Category: मनोरञ्जन

  • दशैंको टिका कुन मुलुकमा कति बजे ?

    दशैंको टिका कुन मुलुकमा कति बजे ?

    काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालभन्दा बाहिर रहने नेपालीका लागि साइत सार्वजनिक गरको छ । दशैंको टीका लगाउने उत्तम साइत तयार पारेर समितिले बिहीबार सार्वजनिक गरेको हो । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

    धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको उनको भनाई छ । अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम भइरहेको छ । विदेशमा बस्ने नेपालीका लागि दशैंको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय तय गरिएको उनको भनाई छ ।

    अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएको थिएन । यसले विदेशमा अन्यौल हुने गरेको थियो । समितिका अनुसार अमेरिका, बेलायत, क्यानडा, पोर्चुगल र फ्रान्समा अक्टोबर २५ तारिखमा टीकाको शुभ साइत जुराइएको छ ।

    अमेरिकाको न्युयोर्क सहरमा प्रातः ११ बजेर ५ मिनेटमा, केन्टुकीमा ११ः०७ मा, टेक्सासमा ११ः५७ मा र क्यालिफोर्नियामा ११ः४५मा टीकाको शुभसाइत जुरेको छ । बेलायतको लण्डनमा ११ः३९ बजेको लागि साइत जुरेको छ । यसबाहेक क्यानडाको टोरन्टोमा ११ः४३, पोर्चुगलको लिस्बनमा ११ः३७ र फ्रान्सको पेरिसमा २५ अक्टोम्बरको ११ः४१ मा टीकाको शुभ साइत जुरेको छ ।

    यसबाहेक भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्डलगायतका देशमा भने अक्टोम्बर २६ को स्थानीय समय अनुसार बिहान ९ः४३ देखि १०ः३५ सम्म तोकिएको समितिले उल्लेख गरेको छ ।

  • दशैंलाई जहाजमा टिकट बुक जारी, बसमा अन्यौल

    दशैंलाई जहाजमा टिकट बुक जारी, बसमा अन्यौल

    काठमाडौं । सरकारले उचित निर्णय लिन नसक्दा यो वर्ष दशैंमा शहरबाट गाउँ फर्कने मानिसमा अन्यौल छाएको छ । कोरोना महामारीका बीच सरकारले हरेक दिन जसो जो जहाँ छ, त्यही बसेर दशैं मनाउन आह्वान गर्छ । तर, वर्षमा एक पटक आउने चाडबाड र महामारीमा अर्को वर्षको अनिश्चितताका बीच धेरैजना भने आफ्नो परिवारकै साथमा बडादशैं मनाउन चाहन्छन् ।

    यो अवस्थामा दशैंमा निर्वाध घर जान सक्ने वा नसक्ने अन्यौल भने आम यात्रुमा छ । यता, दशैंको मुख पारेर आफ्नो गाउँघर फर्कन हवाईजहाजमा धमाधम अग्रिम टिकट बुक भइरहेका छन् । यो सामान्य प्रक्रिया पनि हो । किनकी हवाईजहाज कम्पनीहरुले अहिले दशैं भनेर घोषणा नगरे पनि अग्रिम टिकट लिन्छन् । तर, बसमा त्यस्तो हुँदैन ।

    दशैंको मुख पारेर आफ्नो गाउँघर फर्कन हवाईजहाजमा धमाधम अग्रिम टिकट बुक भइरहेका छन् ।

    सरकारले मिति नै तोकेर अग्रिम टिकट बुक गराउनु पर्छ । तर, दशैं भित्रन ९ दिन मात्र बाँकि रहेको अवस्थामा समेत सरकारले अझै के गर्ने भन्ने टुंगो भने लगाउन सकेको छैन । व्यवसायीहरुले दशैंमा पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने माग गरिरहेका छन् । सरकारले जनस्वास्थ्यमा चूनौति हुने भन्दै त्यसको पक्षमा छैन ।

    सोहीकारण सहमति हुन नसकेकै कारण अग्रिम टिकट बुक हुन नसकेको यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन् । यात्रु कति राख्न दिने वा नदिने भन्ने निर्णय समेत विभाग एक्लैले भने गर्न सक्दैन । यसका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएसी)ले गर्नुपर्छ । तर, सीसीएमसी नै यो विषयमा गम्भीर हुन सकेको छैन । यसको नेतृत्व उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गर्छन् ।

  • हरिवंश आचार्य दम्पत्तिमा कोरोना पुष्टी

    हरिवंश आचार्य दम्पत्तिमा कोरोना पुष्टी

    काठमाडौं । चर्चित हास्य कलाकार हरिवंश आचार्य र पत्नी रमिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आचार्यले मंगलबार फेसबुकबाट यसको पुष्टी गरेका हुन् । आफूहरुमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गर्दै आचार्यले स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् ।

    ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ’ हरिवंशको पोष्टमा उल्लेख छ ।

    उनले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ ।

  • दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

    दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।

    दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

    यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।

    घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ । देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ । हाल गुह्येश्वरीलगायत राजधानीका मुख्य शक्तिपीठमा भक्तजनलाई दर्शन गर्न दिइएको छैन ।

    कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । विशेषगरी नेपाली सेनाले झण्डा फेर्ने गरेको जनाइएको छ । कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ । कात्तिक ७ गते शुक्रबार फूलपाती छ । फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन । विशेषगरी बेलुकी नवदुर्गा स्थापना गरी घटस्थापना गरिएको पूजा कोठा अथवा दशैँ घरमा फूलपाती भित्र्याइन्छ ।

    कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०ः१४ बजे तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ ।

    कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्रि मनाइन्छ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ । यस दिन वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ ।

    दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष गौतमले सुनाए । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ ।

    “आर्यावर्त क्षेत्रका राज्य सञ्चालकले अनिवार्यरूपमा शुभ साइतमा देवीको प्रसाद लगाउनुपर्ने शास्त्रीय वचन छ, आर्यावर्त क्षेत्रमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भूटान, बर्मालगायत देश पर्छन्, यी देशका शासकले देवीको आशीर्वाद लिएर राज्य सञ्चालन गरे शान्ति र सुशासन दिनसक्ने शास्त्रीय मान्यता छ”, उनले भने ।

    विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ ।

    टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्गयात्रासमेत यसैदिन गरिन्छ ।

    कात्तिक १४ गते शुक्रबार विधिपूर्वक गरिने सबै बलि पूर्तिको कर्म गर्नुपर्छ । कोजाग्रत पूर्णिमा पनि कात्तिक १४ गते शुक्रबारकै दिन परेको छ । त्यस दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ । महालक्ष्मीको विशेष आराधना गर्ने भक्तजनले कोजाग्रत पूर्णिमाको व्रत बस्ने गर्छन् ।

    चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ । मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुन्छ ।

  • भारतले खोल्ने भयो सिनेमा हल र शिक्षण संस्था

    भारतले खोल्ने भयो सिनेमा हल र शिक्षण संस्था

    नयाँ दिल्ली । भारतले अक्टोवर १५ बाट सिनेमा हल, मनोरन्जन स्थल र शिक्षण संस्था खुला गर्ने भएको छ । यससँगै भारतमा जारी लकडाउन समेत समाप्त हुनेछ । किनकी अहिले पनि भारतमा सार्वजनिक यातायात र व्यापार व्यवसाय खुला भइसकेको छ । १५ तारिखदेखि स्कूल र कलेज समेत खुल्ने घोषणा केन्द्र सरकारले गरेको हो ।

    यद्दपी आफ्नो राज्यमा बन्द गर्ने की खुला भन्ने निर्णय गर्ने अधिकार भने राज्य सरकारसँगै रहनेछ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भारतमा पनि लकडाउन छ । सोहीकारण बढी भिडभाड हुने क्षेत्रहरु अहिले पनि बन्द छन् ।

    १० वर्षमुनिका बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई दिइएको छ । विद्यालयले समेत जोखिम देखेमा बन्द गर्न सक्नेछन् ।

    केन्द्रले अनलाइन कक्षा र दूरी सिकाइ (डिस्ट्यान्स लर्निङ) लाई प्राथमिकता दिन आग्रह गरेको छ । सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशतभन्दा धेरै सीटमा मानिस राख्न नपाइने गरी खोल्न लागिएको छ ।

  • बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

    बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

    काठमाडौं । नजिकिएको दशैंलाई लक्षित गरी सरकारले बिहीबारबाट सहुलीयतपूर्ण पसल संचालनमा ल्याउने भएको छ । बजारमा अधिक बढिरहेको भाउ नियन्त्रण गर्दै सर्वसाधारणलाई राहत दिने उद्देश्यले सहुलियतपूर्ण पसल संचालन गर्ने निर्णय भएको हो । यसले महंगी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १५ असोजबाट पसल संचालनमा ल्याउने निर्णय गरेको हो । यस्तो पसल ६ मंसिरसम्म चल्नेछ । देशभर ६० वटा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइने भएको छ । ‘काठमाडौं उपत्यकामा १३ वटा यस्ता पसल चल्ने भएक छन् ।

    सहुलियत पसलमा राख्ने सामानको टुंगो भने लागिसकेको छैन । सोमबारको निर्णयअनुसार काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच, साल्ट ट्रेडिङले पाँच, तथा दुग्ध विकास संस्थाले तीन गरी १३ वटा पसल सञ्चालनमा ल्याउने भएका हुन् ।

    उपत्यकाबाहिर खाद्यले २४ वटा कार्यालय र साल्ट ट्रेडिङको २३ कार्यालयमार्फत सहुलियत पसल सञ्चालनमा आउने बताइएको छ ।

  • फ्रान्सेली पत्रिका चार्ली हेब्डोमा पुनः आंतकवादी हमला

    फ्रान्सेली पत्रिका चार्ली हेब्डोमा पुनः आंतकवादी हमला

    पेरिस । विश्वचर्चित फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डो पटक पटक आंतकवादीहरुको निशानामा पर्दै आएको छ । यहाँ निरन्तर हमला हुने गरेको छ । यसैक्रममा पुनः पत्रिकोका मुख्यालयमा आक्रमण भएको छ । हमलामा दुईजना गम्भीर घाइते भएका छन् ।

    हमलामा इस्लामिक आतंकवादीको भूमिका रहेको फ्रान्सका गृहमन्त्री जेराल्ड डोरमानिनले बताएका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार घटनास्थल नजिकैबाट पाकिस्तानी मूलका एक संदिग्ध आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप चार जना समेत अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा छन् ।

    पछिल्लो हमलामा घाइते भएका दुवै मानिस एक टेलिभिजन कार्यक्रम उत्पादन कम्पनीका कर्मचारी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । यसअघि सन् २०१५ मा चार्ली हेब्डोको मूख्यालयमा भएको आतंकवादी आक्रमणमा १२ कर्मचारीको ज्यान गएको थियो ।

