवादमा

    तानिएपछि उनी मानसिक समस्यामा समेत परेकी थिईन् । उनलाई बालबालिका निकै मन पर्छ । पहिले पहिले आफ्नो करियरका विषयमा चर्चामा रहने नम्रता अहिले भने आफ्नो विवाहमा भैरहेको ढिलाइका कारण चर्चामा आउने गरेकी छन् । पछिल्लो समय उनले हरेक सावर्जनिक समारोहमा प्रेमीलाई लिएर जाने गरेकी छन् । डिप्रेशनको अवस्थाबाट माथि उठेर उनले अहिले आफूलाई

    सफल नायिकाको सूचीमा राखिरहेकी छन् ।

  • सुदूरपश्चिममा गौराको बिदा

    सुदूरपश्चिममा गौराको बिदा

    धनगढी । प्रदेश सरकारले सुदूरपश्चिममा गौरा पर्वका दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।

    ६ भदौ, शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिदा दिने निर्णय भएको सार्वजनिक गरेको छ ।

    सरकारको उक्त निर्णयसँगै शुक्रबार कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा हुने भएको छ ।

    यस भेगमा गौरालाई दशैंभन्दा पनि महत्वपूर्ण चाडका रुपमा मान्ने प्रचलन रहेको छ । शिव र पार्वतीको विशेष पूजा आरधना गरी यो पर्व मनाउने प्रचलन रहेको छ ।

  • सुदूरपश्चिमको दशैं गौरा शुरु

    सुदूरपश्चिमको दशैं गौरा शुरु

    काठमाडौं । सुदूरपश्चिमेलीका लागि दशैं जत्तिकै महत्वपूर्ण पर्व गौरा मंगलवारबाट सुरु भएको छ।

    माता पार्वतीको सम्झानामा यो पर्व मनाउने प्रचलन रहेको छ । पौराणिक कालमा भगवान शिव महेश्वरलाई पाउन गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरेको किंवदन्ती रहेको छ ।

    उनको तपश्याबाट शिवसँग विवाह भएको मान्यता अनुसार सोही समयदेखि शिव पार्वर्तीको पूजा आरधना गर्ने प्रचलन रहको छ ।

    यो पर्व सुदूरपश्चिम भर पुरै र भारतका केही क्षेत्रमा समेत मनाउने गरिन्छ । उत्तराखण्डको, कुमाउँ प्रदेशमा गौरा विशेष महत्वका साथ मनाउने प्रचलन रहेको छ ।

    भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न गतिविधिका साथ यो पर्व मनाउने प्रचलन रहेको छ ।

    पहिलो दिन महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर घरघरमा पर्व थालनी हुने गरेको छ । महिला निराहार बस्छन् ।

    गहुँ, केराउ, गहत, मास र गुरुसलाई बिरुडा भन्ने मान्यता रहेको छ । दोस्रो दिन सामूहिक रुपमा बिरुडालाई धुने गरिन्छ ।

    त्यसका लागि नजिकको पानीको स्रोतमा पुग्ने गरिन्छ । सप्तमीमा भने गौरा देवी स्थापना गरि पुजा–अर्चना गरिन्छ ।

    अष्टमीका दिन व्रतालु महिलाले खास विधिविधानपूर्व पूजा गर्छन् ।

    बिरुडालाई यसै दिन प्रसादका रुपमा ग्रहण गरिन्छ र घर परिवारका सदस्यको टाउकोमा पुजने प्रचलन रहेको छ । यस पर्वका लागि देश विदेशमा रहेका आफन्त घर फर्कने प्रचलन हुन्छ ।

  • आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?

    आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?

    काठमाडौं । आजदेखि गाइजात्रा पर्व प्रारम्भ भएको छ । खासगरी काठमाडौं उपत्यकामा धुमधामसँग मनाइने यो पर्व अहिले देशका अधिकांश शहरमा बिस्तार भइसकेको छ ।

    भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म गाइजात्रा मनाउने परम्परा रहेको छ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा यो पर्व मनाइन्छ ।

    गाई वा मानिस गाईका रूपमा सिँगारेर परिक्रमा गराउने अनौठो प्रचलनका कारण यो जात्रा प्रख्यात रहेको छ । श्रद्धालुले गाईलाई दूध, फलफूल, रोटी, चिउरा, द्रब्यजस्ता वस्तु दान गर्छन् ।

    गाईलाई नगर परिपक्रममा गराउँदा दिवंगत व्यक्ति सजिलै वैतरणी पार हुने विश्वास लिइन्छ । यो जात्रा राज प्रताप मल्लाको पालादेखि शुरु भएको हो ।

    यस पर्वलाई सामाजिक विकृति र विसंगतीविरुद्ध आवाज उठाउन पाइने स्वतन्त्रताका रुपमा पनि लिने गरिन्छ ।

    काठमाडौं, पाटन काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, संखुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, कास्की, पाल्पाजस्ता जिल्लामा यो पर्व धुमधाम साथ मनाइन्छ ।

    खासगरी नेवार समूदायको बाहुल्य रहेका क्षेत्रमा यो पर्व बढी महत्वका साथ मनाइन्छ ।

  • रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै

    रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै

    काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुका लागि चाडबाड शुरु भएको संकेत दिने गरी आज देशभर रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइदैछ ।

    श्रावण शुक्ल पूर्णिमाका अवसरमा हरेक वर्ष यो पर्व मनाउने प्रचालन हरेको छ । यस दिनलाई ऋषि तर्पणीका नामबाट पनि पुज्ने गरिन्छ ।

