Category: फिचर

  • सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    काठमाडौँ, १३ असोज । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २० दशमल सात मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

    मन्त्रिपरिषद्ले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक खण्ड, गजार्ड खोला साना जलविद्युत् आयोजना तथा ४० मेगावाट क्षमताको बलेफीखोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको छ । सशस्त्र प्रहरी बल, नेपालका तालिम शिक्षालय, गुल्म तथा सीमा सुरक्षा पोष्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न पनि स्वीकृति दिइएको छ । बैठकले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्न बनेका विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।

    मन्त्रिपरिषद्ले प्रशासनतर्फ दुई उच्च अधिकारीको बढुवा तथा पदस्थापनसमेत गरेको छ । सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ । नेपाल इञ्जिनियरिङ सेवातर्फका डा जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ ।

  • सञ्चारमन्त्री डा तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

    सञ्चारमन्त्री डा तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

    काठमाडौँ, १२ असोज : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको थियो । उनी सेप्टेम्बर ३० देखि अक्टोबर ९, २०२६ सम्म सिओलमा हुने कार्यक्रमका लागि कोरिया जाने तयारीमा थिए ।


    तर देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो र निरन्तर वर्षाका कारण ठूलो जनधनको क्षति भएपछि सञ्चारमन्त्री तिमिल्सिनाले पूर्वनिर्धारित कोरिया भ्रमण स्थगित गरेका हुन् । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा बाढी तथा पहिरोले ठूलो क्षति पुर्याएको थियो । त्यसैगरी असोज ८ देखि ११ गतेसम्म भएको निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा पुनः बाढीपहिरो तथा डुबानका घटना भएका छन् । विपद्का कारण मानवीय क्षतिका साथै सडक, पुल, विद्युत्, सञ्चारलगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ । विपद्बाट प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी छन् ।

    सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा उद्धार, राहत, समन्वय तथा प्रभावित नागरिकसँगको सम्पर्कमा कठिनाइ भइरहेको अवस्था सञ्चार सम्पर्कलाई यथासक्य नियमित र प्रभावकारी बनाउनु सरकारको महत्वपूर्ण दायित्व बनेको छ ।

    यही परिस्थितिलाई ध्यानमा राख्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले मुलुकभित्रको विपद् व्यवस्थापन तथा प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना र निरन्तरतासम्बन्धी कामलाई प्राथमिकता दिनुभएको मन्त्रालयले जनाएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार कोरिया भ्रमणमा सहभागी हुन नसक्ने जानकारी आयोजक पक्षलाई गराउन सञ्चार मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ । भ्रमण स्थगनको मुख्य कारण मुलुकका विभिन्न क्षेत्रमा विपद्का कारण उत्पन्न असहज परिस्थिति र प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना तथा सञ्चार सेवा सञ्चालनलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको सञ्चार मन्त्रालयले जनाएको छ ।

  • पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    काठमाडौँ, १३ असोज , सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि सुरक्षा खतरा देखिएपछि सुरक्षित स्थानमा सारिएको जनाएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राणालाई पक्राउ वा नियन्त्रणमा नलिइएको दावि गरे ।

    राणाको मोबाइलमा ‘टेक्स्ट मेसेज’ मार्फत सुरक्षा धम्की आएको र सोही आधारमा सुरक्षा निकायले उनलाई सुरक्षित स्थानमा सारेको मन्त्री पोखरेलले बताए । “उहालाई पक्राउ गरिएको होइन, नियन्त्रणमा लिइएको पनि होइन । उहाँको परिवारबाट थप सुरक्षा माग गर्दै निवेदनसमेत परेकाले सुरक्षाका लागि उद्धार गरेर सुरक्षित स्थानमा लगिएको हो”, मन्त्री पोखरेलले भने । उनका हाँअनुसार राणालाई आएको धम्की ‘जेनजी’ समूहबाट नभई कुनै अपरिचित समूहबाट आएको थियो ।

  • प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दावी

    प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दावी

    पेरिस, १३ असोज (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्रमाथि लगाएको प्रतिबन्ध सफल भएको बताएको छ । अमेरिकाले सेप्टेम्बरको सुरुमा इरानको सम्पूर्ण उड्डयन क्षेत्रमाथि प्रतिबन्ध लगाएको थियो । यो दवावपूर्ण अभियान अन्तर्गत इरानले ‘आर्थिक श्वासरोध’ हुने दाबी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले गरेका थिए । वासिङ्टनले विदेशी कम्पनीहरूलाई सेप्टेम्बर २३ सम्म यो प्रतिवन्धलाई पालना गर्न समय दिएको थियो । त्यसपछि बेसेन्टले सबै इरानी एयरलाइन्सहरू ‘विश्वभरि बन्द हुने’ दावी गरेका थिए ।


    उनले भने, “यदि उनीहरू अवतरण गर्छन् भने, “तपाईंले उनीहरूलाई इन्धन नदिनूहोस्, अवतरण सेवा नदिनूहोस्, टिकट नबेच्नुहोस् । अन्यथा तपाईं डलर प्रणालीबाट बाहिरिनुहुनेछ।” अमेरिकी कदमलाई अवैध भन्दै तेहरानले सोमबार संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय न्यायालयमा उजुरी दिएको घोषणा गरेको छ।

    –तेहरानबाट ३० अन्तराष्ट्रिय गन्तव्यतर्फ उडान–

    इरानले भने तेहरानबाट मात्रै करिब ३० अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा जारी राखेको दाबी गरेको छ । ‘ट्र्याकिङ वेबसाइट’ फ्लाइटरडार–२४ का अनुसार आइतबार तेहरान अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ४१ उडान उडे वा अवतरण गरेका थिए । प्रतिबन्ध लागू हुनुअघिका दुई दिनको दैनिक औसत ८० देखि ९० उडानको तुलनामा यो कम हो।

    दुई मुख्य इरानी एयरलाइन्स इरान एयर र निजी स्वामित्वको महान एयर प्रतिवन्धबाट सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । आइतबार तेहरान विमानस्थलबाट उडेका २४ उडानमध्ये केवल पाँच महान एयर र दुई इरान एयरद्वारा सञ्चालित थिए । प्रतिबन्धअघि प्रत्येकले करिब १० उडान भर्थे ।

    यी आँकडाले बेसेन्टले भनेको ८० देखि ९० प्रतिशत उडान अवरूद्धता भएको भनेभन्दा बढी सङ्कट देखिन्छ भने तेहरान विमानस्थलले आइतबार ६० उडान सञ्चालन गरेको दाबीभन्दा यो निकै कम हो । इरानी राष्ट्रिय टेलिभिजनमा प्रशारित समाचारमा विमानस्थल निर्देशकलाई उद्धृत गर्दै भनिएको छ “करिब ३० वा त्योभन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यहरूमा अझै सेवा दिइँदै आएको छ।”

    –चीन, रूस र टर्कीद्वारा प्रतिबन्ध अस्वीकार–

    तेहरानको प्रमुख आर्थिक सहयोगी बेइजिङले अमेरिकी प्रतिबन्धलाई ‘अवैध र एकपक्षीय’ भन्दै यसलाई पालना गर्न पूर्ण रूपमा अस्वीकार गरेको छ । महान एयरका उडानहरूले चिनियाँ विमानस्थलहरूमा सेवा जारी राखिरहेका छन् । रूस र पाकिस्तानका उडानहरू पनि जारी छन्, यद्यपि कुनै पनि देशले प्रतिबन्धबारे टिप्पणी गरेको छैन । महान एयरलाइन्सका अनुसार महान एयरले टर्कीका अधिकारीहरूको अनुरोधमा टर्कीका उडानहरू रोकेको छ ।

    इरान एयरले भने इस्तानबुलमा दैनिक उडान जारी राखेको छ। साना इरानी ध्वजाबाहकहरूले पनि टर्कीका अन्य शहरहरूमा सेवा दिइरहेका छन्। अर्मेनिया, अफगानिस्तान, बेलारुस र मलेसियामा प्रतिबन्ध अझै लागू भएको छैन । यी देशहरूमा मुख्य रूपमा साना इरानी एयरलाइन्सहरूद्वारा सेवा दिइन्छ । वासिङ्टनले प्रतिबन्ध पालना नगर्ने देशहरूविरुद्ध कुनै कारबाही गर्ने कि नगर्ने घोषणा गरेको छैन ।

