Category: मनोरञ्जन

  • कुम्भ मेलामा भाग लिएकालाई दिल्लीमा १४ दिन अनिवार्य क्वारेन्टिन, नेपालमा जयजयकार ?

    कुम्भ मेलामा भाग लिएकालाई दिल्लीमा १४ दिन अनिवार्य क्वारेन्टिन, नेपालमा जयजयकार ?

    काठमाडौं । भारतको हरिद्वारमा संचालन भएको कुम्भ मेलाका कारण ठूलो संख्यामा कोरोना भाइरस संक्रमण फैलिएको भन्दै भारतको राजधानी दिल्लीको सरकारले त्यहा भाग लिएका सबैलाई १४ दिन क्वारेन्टिन राख्ने निर्णय गरेको छ । यस्तो निर्णय भएकै दिन नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति नेपाल फर्किएका छन् । उनीहरु त्रिभुवन विमानस्थल आउँदा सयौं समर्थक विमानस्थल पुगेर जयजयकार गरेका छन् । उनीहरुले भिडभाड नगर्न सरकारले गरेको आग्रहलाई पुरै वेवस्ता गरेका छन् ।

    राप्रपा नेपालको नाममा समर्थकहरु विमानस्थल पुगेका हुन् । उनीहरुले ‘हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई नेपालमा हार्दिक–हार्दिक स्वागत गर्दछौँ’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । विभिन्न समुह पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगेका छन् । विमानस्थलमा उनीहरुको स्वागत गर्न पञ्चकन्या समेत राखिएको थियो । पूर्वराजा दम्पत्ति भने सरकारको नियम अनुसार क्यारेन्टिनमा बस्ने भएका छन् ।

  • आज नयाँ साल २०७८ को पहिलो दिन, कोरोनाको संकट हट्ने अपेक्षा

    आज नयाँ साल २०७८ को पहिलो दिन, कोरोनाको संकट हट्ने अपेक्षा

    काठमाडौं । आजबाट बिक्रम संवत् २०७८ साल शुरु भएको छ । नयाँ वर्षको आज पहिलो दिन, सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । वैशाख १ गतेलाई नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाउने गर्छन् । यो वर्ष धेरैले कोरोना महामारीको संकट हट्ने र मानिसका लागि सहज दिनहरु आउने अपेक्षा गरेका छन् । गत वर्ष धेरैका लागि अविश्मरणीय रहेको थियो ।

    कति मानिसले आफन्त गुमाएका थिए, कति मानिसको रोजगारी गुमेका थियो, नयाँ साल त्यस्तो नहोस भन्ने शुभकामना सामाजिक संजालमा पोखिएको पाइन्छ । गत वर्ष बन्दाबन्दीले नेपालीहरुलाई घर बाहिर जान बन्देज थियो । यो वर्ष भने खुला छ । सोहीकारण आन्तरिक गन्तब्यमा भरिभराउ यात्रु रहेका छन् । आज पोखरा, सौराहा, धुलिखेल, नगरकोटलगायत गन्तब्यमा लाखौं आन्तरिक पर्यटक पुग्ने गर्छन् । नयाँ वर्षको पहिलो दिन मन्दिरमा पूजाआजामा गएर भगवानसँग प्रार्थना गर्नेहरु समेत उत्तिकै हुन्छन् ।

  • धरहराको वैशाख ११ गते उद्घाटन हुने

    धरहराको वैशाख ११ गते उद्घाटन हुने

    काठमाडौं । भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते उद्घाटन गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धराहरा उद्घाटन गर्दैछन् । धरहरा पुनर्निर्माणका क्रममा पहिलो चरणमा टावर मात्र खडिएको हो । सो भागको उद्घाटन हुने छ ।

    नेपाल पुनर्निर्माण प्राधिकरणले धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको प्राधिकरणको भनाई छ । गजुर केही दिनभित्रै राखिएसँगै टावर तयार हुनेछ ।

    २०७२ वैशाख १२ को भूकम्पले यो ऐतिहासिक सम्पदा ढलेको थियो । उक्त घटनामा थुप्रै मानिस मारिएका थिए । सोहीकारण शोकको दिन कार्यक्रम गर्नु उचित नहुने भन्दै सरकारले वैशाख ११ मै उद्घाटन गर्न लागेको हो । धरहरामा पार्किङ र बगैँचातर्फको काम भने तत्काल सकिने छैन ।


    गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा राखिदैछ ।

    धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बनेको छ । भित्र भने अत्याधुनिक सुविधासम्पन्न बनाइएको छ । बाहिरबाट ११ तला देखिने यो धरहरा अब २२ तलाको भनेको छ । धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट राखिएको छ ।

  • आज घोडे जात्र पर्व मनाईंदै

    आज घोडे जात्र पर्व मनाईंदै

    काठमाडौं । नेपालमा आज घोडे जात्रा पर्व मनाईंदै छ । हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्छ । यस दिनको उपलक्ष्यमा नेपाली सेनाले विशेष कार्यक्रम तथा प्रदर्शनी आयोजना गर्छ । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै एक तिहाइ पाहुनालाई मात्र बोलाएर कार्यक्रम गर्न लागिएको सेनाले जानकारी गराएको छ ।

