Category: फिचर

  • बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त


    त्रिशूली (नुवाकोट), ११ भदौ । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवास्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा अपूरणीय क्षति पु¥याएको छ । जलविद्युत् आयोजनासहित प्रसारण लाइन र सवस्टेशनमा क्षति पुगेका छ । नुवाकोट र रसुवामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका निर्देशक थर्कबहादुर थापाले बाढीले क्षतिग्रस्त प्रसारण लाइन मर्मत गर्न अध्ययन थालिएको र केही दिन लाग्ने जानकारी दिए । नुवाकोटमा उत्पादित विद्युत् काठमाडौँ पठाइएको किस्पाङ–५ पैरेबेँसीस्थित सवस्टेशन, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रलाई बाढीले बगाएका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा निरन्तरताका लागि आजदेखि प्राविधिक अध्ययन सुरु गर्न लागिएको उनले जानकारी दिए ।


    बाढीका कारण क्षतिग्रस्त भएका जलविद्युत् केन्द्रमा रसुवास्थित रसुवागढी जलविद्युत् केन्द्र १११ मेगावाट, लाङटाङ खोला २० मेगावाट, लाङ्टाङ–भोटेकोशी १२० मेगावाट, चिलिमे २२ मेगावाट, निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत् आयोना २१६ मेगावाट छन् । यस्तै, नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ ३७ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २१ मेगावाट, देवीघाट १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको २५ मेगावाटको सौर्यप्लान्टमा क्षति पुगेको छ । ती संरचनाको अधिकांश पूर्ण क्षतिग्रस्त अवस्थामा रहेकाले सञ्चालनमा ल्याउन समय लाग्ने निर्देशक थापाले जानकारी दिए ।

  • विमानस्थलमा २० हेलिकप्टर तैनाथ, १० हेलिकप्टर बाढीग्रस्त क्षेत्रमा

    विमानस्थलमा २० हेलिकप्टर तैनाथ, १० हेलिकप्टर बाढीग्रस्त क्षेत्रमा


    ११ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ६ः३० बजेदेखि नै बाढीग्रस्त क्षेत्रमा थप उद्धारका लागि तत्काल परिचालन गर्न सकिने गरी २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन्। बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालित छन्।

    प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय, तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिकता निर्धारण गरिनेछ। सोही प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार हेलिकोप्टरहरू परिचालन गरिनेछन्।

  • रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठक सुरु

    रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठक सुरु

    ११ भदौ, काठमाडौं । मुलुकमा आएको राष्ट्रिय विपत्तिबारे छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । सिंहदरबारमा बैठक सुरु भएको छ । बैठकमा लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष प्रचण्डसहित उच्च नेतृत्व सहभागी छन् ।

  • बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

    बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

    काठमाडौँ, ११ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा छ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा छ जना (पहिचान नखुलेको)को शव भेटिएको छ । गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ ।

    प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ । त्यसैगरी, तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव भेटिएको छ । यस्तै, नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चार जनाको शव भेटिएको छ ।

  • भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    काठमाडौँ, ११ भदौः रसुवा भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ लाई राहत सामग्री हस्तान्तरण गरे ।

    यसअघि भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिएका थिए । विदेशमन्त्री जयशङ्करले शोकसन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताए ।

  • आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

    आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

    काठमाडौँ, ११ भदौ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ । सेनाका ती सवारीमा आज राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो । प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट र ३० केभिए क्षमताको एक थान जेनेरेटरलगायत छन् ।

    बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री नेपाली सेनाका ट्रकमार्फत राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो । बाढीका कारण जनजीवन प्रभावित भइरहेका बेला राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पु¥याउने उद्देश्यले गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा सामग्री व्यवस्थापन तथा ढुवानी गरिएको हो । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइरहेको जनाएको छ ।

  • बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा


    काठमाडौँ, ११ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाद्वारा यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिमा उल्लेख छ । मौसम बुलेटिनका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

  • ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’


    काठमाडौँ, ११ भदौः रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ ।

    उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ । नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ । त्यस्तो अवस्थामा ‘एसएमएस’लगायत उपलब्ध सञ्चारमाध्यमबाट यथाशीघ्र आधिकारिक पूर्वसूचना प्रवाह गरिनेछ । महाशाखाले बाढीसम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

  • घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता :  प्रधानमन्त्री

    घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

    काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपिल गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताए ।

    “आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु । आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ । प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ”, उनले भनेका छन् ।
    प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण हालसम्म ९५ जनाले ज्यान गुमाइसकेका छन् । “

    म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ ।

    बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु”, उनले भनेका छन् । उनले दुःखद् खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको सङ्ख्यामा उद्धार कार्यमा परिचालन गरेको समेत उल्लेख गरेका छन् ।


    बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो । त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्त्वपूर्ण निर्णयहरू गरिएको उनको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको प्रधानमन्त्री शाहले जानकारी दिए ।

    प्रधानमन्त्री शाहका अनुसार घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ । उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ । काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकायहरूबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली तत्कालै पठाइएको छ । यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ ।

    आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता सङ्घसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ । बाढीग्रस्त क्षेत्रका सङ्घीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौँ । घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ ।

    यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ । बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ । घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिनेछ । आज रातभर पनि उद्धार कार्य जारी नै रहने उनको भनाइ छ ।

    “नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ”, प्रधानमन्त्री शाहले भनेका छन् ।


    बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ । विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ उनको भनाइ छ ।

