Category: मनोरञ्जन

  • बलिउड अभिनेता इरफान खानको निधन

    बलिउड अभिनेता इरफान खानको निधन

    काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ।

    दुई वर्षदेखि क्यान्सर जुध्दै आएका ५४ वर्षीय खानको बुधबार बिहान निधन भएको हो उपचाको क्रममा मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएका खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।

    जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। गत शनिबार उनकी आमाको निधन भएको थियो।

    बलिउडका समानन्तर तथा कलामा आधारित स्वतन्त्र फिल्महरुमा फरक खालका भूमिकामार्फत् चर्चित, अभिनेता खानलाई अन्तर्राष्ट्रिय सिनेमाका क्षेत्रमा भारतका तर्फबाट प्रतिनिधित्व गर्ने उत्कृष्ट कलाकारको रुपमा समेत लिने गरिन्छ।

    हलिउड फिल्मसहित उनले हालसम्म १ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।

  • स्पेनमा बालबालिकालाई सडकमा निस्कने अनुमति

    स्पेनमा बालबालिकालाई सडकमा निस्कने अनुमति

    मड्रिड । स्पेनले समेत अब लकडाउन खुकुलो पारेको छ । कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकमध्ये एक स्पेनमा कडा लकडाउनको प्रावधान थियो । तर, सरकारले अहिले लकडाउन केही खुकुलो बनाउन थालिसकेको छ ।

    ६ साता देखि जारी लकडाउन कोरोनाको संक्रमण ओरालो लागेसँगै खुकुलो बनाउन लागिएको हो । स्पेनमा बालबालिकालाई घर बाहिर जाने अनुमति दिइएको छ । उनीहरु अब पार्कमा गएर खेल्न सक्नेछन् ।

    खुल्ला भएपछि बालबालिका पैदल, साइकल, स्केटबोर्ड र स्कूटर लिएर सडकमा निस्किएका छन् । अधिकारीहरुले वातावरण सहज बनाउँदै लैजाने क्रममा यस्तो नीति ल्याएको बताउँछन् । स्पेन कोरोना भाइरसका कारण धेरै मानिसको ज्यान गएको मुलुकमध्ये एक हो ।

    यहाँ मार्च १४ मा सरकारले आपतकालिन अवस्था घोषणा गरेको हो । त्यसपछि यस मुलुकमा सार्वजनिक चहलपहल र आर्थिक गतिविधि बन्द भएको थियो ।

    आइतबार पहिलोपटक स्पेनले १४ वर्ष मुनिका बालबालिकालाई घर बाहिर निस्कने अनुमति दिएको छ । बाहिर निस्कदा उनीहरुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने र सामाजिक दुरी भने कायम गर्नुपर्नेछ ।

    स्पेनमा स्कुल भने बन्द छन् । स्पेनमा संक्रमित संख्या हालसम्म २ लाख ७ हजार ६३४ पुगेको छ । मृत्यु हुनेको संख्या २३ हजार १ सय ९० रहेको छ ।

  • आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइदै

    आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइदै

    काठमाडौं । आज मातातीर्थ औंशीको दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन यो पर्व मनाइन्छ ।

    आफ्नी आमाको सम्मानमा आमाको मुख हेर्ने, सत्कार आदर गर्ने तथा खुसी राखेर देशभर तथा विदेशमा रहेका नेपालीले समेत यो पर्व मनाउने गर्छन् ।

    आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो दिनलाई महत्वपूर्ण दिन मानिन्छ ।

    आमा हुनेहरुले आमालाई उपचार दिने, मिठो खुवाउने र सत्कार पकट गर्छन भने आमा नभएकाले आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

    आज दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–६ थानकोट नजिकैको मातातीर्थमा मेला लाग्ने गर्छ ।

    तर, यस वर्षभने कोरोना संक्रमणका कारण उक्त मेला बन्द भएको छ । सोहीकारण घरघरमा आमालाई मिठो खुवाएर नयाँ कपडा उपहार दिएर यो पर्व मनाइदैछ ।

  • लकडाउनले घरभित्रै थुनेको नयाँ साल

    काठमाडौं । आज विक्रम संवत् २०७७ वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन नेपालभर हर्षोल्लासपूर्ण तरिकाले मनाइँदैछ।

    सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्ति हो । त्यसकारण यस दिनलाई धार्मिक र सामाजिक मान्यता अनुसार पनि वर्षका जेठो दिन मानिन्छ ।

    नयाँ वर्षले हरेक पटक उत्साह बोकेर आउँछ । पुरानो खराब प्रवृत्तिलाई त्याग गर्दै नयाँ संकल्प लिने दिनका रुपमा पनि यसलाई लिने गरिन्छ ।

    साथिभाई इष्टमित्र बीच शुभकामना आदानप्रदान, नाचगान, घुमघाम गरेर समेत मनाउने परम्परा रहिआएको छ । तर, यस पटक भने माहौल फरक रहेको छ ।

    यो दिन सरकारले सार्वजनिक बिदा दिन्छ । तर, नेपालीहरु कोरोना भाइरसको संक्रमणबाट बच्न घर भित्र थुनिएको तेस्रो साता चलिरहेको छ ।

    घुमघाम त परै जावस, सडकसम्म निस्कने छूट पनि नेपालीमा छैन । यस अवस्थाका कोरोनाले नयाँ वर्षको उल्लाह खोसिदिएको छ ।

    सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुन्छ ।

    नेपाल भित्र मात्र नभएर विश्वभर छरिएर रहेका नेपालीमा समेत नयाँ वर्षको उत्तिकै रौनक हुन्छ । नयाँ सालको उपलक्ष्यमा पूजाआजामा जाने परम्परा रहेको छ ।

    तर, यस वर्ष मन्दिर सम्म जाने छूट पनि नेपालीलाई हुने छैन ।

    यस दिन पशुपतिनाथ, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार, टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रा विशेष थिए ।

    लकडाउनका कारण यी सबै जात्रा रोकिएका छन् । देशभर आयोजना हुने रमाइला मेलाहरुसमेत स्थगित भएका छन् ।

  • राष्ट्रपतिको कामना : साझा प्रयासले कोरोनाविरुद्ध जीत प्राप्त हुनेछ

    राष्ट्रपतिको कामना : साझा प्रयासले कोरोनाविरुद्ध जीत प्राप्त हुनेछ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा प्रयासबाट कोरोना भाइरसविरुद्ध जीत प्राप्त हुने बताएकी छिन् ।

    नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले नयाँ वर्षमा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई अझ सशक्त बनाउनु पर्ने बताएकी छिन् ।

    उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको बताएकी छिन् ।

    राष्ट्रपतिले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणमा एक जुट भई लाग्न नेपालीलाई आह्वान समेत गरेकी छिन् ।

    कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने उनको भनाई छ ।

    उनले यसबाट अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्न जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु पर्ने उल्लेख गरेकी छिन् ।

  • नयाँ वर्षमा राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीको आह्वान

    नयाँ वर्षमा राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन सोमबार राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह गरेका छन् ।

    चिकित्सक, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाको सम्मानमा सोमबार राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीले आह्वान गरेका हुन् ।

    संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालको आग्रहलाई प्रधानमन्त्रीले समेत स्वीकार गर्दै यस्तो आह्वान गरेका हुन ।

    उनले उक्त कार्यक्रमलाई समर्थन गर्दै ट्वीट गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको छ ।

    प्रधानमन्त्तीले भनेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

    नेपालमा सोमबार नयाँ वर्ष परेको छ । तर, कोरोना भोइरसका कारण नयाँ वर्षमा कुनै गतिविधि हुने छैनन् ।

  • अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध थप १५ दिन लम्बियो

    अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध थप १५ दिन लम्बियो

    काठमाडौं । सरकारले व्यवसायिक अन्तर्राष्ट्रिय हवाई उडान अवतरण थप १५ दिन प्रतिवन्ध लगाएको छ । यसअघि ३ वैशाखसम्म रहेको प्रतिवन्ध अब वैशाख १८ सम्म पुगेको हो ।

    कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याएको हो । सरकारले आन्तरिक उडानका सम्बन्धमा भने कुनै निर्णय गरिसकेको छैन ।

    सरकारको यो निर्णयले चार्टर्ड उडान, आकस्मिक अवस्थामा हुने उडान, एयर एम्बुलेन्स र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि हुने उडान भने रोकिने छैन ।

    अहिले नेपालमा रहेका नागरिक फिर्ता लैजान धमाधम चार्टर्ड उडान भइरहेको छ । यी जहाजले विदेशबाट खाली आएर यहाँबाट विदेशी नागरिक भने लैजान सक्छन् ।

  • भ्रमण वर्ष रोकियो, १ बैशाखबाट सचिवालय विघटन

    भ्रमण वर्ष रोकियो, १ बैशाखबाट सचिवालय विघटन

    काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा स्थगन गरेको छ । मंगलबार पर्यटन सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्ष स्थगित भएको जानकारी गराएका हुन् ।

    सरकारले यसअघि अप्रिलसम्म मात्र यो कार्यक्रम स्थगित गरेको थियो । अब भने औपचारिक रुपमा स्थगित भएको सचिव अधिकारीले जनाएका छन् ।

    उनका अनुसार सरकारले ९ चैतमा भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको थियो । सरकारले १ वैशाखबाट भ्रमण वर्षको सचिवालयसमेत विघटनको निर्णय गरेको छ ।

    यस सचिवालयमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य संयोजक तोकिएका थिए ।

    सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको हो ।

    तर, कोरोनाका कारण यो वर्ष अभियान सफल हुन सकेन । सरकारले कूल ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्ष घोषणा गरेको हो । यसअभियानको १ जनवरीमा औपचारिक शुभारम्भ भए हो ।

  • २०७७ सालमा शनिबारसहित ६७ दिन सार्वजनिक बिदा

    २०७७ सालमा शनिबारसहित ६७ दिन सार्वजनिक बिदा

    काठमाडौं । २०७७ सालमा शनिबारसहित कूल ६७ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले आगामी वर्षको पात्रो सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

    यस वर्ष कूल ५२ दिन शनिबार पर्नेछ । त्यो बाहेक दशैंमा ५ दिन बिदा हुने भएको छ ।

    तिहारमा तीन दिन बिदा राखिएको छ भने अन्य दिन मात्र ७ दिन सार्वजनिक बिदा हुने भएको छ ।

    २०७७ सालको दशैंको टीका १० कात्तिकमा परेको छ । तिहारको भाइटिका १ मंसिरका दिन मनाइने भएको छ ।

    दशैंमा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन देशैभर सार्वजनिक बिदा तोकिएको छ । तिहारमा कात्तिक २९ गते लक्ष्मी पूजादेखि मंसिर १ गते भाइटीकासम्म तीन दिन सार्वजनिक बिदा राखिएको पात्रोमा उल्लेख छ ।

    शनिबार बाहेक बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, असोज ३ गते संविधान दिवसका दिन सार्वजनिक बिदा तोकिएको छ ।

    फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, बैशाख २५ गते बुद्ध जयन्ती र फागुन २७ गते महाशिवरात्रिको दिन देशैभर सार्वजनिक बिदा राखिएको छ ।

    चैत १५ गते आइतबार फागूपूर्णिमाको दिन ५६ जिल्लामा र चैत १६ गते बाँकी २१ जिल्लामा पनि सार्वजनिक बिदा हुने पात्रोमा उल्लेख छ ।

  • भारतमा कोरोनासँग लड्न बलिउड हस्तीको साथ, कसले कति सहयोग गरे ?

    भारतमा कोरोनासँग लड्न बलिउड हस्तीको साथ, कसले कति सहयोग गरे ?

    मुम्बई । भारतमा प्रधानमन्त्री राहत कोष स्थापना गरी कोरोनाविरुद्धको अभियान शुरु गरिएको छ ।

    यस दौरान बलिउड कलाकारले ठूलो धनराशी सहायताको घोषणा गरिरहेका छन् । यसमो अग्रपंक्तीमा आउने कलाकार अक्षय कुमार हुन् ।

    वर्तमान समयका सबैभन्दा व्यस्त अभिनेता अक्षयले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु सहयोगको घोषणा गरेका छन् ।

    अभिनेता बरुण धवनले प्रधानमन्त्री राहत कोषमा ३० लाख भारु सहयोगको घोषणा गरेका छन् । गायक गुरु रन्धवाले २० लाख रुपैयाँ यस कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

    अभिनेता सनी देवलले ५० लाख रुपैयाँ यस कोषमा राख्ने घोषणा गरिसकेका छन् । हेमा मालिनीले एक करोड रुपैयाँ सहायताको घोषणा गरेकी छिन् ।

    गायक कुमार सानुले ५ लाख भारु सहयोग गरेका छन् । हास्यकलाकार कपिल शर्माले यस कोषमा ५० लाख भारु राहत दिएका छन् ।

    कलाकार ऋतिक रोशनले २० लाख रुपैयाँ सहायताको घोषणा गरेका छन् ।

  • आइसीसीद्धारा ३० जुनसम्मका सबै प्रतियोगिता स्थगित

    आइसीसीद्धारा ३० जुनसम्मका सबै प्रतियोगिता स्थगित

    काठमाडौं । कोराना भाइरसका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले ३० जुनभन्दा अगाडीका सबै प्रतियोगिता स्थगित गरको छ । जसले गर्दा यसबीचमा हुने टी–२० विश्वकप छनोटका खेल प्रभावित भएका छन् ।

    आइसीसीले ३० जुन अगाडिका सबै प्रतियोगिता स्थगित गरिएको बिहीबार उल्लेख गरेको छ । आइसिसीले कोरोनासँग विश्व जुँधिरहेको अवस्थामा प्रतियोगिता रोक्नु उचित हुने उल्लेख गरेको छ ।

    विश्वभर पछिल्लो समय बढ्दो स्वास्थ्य संकटलाई ध्यानमा राख्दै जुन अन्तसम्म आइसिसीका सबै खाले प्रतियोगिता स्थगित गरिएको आइसीसीले उल्लेख गरेको छ ।

    खेलाडी, समर्थक तथा पदाधिकारीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर प्रतियोगिता स्थगित गर्नु परेको बताएको हो ।

    विश्वभरका सरकारहरूले कोरोनाविरुद्ध गरिरहेको प्रयासमा आइसीसीले एक्यबद्धता समेत जनाएको छ । अवस्था सामान्य नभएसम्म कुनै पनि प्रतियोगिता नहुने आइसीसीले उल्लेख गरेको छ ।

  • धरहराको १० औं तला ढलान यसै साता

    धरहराको १० औं तला ढलान यसै साता

    काठमाडौं । पुनर्निर्माण जारी रहेको धरहराको १० औं तला ढलान यसै साता हुने भएको छ ।

    धरहरा निर्माण गरिरहेको जिआइइटिसी-रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार यसै साता धरहराको १० औं तलाको ढलान गर्ने तयारी गरिएको छ ।

    अहिले धरहरा तिब्र गतिमा निर्माण भइरहेको छ । सोमबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले धरहरा र रानीपोखरी पुनर्निर्माणको अवलोकन गरे ।

    सोही अवसरमा श्रेष्ठले १० औं तला ढलानको तयारी भइरहेको जानकारी गराए ।

    रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीए-तुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठका अनुसार तोकिएको समयमा सम्पन्न हुने उल्लेख गरे ।

    उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीका सल्लाहकारहरु र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पूर्वनिर्धारित समयमा धरहरा र रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

    यी दुई सम्पदा काठमाडौं उपत्यकामा निर्माण भइरहेको महत्वपूर्ण सम्पदा हुन् ।

  • हिमेश पन्त बने कमेडी च्याम्पियन

    हिमेश पन्त बने कमेडी च्याम्पियन

    काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट धादिङका हिमेश पन्त विजयी भएका छन् ।

