Category: फिचर

  • रुसका भित्री इलाकामा क्षति गर्दै युक्रेनी ड्रोन

    रुसका भित्री इलाकामा क्षति गर्दै युक्रेनी ड्रोन

    २० वैशाख, काठमाडौं । युक्रेनी ड्रोनहरूले रुसका भित्री इलाकासम्म पुगेर तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गरिरहेका छन् । आक्रमणबाट उडेको बाक्लो धूवाँ अन्तरिक्षबाटै देखिएको थियो । यसले ब्ल्याक सी किनारका पर्यटकीय क्षेत्रहरूमा विषाक्त वर्षा गराइरहेको छ । यी आक्रमणहरूको उद्देश्य मस्कोको तेल निर्यात घटाउनु हो । किनकि, तेल बिक्रीबाट प्राप्त रकमलाई रुसले युक्रेनविरुद्धको युद्धमा लगाइरहेको छ ।

    आर्थिक क्षतिको विवरण स्पष्ट नभए पनि आक्रमणको वातावरणीय प्रभावको असर युद्धमोर्चाभन्दा निकै टाढाका भूभागमा बस्ने रुसीहरूले महसुस गरेका छन् । युक्रेनी ड्रोनहरूले अप्रिलमा ब्ल्याक सीस्थित तुआप्से क्षेत्रका तेल प्रशोधन गृह र निर्यात टर्मिनलहरूमा दुई सातामा चार पटक आक्रमण गरेका छन् । आक्रमणपछि आगलागी हुँदा स्थानीय नागरिकलाई उद्धार गर्नुपरेको थियो ।

    त्यस्तै, आकाशमा धूवाँको मुस्लो उडेको देखिन्थ्यो । तुआप्से क्षेत्र युद्धमोर्चाबाट कम्तीमा ४५० किलोमिटर टाढा छ । १८ अप्रिलमा तेस्रो आक्रमणपछि तुआप्सेका गभर्नर भेनियामिन कोन्ड्राटयेभले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् । उक्त भिडियोमा आपत्कालीन सेवामा खटिएका एक कर्मचारीले उम्लिरहेको तेलजन्य पदार्थ सडकमा पोखिएर कारहरूमा क्षति पुगेको बताएका छन् ।


    रुसको पर्म क्षेत्रमा रहेको एक तेल पम्पिङ स्टेसनमा लगातार दुई दिन आक्रमण गरिएको दाबी युक्रेनले गत बिहीबार गरेको थियो । यो स्थान युक्रेनबाट १,५०० किलोमिटर टाढा पर्छ । पर्मका गभर्नर दिमिर्त्री माक्होनिनमार्फत रुसी मिडियाहरूले पनि आक्रमणको पुष्टि गरेका छन् । तर औद्योगिक पूर्वाधारमा मात्रै ड्रोन आक्रमण भएको माक्होनिनको दाबी छ ।

    बाल्टिक समुद्र किनारको उस्त लुगो क्षेत्रमा मार्चको अन्त्यमा एक साताको अन्तरमा तीन पटक आक्रमण भयो । यो क्षेत्र रुसका ठूला तेल तथा ग्यास निर्यात टर्मिनलमध्ये एक हो । युक्रेनबाट यो क्षेत्र कम्तीमा ८ सय किलोमिटर टाढा छ । आक्रमणको धेरै सातापछि क्षेत्रीय गभर्नर अलेक्ज्यान्द्रर द्रोज्डेन्कोले सेन्ट पिटर्सवर्गसँग जोडिएको उस्त लुगो क्षेत्र हवाई खतराले युद्धमोर्चामा परिणत भएको घोषणा गरे ।

    युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले ती आक्रमणहरूलाई रुसमाथि लगाइएको अन्तर्राष्ट्रिप प्रतिबन्धसँग तुलना गरेका छन् । इरानले हर्मुजको जलघाँटी बन्द गर्दा उत्पन्न वैश्विक ऊर्जा संकटपछि रुसले तेल बिक्री लगातार बढाइरहेका बेला यो आक्रमणलाई अझै महत्त्वपूर्ण रूपमा हेरिएको छ । गत शुक्रबार जेलेन्स्कीले युक्रेनको आक्रमण निकै प्रभावकारी रहेको बताए । तेल निर्यात टर्मिनलहरूमा क्षति पुग्दा रुसले अहिलेसम्म झन्डै ७ अर्ब अमेरिकी डलर बराबरको घाटा व्यहोरिसकेको उनको दाबी थियो । उस्त लुगो र प्रिमोर्स्कजस्ता प्रमुख तेल बन्दरगाहमा तेल चुहिएको जानकारी युक्रेनी गुप्तचर निकायलाई प्राप्त भएको दाबी उनले एक साताअघि गरेका थिए ।

    ड्रोन आक्रमणले रुसको तेल प्रशोधन क्षमतामा समेत बाधा पुगिरहेको विज्ञहरूले बताएका छन् । विज्ञहरूका अनुसार पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धका कारण रुसलाई तत्कालै मर्मतका लागि आवश्यक पार्टपुर्जा ल्याउन पनि कठिन छ । यी सबैका बाबजुद रुसले पश्चिम एसिया संकटको फाइदा उठाइरहेको हुनाले आर्थिक असरको तस्बिर अस्पष्ट छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार गत मार्चमा रुसले औसत दैनिक ७१ लाख ब्यारेल तेल बेच्यो । निर्यात परिमाण र मूल्य दुवै बढ्दा रुस ठूलो फाइदामा छ ।

    रुसले मार्चमा १९ अर्ब अमेरिकी डलरको तेल कारोबार गर्‍यो । जबकि, फेब्रुअरीमा ९ अर्ब ७० करोड डलरमात्रै आम्दानी भएको थियो । ‘फेब्रुअरीताका संकटग्रस्त अवस्थामा पुगेको रुसको तेल क्षेत्र र अर्थतन्त्र दुवैलाई इरानमाथिको अमेरिकी आक्रमणले जोगाइदिएको छ,’ परामर्श कम्पनी म्याक्रो एडभाइजरी लिमिटेडका सीईओ क्रिस वेफरले भने ।

    उनले रुसमा ठूलो विस्फोट भइरहेको देखिए पनि त्यहाँका तेल पूर्वाधारमा भने थोरै क्षति नपुगेको बताए । ‘तेलको ट्यांकरलाई आक्रमण गर्दा आगलागी हुन्छ र धूवाँको मुस्लो उड्छ । झट्ट हेर्दा ठूलै आक्रमण भएजस्तो देखिन्छ । तर, देखिए जति क्षति भएको हुँदैन । तर, त्यस्तो क्षतिले आपूर्तिलाई केही दिनमात्रै ढिला गर्छ,’ उनले भने, ‘पम्प स्टेसन, कम्प्रेसर वा तेल लोड गर्ने पूर्वाधारमा गरिने आक्रमणभन्दा यसले गर्ने हानि कम हुन्छ । रुसमा ट्यांकको दाँजोमा ती पूर्वाधारहरूको सुरक्षा राम्रोसँग गरिएको देखिन्छ । एपी

  • इजरायली आक्रमणमा लेबनानमा हरेक दिन मानवीय क्षति

    इजरायली आक्रमणमा लेबनानमा हरेक दिन मानवीय क्षति

    २० वैशाख, बेरुत । दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसैगरी जररियामा भएको अर्को आक्रमणमा दुई जना महिलासहित चार जनाको मृत्यु भएको र थप चार जना घाइते भएको बताइएको छ ।

    मन्त्रालयले तटीय सहर टायरनजिकै भएको आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएकोसमेत जनाएको छ । युद्धविरामका बाबजुद इजरायलले यी सबै क्षेत्रमा स्थानीयलाई बाहिर निस्कन चेतावनी दिएको थियो । स्थानीयलाई सहरबाट कम्तीमा एक किलोमिटर टाढा खुला क्षेत्रमा भाग्न आग्रह गरिएको थियो ।

    लेबनानी राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली लडाकु विमानहरूले चेतावनी दिएको एक घण्टाभन्दा पनि कम समयमा आक्रमण सुरु गरेको जनाएको छ । एनएनएले टायरसहित दक्षिण लेबनानका विभिन्न स्थानहरूमा इजरायली आक्रमण भएको जनाएको छ । इजरायल र हिजबुल्लाहबीच १७ अप्रिलमा युद्धविराम भएको थियो । तर, इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । इजरायली सेनाले दक्षिणी यारुन सहरका धार्मिक आस्थाका केन्द्र र विद्यालय ध्वस्त पारेको एनएनएले जनाएको छ ।
    रासस-एएफपी

  • मध्यपूर्वका अमेरिकी सैनिक अखडामा इरानी आक्रमणबाट व्यापक क्षति

    मध्यपूर्वका अमेरिकी सैनिक अखडामा इरानी आक्रमणबाट व्यापक क्षति

    वासिङ्टन, वैशाख २० । अमेरिका र इरानबिच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीले कम्तीमा ८ देशमा फैलिएका १६ अमेरिकी सैन्य स्थलमा आक्रमण गरी क्षति पुर्याएका छन् ।