    प्रधानमन्त्री शाहले भनेका छन्, “तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ ।” यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुन आग्रह गर्दै उहाँले सम्पूर्ण सामाजिक सङ्घसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध समेत गरेका छन् ।

  • भारतीय प्रम मोदीद्वारा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

    भारतीय प्रम मोदीद्वारा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

    काठमाडौँ, १० भदौः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहसँग फोनमा कुराकानी गर्दै नेपालमा आज बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन् । प्रम मोदीले यस कठिन समयमा भारतका जनता नेपाली जनतासँग ऐक्यबद्ध रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । “भारत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन तयार छ । उद्धार तथा राहत प्रयासका लागि हाम्रा टोलीहरूले नेपालसँग नजिकबाट समन्वय गरिरहेका छन्”, उनले भनेका छन् ।

  • बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

    बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

    गोरखा, १० भदौः भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला पारेको छ । राति ९ः०० बजेसम्ममा गोरखातर्फ १८ वटा शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । “शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।

    जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ धवादीघाट, वडा नं ६ भुम्लिचोक, गण्डकी–१ बुट्टार, वडा नं ४ फेवाटार र वडा नं ७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा उक्त शवहरू फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

  • रसुवा बाढीका घाइतेमध्ये २५ जनाको काठमाडौंमा उपचार जारी

    रसुवा बाढीका घाइतेमध्ये २५ जनाको काठमाडौंमा उपचार जारी

    १० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उहाँका अनुसार ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ ।

    त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा नुवाकोट विदुर नपा–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थपका एक पुरुष, नाम थर बताउन नसक्ने एक पुरुष, सिन्धुपालचोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगरको उपचार भइरहेको छ । साथै गोरखा टिमुरे गोसाइकुण्ड– ७ का कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । नगरकोटीको साथमा तीन महिनाको नाबालक शिशु समेत साथमा रहेको जनाइएको छ ।

    प्रहरीका अनुसार टिमुरे गोसाइकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, फुर्प लामा (ठेगाना नखुलेको), बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चांगुनारायण नगरपालिका–१ का रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

  • भारतले सहयोग सामग्री काठमाडौं ल्याउँदै, चीन र विश्व बैंक तयार

    भारतले सहयोग सामग्री काठमाडौं ल्याउँदै, चीन र विश्व बैंक तयार

    १० भदौ, काठमाडौं । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै विहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप रु। २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए।

    दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के(के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्री लगायत अन्य वरिष्ठ मन्त्रीहरुसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौँ ल्याइने तयारी भइरहेको बताए । यस्तै, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

    छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिवद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर–सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरेका छन् । आज बसेको मन्त्रीपरिषद वैठकले रसुवा, नुवाकोट र धादिङ्गका प्रभावित पालिकाहरुलाई ुविपद संकटग्रस्त क्षेत्रु घोषित गरेपछि घरेलु एवं बाह्य सहयोग जुटाउने बाटो खुलेको हो।

  • नेपाली सेनाले बाढीमा परेकाको खोजी र उद्धार रातभर जारी राख्ने

    नेपाली सेनाले बाढीमा परेकाको खोजी र उद्धार रातभर जारी राख्ने

    १० भदौ, काठमाडौं । नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ ।
    बाढीबाट प्रभावितहरुको सङ्ख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको हो। आज रातभर ११ एक्स टिमबाट जमिनबाटै उद्धार जारी रहने छ । साथै भोलि बिहान टिमुरे माथि रहेको ठूलो संख्यालाई हवाई उद्धार गरिनेछ भने विभिन्न टनेलमा अड्किएका व्यक्तिहरुको उद्धारको प्रयास पनि जारी रहने छ ।


    नेपाली सेनाले उद्धारका लागि थप समन्वय साथ हवाई साधनहरुको असरदार परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रहरुबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग, जमिनमा थप फौज तैनाथ साथ विस्तृतमा खोज तथा उद्धार गर्नुका साथै अन्य सुरक्षा निकाय, सरोकारवाला संस्थाहरु तथा जनमानससँगको समन्वयमा लक्षित वर्गको उद्धार जारी राख्नेछ ।


    आज दिनभर एक हजार १६९७ परिचालन गरिएको थियो भने थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको छ । सेनाका अनुसार आज दिनभर उद्धार, खोज तथा राहतका कार्यक्रममा ६ वटा सैनिक हेलिकप्टरबाट ९४ जनाको उद्धार तथा ५ वटा गैरसैनिक हेलिकप्टरबाट १२ जनाको उद्धार गरिएको छ । साथै जमिनबाट २७ जनाको उद्धार गरिएको छ ।


    आज ८०० केजी टेन्ट, २०० केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पु¥याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरहरुबाट खाना तथा पानी उपलब्ध गराई राखिएको थियो ।

  • भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

    भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

    काठमाडौँ, १० भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ४०३ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए ।

    सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेका छन् । बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हालसम्म भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४ जना, संयुक्त अधिराज्य बेलायतका ३३ जना, क्यानडाका २४ जना, मलेसियाका १९ जना, युक्रेनका सात जना, सिङ्गापुर र दक्षिण अफ्रिकाका छरछ जना, न्युजिल्याण्ड र जापानका पाँचरपाँच जना रहेका छन् । यसबाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका २५ भन्दा बढी देशका नागरिक बाढीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरीचौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ । नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

  • विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

    विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

    काठमाडौँ, १० भदौ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको क्षतिको तत्काल विवरण सङ्कलन तथा आवश्यक समन्वयका लागि मन्त्रालयअन्तर्गतका पाँचवटा सम्बन्धित विभाग तथा निकायलाई ‘र्‍यापिड एक्सन टिम’ गठन गरी परिचालन गर्न निर्देशन दिएकी छिन् । मन्त्री चौधरीले सम्बन्धित निकायहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र विपद्बाट भएको क्षतिको स्थलगत विवरण तत्काल सङ्कलन गरी उद्धार, राहत, पुनःस्थापना तथा आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्नेगरी आवश्यक प्रतिवेदन तयार गर्न निर्देशन दिइन् ।

    बाढीका कारण कृषि, वन, पशुपन्छी तथा वन्यजन्तुसँग सम्बन्धित क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिको यथार्थ विवरण तत्काल प्राप्त गर्न सम्बन्धित निकायलाई सक्रिय र समन्वयात्मक रूपमा परिचालन गर्न मन्त्री चौधरीले निर्देशन दिइन् ।
    मन्त्रीको निर्देशनअनुसार गठित टिममा योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा हरिबहादुर केसी, वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछाने, कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइराला, केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा वरुणकुमार शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्य तथा जल तथा मौसम विज्ञान विभागका उपसचिव विभूति पोखरेल छन् ।


    उक्त टिमले सम्बन्धित क्षेत्रमा क्षतिको प्रकृति, परिमाण, प्रभावित क्षेत्र तथा तत्काल आवश्यकतासम्बन्धी विवरण सङ्कलन गर्नेछ । सङ्कलित विवरणका आधारमा तत्काल आवश्यक राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिनेछ । मन्त्री चौधरीले विपद्बाट भएको क्षतिको वास्तविक र तथ्यपरक विवरण तत्काल प्राप्त गरी त्यसलाई राहत, पुनःस्थापना तथा आगामी कार्ययोजना निर्माणको आधार बनाउने उद्देश्यले सम्बन्धित निकायलाई प्रभावकारी, सक्रिय तथा समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिइन् ।

  • बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित

    बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित

    काठमाडौँ, १० भदौः रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कूल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ । बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् आपूर्तिमा हुनसक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताए ।

    उनका अनुसार हालसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न प्राधिकरण सफल भए पनि बाढीबाट भएको ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र बनाइएको छ ।

    प्रारम्भिक विवरणअनुसार बाढीका कारण ४३१।१ मेगावाट क्षमताका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भई विद्युत् प्रणालीबाट बाहिरिएका छन् । त्यस्तै, निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनामा कूल ४७० मेगावाट क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।


    प्रसारणतर्फ त्रिशूली २२० केभी ३ बी हब सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । विभिन्न १३२, ६६ तथा २२० केभी प्रसारण लाइन र टावरमा समेत क्षति पुगेको छ । बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ ।

    मन्त्री श्रेष्ठका अनुसार विभिन्न विद्युत् आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा मजदूर सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ । उद्धार तथा विद्युत् सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । थप उद्धार तथा प्राविधिक टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको मन्त्री श्रेष्ठले बताए ।


    वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने, क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना गर्ने र सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजी र उद्धार गर्ने काम स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको समन्वयमा भइरहेको छ । मन्त्री श्रेष्ठले अहिले मानवीय सुरक्षा, खोज तथा उद्धार र अत्यावश्यक विद्युत् सेवा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । क्षतिको विस्तृत विवरण सङ्कलन तथा प्राविधिक मूल्याङ्कनको कामसमेत भइरहेको उनले बताए ।


    “अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँ । तर, यति ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ”, मन्त्री श्रेष्ठले भने ।

  • भोटेकोशी बाढीः एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

    भोटेकोशी बाढीः एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

    काठमाडौँ, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार बाढीमा परेर एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले करिब ६०० मालवाहक, ३०० यात्रुवाहक सवारीसाधन र ४०० भन्सारमा जाँचपासका लागि राखिएका सवारीसाधनमा क्षति पुगेको जानकारी दिए ।


    “सामान लिनका लागि भन्सार नाकामा गएका, यात्रु लिएर रसुवा र गोसाइँकुण्ड गएका तथा भन्सारमा जाँचपासका लागि राखिएका एक हजार ३०० बढी सवारीसाधनमा क्षति पुगेको छ, निजी सवारीसाधनमा भएको क्षतिबारे यकिन गर्न सकिएको छैन,” महासचिव गौतमले भने ।


    बाढीले चीनको केरुङ नाकामा सामान लिन गएका र भन्सार जाँचपासका लागि राखिएका सयौँ ट्रक, कन्टेनर, यात्रुवाहक बस, माइक्रोबस र नयाँ सवारीसाधनमा क्षति पु¥याएको महासङ्घले जनाएको छ । महासचिव गौतले अर्को सूचना नभएसम्मका लागि प्रभावित क्षेत्रका सबै यातायात सेवा स्थगित गरिएको बताए । उनले विपद्को घडीमा तत्काल उद्धार र राहतका लागि सबै क्षेत्रसँग अपिल गरे ।


    महासङ्घले नेपाल सरकारसँग तत्काल सबै निकायहरू परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । साथै, बाढी प्रभावित व्यवसायी र मजदुरलाई पुनः जीविकोपार्जनको वातावरण मिलाउन महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