    आज जनै एवं रक्षाबन्धन धारण गरी पर्व मनाइन्छ । कतिपय स्थानमा दिदिबहिनीले दाजु भाईको हातमा राखी बाँधेर दीर्घायुको कामना समेत गर्ने प्रचलन रहिआएको छ ।

    खासगरी तराई भेगमा राखीको बढी प्रचलन रहेको छ । अन्य स्थानमा भने वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरी गुरु पुरोहितबाट पुजेको डोरो बाँध्ने गर्छन् ।

    यस दिन ब्राहृमण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने प्रचलन रहिआएको छ । आज काठमाडौंको पशुपति क्षेत्रमा ठूलो भीड लाग्छ ।

    यसबाहेक देशभरका शिवमन्दीर र विष्णुका मन्दिरमा भक्तजनको भीड लाग्छ । गोसाइकुण्ड र बडिमालिकामा ठूलो कष्ट रहेर पनि भक्तजन पुग्ने गरेका छन् ।

    नदी किनारमा पनि भक्तजनको भीड लाग्ने गरेको छ । यस दिन एघार थरि गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन रहेको छ ।

  • तीजलाई भड्किलो बनाए कारवाही गर्ने चेतावनी

    तीजलाई भड्किलो बनाए कारवाही गर्ने चेतावनी

    काठमाडौं । स्थानीय प्रशासनले विभिन्न जिल्लामा तीजलाई मर्यादित बनाउने प्रयास थालेका छन् । जिल्ला प्रशासन कार्यालयहरु यसमा सक्रिय देखिएका हुन् ।

    तीज मनाउने नाममा एक महिना अगाडी बाटै होटेल र पार्टी प्यालेस भरिभराउ हुन गरेका छन् । मौलिक तीज गीतमा नाचगान हुने छाडेको छ भने यूट्यूवमा भड्किला गाना बजाएर नशामा झुल्ने क्रम शुरु भएको छ ।

    यस्तो अवस्थामा मौलिकता कायम राख्न भन्दै स्थानीय प्रशासन सक्रिय भएका हुन् । मंगलबार तनहुँ र रुपन्देहीका स्थानीय प्रशासनले विज्ञप्ति निकालेर भड्किलो तीज मनाए कारवाहीको चेतावनी दिएका छन् ।

    यसपटक हरिचालीका तीज १६ भदौमा परेको छ । तर, तीजका नाममा पार्टी प्यालेशहरु भने देशभर भरिन थालिसकेका छन् ।

    स्थानीय प्रशासनहरुले तीजमा एक दिन अघि दर खाने र तीजको दिन नाचगान गर्ने र पञ्चमीमा मौलिक तरिकाबाट तीज मनाउने परम्परालाई पनि सम्झाएका छन् ।

    नेपालमा पछिल्लो समय मौलिक नेपाली गीतको साटो भड्किला र अश्लिल गीतको समेत बाढी आउने गरेको छ ।

  • नेपाली मूलकी प्रतिष्ठा मिस इङ्ल्याण्डको सेकेण्ड रनरअप

    नेपाली मूलकी प्रतिष्ठा मिस इङ्ल्याण्डको सेकेण्ड रनरअप

    काठमाडौं । बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डमा नेपाली मूलकी प्रतिष्ठा तृष राउत सेकेण्ड रनर अप भएकी छन् । उनी २२ हजार प्रतियोगीलाई उछिनेर सेकेण्ड रनर अप भएकी हुन् ।
    गत बिहीबार बेलायतको न्यू क्यासलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले टप फण्ड राइजरको उपाधि पनि जितेकी छन् । विभिन्न राउण्डमा भएका प्रतियोगितामा उनी अब्बल साबित भइन् । प्रतियोगितामा भारतीय मूलकी सुन्दरी पहिलो भएकी थिइन् ।
    फाइनलमा भएको प्रिजेन्टर राउण्डमा उनी पहिलो भइन् । उनले नेपालमा गएको भूकम्पको विषयबस्तुलाई टेलिभिजनमा प्रस्तुत गरेकी थिइन् ।
    नेपाली मूलकी प्रतिष्ठा तृष राउत बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डको फाइनलमा प्रवेश गरेर सेकेण्ड रनर अप भएपछि नेपाली समुदाय खुसी भएको छ । प्रतियोगिताको सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटी विथ पर्पोज गरी तीन राउण्डमा समेत सफल भएकाले उनी बेलायतको सौन्दर्य प्रतियोगिताको दाबेदार बनेकी थिइन् । राउतले पब्लिक भोटका कारण पब्लिसिटी क्वीनको उपाधिसमेत जितिन् ।
    १७ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी प्रतिष्ठाले इङ्ल्याण्डमा नेपाली समुदायको प्रतिनिधित्व गरेकी छन् । पढेरभन्दा परेर जानिन्छ भन्ने धारणा राख्ने उनले नेपाली समाजमा मेन्टल हेल्थको क्षेत्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् ।
    बेलायतवासी नेपाली समुदाय उनलाई जिताउन विभिन्न कार्यक्रममा व्यस्त भयो । च्यारिटी कार्यक्रमबाट १० हजार पाउण्ड संकलन भएको थियो । नेपाली समुदायले प्रतिष्ठालाई नेपाली समुदायकै प्रतिष्ठाको रुपमा लिएको थियो ।
    आफूले उपाधि नजिते पनि मानसिक स्वास्थ्य सचेतना र त्यस समस्याबाट पीडित बनेका व्यक्तिको सहयोगका लागि च्यारिटीबाट उठेको रकम खर्च गरिने बताइन् । प्रतियोगिता मात्र नभएर त्यसपछि पनि आफू मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको सहयोगका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै उनले जनचेतना कार्यक्रम आवश्यक रहेकोमा जोड दिइन् । उनले मानिसक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिको सहयोगलाई आफूले महत्वपूर्ण स्थानमा राखेर काम गर्ने प्रतिबद्धतासमेत जनाएकी छन् ।
    नेपालको संखुवासभा चैनपुरकी प्रतिष्ठा पेशाले भने फ्लोर प्लान आर्किटेक्ट हुन् । २६ वर्षीया प्रतिष्ठा नेपाली समुदायबाट फाइनल पुग्ने एक्ली प्रतिस्पर्धी थिइन् । फाइनल प्रतिस्पर्धामा ५४ जना सहभागी भएका थिए ।
    राउत बेलायतको अन्डरसटमा बस्छिन् । उनका बाबु बेलायती सेनाका जागिरे थिए । प्रतिष्ठा भने हङकङमा जन्मेकी थिइन् । २६ वर्षीय प्रतिष्ठा आर्किटेक्ट डिजाइनमा रुचि राख्छिन् । उनले प्रतियोगितामा नेपाली समुदायले गरेको सहयोगमा धन्यवादसमेत ज्ञापन गरेकी छन् ।