    समाचार प्रतिवेदनअनुसार, तीमध्ये धेरैजसो सैन्य स्थल गम्भीररूपमा क्षतिग्रस्त भएका छन्, जसका कारण केही आधार लगभग प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् । एक संसदीय सहयोगीका अनुसार, प्रभावित संरचना मध्यपूर्वमा रहेका अधिकांश अमेरिकी सैन्य संरचनाको हिस्सा हुन् । क्षतिको स्तर फरक–फरक रहेको बताइएको छ ।

    केही स्थल पूर्णरूपमा ध्वस्त भई बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् भने केहीलाई रणनीतिक महत्वका कारण मर्मत गरेर पुनः प्रयोग गर्न सकिने आकलन गरिएको छ । उपग्रह तस्बिरका आधारमा इरानले विशेषरूपमा अमेरिकी उन्नत रडार प्रणाली, सञ्चार प्रणाली र हवाई साधनलाई निशाना बनाएको देखिएको छ । यी उपकरण महँगा मात्र नभई सजिलै प्रतिस्थापन गर्न नसकिने भएकाले अमेरिकी सैन्य क्षमतामा यसको प्रत्यक्ष प्रभाव पर्ने बताइएको छ ।

    विशेषज्ञका अनुसार, इरानले लागतको हिसाबले प्रभावकारी लक्ष्य चयन गरेको देखिन्छ, जसले कम स्रोत प्रयोग गरेर अमेरिकालाई ठूलो रणनीतिक क्षति पु्र्याउन मद्दत गरेको छ । यसबिच, अमेरिकी रक्षा निकायका एक उच्च अधिकारीका अनुसार इरानसँगको यो द्वन्द्वले अहिलेसम्म अमेरिकी करदातालाई करिब २५ अर्ब डलर खर्च गराइसकेको छ ।

    यस घटनाक्रमले मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति र रणनीतिमा गम्भीर प्रश्न उठाएको छ । साथै, यसले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाउने र आगामी दिनमा द्वन्द्व अझ चर्किन सक्ने संकेतसमेत दिएको छ । रासस-सिन्ह्वा

  • अमेरिकाले क्यूवामाथि लगायो आर्थिक नाकावन्दी

    अमेरिकाले क्यूवामाथि लगायो आर्थिक नाकावन्दी

    २० वैशाख, न्युयोर्क — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा सरकारमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने उद्देश्यसहित नयाँ कार्यकारी आदेश जारी गरेका छन् । पहिलेदेखि लागू रहेका प्रतिबन्धहरूलाई अझ विस्तार र कडाइका साथ लागू गर्नेगरी उनले नयाँ आदेश जारी गरेका हुन् ।

    यस आदेशअनुसार अमेरिकाभित्र रहेका अमेरिकी नागरिक, संस्था वा व्यक्तिको नियन्त्रणमा रहेका क्युबासँग सम्बन्धित व्यक्तिहरूका सबै प्रकारका सम्पत्ति र आर्थिक कारोबार रोक्का गरिनेछन् । यस्तो सम्पत्ति अब स्थानान्तरण गर्न, बिक्री गर्न, भुक्तानी गर्न वा अन्य कुनै आर्थिक कारोबारमा प्रयोग गर्न पाइने छैन । यसले क्युबासँग जोडिएका व्यक्तिहरूको आर्थिक गतिविधिलाई प्रत्यक्ष रूपमा सीमित गर्नेछ ।

    यो प्रतिबन्ध विशेष रूपमा क्युबाको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूलाई लक्षित गरिएको छ । ऊर्जा, रक्षा तथा सैन्य सामग्री, धातु तथा खानी, वित्तीय सेवा र सुरक्षा क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरू यस आदेशको दायरामा पर्नेछन् । साथै, भविष्यमा आवश्यक ठानिएमा अन्य क्षेत्रहरू पनि समावेश गर्न सकिने अधिकार सम्बन्धित निकायलाई दिइएको छ ।

    यस आदेशको अर्को महत्वपूर्ण पक्ष भनेको ‘दोस्रो स्तरको प्रतिबन्ध’ हो । यसको अर्थ, क्युबा सरकार वा प्रतिबन्धित व्यक्ति तथा संस्थासँग आर्थिक कारोबार गर्ने विदेशी व्यक्ति, बैंक वा वित्तीय संस्थाहरू पनि कारबाहीको दायरामा पर्नेछन् । यसले क्युबालाई अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा पहुँच गर्न अझ कठिन बनाउनेछ, किनकि अन्य देशका बैंकहरू पनि अमेरिकी कारबाहीको डरले क्युबासँग कारोबार गर्न हिच्किचाउन सक्छन् ।


    त्यसैगरी, अमेरिकी सरकारले कुनै पनि विदेशी वित्तीय संस्थाले क्युबा सरकारसँग सम्बन्धित व्यक्तिका लागि महत्वपूर्ण कारोबार गरेको पाइएमा त्यसमाथि प्रतिबन्ध, जरिवाना वा अन्य कारबाही गर्न सक्नेछ । यसले क्युबाको अन्तर्राष्ट्रिय व्यापार र लगानीमा थप अवरोध सिर्जना गर्न सक्छ । यो आदेश कार्यान्वयन गर्न अमेरिकी विदेश सचिव र कोष सचिवलाई आवश्यक सबै कदम चाल्ने अधिकार प्रदान गरिएको छ । यसले अमेरिकी प्रशासन क्युबामाथि आर्थिक दबाब बढाएर आफ्नो नीतिगत लक्ष्य हासिल गर्न चाहने देखाउँछ ।

    अमेरिकाले क्युबामाथि करिब ६० वर्षभन्दा बढी समयदेखि विभिन्न प्रकारका प्रतिबन्ध लगाउँदै आएको छ । सन् १९६२ मा औपचारिक रूपमा व्यापक व्यापार नाकाबन्दी लागू गरिएको थियो, जसले दुई देशबीचको आर्थिक सम्बन्धलाई लगभग पूर्ण रूपमा रोकिदिएको थियो। त्यसयता केही समय प्रतिबन्धहरू खुकुलो पारिए पनि धेरैजसो अवस्थामा ती कडा नै रहँदै आएका छन् । यस नयाँ कदमले क्युबाको अर्थतन्त्रमा थप दबाब पर्ने जोखिम छ ।

    रासस–सिन्ह्वा

  • इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

    इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

    २० वैशाख, काठमाडौं । इरानबाट तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने घोषणा गरेको छ । चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने घोषणा गरेको हो । वक्तव्यमा भनिएको छ, ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि सञ्चालन गर्न चिनियाँ कम्पनीहरूलाई रोक लगाउँछन् । यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको उल्लंघन गर्दछ ।’

    मन्त्रालयले अमेरिकाको प्रतिबन्धलाई मान्यता नदिने स्पष्ट पार्दै चिनियाँ कम्पनी तथा संस्थाहरूलाई ती प्रतिबन्ध लागू नगर्न निर्देशन दिएको छ । वक्तव्यमा थप भनिएको छ, ‘चिनियाँ सरकारले सधैं संयुक्त राष्ट्रसंघको स्वीकृतिविना र अन्तर्राष्ट्रिय कानुनमा आधारित नभएका एकतर्फी प्रतिबन्धहरूको विरोध गर्दै आएको छ ।’

    अमेरिकाले एक दिनअघि मात्र अर्को एक चिनियाँ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको थियो । अमेरिकाका अनुसार उक्त कम्पनीले ‘लाखौं ब्यारेल’ इरानी कच्चा तेल आयात गरेको र इरानलाई अर्बौं डलर आम्दानी जुटाउन सहयोग गरेको छ । तर चीनको वाणिज्य मन्त्रालयले आफ्नो वक्तव्यमा उक्त कम्पनीको नाम खुलाएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्प यसै महिनामा चीन भ्रमणमा जाने र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बेला अमेरिकाले यी प्रतिबन्धहरू घोषणा गरेको हो ।

  • इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

    तेहरान, वैशाख २० । इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्यु दण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ । यद्दपी उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन ।

    सन् २०२५ जुनमा इजरायलसँगको इरानको युद्धलाई उल्लेख गर्दै, “सुरक्षा र सैन्य स्थानको फोटो खिचि मोसाद अधिकारी कहाँ पठाएको अपराधमा करिम्पोरलाई दोषी ठहर गरिएको जनाइएको छ । गत फेब्रुअरी(२८ मा, इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि सुरु भएको युद्धलाई अन्त्य गर्नका लागि अप्रिल(८ देखि युद्धविराम लागु भएको छ ।

    पछिल्लो समयमा इरानले जनवरीमा सामूहिक विरोध प्रदर्शनसँग सम्बन्धित व्यक्तिलाई मृत्युदण्ड दिएको जनाइएको छ जसलाई इजरायल, अमेरिका र प्रतिबन्धित पिपुल्स मुजाहिदीन सङ्गठनसहितका विपक्षी समूहले उक्साएको बताएको छ । यस अघि इरानले युद्ध पूर्वको विरोध प्रदर्शनको क्रममा मध्य प्रान्त इस्फहानमा प्रहरी अधिकारीलाई आक्रमण गरेको आरोपमा ससान आजादवर भनेर चिनिएका व्यक्तिलाई फाँसी दिएको बताएको छ । राससरएएफपी