    – खाडीमुलुक –

    युरोप, एसिया वा अफ्रिका पुग्न चाहने इरानी यात्रुहरूको प्रमुख केन्द्र संयुक्त अरब इमिरेट्सले आफ्नो क्षेत्रमा सबै इरानी उडानहरू ‘थप सूचना नआएसम्म’ का लागि निलम्बन गरेको छ । कुवेत नागरिक उड्डयन महानिर्देशनालयका एक स्रोतले सोमबार एएफपीलाई बताए अनुसार सात महिनाअघि युद्ध सुरु भएदेखि नै इरानी एयरलाइन्सहरूलाई कुवेत प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

    अन्य खाडी देशहरूले कुनै घोषणा गरेका छैनन् तर उनीहरूका विमानस्थल वेबसाइटहरू अनुसार उडानहरू निलम्बन गरिएका देखिन्छन् । इरानको आईएसएनए समाचार एजेन्सीले विमानस्थल अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ, “इरानी उडानहरू अब अजरबैजान र जर्जिया तथा इराकमा जाने छैनन् । इराक भने प्रतिबन्धबाट छुट खोजिरहेको छ ।”

    इराकी सरकारले शनिबार संयुक्त राज्य अमेरिकासँग इरानी एयरलाइन्सहरूमाथिको प्रतिबन्धबाट छुट पाउन वार्ता गरिरहेको बताएको छ। यसले बिरामी, विद्यार्थी र तीर्थयात्रीहरूको यात्रा प्रभावित पारेको इराकको दावी छ । “इराकी सरकारले यी उपायहरूबाट केही इराकी विमानस्थलहरूलाई छुट दिन अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ता गरिरहेको छ,” इराकी प्रधानमन्त्रीको मिडिया कार्यालयले भनेको छ ।

    “छुटले ‘चिकित्सा उपचार, शिक्षा, धार्मिक भ्रमण र नागरिकहरूको हित समावेश मानवीय कारण’ का लागि उडानहरू पुनः सुरु गर्न अनुमति दिनेछ,” कार्यालयले थप्यो। इरानी एयरलाइन्सहरूले मुख्य रूपमा इराकी शिया तीर्थयात्रीहरूलाई इरानका पवित्र शहरहरूमा लैजान्छन् वा इराकका पवित्र स्थलहरूमा जाने इरानीहरूलाई सेवा दिन्छन्। यी उडानहरू इरानमा पढ्ने इराकी विद्यार्थी र त्यहाँ चिकित्सा उपचार खोज्ने बिरामीहरूलाई पनि सेवा दिन्छन् ।

  • प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

    प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

    म्याग्दी, १३ असोजः यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति पु¥याएको छ । तीन वटा पोखरीमध्ये बिरामीहरुले उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातोपानीको पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकहरुका सञ्चालित सानो पोखरी बाढीले भत्काएको छ । कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखेका भवन र खुला स्नानस्थल माथिबाट खसेको पहिरोले भत्किएको र पुरिएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।

    “बाढी पहिरोले तातोपानी कुण्डका भौतिक संरचनाहरुमा क्षति पु¥याएकाले तत्कालका लागि स्नान गर्न सकिने अवस्था छैन, कुण्ड बन्द भएको छ,” उनले भने, “पोखरीमा थुप्रिएको बाढी पन्छाएर तातोपानी कुण्ड सञ्चालनमा ल्याउने प्रयासमा छाँै ।” समितिको सोमबार बसेको बैठकले मङ्गलबारदेखि तातोपानीवासीहरुले श्रमदान गरेर पोखरीमा थुप्रिएको लेदो र हिलो पन्छाउने निर्णय गरेको सदस्य मीना जुग्जालीले बताए । पर्यटकीय र प्राकृतिक उपचारस्थलको रुपमा रहेको सिंगा तातोपानी कुण्डको संरक्षण र मर्मतका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारबाट सहयोगको अपेक्षा गरेको उनले बताए ।


    असोज–कात्तिक सिंगा तातोपानी कुण्ड स्नान गर्ने मुख्य याम हो । मुख्य याममा कुण्ड बन्द भएपछि तातोपानी बजार सुनसान बनेको छ । होटल, रेष्टुरेन्ट र होमस्टे व्यवसायीहरु निराश भएका छन् । वार्षिक २० हजार जनाभन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारण प्राकृतिक उपचारका लागि आउने गरेका छन् । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा वीरेनुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई सङ्कलन गरेको पोखरीमा स्नान थिए ।

    सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार वीरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । असोज–कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो ।

  • अमेरिका मध्यपूर्वबाट ‘पीडादायक प्रहार’ सहेर बाहिरिन बाध्य हुने इरानी सर्वोच्च नेता खामेनीको दावी

    अमेरिका मध्यपूर्वबाट ‘पीडादायक प्रहार’ सहेर बाहिरिन बाध्य हुने इरानी सर्वोच्च नेता खामेनीको दावी

    तेहरान, १३ असोज (रासस–एएफपी) । संयुक्त राज्य अमेरिका ‘पीडादायक प्रहार’ सहेर मध्यपूर्व छाड्न बाध्य हुने इरानका सर्वोच्च नेता मोजतबा खामेनीले सोमबार बताएका छन् । इरानी राष्ट्रिय टेलिभिजनले प्रसारित गरेको उनको वक्तव्यमा भनिएको छ, “संयुक्त राज्य अमेरिका ‘पीडादायक प्रहार’ सहेर मध्यपूर्व छाड्न बाध्य हुनेछ।” खामेनीलाई फेब्रुअरीको अन्त्यमा मध्यपूर्वी युद्ध सुरु भएदेखि सार्वजनिक रूपमा देखिएको छैन । लडाइँ अन्त्य गर्ने वार्ता पुनः सुरु गर्ने प्रयासहरू भइरहेका बेला खामेनीका यो भनाइ सार्वजनिक भएको हो ।

    संयुक्त राज्य अमेरिकाको नाम स्पष्ट रूपमा नलिइकन उनको वक्तव्यमा भनिएको छ, “अहिले वीर योद्धाहरू र हर्मुज जलमार्गको रक्षकहरूका हातबाट ‘पीडादायक प्रहार’ सहेर भएपनि उनी (शत्रु) हरू अरब सागरभन्दा पर जान हिचकिचाइरहेका छन् ।” उनले भने, “उनीहरूले यो जोखिम लिएका छन्, उनीहरूले आफैँलाई मात्र हानि पु¥याएका छन् । चाँडै नै अरब सागर पनि उनीहरूको उपस्थितिबाट मुक्त हुनेछ।” अरब सागर, अरब प्रायद्वीपबाट पूर्वतिर भारतसम्म फैलिएको, इरानका तटहरू र हर्मुज जलमार्गमा पुग्ने महत्त्वपूर्ण समुद्री मार्ग हो।

    फेब्रुअरीमा अमेरिका–इजरायली हमला इरानबाट सुरु भएदेखि मध्यपूर्वी युद्धमा इरान र संयुक्त राज्य अमेरिका हर्मुजको नियन्त्रणका लागि लडिरहेका छन् ।
    युद्ध सुरु हुनुअघि यो रणनीतिक ढुवानी मार्गले विश्वको करिब पाँच भागको एक भाग तेल र ग्यास आपूर्तीमा योगदान गर्दै आएको थियो । तर युद्ध सुरु भएपछि तेहरानले हर्मुजमा नाकाबन्दी लगायो, जसका प्रतिक्रिया स्वरूप वासिङ्टनले इरानी बन्दरगाहहरूमा आफ्नो नाकाबन्दी लगाएको घोषणा गरेको थियो ।

  • ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

    ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

    हङकङ, १३ असोज (रासस–एपी) । अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सोमबार सार्वजनिक गरेका छन् । यसले दुई देशबीचको व्यापारिक सम्बन्ध सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको केही दिनपछि यो विवरण सार्वजनिक भएको हो । गत वर्ष कुनै समय चीनबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार दर १४५ प्रतिशतसम्म पुगेको थियो । पछिल्लो समय दुई देशबीचको तनाव कम हुँदै गएपछि अमेरिकाले चीनमाथिको केही भन्सार दर घटाइसकेको छ ।

    चिनियाँ वाणिज्य मन्त्रालयले नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग सुदृढ गर्न सहयोग पुग्ने जनाएको छ । चीनले अमेरिकाबाट आयात गर्ने एक हजार ६१९ प्रकारका वस्तु सूचीमा समेटिएका छन् । तीमध्ये कृषि उपज, व्यक्तिगत स्याहारका सामग्री, काठ, चिकित्सा उपकरण र कोइलालगायत छन् । त्यस्तै, अमेरिकाले चीनबाट आयात गर्ने ७७ वर्गका वस्तुमा भन्सार कटौती गरिनेछ । यसमा आतिशबाजी, भान्साका भाँडाकुँडा, सिसा तथा काठका क्रिसमस सजावटका सामग्री र फुटबललगायत छन् ।

    चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार ९० प्रतिशतभन्दा बढी वस्तुमा ‘मोस्ट फेभर्ड नेसन’ अर्थात् सबैभन्दा प्राथमिकता प्राप्त राष्ट्रको स्तरको भन्सार दर कायम गरिनेछ । यसले सम्बन्धित देशका लागि लगाइएका अतिरिक्त भन्सार दर अधिकांशतः हट्ने जनाइएको छ । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सूचीमा दुवै पक्षका गैरसंवेदनशील वस्तु समेटिएको बताए । उनका अनुसार नयाँ व्यवस्थाबाट अमेरिकी किसान, उत्पादक, व्यवसायी र श्रमिकले चीनको बजारमा थप पहुँच पाउन सक्नेछन् ।

    दुवै देशले आवश्यकताअनुसार सूचीमा संशोधन गर्न सकिने सहमति गरेका छन् । तर यस्तो संशोधन बढीमा वर्षमा एकपटक मात्र हुने सम्भावना रहेको बताइएको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार कृषि क्षेत्रमा थप सहकार्यका लागि दुवै देश सहमत भएका छन् । तर चिप, विद्युतीय सवारीसाधन र ब्याट्रीजस्ता रणनीतिक महत्वका क्षेत्र भने सम्झौतामा समेटिएका छैनन् ।

    द्विपक्षीय व्यापार बढ्ने अपेक्षा
    आइएनजी बैंकका ग्रेटर चाइना क्षेत्रका प्रमुख अर्थशास्त्री लिन सङले भन्सार कटौतीले दुई देशबीचको व्यापारमा उल्लेखनीय वृद्धि हुन सक्ने बताए । चीनबाट अमेरिका निर्यात हुने उपभोक्ता सामग्रीमा बढी ध्यान दिइएकाले अमेरिकी उपभोक्तालाई पनि लाभ पुग्न सक्ने विश्लेषकको भनाइ छ । फ्रान्सेली बैंक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीका अनुसार चीनबाट आयात हुने उपभोक्ता सामग्रीमा भन्सार घट्दा अमेरिकी मुद्रास्फीति नियन्त्रणमा समेत सहयोग पुग्न सक्छ । यसबाट चिनियाँ कम्पनीलाई अतिरिक्त उत्पादन निर्यात गर्ने अवसर पनि बढ्न सक्छ ।

    यद्यपि, केही विश्लेषकले दुवैतर्फ करिब ३० अर्ब डलर बराबरको कारोबार समेटिएको भए पनि यसको समग्र आर्थिक प्रभाव सीमित हुन सक्ने बताएका छन् । बीएनपी पारिबास वेल्थ म्यानेजमेन्टका एसियाली क्षेत्रका प्रमुख लगानी अधिकृत प्रशान्त भयानीका अनुसार यस वर्षको पहिलो सात महिनामा अमेरिकाबाट चीनतर्फ करिब ६८ अर्ब डलर बराबरका वस्तु निर्यात भएका छन् । पहिलो आठ महिनामा चीनबाट अमेरिकातर्फको निर्यात करिब २७० अर्ब डलर पुगेको छ ।

    चीनको व्यापार बचत उच्च रहने अपेक्षा
    गत वर्ष चीनको व्यापार बचत कीर्तिमानी एक दशमलव दुई ट्रिलियन डलर पुगेको थियो । यस वर्ष अगस्टसम्ममा यस्तो बचत करिब ८०० अर्ब डलर पुगेको विश्लेषकहरूले बताएका छन् । अमेरिकाले औद्योगिक क्षमताको अधिकतासम्बन्धी अनुसन्धानअन्तर्गत चीनसहित १६ व्यापारिक साझेदारमाथि छानबिन गरिरहेको छ । अनुसन्धानपछि चीनमाथि थप भन्सार लगाउन सक्ने सम्भावना पनि रहेको छ ।

    यसैबीच, अमेरिका र चीनले गत साता व्यापक व्यापार युद्धविरामको अवधि थप दुई महिना लम्ब्याउने सहमति गरेका थिए । आगामी नोभेम्बरमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलन र डिसेम्बरमा जी–२० शिखर सम्मेलनमा ट्रम्प र सीबीच थप भेटवार्ता हुने अपेक्षा गरिएको छ । दक्षिण चीनमा क्रिसमस सजावटका सामग्री उत्पादन गरी अमेरिका निर्यात गर्ने केही चिनियाँ व्यवसायीले नयाँ भन्सार व्यवस्थाको स्वागत गरेका छन् । यद्यपि, यस वर्षका अधिकांश क्रिसमस सामग्री मुख्य सिजनअघि नै ढुवानी भइसकेकाले तत्काल यसको प्रभाव सीमित हुन सक्ने उनीहरूको भनाइ छ ।

  • बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

    बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

    बागलुङ, १३ असोजः बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए । पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उनले बताए ।

    जिल्लामा अविरल वर्षापछि आएको विपद्मा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने विपद् परी एक जना छन् । शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो । थियो भने आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।

  • एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

    एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

    काठमाडौँ, १३ असोजः जापानमा जारी बीसौँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण सुरु हुन सकेन । लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । योसँगै सेमिफाइनल पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ ।

    प्रतियोगिताको नियमअनुसार खेल सञ्चालन हुन नसकेको अवस्थामा ट्वान्टी–२० अन्तरराष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मान्दै अघिल्लो चरणमा प्रवेश गराउने प्रावधान छ । सोही प्रावधानअनुसार श्रीलङ्का सेमिफाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । हालको ट्वान्टी–२० विश्व वरियतामा श्रीलङ्का नवौँ तथा नेपाल १४औँ स्थानमा छन् । नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण शनिबार नेपाल र जापानबीचको समूह चरणको खेलसमेत प्रभावित भएको थियो । समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा जापानसँग अङ्क बाँड्नु परेपछि नेपाल समूहबाट अघि बढेको थियो ।

  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ, १३ असोज : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    यसैगरी, बैठकमा कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यस्तै, बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्नेछिन् ।

    त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछिन् । आजै अर्थसमिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

  • सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल

    सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल

    राँझा १३ असोजः नेपालगन्जमा ठूलो रकम खर्च गरेर निर्माण गरिएको नगर सभाहल (सिटी हल) सञ्चालनको पर्खाइमा रहेको छ । नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा सङ्घीय सरकारले निर्माण गरेको सुविधा सम्पन्न सिटी हलको २०८१ फागुन १३ गत उद्घाटन भए पनि हालसम्म सञ्चालन हुन सकेको छैन ।

    रु ३३ करोड ३४ लाख ७५ हजार ३७० लागतमा निर्माण भएको सिटी हल उद्घाटन हुँदा यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको थियो । हल सञ्चालन हुन नसक्दा स्थानीयवासी निराश बन्न पुगेका छन् । सिटी हलमा दैनिकजसो कार्यक्रम हुँदा स्वाभाविक रुपमा चहलपहल बढ्ने भएपनि हाल कुनै गतिविधि नहुँदा सुनसान रहेको नेपालगञ्ज–१४ का पूर्ववडाध्यक्ष ओमकार मिश्राले बताए ।


    उनले सञ्चालनको जिम्मा लिएको नेपालगन्ज उपमहानगरपालिकाले नगर सभाहल सञ्चालनका लागि विशेष चासोका साथ सहुलियत दर कायम गर्नुपर्नेमा जोड दिए । कुल ७९५ जना अट्ने क्षमताको हल सञ्चालनमा नआउँदा आफूहरु निराश भएको मिश्राको भनाइ छ ।

    नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राज्यको ठूलो रकम खर्च भएर बनेको सिटी हललाई दीर्घकालीन रुपमा सञ्चालन गर्न स्थानीय सरकारले चासो दिनुपर्ने बताए । “ठूलाठूला सरकारी कार्यक्रम होटलमा हुने गरेका छन्, उता सरकारी नगर सभाहल बन्द अवस्थामा छ”, उनले भने, “नगर सभाहल सञ्चालनका लागि उपमहानगरपालिका नेतृत्वले विशेष चासो दिन जरुरी छ ।”

    नेपालगन्ज सिटी हलमा ठुलो हलसहित अन्य चार वटा साना हल, प्रशासनिक कक्ष, पार्किङलगायत पूर्वाधार निर्माण गरिएको छ । सभाहल निर्माण सम्पन्न भएपछि नेपालगन्जमा ठूलो क्षमताका कार्यक्रम गर्न सहज हुने विश्वास गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सहरभन्दा टाढा भएकाले सिटी हलमा कुनै गतिविधि सञ्चालन हुन नसकेको बताए । सिटी हल निर्माण भएपछि दुईपटक नगरसभा र दुईपटक राजनीतिक दलका कार्यक्रमबाहेक अरू गतिविधि हुन नसकेको उनले जानकारी दिए ।


