Category: फिचर

  • आज २५७०औं बुद्ध जयन्ती, विश्वभर मनाइदैं

    आज २५७०औं बुद्ध जयन्ती, विश्वभर मनाइदैं

    १८ वैशाख, काठमाडौं । आज २५७०औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

    दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्ती मनाउनका लागि लागि भव्य तयारी गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ ।

    विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

    लुम्बिनीको कार्यक्रममा प्रधानमन्त्री नजाने

    आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ । मूल कार्यक्रममा प्रधानमन्त्री बालेन शाहलाई निम्तो गरिए पनि उनले नआउने जानकारी गराइसकेको आयोजक लुम्बिनी क्षेत्र विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए । बुद्ध जयन्तीमा प्रमुख अतिथिका रूपमा सभामुख डोलप्रसाद अर्याल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल विशिष्ट अतिथिका रूपमा आउने कार्यक्रम तय भएको रोक्काले बताए ।

    दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ । भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको छ। लुम्बिनी विकास कोषका अनुसार बुद्ध जयन्तीको मुख्य समारोह अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुनेछ । यस वर्षको बुद्ध जयन्तीले विश्वमा भइरहेको युद्धमा शान्ति र भाइचाराको सन्देश दिने अपेक्षा गरिएको छ ।

  • सरकारले बढायो खाना पकाउने ग्यासको मूल्य

    सरकारले बढायो खाना पकाउने ग्यासको मूल्य

    १८ वैशाख, काठमाडौं । खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ । यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको छ ।

  • डिजेल र पेट्रोलको मूल्य घट्यो

    डिजेल र पेट्रोलको मूल्य घट्यो

    १८ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्य घटाइएको हो । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो ।

    अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ । यो सँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ । यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो । सुर्खेत र दाङमा यसअघि २१८ रहेको मूल्य अब २१६ भएको छ ।

  • आजबाट काठमाडौंका सुकुमबासी बस्तीमा पुनः डोजर चल्दै

    आजबाट काठमाडौंका सुकुमबासी बस्तीमा पुनः डोजर चल्दै

    १८ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनार आसपासका सबै सुकुमवासी बस्तीमा सरकारले आज डोजर चलाउँदैछ । आजबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ वंशीघाट, वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्रमा डोजर चलाउने तयारी छ ।

    त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालित भइसकेका छन् । बस्ती खाली गर्ने सूचनालाई अटेर गरी बस्दा कुनै क्षति भएमा त्यसको जिम्मेवार स्वयं हुने चेतावनी जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो । काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसाबास भै आएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य आज बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानहरुबाट सुरु हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

    सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि अनामनगरको धोबीखोला छेउका सुकुमवासीहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेको देखिएको थियो । सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउने प्रशासनले जनाएको छ ।

    बस्ती खाली हुने क्षेत्रका बासिन्दालाई प्रशासनले विभिन्न १३ वटा काम तत्काल गर्न भनेको छ ।

    यी हुन् प्रशासनले अनुरोध गरेका कार्य–

    १. जोखिमपूर्ण वस्तीमा निर्माण भएका घरटहराहरू तत्काल खाली गर्नुहोला ।

    २. तपाईंको परिवारमा विरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा साना बालबालिका छन् भने उनीहरूलाई सर्वप्रथम सुरक्षित तवरबाट अन्यत्र स्थानमा सार्ने कार्य गर्नुहोला ।

    ३. बिरामी, अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकलाई उद्वार गर्नुपर्ने भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहायता लिनुहोला । अस्पतालसम्म लैजानुपर्ने व्यक्तिलाई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । तपाईंको आवश्यकता अनुसार मद्दत लिनुहोला ।

    ४. तपाईंको व्यक्तिगत मालसामानहरू, लत्ताकपडा, पशुपंक्षी चौपाया, समेत बाहिर निकाल्नु होला । उक्त बस्तुहरूको ढुवानी गरी अन्यत्र लैजानु पर्ने अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी काठमाडौं महानगरपालिका प्रहरी र स्थानीय प्रहरी समेतको मद्दत लिनुहोला ।

    ५. २०८३ वैशाख १७ गते साँझसम्म पूर्ण रुपमा घर टहरा खाली गर्नु होला ।

    ६. वास्तविक रुपमा आश्रय लिनुपर्ने व्यक्ति र परिवारलाई नेपाल सरकारले तत्काल व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था गर्नेछ ।

    ७. वास्तविक भूमिहिन व्यक्ति एवम् परिवारको पहिचान गरी दिगो रुपमा समस्याको समाधान नेपाल सरकारका सम्बन्धित निकायबाट यथासक्य छिटो हुनेछ ।

    ८. तपाईंलाई मानवीय सहायता प्रदान गर्दै, उद्धार गर्ने कार्य हुनेछ । कोही कसैको गलत हल्ला, दवाव, प्रभाव वा अफवाहका पछाडि नलाग्नुहोला ।

    ९. नक्कली एवं अवास्तविक भूमिहीन भनिएका व्यक्ति एवं परिवारको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याइने छ ।

    १०. तपाईंको सुरक्षा, जिउ ज्यानको रक्षा र संविधान प्रदत्त तपाईंको हक अधिकार सुरक्षित रहनेछ ।

    ११. सरकारको यस अभियानमा सहयोग गर्ने कार्य तपाईंको समेत कर्तव्य र जिम्मेवारी हो ।

    १२.सरकारले तपाईंलाई सहयोग र मद्दत गर्न आएको छ । तपाईंका बालबालिकाको शिक्षाको प्रबन्ध सरकारको तर्फबाट हुनेछ ।

    १३.कसैले यो सूचनालाई अटेर गरी बस्दा घर टहरा भत्किई थप क्षति हुन पुगेमा त्यसको जिम्मेवार तपाईं स्वयम् हुने व्यहोरा समेत यसै सूचनाबाट सूचित गरिन्छ ।

  • स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार, मन्त्रालयले थाल्यो हस्तान्तरणको प्रक्रिया 

    स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार, मन्त्रालयले थाल्यो हस्तान्तरणको प्रक्रिया 

    १८ वैशाख, काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागीका लागि सूचना आह्वान गरेको थियो । 
    सोही अनुसार बिहीबार सम्म धरान उपमहानगरपालिका सहित २०७ वटा पालिकाले स्थानीय तहबाट सेवा दिन इच्छुक रहेको जानकारी सहित मन्त्रालयमा निवेदन पठाएका छन् । 

    हुम्लाको सर्केगाड गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका, कञ्चनपुरको बेलडाँडी गाउँपालिका सहित घोराही उपमहानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिका समेत रहेका छन् । यस्तै भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाले समेत स्थानीय तहबाटै नापी तथा मालपोतको सेवा दिन तयार रहेको भन्दै मन्त्रालयमा निवेदन पठाएका छन् । 

    मन्त्रालयले प्राप्त निवेदन उपर अध्ययन थालेको छ । मन्त्रालयले चरणबद्ध रूपमा इच्छुक सबै पालिकालाई सेवा हस्तान्तरण गर्ने योजना अनुसार पहिलो चरणमा केही पालिकाहरू छनोट गरी नापी तथा मालपोतसम्बन्धी सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी समेत सुरु गरेको छ । पालिका छनोट गर्दा सेवाग्राहीको चापको अवस्था, पहुँच तथा व्यवस्थापन क्षमतालाई आधार मानी कम भिडभाड भएका साथै अत्यधिक सेवा चाप रहेका पालिकालाई प्राथमिकता दिइने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ । 

    इच्छुक पालिका रहेका जिल्ला स्थित नापी तथा मालपोतका अधिकारीहरूलाई तत्कालै स्थानीय तहमा पुगेर स्थलगत अनुगमन गरी वस्तुस्थिति जानकारी गराउन मन्त्रालयले बिहीबार नै पत्राचार समेत गरेको छ । लगत्तै नापी तथा मालपोत सेवा प्रवाहका लागि स्थानीय तहलाई आवश्यक प्राविधिक तथा जनशक्ति व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले पालिकाहरूलाई आवश्यक सामाग्री सहित कर्मचारीहरूलाई समेत तालिम र प्रशिक्षण दिने तयारी गरेको छ । एक सातामै भित्रै सबै तयारी पुरा गरेर केही पालिकामा नापी र मालपोत सेवा हस्तान्तरण गर्ने मन्त्री रावलको सचिवालयले जनाएको छ ।

