Category: फिचर

  • बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

    बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

    बागलुङ, १२ असोजः बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । शनिबार एक जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ ।

    तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठ घर बगाएको छ । तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता भएका छन् ।


    निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उहाँका छोरा १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन् । यस्तै, निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ । शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

    बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली पुगेको थियो ।

    बाढी र पहिरोले तनहुँमा २४ घरमा क्षति

    विगत केही दिनदेखिको वर्षाका कारण बाढी र पहिरोले तनहुँका छ स्थानीय तहमा २४ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार व्यास नगरपालिकामा पाँच, म्याग्दे गाउँपालिकामा दुई, घिरिङ गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा दुई, बन्दीपुर गाउँपालिकामा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ ।

    क्षति पुगेका घरका परिवारलाई प्रहरी टोलीले सुरक्षित स्थानमा सारेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण व्यास नगरपालिका–१ स्थित राइस मिलमा क्षति पुग्दा एक सय बोरा धान भिजेको छ । भिमाद नगरपालिका–६ मालेबगरमा कुखुराफार्म र बङ्गुरको खोरसमेत बगाएको छ ।

    देवघाटको सीता गुफा परिसरमा बाढीले क्षति

    तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचना तथा सामान बगाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बाढीले सीता गुफा नजिकको शौचालय, बाथरुम, ठूलो ढुङ्गामा कुँदिएको १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति, स्टोरका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री बगाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले सीता गुफामा पूजा गर्ने ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, २ जनाको मृत्यु, एक दर्जन वेपत्ता

    मनाङको हिम्लुङ हिमालमा पहिरो, २ जनाको मृत्यु, एक दर्जन वेपत्ता

    मनाङ, ११ असोजः मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । पहिरोमा परी मानवीय क्षति भएको छ । हिमाल आरोहणमा गएका २२ जना (नौ जना पर्वतारोही र १३ जना सहयोगी) मध्ये करिब एक दर्जन बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।

    प्रहरीका अनुसार २ जनाको शव भेटिएको छ । उनीहरु सबैजना पर्वतारोहणको तयारी गर्न त्यसतर्फ गएका थिए । उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङ आए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको प्रजिअ खनालले बताउनुभयो । हिमपहिरोबाट के कति क्षति भयो भन्ने एकिन जानकारी प्राप्त हुन नसकेको उनले बताए ।


    यसैबीच लमजुङ हिमालको बेसक्याम्पमा पहिरो गएपछि घट्टे खोला थुनिएको छ । पहिरोले चामे गाउँपालिका–४ स्थित घट्टे खोला थुनिएको हो । खोला थुनिएपछि अहिले चामे गाउँपालिका–३, ४ र ५ नम्बर वडाका बासिन्दालाई नेपाली सेनाको नयाँ भैरवी दलभित्र राखिएको प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन् ।

  • वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

    वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

    काठमाडौँ, ११ असोजः विगत चार दिनदेखिको निरन्तर वर्षाद्ले गोकर्णेश्वर उत्तरगया पितृतीर्थ क्षेत्रमा सोह्र श्राद्ध गर्न आउनेहरू प्रभावित भएका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो । आज प्रतिपदा तिथि श्राद्ध गरिँदैछ । विगतका वर्षमा सोह्र श्राद्धको पहिलो दिन यस क्षेत्रमा सयौँ मानिसले श्राद्ध गर्ने स्थानका लागि तोकिएको शुल्क तिरेर रसिद काट्ने गरेकामा यस वर्ष ६६ जनाले मात्र रसिद काटेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए ।

    उनका अनुसार यहाँ श्राद्ध गर्नेलाई समितिले सरसफाइका लागि रु २०० शुल्क लिने गरेको छ । विगत चार दिनदेखिको निरन्तर वर्षाले श्राद्ध गर्न आउनेहरू प्रभावित भएका उनले बताए । गोकर्णेश्वर मन्दिरभन्दा ५०० मिटरमाथिको दूरीमा रहेको कान्तिभैरव उत्तरगया क्षेत्रमा भने बिहानदेखि छ जनाले मात्र श्राद्ध गर्न रसिद काटेका कान्तिभैरव मन्दिर व्यवस्थापन समितिका कर्मचारी कोपिला थापाले जानकारी दिइन् । पानी नपरेका बेला भने यहाँ पनि दैनिक १०० जनाभन्दा धेरै मानिस श्राद्ध गर्नकै लागि आउने गरेका थिए ।

    राजधानीमा डेरा लिएर बसेकाहरू गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा आएर श्राद्ध गर्दछन् । डेरामा श्राद्ध गर्नुहुँदैन भन्ने मान्यता राख्नेहरू र डेरामा ठाउँ अभाव हुनेहरूले यहाँ आएर श्राद्ध गर्दछन् । धर्मशास्त्रविद् तोयराज नेपालले भने डेरामा ठाउँ भएसम्म श्राद्ध गर्न शास्त्रीय वचनका आधारमा कुनै बाधा नपर्ने बताए । भाडा तिरेर बसिसकेपछि रकम तिरुञ्जेल आफ्नै हुने भएकाले डेरामा श्राद्ध गर्न धर्मशास्त्रीय ग्रन्थले भने अनुसार कुनै बाधा नरहेको उनले बताए ।

    डेरामा ठाउँ अभाव भएर तीर्थमा गएर तिथिको श्राद्ध गर्नुपर्दा पहिले तीर्थ श्राद्ध गरेरमात्र तिथि वा सोह्र श्राद्धको तिथिको श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको जानकारी पनि धर्मशास्त्रविद् नेपालले दिए । तीर्थ श्राद्ध र तिथिको वा सोह्र श्राद्ध एकै दिन गर्दा तीर्थ श्राद्ध आफ्ना पुरेतबाट नभई अलग्गैबाट गर्नुपर्ने पनि उनले बताए । दुवै श्राद्ध एकै पुरेतबाट गराएर सिदा र दक्षिणा दान एकै जना ब्राह्मणलाई गराउन नहुने शास्त्रीय वचन रहेको छ ।

  • सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

    वालिङ ९स्याङ्जा०, ११ असोजः अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ । स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र सेतीखोलाको किनारमा अवस्थित सेतीवेणी बजार डुबानमा परेको हो । चार दिनदेखि निरन्तर रुपमा परेको वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फको बजारका १७ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । त्यस्तै, पर्वततर्फका नौ घरमा क्षति पुगेको गल्याङ(५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताए ।


    “स्याङ्जातर्फका १७ घरमा बाढी पस्दा घरहरू भत्किनुका साथै डुबानमा परेका छन्”, उनले भने, “गएराति २ः०० बजेतिरदेखि नदी तथा खोलामा बहाव बढेसँगै स्याङ्जा र पर्वततर्फका बाढी प्रभावितलाई पर्वततर्फको शालिग्राम मावि परिसरमा राखिएको छ ।” विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावितलाई तत्काल खानपान तथा आश्रयको व्यवस्थापन मिलाइएको उनले बताए । बाढीका कारण मानवीय क्षति नभएपनि केही पशुचौपाया भने नदीले बगाएर लगेको उनको भनाइ छ ।

    बजार डुबानमा परेपछि अहिले त्यहाँको जनजीवन प्रभावित बनेको छ । बाढीका कारण विश्व विराट शालिग्राम शीला डुबानमा परेको छ । कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मा मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत् परियोजनाका सबै ढोका खोलेर विद्युत उत्पादन बन्द गरिएको छ । नदीमा आएको बाढीले आज बिहान मिर्मीस्थित स्याङ्जा र गुल्मीलाई जोड्ने मोटरेबल पुलसमेत बगाएको थियो ।

