Category: फिचर

  • अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध

    अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध

    हुम्ला, १५ असोजः हालै अविरल वर्षापछि बाढी, पहिरो र ढुङ्गा खस्दा मुख्य तथा ग्रामीण सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडक, कर्णाली करिडोर तथा जिल्लाका सातवटै गाउँपालिकाका ग्रामीण सडकमा क्षति पुगेपछि जिल्लाको सडक सञ्जाल प्रभावित भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार वर्षापछि सडकका विभिन्न स्थानमा पहिरोले ढुङ्गा खसेर सडक अवरुद्ध भएको तथा बाढीले कल्भर्टलगायत संरचना बगाएको छ । सदरमुकाममा विद्युत् अवरोध भएकाले क्षतिको पूर्ण विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उनले बताए ।


    कर्णाली करिडोरअन्तर्गत हुम्लाको कवाडीदेखि हिल्सासम्मका विभिन्न स्थानमा पहिरो खसेको र कतिपय ठाउँमा ठूला ढुङ्गा खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए । पहिरो र ढुङ्गा पन्छाएर कवाडी–गिउसी सडकखण्ड सञ्चालनमा ल्याइएको तथा निरन्तर काम भए माथिल्लो खण्ड पनि बुधबारसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए ।


    वर्षाले जिल्लाका सातवटै गाउँपालिकाका वडा केन्द्र तथा गाउँबस्ती जोड्ने ग्रामीण सडकमा क्षति पुगेको छ । ताँजाकोट गाउँपालिकाको केन्द्र जाने सडकका विभिन्न स्थानमा क्षति पुगेको छ भने अदानचुली गाउँपालिका केन्द्रदेखि वडा नं ५ र ६ जाने सडक अवरुद्ध हुँदा विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको वडा नं ५ का वडा सदस्य सिंह बोहोराले बताए ।


    प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार ग्रामीण सडकमा ७० भन्दाबढी स्थानमा पहिरो खसेको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन सबै गाउँपालिकासँग समन्वय भइरहेको उनले बताए । अवरुद्ध सडक खुलाउन आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा कमान्ड पोस्टको बैठक नियमित रूपमा बसेर सम्बन्धित निकायसँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले बताए ।


    सडक अवरुद्ध भएपछि असोज १० गतेका लागि तय गरिएको नेपाली कांग्रेसको प्रदेश अधिवेशन तीन दिनपछि असोज १३ गते मात्र सम्पन्न भएको थियो । अधिवेशनमा सहभागी हुन तल्लो क्षेत्रबाट सिमकोट पुगेका प्रतिनिधिलाई सडक अवरोधका कारण दुई दिनसम्म लागेको अदानचुली गाउँपालिका–१ का उब्जन थापाले बताए । उनका अनुसार ठाउँठाउँमा पहिरो र ढुङ्गा खसेपछि सवारीसाधन रोकिँदा कतिपय ठाउँमा पैदल हिँड्नुपरेको थियो ।

    उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित नारा लेक र वडा नं ६ को लिमी जाने न्यालु लेकमा करिब साढे तीन फिट हिउँ जमेकाले ती सडकसमेत बन्द भएका छन् । हिउँ नपन्छाएसम्म सडक सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण मुख्य तथा ग्रामीण सडक एकैपटक अवरुद्ध भएपछि हुम्लामा खाद्यान्न, दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको आवागमन तथा अत्यावश्यक सेवासमेत प्रभावित भएको छ ।

  • बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    म्याग्दी, १५ असोजः पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ । बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो । आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्म सडक मर्मत भइसकेको जानकारी दिए ।


    “कालीगण्डकी नदीको कटान, बाढी र पहिरोले २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको ४६ ठाउँमा क्षति पुगेको छ”, उनले भने, मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्म र जोमसोमदेखि दाना हुँदै नागढुङ्गासम्म मर्मत भई यातायातका साधन सञ्चालन हुन थालेका छन् ।” रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डको सडक मर्मतका लागि स्थानीयस्तरमा उपलब्ध सडक विभाग, जलविद्युत आयोजना र निर्माण व्यवसायीको उपकरण र मजदुर परिचालन गरिएको छ ।

    असोज ११ गते कालीगण्डकी बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मत कार्य पनि आजदेखि सुरु गरिने आयोजना प्रमुख शर्माले बताए । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा रसुवा र तातोपानी नाकाको विकल्पका रुपमा चीनसँगको व्यापारिक नाका कोरलासँगको यातायात सम्पर्क टुटेको छ ।

    कोरला नाकामा सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन् । मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकासँग यातायात सम्पर्कबिच्छेद भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलु बजार पठाउन सकिएको छैन । दसैँका लागि भेडाच्याङ्ग्रा बजारमा बिक्रीका लागि लैजान समस्या भएको छ ।
    पर्यटकीय गतिविधि ठप्प बनेको छ ।

    बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन, जटिल प्रकृतिका बिरामीलाई अस्पताल पुग्न हेलिकप्टरको साहरा लिनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । कटिङ, फिलिङ, डाइभर्सन, नयाँ मार्ग खोल्ने विकल्प अपनाएर सडक खुलाउने प्रयास गरिएको छ । तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा सडक खुलाउन चुनौती देखिएको छ ।

    यसअघि सडक भएको ठाउँमा कालीगण्डकीले कटान गरेर आयोजनाको स्वीचयार्ड नजिकैबाट नदी बगेको छ । सडक खुलाउनका लागि स्वीचयार्डका प्रयोगमा नरहेका वैकल्पिक रुपमा रहेका दुई वटा टावर हटाउनुपर्ने भएको छ । टावर हटाउनका लागि राहुघाटको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावरको सञ्चालक नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । सडक मर्मतका लागि इन्धन आपूर्तिलाई पनि सहज बनाउने प्रयास गरिएको उनले बताए ।

  • पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

    पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो

    बागलुङ, १५ असोजः यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । असोज ११ गते आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।


    पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तमानखोला गाउँपालिकाका बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली र उडिसरा श्रीपालीको मृत्यु भएको छ ।

  • आफ्नो समूहका अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

    आफ्नो समूहका अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल


    काठमाडौँ, १५ असोजः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको वडा अधिवेशनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरुलाई अपिल गरेका छन् । कांग्रेसको देउवा पक्षीय समूहको १५औँ महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन हुँदैछ । पूर्वसभापति देउवाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको देशभरका वडाहरूको अधिवेशन आज हुन लागेकाले त्यसमा सहभागिताका लागि अपिल गरेका हुन् ।


    नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि कांग्रेसले आठ दशकदेखि ठूलो बलिदान र सङ्घर्ष गरेको स्मरण गर्दै पूर्वसभापति देउवाले यसकारण पनि पार्टीको १५औँ महाधिवेशन निकै महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।

    उनले आज जारी गरेको अपिलमा भनेका छन्, “म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा आजदेखि देशभरका छ हजार ७४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।” कांग्रेस संस्थापन पक्षको महाधिवेशन यही असोज १८ देखि सुरु हुँदैछ भने देउवा संस्थापन इतर पक्षको आगामी मङ्सिर २१ देखि हुने मिति घोषणा गरिएको छ ।

  • बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा

    बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा


    काठमाडौँ, १५ असोजः बाढीका कारण खानेपानीको समस्या झेलिरहेका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाद्वारा सञ्चालित ‘रसुवा बाढी प्रतिकार्य कार्यक्रम’अन्तर्गत महेशखोला–भट्टटार–जिन्टेटार डिप बोरिङ खानेपानी मर्मत योजना सम्पन्न भएपछि स्थानीयवासीका घरघरमा पुनःखानेपानी पुगेको हो ।

    खानेपानी योजना मर्मतका लागि नेपाल रेडक्रस सोसाइटीले रू चार लाख ४६ हजार ६८० आर्थिक सहयोग गरेको थियो । उक्त सहयोगबाट आवश्यक मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गरिएको हो । योजनाबाट गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । मर्मत सम्पन्न भएपछि आयोजित कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले खानेपानी योजनाको औपचारिक सुभारम्भ गर्दै बाढीपछि स्वच्छ खानेपानीको अभाव झेलिरहेका नागरिकलाई पुनःसहज रूपमा खानेपानी उपलब्ध गराउन रेडक्रसले गरेको मानवीय कार्यको प्रशंसा गरे ।


    नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति दुर्लभकुमार तामाङले विपद्का समयमा खानेपानीजस्तो आधारभूत आवश्यकता पूरा गर्न योजना पुनःस्थापना गर्नु रेडक्रसको मानवीय सेवाको महत्वपूर्ण हिस्सा भएको बताउ । “विनाशकारी बाढीपछि खानेपानीको हाहाकार खेपिरहेका स्थानीयको जनजीवन पुनःसामान्य हुने विश्वास लिएका छौँ”, जिल्ला कार्यक्रम संयोजक सरोज थापाले भने ।
    विसं २०८३ भदौ १७ गते सम्झौता भई सुरु भएको मर्मत कार्य निर्धारित समयभित्रै सम्पन्न गरिएको हो । योजना पुनः सञ्चालनमा आएसँगै लामो समयदेखि खानेपानीको समस्या झेलिरहेको स्थानीयवासीमा खुसी छाएको छ । बाढीपछिको प्रतिकार्यमा राहत तथा उद्धारसँगै प्रभावित समुदायका आधारभूत आवश्यकता तथा महत्वपूर्ण पूर्वाधारको पुनःस्थापनालाई प्राथमिकता दिँदै आएको रेडक्रसले खानेपानी योजना पुनःसञ्चालनमा ल्याएपछि स्थानीयको दैनिक जनजीवन थप सहज हुने अपेक्षा गरिएको छ ।

    खानेपानीजस्तो आधारभूत सेवाको पुनःस्थापनाले बाढी प्रभावित समुदायलाई तत्काल राहत प्रदान गर्नुका साथै विपद्पछिको पुनःस्थापना र सामान्य जीवनतर्फ फर्किने प्रक्रियामा सहयोग पुगेको रेडक्रसले जनाएको छ ।

    बढी प्रतिकार्य अन्तर्गत विभिन्न मानवीय सहायताका काम निरन्तर जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । रेडक्रसको महामन्त्री ऋषिरमण खनालले भोटेकोशी बाढी गएको सुरुआती दिनदेखि प्रतिकार्य निरन्तर जारी रहेको जानकारी दिए । उनले सुरुआती क्षणमा बाढी प्रभावितको खोज,उद्धारमासहयोगको साथसाथै हाल आवास तथा गैरखाद्य, खाद्य सामग्रीको वितरण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोग, रेडक्रस आपत्कालिन स्वास्थ्य क्लिनिक, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, बहुउद्देश्यीय नगद सहायता\नगद तथा भौचर सहायता लगायतका क्षेत्रमा मानवीय सेहायता निरन्तर जारी रहेको बताए ।


