Category: फिचर

  • बेनी–जोमसोम सडक अवरुद्ध

    बेनी–जोमसोम सडक अवरुद्ध

    २९ वैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सिनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिए । महभिरमा सडकदेखि करिब ५०० मिटरमाथिको भिरबाट पहिरो खस्ने गरेको छ । सामान्य वर्षा हुँदाबित्तिकै लेदोसहित खस्ने पहिरोले सडक अवरुद्ध गराउनुका साथै अन्य समयमा दुर्घटनाको जोखिम बढाएको छ ।

  • नीति तथा कार्यक्रममाथि संसदमा आजबाट छलफल

    नीति तथा कार्यक्रममाथि संसदमा आजबाट छलफल

    २९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–०८४ नीति तथा कार्यक्रम सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछि सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममा छलफल सकिएपछि जेठ १५ गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ ।

  • ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

    ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

    काठमाडौँ, वैशाख २८ गते । सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि नियन्त्रण गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति तथा कार्यक्रममा सीमा नाकामा अनुहार पहिचान प्रणाली स्थापना गरिने उल्लेख छ । यस्तै, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिने नीति तथा कार्यक्रममा समावेश छ ।

    साथै, सशस्त्र प्रहरी बल नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधारसहित विशिष्टकृत सुरक्षा बलका रूपमा विकास गरिने सरकारको सङ्कल्प छ । यस्तै, सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक–सुरक्षा सम्बन्ध सुदृढ बनाइने र सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने उल्लेख गरिएको छ । बृहत् राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षासम्बन्धी नीति तथा कानुनको व्यावसायिक परिमार्जन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिने

    यसैगरी, सरकारले सुरक्षा क्षेत्रमा हुँदै आइरहेको बाह्य निर्भरता कम गर्ने सङ्कल्प लिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा नेपाली सेनालगायत सुरक्षा निकायको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

    “सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकासमार्फत व्यावसायिकता अभिवृद्धि गरिने छ । राष्ट्रिय सेवा दललाई सुदृढ गरिनेछ”, सम्बोधनमा राष्ट्रपति पौडेलले भने । ठुला विकास आयोजनाको विस्तृत परियोजना अध्ययन गर्दा राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावको समेत मूल्याङ्कनलाई अनिवार्य गरिने नीति कार्यक्रममा जनाइएको छ । रासस

  • एसईई परीक्षाको नतिजा सार्वजनिक

    एसईई परीक्षाको नतिजा सार्वजनिक

    भक्तपुर, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार यस वर्ष देशभरबाट सहभागी भएका कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन्।

    ग्रेडगत विवरण

    नतिजाको विश्लेषण गर्दा सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ। त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना रहेका छन्।

    अन्य ग्रेड समूहको विवरण निम्नुअनुसार छ

    २.८० देखि ३.२० जीपीए ः ९४,२२२ जना

    २.४० देखि २.८० जीपीएः ५५,९७७ जना

    २.०० देखि २.४० जीपीए ः ५,१९० जना

    १.६० देखि २.०० जीपीए ः ७ जना

    १ लाख ४६ हजारको (एनजी) यस वर्षको नतिजामा १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थीले एनजी प्राप्त गरेका छन्। एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ। बोर्डका अनुसार दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिनेछ भने सोभन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको नतिजा विगतका वर्षहरूको तुलनामा सन्तोषजनक रहेको र शिक्षाको गुणस्तर सुधारोन्मुख देखिएको दाबी गरेको छ।

  • एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

    एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

    काठमाडौँ, वैशाख २८ गते । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने बताए । साथै पाठ्यक्रमलाई समयसापेक्ष बनाउँदै विद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र रोजगारमुखी बनाइने बताए ।

    उनले सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्ने तथा तथा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थालाई सेवामुखी र गुणस्तरकेन्द्रित बनाउन आवश्यकताअनुसार नियमन गरिने बताए । नयाँ शिक्षा योजनाअन्तर्गत इलर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सिकाइ प्रणाली विस्तार गरिने भएको बताए ।

    उच्च शिक्षालाई श्रम बजारसँग जोड्ने रणनीतिअनुसार विश्वविद्यालयहरूको प्राज्ञिक तथा शासकीय पुनर्संरचना सरकारको नीति रहेको समेत उनले बताए । उनले विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरबन्दी मिलान, पुस्तकालय र प्रयोगशाला सुधारलाई एकीकृत योजनामार्फत कार्यान्वयन गरिने बताए ।

  • पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

    पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

    काठमाडौँ, वैशाख २८ गते । सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत नीति तथा कार्यक्रममा माध्यमिक तहसम्मको शिक्षालाई सहज पहुँचयोग्य बनाउने सङ्कल्प गरिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा रोजगारीमुखी शिक्षाको विस्तार, सार्वजनिक शिक्षामा लगानी वृद्धि गरी शिक्षाको नियमन, कृत्रिम बुद्धिमता र सूचना प्रविधिको प्रयोग विस्तारका विषय पनि समावेश गरिएका छन् ।

    यस्तै, विश्वविद्यालयको पुनःसंरचना, शिक्षक नियुक्ति र बढुवालाई पारदर्शी बनाउँदै शिक्षकको पारिश्रमिक बढाइने र १० हजार सामुदायिक विद्यालयमा उच्च गतिमा इन्टरनेट विस्तार गर्ने प्रतिबद्धता पनि गरिएको छ । रासस

  • गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने

    गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने

    काठमाडौँ, वैशाख २८ गते ।सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तरराष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका आगामी आवको नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरिएको हो ।

    सरकारले धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनःसंरचना गर्दै धितोपत्र बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचुअल फन्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ। ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरणको प्रयोग गरी दीर्घकालीन पुँजी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

  • स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने

    स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने

    काठमाडौँ, वैशाख २८ गते । सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गर्ने घोषणा गरेको छ । आज सङ्घीय संसद्का दुवै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो । यस्तै, मुलुकको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा लागत प्रभावकारी र नागरिकमैत्री बनाउने गरी सबै स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुच सुनिश्चत गरिने छ ।

    सामुदायिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता सङ्ख्या र सेवा दायरा विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ‘टेलिहेल्थ’मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेष परामर्श सेवा उपलब्ध गराइने, रोग निगरानी र नियन्त्रणका लागि ‘सेन्टर फर डिजिटल कन्ट्रोल’ तथा स्वास्थ्य सेवा गुणस्तर बनाउका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायोजन प्राधिकरण गठन गरिने उल्लेख छ ।

    यस्तै, सङ्घीय तहमा जैविक अध्ययन र महामारी नियन्त्रण क्षमता बढाउनका लागि राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने छ । क्यान्सर तथा नसर्ने रोगको नियन्त्रण र रोकथामका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिने पनि उल्लेख छ ।

    यसैगरी मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा मान्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन, योग, ध्यान र सामुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार तथा प्रवर्द्धन गरिने विषय पनि कार्यक्रममा समावेश छ । साथै, अत्याधुनिक अपाङ्गता पुनःस्थापना केन्द्रको स्थापना तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

  • राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री उठेर हिँडेको प्रति एमालेको आपत्ति

    राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री उठेर हिँडेको प्रति एमालेको आपत्ति

    २८ वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री बालेन शाहले बैठक छोडेर हिंडेकोप्रति आपत्ति जनाएको छ । आजै बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री शाह बीचमै उठेर हिंडेका थिए । उनले बीचमै छाडेर हिंड्नुप्रति आपत्ति जनाउँदै एमालेका सांसद गुरु बरालले नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको स्वामित्व के हुने भन्दै प्रश्न गरे ।

    ‘राष्ट्रपतिज्यूले नीति र कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । देशको प्रधानमन्त्रीज्यू जसले यो टेबुल गर्ने प्रक्रियामा हुनुहुन्थ्यो । उहाँले बीचैमा बहिष्कार गरेर हिंड्नुभएको हामीले देख्यौं,’ सांसद बरालले भने, ‘यसले यो नीति र कार्यक्रमप्रतिको उहाँको अनरसिप (स्वामित्व) के हो ? यो संसद्ले बुझ्न चाहन्छ ।’

    साथै, बैठक चलेको सुरुको १५ मिनेटसम्म प्रधानमन्त्री बालेनले के गरिरहेको ? भन्दै उनले प्रश्न पनि गरे । उनले सुरुको १५ मिनेट रेकर्डबाट हटाउन पनि सभामुखसमक्ष माग गरे । ‘बैठक चलिरहेको छ । बैठकमा निश्चित मर्यादा हुन्छन् । राष्ट्रपतिज्यूलेका सम्बोधनको करिब १५ मिनेट फ्रन्ट लाइनमा बसेर के संवाद र छलफल गरिरहनुभएको थियो ?,’ उनले भने, ‘यो संसदीय मर्यादाले नसुहाउने कुरा भएकाले त्यो रेकर्डबाट डिलिट गरियो भने पछिका लागि नजिर बस्नेछ ।’

  • आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

    आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

    २८ वैशाख, काठमाडौं । काठमाडौँ, वैशाख २८ गते । सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४) को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न उर्जा, वन, भूमि र वातावरणसम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागु गरिने बताए ।

    उनले विद्युत् उत्पादन, वितरण, प्रशारण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने बताए । उनका अनुसार ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ । उनले अन्तरदेशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालिन लगानी आकर्षित गर्ने माध्यम बनाइने पनि बताए ।

  • सरकारले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

    सरकारले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

    २८ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३\८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धि हाँसिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याएको छ । जसमा पूर्वाधार विकास र सूचना प्रविधिको प्रयोगलाई जोड दिने भनिएको छ । सरकारले सडकका ठूला परियोजनाको निर्माण निरन्तर गर्ने भनेको छ ।

    सरकारको नीति तथा कार्यक्रम-२०८३

    सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले

    सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

    गर्नुभएको सम्बोधन

    नेपाल सरकार

    २०८३

    प्रतिनिधि सभाका सम्माननीय सभामुख,

    राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,

    सङ्घीय संसद्का माननीय सदस्यहरू,

    सम्वत् २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपश्चात् जनताबाट प्राप्त स्पष्ट जनादेशसहित गठन भएको सरकारका तर्फबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु। नेपालको लोकतान्त्रिक आन्दोलनका प्रेरणाका अग्रजलाई स्मरण गर्दै नागरिक सर्वोच्चता, स्वतन्त्रता, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक रूपान्तरण र जनउत्तरदायी शासन प्रणाली स्थापनाको आकाङ्क्षासहित २०८२ भदौ २३ र २४ गते युवापुस्ताको ऐतिहासिक सहभागितामा भएको आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने नागरिक तथा राष्ट्रसेवक एवम् लोकतन्त्र, स्वतन्त्रता र परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्नुहुने ज्ञात-अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा घाइते हुनुभएका सम्पूर्ण योद्धाहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु । उहाँहरूको बलिदान यस राष्ट्रका लागि चिरस्मरणीय र प्रेरणाको अक्षय स्रोत बनिरहने छ। उहाँहरूको त्याग, साहस र बलिदानलाई परिणाममुखी शासनमार्फत सार्थक बनाइने छ भन्नेमा विश्वस्त छु।

    माननीय सदस्यहरू,

    १. निर्वाचनपछि प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त एउटै राजनीतिक दलको नेतृत्वमा सरकार गठन हुनु मुलुकका लागि राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारको ऐतिहासिक अवसर हो। सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउने छ । सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी “संविधान संशोधन बहस पत्र” तयार गरिने छ। सरकारले अघि सारेका शासकीय सुधारका एक सय कार्यसूचीलाई पूर्ण कार्यान्वयनको सुनिश्चितता गर्दै निरन्तरता दिइने छ।

    २. नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न आगामी दशक औसत वास्तविक आर्थिक वृद्धि दर सात प्रतिशत पुग्ने गरी “नयाँ चरणको आर्थिक सुधार शृङ्खलाू अन्तर्गत बृहत् कानुनी र संस्थागत सुधार गरिने छ। उत्पादन लागत घटाउन, व्यवसाय गर्ने वातावरण सरल बनाउन, नीतिगत तथा कानुनी अवरोध हटाउन, र स्वदेशी, विदेशी तथा प्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको आधारभूत पुनर्संरचना गरिने छ। दीर्घकालसम्म स्थिर र पूर्वानुमानयोग्य आर्थिक नीति कायम रहने व्यवस्था गर्दै राष्ट्रिय विकास प्राथमिकता, आयोजना छनोट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने सक्षम संस्थागत संयन्त्र निर्माण गरिने छ। साथै प्राथमिकताका सबै क्षेत्रको क्षेत्रगत नीति तयार गरी कार्यान्वयन गरिने छ।

    ३. सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित, पारदर्शी र राजस्व चुहावटमुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने छ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाइने छ। स्वेच्छिक कर अनुपालन, प्रविधिमैत्री राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणालीमार्फत राजस्व प्रणालीलाई उद्यममैत्री बनाइने छ।

