Category: फिचर

  • प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

    प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा सोमबार सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।

    छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँमा जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो । बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग तथा गुणस्तरीय शिक्षाको सुनिश्चितता लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • हिउँपहिरोमा परेर दुई जना बेपत्ता

    हिउँपहिरोमा परेर दुई जना बेपत्ता

    काठमाडौं । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले जानकारी दिए ।

    आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौंबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिए । पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् । रासस

  • प्रधानमन्त्रीले भेटे हर्क साम्पाङ, धरानमा खानेपानी आयोजना सुरु गर्ने आश्वासन

    प्रधानमन्त्रीले भेटे हर्क साम्पाङ, धरानमा खानेपानी आयोजना सुरु गर्ने आश्वासन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डल भेट्न पुगेका थिए । भेटमा धरानवासीलाई खानेपानी पुर्‍याउने प्रक्रिया अघि बढेको बारे प्रधानमन्त्रीले जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

    ‘धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्ध लगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ । खनेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ । यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिलसाइट बनाउनुपर्नेमा जोड दिएका थिए ।

  • सडकमा मापदण्ड विपरीतका सवारी सञ्चालनमा रोक लगाउने तयारी

    सडकमा मापदण्ड विपरीतका सवारी सञ्चालनमा रोक लगाउने तयारी

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भइरहेको बताएका छन् । सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलमा उनले नियम विपरीत सञ्चालनमा रहेका सवारीसाधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताए ।

    सडक निर्माण स्थलमा सवारीसाधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाइभर्सन व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताए । काठमाडौ र पूर्वी नेपाल जोड्ने बीपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको भन्दै उनले वैकल्पिक सडकका रूपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए । मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालन व्यवस्थित बनाउन गृह मन्त्रालय, ट्राफिक प्रहरी लगायत निकाय तथा संघीय सरकारसँग थप समन्वय गरिने बताए ।

    दाउन्ने सडक खण्डमा भइरहेको निर्माण कार्यका कारण सवारीसाधन तथा यात्रुलाई परेको समस्याप्रति मन्त्रालय गम्भीर रहेको भन्दै मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समय मिलाएर पास हुने व्यवस्था मिलाइएको उनको भनाइ छ । उक्त सडक खण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज पारिने उनले बताए ।

    कार्यक्रममा यातायात व्यवसायी महासंघ अध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, विभिन्न मजदुर संगठनका प्रतिनिधि लगायत सहभागी थिए । साथै, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशकहरू लगायत उपस्थित थिए ।

  • ट्रम्पको व्यापार नीतिले सेयर बजारमा पहिरो, के भन्छन् राष्ट्रपति ?

    ट्रम्पको व्यापार नीतिले सेयर बजारमा पहिरो, के भन्छन् राष्ट्रपति ?

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । अमेरिकाले १ सय भन्दा बढी देशमा रेसिप्रोकल महसुल घोषणा गरेको थियो । यसको असर सेयर बजारमा देखिएको छ । यसबारे राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘म कुनै पनि क्षेत्रमा गिरावट चाहँदिन, तर केही चिज ठिक गर्न औषधिको आवश्यकता पर्छ ।’


    अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार व्यापार साझेदार मुलुकसँग अमेरिकाले चर्को महसुल लगाउन थालेसँगै त्यसको असर सेयर बजारमा देखिएको छ । तर, यसले अमेरिकामा रोजगार बढेको र लगानी थपिएको दावि राष्ट्रपति ट्रम्पको छ । अब विश्व छिट्टै अमेरिकासँग नराम्रो व्यवहार गर्न छाड्ने उनको भनाई छ ।

  • म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या ३,३५४

    म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या ३,३५४

    काठमाडौं । म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ५४ जना पुगेको छ । गत मार्च २८ मा गएको भूकम्पमा सो संख्यामा मानिसहरुको ज्यान गएको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । देशभरका भवन र पूर्वाधारसमेत ध्वस्त पारेको उक्त भूकम्पमा परी ४ हजार ५ सय ८ जना घाइते तथा २ सय २० जना बेपत्ता भएको जनाइएको छ । संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न आह्वान गरेका छन् ।

    विपद् भएको एक साताभन्दा बढी समयपछि पनि देशका धेरै जना अझै आश्रयविहीन बनेका छन्, भने घरहरू क्षतिग्रस्त भएका कारण वा थप भत्किने डरले अझै बाहिरै सुत्न बाध्य छन् । यस भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्ने संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ । चार वर्षदेखि गृहयुद्धको चपेटामा परिरहेको म्यानमारलाई भूकम्पले थप संकटमा पारेको छ ।

  • न्यूयोर्क पुगे स्वास्थ्य मन्त्री

    न्यूयोर्क पुगे स्वास्थ्य मन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क पुगेका छन् । मन्त्री पौडेललाई संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरे ।

    मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए । मन्त्री पौडेलले सोमबार र मङ्गलबार हुने उच्चस्तरीय बैठकमा भाग लिने संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोगले जनाएको छ ।

  • माल्टामा नेपाल महोत्सव आयोजना हुँदै

    माल्टामा नेपाल महोत्सव आयोजना हुँदै

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको आयोजनामा मे १४ मा नेपाल महोत्सव हुने भएको छ । नेपाली नव वर्ष २०८२ को अवसर पारेर गर्न लागिएको नेपाल महोत्सवमा नेपाली कला संस्कृति झल्काउने विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ।

    ‘नेपाललाई विश्व सामु चिनाऔुं भन्ने अभियानका साथ कला, संस्कृति, पर्यटन प्रवर्द्धन अनि नेपाल र माल्टा बीचको संस्कति आदााप्रदान, दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने हाम्रो उद्देश्य हो, एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले बताए ।

    उनले भने, ‘विदेशमा मिनी नेपाल झल्काउने उद्देश्यका साथ गर्न लागिएको कार्यक्रममा युरोपका विभिन्न देशमा रहेका नेपालीहरूको सहभागिता रहने हाम्रो अपेक्षा छ। त्यस्तै माल्टाका उच्च अधिकारीहरूको सहभागी हुनेछन्।’

    कार्यक्रमको संरक्षक नेपाली दूतावास स्पेन बनेको अनि पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग सहकार्य गरिएको उनले बताए। माल्टमा रहेका विभिन्न संघ, संस्था र व्यवसायीहरूले कार्यक्रमलाई सहयोग गरेका छन्।

  • पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित, सामाजिक सञ्जालमा तिव्र आलोचना

    पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित, सामाजिक सञ्जालमा तिव्र आलोचना

    काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा मनोनित भएका छन् । पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनित गरिएको स्रोतले बताएको छ । माओवादी केन्द्रको १८ र १९ चैमा बसेको पदाधिकारी बैठकले उनलाई उपाध्यक्षमा मनोनित गरेको बताएको छ । पुन दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए ।

    पछिल्दो समय माओवादीको बैठकमा सहभागी हुने गरेका उनको यो नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा भने व्यापक विरोध भइरहेको छ । केहीले उनको पूर्वउपराष्ट्रपतिको सुविधा खोस्नुपर्ने तर्क गरिरहेका छन् । उता, पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी समेत पार्टी राजनीतिमा सक्रिय हुन थालेको देखिन्छ ।

  • रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल

    रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल

    काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको राति पौने ८ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिइएको छ । ९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए ।

    राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहेका थिए । रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे । उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउथे ।

    उनी रासससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए । पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गरेका थिए । उनी जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय थिए ।

  • मनास्लु क्षेत्रको भ्रमणमा पुगेका बेलायती पर्यटकको मृत्यु

    मनास्लु क्षेत्रको भ्रमणमा पुगेका बेलायती पर्यटकको मृत्यु

    काठमाडौं । लार्के पास पार गर्न मनास्लु क्षेत्र पुगेका एक बेलायती पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका नागरिक ६१ वर्षीय थोम्सन आयन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

    डीएसपी सुवेदीका अनुसार लार्के पास गर्ने क्रममा आइतबार बिहान करिब १० बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा उनी एक्कासी ढलेको र सोही स्थानमा उनको मृत्यु भएको हो । घटना भएको स्थान पुग्न धर्मशाला (लार्के पासको रुटको अन्तिम बस्ती)बाट ३ घन्टाभन्दा बढी लाग्छ । पदयात्रा सिजनको समय सुरु भएको छ । अहिले लाखौं पर्यटक नेपाल आउने गर्छन् ।

  • लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन मंगलबारदेखि

    लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन मंगलबारदेखि

    काठमाडौं । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने भएको छ । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण मार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नारासाथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जानकारी दिएको छ । कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तर्क्रिया हुने आयोजकले जनाएको छ ।

    दुई दिनसम्म चल्ने सम्मेलनमा पाँच प्राविधिक तथा दुई पूरक सहित कुल ७ सत्र सञ्चालन हुँदैछन् । कर प्रणाली र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणका लागि गहन छलफल मार्फत उपयुक्त नीति निर्माण, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आइक्यानले जानकारी दिएको छ । सम्मेलनले लेखा पेसाको उन्नति र आर्थिक विकासमा समेत योगदान पु‍र्‍याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ७ सेसनमा ३५ वक्ता सहभागी हुनेछन् । चार जनाले प्रस्तुति दिनेछन् । पाँच जना अन्तर्राष्ट्रिय प्रतिनिधि समेत उपस्थित हुने आयोजकले जनाएको छ । सम्मेलनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब १ हजारको सहभागिता रहने अनुमान छ ।