    उनका अनुसार हालसम्म आवास तथा गैरखाद्य सामग्रीको वितरण अन्तर्गत त्रिपाल, म्याट्रेस र कम्बल वितरण जारी छ भने करिव दुई हजार भन्दा बढी प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको छ । गत एकमहिनाका अवधिमा बाढी प्रभावित दुई हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पु¥याएको, १८ पानी ट्याङ्की व्यवस्थापन गरिएको र आवश्यक स्थानहरूमा ट्याङ्करबाट पानी वितरण गरिएको उनले बताए ।


    उनले भने, “विशेषगरी विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने, आवश्यक सामग्रीको समयमै व्यवस्थापन गर्ने तथा प्रभावित समुदायको आवश्यकता र प्राथमिकताअनुसार प्रतिकार्यलाई थप सुदृढ गर्ने विषय नेपाल रेडक्रसको प्राथमिकतामा रहेको छ ।

    साथै, प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि नेपाल सरकारका प्राथमिकतामा रहेका क्षेत्रहरूमा सहयोग पुग्ने गरी आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना छ ।”

  • बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौँ, १४ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रालयको वित्तीय प्रगति अपेक्षाकृत न्यून रहेको भन्दै बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित समीक्षा बैठकमा मन्त्री श्रेष्ठले आर्थिक वर्षको अन्तिम समयमा मात्रै बजेट खर्च गर्ने परम्परागत शैली अन्त्य गरी सुरुदेखि नै योजनाबद्ध रूपमा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए । उनले बजेट कार्यान्वयनका लागि स्पष्ट कार्यतालिका बनाएर अघि बढ्न र निर्धारित समयमै ठेक्का आह्वान तथा सम्झौता गरी आयोजना कार्यान्वयनमा लैजान निर्देशन दिए ।


    “व्यक्तिले होइन, प्रणालीले काम गर्ने वातावरण बनाउनुपर्छ,” मन्त्री श्रेष्ठले भने, “निर्णय गरेर मात्रै पुग्दैन, त्यसको प्रभावकारी कार्यान्वयनमा समेत मन्त्रालय र मातहतका निकायको ध्यान जानुपर्छ ।” उनले आर्थिक अनियमितता गर्नु मात्र अख्तियारको दुरुपयोग नभई आफ्नो जिम्मेवारी र दायित्व समयमा पूरा नगर्नु पनि जवाफदेहिताको विषय भएको बताए । राजनीतिक नेतृत्वसँगै कर्मचारी संयन्त्र पनि जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा उनले बताए ।

    मन्त्री श्रेष्ठले मन्त्रालय, विभाग तथा मातहतका निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै सरकार गठन भएको करिब छ महिनाको अवधिमा भएका कामको समीक्षा गरी आगामी कार्यदिशा र रणनीति तय गर्न निर्देशन दिए । उनले सुशासन तथा शासकीय सुधारलाई प्रभावकारी बनाउन आवश्यक ठाउँमा दण्ड र जरिवानाको व्यवस्था गर्नुपर्ने बताए । पछिल्लो एक महिना सरकार विपत्तिसँग जुध्न केन्द्रित हुनुपरेको उल्लेख गर्दै अब जनअपेक्षाअनुसार सिर्जनात्मक र नवीन कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।


    “विकासले गति लिन खोज्दा नियतिले फेरि हामीलाई पुरानै ठाउँमा फर्काउन खोजेको अवस्था छ,” उनले भने, “अब भएका क्षतिको पुनःरुत्थान र विकासलाई अघि बढाउन रिकभरी प्लान बनाएर काम गर्नुपर्छ ।” बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव डा जगदीश्वर कर्माचार्यले विकास निर्माणलाई प्राथमिकतामा राख्दै आयोजना कार्यान्वयनमा सम्पूर्ण मन्त्रालय संयन्त्र परिचालन हुनुपर्ने बताए । मन्त्रालयको पुँजीगत खर्चको अवस्था न्यून रहेको उल्लेख गर्दै आगामी दिनमा वित्तीय प्रगति सुधार गर्न सम्बन्धित महाशाखा तथा निकायलाई सक्रिय बनाउनुपर्ने उनको भनाइ थियो ।

    बैठकमा मन्त्रालयको हालसम्मको वित्तीय प्रगति तीन दशमलव ०८ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । समीक्षा क्रममा मन्त्रालयले चालु आर्थिक वर्षमा गरेका नीतिगत तथा कानुनी कामको प्रगति पनि प्रस्तुत गरिएको थियो । जलस्रोत र नवीकरणीय ऊर्जासम्बन्धी दुई विधेयक मन्त्रिपरिषद्मा पेस गरिएको, विभिन्न ७६ विषयमा कानुनी राय प्रदान गरिएको र १२ वटा विषयमा जरिवानासम्बन्धी कारबाही गरिएको जानकारी दिइयो । त्यस्तै, बूढीगण्डकी विकास प्राधिकरण गठनसम्बन्धी अवधारणाको मस्यौदा तयार गरिएको, विद्युत् नियमावली तथा विद्युत् व्यापार नियमावलीको मस्यौदा अघि बढाइएको, ऊर्जा विधेयकको तयारी तथा विद्युत् र ऊर्जा नीतिको मस्यौदा निर्माण गरिएको बैठकमा जानकारी गराइयो ।

    विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र ९एलओआई० दिने तयारी, सुरुङ तथा भूमिगत संरचनाको सुरक्षासम्बन्धी अध्ययन र प्रसारण लाइन निर्माण तथा सञ्चालनमा निजी क्षेत्रको सहभागिता गराउने विषयमा भइरहेको आन्तरिक तयारीलगायत विषयमा पनि बैठकमा प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

  • अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

    अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

    काठमाडौँ, १४ असोजः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित आठ जनाले गैरकानुनी लाभ वा हानि गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले अदानचुली गाउँपालिकाको कुकुर फाल्ना छहराखेतदेखि मुगु, सोरू गाउँपालिका–३ भिईसम्म बत्ती निर्माणका लागि विनियोजित रकमको काम नगरी रु नौ लाख २६ हजार रकम हिनामिना गरेर गैरकानुनी लाभ वा हानि गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

    आयोगले खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख रिमाल, तत्कालीन सव–इन्जिनियर विश्वराज भण्डारी र तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल, सोरू गाँउपालिका–३ का तत्कालीन वडाध्यक्ष लालु धामी तथा गल्फागाढ छहराखेत जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदीप बुढा, सो आयोजनाको उपभोक्ता समितिका उपाध्यक्ष भीमचन्द्र बुढा, समितिका सचिव धनराज बुमी र समितिका कोषाध्यक्ष लक्ष्मी धामीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु नौ लाख २६ हजार कायम गरेर मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

  • प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

    काठमाडौँ, १४ असोजः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सो कोषमा मौज्दात रकम रु १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ पुगेको छ ।

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ५ लाख ९९ हजार ७२९ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ७१ लाख ६ हजार ८२२ अमेरिकी डलर पुगेको छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

  • बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

    बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

    काठमाडौँ, १४ असोजः सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा ‘खोज तथा पुनःप्राप्ति’ (सर्च एन्ड रिकभरी)लाई अगाडि बढाउने निर्णय गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सम्पन्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले बाढीले निम्त्याएको विषम परिस्थिति, खोज तथा उद्धार, राहत तथा अस्थायी बसोबासको समग्र समीक्षा गर्दै यस्तो निर्णय गरेको हो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै खोजलाई अहिले जारी राखेको स्पष्ट पारे । उनले भने, “खोजलाई जारी राखेका छौँ, अझै पनि दुईवटा सुरुङ जारी छ, उद्धारको हकमा हामी नयाँ चरणमा प्रवेश गरेका छौँ, अब उद्धारभन्दा अगाडि बढेर पुनःस्थापनामा काम सुरु गरेका छौँ ।”

    प्रमुख डा उप्रेतीका अनुसार बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको क्षतविक्षत शव पहिचानका लागि ठूलो परिमाणमा वैज्ञानिक विधिबाट फरेन्सिक परीक्षण भइरहेको छ । हाल दुईवटा विधि विज्ञान प्रयोगशालामा कूल तीन हजार ६८५ फरेन्सिक नमूनाको डिएनए परीक्षण प्रक्रिया जारी छ ।

    मन्त्रालयका अनुसार काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक हजार ९५७ र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा एक हजार ७२८ नमूना परीक्षणका लागि प्राप्त भएका छन् । शव तथा अवशेषहरूको वैज्ञानिक परीक्षण र पहिचान कार्यलाई तीव्रता दिन विभिन्न मित्रराष्ट्रबाट अन्तरराष्ट्रिय विशेषज्ञ टोलीसमेत नेपाल आएर कार्यक्षेत्रमा खटिएका छन् ।

    हाल भारतबाट १९ जना, चीनबाट १५, दक्षिण कोरियाबाट तीन जना डिएनएविज्ञ, तथा संयुक्त राज्य अमेरिकाबाट तीन जना र सिङ्गापुरबाट दुई जना फिंगरप्रिन्टविज्ञ गरी पाँच देशका प्राविधिक टोलीहरू नेपालमा परिचालित छन् । प्राधिकरणका अनुसार रसुवा–भोटेकोशी बाढी तथा मनसुनजन्य विपद्का कारण हालसम्म पाँच हजार २८५ जना बेपत्ता हुनुहुन्छ । बाढी प्रभावित क्षेत्रबाट हालसम्म कुल एक हजार ४५४ शव तथा मानव अवशेष फेला परेका छन्, जसमध्ये ११२ जनाको मात्र सनाखत हुन सकेको छ । फेला परेका शव तथा अङ्गहरूको प्रकृति हेर्दा ५८५ पुरुष, ३३६ महिला र पहिचान नखुलेका ५३३ वटा आंशिक मानव अङ्ग छन् ।

    हालसम्म फेला परेका एक हजार ४५१ शव तथा अवशेषमध्ये एक हजार २९२ शवलाई जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । साथै पहिचान खुलेका तथा अन्य प्रक्रिया पूरा भएका ११२ शव उनीहरुका परिवारलाई हस्तान्तरण गरिएको छ ।

    यसैगरी, बैठकमा बाढी प्रभावित क्षेत्रमा गत भदौ १० गतेदेखि परिचालित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललगायतका विभिन्न टोलीबाट हालसम्म भएका खोज, उद्धार र राहतका प्रयास तथा उपलब्धिहरूको समीक्षा गरिएको थियो । विपद्को लामो समय बितिसक्दा जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून बन्दै गएको र कार्यक्षेत्रमा खटिएका उद्धार टोली तथा जिल्ला सुरक्षा समितिबाट समेत हालको खोज तथा उद्धारको चरण स्थगन गर्न सिफारिस आएकाले सरकारले अब स्रोतसाधनलाई खोज तथा पुनःप्राप्तितर्फ केन्द्रित गर्ने निर्णय गरेको हो ।