  • भोटेकोशी बाढीः तनहुँमा ६ शव भेटिए

    भोटेकोशी बाढीः तनहुँमा ६ शव भेटिए

    दमौली (तनहुँ), १० भदौः भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा छ शव भेटिएका छन् । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार मुग्लिनभन्दा केही तल तथा सिमलतालमा एक\एक र देवघाटमा चार शव भेटिएका छन् । प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले नदी आसपासका क्षेत्रमा प्रहरीले निगरानी गरिरहेको बताए ।

  • त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

    त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

    चितवन, १० भदौः चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिएका छन् । कुरिनटारदेखि मुग्लिनसम्म १६ वटा र मुग्लिनबाट यता ३७ वटा शव भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भेटिएका शव भरतपुर अस्पतालको शवगृहमा ल्याउने क्रम जारी छ । महिला\पुरुष छुट्याउन कठिन भएको उनले बताए ।


    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शव राख्ने स्थानको खोजी गर्न लागिएको जानकारी दिए । अहिलेसम्म आएका शवसमेत राख्न सक्ने अवस्था नरहेकाले स्थानको खोजी गरिएको उनले बताए । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शव निकाल्ने काम गरिरहेको छ ।

    बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ । धादिङलगायतका क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएका कारण सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयय चितवनले सूचना जारी गरी जानकारी दिएको छ । यससँगै नदी तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।

  • गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ

    गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ


    जेनेभा, १० भदौ (रासस–एएफपी) । संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको कडा आलोचना गर्दै यसलाई ‘अत्यन्त आपत्तिजनक’ भनेको छ । राष्ट्रसङ्घको मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले मङ्गलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाले चङ्गा उडाएको आधारमा उनीहरूलाई धपाउने धम्की अस्वीकार्य भएको बताइन् । “बालबालिकाले चङ्गा उडाएको कारण धपाउने धम्कीको सन्दर्भमा, यो अत्यन्त आपत्तिजनक कुरा हो भन्नेमा हामी सबै सहमत हुन सक्छौँ,” उनले भनिन् ।


    इजरायलले आइतबार गाजाबाट इजरायली क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउने क्रम जारी रहेमा सैन्य कारबाही तीव्र पार्ने चेतावनी हमासलाई दिएको थियो । पछिल्ला दिनमा यस्ता घटना बढेका छन् । हमासले भने यसको जिम्मेवारी अस्वीकार गरेको छ । इजरायली सञ्चारमाध्यमका अनुसार शनिबार गाजा सीमावर्ती बस्तीमा चारवटा चङ्गा फेला परेका थिए भने आइतबार इजरायली सेनाले एउटा चङ्गा खसालेको थियो । पछिल्ला केही दिनमा फेला परेका चङ्गाको सङ्ख्या करिब १० पुगेको बताइएको छ ।

    यी घटनाले विगतमा गाजाबाट इजरायलतर्फ उडाइएका आगो लगाउने चङ्गा र बेलुनको घटनालाई पुनः स्मरण गराएको छ । त्यस्ता चङ्गा र बेलुनका कारण दक्षिणी इजरायलका कृषि क्षेत्रमा आगलागी भएका थियो । इजरायली अधिकारीका अनुसार पछिल्ला चङ्गा उडाउने घटनामा हमासको सङ्लग्नता हुन सक्ने आशङ्का गरिएको छ । ती चङ्गामा विस्फोटक पदार्थ भने नभएको र सम्भवतः इजरायलको प्रतिक्रिया परीक्षण गर्न त्यसो गरिएको हुन सक्ने इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै चङ्गा, ड्रोन र बेलुन उडाउनेकार्य तत्काल नरोके त्यसमा सङ्लग्न व्यक्तिविरुद्ध सैन्य कारबाही तीव्र पार्ने चेतावनी दिएका थिए । उहाँहरूले त्यस्ता गतिविधि हुने क्षेत्रबाट बासिन्दालाई हटाउनेसमेत बताएका थिए । हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नाइमले ‘भग्नावशेषबीच आफ्नो निर्दोष बाल्यकाल खोजिरहेका बालबालिकाले’चङ्गा उडाएको दाबी गरे ।


    हमासले छुट्टै विज्ञप्तिमार्फत आइतबार मध्य गाजामा भएको इजरायली हवाई आक्रमणलाई चङ्गा उडाइएको घटनासँग जोडेको आरोप लगाएको छ । गाजाको नागरिक सुरक्षा उद्धार सेवाका अनुसार उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको थियो । राष्ट्रसङ्घकी प्रवक्ता शमदासानीले इजरायलको पछिल्लो चेतावनी अधिकारीको उच्च तहबाट आएका आपत्तिजनक अभिव्यक्तिको शृङ्खलामध्येको पछिल्लो भएको बताइन् । उनले त्यस्ता अभिव्यक्तिले अन्तरराष्ट्रिय मानव अधिकार तथा मानवीय कानुनप्रति पूर्ण अनादर देखाएको र गम्भीर हिंसालाई प्रोत्साहन गर्ने जोखिम रहेको बताइन् ।

  • वासिङ्टन पोस्टलाई स्तम्भकार पुनर्बहाली गर्न आदेश

    वासिङ्टन पोस्टलाई स्तम्भकार पुनर्बहाली गर्न आदेश

    वासिङ्टन, १० भदौ (रासस–एएफपी) । अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोस्टलाई स्तम्भकार करेन अतियालाई पुनर्बहाली गरी बर्खास्त अवधिको पारिश्रमिक भुक्तानी गर्न मध्यस्थता अधिकारीले आदेश दिएका छन् । दक्षिणपन्थी प्रभावशाली व्यक्ति चार्ली किर्कको हत्यापछि सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण अतियालाई बर्खास्त गरिएको थियो । मध्यस्थता अधिकारीले सोमबार दिएको निर्णयमा अतियालाई बर्खास्त गर्न वासिङ्टन पोस्टसँग पर्याप्त कारण नरहेको उल्लेख गरेका छने । पोस्टले मध्यस्थता प्रक्रियाको सम्मान गर्ने जनाएको छ भने अतियाले निर्णयप्रति खुसी व्यक्त गर्दै आफूलाई ‘सत्य बोलेको’ कारण बर्खास्त गरिएको बताएका छन् ।


