Category: मनोरञ्जन

  • अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

    अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

    काठमाडौं । विश्वचर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ औं संस्करण नेपालीका खास हुनेवाला छ । किनकी यस प्रतियोगितामा सहभागीमध्ये एक जनाले अब प्रारम्भ मै भन्दैछन्, नमस्ते ।

    उनको यो अभिवादन नै उनको परिचयका लागि पर्याप्त छ । उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्तिले मात्र छनोट हुन सक्ने यो कठिन प्रतिस्पर्धामा यस पटक नेपाली युवा दिवेश पोखरेलले अमेरिकन आइडलमा धमकेदार इन्ट्री गरेका छन् ।

    पहिलो भाग सुरू भएलगत्तै अडिसनका दौरान सामान्य अमेरिकीभन्दा फरक अनुहारका व्यक्तिले निर्णयकलाई नमस्ते भन्दै उपस्थित भएसँगै उनले प्रस्तुती पनि उत्कृष्ट नै गरेका छन् ।

    चर्चित अमेरिकी गायक लियोनेल रिचीले सोधेको परिचयमा उनले आफू नेपाली नागरिक रहेको बताए ।

    उनले आफ्नो नाम दिवेश पोखरेल बताए भने काठमाडौं घर भएको परिचय समेत दिए । उनी २१ वर्षीय हुन् ।

    जजको भूमिकामा रहेकी लोकप्रिय गायिका क्याटी पेरीले उनको नामको अर्थ सोधेकी थिइन् ।

    उनले आफ्नो नामको अर्थ प्रकाश भनेर अथ्र्याए । दिवसले पहिलो इन्ट्रीमै जजको मन जित्न सफल भएक छन् । यसले आगामी दिनमा अझ प्रगति गर्ने अपेक्षा गरिएको छ ।

  • आज भ्यालेन्टाइन डे, प्रेम दिवसका रुपमा मनाइदै

    आज भ्यालेन्टाइन डे, प्रेम दिवसका रुपमा मनाइदै

    काठमाडौं । आज १४ फेब्रुअरी, विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रुपमा यस दिनलाई मनाइदैछ ।

    प्रेमिल जोडीहरुले एक अर्काको माया साटासाट गर्ने दिनका रुपमा यस दिनलाई एक पर्वकै रुपमा मनाउन थालेका छन् ।

    नेपालमा पछिल्ला दिनमा यो दिवस मनाउन थालिएको छ । युवायुवतीहरु एक अर्कालाई उपहार, गुलाफ दिएर यो पर्व मनाउँछन् ।

    आफ्नो प्रेमी प्रेमिका तथा श्रीमान श्रीमतीसाग साथमै रहने तथा माया भाव दर्शाउने गरी यो दिवसले अहिले बिस्तार रुप लिएको छ ।

    मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्दै प्रेम प्रस्ताव राख्ने पनि उत्तिकै भेटिन्छ । यस पर्वका कारण राजधानीमा गुलाव पसलहरुमा यसको खरीद बिक्रि निकै हुने गर्छ ।

    राजधानीका रेष्टुरेन्ट र डान्सबार पनि जोडीहरुका कारण भरिभराउ हुन्छन् ।

    भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको मानिन्छ । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि तत्कालिन सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए।

    तर, रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेका थिए ।

  • काठमाडौं उपत्यकाका सम्पदामा रात्रीकालिन भ्रमण हुने

    काठमाडौं उपत्यकाका सम्पदामा रात्रीकालिन भ्रमण हुने

    काठमाडौं । अब काठमाडौं उपत्यका भित्रका सम्पदालाई रातको समयमा समेत भ्रमण गर्न सकिने भएको छ ।

    ति क्षेत्रमा लाइटिंगको काम भइरहेको र काम सकिनासाथ रात्रिकालिन अवलोकनका लागि समेत खुला हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकराी दिए ।

    आइतबार पुरातत्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अब काठमाडौंका सम्पदा रातमा समेत ढुक्कसँग अवलोकन गर्न सकिने गरी तयार भएको जानकारी दिए ।

    भक्तपुरमा शुरुवात नै भएको र पाटन तथा बसन्तुपुरमा समेत त्यसको तयारी गरिएको उनको भनाई छ ।

    यसबाहेक काठमाडौं उपत्यका भित्रका विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदालाई साइकल लेनमा जोड्ने तयारी समेत भइरहेको मन्त्री भट्टराईले जानकारी दिए ।

    सरकारले सम्पदासम्म मात्र पुग्ने गरी डेडिकेटेड बसको व्ववस्था गरी भ्रमण प्याकेज बनाउन पर्यटन व्यवसायीसँग आह्वान समेत गरिरहेको उनको भनाई छ ।

    उनले भूकम्पपछि भत्किएका सम्पदा पुनर्निर्माणको काम तिब्रताका साथ भइरहेको भन्दै आगामी दुई वर्ष भित्र पुनर्निर्माण सम्पन्न हुने बताए ।

    विभागका अनुसार भूकम्पले ९ सय २० सम्पदामा क्षति गरेको थियो ।

    त्यसमध्ये ४ सय वटा सम्पदाको पुनर्निर्माण सकिएको छ । चालु आवमा १ सय ५० वटा सम्पदा पुनर्निर्माणको काम जारी रहेको छ । यसमा धरहरा, नुवाकोट दरवार, रानीपोखरीलगायत सम्पदा रहेका छन् ।

  • क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

    क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

    काठमाडौं । नायिका प्रियंका कार्की बार्सिलोनाको होम ग्राउण्डमा लाइभ फूटबल हेर्न पुगेकी छिन् । उनी सोमबार बिहान भएको बार्सिलोना र लेभान्टेबीचको खेलका लागि क्याम्पनाउ पुगकी हुन् ।

    उनी बार्सिलोनाको आधिकारिक फेसबुक पेजबाट भएको प्रिम्याच लाइभमा समेत देखा परेकी थिइन । करीव ३ मिनेट लामो भिडियोमा उनी र अर्को एक जना युवतीले आफ्नो अनुभव बाँडेका थिए ।

    प्रियंका ब्याइफ्रेण्ड आयूष्मान देशराज जोशीका साथमा पुगेकी हुन । स्पेनिस लीग ला लिगा अन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेलका लागि उनी मैदानमा पुगेकी हुने ।

    उनको तस्वीर सामाजिक संजालबाट सार्वजनिक गर्दै बार्सिलोनाले ‘वि लभ नेपाल’ पोष्ट गरेको छ ।

    उनको भिडियोसमेत बार्सिलोनाले पोष्ट गरेको छ । यो पोष्ट भने दक्षिण एसियाली मुुलुकमा मात्र देखिन्छ । किनकी लालीगाको फेसबुक लाइभबाट प्रत्यक्ष प्रसारण हुने गरेको छ । लालीगाको प्रसारण अधिकार फेसबुकले लिएको छ ।

    प्रियंकाले आइतबार रातिको खेल सुरु हुनुअघि ‘ला लिगा’ को फेसबुक लाइभमार्फत अंग्रेजी र नेपाली दुबै भाषामा बोलेकी छिन् ।

    उनले त्यसक्रममा धेरै नेपाली बार्सिलोना आउन चाहने तर नपाउने भन्दै भनेकी छिन्, ‘मैले सबैको लागि यो सपना बाँचिरहेको छु, यहाँ यति रमाइलो भइरहेको छ । यो क्षण म जिन्दगीभर बिर्सिन सक्दिनँ ।’