    निर्णयअनुसार अब अति संवेदनशील र अत्यावश्यक खोज तथा उद्धार गर्नुपर्ने निश्चित स्थानमा बाहेक अन्य क्षेत्रमा नियमित उद्धारको सट्टा शव तथा संरचनाको पुनःप्राप्ति कार्य अगाडि बढाइनेछ । बैठकमा विपद्मा बेपत्ता भएका नागरिकको हकमा विद्यमान कानुनी व्यवस्थाले सिर्जना गरेको जटिलता र राहत वितरणमा परेको बाधाबारे समीक्षा गरिएको थियो ।

    मौजुदा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ तथा नियमावली, २०७६ मा मृत्यु हुने व्यक्तिको परिवारलाई न्यूनतम राहत उपलब्ध गराउने व्यवस्था भए पनि बेपत्ता भएका व्यक्तिलाई तत्काल मृतकसरह मानी राहत दिने कुनै स्पष्ट व्यवस्था छैन । मुलुकी देवानी संहिता, २०७४ को दफा ४० अनुसार सामान्य अवस्थामा कुनै सूचनाबिना लगातार १२ वर्षदेखि बेपत्ता भएमा मात्र मृत्यु भएको मानिने कानुनी प्रावधान रहेको छ । यद्यपि, सोही संहिताले विशेष अवस्था र उमेरका आधारमा ८० वर्ष उमेर पुगेको व्यक्तिको हकमा बेपत्ता भएको पाँच वर्षपछि, युद्धस्थलमा खटिएको सैनिकको हकमा युद्ध समाप्त भएको चार वर्षपछि र हवाई, पानीजहाज वा सवारी दुर्घटनाको हकमा दुर्घटना भएको मितिले तीन वर्ष पूरा भएपछि मात्र अदालतबाट मृत्युको न्यायिक घोषणा गर्न सकिने व्यवस्था गरेको छ ।

    अदालतबाट यस्तो घोषणा भए पनि सम्बन्धित व्यक्ति जीवितै फर्केमा सो न्यायिक घोषणा बदर गर्न सकिने प्रावधान छ । यसका अतिरिक्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ को नियम १७ ले कोही व्यक्ति बेपत्ता भएको वा नाता कायम भएको अवस्थामा आधिकारिक निकायको प्रमाणीकरणबिना स्थानीय पञ्जिकाधिकारीले घटना दर्ता गर्न नसक्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

    विद्यमान कानुनका यी लामो प्रक्रिया र बन्देजका कारण पीडित परिवारहरू तत्काल राहत तथा सामाजिक सुरक्षाबाट वञ्चित नहोऊन् भन्नाका खातिर कार्यकारी समितिले विशेष प्रशासनिक निकास दिने निर्णय गरेको छ । जसअनुसार बाढीमा बेपत्ता भएका नागरिकको स्थायी ठेगाना रहेका सम्बन्धित स्थानीय तहले विस्तृत विवरण प्रमाणित गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनेछन् । त्यसपछि जिल्ला प्रशासन कार्यालयले उक्त विवरण पुनः प्रमाणित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउनेछ । सो विवरण प्राप्त भएपछि प्राधिकरणले तय गरेको विशेष कार्यविधिबमोजिम बेपत्ता नागरिकका परिवारलाई राहत तथा अन्य कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय समितिले गरेको छ ।

    यसैगरी, बाढीका कारण घरबार गुमाएका नागरिकको अस्थायी आवास, पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यलाई पनि तत्काल अघि बढाउने निर्णय बैठकले गरेको छ । हालसम्म प्राप्त विवरणअनुसार ७ स्थानीय तहका २७८ परिवारले तत्काल अस्थायी सेल्टरमा बस्न चाहेको विवरण पठाएका छन् । यसबाहेक रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका ४०० परिवार तथा उत्तरगया र अन्य गाउँपालिकाका ३५० विस्थापित परिवार हाल नुवाकोटको विदुर नगरपालिकामा आश्रय लिइरहेकाले उहाँहरूको विकल्प छनोटको अन्तिम विवरण आउन बाँकी रहेको बताइएको छ ।

    विस्थापित परिवारको स्थायी पुनःस्थापना नहुञ्जेलका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट गठित जग्गा पहिचान तथा खोजी समितिले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा सुरक्षित स्थान छनौट गरिनेछ । सो प्रतिवेदनमा उल्लिखित जग्गामा सम्बन्धित स्थानीय तहको निर्णय, जिल्ला प्रशासन कार्यालय र प्राधिकरणको समन्वय तथा सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले विभिन्न विकास साझेदार संस्था परिचालन गरी अस्थायी आवास निर्माण गर्नेछ । साथै, यस बसोबास तथा पुनःस्थापनासम्बन्धी कार्यलाई सहज बनाउन विद्यमान कानुनी व्यवस्थामा आवश्यक परिमार्जन गर्न सम्बन्धित निकायले कानुनी प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ ।

    बैठकले भोटेकोशी बाढी तथा त्यसपछिका मनसुनजन्य विपद्का घटनामा प्रतिकूल मौसम र भौगोलिक विकटताका बीच पनि अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवक, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, जनसमुदाय र सञ्चारकर्मीको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेको छ । साथै, विपद्को यस कठिन घडीमा स्वदेश तथा विदेशबाट नगद, खोज, उद्धार तथा राहत सामग्री उपलब्ध गराउने सहयोगी र फरेन्सिक विशेषज्ञ टोली पठाएर सहयोग पु¥याउने सम्पूर्ण मित्रराष्ट्रप्रति बैठकले औपचारिक रूपमा कृतज्ञता ज्ञापन गरेको छ ।

  • हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

    हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

    मनाङ, १४ असोजः मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप तीन जनाको शव भेटिएको छ । तीन जनाको शव भेटिएसँगै यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या सात पुगेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गोर्खाको धार्चे गाउँपालिका–२ करौँजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐँसेलु खर्क गाउँपालिका–३ का सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कमल बुढाको शव भेटिएको हो ।

    घटनास्थलमा अन्तरराष्ट्रिय माउन्टेन गाइड (आइएफएमजीए) का पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली उद्धारमा खटिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सोही टोलीले हिउँ पन्छाएर उनीहरुको शव निकालेको उनले बताए ।
    यसअघि आइतबार र सोमबार खोजी गर्ने क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।

  • सकियो भक्तपुरको पुलुकिसी जात्रा

    सकियो भक्तपुरको पुलुकिसी जात्रा


    ख्वप (भक्तपुर), १४ असोजः मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा पुलुकिसी (इन्द्रका बाहन ऐरावत हात्ती) जात्रा मनाएको छ । जात्रा साँझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको थियो । प्रत्येक वर्ष यही ठाउँबाट जात्रा सुरु हुने परम्परा छ । जात्राका क्रममा पुलुकिसी अर्थात् इन्द्रका बाहन ऐरावत हात्तीलाई नगर परिक्रमा गराइएको हो । बाँसलगायतबाट हात्तीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गराइएको हो । बाँसबाट हात्ती आकार दिई त्यसलाई हात्तीको आकृति लेखिएको सेतो कपडाले छोपेर पुलुकिसी बनाइएको हो ।

    पुलुकिसीभित्र मानिस बसेर बोक्न मिल्ने गरी बनाइएको हुन्छ । त्यही पुलुकिसीलाई नगर परिक्रमा गराइ जात्रा मनाइएको हो । यो जात्रा हेर्न भक्तपुर नगरभरि उल्लासका साथ हजारौँ नागरिक सहभागी भएका थिए । पुलुकिसी परिक्रमा गराइने बाटोभरि हजारौँ दर्शक जात्रा हेर्न बसेका थिए । पुलुकिसीलाई ओहोरदोहोर गराइने र हेर्न रमाइलो लाग्ने स्थानीय जात्राप्रेमी कृष्ण प्रजापतिले बताउनुभयो । विशेष गरी भक्तपुर दरबार स्क्वायर, टौमढी, दतात्रयलगायतका चोकमा जात्रा हेर्नेको घुइँचो लागेको थियो ।

    पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जनाले अगाडि बसेर घण्ट बजाएका थिए । घण्ट बजाउँदै पुलुकिसी आएको सङ्केत दिँदै नगर परिक्रमा गराइएको थियो । यस क्रममा चोकचोकमा पुलुकिसीलाई ओहोर दोहोर गराइएको थियो । साथै पुलुकिसीसँग हिँडेका व्यत्तिले अगाडि छ्वाली बालेर बाटो तय गर्दै गएको दृश्य रमाइलो थियो ।

    जात्रा लाकुलाछेंबाट सुरु भई राति त्यही पुगेर टुङ्गिने चलन छ । योबीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने मार्ग भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरबार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको थियो । दरबार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइने चलन छ । त्यहाँबाट पुन इनाचो, गोल्मढी हुँदै टौमढी ल्याई लाकुलाछेमै पुगेर जात्रा सम्पन्न गर्ने चलन छ ।

    पुलुकिसी बनाएर जात्रा सुरु हुने लाकुलाछेस्थित भैरवनाथ जात्रा सहयोग समितिका अध्यक्ष शिवराम किजूका अनुसार जात्राका लागि आवश्यक सबै तयारी स्थानीयले गर्ने गर्छन् । पहिलाकै जोहो गरेका सामानबाट पुलुकिसी बनाउने गरिएको उनले जानकारी दिए । प्रत्येक वर्ष पुलुकिसी बनाइ नगर परिक्रमा गरेपछि आफूहरूले ती सामानलाई अर्को वर्षका लागि स्थानीय पाटीमा जोहो गरेर राख्ने गरेका उनले बताए ।
    पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँदा सुँडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वास अहिले पनि कायमै छ । नगर परिक्रमा गराउने क्रममा तलातुंछी (इनार) मा पुगेपछि पानी खुवाउने चलन छ ।

    कला संस्कृति भजन महागुथिका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा मनाइँदै आएको छ । पारिजात फूल टिप्न पृथ्वी लोक आएका छोरालाई बन्धक बनाएपछि उहाँलाई खोजेर स्वर्गमा लैजान आफ्नो बाहन ऐरावत हात्तीलाई पृथ्वीमा घुम्न पठाएको किंवदन्ती रहेको उहाले बताउनुभयो । पुलुकिसी जात्रासँगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको छ ।

  • ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

    ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’


    सुदिप राउत / रासस

    भद्रपुर (झापा), १४ असोजः पूर्वी पहाडको तेह्रथुमको छथरबाट ३६ वर्षअघि झापा झर्दा डम्बरबहादुर लिम्बूको एउटै सपना थियो– आफ्नै नाममा एक टुक्रा जमिन र ओत लाग्ने स्थायी घर तर समयले ५५ वसन्त पार गरिसक्दा पनि उनको त्यो सपना भने अधुरै थियो । डम्बरबहादुरका बुबा राजबहादुर लिम्बूले जीवित रहँदा ‘लालपुर्जा’ शब्द त धेरै पटक सुने, तर आफ्नै नाममा देख्न र छुन पाउनुभएन । बुद्धशान्ति गाउँपालिका–४ जुनेलीस्थित आफू बस्दै आएको घर र भोगचलन गर्दै आएको जमिनको स्वामित्व आफ्नो नाममा नहुँदा कतै उठिबास हुनुपर्ने हो कि भन्ने चिन्ता बुबालाई सधैँ रहने गरेको डम्बरबहादुर सम्झन्छन् ।

