Category: फिचर

  • प्रतिनिधिसभाः ‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग

    प्रतिनिधिसभाः ‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग

    काठमाडौँ, ८ भदौः प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले बालबालिकामाथि हुने यौनहिंसा र हत्याका घटना रोक्न ‘छोरी बचाऊ राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्नुपर्ने बताएका छन् । बैठकको विशेष समयमा उनले पछिल्लो समय बालिकामाथि भएका हिंसा र हत्याका घटनाले सिङ्गो मुलुकलाई भावविह्वल बनाएको बताए । “कोपिलामै चुँडिएका र खुसी लुटिएका घटनाले आज यो सम्मानित सभा र सिङ्गो देश भावविह्वल भएको छ”, सांसद दुलालले भने । नले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई कारबाही मात्र गर्नेभन्दा यस्ता घटना हुनै नदिन राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।


    “घटना घटेपछि कारबाही गरेर दोषीलाई सजाय दिनुभन्दा हाम्रा छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ”, सांसद दुलालले भने, उनले छोरीहरूको सुरक्षाका लागि राजनीतिक, शैक्षिक, स्वास्थ्यलगायत सबै क्षेत्रलाई समेटेर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरे । सांसद दुलालले स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खानेपानीमा लगाइएको अनावश्यक शुल्क तथा कर हटाउन सरकारसँग माग गरे । उनले पानीलाई केवल उपभोग्य वस्तुका रूपमा नभई निर्यातयोग्य स्रोतका रूपमा विकास गर्नुपर्ने बताए ।


    नेपालमा पानीको प्रशोधन तथा उत्पादन गरी खाडी मुलुकलगायत अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न सके ठूलो वैदेशिक आम्दानी गर्न सकिने सांसद दुलालको भनाइ छ । पानी उद्योगलाई प्रोत्साहन गर्दै निर्यातका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था सहज बनाउनुपर्ने उनले बताए । सांसद दुलालले विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन नहुने धारणा राखे ।


    श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले मनसुनजन्य बाढीपहिरोका कारण ठूलो मात्रामा कृषि भूमि डुबानमा पर्ने गरेको भन्दै बाढी नियन्त्रणका लागि प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । विशेषगरी सुनसरीमा बर्सेनि बाढीका कारण कृषि उत्पादन प्रभावित हुने गरेको उल्लेख गर्दै उनले बाढी नियन्त्रण तथा कृषि क्षेत्रको संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए ।


    सांसद राईले दुईदिने बिदाको व्यवस्थाले स्वास्थ्य क्षेत्रमा प्रभाव परेको भन्दै यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे । नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न दिँदा कतिपय परिवार घरबारविहीन हुने अवस्था बढेको भन्दै उनले क्यासिनोमा नेपालीको प्रवेश नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरे । उनले खाना पकाउने ग्यासको सहज र नियमित आपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।


    सांसद खुश्वु ओलीले बलात्कारका घटनामा संलग्न दोषीलाई कडा सजायको व्यवस्था गर्नुपर्ने बताइन् । उनले बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको स्मरण गर्दै यस्ता जघन्य अपराध रोक्न सजायको व्यवस्था प्रभावकारी र कडा हुनुपर्नेमा जोड दिइन् । “हाम्रा छोरीहरू कहिलेसम्म बलात्कारीको हातबाट मारिनुपर्ने हो ?”, सांसद ओलीले प्रश्न गरिन् ।

    बलात्कारपछि हत्या गरिएकी बालिका चौधरीले तीन वर्षकै उमेरमा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले यस्ता अपराधमा संलग्न व्यक्तिले अपराध गर्नुअघि सजायको डर महसुस गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिइन् । उनले विद्यमान कानुनको पुनरावलोकन, दण्डहीनताको अन्त्य तथा अपराध नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।

  • गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

    गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

    रसुवा, ८ भदौः जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा, खानपान–बसाइलगायत सम्पूर्ण तयारी पूरा भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा गठित ११ वटा उपसमितिको तर्फबाट आआफ्नो जिम्मेवारी पूरा गरी भक्तजनको धार्मिक यात्रालाई अघिल्ला वर्षहरूको भन्दा सहज, सुरक्षित र सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    यसैसन्दर्भमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले मौसममा आउने प्रतिकूलतालाई ख्याल गरी निर्धक्क भई आउन अनुरोध गर्दै यात्राका क्रममा असहज परिस्थिति सिर्जना भए आवश्यकताअनुसार सवारीसाधन र त्यसबाट नभए हेलिकप्टरसमेत प्रयोग गरी निःशुल्क रुपमा बिरामीको उद्धार गरिने प्रतिबद्धता व्यक्त गरे ।
    हिमालय उद्धार सङ्घ, नेपालका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा यात्राका क्रममा भक्तजनलाई लेक लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले आवश्यकताअनुसार विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए ।
    उनका अनुसार आइतबार मध्याह्नदेखि सञ्चालनमा आएको स्वास्थ्य शिविर भदौ १३ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा आवश्यक औषधि तथा अक्सिजनसहित छ जना चिकित्सक र हिमालय उद्धार सङ्घका प्रतिनिधिका रूपमा प्रकाश खत्रीलाई खटाइएको छ । यसैबीच गोसाइँकुण्ड यात्रालाई सुरक्षित बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसमेतका सुरक्षा निकायलाई आवश्यकताअनुसार परिचालन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले स्पष्ट गरे ।

    सामाजिक सञ्जालमा देखाइए जस्तो गोसाइँकुण्ड जाने बाटोका कुनै पनि स्थानमा अहिले असहज अवस्था नरहेको र भारी वर्षाका कारण खसेका पहिरोसमेत तत्काल हटाउने काम भइरहेको प्रजिअ परियारले जानकारी दिए । यद्यपि यात्राका क्रममा भौगर्भिक अवस्थालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गरेर मात्र अघि बढ्न सम्बद्ध सबैसँग उनको सुझाव छ ।

    गोसाइँकुण्ड यात्राका क्रममा स्वास्थ्य, सुरक्षा एवं विरामी परेमा सुरक्षाकर्मीद्वारा उद्वारसमेतका व्यवस्थापन मिलाइ सकिएकाले निर्धक्क भएर यात्रा गर्नसमेत प्रजिअ परियारले सबैसँग अनुरोध गरे ।

  • नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री

    नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री

    ८ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी(२’ सार्वजनिक गरेका छन् । सिप्रदी यात्री कम्पनीले नेपालमै निर्माण गरेको उक्त स्कुटरको सोमबार सार्वजनिक गर्दै उनले नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगाएको बताए । ‘बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो।

    नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो, अर्थमन्त्री डा. वाग्लेले भने । नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगाएको उनको भनाई छ । अर्थमन्त्रीले उक्त स्कुटर इटालीका प्रख्यात ब्रान्डहरूभन्दा पनि अब्बल बनोस् र विश्व बजारमा फैलिन सकोस् भन्दै शुभकामना पनि दिए । सो क्रममा उनले नेपालमै बनेको यति राम्रो विद्युतीय स्कुटरको विस्तारका लागि सरकारले भरपूर सहयोग र संरक्षण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

  • टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

    टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

    काठमाडौँ, ८ भदौः अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ । डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको होे । यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो ।

    नेपाल ए ले जितको लागि दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स एकेडेमी १८.३ ओभरमा सबै विकेट गुमाउदै ११५ रनमा समेटियो । एकेडेमीका लागि नितेश सामुएलले सर्वाधिक ३७ रन बनाए भने टिम वार्डले २३ रन जोडे । नेपालका बलरमध्ये नारायण जोशीले तीन विकेट लिए भने शाहब आलम र पवन सर्राफले समान २–२ विकेट लिए । विपिन खत्रीले एक विकेट झारे ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ए ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । मायन यादवले ३१, कप्तान अनिल साहले २८ तथा लोकेश बमले २० रन बनाए । तृत राज दासले १० रन जोडे ।

  • जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

    जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

    काठमाडौँ, ८ भदौ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज उनको कार्यकक्षमा भएको छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभा सदस्य, मुख्य सचिव, गृहसचिव तथा जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेका प्रतिनिधिको सहभागिता थियो ।

    छलफलमा गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट गत मङ्सिर २४ गते स्वीकृत १० बुँदे सम्झौता तथा गत असार १८ गते स्वीकृत २४ बुँदे प्रस्ताव कार्यान्वयनको अवस्थाबारे विचार आदानप्रदान भएको थियो । माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा गठित सहजीकरण समितिलाई जेन–जीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने विशेष कार्यदलका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ ।

    छलफलमा जेन–जी परिषद् घोषणा, जेन–जी शहीद दिवस घोषणा, दौलत थापालाई ‘जिउँदो शहीद’ घोषणा, २४ बुँदे प्रस्ताव संशोधन, संसद् भवन परिसरमा जेन–जीको शालिक निर्माण तथा जेन–जी पार्क निर्माणलगायत विषयमा विचार आदानप्रदान भएको गृह मन्त्रालयले जनाएको छ ।

  • स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

    स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

    वालिङ (स्याङ्जा), ८ भदौः गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज साँझ गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार मृतकको परिचय खुलेको छैन । जिपमा कति यात्री सवार थिए यकिन पनि भएको छैन । जिप चालक र केही घाइतेलाई गल्याङ नगर अस्पताल पुर्याइएको छ । दुर्घटनाको विवरण सङ्कलन जारी छ ।

  • विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

    विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद


    काठमाडौँ, ८ भदौः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल र ल्यापटपका पार्टपूर्जा, सूर्तीजन्य पदार्थ (चुरोट) र पहेँलो धातु बरामद गरिएको छ । विमानस्थल सुरक्षा कार्यालयका अनुसार चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक छन् झुसनको साथबाट बिलबिजक नभएका मोबाइल तथा ल्यापटप, ल्यापटपका पार्टपुर्जासहित डिस्प्ले, कभरलगायत सामग्री तथा सूर्तीजन्य पदार्थ (चुरोट) बरामद गरिएको हो ।