    फेसबुक लाइभकै क्रममा प्रियंकालाई खेलमा कति गोल हुन्छ भनेर अनुमान समेत गर्न लगाइएको थियो । उनले कूल चार गोलको अनुमान गरेकी थिइन् ।

    फेसबुक लाइभमा उनले बार्सिलोनाका कप्तान लियोनल मेस्सी आफ्नो मन पर्ने खेलाडी रहेको बताएकी छिन् । ‘मलाई मेस्सी मन पर्छ किनभने उनी तेज छन् र उनको दाँजोमा अर्को कोही छैन, उनको भनाई छ ।

    उनी व्यवसायिक ब्राण्डको स्पोन्सरमा बार्सिलोनामा पुगेकी भएपनि कसले त्यहासम्म लग्यो भन्ने चाही सार्वजनिक भएको छैन ।

  • आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

    आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

    काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी आज वसन्त पञ्चमी मनाइदैछ । यो चाड प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइन्छ ।

    यस दिन विद्यालय, शिक्षालय तथा सरस्वती मन्दिरहरुमा विशेष पूजाआजा आयोजना गरिन्छ ।

    आज सरस्वतीको पूजा गर्दा विद्या र बुद्धि बढ्ने विश्वास जनमानसमा रहेको छ ।

    काठमाडौं उपत्यकास्थित स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेजस्ता स्थानमा सरस्वतीको विशेष पूजा हुन्छ ।

    आज अक्षारम्भ गराउने दिनका रुपमा पनि चिनिन्छ । यस दिन विद्यालय भर्ना गर्दा बालबालिकालाई कुनै साइत हेराउनु नपर्ने जनविश्वास रहेको छ ।

    साना बालबालिकाको नाक–कान छेड्न समेत यही दिनको उपयोग गरिन्छ ।

    आज अन्य शूभकार्यमा समेत साइत हेर्न नपर्ने जनविश्वास रहेको छ ।

    आज अपरान्ह राष्ट्रपति विद्यादेवि भण्डारीसहित उच्च पदस्थ अधिकारी हनुमानढोका दरबारको नासल चोक पुगी वसन्त श्रवणमा सहभागी हुने प्रचलन रहेको छ ।

  • धरौटीमा छुटिन् गायिका आस्था राउत

    धरौटीमा छुटिन् गायिका आस्था राउत

    काठमाडौं । प्रहरी हिरासतमा रहकी गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेका हुन् ।

    उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेपछि पक्राउ परेकी हुन् ।

    यस प्रकरणमा अनुसन्धान सकेर प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहित प्रतिवेदन बुझाएको थियो ।

    सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय दिएको थियो । राउतलाई चार दिन थुनामा राख्ने आदेश आएको भएपनि उनी अस्पताल भर्ना भएकी थिइन् ।

    उनी ‘हाइपर टेन्सन’ भएको भन्दै अस्पताल भर्ना भएकी हुन् । छुटेपछि राउतले प्रहरीको प्रशंसा गरेकी छिन् । उनी बुबा हरिबहादुर राउतसँगै प्रशासनबाट निस्किएकी हुन् । उनले सञ्चारकर्मीलार्ए प्रतिक्रियासमेत दिएकी थिइन् ।

    उनले प्रहरीप्रतिको बुझाइ दुई दिनमै फेरिएको प्रतिक्रिया दिएकी हुन् । उनले आफूबाट गल्ती भएको समेत पुनः स्वीकार गरिन् ।

    अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएपछि उनी फेसबुक लाइभमा आउकी थिइन् । फेसबुकबाट प्रहरीलाई तथानाम भनेपछि उनी विवादमा तानिएकी हुन् ।

  • आज सोनाम ल्होसार मनाइदै, चीन जापान, मंगोलियालगायत देशमा नयाँ वर्ष

    आज सोनाम ल्होसार मनाइदै, चीन जापान, मंगोलियालगायत देशमा नयाँ वर्ष

    काठमाडौं । तामाङ समुदायको विशेष चाड सोनाम ल्होसार आज मनाइदैछ । २८५६ औं सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाउन लागिएको हो । यो पर्व हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन पर्छ ।

    तामाङ समुदायमा घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने गरिन्छ ।

    यस दिन एकै स्थानमा भेला भई मनोरञ्जनात्मक कार्यक्रममा रमाउने प्रचलन समेत रहेको छ ।

    मञ्जुश्री पात्रोअनुसार आजदेखि सुँगुर वर्ष सम्पन्न भएको छ भने मुसा वर्ष शुरु भएको छ ।

    नेपालमा तामाङ, ह्योल्मो, थकाली जातीले यो पर्व मनाउँछन् ।

    यसबाहेक चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत आज नयाँ वर्षको उत्सव मनाइदैछ ।

  • गायिका आस्था राउतलाई पक्रन अनुमति

    गायिका आस्था राउतलाई पक्रन अनुमति

    काठमाडौं । ड्यूटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको कसुरमा गायिका आस्था राउतमाथि कारवाही हुने भएको छ ।

    उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

    प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउको अनुमति दिएको हो ।

    अब उनी प्रहरीको फरार सूचीमा परेकी छिन् । आस्थ अहिले सिक्किममा छिन् ।

    बुधबार काठमाडौंबाट भद्रपुर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै उनले फेसबुकबाट भिडियो सन्देश जारी गरेकी थिइन् ।

    उक्त सन्देशमा उनले प्रहरी संगठनमाथि अमर्यादित भाषा बोलेकी छिन् भने तल्लो तहको कर्मचारीलाई होच्याएर बोलेकी छिन् ।

    त्यसपछि त्रिभुवन विमानस्थलको सीसीटीभी क्यामराले खिचेको भिडियो सार्वजनिक गरेको थियो ।

    भिडियोमा प्रहरी भन्दा आस्थाले प्रहरीलाई दूब्र्यवहार भएको देखिएपछि उनीमाथि कारवाहीको पक्रिया अगाडी बढाइएको हो ।

    उनको भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो ।

    त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको हो ।

    सीसीटीभी फुटेजबाट आस्थामाथि दुर्व्यवहार नभइ, उनले महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएपछि प्रहरीले कारवाही अगाडी बढाउन लागेको हो श्रेष्ठले पनि अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा किटानी जोहरी दिएकी छन् ।

    सीसीटीभी क्यामरा बाहिरीएपछि भने आस्थाले सार्वजनिक रुपमा माफि मागेकी थिइन् ।

  • चर्चित नेपाली बुलफाइट आज

    चर्चित नेपाली बुलफाइट आज

    काठमाडौं । पछिल्ला वर्षहरुमा गोरु जुधाइले व्यवसायिक रुप लिएको छ । सोही मौका पारेर आज नुवाकोट र रसुवामा गोरु जुधाई महोत्सव आयोजना हुँदैछ ।

    देशविदेशका पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्लो एक दशकयता नुवाकोट र रसुवामा व्यवसायिक रुपमै गोरु जुधान थालिएको हो ।

    नुवाकोटको तारुका र नुवाकोट तथा रसुवाको सीमाना वेत्रावतीमा आज भब्य मेला लाग्छ । हजारौं मानिसले बलवान गोरु एक आपसमा जुधेको हेरेर मनोरन्जन लिनेछन् ।