  • गीतकार दीपा राईको नयाँ गीत दर्शक-श्रोता माझ

    गीतकार दीपा राईको नयाँ गीत दर्शक-श्रोता माझ

    न्युयोर्क

    दीपाको शब्दमा जीवन बोल्दछ । भावना बग्दछ । अनुभूति झल्कन्छ । जब उनका शब्दमाला गीत बनेर गुञ्जन्छ तब संगीत सार्थक लाग्दछ । नेपाली संगीताकाशका सुनौला तारा साहित्यानुरागी दीपा राई पुनको नयाँ गीत “मैले कोरेको चित्रमा…” म्युजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक भएको छ ।

    “मैले कोरेको चित्रमा मेरै प्रितको कथा छ

    गहिरो धेरै गहिरो मुटु भरीको गाथा छ”

    आधुनिक संगीतशिल्पी हरि लम्सालको संगीतमा नेपाल आइडलका प्रतिस्पर्धि गायक प्रताप दासको स्वरले गीत कर्णप्रिय बनेको छ । गीतमा कोरियोग्राफर निकेश खड्काले ‘साँचो मायाको आभाष जनम जनमसम्म हुन्छ । माया जुन रुपमा प्रकट भएपनि अन्तरमनको ढुकढुकी बनहर गुञ्जिरहन्छ’ भन्ने सन्देश दिन खोजेका छन् ।

    कलाकार प्रियङ्का कार्की र आयुष्मान जोशीको अभिनय जीवन्त छ । गीतको निर्माता बिमला राई हुन् ।

  • पशुपति र लुम्बिनी सर्वसाधारणका लागि खुलाउने तयारी

    पशुपति र लुम्बिनी सर्वसाधारणका लागि खुलाउने तयारी

    काठमाडौं । सरकारले पशुपति र लुम्बिनी क्षेत्रलाई सर्वसाधारणको दर्शनका लागि खुला गर्ने तयारी गरेको छ । प्रोटोकल बनाइ यी क्षेत्र खुला गर्ने तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

    प्रोटोकल बनेपछि यी दुई धार्मिक गन्तब्य खुला गर्ने प्रस्ताव मन्त्रालयले कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा लैजाने भएको छ । सीसीएमसीले निर्णय गरेमा प्रस्ताव मन्त्रिपरिषद पुग्नेछ । कोरोना भाइरसको महामारीसँगै सरकारले यी दुई धार्मिक गन्तब्यमा सर्वसाधारणको दर्शन रोकेको थियो ।

    तर, सार्वजनिक यातायात समेत खुला भइसकेको सम्बन्धमा पशुपति र लुम्बिनी समेत खोल्नु पर्ने दवाव सर्वसाधारणले गरिरहेका छन् । अहिले धार्मिक विधिअनुसार नियमित हुने पुजाआजाबाहेक दुबै गन्तव्यमा सर्वसाधारणले प्रवेश पाउँदैनन् ।

    मन्त्रालयले संग्रहालयहरु समेत अवलोकनका लागि खुला गर्ने तयारी गरेको छ । त्यसका लागि समेत प्रोटोकल समेत बनाइने भएको छ । पर्यटन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समुहको बैठकले यस्तो निर्णय गरेको हो ।

  • ८ कात्तिकबाट क्लिन फिड लागु, विदेशी च्यानल विज्ञापनरहित

    ८ कात्तिकबाट क्लिन फिड लागु, विदेशी च्यानल विज्ञापनरहित

    काठमाडौं । ८ कात्तिकबाट नेपालमा प्रशारण हुने सबै प्रकारका विदेशी च्यानलको विज्ञापन हट्नेछ । विज्ञापन हटाउन नमिल्ने विदेशी च्यानल भने सरकारले बन्द गराउने छ । सोहीअनुसार तयारी शुरु भएको सूचना तथा संचार प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

    विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ ले ७ कात्तिक २०७७ सम्म विदेशी च्यानल नेपालमा विज्ञापनरहित बनिसक्नु पर्ने नियम ल्याएको छ । यो व्यवस्थ कार्यान्वयनका लागि सेवा प्रदायकले तयारी थालेका छन् । नेपालमा प्रशारण होस भन्ने चाहना राख्ने र यहाँ ग्राहक देख्ने च्यानलले क्रमशः उपकरण ल्याएर जडान थालिसकेका छन् ।

    अनिच्छुक कम्पनीहरुले भने नेपालमा प्रशारण बन्द गर्नेछन् । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित भएको ऐनले क्लिन फिडमा जान सेवा प्रदायकलाई एक वर्ष समय दिएको हो ।

    भारतीय प्रसारकले नेपालमै क्लिन फिड गर्ने भएपछि अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिने भएको छ । सरकारले २०७४ साउन १ गतेदेखि नै ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको हो ।

  • यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै

    यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै

    काठमाडौं । निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले विभिन्न गन्तब्य भ्रमणका लागि आकर्षक प्याकेज ल्याएको छ । करिब डेढ दर्जन पर्यटकीय प्याकेज ल्याउँदै यतिले आन्तरिक पर्यटकलाई भ्रमणप्रति प्रोत्साहित गर्ने नीति लिएको हो । कम्पनीले स्थापनाको २२ औं वाषिर्कोत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको छ ।