    अन्तरराष्ट्रिय आगमन भन्सार क्षेत्रबाट बाहिर निस्किने क्रममा शङ्का लागि सोधपुछ तथा जाँच गर्दा निजको साथबाट करिब रु ७२ लाख २५ हजार बराबरको ती सामग्री बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । त्यस्तै कतारको दोहाबाट नेपाल एयरलाइन्समार्फत काठमाडौँ आएका यात्रु प्रयोग गरी सुन ओसारपसार भएको भन्ने सूचनाका आधारमा विमानस्थलको अन्तरराष्ट्रिय पार्किङ क्षेत्रबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५का ३५ वर्षीय कृष्ण यादव पक्राउ परेका सिलवालले बताए ।


    बाह्य मुलुकबाट आगमन भएका तीन जना यात्रुलाई प्रयोग गरी भन्सार छली ल्याएको सुनजस्तो देखिने पहेँलो धातुको सिक्री तीन थान, अन्दाजी ७५ ग्रामसहित उक्त सामग्री ल्याइदिने व्यक्तिलाई ज्यालाबापत दिनका लागि रु ३० हजारसहित निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको विमानस्थल सुरक्षा कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  • टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’रोबोट्याक्सी सार्वजनिक गर्ने

    टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’रोबोट्याक्सी सार्वजनिक गर्ने

    सान फ्रान्सिस्को, ८ भदौ (रासस–सिन्ह्वा) । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको अस्टिनमा आफ्नो ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने तयारी गरेको मिडिया रिपोर्टहरूले जनाएका छन् । टेस्लाकेन्द्रित समाचार संस्था ‘टेस्लाराटी’का अनुसार उक्त कार्यक्रम कम्पनीको मुख्यालय रहेको अस्टिनमा आयोजना हुनेछ । संस्थाले कार्यक्रमको निमन्त्रणा प्राप्त भएको दाबी गरेको छ । यद्यपि, टेस्लाले कार्यक्रमको मिति आधिकारिक रूपमा पुष्टि गरेको छैन ।

    साइबरक्याब विशेष रूपमा स्वायत्त सञ्चालनका लागि डिजाइन गरिएको सवारी साधन हो । यसमा स्टेयरिङ ह्वील र पेडल राखिएको छैन र पूर्ण रूपमा स्वचालित सञ्चालनका लागि टेस्लाको ‘सेल्फ ड्राइभिङ’ सफ्टवेयरमा निर्भर रहनेछ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यसअघि साइबरक्याब निजी ग्राहकलाई प्रतिएकाइ ३० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा बिक्री गर्ने योजना रहेको बताउनुभएको थियो ।

    सन् २०२४ को अक्टोबरमा पहिलो पटक सार्वजनिक गरिएको साइबरक्याब टेस्लाको रोबोट्याक्सीसम्बन्धी योजनाको प्रमुख हिस्सा हो । कम्पनीले यसलाई ‘मोडल वाई’ सवारीसँगै स्वायत्त यात्रु सेवामा प्रयोग गर्ने योजना बनाएको छ । मोडल वाईका केही सवारी एक वर्षभन्दा बढी समयदेखि वास्तविक सडकमा स्वायत्त यात्रु सेवा परीक्षणमा प्रयोग हुँदै आएका छन् ।

    प्रविधि प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार टेस्लाले व्यावसायिक रोबोट्याक्सी सेवा सुरु गर्नुअघि साइबरक्याबमार्फत आफ्ना कर्मचारीलाई सार्वजनिक सडकमा सेवा उपलब्ध गराउने योजना बनाएको छ । रोबोट्याक्सी सेवा टेस्लाको भविष्यको राजस्व तथा कृत्रिम बुद्धिमत्ता (एआई) रणनीतिको महत्त्वपूर्ण हिस्सा हुने अपेक्षा गरिएको छ ।

  • एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी


    एथेन्स, ८ भदौ (रासस–एपी) । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने पर्यटकबीच घामबाट बच्ने टोपीको माग बढेको छ ।
    एक्रोपोलिसतर्फ जाने उकालो बाटो तथा आसपासका पसल र किओस्कहरूमा परालका टोपी, पानामा ह्याट, बेसबल क्याप र बकेट ह्याटका स्ट्यान्ड देखिन थालेका छन् । दिउँसोको चर्को घामबाट जोगिन पर्यटकहरूले टोपीलाई आवश्यक सामग्रीका रूपमा प्रयोग गर्न थालेका छन् ।

    सन् २०२५ मा एक्रोपोलिसमा करिब ४६ लाख पर्यटक पुगेका थिए । धेरै पर्यटकले छायाँको अभावमा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा घण्टौँ बिताउने गरेका छन् । अस्ट्रेलियाली पर्यटक ज्याक योसिफले घामबाट बच्न टोपी आवश्यक भएको बताए । “मेरो अनुहार घामले रातो भइसकेको छ । अहिले टोपी लगाउनु सामान्य भएको छ र मानिसहरू पनि यसप्रति बढी सचेत भएका छन्”, उनले भने ।


    गत वर्ष ग्रीसमा करिब तीन करोड ८० लाख पर्यटक पुगेका थिए । अत्यधिक गर्मीका बाबजुद पर्यटकको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूले घामबाट बच्ने उपाय अपनाउन आग्रह गरेका छन् । एक्रोपोलिसमा रेडक्रसका स्वयंसेवकहरूले पर्यटकलाई सनस्क्रिन, पानी, जानकारीमूलक पर्चा तथा टोपी वितरण गर्दै आएका छन् । स्वास्थ्यकर्मीहरूले पराबैजनी किरणको असर तथा ‘हिट स्ट्रोक’बाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

    सिन्टाग्मा स्क्वायरका किओस्क सञ्चालक कोन्स्टान्टिनोस मालिओसले पछिल्ला वर्षमा टोपीको बिक्री बढेको बताए । उनका अनुसार टोपीको मूल्य छ युरोदेखि २० युरोसम्म पर्छ । यसैबीच, टोपी निर्माता लिसा सारिगियानिडोउले परम्परागत शैलीका परालका टोपी उत्पादन गर्दै आएका छन् । उनका टोपीको मूल्य करिब ५० युरोबाट सुरु हुने र विशेष डिजाइनका टोपीको मूल्य १०० युरोभन्दा बढी पर्ने उनले बताए । “टोपीप्रतिको मानिसहरूको दृष्टिकोणमा परिवर्तन आएको छ”, उनले भने ।

  • एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

    एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

    हङकङ, ८ भदौ (रासस–एएफपी) । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता ९एआई० क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ शेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना बनाएको आइतबार जनाएको छ । हाङजाउमा मुख्यालय रहेको अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । कम्पनीका शेयरधारकहरूले भने उक्त लगानीबाट प्रतिफल प्राप्त गर्ने विषयमा चासो व्यक्त गर्दै आएका छन् ।

    “कम्पनीको विश्वव्यापी एआई नेतृत्व विस्तार गर्न शेयर निष्कासन गर्न लागिएको हो”, अलिबाबाले विज्ञप्तिमा भनेको छ । कम्पनीका अनुसार शेयर निष्कासनबाट प्राप्त सम्पूर्ण रकम एआईसम्बन्धी पूर्वाधार विस्तार तथा आफ्नो ‘फुल–स्ट्याक एआई क्षमता’ विकासमा लगानी गरिनेछ । अलिबाबाले बिहीबार सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको राजस्व करिब २६९ अर्ब युआन (करिब ४० अर्ब अमेरिकी डलर) पुगेको छ । विश्वव्यापी रूपमा एआईसम्बन्धी प्रविधिको माग बढेसँगै कम्पनीका उत्पादनको मागमा समेत वृद्धि भएको जनाइएको छ ।

    अलिबाबा आफ्नो खुला स्रोतको ‘क्वेन’ एआई मोडेलका लागि परिचित छ । उक्त मोडेल विश्वभरका विकासकर्तामाझ लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।

  • अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

    अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

    तेहरान, ८ भदौ (रासस–सिन्ह्वा) । इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई इरानविरुद्धको अमेरिकी ‘आर्थिक दबाब अभियान’मा सहभागी नहुन चेतावनी दिएका छन् । उनले अमेरिकी अभियानमा साथ दिने मुलुकलाई तेहरानले ‘शत्रु’का रूपमा व्यवहार गर्ने बताए ।

    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सरकारी प्रसारक आईआरआईबी टिभीसँगको अन्तर्वार्तामा इरानले सुरुमा सम्बन्धित मुलुकसँग वार्ता गरी अमेरिकाले सञ्चालन गरेको भनिएको ‘आर्थिक युद्ध’मा सहभागी नहुन आग्रह गर्ने बताए ।


    ती मुलुकले अमेरिकी अभियानलाई समर्थन गरिरहेमा इरानले उनीहरूको हितविरुद्ध कारबाही गर्ने उनले बताए । क्षेत्रीय मुलुकले अमेरिकी दबाब अभियानलाई समर्थन गरेमा होर्मुज जलसन्धि र फारसी खाडी हुँदै हुने तेल निर्यात रोक्ने उनले बताए । रेजाईले जुनमा तेहरान र वासिङ्टनबीच भएको समझदारीपत्र (एमओयू) अन्तर्गत अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म होर्मुज जलसन्धि बन्द रहने दाबीसमेत गरे ।


    उनको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानलाई सहयोग गर्ने कुनै पनि मुलुकविरुद्ध ‘हालसम्मकै कठोर आर्थिक कारबाही’ गर्ने घोषणा गरेपछि आएको हो । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा यस्तो कारबाही ‘अभूतपूर्व स्तरको आर्थिक युद्ध र एक्ल्याउने प्रयास’ हुने बताएका थिए ।

  • अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

    अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

    मेलबर्न, ८ भदौ (रासस–सिन्ह्वा) । अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण अस्ट्रेलिया राज्यमा ‘लङ–नोज्ड फर सिल’ नामक समुद्री स्तनधारी जीवमा भाइरसको सङ्क्रमण देखिएपछि अधिकारीहरूले पुष्टि गरेका हुन् । कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले सङ्क्रमित सिल दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको बीचपोर्टमा फेला परेको बताइन् । “अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो”, कोलिन्सले पत्रकारहरूलाई बताइन् ।


    सङ्क्रमित जङ्गली चराहरू वा तिनको साझा वातावरणको सम्पर्कमा आएपछि सिलमा भाइरस सरेको हुन सक्ने उनले बताइन् । हालसम्म यो घटना अन्य बिरामी वा मृत समुद्री स्तनधारी जीवसँग सम्बन्धित रहेको कुनै प्रमाण फेला नपरेको उनले बताइन् । अधिकारीहरूका अनुसार अस्ट्रेलियाभर एच–५ बर्ड फ्लुका २९८ सङ्क्रमण पुष्टि भएका छन् । तीमध्ये १८३ वटा घटना दक्षिण अस्ट्रेलियामा देखिएका छन् । यद्यपि, अस्ट्रेलियाको कुखुरापालन तथा कृषि उत्पादन प्रणालीमा एच–५ बर्ड फ्लुको सङ्क्रमण फैलिएको कुनै प्रमाण फेला नपरेको अधिकारीहरूले बताएका छन् ।

  • टोकियो क्षेत्रमा भूकम्पमा कम्तिमा ३७ जना घाइते

    टोकियो क्षेत्रमा भूकम्पमा कम्तिमा ३७ जना घाइते

    टोकियो, ८ भदौ (रासस–एपी) । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन् । अधिकारीहरूले सुनामीको खतरा नरहेको बताएका छन् । जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणी इबाराकी प्रान्तमा ७० किलोमिटर गहिराइमा रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले भने भूकम्प पाँच दशमलव आठ म्याग्निच्युड रहेको जनाएको छ ।

    प्रिफेक्चरल अधिकारीहरू र अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार टोकियोमा १५, साइतामामा नौ, कानागावामा आठ, चिबामा चार र इबाराकीमा एक जना घाइते भएका छन् । अधिकांश घाइते भूकम्पका बेला लड्दा वा फर्निचर तथा ढोकामा ठोक्किँदा चोट लागेको बताइएको छ ।

    कानागावा प्रान्तको योकोहामामा ८० वर्षीया एक महिला ओछ्यानबाट लडेर गम्भीर रूपमा घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेल तथा उत्तरपूर्वी क्षेत्रमा सञ्चालन हुने केही स्थानीय रेल सेवामा ढिलाइ भएको थियो । यद्यपि, शिन्कानसेन बुलेट रेल सेवा सामान्य रूपमा सञ्चालन भएको पूर्वी जापान रेलवे कम्पनीले जनाएको छ ।

    प्रधानमन्त्री साने ताकाइचीले सम्भावित क्षतिको मूल्याङ्कन गर्न सरकारले कार्यदल गठन गरेको बताउनुभयो । जापान मौसम विज्ञान एजेन्सीले भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई आगामी एक सातासम्म थप मध्यम खालका भूकम्प आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । टोकियोको कोटो वार्डमा भूमिगत पानीको पाइप फुटेर सडकमा पानी बगेको थियो । पाइप मर्मत गरी चुहावट रोकिएको छ । आणविक नियमन प्राधिकरणले देशका आणविक ऊर्जा केन्द्र तथा अन्य आणविक सामग्रीसम्बन्धी सुविधाबाट कुनै असामान्य अवस्थाको रिपोर्ट नभएको जनाएको छ ।

  • प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ, ८ भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।


    त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    त्यसैगरी, आजै विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । विवरणअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

  • दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    म्याग्दी, ८ भदौः जिल्लाको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको कटानका कारण मोटरेबल पुल जोखिममा परेको छ । दुखुखोलामा आएको बाढी पुलको संरचनाभन्दा मुनिबाट बग्न थालेपछि भासिने जोखिम बढेको हो । दुखुबेँसीका बासिन्दासमेत रहेका मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले पुलको मङ्गला गाउँपालिकातर्फको जग मुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएको जानकारी दिए ।


    “यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ”, उनले भने, “यो पुल भत्किने हो भने मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँग सिधा यातायात सम्पर्क टुट्छ ।” पुलको एकातर्फको पिलरको जगमुनिबाट खोलाले कटान गरेर बाढी बग्न थालेको छ ।

    सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला पूर्वाधार कार्यालयले ठेक्का लगाएको २० मिटर लामो र छ मिटर फराकिलो यो पुल रु दुई करोड छ लाखमा २०७६ सालमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । मालिकाधुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो । पूर्वाधार विकास कार्यालयले दुखुखोला सडक पुल संरक्षणका लागि शनिबारदेखि नै काम सुरु भएको जनाएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले डोजर परिचालन गरेर खोला डाइभर्सन गर्ने र पर्खाल बनाएर पुलको पिलर तथा पहुँचमार्ग संरक्षणको काम थालिएको बताए । जोखिमयुक्त भएकाले पुलमा यात्रा गर्ने क्रममा सावधानी अपनाउन कार्यालयले आग्रह गरेको छ ।

  • पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ


    कपिलवस्तु, ८ भदौः कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।
    कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच जनालाई रोकी जाँच गर्दा उनीहरूको साथबाट १५ किलोभन्दा बढी लागुऔषध बरामद गरेको हो ।


    जाँचका क्रममा उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर, पर्साका चुमा लामिछाने छिन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । बरामद पदार्थको परीक्षण तथा घटनासँग सम्बन्धित अन्य व्यक्ति र सम्भावित सञ्जालबारे अनुसन्धान भइरहेको उनले बताए ।

  • आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

    आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

    कञ्चनपुर, ८ भदौः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताएकी छिन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा शुक्लाफाँटा आरक्षबाट विस्थापितको भेलालाई सम्बोधन गर्दै उनले पीडितको मागअनुसार सरकारले आयोग गठन गरी समस्या समाधान गर्ने बताइन् । “आरक्ष विस्थापितको समस्या समाधानका लागि तपाईँहरूका मागअनुसार एकडेढ साताभित्रै आयोग गठन हुँदैछ”, मन्त्री रावलले भनिन्, “उक्त आयोगले समस्या समाधानको निकास निकाल्ने छ ।”

    समस्या समाधानको प्रक्रिया अघि बढिसकेकाले धैर्य गरेर बस्न आग्रह गर्दै उनले अब माग लिएर काठमाडौँ धाउन नपर्ने बताइन् । “सरकार समाधानको बाटोमा अघि बढिसकेको छ, आयोगलाई काम गर्न सहयोग गर्नुहोस्”, उनले भनिन् । आरक्ष विस्थापितका नाममा थप राजनीति नगर्न आग्रह गर्दै मन्त्री रावलले समस्या समाधानको प्रक्रिया अघि बढिसकेको उल्लेख गरिन् ।

    उनले विस्थापितलाई आन्दोलनका कार्यक्रम अन्त्य गरी आयोगलाई सहयोग गर्न आग्रह गरिन् । विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका करिब दुई हजार आरक्षपीडित विभिन्न स्थानमा कष्टकर जीवन बिताउँदै आएका छन् । पीडितले आफूहरूको उचित व्यवस्थापनको माग गर्दै विभिन्न समयमा आन्दोलन गर्दै आएका छन् ।

    त्यसैगरी, मन्त्री रावलले कञ्चनपुरका कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका भूमिहीन सुकुमवासीसँग भेट गरी सरकारले लालपुर्जा वितरण गर्ने भएकाले ढुक्क भएर बस्न आग्रह गरिन् । “तपाईँहरूलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनी सुधार पनि भइसकेको छ”, उनले भनिन्, “अब जिल्ला भूमि आयोगले छिटो काम अघि बढाएर तपाईँहरूलाई लालपुर्जा दिनेछ ।”

    उनले देशभरका भूमिहीन सुकुमवासीको समस्या समाधानका लागि कानुनमा आवश्यक सुधार गर्नुपर्ने बताइन् । हालको कानुनका कारण देखिएका समस्या समाधान गर्न कानुन संशोधन गरी देशभरका सुकुमवासीको समस्या समाधान गर्ने सरकारको नीति रहेको उनको भनाई छ । यस क्रममा मन्त्री रावलले महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थल र दोधारा चाँदनी नगरपालिकास्थित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गरेकी थिइन् ।

  • लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    काठमाडौँ, ८ भदौः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएकी छिन् । थारू कल्याणकारिणी सभाले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढङ्गले समाधान खोज्नुपर्ने बताइन् । थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

    यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा आफूले निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन् । उनले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने र थारू समुदायका जायज माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताइन् ।

  • दिवङ्गत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा

    दिवङ्गत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा

    काठमाडौँ, ८ भदौः विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा दिवङ्गत आफन्तको सम्झनामा विशेष पूजाआजा गरिएको छ । बौद्ध धर्मावलम्बीले एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा परम्परागत बाजागाजासहित स्वयम्भूमा पूजाआजा गरेका हुन् । उनीहरूले भैँसीको सिङबाट बनेको बाजासमेत बजाएका थिए । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुँला पर्वअन्तर्गत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट आएका भक्तजनले स्वयम्भू महाचैत्यको परिक्रमा गरी विधिपूर्वक पूजाआजा गरेका हुन् ।