  • विपदबाट चार दिनमा १५ जनाको मृत्यु

    विपदबाट चार दिनमा १५ जनाको मृत्यु

    काठमाडौँ, ११ असोजः देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ । विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । विपद्का घटनामा चार जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    बाढी, पहिरो तथा डुबानमा परेका एक हजार २८४ जनाको उद्धार गरिएको छ । अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताए ।

  • सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो

    सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो

    नवलपरासी (बर्दघाट) । ११ असोजः अविरल वर्षाका कारण नारायणी नदीको बाढी सुस्तामा पसेपछि स्थानीयलाई नारायणीवारि ल्याइएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ मा शुक्रबारदेखि बाढी पसेको हो । जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ताको थारु, वडाका टोललगायत क्षेत्रमा बाढी पसेपछि स्थानीय नागरिकलाई सुस्तामा रहेका आश्रयस्थलमा राखिएको थियो ।

    नारायणीमा बाढीको तह बढ्दै गएपछि ८०० भन्दा बढी नागरिकलाई नारायणीवारि सुस्ता बालिनगरमा रहेको बिपी माध्यमिक विद्यालयमा ल्याइएको उनले बताए । उनले भने, “सुस्तामा २१९ घरधुरीमा एक हजार ४५० भन्दा बढी नागरिक छन् । केही पहिलै आफन्तको घरमा गएर बसेका छन् भने बाँकीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा वारि ल्याउने काम भएको हो ।”

    “सुस्तावारि आउन नारायणी नदीमा झोलुङ्गे रहेकामा पुलमा जलसतह बढेपछि केही माथि उकालेर विद्यालयमा पुर्‍याउन ढिलाइ भएको हो”, प्रजिअ नेपालले भने । उद्योग वाणिज्य महासङ्घ नवलपरासी र नवलपरासी रेडक्रसले राहत सामग्री लिएर सो क्षेत्रमा पुगेको उनले बताए । अहिले गण्डक ब्यारेजमा चार लाख ७९ हजार १०० क्यूसेक पानी मापन गरिएको गण्डक योजना कार्यालय भैसालोटन बाल्मकीनगरका सम्पर्क तथा भूआर्जन अधिकृत सोभित हलुवाईले बताए ।

  • सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध

    सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध

    काठमाडौँ, ११ असोजः सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथ क्षेत्रमा छ सयभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन् । बिहानैदेखि वर्षा भए पनि श्रद्धालुहरू आफ्ना दिवङ्गत पितृको सम्झनामा धार्मिक विधिअनुसार श्राद्ध गर्न पशुपति क्षेत्रमा पुगेका थिए । पशुपति क्षेत्रमा लामो समयदेखि श्राद्धलगायत धार्मिक कर्मकाण्ड गराउँदै आउनुभएका कलङ्कीका पण्डित शेषकान्त पन्तका अनुसार वर्षाका कारण विगतका वर्षको तुलनामा यस वर्ष पहिलो दिन श्रद्धालुको सङ्ख्या केही कम देखिएको हो ।

    उनले सोह्र श्राद्ध पितृहरूको सम्झना र सम्मानमा गरिने धार्मिक परम्परा भएको उल्लेख गर्दै पहिलो दिनमै वर्षा भएकाले श्रद्धालुको आवागमन प्रभावित भएको बताए । पितृहरूको आत्माको शान्तिको कामना गर्दै सोह्र श्राद्धका अवसरमा विभिन्न धार्मिक तथा तीर्थस्थलमा श्राद्ध, तर्पण र पिण्डदान गर्ने प्रचलन छ ।
    यस अवधिमा विशेषगरी पशुपतिनाथ क्षेत्रमा दिवङ््गत आफन्तको सम्झनामा धार्मिक कर्मकाण्ड गर्ने श्रद्धालुको बाक्लो उपस्थिति रहने गरेको पण्डित गङ्गाराज दाहालले बताए । उनका अनुसार आजदेखि सुरु भएको सोह्र श्राद्ध औँसीसम्म चल्नेछ ।

    यस अवधिमा श्रद्धालुहरूले आफ्ना दिवङ्गत पितृको सम्झनामा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने परम्परा रहिआएको छ । वर्षाका कारण बिहान श्रद्धालुको आवागमन केही प्रभावित भए पनि दिउँसोसम्म पशुपतिनाथ क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदान गर्नेहरूको चहलपहल जारी थियो ।

    कोटेश्वरबाट श्राद्ध गर्न पशुपति आएका कमल अधिकारीले वर्षा भए पनि तिथिअनुसार श्राद्ध गर्नुपर्ने भएकाले आफूहरू आएको बताए । उनले सोह्र श्राद्धको अन्तिम दिन श्रद्धालुको उपस्थिति अझ बाक्लो हुने अपेक्षा गरे । सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको चहलपहल बढेको छ । श्रद्धालुहरूको आगमनसँगै पण्डितहरूलाई पनि श्राद्ध, तर्पण तथा पिण्डदानलगायत धार्मिक कर्मकाण्ड गराउन भ्याइनभ्याइ भएको छ ।

  • बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

    बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

    गुल्मी, ११ असोजः अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार कालीगण्डकी गाउँपालिकाका १५, सत्यवती गाउँपालिकाका ३० घर, रुरुक्षेत्र गाउँपालिकाका ४०, मुसिकोट नगरपालिकाका १२ र रेसुङ्गा नगरपालिकाका २५ घर जोखिममा परेका छन् । त्यसैगरी गुल्मीदरबार गाउँपालिकाका पाँच, चन्द्रकोट गाउँपालिकाका ७०, धुर्कोट गाउँपालिकाका १५, इस्माका १२ र छत्रकोट गाउँपालिकाका सात घर पहिरोको जोखिममा परेका उनले जानकारी दिए ।


    प्रहरी उपरीक्षक बोगटीले जिल्लामा बाढीपहिरोबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको बताए । जोखिममा रहेका तथा विस्थापित परिवारको विवरण थपिन सक्ने भएकाले घटनाको विवरण सङ्कलन भइरहेको उनले बताए । बाढीपहिरोका कारण उच्च जोखिममा परेर विस्थापित परिवारलाई स्थानीय पालिकाहरूको सहयोगमा सुरक्षित स्थानमा सार्ने आवश्यक सहयोग उपलब्ध गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • रास्वपाद्वारा सांसदका स्वकीयलाई अभिमुखीकरण

    रास्वपाद्वारा सांसदका स्वकीयलाई अभिमुखीकरण

    काठमाडौँ, ११ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदका स्वकीय सचिवका लागि अभिमुखीकरण गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आज भएको सो अभिमुखीकरणमा मुख्यसचेतक कवीन्द्र बुर्लाकोटी तथा सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिए ।

    कार्यक्रममा मुख्यसचेतक बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यबारे सहभागीलाई प्रशिक्षत गरे । उनले स्वकीय सचिवको जिम्मेवारी पूर्णकालिक, संवेदनशील र संस्थागत हुने उल्लेख गर्दै सांसदको दैनिक कार्यसम्पादन सहज बनाउनेदेखि अध्ययन, समन्वय, सूचना व्यवस्थापन र नागरिक सम्पर्कसम्मका कामलाई व्यवस्थितरुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।


    यस्तै सचेतक परियारले स्वकीय सचिवको भूमिका तथा अर्का सचेतक धितालले स्वकीय सचिवका विभिन्न जिज्ञासा, प्रश्न र व्यावहारिक चुनौतीबारे स्पष्ट पारेको मुख्य सचेतक बुर्लाकोटीले जानकारी दिए ।

  • कोरला सडक पूर्ण रूपमा अवरुद्ध

    कोरला सडक पूर्ण रूपमा अवरुद्ध


    मुस्ताङ, ११ असोजः शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण (जोमसोम–कोरला) सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरबाट कोरला नाकासम्मको सडकमा ठाउँठाउँ पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी हिमपात हुँदा आवागमन रोकिएको हो ।