  • प्रेस स्वतन्त्रता हननका घटना बढे

    प्रेस स्वतन्त्रता हननका घटना बढे

    काठमाडौँ, वैशाख २० गते । नेपालमा प्रेस स्वतन्त्रता हननका घटना गत वर्षको तुलनामा बढेका छन् । नेपाल पत्रकार महासङ्घले मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म गरेको अध्ययनमा प्रेस स्वतन्त्रता हननका १३१ घटना भएका हुन् । गत वर्ष ७३ वटा मात्रै प्रेस स्वतन्त्रता हननका घटना भएका थिए ।


    पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका ५१ वटा, यसै गरी पत्रकार तथा सञ्चार सामग्रीमाथिको आक्रमणका ३० वटा, पेसागत असुरक्षाका १८ र कब्जा तथा अवरोधका २६ वटा घटना भएका छन् । नीतिगत बन्देज तीन वटा, पत्रकार पक्राउ दुई जना र एक जना पत्रकारको शङ्कास्पद मृत्यु भएको अभिलेखबाट प्राप्त भएको महासङ्घले जनाएको छ ।

    महासङ्घका अध्यक्ष निर्मला शर्माले यो वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना वृद्धि हुनुका साथै कानुन र नीतिगत सुधारमा चुनौती देखिएको बताइन् । “पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चार माध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिम जस्ता कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको छ,” उनले भनिन्, “सञ्चार क्षेत्रको आर्थिक सङ्कट समाधान, पत्रकार पलायन, निजी सञ्चार माध्यममा सरकारी विज्ञापन तथा सूचनामा लगाइएको रोक, सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनाले चुनौती थपिएको छ ।” उनले नागरिकको बोल्न पाउने अधिकारका पक्षमा अनवरत रूपमा सक्रिय भई लड्ने प्रतिबद्धता व्यक्त गरिन् ।


    नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले राजनीतिक अस्थिरता र आन्दोलन भई रहँदा प्रेस स्वतन्त्रता हननका घटना बढेको बताए । “सञ्चारकर्मीले प्रदेश र स्थानीय तहमा भ्रष्टाचार र सामाजिक मुद्दामा लेख्दा धम्कीमा पर्ने गरेको देखिन्छ । पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट प्रेसप्रति असहिष्णुता प्रकट भएको देखिन्छ । अर्को दण्डहीनता बढ्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको देखिन्छ,” उनले भने ।


    गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रेस स्वतन्त्रता हननका २६ वटा घटना हुँदा एक सयभन्दा धेरै पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका थिए । गत भदौ २३ गतेको आन्दोलन र २४ गतेको हिंसात्मक घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । उक्त घटनामा संस्थागततर्फ करिब ६० करोड रुपियाँ बराबरको क्षति भएको छ भने पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ करिब १८ करोड रुपियाँ बराबरको क्षति भएको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए ।

  • मौसम प्रतिकुल साताभर, विभिन्न स्थानमा वर्षाको सम्भावना

    मौसम प्रतिकुल साताभर, विभिन्न स्थानमा वर्षाको सम्भावना

    २० वैशाख, काठमाडौं । मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् । सबैभन्दा धेरै प्रभावित गण्डकी प्रदेश हुने छ । गण्डकीको तराई, पहाड र हिमाल भेगमा यो हप्ताभरी नै हिमपात तथा वर्षाको सम्भावना छ । एक–दुई ठाउँमा त भारी हिउँ वा पानी पर्ने सम्भावनासमेत छ ।

    मौसमविदहरुले बेला–बेलामा एकछिन पानी पर्न रोकिए पनि फेरि पानी पर्ने प्रक्षेपण गरेका छन् । हिजोदेखि नै विभिन्न जिल्लाहरुमा वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालले यो हप्ताभर देशका विभिन्न भागमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको बताए । उनका अनुसार मंगलबारसम्म कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । यी प्रदेशका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने थोरै ठाउँहरुमा मात्रै मध्यमसम्मको मात्रै पानी पर्ने सम्भावना रहेको ढकालले बताए । बुधबारदेखि विहीबारभित्र सबै प्रदेशका तराई क्षेत्रमा थोरै ठाउँहरुमा मध्यमसम्म पानी पर्ने प्रक्षेपण छ ।

    पहाडी भेगमा पनि यो साताभर वर्षाको सम्भावना

    मौसमविदहरुका अनुसार पहाडी भेगमा आगामी मंगलबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । बुधबारदेखि विहीबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।

    गण्डकी प्रदेशमा यो हप्ताभरी तथा कोशी, बागमती लुम्बिनीमा मंगलबारभित्र एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।

    हिमाली भेगमा पनि हिउँ वा पानीको सम्भावना

    मौसमविद ढकालका अनुसार यो हप्ताभर हिमाली क्षेत्रमा पनि हिउँ वा पानी पर्ने सम्भावना छ । आतबार, सोमबार र मंगलबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ । बुधबारदेखि भने हिमाली भेगमा केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।

    हाल मधेश र सुदूरपश्चिम बाहेकका सबै प्रदेशमा वर्षा भइरहेको छ । अहिले पनि लुम्बिनी र गण्डकीमा मध्यम खालको वर्षा भइरहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा आज दिउँसो पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ छ । त्यसैले मौसमको अध्यावधिक जानकारी लिएर मात्रै कामको योजना बनाउन मौसमविदले सुझाव दिएका छन् ।

    गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गत चौबिस घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा भएको छ । मुसिकोटमा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी देवघाट, नवलपुरको देउराली, दुम्कौली लगायतका स्थानमा तथा अछामको असराघाटमा पनि भारी वर्षा भएको छ । तीन घण्टायता भने पर्वतको कार्की नेटा, स्याङ्जाको पञ्चमुल, कास्कीको पोखरा र लमजुङको राइनासटारमा भारी वर्षा भएको छ । काठमाडौंका कपन, कीर्तिपुर, सुन्दरीजल लगायतका स्थानमा सामान्य खालको वर्षा मापन भएको छ ।

  • आज रास्वपा सचिवालय बैठक बस्दै

    आज रास्वपा सचिवालय बैठक बस्दै

    २० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रूपरेखाबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

    साथै महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनको विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ । साथै विविध शीर्षकमा समसामयिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ । बैठकमा सबै सचिवालय सदस्यलाई अनिवार्य उपस्थित हुन सभापति रवि लामिछानेबाट निर्देशन जारी गरिएको छ ।

  • रोल्पा सडक दुर्घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयको प्रतिक्रिया सार्वजनिक

    रोल्पा सडक दुर्घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयको प्रतिक्रिया सार्वजनिक

    काठमाडौं, वैशाख १९ गते । रोल्पाको थवाङमा भएको भीषण जिप दुर्घटनाबारे तीन दिनपछि प्रधानमन्त्री कार्यालयले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । २० जनाको ज्यान जाने गरी भएको दुर्घटनामा प्रधानमन्त्री, सत्तारुढ दल र यातायात मन्त्री मौन थिए । त्यसको सामाजिक संजालमा व्यापक आलोचना भएसँगै आज प्रधानमन्त्री कार्यालयले एक स्पष्टीकरण सार्वजनिक गरेको छ ।

    जसमा भनिएको छ, दुर्घटनाको ‘दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिको समयावधि आज समाप्त हुँदैछ। गत वैशाख १७ गते थवाङ गाउँपालिका–१, सल्यापमा २० जनाको ज्यान जाने गरी भएको सो हृदयविदारक घटनापछि सरकारले तत्कालै छानबिन प्रक्रियाअघि बढाएको थियो।’

    प्रधानमन्त्रीकै नेतृत्वमा रहेको गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको समेत प्रधानमन्त्री कार्यालयको स्पष्टीकरणमा उल्लेख छ । कार्यालयले समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजाने भनेको छ । सरकारले देशभरकै सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत र संरचनागत सुधार गर्न आफू पूर्ण प्रतिबद्ध रहेको समेत जनाएको छ। सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको गम्भीर विषय भएकाले यसमा देखिने प्राविधिक तथा मानवीय कमजोरी सुधार्न कार्यालयले दृढता व्यक्त गरेको छ।

    यसअघि दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सक्रियतामा उद्धार कार्यलाई तीव्रता दिइएको दावि गरिएको छ । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै गृह मन्त्रालयले सोही दिन आधिकारिक विज्ञप्ति मार्फत छानबिन समितिको जानकारी सार्वजनिक गरेको समेत बताएको छ । प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। सरकारले यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै सडक सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

  • अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने घोषणा

    अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने घोषणा

    वासिङ्टन, वैशाख १९ गते । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएका छन् । मध्यपूर्व युद्धका कारण ट्रान्सएटलान्टिक सम्बन्धमा दरार बढ्दै जाँदा नेटोले शनिबार जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने वाशिङ्टनको निर्णयलाई बुझ्नका लागि अमेरिकासँग समन्वय गरिरहेको बताएको छ ।