    राष्ट्रपतिसहित उच्च पदस्थ अधिकारी घोडेजात्रा अवलोकनमा पुग्ने छन् । किंवदन्तीअनुसार काठमाडौंको टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खान्थ्यो । पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर राक्षसलाई मारेका थिए ।

    राक्षसको प्रेतात्मा फेरि जागेर बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरहेपछि हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनविश्वास छ ।

    राससका अनुसार शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा समेत दिने प्रचलन रहेको छ ।

  • हरिद्धारमा पूर्वराजालाई विशेष सम्मान दिईंदै

    हरिद्धारमा पूर्वराजालाई विशेष सम्मान दिईंदै

    काठमाडौं । भारतको हरिद्वारमा कुम्भ मेला जारी छ । यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विशेष सम्मान दिईंदै छ । ज्ञानेन्द्र शाही स्नानमा सहभागी हुनेछ । त्यसक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका लागि विशेष रथको व्यवस्था गरिने भएको हो ।

    नेपाली संचारमाध्यमहरुका अनुसार श्रीपञ्चायती निरन्जनी अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको निमन्त्रणमा उनी हरिद्धारमा शाही स्नानमा सहभागी हुन लागेका हुन् ।

    मेला आयोजनास्थलबाट गंगातटको शाही स्थानस्थलसम्म जान पूर्वराजा शाहलाई यस्तो व्यवस्था गरिएको छ । शाहको रथ आचार्य महामण्डलेश्वर गिरी र आनन्द अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी बालकानन्द गिरीको रथको पछि रहने संचारमाध्यमले जनाएका छन् ।

    मेलामा अखडाका पीठाधीश र विशिष्ट व्यक्तिहरू शाही स्नानस्थलसम्म जान विशेष किसिमले सजाइएको रथ प्रयोग गर्ने परम्परा रहेको छ । पूर्वराजा दम्पती आइतबार साँझ आचार्य महामण्डलेश्वरले दिने विशेष रात्रिभोजमा सहभागी हुने भएका छन् । मेलामा सहभागी हुन पूर्वराजा शाह र पत्नी कोमल बिहीबार नै दिल्ली पुगिसकेका छन् । दम्पत्ति शनिबार हरिद्वार जाने कार्यक्रम रहेको छ ।

  • कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ

    कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ

    काठमाडौं । कलाकार दीपाश्री निरौलासहितको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ परेका छन् । साइबर ब्युरोले कलाकारहरूको फेसबुक अकाउण्ट ह्याक गरेको अभियोगमा पर्सा बहुदजरमाई नगरपालिका ५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

    निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने उजुरी प्रहरी समक्ष पुगेको थियो । प्रहरीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर पर्साबाट पक्राउ गरेको हो। उनी जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

  • मनकामना केवलकार ६ दिन बन्द हुने

    मनकामना केवलकार ६ दिन बन्द हुने

    चितवन । मनकामना केबुलकार ६ दिनसम्म बन्द हुने भएको छ । यो केवलकार परियोजनालाई अत्याधुनिक प्रविधिमा स्तरोन्नति गर्ने कामका लागि २५ चैतबाट ३० गतेसम्म बन्द हुन लागेको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको काम अनुसार बुल ह्विल बेरिङ नयाँ फेरिने भएको छ ।

    बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । ३१ चैतबाट भने केवलकार पुनः संचालनमा आउने भएको छ । उक्त अवधिभर चितवनको इच्छाकामना–४ चेरेसस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालनमा रहने भएको छ ।

    २३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबुलकार एनालगबाट डिजिटल प्रविधिमा लैजाने तयारी छ । गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

    पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिने छ । दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने भएको छ ।

  • आज तराईमा खेलिँदैछ होली

    आज तराईमा खेलिँदैछ होली

    जनकपुर । आज तराई भेगमा फागु (होली) को उत्सव मनाइदैछ । आइतबार पहाड र हिमालमा मनाइएको होली सोमबार भने तराई तथा मधेसका जिल्लामा मनाउन लागिएको हो । होलीका अवसरमा केन्द्र सरकारले सोमबार तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

    आइतबार पहाडी र हिमाली भेगमा बिदा थियो । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ नामबाट यो पर्व मनाइन्छ । तराईमा समेत होलीको अवसरमा शान्ती सुरक्षा कायम राख्न उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । सरकारले यो पटक औपचारिक कार्यक्रम भने आयोजना नगर्न भनेको छ ।

  • होलीको दिन ट्राफिक नियम मिच्ने १ हजार भन्दा बढी सवारी चालक कारवाहीमा

    होलीको दिन ट्राफिक नियम मिच्ने १ हजार भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । होली पर्वको दिन ट्राफिक नियम मिचेर सवारी चलाउने १ हजार भन्दा बढी सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसर यो आंकडा उपत्यकाभित्र गरिएको चेकजाँचको मात्र हो । आज बिहानै देखि काठमाडौंमा प्रहरीले चेकजाँच कडा पारेको थियो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्राफिक नियम मिच्ने दुई पाङ्ग्रे ९ सय ५० र ५० वटा चारपाङ्ग्रे सवारी साधनका चालक कारवाहीमा परेका छन् । यसमध्ये ५१ जनाले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ ।

    मोटर साइकलमा दुई भन्दा बढी जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालक बढी कारवाहीमा परेका छन् । कारवाहीमा पर्ने अधिकांश युवा युवति छन् ।