    नेपाल संवत्को दशौँ महिनाका रूपमा रहेको गुँला पर्वलाई पुण्य सञ्चय गर्ने पवित्र महिनाका रूपमा एक महिनासम्म मनाउने गरिन्छ । ‘गुँ’को अर्थ गुण गर्नु र ‘ला’को अर्थ महिना भन्ने बुझिन्छ । गुँला पर्वमा सहभागी भक्तजनले धार्मिककार्य गरी पुण्य सञ्चय गर्ने र आफ्नो क्षमताअनुसार दान दिने परम्परा छ । यस अवधिमा जीवनलाई शुद्ध र सात्विक बनाउने विभिन्न नियम पालना गर्ने गरिन्छ ।

    धर्मावलम्बीले एक महिनासम्म प्राणी हिंसा नगर्ने, नदिइएको वस्तु नलिने, मिथ्याचार नगर्ने, झुटो नबोल्ने, लागुऔषध तथा मदिरा सेवन नगर्ने, अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण नलगाउने र ब्रह्मचार्य पालना गर्नेलगायतका अनुशासन पालना गर्ने गर्छन् ।

    स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले एकमहिने गुँला पर्वलाई व्यवस्थित बनाउन स्वयम्भू र आसपासका क्षेत्रमा सरसफाइ, रङरोगन तथा बत्ती जडान गरेको महासमिति सदस्य राजु लामाले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन बाजागाजासहित स्वयम्भूमा पूजाआजाका लागि आउने र पूजापछि शोभाभगवतीको परिक्रमा गर्ने परम्परा रहेको छ ।

  • वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

    वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

    मोरङ, ७ भदौः कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता पाइरहेका छन् । वैदेशिक रोजगारीको लोभलाग्दो कमाइ छाडेर स्वदेश फर्किएका उहाँहरूले सुरु गरेको राँगाको सुकुटी व्यवसायले अहिले लक्ष्मीमार्गको पहिचान नै बदलेर ‘सुकुटी बजार’ बनाइदिएको छ ।

    कतारमा छ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठ यस्तै उदाहरण हुन् । सुरुआती दिनमा महिनामा २०–३० किलो सुकुटी बेच्न धौ–धौ हुने प्रेमको पसलबाट अहिले मासिक सयौ किलो सुकुटी बिक्री हुन्छ । प्रतिकिलो रु दुई हजार ७०० मा बिक्री हुने सुकुटीबाट उनले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहेको प्रेमले बताए । राँगाको आलो मासु बेलबारी, हरैचालगायत स्थानीय बजारमा प्रतिकिलो रु ७०० मा किनेर सुकुटी बनाउने गरेको उनले बताए । प्रेमका अनुसार आलो मासुको बढीमा एक चौथाइसम्म सुकुटी बन्ने गरेको बताउँछन् ।


    प्रेम र दिलीप मात्र होइन, अरु युवा पनि यस व्यवसायमा लागिरेका छन् । “विदेशको कडा मेहनत र परिवारबाट टाढा हुनुको पीडाभन्दा आफ्नै घरमा परिवारसँगै बसेर गरेको यो व्यवसायले धेरै सन्तुष्टि दिएको छ”, वैदेशिक रोजगारीबाट फर्केर ११ वर्षदेखि यही पेसामा जमेका शोभितमान श्रेष्ठ बताउँछन् ।

    पूर्वी–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूका लागि लक्ष्मीमार्ग अहिले सुकुटीको स्वाद लिने मुख्य थलो बनेको विराटनगर निवासी सेन्जम फुयाल बताउँछन् । स्वदेशी बजारमा मात्र होइन, यहाँको सुकुटीको माग अहिले बेलायत र अमेरिकामा रहेका नेपालीसम्म पुगेको सुकुटी व्यवसायी दिलीप श्रेष्ठले बताउँछन् ।

    कोसेलीका रूपमा अन्तरराष्ट्रिय बजारबाट उच्च माग आए पनि परम्परागत निर्माण शैली र जनशक्तिको अभावका कारण मागअनुसार पुर्‍याउन धौ–धौ परिरहेको व्यवसायीहरू बताउँछन् । विदेशमा बगाउने पसिना र समय आफ्नै माटोमा खन्याउने हो भने स्थानीय परिकारलाई पनि सफल व्यवसाय र अन्तरराष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ भन्ने विश्वास रहेको प्रेम श्रेष्ठले बताए ।

  • चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

    चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

    काठमाडौँ, ७ भदौः नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालबीच देशमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनसीसी अध्यक्ष कमलेश अग्रवाल एनआरएनए अध्यक्ष डा हेमराज शर्माबीच आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    दुवैपक्षबीच भएको समझदारीपत्रमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासलाई सहजीकरण गर्ने समावेश गरिएको छ । एनसीसीका अध्यक्ष अग्रवालले दुवै पक्षबीच भएको समझदारीले नेपालमा गैरआवासीय नेपालीले प्रत्यक्ष वैदेशिक लगानी भित्राउनको लागि मार्गप्रशस्त गर्ने बताए ।


    “हामी दुवै पक्षबीच भएको समझदारीले नेपालमा स्वदेशी तथा गैरआवासीय नेपाली व्यावसायिक समुदायउबीच सहकार्य सुदृढ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौँ”, उनले भने, “दुवै पक्षबीच ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदान गर्नका लागि मार्गप्रशस्त गर्नेछ ।”

    एनआरएनएका अध्यक्ष डा शर्माले नेपालका विभिन्न कानुनी जटिलताको कारणले वैदेशिक लगानी भित्राउनको लागि समस्या भइरहेको गुनासो गरे । “दुवैबीच भएको समझदारीपत्रले पक्कै पनि व्यापार प्रवर्द्धन र देशमा प्रत्यक्ष लगानी भित्राउनको लागि नीतिगत रूपमा सहज वातावरण बनाउन आवश्यक छ ।”

    दुवैपक्षबीच भएको समझदारीमा एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यावसायिक कार्यक्रम आयोजना गर्नेछन् । त्यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिनेछ ।

    त्यसैगरी निर्यातमुखी उद्योगको प्रवर्द्धन, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअपलाई सहयोग तथा संयुक्त पहल सञ्चालन गर्ने विषयमा पनि सहकार्य गर्ने उल्लेख गरिएको छ । क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला तथा सेमिनार आयोजना गर्नुका साथै दुवै पक्षले आफ्नो अनुभव, विशेषज्ञता र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सहमति गरेका छन् । व्यावसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको सिफारिस गर्न तथा सरकार र सम्बन्धित सरोकारवालासँग संवाद र समन्वय गर्न पनि दुवै संस्थाले सहकार्य गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

    अध्यक्ष अग्रवालले आर्थिक नीति र कानुनी संरचनामा स्थिरता तथा स्पष्टता नभएसम्म स्वदेशी र विदेशी लगानीकर्ता पूर्ण भित्राउन नसकिने बताए । “आजको समझदारीपत्र केवल कागजमा सीमित हुनु हुँदैन,” उनले भने, “यसलाई व्यवहारमा उतार्दै लगानी, व्यापार, रोजगारी र आर्थिक रूपान्तरणका क्षेत्रमा ठोस परिणाम दिनुपर्छ ।”

    अध्यक्ष शर्माले विश्वभर छरिएर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए । उनले लएनआरएनए केवल विदेशमा बस्नेको संस्था मात्र नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पुर्‍याउने साझा मञ्चको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

  • सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

    सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

    काठमाडौँ, ७ भदौः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सगरमाथा आरोही सङ्घको २५औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘रजत महोत्सव’ कार्यक्रममा ऐनलाई समयसापेक्ष बनाउँदै आरोहीमैत्री बनाउनुपर्नेमा जोड दिइएको हो । महोत्सव उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा डेविड शेर्पाले पर्यटन क्षेत्रलाई समयसापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न वर्तमान पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताए ।


    उनले विसं २०३५ मा बनेको पर्यटन ऐन अहिलेसम्म पनि पूर्ण रूपमा परिवर्तन नहुनु समस्याका रूपमा रहेको उल्लेख गे । “हामी अझै पनि २०३५ सालको कानुनमा हिँडिरहेका छौँ, अब यसलाई परिवर्तन गर्ने सुनौलो अवसर आएको छ, यसमा तपाईँहरूको साथ र सहयोगको खाँचो छ”, उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्यटन प्रवर्द्धन र यससँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै प्रतिनिधिसभा सदस्य शेर्पाले आफूलाई आरोहीको आवाज बुलन्द गर्न जनताले संसद्मा जिम्मेवारीसहित पठाएकाले उक्त जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । सगरमाथा आरोहणको ७३ वर्ष पुगिसक्दा पनि धेरै आरोहीले उचित सम्मान र सुरक्षा नपाएका उनको भनाइ छ ।

    “हामीले थुप्रै आरोहीहरू गुमाएका छौँ, कति महिला एकल भएका छन्, बालबालिका टुहुरा भएका छन् । आरोहीको अधिकारका लागि सरकारले के ग¥यो भन्ने प्रश्न अझै जीवितै छ”, शेर्पाले भने। उनले नेपाली युवा विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै युवाले मुलुकको पर्यटन क्षेत्रमा भविष्य देख्ने वातावरण बनाएर अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

    नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटनको विकास भएमात्र देशको विकास हुने बताए । उनले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले यसको विकास, प्रचारप्रसार, प्रवर्द्धन र संरक्षणमा लाग्न सबैलाई आग्रह गरे । उनले नेपाल पर्वतारोहण सङ्घले प्रत्येक दुई वर्षमा आरोहीलाई सम्मान गर्दै आइरहेको जानकारी दिए ।


    सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोही तथा माउन्टेन गाइड (पथप्रदर्शक)को सुरक्षा, हकहित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी नीतिनिर्माण गर्नुका साथै छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने बताइन् । उनले आफ्नो जीवन जोखिममा राखेर नेपालको पर्यटन तथा पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाउने आरोही र माउन्टेन गाइडको भविष्य सुनिश्चित गर्नुपर्ने बताइन् ।

