काठमाडौ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङमा सुनको जलहरी राखिएको छ ।
राष्ट्र प्रमुखको हैसियतमा बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापुजा गरेपछि सुनको जलहरी स्थापना कार्य पुरा भएको हो । यसअघि त्यहाँ चादीँको जलहरी राखिएको थियो ।
तर चाँदीको जलहरी खिइसकेकोले फोहोर देखिनुका साथै पञ्चामृत लगायतका कतिपय पूजा सामग्री फोहोर हुने गरेको जलहरी परिवर्तन गर्नु परेको पशुपति क्षेत्र विकाश कोषले जनाएको छ ।
जलहरी राख्न अघि क्षमापूजा आवस्यक भएको र त्यसका लागि भारतबाट ३३ जना व्राह्मण बोलाइएको थियो । जलहरीका लागि १ सय ८ ग्राम सुन प्रयोग गरिएको छ ।
तर संस्कृतिविद्हरुले भने जलहरी प्रतिस्थापनको विरोध गर्दै आएका छन । जलहरी प्रतिस्थापनको विषयलाई लिएर सर्वोच्च अदालतमा दुई वटा छुट्टाछुट्टै रिट निवेदन समेत दायर गरिएको छ । जलहरी प्रतिस्थापन गर्ने विषयलाई पछिल्लो सात वर्ष देखि विवाद चल्दै आएको छ ।
यसअघि पशुपतिनाथमा रहेको चाँदीको जलहरी राजा महेन्द्रले २०२५ सालमा प्रतिस्थापित गरेका थिए । त्यसअघि राजा गीर्वाणयुद्धको पालामा तामाको जलहरी राखेको विभिन्न अभिलेखहरुमा उल्ल्ेख छ ।
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकास्थित जगडोल हाईटमा रावणले यज्ञ गर्दै गरेको ४० फिट अग्लो विशाल मुर्ती सहित सुविधा सम्पन्न पार्क निर्माण शुरु भएको छ । नगरपालिकाको ११ नम्बर वडामा स्थानिय यज्ञडोल जगडोल युवा क्लबको संयोजनमा निर्माण हुन लागेको पार्कको मंगलबार नगर प्रमुख उद्धब खरेलले एक कार्यक्रमबीच निर्माण सुभारम्भ गरे ।
परापुर्ब कालमा रावणले यज्ञ गरेर थुप्रिएको चरुबाट निर्माण भएको मान्यता रहदै आएको यज्ञडोल पछी अप्रभम्स भई जनजिब्रोमा जगडोलको नामले प्रचलित भएको जन विश्वास छ ।जगडोल हाईटको दारेगौडामा निर्माण हुन लागेको पार्कको निर्माण सिलान्यास कार्यक्रम नगर प्रमुख खरेलको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भएको हो ।
दिन प्रतिदिन सार्वजनिक जग्गा माथि अतिक्रमण हुँदै गएको पारिपेक्षमा सर्वजनिक जमिन संरक्षण गर्ने तथा आफ्नो गाऊको धार्मिक तथा साँस्कृतिक ईतिहास जोगाउने उदेश्यका साथ रावणले यज्ञ गर्दै गरेको मुर्ति सहितको यज्ञपार्क निर्माण गर्न लागेको यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष संन्जय पौडेलले बताए।
अध्यक्ष पौडेलका अनुसार अहिले गाऊमा सार्वजनिक काम गर्न आवस्यक पर्ने सामान्य खर्चका लागि समेत स्थानिय वडा र नगर पालिकासँग पटक पटक गुहार मागिरहनु पर्ने बाध्यता छ । अब भने आर्थिक आय-आर्जनको लागि र सुन्दर जगडोलमा व्यापारिक प्रयोजनको लागि जथाभाबी निर्माण गरी संचालन गर्दै आएका छाप्रो क्रमैसँग व्यवस्थित गरिने भएको छ । ति छाप्रोलाई सटरमा स्थानान्तरण गरि पार्क व्यवस्थित गरिने छ ।
निर्माण सुभारम्भ कार्यक्रममा यज्ञ पार्क निर्माणको आर्थिक पाटो तर्फ बताउदै आर्थिक वर्ष २०७७\७८ अन्तर्गत स्वीकृत नगर स्तरीय योजना मार्फत बुढानिलकण्ठ नगरपालिको वडा ११ जगडोलस्थित जगडोल झण्डा पार्क , यज्ञपार्क सटर तथा गेट निर्माण,सटर कोठा बनाउने,गेट बनाउने,कम्पाउण्ड बनाउने कुल अनुमानित लागत ५०लाख १सय ६रुपैया ७४ पैसा मध्ये नगरपालिका बाट यज्ञ पार्क निर्माणको लागि प्रारम्भमा ४८ लाख ७५ हजार छुट्याएको छ भने र जन श्रमदान बाट बेहोर्ने गरी १लाख २५हजार १ सय ६रुपैया ७४पैसा रहेको जानकारी गराइएको थियो ।
यज्ञ पार्क निर्माण योजना यज्ञडोल जगडोल उपभोक्ता समिति मार्फत हुन लागेको र सो कामको मिति २०७७ साल माघ २२गते योजना सम्झौता भए अनुसार सूचना टास गरि मिति २०७७ साल चैत्र २५ गते भित्र सकिने पनि जानकारी गराइएको थियो । देशकै एउटा गौरबको पार्कको रुपमा निर्माण हुन लागेको यज्ञ पार्क निर्माणको लागि छिमेकी नगर पालिका गोकर्णेश्वोरले समेत बलियो सहयोग गर्ने प्रतिबद्धता नगर प्रमुख सन्तोष चालिसेले पटक पटक गरेको हुँदा पार्क निर्माण कार्यका लागि आर्थिक अभाब नहुने स्थानिय युवाहरुले विश्वास लिएका छन् ।