    ४. विभिन्न देशसँग दोहोरो कर मुक्ति सम्झौता विस्तार गरिने छ। प्रदूषण, पूर्वाधार र अन्य छरिएका शुल्कलाई क्रमशः एकीकृत ूहरित कर प्रणालीू मा रूपान्तरण गर्ने नीति अवलम्बन गरिने छ। भन्सार नाकामा न्यून बिजकीकरण नियन्त्रण गरिने छ। मूल्य अभिवृद्धि लगायत सबै करको फिर्ता गर्ने प्रणाली स्वचालित र समयबद्ध बनाइने छ।

    ५. सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना गर्दै जोखिममा आधारित नियमन, सुपरीवेक्षण र अभियोजन प्रणाली लागु गरिने छ। सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिने छ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिने छ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिने छ।

    ६. पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिने छ। धितो पत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्सरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिने छ। ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गरिने छ।

    ७. वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको नयाँ मोडेल लागु गरिने छ। वैदेशिक सहायता, ऋण र निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गरिने छ। रूपान्तरणकारी आयोजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कडा समय सीमासहित अघि बढाइने छ। आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता, डिजिटल प्रगति ट्रयाकिङ, जग्गा प्राप्ति र वनसम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नगर्ने व्यवस्था गरिने छ।

    ८. सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थान सुधार, खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिइने छ। सार्वजनिक संस्थानको वर्गीकरण गरी गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने, रणनीतिक साझेदार भित्र्याउने वा विनिवेश गर्ने स्पष्ट नीति लागु गरिने छ।

    ९. “सीमारहित अर्थतन्त्रू र ूतौलरहित व्यापार” लाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात् गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत्, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकीकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने छ।

    १०. श्रम-निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान, सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरिने छ। अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिई विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाइने छ। निर्यात प्रतिस्पर्धात्मकता अभिवृद्धि, बजार विविधीकरण, एकीकृत व्यापार रणनीति र औद्योगिक लजिष्टिक गुरुयोजना कार्यान्वयन गरिने छ।

    ११. सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्प्युटेसन निर्यातलाई प्रवर्धन गरिने छ। डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबका रूपमा अघि बढाइने छ। सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण, सरकारी सह लगानी सहित अनुसन्धान तथा नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइने छ।

    १२. व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म तिस दिनभित्र सम्पन्न गर्ने “लगानी एक्सप्रेस नीति लागु गरिने छ। विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरिने छ। नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई “नेपाल लगानी भिसा” उपलब्ध गराइने छ।

    १३. विशेष आर्थिक क्षेत्रहरूको विस्तार तथा साझा पूर्वाधारसहित ूऔद्योगिक ग्रामू स्थापना गरिने छ। ग्रिन गार्मेन्ट भिलेज, सूचना प्रविधि पार्क, कृषि उत्पादन केन्द्र लगायत उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्रहरूको विकास गर्दै त्यस्ता क्षेत्रलाई औद्योगिक पर्यटनसँग आबद्ध गरिने छ। “स्टार्टअप नेपाल पोर्टलू मार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट, बिउ पुँजी लगायतका सेवा प्रदान गरिने छ।

    १४. ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील पेसाको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिने छ। उत्पादन वृद्धि, लागत न्युनीकरण, आयात प्रतिस्थापन र खाद्यान्न आत्मनिर्भरताका लागि नीतिगत सुधार, ूप्याकेजमा आधारित उत्पादन प्रणालीू, यान्त्रिकीकरण, डिजिटल प्रविधि तथा एग्रिटेक मार्फत कृषि आधुनिकिकरणलाई तीव्रता दिइने छ। विशिष्टीकृत उत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग, प्रशोधन र बजारसँग जोड्दै वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई कृषि उद्यममा आकर्षित गरिने छ।

    १५. बाली लगाउनुअघि नै प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रूपमा कार्यान्वयन गरिने छ। समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैँक खातामा जम्मा हुने व्यवस्था मिलाइने छ। न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गरिने छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सक्षम बनाइने छ।

    १६. सार्वजनिक-निजी साझेदारीमा कृषि कम्पनी र सञ्जाल स्थापना गरी उत्पादनपछिको क्षति न्युनीकरण र आपूर्ति शृङ्खला सुदृढ गरिने छ। गुणस्तर मापदण्ड र प्रमाणीकरणसहित विश्व पहिचान गरिएका उत्पादनलाई भण्डारण, ब्रान्डिङ र स्तरीकरणमार्फत निर्यात प्रवर्धन गरिने छ। विषादीको आयात तथा प्रयोगको नियमन सुदृढ गर्न सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय गरिने छ। प्रमुख कृषि उपज बजार र भन्सार विन्दुमा विषादी जाँच गर्न अन्तर्राष्ट्रिय प्रत्यायनयुक्त प्रयोगशालाहरू विकास, विस्तार र सञ्चालन गरिने छ।

    १७. कृषियोग्य जमिन बाँझो रहने प्रवृत्तिलाई निरुत्साहित गर्दै भूमि बैँक प्रणालीमार्फत बाँझो जमिनलाई उत्पादन कार्यमा उपयोग गर्न युवा, महिला, भूमिहीन तथा साना तथा सीमान्तकृत किसानको पहुँच सुनिश्चित गरिने छ। किसान सूचीकरण, परिचयपत्र र क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिने छ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिने छ।

    १८. नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिने छ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइने छ। भूमिको स्वामित्व र उपयोगबिच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोवास गर्ने, भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीको समस्याको दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोवासको व्यवस्थापन गरिने छ।

    १९. माटोको स्वास्थ्य सुधार गर्न जैविक एवम् प्राङ्गारिक मलमा अनुदानको व्यवस्था गर्दै जैविक विविधता संरक्षण र रैथाने बाली प्रवर्धन गरिने छ। उत्पादनदेखि उपभोगसम्म सम्पूर्ण खाद्य प्रणालीलाई उत्त्थानशील बनाइने छ। बिमा, पशुस्वास्थ्य सेवा र व्यावसायीकीकरणमार्फत पशुपालन क्षेत्र सुदृढ गरिने छ। जलाधार संरक्षण, वातावरणीय कृषि प्रणाली र प्रविधिमार्फत कृषि क्षेत्रलाई हरित अर्थतन्त्रसँग जोडिने छ।

    २०. खोरेत तथा पशुपक्षीमा लाग्ने अन्य रोगको नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरी अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिने छ। साना किसानका लागि बाली तथा पशुधन बिमाको दायरा विस्तार गरी बिमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दाबी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिने छ।

    २१. दिगो वन व्यवस्थापनमार्फत काठ, जडीबुटी, आयुर्वेदिक औषधी, कार्बन व्यापार, पर्यटन तथा बिमामा आधारित उद्योगको विकास गरी अर्थतन्त्रमा वन क्षेत्रको योगदान अभिवृद्धि गरिनेछ। जडीबुटी प्रशोधन, मूल्य अभिवृद्धि र निर्यातलाई प्राथमिकता दिइने छ।

    २२. चरन क्षेत्र विकास, पशुपालन र वनमा आधारित जीविकोपार्जन प्रवर्धन गर्दै वन क्षेत्रका स्रोतहरूको वैज्ञानिक उपयोग गरिने छ। वन क्षेत्रभित्र रहेका स्याउला, सोत्तर तथा मिचाहा वनस्पतिलाई स्थानीय समुदाय र निजी क्षेत्रको संलग्नतामा उपयोग गरी प्राङ्गारिक मल, ब्रिकेट र बायोचार उत्पादन प्रवर्धन गरिने छ।

    २३। “नेपाल कार्बन प्राधिकरण” गठन गरी रेड(प्लस कार्यक्रम विस्तार गरिने छ। सामुदायिक वन समूहलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ सुनिश्चित गरिने छ। नीतिगत सुधारमार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गरिने छ।

    २४. “वन डढेलो उच्च सतर्कता केन्द्र” स्थापना, निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गरिने छ। ड्रोन, स्याटेलाइट लगायत आधुनिक प्रविधिमार्फत डढेलो, वन अतिक्रमण तथा अवैध क्रियाकलापको रियल(टाइम निगरानी गरिने छ।

    २५. मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षतिपूर्ति, पूर्व सूचना प्रणाली, रोकथाम संरचना, तटबन्धी, स्थानान्तरण र वैकल्पिक बाली प्रवर्धन जस्ता उपाय कार्यान्वयन गरिने छ। राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापन गरी दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको वासस्थान संरक्षण गरिने छ। चुरे क्षेत्रमा एकीकृत संरक्षण, जल पुनर्भरण तथा वैज्ञानिक उत्खनन लागु गरिने छ।

    २६.वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति र वनसम्बन्धी अनुमति प्रक्रियालाई इ-पोर्टलमार्फत सरलीकृत गर्दै पूर्वाधार विकास र वातावरण संरक्षणबिच सन्तुलन कायम गरिने छ। वायुगुणस्तर सुधार, स्वच्छ प्रविधि प्रवर्धन र प्रदूषण नियन्त्रण गरिने छ। काठमाडौँ उपत्यका वायुगुणस्तर सुधार कार्ययोजना अद्यावधिक गर्दै राष्ट्रिय वायुगुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन गरिने छ। परम्परागत इँटा उद्योगलाई स्वच्छ प्रविधिमा रूपान्तरण गरिने छ।

    २७. वायुप्रदूषण न्युनीकरण, जलवायु अनुकूलन र दिगो सहरी वातावरण व्यवस्थापनका लागि बहुपक्षीय समन्वयमा कार्यान्वयन प्रणाली सुदृढ गरिने छ। सीमापार प्रदूषण नियन्त्रणका लागि द्विपक्षीय तथा क्षेत्रीय सहकार्य सुदृढ गरिने छ।

    २८. अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच वृद्धि गर्दै वन, कृषि, ऊर्जा र जैविक विविधतामा आधारित हरित अर्थतन्त्रलाई टेवा दिइने छ। “हरित वित्त ढाँचा” विकास गरी जलविद्युत् लगायत हरित पूर्वाधारमा अन्तर्राष्ट्रिय सहुलियतपूर्ण वित्त आकर्षण गरिने छ। “नेट जिरो २०४५” प्रतिबद्धता कार्यान्वयनका लागि क्षेत्रगत लक्ष्य र समय सीमासहितको राष्ट्रिय कार्ययोजना लागु गरिने छ।

    २९. नेपालका नदीहरूलाई केवल जलस्रोत मात्र नभई सभ्यता, संस्कृति, जैविक विविधता र मानव अस्तित्वको आधारका रूपमा समेत संरक्षण गर्ने राष्ट्रिय नीति अवलम्बन गरिने छ। धार्मिक, सांस्कृतिक, वातावरणीय तथा सामाजिक महत्त्वका नदीहरूको वैज्ञानिक अध्ययन गरिने छ। नदीसँग जोडिएका आदिवासी समुदाय, परम्परा र आध्यात्मिक मूल्यलाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गर्दै आगामी पुस्ताका लागि स्वच्छ, निरन्तर बग्ने नदी प्रणाली सुनिश्चित गरिने छ। नदी बेसिनमा आधारित एकीकृत जलस्रोत व्यवस्थापन लागु गर्दै जलविद्युत्, सिँचाइ, खानेपानी, पर्यटन र तल्लो तटीय लाभहरू समेट्ने बहुउद्देश्यीय आयोजना विकास गरिने छ। आगामी दशकमा तिस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि तथा वातावरणसम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागु गरिने छ। आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जाको सट्टा शेयर लगानीको विकल्प प्रदान गरिने छ।

    ३०. विद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने छ। ऊर्जा(आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गरिने छ। अन्तरदेशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइने छ।

    ३१. राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युत् प्रणाली विस्तार गरिने छ। ग्रिन हाइड्रोजन, हरित अमोनिया तथा रासायनिक मल जस्ता रणनीतिक हरित उद्योगलाई प्रवर्धन गर्न कर-भन्सार छुट, सहुलियतपूर्ण विद्युत् दर, पुँजी प्रोत्साहन र लगानीमैत्री नीति लागु गरिने छ। साथै, यातायात क्षेत्रमा व्यावसायिक प्रयोग विस्तार गर्न ग्रिन हाइड्रोजन पूर्वाधारको सुरुवात गरिने छ।

    ३२. तराई-मधेशका सिँचाइ सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोत मार्फत तथा पहाडी र हिमाली क्षेत्रका कृषियोग्य फाँटहरूमा लिफ्ट प्रविधिमार्फत सिँचाइ सुविधा सुनिश्चित गरिने छ। ठुला सिँचाइ प्रणालीको आधुनिकीकरण, मर्मत सम्भार तथा पुनःस्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गरिने छ। स्वचालित जल तथा मौसम केन्द्रको विस्तार गरी पूर्वानुमान प्रणाली सुदृढ गरिने छ। बहुप्रकोप पूर्व सूचना प्रणालीलाई सुदृढ गरी थप विश्वसनीय बनाइने छ।