    “यो निर्णय युरोपमा अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको सुरक्षा बलको स्थितिको पूर्ण समीक्षापछि आवश्यकता र सर्तहरूको मान्यतामा भएको हो,” पार्नेलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । सन् २०२५ डिसेम्बर ३१ सम्म नेटोको सहयोगी जर्मनीमा ३६ हजार ४३६ सक्रिय–सेवामा अमेरिकी सैनिकहरू रहेका थिए भने इटालीमा १२ हजार ६६२ र स्पेनमा तीन हजार ८१४ अमेरिकी सैनिक थिए।

    जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार भनेका छन्, “युरोप र जर्मनीबाट पनि अमेरिकी सेना फिर्तीको अपेक्षा गर्न सकिन्छ।” युरोपेली सङ्घले गत बर्ष हस्ताक्षर गरेको व्यापार सम्झौताको पालना नगरेको आरोपमा अर्को हप्तादेखि लागु हुनेगरी युरोपेली सङ्घबाट अमेरिका आपूर्ति हुने कार र ट्रकहरूमा लगाइदै आएको करको दर बढाएर २५ प्रतिशत पुर्याउने राष्ट्रपति ट्रम्पले बताएका छन् । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार भने, “अमेरिकाले युरोप र जर्मनीबाट अमेरिकी सेना फिर्ता गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।”

    नेटोका प्रवक्ता एलिसन हार्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यो समायोजनले युरोपले प्रतिरक्षामा थप लगानी गर्न र हाम्रो साझा सुरक्षाका लागि ठूलो हिस्सा लिनुपर्ने आवश्यकतालाई जोड दिन्छ ।” रासस, एएफपी

  • सरकारले एक साथ खोस्यो १५९४ उच्च पदाधिकारीको जागिर

    सरकारले एक साथ खोस्यो १५९४ उच्च पदाधिकारीको जागिर

    १९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्।

    सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्रको पदमुक्ति
    नेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। राष्ट्रिय समाचार समिति ऐन, २०१९ अन्तर्गतका दुई जना सञ्चालक र गोरखापत्र संस्थान ऐन, २०१९ बमोजिमका अध्यक्ष तथा सञ्चालक गरी तीन जनाको पद रिक्त हुने भएको छ।


    चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ अन्तर्गत चलचित्र जाँच समितिका अध्यक्ष र सदस्य गरी तीन जना तथा सञ्चार संस्थान ऐन, २०२८ बमोजिम नियुक्त अध्यक्ष र सञ्चालक गरी दुई जना पदमुक्त हुने भएका छन्। प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम मनोनीत अध्यक्ष र सदस्यहरू गरी १० जना तथा श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ अन्तर्गत नियुक्त अध्यक्ष र सदस्य गरी छ जनाको पद जाने भएको छ। दूरसञ्चार ऐन, २०५३ बमोजिम नियुक्त प्राधिकरणका अध्यक्ष र सदस्य गरी पाँच जना तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिमका चारजना सदस्यहरू पदमुक्त हुने भएका छन्।

    विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम सूचना प्रविधि न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणका छ जना पदाधिकारी तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ अन्तर्गतका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त गरी तीन जनाको पद रिक्त हुनेछ। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम नियुक्त अध्यक्ष र सदस्य गरी छ जना, सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ अन्तर्गत नियुक्त तीन जना र सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ बमोजिमका अध्यक्ष र सदस्य गरी १५ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।

    शिक्षा तथा विश्वविद्यालय क्षेत्र
    शिक्षा ऐन, २०२८ अन्तर्गतका विभिन्न समिति र शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्य गरी २३ जना पदमुक्त हुने भएका छन्। नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ बमोजिम नियुक्त उपकुलपति र सेवा आयोगका पदाधिकारीसहित २८ जना तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ अन्तर्गतका १७ जना पदाधिकारीको पद रिक्त हुने भएको छ। राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अन्तर्गत नियुक्त ३४ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

    काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ बमोजिम नियुक्त उपकुलपति र कुलसचिवलगायत २५ जना तथा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ बमोजिम नियुक्त उपकुलपति र सेवा आयोगका पदाधिकारीसहित ८४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० बमोजिम नियुक्त अध्यक्ष र सदस्य गरी आठ जना तथा पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० अन्तर्गत नियुक्त उपकुलपति र कुलसचिवलगायत ६९ जना पदाधिकारीको पद जाने भएको छ।

    पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम नियुक्त उपकुलपति र शैक्षिक प्रमुखसहित ५० जना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ बमोजिम नियुक्त उपकुलपति र कुलसचिवलगायत ४४ जना पदमुक्त हुने भएका छन्। सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७ अन्तर्गत नियुक्त २७ जना र मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ बमोजिम नियुक्त २६ जना पदाधिकारीको पद रिक्त हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ अन्तर्गत नियुक्त २२ जना, नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ बमोजिम नियुक्त २४ जना, राजर्षि जनक विश्वविद्यालय ऐन, २०७४ अन्तर्गत नियुक्त ३९ जना र मदन भण्डारी विश्वविद्यालय ऐन, २०७९ बमोजिम नियुक्त २४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।

    स्वास्थ्य, चिकित्सा र विज्ञान क्षेत्र
    आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ बमोजिम नियुक्त कुलसचिव र सदस्य गरी छ जना तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ बमोजिमका नौ जना पदाधिकारी पदमुक्त हुने भएका छन्। पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ अन्तर्गत नियुक्त पाँच जना पदमुक्त हुने भएका छन्।
    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत नियुक्त उपकुलपतिलगायत १५ जना तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ बमोजिमका पाँच जना सदस्यको पद रिक्त हुने भएको छ।
    नेपाल नर्सिङ परिषद् ऐन, २०५२ अन्तर्गत नियुक्त आठ जना र नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ बमोजिम नियुक्त पाँच जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।

    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अन्तर्गत नियुक्त १० जना र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७ बमोजिम नियुक्त आठ जनाको पद जाने भएको छ। नेपाल फार्मेसी परिषद् ऐन, २०५७ अन्तर्गत नियुक्त सात जना र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ बमोजिम नियुक्त २२ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।


    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ अन्तर्गत नियुक्त ३३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ बमोजिम नियुक्त ३४ जना पदाधिकारीको पद रिक्त हुने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ अन्तर्गत नियुक्त ३१ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ बमोजिम नियुक्त ३१ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।

    स्वास्थ्य बीमा ऐन, २०७४ अन्तर्गत नियुक्त सात जना र जनस्वास्थ्य ऐन, २०७५ बमोजिम नियुक्त छ जना सदस्यको पद जाने भएको छ। नेपाल मेडिकल काउन्सिल ऐन, २०७५ अन्तर्गत नियुक्त आठ जना र राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम नियुक्त १६ जना पदाधिकारी पदमुक्त हुने भएका छन्। विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ अन्तर्गत नियुक्त ४२ जना र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम नियुक्त २९ जना पदाधिकारीहरूको पद रिक्त हुने भएको छ।

    ऊर्जा, पूर्वाधार, वित्तीय र नियमनकारी निकाय
    नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम नियुक्त कार्यकारी निर्देशक र सदस्य गरी छ जना तथा काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अन्तर्गत नियुक्त चार जना पदाधिकारी पदमुक्त हुने भएका छन्। नेपाल खानेपानी संस्थान ऐन, २०४६ बमोजिम नियुक्त छ जना र नगर विकास कोष ऐन, २०५३ अन्तर्गत नियुक्त छ जना पदाधिकारीको पद जाने भएको छ। सडक बोर्ड ऐन, २०५८ बमोजिम नियुक्त चार जना, विद्युत नियमन आयोग ऐन, २०७४ अन्तर्गत नियुक्त पाँच जना र नेपाल रेल्वे ऐन, २०७९ बमोजिम नियुक्त रेल्वे प्रशासक र सदस्य गरी पाँच जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।

    वित्तीय क्षेत्रतर्फ कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम नियुक्त आठ जना र नागरिक लगानी कोष ऐन, २०४७ अन्तर्गत नियुक्त तीन जनाको पद रिक्त हुने भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन, २०५३ बमोजिमका १५ जना र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ अन्तर्गत नियुक्त पाँच जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

    अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन, २०५४ बमोजिम नियुक्त तीन जना र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत नियुक्त एक जना सदस्यको पद जाने भएको छ। प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ बमोजिम नियुक्त छ जना र सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत पुनरावलोकन समितिका तीन जना पदाधिकारी पदमुक्त हुने भएका छन्। निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत र सदस्य गरी तीन जना र विशेष आर्थिक क्षेत्र ऐन, २०७३ अन्तर्गत नियुक्त एक जनाको पद रिक्त हुने भएको छ। सहकारी ऐन, २०७४ बमोजिम नियुक्त आठ जना र सार्वजनिक(निजी साझेदारी तथा लगानी ऐन, २०७५ अन्तर्गत नियुक्त चार जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम नियुक्त दुई जना, बीमा ऐन, २०७९ अन्तर्गत नियुक्त दुई जना र प्रत्यायन ऐन, २०७९ बमोजिम नियुक्त छ जना पदाधिकारीहरूको पद जाने भएको छ।