पर्यटकीय दृष्टिकोणले रमणीय ठाउँ जगडोलको आफ्नो पहिचान जोगाउन जगडोलमा रहेका सम्पुर्ण संघ(संस्थाहरुलाई समेटि पार्क निर्माण आयोजना कार्यान्वयन कार्यदल समिती समेत गठन गरि सुरु गरिएको योजनाको पारदर्शी ढंगबाट कार्य गर्न वडा अध्यक्ष राजु अधिकारीले कार्यक्रममा सुझाव दिएका छन्।यज्ञ पार्क कुल ६ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिने क्लबका सचिब कपिल पौडेलले बताए ।
स्थानिय युवाहरूको भावना र पहलमा सुरु गरिएको योजना सामाजिक क्रियाकलाप र परिवर्तनको लागि हामी जुट्नु पर्छ भन्ने प्रमुख उद्देश्यका साथ जगडोलको पहिचान र बिकासमा यज्ञ पार्क निर्माण सम्पन्न हुँदा थप टेवा पुग्ने आयोजकले बिश्वास लिएका छन् ।
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि देशभर दिपावली शुरु भएको छ । आज माइतिघर मण्डलासहितका स्थानमा युवाले भेला भई दिपावली गरेका छन् । उनीहरुले प्रतिगमन पराजित भएको भन्दै सर्वोच्च अदालतको निर्णयको स्वागत समेत गरेका छन् ।
सामाजिक संजालमा सर्वोच्च अदालत, प्रधानन्यायाधीस र न्यायाधीसहरुको प्रशंसा शुरु भएको छ । नेता तथा कार्यक्रताले नेपालमा न्याय नमरेको तथा अब देश संविधान अनुसार आफ्नो बाटोमा अगाडी बढ्ने अपेक्षा समेत गरेका छन् । यद्दपी फैसला आफ्नो पक्षमा नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने अर्को कदमप्रति भने सर्वसाधारणमा अझै पनि संसय रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचनाका बीच राजिनामा माग भएको छ । तर, उनी भने भिड्ने मनस्थितिमै छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले तत्काल राजिनामा दिने छैनन् । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयनमा जाने भएका छन् ।
काठमाडौं । मंगलबार सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको कदमलाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्चको यो फैसलाको समयमा भने वालुवाटारमा प्रधानमन्त्रीको जन्मदिनको उपलक्ष्यमा केक पार्टी थियो । उनी आफ्ना बुबासहित आफन्तसँग खुसी साटासाट गरिरहेका थिए । तर, उनको खुसी लामो समय टिक्न सकेन ।
अदालतबाट ठूलो भरोसा गरेका प्रधानमन्त्रीको अपेक्षा विपरित फैसला भयो । यसले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई भने हौसला दियो । उनीहरु आफ्नो पार्टीले बुधबार चितवनमा आयोजना गरेको विरोध सभामा भाग लिन चितवन पुगेका थिए । दुबै नेता एउटै होटेलमा थिए । जब सर्वोच्चको फैसला आयो, त्यसपछि नेकपा नेताहरुले खुसीयाली मनाए ।
उनीहरुले मिठाई आदान प्रदान गरेको तस्वीर अहिले सामाजिक संजालमा भाइरल गराइएको छ । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाएका थिए । उक्त अवसरमा सहभागीलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता भए प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको भनाई छ । प्रचण्ड र माधव नेपालसहित नेताहरुले चितवनमा बुधबार हुने सभालाई विजय जुलुसका रुपमा मनाउने भएका छन् ।
काठमाडौं । पर्यटन व्यवसायीले सरकारले आफै ठूल्ठूला सभा सम्मेलन गर्दै हिँड्ने तर पर्यटक आगमनमा भने कोरोनाको डण्डा लगाइरहेको प्रति आपत्ति जनाएका छन् । सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संगठनका प्रतिनिधिले नेपालमा पर्यटकलाई तोकिएको कडा क्वारेन्टिनको प्रावधान हटाउन माग गरेका हुन् ।
पछिल्लो समय नेपालमा हजारौं मानिस भेला गरेर प्रधानमन्त्री स्वयमःले भाषण गर्दै हिँडेका छन् । तर, पर्यटक आगमनमा भने ७ दिन क्वारेन्टिन अनिवार्य छ । यता, अनअराइभल भिसाको समेत सुविधा उपलब्ध छैन ।
कोरोना भाइरसको संक्रमणका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी भएको भन्दै व्यवसायीले पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नभएको समेत गुनासो गरे । व्यवसायीले नेपाल आउने सबै पर्यटकलाई अनअराइभल सेवा समेत सूचारु गर्न माग गरेका छन् । अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट भिसाको व्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने माग व्यवसायीले गरेका छन् ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेसिन राखी पर्यटकलाई तत्काल स्वाब संकलन गरी नतिजा दिन सक्ने व्यवस्थापनको माग समेत व्यवसायीले गरेका छन् । पर्यटन व्यवसायीले नेपालमा पर्वतारोहण सिजन नजिकिएको भन्दै हवाई यातायात समेत सूचारु गर्न माग गरेका छन् । हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडान यथाशीघ्र खोल्न पहल गर्नुपर्ने उनीहरुको माग छ । कोरोना विरुद्धको भ्याक्सिन पर्यटन ब्यवसायी र पर्यटन श्रमिकलाई पनि उपलब्ध गराउनुपर्ने व्यवसायीको माग छ ।