  • अब लाइन होइन, अनलाइन : देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने

    अब लाइन होइन, अनलाइन : देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने

    १८ वैशाख, काठमाडौं। सरकारले मालपोत कार्यालयहरूमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ। भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूचीअन्तर्गत नतिजामा आधारित शासकीय प्रवन्ध लागू गर्ने क्रममा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

    भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकीको कामलाई अनिवार्य अनलाइन गर्न निर्देशन दिएको हो । यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएपछि ऋण लिन वा चुक्ता गरेपछि जग्गा रोक्का र फुकुवा गर्न सेवाग्राही आफैँ मालपोत धाउनुपर्ने र बिचौलियालाई अतिरिक्त रकम बुझाउनुपर्ने बाध्यताको अन्त्य हुने दाबी गरिएको छ ।

    यसअन्तर्गत मालपोत कार्यालयबाट प्रदान हुँदै आएको धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी सेवा अब अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन हुने भएको छ। नागरिकलाई छिटो, सहज तथा बिचौलिया(मुक्त सेवा पूर्वानुमानयोग्य समयभित्र उपलब्ध गराउने तथा सेवा प्रक्रियालाई मुहारविहीन, समयबद्ध र पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यअनुरूप यो व्यवस्था लागू गरिएको हो।

    भूमि प्रशासन निर्देशिका, २०८१ को दफा (९) को उपदफा (४) बमोजिम बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्यलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरिएको हो। यसअनुसार तोकिएका बैंक तथा वित्तीय संस्थाबाट मिति २०८३ साल वैशाख २१ गतेदेखि र अन्य क, ख, ग तथा घ वर्गका बैंक तथा वित्तीय संस्थाबाट मिति २०८३ साल जेठ १ गतेदेखि उक्त सेवा अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गरिनेछ।

    हालसम्म अनलाइन प्रणाली सञ्चालनका लागि अनुमति नलिएका र सम्झौता नगरेका अन्य बैंक तथा वित्तीय संस्थाहरूका हकमा आगामी जेठ १ गतेदेखि यो व्यवस्था अनिवार्य गर्न भनेको छ । विभागले ती संस्थाहरूलाई जेठ १ अगावै अनुमति पत्र लिई आवश्यक तयारी गर्न आग्रहसमेत गरेको छ।

    सरकारले यस व्यवस्थाबाट सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र समयबद्धता सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ। साथै, यसले सेवाग्राहीलाई अनावश्यक झन्झट तथा बिचौलियाबाट मुक्त गर्दै डिजिटल सुशासन प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।यस कार्यले मालपोत कार्यालयहरुमा हाल रहेको सेवा चाप ६० प्रतिशतले कम हुने अनुमान गरिएको छ।

  • राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

    काठमाडौँ, वैशाख १७ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको प्रवक्ता शाक्यले बताए ।

  • राष्ट्रपतिबाट सार्वजनिक खरिद अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद अध्यादेश जारी

    काठमाडौँ, वैशाख १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।

  • देशभरका सुकुमबासी बस्तीमा त्रास फैलिएपछि सरकारले दियो यस्तो स्पष्टीकरण

    देशभरका सुकुमबासी बस्तीमा त्रास फैलिएपछि सरकारले दियो यस्तो स्पष्टीकरण

    १८ वैशाख, काठमाडौं । सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरेपछि मात्रै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाउने आफ्नो योजना रहेको र यसमा सरकार दृढ रहेको स्पष्ट पारेको छ। वास्तविक सुकुम्बासीहरूमा पर्न गएको त्रासप्रति सचेत रहँदै, सरकारले उनीहरूलाई ढुक्क हुन आग्रह गरेको छ।

    सरकारले वर्षायाम सुरु हुन लागेको सन्दर्भमा प्रत्येक वर्ष बाढी तथा डुबानको चपेटामा पर्ने काठमाडौं उपत्यकाका बागमती र त्यसका सहायक नदी किनारका जोखिमपूर्ण बस्तीलाई लक्षित गरी २०८३ वैशाख १२ गतेदेखि विशेष अभियान सुरु गरेको हो। जनधनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै थापाथली, शान्तिनगर, गैरीगाउँ तथा कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार बुद्धचोक र मनोहरा टोलका जोखिमयुक्त बस्तीहरू खाली गर्ने कार्य सम्पन्न भइसकेको छ।

    यस सम्बन्धमा शहरी विकास मन्त्री सुनिल लम्सालले वर्षायाममा बाढीको उच्च जोखिममा रहेका नदी किनारका ती बस्तीहरूलाई मानवीय सुरक्षाको दृष्टिकोणले मात्र खाली गरिएको स्पष्ट पारे । मन्त्री लम्सालले बाँकी क्षेत्रमा रहेका सुकुम्बासीको हकमा भने उनीहरूको पहिचान र उचित व्यवस्थापनको खाका तयार नभएसम्म जग्गा खाली गर्ने प्रक्रिया अगाडि नबढाइने प्रतिबद्धता जनाउँदै वास्तविक सुकुम्बासी परिवारलाई ढुक्क हुन आग्रह गरेका छन् ।


    यो अभियान सरकारको नीतिगत निर्णय अनुरूप अगाडि बढेको हो। गत वर्ष चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ९२ मा सार्वजनिक जग्गाको संरक्षण गर्ने, डिजिटल अभिलेख तयार गर्ने र नयाँ अतिक्रमणलाई कडाइका साथ रोक्ने स्पष्ट व्यवस्था गरिएको छ। सोही नीतिलाई कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८३ वैशाख १७ गते देशभरका सबै स्थानीय तहलाई परिपत्र जारी गरेको छ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आफ्नो क्षेत्रभित्रको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहकै हुने भएकाले मन्त्रालयले सम्बन्धित पालिकालाई सुकुम्बासीको पहिचान गर्न र उनीहरूको सुरक्षित व्यवस्थापनको ठोस योजना बनाउन निर्देशन दिएको छ।


    व्यवस्थापनको प्रक्रियामा उनीहरूको आधारभूत मानव अधिकारलाई सुरक्षित गर्न मन्त्रालयले विशेष जोड दिएको छ। सुकुम्बासी व्यवस्थापन गर्दा सुरक्षित आवासको प्रबन्ध, स्वास्थ्य उपचार, पौष्टिक खानपान, गोपनीयताको संरक्षण, तथा महिला र अपाङ्गतामैत्री आवास र सुरक्षा प्रबन्ध मिलाउन स्थानीय तहहरूलाई स्पष्ट निर्देशन दिइएको छ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्बासीको पहिचान र व्यवस्थापनपछि मात्र सरकारी जग्गा खाली गर्ने सरकारको योजनामा आफूहरू दृढ रहेको र यो कार्य निकै संवेदनशील भएकाले स्थानीय तहहरूले जिम्मेवारीपूर्वक मानवीय भूमिका निर्वाह गर्नुपर्ने बताए । यस विषयमा थप स्पष्ट पार्दै गृह मन्त्रालयले समेत सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।

    मन्त्रालयले स्थानीय तहले नै सुकुम्बासीको पहिचान र व्यवस्थापनको योजना तयार पार्ने र अतिक्रमण हटाउने कार्य गर्दा स्थानीय जनतालाई पूर्वसूचना दिएर सुसूचित गराउनुपर्ने व्यवस्था गरेको छ। स्थानीय तहको माग र उनीहरूको योजना बमोजिम आवश्यक परेको खण्डमा मात्र जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रबन्ध मिलाउने गृह मन्त्रालयले स्पष्ट पारेको छ।


    सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र वास्तविक सुकुम्बासीको सम्मानजनक पुनःस्थापना गर्ने दुवै कार्यलाई सन्तुलित र मानवीय ढंगले अगाडि बढाएको सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन् ।