    उनले २५ लाख नगद, कारसहित उपाधी समेत जिते । शनिबार सम्पन्न फाइनलमा उनले दुई प्रतिस्पर्धीलाई उछिनेका हुन् ।

    फाइनलमा तीनजना बीच प्रतिस्पर्धी गराइएको थियो । फाइनलमा गेष्टको रुपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेका थिए ।

    उनले सुमन कोइराला र खड्गबहादुर पुन मगरलाई हराउँदै उपाधी जितेका हुन् । नेपालमा पहिलो पटक आयोजना गरिएको यो टेलिभिजन शो सर्वाधिक रुचाइएको कार्यक्रममा पर्न सफल भएको थियो ।

  • अमेरिकाले यूरोपेली नागरिकलाई एक महिना भिषा नदिने, बेलायतीलाई भने खुला

    अमेरिकाले यूरोपेली नागरिकलाई एक महिना भिषा नदिने, बेलायतीलाई भने खुला

    वासिंटन । अमेरिकाले यूरोपबाट अमेरिका छिर्न प्रतिवन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् ।

    यो प्रतिवन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकलाई हो । कोरोना भाइरस संक्रमण रोक्न यूरोपेली देशका नागरिकलाई अमेरिका छिर्न प्रतिवेन्ध लगाउनु परेको ट्रम्पको घोषणा छ ।

    राष्ट्रपति ट्रम्पका अनुसार यो प्रतिवन्ध एक महिना कायम रहनेछ । उनले बुधबार देशवासीलाई टेलिभिजन सम्बोधन गरेका थिए ।

    अमेरिकामा थप संक्रमण भित्रिन नदिन युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्रतिबन्ध लगाएको उनको भनाई छ ।

    एकमहिने प्रतिबन्ध शुक्रबार मध्यरातबाट कार्यान्वयनमा आउने भएको छ । अमेरिकाले कोरोनाबाट प्रभावित साना लगानीबाट सञ्चालित व्यवसायलाई अर्बौं डलर सहयोगको समेत घोषणा गरेका छन् ।

    राष्ट्रपति ट्रम्पले करमा सहुलियत दिने उपायबारे समेत अध्ययन भइरहेको छ । कोरोनासग् लड्न सरकारले सबै शक्ति प्रयोग गर्ने राष्ट्रपति ट्रम्पको भनाई छ ।

    उनले कोरोनालाई शत्रु समान भन्दै यसलाई विश्व कै शत्रुका रुपमा लिनुपर्ने बताएका छन् ।

    अमेरिकामा बुधबारसम्म संख्या १ हजार १ सय ३५ जनामा संक्रमण भइसकेको छ । ३८ जनाले ज्यान गुमाएका छन् । विश्वभर कोरोना संक्रमितको संख्या एक लाख १ लाख १५ हजार पुगेको छ ।

  • ११ देशका ३५० अन्तर्राष्ट्रिय कलाकारको कुम्भ मेला सम्पन्न

    ११ देशका ३५० अन्तर्राष्ट्रिय कलाकारको कुम्भ मेला सम्पन्न

    काठमाडौं- एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा भएको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको समापन भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा राजधानीमा एक भव्य कार्यक्रमबीच १७ फागुनमा शुभारम्भ भएको मेला काठमाडौं, ललितपुर र पोखरामा आयोजना गरिएको थियो ।

    मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको र श्रीलंकाका ३५० भन्दा बढी कलाकारहरुले कला प्रस्तुत गरेका थिए । विभिन्न देशबाट आएका तीन सय पचास भन्दा बढी कलाकारहरु उपस्थिति रहेको मेलामा नेपाल लगायत सबै देशका कलाकर्मीहरूले आफ्नो देशको लोक सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए ।

    राजधानीको कान्तिपथ स्थित होटल एल्लो प्यागोडमा समापन गरिएको कार्यक्रममा मेलामा सहभागी कलाकारलाई बिशेष सम्मान प्रदान गरिएको थियो ।

    नेपाली लोक सांस्कृतिको संरक्षण तथा सम्वर्धन गर्ने प्रमुख उद्देश्यका साथ बाईस बर्ष अगाडी स्थापना भएको संस्थाले स्थापनाकाल देखि नै लोक सांस्कृति तथा पर्यटकीय विकासमा टेवा पुर्‍याउने उद्देश्यले आफ्नै मौलिक लोक सांस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आएको एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा दशैं अन्तर्राष्ट्रिय लोक साॅंस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाले बताए । मेलाको शुभारम्भ फागुन १७ गते गरिएको थियो ।

    विभिन्न देशका कलाकारहरुले फागु पूर्णिमा मनाउनको लागि आफ्नो नेपाल बसाई केही दिन लम्ब्याएका थिए ।

  • होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा

    होली शान्तिपूर्ण, ७ सय चालक कारवाहीमा

    काठमाडौं । कुनै न कुनै अप्रिय घटना भइरहने होलीको दिन यस वर्ष भने तुलनात्मक रुपमा शान्त रह्यो । सरकारले यो वर्ष समूहमा जम्मा भएर होली नखेल्न सर्वसाधारणलाई आह्वान गरेको थियो ।

    सर्वसाधारणले समेत सरकारको उक्त आग्रह मानेका छन् । सडकमा विगतका तुलनामा कम मात्र मानिस होली खेलिरहेको भेटिए ।

    होलीका दिन काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जानकारी दिएको छ ।

    तर, ट्राफिक नियम उल्लंघन गर्ने ७ सय भन्दा बढी चालक भने कारबाहीमा परेका छन् प्रहरीका अनुसार ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारबाहीमा परेका हुन् ।

    मापसे गर्ने, तीन जना सवार मोटरसाइकल र कागजात नबोकेका चालक प्रहरी कारवाहीमा परेका हुन ।

    प्रहरीले होलीको दिन विशेष सतर्कताका साथ कारवाही चलाउने गरेको छ । प्रहरीको यो कारवाही प्रभावकारी समेत हुने गरेको छ । पछिल्ला वर्ष होलीमा हुने दूर्घटनामा उल्लेख्य कमी आएको छ ।

  • आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान

    आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान

    काठमाडौं । आज पहाड र हिमाली भेगमा होली पर्व मनाइदैछ । रंग र अबिरको पर्वका रुपमा लिइने यो दिन आफन्त तथा साथिभाईबीच भाइचारा साटासाट गरिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन यो चाड पर्छ ।

    केही वर्ष अगाडीसम्म निकै उच्छृंखल बनेको होली स्थानीय प्रशासनको कडाई पछि पछिल्ला वर्षहरुमा भने व्यवस्थित बन्दै गएको छ । तर, यस वर्ष भने सरकारले सकभर होली नखेल्ने सर्वसाधारणसँग आह्वान गरेको छ ।

    होलीले कोरोना भाइरसको संक्रमण सर्ने भएकाले त्यसो नगर्न आग्रह गरिएको हो । आजबाट वसन्त ऋतुको आगमन हुने मानिन्छ ।

    त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथासँग यो पर्वको महिमा जोडिएको छ ।

    शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्न थालिएको जानकार हरु बताउँछन् ।

    यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित भएर वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडीखेलमा लगी जलाउने गरिन्छ ।

    उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचार गरिने विश्वास रहेको छ । चीरका खरानी लिन समेत तछाडमछाड हुने गरेको छ ।

    यो वर्ष राजधानी काठमाडौंसहित सदरमुकामहरुमा औपचारिक होली कार्यत्रम आयोजना हुने छैनन् । यसका लागि सरकारले अनुमती नै दिएको छैन । त्यसरी होली खेलेको पाइएमा सरकारले कारवाही समेत गर्न सक्नेछ ।