    खासगरी सरकारी तवरबाटै यस मेलाई प्रवद्र्धन हुन थालेपछि स्थानीय बासी हौसिएका छन् ।

    उनीहरुले यही मेलाकै लागि भनी गोरुलाई सकेसम्म बलियो बनाउँछन् ।

    आफ्नो गोरुले जित्दा एकातिर पुरकास्कार पाइने र अर्कोतर्फ इज्ज्यत पनि पाइने भएकाले तारुका तथा वेत्रावति आसपासका कृषक निकै मिहिनेत गरी गोरुको स्याहार गर्ने गर्छन् ।

    आज माघ. संक्रान्तीको दिन पारेर यो मेला आयोजना हुने गरेको छ । यस दिन घिउ, चाकु, तरुलजस्ता खाद्यपदार्थ खाएर माघेसंक्रान्ती मनाउने गरिन्छ ।

  • आजबाट श्रीस्वस्थानी व्रत शुरु

    आजबाट श्रीस्वस्थानी व्रत शुरु

    काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने श्रीस्वस्थानी व्रत तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । यो पर्वलाई हिन्दू धर्मावलम्बीले एक महिनासम्म निकै महत्व दिएर मनाउने गर्छन् ।

    पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो व्रतका अवसरमा पूजा आरधना हुने गर्छ । एक महिनासम्म घरघरमा स्वस्थानी कथा भन्ने र सामूहिक रुपमा सुन्ने गरिन्छ ।

    स्वस्थानी परमेश्वरीको व्रत बस्नेहरुले भने हरेक दिन पूजा आरधना गर्छन् । व्रत बस्दा वा कथा र सुन्दासमेत मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

    यस पर्वमा काठमाडौंको शालीनदीमा भब्य मेला लाग्छ ।

    सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ यो व्रत बस्ने परम्परा रही आएको छ ।

    व्रतपछि पार्वतीले लोककल्याणका लागि यो व्रतकथा प्रचारप्रसार रेको र गरिब तथा दुःखीहरूको उद्धार गरेको कथा यसमा समेटिएको छ ।

    व्रत अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी र सतीदेवीको अङ्ग पतन भएका स्थानमा विशेष आस्थासहित पूजाआरधना हुने गरेको छ ।

  • मेटिने भए ट्रक साहित्य

    मेटिने भए ट्रक साहित्य

    काठमाडौं । अब सार्वजनिक तथा निजी कुनै पनि सवारी साधनमा फिल्मी डाइलग, कविता, मुक्तक, हाइकु तथा चुटकिला पढ्न नपाइने भएको छ ।

    यातायात व्यवस्था विभागका अनुसार अब सबै सार्वजनिक यातायातले यसरी लेखिएका साहित्य हटाउनु पर्ने भएको छ ।

    लामो तथा छोटो, कुनै पनि दूरीका यातायातका साधनले साहित्य राख्न पाउने छैनन् ।

    रमाइला, रोचक तथा प्रेमिल साहित्यले चालकको ध्यान आकर्षित गर्ने र त्यसले एकाग्रता टुट्न गई दूर्घटनाको समेत जोखिम बढेपछि यस्तो निर्णय लिनु परेको विभागको भनाई रहेको छ ।

    अब सवारी साधनमा यस्ता कविता वा स्लोगन लेख्न नपाइने र पुरानो गाडीमा लेखेको भए मेटाउनु पर्ने नियम विभागले कार्यान्वयन थालेको छ ।

    विभागले बिहीबार यस सम्बन्धमा सूचना नै जारी गरेको थियो । विभागका अनुसार कुनै पनि सार्वजनिक सवारी साधनमा यस्तो स्लोगन, कोटेसन वा कविता राख्न पाइने छैन ।

    अब सार्वजनिक सवारी साधानमा साहित्य वा कोटेसन भेटिए सवारी जाँचपास नै नहुने र कारवाही गरिने विभागले उल्लेख गरेको छ ।

  • आज विश्वभर नयाँ वर्षको उल्लास

    आज विश्वभर नयाँ वर्षको उल्लास

    काठमाडौं । इस्वी संवतअन्तगर्त नयाँ वर्ष सन् २०२० आजबाट शुरु भएको छ । नेपालीसहित विश्वभर शुभकामना आदान प्रदान, घुमघाम र मिठो खानपान गरी यो पर्व मनाउने प्रचलन रहेको छ ।

    इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को मृत्युपछि उनका अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । सन् २०१९ लाई बिदाई गरी २०२० को स्वागतमा विश्वभर उल्लसमय कार्यक्रमहरु आयोजना हुन्छन् ।

    नेपालमा नयाँ वर्ष वैशाखमा पर्ने भएपनि इश्वीसंवतको समेत प्रभाव परिसकेको छ । खासगरी अन्तर्राष्ट्रिय अभियानहरु यसै वर्ष शुरु हुने भएकाले यसले क्रमशः आफ्नो पकडलाई बलियो बनाइरहेको छ ।

    नयाँ वर्षलाई काउन्टर दिन नेपालमा केही अभियन्ताले नेपाली टोपी दिवस भनेर पनि प्रारम्भ गरेका छन् ।

    खासगरी सामाजिक संजालमा यसको प्रयोग अधिक देखिन्छ । युवायुवतीहरुले नेपाली टोपी लगाएर सामाजिक संजाल रग्याउने गरेका छन् ।

    विश्वभर यस अवसरमा शुभकामना दिँदै नेताहरुले विश्व शान्ती र समृद्धिको कामना गरेका छन् ।

    नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन् ।

    उनले नेपाल भ्रमण वर्षका रुपमा मनाएर लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने समेत बताएका छन् ।

  • प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

    प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

    काठमाडौं । भारतीय प्रसिद्ध गायिका आशा भोस्ले नेपाल भ्रमणमा आएकी छिन् । साधना कला केन्द्र पुतलीसडकले उनलाई नेपाल ल्याउने चाजोपाँजो मिलाएको हो ।

    उनी बुधबार अपरान्ह ५ बजे काठमाडौं ओर्लिएकी छन् । उनलाई स्वागत गर्न पञ्चकन्यासहित सांस्कृतिक टोली त्रिभुवन विमानस्थलमा गएको थियो । उनका स्वागतका लागि सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

    भोस्लेले शनिबार संगीतकार रणजीत गजमेरको संगीतमा काठमाडौंमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

    उनलाई नेपालका ३५ जना कलाकारले साथ दिनेछन् । केन्द्रले भारतीय प्रसिद्ध कलाकाररुलाई निरन्तर नेपाल भ्रमणमा ल्याउने गरेको छ ।

    ८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थान भ्रमण गरी नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्नेछिन् ।

    नेपाली गीत संगितमा समेत उत्तीकै योगदान दिएकी उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसारजस्ता गीत गाएर नेपाली संगितलाई उर्वर बनाउन भूमिका खेलेकी छिन् ।

  • टुट्यो रामकृष्ण ढकालको जोडी

    टुट्यो रामकृष्ण ढकालको जोडी

    काठमाडौं । धेरैका लागि आदर्श जोडी मानिएको चर्चित गायक रामकृष्ण ढकालको जोडी टुटेको छ । रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह (ढकाल)बीच सम्बन्ध विच्छेद भएको हो ।

    पत्नी निलमले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा दिएको निवेदन न्यायाधीश विदुर कोइरालाको इजलासमा मन्जुरी भएको हो ।