    बुबाले देख्न नपाएको त्यही लालपुर्जाको प्रतीक्षा डम्बरबहादुरले पनि वर्षौंसम्म गरिरहे । प्रतीक्षा पूरा हुनुअघि नै पाँच वर्षअघि बुबाको निधन भयो । बुबाको अधुरो सपना बोकेर बसेका डम्बरबहादुरका लागि मङ्गलबार भने त्यो लामो प्रतीक्षाको अन्त्य भयो । गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा ३५ वर्षदेखि घर बनाएर बस्दै आएको जमिनको ‘जग्गाधनी दर्ता प्रमाण पुर्जा’ जब ५५ वर्षीय लिम्बूको हातमा पर्यो, उहाँका आँखा खुसीले रसाए । वर्षौंको सङ्घर्ष र बुबाको सम्झना एकैपटक मनमा आए । ३६ वर्षदेखि भोगचलन गर्दै आएको जमिनको वैधानिक स्वामित्व प्राप्त गरेको त्यो क्षणमा उहाँले जीवनकै ठूलो भारी बिसाएजस्तो महसुस गरे ।


    “ढिलै भए पनि पुर्जा पाइयो,” खुसी व्यक्त गर्दै लिम्बूले भने, “बुबाले त लालपुर्जा देख्न नपाई बित्नुभयो । उहाँले जीवनभर देख्न चाहेको लालपुर्जा आज मेरो हातमा परेको छ । आफ्नै पालामा जमिनको अधिकार पाउँदा बुबाको सम्झना झन् आयो । घरमा हुनुभएकी बूढीआमा यो खबर सुनेर निकै खुसी हुनुहुन्छ होला । अब आफ्नै नाममा जमिन भएकामा ढुक्क भएको छु, सन्तानका लागि केही सुरक्षित भयो भन्ने लागेको छ ।”

    डम्बरबहादुर मात्र होइन, जुनेली बस्तीकै ५३ वर्षीया सरस्वती राई र ५० वर्षीया सविता थेवेको अनुहारमा पनि मङ्गलबार उस्तै खुसी झल्किएको थियो । वर्षौंदेखि आफ्नो नाममा जग्गाको स्वामित्व आउने प्रतीक्षामा रहेका उहाँहरूका लागि हातमा परेको लालपुर्जा कागजको प्रमाणभन्दा धेरै ठूलो बनेको थियो । लामो समयदेखि बोकेको भूमिहीन वा अव्यवस्थित बसोबासीको परिचयबाट बाहिर निस्किएर आफ्नै नाममा जमिन भएको अनुभूति उनीहरूमा देखिन्थ्यो ।

    खुसी मिश्रित स्वरमा सरस्वतीले भनिन्, “पुर्जा नहुँदा न त बैङ्कबाट ऋण पाइने, न त आफ्नो जमिन भनेर गर्व गर्न सकिने । आज आफ्नै नामको रातोपुर्जा हातमा पर्दा वर्षौंदेखिको पीडा र अनिश्चितता बिर्सिएजस्तो भएको छ ।” त्यस्तै, सविता थेवेले थप्नुभयो, “आफ्नो नामको जमिन नहुँदा सधैँ सुकुम्वासीको बिल्ला भिरेर बाँच्नुपरेको थियो । यही ठाउँमा घर बनाएर बस्यौँ, दुःख ग¥यौँ, छोराछोरी हुर्कायौँ, तर जमिन भने आफ्नो थिएन । आज हामीले नागरिक हुनुको साँचो अनुभूति पाएका छौँ ।”

    डम्बरबहादुर, सरस्वती र सवितासहित जुनेलीका २६ जना अव्यवस्थित बसोबासीले मङ्गलबार जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरेका हुन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले उहाँहरुलाई प्रमाण पुर्जा वितरण गरेको हो ।

    तीन दशकदेखिको सङ्घर्ष

    पुर्जा वितरण कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष शेरबहादुर रायले भूमि प्राप्तिको सङ्घर्ष लामो र निरन्तर रहेको बताए । उनका अनुसार स्थानीय तहको पहिलो निर्वाचनदेखि नै वडाका अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउने विषयलाई प्राथमिकतामा राखिएको थियो ।

    “हामी निर्वाचित भएर आएदेखि नै वडावासीको हातमा लालपुर्जा कसरी दिलाउने भनेर धेरै मेहनत गरेका छौँ,” उनले भने, “यसबीचमा विभिन्न आयोग बन्ने र भत्किने क्रम चलिरह्यो । त्यसकारण काम सोचेजस्तो अगाडि बढ्न सकेन । पुरानै कामलाई निरन्तरता दिँदै अहिले क्रमशः लालपुर्जा वितरण गर्ने चरणमा पुगेका छौँ ।”

    उनले लालपुर्जा केवल जग्गाको स्वामित्व प्रमाणित गर्ने कागज मात्र नभई पुस्तौँदेखि रहँदै आएको असुरक्षाको अन्त्य भएको बताए । “यो केवल एउटा कागजको टुक्रा मात्र होइन, पुस्तौँपुस्ताले भोगेको असुरक्षाको अन्त्य हो,” उनले भने । गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले नागरिकको सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवनका लागि भूमिको अधिकार आवश्यक रहेको बताए । सार्वजनिक बिदाको दिनमा समेत भूमिसम्बन्धी कामलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । वर्षौंदेखि भूमिको स्वामित्वको प्रतीक्षामा रहेका परिवारले लालपुर्जा प्राप्त गर्दा उनीहरूको अनुहारमा देखिएको खुसी र सन्तोषले अभियानको वास्तविक महत्व र सार्थकता स्पष्ट गरेको उनको भनाइ थियो ।

    पटक–पटक फेरिएका आयोगले पारेको असर
    गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले पटकपटक आयोग परिवर्तन हुँदा भूमि समस्या समाधानको काम प्रभावित हुँदै आएको बताए । उनले बाँकी रहेका वास्तविक लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरी लालपुर्जा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताए । “पटकपटक आयोग फेरिँदा भूमि समस्या समाधानको कामले निरन्तरता पाउन सकेन । त्यसको असर हामीले पनि भोग्नुप¥यो,” उनले भने, “अब भने बाँकी रहेका नागरिकलाई प्रक्रिया पूरा गरी लालपुर्जा उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखेका छौँ । जिल्ला भूमि समस्या समाधान समितिसँग आवश्यक समन्वय गरेर कामलाई तीव्रता दिइरहेका छौँ ।”

    गाउँपालिकाका भूमि शाखा प्रमुख देवेन्द्र कटुवालका अनुसार पालिकाले विभिन्न चरणमा लालपुर्जा वितरण गरेको थियो । उनका अनुसार विसं २०७९ असारमा ४२, २०८२ असारमा १४८ र २०८३ असारमा पाँच भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गरिसकेका छन् ।

    पालिकाभित्र अझै १४८ भूमिहीन सुकुम्वासी, ३१ भूमिहीन दलित र छ हजार २२३ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए । लगत सङ्कलनको काम सम्पन्न भइसकेको र बाँकी प्रक्रियालाई तीव्रता दिइएको उनले बताए ।


    ‘वास्तविक हकदारले मात्र पुर्जा पाऊन्’
    जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले वास्तविक लाभग्राहीले मात्र जग्गाधनी दर्ता प्रमाण पुर्जा पाऊन् भन्नेमा प्रशासन सजग रहेको बताए । उनले भूमि समस्या समाधानको प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउँदै योग्य नागरिकलाई कानुनी प्रक्रियामार्फत पुर्जा उपलब्ध गराउने काम तीव्रताका साथ भइरहेको जानकारी दिए ।


    “वास्तविक हकदारले मात्रै जग्गाको स्वामित्व पाऊन् भन्नेमा हामी सचेत छौँ । कसैको हक नखोसियोस् र वास्तविक लाभग्राही छुट्न नपरोस् भन्ने गरी प्रक्रिया अघि बढाइएको छ,” उनले भने, “सम्बन्धित वडाले सात दिने हकदाबी सूचना प्रकाशन गरेर दाबी–विरोधको प्रक्रिया पूरा गर्छ । वडा तहबाट निर्णय भएपछि पालिकाले पुनः प्रमाणीकरण गर्छ र त्यसपछि जिल्ला समितिबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जग्गाधनी पुर्जा वितरण गरिन्छ ।”

    उनले भूमि समस्या समाधानको कामलाई सेवाग्राहीमैत्री बनाउँदै अनावश्यक झन्झट कम गर्ने प्रयास भइरहेको बताए । “सेवा र सेवाग्राहीलाई जोड्ने र उनीहरूको सन्तुष्टि हुने गरी सेवा प्रवाह गर्न हामी लागिपरेका छौँ,” उनले भने, “प्रक्रियामा देखिएका समस्या स्थानीय तहबाट समाधान हुन नसके जिल्ला हुँदै केन्द्रस्तरसम्म समन्वय गरेर समाधान गर्ने व्यवस्था मिलाइएको छ ।”

    जग्गाको स्वामित्व पाएसँगै अब त्यसलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बन्नुपर्ने उनको सुझाव छ । “पुर्जा हातमा पाउनु सुरुआत हो, अब प्राप्त जग्गालाई उत्पादनसँग जोडेर आम्दानीको आधार बनाउनुपर्छ,” उनले भने । नापी कार्यालय भद्रपुरका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव शिवप्रसाद लम्सालका अनुसार जिल्लाका अर्जुनधारा, कन्काई र मेचीनगरमा लालपुर्जा वितरणको काम निरन्तर भइरहेको छ । अन्य स्थानीय तहमा पनि प्रक्रिया अघि बढिरहेको उनले बताए ।

  • पुण्यतिथिको खर्च बुबाको सम्झनामा सामाजिक सेवामा

    पुण्यतिथिको खर्च बुबाको सम्झनामा सामाजिक सेवामा


    रासस
    खोटाङ, १४ असोजः नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङका अध्यक्ष हरिवोल आचार्यको परिवारले आफ्नो स्वर्गीय बुबाको वार्षिक पुण्यतिथिको अवसर पारेर आर्यघाटमा फलैँचा निर्माण तथा मन्दिर सरसफाइ गरेका छन् । स्वर्गीय बुबा हरिप्रसाद आचार्यको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारका सदस्यले मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको मेवाखोलास्थित गुप्तेश्वर आर्यघाटमा फलैँचा निर्माण तथा गुप्तेश्वर महादेव मन्दिर परिसर सरसफाइ गरेका हुन् ।