  • पशुपतिमा झाडु लगाउँदा भाइरल बने पारस

    पशुपतिमा झाडु लगाउँदा भाइरल बने पारस

    काठमाडौं । पूर्वयुवराज पारस शाह शनिबार पशुपतिनाथ मन्दिर परिसरमा देखिए । पारसको राजशी रवाफ समाप्त भइसकेको धेरै भइसक्यो, तर उनी आफ्नो स्टाटसलाई मेन्टेन गर्न नसकेका कारण आम नागरिकका नजरमा भने आलोचित पात्र हुन् ।

    शनिबार भने उनी अलि भिन्न रुपमा प्रस्तुत भए । पशुपतिनाथ मन्दिर परिसरमा उनले झाडु समातेर सरसफाइ गर्न लागे ।

    लामो समय लागू औषधको कूलतमा फसेका पारसको शारीरिक अवस्था कमजोर देखिन्छ । तर, झाडु लिएर सुरसफाई गरिरहेको उनको तस्वीर भने अहिले भाइरल भइरहेको छ ।

    पशुपतिमा पारस शाहलाई बोल्न आग्रह गरिएको थियो । तर, उनी बोलेनन् । उनलाई झाडु र पन्जा दिएर पन्जा लगाउन भनिएको थियो ।

    तर, पारसले पन्जा नलाई सिधै झाडु समातेर बडार्न थालेका थिए । उनले सरसफाई अभियानको शुभारम्भ गरेका थिए ।

  • अब भेडेटारमा समेत जीपलाइनको मज्जा

    अब भेडेटारमा समेत जीपलाइनको मज्जा

    धरान । अब धरानमा समेत जीपलाइन चढ्न पाइने भएको छ । शनिबार धरान ४ स्थित भेडेटारमा साहसिक खेल जीपलाइनको औपचारिक शुभारम्भ भएको छ ।

    भेडेटार देवीथान जीपलाइनको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

    मुख्यमन्त्रीले उद्घाटन गरेको यस जीपलाइनमा धरानकी उपप्रमुख मन्जु भन्डारी आफै चढेर जीपलाइनको उद्घाटनमा सहभागी भइन् ।

    उनले सुपरम्यान जीपलाइन गरिन् । धरान ४ तर्फको भेडेटारबाट सुरुवाती बिन्दु राखिएको छ । देवीथानमा ल्याण्डिङ बिन्दु बनाइएको छ ।

    जीपलाइन ६ सय ५० मिटर लामो रहेको छ । उचाई भने १५० मिटरसम्म रहेको छ । यसको दूरी करीव ४५ सेकेण्डमा पार हुने भएको छ ।

    वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले यहाँ जीपलाइन शुरु भएको हो । यसको लागत ३ करोड भएको कार्यक्रममा जानकारी दिइयो ।

    जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम गरी तीन वटा प्रडक्ट विकास गरिएको छ । यो जीपलाइन धुलिखेल जीपलाइन कै एक शाखा हो ।

    सोही समूहले विभिन्न स्थानमा जीपलाइनको विकास र बिस्तार गरिरहेका छन् ।

  • के नेपालमा मिस वर्ल्ड आयोजना सम्भव छ ?

    के नेपालमा मिस वर्ल्ड आयोजना सम्भव छ ?

    काठमाडौं । विश्व सुन्दरी टोनी एन सिंह अहिले नेपाल भ्रमणमा छिन् । उनी बिहीबार काठमाडौं आइपुगेकी छन् । मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयले उनलाई नेपाल आउने चाजोपाँजो मिलाएको हो ।

    मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएसँगै नेपालमा यो मेघा इभेन्ट आयोजनाको सम्भावनाका विषयमा समेत चर्चा शुरु भएको छ ।

    किनकी मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसमेत उनको साथमा छिन् ।

    जमैकन सुन्दरी टोनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल अनुस्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले स्वागत गरेका थिए ।

    नेपाल आएकै दिन उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भेटेका छन् ।
    भेटमा मिस वर्ल्ड २०२० नेपालमा सम्भव छ की भन्ने विषयमा छलफल भएको बताइएको छ । यद्दपी यो प्रारम्भिक छलफल थियो ।

    सरकारले समन्वय गर्ने र निजी क्षेत्रले आयोजना गर्ने मोडलमा प्रतियोगिता नेपालमा आयोजनाको सम्भावनाबारे छलफल गरिएको छ ।

    मन्त्री भट्टराईले नेपालमा भेन्यू हेर्न, स्थानीय आयोजकसँग छलफल गर्न र उपयुक्त भए प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

    विश्वभर चर्चा हुने सौन्दर्य प्रतियोगिता नेपालमा आयोनाको सम्भावना हेर्नकै लागि विश्व सुन्दरी आयोजना गर्ने संस्थाका प्रतिनिधि नेपाल आएको बताइएको छ ।

    टोनीले तीन दिनको नेपाल बसाईको अवधिमा सिन्धुपाल्चोकस्थित सोलसिङ गाउँमा सञ्चालित स्वावलम्बन प्रोजेक्ट अवलोकन गर्नेछिन् ।

    उनी आज प्रोजेक्टको अवलोकनमा जाने कार्यक्रम छ ।

  • भ्रमण वर्षका कार्यक्रमबारे अझै अन्यौल

    भ्रमण वर्षका कार्यक्रमबारे अझै अन्यौल

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको काम रोकेको छ । विदेशमा हुने सबै प्रकारका यस्ता कार्यक्रम रोकिएका हुन् ।

    तर, नेपाल भ्रमण वर्षलाई भने के गर्ने भन्ने सम्बन्धमा अझै अन्यौल कायम छ । यही संकेत सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् ।

    उनका अनुसार सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको नेपाललाई विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित पारेको हो ।

    भ्रमण वर्षका कार्यक्रम तत्कालका लागि स्थागित गर्ने निर्णय भएको छ । तर, यो अभियान के गर्ने भन्नेबारे भने कुनै निर्णय भइसकेको छैन ।

    कोरोनाको विश्वव्यापी हल कसरी हुन्छ, त्यसका आधारमा भ्रमण वर्षका कार्यक्रम अगाडि बढाइने उनले उल्लेख गरे ।

    बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनका दौरान अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिएको भएपनि अन्य निर्णय नभएको स्पष्ट पारे ।

    सरकारले भ्रमण वर्ष लक्षित अन्तर्राष्ट्रिय प्रवर्द्धन रोक्ने निर्णय गरेपनि भ्रमण वर्ष अभियान, भ्रमण वर्ष सचिवालय, यसका पदाधिकारीका सम्बन्धमा कुनै निर्णय गरिसकेको छैन ।

    सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको थियो । तर, कोरोनाको संक्रमणसँगै पर्यटक आगमन खस्कने पक्का भएको छ ।

  • यो वर्ष सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध

    यो वर्ष सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध

    काठमाडौं । सरकारले सार्वजनिक स्थानमा होली खेल्न नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली)का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको हो ।

    कोरोनाभाइरसको संवेदनशिलतालाई मध्यनजर गर्दै होलीका अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको कार्यालयले जनाएको छ ।

    होलीका लागि कार्यालयले कुनै पनि निकायलाई सार्वजनिक कार्यक्रम गर्न स्थानीय प्रशासनले अनुमति दिएको छैन ।

    त्यसो त भारतमा पनि दिल्ली सरकारले राजधानीमा होलीका औपचारिक कार्यक्रममा प्रतिवन्ध लगाएको छ । बुधबार दिल्ली सरकारले यस्तो निर्णय गरेको हो ।

    अहिले भाइरस संक्रमणको डर सबैतिर भएको र विभिन्न सञ्चार माध्यमले पनि जानकारी दिइरहेकाले मानिसहरू सचेत हुनुपर्ने भन्दै औपचारिक कार्यक्रम र भीडभाड नगर्न स्थानीय प्रशासनले सचेत बनाएको छ ।

    उता, स्वास्थ्य मन्त्रालयले समेत यो रोगको संक्रमणबाट बच्न भीडभाडमा नजान आग्रह गरेको छ ।