  • नेपाली सांगितिक क्षेत्रमा तीजको बाढी

    नेपाली सांगितिक क्षेत्रमा तीजको बाढी

    काठमाडौं । नेपाली महिलाको महान चाड तीज शुरु हुन अझै करीव १ महिना बाँकि छ । तर, सांगितिक क्षेत्र भने तीजमय बनेको छ ।

    नेपालमा मौसम अनुसार आउने गीत संगितमा सम्भवतः सबैभन्दा बढी बाढी तीजकै आउँछ । सबैजसो चर्चित लोक गायक गायिकाले यस मौसमको सदूपयोग गर्दै आफ्नो एल्वम निकाल्छन् ।

    त्यसो त तीजमा नाम नचलेका सिजनेवल गायक गायिका पनि अकस्मात झुल्कन्छन् र एक महिना चर्चित भइदिन्छन् । फेरी एक वर्ष हराउँछन् ।

    नेपालमा आइतबारको युट्यूव टे«ण्डिङ अनुसार सन्जिवनी इन्टरटेन्मेन्टले सार्वजनिक गरेको ‘दुखि तीज’ नामक शर्ट मुमीलाई दर्शकले बढी मन पराइरहेका छन् ।

    विशाल रायमाझीको ‘लर्के भिना’ नामक कमेडी तीज गीतलाई दर्शकले उत्तिकै मन पराएका छन् । नवगायीका टीका सानुको गीत ‘बुहारी’लाई एक सातामै २० लाख दर्शकले हेरिसकेका छन् ।

    सिन्धु मल्लको ‘चिटिक्कै भाछु’ रे नामक तीज गीतलाई पनि दर्शकले पुनः हेरेर टे«ण्डिङ ल्याइसकेका छन् ।

    सुध्रिदैछ तीज भाका
    केही वर्ष अगाडी निकै असभ्य बनेको तीजका गीत पछिल्लो समय भने निकै स्तरीय भएका छन् ।

    खासगरी चलेका गायक गायिकाले नै राम्रा गीत भन्दा पनि छाडा शब्द राखेर गीत निकाल्ने प्रवृत्तिले निम्त्याएको समस्या अब भने गायक गायिकाले चेतिसकेका छन् ।

    पछिल्लो समय सार्वजनिक भएका सबैजसो तीज भाका सभ्य देखिन्छन् ।

  • ओसिन भट्टराईको ‘लेडी डन’ बन्ने सपना

    ओसिन भट्टराईको ‘लेडी डन’ बन्ने सपना

    काठमाण्डौ ।
    नेपाली चलचित्र क्षेत्रमा नायिका ओसिन भट्टराई अहिले चल्तीको नाम हो । चलचित्र एकलव्यकी नायिका भट्टराईले आफ्नो दोस्रो चलचित्रमा राम्रो अभिनय गरेकी छन् । सानैदेखि अभिनय मोहका कारण आफू नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भएको उनको भनाइ छ । एकलव्यअघि उनले चलचित्र शब्दमा समेत अभिनय गरेकी थिइन् ।

    अहिले ओसिन अभिनित चलचित्र एकलव्य प्रदर्शनमा छ । चलचित्रको प्रचारप्रसारमा पनि उनले लामो समय दिएकी छन् । नायिका ओसिनले आफूलाई मेकअपदेखि टाढै राख्छिन् । आफूलाई चस्माबाहेक अन्य मेकअप मन नपर्ने उनले बताएकी छन् । फिटनेशका लागि उनले धेरै चिल्लो खाने कुरा खाँदिनन् । फेसको भने बिस्तारै फलो गर्न थालेको उनी बताउँछिन् । मम, पानीपुरी र चटपटे उनलाई मन पर्ने खानेकुरा हुन् । अभिनयको क्षेत्रमा पनि लेडी डनको रुपमा चिनाउने उनको सपना रहेको छ ।

  • फिल्म शुरु हुनु अगाडी राष्ट्रिय ज्ञान अनिवार्य

    फिल्म शुरु हुनु अगाडी राष्ट्रिय ज्ञान अनिवार्य

    काठमाडौं । अब फिल्म हलमा चलचित्र शुरु हुनु अगाडी नेपालको राष्ट्रिय ज्ञान बज्ने भएको छ । सरकारले ‘चलचित्र ऐन, २०७६’को मस्यौदामा उक्त प्रावधान समेटेको छ ।