    वार्षिक पुण्यतिथिमा गरिने फजुल खर्च कटाएर मृत्यु संस्कारका लागि आर्यघाटमा गएका मलामी तथा आफन्त बस्न मिल्नेगरी १४ वटा फलामको फलैँचा निर्माण गरेर स्थापना गरिएको पत्रकार महासङ्घका अध्यक्ष आचार्यले जानकारी दिए । “हाम्रो संस्कारमा आफ्ना आफन्तको मृत्यु भएको वर्षदिनमा सप्ताह पुरान लगाउने चलन छ । त्यो स्वर्गीय आफन्तले पाउँछन् भन्ने कुनै ग्यारेन्टी छैन”, उनले भने, “हप्तादिनसम्म लगाइने पुरानमा ठूलो खर्च हुन्छ । परिवारका सदस्य अतिथि संत्कार तथा पूजाआजामा खटिँदा गलेर हैरान हुन्छन् । त्योभन्दा सबैले उपभोग गर्न पाउनेगरी आर्यघाटमा फलैँचा निर्माण गरिदिएका हौँ ।”

    पुण्यतिथिमा स्थापना गर्नेगरी दिक्तेलबजारमा रु एक लाख ५० हजार बराबरको १४ वटा फलामे फलैँचा निर्माण गरिएको आचार्य परिवारले जनाएका छन् । हिन्दु संस्कारअनुसार एकछाक खाएर बस्नेदिन अर्थात् पुण्यतिथिको अघिल्लो दिन सातवटा आर्यघाटमा लगेर स्थापना गरिएको र बाँकी सातवटा केही दिनपछि मौसम खुलेपछि स्थापना गरिनेछ ।

    आर्यघाटमा फलैँचा निर्माणसँगै नजिकै रहेको गुप्तेश्वर महादेव मन्दिर परिसर सरसफाइ गरिएको आचार्य परिवारले जनाएका छन् । स्वर्गीय हरिप्रसाद आचार्यको परिवारले मृत्यु संस्कारमा गरिने फजुल खर्च कटाएर सामाजिक कामको थालनी गर्नु अरूका लागि पनि प्रेरणाको स्रोत बनेको स्थानीयवासी एवम् नेपाल कम्युनिष्ट पार्टी ९एमाले० खोटाङका उपाध्यक्ष कुमार आचार्यले बताए ।


    तीन छोरा र तीन छोरीका स्वर्गीय बुबा हरिप्रसादको विसं २०८२ भदौ २६ गते ९२ वर्षको उमेरमा निधन भएको थियो । बुबाको पुण्यतिथि पारेर आर्यघाटमा स्थापना गरिएको फलामे फलैँचामा स्वर्गीय बुबा, आमा र दाजुको नाम उल्लेख गरिएको छ । स्वर्गीय हरिप्रसादका जेठा छोरा पर्शुराम र श्रीमती मनमायाँ आचार्यको यसअघि नै मृत्यु भइसकेको छ । निर्माण व्यवसायी तथा सामाजिक अभियन्ता हरिप्रसादको स्मृतिमा हरेक वर्षको पुण्यतिथिमा सामाजिक काम गर्ने योजना बनाइएको माहिला छोरा टङ्कप्रसादले बताए ।

  • दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो

    दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो

    महेन्द्रनगर, १४ असोजः दोधारा–चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएको छ । कञ्चनपुरको महाकाली नदीमा अवस्थित उक्त पिल्लरको पुल आज बिहान भाँचिएको हो । भीमदत्तनगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भाँच्चिएपछि आवगमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । पुलको करिब छ मिटर भाग मर्मत गर्नुपर्ने भएको छ । आवागमन रोकिएपछि आवत जावतमा समस्या भएको छ ।

    “झोलुङ्गे पुलको दोधारातर्फको पाँचरछ मिटरबीचको भागमाथि उठी आवतजावतमा समस्या भएको र उक्त झोलुङ्गे पुलको पिल्लर भाँचिन गई बाटो अवरोध भएको छ ।” प्रवक्ता रावतले भने, “सो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ ।” दुईदशकअघि बनेको झोलुङ्गे पुल बनेपछि दोधारा–चाँदनी भौगोलिक रुपले मुलुकको मुलधारसित जोडिएको थियो । भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गर्ने बताए । “आज बिहान पानीको बेगले पिल्लर भत्किएको थियो”, उनले भने, “पिल्लर भत्किएपछि आवागमन रोकिएको छ ।”

  • मनाङमै अड्किए पर्यटक

    मनाङमै अड्किए पर्यटक

    मनाङ, १४ असोजः अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको छ । आइतबारदेखिको अविरल वर्षाले माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा बाढीले मस्र्याङ्दी नदी थुनिएको छ । विपद्का पर्यटक मनाङमै बस्न बाध्य भएका छन् । मस्र्याङ्दी थुनिएपछि माथिल्लो मनाङ पुगेका पर्यटक उतै छन् भने तल्लो मनाङमा रहेका पर्यटक रोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) एकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पास गर्ने पर्यटक पनि मनाङ नै फर्किएका छन् ।

    “माथिल्लो मनाङ आइपुगेका २२६ विदेशी पर्यटकको दर्ता भएको छ भने ४४ जना फर्किएका छन्,” प्रमुख भुजेलले भने, “करिब १५० बढी पर्यटक थोराङ्ला पास गर्ने पर्यटक हिउँ बाक्लो भएपछि फर्किएर मनाङ आइपुगेका छन् । मनाङ गाउँमा पर्यटक सुरक्षित छन् ।” थोराङ्ला पास गर्ने पर्यटक मुस्ताङबाट हेलिप्टरमा फर्कन सक्ने भएकाले जान अनुमति दिएको छ ।

    “बिरामी र प्रवेशाज्ञा सकिएका पर्यटक भने हेलिकप्टरमार्फत फर्किएका छन्,” प्रमुख भुजेलले भने, “हिमपात भएको समयमा मनाङ गाउँमा पर्यटक खचाखच थिए । सञ्चार र विद्युत् नहुँदा सङ्ख्या यकिन गर्न सकिने अवस्था नरहेको उहाँको भनाइ छ । एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङले धारापानी चेकपोष्टमा सेप्टेम्बर २२ देखि २८ तारिखसम्म ५९० विदेशी पर्यटकको दर्ता भएको जानकारी दिए । उनका अनुसार अविरल वर्षा र बाढीपहिरोका कारण १४६ पर्यटक फर्किएका छन् ।

    “माथिल्लो मनाङ पुगेका पर्यटक माथि नै छन् भने चामेदेखि तल रहेका भने यहीँ छन्”, गुरुङले भने, “बाटोको ट्र्याक नै मस्र्याङ्दी नदीले कटान गरेपछि फर्कने अवस्था छैन । पर्यटक यही रहेका छन् ।” अविरल वर्षापछि मस्र्याङ्दी नदीमा आएको बाढीको कटानले अधिकांश स्थानमा सडकको ट्र्याक बगाएको छ । भासिएका सडकको नयाँ ट्र्याक नबनाउँदासम्म पर्यटक तथा स्थानीयवासी आवतजावत गर्न सक्ने अवस्था छैन । नदी कटानले सडक भासिँदा उपकरण पु¥याउन सकिएको छैन ।

  • भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

    भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

    काठमाडौँ, १४ असोजः कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति, २०८३’ लाई समयसापेक्ष, समावेशी, सहभागितामूलक, अधिकारमुखी बनाउन सरोकारवाला विज्ञले सुझाव दिएका छन् । नागरिक समाज तथा सरोकारवाला विभिन्न संस्थाका प्रतिनिधिले जलवायु परिवर्तनबाट प्रभावित समुदायसहित सबै सरोकारवालासँग पर्याप्त र अर्थपूर्ण छलफल गरी नीतिनिर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।


    गैरसरकारी संस्था महासङ्घ नेपाल, नेपाल एसडिजी फोरम, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र अक्सफामको संयुक्त आयोजनामा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा सहभागी विज्ञहरुले जलवायु परिवर्तनबाट प्रभावित तथा जोखिममा रहेका समुदायको अर्थपूर्ण सहभागिता र अधिकार सुनिश्चित गर्नुपर्ने सुझाव दिए ।


    गैसस महासङ्घ नेपालका अध्यक्ष अर्जुन भट्टराईले जलवायु न्यायको विषय अब सरकार र अमूक संस्थाको मात्र नभई जनजनको विषय भएको बताए । उनले नयाँ नीतिमा सङ्घ, प्रदेश र स्थानीय तहबीच जलवायु शासन तथा कार्यान्वयनको स्पष्ट जिम्मेवारी निर्धारण गर्नुपर्ने, महिला, युवा, आदिवासी जनजाति, दलित, सीमान्तकृत तथा जोखिममा परेका समुदायका सवाललाई नीतिको केन्द्रमा राख्नुपर्ने बताए ।


    अध्यक्ष भट्टराईले हालैको भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित समुदायले भोगेको मानवीय, सामाजिक, आर्थिक तथा पूर्वाधारसम्बन्धी क्षतिले जलवायु जोखिम व्यवस्थापन, पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी, राहतदेखि पुनस्र्थापना तथा पुनर्निर्माणसम्मका विषयलाई नीतिसँग जोड्नुपर्ने आवश्यकता औल्याए ।

    नेपाल जलवायु परिवर्तनका असरबाट प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएको अवस्थामा राष्ट्रिय जलवायु नीति, २०८३ को प्रस्ताव गरिएको छ । हिमाली क्षेत्रको तापक्रम वृद्धि, हिमताल तथा हिमनदीमा भइरहेको परिवर्तन, अनियमित वर्षा, बाढी, पहिरो, डुबान, खडेरी, कृषि तथा खाद्य सुरक्षामा परेको असर र जीविकोपार्जनमा देखिएका जोखिमले नीति अझ व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।

    कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा मनिषराज पाण्डेले नीतिमा समेट्नुपर्ने विषयसम्बन्धी प्रस्तुति दिँदै नयाँ परिवेशमा जलवायुका पछिल्लो जोखिम सम्बोधन हुने गरी नीति ल्याइनुपर्नेमा जोड दिए । साथै उनले नीतिमा प्रस्तुत गरिएका नयाँ विषयका बारेमा जानकारी गराउँदै नीति कार्यान्वयनमा देखिने कमजोरी र त्यसको सुधारका उपायबारेमा समेत सुझाए ।


    सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष विर्षबहादुर शाहीले नीतिमा संरक्षणमा योगदान पुर्याउने स्थानीय समुदायका हकअधिकार सुनिश्चित हुनुपर्ने, प्राकृतिक स्रोतको वितरणमा समानता तथा दीर्घकालीन जलवायु उत्थानशीलतासँग जोड्नुपर्ने बताए ।