    यस बर्षको होलीमा अप्रिय घटनाहरु भने नभएको प्रहरीले जनाएको छ । सरकारले भिडभाड नगर्न भनेपनि बसन्तपुरमा भने एकै स्थानमा ठूलो जमात भेला भई होली मनाएको छ । यद्दपी सडकमा ठूला औपचारिक कार्यक्रम भने आयोजना भएनन् ।

  • मह जोडीले पाए महामुर्खको उपाधि

    मह जोडीले पाए महामुर्खको उपाधि

    जनकपुर । हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) ले महामुर्खको उपाधि पाएका छन् । मिथिला नाट्य परिषद्ले हरेक वर्ष होली पर्वमा यो उपाधि दिने गर्छ । यो वर्षको महामुर्खको उपाधि महजोडीलाई दिइएको हो । आइतबार जानकी मन्दिर प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी उपाधि प्रदान गरियो ।

    परिषद्ले यो वर्षको मुर्ख शिरोमणीको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई दिएको छ । चित्रकार एसपी सुमनलाई तरघुस्का, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीलाई पटमुर्ख, जनता समाजवादी पार्टीका नेता राजिव झालाई बंशकुरहरि, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई बैशाखानन्द, सञ्चार उद्यमी शंकर साहलाई मुसरीलाल उपाधि दिइएको परिषद्ले जनाएको छ ।

    शिक्षक संघ प्रदेशका अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, वरिष्ठ पत्रकार शितल साहलाई ढोरबा, मोडेल कलेजका संचालक वीरेन्द्र साहलाई लोरहाशंकर, हरित अभियानी सुरेश शर्मालाई हराशंख, साहित्यकार एवं पत्रकार अशोक दत्तलाई बोलानन्द, महिला नेतृ बिन्दु ठाकुरलाई खापसुरती, प्रशिक्षक बिरेन्द्र कर्णलाई बज्रकटि, डा. सुजित झालाई सिलौटानन्द उपाधि प्रदान गरियो ।

  • कोरोना त्रासले ‘फिक्का’ बनाईदियो यो वर्ष पनि होली, वसन्तपुरमा देखियो सुनसान

    कोरोना त्रासले ‘फिक्का’ बनाईदियो यो वर्ष पनि होली, वसन्तपुरमा देखियो सुनसान

    काठमाडौं । यो वर्षको होलीपनि कोरोना त्रासले नै फिक्का बनाईदिएको छ । यस वर्षको फागुमा त कोरोना त्रास कम होला र धुमधामसँग पर्व मनाउन पाइएला भन्ने थियो, तर अवस्था पुनः त्रासपूर्ण हुन गएको छ।

    हरेक वर्ष होलीको दिन पाइला टेक्नसम्मको ठाउँ नहुने वसन्तपुर यो वर्ष मा खासै भिडभाड देखिन्न । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण यस पटक पनि बढ्दै गएपछि देशको विभिन्न ठाँउमा यसको असर देखिएको छ ।

    हरेक वर्ष काठमाडौंको प्राय सबै चोकमा एक हप्ता अघि नै आउने होलीको रौनक यो वर्ष भने होलीकै दिनपनि कमै देखिएको छ । गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लाका सार्वजनिक स्थानमा होली खेल्न निषेध गरेको छ । यसको प्रभाव स्वरुप वसन्तपुर सुनसन देखिएको हो ।

    यस पटकपनि मानिसहरु होली मनाउने ‘मुड’ मै देखिएनन् । विगत विगतका वर्षमा मदिरा कम्पनीको प्रायोजनमा युवा लक्षित होली कार्यक्रम गर्नेहरु पनि यसपालि थन्किएका छन्। तारे होटलले होली कार्यक्रम राखेका छैनन्।

    कोरोनाको त्रासले बजारमा पनि चहलपहल घटेको छ। पिचकारी, लोला बनाउने प्लास्टिक तथा अबिरको व्यापार यसपालि निराशाजनक रहेको व्यापारीले बताएका छन्।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड-१९ को संक्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

    काठमाडौं प्रशासनले पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ।

    बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ।

    फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।

    पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान हरिका भक्त आफ्नो छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ। उक्त षड्यन्त्रमा वरदान पाएकी भए पनि होलिका आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई केही हुँदैन। असत्यमाथि सत्यको विजयलाई हर्षोल्लासपूर्वक मनाउने पर्व नै होली हो भन्ने मान्यता छ।

  • राखी गौचनको बहुप्रतिक्षित ‘हे मन’ सार्वजनिक

    राखी गौचनको बहुप्रतिक्षित ‘हे मन’ सार्वजनिक

    न्युयोर्क

    नेपाली आधुनिक संगीतको मुख्य वजन त्यसका शब्दहरु हुन् । त्यस्तै वजनदार शब्द एवम् मनको बोली मसीमा व्यक्त गर्न माहिर गीतकार राखी गौचनद्वारा रचित नयाँ गीत “हे मन” डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको छ ।

    गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो डिजिटल बजारमा आएको हो । सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वयम गायक थापाले नै संगीतवद्द गरेका छन् भने विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

    राखी गौचनको ‘हे मन…’

    निर्देशक मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोमा
    पत्नी वियोगको कथा प्रस्तुत गरिएको छ। भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहालको जिवन्त अभिनय देख्न सकिन्छ। उत्सव दाहालले छायांकन गरेको यस भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।

