Category: फिचर

  • ५ तस्वीरमा बुधबार नेपालका मूख्य खबर

    ५ तस्वीरमा बुधबार नेपालका मूख्य खबर

    काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली अर्घाखाँची भ्रमणमा पुगे । आजै राजधानीसहित पूर्वी नेपालमा हल्का वर्षा भयो । यसले लामो प्रदूषण भोगिरहेका उपत्यकाबासीले केही राहत पाएका छन् । काठमाडौंमा बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । कृषि मन्त्री शिवराज सिंह चौहानले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । यी नै घटनाक्रमसँग सम्बन्धित तस्वीरहरुको श्रङ्खला यहाँ प्रस्तुत गरिएको छ ।

    तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठकमा सहभागी हरु । बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकलेमा बिम्स्टेक राष्ट्रहरूमा क्षेत्रीय खाद्य भण्डारण स्थापना, क्षेत्रीय बीउ भण्डारण स्थापना गर्ने लगायत विषयमा सहमति भएको छ ।
    प्रधानमन्त्रीद्वारा पाणिनि तपोभूमि सम्मेलन उद्घाटन लुम्बिनी, २७ चैतः प्रधानमन्त्री केपी शर्मा ओली अर्घाखाँचीको पाणिनि गाउँपालिकामा बुधबार ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन गदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय
    उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह बुधबार तेह्रथुमको लालीगुराँस नगरपालिकामा पर्ने तीनजुरे क्षेत्रस्थित आरआर गार्डेनमा कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को शुभारम्भ गदै । तस्बिरः बविता राई
    प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले शिष्टाचार भेटवार्ता गदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस
    नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रमा सहभागीहरू । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस
  • प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

    प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

    २७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का कृषिमन्त्रीहरुको बैठकका लागि नेपाल आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

    मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुनिकता, खाद्यसुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले द्विपक्षीय सम्झौता र संयुक्त कार्यसमूहहरुलाई गतिका साथ अगाडि बढाउनुपर्ने र सानातिना अल्झनका मुद्दा छाडेर थाँती रहेका महत्त्वपूर्ण विषयमा समान चिन्ताका साथ गतिशील रुपमा काम गर्न आफू तयार रहेको बताए । उनले हालै थाइल्याण्डको बैंककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुई देशका बीचमा आशाजनक भविष्य कोरेको उल्लेख गरे ।

    प्रधानमन्त्री ओलीले मानवीय जीवन बचाउन र उद्यमशीलताको विकास गर्न सबैभन्दा महत्त्वपूर्ण क्षेत्र कृषि भएकाले यसको आधुनिकीकरणसहित आर्थिक विकासका लागि दुई छिमेकी मिलेर अघि बढ्नुपर्नेमा समान धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग थाइल्याण्डमा भएको भेटवार्ताले विश्वासका वातावरण बनेकाले अब इतिहास वा भावनामा मात्रै नबगी आर्थिक विकासका लागि मिलेर अगाडि बढ्ने उल्लेख गरे ।

    उनले बद्लिँदो विश्व परिवेशलाई आत्मसात् गर्दै त्यसबाट पर्नसक्ने नकारात्मक प्रभावलाई ध्यान दिएर राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय स्वार्थका लागि एकजुट हुनुपर्नेमा जोड दिए । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबलगायत सहभागी थिए ।

  • बिम्स्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न, कृषि क्षेत्रको विकासका लागि सहकार्यमा जोड

    बिम्स्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न, कृषि क्षेत्रको विकासका लागि सहकार्यमा जोड

    काठमाडौं । तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकलेमा बिम्स्टेक राष्ट्रहरूमा क्षेत्रीय खाद्य भण्डारण स्थापना, क्षेत्रीय बीउ भण्डारण स्थापना गर्ने लगायत विषयमा सहमति भएको छ । यसैगरी क्षेत्रीय कृषि व्यापार प्रवर्द्धन, सदस्य राष्ट्र बीच कृषि क्षेत्रको क्षमता विकास लगायत क्षेत्रमा विशेष पहल गर्ने सहमति भएको छ । बैठकमा सदस्य राष्ट भारतले कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्नका लागि बिम्स्टेक सेन्टर अफ एक्सिलेन्स र कृषि विकासमा डिजिटल सार्वजनिक पूर्वाधारको स्थापनाबारे अवधारणा प्रस्तुत गरेको थियो ।

    बैठकले पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्यका लागि नयाँ कार्ययोजनाको अनुमोदन गरिएको छ । बैठकमा कृषिमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासका लागि बिम्स्टेक सदस्य राष्ट्रहरूबीच सहकार्यको आवश्यकता औंल्याएका थिए । जलवायु परिवर्तन, विषादीको बढ्दो प्रयोगले बिम्स्टेक अन्तर्गतका राष्ट्रहरूमा चुनौती थपेको उल्लेख गर्दै मन्त्री अधिकारीले यसको सामना गर्न सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको बताए ।

    भारतका कृषिमन्त्री शिवराज चौहानले बिम्स्टेक राष्ट्रहरूमा कृषि, पशुपन्छी तथा मत्स्यपालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य राष्ट्र बीचको सहकार्यलाई अझ बलियो पार्नुपर्नेमा जोड दिएका थिए । यसअघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । आज बसेको मन्त्रिस्तरीय बैठकले यसलाई अनुमोदन गरेको हो । बैठकमा तीन देशका मन्त्रीहरूको प्रत्यक्ष सहभागीता रहेको थियो भने ४ सदस्य राष्ट्रका मन्त्री तथा प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी भएका थिए ।

    आजै कृषिमन्त्री अधिकारी र भारतका कृषिमन्त्री शिवराज चौहानबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषिवस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिएका थिए । भारतीय कृषिमन्त्री चौहानले दुई देशको आयात निर्यातमा देखिएका समस्या समाधानका लागि थप गृहकार्य गरी सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सो सँग पनि दिपक्षिय भेटवार्ता भएको छ ।

    भेटवार्तामा कृषिमन्त्री अधिकारीले भुटान र नेपालबीच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै नेपाल र भुटान बीच याकको विकासमा सहकार्य गर्न सकिने बताए । भुटानका मन्त्रीले दुई देशका प्रयासहरू समान र साझा रहेकाले नेपाल र भुटानबीच कृषि क्षेत्रको विकासका लागि थप सहकार्य गर्न चाहेको बताएका थिए ।

  • ८ महिनामै साढे १० खर्ब भित्रियो रेमिट्यान्स

    ८ महिनामै साढे १० खर्ब भित्रियो रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ८ महिना (साउन–फागुन) अवधिमा साढे १० खर्बमाथि रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आव २०८०–८१ को तुलनामा ९.४ प्रतिशत बढी हो । रेमिट्यान्स बढी भित्रिए पनि वृद्धिदरमा भने यस वर्ष कमी आएको छ । गत आव यसै महिना १८.३ प्रतिशतले विप्रेषण आप्रवाह बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ६।९ प्रतिशतले बढेको छ । डलरमा ७ अर्ब ७४ करोड रेमिट्यान्स आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