    उक्त विधेयक अब संसदमा दर्ता हुने प्रक्रियामा छ । सूचना तथा संचार प्रविधि मन्त्रालयले तयार पारेको यस विधेयक अनुसार हलमा चलचित्र प्रदर्शन सुरु हुनुअघि अनिवार्य नेपालको राष्ट्रिय ज्ञान बजाउनु पर्नेछ ।

    चलचित्र सुरु हुनुअघि तथा मध्यान्तरमा सन्देशमूलक वा शिक्षामूलक श्रव्यदृष्य सामग्री हलले स्कृनमा राख्नुपर्ने व्यवस्था पनि यस विधेयकमा गरिएको छ ।

    त्यसो त सरकारले अब म्यूजिक भिडियो र विज्ञापनलाई पनि सेन्सरको दायरामा राख्ने तयारी गरिरहेको छ ।

    पछिल्लो समय अस्लिल र छाडा म्यूजिक भिडियोको विगविगी बढ्दै गएको छ ।

    टेलिचलचित्र पनि सेन्सर हुनेछन् । चलचित्रको परिभाषा फराकिलो पार्दै सबै प्रकारका छायांकन हुने सामग्रीलाई यस भित्र राखेर सेन्सर गर्न लागिएको हो ।

  • छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

    छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । बहुविवाहको मुद्दामा फिल्म निर्देशक छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    अदालतबाट पक्राउ पूर्जी जारी भएकाले उनीहरु अब प्रहरीको खोजीमा रहेको महानगरीय प्रहरी प्रभाग काठमाडौंले जानकारी दिएको छ ।

    नेपाल प्रहरीको महिला सेलमा बहुविवाहको उजुरी परेको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौंले निर्देशक ओझा र पोखरेललाई पक्राउ गर्न प्रहरीलाई पुर्जी जारी गरेको हो ।

    ओझाकी जेठी श्रीमती हेमा ओझाले उनीविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन्। हेमा र वर्तमान श्रीमति पोखरेलसहित ओझाले चार श्रीमती भित्राइसकेका छन् ।

    चर्चित नायीका रेखा थापा समेत ओझाकी पूर्वश्रीमती हुन् । आफूभन्दा करीव २६ वर्ष जेठा ओझासँग पोखरेलले बिवाह गरेकी थिइन् । तर, केही दिन अगाडी यी दुईको घरझगडा सार्वजनिक भएको थियो ।

    पोखरेलले शिल्पालाई दुर्व्यवहार गरेको उजुरी प्रहरीमा परेपछि उनीहरु अहिले सामाजिक सञ्चालदेखि सञ्चारमाध्यममा छाइरहेका छन् । अधिकांशले यी दुबैको कडा आलोचना गरिरहेका छन् ।

  • भद्र नायिकाको छबि बनाएकी गरिमा अब ” सिपाहीकि स्वास्नी ” ।

    भद्र नायिकाको छबि बनाएकी गरिमा अब ” सिपाहीकि स्वास्नी ” ।

    काठमाडौ
    नेपाली चलचित्र क्षेत्रमा भद्र नायिकाको छवि बनाएकी नायिका गरिमा पन्तले सिपाहीकी स्वास्नी नामक चलचित्रमा अभिनय गरेकी छन् । नेपालगञ्जका कथाकार महेशविक्रम शाहको कथामा बनेको चलचित्रमा पन्तले अभिनय गरेकी हुन् । वास्तविक नाम कमला पन्त भए पनि उनलाई नेपाली चलचित्र क्षेत्रमा गरिमाको नामले चिन्ने गरिन्छ । उनी तनहुँको पन्त बस्तीमा सन् १९८४ मा जन्मिएकी थिइन् । केही वर्षदेखि उनी बेल्जियम बस्न थालेकी छन् । बेल्जियमका नेपाली धनाढ्य हरि शर्मासँग विवाह गरेर उनी त्यता बस्न थालेकी हुन् । हरि शर्माकी दोस्रो श्रीमतीको रुपमा उनी घरजम गरेपछि बिस्तारै टाढा भएको नेपाली चलचित्र क्षेत्रमा पुनः फर्किन थालेकी छन् । हरि बेल्जियममा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन । उनी त्यहाँका नेपाली व्यवसायीका नेतासमेत हुन् । हरिले चाइनिज श्रीमतीलाई डिभोर्स गरेर गरिमासँग विवाह गरेका हुन्

  • चिनियाँ चलचित्र नेपालमा छायांकन हुने

    चिनियाँ चलचित्र नेपालमा छायांकन हुने

    काठमाडौं । चिनियाँ फिचर फिल्म ‘द वे अफ पियोर ल्याण्ड’को नेपालमा छायांकन हुने भएको छ ।

    नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोमबार आयोजित कार्यक्रममा उक्त जानकारी गराइयो ।

    उक्त अवसरमा चलचित्रको छायांकनका लागि नेपाल आएको टोली पनि सार्वजनिक भएको थियो । चीनबाट चर्चित निर्देशक किम किङ, कलाकार सेलिना, लेखक रे चेन, निर्माता वेङ वीन बाओ र सहायक निर्देशक इल्डवाइज नेपाल आएका छन् ।

    नेपालको पोखरा, चितवन, बन्दिपुर तथा काठकाडौंका विभिन्न स्थानमा चलचित्रको सुटिङ हुने कार्यक्रममा जानकारी दिइयो ।

    नेपालको आकर्षक भौगोलिक अवस्थिति तथा यहाँको सांस्कृतिक विविधताका कारण विदेशी चलचित्र निर्माता नेपालतर्फ आकर्षित भइरहेको छन् ।