  • बहराइनका राजपरिवारका सदस्यसहितको टीमले पायो सगरमाथा आरोहण अनुमति

    बहराइनका राजपरिवारका सदस्यसहितको टीमले पायो सगरमाथा आरोहण अनुमति

    काठमाडौं । बहराइनका राजपरिवारका सदस्य शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टीमले वसन्त ऋतुमा सगरमाथा चढ्न अनुमति प्राप्त गरेको छ । पर्यटन विभागले यो टोलीका लागि आरोहण अनुमति जारी गरेको हो । यस सिजनका लागि अहिलेसम्म सगरमाथा चढ्न दुई समुहले अनुमति लिएका छन् ।

    बहराइनबाट त्यहाँको डिफेन्स फोर्सका १६ जनाको टोली २ चैतमा नेपाल आएको हो । यो टोलीले यसअघि नै नेपालका दुई हिमाल चढिसकेको छ । बहराइनी आरोही समूह १६ जनाको भएकाले दुई समूह बनाएर अनुमति दिइएको छ । एक आरोही समूहमा बढीमा १५ सदस्य रहने प्रावधान अनुसार दुई समुह बनाइएको विभागले जनाएको छ ।

    वसन्त ऋतुमा सगरमाथा चढ्न अहिलेसम्म ७ टोलीले अनुमति लिइसकेका छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लु र नुप्से हिमालका लागि सात आरोही समूहका ६१ आरोहीले अनुमति पाएका हुन् ।

  • दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक

    दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक

    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीले सार्वजनिक रुपमा होली मनाउन रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतका विभिन्न राज्यमा प्रतिवन्ध शुरु भएका छन् । यसै क्रममा नयाँ दिल्लीमा सार्वजनिक स्थानमा होली, सबै प्रकारको विवाह उत्सव तथा नवरात्रिको उत्सव मनाउन समेत रोक लगाइएको छ । दिल्ली आपतकालिन प्रवन्धन प्राधिकरण (डीडीएमए)ले औपचारिक आदेश जारी गर्दै यस्तो जानकारी गराएको छ ।

    भारतमा बढेको संक्रमणको जोखिम नेपालमा समेत उत्तिकै रहेको छ । यद्दपी नेपाल आउन पिसिआर रिर्पोट भने अनिवार्य गरिएको छ । दिल्ली सरकारले महामारी नियन्त्रणमा गंभीर हुनुपर्ने भन्दै यस्तो आदेश जारी गरेको बताएको छ ।

    दिल्लीको सार्वजनिक जग्गा, पब्लिक ग्राउन्ड, पार्क, बजार या धार्मिक स्थानमा सार्वजनिक उत्सव, भिडभाड तथा उत्सव मनाउन रोक लगाइएको जनाइएको छ । यो आदेश पालना गराउन प्रहरी खटिने भएको छ । आदेश उल्लंघन गर्नेहरुमाथि कडा कारवाही गर्नै चेतावनी समेत दिइएको छ । दिल्लीमा मंगलवारमात्र ११ सय नयाँ संक्रमित पुष्टी भएको छ ।

  • नेपालमा आजबाट गैंडा गणना थालिने

    नेपालमा आजबाट गैंडा गणना थालिने

    काठमाडौं । नेपालमा आजबाट एक सिंगे गैंडाको गणना थालिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले यस कार्यको शुभारम्भ गर्ने कार्यक्र छ । उनले त्यहाँ वनदेवीको पूजा गर्ने कार्यक्रम रहेको जनाइएको छ । नेपालमा चार वटा निकुञ्जमा एक सिंगे गैंडा पाइन्छ । त्यसमध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

    गणनाको नेतृत्व चितवन निकुञ्जले गर्दैछ । यस कार्यमा ३ सय भन्दा बढी मानवीय जनशक्ति र ६० वटा हात्तीसहितको टोली खटिने छ । चितवनमा मात्र २०० सय बढी मानवीय जनशक्ति र ४० वटा हात्ती खटिने छन् ।


    चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बर्दिया र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गैंडाको गणना हुने छ । यसअघि नेपालमासन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडाको गणना भएको छ । पछिल्लो गणनामा अनुसार देशभर ६सय ४५ वटा गैंडा फेला परेका थिए ।

  • अस्ट्रेलियन सुन्दरी  मोडेल म्यानटिन अभिनित ‘सुस्तरी’ सार्वजनिक (भिडियोसहित)

    अस्ट्रेलियन सुन्दरी मोडेल म्यानटिन अभिनित ‘सुस्तरी’ सार्वजनिक (भिडियोसहित)

    मेलबर्न । अस्ट्रेलियाकी चर्चित मोडेल भिक्टोरिया म्यानटिन पहिलोपटक नेपाली म्युजिक भिडियोमा देखिएकी छिन । अस्ट्रेलियामा बसेर फिल्ल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले ‘सुस्तरी’को भिडियोमा अस्ट्रेलियन मोडेल म्यानटिनलाइ पर्दामा उतारेका हुन् ।

    सुस्तरीको भिडियोलाइ अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायांकन गरिएको छ । जसमा निर्देशक गिरीको प्रसस्तै निर्देशकीय कला देख्न सकिन्छ । निर्देशक गिरी लामोसमय देखि अस्ट्रेलियाको मेलबर्नमा बसेर सक्रिय रुपमा काम गर्दै आएका छन् ।