    ३३. औद्योगिक नीति, २०६७ परिमार्जन गरी नयाँ “राष्ट्रिय औद्योगिक नीति” तर्जुमा गरिने छ। स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई वित्त, प्रविधि, बजार र क्षमता विकासमा एकीकृत पहुँच उपलब्ध गराउन “राष्ट्रिय उद्यम प्रवर्धन सुविधा” स्थापना गरिने छ। नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्युनीकरण कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने छ।

    ३४. लगानीका क्षेत्र विस्तार गर्दै सार्वजनिक निजी साझेदारीमार्फत परियोजना पाइपलाइन तयार गरी लगानी जोखिम बाँडफाँड र सम्झौता ढाँचा स्पष्ट गरिने छ। महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाउन “महिला उद्यमशीलता विकास रणनीति” तर्जुमा गरिने छ। श्रम प्रधान, निर्यात सम्भावना भएका कृषि प्रशोधन, पर्यटन सेवा, हलुका उत्पादन र प्रविधिमा आधारित उद्योगको विस्तारका लागि “रोजगारी आदि उत्पादन क्षेत्र” स्थापना गरिने छ।

    ३५. खनिज तथा खानी क्षेत्रलाई आर्थिक वृद्धिको आधारका रूपमा विकास गर्न नीतिगत, कानुनी र संस्थागत सुधार गरिने छ। ढुङ्गा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दिगो उपयोग, पारदर्शी आपूर्ति र नियमन गरी अवैध उत्खनन तथा अनियमितता नियन्त्रण गरिने छ।

    ३६. हवाई पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गरी भरपर्दो र प्रतिस्पर्धी हवाई सेवा विकास गरिनेछ। नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार, निजी क्षेत्रको सहभागिता विस्तार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गरिने छ। पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिने छ। अन्तर्राष्ट्रिय विमानस्थलमा ई-गेट प्रणाली जडान गरी यात्रीको प्रतीक्षा समय घटाइने छ। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गरिने छ।

    ३७. अध्यागमन विन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरूलाई एकीकृत गर्ने एकद्वार डिजिटल पर्यटन प्रणाली लागु गरिने छ। पर्वतीय पर्यटनको सुरक्षा, खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोडिने छ। “भिजिट नेपाल २०८५” को पूर्व तयारीका लागि पर्यटक आगमन, प्रति पर्यटक खर्च वृद्धि र बसाइ अवधि बढाउने गरी अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गरिने छ।

    ३८. नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न “देवभूमि नेपाल” राष्ट्रिय अभियान सञ्चालन गरिने छ। धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने छ। आध्यात्मिक तीर्थ कूटनीति मार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्धन गरिने छ।

    ३९. समुदायद्वारा सञ्चालित होमस्टे, स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन र रोजगारी प्रवर्धन गरिने छ। जीवन्त सङ्ग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई “नेपाल होमस्टे” ब्रान्डिङसहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने छ।

    ४०. नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न पर्वतारोहण, ट्रेकिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, स्काइ डाइभिङ लगायत साहसिक पर्यटन पूर्वाधार, सुरक्षा मापदण्ड र अन्तर्राष्ट्रिय प्रवर्धनलाई सुदृढ गर्दै प्रकृति, संस्कृति र समुदायमा आधारित नयाँ पर्यटन इकोसिस्टम विकास गरिने छ। कर्णाली, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशलाई थप प्राथमिकतामा राखी नयाँ गन्तव्यहरूको प्रवर्धन गरिने छ। हिमाली, मध्यपहाडी र तराई क्षेत्रमा कम्तीमा दस नयाँ पदमार्ग पहिचान र प्रवर्धन गरिने छ। नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडेलमा पुनर्संरचना गरी नवप्रवर्तनशील बनाइने छ।

    ४१. नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिने छ। “कमाउँदै सिक्दै” अवधारणामा आधारित राष्ट्रिय एप्रेटिन्ससिप कार्यक्रम सञ्चालन गरिने छ। नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने “रिमोट वर्क नीति” को कानुनी व्यवस्था गरिने छ। वैदेशिक रोजगारीबाट फर्केका युवाको सिपलाई डिजिटल “सिप पासपोर्ट” मार्फत अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराइने छ।

    ४२. श्रमिकका लागि कानुनी सहायता र न्यायमा सहज पहुँच सुनिश्चित गरिने छ। डिजिटल श्रम निरीक्षण प्रणाली लागु गरी न्यूनतम पार्रिश्रमिक सुनिश्चितता, कार्यस्थलमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूति गरिने छ। सरकार, रोजगारदाता र श्रमिकबिच असल श्रम सम्बन्ध विकास गर्दै राष्ट्रियस्तरको कल्याणकारी कोष प्रभावकारी रूपमा परिचालन गरिने छ। बाल श्रम निवारणसम्बन्धी प्रतिबद्धताको कडाइका साथ कार्यान्वयन गरिने छ।

    ४३. वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र प्रतिफलमूलक बनाइने छ। अत्यधिक सेवा शुल्क र श्रम शोषणविरुद्ध कारबाही गरिने छ। वैदेशिक रोजगारमा जानेका लागि छुट्टै लेन र सेवा उपलब्ध गराइने छ। श्रम कूटनीति मार्फत उच्च पार्रिश्रमिक दिने गन्तव्यतर्फ विविधीकरण गरिने छ। विप्रेषणलाई उपभोगबाट उत्पादिशील लगानीमा रूपान्िरत गर्न “विप्रेषण-लगानी मिलान कोष” सञ्चालन गरिने छ। विदेशमा मृत्यु वा अङ्गभङ्ग भएका कामदारका परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रम सुदृढ गरिने छ। रिभर्स माइग्रेसनलाई प्रोत्साहन गर्न एकीकृत प्रोत्साहन प्याकेज ल्याइने छ।

    ४४. अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिने छ। वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष २०८३\०८४ देखि २०९२\०९३ सम्म “रोजगार प्रवर्धन दशक” घोषणा गरी कार्यक्रम सञ्चालन गरिने छ।

    ४५. शिक्षालाई समता र समृद्धिको आधारका रूपमा स्थापित गरिने छ। माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने छ। पुस्तक, दिवा खाजा र पोसाकको सहज वितरणसहित शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रमको समयसापेक्ष पुनरावलोकन गरिने छ। सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामुखी र गुणस्तर(केन्द्रित बनाउन स्वस्थ नियमन गरिने छ।

    ४६. ई-लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री, कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिने छ। उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउँदै विश्वविद्यालयको प्राज्ञिक तथा शासकीय पुनर्संरचना गरिने छ। दस हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिने छ। विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरबन्दी मिलान, पुस्तकालय र प्रयोगशाला सुधार एकीकृत योजनामार्फत कार्यान्वयन गरिने छ।

    ४७. विपन्न, सीमान्तकृत, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका तथा पिछडिएका क्षेत्रका सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गरिने छ। स्वास्थ्य, पोषण, छात्रवृत्ति, आवासीय सुविधा र सुरक्षित सिकाइ वातावरणलाई सुदृढ गरिने छ। अटिजम तथा न्यूरो डाइभर्सिटी भएका बालबालिकाका लागि थेरापी सेवा, असिस्टिभ टेक्नोलोजी, विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिने छ। सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणालीमार्फत सिधै बैँक खातामा भुक्तानी हुने व्यवस्था मिलाइने छ।

    ४८. शिक्षक नियुक्ति, पदोन्नति र मूल्याङ्कन प्रणालीलाई योग्यतामा आधारित र पारदर्शी बनाइने छ। शिक्षकको पेसागत विकास, अभिलेख व्यवस्थापन र उचित पार्रिश्रमिक सुनिश्चित गरिने छ। उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ। विद्यालय शिक्षालाई सिकाइमुखी बनाउन पाठ्यक्रम, मूल्याङ्कन र प्रमाणीकरण प्रणालीको पुनरावलोकन एवम् सुधार गरिने छ।

    ४९. खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग तोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने छ। खेल क्षेत्रको व्यावसायीकीकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने छ। राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरी डिजिटल साक्षरता, समुदाय सेवा, नवप्रवर्तन र स्थानीय विकासमा युवा परिचालन गरिने छ।

    ५०.महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक लगायत सबै लक्षित समूहको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणलाई उच्च प्राथमिकता दिइने छ। अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्दै अधिकारमा आधारित विकासको सुनिश्चितता गरिने छ।

    ५१. सबै प्रकारका लैङ्गिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखनमुक्त समाज निर्माण गरिने छ। सामाजिक तथा सांस्कृतिक विभेद र हानिकारक अभ्यास अन्त्य गर्न सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिने छ। हिंसा पीडित(केन्द्रित सेवा प्रणाली सुदृढ गरी उद्धार, कानुनी सहायता, पुनःस्थापना र सामाजिक पुनःएकीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने छ।

    ५२. आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने छ। तिनै तहका सरकारको बजेट प्रणालीमा “बालबालिका उत्तरदायी बजेट कोड” लागु गरिने छ।

    ५३. असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनःस्थापना सेवाको व्यवस्था गरिनेछ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाइने छ। सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्गतामैत्री बनाइने छ।

    ५४. सामाजिक क्षेत्रका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, दोहोरोपन न्युनीकरण र सेवा प्रवाहमा एकरूपता कायम गर्न सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय तथा सहकार्य सुदृढ गरिने छ। गैरसरकारी संस्थामार्फत हुने लगानीलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न नीतिगत तथा संस्थागत सुधार गरिने छ।

    ५५. देशभर आधभूरभूत स्वास्थ्य सेवामा “न्यूनतम मापदण्ड” लागु गर्दै आवश्यक जनशक्ति, औषधी, उपकरण र पूर्वाधारसहितको एकीकृत सेवा मोडेल कार्यान्वयन गरिने छ।

    ५६. स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिने छ। टेलिहेल्थ प्लेटफर्ममार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइने छ। रोग निगरानी र नियन्त्रणका लागि “सेन्टर फर डिजिज कन्ट्रोल” तथा स्वास्थ्य सेवा गुणस्तर बढाउन “राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण” स्थापना गरिने छ। जैविक अध्ययन, सार्वजनिक स्वास्थ्य अनुसन्धान र महामारी नियन्त्रण क्षमता सुदृढ गर्न सङ्घीय तहमा “राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला” स्थापना गरिने छ।

    ५७. क्यान्सर लगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाम, सचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिने छ। मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिने छ। योग, ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्रवर्धन गरिने छ।

    ५८. अत्याधुनिक अपाङ्गता पुनःस्थापना केन्द्रहरूको स्थापना गरी प्रोस्थेटिक्स, फिजियोथेरापी लगायतका विशिष्टीकृत सेवाहरू उपलब्ध गराइने छ। अपाङ्गताको प्रारम्भिक पहिचान, शीघ्र हस्तक्षेप र पुनःस्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसँग आबद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिने छ। बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गरिने छ।

    ५९. स्वास्थ्य जनशक्ति विकास गर्न एकीकृत मानव संसाधन प्रणाली विकास गरिने छ। आयुर्वेद, प्राकृतिक तथा वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक आधारमा संस्थागत गरिने छ। नेपाल औषधी लिमिटेडको स्तरोन्नति गरिने छ। स्वदेशी औषधि उत्पादनलाई प्रवर्धन गरिने छ।

    माननीय सदस्यहरू,

    ६०. सम्वत् २०८७ सम्ममा सबै नागरिकलाई स्वच्छ खानेपानी तथा आधारभूत सरसफाइ सुविधा सुनिश्चित गर्ने लक्ष्यसहित तिनै तहका सरकारको समन्वयमा एकीकृत कार्यक्रम कार्यान्वयन गरिने छ। ठुला अधुरा आयोजनाहरू शीघ्र सम्पन्न गरिने छ। तराई-मधेशमा आर्सेनिकमुक्त पानी, डिप बोरिङ र सतही जल प्रणाली विकास गरिने छ। ढल व्यवस्थापन प्रणाली सुधार गरी नदी-नालाको स्वच्छता कायम गरिने छ। खानेपानीको गुणस्तरप्रति सार्वजनिक विश्वास कायम गर्न पानी परीक्षण प्रयोगशाला र नियमित परीक्षण पद्धति स्थापित गरिने छ।

    ६१. जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न भूमिगत जल पुनर्भरण, वर्षातको पानी सङ्कलन, जलाशयमा आधारित आयोजना र मुहान संरक्षणलाई प्राथमिकता दिइने छ। “हिमालयन ओरिजिन सेफ ड्रिङ्किङ वाटर” अवधारणामार्फत नेपाली जलको ब्रान्डिङ गरिने छ।