    वर्षाका कारण राष्ट्रिय गौरवको कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा वैकल्पिक कोरला नाका ठप्प हुँदा सयौँ कन्टेनर भन्सार यार्डमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गएरातिको भारी वर्षा र हिमपातले मुस्ताङको काभ्रेभीरबाट कोरला नाकासम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार म्याग्दी-मुस्ताङ सिमाना काभ्रेभीर खण्डमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेर सडक अवरुद्ध बनेको छ ।

    भारी वर्षाका कारण मुस्ताङको थासाङ गाउँपालिका(४ घाँसा क्षेत्रका कतिपय ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको उहाँले जानकारी दिए । उनले तल्लो घाँसा, घाँसा चेकपोस्ट नजिकलगायत स्थानमा सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिए ।

    यसैगरी घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ फार्म नजिकैको फाराम खोलामा बाढी आउँदा सडक अवरुद्ध भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । बाढीका कारण सडक अवरुद्ध भए पनि भौतिक क्षति नभएको उनले बताए । त्यहाँ गाउँपालिकाको डोजर लगेर सडक खुलाउने प्रयास गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार कोरला नाका जोड्ने जोमसोम-पान्डा खोला सडकमा गए रातिको वर्षाले सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यहाँका प्रहरी निरीक्षक बस्यालका अनुसार कागबेनीबाट वारागुङ-३ चैलेसम्मको सडक पनि अवरुद्ध भएको छ । कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन स्थानमा पहिरो खसेर सडक संरचनामा क्षति पुगेको उनले बताए ।


    यसैगरी मुस्ताङमा गएराति भारी वर्षा भइरहँदा लोमान्थाङ र कोरलानाका क्षेत्रमा भारी हिमपात भएको छ । लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का ईञ्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरला नाका र भन्सार क्षेत्रमा गए राति भारी हिमपात भएको छ ।

    हिमपातका कारण कोरलानाकाको दशजगजा क्षेत्रमा पाल टाँगेर बस्ने स्थानीय व्यापारी समस्यामा परेका छन् । भारी हिमपातले स्थानीय व्यापारीले टाँगेका आधा दर्जन बढी पाल भत्किएका छन् भने कोरलाबाट लोमान्थाङ आवतजावत गर्ने राष्ट्रिय राजमार्ग सडक हिउँले पूर्ण रूपमा अवरुद्ध बनेको बिओपी इञ्चार्ज धितालले उल्लेख गरे ।


    कोरलानाका क्षेत्रमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण नेपाल(चीन निकासी तथा पैठारी व्यापार पूर्ण रुपमा प्रभावित भएको छ । बिओपी ईञ्चार्ज धितालका अनुसार कोरलानाकास्थित मुस्ताङ भन्सार यार्डमा २०० भन्दा बढी कन्टेनर अलपत्र परेका छन् । भन्सार जाँच पास भइसकेका र सीमापारी मालवस्तु लिन जाने खाली कन्टेनर यथास्थानमा रोकिएको उनको भनाइ छ । कोरलानाका क्षेत्रमा एक फिट बढी हिउँ परेको इञ्चार्ज धितालले जनाए ।


    त्यस्तै भारी वर्षाका कारण विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । जोमसोम विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारीका प्रमुख सनप्रसाद थकालीका अनुसार घरपझोङ र थासाङ गाउँपालिकाको सिमाना चोखोपानीमा २४० किलोवाट क्षमताको जलविद्युत् गृहमा बाढी पसेर बन्द भएको हो । वर्षाका कारण गएरातिदेखि म्याग्दीको दानाबाट कोवाङसम्मको ३३ केभीए प्रसारण लाइनको सम्पर्क विच्छेद हुँदा मुस्ताङको विद्युत् सेवा पूर्ण रूपमा अवरोध भएको उनले बताए ।


    जिल्ला प्रहरी कार्यालय मुस्ताङले गए रातिको वर्षाले पुर्‍याएका क्षति विवरण सङ्कलन गर्नमा सञ्चार सम्पर्क हुन नसक्दा समस्या भइरहेको जनाएको छ । उत्तररदक्षिण जोड्ने बेनी(जोमसोम सडकखण्डको म्याग्दी खण्डमा पनि गएरातिको भारी वर्षाले दर्जनौँस्थानमा सडक अवरुद्ध हुन पुगेको बेनी–जोमसोमकोरला सडक आयोजनाका सुपर भाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

  • पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

    पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

    बागलुङ, ११ असोजः बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक फणिन्द्र प्रसार्इंले जानकारी दिए । अविरल वर्षाका कारण तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको हो ।

    यस्तै पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । सोही पहिरोमा परेर हस्तविर श्रीपालीकी श्रीमती बेपत्ता भएकी छिन् । यसैगरी पहिरोले गोठ पुरिँदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए ।

  • विश्व पर्यटन दिवसमा साइकल (याली

    विश्व पर्यटन दिवसमा साइकल (याली

    ललितपुर, १० असोज । बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ साइकल र्याली आयोजना गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले (यालीको उद्घाटन गरे । पाटन दरबार क्षेत्रबाट सुरु भएको (याली पुल्चोक– कुपण्डोल– माइतीघर–रामशाहपथ– जयनेपाल सडक– नक्साल, टङ्गाल–बालुवाटार– नारायणगोपाल चोक हुँदै धुम्बाहारीमा पुगेर समापन भएको छ । (यालीमा उक्त मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीसहित १५० जना सहभागी थिए ।

  • सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

    सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय


    काठमाडौँ, ११ असोजः नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ । प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले स्पष्ट पारेको छ ।

    भोटेकोशी बाढीले राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । उनले भने, “सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।”

    रसुवा बाढीपछिको एक महिनाको अवधिमा गरिएका खोज तथा उद्धार, स्वास्थ्य सेवा प्रदान र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनाका प्रयासबारे सेनाले राष्ट्रिय समाचार समिति (रासस)लाई उपलब्ध गराएको दस्तावेजमा विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धार भएको ठम्याइँ छ ।

    भोटेकोशी बाढीः खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेपाली सेना

    गत भदौ १० गते भोटेकोशीमा गएको विनासकारी बाढीले नदी आसपासका तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्यायो । यस अप्रत्यासित जलप्रकोपका कारण स्थानीय मानव बस्ती, सडक पूर्वाधार, पुलहरू तथा जलविद्युत् आयोजना क्षणभरमै लेदोमा बिलिन हुन पुगे । यस्तो विकराल र विषम राष्ट्रिय सङ्कटको घडीमा नेपाली सेनाले आफ्नो उत्कृष्ट मानवीय दायित्व निर्वाह गर्दै आपत्कालीन खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह ग¥यो ।

    विपद्को खबर प्राप्त हुनासाथ रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत इलाकामा तैनाथ सैनिक युनिट तत्काल उद्धार कार्यका लागि खटिएका थिए । विषम परिस्थितिमा उद्धार अभियानलाई चुस्त बनाउन नौ हजार ३०० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिनुका साथै कम्पोजित क्विक रियाक्सन टिम (सिक्युआरटी) र आपत्कालीन मेडिकल टिमसहित तुरुन्त चारवटा हेलिकप्टर खोज तथा उद्धारका लागि खटाइएका थिए । भौगोलिक विकटता र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको चुनौतीपूर्ण स्थितिमा सेनाले हवाई उद्धार, जमिनी उद्धार, टनेल उद्धार, स्वास्थ्य सेवा तथा सडक सञ्जाल पुनस्र्थापनामा द्रुतगतिमा कार्य अगाडि बढाइरहेको छ ।