    कम्पनीका प्रमुख कार्यकारी अधिकत अनोज रिमालले प्याकेज सार्वजनिक गरेका हुन् । नेपालमा ७ महिना लामो प्रतिवन्धपछि घुमघाम खुला भएको छ । सोही अनुसार सोमबारबाट हवाई यात्रा समेत सुचारु भएको छ । यतिले भनेको छ, ‘अब एयरलाइन्सले यात्रुलाई गन्तब्यसँग जोड्ने मात्र छैनन्, गन्तब्य घुमाउने पनि छन् । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अक्टोवर २०२० बाट यी प्याकेज लागु हुने भएका छन् ।

    यतिले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागि समेत दुईतर्फी टिकटसहितका प्याकेज ल्याएको हो । यी गन्तब्यमा होटेलको स्तर अनुसार मूल्य राखिएको छ । प्याकेज घोषित गन्तव्यको सबैभन्दा नजिकको विमानस्थलसम्म यति र तारा एयरबाट हवाई यात्रा गराइने भएको छ ।

    यतिले एभरेष्ट ट्रेल १३,९९९ प्रतिव्यक्तिमै घुमाउने भएको छ । रारामा २४९९९ प्रतिव्यक्ति, पोखरामा ५९९९ देखि ७९९९ प्रतिव्यक्ति, चितवनमा १२९९९ देखि १६९९९ प्रतिव्यक्तिसम्मका प्याकेज यतिले ल्याएको छ ।

    उता, यतिले अब टिकट समेत एप्सबाट काट्न सकिने गरी एप्स सार्वजनिक गरेको छ । अब मोवाइलबाट टिकट बुकिङ, स्काई क्लव माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, वेभ चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर हेर्न सकिने भएको छ ।

  • गायिका रोजिना गुरुङको ‘मेरो प्रित तिमीलाई’ भिडियो सहित सार्वजनिक

    गायिका रोजिना गुरुङको ‘मेरो प्रित तिमीलाई’ भिडियो सहित सार्वजनिक

    न्युयोर्क

    न्युयोर्ककी चिरपरिचित उदयिमान गायिका रोजिना गुरुङले यस पटक आफ्नो प्रितको घोषणा गीत मार्फत गरेकी छिन् । लामो समयदेखि नेपाली संगीत साधनामा तल्लिन गायिका रोजिना गुरुङको अर्को रोमाण्टिक गीत “मेरो प्रित तिमीलाई” म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । नेपालदेखि नै गायनमा अभ्यस्त गायिका गुरुङले प्रबासमा रहँदा समेत गायनमा निरन्तरता दिंदै आएकी छिन् । नेपालमा छँदा उनी नेपाली तारा नामक टिभी रियालिटी शोको उत्कृष्ट १० मा समेत परिसकेकी थिइन् ।यसअघि पनि उनका गीतहरु दर्शकश्रोता माझ आइसकेका छन् ।

    प्रायश: आफ्नो गीतमा आफै मोडलिङ् गर्ने गायिका गुरुङ् मोडलिङ्मा पनि उत्तिकै जम्ने गरेकी छिन् । न्युयोर्कस्थित ॐ मेगा अडियो एण्ड भिडियो प्रडक्सनले तयार पारेको म्युजिक भिडियोको छायांङ्कन अमेरिकामा नै तयार पारिएको हो । गीतको रचनाकार्य प्रेमिल गीतहरू रच्ने गीतकार श्रीजना डंगोलले गरेकी छिन् । प्रस्तुत गीतमा संगीत साधक ओम कर्माचार्यले संगीत दिएका छन् भने युवा एरेण्जर बिनय गुरुङले गीतलाई पूर्णता दिएका छन् ।

    एकपटक सुनेर नअघाउने खालको गीत बनेको गायिका गुरुङ् बताउँछिन् । गीत राम्रो बनेकोले दर्शक श्रोताबाट सर्जकहरुले धेरै नै आशा गरेका छन् ।

  • सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?

    सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?

    काठमाडौं । ६ महिना लामो उडान प्रतिवन्धपछि सोमबारबाट नेपालमा आन्तरिक हवाई सेवाले उडान थाल्दैछन् । यसका लागि सम्पूर्ण तयारी पुरा भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    नेपालमा १० चैतबाट आन्तरिक उडान बन्द भएको हो । अब हवाई यात्रामा यात्रुले केही कठिनाई भोग्नु पर्नेछ भने समय पनि केही लामो हुनेछ । किनकी अब हवाई यात्राका दौरान सुरक्षा सतर्कता अझ कडा हुनेछ ।

    विमानस्थल कार्यालयका अनुसार यात्रु जहाज उड्ने समयभन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ। यसअघि एक घण्टा अगाडी नै विमानस्थल पुग्दा हुने व्यवस्था थियो ।

    यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम
    · सबै यात्रुले एयरपोर्ट आउनु अगाडि मास्क लगाई हात स्यानिटाइज गर्नुपर्नेछ ।
    · विमानस्थल भित्र कम्तिमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ ।
    · इ टिकेटबाट चेकइन गरिने भएको छ ।
    · आफ्नो व्यागेजसँगै लैजान पाइने छैन, महिलाको हृयाण्डक्यारी र ल्यापटप ब्यागबाहेक अन्य ब्याग विमान भित्रै लैजान निषेध गरिएको छ ।
    · सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
    · विमानभित्र हिँडडुल गर्न निषेध गरिएको छ ।
    · शौचालय विमानस्थलमै प्रयोग गरि जहाज चढ्नुपर्नेछ ।
    · कोभिड १९ को लक्षण देखिएको यात्रुलाई हवाई यात्रुलाई निषेध गरिएको छ ।
    · मास्क र फेससील यात्रुले यात्रा अवधिभर लगाउनु पर्नेछ ।