    ६२. सार्वजनिक पूर्वाधार, विद्यालय, स्वास्थ्य संस्था र राजमार्ग क्षेत्रमा सुरक्षित पिउने पानी तथा अपाङ्गतामैत्री सरसफाइ पूर्वाधार विस्तार गरिने छ। काठमाडौँ उपत्यकासहित ठुला सहरहरूमा ढल तथा फोहोर व्यवस्थापन प्रणालीलाई निजी क्षेत्र, समुदाय र सहकारीको सहभागितामा एकीकृत रूपमा सञ्चालन गरिने छ। ढल प्रशोधन संयन्त्र स्थापना गरी प्रशोधित पानीलाई सिँचाइ तथा उद्योगका लागि प्रयोग गरिने छ। बागमती लगायत नदीहरूको वातावरणीय स्वच्छता कायम गरिने छ।

    माननीय सदस्यहरू,

    ६३. हुलाकी, पुष्पलाल, उत्तर(दक्षिण राजमार्गलगायतका राष्ट्रिय सडक सञ्जालको स्तरोन्नति र विस्तार तीव्र पारिने छ। काठमाडौँ-तराई मधेश द्रुतमार्ग तथा यसका लिङ्क सडकहरू शीघ्र सम्पन्न गरिने छ। सबै स्थानीय तहलाई बाह्रै महिना सञ्चालन हुने सडक सञ्जालसँग जोडिने छ।

    ६४. विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गर्दै सार्वजनिक यातायातलाई भरपर्दो बनाइने छ। पर्यटन सम्भावना भएका क्षेत्रमा सडक पहुँच, राजमार्ग स्तरोन्नति, वैकल्पिक मार्ग र राजमार्ग सेवा केन्द्र विकास गरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाइने छ।

    ६५. पूर्वाधार विकासलाई तीव्र बनाउन प्रधानमन्त्री डेलिभरी युनिटलाई सुदृढ गरी मिसन मोडमा कार्यान्वयन गरिने छ। सार्वजनिक यातायात तथा सडक सम्बन्धी कानुन परिमार्जन गरिने छ। ठुला आयोजना समयमै सम्पन्न गर्न सुधारिएको ठेक्का प्रणाली र इन्जिनियरिङ मापदण्डको प्रभावकारी रूपमा कार्यान्वयन गरिने छ। सडक, रेल, जल, रोपवे र हवाई यातायातलाई समेट्ने “एकीकृत राष्ट्रिय यातायात गुरुयोजना” तयार गरिने छ। “लगानी एक्सप्रेस” अवधारणा अनुसार पूर्वाधारसँग सम्बन्धित विवादको शीघ्र सुनुवाइ र निर्णय गरिने छ।

    ६६. सडक दुर्घटना न्यूनीकरणका लागि जिपिएस ट्र्याकिङ, एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाइका साथ लागु गरिने छ। पैदल तथा साइकल यात्रीका लागि सुरक्षित पूर्वाधार निर्माण गरिने छ। सार्वजनिक यातायातमा महिलाको सुरक्षित पहुँच सुनिश्चित गरिने छ। काठमाडौँमा “बस र्‍यापिड ट्रान्जिट ९बिआरटी०” को विस्तृत अध्ययन र कार्यान्वयन प्रक्रिया सुरु गरिने छ।

    ६७. पूर्व-पश्चिम विद्युतीय रेलमार्गको निर्माणलाई निरन्तरता दिई केरुङ-काठमाडौँ तथा रक्सौल(काठमाडौँ रेलमार्गको लगानी मोडालिटी लगायतका विषयमा अध्ययन अघि बढाइने छ। दीर्घकालीन रूपमा जलवायु अनुकूल, दिगो र प्रतिस्पर्धी यातायात प्रणाली निर्माण गरिने छ।

    ६८. सहरी पूर्वाधार सूचक कमजोर भएका नगरपालिकालाई प्राथमिकता दिँदै बृहत् सहरी विकास कार्यक्रम सञ्चालन गरिने छ। एकीकृत फोहोरमैला व्यवस्थापन प्रणाली विकास गर्दै फोहोर सङ्कलन, प्रशोधन र पुनःप्रयोगका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरिने छ।

    ६९. आवासविहीन, सीमान्तकृत, विपन्न तथा विपद् प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिने छ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिने छ। मध्य पहाडी लोकमार्ग आसपासका नयाँ शहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गर्दै जग्गा विकास, पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिने छ।

    ७०. राष्ट्रिय भवन संहिताको अनिवार्य कार्यान्वयन गर्दै सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोधी, अग्नि सुरक्षा र आधुनिक पूर्वाधार मापदण्ड लागु गरिने छ। २०७२ को भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणलाई प्राथमिकता दिइने छ। छरिएका तथा जोखिमयुक्त बस्तीलाई व्यवस्थित गर्न भू(उपयोग, पूर्वाधार र सामुदायिक सेवासहितको एकीकृत परियोजना लागु गरिने छ।

    ७१. प्रतिक्रियामुखीभन्दा पूर्व तयारीमुखी विपद् व्यवस्थापन नीति अवलम्बन गर्दै जोखिम नक्साङ्कन, प्रारम्भिक चेतावनी प्रणाली र विपद् सुरक्षा अभ्यासलाई संस्थागत गरिने छ। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल सम्मिलित एकीकृत कमान्ड प्रणाली विकास गरी ड्रोन, हेलिकोप्टर लगायत आधुनिक प्रविधिको प्रयोगमा निजी क्षेत्रसँग साझेदारी गरिने छ।

    ७२. बजेट पारित हुनु अघि नै विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइने छ। साउनदेखि नै खरिद प्रक्रिया सुरु गर्ने “शून्य-ढिलाइ खरिद नीति” लागु गरी असार महिनामा केन्द्रित खर्च विकृति अन्त्य गरिने छ। ठुला खरिदहरूमा खुला सार्वजनिक खरिद नीति लागु गरिने छ।

    माननीय सदस्यहरू,

    ७३.डिजिटल सुशासन ब्लु प्रिन्ट अनुरूप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गरी ई-क्लाउड र डाटा नीति कार्यान्वयनको केन्द्रीय समन्वय गरिने छ। राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद, डाटा नीति, अन्तर-सञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गरिने छ।

    ७४. डाटा, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोग सहित नवप्रवर्तन र स्टार्टअप प्रवर्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्रको विकास गरिने छ। दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागु गरिने छ। दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरी डिजिटल विभेद न्युनीकरण गरिने छ।

    ७५. विज्ञापन तथा सञ्चार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तिनै तहका सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिने छ। हुलाक सेवाको विविधीकरण, आधुनिकीकरण र डिजिटल रूपान्तरण गरिने छ।

    ७६. चलचित्र, वृत्तचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई उद्योगको रूपमा विकास गरिने छ। मुलुकको प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सिर्जनात्मक गन्तव्यका रूपमा स्थापित गरिने छ।

    माननीय सदस्यहरू,

    ७७. जल तथा मौसमसम्बन्धी तथ्याङ्कलाई डिजिटल प्लेटफर्ममा एकीकृत गरी विपद् सम्बन्धी पूर्वसूचना प्रणाली विकास गरिने छ। नागरिक एप मार्फत कृषि, यातायात, पर्यटन र उड्डयन क्षेत्रमा पूर्वचेतावनी सेवा विस्तार गरिने छ। विपद् पश्चात् क्षतिपूर्ति, राहत र पुनर्निर्माण प्रक्रियामा बिमा लगायत जोखिम हस्तान्तरणका उपकरणको प्रयोग विस्तार गरिने छ।

    ७८. कारागार प्रणालीलाई सुधार गृहका रूपमा रूपान्तरण गरी पुनःस्थापना केन्द्रित दृष्टिकोण अवलम्बन गरिने छ। कसुरजन्य सम्पत्ति जफत, व्यवस्थापन र असुली प्रक्रियालाई प्रभावकारी बनाइने छ।

    ७९. इ-के.वाई.सी. लागु गरी बैंकिङ, दूरसञ्चार र सार्वजनिक सेवामा डिजिटल प्रमाणीकरण गरिने छ। केन्द्रीय अनलाइन भेटिङ प्रणाली मार्फत भ्रष्टाचार जोखिम न्युनीकरण, सेवा स्वचालन र नागरिक विश्वास अभिवृद्धि गरिने छ। नागरिक उजुरी व्यवस्थापन प्रणाली मार्फत वास्तविक समयमा गुनासो सम्बोधन गरिने छ।

    ८०. नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ गरिने छ। राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाइने छ। लागु औषधी नियन्त्रण, अन्तरदेशीय अपराध तथा जटिल अपराध न्युनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने छ। साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान एकाइ स्थापना गरिने छ।

    ८१. सशस्त्र प्रहरी बल, नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधारसहित विशिष्टीकृत सुरक्षा बलका रूपमा सुदृढ गरिने छ। सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिने छ। ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिने छ। सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक-सुरक्षा सम्बन्ध सुदृढ बनाइने छ। सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने छ।

    ८२. बृहत् राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानुनको समसामयिक परिमार्जन गरिने छ। नेपाली सेना लगायत सुरक्षा निकायहरूको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरी सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिने छ। सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकासमार्फत व्यावसायिकता अभिवृद्धि गरिने छ। राष्ट्रिय सेवा दललाई सुदृढ गरिने छ।

    ८३. ठुला विकास आयोजनाहरूको विस्तृत परियोजना अध्ययन गर्दा राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावको समेत मूल्याङ्कनलाई अनिवार्य गरिने छ। ऐतिहासिक गढी, किल्ला तथा पदमार्गको संरक्षण र प्रवर्धनमार्फत राष्ट्रिय पहिचान सुदृढ गर्दै पर्यटन विकासलाई टेवा दिइने छ।

    ८४. सबै नागरिकका लागि समान पहुँच सुनिश्चित गर्दै क्षतिपूर्तिसहितको न्याय प्रणाली विकास गरिने छ। विपन्न तथा असहाय नागरिकका लागि निःशुल्क कानुनी सहायता विस्तार गरिने छ। सशस्त्र द्वन्द्वसँग सम्बन्धित सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याइने छ।

    ८५. कार्यपालिका र व्यवस्थापिका बिचको समन्वय तथा अन्तरसम्बन्ध सुदृढ गर्दै कानुन तर्जुमा, संशोधन र कार्यान्वयन प्रक्रियालाई छिटो, गुणस्तरीय र परिणाममुखी बनाइने छ। अभियोजन प्रणालीलाई तथ्य, प्रविधि र वैज्ञानिक अनुसन्धानमा आधारित बनाइने छ। अपराध पीडितलाई तत्काल राहत, क्षतिपूर्ति र सहयोग उपलब्ध गराइने छ।

    माननीय सदस्यहरू,

    ८६. नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित सन्तुलित कूटनीति अवलम्बन गरिने छ। छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यमा आधारित सम्बन्ध विस्तार गरिने छ।

    ८७. नेपालको मौलिक पहिचान, भाषा, कला र सम्पदालाई विश्वमञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गरिने छ। विदेशस्थित नियोगमार्फत नेपाली वस्तु, सेवा, संस्कृति र पर्यटनको विश्वव्यापी प्रवर्धन गर्दै “ब्रान्ड नेपाल अभियान” सञ्चालन गरिने छ।

    ८८. परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्दै नेपाललाई सूचना प्रविधि र नवप्रवर्तन एवम् शिक्षा र स्वास्थ्य सेवा क्षेत्रका लागि अन्तर्राष्ट्रिय गन्तव्य बनाउन पर्यटन पूर्वाधार, ऊर्जा, सूचना प्रविधि जस्ता क्षेत्रमा विदेशी लगानी प्रवर्धन गरिने छ। वैदेशिक सहायता, लगानी र विकास सहकार्यलाई नेपालको सार्वभौमसत्ता र दीर्घकालीन राष्ट्रिय हित अनुकूल परिचालन गरिने छ।

    ८९. विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी तथा कन्सुलर सेवालाई डिजिटलाइज गरिने छ। विदेशमा रहेका नेपालीको सुरक्षा र अधिकार संरक्षण गर्न परराष्ट्र मन्त्रालयमा सातैदिन चौबिसै घण्टा “सेन्ट्रल रेस्पोन्स युनिट” र नियोगहरूमा द्रुत उद्धार टोली स्थापना गरी सञ्चालन गरिने छ।

    ९०. प्रवासमा रहेका नेपालीको पुँजी, सिप, अनुभव र प्रविधिलाई राष्ट्रिय विकाससँग जोड्न “डायस्पोरा विज्ञ सञ्जाल” तथा “ज्ञान बैँक” स्थापना गरिने छ। गैर आवासीय नेपालीको लगानी आकर्षित गर्न कानुनी सुरक्षा, सहज वित्तीय व्यवस्था र प्रतिफल फिर्ता प्रणाली सुनिश्चित गरिने छ। गैर आवासीय नेपालीको सहभागिता सुदृढ गर्न नागरिकता, लगानी, वित्तीय पहुँच र लोकतान्त्रिक अधिकारसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था सुदृढ गरिने छ।