    उनले धेरै अंग्रेजी सर्ट फिल्म र टी भी शोहरुको निर्देशन गरेका छन् । उनले नेपाली भिडियोमा समेत प्रसस्त उपस्थिति देखाएका छन् । सुस्तरीमा पहिलो नेपाल आइडलमा टप ५ की गायिका सुजाता पाण्डेको शब्द संगीत र स्वर रहेको छ । भिडियोलाइ एजी फिल्म अस्ट्रेलियाबाट सार्वजनिक गरिएको हो ।

  • आरोहण सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिँदै

    आरोहण सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिँदै

    काठमाडौं । यो वर्ष आरोहण सिजनलाई सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिने भएको छ । आपतकालिन समयमा आरोही तथा सहयोगीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयले काजमा डाक्टर खटाउने भएको छ । पर्यटन विभागका अनुसार सगरमाथाको आधार शिविर र नाम्चेदेखि आधार शिविरको बीचमा एक स्थानमा डाक्टर रहने छन् ।

    उनीहरुले आरोहीलाई प्राथमिक उपचार गरी तत्काल उद्दारमा सहयोग गर्ने भएका छन् । जारी सिजनका लागि आरोहण अनुमति लिने क्रम शुरु भएको छ । नेपालका सबै जसो ८ हजार मिटर भन्दा अग्ला हिमालमा अनुमती जारी हुन सक्ने अनुमान विभागले गरेको छ । यसरी डाक्टर नै फिल्डमा खटाउन लागिएको पहिलो पटक हो ।

    यो पटक कोरोना भाइरसको महामारीका बीच संसारभर मानिसहरुको आत्मविश्वास खस्किएको छ । आरोहणमा आत्मविश्वासको भूमिका निकै महत्वपूर्ण हुन्छ । विभागका अनुसार विगतमा आरोहणमा आरोहीको स्वास्थ्य अवस्थाबारे त्यति धेरै चासो राख्ने प्रचलन थिएन । यसपटक भने स्वास्थ्यमा विशेष आरोही राखिने भएको छ ।

    नेपाल आउनु अगाडि नै आरोहीले कोरोना भाइरसको परीक्षण गर्नु पर्नेछ । नेगेटिभ आएपछि मात्र नेपाल आउन पाइन्छ । नेपाल आएपछि पनि पर्यटकले अनिवार्य क्वारेन्टिनका नियम पालना गर्नुपर्छ । आरोहण अनुमति लिने बेला पर्वतारोही स्वयमःले आफू आरोहणमा जान योग्य रहेको स्वःघोषणा गर्नुपर्छ । त्यसपछि मात्र आरोहण अनुमति जारी हुन्छ ।

  • बहराइनका राजकुमारसहित फौजी टोली सगरमाथा चढ्न नेपाल आए

    बहराइनका राजकुमारसहित फौजी टोली सगरमाथा चढ्न नेपाल आए

    काठमाडौं । बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल खालिफासहित बहराइनको फौजी टोली सगरमाथा चढ्न नेपाल आएको छ । यो टोलीमा कुल १६ जना छन् । गत अक्टोवरमा नेपालका लोबुचे र मनास्लु हिमाल चढेर फर्केको टोली आगामी सिजन सगरमाथा चढ्न लागेको हो । आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर आज नेपाल आएको हो ।

    टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक छन् । टोलीले आफ्नो साथमा गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप समेत ल्याएको छ । यो खोप सहयोगस्वरुप प्रदान गर्न लागिएको हो । टोली कम्तिमा ८० दिन नेपालमा रहने भएको छ ।

  • दीप श्रेष्ठको कर्णप्रिय स्वरमा गुन्जियो ‘मायामा धेरैधेरै’ (भिडियोसहित)

    दीप श्रेष्ठको कर्णप्रिय स्वरमा गुन्जियो ‘मायामा धेरैधेरै’ (भिडियोसहित)

    काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठको कर्णप्रिय स्वरमा गुन्जिएको ‘मायामा धेरै धेरै’ बोलको गीत तयार भएको छ । गीतको भिडियोसहित यसैसाता अमेरिकाबाट सार्वजनिक गरिएको छ । अब्बल गीतकार रविन पियाको यो भिडियो अमेरिकाको टेक्सास स्थित अस्टिनमा छायाँकन गरिएको हो ।

    ‘मायामा धेरै धेरै बाँचिसके प्रतीक्षामा आँखा थकाइसके’, बोलको गीतको म्यूजिक भिडियो उत्कृष्ट बनेको बताइएको छ । गीतको भिडियोमा अमेरिकामा बसोबास गर्ने सुबेचन श्रेष्ठ र सेलिका सुनारसहित गीतकार रविन पियाको समेत अभिनय देख्न सकिन्छ ।

    अमेरिकामा नै रहेका निर्देशक बीबी फुयाँलको निर्देशन र अक्की शर्माको सम्पादनमा भिडियो बनेको छ । नेपालमा रहेका ईनेश आर पियाले यसमा ग्राफिक्सको काम गरेका छन् । छायाँकन गीतकार पिया स्वयमःले गरेका छन् ।