    सङ्घका प्रथम उपाध्यक्ष दिवस पोखरेलले आरोही तथा गाइडले हिमाल आरोहणका क्रममा अत्यधिक चिसो, हिमपहिरो र अन्य जोखिमसँग सामना गर्नुपरेको र कतिपयले ज्यान गुमाउनुपरेको बताए । आरोही तथा गाइडको सुरक्षा र अधिकार सुनिश्चित गर्न सङ्घ तथा प्रदेश तहमा स्पष्ट र व्यावहारिक नीति आवश्यक रहेको उनको भनाइ छ ।

    “संसारले हाम्रा अग्ला र सेता हिमाल देख्छ, तिनको सौन्दर्यको प्रशंसा गर्छ तर ती हिमालको चुचुरामा देशको झण्डा फहराउने आरोही तथा गाइडको वास्तविक दुःख, पीडा र सङ्घर्ष भने प्रायः ओझेलमा पर्ने गर्छन्”, उनले भने । सङ्घका महासचिव शिवबहादुर सापकोटाले दुर्घटनामा परेका आरोहीको निःशुल्क तथा गुणस्तरीय उपचार र ज्यान गुमाएका आरोहीका बालबालिकाका लागि उच्च शिक्षा तथा छात्रवृत्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

    “जबसम्म हाम्रा गाइड र आरोही सामाजिक र आर्थिक रूपमा सुरक्षित हुँदैनन्, तबसम्म नेपालको पर्यटन क्षेत्रको दिगो विकास सम्भव छैन”, उनले भने । कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आरोही र पर्वतीय पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । त्यस्तै, सङ्घद्वारा २५औँ स्थापना दिवसका अवसरमा प्रकाशन गरिएको ‘रजत स्मारिका’ विमोचन गरिएको थियो ।

  • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

    काठमाडौँ, ७ भदौः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पारे । राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताए ।


    “व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न”, उनले भने । यद्यपि, त्यस्ता मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको महानिरीक्षक कार्कीको स्वीकारोक्ति थियो ।

    “ती पुराना घटनाको अध्ययन र निरन्तरको अनुसन्धानबाट घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्य प्रहरी सङ्गठनले गर्दै आएको छ”, उनले भने । पुराना चर्चित घटनालाई विशेष टोली गठन गरेर अनुसन्धान गरिरहेको जानकारी दिँदै उनले त्यसबाट केही-केही घटनामा राम्रो सफलता मिलेको सुनाए ।
    प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको जानकारी दिए । उनले भने, “नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ ।”

    विश्वव्यापीरूपमा बदलिँदो समाज, प्रविधि र कार्यशैलीले सुरक्षा चुनौती थपिरहेको विश्लेषण गर्दै महानिरीक्षक कार्कीले परम्परागत अनुसन्धान पद्धतिले मात्र आधुनिकताको सम्बोधन गर्न नसक्ने बताए । “प्रहरी कर्मचारीलाई स्वचालित र उत्प्रेरित गर्न पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरेका छौँ”, उनले भने, “यो पूर्वानुमानयोग्य छ । कामका आधारमा मूल्याङ्कन हुन्छ, जसले व्यक्तिलाई सुधार्ने मौका पाउँछ ।”

    महानिरीक्षक कार्कीले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै त्यसबाट नागरिकलाई प्रहरी कार्यालयसम्म पुग्नु नपर्ने अवस्था सुनिश्चित गरेको बताए । “उहाँहरू घरबाटै पनि आफ्ना आवेदन तथा निवेदन दिन र त्यसबारे बुझ्न सहज हुने गरी प्रणालीको विकास गरिएको छ”, उनले भने, “नेपाल पुलिस एपमार्फत धेरै सेवा लिन सकिने छ ।”

    पछिल्लो समय प्रविधिजन्य र आर्थिक अपराधका घटना वृद्धि हुँदै गइरहेको जनाउँदै उनले ती घटनाका अनुसन्धान गर्न सोहीअनुसार जनशक्ति भर्ना र परिचालनको आवश्यकता महसुस गरिएको बताए । उनले विशिष्टीकृत अनुसन्धान इकाई गठन गरिएको पनि जानकारी दिए ।


    महानिरीक्षक कार्कीले अपराधको विश्वव्यापी सञ्जाललाई निस्तेज पार्न विभिन्न देशका प्रहरी सङ्गठन र इन्टरपोलको माध्यमबाट अन्य मुलुकका विशिष्टीकृत, विकसित र लोकप्रिय अनुसन्धानमूलक इकाइसँग आवश्यक समन्वय गरिएको जनाए । “नेपाल प्रहरीले आधुनिक ‘पुलिसिङ ’का स्ट्यान्डर्डलाई अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी सङ्गठनका सदस्यसँग समन्वय गरिरहेको छ”, महानिरीक्षक कार्कीले भने । उनले प्रविधिको प्रयोगबाट भएका आपराधिक क्रियाकलाप रोक्न प्रहरी सङ्गठन सक्षम हुने विश्वास व्यक्त गरे ।


    नेपाल प्रहरी आमनागरिकको सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने सङ्गठन भएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले समाजमा शान्ति, सुव्यवस्था र अमनयन कायम गरी नागरिकका जीउधनको रक्षाका लागि सबै तह र तप्काको सहयोगको अपेक्षा गरे । “प्रहरीलाई प्राप्त जिम्मेवारीमा सफलता हासिल गर्न आमनागरिकको सहयोगको अपेक्षा सदैव छ”, उनले भने, “आपराधिक प्रवृत्ति भएका मान्छेका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछु ।”

  • विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्ः सभापति

    विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्ः सभापति

    काठमाडौँ, ७ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बहुदलपछिको ३५ वर्षको बेथितिको कुरा गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने भन्दै अबको ३५ वर्षको योजना ल्याउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् ।

    रास्वपाका केन्द्रीय सदस्यलाई लक्षित गरी शनिबार र आजका लागि राखिएको ‘नीति, सङ्गठन र नेतृत्व’ कार्यक्रमअन्तर्गत पहिलो श्रृङ्खलाको समापन गर्दै सभापति लामिछानेले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न खरो उत्रिनुपर्नेमा जोड दिए । उनले भने, “३५ वर्षको हिसाबको कुरा गर्ने होइन, अबको ३५ वर्षको योजना ल्याउनुहोस् । विगतका नेतृत्वले जति सक्नुभयो गर्नुभयो, धन्यवाद । अबको ३५ वर्षमा गर्नुपर्ने कामको योजना अब हाम्रो काँधमा छ ।”

    आमनागरिकले पूरा विश्वास गरेर रास्वपालाई ठूलो दलका रूपमा स्थापित गरेका उल्लेख गर्दै सभापति लामिछानेले विश्वभरका प्रबुद्ध समुदायले पार्टी र हाम्रा कामलाई हेरिरहेकाले जनअपेक्षा पूरा गर्नेतर्फ सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । “राजनीतिमा इमान्दारिता, योग्यता र क्षमता आवश्यक छ । व्यक्तिगत लाभमा देशको राजनीतिक प्रयोग नहोस्, कुनै पनि देशले यति धेरै युवा पार्टी, संसद् र मन्त्री पाएको छैन । आज तपाईं हामीले बाटो बिरायौँ भने संसारभरि के सन्देश जान्छ भने, युवाको नेतृत्वको काम छैन । युवा भनेर हुँदो रहनेछ, ‘देख्नुभयो नेपाल’ भनेर अन्य देशले भन्नेछन् । नेपाल र नेपालीको शिर झुक्नेछ”, उनले भने ।


    केही राम्रो गर्न सकिँदैन भने नराम्रो नगर्न सकिने भन्दै सभापति लामिछानले यतिको प्रतिबद्धता हामीमा आवश्यक रहेको बताए । “मेरा कारणले तपाईंहरूको शिर झुक्दैन, अञ्जानमा गल्ती कमजोरी भए होलान्, त्यसलाई सच्याउने र क्षमायाचना गर्ने हो । आगामी दिनमा झुकेको शिर उठाउने प्रयास गर्नेछु, लडेछु भने उठेर फेरि दौडनेछु”, उनले भने । सभापति लामिछानेले समाजका विभिन्न क्षेत्रका व्यक्ति पार्टीमा आबद्ध भएका कारण सिङ्गो देशको ध्यान सरकार, संसद् र राजनीतिमा गइरहेकाले रास्वपा बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिए । इतिहासले दिएका महत्त्वपूर्ण मौकालाई सदुपयोग गर्दै हाम्रा क्रियाकलाप अघि बढ्नुपर्ने भन्दै उनले हाम्रो काम कारबाहीले लोकतन्त्र कमजोर हुन नहुने बताए ।

    “जानेर वा नजाने हामीबाट भएका क्रियाकलापले लोकतन्त्र कमजोर नबनोस्, यो हाम्रो पहिलो जिम्मेवारी हो”, उनले भने, “आज विभिन्न संस्था लोकतन्त्र खतरामा पर्ने चिन्तामा छन् । लोकतन्त्र एकै पटकमा गल्र्यामगुर्लम ढल्ने घर होइन । विगतमा राजनीतिक दल र सहिदको बलिदानबाट लोकतन्त्रसहित यी संस्था बलिया भएका हुन् । त्यसकारण हामीले लोकतन्त्र रक्षाका लागि पनि अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्नेछ ।”

    आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर रास्वपाका नेता तथा कार्यकर्ता गाउँगाउँमा जानुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सरकारले गरेका कामका बारेमा जनतालाई सूचना प्रवाह गर्नुपर्ने धारणा राखे । “स्थानीय सरकारमा बलियो उपस्थिति बनाउन हामीले अहिलेदेखि पहल गर्नुपर्छ । अहिले सरकार मात्र बलियो छैन, प्रतिपक्ष पनि बलियो छन् । तसर्थ जनता केन्द्रित भएर काम गर्नुपर्छ”, उनले भने, “यसपटक पनि मुलुकले बर्सौंदेखि देखेका सपना पूरा गर्न सकेनौँ भने मुलुक निराशामा प्रवेश गर्छ ।”