    माननीय सदस्यहरू,

    ९१. निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवम् व्यावसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियनको खारेजी, स्वार्थको द्वन्द्व नियन्त्रण सम्बन्धी व्यवस्था, सूचकमा आधारित कार्यसम्पादन मूल्याङ्कन प्रणाली, कुलिङ अफ अवधिको व्यवस्था र राजनीतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था गरिने छ।

    ९२. निजामती सेवामा योग्यतामा आधारित नियुक्तिको व्यवस्था, विभागीय तथा आयोजना प्रमुखको त्रैमासिक मूल्याङ्कन, नैतिक परीक्षण संयन्त्र, निजामती सेवा बोर्ड, कमजोर कार्यसम्पादन स्तर भएको कर्मचारीलाई नकारात्मक सूचीमा राखिने व्यवस्था, कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली मार्फत नतिजामुखी र नागरिकमैत्री संस्थाको रूपमा विकास गरिने छ।

    ९३. “एक पटकको विवरण सबै सेवामा प्रयोग” को सिद्धान्तमा आधारित अन्तरसञ्चालन सक्षम सरकारी डाटाबेस विकास गरिने छ। सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन अन्तर आबद्ध प्रणालीमा आधारित एकीकृत डिजिटल प्लेटफर्म मार्फत इ-गभर्नेन्स प्रणाली सुदृढ गरिने छ। न्यूनतम एक सय सरकारी सेवाहरूलाई एकीकृत “नागरिक एप” मार्फत उपलब्ध गराइने छ।

    ९४. प्रत्येक सेवाको कानुनी समयसीमा तोकी उल्लङ्घन गर्ने अधिकारी स्वतः जबाफदेही हुने व्यवस्था गरिने छ। राष्ट्रिय परिचय पत्रलाई अधिकतम सार्वजनिक सेवासँग अन्तर आबद्ध गर्दै “एक परिचयपत्र नीति” लागु गरी नागरिकता, बैंकिङ, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा लगायतका सेवालाई एकीकृत गरिने छ। “एकल सेवा केन्द्र” लाई सबै कार्यालयमा विस्तार गर्ने तथा अत्यावश्यक सेवा सातैदिन सञ्चालन गर्ने व्यवस्था मिलाइने छ। डिजिटल हस्ताक्षर, अनलाइन सेवा र समयबद्ध निर्णय प्रणालीमार्फत नागरिकलाई लाइन, झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिने छ।

    ९५. अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान, अभियोजन र कारबाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई “भ्रष्टाचार निवारण एकाइ” का रूपमा पुनर्संरचना गरिने छ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान संरक्षण र पुरस्कारसम्बन्धी व्यवस्था गरिने छ। उच्च पदस्थ पदाधिकारीको सम्पत्ति विवरण वार्षिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइने छ।

    ९६. सार्वजनिक खरिद, राजस्व र प्रशासनिक प्रक्रियालाई पारदर्शी, प्रविधिमैत्री र प्रतिस्पर्धात्मक बनाइने छ। नागरिक विश्वास तथा सुशासन धारणा सूचकाङ्क, डिजिटल अडिट प्रणालीमार्फत उच्च जोखिम क्षेत्र पहिचान गरी भ्रष्टाचार रोकथाममूलक कारबाही सुदृढ गरिने छ।

    ९७. नीति तथा योजना निर्माणलाई तथ्य र प्रमाणमा आधारित बनाउन राष्ट्रिय योजना आयोग तथा नीति अनुसन्धान प्रतिष्ठानको पुनर्संरचना गरी अनुसन्धान र अनुगमनमा केन्द्रित सक्षम र विश्वसनीय सार्वजनिक “थिङ्क-ट्याङ्क” तथा “राष्ट्रिय नीति शोधशाला” को रूपमा विकास गरिने छ। राष्ट्रिय तथ्याङ्क प्रणालीको सामयिक पुनर्संरचना गरी सुदृढ बनाइने छ।

    ९८. मानव अधिकारको संरक्षण र प्रवर्धनलाई सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गरिने छ। मानव अधिकार उल्लङ्घनमा शून्य सहनशीलता अपनाइने छ। राष्ट्रिय मानव अधिकार आयोगको क्षमता अभिवृद्धि गरिने छ।

    ९९. उत्तरदायी सुशासन मार्फत सामाजिक न्याय, समतामूलक अवसर र तीव्र आर्थिक विकास सुनिश्चित गर्न सत्तारूढ दलको वाचा पत्र एवम् प्रमुख राजनीतिक दलका साझा प्रतिबद्धतालाई आधार मान्दै राष्ट्रिय स्रोत, साधन र सामर्थ्यको न्यायोचित परिचालन गरिने छ।

    १००. आम नेपाली जनताको विश्वास र सार्वभौम सहभागिताबाट स्थापित राजनीतिक स्थिरतालाई दुर्लभ अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइने छ। उत्तरदायी शासन प्रणालीमार्फत राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै समुन्नति-केन्द्रित सुशासनलाई राष्ट्रिय संस्कृतिका रूपमा संस्थागत गरिने छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुने छ।

    प्रतिनिधि सभाका सम्माननीय सभामुख,

    राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,

    माननीय सदस्यहरू,

    अन्त्यमा, लोकतन्त्रका संवाहक सम्पूर्ण राजनीतिक दल तथा अग्रज योद्धा, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना लगायत सबै सुरक्षा निकायहरू, किसान, मजदुर, उद्योगी, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपालको सर्वाङ्गीण विकासमा योगदानका लागि हार्दिक आह्वान गर्दछु।

    नेपालको उन्नतिको लक्ष्य हासिल गर्न उदारतापूर्वक निरन्तर सहयोग पुर्‍याउँदै आउनुभएका छिमेकी देश लगायत मित्रराष्ट्र, विकास साझेदार तथा गैर आवासीय नेपालीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सबैको निरन्तर सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दछु। धन्यवाद।

  • आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

    आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

    काठमाडौँ, वैशाख २८ गते । सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउने भएको छ । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थासमेत समेट्ने गरी यो अभियान सञ्चालन गरिने प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशनसमेत दिएको छ ।

    यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन सोमबार बिहान ८स्३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ । यस अभियानले सरकारी निकायमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ मा उल्लेख छ । त्यसै गरी सरकारी निकायमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक रहेको सो मार्गदर्शनमा जनाइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार सरकारी कार्यालयमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो । मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरू स्पष्ट र व्यवस्थित हुनुपर्ने छ । चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङरोगन गरिने छ । मुख्य सेवा क्षेत्र र प्रवेशद्वार आकर्षक र सफा राखिने छ ।

    त्यसै गरी शौचालय दुर्गन्धरहित बनाइने छ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिने छ । हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ र दैनिक सफाइको अभिलेख राख्नुपर्ने छ । शौचालय महिलामैत्री, सेनेटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्ने, कार्यालयले कम्तीमा दुई प्रकारका फोहोरदानी ९डस्टबिन० राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने जारी सूचनामा उल्लेख छ । मार्गदर्शनमा पुराना काम नलाग्ने सामानको उचित व्यवस्थापन गर्न आग्रह गरिए पनि खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

    त्यसै गरी कार्यालयपरिसरको एक सय मिटरवरिपरि, नाली र ढल सफा हुनुपर्ने, पार्किङ क्षेत्र सुधार गरी अव्यवस्थित तार वा पोस्टर हटाउनुपर्ने, कार्यालयमा सहायता कक्ष ९हेल्प डेस्क० व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाउने गरी सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन मार्गदर्शनमा निर्देश गरिएको छ ।

    ​दिगोपन र अनुगमनको संयन्त्र

    यो अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने छ । प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्वमूल्याङ्कन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छस जसले यसको नियमित अभिलेख राख्नुपर्ने छ ।

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    २८ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ ।

    अहिले कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल तथा देशका बाँकी भू–भागहरूमा आंशिक बादल लागिरहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

    विभागका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

    साथै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस

  • बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने

    बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने

    २८ वैशाख, काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको उनले बताए ।

    उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ । राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३स्४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि अपराह्न २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुनेछन् ।

    संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ । त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ ।

    यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरु पेस हुनेछन् ।

  • काठमाडौं अवतरणका क्रममा टर्किस एयरमा देखियो आगो

    काठमाडौं अवतरणका क्रममा टर्किस एयरमा देखियो आगो

    २८ वैशाख, काठमाडौं । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो देखिएको छ । आगो दमकल प्रयोग गरी निभाइएको छ ।
    विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको छ ।

    सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । इस्तानबुलबाट काठमाडौं आएको जहाजमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो । उक्त विमान धावनमार्गमै रोकिएपछि अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ।

  • ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

    २७ वैशाख, काठमाडौं । स्पेनको क्यानरी टापुतर्फ गइरहेको ‘हान्टाभाइरस’ प्रभावित पानीजहाजका विषयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गरेका छन् । उनले वर्तमान अवस्था ‘अर्को कोरोना महामारीजस्तो नभएको’ स्पष्ट पार्दै जनस्वास्थ्य जोखिम हाल न्यून रहेको बताएका छन्।

    नेदरल्यान्ड्सको झण्डा बोकेको ‘एमभी होन्डियस’ नामक पानीजहाजमा १४० भन्दा बढी यात्रु तथा चालकदलका सदस्य रहेका छन् । उक्त जहाज पश्चिम अफ्रिकाको तट नजिक रहेको स्पेनको क्यानरी टापु समूहअन्तर्गत टेनेरिफे टापुमा आइतबार बिहान पुग्ने अपेक्षा गरिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस, स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सिया तथा गृहमन्त्री फर्नान्डो ग्रान्दे–मार्लास्का शनिबार टेनेरिफे पुगेर यात्रु तथा चालकदललाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकाल्ने कार्यको समन्वय गर्ने तयारीमा रहेका छन् । स्थानीय बासिन्दालाई सम्बोधन गर्दै टेड्रोसले विगतको कोरोना महामारीको पीडा अझै ताजा रहेकाले मानिसहरूमा चिन्ता हुनु स्वाभाविक भएको बताए । तर उनले हाल देखिएको हान्टाभाइरसको अवस्था कोरोना महामारीसरह नभएको र जोखिम नियन्त्रणमै रहेकोमा जोड दिए ।

    विश्व स्वास्थ्य संगठन, स्पेनी अधिकारीहरू तथा जहाज सञ्चालन कम्पनीका अनुसार हाल जहाजमा रहेका कसैमा पनि भाइरसको लक्षण देखिएको छैन । सम्बन्धित निकायहरूले यात्रुहरूको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिरहेका छन् । हान्टाभाइरस प्रायः मुसा तथा अन्य कृन्तक जनावरबाट सर्ने भाइरस हो । यसको सङ्क्रमणले ज्वरो, थकान, श्वासप्रश्वासमा समस्या लगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यद्यपि विशेषज्ञहरूले हालको अवस्थालाई नियन्त्रणयोग्य रहेको बताएका छन् ।

    रासस-एपी

  • रास्वपा सचिवालय बैठकले के गर्यो निर्णय ?

    रास्वपा सचिवालय बैठकले के गर्यो निर्णय ?