    यस चलचित्रको छायांकनले नेपालले आगामी वर्ष मनाउने नेपाल भ्रमण वर्षलाई समेत सहयोग पुग्ने अपेक्षा सचिवालयको रहेको छ ।

  • आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम

    आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम

    काठमाडौं । सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्ती। यस दिनबाट नेपालमा चाडबाड शुरु भएको मान्यता छ ।

    असार महिनाभर कृषि काममा व्यस्त रहेका कृषक १ साउन दिन सबै आफन्त एक स्थानमा जम्मा भई मिठा परिकार खादै रमाइलो गर्ने प्रचलन त छँदैछ, यस दिनबाट शिवमन्दिरमा भक्तजनको विशेष भीड पनि शुरु हुन्छ ।

    घरघरमा लुतो फालेर रोगव्याधीबाट मुक्ति माग्दै साउने संक्रान्ती मनाउने नेपालको पुरानो प्रचलन हो ।

    यस दिनबाटै नेपाली महिलाले हातमा महेन्दी र शरीरमा हरियो लुगाले आफूलाई सुसज्जित बनाउँछन् । हातमा हरियो चुरा लगाएर प्रकृतिसँगको सामिप्यता महसुश गर्ने महिना पनि हो, साउन ।

    आजदेखि सूर्य दक्षिणतर्फ लाग्ने भएकाले आजै देखि दक्षिणायन सुरु हुन्छ। १ माघबाट उत्तरायण र १ साउनबाट दक्षिणायन सुरु हुने भएकाले धार्मिक रुपमा यी दुई दिनलाई विशेष मान्ने गरिन्छ ।

    साउनदेखि माघसम्म निरन्तर चाडबाडहरु पर्छन् । यस महिनाबाट नेपालीहरुका हर्षका दिन शुरु भए भन्ने मान्यता पनि रहेको छ ।

  • राष्ट्रिय चलचित्र पुरस्कार आगामी साता

    राष्ट्रिय चलचित्र पुरस्कार आगामी साता

    काठमाडौं । लगातार दुई वर्ष रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार यस वर्ष भने प्रदान गरिने भएको छ ।

    चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका असरमा आगामी २७ असारमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना हुने भएको हो । कार्यक्रम राष्ट्रपति निवासमै आयोजना गर्ने तयारी छ ।

    पुरस्कार समारोहको तिब्र तयारी भइरहेको बोर्डले विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । यसअघि २०७४ र २०७५ मा अवार्ड कार्यक्रम हुन सकेको थिएन ।

    यसपटक तीन वटै वर्षको अवार्ड एकै पटक प्रदान गरिने भएको बोर्डले उल्लेख गरेको छ । तीन वर्षकै नेपाली चलचित्र हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेको बताइएको छ ।

    राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगद पुरस्कार राशीको समेत व्यवस्था छ । पुरस्कृत हुनेलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

  • प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिताको फाइनलमा

    प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिताको फाइनलमा

    काठमाडौं । नेपाली मूलकी प्रतिष्ठा तृष राउत बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डको फाइनलमा प्रवेश गरेकी छन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् । उनी अहिले फाइनलमा प्रवेश गरेकी छन् ।
    २० हजार आवेदनबाट उनी फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी छन् । सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटी विथ पर्पोज गरी तीन राउण्ड भएको थियो ।
    राउतले पब्लिक भोटका कारण पब्लिसिटी क्वीनको उपाधि पनि जितेकी छन् ।मिस इग्ल्याण्डको फाइनल भने जुलाई ३१ र अगष्ट १ मा हुनेछ । अहिले उनको परिचयसहितको भिडियो युट्युबमा अपलोड भएको छ ।
    नेपाली चेली प्रतिष्ठा तृष राउत बेलायतको अन्डरसटमा बस्छिन् ।उनका बाबु बेलायती सेनाका जागिरे थिए । प्रतिष्ठा भने हङकङमा जन्मेकी थिइन् । २५ वर्षीय प्रतिष्ठा आर्किटेक्ट डिजाइनमा रुचि राख्छिन् ।
    १७ वर्षको उमेरदेखिनै मोडलिङमा लागेकी प्रतिष्ठाले इग्ल्याण्डमा नेपाली समुदायको प्रतिनिधित्व गरेकी छन् ।पढेर भन्दा परेर जानिन्छ भन्ने धारणा राख्ने उनले नेपाली समाजमा मेन्टल हेल्थको क्षेत्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् ।
    इग्ल्याण्डमा मिस इङ्ल्याण्ड बिजेताले टाइटलसहित २५ हजार पाउण्ड पुरस्कार, मिस वल्र्डमा सहभागिता र विभिन्न च्यारिटी कार्यमा आबद्ध हुने मौका पाउने गर्छन् ।प्रतिष्ठाले भने यस पटक आफूले धेरै मेहनत गरेकाले उपाधि जित्ने आत्मविश्वास बढेको बताएकी छन् ।

  • लम्जुङमा स्मार्ट फिल्म सिटी बन्ने, ६ अर्ब लगानी

    लम्जुङमा स्मार्ट फिल्म सिटी बन्ने, ६ अर्ब लगानी

    काठमाडौं । आकर्षक जिल्ला लम्जुङमा स्मार्ट फिल्म सिटी निर्माण गरिने भएको छ । सीटी निर्माणसम्बन्धी एक सम्झौतामा बुधबार इटालियन र नेपाली कम्पनीबीच हस्ताक्षर भयो ।