    सुशासनको मुद्दा उठाएको रास्वपाको सरकारले आजसम्म कुनै एक ठाउँमा अनियमिता गरेको भनी प्रश्न नउठेको उल्लेख गर्दै सभापतिले भने, “यो सबैभन्दा ठूलो उपलब्धि हो । सरकारले सुधारको जग हाल्ने काम गरिरहेकाले यसलाई निरन्तरता दिन हामी एकजुट हुनुपर्छ ।” आफू चाँडै मधेस प्रदेशको राजनीतिक भ्रमणमा निस्कन लागेको जानकारी दिँदै उहाँले अन्य नेता पनि गाउँगाउँ जाने र पार्टीलाई चलायमान बनाउने बताए ।

    “सरकारका काम कारबाहीका सम्बन्धमा आमनागरिकले सोधेका जिज्ञाशाको स्पष्ट जवाफ हामीसँग हुनुपर्छ । त्यसका लागि तयार हुनुहोला”, सभापति लामिछानेले निर्देशन दिँदै भने, “आमनागरिकले के भनेर मत दिएको थिए, त्यो पूरा गर्नेतर्फ हामी लाग्नुपर्नेछ ।” सरकारलाई पार्टीप्रति जवाफदेही बनाउन विभिन्न प्रयास गरिएको जानकारी दिँदै उनले आमनागरिकले सरकारका गतिविधिका बारेमा प्रश्न गर्न सक्ने बताए ।


    पार्टीले सरकारलाई जिम्मेवार बनाउँदै आएको उल्लेख गर्दै सभापति लामिछानेले पार्टी कार्यालयमार्फत मन्त्री जनतासँग जोडिने अभ्यास नयाँ थालनी भएको बताए । उनले रास्वपा विधिभन्दा बाहिर नजाने उल्लेख गर्दै भने, “पार्टीले अनुमोदन गरेको राजनीतिक दस्तावेज, विधि, निर्देशका र नियमावलीको अक्षरशः पालना हुन्छ । हामी विधिभन्दा बाहिर जान सक्दैनौँ, हिजो समायोजनका क्रममा धेरै विषय टुङ्ग्याएका छौँ, त्यसलाई सोहीअनुसार लिनुहोला ।”

  • पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

    पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

    पर्वत, ७ भदौः पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । महाशिला गाउँपालिकाको लुङ्खुदेउरालीबाट बिहादी गाउँपालिका–१ बाच्छातर्फ जाँदै गरेको ध१ह ६१ नम्बरको अटोरिक्सा आज दिउँसो फलेवास–१० कुर्घास्थित सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी अटोमा सवार बिहादी गाउँपालिका १ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विकको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिए ।


    “दुर्घटनामा चार जना घाइते भएका छन् । बिहादी-१ की २४ वर्षीया कविता विकको दाहिने खुट्टामा चोट लागेको छ । उहाँको अवस्था मध्यम छ । पन्ध्र वर्षीया अञ्जुली विकको दाहिने खुट्टामा भित्री चोट लागेको छ भने १३ वर्षीया दुर्गा विकको टाउकोमा भित्री चोट लागेको छ”, उनले भने ।

    अटो चालक फलेवास नगरपालिका–११ पङराङका ३६ वर्षीय मनबहादुर परियारको बायाँ ढाड र कुममा भित्री चोट लागेको प्रहरी निरीक्षक पटेलले बताए । उनका अनुसार घाइते सबैको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरी निरीक्षक पटेलले ओरालो बाटोमा ब्रेक नलागेकाले चालकले अटो नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

  • युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    एल्सेनबोर्न, ७ भदौ (रासस/एपी): यस वर्षको गर्मीयाममा युरोपभर फैलिएका डढेलोले पहिलो र दोस्रो विश्वयुद्धका बेला जमिनमुनि गाडिएका बम तथा बारुदी सुरुङको जोखिम उजागर गरेका छन् । अत्यधिक गर्मीका कारण कतिपय विस्फोटक पदार्थ पड्किएका छन् भने आगो निभाउन खटिएका उद्धारकर्मीसमेत जोखिममा परेका छन् ।

    फ्रान्स, बेल्जियम, जर्मनी र नेदरल्यान्ड्समा पुराना विस्फोटक पदार्थ विस्फोट भएका घटना सार्वजनिक भएका छन् । नेदरल्यान्ड्सको लिम्बर्ग प्रान्तमा सन् १९४४ मा भीषण युद्ध भएको क्षेत्रमा डढेलोको जोखिम बढेपछि बम निष्क्रिय पार्ने टोली परिचालन गरिएको थियो ।

    लन्डनस्थित ‘स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज’की शान्ति तथा द्वन्द्व अध्येता सारा नजेरीले जलवायु परिवर्तनका कारण डढेलो र विस्फोटका घटनाले युरोपको ‘जलवायु सुरक्षा’ कमजोर बनाउँदै लगेको बताउनुभयो । उहाँका अनुसार पहिले स्थिर अवस्थामा रहेका युद्धकालीन विस्फोटक पदार्थ अत्यधिक तापक्रम र डढेलोका कारण पुनः जोखिमपूर्ण अवस्थामा आउन सक्छन् । यस वर्षको डढेलोको जोखिम जनवरीमा भएको भारी वर्षाका कारण थप बढेको थियो ।

    उक्त वर्षाले वनस्पति वृद्धि गराएपछि गर्मीयाममा ती सुक्खा वनस्पति आगो फैलाउने इन्धन बनेका थिए । ‘वल्र्ड वेदर एट्रिब्युसन’ समूहको अध्ययनअनुसार उच्च तापक्रम, खडेरी, कम आद्र्रता र तीव्र हावाले आगो फैलिन अनुकूल वातावरण बनाएको थियो । पूर्वी बेल्जियमको लिएज प्रान्तमा डढेलोका क्रममा केही छिटपुट विस्फोट सुनिएको गभर्नर हर्भे जामारले बताउनुभएको छ ।

    आगो लागेको क्षेत्रमा पुराना हतियार रहेको सम्भावनालाई ध्यानमा राखेर आपत्कालीन टोली परिचालन गरिएको थियो । दोस्रो विश्वयुद्धका क्रममा बेल्जियमको ‘हाई फेन्स’ क्षेत्रमा नाजी जर्मनी र मित्रराष्ट्रका सेनाबीच भीषण युद्ध भएको थियो । सो क्षेत्रमा अहिले पनि बम, मोर्टारका गोला र बारुदी सुरुङका अवशेष भेटिने गरेका छन् । स्थानीय इतिहासकार बर्नार्ड कोलार्डका अनुसार, बेल्जियमले हरेक वर्ष विस्फोटक पदार्थसम्बन्धी हजारौँ सूचना प्राप्त गर्छ ।

    उहाँका अनुसार युद्धका पुराना रणभूमि अहिले जङ्गल, चरन तथा खेतीयोग्य जमिनमा परिणत भए पनि जमिनमुनि विस्फोटक पदार्थ अझै रहेका छन् । बेल्जियमको विस्फोटक पदार्थ व्यवस्थापन तथा विनाश सेवाले हरेक वर्ष देशभरबाट प्राप्त तीन हजारभन्दा बढी सूचनामा प्रतिक्रिया जनाउँदै दुवै विश्वयुद्धका करिब २०० देखि २५० टन विस्फोटक पदार्थ नष्ट गर्ने गरेको छ ।

    जलवायु परिवर्तनसँगै खडेरीले पनि पुराना विस्फोटक पदार्थ सतहमा ल्याउने जोखिम बढाएको छ । नदी तथा तालको जलस्तर घट्दा स्लोभाकिया, हङ्गेरी र जर्मनीमा दोस्रो विश्वयुद्धकालीन नौसैनिक माइन तथा बम फेला परेका छन् । एरिजोना विश्वविद्यालयकी अनुसन्धानकर्ता क्रिस्टिना ग्रीनले जलवायु परिवर्तनका कारण ‘युद्धका अवशेष फेरि सतहमा आइरहेको’ बताउनुभयो । उहाँका अनुसार यसले दशकौँदेखि ओझेलमा परेको युद्धकालीन जोखिमलाई पुनः सम्झाइरहेको छ ।

  • नाइजेरियामा जिहादीहरूद्वारा दर्जनौँको हत्या

    नाइजेरियामा जिहादीहरूद्वारा दर्जनौँको हत्या

    जोस (नाइजेरिया), ७ भदौ (रासस–एएफपी) । मध्य नाइजेरियाको नाइजर राज्यमा प्रार्थनाको क्रममा भएको आक्रमणमा जिहादीहरूले धेरै मानिसहरूलाई अपहरण गरी हत्या गरेको सांसदहरूलाई उद्धृत गर्दै शनिबार एएफपीले बताएको छ । अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश नाइजेरियाको जिहादी समूह १७ वर्षदेखि विद्रोहीसँग लडिरहेको छ ।

    उक्त समुहले त्यस्ता अपहरणहरूलाई एक प्रमुख रणनीति बनाएको छ, जसमा सन् २०१४ मा चिबोक सहरमा सयौँ स्कुलका छात्रा अपहरण गरिएको थियो । विद्रोही समूहको गतिविधि उत्तरपूर्वी क्षेत्रमा केन्द्रित छ, यद्यपि शुक्रबारको आक्रमण देशको पश्चिममा भएको थियो । यो यस्तो क्षेत्र हो जहाँ द्वन्द्वले समुदाय विभाजित भएपछि साहेलबाट सशस्त्र समूह र उग्रवादीहरूको गतिविधि बढेको छ ।