    मंगलबार हुने उद्घाटन कार्यक्रममा आइक्यान अध्यक्ष प्रविनकुमार झा र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, डेपुटी महालेखा परीक्षक बामदेव शर्मा अधिकारी र दक्षिण एसियाली लेखा महासंघ अध्यक्ष अशाफाक युसुफ तोलासमेत उपस्थित रहने जनाइएको छ ।

    चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष अरुण राउत र अडिटर्स एसोसिएसन अध्यक्ष बद्रिप्रसाद भट्टराईको समेत उपस्थिति रहनेछ । आइक्यान उपाध्यक्ष निलबहादुर मगरले कार्यक्रम समापन गर्ने योजना छ । सम्मेलन उद्घाटनपछि पहिलो सेसन सुरु हुनेछ । पहिलो सत्रमा सार्वजनिक वित्तीय व्यवस्थापनको नवीनता तथा विश्वव्यापी प्रवृत्ति र नेपालमा कार्यान्वयन स्थितिबारे छलफल हुनेछ ।

    उक्त सत्रमा चार्टर्ड एकाउन्टेन्ट संस्था भारतका अध्यक्ष चरणजोत सिंह नन्दले अध्यक्षता ग्रहण गर्नेछन् । आइक्यानका पूर्वअध्यक्ष नरेन्द्र भट्टराईले मोडरेटर तथा पूर्वउपमहालेखा परीक्षक रामुप्रसाद डोटेलले पेपर प्रिजेन्टेसन गर्ने कार्यक्रम छ । प्यानलिस्टमा सरकारका सहसचिव सुवासचन्द्र सिवाकोटी, सीए हेमकुमार काफ्ले र दक्षिण एसियाली लेखा महासंघका प्रतिनिधि रहने कार्यक्रम छ ।

    दोस्रो सत्रमा दिगो अर्थतन्त्र र सार्वजनिक वित्तीय व्यवस्थापनमा भइरहेका पहल एकीकृत गर्ने गरी परामर्श हुनेछ । यसमा आइक्यान सदस्य आनन्दराज शर्मा वाग्लेले मोडरेटर गर्नेछन् । श्रीलंकाका काउन्सिल मेम्बर शमन श्रीलाले पेपर प्रिजेन्टेसन दिनेछन् । तेस्रो सत्र सार्वजनिक वित्तीय व्यवस्थापन सुधार तथा लेखा व्यवसायीको भूमिकामा केन्द्रित रहने छ । जसमा उपमहालेखा परीक्षक बैकुण्ठबहादुर अधिकारीले अध्यक्षता ग्रहण गर्नेछन् । सीए ठाकुरप्रसाद अधिकारीले मोडरेटर तथा सीए नन्दकिशोर शर्माले पेपर प्रिजेन्टेसन गर्नेछन् । छलफल सत्रमा सीए विश्वराज बसौला, गोरखबहादुर शाही, सीए भवनाथ दाहाल र सीए सञ्जिता नेपाल रहनेछन् ।

    चौथो सत्र वैदिक साहित्य र वित्तीय अनुशासनमा केन्द्रित रहने छ । यो सेसनमा सीए हरिकुमार सिलवाल मोडरेटर रहनेछन् भने अर्जुनप्रसाद बास्तोलाले पेपर प्रिजेन्टेसन गर्नेछन् । पाँचौ सत्र ‘स्वस्थ जीवनका लागि स्वस्थ आहार’ मा केन्द्रित रहने छ । डा. उमेश श्रेष्ठले प्रस्तुति दिनेछन् । छैटौं सेसनमा ‘रणनीतिक कर सुधार ः लचिलो कर प्रणालीमा अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन’ का विषयमा छलफल हुनेछ । जसमा सीए निलबहादुर सारु मगर मोडरेटर हुनेछन् । प्यानलिस्टमा पूर्वसचिव रामेश्वर खनाल, आइक्यान पूर्वअध्यक्ष सुदर्शनराज पाण्डे, उद्योग वाणिज्य महासंघ कर तथा राजस्व कमिटी अध्यक्ष अम्बिकाप्रसाद पौडेल, आन्तरिक राजस्व विभागका डेपुटी डाइरेक्टर पदमकुमार श्रेष्ठ, दक्षिण एसियाली लेखा महासंघका प्रतिनिधि रहनेछन् ।

    अन्तिम तथा सातौं सेसनमा लचिलो कर निर्माणमा लेखा व्यवसायीको भूमिकामा केन्द्रित रहने छ । जसमा मोडरेटरका रूपमा सीए सुनिल देवकोटा रहनेछन् भने प्यानलिस्टमा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, सहायक महालेखा परीक्षक घनश्याम पराजुली, सीए उमेशराज पाण्डेय, सीए झलकमणि लम्साल र सीए शेशमणि दाहाल रहनेछन् ।