    भौगोलिक जटिलता र सडक सञ्जाल पूर्ण रूपमा बिच्छेद भएको परिस्थितिमा नेपाली सेनाले हवाई मार्गलाई प्राथमिक माध्यम बनायो । एमआई–१७ लगायत सातवटा सैनिक हेलिकप्टर र निजी क्षेत्रका हवाई साधनलाई रणनीतिक रूपमा परिचालन गरिएको थियो । त्रिशूली र धुन्चेमा बेस स्थापना गरी एयर ट्राफिक कन्ट्रोल (एटिसी) सञ्चालनसहित दैनिक १५ देखि २२ वटा हेलिकप्टरमार्फत एक हजार ६०० भन्दा बढी उडानहरू भएका छन् ।

    यस हवाई अभियानबाट कुल चार हजार २४२ जना ९तीन हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक०को सकुशल उद्धार भएको छ । यसका साथै टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेँसीजस्ता स्थानमा हजारौँ किलो खाद्यान्न, औषधि, रासन र अक्सिजन सिलिन्डर एयरलिफ्ट तथा ड्रोनबाट पठाउनुका साथै टनेल क्षेत्रमा खोज तथा उद्धारका लागि अतिआवश्यक उपकरण लैजान स्लिङ अपरेसनसमेत सञ्चालन गरिएको थियो ।

    रसुवागढीदेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धारकार्यलाई उत्तिकै तीव्रताका साथ अगाडि बढाइ नेपाली सेनाले नदी किनार, जङ्गल, डाँडाकाँडा र सडक बिच्छेद तथा बाढीबाट बढी प्रभावित तुप्चे, दानसिङ, कालिकास्थान, स्याफ्रुबेँसीलगायत बस्तीमा निरन्तर पैदल गस्ती सञ्चालन गरी शव सङ्कलन र स्थानीय निकायसँग समन्वय र सहकार्य गरी परिस्थितिको बारेमा जानकारी सङ्कलन गरिएको थियो ।

    अप्ठ्यारो भूभागमा सम्भावित स्थानको पहिचान गर्न थर्मल ड्रोन तथा आधुनिक उपकरणको प्रयोग गरी रेकीसमेत भएका छन् । जमिनी उत्खनन र खोजीका क्रममा फेलापरेका एक हजार ४५१ वटा शवको व्यवस्थापनमा सहयोग गरेको छ । स्थानीय प्रशासन, स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सबै सरोकारवाला पक्षसँग समन्वय र सहकार्यमा यी कार्यहरु भएका छन् ।

    यस विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङहरूभित्र गरिएको उद्धारकार्य हो । जलविद्युत् आयोजनाको सुरुङ इलाकाबाट दुई हजार ७९८ र बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट निरन्तर रूपमा गरिएको अथक प्रयासपश््चात सात जनाको जीवितै उद्धार गर्न सफल भएको छ । त्रिशूली–३ ‘ए’ मा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर र नियन्त्रित विस्फोटमार्फत क्राउन हेड खोली, अक्सिजन पम्प गरेर भदौ १९ गते सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–१ बाट अडिट सुरुङको २२५ मिटर गहिराइबाट रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी चिनियाँ नागरिकको सफल उद्धार गरिनुका साथै जम्मा ३७ वटा शवसमेत सङ्कलन भएका थिए ।

    खोज तथा उद्धार टोलीद्वारा करिब एक हजार ५० मिटर वैकल्पिक बाटो खोली चिलिमे सुरुङको ब्रेकथ्रुपश्चात् पाँचवटा शव तथा मानव अङ्ग सङ्कलन गर्नुका साथै रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा उत्खनन गरी खोज तथा उद्धारकार्य भएको छ । छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुको जनशक्ति तथा प्रविधिसहित नेपाली सेनासँग संयुक्त रूपमा टनेलहरूमा खोज तथा उद्धारकार्यमा संलग्न भएका थिए ।

    त्यसैगरी, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्यका अतिरिक्त बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै सेनाले त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गर्यो, जसबाट तुरुन्त बाढीबाट घाइते र अन्य गरी चार हजार तीन जनाले प्रत्यक्ष चिकित्सा सेवा प्राप्त गरे । सुरुङ तथा भौगोलिक रूपमा विकट इलाकामा गम्भीर घाइते अवस्थामा फेलापरेका नागरिकलाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र अस्पताल पुर्याएर आपत्कालीन उपचार प्रदान गरियो । विस्थापितहरूका लागि अस्थायी आवास र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै महामारी फैलन नदिन स्थानीय निकायसँगको समन्वयमा निसङ्क्रमण अपरेसन सञ्चालन गरिएको थियो ।

    खोज तथा उद्धारकार्य, स्वास्थ सेवा प्रदानका साथसाथै प्रभावित जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनामा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्याएको छ । नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लम्बाइ र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासमा जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइयो । स्याफ्रुबेँसी–चिलिमे र इन्द्रेणी घाटमा तुइन तथा काठका अस्थायी फट्के निर्माण गरिए । बेत्रावतीमा बेलीब्रिज निर्माणकार्य अगाडि बढाउने क्रममा विष्फोटक पदार्थ प्रयोग गरी पुल निर्माण गर्ने स्थानसम्म जाने बाटो निर्माण भइहेको छ ।

    समग्रमा, रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा नेपाली सेनाको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रह्यो । सम्पूर्ण उद्धार अभियान प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच कार्यसम्पादन गरिएको थियो । आफ्नै परिवार तथा सैनिकसमेत विपद्बाट प्रभावित रहेको अवस्थामा पनि नेपाली सेनाले कर्तव्यलाई सर्वोच्च प्राथमिकता दिँदै नागरिकको जीवनरक्षाका लागि निरन्तर अग्रपङ्क्तिमा रही खोज तथा उद्धार कार्य सञ्चालन गरिएको छ ।

    विशेषतः हाइड्रोपावरको साँघुरो र जोखिमपूर्ण सुरुङभित्र करिब १७० मिटर गहिराइसम्म प्रवेश गरी लेदो, चट्टान, सीमित स्थान तथा थप जोखिमको सम्भावनाबीच गरिएको जीवित उद्धार नेपाली सेनाको अदम्य साहस, उच्च व्यावसायिक दक्षता, टोलीगत समन्वय र जोखिम वहन गर्ने सैनिक चरित्रको कारणले सम्भव भएको देखिन्छ ।

    राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तर–निकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको छ । सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।

    साथै, विपद् प्रतिकार्यमा नेपाल सरकारको निर्देशनबमोजिम नेपाली सेनालगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय निकाय र स्थानीय समुदायबीच समन्वय र सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट देखिएको छ ।

  • तिनाउ बाढीमा छ घर बगे

    तिनाउ बाढीमा छ घर बगे

    रूपन्देही, ११ असोजः तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर शाहीका अनुसार बाढीले दुई पक्की र चार कच्ची घर बगाएको हो । घरसँगै त्यहाँका सरसामान पनि बगेका छन् । मानवीय क्षति भने भएको छैन । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । वर्षा रोकिएको छैन ।

  • बाँकेमा हुरीले धानबालीमा क्षति

    बाँकेमा हुरीले धानबालीमा क्षति

    राँझा (बाँके),११ असोजःलगातारको वर्षासँगै शनिबारको हुरीले यहाँको धानबालीमा क्षति भएको छ । नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ । डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ । कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताइन् ।

  • बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

    बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

    बागलुङ, ११ असोजः बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । केहीबेर अघि तीन जनाको शव निकालिएको हो ।

  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो


    म्याग्दी, ११ असोजः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन् ।

    यसैगरी, अन्नपूूर्ण गाउँपालिका–५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ । पुरिएका घरका दुई जनाको खोजी जारी छ ।
    बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा क्षति भएको छ ।