मिथिला कला र संस्कृतिको प्रवर्द्धन एवम् मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकासको लक्ष्यलाई टेवा पुर्याउने उद्देश्यले मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका हुने भएको छ । महोत्सव आगामी अप्रिल महिनाको १४ देखि १७ तारिखसम्म अमेरिकाको न्यूयोर्क शहरमा आयोजना गरिने छ । यस वर्षको मिथिला महोत्सवको मुल नारा “दिगो विकास लक्ष्यको लागि कला: मिथिला सम्पदा (Art for SDGs: the Mithila Heritage)” राखिएको छ। यो कार्यक्रममा सहभागी हुन चाहने सबै ईच्छुक कलाकारहरुलाई यो वर्षको मुख्य नारालाई ध्यानमा राखी तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय [email protected] मा ६ मार्च २०२१ सम्ममा पठाउन आयोजक तथा मिथिला सेंटर अमेरिकाका संस्थापक अमित शाहले अनुरोध गरेका छन् ।
कार्यक्रममा मिथिला राजा सलहेश जयन्ति समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र मिथिला साहित्य सम्बन्धि कार्यक्रमहरू पनि समावेश गरिनेछ ।
संसारभर प्रख्यात मिथिला कलामा विशेषत; महिला आर्टिस्टहरुको योगदानले नैशताब्दीऔंदेखि अस्तित्वमा छ। घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला आर्टिस्टहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरुबाट नै नयाँ पिढीहरुमा हस्तान्तरण हुँदैआएको छ ।
मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम् सिंगारसजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ । महिला वा पुरुष आर्टिस्टका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु (Canvas) माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् ।विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ । कलाको थप महत्वको बारेमा संयोजक शाहले बताउँछन्; “यो कलाले ग्रामीण समुदायका विपन्न महिलाहरुकालागि आयआर्जनको श्रोत बढाउनुका साथै नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना समेत बढाएको छ ।”
काठमाडौं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्ने निश्चित भएको छ । सरकारले करीव १ अर्ब लगानीमा सुनको जलहरी राख्ने भएको हो । सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मत गरिने छ । यसका लागि शनिबारबाट क्षमापूजा सुरु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मण नेपाल आएका छन् । क्षमापूजामा ९६ नेपाली ब्राह्मण र २५ जना भारतीय ब्राह्मण खटिएका हुन् । उनीहरुले शिव र शक्तिको आराधना सुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई उदृत गर्दै राससले जनाएको छ ।
क्षमापूजा बुधबारसम्म जारी रहने भएको छ । अहिले रहेको चाँदीको जलहरी रणबहादुर शाहको शासनकालमा राखिएको हो । जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको बताइएको छ ।
वर्षौंदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा गर्न लागिएको हो । चाँदीको जलहरी नहटाइने र मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको बताइएको छ । पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको जलहरी बनाउने काम जारी रहेको छ ।
मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको हो । बाँकि रकम भने कोषले बेहोर्दै छ । सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ ।
काठमाडौं । भारतीय पत्रकार सुधिर चौधरीले अनुमति बीना नै नेपालविरुद्ध कार्यक्रम छायांकन गरेर प्रसारणमा ल्याएपछि सगरमाथा क्षेत्रको कालापत्थरसहितका क्षेत्रमा अब हेलिकोप्टर अवतरणमा रोक लगाइएको छ । अब नियमित उद्धार, सामानको ढुवानी र विशेष परिस्थितिमा सगरमाथा राष्ट्रिय निकुन्जको अनुमति लिएर मात्र हेलिकोप्टर उडान सकिने छ ।
त्यसबाहेक नियमित रुपमा पर्यटक लगेर भने यो क्षेत्रमा अवतरण गर्न नपाइने निकुन्जले जनाएको छ । यसअघि चौधरीले सिम्रिक एयरको हेलिकोप्टर कालापत्थरमा लगेर कार्यक्रम छायांकन गरेका थिए । उनी २६ पुसमा निकुञ्जको अनुमति नलिई कालापत्थर अवतरण भएका थिए ।
सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासनका अनुसार अब निकुन्जभित्र पर्ने तीन वटा हेलिप्याडमा अनुमतिमा मात्र हेलिकोप्टरले अवतरण गर्न पाउने छन् । निकुन्जभित्र लुक्ला, स्याङबोचे र नाम्चेस्थित हेलिप्याण्डलाई मात्र खुला गरिएको छ ।
यी हेलिप्याडमा समेत निकुन्जको अनुमति बीना हेलिकोप्टर उड्न सक्ने छैनन् । तोकिएको क्षेत्रमा बाहेक अन्य स्थानमा हेलिकोप्टर अवतरण गराएमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही हुने चेतावनी समेत निकुन्जको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गुणगान गाउने गरी अन्तरर्वाता लिएका चौधरी सगरमाथामा पुगेर भने यहाँ भारतको पनि दावि हुनुपर्छ भन्दै रिर्पोट बनाएका थिए । यस रिपोर्टको चर्को आलोचना भएको थियो
चर्चित गायकद्वय सत्य–स्वरुपको आफ्नै यूट्युब च्यानलमार्फत समसामयिक विषयवस्तुमा आधारित भरोसाको दियो’ गीतको दर्शनीय म्युजिक भिडियो दर्शक श्रोतामाझ आएको छ । गायक सत्यराज आचार्यको स्वरमा गीतकार हरिहर निरौलाको शब्द र विशाल ढकालको संगीतले गीत श्रवणीय बनेको छ ।‘भरोसाको दियो’ नाम दिइएको गीत नेपाली संगीताकाशको ओजपूर्ण गीत बन्ने देखिन्छ ।
भरोसाको दियो
गीतको म्युजिक भिडियोमा गायक स्वयम् सत्यराज आचार्य, अभिनेता स्वरुप पुरुष ढकाल तथा मोडल पुष्पा रायमाझीले अभिनय गरेका छन्। गीतको निर्देशन पनि गायक आचार्यले नै गरेका छन् ।
काठमाडौं । नेपाली सेनाले नेपालका ६ वटा हिमालमा सफाई अभियान चलाउने भएको छ । सफा हिमाल अभियान अन्तर्गत सन् २०२१ मा ६ वटा हिमालबाट फोहोर संकलन गर्ने योजना रहेको सेनाले जनाएको छ । सन् २०१९ मा सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको सेनाले यसपटक ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्न लागेको जनाएको छ ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यसपटक सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादम्बलम हिमालको सरसफाइ गरिने छ । ती हिमालको बेस क्याम्पभन्दा माथिबाट मात्रै १८ टन फोहोर ल्याउने उद्देश्य रहेको सेनाले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्का अनुसार सेनाले अभियानको एकीकृतरुपमा अगुवाइ गर्नेछ । यसमा नेपाल पर्यटन विभाग, योजना तथा अनुगमन महाशाखा, नेपाल पर्यटन बोर्डसहित विभिन्न निकायसँग सहकार्य हुनेछ ।
‘मानव स्रोत र बेस क्याम्पको व्यवस्थापन र अनुगमनसँगै हवाई साधनबाट बन्दोवस्तीका सामान तथा जम्मा भएका फोहोर ओसार्ने काम सेनाले गर्ने भएको छ । हिमाल सफाइ अभियानको पहिलो चरणमा हाल पूर्वतयारी र समन्वय भइरहेको छ ।
दोस्रो चरणमा चैत १ देखि २६ सम्म एक्लिमटाइजेसन तालिम सञ्चालन गरिने भएको छ । चैत २१ देखि जेठ २२ सम्म सरसफाइ अभियान चलाइने सेनाले जनाएको छ । सेनाका अनुसार सगरमाथामा मात्रै एक लाख ४० हजार टन फोहोर, ४० टन मानवीय फोहोर र ३ सय बढी आरोहीका मृत शरीर रहेको अनुमान छ ।
सिड्नी । अष्ट्रेलियाको सरकारले कडा कानून ल्याएर फेसबुकमाथि नियन्त्रणको प्रयास गरेपछि सामाजिक सञ्जाल फेसबुकले समेत आफ्नातर्फबाट प्रतिक्रियात्मक कदम चालेको छ । फेसबुकले तत्कालका लागि अष्ट्रेलियामा न्युज फिडमा समाचार पढ्न र सेयर गर्न नपाउने गरी बन्द गरेको छ । उता, अष्ट्रेलियाको सरकारले नयाँ कानून बनाइरहेको छ ।
जहाँ फेसबुक र गुगलजस्ता माध्यममा संचरमाध्यमका सामाग्री राखेबापत् सम्बन्धी संचारमाध्यमलाई पैसा दिनुपर्ने प्रावधान समेटिँदैछ । उता, फेसबुकले भने आफुले आफै कुनै समाचार नराख्ने भन्दै बढी मानिसहरुसम्म पुगोस भनी स्वयमः मिडिया मालिकहरुले नै समाचार शेयर गर्ने बताएको छ ।
यस्तो अवस्थामा फेसबुकले मिडियालाई पैसा तिर्न नसक्ने उसको तर्क रहेको छ । यही कानूनको विरोधमा फेसबुकले समाचार शेयरमा रोक लगाइदिएको हो । फेसबुकमा समाचार सेयर गरेकै आधारमा सन् २०२० मा अष्ट्रेलियन मिडिया हाउसहरुले ४०७ मिलियन अष्ट्रेलियन डलर कमाएको दावि समेत फेसबुकले गरेको छ ।
त्यसो त यो कानून बनाउने दौरान नै फेसबुकले यस्तो कदम चाल्ने चेतावनी भने दिइसकेको थियो । गुगल समेत यो कानूनको विरोधमा छ । विधेयक अहिले त्यहाँको सिनेटमा छलफलको क्रममा रहेको छ । संचारमाध्यमसहित सरकारी वेवसाइटका सूचना समेत फेसबुकमा बन्द भएका छन् । यसले सरकार अझ अफ्ठयारोमा पर्ने देखिएको छ । एजेन्सी