    २८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारको केन्द्रीय सचिवालय बैठकबाट भेला तथा अधिवेशनको विशेष कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीले आगामी वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबारको बैठकले वडा, पालिका र जिल्ला तहसम्मका भेला तथा अधिवेशनको तालिका स्वीकृत गरेको छ। निर्णय अनुसार जेठ २ गते समिति गठन नभएका वडाहरूमा वडा भेला हुनेछ।

    वैशाख २० अगावै समिति गठन भएका वडाहरूमा जेठ ३ गते वडा अधिवेशन गरिनेछ। यस्तै, समिति गठन नभएका पालिकाहरूमा जेठ ९ गते पालिका भेला तथा वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा जेठ १० गते पालिका अधिवेशन गर्ने निर्णय गरिएको छ। बैठकले जेठ ३ अगाडि गठन भएका बाँकी वडाहरूमा जेठ १६ गते वडा अधिवेशन र जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिकाहरूमा जेठ १७ गते पालिका अधिवेशन गर्ने कार्यतालिका पनि तय गरेको छ। जिल्ला अधिवेशन भने जेठ २३ र २४ गते हुने जनाइएको छ।

    त्यस्तै बैठकले विभिन्न तह र विभागबाट प्राप्त सिफारिसका आधारमा विभिन्न पदमा मनोनयन पनि गरेको छ। निर्णय अनुसार ‘र्‍याट’ समन्वय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा एपिएफका पूर्वडिआइजी बिदुर खड्का मनोनीत भएका छन्। स्टार्टअप विभाग प्रमुखमा डा. प्रभात अधिकारी र सचिवमा हरि जोशी, शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे, कर्णाली प्रदेश सहमहामन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदी तथा केन्द्रीय संगठन विभाग सदस्यमा गोपाल प्याकुरेल मनोनीत भएका छन्।

    कञ्चनपुर जिल्ला सभापतिको जिम्मेवारी पदम बिष्टलाई दिइएको छ। बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने तथा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय पनि गरेको छ। यस्तै, पार्टी हितविपरीत काम गरेको भन्दै विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।

  • जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २७ पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २७ पक्राउ

    २७ वैशाख, काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ। प्रहरीले दाङ, कास्की र ललितपुरमा जाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका-५ का ७२ वर्षीय काशिराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा काशिरामसहित १० जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    कास्कीको पोखरा महानगरपालिका १७ का ५५ वर्षीय धर्मदत्त गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्मदत्तसहित नौ जनालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका(१ का ५० वर्षीय श्यामकुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा श्यामकुमारसहित आठ जनालाई प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

  • मङ्गलबारसम्म देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान

    मङ्गलबारसम्म देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान

    काठमाडौँ, वैशाख २७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले आगामी मङ्गलबारसम्म देशका विभिन्न भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ ।

    आज आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
    यसैगरी, भोलि सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । पर्सी मङ्गलबार कोशी, मधेश, बागमती प्रदेशका केही स्थानमा तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • मधेश सरकारलाई निरन्तरता दिने सत्तारुढ दलको निर्णय

    मधेश सरकारलाई निरन्तरता दिने सत्तारुढ दलको निर्णय

    २७ वैशाख, काठमाडौं । मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार चार दलका नेताले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। आइतबार बसेको सत्ता साझेदार दलहरूको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई यथाशीघ्र विश्वासको मत लिन आग्रह गर्ने निर्णयसमेत गरेको हो। नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री यादवको नेतृत्वमा रहेको सरकारलाई समर्थन जारी राख्ने र संविधानअनुसार छिट्टै विश्वासको मत लिने समझदारी बैठकमा भएको छ।

    बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संसदीय दलका नेता जयनुल राइनका तर्फबाट रानी शर्मा तिवारी सहभागी थिए ।


    यसअघि जनमत पार्टीले वैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मधेश प्रदेश सभामा १२ सदस्य रहेको जनमत पार्टीले समर्थन फिर्ता लिए पनि सरकारबाट भने बाहिरिएको छैन। सो पार्टीबाट महेश यादव अर्थमन्त्री र वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीका रूपमा सरकारमा सहभागी छन् ।


    हाल १०२ सदस्यीय कायम रहेको मधेश प्रदेश सभामा सरकार गठनका लागि बहुमत पुर्‍याउन ५२ जना सदस्य आवश्यक पर्छ। वर्तमान मुख्यमन्त्री यादवलाई सरकारमा सहभागी नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, नेकपाका १५ र लोसपा नेपालका ८ गरी ६३ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ।

  • सोमबारदेखि संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

    सोमबारदेखि संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

    काठमाडौँ, वैशाख २७ गते । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए ।
    नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उनले जानकारी दिए । उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।

    राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ स्४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक हुने छन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रीपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।

    त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ । यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि_ पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेस हुने छन् । रासस

  • रविको स्पष्टीकरण : प्रधानन्यायाधीश सिफारिस संवैधानिक घेराभित्रै भएको हो

    रविको स्पष्टीकरण : प्रधानन्यायाधीश सिफारिस संवैधानिक घेराभित्रै भएको हो

    ललितपुर, वैशाख २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्को क्षेत्राधिकारभित्र रहेर योग्य व्यक्तिलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको बताएका छन् । संवैधानिक प्रक्रिया अनुसार भएको सिफारिसलाई ‘सडक बहस’ को विषय बनाउनु अनुचित हुने उनको भनाइ छ।

    पार्टीका सांसदका लागि ललितपुरमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई आइतबार सम्बोधन गर्दै सभापति लामिछानेले बहुमतका आधारमा गरिएको निर्णयलाई असंवैधानिक भन्न नमिल्ने उल्लेख गरे । उनले भने, “संवैधानिक परिषद्‌मा आएका नामहरूमध्येबाट बहुमतले एक जनालाई सिफारिस गर्ने कुरा कसरी असंवैधानिक हुन्छरु योग्य न्यायाधीशमध्येबाटै चयन गरिएको हो, यसमा कुनै विधि मिचिएको छैन।”

    प्रधानन्यायाधीश नियुक्तिको परम्परा भत्काएको भन्ने आरोपप्रति आपत्ति जनाउँदै सभापति लामिछानेले पुरानै अभ्यास कायम राखेको भए परिषद् अझै पनि भागबण्डाकै चक्रव्यूहमा फस्ने दाबी गरे । “हामी भागबण्डामा विश्वास गर्दैनौँ,” उनले थपे, “यदि परम्पराकै नाममा अल्झिएको भए आज पनि भागबण्डाकै छलफल चलिरहेको हुन्थ्यो।”

    प्रशिक्षणका क्रममा सभापति लामिछानेले पार्टीका सांसद तथा नेताहरूलाई व्यक्तिगत अपेक्षाभन्दा माथि उठ्न निर्देशन दिए । पार्टीमा पुर्‍याएको योगदानको मूल्य माग्ने समय नभएको स्पष्ट पार्दै उनले भने, “यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन। अबको पाँच वर्ष हामीले काम गरेर नतिजा देखाउने हो। ऐतिहासिक क्रान्तिलाई परिणाममा बदल्न सकेनौँ भने हामी असफल सावित हुने छौँ।”

    उनले अघिल्लो पुस्ताका नेताहरूले गरेको सङ्घर्षकै जगमा वर्तमान राजनीतिक परिवर्तन सम्भव भएको स्वीकार गर्दै आफ्नो व्यवहार र अभिव्यक्तिले नागरिकमा चोट नपुगोस् भन्नेतर्फ सचेत रहन सांसदहरूलाई आग्रह गरे । पार्टीभित्र ‘फलानोको मान्छे’ भनेर गुटबन्दी गर्ने कार्यलाई प्रश्रय नदिन उनले कडा निर्देशन दिए ।

    ७० वर्षअघि राजनीतिक शक्ति नमिल्दा मुलुक पछाडि परेको स्मरण गर्दै उनले वर्तमान सत्ता समीकरण व्यक्तिगत स्वार्थका लागि नभएको प्रष्ट पारे । सञ्चारमाध्यममा आउने विभाजनका अड्कलबाजीलाई खारेज गर्दै उनले आफू राजनीतिक रूपमा परिपक्व रहेको बताए । फरक प्रसङ्गमा उनले सुकुमवासी व्यवस्थापनका लागि सरकार क्रियाशील रहेको र कसैलाई पनि विकल्पविहीन ढङ्गले घरबारविहीन नबनाइने प्रतिबद्धता समेत व्यक्त गरे ।

  • अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

    अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

    काठमाडौँ, वैशाख २७ गते । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेस गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग आज भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले ५३ बुँदे सुझाव प्रस्ताव गर्दै सरकारले ऊर्जा क्षेत्रको विकासका लागि लगानी गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।


    सरकारले अघि सार्न लागेको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिलका लागि निजी क्षेत्रले योगदान गर्न तयार रहेका बताउँदै अध्यक्ष कार्कीले सोहीअनुसार नीति तथा कार्यक्रम र बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए । उनले त्यसका लागि विद्युत् खरिद सम्झौता (पिपिए) खुलाउनुपर्ने, निजी क्षेत्रलाई विद्युत् व्यापार प्रसारण लाइनमा सहभागी गराउनुपर्नेमा जोड दिए ।


    इप्पानका अध्यक्ष कार्कीले धितोपत्र बोर्डबाट समयमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्नुपर्ने, आयोजनालाई शान्तिसुरक्षाको व्यवस्था गर्नुपर्नेलगायत विषयमा सरकारले नीतिगत र कानुनीगत रूपमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी अघि बढाउनुपर्ने सुझाव दिए । सो अवसरमा अर्थमन्त्री डा वाग्लेले अर्थतन्त्रमा विद्युत् क्षेत्रको योगदान बढ्दै गएकाले सरकारले पनि अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्ने सरकारको योजना रहेको बताउँदै यसमा साथ दिन आग्रह गरे ।

    “सरकार ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउने पक्षमा छ । यसको अर्थतन्त्रमा योगदान बढ्दो छ, अर्थतन्त्र हाँक्ने क्षेत्र बनाउने गरी नीति पनि बनाउँछौँ”, उनले भने । लगानीकर्ताको साथ सरकार चाहने र लगानीकर्ताले पनि उच्च व्यावसायिक र इमान्दारिताका साथ लगानी भएको क्षेत्र ऊर्जा हो भन्ने देखिने गरी अघि बढ्नुपर्नेमा अर्थमन्त्री वाग्लेले स्पष्ट पारे ।

    इप्पानको सुझावमा नेपाल ऊर्जा विकास तथा उपभोग अभिवृद्धिको दशक घोषणासहित सरकारको १० वर्षमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्यलाई साकार पार्न विद्युत् खरिद९बिक्रीका अन्य विकल्प कार्यान्वयन गर्नुपर्ने भेटर्वाता कार्यक्रममा सहभागीले बताएका छन् ।

    कार्यान्वयनमा नआउँदासम्म आन्तरिक माग र अन्तरदेशीय विद्युत् बजारको मागलाई मध्यनजर गर्दै पिपिए गर्नुपर्ने, विद्युत् उत्पादक कम्पनीले स्वदेशमा उत्पादन गरेको विद्युत् खरिदका साथै छिमेकी देशबाट विद्युत् आयातका लागि हालसम्म चलिरहेको एकल क्रेता प्रणालीलाई अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।

  • इरानले विश्वकप खेल्ने, अघि सार्यो दश सर्त

    इरानले विश्वकप खेल्ने, अघि सार्यो दश सर्त

    तेहरान, वैशाख २७ गते । इरानको फुटबल सङ्घले सन् २०२६ को विश्वकपमा पुरुष राष्ट्रिय टोलीले भाग लिने शनिबार बताएको छ । इरानी टोलीले मध्यपूर्वमा रहेको युद्धलाई सङ्केत गर्दै आयोजकलाई आफ्ना केही सर्तलाई सम्बोधन गर्न तयार हुनुपर्ने पनि बताएको छ । इरानी सङ्घका अध्यक्ष मेहदी ताजको इरानको सेनाको वैचारिक शाखा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) सँग सम्बन्ध रहेको भन्दै क्यानाडाले गत महिना फिफा कङ्ग्रेसमा सङ्घका प्रमुखलाई प्रवेश गराउन अस्वीकार गरेपछि देखिएको अन्योलबिच इरानको यो भनाइ आएको हो ।

    जुन ११ देखि जुलाई १९ सम्म हुने प्रतियोगितामा इरानको उपस्थिति अमेरिका र इजरायलको आक्रमणपछि फेब्रुअरीमा मध्य पूर्वमा युद्ध सुरु भएदेखि अनिश्चितताबिच गुज्रेको थियो । “हामी सन् २०२६ को विश्वकपमा आवश्य सहभागी हुनेछौँ, तर आयोजकले हाम्रो चिन्तालाई मनन गर्नुपर्नेछ,” इरानी महासङ्घले आफ्नो आधिकारिक वेबसाइटमा भनेको छ ।

    विज्ञप्तिमा भनिएको छ, “हामी विश्वकप प्रतियोगितामा भाग लिनेछौँ, तर हाम्रो विश्वास, संस्कृति र विश्वासबाट पछि हट्ने छैनौँ ।” इरानी फुटबल महासङ्घ (एफएफआइआरआई) का अध्यक्ष ताजले शुक्रबार सरकारी टेलिभिजनसँग भन्नुभयो, “तेहरानसँग विश्वव्यापी प्रदर्शनमा भाग लिनका लागि दश सर्त छन् ।” सर्तमा राष्ट्रिय टोलीका सबै कर्मचारीलाई भिसा प्रदान गर्ने, सम्मान गरिनुपर्ने प्रतियोगिताको क्रममा टोलीको झन्डा र राष्ट्रिय गानको सम्मानका साथै विमानस्थल, होटल र स्टेडियमको मार्गमा उच्च सुरक्षाको माग समावेश गरिएका छन् ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबिओले प्रतियोगितामा इरानका फुटबलरलाई हार्दिकताका साथ स्वागत गरिने बताए । उनले भने, “अमेरिकाले आतङ्कवादी सङ्गठनको रूपमा घोषणा गरेका र अहिले पनि आईआरजीसीसँग सम्बन्ध भएका इरानी प्रतिनिधिमण्डलका सदस्यलाई प्रवेशमा रोक लगाउन सक्छ ।”