    विमान र कर्मचारीले कस्तो नियम पालना गर्नुपर्छ ?
    · र्‍याम्प बसमा यात्रुलाई सामाजिक दूरी कायम गराई बसाउनु पर्नेछ ।
    · ब्यागेज ट्रली, ट्रान्सपोर्ट भ्यान तथा अन्य सवारी साधन हरेक पटक प्रयोगपछि स्यानिटाइज गर्नु पर्नेछ ।
    · पटक पटक प्रयोगमा आइरहने ढोकाका हृयाडल तथा स्ट्याण्डहरु पटक पटक स्यानिटाइज गर्नुपर्छ ।
    · यात्रुलाई विमानभित्र र बाहिर लैजाँदा एक पटकमा चार जनालाई मात्र लैजानु पर्छ ।
    · यात्रुहरुलाई फेससील वितरण गर्नुपर्नेछ ।
    · हरेक उडानपछि विमानस्थललाई सरसफाई गर्नुपर्छ ।
    · सबै कर्मचारीले अनिवार्य मास्क लगाई यात्रुसँग सामाजिक दूरी कायम गरी सेवा दिनु पर्नेछ ।
    · हरेक कर्मचारीको दैनिक कार्यालय प्रवेशसँगै तापक्रम नाप गरिने भएको छ ।
    · हरेक कर्मचारीलाई सुरक्षित सेवा सम्बन्धमा नियमित तालीम तथा आवश्यक सुरक्षा सामग्री प्रदान गरिने भएको छ ।

  • रानीपोखरीमा ३ करोड लिटर पानी हालिने

    रानीपोखरीमा ३ करोड लिटर पानी हालिने

    काठमाडौं । रानीपोखरी अब सामान्य अवस्थामा फर्कन थालिसकेको छ । भुकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएसँगै रानीपोखरी ५ वर्षपछि पुनः भरिन लागेको हो । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भर्न थालेको हो ।

    विसं २०७२ सालको भूकम्पले क्षति गरेको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भर्न लागेको बताइएको छ ।


    नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनाइएको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार २ दिन लगाएर रानीपोखरीमा पानी भरिएको हो ।

    रानीपोखरीमा कुल ३ करोड लिटर पानी भरिने भएको छ । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ । चौडाई १४० मिटर छ । रानीपोखरीमा पानी भर्न आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भवायर टंयाकी भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको छ ।

  • आधा मात्र यात्रु राखेर बिहीबारबाट चल्ने भयो चन्द्रागिरि केवलकार

    आधा मात्र यात्रु राखेर बिहीबारबाट चल्ने भयो चन्द्रागिरि केवलकार

    काठमाडौं । चन्द्रागिति केवलकार बिहीबारबाट सूचारु हुने भएको छ । यो केवलकार ६ महिनादेखि बन्द थियो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले सबै गतिविधि बन्द गरेका कारण चन्द्रागिरि केबलकार समेत बन्द भएको हो ।

    केवलकारमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गरी केबलकार र रिसोर्ट सञ्चालनमा आउने छ ।


    यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाइएको छ । मास्क, स्यानिटाइजर र पञ्जा अनिवार्य गरिएको छ । केबलकारमा आधा मात्र यात्रु रहने भएका छन् ।

  • स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति’

    स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति’

    काठमाडौं । नेपाली साहित्यका युगपुरुष राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति पैले हो की , मेरो प्रीति पैले’ गीत सार्वजनिक भएको छ ।

    राष्ट्रकवि घिमिरेले रचना गरेका गीत चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको संगितमा नयाँ भर्सनमा नयाँ कलाकारको साथ बजारमा आएको हो ।

    रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको गीतमा प्रविन बेडवाल र रचना रिमालले स्वर दिएका छन् ।

    राष्ट्रकवि घिमिरेले २०२४ साल बैशाख १२ गते रचना गरेको गीत यसअघि २०६० साल बैशाखमा रेकर्डिङ् भएको थियो । नारायण रायमाझीकै संगितमा पहिला सार्वजनिक गीतमा जगदिस समाल रसपना श्रीले स्वार दिएका थिए ।

    नयाँ कलाकारको साथ सार्वजनिक गीतमा बि.बि. अनुरागीको संगीत संयोजन रहेको छ भने श्याम श्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् ।

    छायांकन/सम्पादन/कलर मिराज अर्यालले गरेका छन् । सहयोगीहरुमा रत्न बि.क., विर्मा खड्का, उदिराम खड्का, बिन्दु खड्का, बिबेक खड्का, मनोज खड्का,राकेश सोनी रहेका छन् ।

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा भदौ २ गते मंगलबार साँझ लैनचौरस्थित निवासमा निधन भएको थियो ।

    गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए । वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार हुन् ।

    बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए। उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो।

    उनको प्रीति पैले हो की , मेरो प्रीति पैले
    जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले

    यती राम्रो मुहार हजुर, पैले कहाँ थियो
    बल्ल देखे – बलेपछी नजरको दियो
    उनको नजर पैले हो की , मेरो नजर पैले
    जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले

    एउटा पर्दा उघारे झै दुईतिर हाँसी
    पुरिबको जुन झ¥यो पश्चिमबाट ब्याँसी
    उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले
    जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले

    बेनीघाटमा उनीसित भेट भयो अस्ति
    आज लाग्छ सधैभरी संगै थीईन जस्ती
    उन्को अर्पन पैले हो की मेरो अर्पन पैले
    जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले

  • अन्ततः सहमति मै भयो ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्रा

    अन्ततः सहमति मै भयो ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्रा

    ललितपुर । गत चैतमै सक्नु पर्ने मत्स्येन्द्रनाथको रथयात्रा कोरोना भाइरसको संक्रमणका बीच पर सर्दै आएको थियो । प्रशासनको अवरोध र स्थानीयको जसरी पनि रथयात्रा गर्नुपर्ने अडानका बीच बिहीबार यहाँ अप्रिय घटना पनि भयो । प्रहरी र स्थानीय युवा घाइते भए । यो सबै घटनापछि अन्ततः सहमति मै आइतबार रथयात्रा सम्पन्न भएको छ ।

    काठमाडौं उपत्यकामा निषेधाज्ञा छ । तर, प्रशासनले आज करीव साढे ४ सय मानिसलाई रथयात्राका लागि अनुमति दिएको थियो । यद्दपी ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेर रथयात्रा चलाइएको हो । जहाँ स्थानीय युवालाई मात्र सहभागी गराइएको छ ।

    रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिएको छ । जात्रा व्यवस्थापन कार्यदलका अनुसार गाःबहालमा रहेको मीननाथको रथलाई २० मिटर तानेर सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको हो । आज रथयात्रामा सहभागी सबैले मास्क लगाए । उनीहरुको पहिचानका लागि एकै प्रकारको टिशर्ट वितरण गरिएको थियो ।

    प्रहरीले कडा सुरक्षा बन्दोबस्त मिलाएको थियो । कोरोना भाइरसको महामारीका कारण यो वर्ष छोटो विधि अपनाएर रथयात्रा गरिदैछ । सोमबार साइत हेरेर साइत प्राप्त भएको दिन रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने योजना छ ।

    त्यसपछि भने रातो मच्छिन्द्रनाथको जात्रा सकिनेछ । सामान्य अवस्थामा भने रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने प्रचलन रहेको थियो । यो वर्ष भने विधि छोट्याइएको हो ।

  • सुशान्त सिंह सुसाइड प्रकरण : प्रेमिकाका भाईसहित चार पक्राउ

    सुशान्त सिंह सुसाइड प्रकरण : प्रेमिकाका भाईसहित चार पक्राउ

    नयाँ दिल्ली । भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या केवल आत्महत्या नभएको भन्दै परिवारले अनुसन्धान अगाडी बढाउन दवाव दिएसँगै यतिबेला भारतीय प्रहरी उनको मृत्युको कारण पछाडीका रहस्यहरु खोज्न लागि परेको छ । सोही क्रममा यस प्रकरणसँग जोडिएका चार जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती समेत छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुशान्तका प्रबन्धक श्यामुअल मिरान्डा, सुशान्तका घरेलु सहायक दीपेश सावन्त र अर्का एक जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले यो अनुसन्धान गरिरहेको छ । बीबीसीका अनुसार दीपेश लागुऔषध खरिद एवं कारोबारमा समेत संलग्न रहेको खुलेको छ । सुशान्तको १४ जुन २०२० मा वान्द्रास्थित आफ्नै घरमा मृत शरीर भेटिएको थियो ।

  • रथ तान्ने विषयमा सहमति, छोटो विधि अपनाइने

    रथ तान्ने विषयमा सहमति, छोटो विधि अपनाइने

    काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर विहीबार दिनभर ललितपुर तनावग्रस्त रह्यो । मौलिक संस्कृति मनाउने सन्दर्भमा लामो समयदेखि रोक लागेपछि स्थानीय युवा आक्रोसित बनेका थिए । अब भने जात्रा छोटो विधिबाट सम्पन्न गर्ने विषयमा सहमति जुटेको छ ।

    ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार साँझ बसेको बैठकमा सहमति जुटेको हो । सहमतिअनुसार आज क्षमा पूजा गरिनेछ । आइतबार २१ गते सुरक्षा सावधानीसहित रथ तान्न शुरु गरिनेछ । यो बेला ठूलो भीड जम्मा हुन दिइने छैन ।

    २२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने गरी सहमति जुटेको हो । बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधि, ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि सहभागिता थिए ।

    यता, शुक्रबार भने अप्रिय घटना रोक्न प्रशासनले ललितपुरमा कडाई गरेको छ । ललितपुरको चक्रपथभित्र कर्फ्यु जारी भएको छ । यो आदेश राती १० बजेसम्म कायम रहनेछ ।

  • आज इन्द्रजात्रा, काठमाडौंमा सार्वजनिक बिदा

    आज इन्द्रजात्रा, काठमाडौंमा सार्वजनिक बिदा

    काठमाडौं । काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा मनाइदैछ । यस दिनको उपलक्ष्यमा सरकारले उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ । वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरी यो पर्व मनाउने गरिएको छ । यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले धुमधामका साथ मनाउने गरेका छन् ।

    प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा हुने गर्छ । लिंगो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने प्रचलन रहेको छ ।

    इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि ‘इन्द्रध्वज पतन’ गरिन्छ । हरेक वर्ष इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष बसन्तपुर दरबार जाने प्रचलन रहेको छ । यो वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण जात्रालाई विधिविधान अनुसार मात्र बनाइनेछ । सामुहिक भेला भएर मनाउन भने निषेध गरिएको छ ।