काठमाडौं । प्रेमका पक्षधर एक सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिन हो आज फेब्रुअरी १४ । यो स्मृति दिवस हो । तर, मानिसहरुले यसलाई प्रेम दिवसमा रुपान्तरण गरि हर्षोलाषसमय वातावरणमा मनाउन थालेका छन् । प्रेमको मामलामा सैनिकहरुको पक्षमा आवाज उठाएकै कारण भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको थियो । त्यसकारण आजको दिनलाई समर्पणको दिनका रुपमा समेत मानिन्छ ।
यद्दपी पछिल्ला दिनमा प्रेम दिवस एक विकृत दिनका रुपमा विकसित भएको समेत परम्पावादीहरुको तर्क छ । यो दिवस अहिले विश्वभर चर्चित छ र संसारभर नै मनाइन्छ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने प्रचलन थालिएको छ ।
विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस विकसित बनेको छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्छन् । यो दिवस युवापुस्तामा लोकप्रिय बन्दै गएको छ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभर दुई सय वटा पर्यटकीय गन्तव्य छनोट गरेको छ ।
आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पुर्याउने उद्देश्यले ७ सय १३ वटा आयोजनामध्येबाट छानिएका २ सय आयोजनाको सूची शुक्रबार सार्वजनिक गरिएको हो ।
भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव आह्वान गरेको थियो ।
उक्त सूचनाका आधारमा छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् ।
यी आयोजनाका लागि केन्द्रीय सरकारले ६ अर्ब ८० करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । यसमा स्थानीय तहले थप ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नुपर्नेछ । यी आयोजना सञ्चालनका क्रममा ५ लाख ४० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अपेक्षा छ ।
काठमाडौं । आज तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउँदैछन् । यस दिनको उपलक्ष्यमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले यो पर्व मनाउने सबैलाई शुभकामना दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले बहुरंगी संस्कृतिको धनी नेपाल यिनै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धि हात लाग्ने उल्लेख गरेकी छिन् ।
उपराष्ट्रपति पुनले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमालिइने ग्याल्बो ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा योगदान पुर्याएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुनर्निर्माण भएको हो भने धराहराको नवनिर्माण हो । यी दुई संरचनाको अवलोकनबाट प्रधानमन्त्री संतुष्ट देखिए ।
सिंहदरबारको पुनर्निर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । सिंहदरबारको पुनर्निर्माणको काम सकेर फागुन ३ गते उद्घाटनको तयारी रहेको समेत उनले जानकारी दिएका छन् ।
धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएको उनले बताए । धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्मको काम सम्पन्न भइसकेको छ । बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिनाभित्रै सम्पन्न गर्ने तयारी छ ।
काठमाडौं । सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्षअघि कटौती गरेको थियो।
उक्त समुदायले पटक-पटक बिदाको माग गरेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक बिदा दिने निर्णय गरेको हो।
गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा ७ ओटा कर्तिमान कायम राखिसकेका नेपाली खेलाडी उज्वल ठकुरीलाई वासिङ्टन डिसीस्थित नेपाली दुताबासले सम्मान गरेका छन् । ठकुरीलाई दुताबासले राष्ट्रिय पहिचान बन्न सक्ने फाङ्गकार्यो बिधा निर्माण गरेको र देशको नाम उँचो राख्ने कार्य गरेको भन्दै शुक्रबार दुताबासको कार्यालयमा नै सम्मान गरेको हो ।
सम्मान पत्र प्रदान गर्दै राजदुत डा. अर्जुन कुमार कार्कीले भनें; “नेपालको नाम संसारभर फैलाउँदै आएका रेकर्डधारी खेलाडी उज्वल ठकुरले यतिबेला विश्वलाई चुनौति दिंदै उज्ज्वल ठकुरीले “फांगकार्यो” बिधाको निर्माण गर्नु सबैको गर्वको विषय हो । हामी सबैले यसलाई संसारभर प्रचार गर्नुपर्दछ ।”
के हो फांगकार्यो ?