    “सिटी हल सञ्चालनको जिम्मा दिन बोलपत्र खोल्यौँ, तर ठाउँका कारणले होला कुनै प्रस्ताव नपरेपछि अहिले नगरपालिकाले नै मान्छे राखेर रेखदेख गर्दै आएको छ”, प्रवक्ता रिजालले भने, “नगरको केन्द्रबाट टाढा भएकाले पनि कार्यक्रम हुन सकेनन् । अहिले कर्मचारीले भवन कुर्ने काम भएको छ ।”

  • ‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

    ‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

    पाँचथर, १३ असोजः यहाँको सुदूर उत्तरी याङवरक गाउँपालिका वडा नं १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्‍यानसम्म अलैँची लगाएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छाडे । सुकबहादुरका छिमेकी धनमाया बेघाको पनि करेसाबारीमा अलैँचीखेती छ । सबै ठाउँमा अलैँची नै लगाएको धनमाया बताउँछिन् । सोही वडाको बिरुवाका बालनन्द बेघाको पनि आँगनसम्मै अलैँचीखेती छ । बजारमा राम्रो मूल्य पाउँदा दुर्गम ग्रामीण भेगका किसानले मुख्य बालीका रुपमा अलैँचीलाई विस्तार गरिरहेका छन् ।

    धान, मकै र कोदो फल्ने खेतबारी मासेर अलैँचीको खेती विस्तार गरेका सुकबहादुर बेघा अलैँचीलाई घर परिवारलाई बढी माया गर्ने गरेको बताउँछन् । “हामीलाई पाल्ने र बचाउने नै यही हो । हामीले नगद पाउने बाटो अलैँची मात्रै हो”, बेघाले भने, “अलैँची फलाए मात्रै साहुले पनि पत्याउँछन् । यो खेती गर्नेले जे मागे पनि दिन्छन् ।” अलैँची फलाउने कृषकले स्थानीय ग्रामीण बजारबाट वर्षैभरि सामग्री खरिद गर्दा बाँकी पाउने गरेको बेघाको भनाइ छ ।

    अलैँचीबाट जीविकोपार्जन सहज भएपछि कृषकले मुख्य प्राथमिकता दिएका छन् । सुकबहादुर अलैँची नै कृषकको इज्जत भएको बताउँछन् । “हाम्रो इज्जत राख्ने अलैँची भयो”, पूर्णबहादुरले भने, “रच्छ्यान, घु¥यान, धानखेती हुने सबै ठाउँमा अलैँची लगाएका छौँ ।” कृषक अलैँचीखेतीमा आकर्षित हुनुमा अलैँचीको मूल्य राम्रो हुनु पनि मुख्य कारण हो । गत वर्षदेखि अलैँची प्रतिमन (प्रति ४० किलोग्राम) रु ८० हजारभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । “प्रतिमन रु ८० हजारसम्म पाइयो भने त राम्रो हो । त्यसोहुँदा प्रतिकिलो रु दुई हजार बराबर पर्न जान्छ । त्यति रकम कुनै पनि अन्नबालीबाट प्राप्त हुँदैन”, सुकबहादुरले भने, “अलैँचीले राम्रो भाउ पाए हामीलाई फाइदा नै हुन्छ ।”

    धनमाया बेघाले पनि खेतबारी मासेर अलैँची विस्तार गरेकी छिन् । “अलैँचीको भाउ पनि राम्रै छ । हात मुख जोड्ने बाटो नै यही भएको छ”, उनले भनिन् ।
    अविरल वर्षापछि गत जेठ ८ गते पहिरो झरेर धनमायाको खोलाखोल्सीमा रहेको अलैँचीको मुख्य बगान बगाइदियो । अहिलेसम्म यति ठूलो क्षति कहिल्यै भएको थिएन”, धनमायाले भनिन्, “खेतबारी मासेर लगाइएको अलैँची चाहिँ बाकी रह्यो । त्यसैबाट अलिक आम्दानी गर्न सकिएला कि ।”

    बिरुवाकै पूर्णबहादुर बेघा धान, मकै, कोदोखेती गर्दा लागत पनि नउठ्ने भएकाले धेरै किसान अलँैचीतर्फ आकर्षित भएका छन् । सोही वडाको चाम्लिङडाँडाका रामकुमार राईको विसं २०८० असार र गत जेठमा पहिरो झरेर झण्डै ३० मन अलैँची फल्ने बारी बगाएको छ । अलैँची उत्पादन नभएपछि आयस्रोतको अन्य कुनै बाटो बाँकी नरहने राईको भनाइ छ ।

    “यहाँका बासिन्दा अलैँचीकै कारण गाउँमा अडिएका हौँ । अन्यथा खान पनि नपुग्ने भएर सबै हिँडिसकिन्थ्यो होला”, राईले भने, “हाम्रो दैनिक जीवन नै अलैँचीमा आधारित भएको छ । याङवरक–१ मात्रै होइन जिल्लाका ४० बढी वडामा अलैँची उत्पादन हुने गरेको छ ।” पाँचथरमा आर्थिक वर्ष २०८२–८३ मा कुल तीन हजार ३२६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यस्तै, कुल एक हजार ३९६.९२ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरका कृषि प्रसार अधिकृत प्रदीप नेपालीले जानकारी दिए ।

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, १३ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७४ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०० रुपैयाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ६१ पैसा बिक्रीदर ४०८ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६८ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • प्रधान सेनापति ट्रफि शुभारम्भ

    प्रधान सेनापति ट्रफि शुभारम्भ

    काठमाडौँ, १२ असोजः प्रधान सेनापति अशोकराज सिग्देलले आज लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ २०६५ सालदेखि प्रधान सेनापति ट्रफिको सुरुआत भएको हो । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ वटा विधा समावेश गरी सञ्चालन भएको उक्त प्रतियोगितामा पृतना तथा बाहिनीका १४ वटा टोली सहभागी छन् ।

    प्रतियोगिताअन्तर्गत आज सम्पन्न पाँच किलोमिटर दौडमा महिलातर्फ मध्य पूर्वी पृतनाका प्यूठ निर्मला केसी र पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा पहिलो भए । उनीहरुलाई प्रधान सेनापति सिग्देलले पुरस्कार वितरण गरे । समारोहमा रथीबृन्द, अधिकृत, निर्णायक मण्डल तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।

  • नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै

    नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै

    नेपालगञ्ज (बाँके), १२ असोज । नेपालगञ्ज रङ्गशालामा उच्च क्षमताको प्रकाश प्रणाली (फ्लडलाइट) जडान गरिँदैछ । सरकारले मुख्य सहरमा व्यावसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजनाअन्तर्गत यहाँको रङ्गशालालाई फ्लडलाइट जडानसहित स्तरोन्नति गर्न लागेको हो ।

    फ्लडलाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भइ खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम ओलीले फ्लडलाइट जडानले यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताए । “यहाँ गर्मीका कारण दिउँसो खेलकुद गतिविधि सञ्चालन गर्न कठिन छ । फ्लडलाइट जडान भएपछि राति पनि नियमित खेल, अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सकिनेछ ।” उनले भने, “यसले खेलकुदको दायरा विस्तारका साथै नेपालगञ्जलाई खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्न समेत सहयोग पुर्याउनेछ ।”

    यस्ता कार्यक्रम आधुनिक पूर्वाधार विस्तारसँगै खेलाडी, दर्शक तथा आयोजकलाई समेत सहज वातावरण निर्माण हुनेछ । उक्त प्रविधिको जडानसँगै फुटबल मैदानको आधारभूत पूर्वाधार सुधारमा ध्यान दिइनुपर्ने आवश्यकता औँल्याइएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्वअध्यक्ष मोहित शाहले मैदानको सतह, पानी निकासलगायतका पक्षमा सुधारको खाँचो औँल्याए । त्यस रङ्गशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आम्दानीका स्रोत बढ्न गई मर्मत सम्भारलाई निरन्तरता दिन सकिने सरोकारवालाको भनाइ छ ।

    नेपाल सरकारको खेलकुद पूर्वाधार विकास योजनाअन्तर्गत पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच यसै साता खेलकुद संरचनाको निर्माण तथा स्तरोन्नतिका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी तीन वर्षभित्र रङ्गशालालगायत निश्चित खेलकुद पूर्वाधारमा रु २५ करोडसम्म लगानी गरी आधुनिक फ्लडलाइट जडान तथा मर्मत सम्भारका काम गर्ने लक्ष्य राखिएको छ । लामो समयदेखि रङ्गशालालाई आधुनिक र सुविधा सम्पन्न बनाउन पर्ने माग हुँदै आएको थियो ।

  • अविरल वर्षाले विद्युत् संरचनामा ठूलो क्षति

    अविरल वर्षाले विद्युत् संरचनामा ठूलो क्षति

    काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण विभिन्न विद्युत् संरचनामा क्षति पुग्दा केही विद्युत् उत्पादन केन्द्र आकस्मिक रूपमा बन्द भएका छन् ।
    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले अवरुद्ध भएका उत्पादन केन्द्रमध्ये केही सञ्चालनमा आउन समय लाग्ने भए पनि वितरण केन्द्र तथा ग्रिड सञ्चालन महाशाखाको सक्रियतामा अधिकांश स्थानमा विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार बाँकी क्षेत्रमा समेत विद्युत् लाइन सुचारु गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।

    प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सहायक कम्पनीमार्फत प्रवद्र्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ । टर्बाइन फ्लोरमा पानी पसेकाले सरसफाइपछि आयोजना सञ्चालनमा आउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । आयोजनाको स्विचयार्डको अवस्था भने सामान्य रहेकाले चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ ।

    दाना–कुस्मा प्रसारण लाइनमा क्षति पुगेका कारण सातवटा जलविद्युत् आयोजना गरी कुल १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन । राहुघाट सबस्टेसनसँग जोडिएका आयोजनामध्ये ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना बाहेक १२७ मेगावाट उत्पादन सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।

    प्रणालीबाट बाहिर रहेका आठवटा विद्युत् आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको छ । यसैगरी, बाढीका कारण सेती–मादी करिडोरमा अवरुद्ध २६२ मेगावाट तथा मस्र्याङ्दी करिडोरमा अवरुद्ध १९० मेगावाट क्षमताका जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । बाढीका कारण अवरुद्ध १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना पनि आज साँझसम्म सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।

    कालीगण्डकी करिडोरको प्रसारण लाइनमा क्षति

    प्राधिकरणका अनुसार कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–कुस्मा प्रसारण लाइनको म्याग्दीस्थित टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । क्षतिग्रस्त स्थानलगायत अन्य क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने बाटो अवरुद्ध रहेकाले प्रसारण लाइनमा पुगेको क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

    केही क्षेत्रमा विद्युत् आपूर्ति अझै अवरुद्ध

    वर्षाका कारण मनाङ, बागलुङ, मुस्ताङ, तनहुँको झापुटार सबस्टेसन क्षेत्र तथा प्युठानलगायतका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ । म्याग्दी, तनहुँको कुटार सबस्टेसन क्षेत्र, बागलुङ र पूर्वी रुकुमलगायतका क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन भइसकेको छ । बाँकी प्रभावित क्षेत्रमा मङ्गलबारसम्म विद्युत् आपूर्ति सुचारु गर्ने गरी प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

    सुख्खायाममा २३७२ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान
    प्राधिकरणले आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब एक हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरेको छ । माग र आपूर्तिबीच सन्तुलन कायम गर्न भारतबाट विभिन्न माध्यममार्फत थप एक हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।

    ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट तथा आरटिसीमार्फत १५० मेगावाट विद्युत् आयात गर्ने योजना छ । यसअनुसार सुख्खायाममा कुल दुई हजार ३७२ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ । गत वर्ष सुख्खायाममा नेपालको उच्चतम राष्ट्रिय विद्युत् माग दुई हजार २९२ मेगावाट रहेको थियो ।

    भोटेकोशी–त्रिशूली बाढीबाट ७४ अर्बको प्रारम्भिक क्षति

    यसैबीच, गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘बी’ को २२० केभी हबमा पुगेको क्षति तथा विभिन्न जलविद्युत् आयोजनामा भएको क्षतिका कारण ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ । बाढीबाट नेपाल विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीका विद्युत् उत्पादन, प्रसारण र वितरण संरचनामा करिब रु ७४ अर्ब बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

  • चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

    चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

    काठमाडौँ, १२ असोजः चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ । चाडपर्व नजिकिएसँगै देशभर यात्रुहरूको आवतजावत बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न विशेष अभियान सञ्चालनको तयारी थालिएको हो ।

    उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार चाडपर्वका समयमा अनधिकृत व्यक्तिबाट टिकट बिक्री, तोकिएभन्दा बढी भाडा असुली, सिट क्षमताभन्दा बढी टिकट बिक्री तथा एउटै सिटका लागि धेरै टिकट बिक्रीजस्ता घटना हुन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि अभियान सञ्चालन गरिनेछ ।

    चाडपर्वका बेला तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने र सडकमा सवारीसाधनबीच अस्वस्थ प्रतिस्पर्धाका कारण दुर्घटना हुन सक्ने भएकाले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइने प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी संयुक्त रूपमा विशेष चेकजाँच तथा अनुगमन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रराज सुवेदीका अनुसार बसपार्क, चाबहिल, कोटेश्वर, चापागाउँ, बल्खु, पुल्चोक, नागढुङ्गा, कलङ्की, भीमढुङ्गा, साँखुलगायतका मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि विशेष अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत सवारीसाधनको यान्त्रिक अवस्था र प्रदूषण जाँच गरिनेछ भने लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ ।

    मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न ब्रेथलाइजर मेसिन प्रयोग गरी जाँच तथा अनुगमनलाई तीव्रता दिइने प्रवक्ता सुवेदीले बताए । दिवा तथा रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको थप उपस्थिति गराई नागरिकलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउने गरी अभियान सञ्चालन गरिने छ ।

    चाडपर्वका समयमा मठमन्दिरमा दर्शनार्थीको भीड बढ्ने भएकाले ती स्थानमा पार्किङ व्यवस्थापनका लागि समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ । अभियानलाई प्रभावकारी बनाउन सिभिल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग तथा महानगर प्रहरीबीच समन्वय गरी एकीकृत रूपमा परिचालन गर्ने व्यवस्था मिलाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

  • दुर्गा प्रसाईँ पक्राउ, तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    दुर्गा प्रसाईँ पक्राउ, तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौँ, १२ असोजः साइबर अपराधसम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिए । साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि ब्यूरोको टोलीले आज दिउँसो प्रसाईँलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेका प्रसाईँमाथि साइबर अपराधसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

  • त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

    त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

    काठमाडौँ, १२ असोजः त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब रु १६ करोड ५० लाख असुलउपर गरेको छ । त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट करिब रु १६ करोड ५० लाख असुलउपर भइसकेको छ । त्रिविले अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट रकम असुलउपर गर्ने तथा अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जानासमेत जोडेर रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको जनाएको हो ।

    त्यस्तै, थप अवस्थाहरूको हिसाबकिताब तयार गर्ने तथा अभिलेख खोजी गर्ने काम भइरहेको विश्वविद्यालयले जनाएको छ । उपलब्ध विवरणअनुसार हिसाबकिताब भएका अवस्थामा करिब रु २१ करोड ५० लाख रकम रहेको उल्लेख छ । विश्वविद्यालयका अनुसार सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने काम भइरहेको छ । त्यस्ता व्यक्तिबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुलउपर गर्ने प्रक्रिया पनि जारी रहेको छ ।

    त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । उनीहरुले [email protected] मार्फत पनि सम्पर्क गर्न सक्ने विश्वविद्यालयले जनाएको छ । तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले स्पष्ट पारेको छ ।

  • मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

    मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन


    लमजुङ, १२ असोजः मस्र्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुनः सञ्चालनमा आएका हुन् । बेँसीसहर नगरपालिका-१ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो । नदीमा पानीको सतह र बहाव बढेर जोखिमको अवस्था आएपछि आयोजना आइतबार बिहानदेखि पूर्ण रूपमा बन्द गरिएको थियो ।

    आयोजना प्रमुख तारादत्त भट्टराईका अनुसार उत्पादन बन्द गरेर आयोजनाबाट आएको पानी पूर्ण रूपमा नदीतर्फ निकास गरिएको थियो । नदीको बहाव सामान्य बन्दै गएपछि आज दिउँसोदेखि पुनः विद्युत् उत्पादन सुरु गरिएको उनले बताए । उनका अनुसार अहिले नदीमा तत्काल कुनै जोखिमको अवस्था छैन । प्रमुख भट्टराईले ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजनामा ३५–३५ मेगावाट क्षमताका दुई वटा टर्बाइन रहेका बताए ।