  • सिद्धार्थ राजमार्ग अवरुद्ध

    सिद्धार्थ राजमार्ग अवरुद्ध

    वालिङ (स्याङ्जा), ११ असोजः पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको वालिङ–स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो ।
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका–१ तीनधारे र वालिङ नगरपालिका–१ रामबाच्छामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । प्रहरी, स्थानीय पालिका, सडक विभागको सहकार्यमा बाटो खोल्ने प्रयास जारी छ ।

  • आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

    आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)


    काठमाडौँ, ११ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नपछि गर्नुपर्ने समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।


    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

    यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । सोह्र श्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् ।


    कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिए ।


    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले बताउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । सोह्र श्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफूअनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको धर्मशास्त्रविद्रहरु बताउँछन् ।

    पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत जेठ महिनामा अधिकमास परेकाले सोेह्र श्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।

  • बाढी र झरिको असर पर्यटन व्यवसायमा

    बाढी र झरिको असर पर्यटन व्यवसायमा

    म्याग्दी, ११ असोजः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको हुमखोलास्थित रेष्टुरेन्टका सञ्चालक तेज गुरुङलाई यसअघिका वर्षहरूमा असोजको पहिलो सातादेखि नै फुर्सद हँुदैनथ्यो । असोज–कात्तिकको शरदयाम भ्रमणका लागि आउने पाहुनाहरूको स्वागत, सत्कार र व्यवस्थापनमा सक्रिय हुनुपर्ने समयमा गुरुङ होटल बन्द गरेर नारच्याङस्थित घरमा झरेको शनिबार चार दिन पुगेको छ ।

    “मुख्य पर्यटक यामको मुखमा आएको रसुवा बाढीका कारण धेरै विदेशी पर्यटकले नेपालको भ्रमण रद्द गरेका थिए, अलिअलि आउन थालेका पर्यटकलाई पनि केही दिनदेखिको झरीले रोकेको छ”, उनले भने, “पछिल्लो एक वर्षयता पर्यटन व्यवसाय लयमा फर्कन सकेको छैन ।” गत वर्षको शरदयामको सम्मुखमा भएको नवयुवा आन्दोलन, वसन्तयाममा रुस–युक्रेन द्वन्द्वको असर तथा यसपालि भोटेकोशी बाढी र झरीका कारण म्याग्दीका पर्यटकीयस्थलमा चहलपहल बढ्न सकेको छैन ।

    घोडेपानी पुनहिल, धवलागिरि चक्रीय, ढोरपाटन, गुर्जा, गुरिल्ला, अन्नपूर्ण–धवलागिरि, खोपारा, तातोपानी कुण्ड, टोड्के, रुप्सेलगायत पर्यटकीयस्थल हिजोआज सुनसान बनेका छन् । झरीका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएकाले पाहुना र पर्यटक रोकिएका बेनी–जोमसोम सडकअन्तर्गतको भुरुङ्ग–तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले बताए ।


    “पर्यटन व्यवसायी र मजदुरमात्र नभएर तरकारी उब्जाउने किसान, दूध बेच्ने किसानदेखि माछा मारेर जीविकोपार्जन गरेकाहरूलाई यसले असर पुगेको छ”, उनले भने । सोह्श्रद्धाको समयमा नेपाल र भारतका हिन्दू धर्मावलम्बीहरू दिवङ्गत पितृहरूको नाममा पिण्ड दान गर्नका लागि मुस्ताङको कागबेनी जाने गर्छन् । गत वर्ष सोह्श्रद्धाअघि भएको नवयुवा आन्दोलनका कारण अपेक्षाकृत सङ्ख्यामा पिण्डदानका लागि भक्तजन सडकमार्ग भएर मुस्ताङ जान पाएका थिएनन् ।

    यसपालि सडक अवरोधको असर सोह्श्राद्धको समयमा कागबेनीमा पिण्डदान गर्न जाने भक्तजनहरूमा पर्ने देखिएको व्यवसायी शेरचनको भनाइ छ । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले यसपालिको सिजन बाह्य पर्यटकको कमी हुने देखिएको बताउए ।

    “भोटेकोशी बाढीपछि धेरै पर्यटकहरूले बुकिङ रद्द गरेका छन्”, उनले भने, “भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावितबाहेकका जिल्लाका पर्यटकीयस्थल सुरक्षित छन् भन्ने सन्देश विश्वसामु नपुग्दा नकारात्मक असर देखिएको हो ।” विगतका वर्षमा घोडेपानी नजिकैको पुनहिलमा असोजमा दैनिक ५०० जनाको हाराहारीमा पर्यटक दृष्यावलोकन गर्न जाने गरेकामा यसपालि त्यो सङ्ख्या १०० जनाको हाराहारीमा रहेको पुनले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, लालीगुराँसको जङ्गल अवलोकनका लागि प्रसिद्ध छ ।

    झरीसँगै प्रतिकूल मौसम र हिमपातका कारण म्याग्दीमा रहेको संसारको सातौँ ९आठ हजार १६७० मिटर अग्लो धवलागिरि हिमालमा आएका पर्वतारोहीहरू फर्किएका छन् । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले आधार शिविरमा रहेका ३० जनाको विदेशी पर्वतारोही टोली बिहीबार फर्किएका जानकारी दिए ।

    “असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वसूचना र प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्नका लागि आरोहण टोली सुरक्षित ठाउँमा फर्किएका हुन्”, उनले भने, “चार दिनपछि मौसम सफा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय गर्दै तल्लो क्षेत्रमा रहेको इटली आधार शिविर झरेका छन् ।”

    ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत गत शनिबार ३० जना विदेशी पर्वतारोही टोली धवलागिरिको आधार शिविर पुगेका थिए । मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई पनि बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण जोखिमयुक्त क्षेत्र पहिचान गरेका छन् ।

    पर्यटन विभागले सार्वजनिक सूचना जारी गरेर हिमाली क्षेत्रमा रहेका पर्वतारोहीहरूलाई सतर्कता अपनाउन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मौसम अनुकूल नहुँदासम्मका लागि आधार शिविरतर्फ नजान अनुरोध गरेका छन् । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटकहरू पनि फर्किएका र बिहीबारदेखि पदयात्रा बन्द गरिएको छ ।

  • बर्दियामा वर्षाले तीन घरमा क्षति

    बर्दियामा वर्षाले तीन घरमा क्षति


    बर्दिया, ११ असोजः बर्दियामा अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा तीन घरमा क्षति पुगेको छ । घरको भित्ता भत्किँदा बाँसगढी नगरपालिका–८ रेशम टोलमा एउटा बङ्गुरसमेत मरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानबाट ठूलो क्षति हुन नदिन जिल्ला प्रशासन र प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

    प्रहरीलाई पूर्वतयारी अवस्थामा राखिनुका साथै नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन गाउँगाउँमा माइकिङसमेत गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।
    दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण बाँसगढी नगरपालिका–८ रेशम टोलका जलबहादुर चौधरीको चारकोठे इँटा, माटोको कच्ची घरको दक्षिणतर्फको भित्ता भत्किएको छ ।

    भित्ता भत्किँदा घरसँगै जोडिएको बङ्गुरको खोर च्यापिएर खोरमा रहेको बङ्गुर मरेको प्रहरीले जनाएको छ । त्यसैगरी, मधुवन नगरपालिका–५ का खिरबहादुर गुरुङको चारकोठे कच्ची घरको दक्षिणतर्फको एउटा कोठाको भित्ता भत्किएको छ भने बारबर्दिया नगरपालिका–९ खैरेनीमा दुईकोठे कच्ची घरको पश्चिम र दक्षिणतर्फको भित्ता भत्किएको छ । उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    निरन्तर वर्षाका कारण स्थानीय कुला तथा नालामा पानीको सतह बढेपछि गुलरिया नगरपालिका–१ छेदापुर चोकमा पाँचवटा कच्ची घरमा पानी पसेको छ । पानी घरभित्र पसेको जानकारीपछि प्रहरी र वडाका जनप्रतिनिधिको सहयोगमा प्रभावित परिवारलाई उद्धार गरेर छेदापुरस्थित श्री स्वामी प्रमानन्द प्राथमिक विद्यालयमा बस्ने व्यवस्था मिलाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।