    यो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ । राष्ट्र बैंकका अनुसार ८ महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार ६८ छ । गत वर्ष यो संख्या २ लाख ८५ हजार ३ सइ ५२ थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या यस वर्ष २ लाख १७ हजार ४ सय ३ छ । गत वर्ष यो संख्या १ लाख ८२ हजार ७ सय ८३ थियो । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म खुद द्वितीय आय ११ अर्ब ४८ अर्ब १२ करोड छ । अघिल्लो वर्ष यस अवधिमा यो आय १० खर्ब ४१ अर्ब थियो ।

  • नेपालबाट विदेशमा अध्ययनमा जाने विद्यार्थीले लगे ८९ अर्ब रुपैयाँ

    नेपालबाट विदेशमा अध्ययनमा जाने विद्यार्थीले लगे ८९ अर्ब रुपैयाँ

    काठमाडौं । नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँगै ८ महिना (साउन–फागुन) अवधिमा ८९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म ८८ अर्ब ९८ करोड रुपैयाँ विद्यार्थीले विदेश लगेका छन् । यस अवधिमा मुलुकको कुल भ्रमण व्यय १ खर्ब ४८ अर्ब रुपैयाँ छ । यसमध्ये शिक्षामा ८९ अर्ब विदेशिएको हो ।

    अघिल्लो वर्ष यो अवधिमा भ्रमण व्यय १ खर्ब २२ अर्ब ८१ करोड थियो । जसमध्ये शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड थियो । मुलुकले भ्रमण आयबाट भने ८ महिनामा ५६ अर्ब ७० करोड रुपैयाँ मात्र आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९।७ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष भ्रमण आय ५१ अर्ब ६९ करोड थियो । यसरी आयको तुलनामा व्यय धेरै हुँदा सेवा आय ७५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको समेत देखिएको छ । अघिल्लो वर्ष सोही अवधिमा सेवा आय ४३ अर्ब ६३ करोडले घाटामा थियो ।

  • नेपालमा विदेशी मुद्राको सञ्चिति २४ खर्ब माथि, १७ महिनाको आयात धान्ने क्षमता

    नेपालमा विदेशी मुद्राको सञ्चिति २४ खर्ब माथि, १७ महिनाको आयात धान्ने क्षमता

    काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणअनुसार असार मसान्तको तुलनामा यस्तो सञ्चिति १८ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा भने १३.१ प्रतिशत बढेको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति १७ अर्ब २७ करोड पुगेको छ । आर्थिक वर्ष २०८१–८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्रका बाह्य सूचक संतोषजनक अवस्थामा रहेको देखिन्छ ।

  • अब विदेशमा रहेका नेपालीले बैंक खाता खोल्दा राष्ट्रिय परिचय पत्र नचाहिने

    अब विदेशमा रहेका नेपालीले बैंक खाता खोल्दा राष्ट्रिय परिचय पत्र नचाहिने

    काठमाडौं । विदेशमा रहेका नेपालीलाई बैंक खाता खोल्दा तत्कालै राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ ।

    ‘तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत इजाजतपत्र प्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन्,’ नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको निर्देशनमा उल्लेख छ ।

    यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्ने छ । त्यसैगरी आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् ।

  • नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द

    नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द

    काठमाडौं । नारायणगढ–बुटवल सडक योजना अन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुँदैछ । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ ।

    चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ । वर्षाअगाडी नै आयोजनालाई तिब्रता दिने उद्देश्यले सडक बन्द गराउन लागिएको हो । दाउन्ने खण्डमा अहिले यात्रुले बढी सास्ती भोगिरहेको छ ।

  • दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

    दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

    काठमाडौं । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उनलाई पदबाट हटाइएपछि यो निर्णय आएको हो । पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गरेका थिए । तर सांसदहरूद्वारा तुरुन्तै महाभियोग लगाइएको र पदबाट निलम्बन गरिएपछि दक्षिण कोरिया डिसेम्बरदेखि प्रभावकारी रूपमा नेतृत्वविहीन रहेको छ ।

    गत हप्ता अदालतले उनको महाभियोगलाई सदर गरेको थियो । उक्त फैसलाले उनलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो । सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक–सुले मङ्गलबार बताए । यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उनले बताए ।

    फलस्वरूप ‘दक्षिण कोरियाको २१औँ राष्ट्रपति निर्वाचनको मिति जुन ३ तोक्ने निर्णय गरेको’ भन्दै उनले मतदानलाई सहज बनाउन त्यस दिनलाई अस्थायी सार्वजनिक बिदाका रूपमा तोकिने जानकारी दिए । प्रधानमन्त्री हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ आह्वान गरे । नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् ।

    अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहेका छन् । संवैधानिक अदालतले उहाँको आफ्नै महाभियोगलाई खारेज गरेपछि उनले भर्खरै पुनः काम सुरु गरेका छन् । राष्ट्रपति निर्वाचन सामान्यतया बुधबारहरूमा गरिन्छ तर रिक्त पदपूर्तिका लागि आयोजित आकस्मिक मतदानका लागि कुनै विशेष दिन तोकिएको छैन । आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ । विपक्षी नेता ली जे–म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा रहेका थिए । पछिल्लो ग्यालप सर्वेक्षण अनुसार उनको समर्थन दर ३४ प्रतिशत रहेको छ ।

  • इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा

    इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा

    काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको घोषणा गरेका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यो आश्चर्यजनक घोषणा गरेका हुन् । सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ‘ठूलो खतरामा’ पर्ने चेतावनी दिए ।

    तेहरानले ओमानमा शनिबारका लागि छलफल तय भएको पुष्टि गरेको छ तर ती ‘अप्रत्यक्ष’ वार्ता थिए । इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनेछन् । “यो जति एउटा परीक्षा हो त्यति नै एउटा अवसर पनि हो”, अराघचीले एक्समा लेखेका छन्, बल अमेरिकाको कोर्टमा छ ।”

    अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अघिल्लो सम्झौताबाट हात झिकेका थिए । कुनै नयाँ सम्झौता हुन नसकेमा सम्भवतः अमेरिकी सहयोगमा इजरायलले इरानी सुविधाहरूमा आक्रमण गर्न सक्ने व्यापक अनुमान छ । यसैबीच अधिकारीहरूले रुस, चीन र इरान मङ्गलबार मस्कोमा इरानी आणविक मुद्दामा परामर्श गर्न तयार रहेको बताएका छन् । नेतन्याहु व्यक्तिगत रूपमा विश्वलाई हल्लाउने अमेरिकी करबाट मुक्तिका लागि अनुरोध गर्ने पहिलो विदेशी नेता बनेपछि ट्रम्पको यस्तो खुलासा भएको हो ।

  • गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

    गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

    काठमाडौं । इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजा पट्टीमा करिब चार लाख प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । अनादोलु समाचार एजेन्सीका अनुसार राष्ट्रसङ्घीय प्रवक्ता स्टेफान दुजारिकले गाजामा इजरायली आक्रमण निरन्तर जारी रहँदा व्यापक नागरिक हताहती गराइरहेको बताए । “गाजामा धेरै बालबालिकासहित मानिसहरू मारिइरहेका छन्, घाइते भइरहेका छन् र जीवनभरका लागि अपाङ्ग बनाइँदैछन्”, उनले भने, “गाजाभरका बाँचेकाहरू पटक–पटक विस्थापित भइरहेका छन् र झन्झन् सानो हुँदै गएको स्थानमा धकेलिएका छन् जहाँ उनीहरूको आधारभूत आवश्यकताहरू पूरा हुन सक्दैन ।”

    शान्ति सम्झौता भङ्ग भएपछि करिब चार लाख मानिस अर्थात गाजाको जनसङ्ख्याको १८ प्रतिशत विस्थापित भएका छन् भन्दै दुजारिकले कब्जा गर्ने शक्तिका रूपमा इजरायलले विस्थापित जनसङ्ख्याको सुरक्षा र जीवित रहनका लागि कुनै व्यवस्था नगरेको बताए । मानवीय प्रयासहरू टुट्ने विन्दुको नजिक पुगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आवश्यक वस्तु र आपूर्तिको वितरणका लागि क्रसिङ तुरुन्त फेरि खोल्न आग्रह गरे ।

    साथै मानवीय सामग्री भित्र्याउने प्रयास अवरुद्ध भएको र सहयोग आवागमन समन्वय गर्ने अधिकांश प्रयास रोकिएको उनले बताए । इजरायली सेनाले आकस्मिक चिकित्सकहरूको हत्या विषयलाई सम्बोधन गर्दै दुजारिकले राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरेस विचलित गर्ने भिडियो फुटेजका बारेमा जानकार रहेको र घटनाको स्वतन्त्र र पारदर्शी अनुसन्धानका लागि आह्वान गरिरहेको समेत पुष्टी गरे ।

    जारी मानवीय सङ्कटका सम्बन्धमा उहाँले एक महिनाभन्दा बढी समयदेखि कुनै पनि खोप, खाद्यान्न, इन्धन वा अन्य आपूर्तिहरू गाजामा प्रवेश नगरेको र पोलियो खोपका लागि पनि कुनै अपवाद नबनाइएको बताए । विशेष गरी गाजाबाट प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कार्यान्वयन गर्ने प्रयासहरू जारी रहेको बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सैन्य अभियानलाई तीव्र पार्ने प्रतिज्ञा गरेका हुन् ।

  • देशका विभिन्न भेगमा छिटपुट वर्षा, डडेलो र प्रदुषणबाट राहत

    देशका विभिन्न भेगमा छिटपुट वर्षा, डडेलो र प्रदुषणबाट राहत

    काठमाडौं । आज देशका विभिन्न स्थानमा छिटपुट वर्षा हुँदा डडेलो र प्रदुषणबाट राहत मलिेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको देखिएको छ । कोशी प्रदेशका संखुवासभा, सोलुखुम्बु, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गण्डकी प्रदेशका कास्की, बाग्लुङ, म्याग्दी, पर्वत तथा लुम्बिनी प्रदेशका रोल्पा, प्युठान र पाल्पामा हल्कादेखि मध्यम खालको वर्षा भएको छ ।

    कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम खालको वर्षा मापन भएको छ । गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा म्याग्दीको मुनामा भएको छ । मुना स्टेसनमा ३२.६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ । त्यसपछि धेरै वर्षा सिन्धुपाल्चोकको चन्द्रखु क्षेत्रमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा २२ मिलमिटर वर्षा रेकर्ड भएको छ ।

    सिन्धुपाल्चोककै गुम्थाङमा १९.४, दुवाचौरमा १२.८, ढुंगेमा १२.४, भोताङमा १०.८, बाहुनेपाटीमा १०.६, बोल्देमा ८.८ र मेलम्चीघ्याङमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ । झापाको बाहुनडाँगीमा पनि मध्यमखालको वर्षा भएको छ । त्यहाँ गत २४ घण्टाको अवधिमा २१.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    त्यसपछि धेरै वर्षा कर्णाली प्रदेशको जाजरकोटस्थित दल्ली स्टेसनमा भएको छ । दल्लीमा १९.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली प्रदेशको रुकुमपश्चिममा पर्ने मुसिकोट नगरपालिका वडा नं ९ चौखाबाङमा असिना–पानी परेको छ । असिनाले काट्न ठिक्क भएको गहुँ र अन्य तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको छ । यसैगरी काभ्रेको रोशीखोला पनौतीमा ७.६ मिलिमिटर वर्षा भएको छ । तर काभ्रेको छिमेकी काठमाडौं उपत्यकाका जिल्ला भने सुक्खा नै रहे । साँखुमा हल्का छिट्याउने बाहेक अन्य स्थानमा वर्षाको रकेर्ड देखिएन ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविदले मंगलबार अपराह्नदेखि काठमाडौंमा पनि वर्षा हुने पूर्वानुमान गरेका थिए । तर पूर्वानुमान गरेअनुसार वर्षा भएन । बुधबार र विहीबार दुई दिन भने काठमाडौंमा पनि पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । अहिले बिहान काठमाडौंमा डम्म बादल लागेको छ । अपराह्न वा साँझतिर भने मेघगर्जनरचट्याङसहित पानी पर्ने सम्भावना छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । त्यसैले मौसमविदले वर्षा, हिमपात र बदलीको पूर्वानुमान गरेका हुन् ।

  • छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

    छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

    २७ चैत, काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् । छिमेकी ढोडा मुखिया विनको विसं २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारीको रुपमा १० वर्षदेखि साधुको भेषधारणा गरी लुकिछिपी रहेका थिए ।

    हत्यापश्चात फरार भएका निज लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान व्यूरोका टोलीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । निजलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत पर्सामा पेस गरिएको व्यूरोका प्रहरी उपरीक्षक सुधिरराज शाहीले राससलाई जानकारी दिए ।

  • डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

    डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

    काठमाडौं । डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको बिहान छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका छन् । घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा चलिरहेको छ । चार सय भन्दा बढी उद्धारकर्मी र दर्जनौं एम्बुलेन्सहरू घाइतेहरूको उद्धारमा संलग्न छन् । प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका बेला अचानक अँध्यारो भयो र त्यहि समयमा क्लबको छत ढल्न थाल्यो । दुर्घटना हुँदा क्लबमा ५०० देखि एक हजार जनासम्म मानिस थिए ।

    राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गरे । आपतकालीन अपरेसन केन्द्र (सीओई) का निर्देशक जोआन मैनुअल मन्डेजले घटनामा २७ जनाको मृत्यु भएको पुष्टि गरे । उनले उद्धारकर्ताहरू उद्धारका लागि प्रयास जारी राखेको बताए । एम्बुलेन्सले १५० भन्दा बढी घाइतेहरूलाई अस्पताल पुर्याइएको उनले बताए ।

    स्थानीय मिडियाले घटनास्थलमा निर्माण क्रेन प्रयोग गरिरहेको र उद्धारकर्मीहरूले मलबा हटाएर जीवित व्यक्तिहरूलाई खोज्ने कार्यमा केन्द्रित भएको उल्लेख गरेका छन् । राष्ट्रपति अबिनाडेरले सरकार उद्धार कार्यको निरन्तर अनुगमन गरिरहेको र सबै राहत एजेन्सीहरूले घाइतेहरूको मद्दतमा जुटेको बताए

  • संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन, के भने ?

    संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन, के भने ?

    २६ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गरेका छन् । त्यस अवसरमा मन्त्री पौडेलले पछिल्ला तीन दशकमा नेपालले मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउनसमेत नेपालले सफलता पाएको मन्त्री पौडेलले बताए ।

    “नेपाल आफ्नो स्वास्थ्य प्रणाली सबल बनाएर हरेक नागरिकलाई स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध छ”, मन्त्री पौडेलले भने, “तर, यो हामी एक्लैले मात्र गर्न सम्भव छैन ।” उनले अन्तरराष्ट्रिय सहकार्य र ऐक्यबद्धताबाट मात्र सम्भव रहेकामा जोड दिए । स्वास्थ्य क्षेत्रमा बजेटको सीमितता तथा प्रतिव्यक्ति स्वास्थ्य खर्च विश्वव्यापी दरका तुलनामा कम भएका कारण ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास तथा स्वास्थ्य संस्थाको कमी हुनाले स्वास्थ्य पहुँचमा कठिनाइ भोग्नु परेको मन्त्री पौडेलको भनाइ थियो ।

    जलवायु परिवर्तनका कारण नेपालको स्वास्थ्य क्षेत्रले कठिनाइ बेहोर्नु परेको बताए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयका अनुसार विकास सहायतामा कमीका कारण नेपालजस्ता देशले चुनौतीको सामना गर्नुपरिरहेको उनले बताए । “यो समस्या सम्बोधन गर्न हामी नेपाललाई विकास सहायता वृद्धिका लागि विशेष जोड दिन्छौँ”, मन्त्री पौडेलले भने, निजी क्षेत्रको पनि स्वस्थ्य क्षेत्रमा लगानी वृद्धि जरुरी रहेकामा मन्त्री पौडेलले जोड दिए । रासस

  • अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

    अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

    २६ चैत, म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

    सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसन बाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए । अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए । आरोहण टोलीका दुईजना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन्भने अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।

    आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबुक’ मा लेखेका छन् । “सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो”, उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरे, अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।”

    वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ । अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।

    गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

  • सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

    सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

    २६ चैत, काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई वार्ता र संवादका लागि आह्वान गरेका छन् । वार्ताको समय भने आपसी सल्लाहअनुसार तय गरिने विज्ञप्तिमा उल्लेख छ ।

    विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरुको आन्दोलन जारी छ । मन्त्रालयले साझा धारणा निर्माणका लागि आन्दोलनरत शिक्षकहरुसँग यसअघि यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि आह्वान गरेको थियो । तर उक्त छलफल तथा परामर्श भने हुन सकेको थिएन ।

  • नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु

    नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु

    काठमाडौं । नेपाललाई ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।

    जिम्मेवार निकाय, क्रियाकलाप र क्रियाकलाप सम्पन्न गर्ने समयसीमा सहित कार्ययोजना कार्यान्वयन गरिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार काम गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिस्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानुन अभाव नभएको बताए । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सकिने धारणा राखे । महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए । मुख्यसचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकता साथ काम गर्न आवश्यक भएको बताए ।

    उनले प्रविधिलाई जोड दिएर कार्ययोजना अनुसार काम गर्दा नेपाल ग्रे लिस्टबाट बाहिर आउन सक्ने बताए । नेपाल राष्ट्र बैंकका कामु गभर्नर निलम ढुंगाना तिम्सिनाले अन्तिम समयमा काम गर्नेभन्दा कार्ययोजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताइन् ।

    बैठकमा सहभागीले जोखिम मूल्यांकन, अन्तरनिकाय समन्वय, नियमन तथा सुरपरीवेक्षण, अनुसन्धान तथा अभियोजन, कसुरजन्य सम्पत्ति लगायत क्षेत्रमा काम गर्न आवश्यक रहेको बताउँदै कानुनभन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए । नेपाल ९ फागुनमा एफएटीएफको ग्रे लिस्टमा परेको थियो ।

  • ६ किलो गाँजासहित थाइल्याण्डकी २७ वर्षिय युवती काठमाडौं विमानस्थलबाट पक्राउ

    ६ किलो गाँजासहित थाइल्याण्डकी २७ वर्षिय युवती काठमाडौं विमानस्थलबाट पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाइल्याण्डकी २७ वर्षीया कनोकवान पोंगसुवान छिन् । उनलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाईको छ ।

  • बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा हुँदै

    बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा हुँदै

    २६ चैत, काठमाडौँ । बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका कृषिसँग सम्बन्धित मन्त्रीहरु काठमाडौँ आउँदै छन् । यसअघि सचिवस्तरीय बैठक काठमाडौंमा बसेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको सचिवालयले जनाएको छ । सो बैठकमा बिम्स्टेक राष्ट्रका कृषिसँग सम्बन्धित सचिवहरु सहभागी थिए ।

    सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका प्रस्ताव तय गरेको जनाइएको छ । बिम्स्टेक सदस्य रहेका सात राष्ट्रमध्ये तीन राष्ट्रका कृषिमन्त्री बैठकमा सहभागी हुने र बाँकी राष्ट्रका मन्त्रीहरुले भर्चुअलरुपमा सहभागिता जनाउने छन् ।
    बुधबार हुने मन्त्रीस्तरीय बैठकको अध्यक्षता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नेछन् ।

    बैठकमा सहभागी हुन भारत र भुटानका कृषिमन्त्रीहरु आज बेलुकी काठमाडौँ आइपुग्ने कार्यक्रम छ । बैठकमा सदस्य राष्ट्रहरुमा कृषिको अवस्था, चुनौती र सहकार्यमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

  • प्रधानमन्त्री भन्छन् : राजतन्त्र फर्कन्छ भन्नु दिउँसै देखेको सपनाजस्तै

    प्रधानमन्त्री भन्छन् : राजतन्त्र फर्कन्छ भन्नु दिउँसै देखेको सपनाजस्तै

    २६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्र भएको बताएका छन् । सिरहा सदरमुकाममा नेकपा एमालेको ११औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पक्षधर कस्ता हुँदा रहेछन् भन्ने कुरा १५ चैतको क्रियाकलापले स्पष्ट पारिसकेको बताए । उनले नेपाली जनताले राजतन्त्रलाई नस्वीकार्ने बताए ।