    अतियाले वासिङ्टन पोस्टमा ११ वर्ष काम गरेका थिए । किर्कको हत्यापछि उनले सामाजिक सञ्जालमा उनको मृत्युमा दुःख व्यक्त नगर्ने बताउँदै अश्वेत महिलाबारे किर्कका विगतका विवादास्पद टिप्पणी साझा गरेका थिए । पोस्टले ती अभिव्यक्तिलाई आफ्नो सामाजिक सञ्जाल नीतिको उल्लङ्घन र ‘घोर दुव्र्यवहार’ भन्दै बर्खास्त गरेको थियो ।

    मानव अधिकार र स्वतन्त्र अभिव्यक्तिका विषयमा लेख्दै आउनुभएकी अतिया सन् २०१८ मा हत्या भएका साउदी मूलका अमेरिकी पत्रकार जमाल खशोग्जीलाई वासिङ्टन पोस्टमा लेख्न ल्याउने सम्पादकमध्ये एक थिए । उनको मृत्युपछि खशोग्जीको अन्तिम स्तम्भसमेत प्रकाशित गरिएको थियो ।

    सन् २०१३ मा जेफ बेजोसले वासिङ्टन पोस्ट खरिद गरेपछि पत्रिकाको विचार खण्डले व्यक्तिगत स्वतन्त्रता र स्वतन्त्र बजारमा बढी जोड दिने नीति अघि बढाएको थियो । अतियाको पुनर्बहालीको निर्णयले अमेरिकी सञ्चारमाध्यममा अभिव्यक्ति स्वतन्त्रता, सम्पादकीय नीति र पत्रकारको सामाजिक सञ्जाल आचरणसम्बन्धी बहसलाई पुनः चर्चामा ल्याएको छ ।

  • असदकालीन पूर्व मुफ्तीलाई आजीवन कारावासको सजाय

    असदकालीन पूर्व मुफ्तीलाई आजीवन कारावासको सजाय


    दमास्कस, १० भदौ (रासस–एपी) । सिरियाको अदालतले पूर्वराष्ट्रपति बशर असदको शासनकालका पूर्व ग्रान्ड मुफ्ती अहमद बद्रेद्दिन हसनलाई हिंसा भड्काएको र हत्यालाई उचित ठहर गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ । असद शासनका उच्च अधिकारीमाथि नयाँ सरकारको कानूनी कारबाहीअन्तर्गत यो पछिल्लो महत्त्वपूर्ण फैसला हो ।

    दमास्कसको चौथो फौजदारी अदालतका प्रमुख न्यायाधीश फखरेद्दिन अल–आर्यनले हसन नेतृत्वको तत्कालीन धार्मिक प्रतिष्ठानले नागरिक क्षेत्रमा ब्यारेल बम प्रयोग र व्यापक विनाशलाई न्यायोचित ठहर गरेको बताए । अदालतले यस्तो कार्य अन्तर्राष्ट्रिय मानवीय कानूनविपरीत भएको ठहर गरेको छ ।

    सन् २००५ देखि २०२१ सम्म ग्रान्ड मुफ्ती रहेका हसन असदका निकट समर्थकथिए । उनले सरकारका नीतिको सार्वजनिक रूपमा समर्थन गर्दै आएका थिए । फैसला सुनाउँदा उनी हिरासतमा रहेका र अदालतमा उपस्थित भएका थिए । असद र उनका भाइ माहेर असदसहित शासनकालका अन्य वरिष्ठ अधिकारीलाई पनि पछिल्ला सातामा कडा सजाय सुनाइएको छ । तीमध्ये धेरैलाई अनुपस्थितिमै मृत्युदण्डको फैसला गरिएको छ ।

    हसनविरुद्धको मुद्दा हतारमा अघि बढाइएको र निष्पक्ष सुनुवाइको पर्याप्त सुनिश्चितता नभएको भन्दै केही मानव अधिकार संस्थाले चिन्ता व्यक्त गरेका छन् । तर असद शासनको दमनबाट पीडित धेरै सिरियालीले फैसलाको स्वागत गरेका छन् । सन् २०११ मा सुरु भएको सरकारविरोधी प्रदर्शनमाथि भएको कठोर दमन गृहयुद्धमा परिणत हुँदा करिब १४ वर्षमा पाँच लाख मानिसको मृत्यु भएको अनुमान छ । युद्धका कारण युद्धपूर्व करिब दुई करोड ३० लाख जनसङ्ख्याको आधाभन्दा बढी विस्थापित भएका थिए ।

    डिसेम्बर २०२४ मा इस्लामवादी नेतृत्वको विद्रोही समूहको आक्रमणपछि असद सत्ताच्युत भएका थिए । त्यसयता नयाँ सरकारले असद शासनसँग सम्बन्धित अधिकारीविरुद्ध कानूनी कारबाही अघि बढाउँदै आएको छ ।

  • युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

    युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

    मस्को, १० भदौ (रासस–सिन्ह्वा) । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक तैनाथ गर्नु रुसका लागि अस्वीकार्य रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मङ्गलबार बताएका छन् । “युक्रेनमा नेटो सदस्य राष्ट्रका विदेशी सैन्य टुकडी तैनाथ गर्नु हाम्रा लागि अस्वीकार्य रहेको अडान हामीले विभिन्न तहमा पटक–पटक स्पष्ट पार्दै आएका छौँ,” उनले भने ।


    सोमबार ‘कोएलिसन अफ द विलिङ’का नेताले युक्रेनको स्वतन्त्रताको ३५औँ वार्षिकोत्सवका अवसरमा किएभमा भर्चुअल बैठक गरेका थिए । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बैठकको अध्यक्षता गरेका थिए ।


    गठबन्धनले जारी गरेको विज्ञप्तिमा रुस र युक्रेनबीच विश्वसनीय युद्धविराम भएपछि युक्रेनमा तैनाथ गर्न ‘मल्टिनेसनल फोर्स युक्रेन’ (बहुराष्ट्रिय युक्रेन बल)को तयारीलाई निरन्तरता दिने उल्लेख छ । पेस्कोभले रुस आफ्नो विजयप्रति विश्वस्त रहेको बताए । शान्तिपूर्ण समाधानका लागि आवश्यक परिस्थिति नबनेसम्म रुसले सैन्य कारबाही जारी राख्ने उनको भनाइ थियो । “हामी विजयको आशा मात्र गरिरहेका छैनौँ, यो अवश्यम्भावी छ भन्नेमा विश्वस्त छौँ,” उनले भने ।

  • शिविरको दयनीय अवस्थाविरुद्ध रोहिङ्ग्या शरणार्थीको प्रदर्शन

    शिविरको दयनीय अवस्थाविरुद्ध रोहिङ्ग्या शरणार्थीको प्रदर्शन


    कक्स बजार, १० भदौ (रासस–एएफपी) । म्यानमामा सैन्य दमनका कारण विस्थापित भएको नौ वर्ष पूरा भएको अवसरमा बङ्गलादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा रहेका हजारौँ रोहिङ्ग्या शरणार्थीले शिविरको दयनीय अवस्थाको विरोधमा प्रदर्शन गरेका छन् । सन् २०१७मा म्यानमाबाट ठूलो सङ्ख्यामा विस्थापित भएका रोहिङ्ग्यासहित १२ लाखभन्दा बढी शरणार्थी बङ्गलादेशको कक्स बजारमा रहेका करिब ३० वटा शिविरमा बस्दै आएका छन् । यी शिविरलाई विश्वकै ठूलो शरणार्थी बस्तीमध्ये एक मानिन्छ ।

    रोहिङ्ग्या शरणार्थीको समूह ‘युनाइटेड काउन्सिल अफ रोहिङ्ग्या’ (यूसीआर)ले भोगेका अत्याचारको स्मरण तथा जारी मानवीय सङ्कटबारे ध्यानाकर्षण गराउन ¥याली आयोजना गरिएको जनाएको छ । सन् २०१७ मा बङ्गलादेश भागेकी ३२ वर्षीया साबिकुन्नहारले त्यसबेलाका घटनाको सम्झना अझै पीडादायी रहेको बताए । “हाम्रा आफन्तको हत्या भयो, घरमा आगो लगाइयो र हामीलाई आफ्नो भूमिबाट लखेटियो,” उनले भने, “देशको सम्झनामा आज पनि मेरा आँखाबाट आँसु आउछन् ।”

    मानवीय सहायता उपलब्ध गराउने संस्थाका अनुसार अन्तरराष्ट्रिय कोषमा आएको कमी र खाद्य सहायता घटाइएका कारण शिविरको अवस्था थप कठिन बनेको छ । शिविरमा बस्ने कुल जनसङ्ख्याको आधाभन्दा बढी बालबालिका रहेको बताइएको छ । शिविरमा ‘सेभ द चिल्ड्रेन’को कार्यक्रम सञ्चालन गरिरहेका गुलाम मुस्तफाले रोहिङ्ग्या बालबालिकाको एक पुस्ता नै निर्वासनमा हुर्किरहेको बताए ।

    “सुरक्षा, अधिकार र दिगो समाधानतर्फ प्रगति हुनुको सट्टा परिवारले बढ्दो भोकमरी, घट्दो अवसर र भविष्यप्रतिको गहिरिँदो अनिश्चितता सामना गरिरहेका छन्,” उनले भने । ‘सेभ द चिल्ड्रेन’का अनुसार आगामी सेप्टेम्बरदेखि डिसेम्बरसम्म तीनमध्ये एक शरणार्थीले सङ्कटपूर्ण वा त्योभन्दा खराब स्तरको खाद्य असुरक्षाको सामना गर्नुपर्ने अनुमान गरिएको छ । गत वर्ष बङ्गलादेश आएका ४१ वर्षीय मौलवी अब्दुस सलामले हिंसाका कारण आफ्नो परिवार म्यानमाबाट भाग्न बाध्य भएको बताए । उनले बङ्गलादेशमा शरणार्थीका रूपमा जीवन बिताउँदा थप कठिनाई सामना गर्नुपरेको र उपलब्ध खाद्य सामग्रीले बढीमा २० दिनसम्म मात्र धान्ने गरेको बताए ।