  • अमेरिकामा भीषण आँधी, कम्तिमा १६ जनाको मृत्यु

    अमेरिकामा भीषण आँधी, कम्तिमा १६ जनाको मृत्यु

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो । अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्‍याएको छ । सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन् । टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् । केन्टुकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीका कारण एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

    सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा शेयर गरिएका तस्वीरमा आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कारहरु पल्टिएको देखिएको छ । राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–पूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म ‘व्यापक रूपमा आकस्मिक बाढी” आउन सक्ने चेतावनी दिँदै ‘जनजीवन र भौतिक संरचनामा क्षति हुने ठुलो खतरा रहेको’ चेतावनी दिएको छ ।

    आँधीका कारण मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएका छन् । अर्कान्सास राज्यको लिटिल रकस्थित एक घरमा पाँचवर्षीय एक बालक मृत अवस्थामा फेला परेको राज्यको आपतकालीन व्यवस्थापन निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    अर्कान्सास र टेनेसीमा आइतबार बिहानसम्म एक लाखभन्दा बढी ग्राहक विद्युतविहीन रहेको ट्र्याकिङ वेबसाइट पावर आउटेज डट कमले जनाएको छ ।

    एनडब्लुएसले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्यालीका केही भागमा आइतबार मध्यमदेखि गम्भीर आँधीबेहरी आउन सक्ने जनाएको छ । वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङले जलवायु परिवर्तन र पानीको चक्रलाई बिथोलिरहेको छ, जसले चरम मौसमलाई बारम्बार अधिक क्रूर बनाइरहेको छ । गत वर्ष संयुक्त राज्य अमेरिकामा उच्च तापमानको अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको थियो भने चक्रवात र विनाशकारी आँधीबेहरीको असरले प्रभावित तुल्याएको थियो । राससरएएफपीसंयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।

    अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्‍याएको, सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन् । टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् । केन्टुकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीका कारण एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

    सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा शेयर गरिएका तस्वीरमा आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कारहरु पल्टिएको देखिएको छ । राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–पूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म ‘व्यापक रूपमा आकस्मिक बाढी” आउन सक्ने चेतावनी दिँदै ‘जनजीवन र भौतिक संरचनामा क्षति हुने ठुलो खतरा रहेको’ चेतावनी दिएको छ ।

    आँधीका कारण मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएका छन् । अर्कान्सास राज्यको लिटिल रकस्थित एक घरमा पाँचवर्षीय एक बालक मृत अवस्थामा फेला परेको राज्यको आपतकालीन व्यवस्थापन निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • इजरायली सेनाले गाजामा १५ स्वास्थ्थकर्मीको हत्या गरेको चिहानमा रहेको मोवाइलबाट पुष्टी

    इजरायली सेनाले गाजामा १५ स्वास्थ्थकर्मीको हत्या गरेको चिहानमा रहेको मोवाइलबाट पुष्टी

    इजरायली सेनाले २३ मार्चमा दक्षिणी गाजामा १५ जना आपत्कालीन सेवाका स्वास्थ्यकर्मीहरूको हत्या गरेको खुलेको छ । सेनाले सो बारे आफ्ना सैनिकले गल्ती गरेको स्वीकार गरेको बीबीसीले जनाएको छ । प्यालेस्टिनी रेड क्रेस्सेन्ट सोसाइटी पीआरसीएसका एम्बुलेन्सका लस्करहरू, संयुक्त राष्ट्रसङ्घको कार र गाजाको सिभिल डिफेन्सको दमकल रफाहा नजिकै गोलाबारीमा परेका थिए। इजरायलले सुरुमा गाडीका लस्करहरू हेडलाइट वा कुनै बत्ती नबाली शङ्कास्पद रूपमा देखापरेका कारण सेनिकहरूले गोली चलाएका दाबी गरेको थियो। गाडीहरूको आवागमनबारे सेनासँग पहिला समन्वय वा सहमति नगरिएको उसले बताएको थियो।

    ज्यान गुमाएका एक प्यारामेडिकले मोबाइलमा खिँचेको भिडिओ सामग्रीमा घाइतेहरूलाई मद्दत गर्न गरिएको फोनको जवाफ दिँदा सवारी साधनहरूमा बत्ती बालिएको देखिएको थियो। इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले कम्तीमा ६ जना स्वास्थ्यकर्मीहरू हमाससँग सम्बन्धित रहेको दाबी गरेको छ तर उसले कुनै प्रमाण भने उपलब्ध गराएको छैन। सैनिकहरूले गोली चलाउँदा उनीहरू हतियारविहीन रहेको उसले स्वीकार गरेको छ।