    “राजतन्त्र फर्किन्छ भन्ने कुरा राति देखेको सपना पनि होइन, दिउँसै देखेको सपना हो । यो कुनै काम लाग्दैन । चैत १५ गतेको उनीहरुको क्रियाकलापले त्यो सपना भङ्ग भइसक्यो”, प्रधानमन्त्री ओलीले भने, “राजतन्त्रका पक्षधर कस्ता हुँदारहेछन् भन्ने नेपाली जनताले देखिसके । त्यस्ताको हातमा शासन गयो भने देशमा के हुन्छ होला ? तर, जानेवाला छैन । म आम नेपाली जनतालाई ढुक्क रहन आग्रह गर्दछु ।”

    व्यक्तिको घरघरमा गएर आगो लगाउने, औषधि निर्माण कम्पनीमा आगो लगाउने, सञ्चारगृहमा आगो लगाउने, भित्र मान्छे थुनेर आगो लगाएर मार्ने, लुटपाट मञ्चाउनेजस्ता विध्वंसकारी तथा अराजक तत्वलाई कुनै हालतमा स्वीकार गर्न नसकिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । सरकारको ध्यान सुशासन, विकास र समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा साकार पार्न आफू लागिपरेको बताए । त्यसका लागि सामाजिक न्याय, समानता, समावेशीता र समानुपातिक प्रणालीलाई अझ प्रभावकारी बनाई लोकतन्त्रलाई मजबुत बनाई छाड्ने उनले बताए ।

    प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा धनुषा र सिरहा जोड्ने हुलाकी सडकको कमला पुल समयमै निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्न सरकारले विशेष ध्यान दिएको बताए । कार्यक्रममा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, पार्टीका मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । यसअघि प्रधानमन्त्री ओलीले आजै जनकपुरमा मधेस प्रदेशसभालाई सम्बोधन गरेका थिए ।

  • म्यानमार सहयोग पठाउँदै सरकार

    म्यानमार सहयोग पठाउँदै सरकार

    २६ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको आज साँझ निरीक्षण गरेका छन् ।
    गोदाघर निरिक्षण पश्चात मन्त्री लेखकले विपद्का बेला सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट सङ्कलित सामग्री बुधबार नेपाल वायुसेवा निगमको चार्टर विमानबाट म्यानमार पठाउँदै छ ।

    गृह मन्त्रालयका अनुसार ती सामग्रीमा खाद्यान्न, औषधि उपकरण, लत्ताकपडा, त्रिपाल, टेन्ट र लत्ताकपडालगायत छन् । यही चैत १५ गते म्यानमारमा ७।७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । नेपाल सरकारले पठाउन लागेको राहत सामग्री रु दुई करोड ४७ लाख बराबरको ४१ टन रहेको गृह मन्त्रालयले जनाएको छ । यसअघि २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पका बेला म्यानमारले पनि नेपाललाई सहयोग उपलब्ध गराएको थियो ।

    रासस

  • चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान

    चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान

    २६ चैत, डुम्रे । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिृकत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनले धान आयातलाई कम गराउने लक्ष्यका साथ अनुदानको व्यवस्था गरिएको बताए ।

    “चैते धानखेती गर्ने किसानले छाड्ने क्रम बढ्दै गएकाले प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो, उर्वरभूमिमा नै खेती गर्न छाड्दै गएको पाइन्छ”, उनले भने “विशेषगरी खेतीयोग्य जमिन बाँझो राख्ने अवस्थामा पुगेपछि यस कार्यक्रमले किसानलाई सहयोग पुग्नेछ ।” कृषि पेसामा आकर्षित गर्न पनि यसले टेवा पुग्ने सूचना अधिकारी परियारको भनाइ छ ।

    सूचना अधिकारी परियारका अनुसार कार्यक्रमअन्तर्गत ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ । धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था छ । दुई हजार ९४० रोपनी खेतमा चैते धानखेती गर्न १३ वटा कृषक समूह तथा सहकारी यस कार्यक्रममा समावेश भएका छन् ।

    कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन भएको छ । कृषक समूह तथा सहकारीसँग सम्झौतासमेत भइसकेको केन्द्रले जनाएको छ । कार्यक्रमअन्तर्गत धान चुट्ने थ्रेसर, खेत जोत्ने मिनीटिलर तथा ट्रयाक्टरमा अनुदानको व्यवस्था गरिएको छ । सिँचाइ (कुलो) निर्माणका लागि रु २० लाख बजेट विनियोजन भएको छ । चैते धान विशेषगरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको सूचना अधिकारी परियारको भनाइ छ ।

    किसानबाट माग धेरै आए पनि बजेट कम हुँदा सबैलाई समेट्न समस्या भएको उनले बताए । जिल्लाका ठूला फाँट सत्रसय, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, म्याग्दे, तनहुँसुर, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाँटलगायत स्थानमा रोपाइँ भइरहेको छ । उहाँले भन्नुभयो, “हालसम्म सिञ्चित क्षेत्रको ८५ प्रतिशत चैते धान रोपाइँ सकिएको छ ।”

    केही वर्षयता चैते धानखेती कम हुँदै गएकाले यस कार्यक्रम सञ्चालन गरिएको उनले बताए । उनका अनुसार बर्सेनि चैते धानखेती घट्दै गएको छ । अघिल्ला वर्ष छ हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिन्थ्यो । गत वर्ष एक हजार ८०२ हेक्टरमा चैते धानखेती गरिएकामा आठ हजार ७०४ मेट्रिक टन धान उत्पादन भएको थियो । यसैगरी आव २०७९÷८० मा दुई हजार ४७० हेक्टर जमिनमा खेती गरिएकामा ११ हजार १८३ मेट्रिक टन धान उत्पादन भएको थियो । चैते धानखेती प्रवर्द्धन कार्यक्रमले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको केन्द्रले जनाएको छ ।

    जिल्लामा करिब ५१ हजार ५५० हेक्टर क्षेत्रफलमा खेतीयोग्य भूमि रहेको छ । त्यसमध्ये छ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । तेह्र हजार ५८३ हेक्टर सिञ्चित क्षेत्र र सात हजार २३६ हेक्टर क्षेत्रफलमा बेमौसमी सिँचाइ सुविधा रहेको हुँदा अकासे पानीको भरमा पनि किसानले धानखेती गर्छन् । समयमा पानी नपर्दा यस वर्ष चैते धानखेती कम हुने आकलन केन्द्रले गरेको छ ।

  • ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

    ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

    २६ चैत, फुङ्लिङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ ।

    गत साता शार्फु–४ पिकमा पहिलोपटक मानव पाइल पुग्न सफल भएको छ । चिलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक आरोहण गर्न सफल भएका छन् । गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ पिक ९हिमाली०को पहिलोपटक सफल आरोहण गरेको थियो ।