फांगकार्यो भनेको फांग गरेर बिभिन्न खेलकुद कला प्रस्तुत गर्ने कला हो । जस अन्तर्गत फांग गरेरै काता गर्ने, ओजन उचाल्ने, ब्रेकिङ्ग गर्ने, हतियार चलाउने , गोली निशाना लगाउने, आर्चरी चलाउने, नांन चाकु चलाउने र फांग गरेर फाइट गर्ने पर्दछन् । सबै खेलको अवधि १ मिनेटको हुनेछन्। यो कला सिक्न चाहने संसारभरका ईच्छुक खेलाडीले नेपाल नै जानुपर्नेछ ।
खेलाडी राजेन्द्र मदाई
यसमा सबैभन्दा कठिन “फांग नान् चाकु काता” हो । यद्यपि ठकुरीले नेपालको डडेल्धुरामा फांग नान् चाकु काताको खेलाडी जन्माई सकेको छ । जसको नाम हो; राजेन्द्र मदाई । राजेन्द्र मदाईलाई ठकुरीले अमेरिकाबाट निर्देशन दिंदै फांगकार्योमा नान् चाकुको निर्माण गर्न सिकाए । आज नेपालमा नान् चाकुको निर्माणकर्ता राजेन्द्र मदाई भएका छन् । नान् चाकु ब्रुस्लिले निर्माण गरेतापनि फांग नान चाकु काताको अवधारणा भने ठकुरीको हो ।
यस विषयमा ठकुरी भन्छन्; “जसरी बिभिन्न खेलकुद र काताको श्रेय अरु देशले लिएका छन्, त्यसैगरी फांगकार्योको जननि नेपाल बन्नेछ । यो सिक्न संसारभरबाट खेलकुद टिम नेपाल आउने छन् । यो राष्ट्रिय सान बन्नेछ ।”
काठमाडौं । नेपालमा यसैसाता हिँउदे वर्षा र हिमपात शुरु हुने भएको छ । सामान्यतया माघको अन्तिम र फागुन पहिलो साता हुने वर्षातलाई वर्षको अन्तिम जाडोका रुपमा हेर्ने गरिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
यसले खासगरी यो सिजनमा उच्च पहाडी तथा हिमाली भेगमा पदयात्रामा जान जोखिमपूर्ण हुने गर्छ । अत्यधिक चिसो बढ्ने भएकाले पहाडी र तराई भेगमा समेत जनजीवन प्रभावित हुने गर्छ । हिमाली भेगमा त चिसो मौसममा हरेक समय सकस हुने गर्छ । नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेको बताइएको छ ।
यसले बिहीबारबाट तीन दिनसम्म मौसम बद्ली भएर वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ । यो प्रणाली प्रवेश गरेपछि पश्चिमी भेगबाट वर्षा शुरु हुनेछ । यसले मुलुकका अन्य क्षेत्रमा समेत प्रभाव बिस्तार गर्नेछ ।
यद्दपी यस समयमा पर्ने पानीले कृषकलाई भने राहत दिनेछ । नेपालमा धेरै स्थानमा पानी नपर्दा सुख्खा बढेको छ । जंगलमा डडेलो समेत फैलिएको छ भने कुहिरो र हुस्सुले वातावरण ढाकेको छ ।
काठमाडौं । गत राती नेपाली सेनाका बख्तरबन्द गाडी सडकमा निस्किए । सडक सुनसान भएको समयमा १० बजेपछि निस्किएका सवारी चक्रपथमा परिक्रममा गराइएको छ । यी गाडी हतियार सहितका थिए । नेपाली सेनाका अनुसार यो मेकनाइज्ड युनिटले गर्ने नियमित अभ्यासको एउटा पाटो हो । तर, नेपाली सेनाले आफ्ना गाडी यसरी सार्वजनिक रुपमा प्रदर्शन भने गरेका थिए ।
नेपालमा राजनीतिक यथलपुथल भइरहेका बेला सेनाको यो अभ्यासलाई भने धेरैले संसयका साथ हेरिरहेका छन् । सेनाले भने बीना जानकारी सडकमा हतियार बोकेका गाडी निकाल्दा नागरिकमा नकरात्मक सन्देश जान सक्ने भन्दै पूर्वसूचना जारी गरेको जनाएको छ ।
काठमाडौं । सरकारले शव जलाउन समेत रकम नहुने गरिब जनताबाट समेत पशुपतिमा दाउराको मूल्य लिन्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले धार्मिक मान्यता विपरित पशुपतिमा १ अर्ब रुपैयाँ भन्दा बढी मूल्य पर्ने सुनको जलप लगाउन निर्देशन दिएका छन् । धार्मिक मान्यता अनुसार भगवान शिवलाई सुन मन पर्दैन । त्यसकारण शिवमन्दिरमा चाँदीको प्रयोग बढी गरिन्छ । अहिले पनि पशुपतिको ढोका चाँदीबाट बनेको छ । सुन भगवान विष्णुको प्यारो धातु हो ।
तर, पशुपति क्षेत्र विकास कोषले धार्मिक मान्यता विपरित पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउन लागेको हो । यसबाहेक पशुपतिनाथ मूल मन्दिर अघिको बसाहा र छानामा समेत सुनको जलप लगाउन लागिएको छ ।
शिवरात्रीसम्म सुनको जलप लगाएर अवलोकन गर्न सकिने व्यवस्था मिलाउने तयारी भएको दुई दिन अघि पर्यटन मन्त्री भानुभक्त ढकालले मन्त्रालयबाटै घोषणा गरेका थिए । कोषका अनुसार यो सबै कामका लागि १४२ किलोग्राम सुन प्रयोग हुने भएको छ ।
करीव १ अर्ब रुपैयाँ बजेटमा यो काम हुन लागेको हो । जसमा ६५ करोड कोष र ३० करोड सरकारको रकम खर्च हुने भएको छ । पशुपतिनाथको छाना र बसाहामा भने अहिले पनि सुनको जलप छ । शिवलिंगमा भने चाँदीको जलहरि छ ।
काठमाडौ । शनिबार सम्पन्न वाई वाई नेपाल स्टार सिजन १ मा पोखराकी एलिना गुरुङले टाईटल हात परेकी छिन् । गीत संगीतमै समर्पण हुने, गीत संगीत क्षेत्रबाट समाज, मुलुकलाई योगदान दिने अठोटसहित नेपाल स्टारमा सहभागी भएको बताउदै आएकी एलिनाले वाई वाई नेपाल स्टार सिजन १ को उपाधी हात पारेसङै काठमाडौ तारेभिरका सुरेश लामाको सपना यस पटकका लागि पुरा हुन सकेन ।