    सुरुमा न्यू योर्क टाइम्सले शेअर गरेको मोबाइल भिडिओमा बिहान हुनुभन्दा ठिक अगाडि गोलाबारी सुरु हुँदा गाडीहरू सडकमा रोकिएको देखिन्छ। भिडिओ सामग्री पाँच मिनेटभन्दा बढी समयसम्म जारी रहन्छ र त्यसमा रेफत रडवान नाम गरेका प्यारामेडिकले इजरेली सैनिकहरूको आवाज सवारी साधनहरू नजिक आउनुअघि आफ्नो अन्तिम प्रार्थना गरिरहेको सुनिन्छ। आइडीएफका एक अधिकारीले शनिवार साँझ पत्रकारहरूलाई जानकारी दिँदै आफ्ना सैनिकहरूले पहिले हमासका तीन सदस्यहरू रहेको कारमा गोली चलाएको बताए।

    एम्बुलेन्सहरू उक्त क्षेत्र नजिक पुग्दा हवाई निगरानी अनुगमनकर्ताहरूले गाडीका लस्करहरू जमिनमा शङ्कास्पद रूपमा अगाडि बढिरहेको जानकारी सैनिकहरूलाई दिएका थिए। जब एम्बुलेन्सहरू हमासको कार छेउमा रोकिए, सैनिकहरूले आफू खतरामा परेको ठाने र आपत्कालीन टोलीका कुनै पनि सदस्य हतियारधारी नभएको कुनै प्रमाण नहुँदा गोली चलाउन थाले। इजरायलले बत्ती बिना गाडीहरू नजिकिएका थिए भनेर सुरुमा गरेको दाबी गलत भएको स्वीकार गरेको छ र त्यहाँ संलग्न फौजबाट आएको प्रतिवेदनलाई आधार मानेको छ।

    भिडिओ सामग्रीमा गाडीहरू स्पष्ट रूपमा चिनिने र प्यारामेडिकहरूले प्रतिबिम्बित हुने पोसाक लगाएको देखिन्छ। सैनिकहरूले १५ जना मृतकहरूको शवलाई जङ्गली जनावरहरूबाट जोगाउन बालुवामा गाडेको अधिकारीले बताए। सडक खाली गर्न सवारी साधनहरू सारेर भोलिपल्ट गाडिएको उनले दाबी गरे। संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय निकायहरूले त्यस क्षेत्रमा सुरक्षित मार्गको व्यवस्था गर्न वा घटनास्थल पत्ता लगाउन नसकेका कारण घटना भएको एक सातासम्म त्यसबारे थाहा पाउन सकेनन्।

    जब सहायता टोलीले शवहरू फेला पारे उनीहरूले घटनाको सामग्री भएको रेफत रडवानको मोबाइल फोन पनि फेला पारे। इजरेली सैन्य अधिकारीले कुनै पनि चिकित्सकको ज्यान जानुअघि हतकडी लगाइएको भन्ने कुरा अस्वीकार गरेका छन्। तर केही रिपोर्टहरूले जनाएअनुसार उनीहरूलाई नजिकबाट मृत्युदण्ड पनि नदिइएको उनले बताए।

    एक जीवित प्यारामेडिकले यो साताको सुरुमा बीबीसीलाई एम्बुलेन्सहरूको बत्ती बालिएको र उनका सहकर्मीहरू कुनै पनि लडाकु समूहसँग सम्बन्धित नभएको बताए। आइडीएफले घटनाको पूर्ण जाँच गर्ने बाचा गर्दै यसबाट घटनाक्रम र परिस्थितिको व्यवस्थापन बुझिने जनाएको छ। रेड क्रेस्सेन्ट र अन्य थुप्रै अन्तर्राष्ट्रिय सङ्गठनहरूले स्वतन्त्र छानबिनका लागि आह्वान गरिरहेका छन्। इजरेलले मार्च १८ तारिखमा गाजामा आफ्नो हवाई बमबारी र स्थल आक्रमणलाई पुनः थालेको थियो।

    उसले पहिलो चरणको युद्धविराम सम्झौता सकिएपछि र दोस्रो चरणको वार्ता रोकिएपछि पुनः युद्ध थालेको हो। हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता मात्रै गाजामा १२०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ। सन् २०२३ को अक्टोबर ७ तारिखमा विगतमा कहिल्यै नभएको सीमापार आक्रमणको प्रतिक्रियामा इजरेली सेनाले हमासलाई नष्ट गर्न अभियान सुरु गर्‍यो। उक्त सीमापार आक्रमणमा करिब १,२०० जना मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा ५०,६०० भन्दा बढी मानिसहरू मारिएका छन्।
    बीबीसीबाट