    होलीको अवसर पारी काठमाडौंमा हजारौं मानिस सडकमा एकसाथ निस्किएर रमाइलो गर्ने प्रचलन रहेको छ । यो वर्षको होली आगामी २६ फागुनमा परेको छ ।

  • फागुपर्व एक : प्रभाव अनेक

    फागुपर्व एक : प्रभाव अनेक

    भीमनारायण श्रेष्ठ / शोणितपुर (थानकोट)

    विशेषतः हिन्दू धर्मावलम्वीहरू एकआपसमा उत्सुकताका साथ हर्षोल्लासमय वातावरणमा आ–आफ्नै घर आँगन एवम् सहर बजारमाविभिन्न रङ्गहरू खास गरी अबीर (सिन्दूर) एकआपसमा हालाहाल गरी फागुपर्व (होली) मनाउने गर्दछन् । कोहीकोही त पानी छ्यापाछ्याप समेत गरेर फागु (होली) को आनन्द लिने गर्दछन् । फागुपर्वको अवधिभर केटाकेटीहरूले बटुवाहरू माथि लोला हान्ने र पानीछ्याप्दै हाँसीखुसी मज्जा लिने र अरूलाई हैरान पार्ने पनि गर्दछन् । फागुपर्व फाल्गुण शुक्लअष्टमीदेखि पूर्णिमा (चन्द्रमास गणनाकोतिथि अनुसार नेपाल सम्बत् चिल्लाथ्व अष्टमीदेखि पूर्णिमा) सम्म हर्षोल्लासकासाथ मनाउने गरिन्छ । फागुपर्वको आरम्भदेखि अन्त्य (पूर्णिमा) सम्म फागुपर्व लागेको जनाउन काठमाडौंको वसन्तपुरमा चिरस्वाय्गु ( रङ्गीचङ्गी कपडाका टुक्राहरू टाँगी सुसज्जित लिङ्गोठड्याउने) गरिन्छ । तराई एवम् भित्री मधेशतिर फागु पूर्णिमाको भोलिपल्टसम्म धुमधामकासाथ होलीपर्व मनाउने गरिन्छ  । फागु (होली) पर्व मनाउन कुनै जातधर्म केहीले पनि छेकवार लगाएको पाईदैन ।

    हामीले मनाउँदै आएको फागु (होली) पर्व कहिलेदेखि शुरुवात भएको भन्ने एकिन तथ्य प्रमाण नभेटिए तापनि हालसम्मको कथन अनुसारपराक्रमी दानवराज हिरण्यकश्यपुका छोरा बालक प्रह्लाद शिवभक्त भएकाले आफ्नै पिता (हिरण्यकश्यपु) ले उनलाई अग्नीदाह गरीअन्त्य गर्न आफ्नी बहिनी होलिकाको सहयोग लिएका थिए । होलिकाले अग्नीबाट छुन नसक्ने वरदान पाएकी थिईन् । होलिकालेप्रह्लादलाई आफ्नो मोहमा पारी अग्नीदाह गराउन काखमा लिई चित्तामा बसेकी बेला तलबाट दानवहरूले आगो लगाई दिएका थिए ।आगोको ज्वालाले शिवभक्त प्रह्लादलाई छुन सकेन । तर बिग्रँदो मति लिएर अरुको नाश गर्न तम्सिएकी होलिकालाई भने आगोले बाँकीराखेन । अग्नीले होलिकालाई खाग बनाई दिए । दानवी होलिकाको नाश भएको बेलादेखि उनै होलिकाको नामले होलि अर्थात् फागुपर्वमनाई हर्षोल्लासमय वातावरणमा रङ्गमा खेल्ने गरेको हो भन्ने भनाई रहेको छ । यसैले हामी फागु अर्थात होलिपर्व बर्षको एकपटकमनाउँदै आएका छौं ।

    ​यसरी उत्सुकतापूर्वक रङ्गमा खेल्नु भनेको नै रङ्ग साहित्यमा रमाउनु हो । रङ्ग साहित्यले हाम्रो भौतिक जीवनमा गहिरो जरा गाडेकोपाइन्छ । जन्मेदेखि मरणोपरान्तसम्म पनि हामी रङ्ग साहित्यमा नै डुब्छौं, रमाउँछौं । विद्वानहरू भन्छन् – साहित्य, सङ्गीत र कला बिनाहाम्रो जीवन अधुरो नै रहन्छ । अझ त्यसमा थप्छन् – साहित्यको सीमा, सङ्गीतको गहिराई र कलाको उचाई नापेर नाप्न सकिन्न ।यसैबाट थाहा हुन्छ कि साहित्य, सङ्गीत र कलाको सम्बन्ध हाम्रो जीवनमा कति रहेछ भन्ने व्याख्या गरेर साध्य नै छैन । त्यस्तै हाम्रोजीवनमा रङ्ग साहित्यको प्रभाव अझ गहिरो छ । रङ्ग साहित्यको प्रभाव हाम्रो दृष्टिगोचरले भ्याएसम्म र स्पर्श हुने ठाउँसम्म पुगेकोछ ।सुक्ष्म रुपले अध्ययन गर्ने हो भने हाम्रो जीवनमा रङ्ग साहित्यको प्रभाव नजानिँदो किसिमले कति परेको छ भन्ने छर्लङ्ग हुन्छ ।

    ​रङ्ग साहित्यको उत्पत्ति कहिले भएको सजिलै भन्न कठिन छ । तापनि सूर्यको किरणबाट प्रवाह हुने सहस्र रङ्गहरूको प्रभावलाई लिनसकिन्छ । यसैबाट रङ्ग साहित्यको शुरुवात भएको भन्न सकिन्छ । सूर्यको किरणमा रहेका सहस्र रङ्गहरू मध्ये हामी हाम्रो आँखालेप्रत्यक्ष रुपमा सप्तरङ्गी इन्द्रेणी मात्र देख्दछौं । इन्द्रेणी रङ्गहरू वैजनी, आकासे रङ्ग, निलो, हरियो, पहेंलो, सुन्तला रङ्ग, र रातोसूर्यकिरणबाट उत्पत्ति भएको मानिन्छ  । यस्तै सेतो र काला यी दुई रङ्ग आफैंमा रङ्ग नभए तापनि अरु रङ्गको समिश्रणबाट तयार हुनेरङ्ग भएकाले ती समेत गणना गर्दा नवरङ्ग भनी नौवटा रङ्ग देखा पर्दछ । यी सप्तरङ्गमा पनि मूलरुपमा रातो, निलो, हरियो र पहेंलोलिइन्छ । यिनै ४ रङ्गहरूबाट अरु रङ्गहरू तयार हुने भएकाले यसको समायोजन पछि सिर्जित रङ्ग नै हामीले अनुभूति गर्ने रङ्गसाहित्य हो ।

    ​हामीले जता हेर्छौं त्यता रङ्ग नै रङ्ग देख्दछौं । जुन वस्तु छुन्छौं रङ्गीन नै छुन्छौं । जुनकुराको अनुभव गछौैं रङ्ग नै अनुभूति हुन्छ ।आँखा खोल्यौं चारैतिर रङ्गैरङ्ग देखिन्छ । आँखा बन्द गर्यौं भनेपनि रङ्गैरङ्गको अनुभूति हुन्छ । दायाँ बायाँ, अगाडि पछाडि, तल माथिसवैतिर रङ्गैरङ्ग देख्दछौं । हामी लुगा लगाउँदछौं विभिन्न रङ्गका, खानेकुरा खान्छौं उही रङ्ग भएको वस्तु नै । यस्तो हुनु नै रङ्गसाहित्यको प्रभाव हो । हाम्रो भौतिक जीवनमा रङ्ग बिनाको वस्तु हामी परिकल्पना पनि गर्न सक्तैनौ । किनभने हाम्रो भौतिक शरीर नैरङ्गले भरिएको छ । हाम्रो शरीर रातो रगतबाट सिंचित छ । त्यही रगतको कणले बनेको कोष विकसित भई त्यसैबाट अङ्ग प्रत्यङ्गहरूबनेका छन् । त्यसैले हाम्रो शरीरको बाहिरी स्वरुप पनि रातो, कालो, सेतो, गहुँगोरो भएका छन् । यस्तो हुनु कसैको रगत बाक्लो रकसैको पातलो हुनाले र कसैको भौगोलिक अवस्थाबाट पनि फरक हुने गर्दछ । त्यसैले हामी भन्ने गर्दछौं रुप रङ्गमा “गोरो भएपनिनराम्रो, कालो भएपनि हिसि परेको, गहुँगोरो भएकोले राम्रो” आदिआदि । यस्तो हुनुपनि रङ्ग साहित्यको प्रभाव नै हो ।  