    कृषि, वातावरण, प्रज्ञा प्रतिष्ठान र सामाजिक क्षेत्र
    बीउ बिजन ऐन, २०४५ अन्तर्गतका आठ जना सदस्य र नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ बमोजिम नियुक्त नौ जना पदाधिकारी पदमुक्त हुने भएका छन्। राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन, २०४८ अन्तर्गत नियुक्त सात जना र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ बमोजिम नियुक्त सात जनाको पद रिक्त हुने भएको छ।
    नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ अन्तर्गत नियुक्त तीन जना र बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ बमोजिम नियुक्त पाँच जना पदाधिकारी पदमुक्त हुने भएका छन्। जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ अन्तर्गत नियुक्त छ जना र वातावरण संरक्षण ऐन, २०७६ बमोजिम नियुक्त पाँच जनाको पद जाने भएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम नियुक्त सात जना पदाधिकारी पदमुक्त हुने भएका छन्।
    प्रज्ञा प्रतिष्ठानतर्फ नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१ बमोजिम नियुक्त नौ जना र गुठी संस्थान ऐन, २०३३ अन्तर्गत नियुक्त १० जनाको पद रिक्त हुने भएको छ। लुम्बिनी विकास कोष ऐन, २०४२ बमोजिम नियुक्त ११ जना र पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ अन्तर्गत नियुक्त नौ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।
    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ बमोजिम नियुक्त ४९ जना र नेपाल स्काउट ऐन, २०५० अन्तर्गत नियुक्त ३३ जनाको पद जाने भएको छ। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५ बमोजिम नियुक्त १६ जना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अन्तर्गत नियुक्त २५ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

    आदिवासी जनजाति परिषद् अन्तर्गतका ६० जना मनोनीत सदस्यहरू र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम नियुक्त ३३ जनाको पद रिक्त हुने भएको छ। नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ अन्तर्गत नियुक्त ३३ जना र नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम नियुक्त ४३ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

    प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फ
    नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ बमोजिम नियुक्त चार जना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत नियुक्त एक जनाको पद जाने भएको छ। समाज कल्याण ऐन, २०४९ बमोजिम नियुक्त १० जना र नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ अन्तर्गत नियुक्त १४ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।
    वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम नियुक्त १० जना र नेपाल ट्रष्ट ऐन, २०६४ अन्तर्गत नियुक्त तीन जनाको पद रिक्त हुने भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिमका पाँच जना पदाधिकारी पदमुक्त हुने भएका छन्।


    श्रम ऐन, २०७४ बमोजिम नियुक्त १० जना र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अन्तर्गत नियुक्त सात जनाको पद जाने भएको छ। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम नियुक्त चार जना र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ अन्तर्गत नियुक्त १७ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

    भू–उपयोग ऐन, २०७६ बमोजिम नियुक्त चार जना, रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्तर्गत नियुक्त तीन जना र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम नियुक्त २७ जना पदाधिकारीहरूको पद रिक्त हुने भएको छ। यसरी १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।
    सरकारले अब यी रिक्त पदहरूमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेको छ।

  • अमेरिकी विशेष दूत गोरको नेपाल भ्रमण सम्पन्न

    अमेरिकी विशेष दूत गोरको नेपाल भ्रमण सम्पन्न

    काठमाडौँ, वैशाख १९ गते । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले नेपाल भ्रमण सम्पन्न गरेका छन् । भ्रमणका क्रममा उनले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय साझेदारीलाई सुदृढ बनाउने विषयमा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    विशेष दूत गोरले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा नेपालको प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसरको विस्तार र व्यापारिक सम्बन्ध प्रवर्द्धन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको दूतावासले जनाएको छ । नेपाली व्यवसायीसँग पनि व्यावसायिक सहकार्यका विषयमा सार्थक विचार विमर्श गरेका थिए ।


    भ्रमणकै क्रममा विशेष दूत गोरले सगरमाथा आधार शिविरको अवलोकन गरे । त्यहाँ उनले सगरमाथा सफाइ अभियानमा संलग्न नेपाली संस्थाका योजनाबारे जानकारी लिनुका साथै अमेरिकी ड्रोन प्रविधिको उपयोगिताका बारेमा समेत बुझेका थिए । नयाँ ड्रोन प्रविधिको प्रयोगले सगरमाथा क्षेत्रमा सामग्री ढुवानीलाई सहज र छिटो बनाउने अपेक्षा गरिएको छ ।

    विशेष दूत गोरले भने, “संयुक्त राज्य अमेरिका नवप्रवर्तनमा अग्रणी छ र नेपालमा अत्याधुनिक प्रविधि भित्र्याउन स्थानीय कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी प्रसन्न छौँ ।” उनले नेपालको नयाँ सरकारले दुई देशबीचको साझेदारीलाई थप बलियो बनाउने विश्वास समेत व्यक्त गरे । यसैगरी, विशेष दूत गोरले काठमाडौँस्थित न्हूः छेँ बहामा आयोजित एक विशेष समारोहमा सहभागिता जनाए ।

    सो अवसरमा संयुक्त राज्य अमेरिकाबाट फिर्ता ल्याइएको अक्षोभ्य बुद्धको मूर्ति नेपाललाई हस्तान्तरण गरिएको थियो । अमेरिकाले नेपालबाट गैरकानुनी रूपमा बाहिर लगिएका धार्मिक तथा सांस्कृतिक सम्पदा फिर्ता गर्न सदैव प्रतिबद्ध रहेको उनले दोहोर्‍याए । उनले ऐतिहासिक भक्तपुर दरबार क्षेत्रको समेत भ्रमण गरी नेपालको समृद्ध संस्कृति र इतिहासको अनुभव लिएका थिए ।

  • राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी

    राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी

    १९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले थप तीन वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    राष्ट्रपति पौडेलले यसअघि सहकारी, सम्पत्ति शुद्धीकरण र सार्वजिनक खरिद प्रक्रियासम्बन्धी अध्यादेश पनि जारी गरेका थिए । सरकारले अन्य केही अध्यादेश पनि जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संवैधानिक परिषद्सहितका अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरेको थियो । उक्त अध्यादेशबारे भने राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् । उनले केही कानुनविद्हरूलाई शीतलनिवास बोलाएर अध्यादेशमाथि छलफल पनि गरेका थिए ।

  • मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा

    मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा

    १९ वैशाख, गोरखा । यही बैशाख २६ अर्थात मे ९ मा मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ । उर्केन छिरिङ शेर्पा र जापानी नागरिक तोशियो इमानिशीले सन् १९५६ मे ९ मा पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेका थिए । विश्वकै आठौ अग्लो मानिने ८ हजार १६३ मिटर उचाईको उक्त हिमाल सफल आरोहण भएको ७० औं वर्षलाई विविध कार्यक्रम गरि धुमधामले मनाइने भएको छ ।

    नेपाल पर्यटन वोर्ड, मनास्लु संरक्षण क्षेत्र ९एमक्याप० लगायत पर्यटन क्षेत्रमा आवद्ध विभिन्न संघसंस्थाको समन्वयमा चुमनुव्री गाउँपालिकाले कार्यक्रम गर्न लागेको हो । मनास्लु हिमालको फेदीमा रहेको सामागाउँमा कार्यक्रम हुने शुक्रवार पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।

    पहिलो पटक मनास्लु हिमाल आरोहण गर्नेहरुसँगै अन्य आरोहीहरुको मूर्ति अनावरण गरिने उनले जानकारी दिए । ‘आरोहीहरुको हामीले मूर्ति बनाएका छौ,’ उनले भने, ‘कार्यक्रमको अवसर पारेर ती मूर्तिहरु अनावरण गर्छौ ।’ आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए । उत्तरी गोरखाको संस्कृति र परम्परा झल्कने सांस्कृतिक कार्यक्रमहरु समेत हुने उनको भनाइ छ ।

    वैशाख २७ गते पोखरामा मनास्लु हिमाल आरोहणका तस्विर साथै मनास्लु हिमालको पहिलो सफल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रद्धर्शन हुने बताइएको छ । पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा निर्माण गरिएका मनास्लु हिमालको थ्रि डी मोडलको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष लामाले बताए ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    १९ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

    महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

  • सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालकको मृत्यु

    सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालकको मृत्यु

    १९ वैशाख, विराटनगर । सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी र दुहबीमा सवारी दुर्घटना हुँदा दुई जना पुरुषको मृत्यु भएको हो । एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार इटहरी उप–महानगरपालिका १७, पकलीस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं। १–०२–००२ स ६६९५ नम्बरको पानी बोक्ने सिटी सफारी दुर्घटना हुँदा चालक इटहरी– १८ बस्ने २५ वर्षीय बिकल चौधरीको मृत्यु भएको हो । सोही ठाउँका २६ वर्षीय उमेश श्रेष्ठ गम्भीर घाइते छन् ।