    त्यसैगरी, बढैयाताल गाउँपालिका–१ दैलेखी टोलकी गोमा विकको कच्ची घरमा पनि पानी पसेको छ । वर्षाका कारण प्रभावित परिवारलाई घरका सामानसहित सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । बर्दियामा कर्णाली, गेरुवा र भादा नदीमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दा डुबानको जोखिममा पर्ने गरेका छन् । नदीको जलसतह खतराको चिह्न पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतर्क गराउन साइरन बजाउने गरिएको छ ।

    कर्णाली नदीको चिसापानी जलसतह मापन केन्द्रमा १० मिटर आठ सेन्टिमिटर जलसतह पुगेपछि खतरा तह पार गर्ने जनाइएको छ । हाल उक्त केन्द्रमा नदीको जलसतह खतरा तहभन्दा तल रहेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । वर्षा निरन्तर भइरहेकाले नदीको जलसतह भने बढिरहेको उनले बताए । त्यसैगरी, बबई नदीको जलसतह पनि खतरा तहभन्दा तल रहेको चेपाङस्थित जलसतह मापन केन्द्रका गेज रिडर मोहनलाल जैसीले जानकारी दिए ।

  • सप्तरीका ५०० घर डुबानमा, बागलुङका सबै सडक अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा, बागलुङका सबै सडक अवरुद्ध


    सप्तरी, ११ असोजः लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन् । शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए ।


    उनले भने, “बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ ।”

    बागलुङका विभिन्न सडक अवरुद्ध

    बागलुङः लगातारको वर्षाका कारण बागलुङका दुई राष्ट्रिय राजमार्गसहित दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग सम्पर्क टुटेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसहित विभिन्न शाखा तथा ग्रामीण सडकमा बाढीपहिरोले क्षति पुर्याउँदा यातायात सेवा प्रभावित बनेको हो ।

    गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने गलकोट–ताराखोला सडकको गाईघाट झरना क्षेत्रमा ताराखोला नदीले पक्की सडक कटान गरेपछि शुक्रबारदेखि सडक अवरुद्ध भएको छ । बागलुङ बजारदेखि तित्याङ, रायडाँडा हुँदै भकुण्डे जोड्ने सडकको बागलुङ नगरपालिका–३ गौडाकोटमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित गणेशथान घुम्तीदेखि निरयघाट जाने सडकमा पहिरो खस्दा सडक बन्द भएको छ ।

    पहिरोका कारण बागलुङ बजारदेखि सिगाना हुँदै सायकोट जाने सडकसमेत अवरुद्ध भएको छ । बागलुङ बजारदेखि दब्ल्याङ हुँदै बलेवा–कुश्मिसेरा जोड्ने मुख्य सडक अवरुद्ध भएपछि दक्षिण बागलुङको यातायात सम्पर्क टुटेको छ । बागलुङ बजारदेखि मुलपानी–तितौरे जाने सडकको तल्लो पात्लेमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बरेङ जाने सडक, निसीखोलामा राजमार्गबाट गाउँ जोड्ने साना सडक तथा ढोरपाटनका ग्रामीण सडकमा समेत ठाउँठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले वर्षाका कारण राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार अवरुद्ध सडक खुलाउन सडक आयोजनाका प्रमुख, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी तथा स्थानीय तहसँग समन्वय भइरहेको छ । लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा जिल्लाका विभिन्न ग्रामीण बस्तीको सदरमुकामसँगको यातायात सम्पर्क प्रभावित भएको छ ।

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    कर्णाली, ११ असोजः यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाले सुर्खेत–दैलेख–कालीकोट–बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत–दैलेख–कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला, एस मोड र सुर्खेतको बराहताल गाउपालिका–७ को औलिसेमा गएको पहिरोले करिडोर तथा राजमार्ग दुवै अवरुद्ध भएको छ ।

    त्यस्तै, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–२ सम्लेखोलामा गएको पहिरोले मध्यपहाडी राजमार्ग, सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा गएको पहिरोले राप्ती राजमार्ग बन्द भएको प्रवक्ता राठौरले बताए । उनका अनुसार सल्यानकै बनगाड कुपिण्डे नगरपालिका–८ को र्यालेमा गएको पहिरोले सुर्खेत–सल्यान र त्रिवेणी गाउँपालिका–३ ढुङ्गेबगरमा गएको पहिरोले लुहाम–कालीमाटी सडकखण्ड अवरुद्ध भएका छन् ।

    त्यसैगरी, जाजरकोट छेडागाड नगरपालिका–४ लेवाभिर, कालीकोट तिलागुफा नगरपालिका–१ भिग्म, जुम्ला तातोपानी गाउँपालिका–१ बाइराँका र राँकागाउँ बीचको सडकखण्ड, मुगु रारा छाँयानाथ नगरपालिका–७ र ८ पिनास्थित गमगढी–नाग्म सडकखण्ड पनि बन्द भएको यद्यपि सडक सञ्चालनका लागि पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्ला, जाजरकोट सल्यान र सुर्खेतबाट जेसिबी तथा स्काभेटरलगायतका उपकरण पठाएको प्रवक्ता राठौरले बताए ।

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक


    गण्डकी, ११ असोजः गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो । शनिबार साँझ ६ः०५ बजे १५६ यात्रुसहित पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइ दुबईको जहाजले पोखराबाट ८३ यात्रु लिएर दुबई फर्केको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।


    यसअघि गति बिहीबार दुबईबाट फ्लाइ दुबईमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए । पोखराबाट १४३ यात्रु उक्त जहाजबाट दुबई गएका थिए । शुक्रबार भने खराब मौसमका कारण पोखरा–दुबई उडान रद्द भएको थियो । बुधबार पहिलो उडानबाट ११३ यात्रु दुबईबाट पोखरा आएका थिए । फर्कँदा उक्त जहाजले पोखराबाट १५२ यात्रु लिएर गएको थियो ।

    यस उडानलाई प्रभावकारी र दिगो बनाउन कस्सिएका पोखराका पर्यटन व्यवसायीलगायत सम्बद्ध पक्ष सुरुआतका दिनमा यात्रु सङ्ख्या देखेर उत्साहित छन् । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानको सुरुआती सङ्केत सकारात्मक र उत्साहजनक रहेको बताए । “यात्रुको बुकिङ पनि राम्रो छ, टुर्स एन्ड ट्राभल्स व्यवसायीहरू पनि खुसी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यस उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल, रेष्टुराँले छुट योजना ल्याएका छन् ।” फ्लाइ दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र साँझ ७ः१५ बजे दुबई प्रस्थानको तालिका रहेको विमानस्थलका सूचना अधिकारी रावतले जानकारी दिए ।


    फ्लाइ दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान सुरु गरेको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु गर्ने फ्लाइ दुबई पहिलो वायुसेवा कम्पनी हो । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तरराष्ट्रिय चार्टर उडान गरेका थिए ।

    यो उडान सुरु भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकबाट सजिलै पोखरा आउन सकिने भएको छ । यसबाट पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुनसकेको थिएन ।

    सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान सुरु गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो ।

    सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।

  • पर्वतमा बाढी, पाँच घर बगे

    पर्वतमा बाढी, पाँच घर बगे

    गण्डकी, ११ असोजःकालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् । गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । कालीगण्डकी बाढीले म्याग्दी, पर्वत, बागलुङलगायत जिल्लाका तटीय क्षेत्रमा विभिन्न स्थानमा कटान गरेको छ । गएरातिदेखि कालीगण्डकीमा जलसतह बढेपछि सर्वसाधारणमा त्रास बढेको छ ।

  • सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

    सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

    कास्की, १० असोज । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ । रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरा–९ र पोखरा–११ का सुकुमवासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहहरूसमेत जलमग्न भई जोखिममा परेका छन् । सेतीमा पानीको बहाव बढेर रामघाटमा ताल बनेपछि त्यस वरपरको सुकुमवासी बस्तीमा सुरक्षाकर्मी परिचालन गरी सतकर्ता अपनाइएको र प्रहरीले निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।


    उनका अनुसार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट वरपरको क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । “विगतमा जस्तै पानीको उच्च बहावले ताल बने पनि अहिल्यै आत्तिनुपर्ने अवस्था नभएको स्वयं स्थानीयले बताएका छन् । हामीले सुरक्षाकर्मी परिचालन गरी पूर्वसावधानी र जोखिम मुल्याङ्कन गरीरहेका छौँ । अहिलेको अवस्था हेर्दा आतङ्कित हुनेभन्दा सतर्क र सचेत बन्नु आवश्यक छ । खतरा हुने वित्तिकै नदीको वारी र पारी दुवैतर्फ रहेका बस्तीहरू सुरक्षित स्थानमा छौँ”, सहायक प्रजिअ बरालले भने ।

    बजारको मध्य भाग भएर बग्ने नदीको बहाव रोकिएर ताल बनेपछि पोखरेली भने त्रसित छन् । यसैगरी अविरल वर्षाका कारण जिल्लामा केही ग्रामीण सडकहरू भने अवरुद्ध भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्याउली बजारमा मोदी खोलाले सडक कटान गर्दा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध भएको छ ।

    मोदीले शुक्रबार साँझ स्याउली बजारमा १० मिटर सडक कटान गरेको गाउँपालिका प्रवक्ता भरतमान गुरूङले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा पर्यटकीय क्षेत्र घान्द्रुकको पोखरासँगको सम्पर्क विच्छेद छ ।

  • पछिल्लो विपद्बाट छ जनाको मृत्यु

    पछिल्लो विपद्बाट छ जनाको मृत्यु

    काठमाडौँ, १० असोजः अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ । विपद्बाट बागमती र लुम्बिनी प्रदेशमा दुई-दुई, गण्डकी र कर्णालीमा एकरएक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । बाढीपहिरोमा परी दुई जना घाइते भएका छन् । घाइतेका लागि स्थानीय अस्पताल उपचार भइरहेको छ । प्रहरीले ४०७ जनाको उद्धार गरेको छ ।

  • कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

    कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

    कर्णाली, १० असोज । पानी पार्ने प्रणाली पश्चिम सरेसँगै कर्णाली प्रदेशको हुम्लामा भारी वर्षा भएको छ । यो सन् १९७८ पछिको ठूलो वर्षा हो । असोज ९ गते शुक्रबार दिउँसो १ः०० बजेदेखि १० गते शनिबार दिउँसो १ः०० बजेसम्मको २४ घण्टाको मापन अनुसार हुम्लाको सदरमुकाम सिमकोटमा ११४ दशमलव ८ मिलिमिटर वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतका कार्यालय प्रमुख डा इन्दिरा कँडेलले जानकारी दिए ।

    उनका अनुसार सन् २०२१ मा सिमकोटमा ११० मिलिमिटर र २०१५ मा ९८ मिलिमिटर वर्षा भएको थियो । कार्यालय प्रमुख डा कँडेलले भने, “हुम्लाको हिसाबमा ११४ दशमलव ८ मिलिमिटर पानी पर्नु भनेको यो विषम वर्षा हो । यो रेकड ब्रेक वर्षा पनि हो । समुद्री सतहदेखि दुई हजार ९९३ मिटर उचाइमा रहेको हुम्ला सदरमुकाम सिमकोटमा १४ हजार ११३ दिन वर्षा मापन गरिएको थियो । जसमा एक मिलिमिटरभन्दा बढी वर्षा भएको दिन तीन हजार ७९४ को अभिलेख छ ।”

    उनका अनुसार वर्षा भएको तीन हजार ७९४ दिन मध्ये १०० मिलिमिटरभन्दा बढी वर्षा भएको एक दिन, ७५ मिलिमिटरभन्दा बढी वर्षा भएको ६ दिन र ५० मिलिमिटरभन्दा बढी वर्षा भएको १२ दिन रहेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कमा अभिलेख गरिएको छ ।

    त्यसैगरी, असोज ९ गते शुक्रबार दिउँसो १ः०० बजेदेखि १० गते शनिबार दिउँसो १ः०० बजेसम्मको २४ घण्टाको वर्षा मापन गर्दा सुर्खेत वीरेन्द्रनगरमा भने ७५ दशमलव ५ मिलिमिटर पानी परेको बताउँदै उनले कर्णालीका भारी वर्षा भएको बताए । भारी वर्षाका कारण हुम्ला, जाजरकोट, कालीकोट, मुगु, जुम्ला, सल्यान जिल्लाका विभिन्न स्थानमा पहिरो गएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताए ।

  • हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’

    हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’

    ‘
    काठमाडौँ, १० असोजः जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालद्वारा आज आयोजित ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम भएको हो ।

    नेपालले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उक्त उच्चस्तरीय विशेष कार्यक्रम गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिमाल, नदी, समुद्र तथा तटीय र द्वीपीय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले परस्पर जोडिएका पारिस्थितिक प्रणाली भएकाले जलवायु सङ्कट सम्बोधनका लागि सामूहिक र समन्वित प्रयास आवश्यक रहेको बताए ।


    परराष्ट्रमन्त्री खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले हिमालदेखि समुद्रसम्मको साझा जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए । परराष्ट्रमन्त्री खनालले भने, “तपाईंहरूको साझेदारीले हिमाली, द्वीपीय र तटीय क्षेत्रका दृष्टिकोणलाई एउटै संवादमा ल्याएको छ ।”


    नेपाल अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै मन्त्री खनालले गत २६ अगस्ट (भदौ १०) मा लाङटाङ क्षेत्रमा चट्टान र हिमनदीको ठूलो हिस्सा खस्दा भोटेकोशी बाढी गएको जनाउँदै यसबाट ठूलो जनधन तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको बताए । उनले उक्त घटनालाई आफूले ‘हिमालयन सुनामी’ का रूपमा वर्णन गरेको उल्लेख गर्दै भने, “घाउहरू अझै ताजा छन् । यस्तो अवस्थामा यो विषयमा छलफल गर्नु उपयुक्त समय हो ।”

    परराष्ट्रमन्त्री खनालले ‘सगरमाथादेखि समुद्रसम्म’को अवधारणा जलवायु प्रणाली राजनीतिक सीमाभन्दा पर रहेको यथार्थमा आधारित रहेको बताए । पृथ्वीको सर्वोच्च शिखर सगरमाथा तथा हिमालय क्षेत्रलाई ध्रुवीय क्षेत्रबाहेक सबैभन्दा ठूलो हिम तथा हिउँ भण्डार रहेको ‘थर्ड पोल’ अर्थात् ‘तेस्रो ध्रुव’ का रूपमा व्याख्या गर्दै उनले यस क्षेत्रमा ६३ हजार ७०० भन्दाबढी हिमनदी रहेको जानकारी दिए ।