  • विदेशीएका युवाको कथामा हृदयस्पर्सी गीत ‘लाहुरे’ सार्वजनिक ( भिडियोसहित)

    विदेशीएका युवाको कथामा हृदयस्पर्सी गीत ‘लाहुरे’ सार्वजनिक ( भिडियोसहित)

    काठमाडौं । सुन साहिँलीपछि गौरभ पहारीको हृदयविदारक गीत ‘लाहुरे’ सार्वजनिक भएको छ । जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरभ पहारीले यो गीत बजारमा ल्याएका हुन् ।

    गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको लाहुरेमा गौरभ र लक्ष्मी बर्देवाको अभिनय रहेको छ मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ लाहुरेको भिडियोमा समेटिएको छ ।


    एसियन म्युजिकले निर्माण गरेको भिडियोलाइ काश्यप निशानले निर्देशन गरेका हुन । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

  • महाशिव रात्रीको अवसरमा गोकर्णेश्वर महादेब मन्दिरमा विषेश आरती सम्पन्न

    महाशिव रात्रीको अवसरमा गोकर्णेश्वर महादेब मन्दिरमा विषेश आरती सम्पन्न

    अमृता के सी ( रोनी )

    काठमाडौँ/गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री पर्व २०७७ को अवसरमा विशेष बागमती गङ्गा आरति सम्पन्न भएको छ।गोकर्णेश्वर बागमती गङ्गा आरति उपसमितिले हरेक महिनाको अन्तिम सोमबार गर्दै आएको बागमती गङ्गा आरति शिवरात्रिको अवसरमा भगवान शिवको पूजा आराधनाबाट सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने भएकोले विशेष बागमती गङ्गा आरतिको आयोजना गरेको बताएको छ।
    अपरान्ह ४ बजे देखि भजन किर्तन सहित आयोजना गरिएको विशेष आरतीमा तीन सय भन्दा बढी श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो।
    शिवरात्रिका लागि मन्दिर परिसरमा सरसफाइ,स्वयं सेवक परिचालन,मन्दिरमा दर्शन र पूजा गर्न आउने भक्तजनलाई सहज वातावरणको व्यवस्था लगायतको कार्य मन्दिर व्यवस्थापन समितिले गरेको थियोे।शिव रात्रिमा विशेष पूजाअर्चना साथै सन्ध्याकालीन आरती र भजन किर्तन सहित कार्यक्रममा सहभागीहरुलाई प्रसाद वितरण मन्दिर व्यवस्थापन समितिले गरेको थियो।

  • आज महाशिवरात्रि, भगवान शिवको आरधना गर्दै मनाईंदै

    आज महाशिवरात्रि, भगवान शिवको आरधना गर्दै मनाईंदै

    काठमाडौं । आज हिन्दुधर्मावलम्बीको महान पर्व महाशिवरात्रि देश तथा विदेशमा मनाईंदैछ । आराध्यदेव भगवान् शिवको पूजा–आराधनाका साथ यो पर्व मनाउने गरिन्छ । आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । भगवान शिवको मूख्य मन्दिर काठमाडौंको पशुपतिनाथसहितका देशभरका शिवालयमा भक्तजनको घुईचो लाग्छ ।

    पशुपतिनाथ मन्दिरमा मात्र १० लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । भगवान शिवको पूजा आराधनाबाट सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने विश्वास गरिन्छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन रहेको छ ।

    आज भगवान् महादेवलाई जाडो हुने जनविश्वाससहित घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तन गरिन्छ । पशुपतिनाथ दर्शनको काम आज बिहान ४ बजेदेखि शुरु भएको हो । पशुपतिका चार ढोका खोलिएको छ ।

  • महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न कसरी बस्ने लाइन ?

    महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न कसरी बस्ने लाइन ?

    काठमाडौं । यस वर्षको महाशिवरात्री पर्व बिहीबार मनाइदैछ । यस दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा भब्य मेला लाग्छ । लाखौं भक्तजन महादेवको दर्शनका लागि पशुपति मन्दिर पुग्ने गर्छन । यसको तयारी पुरा भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार यस वर्ष महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसर प्रवेश गर्न सकिन्छ ।

    कोषका अनुसार मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन बस्ने भएको छ । बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी मिलाइएको छ । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने भएको छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि उत्तर र दक्षिणबाट तीन\तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिने भएको छ ।

    कोरोना महामारीका कारण यो वर्ष मास्क अनिवार्य लगाउन भनिएको छ । यो वर्ष भारतबाट आउने तीर्थालु घट्ने भएका छन् । किनकी स्थलमार्ग अहिले पनि बन्द छ । तर, भारतबाट करिब तीन हजार साधुसन्त भने पाशुपत क्षेत्रमा आइसकेका छन् । पशुपति क्षेत्रमा मांस, मदिरा तथा नशालु पदार्थ निषेधित गरिएको छ । करीव १० हजार सुरक्षाकर्मीले त्यसमा पनि सुक्ष्म निगरानी गर्ने भएका छन् ।

  • ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको  प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त

    ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त

    लण्डन । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले बेलायती राजपदवी त्याग गरी अलग भएका छन् । उनीहरु राजदरबार छोडेर पहिला क्यानडा पुगे, त्यसपछि एक धनाढ्यको सहायतामा अमेरिका पुगेर त्यही बसोबास गरिरहेका छन् । बेलायतकी महारानी एलिजावेथका नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले यसै साता अमेरिकामा एक दिएको एक अन्तर्वाता बहुचर्चित बन्यो । जहाँ मर्केलले राजदरबारमा आफुले भोग्नु परेको पिडा र विभेदबारे खुलेर बताएकी छिन् ।