    यसैगरी, मर्स्याङ्दी गाउँपालिका ८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना पनि आज बिहान ११ः५० बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । आयोजनाका इन्जिनियर कर्ण अधिकारीका अनुसार आवश्यक प्राविधिक काम, सरसफाइ तथा अन्य व्यवस्थापन पूरा गरेपछि आज बिहान ११ः५० बजेदेखि विद्युत् उत्पादन पूर्ण रूपमा सुरु गरिएको हो ।

    मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि दुवै आयोजनाले सुरक्षालाई प्राथमिकता दिँदै विद्युत् उत्पादन रोकेका थिए । नदीको बहाव घट्दै गएपछि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम पूरा गरी दुवै आयोजना पुनः सञ्चालनमा ल्याइएको हो ।

  • लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना

    लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना

    घोराही, (दाङ) १२ असोजः लुम्बिनी प्रदेशमा यही असोज ८ देखि ११ गतेसम्म ७८ वटा विपद्का घटना भएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र (पिइओसी)का अनुसार विपद्का घटनामा परी छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । केन्द्रका अनुसार सबैभन्दा बढी पहिरोका ३१ वटा घटना भएका छन् । पहिरोमा परी पाँचको मृत्यु र एक जना घाइते भएका छन् । पहिरोका कारण ४८० जना विस्थापित भएका छन् । यस्तै १० घर पूर्ण र आठ घर आंशिक रूपमा क्षति भएका छन् भने १०० घर जोखिममा रहेका प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन शाखाका अधिकृत विजयसिंह ठकुरीले जानकारी दिए ।

    डुबानका २६ घटनामा ७७८ जना सुरक्षित स्थानमा सारिएका छन् । डुबानका कारण नौ घर पूर्ण र १३ घर आंशिक रूपमा क्षति भएका छन् भने १६ घर डुबानमा परेका छन् । त्यस्तै, ७० घर जोखिममा रहेका विवरणमा उल्लेख छ । हावाहुरीका १३ र बाढीका आठ वटा घटना भएका अधिकृत ठकुरीले जानकारी दिए । उनका अनुसार हुरीबतासका कारण एक जनाको मृत्यु भएको छ भने एउटा घर पूर्ण र ३५ वटा घरमा आंशिक क्षति पुगेको छ । बाढीका कारण २२ जना विस्थापित भएका छन् भने सात वटा घर पूर्ण रूपमा क्षति भएका छन् ।

    विपद्का कारण प्रदेशभर एक हजार २८० जनालाई सुरक्षित स्थानमा सारिएको छ । यस अवधिमा २७ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको छ । सोह्र वटा घर डुबानमा परेका छन् भने १७० घर जोखिममा रहेका छन् । जिल्लागत रूपमा अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपद्का घटना दर्ता भएका केन्द्रका अधिकृत ठकुरीले जानकारी दिए । त्यसपछि बाँकेमा १३ र गुल्मीमा १० वटा घटना भएका छन् । मानवीय क्षतिको हिसाबले पाल्पा सबैभन्दा प्रभावित देखिएको छ । पाल्पामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रोल्पामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।

    विस्थापनतर्फ नवलपरासीमा सबैभन्दा बढी ७०० जना प्रभावित भएका ठकुरीले उल्लेख गरे । गुल्मीमा २९८ र अर्घाखाँचीमा १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । विपद्का कारण प्रदेशभर अनुमानित रु ४० लाख १७ हजारबराबरको आर्थिक क्षति भएको छ । आर्थिक क्षतिमा दाङ सबैभन्दा अगाडि छ । दाङमा रु २२ लाख १० हजारबराबरको क्षति भएको विवरणमा उल्लेख छ । नवलपरासीमा रु पाँच लाख ६० हजार, बर्दियामा रु पाँच लाख ५७ हजार क्षति भएको छ ।

    त्यस्तै दाङ, रुकुमपूर्व र रूपन्देहीमा एक(एक वटा विद्यालय क्षतिग्रस्त भएका छन् । बाँकेमा दुई तथा नवलपरासी, अर्घाखाँची, रुकुमपूर्व र रूपन्देहीमा एक(एक वटा उद्योगमा क्षति पुगेको छ । अर्घाखाँची, नवलपरासी, दाङ र पाल्पाका सरकारी कार्यालयमा पनि क्षति पुगेको पिइओसीले जनाएको छ । पाल्पामा दुई वटा सवारीसाधनमा क्षति भएको छ । विपद्का घटनामा घरबाहेक अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । छ वटा गोठ पूर्ण र चारवटा आंशिक रूपमा क्षति भएका छन् । ७५ वटा पशुचौपाया क्षति भएका छन् । बाढीका कारण दाङ, गुल्मी र रुकुमपूर्वमा एक(एक वटा पुलमा क्षति पुगेको छ ।

  • कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझोखेतमा फुल्यो सपना

    कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझोखेतमा फुल्यो सपना

    लमजुङ, १२ असोजः बेँसीसहर नगरपालिका–१० बाँझाखेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ । केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इन्द्र घले, योगबहादुर घले र रामबहादुर गुरुङ ड्रागन फ्रुटखेतीतर्फ लागेका छन् ।
    तीन जनाले जनही रु तीन लाख लगानी गर्ने सहमति गरी ४० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिए ।

    उत्पादन सुरु भएपछि प्रतिरोपनी वार्षिक रु चार हजार भाडा तिर्ने सहमति भएको इन्द्र घलेले बताए । सुरुमा करिब एक रोपनीमा ६०० कागतीका बिरुवा लगाइएको थियो । बलौटे माटोका कारण कागतीबाट अपेक्षित आम्दानी हुन सकेन । विसं २०७५–७६ तिर सामाजिक सञ्जालमार्फत ड्रागन फ्रुटखेतीबारे जानकारी पाएपछि त्यसतर्फ आकर्षित भएको उनले बताए ।

    विसं २०७७ चैतमा दमौलीबाट बिरुवा ल्याएर ५० वटा पिलरबाट ड्रागन फ्रुटखेती सुरु गरियो । सुरुमा १५–१६ जना मिलेर खेती गर्ने योजना बनाइएको थियो । तर व्यवस्थापन तथा निर्णय प्रक्रियामा कठिनाइ हुने देखिएपछि अन्ततः तीन जनाले खेतीलाई निरन्तरता दिएका छन् । ड्रागन फ्रुटसँगै उनीहरुले खुर्सानी र तरबुजाखेती गरेका छन् ।

    करिब दुई रोपनीमा लगाइएको खुर्सानी पहिलो वर्ष १० क्विन्टल र दोस्रो वर्ष ४० क्विन्टल उत्पादन भएको थियो । मृगले बालीमा क्षति पुर्याउन थालेपछि खुर्सानीखेती बन्द गरिएको इन्द्रले बताए । पहिलो वर्ष करिब ४० क्विन्टल तरबुजा उत्पादन हुँदा रु दुई लाख ५० हजार आम्दानी भएको थियो । सुरुमा आठ रोपनीमा लगाइएको तरबुजा अहिले पाँच रोपनीमा सीमित गरिएको छ ।

    ड्रागन फ्रुटको उत्पादन भने हरेक वर्ष बढ्दै गएको छ । विसं २०८० मा करिब एक क्विन्टल, २०८१ मा दुई क्विन्टल र २०८२ मा पाँच क्विन्टल उत्पादन भएको थियो । यस वर्ष बिरुवा परिपक्व हुँदै गएकाले करिब १५ क्विन्टल उत्पादन हुने अपेक्षा गरिएको इन्द्रले बताए । उनका अनुसार हालसम्म करिब १२ लाख आम्दानी भएको छ । प्रतिकिलोग्राम रु ४५० का दरले ड्रागन फ्रुट बिक्री भइरहेको छ । कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलका अनुसार जिल्लामा करिब १० हेक्टरमा ड्रागन फ्रुटखेती भएको अनुमान छ ।

    आधिकारिक तथ्याङ्क प्राप्त नभए पनि ड्रागन फ्रुटको व्यावसायिक उत्पादन र विस्तारका लागि थप अध्ययन आवश्यक रहेको उनले बताए । उनका अनुसार पानी नजम्ने बलौटे माटोमा ड्रागन फ्रुटखेती राम्रो हुनसक्छ । घरआँगन, टारी तथा प्रयोगविहीन जग्गामा समेत खेती गर्न सकिने भएकाले यसको सम्भावना रहेको उनले बताए । खेतीमा मल व्यवस्थापन भने चुनौतीका रूपमा रहेको इन्द्रले बताए । आफ्नै पशुपालनबाट पर्याप्त मल नपुग्ने भएकाले बेँसीसहर र चनौटदेखि ल्याउनुपर्ने बाध्यता छ ।