    इरानी फुटबल प्रमुख ताजले भन्नुभयो, “सबै खेलाडी र प्राविधिक कर्मचारी, खास गरी इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) मा सैन्य सेवा गरेका मेहदी तारेमी र एहसान हजफीलाई बिना कुनै समस्या भिसा दिइनुपर्छ ।” विश्व फुटबलको सर्वोच्च निकाय फिफा प्रमुख जियानी इन्फान्टिनोले विश्वकप फुटबलका इरानका खेल निर्धारित तालिकाअनुसार नै अमेरिकामा हुने बताए ।

    विश्वकपका लागि एरिजोनाको टक्सनमा रहने इरानले समूह ‘जी’ मा न्युजिल्यान्ड, बेल्जियम र इजिप्टको सामना गर्ने छ । इरानले विश्वकपको आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डसँग खेल्ने छ । इरानले शनिबार भनेको छ, “कुनै पनि बाह्य शक्तिले इरानलाई योग्यताका साथ छनोट भएको कपमा सहभागी हुनबाट वञ्चित गर्न सक्दैन ।” रासस-एएफपी

  • विश्व तापक्रम वृद्धि तीव्र, समुद्री सतह लगातार बढ्दै

    विश्व तापक्रम वृद्धि तीव्र, समुद्री सतह लगातार बढ्दै

    पेरिस, वैशाख २७ गते । युरोपेली सङ्घ अन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरको सतही तापक्रम हालैका दिनमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ । वैज्ञानिकहरूको भनाइ अनुसार अहिलेको अवस्था सन् २०२४ मा देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ, र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो बनेको छ ।

    युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले बताए अनुसार महासागरको सतह निरन्तर तातिँदै गएको छ र यसले विश्व जलवायु प्रणालीमा ठुलो परिवर्तनको सङ्केत दिइरहेको छ । उहाँले मे महिनामा मात्र पनि समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनुभएको छ ।

    युरोपेली सङ्घ अन्तर्गतको कोपरनिकस जलवायु परिवर्तन सेवाले अप्रिल महिनामा विश्वभर समुद्री तापक्रम क्रमशः बढ्दै गएको र यो हालसम्म मापन गरिएको दोस्रो सबैभन्दा उच्च स्तरमा पुगेको पुष्टि गरेको छ । विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढेको छ, जसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सिर्जना गरेको छ ।

    यसैबिच, विश्व मौसम सङ्गठनले पनि ‘एल निनो’ अवस्था आगामी मेदेखि जुलाई महिनाभित्र विकसित हुन सक्ने चेतावनी दिएको छ । ‘एल निनो’ प्रशान्त महासागरको तापक्रम र वायुप्रवाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधीबेहरी र अन्य चरम मौसम घटना बढाउने गर्छ ।

    वैज्ञानिकहरूको अध्ययन अनुसार एल निनो मात्र अहिलेको तापक्रम वृद्धिको कारण होइन, तर मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यासका कारण भइरहेको दीर्घकालीन ग्लोबल वार्मिङसँग मिलेर यसले पृथ्वीको तापक्रम अझ तीव्र रूपमा बढाइरहेको छ । यसकै प्रभाव स्वरूप पछिल्लो एल निनो अवधिमा सन् २०२३ र २०२४ क्रमशः अहिलेसम्मकै दोस्रो र सबैभन्दा तातो वर्ष बनेका थिए ।

    केही मौसम पूर्वानुमानले आगामी एल निनो अझ शक्तिशाली हुन सक्ने अनुमान गरेका छन्, जसलाई तीन दशक अघिको अत्यन्त शक्तिशाली एल निनोसँग तुलना गर्न सकिन्छ । बर्कले अर्थ अनुसन्धान संस्थाका वैज्ञानिक जेक हाउस फादरका अनुसार यदि आगामी एल निनो शक्तिशाली भयो भने सन् २०२७ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढ्ने छ ।

    सामन्था बर्गेसले स्पष्ट पारे अनुसार अहिले नै यसको शक्ति कति हुनेछ भनेर निश्चितरूपमा अनुमान गर्न कठिन छ, किनभने वसन्त ऋतुमा गरिने पूर्वानुमान प्रायः अनिश्चित हुन्छन् । तर उहाँले जोड दिँदै भन्नुभयो,“यसको प्रभाव भने विश्वव्यापीरूपमा स्पष्टरूपमा महसुस हुने छ ।” उहाँका अनुसार एल निनोको चरम प्रभाव प्रायः यसको शिखर वर्षपछि देखिन्छ, जसले गर्दा आगामी वर्षमा तापक्रम अझ बढ्ने सम्भावना रहन्छ ।

    कोपरनिकसले मार्च र अप्रिल महिनामा समुद्री तापक्रम निरन्तर बढ्दै जानुले एल निनोतर्फको सङ्क्रमण सुरु भइसकेको सङ्केत गर्छ । वैज्ञानिकका अनुसार अहिले देखिएको अत्यधिक तापक्रम केवल प्राकृतिक एल निनोका कारण मात्र होइन, तर जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइरहेको दीर्घकालीन जलवायु परिवर्तनले पनि प्रमुख भूमिका खेलेको छ ।

    अप्रिल महिनामा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिभन्दा पहिलेको (सन् १८५० देखि १९००) स्तरभन्दा १.४३ डिग्री सेल्सियस बढी मापन गरिएको थियो । त्यस्तै, आर्कटिक क्षेत्रको समुद्री बरफ पनि लगभग ऐतिहासिक न्युन स्तरको नजिक पुगेको छ, जसले पृथ्वीको जलवायु प्रणालीमा गहिरो असर देखाइरहेको छ । रासस-एएफपी

  • नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जना जिहादी लडाकूको मृत्यु

    नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जना जिहादी लडाकूको मृत्यु

    मैदुगुरी, नाइजेरिया, वैशाख २७ । नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा यसै हप्ता भएको झडपमा कम्तीमा ५० जिहादी विद्रोहीको मृत्यु भएको जनाएको छ । सन् २००९ देखि देशले बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आइएसडब्ल्युएपी) सँग लडिरहेको छ ।

    उनीहरूले यस क्षेत्रमा इस्लामिक खलिफा स्थापना गर्ने बताउँदै आएका छन् । सेनाले बिहीबार बुनी गारी शहरमा रहेको आफ्नो २७ औँ ब्रिगेडको मुख्यालय र योबे राज्यको नजिकैको सुरक्षा जाँच स्थलमा आइएसडब्ल्युएपीसँगको झडपका क्रममा जिहादी लडाकू मारिएका बताइएको छ । “धेरै दिशाबाट ठूलो सङ्ख्यामा आतङ्ककारीले अँध्यारोको फाइदा उठाउँदै स्थानीय समयअनुसार राति करिब २ः०० बजे सुरु गरेको आक्रमणलाई विनाशकारी सशस्त्र आक्रमणलाई रणनीतिक प्रतिभा र सैनिकको दृढ विश्वासले विफल पारिदिएको छ,” आर्मले शुक्रबारको बयानमा भन्नुभयो ।

    झडपमा कम्तीमा ५० जना आतङ्ककारीको मृत्यु भएको र ठूलो परिमाणमा हातहतियार र गोलाबारुद बरामद गरिएको छ भने दुई सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । सेनाले सार्वजनिक गरेको एएफपीलाई प्राप्त तस्बिरमा बरामद हातहतियार र गोलीगठ्ठासहित मृत शरीर देखाइएको छ । नाम नबताउने सर्तमा एक खुफिया स्रोतले आक्रमण र सेनाको प्रत्याक्रमणको पुष्टि गरेको छ ।

    यद्यपि उक्त स्रोतले सेनातर्फ पनि क्षति भएको जनाएको छ । अर्को गुप्तचर स्रोतका अनुसार मारिएका र घाइते भएका सैनिकलाई छ वटा एम्बुलेन्समा छिमेकी बोर्नो राज्यको राजधानी मैदुगुरी लगिएको छ । बोको हराम र आइएसडब्ल्यएपीले हालैका महिनामा तुलनात्मकरूपमा शान्तिको अवधिपछि आक्रमण बढाएका छन् ।

    सन् २०१९ देखि सेनाले साना चौकी बन्द गरेको छ र आक्रमणलाई राम्रोसँग सामना गर्न डिजाइन गरिएको ‘सुपर क्याम्प’ भनेर चिनिने ठूला, भारी सुदृढ शिविरमा आफ्नो सेनालाई पुनः सङ्गठित गरेको छ । केही विश्लेषक भन्छन्, “यो रणनीतिले सशस्त्र समूहलाई कम सैन्य उपस्थिति भएका ग्रामीण क्षेत्रमा बढी स्वतन्त्ररूपमा आवतजावत गर्न अनुमति दिएको छ ।”

    संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तरपूर्वी नाइजेरियामा जिहादी विद्रोहले ४० हजारभन्दा बढीको ज्यान लिएको छ र करिब २० लाख विस्थापित भएको छ र हालैका वर्षमा छिमेकी नाइजर, क्यामरुन र चाडका केही भागमा फैलिएको छ । रासस-एएफपी

  • तमिलनाडुमा फिल्मी नायक विजय मूख्यमन्त्री बने, आजै सपथ

    तमिलनाडुमा फिल्मी नायक विजय मूख्यमन्त्री बने, आजै सपथ

    २७ वैशाख, काठमाडौं । भारतको तमिलनाडुमा मूख्यमन्त्री फिल्मी नायक थलपति विजय बनेका छन् । हालै सम्पन्न निर्वाचनमा अविश्वसनीय जित निकालेसँगै उनी मूख्यमन्त्री बन्न थालेका हुन् । विजयको पार्टी टीओवीले भीसीके र आइयूएएलको समर्थनमा सरकार बनाउन थालेका हुन् । उनको सपथमा कांग्रेस नेता राहुल गान्धी समेत सहभागी हुने भएका छन् ।

    सथप ग्रहण आज १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा गर्ने तयारी छ । विजयले संसदमा विश्वासको मत भने लिनुपर्छ । यस सरकारमा अधिकांश युवा नेता देखिने भएका छन् । २९ वर्षिया कीर्तना शिवकाजीले पनि मन्त्रीको सपथ लिनेछिन् । कुल ९ जनाले आज मन्त्री पदको सपथ लिने तयारी छ ।

  • इरानले होर्मुज स्ट्रेटमा कडा नियम बनायो, इजरायल र अमेरिकी जहाजको प्रवेशमा प्रतिबन्धको तयारी

    इरानले होर्मुज स्ट्रेटमा कडा नियम बनायो, इजरायल र अमेरिकी जहाजको प्रवेशमा प्रतिबन्धको तयारी

    २७ वैशाख, काठमाडौं । इरानले होर्मुज स्ट्रेटमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । मस्यौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ । तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमका रूपमा व्याख्या गरेको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले तेहरानमा आयोजित एक समारोहमा विधायिका पुनः सुरु भएपछि यसलाई ‘निवारक कानुन’ का रूपमा पारित गरिने जानकारी दिए ।

    ‘विधेयक तयार छ,’ उनले भने, ‘यस विषयमा विदेश मन्त्रालय, बन्दरगाह तथा समुद्री सङ्गठनसहित देशका सम्बन्धित अधिकारीहरूसँग शृङ्खलाबद्ध रूपमा बैठकहरू गरी छलफल गरिएको छ ।’ इरान सधैँ यस महत्त्वपूर्ण जलमार्गमा सुरक्षित र स्वतन्त्र आवागमनको पक्षमा रहेको उल्लेख गर्दै उनले अमेरिकी सेनाको उपस्थिति र इजरायली गतिविधिलाई यस क्षेत्रको अस्थिरताको मुख्य कारण भएको बताए ।

    ‘इरानी संसद्को यो विधेयक स्ट्रेट अफ होर्मुजमा इरानको सार्वभौमिकतालाई बलियो बनाउने उद्देश्यका साथ ल्याइएको हो,’ अजिजीले प्रस्ट पारे, ‘अमेरिकी सेनाको उपस्थिति र इजरायली आक्रमण खाडी र स्ट्रेट अफ होर्मुजमा असुरक्षा र अस्थिरताको मुख्य जड बनेको छ ।’ इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार शुक्रबार स्ट्रेट अफ होर्मुजमा इरानी र अमेरिकी सेनाबीच छिटपुट झडप भएको थियो । एएफपी

  • मुक्त कमैयाको बदलिएको जीवन : बगरमा पसिना, राजमार्गमा व्यापार

    मुक्त कमैयाको बदलिएको जीवन : बगरमा पसिना, राजमार्गमा व्यापार

    २७ वैशाख, कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडकछेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन्, फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन् । तर सडक किनारको यो सानो व्यापार केवल यात्रीको तिर्खा मेटाउने माध्यम मात्रै होइन, मुक्त कमैया परिवारको जीविकासँगै सङ्घर्ष र आत्मनिर्भरतासँग जोडिएको छ ।