    यस सम्झौताको साक्षी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा रहे । स्काई इन्टरनेट नेपाल र इटालियन कम्पनी एरिया होल्डिङबीच फिल्म सीटी निर्माणको सहमतिमा सम्झौता भएको हो ।

    सम्झौता अनुसार दुई कम्पनी मिलेर अब एक संयुक्त कम्पनी वर्ल्ड स्काई सिने भिलेन नेपाल स्थापना गरिने छ । सोही कम्पनीले लगानीको जोहो र संचालनसमेत गर्नेछ ।

    यस परियोजनाको कूल लागत भने ६ अर्ब अनुमान गरिएको छ । फिल्म सिटीको नाम पनि वर्ल्ड स्काई सिने भिलेज नेपाल राख्ने सहमति उक्त अवसरमा भयो ।

    फिल्म सीटी लमजुङको बेंसीसहर नगरपालिकामा निर्माण गर्ने योजना सार्वजनिक गरियो । उक्त नगरपालिकाको वडा ३, ४, ५ र ९ स्थित ५ हजार रोपनी क्षेत्रमा फिल्मी सिटी निर्माण हुने उक्त अवसरमा जानकारी दिइयो ।

    समुन्द्री सतहबाट संसारकै अग्लो स्थानमा निर्माण हुने फिल्म सिटीले देशबिदेशबाट पर्यटक समेत आकर्षित गर्ने स्काई इन्टरनेट अध्यक्ष आकाश अधिकारीको भनाई छ । उक्त अवसरमा मन्त्री बासकोटाले फिल्म सीटी निर्माण एक ऐतिहासिक आयोजना हुने बताए ।

  • नेपालमा नहुने भयो आइफा अवार्ड

    नेपालमा नहुने भयो आइफा अवार्ड

    काठमाडौं । तीब्र आलोचना र संसदीय समितिको निर्देशनसँगै अब नेपालमा आइफा अवार्ड नहुने भएको छ ।

    पर्यटन बोर्ड स्रोतका अनुसार यो अवार्ड अगाडी बढाउने पक्षमा सरकार छैन । तयारी बिनै बाहिर नकारात्मक हल्ला भएका कारण थप आलोचना हुने डरले सरकार आफ्नो निर्णयबाट पछि हट्ने निष्कर्षमा पुगेको हो ।

    संसदको अन्तरराष्टिय सम्बन्ध समितिले मंगलबार आइफा अवार्ड नेपालमा आयोजना गर्ने सम्बन्धी सबै प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

    एकातर्फ ठूलो धनराशी आयोजकलाई बुझाउनु पर्ने, आयोजनाको सबै रकम नेपालले बेहोर्नु पर्ने र २० दिनसम्म भेन्यू भारतीय आयोजकलाई उपलब्ध गराउनु पर्ने प्रावधान भारतीय पक्षबाट आएको खुलासा भएसँगै त्यसको तिब्र आलोचना भएको थियो ।

    चर्चित अवार्ड नेपालमा आयोजना गर्दा त्यसले विश्वभर नेपालको प्रचार हुने र त्यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सरकारको तर्क थियो । ८ असारको मन्त्रिपरिषद् बैठकले आइफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो ।

  • आइफा अवार्डमा संसदको हस्तक्षेप, सबै प्रक्रिया रोक्न निर्देशन

    आइफा अवार्डमा संसदको हस्तक्षेप, सबै प्रक्रिया रोक्न निर्देशन

    काठमाडौं । व्यवस्थापिका संसद, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्डका सबै प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ ।

    समितिको मंगलबार बसेको बैठकले उक्त निर्देशन दिएको समिति सभापति पवित्रा निरौलाले जानकारी दिइन ।

    सरकार र आइफा आयोजकबीच प्रारम्भीक चरणको छलफल भइसकेको छ । छलफलमा आयोजकले नेपाल सरकारसँग ४० लाख डलर नगद र अन्य व्यवस्थापनको खर्च जुटाउन माग गरेको छ ।

    यो रकम सार्वजनिक भएसँगै अवार्ड विवादमा तानिएको हो । प्रस्तावित सम्झौताको मस्यौदा नेपालको स्वाधिनता, स्वतन्त्रता माथि नै खतरा पुर्याउन सक्ने भन्दै समितिले सबै प्रक्रिया रोक्न सरकारका नाममा निर्देशन जारी गरेको छ ।

    यद्दपी समितिको यो निर्देशन सरकारले मान्छ या मान्दैन भन्ने अझै अन्यौल रहेको छ । समितिको मंगलबारको बैठकमा सांसदहरुले ठूलो धनराशी भारतीय अवार्डका लागि दिन लागेको भन्दै सरकारको आलोचना गरेका थिए ।

    उनीहरुले यस अवार्डबाट नेपालको स्वतन्त्रता माथि नै धावा बोल्ने भन्दै अगाडी बढाउन नहुने धारणा राखेका थिए ।

    बैठकमा सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशीले नेपालको पर्यटनका लागि यो ठूलो अवसर भएको उल्लेख गरेका थिए ।

  • आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर

    आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर

    काठमाडौं । नेपालमा आयोजनाको तयारी भइरहेको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) सम्झौता नहुँदै विवादमा तानिएको छ ।

    खासगरी अवार्ड आयोजकले नेपालमा अवार्ड कार्यक्रम आयोजना गर्न नगद रकम मागेको र त्यसमा नेपाल सरकार पनि सहमत भएको खबर बाहिरिएसँगै विवाद शुरु भएको छ ।