  • बीबीसीको खुलासा : अफगानिस्तानबाट ५ लाख हतियार गायब

    बीबीसीको खुलासा : अफगानिस्तानबाट ५ लाख हतियार गायब

    काठमाडौं । अफगानिस्तानबाट पाँच लाख थान अमेरिकी हतियार गायब भएको बीबीसीले एक विशेष खुलासा गरेको छ । सूत्रलाई उद्धृत गर्दै बीबीसीले भनेको छ– ती हतियार बिक्री वा तस्करी भएको छ । संयुक्त राष्ट्रसंघका केही अधिकारीका अनुसार गायब भएकामध्ये केही हतियार अलकायदासँग सम्बन्धित चरमपन्थी संगठनसम्म पुगेको आशंका छ ।

    तालिबानले सन् २०२१ मा अफगानिस्तानलाई फेरि नियन्त्रणमा लिँदा करिब १० लाख थान सैन्य हतियार र सामग्रीहरुको भण्डार थियो । त्यसमा धेरैजसो अमेरिकाको वित्तीय सहायतामा खरिद गरिएको थियो । त्यसमा अमेरिकामा निर्मित एम फोर र एम सिक्सटिन राइफलसहित अफगानिस्तानका पुराना हतियारहरु पनि सामेल थिए ।

    तालिबानले सन् २०२१ मा अफगानिस्तान कब्जा गर्दा अफगान सैनिकहरुले आफ्ना हतियार र बाहनहरु सहित आत्मसमर्पण गरेका थिए । अमेरिकी सैनिकहरुले पनि आफ्ना केही हतियार र सैन्य उपकरणहरु छाडेर फर्किएका थिए । बीबीसीका अनुसार दोहामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रतिबन्ध समितिको बैठकमा तालिबान नेताले आधा हतियार र सैन्य उपकरण गायब भएको स्वीकार गरेका छन् । जुन करिब पाँच लाख हाराहारी हो ।

  • अमेरिकामा ट्रम्पविरुद्ध किन हुँदैछ विशाल प्रदर्शन ?

    अमेरिकामा ट्रम्पविरुद्ध किन हुँदैछ विशाल प्रदर्शन ?

    काठमाडौं । अमेरिकामा राष्ट्रपति ट्रम्प विरुद्ध विशाल प्रदर्शनहरु सुरु भएका छन् । यस्तो प्रदर्शन देशैभर भइरहेको बीबीसीले जनाएको छ । राष्ट्रपति पद सम्हालेयता ट्रम्पले यति ठूलो विरोध प्रदर्शनको सामना गरेका हुन् । प्रदर्शन ५० राज्यका १२ सय भन्दा बढी स्थानमा भइरहेको छ । प्रदर्शनकारीले सामाजिक तथा आर्थिक मुद्दामा ट्रम्पले लिएको नीतिको आलोचना गरिरहेका छन् ।

    खासगरी ट्रम्पले विश्प व्यापार नै प्रभावित हुने गरी लिएका कर नीतिको बढी आलोचना भइरहेको छ । अमेरिकासँगै विदेशमा समेत ट्रम्पको विरोधमा प्रदर्शन भएका छन् । जसमा लण्डन, पेरिस र बर्लिनमा समेत विरोध प्रदर्शन भएको खबर छ । आप्रवासन नीतिसँग सम्बन्धित विषयमा समेत ट्रम्पको आलोचना तथा विरोध भइरहेको छ । प्रदर्शनका दौरान इलन मस्कको समेत व्यापक विरोध भइरहेको छ ।

  • आज रामनवमी, देशभर सार्वजनिक बिदा

    आज रामनवमी, देशभर सार्वजनिक बिदा

    काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेको कथन छ ।

    धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नुभएको बताउँछन् । ‘जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ’, उनले भने ।

    रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

    परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैंका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैं भनिन्छ । यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने उल्लेख छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।

    त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

    आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौं अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । यो वर्षको अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

  • अर्घाखाँचीमा जिप दुर्घटना : कम्तिमा २ जनाको मृत्यु

    अर्घाखाँचीमा जिप दुर्घटना : कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटनामा परी कम्तिमा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु मालारानी ४ का हुन्।

    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए । खनदहतर्फ गइरहेको जिप आज बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो । लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।

  • सगरमाथा संवादमा मोदी नआउने निश्चित

    सगरमाथा संवादमा मोदी नआउने निश्चित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने स्वयमःले जानकारी गराएका छन् । शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले यसबारे जानकारी गराएका हुन् । ओलीले हिजो (शुक्रबार) मात्रै मोदीसँग बैंककमा भेटवार्ता गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन मोदीलाई निम्तो दिएका थिए ।

