Category: मनोरञ्जन

  • क्रिकेटर कोहली र अभिनेत्री अनुष्कालाई पुत्रीलाभ

    क्रिकेटर कोहली र अभिनेत्री अनुष्कालाई पुत्रीलाभ

    काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा तथा क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ प्राप्त भएको छ । अनुष्का स्वयमले यसको पुष्टी ट्वीटमार्फत गरेकी छिन् । सोमबार दिउँसो छोरीलाई जन्म दिएको उनको भनाई छ । उनीहरुलाई संसारभरबाट बधाई आइरहेको छ ।

    सिने सेलिब्रेटी तथा खेलकुद क्षेत्रबाट उनीमाथि बधाई आएको हो । लोकप्रिय तथा सफल क्रिकेटर छोरीको जन्मदिनको अवसर पारी अष्ट्रेलियासँगको टेस्ट छाडी स्वदेश आएका छन् । उनको साटो अजिंका रहानेले भारतीय टोलीको नेतृत्व गरिरहेका छन् ।

  • आज पृथ्वी जयन्ती, गोरखामा सार्वजनिक बिदा

    आज पृथ्वी जयन्ती, गोरखामा सार्वजनिक बिदा

    काठमाडौं । नेपाल एकिकरणको नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र आउनु अगाडी यस दिन सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

    २९९ औं पृथ्वी जयन्तीको अवसरमा गोरखाका विभिन्न स्थानीय तहले भने आज सार्वजनिक बिदा घोषणा गरेका छन् । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका हुन ।


    गोरखा नगरपालिकाले तीन दिने कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइरहेको छ । राप्रपाले आज गोरखामा पृथ्वी जयन्ती मनाउने क्रममा अध्यक्ष कमल थापा गोरखा जाने कार्यक्रम तय भएको छ । यस दिनको उपलक्ष्यमा नेताहरुले शुभकामना दिँदै राष्ट्रिय एकतामा जोड दिएका छन् ।

  • माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको मन्त्रिपरिषद्को बैठकले माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।

    उनले राष्ट्रिय सभामा सम्बोधन गर्दै थारू जातिको मुख्य पर्व माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन् ।

    उनले जाति तथा जनजातिको भावनालाई सम्मान गर्ने गरेको बताए । उनले भने, ‘यो बिदा थारू जातिका लागि मात्र होइन, माघेसंक्रान्ति सबैले मनाउँछन्, यो सबैका लागि हो । माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’

  • इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

    इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

    काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा हवाई सम्पर्कमा जोडिने भएका छन् । इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले त्यहाँको राजधानी जकार्ताबाट नेपालको राजधानी काठमाडौंमा सिधा उडानको योजना सार्वजनिक गरेको हो ।

    कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गर्दै यस्तो तयारी थालेको हो । कम्पनीका अनुसार आगामी जुन, जुलाईबाट गरुडा इन्डोनेसियाले नेपालमा उडान बिस्तारको योजना बनाएको छ । अहिले इन्डोनेसियामा मलेसियाबाट मालिन्दो एयरले उडान गर्छ ।

    यो कम्पनीले क्वालालाम्पुरमा ट्रान्जिट गरी इन्डोनेसिया सेवा दिइरहेको छ । गरुडा आएपछि क्वालालाम्पुर ट्रान्जिट हुनुपर्दैन । नेपालबाट जाकार्ता, बालीलगायत गन्तब्यमा नेपाली यात्रुको चाप बढेसँगै वायुसेवा कम्पनीको विजनेश पनि उत्तिकै बढेको छ ।

    कम्पनीले नेपालबाट जापान र अष्टे्लिया जाने यात्रुलाई समेत लक्षित गरी उडान गर्ने बताइएको छ । यी मुलुकका लागि गरुडाले जाकार्तामा ट्रान्जिट गरी सेवा दिने भएको छ । इन्डोनेसियामा नेपाली नागरिकले अनअराइभल भिसा सुविधा प्राप्त गर्छन् । सोहीकारण समेत इण्डोनेसिया यात्रामा धेरै नेपाली जाने गरेका छन् ।

  • गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने

    गन्तब्य प्रचार हुने उत्कृष्ट टिकटक भिडियोलाई बोर्डले नगद पुरस्कार दिने

    काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ पर्यटकीय क्षेत्रको भिडियो बनाएर प्रचार प्रसारमा ल्याउने उत्कष्ट टिकटक भिडियोलाई पुरस्कृत गर्ने भएको छ । निश्चित शर्त पुरा गरी अपलोड भएका टिकटक भिडियोलाई हरेक १५ दिनमा उत्कृष्ट छनोट गरी एक जनालाई २० हजार नगद पुरस्कार दिने घोषणा बोर्डले गरेको हो । यसअघि तनहुँको मानहुँकोट टिकटककै कारण भाइरल बनेको थियो ।

    नेपाल पर्यटन बोर्डले युवापुस्तालाई गन्तब्य प्रवर्द्धनमा आकषिर्त गर्ने उद्देश्यले यस्तो अफर ल्याएको जनाएको छ । ‘देशदर्शन टिकटक कम्पिटिसन’ नाम दिइएको यो अभियान १ जनवरीबाट शुरु भएको छ । ३१ मार्चसम्म जारी रहने भएको छ । अहिलेसम्म बोर्डले प्रवर्द्धन नगरेका नयाँ गन्तब्यहरुको भिडियो टिकटकरले ल्याउनु पर्नेछ ।

    अहिले नै चर्चित बनेका पर्यटकीय गन्तव्यको भिडियोले मान्यता पाउने छैनन् । टिकटिक भिडियोको विषयवस्तुमा लुकेका सांस्कृतिक विषयवस्तुलाई समेत समेट्न सकिनेछ । टिकटक यूजर्सले नेपाल पर्यटनको बोर्डको टिकटक आइडीलाई फलो गर्नुपर्छ । त्यसपछि आफ्नो भिडियोमा बोर्डको आइडीमा ट्याग गर्नुपर्छ । यसबाहेक भिडियो पोष्ट गर्दा हृयासट्याग ‘नेपालटूरिजमबोर्ड’ र हृयासट्याग ‘देशदर्शन’ समेत राख्नु पर्ने भएको छ । भिडियो १५ सेकेन्डदेखि १ मिनेटसम्मको हुनुपर्ने शर्त छ । अंग्रेजी र नेपाली मध्ये एक भाषामा गन्तब्य प्रवर्द्धन सम्बन्धी भ्वाइस राख्न सकिनेछ ।

  • शुरु भयो सन् २०२१, विश्वभर नयाँ वर्ष उत्सव मनाईदै

    शुरु भयो सन् २०२१, विश्वभर नयाँ वर्ष उत्सव मनाईदै

    काठमाडौं । वर्तमान पुस्ताका लागि सम्भवतः सबैभन्दा कठिन वर्ष सन् २०२० को बिदाई र २०२१ को स्वागतका लागि आज राती संसारका अधिकांश मानिस निदाएनन् । यससँगै इस्वी संवतको नयाँ वर्ष सन् २०२१ प्रारम्भ भएको छ । नेपालसहित विश्वभर नयाँ वर्ष उत्सव मनाइदैछ ।

    कोरोना संक्रमणको त्रास अझै रहेका कारण मानिसले विगतमा जस्तै उत्सव मनाउन त पाएनन् । तर, शुभकामना साटासाट गरी नयाँ वर्ष उत्सव मनाइदैछ । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका थिए ।

    यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ‘ग्रेगोरियन पात्रो’ समेत भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन रहिआएको छ । यसदिनको उपलक्ष्यमा विश्भरका नेताले सुस्वास्थ्य तथा समृद्धिको कामना गर्दै शुभकामना दिएका छन् ।

  • आज पुसे १५, छुट्टाछुट्टै समुदायले विभिन्न पर्व मनाउँदै

    आज पुसे १५, छुट्टाछुट्टै समुदायले विभिन्न पर्व मनाउँदै

    काठमाडौं । नेपालमा पुसे १५ को विशेष महत्व छ । १५ पुुसका दिन नेपालमा सबैजसो समुदाय तथा जातिले छुट्टाछुट्टै महिमाका साथ यो पर्व मनाउँछ । आज मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमा समेत हो । ब्रामण तथा क्षेत्रीहरुमा अधिकांशको आज कुल पूजा हुने गर्छ । आजको दिन नेवार समुदायले धान्य लक्ष्मीको प्रतिमा स्वरूप योमरीको पूजा गर्ने प्रचलन रहेको छ ।

    प्रकृतिपूजक किरातहरूले यस दिलाई उधौली पर्वका रुपमा मान्ने गरेका छन् । त्यसो त हरेक वर्ष पुस १५ मा गुरुङ जातिको ल्होछार पर्व समेत आज नै परेको छ । आजको दिनबाट दिन लामो र रात छोटो हुन्छ ज्योतिषीय मान्यता रहेको छ । साथै आजबाट चिसो क्रमशः कम हुँदै जाने र तापक्रम बढ्ने विश्वास समेत लिइन्छ ।

    नेपाल कृषिप्रधान मुलुकमा धान भित्र्याइसकेपछि फुर्सदिलो बनेका किसानहरुले पूर्णिमाको पवित्र दिन या रातमा विभिन्न नाच एवं पर्व मनाउने गर्छन् । पुस १५ भने गुरुङहरूको नयाँ वर्ष हो । सोहीकारण आज ल्होछार मनाइने गरेको छ । यता, धान्य पूर्णिमालाई गण्डकी प्रदेशमा समेत विभिन्न जातिहरुको साझा पर्वको रुपमा मान्ने प्रचलन छ ।

    त्यहाँका मगर समुदायमा यो दिन जीवनसाथी रोज्ने पर्वको रूपमा प्रचलित छ । मगर समुदायमा भ्यालेन्टाइन डे जस्तै दिनका रुपमा यो दिनलाई चिनिन्छ । धान्य पूर्णिमाका दिन धान नाच गरिन्छ । धान्य पूर्णिमाको जुनेली रातमा कर्णालीको एउटा विशेष क्षेत्रमा मनाइने संस्कृतिका रुपमा धाननाच प्रख्यात छ । यसलाई दैलेखको दुल्लुस्थित कर्णाली नदीको फाँटमा नाच्ने गरिन्छ ।

  • पाथिभरा मन्दिर आगोलागीको जोखिममा, हेलिकोप्टरबाट पानी खन्याइयो

    पाथिभरा मन्दिर आगोलागीको जोखिममा, हेलिकोप्टरबाट पानी खन्याइयो

    काठमाडौं । पूर्व नेपालको चर्चित धार्मिक गन्तब्य ताप्लेजुङको पाथिभरा यतिबेला आगोलागीको उच्च जोखिममा परेको छ । एक सातायता शुरु भएको डेडलो नियन्त्रणमा आउन नसकेपछि मन्दिर र यस आसपासका संरचना जोगाउनै चूनौति थपिएको छ । प्रहरीका अनुसार सोमबार मन्दिरमै आगो पुग्ने जोखिमपछि सिम्रिक एयरको हेलिकप्टर मगाएर आकासबाट पानी खन्याइएको छ ।

    आकासबाट पाँच पटकसम्म पानी खन्याइएको थियो । यसले आगो मूख्य मन्दिरतर्फ अगाडी बढ्न नपाएको बताइएको छ । अहिले ताप्लेजुङको पाथीभरा मन्दिर सुरक्षित रहेपनि जोखिममुक्त भने नभइसकेको बताइएको छ । मन्दिर आसपासको जङ्गलमा बिहीबारदेखि नै डडेलो शुरु भएको हो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरमा खन्याएको थियो । यसले आगो मन्दिरसम्म पुग्न पाएन ।

    हेलिकोप्टरबाट मङ्गलबार पनि पानी खन्याइने भएको छ । त्यसका लागि हेलिकोप्टरलाई सुकेटार विमानस्थल मै राखिएको छ । स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेको भए पनि सफलता प्राप्त हुन सकेको छैन । नजिकमा पानीको स्रोत नभएका कारण पनि समस्या बढेको बताइएको छ ।

  • चर्चित गायिका मेलिना राई र गायक केशव दाहालको “चौतारीमा बसौन पियारी” गीत सार्वजनिक

    चर्चित गायिका मेलिना राई र गायक केशव दाहालको “चौतारीमा बसौन पियारी” गीत सार्वजनिक

    धन लामा, कनेक्टिकट

    अमेरिका निवासी गायक तथा संगीतकार केशव शर्मा दाहाल र हालका चर्चित गायिका मेलिना राईको स्वरमा “चौतारीमा बसौन पियारी” बोलको गीत डिसेम्वर २५ को दिन आफ्नै युट्युब च्यानल (Keshab S. Dahal Official) बाट सार्वजनिक गरिएको छ । यो सुन्दर गीतको सर्जक राजु बाबु श्रेष्ठ हुनुहुन्छ भने, हालका चर्चित संगीतकार राजन राज सिवाकोटीले सर्जकको शब्दलाई जीवन्तता प्रदान गर्नु भएको छ । शब्द, संगीत र स्वरको धेरै राम्रो त्रिवेणी सिर्जना भएको छ । सत्यम, शिवम, सुन्दरम भन्ने जस्तै अर्ग्यानिक शब्द, संगीत र स्वरको यो संगमलाई गाउँले परिवेशको प्राकृतिक छायाँकन, निरन्जन प्रधान र एलिशा राईको अर्ग्यानिक नृत्यले सुनमा सुगन्ध थपेको छ ।

    अहिलेको नयाँ पुस्तामा एक छत्र राज गर्नुभएकी गायिका मेलिना राईसँग केशव शर्मा दाहालले गाउनुभएको यो नयाँ गीत “चौतारिमा बसौंन पियारी” आम श्रोताहरुको मनको चौतारिमा कत्तिको बस्छ त्यो भने हेर्न बाँकी छ । यस भिडियोलाई सन थापाले निर्देशन गर्नुभएको हो । केशव संगीतको समेत असल विद्यार्थी भएको कारणले होला स्वरमा निखरता र मिठासको अनुभूति गर्न सकिन्छ ।

    नेपालको पूर्व ताप्लेजुङ्गमा जन्मेर, हाल अमेरिकामा बसोबास गर्नुभएका केशवको आफ्नै शब्द, संगीत र हाल युवा पिडींको अत्यन्त लोकप्रिय गायक राजेश पायल राईको स्वरमा अत्यन्त मार्मिक गीत बजारमा आउँने तयारीमा रहेको समेत गायक दाहालले बताउनुभयो ।

    विभिन्न स्टेज कार्यक्रमहरुमा मनोरञ्जन प्रदान गर्ने केशवको आधुनिक गायनमा बढी रुची भए ता पनि लोक गीत र प्यारोडी गायनमा समेत उहाँको आवाज जमेको देखिन्छ । उहाँको पहिलो गीत “बैँसमा लाको पिरती” निक्कै चर्चित छ जुन गीत उहाँको पहिलो गीत हो ।

  • आज क्रिसमस डे, क्रिश्चियन धर्मावलम्बीलाई बिदा

    आज क्रिसमस डे, क्रिश्चियन धर्मावलम्बीलाई बिदा

    काठमाडौं । आज संसारभर क्रिसमस डे मनाइदैछ । यस दिनको उपलक्ष्यमा नेपालमा समेत क्रिश्चियन धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने प्रचलन रहेको छ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार छ ।

    यसलाई क्रिश्चियन धर्मालम्बीले क्रिसमसका रुपमा धुमधाम साथ मनाउने गर्छन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मान्यता छ । येशुलाई जिसस क्राइस्ट समेत भनिन्छ ।

    उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास रहेको छ ।

    क्रिसमसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यस प्रकारका धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सदभाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

    सरकारले आज क्रिश्चियन समुदायका लागि बिदा दिएको छ । आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने प्रचलन रहेको छ ।

  • धरहराको २० औं तलाको काम सकियो, अब तीन तला मात्र बाँकि

    धरहराको २० औं तलाको काम सकियो, अब तीन तला मात्र बाँकि

    काठमाडौं । काठमाडौंको सुन्धारामा निर्माण भइरहेको धरहराको २० औं तलाको निर्माण सम्पन्न भएको छ । यो २० औं तला बार्दली हो । यही तलाबा सर्वसाधारणले अवलोकन गर्न सक्ने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार २० औं तलामा बारदली बन्ने छ ।

    यस स्थानलाई अवलोकन स्थानका रुपमा उपयोग गरिनेछ । धरहरा कुल २३ तलाको हुनेछ । यसअघि भूकम्पले भत्काएको धरहरालाई नचलाई नयाँ धरहरा बनाइएको हो । धरहरा अब अत्याधुनिक टावरका रुपमा विकास भएको छ ।

    यसको परिसरभित्रै एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल बनेको छ । यस परिसर भित्रै टक्सार संग्राहलय र भूकम्प संग्राहलय समेत रहने छ । त्यसको काम समेत जारी रहेको छ ।

    धरहरा चढ्न अब भर्यांग उक्लन पर्ने छैन । यहाँ जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी डिजाइन गरिएको छ । यो संसारका अन्य मुलुकमा हुने जस्तै टावरको संरचना हो ।

    प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष भित्रै धराहराको काम सकाएर हस्तान्तरण गर्ने योजना रहेको छ । धरहरा निर्माणको कुल लागत ३ अर्ब ४५ करोड रुपैयाँ छ । यो ४२.२ रोपनी क्षेत्रफलमा बनिरहेको छ ।

  • अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न; मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना

    अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न; मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना

    न्युयोर्क

    अमेरिकामा पहिलो पटक ऐतिहासिक विवाहपञ्चमी महोत्सव भव्य समारोह सहित सम्पन्न भएको छ । मिथिला सेन्टर अमेरिकाको आयोजनामा राम र सीताको विवाह स्मरण हेतु मनाईएको हो । खासगरी विवाहपञ्चमी पर्व जनकपुरधाममा विशेष रुपले मनाइएपनि अमेरिकामा पनि पहिलो चोटी मनाइएको सेन्टरका अध्यक्ष अमित प्रताप शाहले बताएका छन् ।

    हजारौं वर्षअघि आयोजित भगवान राम र देवी सीताको विवाह समारोहको स्मरणमा मनाइने विवाहपञ्चमी उत्सव अटल मानव बन्धनको प्रतीक रहेको भन्दै उत्सव मनाइएको हो । यो पवित्र अवसर सांस्कृतिक मूल्य शताब्दीयौं पुस्तासम्म परिवारको रूपमा रहन्छ, दुई व्यक्तिको मात्र नभई , समाज र देशहरूको पनि रहेको औल्याइएको हो । यस शुभ अवसरले जाति, धर्म, रंग, लिङ्गको पर्वाह नगरी मानवता, समानता र एक अर्कालाई सम्मानका आधारमा समाजमा परिवार र सम्बन्धको यस्तो मूल्य बढाएको आयोजकले जनाएको छ । त्यसकारण हामीले भगवान राम (अयोध्या, भारत) र देवी सीता (जनकपुरधाम, प्राचीन मिथिला राज्यको राजधानी, नेपाल) को अनन्त विवाहको स्मरणार्थले त्यस्ता संस्कार मुल्यलाई प्रवर्धन गर्ने प्रयास गरेका उनीहरुले जनाएको छ । विश्वभरका सयौं हजारौं व्यक्तिहरू, प्रायः भारतका, जनकपुरधामको राम जानकी मन्दिरको यो शुभ अवसरमा तीर्थयात्रा गर्छन्, जुन यूनेस्को विश्व सांस्कृतिक विरासत स्थलको अस्थायी सूचीमा छ ।

    यस विवाह पञ्चमी महोत्सव अमेरिका कार्यक्रममा जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा आयोजित विवाहपञ्चमी समारोहको प्रत्यक्ष प्रसारण, सार्वजनिक स्वास्थ्य सुरक्षा र सामाजिक दूरीका लागि एनवाइसीले दिईएको दिशा निर्देशन अनुरुप हिन्दू केन्द्र मन्दिरमा प्रार्थना समारोह समावेश गरिएको थियो । नेपाल, भारत र संयुक्त राज्य अमेरिकाका प्रतिनिधि एवम् समाजका प्रतिष्ठित महानुभावहरुको अनलाइन मार्फत उपस्थिति र सम्वोधन एवम् शुभकामना अदान प्रदान गरेपछि नेपाल, भारत र अमेरिका कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    नवल यादवले सञ्चालन गरेको कार्यक्रममा संस्थापक एवम् आयोजक अमित साहले जनाए अनुसार युएसएमा पहिलो मिथिला सामुदायिक र सांस्कृतिक केन्द्रको स्थापनाकोलागि समेत काम अगाडि बढि सकेको र नेपाल, भारत मुलुकका सामुदायिक व्यक्तित्वहरु एवम् अमेरिका सरकारका प्रतिनिधिहरुले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको जनाएका छन् ।
    विवाहपञ्चमी महोत्सव अमेरिकाका आयोजक एवम् मिथिला सेन्टर अमेरिकाका संस्थापक अध्यक्ष अमित शाहले भने–‘ हामी दृढ विश्वास गर्दछौं कि तपाईंको निरन्तर सहयोग र सहभागिताले हामीलाई मानवताको त्यस्तो सांस्कृतिक मूल्यमान्यतालाई प्रवर्धन गर्ने यस्ता कार्यक्रमको आयोजनाले संस्कृति सम्पदा र परम्पराको प्रवर्धन र संरक्षण गर्न प्रोत्साहित गर्नेछ’ ।

  • सपनाश्री र प्रेम सेन्च्युरीको नयाँ गीत सार्वजनिक

    सपनाश्री र प्रेम सेन्च्युरीको नयाँ गीत सार्वजनिक

    न्युयोर्क

    नेपाली ग्रामिण परिवेश र पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको गीत “जीवन यहाँ यस्तै छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ।
    उदयपुर मिडिया हबले निर्माण गरेको उक्त म्युजिक भिडियो सहितको गीतमा शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई गायिका सपनाश्रीले साथ दिएकी छिन्।
    म्युजिक भिडियोमा कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई(कान्छा) र गायक प्रेम सेन्चुरीले समेत अभिनय गरेका छन्। भिडियोको निर्देशन उदयपुर मिडिया हबका सदस्य प्रेम जंग किराँतीले गरेका हुन्।
    यस गीतलाई संयुक्त राज्य अमेरिका र उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको हो।

  • डान्सिङ्ग विथ द स्टार्सको उपाधी सुमी-बिजुको जोडीलाई

    डान्सिङ्ग विथ द स्टार्सको उपाधी सुमी-बिजुको जोडीलाई

    काठमाडौं । हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीले जितेको छ । शनिबार राती सम्पन्न फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई उछिन्दै सुमी मोक्तान र बिजु पार्कीको जोडीले उपाधी कब्जा गरेको हो । यो उपाधी विजेता जोडीले बिजेताले २० लाख नगदसहित पुरस्कार प्राप्त गरेका छन् ।

    फस्ट रनरअप वुद्ध लामा र केबिका खत्रीको जोडी बन्न सफल भयो । सेकेन्ड रनरअपको उपाधी प्रियना आचार्य र सुभम् भुजेलले प्राप्त गरे । फाइनलमा दर्शकले गरेको भोटिङलाई मूख्य आधार मानिएको आयोजकले जनाएको छ । एक जना स्टार कलाकार र अर्को कोरियोग्राफ मिलेर जोडी बनाइएको थियो । सोही आधारमा नृत्य प्रतियोगिता भएको हो ।

  • ९ महिनापछि खुल्यो पशुपतिनाथ दर्शन

    ९ महिनापछि खुल्यो पशुपतिनाथ दर्शन

    काठमाडौं । बन्द भएको करीव ९ महिनापछि आजबाट पशुपतिनाथ दर्शन खुला भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवि भण्डारीबाट क्षमापूजा सम्पन्न भएको थियो । त्यससँगै आजबाट भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न सकिने भएको छ । यसअघि १० चैत २०७६ पछि मन्दिरमा नित्यपूजाबाहेक अन्य सर्वसाधारणबाट हुने पूजा बन्द भएको थियो ।

    कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन थालेसँगै धार्मिक गतिविधिसमेत प्रभावित भएका हुन् । पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीका लागि सबैभन्दा ठूला आस्थाका केन्द्र हुन् ।

    यहाँ दैनिक लाखौं भक्तजन पूजी भगवान शिवको पूजा तथा आराधना गर्छन् । मन्दिरमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाएर प्रवेश गर्नेसहितका नियम भने पालना गर्नुपर्ने भएको छ ।

  • सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस (प्रतिवेदनसहित)

    सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस (प्रतिवेदनसहित)

    काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले सातामा दुई दिन बिदा दिन सम्भव रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो।

    सातामा २ दिन बिदा दिन मिल्ने वा नमिल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केही समय अगाडि अध्ययन कार्यदल बनाएको थियो।

    मन्त्रालयले मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा अध्ययन समितिमा पर्यटन विभागका महानिर्देशक रुदसिंह तमाङ, नेपाल पर्यटन बोर्डका सिइओ डाक्टर धन्नजय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेब घिमिरेलगायत अर्थ र संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका प्रतिनिधि रहेका थिए।

    उक्त समितिले विश्वका ८८ प्रतिशत देशमा २ दिन बिदा दिने प्रचलन रहेको र १२ प्रतिशत देशमा भने एक दिन सार्वजनिक बिदा दिने गरिएको विवरणसहित सातामा २ दिन बिदा दिने मिल्ने भन्दै रिपोर्ट बुझाएको छ।

    समितिले विश्वका ८८ प्रतिशत देशमा २ दिन बिदा दिने प्रचलन रहेको र १२ प्रतिशत देशमा भने एक दिन सार्वजनिक बिदा दिने गरिएको विवरणसहित सातामा २ दिन बिदा दिने मिल्ने भन्दै रिपोर्ट बुझाएको छ। https://drive.google.com/file/d/1PdtbD20CNRQYS63NdeupeKiExAKu85un/preview

  • आजबाट खुल्यो चिडियाखाना, १ पुसबाट पशुपति दर्शन खुल्दै

    आजबाट खुल्यो चिडियाखाना, १ पुसबाट पशुपति दर्शन खुल्दै

    काठमाडौं । कोरोना भाइरसको महामारीसँगै बन्द भएका धार्मिक तथा पर्यटकीय क्षेत्र क्रमशः खुला हुँदैछन् । सोहीक्रममा आजबाट सदर चिडियाखाना खुला भएको छ । चिडियाखाना चैत ७ देखि बन्द थियो । स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरि चिडियाखाना खोलिएको हो । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने नियम छ । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

    भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश अनुमति दिइने भएको छ । चिडियाखाना भित्र प्रवेश गरेको बढीमा डेढ घण्टाभित्र बाहिर निस्कनुपर्ने बताइएको छ । चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन । बालबालिकालाई खेलाउन नपाइने समेत नियम छ । चिडियाखाना बिहान १० देखि बेलुका ५ बजेसम्म खुल्छ ।

    उता, पशुपतिनाथ दर्शनको व्यवस्थापन समेत अहिले धमाधम भइरहेको छ । १ पुसबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न सकिने भएको छ । हरेक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन पशुपति मूल मन्दिर परिसरमा प्रदर्शनमा राखिने बहुमूल्य सामग्रीको प्रदर्शनी भने यो वर्ष नहुने भएको छ ।

    बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायतका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सामग्री प्रदर्शनमा राख्ने परम्परा छ ।

    कोरोना महामारीका कारण मन्दिर भक्तजनका लागि बन्द रहेकाले नदेखाइने निर्णय भएको हो । मन्दिर खोल्ने अघिल्लो दिन मङ्सिर ३० गते पशुपतिमा क्षमापूजा गरिने भएको छ । त्यसपछि मन्दिर सर्वसाधारणका लागि खुल्नेछ ।

  • पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु

    पोखरामा पर्यटक आकर्षित गर्न अभियान शुरु

    पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गरेको छ । सुस्ताएको पर्यटन चलायमान बनाउने उद्देश्यले बिहीबारदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु भएको हो ।

    कोभिड १९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरेको सङ्घका अध्यक्ष विकल तुलाचनले बताएका छन् ।

    जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्तर्गत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने भएको छ ।

    पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया गरिएको छ । सङ्घले १८ वर्षदेखि सो अभियान सुरु गर्दै आएको छ । कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहेका तुलाचनले बताए ।

    अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागी हुनेछन् । सङ्क्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।

  • बिहीबारबाट खुल्ने भयो चिडियाखाना

    बिहीबारबाट खुल्ने भयो चिडियाखाना

    काठमाडौं । सदर चिडियाखाना सर्वसाधारणका लागि बिहिबारबाट खुला हुने भएको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै चैत ७, २०७६ पछि चिडियाखाना बन्द रहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाले जनाएको छ ।

    अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने नियम चिडियाखानामा बनाइएको छ । एक पटकमा ७ सयदेखि ८ सयजनासम्म मात्र दर्शकलाई चिडियाखाना भित्र प्रवेश दिने तयारी रहेको छ । भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कि सक्नु पर्ने भएको छ ।

    ई-सेवामार्फत बुधबार बेलुकाबाटै चिडियाखाना प्रवेशको अनलाइन टिकट लिन सकिने भएको छ । चिडियाखानामा १५० रुपैयाँको टिकट काट्नु पर्छ । विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ तोकिएको छ ।४ देखि १२ वर्षसम्मका बालबालिकाको लागि भने टिकटको ५० रुपैयाँ छ ।

  • नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिइन्

    नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिइन्

    काठमाडौं । नायिका श्वेता खड्काले सोमबार विवाह गरेकी छिन् । स्व. नायक श्रीकृष्ण श्रेष्ठसँग ६ वर्ष अगाडी उनको पहिलो विवाह भएको थियो । तर, विवाहको एक महिनामै उनले पति वियोग सहनु परेको थियो । त्यसपछि आफुलाई सम्हाल्दै सिने क्षेत्रमा निरन्तर अगाडी बढेकी उनले आज दोस्रो विवाह धनगढीका विजयेन्द्र सिंह रावतसँग गरेकी हुन् ।

    उनी चलचित्रसँगै विभिन्न व्यवसायमा समेत जम्दै गएकी छिन् । चलचित्र ‘कहाँ भेटिएला’ बाट सिने क्षेत्रमा प्रवेश गरेकी श्वेताको २०७१ साल असार २३ मा श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो ।

  • फिल्म हल र रात्रिकालिन व्यवसाय अझै १५ दिन बन्द

    फिल्म हल र रात्रिकालिन व्यवसाय अझै १५ दिन बन्द

    काठमाडौं । फिल्म हल र रात्रिकालीन व्यवसाय अझै १५ दिन बन्द हुने भएका छन् । मानिसहरुको एकसाथ भेला हुने र भिडभाड हुने क्षेत्रलाई थप १५ दिन प्रतिवन्ध लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार फिल्म हल र मानिसहरू धेरै जम्मा हुने व्यवसाय अझैं १५ दिन कडाइका साथ बन्द हुने भएका हुन् । त्यस्ता व्यवसाय थप १५ दिनको संक्रमणको अवस्था हेरेर मात्र आवश्यकताअनुसार पुनः सञ्चालनमा ल्याउने योजना छ ।

    सभा, सम्मेलन, जुलुस र धर्नाजस्ता कार्यक्रम समेत यस अवधिमा गर्न पाइने छैन । उनका अनुसार मंसिरपछि कक्षा सञ्चालनमा ल्याउने विद्यालयहरूले कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने भएको छ ।

  • १ पुसबाट खुल्ने भयो पशुपतिनाथ मन्दिर

    १ पुसबाट खुल्ने भयो पशुपतिनाथ मन्दिर

    काठमाडौं । ११ चैत २०७६ पछि बन्द भएको पशुपतिनाथ मन्दिर अब दर्शनार्थीको दर्शनका लागि खुला हुने भएको छ । राष्ट्रिय समाचार समितिले पशुपति क्षेत्र विकास कोषलाई उदृत गर्दै जनाएअनुसार भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गर्ने निर्णय भएको हो ।

    पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् । अब भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने भएको छ ।

    विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका छैनन् ।

    कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द भएको हो । यस वर्ष साउनको सोमबारसमेत पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गर्दै आएका छन् । चैतपछि पशुपतिनाथको नित्यपूजा आरती भने जारी रहेको थियो ।

  • अब हरेक शनिबार माउण्टेन फ्लाइट, एउटा टिकट किन्दा अर्को सित्तैमा

    अब हरेक शनिबार माउण्टेन फ्लाइट, एउटा टिकट किन्दा अर्को सित्तैमा

    काठमाडौं । आगामी शनिबारबाट नेपालमा माउन्टेन फ्लाइट पुनः सूचारु हुने भएको छ । निजी वायुसेवा कम्पनी बुद्ध एयर र यति एयरले उस्तै प्याकेज सार्वजनिक गर्दै माउन्टेन फ्लाइट खुला गरेका हुन् ।

    कम्पनीहरुले अब एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा दिने भएका छन् । दुई सीटमध्ये झ्यालतर्फको सीटको टिकट किन्दा सँगैको अर्को सीटको टिकट सित्तैमा पाइने भएको हो । मूल्य भने एउटा सीटको ९ हजार राखिएको छ ।

    यसअघि एउटै सीटको १२ हजार रुपैयाँसम्म लिएर कम्पनीहरुले उडान गर्दै आएका थिए । माउन्टेन फ्लाइट काठमाडौंबाट हुनेछ । सगरमाथा र यस आसपासका हिमाललाई नजिकबाट नियाल्न पाइने माउन्टेन फ्लाइट नेपालको रोमान्चक हवाई प्रडक्ट हो ।