    सम्बन्ध विच्छेदको निवेदनमा दुबै पक्षबीच मिलापत्र भएपछि उनीहरुको जोडी टुटेको हो । ढकाल दम्पतीकी एक छोरी रहेकी छिन् ।

    छोरी आमासँग रहने भएकी छिन् । निलमले रामकृष्णको सम्पत्तिमा भने दावि नगर्ने भएकी छिन् । पछिल्लो समय गायक ढकाले काठमाडौंमा घर बनाउन सहकारीबाट लिएको ऋणको तनावमा थिए ।

    सम्बन्ध विच्छेदको कारण खुलेको छैन । तर, खटपटमा सोही कारण हुन सक्ने आंशका रहेको छ ।

    घर बनाउन लिएको ऋण घर नै लिलामी गर्दासमेत तिर्न नपुगेपछि गायक ढकाल समस्यामा छन् । सोही बेला उनलाई निलमले छोडपत्र दिएकी छिन् ।

  • आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

    आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

    काठमाडौं । आज विश्वभर क्रिसमस डे मनाइदैछ । नेपालसहित विश्वभर रहेका क्रिश्चियन धर्मावलम्बीले यो चाड मनाउन लागेका हुन् । हरेक वर्ष २५ डिसेम्बरमा यो चाड बनाउन प्रचलन रहेको छ ।

    यस दिन येशु ख्रिष्टको जन्मदिनको रहेको र सोही खुसियालीमा क्रिमसम डे मनाउन थालिएको परम्परा रहेको छ ।

    आजभन्दा करीव दुई हजार वर्ष पहिले जेरुसेलमको बेथलेहम भन्ने स्थानमा मारियमको कोखबाट येशुको जन्म भएको थियो ।

    येशु जिसस क्राइस्टका नामबाट पनि परिचित छन् । उनकै नामबाट इस्वी संवत् समेत चलेको हो ।

    यस दिन क्रिश्चियन धर्मावलम्बीले उपहार तथा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ । आ सरकारले सम्बन्धित धर्ल मान्नेहरुका लागि बिदा दिएको छ।

  • नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा

    नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा

    मुम्बई । भारतमा यतिबेला आन्दोलनले आगो बलेको छ । सरकारले विवादित नागरिकता सम्बन्धी विधेयक अगाडी बढाएपछि त्यसको देशव्यापी प्रदर्शन जारी छ ।

    यसै मेसोमा आन्दोलनमा ऐकिवद्दता जनाउन बलिउडकर्मीहरुसमेत सक्रिय भएका छन् । बिहीबार हृतिक रोशन, हुमा कुरेशी, श्वरा भाष्कर, ममोटी, प्रियंका चोपडा, दिया मिर्जा, सुशान्त सिंहलगायत कलाकार सडकमा ओलिएका छन् ।

    कानुनको विरोधमा देशव्यापी प्रदर्शन भइरहेका बेला बिहीबार मुम्बईको अगष्ट क्रान्ति मैदानमा आयोजना भएको विरोध प्रदर्शनमा बलिउड कलाकारको उपिस्थति रहेको थियो ।

    यसअघि कलाकारले सामाजिक संजालको विरोध गरेपनि सडकमै भने पहिलो पटक उत्रिएका हुन् । भारतमा चर्किएको आन्दोलन ३ जनाको ज्यान गइसकेको छ ।

    गैरमुस्लिम आप्रवासीलाई नागरिकमा सहज गरेर मुस्लिम धर्मावलम्बीलाई लखेट्ने उद्देश्यसहित भारतले नयाँ कानून ल्याएको आन्दोलनकारीहरुको तर्क रहेको छ ।

  • कक्षा ९ मै लभबारे थाहा पाएँ ः केकी

    कक्षा ९ मै लभबारे थाहा पाएँ ः केकी

    केकी अधिकारी नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो । काठमाडौंको जोरपाटीमा सन् १९८८ मा जन्मिएकी अधिकारी नेपाली चलचित्र क्षेत्रमा सफल नायिकाका रुपमा स्थापित छन् । स्वर चलचित्रबाट अभिनय थालेकी अधिकारी पछिल्लो समय चालबाजको अभिनयमा व्यस्त छन् । यो चलचित्रको सुटिङ भारतको दार्जीलिङबाट सुरु भएको हो । यो चलचित्रमा केकीको मुख्य भूमिका छ ।
    केकी छ माया छपक्कैबाट सन् २०१९ मा चर्चामा रहिन् । उनी व्यावसायिक मोडल हुँदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । विभिन्न म्युजिक भिडियो, विज्ञापन र सानो पर्दाका सिरियलमा पनि उनलाई देख्न पाइन्छ । स्कुले जीवनमा रहँदा कक्षा ९ देखि उनी लभका बारेमा परिचित छन् । उनले आफूलाई कक्षा नौ पढ्दादेखि फेबु्रअरी १४ अर्थात् प्रणय दिवसका बारेमा राम्रो जानकारी भएको बताइन् ।
    अहिलेसम्म दर्जनौँ चलचित्रमा अभियन गरेकी अधिकारीलाई सयौँ व्यक्तिले प्रेम प्रस्ताव राखिसकेका छन् । तर, उनले मन मिल्ने साथी नभेटेको प्रतिक्रिया दिएकी छन् ।

  • कलाकारद्धय भट्टराई र क्षेत्रीको दाहसंस्कार

    कलाकारद्धय भट्टराई र क्षेत्रीको दाहसंस्कार

    काठमाडौं । हृदयघातका कारण ज्यान गुमाएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ कलाकार दीपक क्षेत्रीको दाहसंस्कार गरिएको छ ।

    शनिबार राती क्षेत्रीको निधन भएको थियो । भट्टराईको भने आइतबार राती निधन भएको हो । फरक दिनमा निधन भएपनि उनीहरुको दाहसंस्कार एकै दिन पर्न गयो ।

    आर्यघाटमा सयौं कलाकार तथा हजारौं दर्शकले उनीहरुलाई सधैका लागि बिदा गरे । भट्टराईलाई नेपाल सरकारले राष्ट्रिय सम्मान दियो ।

    संचार मन्त्री गोकुल बास्कोटाले राष्ट्रिय झण्डा ओड्याएर उनको सम्मान गरे । नेपाल प्रहरीको एक टुकुडीले सलामी अर्पण समेत गरेको थियो ।

    दाहसंस्कार अगाडी उनीहरुको शव अन्तिम श्रद्धान्जलीमा राखिएको थियो । केशवलाई उनका १५ वर्षिय छोराले दागबत्ती दिएका छन् ।

    चलचित्र विकास बोर्डको प्रांगणमा दुबै कलाकारको शव श्रद्धान्जलीका लागि राखेर आर्यघाट लगिएको थियो ।

  • चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

    चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा भट्टराईको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई तत्काल ओम अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

    मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने अस्पतालले जनाएको छ । हृदयघात भएको आंशका छ । उनी निर्माता तथा कलाकारसमेत हुन् ।

    उनी गत पछिल्लो १ वर्षयता भने संघको अध्यक्षका रुपमा सक्रिय थिए । भट्टराइको पछिल्लो चलचित्र ‘यात्रा’ हो ।

    बक्स अफिसमा कमाउ हुने चलचित्र निर्माताका रुपमा उनलाई चिचिन्थ्यो । उनी विगत ३ दशकयता चलचित्र क्षेत्रमा सक्रिय छन् ।

    उनी अभिनेतासमेत हुन् । ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’जस्ता चर्चित चलचित्र उनले बनाएका हुन् ।