    सुरुमा बाटोमा हिँड्ने तथा घुम्न आउने ग्राहकले खरिद गर्ने गरेकामा अहिले ग्राहक आफैँ बारीमा पुगेर ड्रागन फ्रुट किन्न थालेका छन् । उत्पादन बढेपछि लमजुङबाहिरका बजारमा समेत बिक्री गर्ने योजना रहेको उनले बताए । हालसम्म उक्त खेतीका लागि रु ३० लाख लगानी भइसकेको छ । पिलर, बिरुवा, सिँचाइ, मल तथा बारी व्यवस्थापनमा लगानी बढ्दै गए पनि कृषि कर्जा सहज रूपमा उपलब्ध नहुँदा थप विस्तारमा समस्या भएको उनले बताए । हाल करिब ५०० पिलरमा ड्रागन फ्रुटखेती गरिएको छ ।

    आगामी दिनमा पिलरको सङ्ख्या एक हजार पुर्याउने र गुणस्तरीय उत्पादन गर्दै जिल्लाबाहिरका बजारमा पुर्याउने लक्ष्य रहेको इन्द्रले बताए । कागतीबाट सुरु भएको यात्रा ड्रागन फ्रुटसम्म आइपुग्दा बाँझाखेतमा तीन युवाले खेतीमा नयाँ प्रयोगमात्र गरेका छैनन्, सम्भावना खोज्दै कृषि व्यवसायमा लाग्ने युवाका लागि नयाँ बाटोसमेत देखाएका छन् ।

  • ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ

    ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ

    काठमाडौँ, १२ असोजः होटल तथा रेष्टुरेन्टको डिजिटल रुपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको छ । होटल व्यवसायी महासङ्घ नेपालले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको हो । एक वर्षसम्म सञ्चालन हुने अभियानमार्फत सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्तासँग जोड्ने लक्ष्य राखिएको महासङ्घका अध्यक्ष टिआर भण्डारीले जानकारी दिए ।


    अभियानअन्तर्गत गुगल बिजनेस प्रोफाइल, गुगल नक्सा, अनलाइन बुकिङ, होटल व्यवस्थापन प्रणाली, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल, ग्राहक समीक्षा व्यवस्थापन तथा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिने उनले बताए । कार्यक्रममा बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोग आवश्यक रहेको बताउँदै अभियानमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठले अभियानलाई देशव्यापी बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । अभियानले विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यका होटल तथा रेस्टुरेन्टलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको छ ।

  • कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

    कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

    वालिङ (स्याङ्जा), १२ असोजः कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ । चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो । विद्युत् उत्पादन सुरु गर्न लागिएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए ।


    “कालीगण्डकी नदीमा पानीको उच्च बहाव भएकाले जोखिम हुन नदिनका लागि उत्पादन नै बन्द गरेका हौँ,” उनले भने, “अहिले नदीमा पानीको सतह घट्दै गएकाले अब सुरुङभित्र रहेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर सुचारु गर्ने तयारी गरेका छौँ ।” प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरेकाले आज बिहान १०ः०० बजेदेखि उत्पादन सुरु गर्न सकिने भएको उहाँले बताउनुभयो । कालीगण्डकी नदीमा बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो । आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

    चार दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजार डुबानमा परेको छ । सेतीवेणी बजारका २६ घरका मानिसलाई नजिकैको विद्यालयमा राखिएको छ । यसैगरी, आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएर लगेको थियो ।

  • अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेट, पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

    अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेट, पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

    १२ असोज, काठमाडौँ। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायी बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा. वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जोउ जियायीलाई आग्रह गरे ।


    भेटका क्रममा एआईआईबीकी अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गरिन् । उनले विपदपछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

    अध्यक्ष जोउले बैंकले प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्ड मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउनेछ। साथै, स्पेसलाइस्ड फण्ड विन्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उनले व्यक्त गरिन् । एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले दोहोर्‍याइन् ।

    सो अवसरमा अर्थमन्त्रीले नयाँ अध्यक्ष जोउलाई बधाई दिँदै बैंकले संस्थापक सदस्यका रूपमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । उनले एआईआईबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे । बैंकको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्‍याएको क्षतिप्रति उनले दुःख व्यक्त गरे ।

    अर्थमन्त्री वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाईन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गरे । छलफलकै क्रममा अर्थमन्त्री डा.वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिए ।

  • आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    काठमाडौँ, १२ असोजः राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढाएको छ ।
    गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले प्रविष्टि गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिए ।


    लगत प्रशोधन प्रक्रियालाई अत्यन्त महत्त्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ । सङ्कलन गरिएको तथ्याङ्कलाई सही, परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ । आर्थिक गणनामा १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान सहभागी भएका थिए । गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना भएको थियो ।

    प्रतिष्ठानलाई तिनीहरूको प्रकृतिका आधारमा औद्योगिक, व्यापारिक, सेवामूलक अन्तरराष्ट्रिय वा राष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने छ । यस्तै, कागजी वा डिजिटल फारमलाई केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्टि गर्ने काम भइरहेको निर्देशक डा ढकालले उल्लेख गरे । करिब दुई लाख व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रविष्ट गरिएको छ भने करिब छ लाख प्रतिष्ठानको कोडिङ सम्पन्न गरिसकिएको छ ।

    व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानको सङ्ख्या अलगअलग गणना गरी समावेश गरिनेछ । तथ्याङ्क प्रविष्टलगायत कार्यका लागि २०० जनशक्ति व्यवस्थापन गरिएको छ । सो प्रतिवेदन तयार भएपछि देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको छ ।

  • प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश

    प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश

    कास्की, १२ असोजः भोटेकोशी बाढी, लगातारको वर्षा र सडक अवरोधका कारण पोखरामा पर्यटक आगमन अहिले ठप्पप्रायः छ । मुलुकको पर्यटकीय राजधानीमा स्वदेशी तथा विदेशी पर्यटक नहुँदा सुनसान बनेको पोखराले विश्व पर्यटन दिवसका अवसरमा भने ‘नेपाल खुला छ, पोखरा पर्यटकको स्वागतका लागि तयार छ’ भन्ने सन्देश दिएको छ । प्राकृतिक विपत्तिले पर्यटन क्षेत्र प्रभावित भइरहेका बेला पोखराको लेकसाइडमा आइतबार साँझ आयोजित मिनी सडक महोत्सवमार्फत पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिकाबीच यहाँका पर्यटकीय गतिविधि सञ्चालनमा रहेको र पर्यटकको स्वागतका लागि व्यवसायीसमेत तयार रहेको सन्देश प्रवाह गरेका हुन् ।

    रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गरेको महोत्सवमा पर्यटन क्षेत्र खुला रहेको सन्देश प्रवाह गराइएको थियो । भोटेकोशी बाढी तथा देशका विभिन्न स्थानका विपत्तिसँगै पोखरा जोड्ने मुख्य सडकमार्ग पृथ्वी राजमार्ग प्रभावित हुँदा पर्यटक आगमन उल्लेख्य रूपमा घटेको छ । सामान्य अवस्थामा स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइडमा अहिले पर्यटकको उपस्थिति न्यून छ । यस्तो अवस्थामा पर्यटन दिवसको अवसर पारेर आयोजना गरिएको महोत्सवले लेकसाइडमा केही चहलपहल बढाउनुका साथै पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउने प्रयास गरेको छ ।

    महोत्सवमा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिकार तथा आतिथ्यलाई महोत्सवमा प्राथमिकता दिइएको थियो । रेवान पोखराका अध्यक्ष वसन्त गौतमले पर्यटन क्षेत्रले विषम परिस्थितिको सामना गरिरहेका बेला पोखरा सुरक्षित रहेको र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिन महोत्सव आयोजना गरिएको बताए ।

    “भोटेकोशी बाढी र लामो समय मुख्य राजमार्ग अवरुद्ध हुँदा पोखराको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । बुकिङ रद्द भएका छन् । यस्तो अवस्थामा महोत्सवमार्फत स्थानीय कला, संस्कृति, खानाका परिकार तथा आतिथ्यलाई पर्यटकसमक्ष प्रस्तुत गरेर यहाँका पर्यटकीय गन्तव्य खुला तथा सुरक्षित रहेको सन्देश दिन महोत्सव सफल भएको छ”, अध्यक्ष गौतमले भने ।