    पछिल्लो समय विदेशी पर्यटक नभएका कारण एयरलाइन्सले स्वदेशी नागरिकलाई लक्षित गरी सस्तो प्याकेज सार्वजनिक गरेका हुन् । यसले एयरलाइन्सको विजनेश समेत चलायमान हुने र यात्रुले समेत नयाँ अनुभव लिन सक्ने अपेक्षा गरिएको छ ।

    उडान हरेक शनिबार मात्र हुनेछ । नेपालमा ११ चैत २०७६ यता उडानहरु प्रभावित भएका हुन् । कोरोना भाइरसका कारण थला परेका व्यापार व्यवसाय क्रमशः चलायमान हुने क्रममा रहेका छन् ।

  • म्याराडोनाको सम्मानमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक, अन्तिम दर्शन गर्न लाखौंको भिड

    म्याराडोनाको सम्मानमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक, अन्तिम दर्शन गर्न लाखौंको भिड

    काठमाडौं । डिएगो म्याराडोनाको निधन भएपछि अर्जेन्टिनामा तीन दिनसम्म राष्ट्रिय शोक घोषणा भएको छ । उनको शव राजधानीस्थित पे्रसिडेन्टल प्यालेस कासा रोसारामा राखिएको छ । जहाँ अन्तिम दर्शनको काम जारी छ ।

    सर्वसाधारणलाई समेत अन्तिम दर्शनको मौका दिइएका कारण लाखौं समर्थकले उनको दर्शन गरिरहेका छन् । लोकप्रिय फुटबलर म्याराडोनाको बुधबार ६० वर्षको उमेरका हृदयाघातका कारण निधन भएको थियो । उनलाई श्रद्धाञ्जली दिने काम तीन दिनसम्म जारी रहनेछ । जहाँ पुगेर समर्थकले आफ्ना प्रिय खेलाडीको अन्तिम दर्शन गर्न सक्नेछन् ।

    Photo : Daily express

    अर्जेन्टिनामा म्याराडोनालाई भगवानसरह सम्मान दिइन्छ । खासगरी लामो युद्ध र गरिबीको चपेटामा परेको उक्त मुलुकका नागरिकलाई फुटबलका माध्यमबाट म्याराडोनाले खुसी मात्र दिएनन्, समृद्धिको यात्रा समेत तय गरिदिए । आम मानिसको मुहारमा मुस्कान ल्याइदिए । त्यसकारण पनि अर्जेन्टिनामा उनको विशेष सम्मान गरिन्छ । उनको निधनको खबरसँगै विभिन्न शहरमा समर्थक सडकमा निस्किएका थिए ।

    भावुक समर्थकले उनीप्रति सम्मान व्यक्ति गरिरहेका छन् । संसारभरबाट म्याराडोनाको निधनमा श्रद्धाञ्जली आइरहेको छ । अर्जेन्टाइन फरवार्ड तथा वर्तमान फुटबल संसारका सर्वाधिक लोकप्रिय खेलाडी मेस्सी, पोर्चुगिष्ट फरवार्ड रोनाल्डोसम्मले उनको निधनमा दुखः व्यक्त गरेका छन् ।

    Photo : The Indian Express

    ब्राजिलका महान् खेलाडी पेलेले आफुले एक निकट साथि गुमाएको भन्दै आकासमा सँगै फुटबल खेल्ने आशा राखेका छन् । उनको निधनसँगै बुधबार अर्जेन्टिनामा फुटबल क्लब इन्टरनेशनल र म्याराडोनाको पूर्व क्लब बोका जुनियर्सबीच खेल रद्द गरिएको छ ।

    यस रंगशालामा उनका प्रशंसकको भिड लागेको थियो । उता, म्याराडोनाको निधनमा इटाली पनि उत्तिकै भावुक बनेको छ । खासगरी इटलीको क्लव नेपोलीलाई आजको स्थानमा ल्याउन उनले ठूलो योगदान गरेका थिए ।

    सान पाउलो स्टेडियममा समर्थक भेला भई उनीप्रति सम्मान व्यक्त गरेका छन् । नेपोलीमा त्यहाका मेयरले सन पाउलो स्टेडियमको नाम म्याराडोना राख्ने घोषणा गरेका छन् । म्याराडोनाले १९८६ मा अर्जेन्टिनाका लागि विश्व कप उचालेका थिए ।

  • भारतले थप ४३ चिनियाँ एप्समा लगायो प्रतिवन्ध

    भारतले थप ४३ चिनियाँ एप्समा लगायो प्रतिवन्ध

    नयाँ दिल्ली । भारतले पछिल्ला दिनमा चिनियाँ एप्स धमाधम बन्द गराइरहेको छ । सोहीक्रममा थप ४३ वटा एप्समा प्रतिवन्ध लागेको छ । प्रतिवन्ध लाग्ने एप्सहरु अधिकांश चिनियाँ छन् । भारतीय सूचना प्रविधि मन्त्रालयका अनुसार प्रतिबन्धित एप्सहरूले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको छ ।

    चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्स समेत यसै चरणमा प्रतिवन्ध लगाइएको छ । अलि एक्सप्रेस, क्याम कार्ड तथा ताओवाओ लाइभ समेत प्रतिबन्धमा परेका छन् ।

    भारत सरकारले यसअघि भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जीमा समेत प्रतिवन्ध लगाइसकेको छ । भारतमा यी दुई एप्सका प्रयोगकर्ता करोडौंको संख्यामा थिए ।

    भारत सरकारले चिनियाँ मोबाइल एप्सबाट भारतीय प्रयोगकर्ताका गोप्य विवरण चीन पुगिरहेको आरोप लगाउने गरेको छ ।

  • दोलखा भीमसेनलाई पसिना आयो, अशुभ संकेत, बिगतमा के के भए ?