काठमाडौस्थित गोकर्णेश्वोर नगर पालिकाका पदाधीकारीहरुले आफ्नै नगर पालिका भित्रका स्थाई बासिन्दालाई जिताउने प्रतिबद्दता सहित बिभिन्न समितीहरु समेत बनाएर लामालाई जिताउन कम्मर कसेर लागेका थिए । लामा यस पटक उक्त रियालिटी सोको उपबिजेता बनेका छन् ।
शनिबार साँझ सम्पन्न फाइलनमा ३ प्रतिस्पर्धीलाई उछिन्दै एलिनाले नगद ३५ लाख रुपैयाँ पुरस्कार जितिन् । साथै १ करोड रुपैयाँ बराबरको जीवन वीमा प्राप्त गरिन् । उपविजेता अन्य ३ जनाले जनही ५ लाख र ५० लाख रुपैयाँको जीवन वीमा प्राप्त गरेका छन् ।
विजेता र उपविजेतालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
काठमाडौं । काठमाडौं राष्ट्रिय एकता परिषद्को आयोजना महिला हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम काठमाडौं स्थित कान्तिपथमा सम्पन्न भयो।मंगलबार एल्लो पगोडा होटलमा सम्पन्न अन्तरकृया कार्यक्रमको सभापतित्व राष्ट्रिय एकता परिषद्का संयोजक निक्ष शमशेर राणाले गरेका थिए।कार्यक्रममा नायिकाहरु रेखा थापा र मनिषा कोइरालाको उपस्थिति थियो।मायाघर नेपालीकि संस्थापक राधिका दासी,पत्रकार बबिता बस्नेत,राष्ट्रिय उस्सु तेक्वान्दो खेलाडी संगिता बस्याल लगायतका महिलाहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। महिला माथि हुने हरेक प्रकारको हिंसाको अन्त्य गर्न सबै एकजुट भइ लाग्नुपर्ने कार्यक्रममा सहभागी अधिकांस महिलाहरुको भनाई थियो।रुपन्देहीमा पाँच वर्षको बालिकाको माघ १गते भएको बलात्कारको घटनाको पिडित पक्षलाई आर्थिक सहयोग रु.२५००० राष्ट्रिय एकता परिषद्का संयोजक निक्ष शमशेर राणाले हस्तान्तरण गरेका थिए भने अभिनेत्री मनिषा कोईरालाले पिडित नबालिकाको शिक्षाको सम्पूर्ण जिम्मेवारी लिने घोषणा गरेकी थीईन् ।
काठमाडौ/वाई वाई नेपाल स्टारको फाइनलिष्ट काठमाडौं तारेभिरका सुरेश लामा जिताउ अभियानको लागि सांगेतिक कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित स्थानिय सुन्ताखान बसपार्कमा नगरपालिकाका वडा अध्यक्ष द्वय राजेन्द्र कुमार भण्डारी र श्री कुमार श्रेष्ठको विशिष्ट आतिथ्यमा लामाको सांगीतिक कार्यक्रम सम्पन्न भएको हो ।स्थानिय समाजसेवी जयराम बिष्टको संयोजनमा आयोजित सांगेतिक कार्यक्रमबाट लामालाई सहयोग स्वरुप २५०००० ( दुई लाख पचास हजार रुपैयाँ ) संकलन भएको संयोजक बिष्टले बताए ।मंगलबार साँझ आयोजित कार्यक्रममा लामा जिताउ अभियानमा लगातार कृयासिल किरण बहादुर बिष्ट ,संजय लामा,हर्क बहादुर तामाङ ,शम्भु प्रसाद अधिकारी,लाक्स श्रेष्ठ,डा.निरन्जन भण्डारी लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा स्थानिय जनताको उलेख्य सहभागिता थियो भने उपस्थित सबैले नव गायक लामालाई दिल खोलेर सहयोग गरेका थिए।गोकर्णेश्वर नगरपालिका वडा ३ स्थित तारेभिरका स्थानिय सुरेश लामालाई वाई वाई नेपाल स्टार बनाउन बिभिन्न अभियान लिएर स्थानिय नगरपालिका लगातार खटिरहेका छ। सुरेश लामालाई फाइनलमा बिजेता बनाउन देश तथा बिदेशबाट भोट गर्न मोबाइलको म्यासेज बक्समा NS18 लेखेर 33001 मा पठाउन सकिनेछ।भोटिंग माघ १७ गते साँझ ६ बजे सम्म गर्न सकिने छ।
काठमाडौं । आजबाट हिन्दु धर्मावलम्बीको एक उत्सव श्रीस्वस्थानी व्रत आरम्भ भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा शुरु भएको हो । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गर्ने प्रचलन रहेको छ ।
आज बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ । बेलुका स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।
आजबाट एक महिनासम्म काठमाडौंको शालीनदीमा स्वस्थानी मेला सुरु हुन्छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथा स्वस्थानीमा रहेको छ ।
सोही धार्मिक विश्वासका साथ साँखुस्थित शालीनदीमा स्वस्थानीको मेला लाग्ने गरेको हो । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण शालीनदी मेलामा व्रत बस्ने व्रतालुका लागि भने कडा नियम बनाइएको छ । निमोनिया नभएको प्रमाण माग्ने गरिन्छ ।
निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको छ । यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइएको छ । १५ जना पुरुष र ३५ जना महिलालाई मात्रै यस वर्ष शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ । व्रतालु २० देखि ५० वर्षसम्म उमेर समूहको हुनुपर्ने उमेरहद तोकिएको छ । पीसीआर वा एन्टिजिन टेस्ट अनिवार्य गरिएको छ ।
काठमाडौं । हिउँदे सिजनमा पहिलो पटक विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरी विश्व कीर्तिमान राखेको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीको नेतृत्व विश्वविख्यात आरोही निर्मल पुर्जाले गरेका थिए । टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