    उनले भनिन्, “सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका वास्तविक सुकुम्बासीले चिन्ता लिनुपर्ने कुनै कारण छैन। उनीहरूको सुरक्षित र सम्मानजनक व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको छ।”

  • २० जनाको ज्यान जाने गरी भएको दुर्घटनाबारे छानविन गर्न समिति गठन

    २० जनाको ज्यान जाने गरी भएको दुर्घटनाबारे छानविन गर्न समिति गठन

    १७ वैशाख, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो भएको भीषण जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको विज्ञप्तिअनुसार आजै भएको सचिवस्तरीय निर्णयबाट उक्त समिति गठन गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा गठित यस चार सदस्यीय समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।


    छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहेका छन्। गृह मन्त्रालयले समितिलाई उक्त दुर्घटना कसरी भयो र यसमा कसको लापरवाही वा कमजोरी रह्यो भन्ने पत्ता लगाउनुका साथै आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमहरूबारे सुझाव दिन कार्यादेश दिएको छ। रुकुमबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दिउँसो करिब २ः५० बजे कच्ची सडकबाट करिब ८ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

  • संघीय मामिला मन्त्रालयले सबै पालिकालाई भन्यो: वास्तविक सुकुमवासी पहिचान गर्नु

    संघीय मामिला मन्त्रालयले सबै पालिकालाई भन्यो: वास्तविक सुकुमवासी पहिचान गर्नु

    १७ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकाहरूलाई पत्र लेखेर वास्तविक सुकुमवासी पहिचान गर्न आग्रह गरेको छ । मन्त्रालयले सुकुमवासी पहिचान, तत्काल अन्यत्र व्यवस्था गर्ने योजना र अतिक्रमण हटाउन आवश्यक परे जिल्ला प्रशासन कार्यालयसँग सहयोग माग गर्नु भन्दै बिहिबार परिपत्र गरेको हो ।

    राष्ट्रिय गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले बिहिबार बिहान नेपाली सेनाले सुकुमवासीको लगत संकलन गरेको प्रति आपत्ति जनाएर विज्ञप्ती निकालेको थियो । नेपाली सेनाले भने विपद् प्रयोजनका लागि विवरण संकलन गरेको प्रतिक्रिया दिएको थियो ।

    बिहीबारै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी मन्त्रालयमा पठाउन र अतिक्रमण हटाउने कार्यका लागि सुरक्षा प्रबन्ध लगायतका आवश्यक सहजीकरण गर्न निर्देशन दिएको थियो ।

    नेपाली सेना र नेपाल प्रहरीले सुकुमवासीको लगत पठाउन माग गरेर पालिकाहरूलाई पत्रचार गरेको थियो । बर्दियाका पालिकाहरूले यसअघि नै यसको विरोध गरेको थियो । सरकारले काठमाडौंको थापाथाली, गैरीगाउँ, मनोहरालगायत देशका विभिन्न स्थान अतिक्रमित बस्ती हटाउन सुरु गरेको छ ।

  • एक महिनामा देशभर ४१७ जना बिचौलिया पक्राउ

    एक महिनामा देशभर ४१७ जना बिचौलिया पक्राउ

    १७ वैशाख, काठमाडौं । नेपाल प्रहरीले पछिल्लो एक महिनाको अवधिमा देशभर ४१७ जना बिचौलिया पक्राउ गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयको बिहीबारको बुलेटिनमा सो कुरा उल्लेख छ । पक्राउ परेकामध्ये उपत्यकाबाट १२३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५० जना, बागमती प्रदेशका उपत्यकाबाहेकका जिल्लाबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकामध्ये १२१ जनाविरुद्ध मुद्दा दर्ता गरेको र २९६ जनालाई छानबिनपछि छाडिएको प्रहरीले भनेको छ । सरकारले सार्वजनिक सेवालाई बिचौलियारहित, नागरिक मैत्री, कानुनसम्मत, पारदर्शी र छिटो छरितो बनाउने भनेको थियो । सोहीअनुसार देशभरका सेवा कार्यालयमा रहेका बिचौलियामाथि प्रहरीले धरपकड सुरु गरेको थियो ।

  • शुक्रबार सबै सरकारी अस्पतालको ओपिडी खोल्न मन्त्रालयको निर्देशन

    शुक्रबार सबै सरकारी अस्पतालको ओपिडी खोल्न मन्त्रालयको निर्देशन

    १७ वैशाख, काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते देशभरका सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । भोलि सार्वजनिक बिदा भए पनि बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लगातार तीन दिन सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालहरूमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • रोल्पामा जिप दुर्घटना, कम्तीमा २० जनाको मृत्यु

    रोल्पामा जिप दुर्घटना, कम्तीमा २० जनाको मृत्यु

    १७ वैशाख, काठमाडौं । रोल्पामा जिप दुर्घटनामा परि कम्तिमा २० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रुकुम पुर्वबाट जलजलातर्फ गइरहेको जिप भिरबाट ८ सय मिटर तल खसेको थियोे । घटनास्थलबाट २० जनाको मृत्यु भइसकेको प्रहरीले बताएको छ । थप विवरण आउन बाकी छ ।

  • दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षामा

    दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षामा

    न्युयोर्क, वैशाख १७ । दक्षिण सुडानमा बढ्दो भोकमरी सङ्कटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म ७८ लाख मानिसलाई चरम खाद्य असुरक्षाको अवस्थामा धकेल्ने चेतावनी अन्तर्राष्ट्रिय संस्थाले दिएका छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो एकीकृत खाद्य सुरक्षा वर्गीकरण (आइपिसी) रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । रिपोर्टमा उल्लेखित तथ्याङ्कले दक्षिणी सुडानको कुल जनसङ्ख्याको ५६ प्रतिशत मानिस हाल तीव्र खाद्य असुरक्षाको सामना गर्न बाध्य भएको जनाएको छ ।

    प्रतिवेदन अनुसार ७३ हजार ३०० मानिसले दुःखद एंव “विनाशकारी” भोकमरी सङ्कटकोे सामना गरिरहेका छन् । यस अघि २५ लाख मानिस भोकमरीको आपतकालीन चरणको सामना गर्दै बाँचिरहेको बताइएको थियो भने ५३ लाख मानिसहरू सङ्कटको चरणमा बाँचिरहेका छन् । संयुक्त राष्ट्र सङ्घका एजेन्सीले बढ्दो द्वन्द्व, सामूहिक विस्थापन, आर्थिक गिरावट, जलवायु परिवर्तन कृषि उत्पादनमा कमीको कारण यो सङ्कट बढेको बताएका छन् । आइपिसी रिपोर्ट संयुक्त राष्ट्रका एजेन्सी, क्षेत्रीय साझेदार र सहायता संस्थाको समन्वयमा गरिने विश्वव्यापी पहल हो यसले खाद्य असुरक्षालाई विभिन्न पाँच चरणमा वर्गीकृत गरी अध्यन अनुसन्धान गर्दछ । रासस-क्युएनए

  • भारतले खर्बौ लगानीको योजना बनाएको निकोबार परियोजनामा किन भइरहेको छ विवाद ?

    भारतले खर्बौ लगानीको योजना बनाएको निकोबार परियोजनामा किन भइरहेको छ विवाद ?