    आयोजकले नेपालसँग प्रारम्भिक छलफलममै ५० लाख डलर माग गरेको थियो । पछिल्लो समय छलफलबाट ४० लाख डलरसम्म नेपालले दिन सक्ने गरी सहमति भएको छ ।

    तर, औपचारिक सम्झौता हुन भने बाँकि रहेको छ । यसैबीच, नेपाल पर्यटन बोर्डले नेपाली पर्यटनको प्रवद्र्धनका लागि यो अवार्ड ऐतिहासिक रहेको बताएको छ ।

    आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बोर्डका सीइओ दिपकराज जोशीले एकसाथ बलिउडका सयौं कलाकार नेपालमा उतारेर यति भब्य कार्यक्रम आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताए ।

    खर्चको विषय भने अझै नटुंगिएको भन्दै उनले सकेसम्म कम खर्चमा उत्कृष्ट कार्यक्रम आयोजना गरेर देखाउने दावि समेत गरे ।

    विजक्र्याफ्ट इन्टनरनेसनल इन्टरटेनमेन्टले सन् २००० बाट यो अवाडस् आयोजना गर्न थालेको हो । यो भारतबाहिर हुने सम्भवतः सबैभन्दा ठूलो अवार्ड कार्यक्रम हो ।

    अघिल्लो १९ औं संस्करण गत वर्ष थाइल्यान्डमा २२ देखि २४ जूनसम्म भएको थियो । दक्षिण एसियामा आइफा अवार्ड आयोजना गर्ने नेपाल दोस्रो देश हुनेछ ।

    श्रीलंकामा सन् २०१० मा कार्यक्रम भएको थियो । यो अवार्ड अमेरिका, बेलायत, दक्षिण अफ्रिका, सिंगापुर, मलेसिया, स्पेन, नेदरल्याण्डजस्ता देशहरुमा भइसकेको छ ।

    यो अवार्डले देश र आयोजना भएको शहरको ब्राण्ड स्थापित गराउन ठूलो सहयोग पुग्ने बोर्डका सीइओ जोशीको दावि छ ।

  • आइफा अवार्ड नेपालमा आयोजना गर्ने तयारी

    आइफा अवार्ड नेपालमा आयोजना गर्ने तयारी

    काठमाडौं । भारतको चर्चित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड नेपालमा आयोजना गर्न मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ ।

    मन्त्रिपरिषद्को ८ असारको बैठकले अवार्ड नेपालमा आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

    नेपाल पर्यटन बोर्डको नेतृत्वमा अवार्ड आयोजना हुने र काठमाडौं महानगरपालिका सहआयोजक रहने मन्त्रीपरिषद्को निर्णयमा उल्लेख छ ।

    आईफा अवार्ड २०१९ नेपालमा आयोजना गर्न सरकारले स्वीकृति दिएसँगै एक तयारी समिति समेत गठन गरेको छ ।

    उक्त समितिको बिहीबार बसेको बैठकले नेपाल पर्यटन बोर्डका सीइओ दीपक राज जोशी र नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्यलाई आइफा अवार्ड आयोजकसँग वार्ता गरी बाँकि प्रक्रिया टुंग्याउने अधिकार प्रदान गरेको छ ।

    बैठकले ५ दिनभित्र कार्यक्रमको विस्तृत कार्ययोजना निर्माण तथा लागत तय गर्ने भएको छ । त्यसपछि भारतीय पक्षसँग द्धिपक्षीय वार्ता हुने बताइएको छ ।

    अवार्ड समारोहमा ८० देखि १०० जना बलिउडका चर्चित कलाकार सहभागी हुने अनुमान छ । उनीहरुका सहयोगी, प्राविधिक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको ठूलो समूहसमेत नेपाल आउनेछन् ।

    २० औं संस्करणको आइफा अवार्ड नेपालमा आयोजना गर्न एक वर्षदेखि नै पहल भइरहेको छ ।

    यस अवार्डमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी संघसंस्थाले समेत सहयोग गर्ने भएका छन् ।

    आईफा अवार्ड भारतबाहेक विदेशमा आयोजना हुने भारतको मूख्य फिल्म अवार्ड हो । पहिलोपटक सन् २००० मा लण्डनमा आयोजना भएको यस अवार्डको १९ औं संस्करण थाइल्याण्डले आयोजना गरेको थियो ।

    अहिलेसम्म बृलायत र थाइल्याण्डबाहेक दक्षिण अफ्रिका, मलेसिया, सिंगापुर, नेदरल्याण्ड्स, यूएई, मकाउ, श्रीलंका, क्यानडा, अमेरिका, र स्पेनले यो अवार्ड आयोजना गरिसकेका छन् ।

    नेपालमा आयोजना भए सम्भवतः सबैभन्दा ठूलो अवार्ड कार्यक्रम हुनेछ ।

  • मिले प्रकाश सपूत र शम्भू राई

    मिले प्रकाश सपूत र शम्भू राई

    काठमाडौं । गलबन्दी गीतको विवाद टुंगिएको छ । गायकद्धय प्रकाश सपूत र शम्भू राईबीच ४ बुँदे सहमति भएसँगै विवाद टुंगिएको हो ।

    बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा छलफलपछि दुबै गायक सहमतिमा आएका हुन् ।

    सहमति अनुसार युटुबमा राखिएको गलबन्दी बोलको गीतमा संगीत सिर्जनातर्फ शम्भु राईको नाम राखिने भएको छ । पुनः संगीत सिर्जनामा प्रकाश सपूतको नाम रहने भएको छ ।