    शुक्रबारको प्रार्थना समाप्त भएको लगत्तै लाकुवाराको सशस्त्र समूहले बन्दुक, चक्कु र अन्य धारिला हतियार लिएर आक्रमण गर्न थालेको बोर्गू क्षेत्रको डिकेरा गाउँमा भएको आक्रमणमा बाँचेका जिब्रिल अहमदले बताउनुभएको छ । आक्रमणले नजिकैको बिन्जी गाउँ पनि प्रभावित भएको अहमद र सङ्घीय प्रतिनिधि जाफरु मोहम्मदले बताउनुभयो ।

    लकुरावा यस्तो प्रतिनिधि समूह हा,े जसलाई केही शोधकर्ताहरूले इस्लामिक स्टेट साहेल प्रान्तसँग जोडेका छन् भने आइएसएसपी बुर्किना फासो माली र नाइजरमा सक्रिय छ । अहमदले भन्नुभयो, “इस्लामको व्यवहारिक शिक्षाको अभ्यास नगरेको भन्दै उनीहरूले हाम्रा केही मानिसहरूको हत्या गरे ।” लामो समयसम्म चलिरहेको हिंसाकोबीचमा महमुदा भनेर चिनिने अर्को जिहादी समूहले हस्तक्षेप गरी लकुरावा लडाकुहरूसँग झडप गरेको अहमद र मोहम्मदले बताए ।

    अहमदले भन्नुभयो, “धेरै मानिसहरू भागे जबकि लकुरावा लडाकुहरू आफ्ना महमुदा प्रतिद्वन्द्वीहरूको सामना गर्न व्यस्त थिए ।” अहमद र मोहम्मद दुवैले घटनाबारे ठोस विवरण दिन नसकेको तर नाइजेरियाको प्रहरीले अपहरणको बारेमा थाहा पाएको बताएको छ ।

  • हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    मर्टल बिच, (साउथ क्यारोलिना), ७ भदौ (रासस–एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताउनुभएको छ । उहाँले वाशिङ्टन र तेहरानबीच बढ्दो तनावका बीच हर्मुज जलमार्गको नाम ‘अमेरिकी क्षेत्र’ भनेर वर्णन गरेको अल जजिराले जनाएको छ ।

    साउथ क्यारोलिनाको मर्टल बिचमा आयोजित एक सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामी उनीहरू (इरान) लाई आणविक हतियार राख्न दिन सक्दैनौँ । त्यसो भएमा तपाईंहरूले धेरै खराब परिणामहरू देख्नुपर्नेछ ।” उहाँले भन्नुभयो, “हामी गएर उनीहरूलाई रोकेका छौँ । उनीहरूसँग केही गरी आणविक हतियार हुने छैन।” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “इरान सम्झौता गर्न चाहन्छ तर वाशिङ्टनले त्यो सम्झौता स्वीकार नगर्न पनि सक्नेछ ।”

    उहाँले रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रण रहेको दाबी गर्नुभयो । अरबी समाचार संस्था अल जजिराले राष्ट्रपति ट्रम्पलाई उद्धृत गरी लेखेको छ, “उनीहरू कति धेरै सम्झौता गर्न चाहन्छन् हामीलाई थाहा छ । हामी पनि सम्झौता चाहन्छौँ तर इरानका पक्षमा मात्र सर्तहरू स्विकार गर्नेछैनौँँ । म हर्मुज जलमार्गलाई अहिले अमेरिकी क्षेत्रको रूपमा हेर्छु, यो अमेरिकी क्षेत्र हो।” मर्टलबिच जानुअघि संयुक्त आधार शिविर एन्ड्रयुजमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो,“अमेरिकाको हर्मुज जलमार्गमाथि ‘पूर्ण नियन्त्रण’ छ ।”

    उहाँले रणनीतिक जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने धारणालाई व्याख्या गर्नुभएको थियो । उहाँले भन्नुभयो, “वाशिङ्टनको इरानविरुद्धको नाकाबन्दीका बीच हर्मुज जलमार्गसँग जोडिएको क्षेत्रमाथि हाम्रो नियन्त्रण छ ।” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामी के हुन्छ भनेर हेरिरहेका छौँ । तपाईंहरूलाई थाहा छ, हामीसँग सीमामाथि पूर्ण नियन्त्रण छ । तपाईं नाकाबन्दीबारे जानकार हुनुहुन्छ र यो पनि तपाईलाई जानकारी छ कि हर्मुज जलमार्गसँग सम्बन्धित सम्पूर्ण क्षेत्र हाम्रो पूर्ण नियन्त्रणमा छ ।” उहाँले भन्नुभयो, “इरान सम्झौता चाहन्छ तर मेरो विचारमा ‘सही सम्झौता’ गर्न तयार छैन।”

    यी टिप्पणीहरू रणनीतिक जलमार्गमाथि वाशिङ्टन र तेहरानबीच जारी तनावका बीच आएका हुन्, जसबाट विश्वव्यापी ऊर्जा आपूर्तिहरूको ठूलो हिस्सा बाहिरिन्छ । यसअघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा रणनीतिक जलमार्गलाई ‘नयाँ अमेरिकी क्षेत्र’ भनेर चित्रण गर्ने एआई–जेनेरेटेड तस्बिर सेयर गर्नुभएको थियो । उक्त क्षेत्रमाथि संयुक्त राज्य अमेरिकाको नियन्त्रण रहेको दाबी उहाँले जारी राख्नुभएको छ।

    इरानले ट्रम्पको दाबी अस्वीकार गरेको छ । इरानी उपपरराष्ट्रमन्त्री काजेम गरीबाबादीले हर्मुज जलमार्गमाथि अमेरिकी राष्ट्रपतिको दाबी परिस्थितिले वा इरानले ‘सच्याइदिने’ बताउनुभयो । “जसरी ट्रम्पले सदाबहार पर्सियन खाडीको नाम सही लेख्नुभएको छ, त्यसैगरी चाँडै हर्मुज जलमार्गबारे उहाँको भ्रम सच्याइनेछ वा हामी यसमा भ्रमित मानिसको भ्रम सच्याउनेछौँ,” गरीबाबादीले एक्समा आफ्नो दावी पोस्ट गर्नुभएको छ।

    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रजाईले पनि ट्रम्पका टिप्पणीहरूको आलोचना गर्दै भन्नुभयो, “हर्मुज जलमार्ग पुनः खोल्न अमेरिकाको असमर्थता र यसलाई आफ्नो स्वामित्वको दाबी गर्ने बीचको खाडल वाशिङ्टन र जलमार्गबीचको सात हजार माइल (एघार हजार किलोमिटरभन्दा बढी) दूरीभन्दा बढी छ ।

    राष्ट्रपति ट्रम्पले हालै इरानविरुद्ध ‘कहिल्यै नलिएको सबैभन्दा कडा आर्थिक कारबाही’ घोषणा गर्नुभएको थियो र तेहरानलाई वित्तीय, व्यावसायिक वा सरकारी सहयोग गर्ने देशहरूलाई ‘अत्यधिक आर्थिक परिणाम’ को चेतावनी दिनुभएको थियो । यसबीच, इरानी सभामुख मोहम्मद बागेर गालिबाफले भन्नुभएको थियो, “अमेरिकाले नाकाबन्दी हटाउने, जम्मा भएका इरानी सम्पत्तिहरू मुक्त गर्ने र तेल प्रतिबन्धहरू कम गर्ने लगायतका कुराहरू समावेश १४ बुँदे समझदारीपत्रका प्रतिबद्धताहरू पूरा नगरेसम्म तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने छैन ।

  • अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटक ४० करोड डलर तिर्न सहमत

    अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटक ४० करोड डलर तिर्न सहमत

    सान फ्रान्सिस्को, संयुक्त राज्य अमेरिका, ७ भदौ (रासस–एएफपी) । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी कानुन उल्लङ्घन गरेको दाबीसहित अमेरिकी न्याय मन्त्रालयसँगको मुद्दा मिलाउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको मन्त्रालयले जानकारी गराएको छ । विश्वभरका नियामक निकायहरूले बालबालिकाको तथ्याङ्क, गोपनीयता र सुरक्षा संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध कारबाही तीव्र बनाएका छन्।

    चिनियाँ कम्पनी बाइटडान्सले ट्रम्प प्रशासनको प्रतिबन्धबाट बच्न यस वर्षको सुरुमा आफ्नो अमेरिकी एकाईको बहुमत सेयर बिक्री गरेको थियो । यो जरिवानाका लागि टिकटकको अमेरिकी एकाई ‘टिकटक युएस’ पनि बाध्य हुनेछ । अमेरिकी सञ्चारमाध्यमका अनुसार टिकटक युएसको टिकटकमा १९.९ प्रतिशत स्वामित्व सेयर छ । “सम्झौताअनुसार, टिकटकले ३० करोड अमेरिकी डलर तुरुन्तै तिर्नेछ र टिकटकको पूर्ववर्ती म्युजिकल.लीविरुद्ध प्रविष्ट गरिएको अघिल्लो सहमति आदेश खारेज गर्ने आदेश जारी भएपछि थप १० करोड डलर तिर्नेछ,” मन्त्रालयले एक वक्तव्यमा भनेको छ ।

    “यो बाल अनलाइन गोपनीयता संरक्षण ऐन (सीओपीपीए) सम्बन्धी मुद्दाबाट प्राप्त ‘अहिलेसम्मकै सबैभन्दा ठूला क्षतिपूर्तिमध्ये एक’ हो,” वक्तव्यमा थपिएको छ। सीओपीपीएले वेबसाइटहरूलाई अभिभावकको अनुमतिबिना १३ वर्षमुनिका बालबालिकाको व्यक्तिगत जानकारी सङ्कलन गर्न प्रतिबन्ध लगाउँछ । न्याय मन्त्रालय र संघीय व्यापार आयोगले सन् २०२४ मा संयुक्त रूपमा टिकटकविरुद्ध मुद्दा दायर गरेका थिए, जसमा कम्पनीले अभिभावकको अनुमतिबिना उनीहरूको व्यक्तिगत तथ्याङ्क सङ्कलन गरेर लाखौँ बालबालिकाको सुरक्षालाई जोखिममा पारेको आरोप लगाइएको थियो।