    उनको आजै दाहसंस्कार गर्ने तयारी रहेको छ ।

  • टोनी बनिन् मिस वर्ल्ड, अनुष्कालाई ‘ब्युटी विथ अ प्रपोज अवार्ड

    टोनी बनिन् मिस वर्ल्ड, अनुष्कालाई ‘ब्युटी विथ अ प्रपोज अवार्ड

    लण्डन । जमैकन सुन्दरी टोनी एन सिंह मिस वर्ल्ड २०१९ घोषित भएकी छिन् । मिस वर्ल्डको ६१ औं संस्करणमा सहभागी १११ देशका सुन्दरीलाई उछिन्दै उनले उपाधी जितेकी हुन् ।

    प्रतियोगिताको फस्ट रनरअप फ्रान्स र सेकेन्ड रनरअप भारतले जिते । नेपाली सुन्दरी अनुष्का श्रेष्ठका लागि पनि प्रतियागिता सफल सावित भएको छ ।

    उनी टप १२ मा पुग्न सफल भइन् । अनुष्काले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पार्दै आफूलाई सफल सावित गरिन् ।

  • न्युयोर्कमा नेपाली कमेडी नाइट

    न्युयोर्कमा नेपाली कमेडी नाइट

    न्युयोर्क डिसेम्बर १३

    गोरखाली समाज न्युयोर्कको आयोजनामा हास्यकवि शैलेन्द्र सिंखडा कमेडी नाइट सम्पन्न भएको छ । कार्यक्रम अमेरिका भ्रमणको क्रममा रहेका हास्यकवि सिंखडाको सम्मानमा न्यूयोर्क ज्याक्सन हाईट्सस्थित शेर्पा किदुङको हलमा शनिवार साँझ भएको हो ।

    नेपालका चर्चित हास्यकवि सिंखडाले कार्क्रममा आफ्ना पुरानै कविताहरू वाचन गरेका थिए । युट्युवमा रहेका पुरानै कविताहरू वाचन गर्न थालेपछि दर्शकदीर्घाबाट हल्ला भएको थियो । हल्लालाई मथ्थर पार्न कविले “सुन्ने मन छैन भने हल्ला गरे हुन्छ” भन्नु परेको थियो । न्युयोर्कमा बसोवास गरिरहेकी कवि रश्मी भट्टले पनि छन्दमा व्यंग्यात्मक वाचन गरेकी थिइन् । त्यतिन्जेलसम्म हास्यकबि आफ्नो काम सिध्याएर बाहिरी सक्नु भएको थियो । डा. तारा निरौला,  कम्यूनिटी मेम्बर मोहन ज्ञवाली, डा. गोबिन्द कोइराला, रिजउड सोसाईटीका अध्यक्ष राजेश भट्ट, डा. मह भट्ट, बिमा सहयोगी हरिश हमाल, जनसम्पर्क समितिका सभापति आनन्द बिष्ट, समाजसेवी बिश्व विक्रम शाह, कम्यूनिटी सदस्य ज्ञानल थापा, अधिकारकर्मी नर्वदा क्षेत्री, रोटरी क्लव अफ क्वीन्सका प्रिसिडेन्स नवराज केसी, इलेक्टेड प्रिसिडेन्ड जनक भण्डारी, सन्चारकर्मी किरण मरहठ्ठा लगायतका ब्यक्तीहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अर्को चरणमा लोकगायक विमल डांगी र तीलक बमको सांगितिक प्रस्तुतिले एकछिन दर्शकलाई नचाएको थियो । 

    गोर्खा समाजले हास्यकवि सिंखडालाई सम्मान गरेको थियो भने अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अनेसास न्युयोर्क च्याप्टरको तर्फबाट कवि जानुका वस्ती ढकालले फूल र खादाले सम्मान गरेकी थिइन् ।

    सोही समारोहमा न्युयोर्क सिटी काउन्सिलले गोरखा समाज अमेरिकाका सक्रिय सदस्य तथा अनेसास न्युयोर्क च्याप्टरकी कोषाध्यक्ष श्री जानुका वस्ती ढकाललाई र समाजका उपाध्यक्ष जे बी गुरूगंलाई प्रशंसा प्रमाण-पत्र प्रदान गरेको थियो ।

  • मिस वर्ल्डमा नेपाललाई मल्टिमिडिया अवार्ड

    मिस वर्ल्डमा नेपाललाई मल्टिमिडिया अवार्ड

    लण्डन । शनिबार मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा हुँदैछ । बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड हात पारेकी छिन् ।

    मिस नेपाल श्रेष्ठ हेड टु हेड च्यालेन्जका आधारमा दोस्रो चरण पार गर्दै टप टेनमा समेत पुग्न सफल भएकी छिन् ।

    यससँगै अब उनी फाइनल राउन्डकी पतिस्पर्धी समेत भएकी छिन् । अनुष्का ब्यूटी विथ पर्पोज विधाबाट पनि टप १० मा पुग्न सफल भएकी छिन् ।

    शनिबार अनुष्कासँगै ४० प्रतिस्पर्धीले मिस वर्ल्डको उपाधीका लागि अन्तिम प्रतिस्पर्धा गर्नेछन् । मिस वर्ल्डमा नेपालसहित विश्वभरका एक सय २५ देशका सुन्दरीले भाग लिएका छन् ।

  • आज धान्य पूर्णिमा, सम्बन्धित समूदायलाई छुट्टी

    आज धान्य पूर्णिमा, सम्बन्धित समूदायलाई छुट्टी

    काठमाडौं । आज विभिन्न जात जाती तथा समुदायले छुट्टाछुट्टै चाड बनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पर्ने धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा एकै दिन मनाउन लागिएको हो ।

    सरकारले सम्बन्धित समुदायका व्यक्तिलाई आज बिदा दिएको छ । अन्य जात र समुदायका कर्मचारीले भने साविकमा झै काम गर्नुपर्छ ।

    धान्य पूर्णिमाका अवसरमा भर्खरै भित्राइएको धानको विधिपूर्वक पूजा आजा तथा दान गर्ने प्रचलन रहि आएको छ ।

    शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने साथै साही पीठोबाट बनाइएका सेल, बाबर, पुरी मालपुवा जस्ता प्रसाद चढाउने गरिन्छ ।

    आज काभ्रेको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवीजस्ता स्थानमा भक्तजनको घुइचोसमेत लाग्छ । उता नेवार समुदायमा पनि आजैका दिन योमरी पूर्णिमा मनाइन्छ ।

    योमरी पुन्हिःका नाममा मनाइने यस चाडमा नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनेको योमरी खाने प्रचलन रहेको छ ।

    उता, याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम समेत आजै परेको छ ।

    यता, ब्रामण क्षेत्री समुदायमा समेत कतिपय जातको आज कूलपूर्जा पर्छ । देशभर पर्ने यस्तो कूलपूँजालाई ति समुदाय दशैंभन्दा पनि प्राथमिकता दिएर मनाउने गरेका छन् ।