    “हामी शरणार्थीको जीवन जिउन चाहँदैनौँ,” मौलवीले भने । प्रस्तावित स्वदेश फिर्ती प्रक्रियाले रोहिङ्ग्याको अधिकार र सुरक्षाको ग्यारेन्टी गर्नेमा उनले प्रश्न उठाए । “हामीलाई सुरक्षित रूपमा घर फर्कने वातावरण सिर्जना गरिदिन अन्तरराष्ट्रिय समुदायसँग आग्रह गर्छौँ,” उनले भने । शिविरमा बढ्दो निराशाका कारण केही शरणार्थी समुद्रमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको सहायता संस्थाहरूले बताएका छन् ।

    सन् २०१७ मा बङ्गलादेश आएका ७५ वर्षीय सिकन्दरले म्यानमा सुरक्षित रूपमा फर्कन सकिनेमा आफूलाई आशा नभएको बताए । “उनीहरूले हामीमाथि यातना दिए, हाम्रा महिलामाथि दुव्र्यवहार गरे र धेरै आफन्तको हत्या गरे,” सिकन्दरले भने, “हाम्रो घर फर्कने कुनै आशा छैन । व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिने योजना पनि छैन ।” उनले शिविरको जीवन निकै कठिन रहेको र विश्व खाद्य कार्यक्रम तथा अन्य संस्थाले उपलब्ध गराउँदै आएको खाद्य तथा स्वास्थ्य सहायता पर्याप्त नभएको बताए ।


    बङ्गलादेशी अधिकारीले आफ्नै देशमाथि ठूलो दबाब रहेको बताउँदै रोहिङ्ग्यालाई म्यानमारमा सुरक्षित, सम्मानजनक र दिगो रूपमा फर्काउने वातावरण बनाउन अन्तरराष्ट्रिय समुदायसँग आग्रह गर्दै आएको बताए । सन् २०१७ मा म्यानमामा भएको सैन्य दमनका क्रममा रोहिङ्ग्या गाउँ जलाउने र सर्वसाधारणको हत्या गर्ने घटनालाई लिएर हेगस्थित अन्तरराष्ट्रिय अदालतमा नरसंहारसम्बन्धी मुद्दा चलिरहेको छ ।

    मङ्गलबार बङ्गलादेशस्थित बेलायती उच्चायोगले जारी गरेको संयुक्त विज्ञप्तिमा विभिन्न कूटनीतिक नियोगले म्यानमारको वर्तमान अवस्थाले रोहिङ्ग्याको सुरक्षित स्वदेश फिर्तीका लागि अनुकूल वातावरण सिर्जना नगरेको बताएका छन् । रोहिङ्ग्या शरणार्थीलाई म्यानमास्थित आफ्नै घर फर्कने अधिकार छ, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा राखाइन क्षेत्रमा द्वन्द्व र मानवीय आवश्यकता बढ्दै गएको तथा असुरक्षा, नागरिक पूर्वाधारमाथिका हवाई आक्रमण र सहायता तथा व्यापारमा लगाइएका अवरोधले मानवीय सङ्कट थप गम्भीर बनाएको उल्लेख गरिएको छ ।

  • इरानसँग सम्बन्धमा चार भारतीय कम्पनीमाथि प्रतिबन्ध

    इरानसँग सम्बन्धमा चार भारतीय कम्पनीमाथि प्रतिबन्ध

    वासिङ्टन, १० भदौ (रासस–एएनआई) । संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद सञ्जालसँग सम्बन्ध रहेको आरोपमा भारतमा आधारित चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा पेट्रोलियम कारोबारलाई लक्षित गर्दै ती कम्पनीमाथि कारबाही गरिएको हो ।

    प्रतिबन्धमा पोर्टेज पार्टनर एलएलपी, सदाशिव ओभरसिज लिमिटेड, पिपि सफ्टटेक प्राइभेट लिमिटेड र प्राक्रुटिस इन्फ्रा इम्पेक्स इन्डिया प्राइभेट लिमिटेड परेका छन् । पोर्टेज पार्टनरले भारतमा इरानी पेट्रोकेमिकल उत्पादनका विभिन्न ढुवानी आयात गर्न सहजीकरण गरेको अमेरिकी विदेश मन्त्रालयको दाबी छ । कम्पनीका साझेदार भारतीय नागरिक इन्ड्रिस्मिया आशारफ्मिया सेख र हरिश रामचन्द्र रङ्गीलाई समेत प्रतिबन्ध लगाइएको छ ।

    सदाशिव ओभरसिजले सन् २०२४ को फेब्रुअरीदेखि २०२५ को जुनसम्म अमेरिकी प्रतिबन्धमा परेको बोन्जोर कमोडिटी एफजेडईसहित विभिन्न कम्पनीबाट करिब छ करोड ९० लाख अमेरिकी डलर मूल्यका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी दाबी छ । इरानी पेट्रोलियम खरिद, बिक्री, ढुवानी वा बजारीकरणमा महत्त्वपूर्ण कारोबार गरेको आरोपमा उक्त कम्पनीमाथि कार्यकारी आदेश १३८४६ अन्तर्गत प्रतिबन्ध लगाइएको हो ।

    पिपि सफ्टटेकले सन् २०२४ को जनवरीदेखि २०२५ को जुनसम्म करिब दुई करोड ५० लाख अमेरिकी डलर मूल्यका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको मन्त्रालयले जनाएको छ । कम्पनीका निर्देशक भारतीय नागरिक प्रशान्त गर्गलाई पनि प्रतिबन्ध सूचीमा राखिएको छ ।

    यसैगरी, प्राक्रुटिस इन्फ्रा इम्पेक्सले सन् २०२३ को मेदेखि २०२६ को फेब्रुअरीसम्म बोन्जोर कमोडिटी एफजेडईसहित विभिन्न कम्पनीबाट करिब दुई करोड ५० लाख अमेरिकी डलर मूल्यका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी दाबी छ ।