  • गायक महत दम्पत्तिले जिते कोरोना

    गायक महत दम्पत्तिले जिते कोरोना

    पेनसेलभेनिया । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्तिले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुमा ७ अगस्टमा कोरोना पुष्टी भएको थियो । आफु र पत्नी कविता महत कोरोनाबाट मुक्त भएको महतले जानकारी गराएका छन् ।

    महतले श्विभर रहेका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले दिएको हिम्मतका कारण नै घातक संक्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिलेको उल्लेख गरेका छन् । महतले सबैको गहिरो मायाप्रेम, भगवान पशुपतिनाथ र ईष्टदेवी तनहुँ अवस्थित ढोर बाराहीमाईको कृपाका कारण आफूहरु कोरोनामुक्त भएको समेत लेखेका छन् ।

  • सज्जा चौलागाईले जितिन् नेपाल आइडल सिजन थ्री उपाधी

    सज्जा चौलागाईले जितिन् नेपाल आइडल सिजन थ्री उपाधी

    काठमाडौं । नेपाल आइडल सिजन थ्री सज्जा चौलागाईंको पाल्टामा परेकोछ । शुक्रबार राति सम्पन्न फाइनलमा मोरङकी सज्जाले दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बन्न सफल भएकी हुन् । दर्शकको भोटका आधारमा सज्जा विजेता भएको आयोजकको भनाई छ ।

    सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । प्रतिस्पर्धी प्रवीण बेडवाल फर्स्ट रनर अप बने । उनले १० लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । सेकेन्ड रनर अप भएका किरण कुमार भुजेलले ५ लाख रूपैयाँ पुरस्कार पाए । सज्जा पहिलो महिला नेपाल आइडल समेत बन्न सफल भइन् ।

  • पेरुमा नाइट क्लवमा प्रहरी पुग्दा भागदौड, १३ को मृत्यु

    पेरुमा नाइट क्लवमा प्रहरी पुग्दा भागदौड, १३ को मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच पेरूमा नाइट क्लव बन्द गरिएका छन् । तर, आदेश विपरित संचालनमा रहेको एक नाइट क्लवमा छापा मार्न प्रहरी पुग्दा भने भागाभाग भएको छ । यो घटनामा १३ को ज्यान गइसकेको र कैयौं घाइते रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    कोरोना भाइरसको महामारीपछि कायम गरिएको प्रतिबन्धलाई अटेर गर्दै लिमा नामको नाइट क्लबमा पार्टी आयोजना भएको खबर पछि प्रहरी छापा मार्न पुगेको थियो । सोही क्रममा भागदौड मच्चिएको बताइएको छ ।

    पब्लिक प्रोसेक्युटरको कार्यालयले आइतबार मृत्यु भएका १३ जनामध्ये ११ जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको समेत जानकारी दिएको छ । भागदौडमा तीन प्रहरी घाइते छन् । नाइट क्लवका संचालक भने प्रहरी नियन्त्रणमा आइसकेका छन् । गत मार्चयता पेरुमा सार्वजनिक जमघटसहित अधिकांश सेवा बन्द गरिएका छन् । नाइट क्लव खोल्न प्रतिवन्ध छ ।

  • आज हरितालिका तीज, शिवालयमा दर्शन गर्न भने नपाइने

    आज हरितालिका तीज, शिवालयमा दर्शन गर्न भने नपाइने

    काठमाडौं । आज नेपालसहित विश्वभर हरितालिका तीज मनाइदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाउने गरिन्छ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । तर, आज शिवालयमा भेला भई दर्शन गर्न र नाचगान गर्न भने पाइदैन ।

    कोरोना भाइरसको संक्रमणका कारण आज पशुपतिनाथसहित देशभरका शिवालय बन्द रहनेछन् । सरकारले घरमै बसि चाड मनाउन सर्वसाधारणलाई आह्वान गरेको छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन रहेको छ ।

    सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । सोहीकारण आज अविवाहितले महादेव जस्तै पति पाउन र विवाहितले पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने गरेको पाइन्छ ।

    व्रत बस्नेले अघिल्लो दिन मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने प्रचलन रहेको छ ।

  • आज दर खाने दिन, घर बाहिर जान भने नपाइने

    आज दर खाने दिन, घर बाहिर जान भने नपाइने

    काठमाडौं । आज तीजको दर खाने दिन । तीजको अघिल्लो दिन माइती आएका दिदीबहिनीलाई दाजुभाईले मिठो मसिनो पकाएर खुवाउने प्रचलन रहेको छ । हरितालिका तीजको दिन व्रत बस्ने महिलाले आज भने राती १२ बजेसम्म नै मिठा परिकार खाएर बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा रहेको छ ।

    दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक हुन्छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ । कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने समेत गरिएको पाइन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

    यस पालीको तीज शुक्रबार परेको छ । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन रोक लागेको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्नु पर्ने भएको छ । घरबाहिर जान नपाएपछि यो पटक तीज धेरैका लागि खल्लो हुनेछ । किनकी देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी रहेको छ ।

  • आज बुबाको मुख हेर्ने दिन

    आज बुबाको मुख हेर्ने दिन

    काठमाडौं । भाद्र कुशे औंसी, आज बुबाको मुख हेर्ने दिनका रुपमा जन्म दिने बुबालाई सम्मान प्रकट गर्दै मनाइदैछ । यो दिन बुवालाई मिठो परिकार खुवाउने, उपहार प्रदान गर्ने र बुबाबाट आशिर्वाद लिने गरिन्छ । यो पटक कोरोना भाइरसको संक्रमणका कारण धेरैले बुवालाई भौतिक रुपमा भेटन सक्ने छैनन् । सोहीकारण टेलिफोन वा भिडियो कल गरेर आर्शिवाद लिनेछन् ।