    पवतारोही नादा शेर्पाको अगुवाइमा शार्फु–४ र शार्फु—५ पिकको सफ आरोहण भएको हो । शार्फु–१ देखि छवटा पिक रहेको छ । आरोहणका लागि सरकारले खुला गरेको छ । तर अन्य तीनवटा पिक भने आरोहण भएको छैन । अन्य पिकमा समेत आरोहणको तयारी भइरहेको पर्वतारोही शेर्पाले बताए । उनले भने, “काठमाडौँ जानका लागि फुङ्लिङ आएको छु । काठमाडौँबाट अर्को पिक आरोहण गर्ने टोली लिएर आउने छु ।” जिल्लामा पर्वतारोण, साहसिक पर्यटकको सम्भावना रहेको शेर्पाले बताए । तर सरकारले यस क्षेत्रमा चासो नदेखाएकामा दुःख लागेको उनको गुनासो छ ।

    “जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष पर्यटन प्रवर्द्धनको नाम मेला महोत्सव आयोजना गरेर ठूलो धनराशि खर्च गर्दै आएको छ ।” तर यस्ता खालका मेला महोत्वसवले अन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन हुँदैन ।” विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कार्यक्रम गर्न आवश्यक रहेको शेर्पाले बताए । नेपाल पर्यटन बोर्डका अनुसार ताप्लेजुङमा पाँच हजारदेखि आठ हजार ५८६ मिटरसम्मका हिमाल÷पिक ४८ वटा आरोहणका लागि खुला गरको छ ।

    फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोला क्षेत्रमा दुई र याङमा क्षेत्रमा चारवटा पिक आरोहणका लागि खुला गरिएको छ । पाँच हजार ७४० मिटरको लुम्बा सुम्बा पिक र छ हजार ५०० मिटरको लुम्बुम्बा पिक ओलाचुङगोला क्षेत्रमा पर्छ । यस्तै याङमा क्षेत्रमा छ हजार ५४७ मिटर उचाइको नाङ्गामरी–१, छ हजार २०९ मिटर उचाइका नाङ्गामरी–२, छ हजार ८३९ मिटरको उचाइका ओहोमी गाङ्का र छ हजार २४४ मिटरका पाबुक काङ (काङग्टा) पिक आरोहणका लागि सरकारले खुला गरेको छ ।

    सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । आठ हजार ५८६ मिटर उचाइको कञ्चनजङ्घा प्रमुख, आठ हजार ४७४ मिटर उचाइमा रहेको दक्षिण कञ्चनजङ्घा, छ हजार १४८ मिटर उचाइको कोक्थाङ पिक, छ हजार ६८२ मिटरको रामथोङ पिक सरकारले आरोहणका लागि खुला गरेको छ । त्यस्तै सात हजार ४१२ मिटर उचाइका काब्रु सेन्ट्रल र सात हजार ३१८ मिटर उचाइको काब्रु पिकसमेत आरोहणका लागि खुला गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ घुन्सा क्षेत्रमा ३७ वटा हिमाल÷पिक आरोहणका लागि खुला गरिएको छ ।

    जिल्लाको प्रमुख विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेत्रमा पर्छ । यसको उचाइ आठ हजार ५८६ मिटर छ । सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो । तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजङ्घालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो । कञ्नजङ्घा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए । धार्मिक आस्थालाई सम्मान गर्दै उहाँहरूले हिमालको चुचुरो यथावत राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ ।

    कञ्चनजङ्घाको पाँच प्रमुख चुचुरा रहेका छन् । कञ्चनजङ्घा मुख्य आठ हजार ५८६, कञ्चनजङ्घा पश्चिम (यालुङ याङ) आठ हजार ५०५ मिटर, कञ्चनजङ्घा मध्य आठ हजार ४८२ मिटर, कञ्चनजङ्घा दक्षिण आठ हजार ४९४ मिटर र काङबाचेन सात हजार ९०३ मिटर रहेको छ । सरकारले यी पाँचवटै प्रमुख चुचुरामा आरोहण खुला गरेको छ ।

    ताप्लेजुङकै कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाइ सात हजार ७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हो । किरात धर्मावलम्बीले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ । कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।

    पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अध्यक्ष सन्दीप गुरुङका अनुसार ताप्लेजुङलगायत छ हजार मिटर उचाइको हाराहरीको हिमाल÷पिक आरोहण गर्नका लागि पाँचदेखि छ जनाको समूहका लागि रु १५ लाख खर्च हुन्छ । “पाँच जनाको समूहमा दुई जना पथप्रदर्शक आवश्यक हुन्छ । पथप्रदर्शकलाई दैनिक पारिश्रमिक रु चार हजारदेखि छ हजारसम्म खर्च हुन्छ”, उनले भने । व्यक्तिगत आवश्यक सामग्री रु ६० हजारभन्दा बढी लाग्छ । हिमाल आरोहण गर्न पहिला प्रशिक्षण तथा टे«निङ लिनुपर्ने हुन्छ । आरोहण गर्ने साहस जोकोहीले गर्न सक्ने गुरुङले बताए ।


    जिल्लामा अवस्थित पाँच हजारदेखि सात हजारसम्मका पिक नेपाली नगरिकले आरोहण गर्न प्रतिव्यक्ति रु पाँच लाखदेखि माथि खर्च हुने पदप्रर्दशक नादा शेर्पाको भनाइ छ । पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीका लागि एक अद्भूत अनुभव हो । तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ । हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाहरूको सङ्ख्यालगायत विभिन्न कारकमा निर्भर गर्छ । उचाइ बढ्दै जाँदा खर्च पनि बढ्ने गर्छ ।

    पथप्रदर्शक ९गाइड० र शेर्पा शुल्क, मुख्य गाइड, शेर्पा (बोझ बोक्ने सहयोगी), आधार शिविर व्यवस्थापक अनुमति शुल्क आरोहण गर्न सरकारले तोकेको शुल्क तिर्नुपर्छ, जुन हिमालको उचाइअनुसार फरक हुन्छ । पर्वतारोहण जोखिमपूर्ण भएकाले गाइड, शेर्पा तथा आरोहीको बिमा गर्नुपर्छ । काठमाडौँबाट ताप्लेजुङको फुङ्लिङ, त्यसपछि पदयात्रा वा हेलिकप्टर भाडा, आवश्यक सामग्री ९गियर० खरिद वा भाडा, खाना र आवास, आधार शिविर र बाटोभरि होटल तथा टेन्टको व्यवस्थापनमा खर्च हुने छ ।

    हिमाल आरोहण रोमाञ्चक र चुनौतीपूर्ण यात्रा हो, जसमा उचित तयारी आवश्यक पर्छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, सुरक्षाजन्य चुनौती र खर्च व्यवस्थापनबारे सचेत हुनुपर्छ । आवश्यक सामग्री, उचित तालिम र अनुभवी गाइडका साथमा यात्रा गरे आरोहण सुरक्षित र सफल बन्ने पथप्रदर्शकको भनाइ छ ।