    कृष्णपुर नगरपालिका–२ का नीरज रानाले विगत चार वर्षदेखि वनहरा नदीको बगरमा फलाएका फलफूल र तरकारी बेचेर परिवारको गुजारा चलाइरहेका छन् । राजमार्ग किनारमै व्यापार गर्दै आएका रानाका अधिकांश ग्राहक सवारीचालक र यात्री हुन् । ‘बिहानदेखि साँझसम्म सडकछेउमा बसेर तरकारी तथा फलफूल बिक्री गर्दा हुने आम्दानीले परिवारको दैनिक खर्च धानिएको छ,’ उनले भने । राना मुक्त कमैया बस्तीमा बस्छन् । सरकारले करिब तीन दशकअघि पुनस्र्थापनाका क्रममा उनलाई पाँच कट्ठा जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा कच्ची घर बनाएर उनको परिवार बस्दै आएको छ ।

    माघ महिनादेखि उनी वनहरा नदी किनारमा बगर खेती गर्छन् । बगरमा काँक्रा, तरबुजा, खरबुजा, लौका र तितेकरेला उत्पादन हुन्छ भने घरनजिकैको बारीमा मकै लगाउने गरिएको छ । उत्पादन भएका तरकारी र फलफूल राजमार्ग छेउमै बिक्री गरिन्छ । ‘दैनिक पाँच हजार रुपैयाँजतिको बिक्री हुन्छ,’ रानाले भने, ‘सिजनभरिमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुन्छ । यही आम्दानीले परिवार चलिरहेको छ ।’

    वनहरा मुक्त कमैया बस्तीका ८० भन्दा बढी परिवार अहिले बगर खेतीमा संलग्न छन् । नदी किनारको बगरमा उत्पादन गरिएका तरकारी तथा फलफूल बिक्री गर्न थालेको करिब छ वर्ष भएको स्थानीय बताउँछन् । स्थानीय किसान शिवलाल रानाले बगर र अरूको खेत ‘लिज’ ९भाडा० मा लिएर खेती गर्दै आएका छन् । यस वर्ष उनले सात कट्ठामा तरबुजा तथा १० कट्ठामा लौका, घिरौँला र करेला लगाएका छन् ।

    ‘गत वर्ष तरबुजा नबिक्दा घाटा लाग्यो, त्यसैले यस वर्ष कम रोपेको छु, काँक्रा बढी लगाएको छु,’ शिवलालले भने, ‘सिजनमा पाँच लाख रुपैयाँसम्मको बिक्री हुन्छ, जसबाट दुई-तीन लाख रुपैयाँसम्म बचत हुन्छ ।’ उनका अनुसार खेती नै परिवारको मुख्य आयस्रोत हो । ‘अरू गरिखाने आधार छैन,’ उनले थपे, ‘यसैबाट वर्षभरिको खर्च धान्नुपर्छ ।’

    सडक किनारमा तरबुजा प्रतिकिलो २५, काँक्रा ४०, घिरौँला ६० र तितेकरेला ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । काँचो मकै भने प्रतिघोगा १५ रुपैयाँमा बिक्री हुने गरेको छ । गर्मी मौसममा ताजा काँक्रा र तरबुजा किन्न धेरै यात्री वनहरा क्षेत्रमा रोकिने गरेका छन् । तरकारी खरिद गर्न पुगेका सवारीचालक रमेश बोहराले यहाँ पाइने उत्पादन ताजा र सस्तो हुने भएकाले आफू प्रायः किनमेल गर्ने गरेको बताए ।

    ‘राजमार्गमै ताजा तरकारी र फलफूल पाइन्छ, यहाँका काँक्रा र तरबुजा निकै मीठा हुन्छन्,’ उनले भने, ‘स्थानीय किसानको उत्पादन किन्दा उनीहरूलाई पनि सहयोग पुग्छ ।’ तर सडकछेउमै व्यापार गर्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम पनि बढाएको छ । तीव्र गतिमा गुड्ने सवारीसाधनका कारण असुरक्षा रहेको व्यवसायी मुक्त कमैया बताउँछन् ।

    तरकारी तथा फलफूल बिक्रीमा संलग्न धीरेन्द्र रानाले सुरक्षित बजार व्यवस्थापनको आवश्यकता औँल्याए । ‘नगरपालिकाले सुरक्षित बिक्री केन्द्र बनाइदिए सहज हुन्थ्यो,’ उनले भने, ‘व्यवस्थित ठाउँ भए दुर्घटनाको जोखिम कम हुन्थ्यो तर अहिलेसम्म कुनै पहल भएको छैन ।’

    बगर खेतीबाट राम्रो आम्दानी भए पनि त्यसका लागि ठुलो लगानी र मिहिनेत आवश्यक पर्ने उनीहरूको भनाइ छ । खेती सुरु गर्न मात्रै ३० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । मलखाद, बिउबिजन, जोताइ–खोदाइ, सिँचाइ र गोडमेलमै धेरै रकम खर्च हुने किसान अनिता रानाले जानकारी दिइन् ।

    ‘खेती गर्न सजिलो छैन, दिनरात मिहिनेत गर्नुपर्छ,’ उनले भनिन्, ‘राम्रो स्याहारसुसार गरे मात्रै उत्पादन राम्रो हुन्छ ।’ स्थानीय जुगमानी चौधरीले बगरमा उत्पादन भएका तरकारी बिक्री गरेरै घरका लागि खाद्यान्न जुटाउने गरिएको बताइन् । ‘खेतीबाट आएको पैसाले चामल, नुन र तेल किन्छौँ,’ उनले भनिन्, ‘यसले घरधन्दा धानेको छ ।’

    विरा रानाका अनुसार बगर खेतीले मुक्त कमैया परिवारको जीवनमा परिवर्तन ल्याउन थालेको छ । ‘बगरमा बगाएको पसिना खेर जाँदैन,’ उनले भने, ‘परिश्रम गरे उत्पादन राम्रो हुन्छ, आम्दानी पनि हुन्छ । यही खेतीले जीविका चलिरहेको छ ।’

    रानाका अनुसार पहिले दैनिक मजदुरीका लागि गाउँगाउँ धाउनुपर्ने अवस्था थियो । अहिले भने आफ्नै उत्पादन बिक्री गरेर परिवार धान्न सकिने अवस्था बनेको छ । वनहराका मुक्त कमैया परिवारका लागि बगर खेती आम्दानीको स्रोत मात्र नभई आत्मनिर्भरताको आधार बन्दै गएको छ ।

    तर कृषि अनुदान, सिँचाइ, बिउबिजन तथा बजार व्यवस्थापनका सरकारी कार्यक्रम भने अझै मुक्त कमैया परिवारसम्म पुग्न सकेका छैनन् । अधिकांश आफ्नै लगानी र श्रममा निर्भर छन् । ‘यदि सरकारले थोरै सहयोग गरिदियो भने उत्पादन अझ बढाउन सकिन्छ,’ लीलावती वडायकले भनिन्, ‘बजार व्यवस्थापन र कृषि सामग्रीमा सहयोग पाए आम्दानी पनि बढ्थ्यो ।’

    वनहरा नदी किनारको बगर अहिले मुक्त कमैया परिवारको आशा बनेको छ । बिहानदेखि साँझसम्म पसिना बगाएर उत्पादन गरिएका तरकारी र फलफूलले मुक्त कमैया परिवारको घरखर्च मात्र धानेको छैन, आत्मसम्मानसहित बाँच्ने आधार पनि बनेको छ ।

  • मह काढ्ने परम्परा जीवन्त राख्न पुस्ता हस्तान्तरण

    मह काढ्ने परम्परा जीवन्त राख्न पुस्ता हस्तान्तरण

    नविन लामिछाने\रासस
    २७ वैशाख, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर मह सिकार गर्दछन् ।

    यस कार्यले यहाँका स्थानीयका साथै पर्यटकलाई पनि आकर्षित गरेको छ । गाउँको पुर्ख्यौली पेसाकै रूपमा अगाडि बढाउन सकिनेगरी भिर मौरीको मह काढ्ने कार्यमा संलग्न हुँदै आएको स्थानीय बताउँछन् । स्थानीयले भिर मौरीको मह काढ्ने परम्परालाई निरन्तरता दिँदै आएका सिकारी टेकबहादुर गुरुङ बताउँछन् । विगतमा ज्येष्ठ नागरिकको मात्रै सहभागिता रहने मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणलाई प्राथमिकता दिइएको उनी बताउँछन् ।

    ‘भिर मौरीको मह औषधिका रूपमा प्रयोग हुन्छ । औषधिका रूपमा उपयोग गर्न जोखिम मोलेर भिरबाट मह काढ्ने गरेका छौं’, गुरुङ भन्छन्, ‘भिर मौरीको महको माग पनि बढी छ ।’ वर्षमा दुईपटक मह काढ्ने गरिएको उनी बताउँछन् ।

    गुरुङ भन्छन्, ‘पहिलो चरणमा मह वैशाखको अन्तिम सातादेखि जेठको दोस्रो साताभित्र निकाल्नुपर्ने हुन्छ भने दोस्रो चरणमा असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातामा निकालिसक्नुपर्छ । शुक्रबारमात्रै मह काढ्ने चलन छ ।’ मह धेरै भएको समयमा भने दुई दिन लगाएर मह निकाल्ने गरिएको उनी बताउँछन् ।

    मौरीको सिकार गर्न तिथिमिति जुराएर जङ्गलबाट निगालो ल्याउने र चोया बनाई लठ्ठा बनाउने गरिन्छ । आगोमा तताउँदै लठ्ठाबाट गाउँले मिलेर भर्याङ बनाउने गर्दछन् । एकपटक बनाइएको भर्याङ तीनचार वर्षसम्म उपयोग गर्न सकिन्छ ।

    यसरी बनाइएको भर्याङ मह निकाल्न (काढ्न) गाउँले एकसाथ भिरमा मह सिकारका लागि जाने गर्दछन् । विश्वकै साहसिक पेसाका रूपमा परिचय बनाएकाले मह सिकार हेर्न विदेशी पर्यटकको आकर्षण बढ्दै जानुका साथै यस गाउँको आयआर्जनको माध्यम बनेको सिकारी मीनबहादुर गुरुङ बताउँछन् ।

    ‘पहिलापहिला त मुखमात्रै छोपेर मह निकालिन्थ्यो, अहिले त शरीर पूर्ण रूपमा छोपेर मह निकाल्ने गरेका छौं’, उनी भन्छन् , ‘यसले जोखिमबाट जोगाएको छ ।’

    मौरीले कम चिल्दा थेरापीको रूपमा काम गर्छ भने बढी चिलेमा मानिसको ज्यानै जानसक्ने जोखिम हुने गुरुङ बताउनुहुन्छ । पहिलेदेखि नै औषधिका रूपमा प्रयोग गरिँदै आएको भिर मौरीको मह स्थानीयकै घरमा सीमित हुने गर्दथ्यो ।

    मानवीय विकाससँगै पहिरनमा परिवर्तन हुँदै जाँदा शरीरमा पूरा कपडाले ढाकिने चलन बढ्नुका साथै सुरक्षित तवरबाट मह सिकारमा पनि सहज हुँदै गएको स्थानीयको भनाइ छ । पहिले स्थानीयको सहभागितामा मात्रै निकालिने मह अहिले विदेशीको आकर्षण बढ्दै गएको गुरुङ बताउँछन् ।

    हाल भिर मौरीको मह सिकार गरेको हेर्न विदेशी आउने गरेको स्थानीय बताउँछन् । पर्यटकलाई आकषित गर्दै प्राकृतिक र साहसिक कार्यलाई जीवन्त राख्न निरन्तरता दिनुपर्ने टर्कीका नागरिक केमल बताउँछन् । ‘यस्तो चिल्ने मौरीको मह सिकार जोखिमयुक्त छ । तर, यहाँका स्थानीयको साहसिकताले लोभ्यायो’, उनी भन्छन्, ‘प्राकृतिक जोखिम मोलेजस्तै यसलाई आयआर्जनसँग जोड्न सक्नुपर्छ ।’

    आश्चर्यचकित पार्नेगरी स्थानीयले मह निकालेको देख्दा डर लागेको केमल बताउँछन् । ‘म त निकालेको महमा केही मौरी बसेको देख्दा पनि डराएको थिएँ । नेपाली साहसी छन्, नेपालीका बारेमा जुन बयान सुनिएको थियो त्यो आफ्नै आँखाले देख्न पाइयो’, उनी भने ।

    भिर मौरीको मह काढ्ने परम्परामात्रै नभएर मह औषधिजन्य भएकाले अझ माग बढी हुने गरेको छ । त्यसैले यसलाई निरन्तरता दिन आवश्यक छ ।

    प्राकृतिक उपजका रूपमा विकास गर्दै आयआर्जनको माध्यम बनाउन संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अवस्था देखिन्छ । यस परम्परालाई जीवन्त राख्दै विदेशीको आकर्षणको केन्द्र बनाउने प्रयासमा सबैको ध्यान जानुपर्ने हुन्छ ।