    दुर्घटनामा दुवै जनाको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको थियो । उपचारकै क्रममा चालक बिकल चौधरीको शुक्रबार राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक अनुमान छ ।

    सुनसरीको दुहबी नगरपालिका–२ स्थित तुथाहामा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । इनरुवाबाट दुहबीतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ११११ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा अन्दाजी ५० वर्षीय पुरुषको ज्यान गएको हो । मृतकको पहिचान खुलेको छैन ।

    दुर्घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको थियो । चिकित्सकले राति करिब १० बजे मृत घोषणा गरेका थिए । प्रहरीले बस र बस चालक मोरङ विराटनगर महानगरपालिका-११ बस्ने ३० वर्षीय मुकेश सहनी र सह-चालक सुनसरी इनरुवा नगरपालिका–३ का २४ वर्षीय सागर चौधरीलाई नियन्त्रणमा लिएको छ। दुवै घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • बेइजिङमा मनाइयो बुद्धजयन्ती

    बेइजिङमा मनाइयो बुद्धजयन्ती

    काठमाडौँ, वैशाख १८ गते । २५७० औँ बुद्ध जयन्तीको अवसरमा बेइजिङस्थित नेपाली राजदूतावासले विशेष कार्यव्रmमको आयोजना गरेको छ । सो अवसरमा नेपाली राजदुतावासकी कार्यवाहक राजदूत श्रीमती रोशन खनालले शाक्यमुनि बुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्वाणको पवित्र दिनको रूपमा बुद्ध जयन्ती मनाइदैआएको चर्चा गर्दै युनेस्कोको विश्व सम्पदा स्थल र भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको महत्वबारे जानकारी गराए ।

    उनले शान्ति, सदभाव, उदारता र दुःखबाट मुक्तिका लागि भगवान बुद्धको गहन शिक्षा अझ महत्वपूर्ण भएको बताए । चीनको बौद्ध सङ्घका उपाध्यक्ष तथा बेइजिङ लिङआङ मन्दिरका प्रमुख भिक्षु चाङ जाङले बौद्ध धर्मद्वारा जोडिएको चीन–नेपालबिचको प्रगाढ मित्रतामाथि प्रकाश पार्दै यस सम्बन्ध दुई देशका जनताबिच पनि अझ बलियो बन्दै गएको बताए ।


    उनले नेपाल भगवान बुद्धको जन्मस्थल मात्र नभएर विश्वभरका बौद्धहरूको हृदयमा रहेको एक पवित्र र सम्मानित भूमि भएको बताए । राजदूतावास परिसरमा आयोजित कार्यव्रmममा बुद्धको मूर्ति अगाडि भिक्षुहरूले विश्वव्यापी शान्ति र सद्भावको लागि प्रार्थना गरेका थिए । प्रार्थनापछि योगगुरु रमेश सिटौलाले योग पनि प्रस्तुत गरेका थिए । कार्यव्रmममा जनवादी गणतन्त्र चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू, राजदूतहरू, बेइजिङस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू, नेपाली समुदायको उपस्थिति रहेको थियो ।

  • ​शुक्रबार मात्र करीव ८ सय घर टहरामा डोजर चल्यो

    ​शुक्रबार मात्र करीव ८ सय घर टहरामा डोजर चल्यो

    १८ वैशाख, काठमाडौं । सरकारले शुक्रबार काठमाडौंमा करीव ८ सय घर टहरामा डोजर चलाएको छ । बल्खुमा मात्र ४०१ घर, टहरा र छाप्रो भत्काइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उता, ​बंशीघाटमा १९३ घर टहरा भत्काइएको छ । उता शंखमुलमा मात्र १५० भन्दा बढी घर भत्किएका छन् । ती अधिकांश पक्की घर हुन् ।

    आज भत्काइएका घरमध्ये ३२३ परिवार सम्पर्कमा आएका छन् । जसको परिवार संख्या १ हजार ४१४ रहेका छन् । उनीहरुमध्ये ​खरिपाटीमा ८० जनाको मात्र व्यवस्थापन गरिएको छ । काठमाडौंमा आज घर टहरा भत्काउँदा भत्काउँदै एक व्यक्तिले आत्महत्या गरेका छन् । यसले सरकारको कडा आलोचना भइरहेको छ ।

  • रोल्पामा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो

    रोल्पामा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो

    रुकुम पश्चिम, वैशाख १८ गते । तिर्थयात्राको लागि बिहीबार रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ । दुर्घटनामा घाइते भएका १ जना भने उपचारपछि घर फर्किएका छन् । हिजो दिउँसो रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा लु। १ ज। ४१६७ नम्बरको जीप भीरबाट ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो । यात्रुहरू सबै रुकुम पूर्वको रुकुमकोटबाट गएका थिए । उनीहरू रुकुम पूर्व र केही दाङ जिल्लाका रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

    यसैगरी दाङको शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने गाउँपालिका ५ मा बस्ने सवारी चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीया मीना कमिनी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वको भुमे गाउँपालिका–५ का टेक प्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुक्मिना बस्नेत रहेका छन् ।

    त्यसैगरी मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षका संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया विष्ट रहेका छन्।

    जलजलामा लाग्ने धार्मिक मेलामा सहभागी हुन जाने क्रममा दुर्घटना भएको बताइएको छ । जिपको छतमा बसेका सिस्ने गाउँपालिका–५, टाकुराका ३२ वर्षीय समीर कामी भने हाम फालेर जोगिएका थिए । थवाङस्थित पालिका अस्पतालमा उपचारपछि जिल्ला अस्पताल रुकुम पूर्व ल्याइएका उहाँ उपचारपछि घर फर्कनु भएको छ । दुर्घटनाको छानबिनका लागि सरकारले एक समितिसमेत बनाएको छ।

  • नेपाल सरकारसँग प्रवास विभाग अमेरिकाद्वारा गैरआवासीय नेपाली सम्बन्धि विवादास्पद विधेयक तत्काल फिर्ता लिन माग

    नेपाल सरकारसँग प्रवास विभाग अमेरिकाद्वारा गैरआवासीय नेपाली सम्बन्धि विवादास्पद विधेयक तत्काल फिर्ता लिन माग

    न्यूयोर्क ।

    रास्वपा समर्थकहरूको विश्व संजाल प्रवास नेपाली सम्पर्क विभाग अमेरिकाले झण्डै दुईतिहाईको आफ्नै दल रास्वपाको बालेन सरकारले छलफलको लागि भन्दै जारी गरेको विवादास्पद ‘गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ ले समस्त प्रवासी नेपालीहरूको सपना, आकांक्षा र योजनामा कुठाराघात गरेको भन्दै सो विधेयकमा समावेश विवादास्पद प्रावधानहरू तत्काल फिर्ता लिन आग्रह गरेको छ। साथै, सरोकारवालाहरूलाई संलग्न गराई प्राप्त हुने सुझावहरूलाई समावेश गरी प्रवासी नेपालीको आकाँक्षा अनुरूप बंशजको नागरिकताको निरन्तरता मैत्री विधेयक जारी गरी कार्यान्वयनमा ल्याउन समेत विभागले जोडदार माग गरेको छ। यसैबिच, अप्रिल ३० तारिख न्यू योर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलाई विभागका कार्यवाहक अध्यक्ष सम्मरबहादुर बुढाथोकीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भेटेर ज्ञापनपत्र बुझाएको छ।

    सो ज्ञापनपत्रमा प्रवास विभागका केन्द्रिय र राज्य समितिका गरी ३२ जनाले हस्ताक्षर गरेकाछन्। प्रवासमा रहेका नेपालीहरूको हकअधिकारको सुनिश्चितताको निम्ति रास्वापाको नागरिक करार र सरकारको राष्ट्रिय प्रतिवद्धतामा उल्लेख बंशजको नागरिकताको निरन्तरता कार्यान्वयन गर्न ज्ञापनपत्र बुझाईएको हो।

    सो ज्ञापनपत्र प्रधानमन्त्री बालेन्द्र शाहका अलावा सभामुख डिपि अर्याल, रास्वपा सभापति रवि लामिछाने, परराष्ट्र मन्त्री शिशिर खनाल, कानून मन्त्री सोविता गौतम, कानून, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सांसदहरू, संविधान संशोधन बहस पत्र तयारी समितिका संयोजक असीम शाह, राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालय सदस्यहरू र रास्वपा प्रवास नेपाली सम्पर्क विभाग, नेपालका प्रमुख दीपक बोहरालाई समेत विभिन्न माध्यमबाट बुझाईएको छ।

    प्रवास विभाग अमेरिकाले नेपाली महावाणिज्यदूत न्यूयोर्कको साथै नेपाली राजदूतावास वासिंगटन डिसि, महावाणिज्यदूत डालस, टेक्सास र महावाणिज्यदूत, सान फ्रान्सिस्को, क्यालिफोर्नियामार्फत पनि ज्ञापनपत्र बुझाएर थप दबाब सृजना गर्ने कुरा विभागका कार्यवाहक अध्यक्ष सम्मरबहादुर बुढाथोकीले जानकारी गराए।

    ज्ञापनपत्रमा उल्लेख गरिएको माग प्रकाशित पत्रमार्फत पूर्ण पाठ पढ्नुहोस्

  • उपत्यका विस्थापित नागरिकलाई कहाँ व्यवस्थापन गरिन्छ ?