    यस अन्तर्वार्तापछि दरवारको प्रतिक्रिया नआएको भन्दै आलोचना शुरु भएको थियो । अन्ततः महारानी एलिजावेथले मुख खोलेकी छिन् । उनले राजदरबारमा भोग्नुपरेको विभेदबारे दुःख मनाउ गरेको बेलायती संचारमाध्यमले लेखेका छन् । महारानीको तर्फबाट मंगलबार विज्ञप्ति जारी गर्दै बकिङ्हम प्यालेसले ह्यारी र मेघनका लागि बितेका केही वर्ष कठिन थिए भन्ने थाहा पाएर राजपरिवार दुःखित भएको उल्लेख गरेको छ ।

    ह्यारी र मेघनले सार्वजनिक गरेको एक विषय रंगभेद थियो । राजदरवार भित्र यो जोडीबाट जन्मने बच्चा कालो रंगको हुने र उसलाई राजकुमार मान्न कठिन हुने सम्मका कुरा हुने गरेको विषय अन्तर्वार्ताका क्रममा सार्वजनिक भएको छ । यसरी बाहिरिएका विषयलाई गम्भीरतापूर्वक लिएर समाधान गरिने दरवारको भनाई छ । महारानी एलिजावेथले ह्यारी, मेघन र उनीहरूका छोरा आर्चीप्रति राजपरिवारकै सदस्यका रूपमा सधैँ माया दिइरहने समेत उल्लेख गरेकी छिन् ।

    ह्यारी र मेघनको अन्तर्वार्ता अमेरिकी टेलिभिजन च्यानल सिबिएसमा सोमबार प्रसारण भएको हो । यस क्रममा मेघनले राजपरिवार भित्र रहेको रंगभेदले आफूलाई आत्महत्या गर्ने अवस्थासम्म पुर्‍याएको बताएपछि संसारभर दरवारको विषयबारे कडा बहस जारी छ । मेघन अमेरिकी अभिनेत्री पनि हुन् । उनले सन् २०१८ मा ह्यारीसँग विवाह गरेकी हुन् ।

    मेघन अश्वेत आमाबाट जन्मिएकी हुन् । राजपरिवारमा रंगभेदबारे कुरा कसले गरेको थियो भन्ने विषय भने आफुले जिन्दगीभर नबताउने ह्यारीको भनाई छ । बिवाहपछि राजपरिवारबाट आर्थिक सहयोग नपाएपछिको पिडा समेत उनीहरुले सार्वजनिक गरेका छन् । उनीहरुले अन्तर्वार्तामा महामारी भने आफुहरुको आदर्श भएको भन्दै उनीबाट सधै माया मात्र पाएको बताएका छन् ।

  • महाशिवरात्रीमा मास्क नलगाए पशुपतिनाथ दर्शन गर्न नपाइने

    महाशिवरात्रीमा मास्क नलगाए पशुपतिनाथ दर्शन गर्न नपाइने

    काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शनमा जाने सबै जनाले मास्क अनिवार्य पहिरिनु पर्ने भएको छ । कोरोना महामारी अझै पनि जारी रहेका कारण संक्रमण फैलन नदिन यस्तो नियम बनाइएको पशुपति क्षेत्र विकास कोषको भनाई छ । अनिवार्य मास्क लगाएर आउन र मास्क नलगाए दर्शन गर्न नपाइने कोषको भनाई छ ।

    महाशिवरात्रिको तयारी पुरा भएको समेत कोषले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले यस्तो जानकारी गराएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार कोभिड महामारीको अन्त्य नभए पनि सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी गरिएको छ । शिवरात्री बिहीबार मनाइने छ ।

    ढकालका अनुसार दर्शनार्थीले अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने भएको छ । स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ । मेलालाई सुरक्षित बनाउन नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।


    नेपाल स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने छन् । मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर राखिने छ । सुरक्षाकर्मीसमेतका कुल ३० वटा स्वास्थ्य संस्थाका शिविर यहाँ राखिने भएको छ । भारतबाट करिब ३ हजारको हाराहारीमा बाबा मेलामा भाग लिन आएका छन् ।

  • सेनाका प्यारासुट टुडिखेलमा अवतरण हुन नसकेपछि….

    सेनाका प्यारासुट टुडिखेलमा अवतरण हुन नसकेपछि….