    ​भौतिक जगतमा हामी एकदिनलाई दिन र रात गरी २४ घण्टाको समय तालिकाले हिसाव गर्दछौं । त्यसलाई आधा गर्दा १२/१२ घण्टाकोदिन र रात हुन्छ । दिन र रातको समयलाई ध्यान दिंदा हामी दिनको १२.०० बजेलाई मध्यान्ह, रातको १२.०० बजेलाई मध्यरात मान्दछौं ।त्यस्तै विहान ६.०० बजेको समयलाई प्रभातकाल अर्थात सूर्योदयको समय, बेलुकाको ६.०० बजेलाई सन्ध्याकाल अर्थात सूर्यास्तकोसमय मान्छौं । यसरी यी चार समयको पनि अलग अलग रङ्गहरू छन् । पहिलो सूर्योदयमा सुनौला किरणले छाउने भएकाले पहेंलोरङ्ग, त्यस्तै मध्यान्हमा सबैतिर उज्यालो हुने भएकाले सेतो रङ्ग, बेलुका सूर्यास्त हुने बेला सूर्यको रातो किरण आउने भएकाले रातो रङ्गर मध्यरातमा सवैतिर अँध्यारो हुने भएकाले कालो रङ्ग देखापर्दछ । यसरी रङ्ग साहित्यले भौतिक जगतलाई पनि प्रभाव पारेको देखिन्छ।

    ​अझ हाम्रो भौतिक शरीरलाई कहिँ कतैबाट रङ्ग साहित्यले प्रभाव पार्न छाडेको छैन । हामीले ख्याल राख्न नसकेको मात्र हो । हामीदिनभर आफ्नै कार्यव्यस्ततामा रहन्छौं । साँझपख थकित हुन्छौं । राती मस्त निन्द्रामा हुन्छौं र बिहानीपख हामी जागरुक हुन्छौं । यसअवधिभर पनि हामीलाई रङ्गले छोडेको हुँदैन । हामी दिनभरको थकानबाट आरामको लागि बेलुकी खानपिन गरी सुत्ने गर्दछौं । जवहामीमा निन्द्रा लाग्न शुरु हुन्छ तब हाम्रो शरीरको रङ्ग पहेंलो हुन्छ । त्यसपछि मज्जाले निन्द्रा लाग्छ, कोहीकोही मज्जाले घुर्ने पनि गर्छन्। त्यतिबेला हाम्रो शरीरको रङ्ग निलो कालो हुन्छ । जव निन्द्रा पुग्छ, बिहानीपख उठ्ने बेला भएको हुन्छ । त्यतिबेला हाम्रो शरीरको रङ्गरातो हुन्छ । अनि हामी उठी आफ्नो नियमित स्नान कार्य सम्पन्न गर्दछौं र उज्यालो पनि हुँदै जान्छ । त्यतिबेला हाम्रो शरीरको रङ्ग पनिपरिवर्तित भई सेतो उज्यालो भएको हुन्छ । यसरी हाम्रो भौतिक शरीरलाई पनि रङ्ग साहित्यले प्रभाव पारेको छ ।

    ​हाम्रो धर्मग्रन्थ अनुसार यो ब्रह्माण्ड नै पृथ्वीतत्व, जलतत्व, वायुतत्व, तेजतत्व र आकाशतत्व यी पञ्चतत्वमा अडिएको छ । यिनै पञ्चतत्वविना हामी यो संसारको कल्पना पनि गर्न सक्दैनौं । फरक फरक किसिमका यी पञ्चतत्वहरूको रङ्ग पनि फरक नै छ । त्यस्तैहिन्दुहरूको अधिष्ठाता आराध्यदेव महादेवको सहस्रनाम भए तापनि पशुपतिनाथको श्वेतवर्ण पञ्चमुखमा प्रत्येक मुखको स्वरुप, तत्व रनामाकरण पनि फरक नै छन् । ती यिनै हुन् ।

    ​दिशा​स्वरुप​पञ्चतत्व​नाम​रङ्ग

    पश्चिममुख​सद्योजात​पृथ्वीतत्व​नन्दिमुख​पहेँलो

    उत्तरमुख​वामदेव​जलतत्व​उमामुख​सेतो

    पूर्वमुख​तत्पुरुष​वायुतत्व​महादेवमुख​निलो

    दक्षिणमुख​अघोररुप​तेजतत्व​भैरवमुख​कालो

    उध्र्वमुख​ईशानरुप​आकाशतत्व​सदाशिवमुख​आकासे निलो

    ​पञ्चतत्वले सर्वव्याप्त पशुपतिनाथको स्वरुप अनुसारको फरक दिशामा अवस्थित नामको पञ्चमुखको रङ्ग फरक हुनाले पनि रङ्गसाहित्यमा अझ बढी प्रभाव परेको देखिन्छ ।

    ​त्यस्तै हिन्दू धर्मावलम्वीको मन्दिर, बौद्ध धर्मावलम्वीको गुम्बा, मुस्लिमको मक्कामदिनामा पनि रङ्ग साहित्यको प्रभावले फरक रङ्गलेसजिएको छ । जस्तै; हिन्दू धर्मावलम्वीको मन्दिरहरूको छाना पित्तल वा तामाको अर्थात अरु केही वस्तुको भए तापनि पहेंलो वा रातोरङ्गको नै हुन्छ ।  बौद्धमार्गीको गुम्बाहरूमा पहेंलो वा सेतो रङ्ग नै लगाएको हुन्छ । त्यस्तै मुस्लिम धर्मावलम्वीको मक्कामदिनामा हेर्यौंभने त्यो पनि कालो रङ्गको नै देख्छौं । यसरी धार्मिक आस्था अनुसारको मन्दिरहरूको रङ्ग र विशेषतामा फरक फरक हुनु रङ्गसाहित्यको प्रभावले गर्दा नै हो ।

    ​कति व्यापक छाएको छ, रङ्ग साहित्यको प्रभाव ! हामी हिन्दूहरूको महानचाड दशैंको पूजाआजा गर्दाखेरि पनि रङ्ग साहित्यको कतिप्रभाव परेको छ भन्ने छर्लङ्ग हुन्छ । हामी घटस्थापनाको दिनमा जमरा राख्छौं । त्यसपछि महानवमीको दिनसम्म नवदुर्गाको रुपमाविभिन्न शक्तिपीठहरूमा गई पूजाआजा गर्दछौं । बराहपुराणमा अष्टमातृकाको नाउँ उल्लेख भए तापनि खासगरी ब्राह्मी, महेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी र चामुण्डा गरी सप्तमातृका मूलरुपमा अगाडि आउने गर्दछ ।  सप्तमातृका भित्र पर्ने सातै देवीकासामुहिक शक्ति समावेश गरी एउटै स्वरुपको आकृतिमा महालक्ष्मीलाई अष्टमातृकाको रुपमा चित्रण गरेका छन् । अझ सप्तमातृकामामहालक्ष्मी समेत समावेश गरी अष्टमातृका भनिन्छ भने अष्टमातृकामा सिंहीनी थपेपछि नवदुर्गाको रुपमा मानेका छन् । यिनीसप्तमातृकाको साथै नवदुर्गाको स्वरुपमा रङ्ग फरक फरक हुनु रङ्ग साहित्य कै प्रभाव हो ।