    उपत्यका विस्थापित नागरिकलाई कहाँ व्यवस्थापन गरिन्छ ?

    १८ वैशाख, काठमाडौं । काठमाडौंको बागमती र त्यसका सहायक नदी किनारको अत्यन्तै जोखिमपूर्ण जीवनबाट मुक्त भई एउटा सुरक्षित र व्यवस्थित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन् । काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने, तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै उनीहरु यतिबेला दशरथ रंगशाला पुगेर आफ्नो विवरण टिपाउन व्यस्त छन् ।

    ​आज मात्र आफ्नो सुरक्षित व्यवस्थापनको खोजीमा अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराएका छन् । रंगशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले अभिभावकीय भूमिकामा विवरण संकलन गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


    विवरण संकलनसँगै त्यहाँ पुगेका नागरिकहरूको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिँदैछ, जसले उनीहरुमा रहेको त्रासलाई कम गरी आत्मविश्वास जगाउन मद्दत गरेको समेत सचिवालयको दावि छ । ​आतिथ्य र सम्मानस् लामो समयदेखि असुरक्षित र कष्टकर बसोबास गरिरहेका नागरिकहरूलाई सम्मानजनक व्यवहारका साथ खाजा खुवाएर व्यवस्थित तरिकाले होल्डिङ सेन्टरुमा लैजाने तयारी गरिएको दावि प्रधानमन्त्रीको सचिवालयको छ । ​

    विवरण संकलनपछि उनीहरुलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ।

  • बागमती किनारबाट विस्थापितलाई रंगशालामा स्वास्थ्य शिविर

    बागमती किनारबाट विस्थापितलाई रंगशालामा स्वास्थ्य शिविर

    १८ वैशाख, काठमाडौं । बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूका लागि सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार, र मनोसामाजिक परामर्श दिइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    सो कार्यमा ​संलग्न अस्पताल शुक्रराज ट्रपिकल (नेतृत्वदायी भूमिका), कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह, र पाटन मानसिक अस्पतालका विशेषज्ञ टोलीहरू खटिएका छन्। सचिवालयका अनुसार उपचार प्रक्रिया शिविरमै औषधी र परामर्श दिने तथा जटिल समस्या भएमा सरकारी अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको छ। अहिले सम्म ६८ जनाले सेवा लिइसकेका छन्।

    बसोबास गुमाउँदा हुन सक्ने मनोसामाजिक तनाव र अन्य संक्रमणलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा दिइरहेको छ। उता, ​कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को शिविर सञ्चालन भइरहेको बताइएको छ । जहाँ आँखा र दाँतको उपचार गरिएको छ । काठमाडौं महानगरपालिका र स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पर्याप्त जनशक्ति र औषधीको व्यवस्था गरिएको छ।

  • अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता

    अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता

    १८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा मन्त्री वाग्ले र गोरबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जानकारी दिएको छ । गोर बिहीबार साँझ काठमाडौं आएका हुन् । उनी शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

  • ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ सुरु

    ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ सुरु

    १८ वैशाख, काठमाडौं । पहाडकी रानी भनेर परिचित बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ शुक्रबारदेखि सुरु भएको छ । ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र स्थानीय समुदायसँग जोडिएको दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित आयोजित चार दिने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गरेकी छन् ।

    औपचारिक उद्घान अघि बन्दीपुर बजार क्षेत्रमा गण्डकी प्रदेशका ११ जिल्लाका १९ वटा होमस्टेहरूको सहभागितामा र्‍याली आयोजना गरिएको थियो । स्थानीय कला, संस्कृति र पर्यटनको पहिचान झल्काउने झाँकीसहितको र्‍यालीपछि औपचारिक कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटन व्यवसायी, विभिन्न सरोकारवाला निकाय, सञ्चारकर्मी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

    औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिमालले बन्दीपुरमा आयोजित पर्यटन मार्टले स्थानीय कला, संस्कृति प्रवर्द्धन गर्नुका साथै रोजगारी र आयआर्जन बढाउने विश्वास व्यक्त गरिन् । ‘नेपालमा संघीयता कार्यान्वयनसँगै विकासको विकेन्द्रीकरण भएको छ । स्थानीय सरकारले आफ्नो गाउँ निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन् । गाउँ बलियो बने मात्र समग्र समृद्धिको आधार तयार हुन्छ’ उनले भनिन्, ‘गाउँ बलियो बनाउने प्रमुख आधार नै पर्यटन हो । स्थानीय समुदायलाई पर्यटनसँग जोड्न आवश्यक छ ।’ उनले स्थानीय रोजगारी सिर्जना गर्नका लागि पर्यटन महत्त्वपूर्ण साधन भएको बताइन् ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ_ दीपकराज जोशीले पछिल्लो समय समुदायसँग जोडिने पर्यटन प्रवृत्ति विश्वभर बढ्दो क्रममा रहेको उल्लेख गर्दै त्यसबाट लाभ लिन नेपालले तयारी बढाउनुपर्ने धारणा राखे । ‘नयाँ अनुभूति गर्ने र समुदायसँगै इन्गेज हुने ट्रेन्ड बढिरहेको छ । यसका लागि हामीले पर्यटन चेतना विस्तार गर्ने, खोज गर्ने र पर्यटन अभ्यासका कामलाई तीव्रता दिएका छौं,’ उनले भने, ‘हाम्रा परम्परागत सिप, ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता छ ।’

    नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्टले पर्यटन बोर्डले सधै ग्रामीण पर्यटनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । ‘ग्रामीण पर्यटन नै नेपालको वास्तविक पहिचान हो, यसलाई अझ सशक्त बनाउन यस्ता कार्यक्रम आवश्यक छन्,’ उनले भने । बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले गाउँका कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मार्ट आयोजना गरिएको स्पष्ट पारेका छन् । ‘बन्दीपुरको थुम्का पर्यटनलाई थप प्रवर्द्धन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘होमस्टेसम्म पर्यटक पुर्‍याउन र ग्रामीण पर्यटन सर्किट जोड्न ‘गाउँ सफारी’ले पनि उल्लेखनीय भूमिका खेलेको छ ।’

    कार्यक्रममा आगामी वर्ष ‘गाउँ पर्यटन मार्ट’ गोरखामा आयोजना गरिने घोषणा गर्दै बन्दीपुर गाउँपालिकाले गोरखा नगरपालिकालाई औपचारिक रूपमा फ्ल्याग हस्तान्तरण गरेको छ । फ्ल्याग ग्रहणपछि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले आगामी संस्करण सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    ‘ऐतिहासिक गोरखा अहिले केही ओझेलमा परेको छ, गाउँ पर्यटन मार्टले यसलाई पुनः उजागर गर्न सहयोग गर्नेछ,’ उनले भने, ‘एक पटक गोरखा आएर घुम्न सबैलाई आग्रह गर्दछु ।’

    गाउँ पर्यटन प्रवर्द्धन मञ्च, गण्डकी अध्यक्ष शोभा सापकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरिन् । कार्यक्रमले ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास आयोजकको छ। चार दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम वैशाख १६ र १७ गते तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ मा रहेको रुम्सी सामुदायिक होमस्टे र रामकोट सामुदायिक होमस्टेलगायतका क्षेत्रमा परिचयात्मक भ्रमण गरिएको थियो । नेपालमा पहिलो पटक सफारी मार्फत् ग्रामीण क्षेत्रको अवलोकन भ्रमण गराइएको थियो । स्थानीय पर्यटन व्यवसायी वसन्त पौडलको संयोजकत्वको टोलीले पहिलो दिन आगन्तुकहरूको स्वागतसँगै स्थानीय होमस्टेहरूको अवलोकन गराएका थिए ।

    त्यसैगरी दोस्रो दिन बन्दीपुरका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण र सांस्कृतिक साँझ आयोजना गरिएको थियो । शुक्रबार औपचारिक उद्घाटनसँगै ‘बीटुबी’ बैठक तथा नेटवर्किङ सत्र सञ्चालन गरिएको छ । जसबाट पर्यटन व्यवसाय विस्तार र सहकार्यका नयाँ सम्भावनाका ढोका खोल्‍ने अपेक्षा गरिएको छ । त्यसैगरी कार्यक्रम शनिबार समापन गरिनेछ ।

  • यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

    यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

    १८ वैशाख, काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा दोस्रो जित निकालेको छ । आज नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको हो । यूएईमाथि नेपालले आज ६ रनको जित निकालेको छ । वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो ।

    यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ६५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । शाहदादले हर्पित सिंहसँग तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । सिंहले ४१ रन बनाए । आर्यशं शर्मा ३३, अदीब उसमानी १४, मोहम्मद जुहैब १ र कप्तान मोहम्मद वासिम ० रनमा आउट भए । खैजइमा विन तन्विरले २६ बलमा ४९ रन बनाउँदा अक्षदीप नाथ ३२ बलमा २६ रनमा अविजित रहे ।