विमानस्थलबाट उनीहरुलाई गाडीमा राखेर शहर परिक्रममा गराइएको थियो । त्रिभुवन विमानस्थलबाट ठमेल पुगेको टोलीलाई त्यहाँबाट पर्यटन बोर्डमा ल्याएर बोर्ड तथा पर्यटन मन्त्रालयको तर्फबाट स्वगत गरिएको छ । त्यसपछि यो टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास वालुवाटारमा स्वागत गरे ।
नेपालका १० जना आरोहीले माघ ३ मा पाकिस्तानको माउन्ट केटु हिमालको सफल आरोहण गरेका हुन् । किलर माउण्टेनका रुपमा चिनिने यो हिमाल चढ्ने प्रत्येक ४ जना आरोहीमध्ये एक जनाको दुर्घटनामा परी निधन भएको इतिहास छ ।
यस्तोमा टोलीका सबै सदस्य सकुसल फर्किएर जोखिमपूर्ण कीर्तिमान नेपाली आरोहीले आफ्नो नाममा लेखाएका छन् ।
नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले स्थानीय समयअनुसार शनिबार बिहान ५ः४५ मा ८ हजार ६११ मिटर अग्लो माउन्ट केटु चढेका थिए ।
नेपाली आरोहीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई समेत दिएका थिए । सम्मान ग्रहण गर्दै टोली नेता पूर्जाले यो आरोहण आगामी पुस्ताको हौसलाका लागि महत्वपूर्ण सावित हुने धारणा राखे ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन्।
पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् ।
ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी थिए।
पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गरेका थिए । विशेषपूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद लगाइदिएका थिए । मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी भएको कोषले जनाएको छ ।
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । उनको काठमाडौंमा आइतबार जाङ्मु शेर्पासँग विवाह भएको हो । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा पर्यटन मन्त्री भानुभक्त ढकालसहित नेकपाका सिमित नेता र आफन्त मात्र सहभागी थिए ।
४९ वर्षिय राईले २३ वर्षकी बेहुलीसँग किराती समुदायको परम्परागत भेषभुषामा सजिएर विवाह गरेका हुन् । राई भोजपुरका हुन् । शेर्पाको घर संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएको बताइएको छ । उनी पेशाले मोडल हुन् । उनले मिस मंगोल २०१८ को उपाधि समेत जितेकी छन् । राई दम्पत्तिलाई आजै प्रधानमन्त्रीले भेटेर बधाई दिएका छन् ।
वासिंटन डिसी । नेपाली समय अनुसार बुधबार राती अमेरिकाका ४६ औं राष्ट्रपति राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले शपथ ग्रहण गरे । अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले दुई साता अगाडी मच्याएको वितण्डाका कारण सथप ग्रहण कार्यक्रममा सर्वसाधारणको उपस्थिति थिएन् ।
Reuters Photo
सिमित पाहुनाका बीचमा भएको भव्य समारोहणमा एक आकर्षण थिइन्, लेडी गागा । उनी समारोहमा राष्ट्रिय गान गाउन उपस्थित भएकी थिइन् । उनी यस प्रदर्शनका दौरान आकर्षक ड्रेसअप सहित उपस्थित भइन् र आफ्नो प्रस्तुती दिइन् । उनको यो प्रदर्शनको अहिले सामाजिक संजालमा चर्चा चुलिएको छ ।
काठमाडौं । राजनीतिक उचारचढावका बीच शुक्रबार एक खबर सार्वजनिक भयो, जसअनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने निश्चित भएको छ । सामाजिक संजालमा गसिपका लागि यो खबर राम्रो मसला भएको छ । ५० वर्षीय राईले माघ ११ मा काठमाडौंमा विवाह गर्ने भएका छन् । तर, उनी कोसँग बिवाह बन्धनमा बाँधिने छन्, त्यो भने सार्वजनिक भइसकेको छैन । मूख्यमन्त्री राईले सरप्राइज दिने बताएका छन् । मूख्यमन्त्रीको विवाह काठमाडौंमा हुने भएको छ । भोज भने विराटनगरमा हुनेछ । प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने बाचा गरेका मूख्यमन्त्री राईले यो बाचा भने पुरा गर्न सकेनन् । नेकपा विभाजन भएसँगै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्तावमाथि ७ माघबाट चल्ने प्रदेश १ को हिउँदे अधिवेशनमा छलफल शुरु हुनेछ ।
काठमाडौं । आज माघे संक्रान्ती, विभिन्न समुदायमा विविध परम्परा अनुसार यो पर्व मनाइर्दछ । सरकारले यस दिनको उपलक्ष्यमा सार्वजनिक बिदा समेत घोषणा गरेको छ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्तिका अवसरमा नेपाल भित्र र बाहिर रहेका नेपालीले स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाउने गर्छन् ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिएको हो । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिने गरिन्छ ।
आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्न ठूलो संख्यामा मानिस पुग्छन् । धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ । यस दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायत परिकार खाने प्रचलन रहेको छ ।