  • बलिउड अभिनेता अक्षय कुमारको भारतीय नागरिकता नपाएको गुनासो

    बलिउड अभिनेता अक्षय कुमारको भारतीय नागरिकता नपाएको गुनासो

    भारतीय फिल्म उद्योगका चर्चित नायक अक्षय कुमारले आफुले भर्खरै भारतीय नागरिकता प्राप्तीको लागि निबेदन दिएको बताएका छन् । उनले यस अगाडि आफु क्यानेडियन नागरिक भएको र अहिले क्यानेडियन नागरिकता त्याग गरी भारतीय नागरिकताको लागि निबेदन दिएको बताएका छन् । नायक अक्षयले एक कार्यक्रममा बोल्दै भारतीय नागरिकता प्राप्त गर्नको लागि बारम्बार आफ्नो देश प्रति निष्ठा र बफादारिता प्रमाणित गर्न भनिएकोले दु:खी भएको बताए । उनले भने “म एक भारतीय हुँ । मेरो पत्नी र बच्चाहरु सबै भारतीय नागरिक हुन् । मैले यो देशमा थुप्रै रकम कर तिरेको छु । मेरो जिन्दगी नै भारतको लागि हो ।  अहिले मैले भारतीय राहदानीको लागि निबेदन दिएको छु । मलाई बारम्बार भारत  प्रतिको निस्ठा र बफादारीता प्रमाणित गर्न प्रश्न गरिएको कारण धेरै पिडा भएको छ”।

    भारतीय फिल्म उद्योग कै धनाढ्य कलाकार अक्षयले आफुले अभिनय गरेको १४ वटा फिल्म लगातार फ्लप भए पछि फिल्म उद्योगमा कुनै भविष्य छैन भनेर आत्तिएको अवस्थामा क्यानडामा बस्ने एक साथीको सल्लाहमा क्यानाडामा नै बस्ने निर्णयका साथ क्यानाडाको पासपोर्ट लिएको तर १५ फिल्म भने सुपर हिट भएपछि कहिलै पछाडि सोच्न्नु नपरेको समेत बताए ।

    सन् २०१६ देखि यताका अक्षयद्वारा अभिनित कुनै पनि फिल्म फ्लप भएका छैनन् ।  

    श्रोत : हिन्दूस्तान टाईम्स

  • जनकपुरधाम पुग्यो सागको रमझम, २० स्वर्णका लागि प्रतिस्पर्धा

    जनकपुरधाम पुग्यो सागको रमझम, २० स्वर्णका लागि प्रतिस्पर्धा

    जनकपुर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदमा यस पटक संघीयताको समेत निकै राम्रो अभ्यास देखिएको छ ।

    सरकारले विगतमा काठमाडौं केन्द्रित सागलाई मुलुकका महत्वपूर्ण तीन शहर र प्रदेशमा बिस्तार गरेको छ ।

    काठमाडौंसहित पोखरा र जनकपुरमा सागका प्रतिस्पर्धा भइरहेका छन् । जनकपुरमा भने शुक्रबार मात्र सागको औपचारिक उद्घाटन भयो ।

    शुक्रबार एक औपचारिक कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दीप प्रज्वलन गरी १३ औं सागको शुभारम्भ गरे । उनले जनकपुरधाममा पुगेका सबै देशका खेलाडीलाई स्वागत गरेका थिए ।

    कार्यक्रममा नेपाली सेना र जनकपुरधामस्थित मिथिला नाट्य कला परिरषद्ले सांस्कृतिक नृत्य देखाएको थियो । जनकपुरधाममा कूल २० स्वर्ण पदकका लागि कुस्तीका खेलहरु संचलन हुँदैछन् ।

    कुस्तीमा कूल ५ देशले भाग लिएका छन् । कुस्तीमा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशले २० स्वर्णका लागि विभिन्न इभन्ेटमा प्रतिस्पर्धा गर्दैछन् ।

  • चिकित्सकसंग विवाह गर्दै नायिका आँचल

    चिकित्सकसंग विवाह गर्दै नायिका आँचल

    काठमाण्डौ

    बेलाबेलामा चर्चामा आउने नायिका आँचल शर्मा दवाडी विवाहको अन्तिम तयारीमा छन् । मंसिरको अन्तिम हप्ता उनले विवाह गर्ने तयारी गरेकी छन् । डा. उदीप श्रेष्ठसँग उनले घरजम गर्न लागेकी हुन् । यी दुई एक वर्षदेखि प्रेममा रहेको उनी निकटहरुले बताएका छन् । दुवैतर्फको परिवारसमेत सहमत भएकाले यही मंसिरमा उनले घरजम गर्ने लगभग निश्चित भएको हो ।
    नायक पल शाहसँग नाम जोडिएर पटक–पटक चर्चामा आएकी नायिका आँचलले अन्ततः एक चिकित्सकसँग विवाह गर्ने निश्चित भएको छ । चलचित्र नाई नभन्नु ल–४ बाट आफ्नो करियर शुरु गरेकी नायिका आँचलले जोनी जेन्टलम्यान र शत्रु गतेमा राम्रो अभिनय गरिन् । काठमाडौंमा सन् १९९५ मार्च १८ मा जन्मेकी आँचल दवाडी शर्माले काठमाडौं इन्टरनेशनल कलेजमा अध्ययन गरेकी थिइन् ।
    चलचित्र क्षेत्रमा प्रवेश गर्नुपूर्व उनले मोडलिङ क्षेत्रमा काम गरेकी थिइन् । त्यति मात्र नभएर उनी भिजे समेत हुन । सन् २०१६ देखि उनले चलचित्र क्षेत्रमा चर्चा बटुलेकी छन् । आफ्नो शारीरिक बनावटबाट उनी निकै सन्तुष्ट छन् । आफूलाई ऐनामा हेर्दा खुसी र सुन्दर लाग्ने उनको अनुभव छ । तर, कान ठूलो भएकाले उनलाई कहिले काँही चित्त दुख्छ । रुने कुरामा भने उनलाई कसैले जित्न गाह्रो हुन्छ । ससाना कुरामा पनि रुन मन पर्छ ।

  • उत्तिकै लोकप्रिय छन् स्वरसम्राट नारायणगोपाल

    उत्तिकै लोकप्रिय छन् स्वरसम्राट नारायणगोपाल

    काठमाडौं । स्वरसम्राट नारायणगोपालले भौतिक शरीर छाडेको तीन दशक पुगेको छ । तर, उनका सिर्जना भने नेपालीका मन मुटुमा अझै पनि जीवन्त छन् ।

    नेपाली संगीतका अमर व्यक्तित्व नारायणगोपाल गुरुवाचार्यको २९ औं स्मृति दिवस बिहीबार विविध कार्यक्रमसहित मनाइदैछ ।

    नेपाली संगीतलाई उनले कैयौं वर्षसम्म मेट्न नसक्ने छाप छाडेर गएका छन् । त्यसकारण पनि हरेक जन्मजयन्ती तथा स्मृति दिवसमा स्वरसम्राटको सम्झना गर्ने गरिन्छ ।

    बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उनको जन्म विसं १९९६ असोज १८ मा काठमाडौंमा भएको हो ।

    उनको निधन भने विसं २०४७ मंसिर १९ मा ५१ वर्षकै उमेरमा भएको थियो । नारायणगोपाल संगीत कोषले उनको स्मृतिमा विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।

    नेपालमा हिन्दी संगितको दवदवा बढिरहेको समयमा नेपाली संगितलाई लोकप्रिय बनाउन उनले ठूलो योगदान गरेका छन् ।

  • साग उद्घाटन समारोहको रंगशालामा रिहर्सल

    साग उद्घाटन समारोहको रंगशालामा रिहर्सल

    काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन १५ मंसिर (आइतबार) हुँदैछ । यस दिन करीव १४ हजार दर्शक सामू सागको भब्य उद्घाटनको तयारी गरिएको छ ।