    परराष्ट्रमन्त्री खनालले सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिमनदीलाई ‘आइस रिजभ्र्वायर्स’ अर्थात् ‘बरफका जलाशय’ का रूपमा वर्णन गरेको स्मरण गरे । हिमनदीबाट निस्कने पानी नदी हुँदै पारिस्थितिक प्रणाली र समुदायलाई पोषण गर्दै समुद्रसम्म पुग्ने बताउँदै उनले पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको करिब एकतिहाइ हिस्सा गुमाइसकेको जानकारी दिए ।
    परराष्ट्रमन्त्री खनालले हिमनदीको ह्रासले नदीको बहावमा परिवर्तन ल्याउँदै तल्लो तटीय क्षेत्रका जनजीवनमा असर पारिरहेको र अर्कोतर्फ द्वीपीय तथा तटीय मुलुकहरूले समुद्री सतह वृद्धि, तटीय क्षय र विस्थापनको सामना गरिरहेको बताए । उनले भने, “नक्सामा हेर्दा हिमाल र समुद्र एकअर्काबाट टाढा देखिन सक्छन्, तर प्रकृतिले हामीलाई त्यसको विपरीत कुरा बताउँछ ।”

    जलवायु सङ्कटका विषयमा सम्बोधनका लागि मन्त्री खनालले पाँच वटा प्रस्ताव अघि सारेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनले विज्ञान, नीति र लगानीले हिमाल, ताजा पानीका प्रणाली र महासागरबीचको पारिस्थितिक निरन्तरतालाई स्वीकार गर्नुपर्ने धारणा राखेका हुन् ।


    जलवायु प्रक्रियामा हिमाललाई थप प्राथमिकता दिँदै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचनामा यसको व्यवस्थित समावेश गरिनुपर्नेमा परराष्ट्रमन्त्री खनालले जोड दिए । विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य कायम राख्नुपर्नेमा जोड दिँदै उनले कार्बन उत्सर्जन कटौतीलाई तीव्रता दिन तथा जीवाश्म इन्धनबाट सङ्क्रमणसम्बन्धी जलवायु प्रक्रियाअन्तर्गत भएका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने बताए ।

    परराष्ट्रमन्त्री खनालले प्रारम्भिक चेतावनी प्रणाली, उत्थानशील पूर्वाधार, पूर्वानुमानमा आधारित अग्रिम कार्य तथा वैज्ञानिक सहकार्यलाई थप सुदृढ गर्नुपर्ने धारणा राखे । विकासशील मुलुकका लागि पर्याप्त, पूर्वानुमानयोग्य र सहज पहुँचयोग्य जलवायु वित्त, प्रविधि तथा क्षमता विकास आवश्यक रहेको उल्लेख गर्दै उनले हानि तथा क्षतिलाई सम्बोधन गर्ने कोषलाई पर्याप्त स्रोतसहित प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिए ।


    परराष्ट्रमन्त्री खनालले भने, “जलवायु न्याय तब मूर्त हुन्छ, जब देशहरूले प्राप्त गर्ने सहयोगमा जिम्मेवारी, क्षमता र जोखिमको स्तर प्रतिबिम्बित हुन्छ ।” जलवायु परिवर्तन न्यूनीकरण तथा वातावरण संरक्षणमा नेपालले आफ्नोतर्फबाट योगदान गरिरहेको उल्लेख गर्दै उनले नेपालको करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको, स्वच्छ जलविद्युत् र विद्युतीय यातायातको विस्तार भइरहेको तथा समुदायको नेतृत्वमा हुने संरक्षण कार्य वातावरणीय व्यवस्थापनको महत्वपूर्ण आधार रहेको बताए ।


    नेपालले सन् २०२५ मा जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यलाई केन्द्रमा राखेर पहिलो ‘सगरमाथा संवाद’ आयोजना गरेको स्मरण गर्दै परराष्ट्रमन्त्री खनालले यसको दोस्रो संस्करणमा आगामी वर्ष अन्तरराष्ट्रिय समुदायलाई स्वागत गर्न नेपाल इच्छुक रहेको बताए । उनले ‘सगरमाथादेखि समुद्रसम्म’ लाई ज्ञान, साझेदारी र व्यावहारिक सहकार्यको मञ्चका रूपमा विकास गर्ने नेपालको परिकल्पना रहेको बताए ।


    नेपाल सरकार र नेपाली जनताका तर्फबाट सहभागीलाई स्वागत गर्दै मन्त्री खनालले सहआयोजक मुलुकहरू भुटान, माल्दिभ्स, न्युजिल्यान्ड, सामोआ र ताजिकिस्तान तथा संयुक्त राष्ट्रसङ्घीय निकाय, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोगलाई उक्त कार्यक्रममा सहकार्यका लागि धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ । कार्यक्रममा नेपाल, संयुक्त राष्ट्रसङ्घसहित विश्वका विभिन्न मुलुकबाट उच्चस्तरीय तहमा सहभागिता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले कार्यक्रममा भोटेकोसी बाढीको भिडियो प्रस्तुत गरेको थियो ।

  • बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

    बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित


    गुल्मी, १० असोजः अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन् । बाढी तथा पहिरोको जोखिममा परेका, घरको छानोमा क्षति पुगेका प्रभावित परिवारलाई प्रहरी तथा स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कायालय गुल्मीका सुभना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । रुरुक्षेत्र गाउँपालिका–१ रिडीस्थित लामाचौपारी क्षेत्रमा कालीगण्डकी नदीको बहाव बढेपछि नदी किनारमा पसल सञ्चालन गरी बस्दै आएका सात घरधुरी जोखिममा परेका छन् । जोखिममा परेका परिवारलाई स्थानीयवासी र प्रहरीको सहयोगमा आफन्तको घरमा स्थानान्तरण गरिएको छ ।

    रेसुङ्गा नगरपालिका-४ सेउघामा घर माथिबाट पहिरो खसेपछि दुई परिवार विस्थापित भएका छन् । तेजबहादुर खत्रीको चार र एमकला खत्रीको दुईसहित छ जनालाई प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरी नजिकैको गोठमा स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिए ।

    उनका अनुसार मदाने गाउँपालिका-६ पुर्कोटदहस्थित ठुम्कामा हावाहुरी र वर्षाका कारण घरको टिनको छानो उडेपछि ३७ वर्षीय सन्तोष चुदराको परिवार विस्थापित भएको छ । चन्द्रकोट गाउँपालिका-४ रेमीमा ४४ वर्षीय खेमबहादुर कार्कीको गोठ भत्किएर क्षति पुगेपछि उहाँको परिवार पनि विस्थापित भएको छ । कार्कीको एकतले कच्ची गोठ भत्किँदाभित्र बाँधिएका पाडापाडी पुरिएर मरेका छन् ।

    यसैगरी मुसिकोट नगरपालिका १ पखेरामा २७ वर्षीया सुशीला विकको एकतले कच्ची गोठ भत्किँदा एउटा माउ बाख्रा पुरिएर मरेको छ । बाढी तथा पहिरोबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पहिरोग्रस्त क्षेत्रमा उद्धार कार्यलाई सक्रिय बनाएका छन् । जोखिमयुक्त क्षेत्रमा समयमै उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणमा आग्रह गरेको छ ।

    कालीगण्डकीमा पानीको बहाव बढेपछि स्थानीयलाई सारियो

    लगातारको वर्षासँगै आएको बाढीका कारण गुल्मीको कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि रुरुक्षेत्र गाउँपालिका(१ रिडि बजारस्थित तटीय क्षेत्रका उच्च जोखिममा परेका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । इलाका प्रहरी कार्यालय रिडिबाट प्रहरी सहायक निरीक्षक मनबहादुर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली उद्धार तथा स्थानान्तरणको काममा खटिएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिए ।

    आज बिहान नदीमा पानीको सतह एकाएक बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारका नागरिकलाई सर्तक रहन र सुरक्षित स्थानमा बसोवास गर्न आग्रह गरेको छ । कालीगण्डकी नदीमा पानीको बहाव उच्च रूपमा बढ्दै गएपछि रिडीवासीमा यतिबेला थप त्रास बढेको छ ।