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने धार्मिक विश्वास रहेको छ । बुवा नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने प्रचलन रहेको छ ।

    आजको दिन काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ । तर, यो वर्ष भने मन्दिर प्रवेशमा रोक लगाइएको छ । यस वर्ष सकेसम्म घरमै बसेर चाडपर्व तथा उत्सव मनाउन सरकारले आह्वान गरेको छ ।

    त्यसमाथि बिहीबारबाट शुरु हुने लकडाउनका कारण मानिसहरुको आवागमन झनै कडा हुनेछ । भाद्र कृष्ण औैंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि प्रचलन रहेको छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

    आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

  • नेपाली झण्डा जलाइएको आपत्तिजनक र्‍याप गीत युट्युवमा,कस्तो हुन्छ कारवाही ?

    नेपाली झण्डा जलाइएको आपत्तिजनक र्‍याप गीत युट्युवमा,कस्तो हुन्छ कारवाही ?

    काठमाडौं । नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने गीत सार्वजनिक भएको छ । राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको गीत ‘देशद्रोही’ शीर्षकको ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो ।

    र्‍याप गीतमा नेपाली राष्ट्रिय झण्डा र ढाका टोपी जलाएको दृश्यको स्क्रिनसट यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।

    उक्त गीत सार्वजनिक भएसँगै राष्ट्रिय झण्डा र टोपी जलाउनेलाई कारवाही गर्नुपर्ने माग चर्को रुपमा उठेको छ।

    गीतका शब्दमा झण्डा र टोपीलाई अपमानजन शब्दहरु पनि प्रयोग भएका छन्। गीतमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको छ भने ढाका टोपीलाई कण्डोम भनिएको छ।

    ‘गीतको भिडियोमा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा झण्डा प्रयोग गरिएको छ।

    गीतको सुरुवातमा नै बाहुन–क्षेत्रीलाई शरणार्थी भन्दै गाली गरिएको छ। भारतबाट राजा अकबरले लखेटेर नेपाल आएका शरणार्थी बाहुन–क्षेत्री भन्ने शब्द गीतमा प्रयोग भएको छ।

    साथै गीतमा पृथ्वीनारायण शाह, ज्ञानेन्द्र शाह, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवालगायत नेताहरुको तस्बिरसमेत जलाइएको छ।

    युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।

    यस्तो छ कानुनी व्यवस्था

    मुलुकी अपराध संहिताले देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ। मुलुकी अपराध संहिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने उल्लेख छ।

    उक्त दफामा भनिएको छ, ‘राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुनेः

    (१) कसैले नेपाल वा नेपाल सरकार बिरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन।

    (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

  • खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द

    खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द

    काठमाडौं । देशभर बढेको कोरोना भाइरसको संक्रमणका बीच सबै प्रकारका खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द भएको छ । अहिले काठमाडौं उपत्यकासहित देशका मूख्य शहरमा संक्रमण चुलिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम कारवाही बन्द भएको जनाएको छ ।

    राखेपबाट सम्पादन गरिने अति जरुरी कामबाहेक अरु काम समेत अब बन्द भएका छन् । ‘हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० काठमाडौं उपत्यका लगायत नेपालका विभिन्न स्थानहरुमा व्यापक रुपमा फैलिन गई जनस्वास्थ्यमा ठूलो समस्याका रुपमा देखा परेको हुँदा राष्ट्रिय खेलकुद परिषदबाट सम्पादन गरिने अति जरुरी कामबाहेक हाललाई अर्को सूचना जारी नभएसम्मका लागि खेलकुद प्रतियोगिता, खेल प्रशिक्षण लगायत खेलकुद सम्बन्धी सम्पूर्ण गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको छ, राखेपको सूचनामा उल्लेख छ ।

  • अमेरिकामा रहेका लोकगायक प्रेमराजा महत र श्रीमतीलाई कोरोना

    अमेरिकामा रहेका लोकगायक प्रेमराजा महत र श्रीमतीलाई कोरोना

    काठमाडौं । अमेरिकामा रहेका वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता महतलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत हुन् । महत स्वयमःले यसको पुष्टी गरेका छन् ।

    लोकगायक महतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै सङ्क्रमित भएको जानकारी गराएका हुन् । उनले घरको एक एक कोठामा आइसोलेशनमा बसेको जानकारी गराएका छन् । कोरोना सङ्क्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदी भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् ।

  • आज गाइजात्रा, उपत्यकामा बिदा

    आज गाइजात्रा, उपत्यकामा बिदा

    काठमाडौं । आज नेपालका विभिन्न स्थाना गाइजत्रा पर्व मनाइदै छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व आजबाट शुरु हुन लागेको हो । सोही अवसरमा हरेक वर्ष उपत्यकामा भने सार्वजनिक बिदा दिइन्छ । यो पर्वका दिन प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत गाउने प्रचलन रहेको छ ।

    गाईजात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा मनाइन्छ । कोरोना भाइरसको महामारीका बीच यो वर्ष विगतमा जस्तै गरी समुहमा चाडबाड नमनाउन सरकारले आह्वान गरेको छ ।

    गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराइन्छ । उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गर्छन् । नगरपरिक्र गर्दा मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने मान्यता रहेको छ ।

    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको मानिन्छ ।