    ​विजया दशमीमा नवदुर्गाको पूजाआराधना गरी टीकाटाला गर्दा आ–आफ्नो संस्कृति अनुसार  विभिन्न रङ्गको टीका लगाई जमरा समेतलिने गर्दछौं । जसमा कालो टीकाले एकप्रकारको दैविशक्ति उत्पन्न भएको महशुस हुन्छ । त्यस्तै रातो टिका । यसमा पनि सेतो दही, लावा, अक्षता र रातो सिन्दूर मिलाई बनेको रातो टीका । अझ त्यसलाई थप शक्ति प्रदान गर्न पहेंलो जमरा समेत लगाउने गर्दछौं ।त्यसरी विभिन्न रङ्गको टीका एकैसाथ ग्रहण गर्नाले आफूमा एकप्रकारको दैवीशक्ति प्राप्त भएको महशुस हुन्छ । यस्तो हुनुमा पनि रङ्गसाहित्यको प्रभावले गर्दा नै भएको मान्नु पर्दछ ।

    ​यही रङ्गको प्रभावले गर्दा नै हामी एकबर्षको अवधिलाई दुई दुई महिनाको ऋतु परिवर्तन भएको मान्छौं । गृष्म, बर्षा, शरद्, हेमन्त, शिशिर र वसन्त ऋतु गरी ६ भागमा विभाजन गरी अलग–अलग मौसम परिवर्तन भएको अनुभव गरिन्छ । ऋतु फरक हुनासाथ मौसमफरक हुने भएकाले वातावरणको रङ्ग पनि फरक नै हुने गर्दछ । यसो हुनुमा पनि रङ्ग साहित्यले नै प्रभाव पारेको हो ।

    ​अझ नेपालका नदीनालाहरूको नामाकरण अनुसार त्यसको रङ्ग र प्रभाव समेत फरक छ । जस्तै सप्तकोशीको उदाहरण यहाँ लिनसकिन्छ । सप्तकोशीको मूल प्रवाह हिमनदीहरु भए तापनि नाम अनुसार त्यसमा बग्ने पानीको रङ्ग र जनजीवनमा पारेको प्रभाव समेतफरक नै छ । दुधकोशीको पानी सेतो, तामाकोशीको पानी रातो, सुनकोशीको पानी पहेंलो, भए जस्तै भोटेकोशीको पानीको रङ्ग पनिफरक छ । त्यस्तै सप्तकोशी मध्येको बांकी नदीहरूको पानीको रङ्ग पनि फरक भई बगेको छ । यी विभिन्न रङ्ग र विशेषता रहेकोनदीको पानी सप्तकोशी नामबाट एकैनदी भई बगेको हुँदा यस नदीमा नुहाउनाले हाम्रो शरीरको विभिन्न रोहहरूको निदानमा सहयोगमिल्छ भनेका छन् । यसो हुनाको कारण पनि रङ्ग साहित्यको प्रभाव नै मान्नु पर्दछ ।

    ​रङ्गकर्मी चित्रकारहरूबाट सिर्जित विभिन्न चित्रहरू हामीहरूले देखेका छौं । तिनै रङ्गकर्मीले सिर्जित विविध रङ्गहरूको समायोजनगरी समय, परिस्थिति र वातावरण अनुसार अलग अलग पहिचान हुने गरी आकर्षक चित्रहरूको माध्यमबाट एकप्रकारको चित्र साहित्यतयार गरेका हुन्छन् । उक्त चित्र साहित्य कोर्नका लागि पनि विभिन्न रङ्गहरूको प्रयोग गरेका हुन्छन् । यदी रङ्ग नहुँदो हो त सायद चित्रसाहित्यको कल्पना पनि गर्न सक्दैन होला । त्यसैले रङ्गकर्मी भन्दा पनि रङ्ग साहित्यले चित्र साहित्यमा समेत निकै प्रभाव पारेको छ ।

    ​अन्तमा  हाम्रो जनजीवनमा समय, परिस्थिति र वातवारण अनुसारको हावापानीमा समेत निकै रङ्ग साहित्यले प्रभाव पारेको हुँदा यसविषयमा छुट्टै विषयवस्तु बनाई अध्ययन हुन जरुरी देखिन्छ ।

    श्रोत सन्दर्भ;
    १. प्रा. गोविन्दप्रसाद भट्टराई – नेपालका अधिष्ठाता आराध्यदेव श्री पशुपतिनाथ (पत्रिकाको लेखरचना)

    २. संस्कृति सम्बन्धी विविध लेख रचना

  • भ्रमण वर्ष प्रभावित, विदेशमा हुने प्रवर्धन रोकियो

    भ्रमण वर्ष प्रभावित, विदेशमा हुने प्रवर्धन रोकियो

    काठमाडौं । संसारभर महामारीका रुपमा फैलदो रुपमा रहेको कोरोनाले नेपालको भ्रमण वर्षलाई भने नराम्रोसँग प्रभावित बनाएको छ ।

    विश्वभरका पर्यटक भित्राएर वार्षिक २० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने अभियान कोरोनाका कारण प्रभावित भएको हो ।

    सरकारले अब विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

    पर्यटन मन्त्री योगेश भट्टराईले यस्तो जानकारी गराएका हुन् । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वी मुलुकसम्म फैलिइसकेको छ ।

    रोग नियन्त्रणमा नआएसम्म विदेशमा हुने प्रद्र्धनको कार्यक्रम स्थागित गर्ने निर्णय भएको उनले जानकारी गराएका छन् ।

    परिस्थिति अनुकुल भएपछि र सन्त्रास हट्दै गएपछि सरकारले सक्रियताका साथ भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम ल्याउने पर्यटन मन्त्रीको भनाई छ ।

    उनले अब आन्तरिक पर्यटकलाई परिचालनको नीति ल्याएर पर्यटन व्यवसायलाई अगाडी बढाउने उल्लेख गरे ।

    कोरोनाले भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यमा भने असर गर्ने उनको स्वीकारोक्ती छ ।

  • चर्किएको राजनीतिक तनाव छल्न प्रचण्ड सुकुटेमा

    चर्किएको राजनीतिक तनाव छल्न प्रचण्ड सुकुटेमा

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले राजनीतिक द्धन्द्ध उत्कर्षमा छ । गुटगत विवाद उचालिएको छ ।

    खासगरी राष्ट्रिय सभामा वामदेव गौतम वा युवराज खतिवडा कसलाई लैजाने भन्ने विषयमा विवाद चलिरहेको छ ।

    यसै मेसोमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आरामका लागि सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट पुगेका छन् ।

    जब मुलुकमा राजनीतिक तनावले उग्ररुप लिन्छ, त्यसपछि उनी हरेक पटक सुकुटे पुग्ने गरेका छन्। उनी चितवनबाट सिधै सुकुटे पुगेका हुन् ।

    शुक्रवार बिहान काठमाडौं निवासमा नेकपाका नेताहरुबीच गोप्य बैठक गरेका अध्यक्ष प्रचण्ड चितवन पुगेका थिए ।

    उनी त्यहीँबाट सुकुटे पुगेका हुन्। सुकुटेमा सुनकोसीमा र्‍याफ्टिङ समेत गरेको रिसोर्टले जनाएको छ ।

    शनिवार उनले सुकुटेमा महोत्सव उद्घाटनको कार्यक्रम रहेको छ । यस पटक महोत्सवको बाहना मिलेपनि उनी आरामका लागि सुकुटे पुगेका हुन् ।

    यहाँ पुगेपछि प्रचण्डबाट केही महत्वपूर्ण राजनीतिक निर्णय लिने अपेक्षा गर्ने गरिन्छ । अहिले अर्का अध्यक्ष केपी ओली र प्रचण्डबीच सरकार र पार्टी सञ्चालनमा सम्बन्धमा विवाद चर्किरहेको छ ।

  • आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

    आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

    काठमाडौं । रोगले थलिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मस्थान तेह्रथुमको आठराईमा मनाउने इच्छा देखाए । सोहीअनुसार व्यवस्थापनमा जुट्यो स्थानीय सरकार ।