    अमेरिकाले पछिल्लो प्रतिबन्ध इरानको पेट्रोलियम आम्दानी रोक्ने तथा इरानी सैन्य र खरिद गतिविधिलाई सहयोग गरेको आरोप लागेका अन्तर्राष्ट्रिय सञ्जाल कमजोर बनाउने अभियानको हिस्सा भएको जनाएको छ । सम्बन्धित भारतीय कम्पनी तथा व्यक्तिबाट प्रतिबन्धबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

  • हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

    हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु


    पोर्ट–ओ–प्रिन्स (हाइटी), १० भदौ (रासस–क्युएनए) । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु तथा २२ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।

    हाइटीस्थित संयुक्त राष्ट्रसङ्घीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्स्कोफको सुरक्षा अवस्था थप गम्भीर बनेको छ । सरकारले घटनालाई ‘जघन्य आक्रमण’ भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएको छ ।

    प्रधानमन्त्री एलिक्स डिडियर फिल्स–एमेको कार्यालयले मृतक तथा घाइतेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै केन्स्कोफलाई सरकारले त्याग्न नदिने जनाएको छ । सरकारी अधिकार पुनःस्थापित गर्न सुरक्षा निकायले बिना ढिलाइ काम गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को सुरुआतमा दुई महिनाको अवधिमै केन्स्कोफमा भएका गिरोहका आक्रमणमा २६० भन्दा बढी मानिस मारिएका थिए । ती आक्रमणमा करिब २०० घर ध्वस्त वा जलेका थिए भने करिब तीन हजार मानिस विस्थापित भएका थिए । त्यसयता पनि अपहरण, आगजनी र गाईवस्तु चोरीलगायतका १० भन्दा बढी आक्रमण भएका छन् ।

    हाइटीको राजधानीमा शक्तिशाली गिरोहहरूले वर्षौंदेखि आफ्नो प्रभाव विस्तार गर्दै आएका छन् । हतियार तथा स्रोतसाधनको अभावमा रहेको प्रहरीलाई विदेशी मुलुकले सहयोग गरिरहेका भए पनि गिरोहले राजधानी आसपासका क्षेत्रमा आफ्नो नियन्त्रण बढाउँदै लगेका छन् ।

    राजनीतिक, आर्थिक र सुरक्षा सङ्कटबाट लामो समयदेखि गुज्रिरहेको हाइटीमा पछिल्ला वर्षमा हिंसा तीव्र बनेको छ । हत्या, अपहरण, बलात्कार तथा बालबालिकाको जबर्जस्ती भर्तीका घटनाले नागरिक सुरक्षामा गम्भीर चुनौती थपिएको छ ।

    अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जुनमा सार्वजनिक गरेको अनुमानअनुसार करिब एक करोड १० लाख जनसङ्ख्या रहेको हाइटीमा हिंसाका कारण झन्डै १५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् ।

    गिरोह नियन्त्रण तथा स्थानीय प्रहरीलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको समर्थनमा अन्तर्राष्ट्रिय सुरक्षा बल परिचालनको तयारी भइरहेका बेला केन्स्कोफमा भएको पछिल्लो आक्रमणले हाइटीको बिग्रँदो सुरक्षा अवस्थाप्रति थप चिन्ता बढाएको छ ।

  • दक्षिण सुडानमा दुई शान्तिरक्षकको हत्या

    दक्षिण सुडानमा दुई शान्तिरक्षकको हत्या

    जुबा (दक्षिण सुडान), १० भदौ (रासस–सिन्ह्वा) । दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको गस्तीमाथि भएको आक्रमणमा दुई इथियोपियाली शान्तिरक्षकको मृत्यु भएपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाको कडा निन्दा गरेका छन् । महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार सोमबार अज्ञात सशस्त्र समूहले संयुक्त राष्ट्रसङ्घीय मिसन इन साउथ सुडान (युएनएमआइएसएस) को गस्तीमाथि आक्रमण गरेको थियो । आक्रमणमा तीन इथियोपियाली शान्तिरक्षक, दुई दक्षिण सुडानी प्रहरी कर्मचारी र युएनएमआइएसएसका दुई नागरिक कर्मचारी गरी सात जना घाइते भएका छन् ।

    महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षकविरुद्ध हुने आक्रमणलाई युद्ध अपराध मान्न सकिने बताउँदै घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी कारबाही गर्न आग्रह गरेका छन् । उनले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पीडित तथा उहाँहरूका परिवारसँग कठिन परिस्थितिमा संयुक्त राष्ट्रसङ्घ उभिइरहने प्रतिबद्धता दोहो¥याए ।

  • रसुवामा भयानक बाढी, क्षतिको विवरण आउने क्रममा

    रसुवामा भयानक बाढी, क्षतिको विवरण आउने क्रममा

    १० भदौ, काठमाडौं । रसुवामा भयानक बाढी आएको छ । भोटेकोशी नदीमा आएको बाढीले नदी किनारमा ठूलो ठूलो गरेको अनुमान छ । प्रशासनले नुवाकोट, धादिङ, गोरखा र चितवनको नदी किनारमा रहेकालाई सचेत गराएको छ । क्षतिको विवरण आउने क्रममा छ ।

  • इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

    इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै


    काठमाडौँ, १० भदौ। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ ।

    जगतको सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए । अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् ।

    इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उनको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा आज ¥याली, सभालगायत कार्यक्रम गरिदैछ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।