    उक्त भेटमा आफू सगरमाथा संवादमा आउन नसक्ने जानकारी मोदीले गराएको उनले बताए । ‘यसपल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । उहाँको पहिला नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘उक्त कार्यक्रम सेट भइसकेकाले उहाँ यहाँ आउन सक्नुहुन्न । तर, भारतको राम्रैस्तरको उपस्थिति हुन्छ ।’ उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताएका छन् ।

  • रास्वपाको ‘जनयात्रा’ आजबाट सुरु

    रास्वपाको ‘जनयात्रा’ आजबाट सुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो । पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन् । उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरे ।

    आजको यो कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति रवि लामिछानेको उद्घोष थियो । तर, शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उनी अहिले प्रहरीको हिरासतमा छन् । लामिछानेले पक्राउ पर्नुअघि कार्यक्रम नरोक्न निर्देशन गरेका थिए । लामिछानेले जनयात्राको सभामा आफू गृहमन्त्री भएको प्रचण्ड नेतृत्वको सरकार किन ढालियो भन्ने बारेमा खुलासा गर्ने पनि बताएका थिए ।

  • पदयात्रामा गएका चिनियाँ नागरिक मृत फेला

    पदयात्रामा गएका चिनियाँ नागरिक मृत फेला

    काठमाडौं । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको छ । सशस्त्र प्रहरी बल कालिका गण पोखराको विशेष विपद् उद्धार टोलीले आज बिहान देउराली चुमरुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ उनको शव फेला पारेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए ।


    अन्नपूर्ण आधार शिविर (एविसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कने क्रममा पर्यटक बेपत्ता भएपछि उनको खोजीमा प्रहरी टोली खटिएको थियो । प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार उनको शव पोखरा ल्याउने तयारी भइरहेको छ । यही चैत ११ गते दिउँसो साढे १२ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरो गएको थियो ।

    बेसक्याम्पबाट फर्केका भारतीय पर्यटकले देउरालीमा गएको हिमपहिरामा एक जना पुरिएको सूचना प्रहरीलाई दिएका थिए । पर्यटक हराएपछि स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले खोजी गर्दा फेला नपारेपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा यही चैत १६ गतदेखि प्रहरी टोली खटिएको थियो ।

  • मोरङमा मोटरसाइकल दुर्घटना : दम्पत्तिको ज्यान गयो

    मोरङमा मोटरसाइकल दुर्घटना : दम्पत्तिको ज्यान गयो

    काठमाडौं । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तिको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । आमबारीबाट उर्लाबारीतर्फ जाँदै मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो ।

    दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको हो । दुर्घटना लगतै स्थानीयले दुवै जनालाई उपचारका लागि रंगेली अस्पताल पठाएका थिए । अस्पतालमा उनीहरुको मृत्यु भएको प्रहरीले हो । उनीको शव पोष्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । रातको समयमा तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

  • चैते दशैं आज, देशभर मनाइदै

    चैते दशैं आज, देशभर मनाइदै

    काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
    वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

    चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो । बडादसैँ जस्तै चैते दसैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।

    उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।

    चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । चैत्र शुक्ल प्रतिपदादेखि नै दसैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भइरहेको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबार अन्तर्गत रहेको दसैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ ।

  • रविलाई पक्रन प्रहरी बेडरुममै पुगेपछि रास्वपा आक्रामक

    रविलाई पक्रन प्रहरी बेडरुममै पुगेपछि रास्वपा आक्रामक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी नलिएरै प्रहरी पक्राउ गर्न गएसँगै रास्वपा आक्रोसित बनेको छ । उच्च अदालतको आदेशपछि शुक्रबार राति लामिछानेको घरमा पुगेको प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको बताउँदै रास्वपाले त्यसलाई अनौठो अभ्यास भएको बताएको छ । सभापति लामिछाने पक्राउ परेपछि शुक्रबार राति भर्चुअल रुपमा बसेको केन्द्रीय सचिवालयको बैठकले यो विधिको शासनमा क्षम्य हुन नसक्ने निष्कर्ष निकालेको छ । बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर(संवेदनशील र गैरकानुनी भएको बताउँदै भत्सर्ना गरेको छ ।

    साथै, उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध न्यायका लागि अर्को तहमा जाने निर्णय गरेको छ । पक्राउ पर्नुअघि नै रविले पनि न्यायका सबै ढोका ढकढक्याउने बताइसकेका छन् । बैठकले डीपी अर्याललाई दिइएको कार्यवहाक सभापतिको जिम्मेवारी पनि अनुमोदन गरेको छ । शुक्रबार राति पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएका लामिछानेलाई आज विमानबाट भैरहवा लगिंदैछ ।

  • अदालतको आदेशको सम्मान गर्छु : रवि

    अदालतको आदेशको सम्मान गर्छु : रवि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको बताएका छन् ।
    उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगिसकेको छ । शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।

    ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु,’ लामिछानेले भनेका छन्, ‘ साथै न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु ।’ उनले आफूमाथि ठूलो अन्याय भएको पनि बताएका छन् । ‘ममाथि ठूलो अन्याय भएको छ,’ उनले भनेका छन् । साथै, भोलि चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

  • पश्चिम नेपालमा भूकम्पको धक्का, क्षतिको विवरण आउँदै

    पश्चिम नेपालमा भूकम्पको धक्का, क्षतिको विवरण आउँदै

    काठमाडौं । शुक्रबार जाजरकोटमा ३ मिनेटको फरकमा दुई पटक भूकम्प गएको छ । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्‍यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताएका छन् ।

    उनका अनुसार पोहोर जाजरकोटमा गएको भूकम्पकै अवशेष भए पनि पछि ठूलो जोखिम ल्याउने संकेत हो । ‘प्रहरीका अनुसार क्षतिको विवरण आउन बाँकी छ । केही घरहरु चर्किएको विवरण सार्वजनिक सञ्जालमा आएका छन् ।

  • उच्च अदालतले रविलाई थुनामा पठाउन दियो आदेश

    उच्च अदालतले रविलाई थुनामा पठाउन दियो आदेश

    काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।

    न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

    सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरुले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ । सभापति लामिछानेलाई थुनामा पठाउने अदालतले आदेश गरेसँगै पार्टीका नेताहरू छलफलमा जुटेका छन् । अहिले काठमाडौंमा उपलब्ध नेताहरू छलफलमा जुटेका छन् ।

  • प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच बैंककमा भेटवार्ता

    प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच बैंककमा भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सकमक्षी नरेन्द मोदीले थाइल्यान्डको बैंककमा भेटवार्ता गरेका छन् । शुक्रबार भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्, ‘भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ ।’

    उनले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको जानकारी गराएका छन् । ‘हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्‍यौं,’ उनले भनेका छन् । उता, प्रधानमन्त्री ओलीले समेत हिन्दी भाषामा भेटवार्ताबारे उल्लेख गरेका छन् । दुई प्रधानमन्त्रीबीचको यो भेटलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री भएको ९ महिनासम्म पनि दिल्लीले ओलीलाई भ्रमणको निम्ता दिएको छैन ।

  • थाइल्याण्डका व्यवसायीसँग प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि उर्बर भूमी हो

    थाइल्याण्डका व्यवसायीसँग प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि उर्बर भूमी हो

    काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्
    त्यहाँका व्यवसायीसँग बिहीबार बैङ्ककमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न आग्रह गरे ।

    नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले थाई व्यवसायीलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक थुप्रै कानुन संशोधन तथा परिमार्जन गरिएको जानकारी गराए । उनले सरकारले लगानीको सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता जनाए ।


    उनले नेपालमा लगानीका अवसर र सम्भावनाबारे भ्रमणमा सहभागी निजी क्षेत्रका प्रतिनिधिसँग धारणा बुझ्न र निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने बताए । भ्रमण दलमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीका लागि सहज वातावरण रहेको जानकारी थाई उद्यमी व्यवसायीलाई गराए ।

    नेपालमा उत्पादनमूलक उद्योग स्थापना गर्दा बजारका लागि भारत र चीन जस्ता धेरै जनसङ्ख्या भएका मुलुक रहेको भन्दै नेपालमा लगानी गर्दा थाई व्यवसायीले त्यो सभावनाबाट फाइदा लिन सक्ने बताए । ढकालले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा लगानीको राम्रो सम्भावना रहेको जानकारी गराए । “पछिल्लो पटक सरकारले गरेका नीतिगत सुधारले बाह्य लगानीलाई आकर्षित गर्ने अवस्था छ । निजी क्षेत्रका तर्फबाट पनि म थाई व्यवसायीलाई लगानीका लागि आग्रह गर्दछु,” अध्यक्ष ढकालले भने ।

  • बिमस्टेक शिखर सम्मेलन आज

    बिमस्टेक शिखर सम्मेलन आज

    काठमाडौं । आज (शुक्रबार) बाट बैंककमा बिमस्टेक शिखर सम्मेलन हुँदैछ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) बंगालको खाडी क्षेत्रसँग जोडिएका सात राष्ट्रहरूको क्षेत्रीय संगठन हो। सन् १९९७ मा स्थापना भएको यस समूहमा बंगलादेश, नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार र भुटान सदस्य छन्।

    यसले सदस्य राष्ट्रहरूबीच बहुपक्षीय प्राविधिक र आर्थिक सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यसपटक बिमस्टेक सम्मेलनमा शीर्ष नेताहरूले सम्बोधन गरेसँगै विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सबै सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी भएका छन् ।