    यसै सिलसिामा शुक्रबार दशरथ रंगशालामा रिहर्सल सम्पन्न भएको छ । नेपाली सेना, प्रहरी तथा विद्यार्थीसहित कलाकारहरुले दशरथ रंगशालामा शुक्रबार रंगशालामा ‘रिहर्सल’ गरे ।

    नेपालको पहिचान झल्कने गरी विविधि सांस्कृतिक प्रस्तुती दिने तयारी छ । यस दिने सागमा सहभागी राष्ट्रका खेलाडीले मार्च पास गर्ने छन् ।

    राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारिक समारोहको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपालको सातवटै प्रदेशको कला र सस्कृति झल्कने झाँकी एवं कला प्रस्तुत गर्ने तयारी छ ।

    उद्घाटन सत्र करीव ३ घण्टाको हुनेछ । मार्च पासमा नेपालको झण्डा क्रिकेटर पारस खड्काले बोक्ने भएका छन् । साग २४ मंसिरसम्म चल्नेछ । साग दक्षिण एसियाकै वृहत्त खेल मेला हो ।

  • सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह

    सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह

    काठमाडौं । करीव दुई दशकपछि दक्षिण एसियाली खेलकुदको महाकुम्भ दक्षिण एसियाली खेलकुद (साग) नेपाल आइपुगेको छ ।

    १३ औं सागको आयोजकको हैसियतमा नेपालले अन्त्राष्ट्रिय स्तरमा आफ्नो छवि प्रस्तुत गर्ने मौका पनि यो हो । त्यसकारण सरकारले १३ औं सागलाई ऐतिहासिक र भव्य बनाउने तयारीलाई तिब्र बनाएको छ ।

    १५ मंसिर अर्थातः आगामी आइतबार सागको औपचारिक उद्घाटन हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सागको औपचारिक उद्घाटन हुनेछ । २४ मंसिरमा समापन हुने सागका खेलहरु भने बुधबारबाट शुरु भइसकेका छन् ।

    सागका खेल काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरिएका छन् । औपचारिक समापन समारोहमा नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरव उकास्ने गरी भब्य तयारी गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

    उक्त दिन करिब सवा तीन घण्टाको उद्घाटन समारोह हुने भएको छ । यस अवसरमा सहभागी मुलुकका खेलाडीले मार्च पास गर्नेछन् ।

    सो अवसरमा नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम आयोजकको तर्फबाट प्रस्तुत हुने भएको छ ।

    उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकलाई सहभागी गराउने योजना रहेको छ ।

    प्रतियोगितामा भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंकाका खेलाडी, पदाधिकारी तथा अन्य सरोकारवाला नेपाल आइपुगेका छन् । विदेशी सहभागी मात्र करिब पाँच हजारको सङ्ख्यामा रहेको बताईएको छ ।

    उनीहरुलाई काठमाडौंका विभिन्न होटेलमा बासको व्यवस्था मिलाइएको छ । यस समारोहलाई नेपाल टलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

    यस च्यानलको प्रसारा दक्षिण एसियाली मुलुकसहित विश्वका १५ भन्दा बढी मुलुकमा प्रत्यक्ष प्रसारण हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

  • आयो विवाहको मौसम

    आयो विवाहको मौसम

    आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क

    श्रावण, भाद्र, आश्विन र कार्तिक महिनाको चार महिने विश्रामपछि मंसीर महिना लाग्ने वित्तिकै हिन्दु धर्म परम्परा अनुसार विवाहको मौसम आएको छ । गरगहना, लत्ताकपडाको जोहो गर्दै वाक्दान आदि विधिले केटाकेटी तयार पारी शालको पातको टपरी गास्ने, सेल पकाउने, कसर बाट्ने, यज्ञ तयार गर्ने र शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले विवाह गर्ने हाम्रो सनातन परिपाटी रहेको पाइन्छ । विवाह गर्ने परम्परामा समयानुकूल केही परिवर्तन भइरहेको हुन्छ नै ।

    हिन्दू विवाह संस्कार धेरै प्रकार रहेका छन् । दुबै पक्षको सहमतिमा समान वर्गको सुयोग्य वरसँग परिवारले विवाह गरिदिने प्रचलनलाई व्रह्म विवाह अर्थात् मागी विवाह भनिन्छ । धार्मिक अनुष्ठानको पूर्ण फलका लागि कन्यादान गरिएमा देव विवाह भनिन्छ । त्यसैगरी कन्या पक्षलाई गौदान आदि मूल्य दिएर विवाह गरिएमा आर्श विवाह भनिन्छ । कन्याको सहमति विना कुनै अभिजात्य वर्गसँग विवाह गरिदिएमा प्रजापत्य विवाह भनिन्छ भने परिवारको सहमतिविना रीतिरिवाज या विधि पनि पूरा नगरी भागेर गरिने विवाहलाई गन्दर्भ विवाह भनिन्छ । यसलाई मौलिक भाषामा पोइला जानु भन्ने पनि गरिन्छ । कन्यालाई नै किनेर गरिने विवाह असुर विवाह हो । कन्याको अपहरण गरी जबर्जस्ती विवाह गरेमा राक्षस विवाह भनिन्छ । कन्या निदाएको या मानसिक दुर्बलता भएको बेलामा बतात्कार जस्तै शारीरिक सम्पर्क गरी पछि विवाह गरेमा पैशाच विवाह भनेर चिनिन्छ ।

    यसरी विवाहको अनेक प्रकार बताइए पनि समयको तिब्र बेग तथा विश्वव्यापीकरणको प्रभावले विवाहको तरिका र प्रकारमा अनेकन मिश्रित घटनाहरु देख्न सकिन्छ । वर्तमानमा मूलतः मागी विवाह, प्रेम विवाह, प्रेममागी विवाह धेरै चले पनि विदेश जाने चटारोले अस्थार्यी भिसाविवाह’ स्थार्यी भिसाविवाहर्, पिआर तथा ग्रीनकार्ड विवाह र सक्कली एवं नक्कली विवाह’ आदि इत्यादि विवाहका अनेक स्वरmप देख्न पाइन्छ । त्यसका अतिरक्त बहुप्रेम पछि थाकेर गर्ने विवाह अनि बहुसन्तान प्राप्तिपछि अनेकौं वर्षसँगै बसेर अनि छोराछोरीसँगै जन्ती बनी गर्ने विवाह पनि आजभोलि चल्तिमा आएको छ । स्वजाति विवाह, अन्तर्जातीय विवाह, अन्तर्धार्मिक विवाह, अन्तर्देशीय विवाह, महिलामहिला बीच र पुरुष-पुरुष बीचको समलिङ्गी विवाह आदि विवाहसमेत हुनेगरेका छन् । हरेक प्रकारका विवाहमा केही न केही अशल र खराव पक्ष भने देख्न पाइन्छ नै । समस्या र समाधानको चक्र दिनरात घुमेजस्तै, कुमालेको चक्र घुमेजस्तै घुमिरहन्छ । समस्या पहिले पनि थियो आज पनि छ ।