    उनले सामुदायिक वन, कृषि, पानी, ऊर्जा, जैविक विविधता तथा जीविकोपार्जनका सवाललाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने तथा अन्तरराष्ट्रिय जलवायु वित्त तथा सहयोग परिचालनमा नेपालको वास्तविक आवश्यकता र समुदायको प्राथमिकतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए । प्रकृति रिसोर्स सेन्टरका कार्यक्रम संयोजक डा प्रज्ञा शेरचनले प्रस्तावित नीतिले जलवायु न्याय, अनुकूलन, विपद् जोखिम न्यूनीकरण, हानि तथा क्षति, जलवायु वित्त, स्थानीय समुदायको अधिकार, जीविकोपार्जन, लैङ्गिक समानता तथा अन्तरपुस्ता न्यायलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए । उनले जलवायु वित्तबाट स्थानीय समुदायले पाउनुपर्ने ८० प्रतिशत लाभका बारेमा स्पष्ट प्रावधान हुनुपर्ने बताए ।


    जलवायु अनुसन्धानकर्ता कृति भुजुले नीतिमा जलवायु न्याय, हानि तथा क्षति र सामाजिक न्यायलाई नीतिगत प्राथमिकता दिनुपर्ने, जलवायु वित्तमा स्थानीय समुदाय तथा नागरिक समाजको पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्ने, पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी तथा जलवायु जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिए । सहभागी विज्ञले नीति कार्यान्वयन, अनुगमन, जवाफदेहिता र पारदर्शिताका लागि स्पष्ट संस्थागत संयन्त्र बनाउनुपर्ने, भोटेकोशीलगायत पछिल्ला जलवायुजन्य विपद्का अनुभव र सिकाइलाई पर्याप्त रूपमा समेटेर मात्र नीतिलाई अन्तिम रूप दिनुपर्नेमा जोड दिए ।

    परामर्शबाट प्राप्त सुझावलाई व्यवस्थित रूपमा सङ्कलन, विश्लेषण र एकीकृत गरी सरकारसमक्ष प्रस्तुत गर्न सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले परामर्शमा उठेका विषय, सुझाव तथा विज्ञका धारणा अध्ययन गरी आवश्यक नीतिगत सुझाव तथा सिफारिस तयार गर्ने आयोजकले जनाएको छ । साथै प्राप्त सुझावलाई एकीकृत गरी साझा नागरिक समाजको सुझाव÷सिफारिसका रूपमा सरकारसमक्ष प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।

  • पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

    पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

    कास्की, १४ असोजः पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारा तय गरिएको छ । महोत्सव आगामी कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिइन् ।


    उनका अनुसार नेपालीको ठूलो चाड दसैँलाई पारिवारिक पर्वमा मात्र सीमित नराखी पर्यटकलाई नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसरका रूपमा महोत्सव गर्न लागिएको हो । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुने महोत्सव सफल बनाउन पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन् । कार्यक्रमलाई पोखराको पर्यटन क्षेत्रकै साझा कार्यक्रमका रूपमा अघि बढाउनुपर्नेमा यस क्षेत्रका विभिन्न व्यक्तित्वले जोड दिए ।


    महोत्सवमा पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिने, चङ्गा चेट प्रतियोगिता आयोजना गर्ने तथा विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति देखाइनेछ । नेपाली मौलिक खानाका परिकार, कला–संस्कृति, परम्परागत सामग्री, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यावसायिक गतिविधि महोत्सवमा समेटिने भण्डारीले बताइन् ।


    पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैँलाई पर्यटनसँग जोडेर पोखरामा महोत्सव आयोजना गर्नु यहाँको संस्कृति र पर्यटनलाई एकसाथ अगाडि बढाउने अवसर भएको बताए । “दसैँ हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो । यसलाई पर्यटनसँग जोडेर देश–विदेशबाट आएका पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिन्छ । यो कुनै एउटा संस्थाको मात्रै कार्यक्रम होइन । पोखराका सबै पर्यटनसम्बद्ध संस्थाले यसलाई साझा कार्यक्रमका रूपमा लिएर अगाडि बढ्नुपर्छ,” भुजेलले भने ।


    ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले महोत्सव एउटा कार्यक्रम मात्र नभई पोखराको संस्कृति र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा चिनाउने अवसर भएको बताए । त्यसका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाई छ । ओटेफका अध्यक्ष ममता न्यौपानेले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला, संस्कृति र परम्परालाई पनि पर्यटकमाझ पु¥याउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे । “हामीले पर्यटकलाई पोखरा घुमाउने मात्रै होइन, पोखराको संस्कृति अनुभूति गराएर फर्काउने वातावरण बनाउनुपर्छ,” उनले भने ।

  • म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

    म्याग्दी, १४ असोजः बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई प्राथमिकता दिन गृहमन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी र पहिरोले जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ ।

    विपद्मा परी सात जनाको ज्यान गएको छ । यस्तै, दुई जना बेपत्ता भएका छन् । सडक, विद्युत्, सिँचाइ, खानेपानी, भवनलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेकाले म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गरिएको उनले बताए । यसैगरी, म्याग्दीमा बाढी पहिरोले भौतिक संरचना, निजी आवास, कृषि, पशुपक्षी क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन गर्न मङ्गलबारदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन भएका छन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले उद्धार र राहतसँगै छ वटै पालिकामा क्षति विवरण सङ्कलन कार्य सुरु भएको जानकारी दिए । उनका अनुसार हालसम्म प्राप्त विवरणअनुसार बाढी पहिरोले बेनी नगरपालिकामा २३, रघुगङ्गामा तीन, मङ्गलामा १८, मालिकामा एक, अन्नपूर्णमा दुई र धवलागिरिमा एक घर पूर्ण क्षति भएको विवरण प्राप्त भएको छ । बेनी नगरपालिकामा नौ र मालिका गाउँपालिकामा एक घरमा आंशिक क्षति पुगेको छ ।

    बेनीमा २३, रघुगङ्गामा ४७, मङ्गलामा चार, मालिकामा तीन र धवलागिरिमा २३ घर जोखिममा परेका छन् । बेनीमा २१, रघुगङ्गामा २६, मङ्गलामा आठ, अन्नपूर्णमा एक वटा गोठ तथा जिल्लाभर २० वटा पशुधनको क्षति भएको विवरण सङ्कलन भएको छ । पहिरोले गाउँ घेरिएपछि फसेका अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, गिवाङ, नेपाने, किन्दु, धोस्केखोर, घिरवाङका १०९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेर शिख र घारमा अस्थायी शिविर बनाएर राखिएको छ ।

    विपद्पछि उद्धार कार्यमा ७० नेपाली सेना, २५१ नेपाल प्रहरी र ६० जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन भएका छन् । बाढी र पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनीदेखि अन्य जिल्ला र ग्रामीण क्षेत्र जोड्ने सबै सडक अवरुद्ध छन् । सदरमुकाम बाहेकका क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम बेनीमा खानेपानीको हाहाकार भएको छ ।

  • भोटेकोशी बाढीः एक हजार ४५४ शव फेला

    भोटेकोशी बाढीः एक हजार ४५४ शव फेला

    १४ असोज, काठमाडौं । भोटेकोशी बाढीमा बेपत्तामध्ये मङ्गलबारसम्म एक हजार ४५४ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तत्थ्याङ्कअनुसार रसुवामा २३६, नुवाकोटमा २४, धादिङमा ७२, चितवनमा ३६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासीमा २२२ जनाको शव फेला परेको हो ।

    केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३३४ शव व्यवस्थापन गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ ।

  • बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

    बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

    काठमाडौँ, १४ असोजः बैङ्किङ कसुर मुद्दामा रु २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–३ धोबीघाट हाइटबाट पक्राउ गरेको हो ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी विरुद्ध बैङ्किङ कसुर मुद्दामा चितवन जिल्ला अदालत, भरतपुरबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन पठाइएको प्रहरीले जनाएको छ ।

  • रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

    रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

    रसुवा, १३ असोजः विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि जिल्लाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो । भोटेकोशी बाढीबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकालाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले ती केन्द्र सञ्चालनमा ल्याइएका हुन् ।

    हालसम्म स्थापना गरिएका केन्द्रमध्ये नौ वटा केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी चार वटा सञ्चालनको क्रममा छन् । हाल सञ्चालनमा रहेका केन्द्रमा ४६२ जना बालबालिकाले आश्रय पाएका छन् । केन्द्रमा आउने बालबालिकाको उमेर र आवश्यकताअनुसार खेलकुद, मनोरञ्जन, सिकाइ, सिर्जनात्मक, मनोसामाजिक सहयोगसम्बन्धी गतिविधि सञ्चालित छन् ।

    केन्द्रले बालबालिकालाई विपद्पछिको परिस्थितिमा सुरक्षित र सकारात्मक वातावरणमा आफ्ना भावना व्यक्त गर्न, साथीसँग घुलमिल हुन र रचनात्मक कार्यमा सहभागी हुन ठूलो अवसर प्रदान गरेको छ । हाल ती केन्द्रमा २१९ जना बालक र २४३ जना बालिका छन् । उमेर समूहका आधारमा पाँच वर्षभन्दा कम उमेरका ८८ जना र पाँच वर्ष उमेर समूहभन्दा माथिका ३७४ जना छन् । केन्द्रमा सहभागी बालबालिकामध्ये एक जना अपाङ्गता भएका रहेको नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले जनाएको छ ।

  • कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौँमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधीसभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा दुई दिन पर सारिएको जानकारी दिए । यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका जारी निर्धारित समयभन्दा दुई दिनपछि सारिएको हो ।

    “पार्टीको महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन्, यसैबीचमा देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै १५औँ महाधिवेशन असोज १८ गतेसम्मका लागि सारिएको हो”, उनले भने । कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ ।

  • प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

    प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

    काठमाडौँ, १३ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभइ राष्ट्रियस्तरको विश्वविद्यालय भएको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै उनले सो विश्वविद्यालयले सैन्य प्रकृतिको तालिम नदिने स्पष्ट पारिन् ।

    बदलिँदो विश्वमा राष्ट्रिय सुरक्षालाई युद्ध वा सैन्य सुरक्षा मात्रै भनेर बुझ्न नहुने भन्दै मन्त्री गौतमले अन्तरराष्ट्रिय सम्बन्ध, कूटनीति, आर्थिक तथा सुरक्षा कूटनीति, राष्ट्रिय सुरक्षा र रणनीतिक अध्ययन एवं साइबर सुरक्षालगायत विषय राष्ट्रिय सुरक्षामा समावेश हुने बताइन् । यी विषय पढाउन विशिष्टीकृत संस्थाको आवश्यकता थियो । त्यसैले यस विधेयकमा सैनिक तथा गैरसैनिक कर्मचारीका लागि उच्चस्तरीय प्राज्ञिक अध्ययन, अध्यापन र अनुसन्धान सञ्चालन गर्ने परिकल्पना गरिएको छ”, उनले भनिन्, “मित्र राष्ट्रका सैनिक र गैरसैनिक अधिकारीसमेत यहाँ आएर अध्ययन गर्न सक्नेगरी यो विधेयकमा परिकल्पना गरिएको छ ।”