    हजारौं विद्यार्थीलाई पाठ्यक्रम बाड्ने, वृद्धवृद्धालाई न्यानो लुगा बाड्ने र केक काट्ने रवाफिलो शैलीसहित हेलिकोप्टरमा प्रधानमन्त्री जन्मस्थान पुगेका थिए ।

    त्यहा पुगुन्जेल त सबैको सहानुभूति नै थियो । तर, जब उनले काटेको केक सार्वजनिक भयो, यो विषय अहिले सामाजिक संजालमा आलोचनाको विषय बनेको छ ।

    ओलीको जन्मदिनमा बनाइएको केकमा नेपालको नक्सा रहेको छ । उनले त्यो नक्सा काटेका छन् भने उच्च पदस्थ अधिकारीले केक खाएका छन् ।

    यसलाई धेरैले देशप्रतिको अपमान भन्दै प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

    यो केक अर्डर गर्ने निकायलाई प्रधानमन्त्रीले नै यस्तो केक बनाउने दिएका थिए वा स्थानीय सरकारहरुले चाकडी गरेका हुन भन्ने त खुलेको छैन । तर, गोकुल बास्कोटा काण्ड नसेलाउँदै अब फेरी केक काण्डले माहोल तताउने निश्चित रहेको छ ।

  • श्रीमानको बर्दी लगाएर टीकटकमा अभिनय गरेपछि…

    श्रीमानको बर्दी लगाएर टीकटकमा अभिनय गरेपछि…

    काठमाडौं । प्रहरी बर्दीमा टिकटक भिडिओ भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सई रत्नबहादुर थापामाथि कारबाही थालेको छ ।

    उनीमाथि विभागीय कारवाहीको तयारी भएको कार्यालयले जनाएको छ । भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयका इञ्चार्ज रहेका उनको स्थानमा कार्यालयले सई राजु प्रसाईंलाई खटाएको छ ।

    वास्तवमा आफैले टिकटक बनाउनुभन्दा पनि श्रीमतीले श्रीमानको बर्दी लगाएर टिकटकमा अभिनय गरी श्रीमानकै आइडीबाट टीकटकमा अपलोड गरेपछि थापामाथि विभागीय कारवाही हुने भएको हो ।

    थापाले आफूले टिकटक नै नचलाउने प्रतिक्रिया विभिन्न संचारमाध्यममा दिएका छन् । तर, उनको भिडियो श्रीमतिले सार्वजनिक गरिदिएपछि उनीमाथि फसाद आइपरको हो ।

    प्रहरी बर्दीको दुरुपयोगको कारवाही उनीमाथि हुनेछ । किनकी उनले आफ्नो बर्दी श्रीमतीलाई लगाउन दिएको खुलेको छ ।

    भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ। अर्को भिडिओमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको र भिडियो प्रहरी कार्यालय भित्रैको देखिएको छ ।

    त्यसकारण पदको दुरुपयोग भएको पाइएको कार्यालय स्रोतको भनाई छ । पछिल्लो समय धेरै महिला तथा किशोर किशोरी टिकटकको लतमा फसिसकेका छन् ।

  • महाशिवरात्रीमा पशुपतिमा सजाइएका फूल भक्तजनले चोरेपछि

    महाशिवरात्रीमा पशुपतिमा सजाइएका फूल भक्तजनले चोरेपछि

    काठमाडौं । पशपति क्षेत्र विकास कोषले शुक्रबार महाशिवरात्रीको रौनकलाई खास बनाउन पशुपतिमा कुनै कसुर बाँकि राखेको थिएन ।

    करीव २ करोड मूल्य खर्च गरेर भारतबाट ल्याइएको विशेष फूले पशुपति क्षेत्र झकिझकाउ भएको थियो । पशुपति पुग्ने सबैले यसको प्रशंसा समेत गरेका थिए ।

    तर, शनिबार बिहानै पशुपति झण्डै कुरुप जस्तै देखिन पुग्यो । यो कसरी भयो ? किनकी यसरी सजाइएका फूल पशुपति पुगेकै मानिसले चोर्न लागे । एक एक गर्दै फूलका थुंगा चुट्र्दै गए ।

    फलस्वरुप पुशपति कुरुप देखिएको हो । पशुपतिनाथ मन्दिर र परिसरलाई बेहुलीझैं सजाउन फूलबाट पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार, शिवलिंग, शिवको बाहन साँढे सजाइएको थियो।

    तर भोलीपल्ट भने त्यो सबै सुन्दरता लुटिएको छ । कोषका अनुसार भक्तजनले एक एक गर्दै चुट्दै फूल लगेका हुन् ।

    एक दुई जनालाई सम्झाएर नपुग्ने, मान्छे त खराब भएपछि पशुपतिको सजावटको स्वरुपनै बिग्रिएको कोषका अधिकारीहरु बताउँछन् ।

    उनीहरु भन्दै थिए, बरु बाँदरले केही गरेनन्, मान्छेले छाडेनन् । करीव १० लाख मानिस पशुपतिमा दर्शनका लागि पुगेको अनुमान कोषको रहेको छ । शनिबार बिहानबाट कोषले सरसफाई थालेको थियो ।

  • आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

    आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

    काठमाडौं । आज महाशिवरात्री पर्व । हिन्दूधर्मालम्बीका लागि आराध्यदेव भगवान शिवको पूजाआराधना गर्ने विशेष दिनका रुपमा देशभर धुमधामका साथ मनाइदैछ ।

    आज नेपाल र भारतका शिव मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ । पशुपतिनाथ मन्दिरमा १० लाख भन्दा बढी भक्तजन यस दिनको अवसर पारी पुग्छन् ।

    शिवजी उत्पत्ति भएको रातका नामबाट शिवरात्री नामकरण भएको मानिन्छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्री मनाउन थालिएको हो ।

    शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि रहेको छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ ।

    चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको पात्रोमा उल्लेख छ ।

    मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको हो ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

    नेपालसहित भारतमा समेत उत्तिकै महत्वका साथ यो पर्व मनाइन्छ ।

  • पशुपतिमा महाशिवरात्रीको तयारी पुरा, ५ हजार स्वयमसेवक खटिदै

    पशुपतिमा महाशिवरात्रीको तयारी पुरा, ५ हजार स्वयमसेवक खटिदै

    काठमाडौं । करीव १० लाख भक्तजनले दर्शन गर्ने विश्वास गरिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको तयारी पुरा भएको छ । पशुपति क्षेत्र विकास कोषले तयारी पुरा भएको जानकारी दिएको छ ।

    यस वर्षको महाशिवरात्री मेला फागुन ९ गते परेको छ । शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाड व्यवस्थित गर्न ५ हजार स्वयंसेवक खटिदैछन् ।

    नेपाल स्काउटबाट ठूलो संख्यामा स्वयंसेवक खटिने भएका छन् । स्वयंसेवक दर्शनार्थीलाई सहजीकरण, स्वास्थ्य उपचार तथा अन्य अत्यावयक सेवामा खटिनेछन् ।

    शिवरात्री अवधिमा पशुपति क्षेत्रमा गाँजा भाङ खान नपाइने व्यवस्था गरिएको कोषले जनाएको छ । शिवरात्रीमा पशुपति क्षेत्रको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिने भएका छन् ।

    सादा पोशाकमा समेत प्रहरी परिचालन गरिने भएको छ । शिवरात्रीका दिन पशुपति मन्दिर दर्शन गर्न चारवटा लाइनको व्यवस्था हुने भएको छ ।

    पश्चिम ढोका, उत्तरढोकाबाट एक एक लाइन र दक्षिण ढोकाबाट दुई लाइनको व्यवस्था गरिएको कोषले उल्लेख गरेको छ ।

    मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड– दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १ लाइन, जयवागेश्वरी– इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको छ ।

    बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने कोषले उल्लेख गरेको छ ।

    तीलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एउटा लाइन बनाउन सकिने बताईएको छ ।