    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटनलाई लेकसाइडमा मात्र सीमित राख्न नहुने बताए । पोखरा आउने पर्यटकको आवश्यकता र रुचिअनुसार सेवा तथा पर्यटकिय क्षेत्रको विस्तार गर्नुपर्नेमा उनले जोड दिए । “पोखरामा आउने पर्यटकको आवश्यकता र रुचिअनुसार सेवा तथा पर्यटन उत्पादन विकास गर्नुपर्छ । यहाँको पर्यटकीय गतिविधिलाई विस्तार गर्दै नयाँ गन्तव्य र अनुभवसँग जोड्नुपर्ने आवश्यकता छ”, प्रमुख आचार्यले भने । उनले पर्यटकलाई व्यवसायीले आफूले दिन चाहेको सेवामात्र नभई उनीहरूको इच्छा र आवश्यकताअनुसार सेवा उपलब्ध गराउनुपर्ने बताए ।


    पर्यटकिय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्ग दुई साताभन्दा बढी समय प्रभावित बनेको तथा अन्य सडक मार्गमा समेत अवरोध र जोखिम बढेपछि पर्यटक आगमन प्रभावित भएको पर्यटन व्यवसायीले बताएका छन् ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले सुस्ताएको पोखराको पर्यटन गतिविधिलाई चलायमान बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । पोखराबाट हालै फ्लाइ दुबईले पोखरा–दुबई रुटमा उडान सुरु गरेपछि पोखराको पर्यटन गतिविधिमा सकारात्मक प्रभाव पर्ने उहाँले विश्वास व्यक्त गरे । फ्लाइ दुबइको उडानसँगै पोखरा तथा गण्डकी प्रदेशको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन तथा यात्रु आवागमनमा थप सहजीकरण भएको छ । यो उडानलाई दिगो र दीर्घकालीन बनाउन सकेको खण्डमा पोखराको पर्यटनले मात्र होइन सबै क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ”, अध्यक्ष भुजेलले भने ।


    लगातारको वर्षाका कारण प्रभावित पोखराको मौसम आइतबार बिहानदेखि सुधार हुँदै गएपछि महोत्सवका क्रममा लेकसाइडमा चहलपहलसमेत बढेको थियो । महोत्सवमा सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम तथा स्थानीय परिकार प्रस्तुत गरिएको थियो ।

    भोटेकोशी बाढी र मनसुनको प्रभाव कम हुँदै गएकाले पर्यटक आगमन बढ्ने विश्वास यहाँका व्यवसायीको छ । विश्व पर्यटन दिवसका अवसरमा यहाँका पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले स्थल तथा हवाईमार्गबाट पोखरा आउने विदेशी पर्यटकलाई स्वागत गरेका थिए ।

  • सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    रूपन्देही, १२ असोजः लगातारको वर्षासँगै विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएपछि भैरहवाबाट सञ्चालन हुने लामो दूरीका यातायात सेवा प्रभावित भएका छन् । काठमाडौँ, पोखरा, बागलुङ, बेनी, जनकपुरलगायतका गन्तव्यमा जाने दर्जनौँ बस सञ्चालन हुन नसकेपछि सिद्धार्थ बसपार्कमा रोकिएका छन् । सामान्य अवस्थामा काठमाडौँ र पोखरातर्फ नियमित रूपमा बस छुट्ने गरे पनि पछिल्ला दिनमा सडक अवरुद्ध भएपछि सेवा प्रभावित भएको हो ।

    सिद्धार्थ सार्वजनिक यातायात प्रालिका अध्यक्ष सञ्जीव रोक्काले वर्षाका कारण सडक अवरुद्ध हुँदा यातायात व्यवसायीको आम्दानी ठप्प भएको बताए । “सवारीसाधन सञ्चालन गर्न नसक्दा आम्दानी शून्य भएको छ । कर्मचारीको तलब, बैंकको किस्ता र अन्य खर्च नियमित रूपमा व्यहोर्नुपर्छ”, उनले भने । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले वर्षाका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जानकारी दिए । उनका अनुसार प्रहरीले सडकको अवस्था तथा यातायात सञ्चालनबारे नियमित रूपमा निगरानी गरिरहेको छ ।

    पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा बिपी राजमार्गलगायतका सडकखण्डमा पहिरो तथा बाढीका कारण आवागमन प्रभावित भएपछि भैरहवाबाट बाहिरिने लामो दूरीका सवारीसाधन रोकिएका हुन् । चाडपर्व नजिकिँदै गर्दा सडक अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी दुवै प्रभावित भएका छन् । सुनौलीनाका हुँदै नेपाल प्रवेश गरेका भारतीय मालवाहक सवारीसाधनसमेत सडक अवरोधका कारण विभिन्न स्थानमा रोकिएका छन् ।

  • फाइबर चुुडिएपछि तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद

    फाइबर चुुडिएपछि तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद


    म्याग्दी, १२ असोज । फाइबर चुुडिएपछि धवलागिरिका तीन जिल्लामा आइतबार बिहानदेखि सञ्चार सम्पर्क विच्छेद भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा कालीगण्डकीले कटान गरेर विद्युत्, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर जडित पोल बगाएपछि सञ्चार सेवा प्रभावित भएको हो । म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट तथा निजी कम्पनीहरूको इन्टरनेट सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।

    नेपाल टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलले बाढीले पाँच सय मिटर फाइवर जोडेको चारवटा पोल बगाउँदा सञ्चार सेवा प्रभावित भएको बताए । “टेलिकमले तानेको फाइवरमा अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले पनि भाडामा लिएका हुुन्छन्”, उनले भने, “वैकल्पिक व्यवस्था गरेर अस्थायी रूपमा मोबाइल सेवा सञ्चालन गरे पनि इन्टरनेट सञ्चालनका लागि पोल गाड्ने र तार तान्ने अवस्था नभएकाले आइतबार दिनभर प्रयास गरे पनि सफल हुन सकेन ।”

    कालीगण्डकी नदीले मालढुुङ्गामा मोटरेबल पुलको पहुँचमार्ग बगाएकाले प्राविधिक टोली सहश्रधारा पुगेर फाइवर तान्न र मर्मत गर्न नसकेको उनले बताए । विपद्को समयमा सञ्चार सेवा अवरुद्ध हुँदा सूचना आदानप्रदान, उद्धार, राहतको काममा समस्या भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले सञ्चार सेवा अवरुद्ध हुँदा सर्वसाधारण, प्रशासनिक, सुरक्षा निकाय र जनप्रतिनिधिदेखि सञ्चारकर्मीलाई सूचना सम्प्रेषण गर्न समस्या भएको बताए ।

  • पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र

    पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र

    काठमाडौँ, १२ असोज । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ । ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाएको छ ।

    प्रवक्ता सुवेदीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिरमा खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ । चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले सो सडकखण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले जानकारी दिए ।


    “कृष्णभिरको पहिरो हटाई एकतर्फी सञ्चालन गर्न सकिने भए पनि चालिसे र बाङ्गेमोडलगायतका स्थानमा अझै पहिरो हटाउने काम बाँकी भएको सो मार्ग हुँदै सवारी सञ्चालनमा केही कठिनाइ छ”, प्रवक्ता सुवेदीले भने । पहिरो हटाउने क्रममा थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा थप समस्या हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

    यसैगरी, वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    कान्तिलोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा समेत पहिरो खसेकाले हटाउने काम भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार वर्षाकै कारण बिपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको हो ।

    बाढी र पहिरोका कारण सडकका विभिन्न स्थानमा आवागमन अवरुद्ध भएपछि यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था बुझेरमात्र यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । वर्षा भइरहेका बेला पहाडी सडकमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । उता काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडकखण्डमा साना सवारीसाधन तथा टाटा सुमोलगायतका गाडी सञ्चालनमा छन् । ठूला सवारीसाधनलाई भने त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।


    ट्राफिक प्रहरीका अनुसार दक्षिणकाली–सिस्नेरी सडकखण्ड तथा त्रिभुवन राजपथमा सवारीसाधनलाई निश्चित समयतालिका बनाएर आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सडकको अवस्था, सवारीको चाप र मौसमलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा उपत्यका प्रवेश गर्ने प्रमुख सडकमार्गमा यातायात प्रभावित भएपछि यात्रु भने समस्यामा परेका छन् ।

    विशेषगरी पृथ्वीराजमार्ग र बिपी राजमार्गमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन् । प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म चालक तथा यात्रुलाई धैर्य गर्न, जबर्जस्ती अवरुद्ध सडक पार गर्ने प्रयास नगर्न र ट्राफिक प्रहरी तथा सम्बन्धित निकायले दिएको सूचनाअनुसार यात्रा गर्न आग्रह गरेको छ ।