    विधेयकले विश्वविद्यालय सभा, कार्यकारी परिषद्, प्राज्ञिक परिषद् तथा ‘बोर्ड अफ ट्रस्टी’ जस्ता अलग–अलग संस्थागत संरचनाको परिकल्पना गरेको उनले जानकारी दिइन् । विधेयकले नीति तथा संस्थागत उत्तरदायित्व र दैनिक प्राज्ञिक कार्यबीच आवश्यक दूरी कायम राखेको उनको भनाइ छ । विश्वविद्यालयबाट राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक नेतृत्व, अन्तरराष्ट्रिय सम्बन्ध, कूटनीति, आर्थिक कूटनीतिलगायत कक्षा सञ्चालन हुनेछन् ।

    “नेपालमा धेरै विश्वविद्यालय छन्, सामान्य अर्को विश्वविद्यालय थप्नु होइन, राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका विषयमा नेपालभित्रै उच्चस्तरीय शिक्षा, अनुसन्धान, रणनीतिक विश्लेषण र नीतिगत ज्ञान उत्पादन गर्न सक्ने स्वायत्त, विश्वसनीय र राष्ट्रिय संस्था निर्माण गर्नु हो”, उनले भनिन् ।


    मन्त्री गौतमले संसद्को छलफलबाट विश्वविद्यालयको स्वायत्तता, नागरिक–सैनिक सहभागिता, प्राज्ञिक स्वतन्त्रता र संस्थागत उत्तरदायित्वलाई अझ स्पष्ट र सुदृढ बनाउन सकिने धारणा राखिन् । बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद बिक्रम थापाले सैनिक र गैरसैनिक अधिकारीलाई राष्ट्रिय सुरक्षा, राष्ट्रिय प्रतिरक्षा, रणनीतिक मामिला र सामरिक महत्त्वबारे विश्वविद्यालयमा अध्ययन, अध्यापन र अनुसन्धान गरिने विषय स्वागतयोग्य भएको बताए ।


    सांसद भरत गिरीले प्रतिरक्षा विश्वविद्यालयलाई अर्को विश्वविद्यालयको सङ्ख्या थपमा रूपमा मात्र नभई आफ्नै रणनीतिक ज्ञान र अनुसन्धान क्षमता विकास गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे । सांसद खुश्बु ओलीले प्रतिरक्षा विश्वविद्यालयलाई सुरक्षा अध्ययन र सैनिक शिक्षामा मात्र सीमित नगरी कूटनीति, सङ्कट व्यवस्थापन, साइबर र जलवायु सुरक्षा, अर्थतन्त्र र अन्तरराष्ट्रिय सम्बन्धसँग जोड्नुपर्ने बताइन् ।


    सांसद रमेशकुमार मल्लले विधेयकको मूल अवधारणा राष्ट्रिय सुरक्षा र ज्ञान उत्पादनका दृष्टिले महत्त्वपूर्ण रहेको भन्दै संसदीय समितिमा दफावार छलफलका क्रममा यसको स्वायत्तता, शैक्षिक स्वतन्त्रता, नागरिक–सैनिक सम्बन्ध, पारदर्शीता, अनुसन्धानको गुणस्तर र सुरक्षा संवेदनशीलताको स्पष्ट सीमा निर्धारण गर्नुपर्ने बताए ।
    सांसद पुष्पराज कँडेलले विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतालाई विधेयकमा परिभाषित गरिनुपर्नेमा जोड दिए । सांसद राम लामाले सत्ता परिवर्तनसँगै विश्वविद्यालयका पदाधिकारीहरू परिवर्तन हुने परम्परा अन्त्य गर्नुपर्ने धारणा राखे । सांसद बलावती शर्माले राष्ट्रिय सार्वभौमिकता, अखण्डता र स्वाधिनताको प्रतिनिधित्व सो विश्वविद्यालय गर्न सक्छ भनी प्रश्न गरिन् । सांसद युवराज दुलालले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता सुनिश्चिता नगरेसम्म विधेयकमा प्रस्तुत भद्दा संरचनाले नयाँपन दिन नसक्ने जिकिर गरे ।


    सांसदहरू नितिमा भण्डारी (कार्की), करिष्मा कठरिया, टुकाभद्रा हमाल, रिमा विश्वकर्मा, कमल सुवेदी, धर्मराज केसी, यज्ञमणि न्यौपाने, भरतप्रसाद पराजुली, सरस्वती लामा, आनन्दबहादुर चन्द, बोधनारायण श्रेष्ठ, सुशील खड्का, एशुदाकुमारी बराल, मधुकुमार चौलागाई, परशुराम तामाङ, कृष्णहरि बुढाथोकी, पार्वती विक, ताराप्रसास जोशी, साजिदा खातुन सिद्धिकी, ज्ञानु पौडेल, ओजस्वी शेरचन र गणेश कार्कीले विश्वविद्यालयले साइबर सुरक्षा, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, कृत्रिम बुद्धिमत्ता र रणनीतिक सञ्चारलगायत विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते अपराह्न १ः०० बस्नेछ ।

  • अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

    अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली


    काठमाडौँ, १३ असोजः नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने बताएका छन् । हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका सन्देशबारे आज कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई आज भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षी रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुने जनाउ दिए । एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक यही असोज ५ देखि ८ गतेसम्म ललितपुरमा भएको थियो ।

    लोकतन्त्रको रक्षा र अब हुने स्थानीय तहको निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले अर्जुनदृष्टि लिएर लक्ष्यमा केन्द्रित हुन आग्रह गरे । अन्य कुनै दलसँग तत्काल पार्टी एकता नहुने तर चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुनसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

    अध्यक्ष ओलीले राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जिल्ला वा कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने भन्दै नेताहरूलाई ‘टुरिस्ट’ नबनी स्थलमै गएर योजना बनाउन निर्देशन दिए । पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट सञ्चालित भर्चुअल कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ विष्णुप्रसाद पौडेल, रघुजी पन्त, महासचिव शङ्कर पोखरेललगायत नेताहरूको उपस्थिति थियो ।

  • मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

    मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती


    गण्डकी, १३ असोजः बागलुङको गलकोट नगरपालिका १ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो । सोही दिनदेखि बागलुङ र पर्वतका ठाउँठाउँमा पहिरो तथा नदी कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएपछि उनी समयमा अस्पताल पुग्न सकिनन् ।


    बागलुङ खण्डको सडक सञ्चालनमा आएपछि आज बिहान सदरमुकामसम्म आएकी बुढाथोकीलाई पवर्त हुँदै पोखरा आइपुग्न अर्को सास्ती व्यहोर्नुपर्‍यो । बागलुङ बजारबाट झोलुङ्गे पुल तरेर पर्वतको अदुवाबारी हुँदै पाङसम्म करिब ४५ मिनेट हिँडेपछि मात्र उनले पोखराका लागि गाडी भेटाइन् । बागलुङ र पर्वतको सीमा मालढुङ्गामा कालीगण्डकी नदीमाथिको पुल भत्किएपछि यात्रुहरू कठिनाइ सहँदै वैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका छन् ।

    मालढुङ्गाको पुलसँगै पर्वतको कुश्मा नगरपालिका-२ नयाँपुलमा कालीगण्डकी नदीले सय मिटरभन्दा बढी सडक कटान गरेपछि मध्यपहाडी लोकमार्ग भएर बागलुङ, पोखरा हुँदै बाहिरी गन्तव्यमा जाने यातायात सेवा प्रभावित बनेको छ । लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट लोकमार्ग हुँदै काठमाडौँका लागि छुट्ने यातायातका साधन पनि सञ्चालनमा आउन सकेका छैनन् ।

    मध्यपहाडका अधिकांश जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लोकमार्ग अवरुद्ध हुँदा बिरामी र अशक्त झनै अप्ठ्यारोमा परेका छन् । बिरामी लिएर पोखरा आउनुभएका बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाका प्रेम श्रीसले मालढुङ्गाको पुल छिटो पुनर्निर्माण गर्नुपर्ने बताए । “बागलुङ जोड्ने मुख्य सडक र पुलमा क्षति पुगेकाले आवातजावत र ढुवानीमा ठूलो समस्या देखिएको छ”, उनले भने, “राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले जतिसक्दो चाँडो लोकमार्ग सञ्चालनमा ल्याउनुपर्छ ।”

    धवलागिरि–गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले वैकल्पिक सडक प्रयोग गरेर मुश्किलले साना सवारीसाधन मात्र सञ्चालन भइरहेको बताए । “बस सञ्चालन गर्न सक्ने अवस्था छैन, सबैभन्दा समस्या बिरामीलाई परेको छ”, उनले भने, “आज बिहानमात्रै बागलुङबाट बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आयो ।” उनले लोकमार्गमा क्षति पुगेका सडक-पुलको पुनर्निर्माणमा सरकारले तदारुकता देखाउनुपर्ने बताए ।


    बागलुङबाट पोखरालगायत गन्तव्यमा छुट्ने साना सवारीसाधन कालीगण्डकी करिडोर भएर ज्यामिरेघाट–फलेवास हुँदै झण्डै एक घण्टाको फेरो बाटोबाट लोकमार्गमा निस्कने गरेका छन् । बागलुङ–पोखरा चल्ने विद्युतीय माइक्रोबसले बागलुङ बजारबाट हिँडेर पर्वतको पाङसम्म आइपुगेका यात्रुलाई अर्मादी हुँदै पोखरा ल्याउन वैकल्पिक सडक प्रयोग गरिरहेको माइक्रोका चालक सुवास परियारले बताए ।


    “मालढुङ्गाको पुल नै भत्केपछि ठूलो समस्या भएको छ, यो पुल छिटो बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने जरुरी छ”, उनले भने, “चाडपर्वको बेला छ, यो बेला हामीले पनि धेरै यात्रुलाई सेवा दिने समय हो, तर सडक अवरुद्ध हुँदा समस्या भइरहेको छ ।” कालीगण्डकी करिडोरबाट फलेबास हुँदै आउने सडक पनि वर्षाले क्षति पुर्याएका कारण यात्रा सहज नरहेको उनको भनाइ छ ।

    पर्वतका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले नयाँपुलमा सडक कटान गरेको ठाउँमा अस्थायी रूपमा नयाँ मार्ग खोल्ने काम सुरु भइसकेको बताए । एकदुई दिनमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्ने गरी काम भइरहेको उनको भनाइ छ । मालढुङ्गाको पुलमा क्षतिग्रस्त भएको ठाउँमा ‘बेलीब्रिज’ राख्ने कि अन्य प्रविधिबाट पुनर्निर्माण गर्ने भन्ने विषय एकिन भइनसकेको प्रजिअ क्षेत्रीले बताए ।


    “सम्बन्धित क्षेत्रका इन्जिनियर र प्राविधिकहरूबाट पुलको अध्ययन तथा अवलोकन भइसकेको छ, यथाशक्य छिटो पुल सञ्चालनमा ल्याउन पहल भइरहेको छ”, उनले भने। कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध गरेको थियो ।