    काठमाडौं । नेपाली सेनाका प्यारासुटमा उडेर आकासबाट ग्राउण्डमा झरेका ६ जना सैनिक आज टुडिखेलको निर्धारित स्थानभन्दा बाहिर अवतरण भएका छन् । नेपाली संचारमाध्यमले जनाए अनुसार सेनाको जहाजबाट प्यारासुटसहित झरेका ६ जना सैनिक टुँडिखेल बाहिर ल्यान्ड भएका हुन् । यद्दपी यस दौरान कुनै दुर्घटना भने हुन पाएन ।

    नेपाली सेनाका अनुसार अहिले सैनिकले शिवरात्री तथा सेना दिवसको अवसर पारी हुने प्रदर्शनीका लागि रिहर्सल गरिरहेको छ । त्यस क्रममा १४ जना सेनाको जहाजबाट प्यारासुटमा उड्दै ग्राउण्डमा अवतरण हुनुपर्ने थियो । त्यसमध्ये ६ जना प्यारासुट टुँडिखेलको निर्धारित स्थानभन्दा बाहिर अवतरण भए ।

    वायुमण्डलमा हावाको गति नमिलेकाले उनीहरू निर्धारित ठाउँभन्दा बाहिर ल्यान्ड भएको बताइएको छ । टुडिखेलबाट बाहिर ल्याण्ड भएपनि सबैको स्थास्थ्य अवस्था राम्रो भएको सेनाले जनाएको छ । शिवरात्रीका अवसरमा टुडिखेलमा सेनाले विशेष प्रदर्शनी गर्दै आएको छ । यस वर्ष आगामी बिहिबार शिवरात्री परेको छ ।

  • म्युजिक भिडियोमा आकाश र सम्झनाको प्रेम (भिडियो)

    म्युजिक भिडियोमा आकाश र सम्झनाको प्रेम (भिडियो)

    काठमाडौं । गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘फूल राम्रो’ सार्वजनिक भएको छ । गीतकार कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ।

    निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ । अनिल के सीको प्रस्तुती रहेको फूल राम्रो गीतको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको ‘आफ्नो मन” च्यानलले निर्माण गरेको हो । भिडियोलाई सार्वजनिक भएको केहि समयमै दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

  • बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणमा आउने

    बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणमा आउने

    काठमाडौं । बहराइनबाट राजपरिवारका सदस्यसहितको एक टोली सगरमाथा आरोहण गर्न नेपाल आउने भएको छ । उनीहरु आगामी चैत २ मा नेपाल आउने निश्चित भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेटेका छन् । उनीहरुले सगरमाथा आरोहणका विषयमा जानकारी लिएको समेत बहराइनस्थित नेपाली राजदूतावासले उल्लेख गरेको छ ।

    आरोहण टोलीमा बहराइनको राजपरिवारका एक सदस्यसहित बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहने भएका छन् । उनीहरु विशेष विमानबाट आउने र ७९ दिन नेपालमा रहने भएका छन् । नेपालमा वसन्तु ऋतुमा सबैभन्दा धेरै सगरमाथा आरोही आउने गर्छन् ।

  • चिडियाखाना भ्रमणमा प्रधानमन्त्री, एक सिंगे गैडाको अभिभावकत्व ग्रहण

    चिडियाखाना भ्रमणमा प्रधानमन्त्री, एक सिंगे गैडाको अभिभावकत्व ग्रहण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सदर चिडियाखाना जावलाखेलमा घुमफिरमा निस्किए । उनले चिडियाखानाको करीव सबै तिर घुमे र जनवारहरुको अवलोकन गरे । सो अवसरमा उनले एकसिंगे गैंडाको अभिभावकत्व समेत ग्रहण गरे । चिडियाखानामा वन्यजन्तुको अभिभावकत्व अभियानको प्रधानमन्त्रीबाट आज शुभारम्भ गराइएको छ ।

    यस अभियान अन्तर्गत नेपाल सरकारले एक वर्षसम्म गैंडाका लागि चाहिने सबै खर्च बेहोर्नेछ । त्यसमध्ये ११ महिना सरकारको खर्च लाग्ने छ भने १ महिना प्रधानमन्त्री ओलीले व्यक्तिगत खर्च बेहोर्न प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापन गरेको २५ वर्ष पूरा भएको अवसरमा यो अभियानको थालेको हो । विश्वमै दुर्लभ प्राणी एकसिंगे गैंडाको संरक्षण गर्ने उद्देश्यले यस्तो अभियान थालिएको हो ।

    आज विश्व वन्यजन्तु दिवस समेत हो । दिवसको यस वर्षको नारा ‘जंगल र जीविकोपार्जनः प्राणी र पृथ्वीको दीर्घकालीन अवस्थिति’ राखिएको छ । विश्वका वन्यजन्तु तथा वनस्पतिको दिगो संरक्षणका लागि जनचेतना फैलाउन सन् २०१३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाबाट हरेक वर्ष मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउने घोषणा गरिएको हो ।

  • २०७८ सालमा पर्यो तीन वटा दशैं, कसरी ?

    २०७८ सालमा पर्यो तीन वटा दशैं, कसरी ?

    काठमाडौं । हिन्दु धर्मावलम्बीले विसं २०७८ मा तीन वटा दशैँ मान्नु पर्ने भएको छ । सामान्यतया चैते दशैं र मुल दशैं गरी वर्षमा दुई वटा दशैं पर्छ । तर, २०७८ सालमा भने तीन वटा दशैं परेको छ । २०७७ सालमा हुनुपर्ने चैते दशैं समेत वैशाखमा परेपछि यस्तो संयोग जुरेको हो । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेका हो ।

    वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख भएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ । विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ। बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापनासहित शुरु हुनेछ ।

    असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ। कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुने भएको छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ। चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउे प्रचलन रहेको छ ।

    वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ। असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन। यस वर्ष विसं २०७७ असोजमा मलमास परेकाले विसं २०७८ मा तीन वटा दशैँ परेको बताइएको छ ।