    हिमालको प्रवर्द्धन गर्न महोत्सव हुँदै

    ताप्लेजुङका दुई स्थानीय तहमा मात्र हिमाल रहेका छन् । फक्ताङ्लुङ गाउँपालिका ४३ वटा हिमाल र सिरिजङ्घा गाउँपालिकाका पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको छ । अहिले यी दुई पालिका हिमालको प्रवर्द्धन गर्न पर्यटन महत्वसको तयारीमा जुटेका छन् ।

    फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप गाउँमा कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अगुवाइमा कञ्चनजङ्घा हिमाल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा ‘प्लाटिनम जुब्ली’ २०८२ महोत्सव अन्तिम तयारी पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए । आउँदो वैशाख ५–७ गते फक्ताङ्लुङ गाउँपालिका–५ लेलेपमा महोत्सव हुने भएको हो । ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र, प्रकृतिको उपहार : संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ भन्ने नाराका साथ महत्सवको तयारी भइरहेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालयसहित विभिन्न सङ्घसंस्थाको सहकार्यमा गरिने जनाइएको छ । महोत्सवमा कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय सम्पदाको प्रचारप्रसार, पदयात्रा प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवर्द्धन, भलिबल प्रतियोगिताजस्ता गतिविधि समेटिने छन् । कञ्चनजङ्घा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूका परिवार तथा अन्य आरोहणकर्तालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ । महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौँमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।

    सिरिजङ्घा गाउँपालिका हिमाल संरक्षण अभियानमा जुटेको छ । गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविरमा आगामी वैशाख १२ देखि १४ गतेसम्म पर्यटन सिरिजङ्घा महोत्सव आयोजना गरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि छलफल गर्ने योजना बनाएको छ । प्रवक्ता बमप्रसाद गौतमका अनुसार, महोत्सवमा हिमताल, हिमनदी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन, अनुसन्धान र समाधानका उपायबारे छलफल गरिनेछ ।

    गाउँपालिकाले सङ्घीय सरकारको साझेदारीमा कञ्चनजङ्घा क्षेत्रमा साहसिक पदमार्ग निर्माण गरिरहेको छ । महोत्सवमा निर्माणाधीन पदमार्गको प्रचारप्रसार, स्थानीय कला, संस्कृति तथा परम्परालाई प्रवर्द्धन गरिने जनाएको छ । विशेष आकर्षणका रूपमा चार हजार ५०० मिटर उचाइको कञ्चनजङ्घा म्याराथुन प्रतियोगिता आयोजना गरिने छ । चौँरी याक प्रदर्शन, साहित्य गोष्ठी, साइक्लिङ लगायत कार्यक्रम समिटिएको गाउँपालिकाले जनाएको छ ।

    महोत्सव सिरिजङ्घा गाउँपालिकाको नयाँ झोडेनी क्षेत्रमा आयोजना हुनेछ । गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार, झोडेनी माछेवाबीचको दूरी कायम गरी म्याराथुन प्रतियोगिता सम्पन्न गरिने छ । सिरिजङ्घा–८ का वडाध्यक्ष कृष्णकुमार गुरुङका अनुसार, झण्डेडाँडाबाट मकालुदेखि कञ्चनजङ्घासम्मका हिमशृङ्खला देख्न सकिन्छ । याक तथा चौँरीको अवलोकन, लालीगुराँसको दृश्य र हिमाली सौन्दर्य पर्यटक आकर्षणका मुख्य तत्व हुनेछन् ।

    ताप्लेजुङको साहसिक पर्यटनमा ठूलो सम्भावना भए पनि सरकारी चासोको कमीले विकास सुस्त देखिन्छ । यहाँको हिमाली सौन्दर्य, जैविक विविधता र सांस्कृतिक महत्त्वका कारण अन्तरराष्ट्रिय पर्वतारोही आकर्षित हुने वातावरण भए पनि पर्यटन प्रवर्द्धनका नाममा गरिने मेला महोत्सवले खासै प्रभाव पार्न सकेका छैनन् । आवश्यक पूर्वाधार विकास, पदमार्ग सुधार, हिमाल आरोहण सहज बनाउन कानुनी प्रक्रिया सरलीकरण गर्न सके ताप्लेजुङलाई विश्वस्तरीय गन्तव्य बनाउन सकिन्छ । नयाँ पिकहरूमा मानव पाइला पर्नु, पर्वतारोहण सम्भावनाको उजागर हुनु र पर्यटन गतिविधि बढ्नु सकारात्मक सङ्केत हुन् । सरकारी सहयोग र स्थानीय समुदायको संलग्नता बढाउन सकियो भने ताप्लेजुङ विश्वको महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्ने पर्यटन व्यवसायीको भनाइ छ ।

    ताप्लेजुङका यी हिमालहरूको काखमा मानव पाइला पर्न थालेका छन् । पर्वतारोही, अनुसन्धानकर्ता र पर्यटकको चहलपहल बढ्दै गएको छ । अवलोकनका लागि मात्र नभई, नयाँ गन्तव्यका रूपमा यी हिमाली क्षेत्रलाई प्रचार गर्न थालिएको छ । स्थानीय पर्यटन प्रवर्द्धनका लागि नयाँ हिमालको पहिचान र आरोहण सम्भावनालाई उजागर गर्दै, ताप्लेजुङ अब साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ । हिमाली सौन्दर्य, संस्कृति र जैविक विविधताको सङ्गमका कारण यहाँको महत्त्व अझ बढ्दै गएको छ ।

    रासस

  • राप्रपासहित विभिन्न समूहको आन्दोलनले काठमाडौंको ट्राफिक अस्तव्यस्त हुँदै

    राप्रपासहित विभिन्न समूहको आन्दोलनले काठमाडौंको ट्राफिक अस्तव्यस्त हुँदै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन गर्दैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपालाई बल्खुमा प्रदर्शन गर्न ठाउँ तोकेको हो। उता, शिक्षकसहित विभिन्न समूहको आन्दोलन समेत काठमाडौंमा जारी छ । यसले आज दिनभर काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाउने छ । राप्रपाले बिहान साढे ११ बजे बल्खुमा सभाको तयारी गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने सभा सुरू हुनुअघि विभिन्न स्थानबाट र्‍याली निस्कने पार्टीले जानकारी दिएको छ।

    चक्रपथ क्षेत्रको सवारी आवागमन प्रभावित हुने गरी राप्रपाले प्रदर्शनको तयारी गरेपछि प्रहरीले उक्त क्षेत्रमा सवारी डाइभर्सनको प्रबन्ध गरेको छ। प्रहरीका अनुसार कलंकीको खसिबजार–मकालु–कलंकी चोक हुँदै बाफलतर्फ सवारी डाइभर्सन गरिनेछ। त्यस्तै बल्खु चोक–कुलेश्वर–कालीमाटी चोक–टेकु पुग्ने गरी पनि सवारी डाइभर्सन गरिने प्रहरीले जानकारी दिएको छ। कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना पुग्ने गरी डाइभर्सन तय गरेको प्रहरीले बताएको छ।