    ‘गलबन्दी’ बोलको गीतले कमाएको आम्दानीमा शम्भु राइले कुनै दावि नगर्ने सहमति समेत दुई श्रष्टाबीच भएको छ ।

    ‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो सिर्जनासँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेका थिए ।

    गलबन्दी गीत आफ्नो ‘देउसी भैली’ गीतको लयसँग मिलेको राईको भनाई थियो ।

  • ठमेलमा घन्किनेछन् आदित्य

    ठमेलमा घन्किनेछन् आदित्य

    काठमाडौं । आदित्य नारायण झा, बलिउडमा युवा पुस्ताबीच लोकप्रिय नाम हो । बलिउड गायन जगतका हस्ती उदित नारायण झाका छोरा आदित्यले काठमाडौंको ठमेललाई संगितमय बनाउने भएका छन् ।

    २१ असारमा उनको प्रस्तुती ठमेलमा हेर्न पाइने भएको छ । पर्यटकीय क्षेत्र ठमेलमा आउने पक्का भएसँगै आदित्य दोस्रो पटक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

    उनले यसअघि पोखरामा आफ्नो प्रस्तुती दिइसकेका छन् । जुलाईको ६ तारिखका दिन ठमेल स्थित क्लब फरेनहाइटमा उनको लाइभ प्रस्तुत राखिएको छ ।

    ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालका चर्चित गीतहरु प्रस्तुत गर्ने बताइएको छ ।

    गायनसँगै उनी अभिनयमा समेत जम्ने क्रममा छन् । आदित्यले भिडियो सम्बोधन मार्फत जुलाई ६ मा आउने पुष्टी गरेका छन् ।

    भिजिट नेपाल २०२० अन्तर्गतको अभियान सफल बनाउन नेपाल आउन लागेको उनले बताएका छन् ।

    उनले कार्यक्रममा सहभागी हुन समेत आफ्नो समर्थकहरुलाई निम्तो दिएका छन् ।

    आदित्य जुलाई ६ मा नै नेपाल आउनेछन्। नेपाल आएलगत्तै पत्रकार सम्मेलनमा सहभागी भएर बेलुकी कार्यक्रममा सहभागी हुने तय भएको छ ।

  • म्युजिक भिडियोदेखि थियटरसम्म सोमियाको चर्चा

    म्युजिक भिडियोदेखि थियटरसम्म सोमियाको चर्चा

    काठमाडौ

    नेपाली म्युजिक भिडियो क्षेत्रमा सोमिया समत छोटो समयमा चर्चा बटुल्ने मोडल बनेकी छन् । प्यूठानको झिम्रुक गाउँपालिका २ स्थायी घर भएकी उनी अहिले काठमाडौंमा बस्छिन् । विस २०७३ देखि आफ्नो म्युजिक भिडियो, विज्ञापन र चलचित्र क्षेत्रमा समेत लागिपरेकी उनी थियटरमा समेत चर्चाको शिखरमा छन् ।
    राष्ट्रिय नाचघर जमलबाट अभिनय सिकेकी उनले झण्डै १५ वटा गीतमा अभिनय गरेकी छन् । धेरै विज्ञापनमा समेत उनलाई देख्न सकिन्छ । टेली शृङ्खलामा समेत उनले अभिनय गरेकी छन् ।क्याजुअल पहिरन मन पर्ने उनलाई दालभात र तरकारी मन पर्छ । अहिलेसम्म आफू प्रेममा नपरेको उनले बताएकी छन् । पछिल्लो समय उनलाई “संघरमा” नामक म्युजिक भिडियोले  शिखरमा पु¥याएको छ । अब नेपाली कलाकारिता क्षेत्रमै प्रगति गर्नेगरी आफू लागिपरेको समतको भनाइ छ ।

  • रामप्रसादको दुलहा दुलही

    रामप्रसादको दुलहा दुलही

    न्यूयोर्क । कलाकार रामप्रसाद खनालले नेपाल पुगेर लोकदोहोरी एल्बम ‘दुलाहा दुलही’ रिलिज गरेका छन ।
    युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिशुद्ध मौलिक रहेको छ । उक्त गीति एल्बममा लोक गायिका पूर्णकला बिसीले उनलाई साथ दिएकी छन् । थानेश्वर गौतमको संगीत र आशिष अविरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा नायक शंकर बिसीले कोरियोग्राफ गरेका छन् ।
    शंकर बिसी र खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा मोडल तथा डान्सर करिश्मा ढकालले अभिनय गरेकी छन् ।
    भिडियोमा हाँस्य कलाकारद्वय किरण केसी र शिवहरि पौडेलको अभिनयसमेत हेर्न पाइन्छ । खनालको यो लोक दोहोरी गीत विवाह र पार्टीमा सदाबहार रुपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ । शब्द, स्वर, संगीत र एरेन्ज सबै पक्ष अब्बल छन् यो गीतमा ।
    साथै, खनालले युट्युबमा आफ्नो एकाउन्ट सब्क्राइब गर्नेलाई एक लाख रुपैयाँको पुरस्कारको घोषणासमेत गरेका छन् । युट्युब एकाउन्ट RAM PRASAD KHANAL – https://www= youtube=com/user/ rampdkhanal/videos<view=0&sort=p&flow=grid&view_as=subscriber _  मा गएर सब्क्राइब गर्नेमध्येबाट लक्की ड्र मार्फत तीन जनालाई क्रमशः ५० हजार, ३० हजार, २० हजार पुरस्कार प्रदान गरिने छ । उक्त पुरस्कारको घोषणा एक लाख सब्क्राइबर नाघ्नासाथ मिडियाहरुबाट गरिने छ ।