    नयाँदिल्ली, वैशाख १७ । भारतको रणनीतिक रूपमा महत्त्वपूर्ण ग्रेट निकोबार टापुमा प्रस्तावित बहु–अर्ब डलरको मेगापोर्ट तथा सहर विकास योजनाले राजनीतिक, वातावरणीय र मानवअधिकार सम्बन्धी गम्भीर बहस चर्काएको छ । विपक्षी नेता राहुल गान्धीले यस परियोजनालाई ‘विकासको नाममा विनाश’ भन्दै कडा आलोचना गरेका छन् र यसविरुद्ध अभियान चलाउने सङ्केत दिएका छन् ।


    नयाँदिल्लीबाट करिब तीन हजार किलोमिटर टाढा अवस्थित ग्रेट निकोबार टापु विश्वकै व्यस्त जलमार्ग स्ट्रेट अफ मलक्काको प्रवेशद्वार नजिक पर्छ । यहाँबाट करिब ३० प्रतिशत विश्व समुद्री व्यापार आवतजावत हुने गर्छ । यही भूराजनीतिक महत्त्वलाई ध्यानमा राख्दै भारत सरकारले करिब नौ अर्ब डलर लागतमा कन्टेनर बन्दरगाह, अन्तर्राष्ट्रिय विमानस्थल र नयाँ सहर निर्माणसहितको व्यापक विकास योजना अघि बढाएको हो ।

    तर यो योजनाले ९१० वर्गकिलोमिटर क्षेत्रफलको टापुमा फैलिएको प्राचीन वर्षावन तथा त्यहाँ सदियौँदेखि बसोवास गर्दै आएका आदिवासी समुदायको अस्तित्वमाथि नै प्रश्न उठाएको भन्दै विरोध बढेको छ । राहुल गान्धीले टापुको भ्रमणका क्रममा सार्वजनिक भिडियो सन्देशमार्फत आफूले देखेको अवस्थालाई ‘देशको प्राकृतिक र आदिवासी सम्पदामाथिको गम्भीर आक्रमण’ को संज्ञा दिए ।


    उनका अनुसार यो कुनै साधारण विकास परियोजना नभई लाखौँ रुख काटिने, करिब १६० वर्गकिलोमिटर वर्षावन नष्ट गरिने र स्थानीय समुदाय विस्थापित हुने प्रक्रिया हो । उनले आदिवासीको भूमि र जीवनशैलीलाई बेवास्ता गरिएको आरोप लगाउँदै यस्तो योजनालाई रोक्न पहल गर्ने स्पष्ट पारे । यता प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस परियोजनालाई राष्ट्रिय हितसँग जोड्दै रणनीतिक, रक्षा र आर्थिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण ठहर गरेका छन् ।


    भारतको वातावरणीय अदालतले पनि गत फेब्रुअरीमा यस योजनालाई स्वीकृति दिएको छ, जसले सरकारलाई परियोजना अघि बढाउन कानुनी आधार दिएको छ । सरकारका तर्फबाट वातावरणमन्त्री भूपेन्द्र यादवले परियोजनाले स्थानीय आदिवासी समुदायलाई कुनै खतरा नपार्ने र पर्यावरणीय सन्तुलनलाई असर नगर्ने दाबी गर्नुभएको छ । तर अधिकारकर्मी र अन्तर्राष्ट्रिय संस्थाले यस दाबीमाथि प्रश्न उठाउँदै आएका छन् ।

    सर्वाइवल इन्टरनेसनलका अनुसार ग्रेट निकोबार टापुमा करिब नौ हजार मानिस बसोवास गर्छन् । तीमध्ये करिब एक हजार २०० जना निकोबारी र सोम्पेन जस्ता आदिवासी समूहका छन् । विशेष गरी सोम्पेन समुदाय अझै बाह्य सम्पर्कबाट टाढा रहँदै आएको सिकारी जीवनशैलीमा निर्भर समूह हो । संस्थाकी प्रतिनिधि सोफी ग्रिगले यस परियोजनाले स्थानीय वातावरण मात्र नभई, सम्पर्कविहीन आदिवासी समुदायको अस्तित्वमै गम्भीर सङ्कट ल्याउने चेतावनी दिए ।

    उनले मेगापोर्ट योजनालाई ‘गलत अवधारणामा आधारित’ भन्दै यसले सम्पूर्ण समुदाय नै लोप हुने खतरा निम्त्याउन सक्ने उल्लेख गरे । एकातिर रणनीतिक र आर्थिक विकासको तर्क प्रस्तुत भइरहेको र अर्कोतिर वातावरण संरक्षण र आदिवासी अधिकारको प्रश्न बलियो रूपमा उठिरहेको यी परस्पर विरोधी दृष्टिकोणबिच ग्रेट निकोबार परियोजना अब केवल पूर्वाधार विकासको मुद्दा नभई दीर्घकालीन प्रभाव र नैतिक उत्तरदायित्वको बहसमा परिणत भएको छ । रासस-एएफपी

  • दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनको सजाय बढाइयो

    दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनको सजाय बढाइयो

    सियोल, वैशाख १७ । दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानुनी कारबाही थप कठोर बन्दै गएको छ । न्याय प्रक्रियामा अवरोध पुर्‍याएको अभियोगमा पहिले दिइएको पाँच वर्षको जेल सजायलाई उच्च अदालतले बढाएर सात वर्ष पुर्‍याएको छ । यसले उहाँमाथिको कानुनी सङ्कट अझ गहिरिएको सङ्केत दिएको छ ।

    सियोल उच्च अदालतले बुधबार गरेको फैसलामा युनको कार्यलाई ‘अत्यधिक निन्दनीय’ ठहर गर्दै सजाय बढाएको हो । अदालतका न्यायाधीशका अनुसार युनले पक्राउ वारेन्ट कार्यान्वयनमा अवरोध पुर्‍याउने प्रयास मात्र नगरेर राज्यका सुरक्षाकर्मीलाई निजी प्रयोजनका लागि प्रयोग गर्न खोज्नुभएको थियो ।

    यसअघि जनवरीमा तल्लो अदालतले राष्ट्रपति सुरक्षा एजेन्सीका सदस्यलाई प्रयोग गरेर आफ्नै गिरफ्तारी रोक्न खोजेको प्रमाणित भएपछि पाँच वर्षको सजाय सुनाएको थियो । त्यस निर्णयविरुद्ध युन र अभियोजन पक्ष दुवैले अपिल गरेका थिए । युनले आफ्नो गिरफ्तारी वारेन्ट नै ‘गैरकानुनी अनुसन्धान’ मा आधारित रहेको दाबी गर्नुभएको थियो भने विशेष अभियोजकले उहाँको अपराधको गम्भीरता हेर्दा कम्तीमा १० वर्षको सजाय हुनुपर्ने माग गरेका थिए ।

    उच्च अदालतले भने दुवै पक्षका तर्क सुनेपछि सजाय बढाएर सात वर्ष कायम गरेको हो । फैसलामा अदालतले सार्वजनिक पदको दुरुपयोग गर्दै राज्य संयन्त्रलाई व्यक्तिगत सुरक्षाका लागि प्रयोग गर्न खोज्नु कानुनी शासनविरुद्धको गम्भीर कार्य भएको उल्लेख गरेको छ । फैसला सुनुवाइका क्रममा कालो सूट र सेतो सर्टमा अदालतमा उपस्थित युनले कुनै विशेष प्रतिक्रिया नदेखाएको जनाइएको छ ।

    युन सुक योलले पहिले नै अर्को गम्भीर मुद्दामा सजाय भोगिरहनुभएको छ । सन् २०२४ को अन्त्यतिर मार्सल ल लागु गर्ने असफल प्रयाससँग जोडिएको विद्रोहको नेतृत्व गरेको अभियोगमा उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको छ । यस नयाँ फैसलाले उहाँमाथिको राजनीतिक र कानुनी भविष्य थप जटिल बनेको देखिएको छ । रासस-एएफपी

  • मेटामाथि इयूको बालसुरक्षा उल्लंघनको आरोप

    मेटामाथि इयूको बालसुरक्षा उल्लंघनको आरोप

    लन्डन, वैशाख १७ । युरोपेली सङ्घ (इयू)ले सामाजिक सञ्जालमार्फत बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै प्रविधि कम्पनी मेटामाथि औपचारिकरूपमा दबाब बढाएको छ । नियामकले फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा कम उमेरका प्रयोगकर्तालाई रोक्न असफल भएको निष्कर्ष सार्वजनिक गर्दै कडा कारबाहीको चेतावनी दिएका छन् ।

    इयुको कार्यकारी निकाय युरोपेली आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनमा मेटाले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्लेटफर्ममा साइन अप गर्नबाट रोक्न प्रभावकारी प्रणाली विकास गर्न नसकेको जनाएको छ । आयोगका अनुसार खाता खोलिसकेपछि पनि यस्ता प्रयोगकर्तालाई पहिचान गरी हटाउने काम पर्याप्तरूपमा भइरहेको छैन ।