    दोलखा भीमसेनलाई पसिना आयो, अशुभ संकेत, बिगतमा के के भए ?

    दोलखा । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ नहुने धार्मिक मान्यता रहँदै आएको छ । भीमसेनलाई पसिना आएको यो १८ औं पटक हो ।

    मंगलबार दिउँसो २ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको जानकारी दिनुभयो । दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

    यस अघि २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो । गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ ।

    गत चैत ११ गतेदेखि लकडाउन गरेर ११५ दिनपछि केही महिनाअघि नियमित पूजाको लागि खोलिएको मन्दिर एकहप्ता पछि पुन बन्द गरिए यता हालसम्म पनि सर्वसाधारणको लागि मन्दिर बन्द रहँदै आएको थियो ।

    यसअघि शिलामा १७ औं पटक फागुन ८ मा आएको उहाँले जानकारी दिनुभयो । त्यसपछि लगत्तै कोरोना महामारीका कारण देशभरी लकडाउन भएको थियो । २०६२\०६३ को जनआन्दोलन अघि पनि शिलामा पसिना आउको थियो ।

    त्यस्तै राजदरबार हत्याकाण्ड हुनुभन्दा डेढ महिनाअघि पनि पसिना आएको थियो । त्यस्तैगरि १९९० मा भूकम्प आउनुभन्दा अघि पनि शिलामा पसिना आएको बताइन्छ । मंगलबार पनि शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    लकडाउन पछि नियमित पूजाको लागि खोलिएको मन्दीर एकहप्ता पछि पुन बन्द गरिएको थियो । अहिले सर्वसाधारणका लागि बन्द रहेको छ । तर पसिना आउन थालेपछि चलन अनुसार मन्दीर व्यवस्थापन तथा गुठियारहरुले र स्थानीयले पूजा गरिरहेका छन् ।

    पसिना आएपछि क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछ्ने चलन छ । त्यहाँ पसिना पुछिएको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । यसअघि राजाका पालामा पसिना आउँदा राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने प्रचलन थियो ।

  • राजा वीरेन्द्रको निजी निवास आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने

    राजा वीरेन्द्रको निजी निवास आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने

    काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । संग्रहालयमा परिणत गरिएको नारायणहिटी दरबार भित्र ‘श्री सदन’ राजा वीरेन्द्रको निजी निवास थियो । तर, यो कक्ष सर्वसाधारणले हेर्न भने पाएका थिएनन् ।

    आइतबारबाट श्री सदन सर्वसाधारणको अवलोकनका लागि खुल्ला गर्ने तयारी सरकारले गरेको हो । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक घोषणा गरेका छन् ।

    सोहीअनुसार आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने छन् । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्दै आएका थिए । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएपछि श्री सदन बन्द भएको हो ।

    सरकारले २०७७ वैशाख १ मै श्री सदन खोल्ने बताएको थियो । तर, कोरोना भाइरसको संक्रमणका कारण यो सम्भव भएन । आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला गरिने भएको छ ।

    स्मारक २०७६ जेठ १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी हुन् । श्री सदन २०२३ सालमा बनेको हो । तीन तले भवनमा कुल १२ वटा कोठा रहेका छन् ।

  • आज छठको मूख्य दिन, अस्ताउँदो सूर्यको पूजा आराधना

    आज छठको मूख्य दिन, अस्ताउँदो सूर्यको पूजा आराधना

    काठमाडौं । आज तराईबासी नेपालीको ठूलो चाड छठको मूख्य दिन हो । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको यस दिन साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिने प्रचलन रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि प्रारम्भ भएको हो ।

    आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।

    त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको मान्यता छ ।
    छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

    यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने प्रचलन छ ।

  • आज छठको दोस्रो दिन, खराना बनाईंदै

    आज छठको दोस्रो दिन, खराना बनाईंदै

    काठमाडौं । आज छठ पर्वको दोस्रो दिन ब्रतालुले ‘खरना’ मनाउँछन् । कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट यो पर्व प्रारम्भ भएको हो । खरना विधिमा दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार ग्रहण गर्ने गरिन्छ ।

    माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने प्रचलन रहेको छ । आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्छन् ।

    पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गर्छन् । यो ‘सझुका अरख’ विधि हो । सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने प्रचलन रहेको छ ।

  • तराईबासी नेपालीको महान चाड छठ शुरु

    तराईबासी नेपालीको महान चाड छठ शुरु

    काठमाडौं । नेपालको तराईमा विशेष महत्वका साथ मनाईने पर्व छठको विधिवत शुरुवात भएको छ । घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरि छठको शुरुवात गरिएको हो । यो वर्ष छठ अन्तर्गत आज नहायखाय मनाइन्छ । बिहिबार खरना, शुक्रबार सन्ध्या अर्घ्या र शनिबार छठको पारणा गर्ने गरी साइत जुराइएको छ ।

    पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरी राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित खाने प्रचलन रहेको छ । यो विधि नै मिथिला भाषामा ‘खरना’ हो ।

    छठको मूख्य दिन षष्टी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ्य दिन्छन् । त्यस दिन ठकुवा, कसार, अन्य मिष्ठान्न परिकार, केरा, दहीसहित सूर्यलाई देखाउने प्रचलन छ ।

    यो ‘सझुका अरख’ विधि हो । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी)को आराधना गर्दै घाटमै रात बिताइन्छ । यो वर्ष भने तलाउ र पोखरीमा भन्दा घरमै छठ मनाउन सरकारले आह्वान गरेको छ । मूख्य तलाउ र पोखरी यो वर्ष बन्द रहनेछन् । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ का रुपमा मनाइन्छ ।