    उनीहरूले दाबी गरेका थिए, “टिकटकले बालबालिकालाई एप प्रयोग गर्न दिएको थियो र युवा प्रयोगकर्ताहरूबाट व्यक्तिगत तथ्याङ्क सङ्कलन तथा प्रयोग गर्दा उनीहरूका अभिभावकलाई जानकारी दिएको थिएन।” टिकटकको १३ वर्षमुनिका प्रयोगकर्ताका लागि बनाइएको ‘किड्स मोड’ मा सिर्जना गरिएका अकाउन्टहरूले पनि इमेल ठेगाना र अन्य व्यक्तिगत जानकारी सङ्कलन गरेको मुद्दामा दाबी गरिएको थियो ।

    सन् २०१९ मा अमेरिकाले म्युजिकल.ली नामक एपविरुद्ध सीओपीपीए मुद्दा दायर गरेको थियो, जसलाई बाइटडान्सले सन् २०१७ मा खरिद गरी पछि टिकटकमा विलय गराएको थियो। टिकटकले टिप्पणीका लागि गरिएको अनुरोधमा तुरुन्तै प्रतिक्रिया दिएन। मे महिनाको एबीसी न्यूजको रिपोर्टअनुसार, ट्रम्प प्रशासनले यी रकमलाई लिङ्कन मेमोरियल रिफ्लेक्टिङ पूलको सतह सुधार, ह्वाइट हाउसको बलरुमको नवीकरण र एउटा आर्च निर्माण लगायतका जारी ‘सुन्दरता’ परियोजनाहरूका लागि प्रयोग गर्ने विचार गरिरहेको बताएको थियो । सम्झौताबाट प्राप्त रकम केमा प्रयोग गरिनेछ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

    विश्वव्यापी कारबाही

    भिडियो एपविरुद्ध बढ्दो विश्वव्यापी कारबाहीका बीच टिकटकसँगको अमेरिकी सम्झौता आएको हो । ब्रसेल्सले सन् २०२४ मा डिजिटल सेवा ऐन (डीएसए) अन्तर्गत टिकटकमाथि अनुसन्धान सुरु गरेको थियो । यो ऐन सामग्रीसम्बन्धी कानुन र युरोपेली सङ्घको ठूला प्रविधि कम्पनीहरूलाई नियन्त्रण गर्न प्रयोग गर्ने प्रमुख कानूनी हतियार हो। जुलाईमा युरोपेली सङ्घले टिकटकलाई ‘साइबरबुलिङ’ र आक्रामक व्यवहारजस्ता जोखिमहरूमा बालबालिकालाई उजागर गर्न सक्ने खाता सेटिङमार्फत बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप लगाएको थियो, जसले कम्पनीलाई ठूलो जरिवानाको जोखिममा पार्न सक्छ ।

    युरोपेली सङ्घले भनेको छ, “तेह्र वर्ष र माथिका बालबालिकाले टिकटक प्रयोग गर्न सक्छन् तर नाबालिगहरूका अकाउन्टहरू उनीहरूले अनुमति दिएका व्यक्तिहरूलाई मात्र देखिनुपर्छ । १३ वर्ष र माथिका बालबालिकाले टिकटक प्रयोग गर्न सक्छन्। “उच्च स्तरको सुरक्षा वैकल्पिक हुनु हुँदैन; यो पूर्वनिर्धारित हुनुपर्छ,” युरोपेली सङ्घका प्रविधि प्रमुख हेन्ना भिरक्कुनेनले त्यतिबेला वक्तव्यमा भन्नुभएको थियो, “डीएसएअन्तर्गत, बालबालिकाका अकाउन्ट सेटिङहरू पूर्वनिर्धारित रूपमा सबैभन्दा बलियो सुरक्षाको घेरामा हुन्छन्।”

    “टिकटकका खाता सेटिङहरू यो मापदण्ड पूरा गर्न असफल छन्, किनकि तिनीहरूले नाबालिगहरूका खाता र सामग्रीलाई अत्यधिक व्यापक रूपमा उजागर गर्छन्,” युरोपेली सङ्घले आफ्नो प्रारम्भिक दृष्टिकोणमा भनेको छ। बेलायतको सञ्चार नियामकले पनि जुलाईमा टिकटकमाथि अनुसन्धान सुरु गरेको थियो।

    बेलायती अनुसन्धानले टिकटकले हानिकारक सामग्रीबाट बालबालिकालाई जोगाउन बेलायती कानुनअन्तर्गत पर्याप्त काम गरिरहेको छ कि छैन भनेर हेर्नेछ। “यो अनुसन्धानले टिकटकले आफ्ना कानूनी दायित्वहरू पूरा गर्न असफल भएको छ भन्ने विश्वास गर्ने उचित आधार छ कि छैन भनेर स्थापित गर्नेछ,” अफकमले वक्तव्यमा उल्लेख गरेको छ । यसले विशेष गरी टिकटकको उमेर–प्रमाणीकरण मोडेललाई हेर्ने जिम्मेवारी थपिएको छ।

  • हमासद्वारा व्यवस्थापकीय चुनावप्रति प्रतिबद्धता, फताह प्रतिनिधिमण्डल कायरो प्रस्थान गर्दै

    हमासद्वारा व्यवस्थापकीय चुनावप्रति प्रतिबद्धता, फताह प्रतिनिधिमण्डल कायरो प्रस्थान गर्दै

    गाजा, ७ भदौ (रासस–सिन्ह्वा) । प्यालेस्टिनी राष्ट्रिय मुक्ति आन्दोलन (फताह) को एक प्रतिनिधिमण्डल शनिबार कायरो प्रस्थान गरेको छ । प्यालेस्टिनी इस्लामी प्रतिरोध आन्दोलन (हमास) ले नोभेम्बरमा हुने व्यवस्थापकीय चुनावमा सम्भव भएसम्म व्यापक राष्ट्रिय गठबन्धनअन्तर्गत सहभागी हुने प्रतिबद्धता जनाएपछि फताहको प्रतिनिधिमण्डल कायरो गएको हो ।

    “प्रतिनिधिमण्डलले चुनावको तयारी र सफलता सुनिश्चित गर्न, प्यालेस्टिनी राष्ट्रिय एकता सुदृढ गर्न तथा अर्को चरणको मार्ग प्रशस्त गर्नका लागि प्यालेस्टिनी गुटका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछ,” अल–हायेकले भन्नुभयो । नाम नखुलाउन अनुरोध गर्ने एक फताह स्रोतले सिन्ह्वालाई बताएअनुसार आगामी व्यवस्थापकीय चुनाव र प्यालेस्टिनी मुद्दाले सामना गरिरहेका चुनौतीहरूबारे छलफल गर्न हमाससँग बैठकको तयारी भइरहेको छ।

    फताहको क्रान्तिकारी परिषद्का सदस्य तथा आन्दोलनका प्रवक्ता मुन्थर अल–हायेकले संक्षिप्त वक्तव्यमा भन्नुभयो, “प्यालेस्टिनी उपराष्ट्रपति हुसेन अल–शेखको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल इजिप्टका अधिकारीहरूसँग भेट गर्न कायरो प्रस्थान गरेको छ।”

    यसैबीच, हमासका प्रवक्ता हाजेम कासेमले वक्तव्यमा भन्नुभएको छ, “हमास आगामी व्यवस्थापकीय चुनावमा सम्भव भएसम्म व्यापक राष्ट्रिय गठबन्धनभित्र सहभागी हुन प्रतिबद्ध छ।” कासेमले भन्नुभयो, “यो कदमले चुनावलाई सबै प्यालेस्टिनी समूहहरूलाई स्वीकार्य सहमतीय राजनीतिक प्रणाली स्थापना गर्ने अवसर बनाउने र प्यालेस्टिनी जनता तथा उनीहरूको मुद्दाले सामना गरिरहेका चुनौतीहरूका बीच राष्ट्रिय मुद्दाहरूलाई संयुक्त रूपमा सम्बोधन गर्न एकीकृत राष्ट्रिय नेतृत्वको बाटो खोल्ने हमासको चाहनालाई प्रतिबिम्बित गर्छ।

    फताहको कायरो भ्रमण हमास, इस्लामिक जिहाद, प्यालेस्टाइन जनमुक्ति मोर्चा, प्यालेस्टाइन प्रजातान्त्रिक मुक्ति मोर्चा र प्रजातान्त्रिक सुधारवादी धारालगायतका समूहहरू समावेश भएको चुनावी गठबन्धन गठन गर्ने प्रयासका रिपोर्टहरूका बीच आएको हो। कायरोले हालैका दिनहरूमा गुटहरूबीचका आन्तरिक प्यालेस्टिनी बैठकहरूका साथै गाजा पट्टीमा युद्धविराम सम्झौताबारे इजिप्टका अधिकारी र मध्यस्थकर्ताहरूसँग वार्ताहरू आयोजना गरेको छ।

    प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले जुलाई ९ मा व्यवस्थापकीय चुनावको मिति नोभेम्बर २८ का लागि तोक्ने राष्ट्रपतीय आदेश जारी गर्नुभएको थियो भने राष्ट्रपतीय चुनाव अर्को वर्षको पहिलो त्रैमासिकसम्म गर्नेगरी तयारी भएको छ । प्यालेस्टिनी व्यवस्थापकीय चुनाव पछिल्लो पटक सन् २००६ मा भएको थियो । फताह र हमासबीचको राजनीतिक विभाजनका कारण त्यसपछिका चुनावहरू स्थगित गरिएका थिए ।