    मेटाले आफ्नै नियम अनुसार फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न न्यूनतम उमेर १३ वर्ष तोकेको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर देखिएको आयोगको ठहर छ । यसले बालबालिकालाई प्लेटफर्ममा प्रवेश मात्र होइन, उनीहरूलाई उमेर अनुसार अनुपयुक्त सामग्री र अनुभवको जोखिममा पनि राखिरहेको उल्लेख गरिएको छ ।

    यो मुद्दा केवल पहुँचमा सीमित नभएको आयोगले जनाएको छ । १३ वर्षमुनिका बालबालिकाले प्लेटफर्म प्रयोग गर्दा उनीहरू कस्तो सामग्रीसँग सम्पर्कमा आउँछन् भन्ने जोखिमको मूल्याङ्कनसमेत मेटाले पर्याप्तरूपमा नगरेको निष्कर्ष निकालिएको छ । युरोपेली आयोगले यो कारबाही डिजिटल सेवा ऐन (डिएसए) अन्तर्गत अघि बढाएको हो । उक्त ऐनले २७ सदस्य राष्ट्रमा सञ्चालन गर्ने ठुला प्रविधि कम्पनीलाई प्रयोगकर्ताको सुरक्षा, विशेष गरी नाबालिगको सुरक्षामा थप जिम्मेवार बनाउने व्यवस्था गरेको छ ।

    आयोगका कार्यकारी उपाध्यक्ष हेना विर्ककुनेनले सन् २०२४ देखि सुरु गरिएको अनुसन्धानले मेटाका प्लेटफर्मले आफ्नै नियम र सर्तमा १३ वर्षमुनिका प्रयोगकर्तालाई लक्षित नगर्ने उल्लेख गरे पनि व्यवहारमा त्यसलाई लागु गर्न ‘अत्यन्त सीमित प्रयास’ मात्र गरिएको देखाएको बताउनुभयो । उहाँका अनुसार नियम केवल कागजमा सीमित नहुने, प्रयोगकर्ताको सुरक्षाका लागि ठोस कार्यमा रूपान्तरण हुनुपर्ने स्पष्ट सन्देश दिनुपर्ने समय आएको छ ।

    अब मेटालाई आयोगको प्रारम्भिक निष्कर्षमा आफ्नो प्रतिक्रिया दिने अवसर दिइने छ । अन्तिम निर्णयपछि यदि उल्लङ्घन प्रमाणित भएमा कम्पनीलाई विश्वव्यापी वार्षिक आम्दानीको छ प्रतिशतसम्म जरिवाना लगाइने सम्भावना रहेको छ । यस विषयमा मेटाले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन । इयूको यो कदमले विश्वभर सामाजिक सञ्जाल कम्पनीमाथि बालसुरक्षा सम्बन्धी जिम्मेवारी कडा पार्ने सङ्केतका रूपमा हेरिएको छ । रासस-एपी

  • मध्यपूर्व युद्ध सुरु भएदेखि इरानद्वारा २१ जनालाई मृत्युदण्ड, चार हजार पक्राउ

    मध्यपूर्व युद्ध सुरु भएदेखि इरानद्वारा २१ जनालाई मृत्युदण्ड, चार हजार पक्राउ

    जेनेभा, वैशाख १७ । इरानले मध्यपूर्व युद्ध सुरु भएदेखि कम्तिमा २१ जनालाई मृत्युदण्ड दिनुका साथै चार हजार भन्दा बढीलाई पक्राउ गरेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । गत फेब्रुअरीको अन्त्यमा भएको आक्रमणको कारण युद्ध सुरु भएदेखि सन् २०२६ जनवरीमा विरोध प्रदर्शनको क्रममा कम्तिमा नौ जनालाई मृत्युदण्ड दिइएको जनाइएको छ ।

    यसै गरी थप १० जनालाई विपक्षी समूहको सदस्यता लिएको आरोपमा र दुई जनालाई जासुसीको आरोपमा मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयले जनाएको छ । यसैबिच चार हजार भन्दा बढी मानिसलाई राष्ट्रिय सुरक्षा सम्बन्धी विषयका आधारमा पक्राउ गरिएको अनुमान गरिएको छ ।

    द्वन्द्वको क्रममा धेरै कैदी जबरजस्ती बेपत्ता, यातना वा क्रूर, अमानवीय र अपमानजनक व्यवहारको सिकार भएको बताएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले आरोपको जबरजस्ती स्वीकारोक्ति लगायतका गम्भीर आरोपले इरानी जनताको अधिकार सिमित गरेको उल्लेख गर्दै विज्ञप्ति जारी गर्नु भएको छ ।

    उहाँले अधिकारीहरूलाई थप मृत्युदण्डमा रोक लगाउन, उचित प्रक्रियाबाट निष्पक्ष परीक्षणको पूर्ण ग्यारेन्टी सुनिश्चित गर्न र मनमानी ढङ्गले हिरासतमा राखिएका व्यक्तिलाई तुरुन्तै रिहा गर्न आह्वान गर्नु भएको छ । एम्नेस्टी इन्टरनेसनल लगायतका अधिकार समूहले इरानले प्रत्येक वर्ष विभिन्न आरोपमा मानिसलाई मृत्युदण्ड दिँदै आएको छ । रासस-एएफपी

  • निजामती कर्मचारीको विवरण अब अनलाइनमै

    निजामती कर्मचारीको विवरण अब अनलाइनमै

    १७ वैशाख, काठमाडौं । निजामती कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्न सक्ने भएका छन् । बुधवारबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती) ले आफ्ना सबै सेवाहरू अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।


    योसँगै अब सेवाग्राही तथा सम्बन्धित कर्मचारीहरूले निजामती सम्बन्धी सेवाका लागि विभागमा भौतिक रूपमा उपस्थित हुने पर्ने छैन । अनलाइन मार्फत सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक जस्ता सेवाहरू आफ्नै स्थानबाट सेवा लिन सकिने किताबखानाले जनाएको छ ।

    पूर्ण रूपमा डिजिटल सेवा दिन सुरु गरेको किताब खानामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अनुगमन समेत गरिन् । अनुगमनपछि मन्त्री रावलले प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी र गुनासोरहित बनाउन निर्देशन दिइन् ।

  • थामियो हावाहुरी, फाटफुट वर्षा भने शुक्रबारसम्मै

    थामियो हावाहुरी, फाटफुट वर्षा भने शुक्रबारसम्मै

    १७ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजबाट मौसममा क्रमिक सुधार आउने जनाएको छ । तर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा भने आगामी शुक्रबारसम्मै वर्षाको सम्भावना छ । तर यो वर्षा वैशाख हिजो अस्तिको जस्तो ठूलो नहुने मौसमविदहरुको भनाइ छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हिजो मंगलबार र बुधबार देशका अधिकांश स्थानमा वर्षा भएको थियो । कतिपय स्थानमा भारी वर्षा समेत भएको छ । गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा प्युठानको हंसपुरमा भएको छ । त्यहाँ १०४.६ मिलिमिटर वर्षा मापन भएको छ ।

    यसैगरी कास्कीको रिभानमा ८१ मिलिमिटर वर्षा मापन भएको छ । आज पनि केही स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज वैशाख १७ गते कोशी, मधेश प्रदेश लगायत हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

    आज राति पनि कोशी, बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी भू–भागको थोरै स्थानहरुमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । वैशाख १८ गते शुक्रबार दिउँसोस् कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने सम्भावना छ । र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा साथै बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ ।

  • पोर्चुगलमा बुद्धजयन्तीका अवसरमा विशेष कार्यक्रम

    पोर्चुगलमा बुद्धजयन्तीका अवसरमा विशेष कार्यक्रम

    १७ वैशाख, लिस्बन (पोर्चुगल) । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाउने तयारी गरिएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा यही मे १ तारिख शुक्रबारका दिन राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको छ । सो अवसरमा लिस्बनको आन्जोसस्थित जिनासीयो क्लबको हलमा बुद्धको विशेष पूजा–आराधना गरिने बताइएको छ । बौद्ध धर्मगुरुद्वारा ध्यान तथा प्रवचन पनि हुने छ ।

    बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देश फैलाउने तथा बुद्ध र बुद्ध जन्मस्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ जयन्ती मनाउन लागिएको महासङ्घका अध्यक्ष चोपकुमार रानामगरले जानकारी दिए । कार्यक्रममा सहभागी भई बुद्धजयन्तीलाई भव्य रूपमा सफल बनाउन पोर्चुगलवासी नेपाली समुदायलाई आग्रह गरिएको छ । पोर्चुगलमा हरेक वर्ष यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको संयोजनमा बुद्धजयन्ती मनाइँदै आइएको छ ।

  • ६ वटा अध्यादेशबारे निर्णय लिनुपूर्व संविधानविद्सँग राय लिँदै राष्ट्रपति

    ६ वटा अध्यादेशबारे निर्णय लिनुपूर्व संविधानविद्सँग राय लिँदै राष्ट्रपति

    १७ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका विभिन्न ६ अध्यादेशबारे राय लिनु अगाडी संविधानविद्हरूसँग राय लिने भएका छन् । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेको छ । यसले स्वयमः राष्ट्रपतिलाई अप्ठेरोमा पारेको छ । यसबारे पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने बताइएको छ उनले आज दिउँसो ४ बजे संविधानविद्हरूलाई शीतल डाकेका छन् ।

    सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ अध्यादेश सिफारिस गरेको छ ।

    सिफारिस भएका अध्यादेशहरूमा संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठकसम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्ने अध्यादेश, सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, विगतमा राजनीतिक रूपमा नियुक्ति तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश र सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश छन् ।

    यीमध्ये स‌ंवैधानिक परिषद्सम्बन्धि अध्यादेशका कारण राष्ट्रपति अप्ठेरोमा छन् । विगतमा संसदबाट पारित भएको विधेयकसमेत पुनर्विचारका लागि फिर्ता पठाएका राष्ट्रपतिसमक्ष त्यस्तै प्रावधान राखेर अध्यादेश सिफारिस भएको छ । परिषद्का ६ जना सदस्यमध्ये ३ जनाले निर्णय गर्नसक्ने प्रस्ताव अध्यादेशमा छ । विगतमा राष्ट्रपतिले विधेयकमा यही व्यवस्था गर्दा बहुमत हुनुपर्ने संव‌धानिक र लोकतान्त्रिक मान्यता अनुरूप नभएको भन्दै फिर्ता गरेका थिए ।

  • सरकारले महत्वपूर्ण कानून ल्याउन संसद छलेपछि विपक्षी दलको बैठक बस्दै

    सरकारले महत्वपूर्ण कानून ल्याउन संसद छलेपछि विपक्षी दलको बैठक बस्दै

    १७ वैशाख, काठमाडौं । विपक्षी दलहरुको बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
    विपक्षी दलहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए । आज फेरि एमालेको कार्यालयमा बस्न लागेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन् ।

    सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरु एक भएका हुन् । आजको बैठकमा पनि सरकारले ल्याएका अध्यादेशबारे छलफल हुने नेताहरुले बताएका छन् । आज सरकारले सिफारिस गरेका अध्यादेशबारे छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविद्हरूसँग छलफल गर्दैछन् । सरकारले रणनीतिक महत्वका विभिन्न कानून अध्यादेशमार्फत ल्याउन लागेको छ ।

  • कानून ल्याउने प्रक्रियाबारे आलोचना भइरहँदा प्रधानमन्त्रीका सल्लाहकार यसो भन्छन्…

    कानून ल्याउने प्रक्रियाबारे आलोचना भइरहँदा प्रधानमन्त्रीका सल्लाहकार यसो भन्छन्…

    १७ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति र स्वार्थ समूहका लागि नभई नागरिकको हितको लागि भएको दाबी गरेका छन् । सरकारले अध्यादेश ल्याएपछि आलोचना भइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमा प्रष्ट्याउने प्रयास गर्दै सल्लाहकार साहले राज्य संयन्त्रको प्रभावकारिताका लागि अध्यादेश ल्याइएको बताएका हुन् । उनले अघि लेखेका छन्, ‘कानुनी जटिलताका कारण जनसरोकारका काम रोकिनु हुँदैन भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात गर्दै यसले देशको समृद्धिको यात्रालाई थप गति दिने बलियो आधार खडा गरेको छ ।’

    उनले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्वपूर्ण कदम चालेको बताउँदै सोही अनुसार वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको बताएका छन् । उनले सरकारले शासकीय सुधारका लागि राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आह्वान गरेको तर यसको बावजुद कार्यसम्पादन र समन्वयमा व्यवहारिक कठिनाइ देखिएपछि अध्यादेश ल्याएको दाबी गरेका छन् । सरकारले ल्याएका ६ अध्यादेशहरुमा निजामती कर्मचारीको ट्रेडयुनियन र राजनीतिक नियुक्त खारेज, विश्वविद्यालयका सबै पदाधिकारी हटाउनसक्नेलगायत संवैधानिक परिषद्सँग सम्बन्धित विषय रहेका छन् ।

  • रवि–बालेनलाई बाचापत्र सम्झाउन संघर्षमा उत्रिदै गैरआवासीय नेपाली

    रवि–बालेनलाई बाचापत्र सम्झाउन संघर्षमा उत्रिदै गैरआवासीय नेपाली

    १७ वैशाख, लण्डन । बालेन सरकार विरुद्ध गैरआवासीय नेपालीहरुले संघर्ष गर्ने भएका छन् । सरकारले चुनावी बाचा बिर्सेर राजनीतिक बैमानी गरेको भन्दै गैरआवासीय नेपालीहरुले विश्वभरबाट संगठित रुपमा सरकार विरुद्ध खबरदारी गर्न लागेका हुन् । त्यसको शुरुवात एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा बेलायतबाट हुने भएको छ । गाहाले सरकारले गरेको गैरआवासीय नेपालीहरुमाथि गद्धारी विरुद्ध देशविदेशबाट एकसाथ आवाज उठाउन लागिएको बताए ।


    देशमा समृद्ध नभएर रोजगारीका अवसर खोज्दै विदेशमा गएका नेपाली र सन १९४७ को त्रिपक्षीय सन्धी अनुसार बेलायतमा रहेका गोर्खाहरु र गोर्खाहरुको परिवारका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको व्यवस्थाका लागि राजनीतिक लडाइँ जारी रहने गाहाको भनाइ छ । चुनावअघि गरेका बाचा, चुनावपछि बिर्सिने राजनीतिक प्रवृति देखिएकाले अर्को चुनावमा संसदमै पुगेर आफ्नै हक आफैं सुनिश्चित गर्ने बेला आएको गाहाले बताए ।


    गोर्खालीहरुको वंशजको नेपाली नागरिकताको हक अधिकारका लागि जवसम्म संविधानमा व्यवस्था गर्न सक्दैनौ तबसम्म हाम्रो नागरिकताको अधिकारबाट बञ्चित भइरहन्छौं, अध्यक्ष गाहाले भने, ‘राजनीतिक बैमानीबाट पाठ सिकेर सबै गोर्खाहरु एक भएर लाग्नुको विकल्प छैन’। बेलायतबाट शुरु हुने राजनीतिक अभियानमा सबै एकजुट हुन र साथ दिन अध्यक्ष गाहाको आग्रह छ । विदेशमा रहेका नेपाली तथा गोर्खाली अब चुप लागेर नबस्ने समेत गाहाले चेतावनी दिए ।


    चुनावअघि वंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्ने बाचा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सत्तामा पुगेपछि बाचा चटक्कै बिर्सेको छ । गैरआवासीय नेपाली ९एनआरएन०लाई अप्ठ्यारो पर्ने गरीे ऐन संशोधनको प्रस्ताव ल्याएको भन्दै चर्को विरोध सुरु भएको हो । यसैसन्दर्भमा छलफलका लागि एनआरएनए (युके)ले २५ मे (सोमबार) एल्डरसटस्थित एम्पाएर हलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । अधिकारको लडाइँ भएकाले नेपाल सरकार र सम्बद्ध निकायलाई दवाव दिन युकेबासी नेपाली तथा गोर्खालीसहित विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई साथका लागि अध्यक्ष गाहाको आह्वान छ ।


    (एनआरएनए) यूकेले परराष्ट्र मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमार्फत सरकारको प्रस्तावित विधेयकप्रति स्पष्ट असहमति जनाउँदै सजिलो समाधान छाडेर जानीजानी जटिल कानुनी बाटो रोजिएको आरोप लगाएको छ । संविधान र नेपाल नागरिकता ऐन, २०६३ मा सामान्य संशोधन गरेर समाधान गर्न सकिने विषयलाई अलग्गै कानुनी संरचनामा लगेर कमजोर पार्ने प्रयास भइरहेको एनआरएनए युकेको ठहर छ ।


    रास्वपाले कर्णालीबाट सार्वजनिक गरेको आफ्नो बाचापत्रको ९९ नंम्बर बुँदामा एक पटकको नेपाली सधैको नेपाली हुने र विदेशमा रहेका गैरआवासीय नेपालीको अनुकुलतामा बंशजको नागरिता र मताधिकारको व्यवस्था गर्ने भनेको थियो । त्यस अनुसार नेपालको संविधान २०७२ मा रहेको व्यवस्था र नागरिकता ऐनमा सामान्य संशोधन आवश्यक छ ।


    तर, अहिले बालेन सरकारले गैरआवासीय नेपाली सम्बन्धी ऐन संशोधन गर्न भन्दै मस्यौदा तयार गरेर छलफलका लागि गैरआवासीय नेपाली संघसहितका संबद्ध निकायमा पठाएको छ ।


    नयाँ मस्यौदामा विभेदकारी प्रावधान
    सरकारले गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी ऐनलाई संशोधन गर्न तयार पारेको नयाँ मस्यौदामा समेटिएका कतिपय प्रावधानहरू विभेदकारी भएको भन्दै चर्को आलोचना भइरहेको छ । परराष्ट्र मन्त्रालयमा छलफलको चरणमा रहेको उक्त मस्यौदाले विदेशमा बस्ने लाखौँ नेपालीहरूलाई नेपालसँग जोड्नुको सट्टा थप टाढा बनाउन खोजेको भन्दै एनआरएनए प्रतिनिधिहरूले आपत्ति जनाएका हुन्।
    सम्पत्ति र राजस्वमा कडा व्यवस्था प्रस्तावित मस्यौदामा एनआरएनए हुनुभन्दा अगाडि नै नेपालमा रहेको चल–अचल सम्पत्ति बिक्री गर्दा ५० प्रतिशत राजस्व सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

    यस्तै, गैरआवासीय नेपाली नागरिकता वा कार्ड लिएका व्यक्तिहरूले नेपालमा निश्चित क्षेत्रफलमा मात्रै जग्गा जमिन जोड्न पाउने र हदबन्दीभन्दा धेरै भएमा त्यसलाई बिक्री गर्नुपर्ने वा अधिकार हस्तान्तरण गर्नुपर्ने प्रावधान मस्यौदामा उल्लेख छ ।
    नागरिकताको स्तर फकर फरक बनाउँदा कानूनी झमेला र वंशजको नेपाली अधिकारमा विभेद हुने भएकाले त्यस्ता झन्झटिला प्रावधान राख्न नहुने अध्यक्ष गाहाको तर्क छ ।


    सहुलियत र सेवाबाट वञ्चित
    मस्यौदामा उल्लेख भएअनुसार, एनआरएनए नागरिकता वा कार्डवाहकले नेपालमा व्यवसाय वा उद्यम गर्न चाहेमा सरकारले दिने कुनै पनि सहुलियत, छुट वा अनुदान प्राप्त गर्न सक्ने छैनन् । यसका साथै अरु थुप्रै सेवाहरूमा पनि विभेदको प्रस्ताव गरिएको छ ।


    सरकारी सेवाः एनआरएनहरू सरकारी सेवामा प्रवेश गर्न पाउने छैनन् र राजदूत वा सो सरहका पदहरूका लागि योग्य हुने छैनन् । स्वास्थ्य र शिक्षाः नेपालमा स्वास्थ्य सेवा लिँदा कुनै पनि सहुलियत नपाइने र शिक्षा क्षेत्रमा पनि छात्रवृत्ति वा सहुलियतबाट वञ्चित गरिने व्यवस्था मस्यौदामा छ ।


    संविधानको भावना विपरीत भएको दाबी नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नेहरूलाई राजनीतिक र प्रशासनिक बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुने स्पष्ट व्यवस्था गरेको छ । तर, प्रस्तावित मस्यौदामा रहेका यी प्रावधानहरू संविधानको भावना विपरीत भएको सरोकारवालाहरूको तर्क छ ।


    एनआरएनएका प्रतिनिधिहरूका अनुसार यो मस्यौदाले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मूल मन्त्रलाई समेत चुनौती दिएको छ । संघले यसलाई अधिकार सुनिश्चित गर्ने होइन, नियन्त्रण कस्ने रणनीति भएको दाबी गरेको छ।
    गैरआवासीय नेपालीका लागि नागरिकता केवल कानुनी कागज नभई पहिचान, भावनात्मक सम्बन्ध र लगानी सुरक्षासँग जोडिएको विषय भएकाले यसमा कडाइ थप्नु उनीहरूलाई मातृभूमिबाट टाढा धकेल्ने कदम भएको उनीहरुको धारणा छ ।
    एनआरएनए यूकेले संविधानका धारा १४ र २९१ तथा नेपाल नागरिकता ऐनका सम्बन्धित प्रावधान व्यवहारिक रूपमा संशोधन गर्न माग गर्दै वंशज नागरिकता लिएका नेपालीले नागरिकता नत्यागी अन्य देशको नागरिकता लिन पाउने स्पष्ट व्यवस्था गर्नुपर्ने बताएको छ।


    ब्रिटिश गोर्खाका सन्तानको हकमा पनि हालको व्यवस्था अन्यायपूर्ण रहेको भन्दै सुधारको माग गरिएको छ। अहिले सरकार औपचारिक रूपमा मौन रहे पनि प्रवासी नेपाली समुदायबाट दबाब बढ्दो छ। विश्लेषकहरूका अनुसार यदि चुनावी प्रतिबद्धता अनुसार स्पष्ट र सरल समाधान नआएमा यो विषयले सत्तारुढ दलको विश्वसनीयतामै गम्भीर प्रश्न खडा गर्न सक्ने धेरैको बुझाइ छ ।


    रवि लामिछानेको राजनीतिक बैमानी
    बाचा पत्रमा मात्र हैन सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले संसदको पहिलो बैठकमा राखेको मन्तव्यमा समेत गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्दै एक पटकको नेपाली सधैको नेपाली हुने सुनिश्तिता गर्दै नेपालमा लगानीको वातावरण र मताधिकारको व्यवस्था गर्ने बताएका थिए । तर, आफैले गरेको प्रतिबद्धता विवरित रविले राजनीतिक बैमानी गरेपछि गैरआवासीय नेपालीहरु तातिएका हुन् ।


    राजनीतिक दलहरुले पटक पटक माछामाछा भ्यागुतो बनाएपछि आफ्ना राजनीतिक अधिकार सुनिश्चिताका लागि गैरआवासीय नेपालीहरुकै नेतृत्वमा संगठित हुन लागेका हुन् । यो विषय केवल कानुनी विवादमा सीमित छैन, यसमा स्पष्ट राजनीतिक स्वार्थ जोडिएको विश्लेषण पनि अघि आएको छ। यदि वंशज नागरिकता सहज बनाइयो भने विदेशमा रहेका लाखौं नेपालीको राजनीतिक र आर्थिक प्रभाव बढ्ने डरले सत्तामा रहेका शक्तिहरू पछि हटेको आकलन गरिएको छ । साथै नागरिकता जस्तो संवेदनशील विषयमा कडा रुख देखाएर ‘राष्ट्रवाद’को सन्देश दिने पुरानै शैली दोहोरिएको आरोप पनि लागेको छ ।