    कतिपय ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा आए पनि ठूलो क्षति पुगेका ठाउँमा यातायात सहज हुन अझै केही समय लाग्ने देखिएको छ । नेपालको उत्तरीनाका चीनको कोरलासँग जोडिएको मालढुङ्गादेखि बेनी हुँदै मुस्ताङ जोड्ने सडक पनि सञ्चालनमा आउन सकेको छैन ।

  • बाढी प्रभावित प्रहरीका सन्नतिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

    बाढी प्रभावित प्रहरीका सन्नतिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

    काठमाडौँ, १३ असोजः नेपाल प्रहरीले कर्तव्यपालनाको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना प्रहरी कर्मचारीको सन्ततिलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले प्रभावित प्रहरी परिवारका अन्य सदस्यको जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनाका लागि विशेष ध्यान दिने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।


    उनीहरूलाई आवश्यकताअनुसारका सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरी रोजगारीको समेत उचित व्यवस्था मिलाउने बैठकको निर्णय छ । जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा समर्पित प्रहरी कर्मचारीको त्याग र समर्पणको उच्च मूल्याङ्कन गर्दै सो कदम चालिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।

  • रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

    रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय


    रसुवा, १३ असोजः भोटेकोशी नदीमा आएको विनासकारी बाढी र विपद्पछि सिर्जित जटिल अवस्थालाई सम्बोधन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले १२ बुँदे निर्णय गरेको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख निरध्वज घर्तीमगरको अध्यक्षतामा बसेको सरोकार भएका निकायका प्रतिनिधि सहभागी बैठकले बाढीबाट भएको क्षति, स्वास्थ्य सेवा प्रवाह तथा आगामी कार्ययोजनासम्बन्धी निर्णय पारित गरेको हो ।

    बैठकले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउने स्वास्थ्यकर्मी, कर्मचारी तथा सर्वसाधारणप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बाढीका कारण नौकुण्ड गाउँपालिकामा भौतिक क्षति नभए पनि मानवीय, स्वास्थ्य तथा जनजीवनमा गम्भीर असर पुगेकाले उक्त गाउँपालिकालाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न सम्बन्धित अधिकारप्राप्त निकायसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको जनस्वास्थ्य प्रमुख घर्तीमगरले जानकारी दिए ।


    उनका अनुसार बाढीका कारण सडक सञ्जाल विच्छेद भई गम्भीर बिरामीहरूको प्रेषण (रेफर)मा जटिलता उत्पन्न भएकाले न्यूनतम छ महिनाका लागि जीवजिवे ग्रामीण अस्पताल र दोबो तेम्बा फुर्पु आधारभूत अस्पतालमा विशेषज्ञ चिकित्सक (एमडिजिपी), एनेस्थेसिया सहायक तथा छात्रवृत्ति करारका मेडिकल अधिकृत उपलब्ध गराउन बागमती प्रदेश सरकारसँग माग गरिएको छ ।

    भौगोलिक विकटताका बीच स्वास्थ्य सेवा पुर्याउन दोबोतेम्बा फुर्पु आधारभूत अस्पतालमा सञ्चालित टेलिमेडिसिन कार्यक्रमलाई थप सुदृढ गरिने भएको छ । बाढीले स्याफ्रुबेँसी स्वास्थ्यचौकी पूर्ण रूपमा क्षतिग्रस्त भएकाले खोप सेवाको निरन्तरताका लागि गोसाइँकुण्ड गाउँपालिकाको कोल्डचेन सबसेन्टर रसुवा स्वास्थ्यचौकीमा कायम गर्ने निर्णय गरिएको छ । साथै, बाढी प्रभावित क्षेत्रमा सञ्चालन हुने स्वास्थ्य शिविरहरूमा ‘सामुदायिक आँखा केन्द्र, रसुवा’लाई पनि सहभागी गराइने कार्यालयले जनाएको छ ।

    बैठकले आर्थिक वर्ष २०८२–८३ को जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम आगामी असोज २१ र २२ गते आयोजना गर्ने निर्णयसमेत गरेको छ । बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाले समीक्षा गर्न नसकेको अवस्थामा सहज भएपछि मात्र गर्ने र अन्य पालिकाहरूमा दसैँलगत्तै पालिकास्तरीय समीक्षा गरिने जनस्वास्थ्य प्रमुख घर्तीमगरले बताए । बाढीबाट क्षति पुगेका स्वास्थ्य संस्थाहरूको तथ्याङ्क सङ्कलन र प्रतिवेदन प्रणालीलाई नियमित गर्न पालिकाका तथ्याङ्क फोकल पर्सनहरूलाई जिम्मेवारी दिइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

  • अख्तियारद्वारा १० जनामाथि आरोपपत्र दायर

    अख्तियारद्वारा १० जनामाथि आरोपपत्र दायर

    काठमाडौँ, १३ असोजः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाले आर्थिक हिनामिना गरेका भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

    आयोगले सो नगरपालिकामा आव २०७६\७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालनका लागि प्राप्त रु १६ लाख ७२ रकम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त सर्शत अनुदान रकम तोकिएको कुनै कार्यक्रम नगरी हिनामिना तथा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर गरेको हो ।

    आयोगले मिलेमतो गरेको भन्दै राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, तत्कालीन लेखापाल नवीनकुमार बराल, वडा नं १ का तत्कालीन वडाध्यक्ष रमेश न्यौपाने, वडा नं ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नं ४ का तत्कालीन वडाध्यक्ष जैमान गुरुङ, वडा नं ५ का तत्कालीन वडाध्यक्ष नन्दबहादुर कुमाल, वडा नं ६ का तत्कालीन वडाध्यक्ष रूकबहादुर तामाङ गुरुङ, वडा नं ८ का तत्कालीन वडाध्यक्ष कृष्णप्रसाद लामिछाने र वडा नं ७ का तत्कालीन वडाध्यक्ष माधवप्रसाद पराजुलीलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा फरकफरक बिगो कायम गरी कैद सजाय र बिगो बमोजिम जरिवाना गरी बिगो असुलउपर हुन माग दाबी गरिएको बताए ।

  • राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    काठमाडौँ, १३ असोजः राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन् ।
    राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा भारतीय राजदूत श्रीवास्तवलाई बधाई दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरे । नेपालका लागि आफ्नो कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।


    भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका थिए । उनले हालै बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्‍याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकामा बधाई दिँदै आगामी जीवनका लागि शुभकामनासमेत व्यक्त गरे । त्यस अवसरमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच कैयौँ विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्‍याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।

  • बाढी–पहिरोबाट अवरुद्ध एनटिसीको सेवा शीघ्र सञ्चालनमा ल्याउन सञ्चारमन्त्रीको निर्देशन

    बाढी–पहिरोबाट अवरुद्ध एनटिसीको सेवा शीघ्र सञ्चालनमा ल्याउन सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौँ, १३ असोज स् सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडि (अर्याल) लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग आज मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध दूरसञ्चार सेवा, हालसम्मको पुनःस्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी लिए ।


    छलफलमा उनले प्राकृतिक विपत्तिका कारण सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित नागरिक, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय तथा अन्य सरोकारवाला निकायलाई समेत कठिनाइ हुने भएकाले सञ्चार सेवा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए । सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रभावित क्षेत्रको भौगोलिक अवस्था, सडक तथा विद्युत् संरचनामा भएको क्षति र उपकरण तथा प्राविधिक जनशक्ति परिचालनमा हालसम्म भएगरेका कामबारे समेत जानकारी लिएका थिए । उनले तत्काल विद्युत् आपूर्ति पुर्‍याउन नसकिने स्थानमा वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सञ्चालनमा ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिए ।


    छलफलमा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवालले बाढी तथा पहिरोका कारण टेलिकमका विभिन्न साइटमा पुगेको क्षति र सेवा पुनःस्थापनाका लागि भइरहेको कामबारे जानकारी गराए । उनका अनुसार अधिकांश प्रभावित टावरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको थियो । सडक तथा अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेका कारण केही स्थानमा प्राविधिक टोली तथा आवश्यक उपकरण लैजान कठिनाइ भएको छ ।

    विद्युत् आपूर्ति तत्काल पुनःस्थापना गर्न सम्भव नभएका स्थानमा हेलिकप्टरमार्फत जेनेरेटर तथा आवश्यक उपकरण ढुवानी गरी सेवा सञ्चालनमा ल्याउनुपर्ने अवस्था रहेको प्रमुख सञ्चालन अधिकृत सिलवालले जानकारी गराए । केही स्थानमा सेवा सञ्चालनका लागि आवश्यक सामग्रीसँगै प्राविधिक जनशक्तिसमेत हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको उनले बताए ।


    नेपाल टेलिकमले अवरुद्ध सेवा पुनःसञ्चालनका लागि आवश्यक जनशक्ति तत्काल परिचालन गरेको र प्रभावित साइटलाई प्राथमिकताका आधारमा पुनःसञ्चालन गरिरहेको जनाएको छ । सडकमार्गबाट पुग्न नसकिने तथा विद्युत् आपूर्ति तत्काल सम्भव नभएका स्थानमा वैकल्पिक व्यवस्था गरी सेवा सञ्चालनमा ल्याउने काम भइरहेको पनि टेलिकमले जनाएको छ ।

    एक हजार दुई साइट पुनःसञ्चालन

    टेलिकमका अनुसार यही असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण विद्युत् आपूर्तिसमेत अवरुद्ध हुँदा एक हजार १३२ वटा टेलिफोन टावर प्रभावित भएका थिए । तीमध्ये हालसम्म एक हजार दुई वटा साइट पुनःसञ्चालनमा आइसकेका छन् भने १३० वटा साइट अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसकेका टेलिफोन टावरलाई शीघ्र सञ्चालनमा ल्याउनका लागि विद्युत् आपूर्ति, उपकरण, प्राविधिक जनशक्ति तथा ढुवानी व्यवस्थालाई प्रभावकारी रूपमा परिचालन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाले निर्देशन दिए ।


    टेलिकमले उपलब्ध गराएको विवरणअनुसार हाल म्याग्दीमा २४, रोल्पामा १९, मनाङमा १५, प्युठानमा १५, बागलुङमा १३, पाल्पामा ११, गुल्मीमा नौ, अर्घाखाँचीमा सात, दाङमा छ, मुस्ताङमा चार र पर्वतमा तीनवटा टेलिफोन टावर सञ्चालनमा आउन बाँकी छन् । त्यस्तै, कपिलवस्तु, नवलपरासी, गोरखा, लमजुङ, रूपन्देही, स्याङ्जालगायत जिल्लामा पनि केहि टेलिफोन टावर अझै सञ्चालनमा आउन सकेका छैनन् । प्रभावित जिल्लाका बाँकी साइटमा समेत प्राविधिक टोली परिचालन गरी सेवा पुनःसञ्चालनको काम भइरहेको नेपाल टेलिकमले जनाएको छ ।