    नेपाली सनातन हिन्दू परम्परामा परिवार या लमी मार्फत् केटाकेटीको विषयमा कुरा चलाउने र धेरै कुरा मिलेमा पहिले चिना मिलाउने परिपाटी रहेको पाइन्छ । केटा र केटीको जन्म समय अनुसार तयार भएको चिनामा वर्णको १, वश्यको २, ताराको ३, योनिको ४, मैत्रीको ५, गणको ६, भकूटको ७ र नाडीको ८ गरी जम्मा ३६ गुण मध्ये १७ भन्दा धेरै प्रप्तांक आएमा ज्योतिषको परामर्षमा विवाह गर्ने निश्चय हुन्छ । गुणका अतिरिक्त केटाकेटीको मांगलिक स्थिति समेत हेर्नुपर्ने हुन्छ । लग्नकुण्डलीको १, ४, ७, ८ तथा १२ स्थानमा मंगल ग्रह विराजमान भए मांगलिक हुने र मांगलिक केटाको मांलिक केटीसँगमात्र विवाह गर्नुपर्ने शास्त्रीय मत रहेको छ, अन्यथा वैवाहिक सुखमा कमी आउने शास्त्रीय मत रहेकाले कुम्भ विवाह, कलश विवाह, तुलशी विवाह आदि विधिले दोष निवारण गरी विवाह गर्ने गरिन्छ । सामाजिक परिस्थिति अनुसार केटाकेटीको केही लक्षण मिलाएर विवाह गर्ने गरेको राय कवितामा पनि भेटिन्छ ।

    त्रिकाल जन्मकुण्डलीमा वर तथा कन्याको लक्षण कवितामार्फत् यसरी गरिएको छ ।

    उत्तम कन्या:

    राम्रा दाँत मुहार कान मसिनु बोली कटी बारुले,

    हात्तीझैं हिंडने नपारी दमको लामा नयन नम्रले ।

    बाबा आदि रिझएकी कुच ठुला राता दुबै ओठ छन्

    काला केश र हातपाउ मसिना कन्या अशल भन्दछन् ।।

    उत्तम वर:

    विद्या शील शरीर शाहस शुचि सौन्दर्यशाली कुल,

    शान्ति सम्पत्तिवान् आफू सरहको सच्चा नगर्ने छल ।

    ज्वाईंको गुण हेरी छोरी दिनु है साह्रै नजिकै पर,

    वृत्तिहीन गरीब धेर धनवान् रोगी बुढो छाडेर ।

    त्रिकाल जन्मकुण्डलीमा यस्तो बताए पनि संस्कृतमा अर्कै भनाई छ:

    कन्या कामयते रूपं माता वित्तं पिता श्रुतम् ।

    बान्धवाः कुलमिच्छन्ति मिष्टान्नमितरे जनाः ।।

    अर्थात् विवाहका लागि छोरी सुन्दर रुपवान् केटाको चाहना गर्छिन्, माता छोरीलाई पाल्न सक्ने सम्पत्तिवान् केटा हेर्छिन्, पिता केटाको ज्ञान हेर्छन्, बन्धुबान्धव राम्रो कुलघरान हेर्छन् र बाँकी आउने निम्तालुको मिठोमिठो खानेकुरामै ध्यान हुन्छ । यसरी हेर्दा विवाहमा सबैको फरकफरक अभिलाषा र योजना हुने गर्दछ ।

    जेजस्तो तरीकाले विवाह भएपनि यो पवित्र र अटूट मायाको बन्धन हो । विवाहरुपी नियमले परिवार, समाज, देश र विश्वलाई नै व्यवस्थित सूत्रमा बाँधेको हुन्छ र्। खुट्टा भए जुत्ता कति कति ‘भन्ने मूल मन्त्र लिएर सम्बन्धहरुलाई अस्थाई बनाउनतिर लागी परस्त्री एवं परपुरुषतिर गिद्देदृष्टि बढाउने हो भने समाज झनै अव्यवस्थित हुँदै जान्छ । त्रिकालदर्शी प्राच्य ऋषिमुनिहरुले प्रतिपादन गरिएका नियमहरुलाई पुरातन सम्झेर तथाकथित आधुनिक हुने नाममा आफ्नो मौलिकतालाई छोडी आयातीत संस्कृतिलाई अंकमाल गर्दै गयौं भने हामी नेपाली नराम्रो पारिवारिक संकटरुपी भूमरीमा जाकिने निश्चतप्राय छ । भनिएको छः

    आहार निन्द्रा भय मैथुनञ्च,

    सामान्यमेतत् पशुभिर्नराणाम् ।

    धर्मो हि तेषामधिको विशेषः

    धर्मेण हीनाः पशुभिः समानाः ।।

    अर्थात् आहार, निन्द्रा, भय र मैथुन त पशु र मानिसमा समान हुन्छ, मानिसमा विशेष हुने भनेको धर्म हो । धर्मले हीन भयो भने पशु समान भइन्छ नै ।

    यहाँ धर्म भनेको नियम हो, व्यवस्था हो, अनुशासन हो, कर्तव्य हो, दायित्व बोध हो । क्षणिक आवेग थाम्न नसकी रीष, राग, द्वेष, लोभ, अहंकार आदिको बसमा परेर वर्तमान समयको मिथ्या मनोरञ्जनमात्र हेर्ने हो भने हामी मानव भएर पनि मानवजस्तो हुन सक्दैनौं । विवाह एक धर्म हो, त्यसैले धार्मिक हुनुपर्छ । त्यसैले त पत्नीलाई धर्मपत्नी भनिन्छ । घरको मियो, धर्मको मियो पत्नी नै हो त्यसैले गृहमन्त्री समेत भन्ने गरिन्छ, त्यो सामर्थ नारीमा भएर नै हो । सम्बन्ध बलियो बनाउन पतिपत्नी दुबैको समान र जिम्मेवारपूर्ण व्यवहार हुनुपर्छ ।

    न्यूयोर्कको नेपाली महावाणिज्य दूतावासको कार्यालयबाट कार्यकाल सकेर स्वदेश फर्कने बेलामा वाणिज्यदूत कवि कृसु क्षेत्रीले आफ्नो कार्यकालमा धेरै नेपालीको सेवा गर्न पाएकोमा खुसी भएपनि नेपालीको डिभोर्स पेपरमा हस्ताक्षर गर्नुपर्दा हात काटिएजस्तै भएको नमिठो अनुभव भावुकमुद्रामा सुनाउनुभएको थियो । त्यस्तै एक अर्को कार्यक्रमा वर्तमान कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले पनि विदेशमा डिभोर्सको घटना बढेको तीतो यथार्थ सुनाउनुभयो । यी त प्रतिनिधि अनुभवमात्र हुन्, हरेकदिन वैवाहिक सम्बन्धमा चिरा परेका अनेकौं समाचार सुन्न हामी बाध्य भएका छौं । यस्ता गतिविधिले हाम्रो समाज झनै अन्धकारतिर धकेलिन सक्छ । छोरी विदाई गर्दा ‘मारे पाप पाले पुण्य’ भनी जिम्मेवारीको बोध गराउनुको साटो ९११ (प्रहरीको नम्बर) पनि याद गराउनुपर्ने स्थिति आएमा पूजा गरी लगनगाँठो कसेर परिवार जोड्ने पण्डित साइकलमात्र चढ्छन् अनि डिभोर्स गर्न सिकाउने वकिल विलासी कारमा हुँइकिन्छन् ।

    यो वर्षको झ्याई पार्ने मौसममा घरबार बस्ने सबैलाई शुभकामना । एकता नै बल हो । प्रेम, समर्पण र विश्वासको वाटिकामा मात्र शान्तिको फूल फुल्छ ।