    बलिङमा नेपालका सन्दीप लाछिमानेले ३, सोमपाल कामी र नन्दन यादवले दुई–दुई तथा नन्दन यादवले एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । दीपेन्द्रले ९४ बलमा १०० रन बनाए । उनले १३ चौका र एक छक्का प्रहार गरे । करिब ४ वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विनोद भण्डारीले पहिलो खेलमै अर्धशतक बनाए । उनले ७९ बलमा ५६ रनको योगदान दिए ।

    गुल्सन झा ४४, ओपनर अर्जुन कुमाल ११, कप्तान रोहित पौडेल ३९, भीम सार्की ०, आरिफ शेख ११ रनमा आउट भए । सोमपाल कार्मी ० रनमा अविजित रहे । बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले समान २ तथा हैदर अली र खैजइमा विन तन्विरले एक–एक विकेट लिए । अब नेपालले आफ्नो चौथो खेल मंगलबार ओमानसँग खेल्नेछ ।

  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : न्यूनतम पारिश्रमिक समेत नपाएको उजुरी बढ्दो

    आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : न्यूनतम पारिश्रमिक समेत नपाएको उजुरी बढ्दो

    काठमाडौँ, वैशाख १८ गते । धादिङकी मीनाले काठमाडौँमा आएर घरेलु श्रमिकका रूपमा काम गर्न थालेको सात वर्ष भयो । एउटै घरमा घरभित्रको सरसफाइदेखि बुढाबुढीको स्याहारसुसार गर्दै आएकी मीनालाई गत वर्ष सुन चोरीको दोष लगाएर तीन महिनाको पारिश्रमिकबिना नै निकालियो । त्यो घरका परिवारले खाएका जुठा भाँडा माझ्ने, ट्वाइलेट सफा, जुत्तामोजा धुनेदेखि घर सरसफाइ गर्दै आएकी मीनाले साप्ताहिक बिदाको माग गरेपछि चोरदोष लगाएर तीन महिनाको पारिश्रमिक नदिई कामबाट निकालिएको थियो । मीनाले घर मालिकको ज्यादतीविरुद्ध श्रम तथा रोजगार कार्यालय टेकुमा उजुरी गरिन् ।


    उक्त श्रम कार्यालयले मीनाको उजुरीको सुनुवाइ गर्दै घर मालिकबाट तीन महिना बराबरको लिन बाँकी पारिश्रमिक, सात वर्षसम्म साप्ताहिक बिदामा काम लगाएकोसमेत जोडेर क्षतिपूर्ति रकम भराइयो । मीना त एउटा प्रतिनिधिमूलक पात्र मात्रै हुन् । चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा मीना जस्ताका ४५० वटा उजुरी सो कार्यालयमा दर्ता भएका छन् ।

    कार्यालयका अनुसार आएकामध्ये आधा बढी फस्र्योट भएका छन् । सो कार्यालयका प्रमुख उदयकुमार गुप्ताले कार्यालयमा आउने उजुरीमध्ये अधिकांश औपचारिक क्षेत्रमा काम गर्ने प्रष्ठिानविरुद्धका रहेको र अनौपचारिक क्षेत्रका असाध्यै कम आउने गरेको जानकारी दिए ।

    उनका अनुसार चालु आवको नौ महिनामा आएका उजुरीको सुनुवाइ गर्दै करिब पाँच करोड बराबरको रकम श्रमिकलाई दिलाउन सफल भएका छौँ । उक्त रकम श्रमिक, रोजगारदाताबिच छलफल गराएर सहमतिमा वा सहमति हुन नसकेका उजुरीमा कार्यालयले दुवै पक्षलाई अन्याय नहुने गरी निर्णय गर्ने गरेको छ ।

    उजुरी गर्ने क्रम बढ्दो

    औपचारिक तथा अनौपचारिक क्षेत्रमा श्रमिकले न्यूनतम पारिश्रमिक नपाएको भन्दै उजुरी गर्ने क्रम बढेको छ । श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतका श्रम तथा रोजगार कार्यालयमा पछिल्लो समयमा रोजगारदातासँग भएको सम्झौता अनुसार पारिश्रमिक, साप्ताहिक बिदा नदिएको र सामाजिक सुरक्षा कोषमा आबद्ध नगरेको भन्दै उजुरी गर्ने श्रमिकको सङ्ख्या बढेको हो ।

    विभागका अनुसार चालु आव २०८२–८३ को चैतसम्म ७५२ वटा उजुरी परेका छन् । यो सङ्ख्या विभाग अन्र्तगत देशभर रहेका ११ वटा श्रम तथा रोजगार कार्यालयमा परेका उजुरीको सङ्ख्या हो । जसमा सबैभन्दा धेरै काठमाडौँको टेकुमा रहेको श्रम कार्यालयमा ४५० वटा उजुरी परेका छन् । जबकि आव २०८१–८२ मा ७७३ वटा उजुरी परेका थिए भने आव २०८०,८१ मा ६६८ वटा र आव २०७९–८० मा ६४७ वटा उजुरी परेका थिए ।

    विभागका महानिर्देशक चक्रपाणि पाण्डेले पछिल्ला वर्षमा सम्झौता अनुसार पारिश्रमिक, साप्ताहिक बिदा नपाएको, सामाजिक सुरक्षामा नलगेको भन्ने उजुरी धेरै पर्ने गरेको बताए । उनले बिनाकारण कामबाट निकाल्ने, काममा विभेद गर्ने, जथाभाबी सरुवा गर्नेलगायतका उजुरी आउने गरे पनि अधिकांश उजुरी न्यूनतम पारिश्रमिक नपाएकासम्बन्धी नै रहेको बताए । सरकारले गएको साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपियाँ तोकेको छ । योसँगै श्रम ऐन, २०७४ मा श्रमिकले बिदा र सामाजिक सुरक्षा पाउनुपर्ने अनिवार्य व्यवस्था छ ।

    गोरखापत्रबाट….

  • आज पनि देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना

    आज पनि देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ, वैशाख १८ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    शुक्रबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा आंशिक बदली रहने सम्भावना छ । कोशी र मधेश प्रदेशका साथै देशका हिमाली तथा पहाडी भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै हिमाली तथा पहाडी भू–भागमा अधिकांश बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । रासस

  • विदेशी पासपोर्ट लिएका नेपालका १९ डाक्टरको दर्ता रद्द, सूचिसहित

    विदेशी पासपोर्ट लिएका नेपालका १९ डाक्टरको दर्ता रद्द, सूचिसहित

    १८ वैशाख, काठमाडौं । नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १९ जना डाक्टरको दर्ता खारेज भएको छ । नेपाल मेडिकल काउन्सिलले आज सूचना जारी उनीहरुको दर्ता खारेज भएको जानकारी दिएको हो । सूचना अनुुसार उनीहरुले नेपाली नागरिकता त्यागेर ब्रिटिश, क्यानेडियन, अमेरिकन, न्युजिल्याण्ड, जर्मन, अष्ट्रेलियन र भारतीय पासपोर्ट लिएकाले दर्ता खारेज गरिएको हो ।

    दर्ता खारेज भएका डाक्टरहरुमा सुमिन्द्रा पुन, शैलेश कुमार जयसवाल, भूपेश खड्का, आरती रानाभाट, रमेश राज पहारी, सन्जोक घले, ऋषिराज बराल, प्रभु पाण्डे, तृप्ति महर्जन, सृजना श्रेष्ठ लगायत छन् ।

    यसैगरी सुनिता विष्ट, दिपा मल्ल, सौरब जीसी, जेनिशा श्रेष्ठ, प्रभास रेग्मी, दिपिका ज्ञवाली, हेमु चौरसिया, समिक्षा शर्मा र मनोरमा पाण्डेको पनि मेडिकल काउन्सिलले दर्ता खारेज गरेको छ ।

  • रोल्पा जिप दुर्घटना : आज पनि उद्धारको काम जारी

    रोल्पा जिप दुर्घटना : आज पनि उद्धारको काम जारी

    १८ वैशाख, रोल्पा । थवाङ गाउँपालिका–१, रोल्पामा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनास्थलमा थप खोज तथा उद्धार कार्य पुनः सुरु गरिएको छ । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार आज बिहानैबाट सुरक्षाकर्मीहरु घटनास्थलमा परिचालित भइसकेका छन् । उनका अनुसार आज शव पहिचान गरी आफन्तलाई जिम्मा लगाउने काम सुरु हुनेछ ।

    रुकुमपूर्वबाट थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा २० जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् । रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनलाई राति नै रुकुम पूर्व अस्पतालबाट बाहिर रिफर गरिएको जनाइएको छ ।

    भौगोलिक विकटताका कारण शव संकलन गरी घटनास्थल नजिकै राखिएको छ । उद्धार कार्यमा हेलिकप्टर समेत प्रयोग गर्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । सबै शवको संकलन भइसकेको जानकारी दिँदै उनले उद्धार कार्य सकिए पश्चात् आज नै सबैको पहिचान हुने प्रजिअ क्षेत्रीले बताए ।