    “एक पटकको नेपाली सधैँको नेपाली” भन्ने भावनात्मक नारा हरेक चुनावमा अधिकांश राजनीतिक दलहरुले घोषणापत्रमा समेट्ने गरेका छन् । तर व्यवहारमा भने गैरआवासीय नेपालीलाई वंशजको नागरिकता र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषय सधैँ चुनावी एजेण्डामै सीमित हुने गरेको छ ।
    राजनीतिक दलहरूले प्रवासी नेपालीको संख्या, लगानी क्षमता र भावनालाई बुझेरै चुनावअघि आश्वासन बाँड्ने, आर्थिक सहयोगसमेत जुटाउने तर सत्तामा पुगेपछि पुरानै राष्ट्रवादी कठोरता देखाएर नीति उल्ट्याउने प्रवृत्ति दोहोरिँदै आएको छ।


    नागरिकता जस्तो संवेदनशील विषयलाई राष्ट्रियता बचाउने नारासँग गाँसेर राजनीतिक फाइदा लिने खेल चलिरहँदा वास्तविक नेपाली—देशभित्रका वा विदेशमा रहेका—दुवैले अधिकारका लागि सरकारको मुख ताकेर बस्नुपर्ने बाध्यता छ । त्यसैले समस्या कानुनी जटिलता मात्र होइन, राजनीतिक इच्छाशक्ति र स्वार्थ जोडिएको प्रष्ट हुन्छ ।


    सधै राजनीतिक दलहरुले आश्वासन मात्र दिएर टार्ने गरेकाले गैरआवासीयन नेपालीहरुको अधिकारका लागि राजनीतिक सहभागिताको आवश्यकतालाई औंल्याउँदै ‘सेभ द नेशन विल्ड द नेशन अभियानले खबरदारीका लागि विदेशमा रहेका नेपालीहरुलाई एकताबद्ध हुन समेत आग्रह गरेको छ ।

  • परराष्ट्रमा एनआरएनएको सुझाव : गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग

    परराष्ट्रमा एनआरएनएको सुझाव : गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग

    १६ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघको तर्फबाट गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक, २०८३ सम्बन्धमा आफ्ना विस्तृत सुझावहरू परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा पेश गरिएको छ। उक्त सुझावहरू उपाध्यक्ष एवं गैरआवासीय नेपाली कल्याण विभागकी प्रमुख तथा नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमार्फत पेश गरिएको हो।

    प्रतिनिधिमण्डलले विश्वभर रहेका गैरआवासीय नेपाली समुदायबाट संकलित सुझावहरू, सरोकारवाला निकायहरू तथा कानुनी विज्ञहरूसँग गरिएको बृहत् छलफल र परामर्शका आधारमा तयार पारिएको एकीकृत दस्तावेज मन्त्रालयसमक्ष बुझाएको हो ।

    यसका साथै श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा सम्बन्धी महाशाखामा समेत उक्त सुझाव बुझाइएको छ। सुझावपत्र उपसचिव मधुसुदन भट्टराईमार्फत माननीय मन्त्री शिशिर खनाललाई तथा महाशाखा प्रमुख पुष्पराज भट्टराईलाई हस्तान्तरण गरिएको हो । प्रतिनिधिमण्डलमा उपाध्यक्ष बुद्धिसागर सुबेदी र महिला उपाध्यक्ष राधिका टीका गुरुङको सहभागिता रहेको थियो।

  • सरकारद्धारा थप अध्यादेश राष्ट्रपति समक्ष सिफारिस

    सरकारद्धारा थप अध्यादेश राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौं, वैशाख १६ गते । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न अध्यादेशहरू मन्त्रिपरिषद् बाट २०८३ वैशाख १४ गते राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

    प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न अध्यादेश जारी गर्न सिफारिस गरिएको छ।

    सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई नियमन गर्ने, यस प्रकृतिका संस्थाहरूले कार्य सञ्चालन इजाजतपत्र लिनुपर्ने र समस्याग्रस्त सहकारी संस्थाका सदस्यहरूलाई तत्काल बचत रकम फिर्ताका लागि ‘चक्रय राहत कोष’ स्थापना गर्ने लगायतका व्यवस्थाहरू यस अध्यादेशमा रहेका छन्।

    यस्तै, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश समेत जारी गर्न सिफारिस गरिएको छ। विगतमा राजनीतिक रूपमा नियुक्ति तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेशसँग अनुकूल बनाउन यी अध्यादेशहरू सिफारिस गरिएको हो।

    यसैगरी, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गरिएको छ, जसअन्तर्गत २० वटा ऐन संशोधन हुनेछन्। भूमि, जग्गा नापजाँच, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती र बिमा लगायतका कानुनमा देखिएका अवरोध हटाउन यो अध्यादेश सिफारिस गरिएको हो।

    साथै, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ। यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको हो। यस्तै, सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउने उद्देश्यसहित सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ।

  • रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

    रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

    बुटवल, बैशाख १६ गते । रुपन्देहीको देवदहमा बुधबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २७ जना यात्रु घाइते भएका छन् । बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत देवदहको गणेशनगरस्थित प्रतीक्षालयनजिक माइक्रो बस र ईभी माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    बुटवलबाट बर्दघाटतर्फ जाँदैगरेको लु. १ ख. ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ०० ख ८९२८ नम्बरको ईभी माइक्रो एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । देवदह प्रहरी चौकीका अनुसार दुर्घटनामा परेर मृत्यु भएकाको नाम ठेगाना खुल्न बाँकी छ ।

  • सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी दिन सुरु

    सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी दिन सुरु

    १६ वैशाख, काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य आज बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरे ।

    महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई अर्थमन्त्री वाग्लेले १५ दिनमै तलब दिने कार्यको सुरुआत गरेका हुन् । सो आदेशसँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो अर्धमासिक (१५ दिन)को तलब प्राप्त गरेका थिए ।

    १५ दिनमै तलब भुक्तानी कार्यको शुभारम्भ गदै अर्थमन्त्री वाग्लेले अर्थतन्त्र चलायमान बनाउन सरकारले यस्तो निर्णय गरेको बताए । ‘१५ दिनमा तलब दिँदा बजार चलायमान हुन्छ । उपभोग र माग दुवै बढ्छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘यो पाइलट परियोजनाको रुपमा संघीय निजामती कर्मचारीमा लागु गरिएको हो । विस्तारै सरकारी वेतनधारी सबैले यो सुविधा पाउनेछन् ।’

    उनले मन्त्रालयले निर्णय गरेको ११ दिनमै प्राविधिक तयारी पूरा गरेर १५ दिनमै तलब दिन मेहनत गरेको भन्दै महालेखा नियन्त्रक कार्यालयलाई धन्यवाद दिए । सो अवसरमा बोल्दै महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अब विस्तारै प्रदेश तथा अन्य सेवाका सरकारी कर्मचारीले पनि १५ दिनमा तलब पाउने बताए । १५ दिनमा तलब दिन आफ्नो कार्यालय प्राविधिक रुपमा तयार रहेको भन्दै उनले यसलाई क्रमैसँग अघि बढाउने बताए । उनका अनुसार अहिले रहेको प्रणालीबाट १५ दिन वा एक महिना जुन समयमा कर्मचारीले तलबको माग गर्छन, सोही समयमा तलब दिन सकिन्छ ।

    अर्धमासिक रुपमा कर्मचारीलाई तलब भुक्तानी गर्दा बजारमा नियमित माग सिर्जना हुने र अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ । यस्तै, यसले उपभोग खर्चको वितरण समान रुपमा फैलिने, साना व्यवसायीहरूको नगद प्रवाहमा वृद्धि हुने महालेखा नियन्त्रक पौडेलले बताए । १५ दिनमा तलब दिँदा सेवा व्यवसायमा सकारात्मक प्रभाव पर्ने र डिजिटल अर्थतन्त्र वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

    गत वैशाख ४ गते अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले सरकारी कर्मचारीलाई हरेक १५ दिनमा तलब खुवाउने कार्य पाइलट परियोजनाका रुपमा अघि बढाउने निर्णय गरेका थिए ।