    प्रदर्शनका कारण सवारी चाप बढेमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइलाका विन्दुहरूमा पनि यातायात डाइभर्सन गर्ने प्रहरीको तयारी छ।
    त्यस्तै चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर चोकमा पनि डाइभर्सनको प्रबन्ध गर्ने प्रहरीले बताएको छ। त्यस्तै कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउनेहरूका लागि प्रहरीले पार्किङ स्थल पनि तोकिदिएको छ। त्रिभुवन विश्वविद्यालय गेटदेखि दक्षिणतर्फको चोभार सडक पार्किङ स्थलमा प्रयोग गर्न सकिने प्रहरीले जानकारी दिएको छ।

    सानेपा करिडोर सडकको दुबै तर्फ पार्किङ गर्न सकिनेछ। चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सीतापाइला– बाफल सडक खण्डमा एक लाइन सवारी साधन व्यवस्थापन गर्न सकिने प्रहरीले बताएको छ। मंगलबार शिक्षकहरूले माइतीघर–बानेश्वर क्षेत्र र लघुवित्त तथा सहकारीपीडितहरूले शान्ति वाटिका क्षेत्रमा प्रदर्शन गर्ने बताएकाले ती स्थानको सवारी आवागमन पनि प्रभावित हुन सक्ने प्रहरीले जानकारी दिएको छ। यी स्थानमा पनि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

  • आज राजावादीको आन्दोलन, सुरक्षा व्यवस्था चुस्त

    आज राजावादीको आन्दोलन, सुरक्षा व्यवस्था चुस्त

    काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा आयोजना गरेको छ । आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी पार्टीले गरेको छ । ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किने भएको छ ।

    सभामा ‘३० औं हजार सहभागी हुने अपेक्षा पार्टीको छ । सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका पार्टीका नेताहरुले सम्बोधन गर्ने छन् । अध्यक्ष लिङ्देन सोमबार बेलुकी सभास्थल बल्खु पुगेर स्थलगत अनुगमन गरेका छन् । राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गराइएको छ ।

    यसअघि राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । त्यसपछि राप्रपाले सभास्थलको रुपमा बल्खु रोजेको हो । सभा व्यवस्थित गर्न स्वयंसेवक परिचालन गरिने छ । उनीहरुले सभालाई व्यवस्थित बनाउन र घुसपैठ रोक्न भूमिका खेल्ने छन् । यसअघि राप्रपाका नेताहरुसमेतको सहभागितामा राजावादीहरुले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

    सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । सभास्थल वरपर दुई हजार संख्यामा प्रहरी खटाइने छ । सीसीटीभी र ड्रोनबाट समेत निगरानी गर्ने तयारी छ । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।

  • रुपन्देहीमा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

    रुपन्देहीमा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

    २६ चैत, काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

    घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको उनले जानकारी दिए । दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको उनले बताए ।

  • पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

    पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

    म्याग्दी, २६ चैत । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यावलोकन गरी प्रकृतिमा रमाउन आउने पर्यटकको सुविधाका लागि नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् सुविधा विस्तार गरेको हो ।

    पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युतीय उपकरण चार्ज गर्न र केही तल रहेको मूलबाट पानी तान्ने उद्देश्यले घोडेपानीबाट १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलमा विद्युत् सुविधा विस्तार गरिएको केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिए । घोडेपानीवासीको मागअनुसार २०८० साल पुसमा रु २५ लाख खर्चेर विद्युतीयको लाइन पुर्याए पनि गाउँपालिकाले हालै मिटरबक्स जडान गरेपछि विद्युत् वितरण थालिएको उनले बताए।

    घोडेपानी क्षेत्रको विद्युत् आपूर्तिलाई सहज र गुणस्तरीय बनाउन नाङ्गो तार हटाएर एबिसी केबुल र ५० केभीए क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको छ । विद्युत सुविधा भएपछि पदमार्गमा सडक बत्ती जडान गर्न र पुनहिलमा लिफ्ट प्रविधिबाट पानी तानेर लैजाने तयारी गरेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताए । पुनहिलमा घोडेपानीबाट ग्यालिन, बोत्तल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ । एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपर्दा पर्यटकले मर्कामा परेको गुनासो गरेका छन् ।

    चुरेन, पुथा, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी र त्योभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्छन् । पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति रु ५० र विदेशीले रु १५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि गाउँपालकाले रु ४० लाख १०० मा ठेक्का लगाएको छ ।

  • चीनले जवाफी ट्यारिफ फिर्ता नलिए थप ५० प्रतिशत महसुल लगाउने ट्रम्पको चेतावनी

    चीनले जवाफी ट्यारिफ फिर्ता नलिए थप ५० प्रतिशत महसुल लगाउने ट्रम्पको चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई नयाँ चेतावनी दिएका छन् । उनले चीनलाई थप ५० प्रतिशत महसुल थप गर्ने चेतावनी दिएका हुन् । चीनले ३४ प्रतिशत ट्यारिफ अमेरिकामाथि लगाएको छ । यो फिर्ता नलिए अमेरिकाले ५० प्रतिशत ट्यारिफ लगाउने उनको चेतावनी छ ।

    अमेरिकी राष्ट्रपति कार्यालयले जनाए अनुसार ९ अप्रिलबाट चीनदेखि आउने सामानमा ३४ प्रतिशत महसुल लाग्ने छ । चीनले शुक्रबार अमेरिकामाथि समेत सोही दरमा महसुल लगाउने निर्णय गरेको छ । त्यस निर्णयप्रति ट्रम्प आक्रोसित बनेका हुन् । ट्रम्पले आफ्नै सामाजिक संजाल ट्रुथ सोशलमा लेख्दै आफ्ना नीतिको बचाउ गरेका छन् ।

  • रवि लामिछाने कारागार चलान

    रवि लामिछाने कारागार चलान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् ।
    दुई दिन जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको हिरासतमा राखिएका लामिछाने आज जिल्ला कारागार चलान भएका हहुन् । सोमबार बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि उनलाई थुनुवा पुर्जी दिइएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो । जिल्ला प्रहरीको टोलीले सोमबार बिहान कार्यालय समय भएपछि बुटवल पुगेर उच्च अदालतको आदेशको मिसिल बुझेको थियो । मिसिल बुझेर भैरहवा ल्याएपछि जिल्ला प्रहरीको हिरासतबाट लामिछानेलाई अदालत पेस गरिएको थियो ।

    जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नं ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले बताए । लामिछानेलाई राखिएको कक्ष अन्य कैदीबन्दीलाई राखिएका भवनभन्दा बाहिर रहेको छ । शुक्रबार राति काठमाडौँमा पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको हिरासतमा राखिएको थियो ।

    आज बिहान अदालत लैजानुअघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । त्यस्तै, जिल्ला कारागार परिसर र आसपास पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

    जिल्ला अदालत रूपन्देहीले दिएको रु एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । समान प्रकृतिको मुद्दामा एक जनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो ।