Category: फिचर

  • भारतले ल्यायो नयाँ बजेट, नेपाललाई ७ अर्ब भारु अनुदान

    भारतले ल्यायो नयाँ बजेट, नेपाललाई ७ अर्ब भारु अनुदान

    काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२५÷२६ का लागि नयाँ बजेट सार्वजनिक गरेको छ । भारतमा १ फेब्रुअरीका दिनमा नयाँ बजेट ल्याउने गरिन्छ । साथै यस वर्ष भारतले नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । शनिबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ७ अर्ब अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ७ सय करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।

    छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार १ सय ५० करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । यो रकम यस आर्थिक वर्षको भन्दा कम हो । यस आर्थिक वर्ष भारतले २ हजार ५ सय ४३.४८ करोड रुपैयाँ विनियोजना गरेको थियो ।

    भारतको आगामी बजेटमा माल्दिभ्सलाई ५ सय करोड, म्यानमारलाई ३ सय ५० करोड, श्रीलंकालाई ३ सय करोड, अफगानिस्तानलाई १ सय करोड, बंगलादेशलाई १ सय २० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय २५ करोड र मंगलोलियालाई ५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।

  • प्रचण्ड भन्छन् : जनतामा राजनीतिक चेतना बढेको छ

    प्रचण्ड भन्छन् : जनतामा राजनीतिक चेतना बढेको छ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) चितवनले भरतपुरमा आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताए । उनले भने, “माओवादी केन्द्रप्रति जनतामा ठुलो भरोसा बढेको छ ।”

    अहिले पार्टीका वर्गीय सङ्गठनलाई बलियो बनाउनतर्फ आफू लागेको अध्यक्ष दाहालले बताए । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष गङ्गा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका थिए ।

  • कूम्भ मेलाबाट फर्कने क्रममा जिप दुर्घटना, भारतमा ५ नेपालीको मृत्यु

    कूम्भ मेलाबाट फर्कने क्रममा जिप दुर्घटना, भारतमा ५ नेपालीको मृत्यु

    काठमाडौं । भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ । तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको घाइतेले बताएका छन्।
    दुर्घटनामा महोत्तरीका पाँच जनाको मृत्यु भएको हो।दुर्घटनामा श्रीमान, श्रीमती, मामा, माइजु र चालकको मृत्यु भएको हो। दुर्घटनामा थप चार जना गम्भीर घाइते भएका छन्। भारतको प्रभात खवर दैनिकका सुरसण्ड प्रतिनिधि पत्रकार विजय नारायण मिश्रका अनुसार जिप अनियन्त्रित भएर दुर्घटना भएको हो।

    दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दु देवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका नाम थर नखुलेका स्कर्पियो चालकको मृत्यु भएको हो। दुर्घटना मुजफ्फरपुर सदरथाना क्षेत्रको मादापुर फोरलाइन सडक खण्डमा रहेको मधुबनी मंदिर नजिक भएको पत्रकार मिश्रले जानकारी दिए।

  • महिला क्रिकेटमा पनि ब्याटिङमै कमजोरी, लगातार दोस्रो हार

    महिला क्रिकेटमा पनि ब्याटिङमै कमजोरी, लगातार दोस्रो हार

    काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । शनिबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले हारेको छ । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको कमजोरी पुनः ब्याटिङमै दोहोरिएको छ ।

    थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित अर्धशतकीय पारी खेलिन् । नेदरल्याण्सविरूद्ध पनि अर्धशतक बनाएकी उनले यस खेलमा ६० रन बनाइन् । त्यस्तै सुवानन खियोतोले १४ तथा कप्तान नारुमोल चाइवाइले १३ रन बनाइन् ।

    नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । कविता कुँवर, कविता जोशी र रुबिना क्षेत्रीले १–१ विकेट लिए ।त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डसामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो ।

    नेपालले थाइल्याण्डविरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक योगफल हो भने १०० रनको योगफल कटाएको पनि यो पहिलोपटक हो । नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन् । फनिता मया र नताया बूचाथामले २–२ विकेट लिए । चनिदा सुथिराङले १ विकेट लिइन् । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३–३ खेल खेल्ने छन् ।

  • नेकपा एसका प्रदेशस्तरीय नेताहरु माओवादी प्रवेश

    नेकपा एसका प्रदेशस्तरीय नेताहरु माओवादी प्रवेश

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीका दुई सदस्यसहित जिल्ला कमिटीका सदस्यहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवन जिल्ला पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी सदस्य कृष्णराज लब्ली न्यौपाने र अरुण भण्डारीसहित जिल्ला कमिटी सदस्यहरूलाई माओवादीमा प्रवेश गराए ।

    एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष गंगा लामा, राजेन्द्र कँडेललगायतका नेता माओवादी प्रवेश गरेका हुन् । माओवादी प्रवेश गरेका भण्डारी यसअघि एकीकृत समाजवादीको चितवन जिल्ला अध्यक्षसमेत रहेका थिए । एमालेमा हुँदा पार्टी सचिव रहेका भण्डारी विभाजनसँगै एकीकृत समाजवादीतिर लागेका थिए ।

    त्यसअघि २०७४ को निर्वाचनमा उनी एमालेबाट भरतपुर १० को वडाध्यक्ष निर्वाचित भएका थिए । शनिबार आयोजित कार्यक्रममा अन्य विभिन्न पार्टीका ६० नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी चितवनका अध्यक्ष रामचन्द्र न्यौपाने (आरसींले जानकारी दिए ।

  • मोन्टी देसाईको सम्झौता सकियो, नवीकरण नहुने

    मोन्टी देसाईको सम्झौता सकियो, नवीकरण नहुने

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । उनीसँग सन् २०२३‌ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् ।

    मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले खराब फर्मबाट माथि उठेर राम्रो प्रदर्शन गरेको थियो भने पहिलोपटक एसिया कप खेल्दा आईसीसी टी–२० विश्वकप पनि १० वर्षपछि खेलेको थियो । मोन्टीले केही दिनअघि नेपालका युवा ब्याटरहरूलाई ब्याटिङ क्लिनिकमा पनि समावेश गराएका थिए । मोन्टीको प्रशिक्षणमा नेपालले गरेको उत्कृष्ट प्रदर्शन र सफलतासँग जोडिएको उनको योगदानका लागि क्यानले मोन्टीलाई धन्यवाद दिएको छ ।

  • काठमाडौं विमानस्थल आजबाट दैनिक १६ घण्टा खुल्दै

    काठमाडौं विमानस्थल आजबाट दैनिक १६ घण्टा खुल्दै

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १६ घण्टा सञ्चालनमा आउँदैछ । विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने छ । यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विस्तारका काम जारी रहेको छ । पछिल्लो तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको छ । विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने उनले जानकारी दिए ।

    प्राधिकरणका अनुसार हाल विमानस्थलभित्र तीन वटा आयोजनाको काम जारी रहेको छ । सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने उक्त सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत पूरा भएको छ । आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ ।

    हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ ।

    सन् २०२४ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४५ हजार २३९ र घरेलुतर्फ ३७ लाख २७ हजार ६५१ यात्रुले हवाईसेवा लिएका छन् । उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फ ३० हजार ६३० र घरेलुतर्फ ८४ हजार ९७१ जहाज उडान–अवतरण भएका छन् ।

  • अछाममा दुई किशोरीको मृत्यु प्रकरण : हत्या भएको प्रहरीको निष्कर्ष

    अछाममा दुई किशोरीको मृत्यु प्रकरण : हत्या भएको प्रहरीको निष्कर्ष


    काठमाडौं । अछाममा दुई किशोरीको मृत्यु प्रकरणमा हत्या भएको निष्कर्षमा प्रहरी अनुसन्धान पुगेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुई किशोरले हत्या गरेको अछाम प्रहरीले जनाएको छ । माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए ।

    घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुई जना किशोरले किशोरीको हत्या गरेको खुलेको छ । पक्राउ परेकाहरूलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।


    पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरूले हत्या गरेको खुलेको हो । घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

    प्रहरीले दिएको जानकारी अनुसार घटना भएको दिन मृतकहरू बाख्रा चराउन गएको जङ्गलमा आरोपितहरू पनि पुगेका थिए । उनिहरू किशोरीहरूको फोन सम्पर्क मार्फत जङ्गल पुगेका हुन् । उहीहरू प्रेमी–प्रेमिका रहेको खुलेको छ । आरोपितहरूले जङ्गलमा मृतकसँग उपहार स्वरूप चुन्नि मागेका थिए ।

    मृतक ईशराले चुन्नि दिए पनि सरस्वतीले चुन्नि उपहार लिन नमान्दा घटना घटेको देखिएको छ । सरस्वतीले चुन्नि नदिएर बाख्रा फर्काउन गएको समयमा १५ वर्षीय किशोरले यौन प्रस्ताव समेत राखेका थिए । सरस्वतीले उनको यौन प्रस्ताव अस्वीकार गर्दा उनलाई ढुङ्गाले हानेर हत्या गरेका खुलेको हो ।

    सरस्वतीको हत्या भएको खबर गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा ईशरालाई उनकै प्रेमी १७ वर्षीय किशोरले ढुङ्गाले हानेर हत्या गरेको खुलेको प्रहरीले बताएको छ । घटना पश्चात उक्त घटना कृतिम बनाउनका लागि हत्याराले ईशराको शव व्यवस्थापन गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सातबुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा

    सातबुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सातबुँदे सहमति कार्यान्वयनमा दृढ रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    सभापति देउवाले भने, “नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सात बुँदे सहमति भएर सरकार गठन भएको हो। हामी दुवै दलका साथै अन्य राजनीतिक दलको पनि सरकारमा सहभागिता र समर्थन छ। नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको सातबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा नेपाली कांग्रेस दृढ छ। यो सहमति कार्यान्वयन हुनेछ र अन्य सहयोगी राजनीतिक दलहरुको पनि निरन्तर सहयोग रहनेछ भन्ने मैले विश्वास गरेको छु।”

    सभापति देउवाले वर्तमन सरकार गठन भएको साढे ५ महिना पूरा भएको भन्दै विगतमा सरकार स्थिर हुन नसकेको कारण देशको राजनीतिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका कारण यो सरकार गठन भएको बताए । लोकतन्त्र अनुशासनको पद्धति पनि हो । लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकता गर्न पाउने सुविधाका रुपमा बुझ्नु हुँदैन । लोकतन्त्रको विशाल स्वतन्त्रताको छहारीमुनी सभ्य, शिक्षित र सुसंस्कृत समाज निर्माण गर्नु पर्दछ ।


    उनले सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण, दिगो शान्ति स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रत्याभूति गर्ने, देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक प्रगति गर्ने तथा विकास निर्माणलाई तीव्र गति दिने सरकारको मुख्य ध्येय रहेको बताए । उनले संसदमा कानुन निर्माणको विषयले गति लिन नसकेको गुनासो सुनिएको भन्दै आवश्यक कानुन बनाउन ढिलाइ गर्न नहुने धारणा राखे ।

  • संसदमा प्रधानमन्त्रीको सम्बोधन, के के भने ?

    संसदमा प्रधानमन्त्रीको सम्बोधन, के के भने ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । सो क्रममा उनले पार्टी टुक्राउने र भत्काउनेजस्ता खुद्रे कुरा यो सरकारको मेन्युमा नरहेको दावि गरे । बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे जानकारी गराए ।

    प्रधानमन्त्री ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताए । उनले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल पक्ष, अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताए ।

    उनले संविधान संशोधन विधेयक ल्याउने काम सरकारको भएको र बहस÷छलफलमा आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाई त्यसैका आधारमा संशोधन प्रस्ताव तयार पार्ने बताए । प्रधानमन्त्री ओलीले सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्नेलगायत सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि संसद् नचलेको समयमा सरकारले विभिन्न अध्यादेश ल्याएको स्पष्ट गरे ।

    प्रधानमन्त्री ओलीले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी १२, भूमि तथा वनसम्बन्धी तीन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐनगरी २९ वटा ऐनमा अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिए ।

    उनले कानुनमा तोकिएको अवधिबाहेक सबै काम सात दिनभित्र सक्नैपर्ने कानुनी व्यवस्था गरिएको र सूचना प्रविधिमा आधारित नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाइएको बताए । “अब हाम्रा नेपाली कम्पनीलाई विदेशमा सहायक कम्पनी तथा शाखा खोल्न, कारोबार गर्न र विदेशमा भएको आम्दानी नेपाल भित्र्याउनसक्ने वातावरण बनाइएको छ”, प्रधानमन्त्री ओलीले भने ।

    उनले उपभोक्ता हित संरक्षणसम्बन्धी बाझिएका कानुनमध्ये अप्रासङ्गिक कानुन खारेज गरिएको र प्रतिस्पर्धाका माध्यमबाट वस्तुको मूल्य निर्धारण हुने व्यवस्था गरी उद्यमी व्यवसायीलाई अनावश्यक रूपमा तर्साउने अवस्था हटाइएको र उपभोक्ता हित संरक्षणलाई अझै मजबुत बनाइएको बताए ।

    प्रधानमन्त्री ओलीले उद्योग दर्ताका लागि निवेदन दिएको १५ दिनभित्र सरकारी अधिकारीले निर्णय दिनुपर्ने र सो अवधिमा निर्णय नदिए स्वतः उद्योग सञ्चालनको मान्यता दिने व्यवस्था गरिएको, उद्यमीले कम्पनी खोल्न पाउने तर टाट पल्टिँदासमेत बन्द गर्न अनावश्यक ‘झन्झट’मा फस्नुपर्ने अवस्था सदाका लागि अन्त्य गरिएको बताए ।


    उनले सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदनले औँल्याएअनुरुप बचतकर्ताको रकम सुरक्षा गर्न आवश्यक राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्नेलगायत तत्काल गर्नुपर्ने कामका लागि विद्यमान सहकारी ऐनमा संशोधन गरिएको पनि जानकारी दिए ।

  • एक वर्ष पनि नपुग्दै एलिना सम्बन्ध विच्छेदमा

    एक वर्ष पनि नपुग्दै एलिना सम्बन्ध विच्छेदमा

    काठमाडौं । गत ५ वैशाखमा झापा, बिर्तामोडमा तामझामका साथ विवाह गरेको गायिका एलिना चौहान र विष्णु सापकोटाको जोडीले वार्षिकोत्सव पनि मनाउन नपाउँदै सम्बन्ध विच्छेद प्रक्रियामा पुगेको छ । बाग्लुङका विष्णु सापकोटा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । प्रेम सम्बन्धमा रहेकै बेलामा पनि उनीहरूबीच ब्रेकअपको हल्ला फैलिएको थियो ।

    तर, यो हल्लालाई बदर गर्दै उनीहरूले लगनगाँठो कसेका थिए । यो सम्बन्ध सुमधुर रहेन । धेरै समय नबित्दै एलिनाले डिभोर्स गर्न लागेको खबर सतहमा आयो । एलिनाले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेकी हुन् । उनले फिराद पत्रमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण खुलाएकी छिन् ।

    पति विष्णुले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद पत्रमा उल्लेख गरेकी छिन् ।कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आफूहरूबीच मनमुटाव भएको उनले उल्लेख गरेकी छिन् ।

    ‘म कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेर्दै अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने’भनी सम्बन्ध विच्छेदका लागि फिराद पत्र दर्ता गरेकी हुन्।

    उनले सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो जीवन विताउन ‘श्रेयष्कर’ हुने उल्लेख गरेकी छिन्। सम्बन्ध विच्छेद गर्दा उनले पतिसँग अंश र माना–चामल नलिने फिराद पत्रमा उल्लेख गरेकी छिन् । निज विपक्षीबाट अंश तथा माना–चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु’उनले लेखेकी छिन् ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो । त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ ।

  • जहाज दुर्घटनाबारे राष्ट्रपति ट्रम्पले के भने ?

    जहाज दुर्घटनाबारे राष्ट्रपति ट्रम्पले के भने ?

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाज दुर्घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले पत्रकारसँग सात्क्षात्कार गरेका हुन् । दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पले यस दुर्घटनाको कारण अहिले नै भन्न नसकिन तर छिट्टै यसबारे खुल्ने उनले बताए । उनले दुर्घटनामा मारिएका व्यक्तिका परिवारमा समवेदना व्यक्त गरे ।

    उनले दुर्घटनामा हेलिकप्टरको गल्ती हुन सक्ने औल्याउँदै भने, हेलिकप्टर गलत समयमा गलत जग्गामा थियो । उनले अघिल्लो सरकारमा समेत दोष राख्न भ्याए । अघिल्लो सरकारको डइइआई प्रोग्रामले एयर ट्राफिक कन्ट्रोलरमा अपांगता भएका र मानसिक रुपमा समस्याग्रस्त मानिसहरुलाई समेत भर्ति दिइएको आरोप उनले लगाए । उनले ओबामा र बाइडेन प्रशासनले एटीसीमा औसत मान्छेलाई भर्ति दिएको समेत आरोप लगाए । यसमा उनले कुनै उदाहरण भने दिन सकेनन् ।

  • अमेरिकी जहाज दुर्घटना : मृत्यु हुनेको संख्या ६७

    अमेरिकी जहाज दुर्घटना : मृत्यु हुनेको संख्या ६७

    अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो ।

    ६० जना यात्रु र चालक दलका ४ सदस्यसहित कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको विमान ‘धावनमार्ग–३३’ मा अवतरण गर्ने क्रममा अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोकिएको हो । तीन सैनिक सवार सेनाको सिकोर्स्की ‘ब्ल्याक हक’ हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको सैनिक अधिकारीलाई उद्धृत गर्दै बताइएको छ । विमान र हेलिकोप्टरमा रहेका सबैको मृत्यु भएको अमेरिकी सञ्चार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।

    अधिकारीहरूले अँध्यारो, तीव्र वेगको हुरी र चिसोका कारण उद्धार कार्य प्रभावित भएको जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले वासिङ्टन डीसीका आगलागी तथा आपत्कालीन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरलाई उद्धृत गर्दै दुर्घटनामा कुनै पनि यात्रु जीवितै भेटिने सम्भावना नरहेको बताएका थिए ।
    घटनास्थलको तापक्रम निकै कम भएको र रातको समय भएकाले उद्धारमा निकै कठिनाइ भएको डोनेलीको भनाइ छ । उनका अनुसार उद्धार कार्यमा करिब ३ सय आपत्कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ । खोजी तथा उद्धार कार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाएको छ । फिगर स्केटिङको अमेरिकी नियामक निकाय ‘यूएस फिगर स्केटिङ’ का अनुसार विमानमा केही स्केटिङ खेलाडी, प्रशिक्षक र तिनका आफन्तहरूले यात्रा गरिरहेका थिए । उनीहरू विचिटामा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्किरहेका थिए ।

    रुसी समाचार संस्था टीएएसएसका अनुसार विमानमा रुसका दुई जना फिगर स्केटर र प्रशिक्षक पनि थिए । अमेरिकाको संघीय नागरिक उड्डयन निकाय ९एफएए० का अनुसार स्थानीय समयानुसार बुधबार बेलुकी ९ बजेतिर अवतरणको तयारीमा रहेको पीएसएको विमान हेलिकोप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको हो । हेलिकोप्टरसँग ठोकिएपछ विमान दुई टुक्रा भएर नदीमा खसेको थियो । दुर्घटनामा परेको हेलिकोप्टर सग्लो रहेको तर नदीमा उत्तानो परेको स्थानीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

    विमानसँग ठोकिएको हेलिकोप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको थियो । अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । अनुसन्धानमा संघीय जाँच ब्युरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाएको छ । दुर्घटनापछि रोनाल्ड रेगन विमानस्थल बन्द गरिएको र त्यहाँ आउन लागेका विमानहरूलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ ।

    सीएनएनका अनुसार दुर्घटना हुनुभन्दा केही समयअघि रोनाल्ड रेगन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले सेनाको हेलिकोप्टरलाई अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान देखिएको छ कि छैन भनेर प्रश्न गरेका थिए । एयर ट्राफिक कन्ट्रोलले हेलिकोप्टरलाई पुनः चेतावनी दिएको थियो ।

    एयर ट्राफिक कन्ट्रोलले दिएको चेतावनीपछि हेलिकोप्टर चालकले कुनै प्रतिक्रिया नदिएको र त्यसको केही सेकेन्डमै हेलिकोप्टर र विमान ठोकिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भयानक दुर्घटनाबारे आफूलाई तत्काल जानकारी दिइएको र आपत्कालीन उद्धार कार्यको प्रशंसा गरेका छन् ।


    अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले दुर्घटना टार्न सकिने खालको थियो भन्दै कसरी त्यसो हुन गयो भनेर प्रश्न गरेका छन् । अमेरिकी यातायातमन्त्री सिन डफीले पनि दुर्घटना टार्न सकिने खालको भएको बताएका छन् । ‘हामी विस्तृत जानकारीको पर्खाइमा छौं । तर मैले अहिलेसम्म के देखेको छु भने यो दुर्घटना रोक्न सकिने खालको थियो,’ डफीले भनेका छन् ।

    अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसएको ५३४२ जहाजको चालक दलमा निकै अनुभवी सदस्यहरू रहेको जनाइएको छ । ‘विमानका दुई पाइलटहरू जटिल व्यावसायिक उडानका लागि नयाँ थिएनन्,’ अमेरिकन एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० रोबर्ट इसोमले भने, ‘उनीहरू निकै अनुभवी पाइलटहरू हुन् ।’

    बिहीबारको विमान दुर्घटना अमेरिकामा डेढ दशकयता व्यावसायिक उडानमा भएको सबैभन्दा ठूलो हो । सन् २००९ को फेब्रुअरीमा न्युजर्सीको नेवार्कबाट उडेको कन्टिनेन्टल एयरलाइन्सको यात्रुवाहक विमान न्युयोर्कस्थित बफेलो विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा ४९ जनाको ज्यान गएको थियो ।

    सन् २००९ को जनवरी १५ मा न्युयोर्कको लाग्वार्डिआ विमानस्थलबाट उडेको यूएस एयरवेजको एयरबस ए–३२० चराहरूको बथानसँग ठोकिएपछि दुइटै इन्जिनमा समस्या आएको थियो । त्यसलगत्तै चालकले विमानलाई नजिकैको हड्सन नदीमा आकस्मिक अवतरण गराएका थिए ।

    उक्त घटनामा विमानमा सवार १ सय ५५ जनाको ज्यान जोगिएको थियो । त्यस्तै, सन् २००१ को नोभेम्बरमा अमेरिकन एयरलाइन्सको विमान न्युयोर्कस्थित जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेको थियो । डोमिनिकन रिपब्लिकको सान्टो डोमिनिगोका लागि उडेको विमान दुर्घटनामा २ सय ६५ जनाको ज्यान गएको थियो ।
    एजेन्सीको सहयोगमा

  • अध्यादेशको विरोध गर्दै विपक्षी दल, संसदमा रोक्लान ?

    अध्यादेशको विरोध गर्दै विपक्षी दल, संसदमा रोक्लान ?

    काठमाडौं। संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमै सरकारले विपक्षी दलबाट विरोधको सामना गर्नुपर्ने देखिएको छ । सरकारले हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा विभिन्न ६ अध्यादेश पेश गर्दैछ । विपक्षी दल त्यसको प्रतिवादमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका सांसद विरोधमा उत्रिने तयारीमा रहेको स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

    विहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेशको विरोधमा संसदमा उत्रने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माघ २ गते अध्यादेश ल्याइएको र माघ १८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको मनसाय नै ठीक नभएको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने बताएका थिए । अध्यादेशको विरोधसहित जनसरोकारका विषयहरु एकमत भएर संसदमा उठाउने विपक्षी दलका नेताहरुले बताएका छन् ।

  • आजदेखि संसद बैठक बस्दै, के छन् एजेण्डा ?

    आजदेखि संसद बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको
    छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यले आफ्नो मन्तव्य राख्ने संसद सचिवालयले जनाएको छ ।

    बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । त्यसपछि मन्तव्यको क्रम सुरु हुनेछ ।

    आजको बैठकमा ६ वटा अध्यादेश समेत पेश हुने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१’, ‘निजीकरण(९पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।

    त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् । मन्त्रिपरिषदको सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए । त्यसपछि २९ पुसमा थप चार वटा अध्यादेश जारी भएका थिए । २ माघमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि जारी भएको थियो । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेशको विरोध गर्ने निर्णय गरेका छन् ।

  • अमेरिकामा जहाज दुर्घटना : अहिलेसम्म भेटियो २८ शव

    अमेरिकामा जहाज दुर्घटना : अहिलेसम्म भेटियो २८ शव

    काठमाडौं । अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा २८ जनाको शव भेटिएको छ। ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार विमानसँग सेनाको हेलिकप्टर ठोक्किएको हो।

    अहिलेसम्म २८ जनाको शव फेला परेको अमेरिकी सञ्चारमाध्यमले प्रहरी अधिकारीलाई उद्धत गर्दै समाचार लेखेका छन्। बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

    दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्यहरू विमानस्थलमा पुगेका थिए। एक अमेरिकी सैनिक अधिकारीले अमेरिकी समाचार च्यानल सीबीएसलाई बताएअनुसार दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर थियो। हेलिकप्टरमा अमेरिकी सेनाका तीन सैनिक सवार थिए।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा अवस्थाको अनुगमन भइरहेको बताएका छन्। दुर्घटनाग्रस्त विमान पानीमा परेकाले यात्रु सकुशल रहने सम्भावना कम देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

  • के सर्तमा रोकियो निर्माण व्यवसायीको आन्दोलन ?

    के सर्तमा रोकियो निर्माण व्यवसायीको आन्दोलन ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि निर्माण व्यवसायीले आन्दोलन रोकेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ टोलीले बुधबार प्रधानमन्त्री ओलीसँग भेटेको थियो । भेटमा प्रधानमन्त्री ओलीले समस्या समाधानमा कार्यदल गठन गर्न सरोकारवालालाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको भन्दै महासंघले शुक्रबारदेखि राजधानीमा गर्ने भनेको धर्नासहित कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।

    यसअघि महासंघले २७ पुसमा राष्ट्रिय भेला आयोजना गरी चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । महासंघले भुक्तानी, मूल्यवृद्धि तथा विभिन्न सार्वजनिक खरिद कानुनमा रहेका अवरोध हटाउन माग गर्दै आएको छ । यसबीच निर्माण व्यवसायीले विभिन्न दलका नेता र विभागीय मन्त्रीहरूलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । साथै, १४ बुँदे माग पूरा गर्न १५ दिनको अल्टिमेटम दिएर १८ माघदेखि सडक आन्दोलन घोषणा गरेका थिए ।

  • जीप दुर्घटनामा ओखलढुंगामा ३ जनाको मृत्यु

    जीप दुर्घटनामा ओखलढुंगामा ३ जनाको मृत्यु

    काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा जीप दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले जानकारी दिए ।

    मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीया तारा गुरुङ रहेका छन् । आगलागीमा परी गम्भीर घाइते मायादेवीलाई लिएर काठमाडौँ जाँदै गरेको दुर्घटनामा परेको हो । खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    जीप चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन् । उनी फरार रहेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण संकलनको कार्य भइरहेको उनले बताए ।

  • माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेश अश्विकार गर्ने

    माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेश अश्विकार गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत हिसाबमै गलत भएको निष्कर्ष निकाल्दै अश्विकार गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको माओवादी संसदीय दल बैठकले अध्यादेश प्रक्रिया गलत भएको निष्कर्ष निकालेको र त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

    ‘सरकारले जसरी छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने कुरा पहिला नै ल्याएको विधेयक समितिमा छ । त्यहाँबाट लाँदा सजिलो हुन्थ्यो,’ पाण्डेले भने, ‘त्यसलाई फिर्ता नलिइ अध्यादेश जारी गरिसकेपछि मात्रै फिर्ताको चिठि लेखेर लिएर गएको छ । त्यो छिटो गर्न खोजेको भनाइलाई त्यो तथ्यले आफैं खण्डित गर्छ । प्रक्रियागत हिसाबले नै यो बेठिक छ । हामीले यसलाई अस्वीकार गर्नुपर्छ भन्ने कुरा भएको छ ।’

    त्यस्तै, भोलिबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा आफूहरू जनताका आवाजलाई व्यवस्थित र सशक्त बनाएर अघि बढ्ने निर्णय पनि भएको उनले जानकारी दिए । ‘हाम्रो दुईवटा जिम्मेवारी छ । एउटा त आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाज संसद्मा उठाउने । सँगै विपक्षी दलहरूलाई पनि लिएर मतऐक्यता हुनसक्ने विषयमा सामूहिक रुपमा आवाज बुलन्द गर्ने,’ पाण्डेले निर्णय सुनाउँदै भने ।

  • अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किए, क्षतिको विवरण आउदै

    अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किए, क्षतिको विवरण आउदै

    अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किएका छन् । अहिलेसम्म हताहतिको सङ्ख्या सार्वजनिक भइसकेको छैन । वासिङ्टन डिसिस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरणका क्रममा रहेको जहाज र सेनाको हेलिकप्टर ठोक्किएर दुर्घटना भएको हो । स्थानीय समय अनुसार रातको ९ बजे भएको यो घटनापछि जहाज पोटोम्याक नदिमा खसेको छ । जहाजमा चालक दलका चार र ६० यात्रु सवार थिए ।

    दुर्घटनामा परेको सेनाको हेलिकप्टरमा तीन सैनिक सवार थिए । उनिहरुको अवस्था समेत अज्ञात छ ।

  • भ्रमणको उद्देश्यले वर्षमा पौने तीन लाख नेपाली विदेश उडे

    भ्रमणको उद्देश्यले वर्षमा पौने तीन लाख नेपाली विदेश उडे

    काठमाडौं । एक वर्षमा भ्रमणका लागि विदेशिने नेपालीको संख्या पनि झण्डै तीन लाख नजिक पुगेको छ । अध्यागमन विभागका अनुसार सन् २०२४ मा विदेश घुमफिरमा २ लाख ७४ हजार ४२८ जना नेपाली गएका छन् । जसमध्ये १ लाख ५९ हजार ४३ पुरुष र १ लाख १५ हजार ३५६ जना महिला छन् ।

    यो अघिल्लो वर्ष सन् २०२३ को तुलनामा धेरै हो । सो वर्ष २ लाख ४ हजार ५१८ जना नेपाली विदेश घुमफिरमा गएका थिए । सन् २०२४ मा कुल १७ लाख ७४ हजार २२५ जना नेपाली नागरिक विभिन्न प्रयोजनमा विदेश गएका छन् । विभागले सन् २०२३ बाट प्रयोजनगत रूपमा नेपालीहरुको विदेश यात्राबारे विवरण सार्वजनिक गर्न थालेको हो ।


    नेपालीको प्रमुख गन्तब्य भारत र थाइल्याण्ड छन् । यसबाहेक खाडीमुलुकहरु समेत रहेका छन् । मलेसिया, इण्डोनेसिया, भियतनाम र श्रीलंकामा पनि नेपालीको जाने क्रम बढेको पाइन्छ । एक वर्षको अवधिमा बिजनेस प्रयोजनमा भने २० हजार १०१ जना नेपाली विदेश उडेको पाइएको छ । जसमा १७ हजार ४०५ पुरुष र २ हजार ६९५ महिला छन् । यो संख्या गत वर्षको तुलनामा बढी हो ।

    सन् २०२३ मा १८ हजार ९६४ जना बिजनेस प्रयोजनमा विदेश यात्रा गरेका थिए । सन् २०२४ मा विभिन्न तालिम, सेमिनार र सम्मेलनमा भाग लिन भने २४ हजार २६२ नेपाली विदेश उडेको पाइएको छ । जसमा १७ हजार १६६ पुरुष र ७ हजार ८९ महिला छन् । यो अवधिमा आधिकारिक भ्रमणमा विदेश उड्नेहरू भने १३ हजार २९३ जना छन् । जसमा १० हजार १०१ पुरुष र ३ हजार १९१ महिला रहेको तथ्यांकमा देखिन्छ ।

    आधिकारिक भ्रमणमा विदेश जानेको संख्या यसवर्ष केही कम भएको छ । सन् २०२३ मा १६ हजार १११ यस्तो प्रयोजनमा विदेश उडेका थिए । पर्यटनसहित सेवा क्षेत्रको आय पछिल्लो समय ऋणात्मक देखिन्छ । नेपालमा आउने पर्यटकभन्दा नेपालीले विदेश भ्रमणमा बढी खर्च गर्दा सो देखिने गर्छ । सन् २०२४ मा विदेशबाट नेपाल भ्रमणमा आएका पर्यटकको संख्या भने साढे ११ लाख हाराहारी रहेको छ ।

  • महिला टी–२०आई सिरिज आजबाट, पहिलो पटक नेदरल्याण्ड्स र नेपाल भिड्दै

    महिला टी–२०आई सिरिज आजबाट, पहिलो पटक नेदरल्याण्ड्स र नेपाल भिड्दै

    काठमाडौं । आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई सिरिज सुरू हुँदै छ । पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई मुलुक पहिलो पटक टी२० आईमा भिड्न लागेका हुन् । खेल दिउँसो १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् ।

    नेपाली कप्तान इन्दुले ‘साढे दुई वर्षपछि घरेलु मैदानमा नै हुन लागेको यस श्रृंखलाका लागि धेरै उत्साहित रहेको बताएकी छिन् । पहिलोपटक नेपाल आउँदा उत्साहित भएको बताउँदै डच कप्तान डे लिडेले नेपालसँग पहिले खेल्ने अवसर नपाएपनि अब पाएको अवसरमा राम्रो खेल प्रदर्शन गर्ने बताएकी छिन् । श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् ।

    नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ । फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।

  • कुम्भ मेलामा भएको भागदौड घटनााबारे के भन्छन् मूख्यमन्त्री आदित्यनाथ ?

    कुम्भ मेलामा भएको भागदौड घटनााबारे के भन्छन् मूख्यमन्त्री आदित्यनाथ ?

    प्रयागराज । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या ३० पुगेको प्रशासनले पुष्टी गरेको छ । घटनाबारे मूख्यमन्त्री योगी आदित्यनाथले औपचारिक बयान दिएका छन् । उनले घटना दुर्भाग्यपूर्ण रहेको बताए । उनका अनुसार घटना संगम तट निर भएको हो । भीड नियन्त्रण गर्न राखिएका ब्यारियर्स तोड्ने र त्यसमाथि भीड कुद्ने काम भएको उनले जानकारी दिए ।

    प्रशासनले प्रयागराजको सबै घाटमा स्थान खुला गरी सहज बनाए पनि केही मानिस संगम तटमै पुग्ने अडिगमा रहँदा घटना भएको बताइएको छ । उनका अनुसार घटनामा ३६ भन्दा बढी घाईते छन् । उता राज्य सरकारले मृतकका परिवारलाई २५÷२५ लाख क्षतिपूर्ति दिने घोषणा समेत गरेको छ ।

  • आज सोनाम ल्होछार, देशैभरी सार्वजनिक बिदा

    आज सोनाम ल्होछार, देशैभरी सार्वजनिक बिदा

    काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

    मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

    भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाइँदै छ ।

    देशका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

  • नेपाल छाडेर स्थायी बसोबासमा विदेशिए ६६ हजार ८३५ नेपाली

    नेपाल छाडेर स्थायी बसोबासमा विदेशिए ६६ हजार ८३५ नेपाली

    काठमाडौं । नेपालबाट स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि (सन् २०२४) मा ६६ हजार ८३५ जनाले देश छाडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार जसमा ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरष छन् । एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् ।

    जसमध्ये अस्थायी बसोबासको प्रयोजनका लागि विदेशिने नागरिकको संख्या १ लाख ८२७ रहेको छ । सबैभन्दा धेरै संख्या भने कामको खोजिमा विदेशिनेको रहेको छ । स्थायी बसोबासमा लागि देश छाड्नेको संख्या तुलनात्मक रुपमा भने केही घटेको छ । सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए ।

    यस पटक सो संख्या ६६ हजारमा झरेको देखिनछ । अस्थायी बसोबासमा देश छाड्ने भने यस पटक बढेका छन् । गत वर्ष ९२ हजार ३४९ जनाल देश छाडेको विभागले जनाएको छ । विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजिमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेशिएका छन् । जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन् ।

    अध्ययनमा १ लाख १९ हजार ४०९ जना विदेशिएका छन् । स्वास्थ्य उपचारमा १८ हजार ७१३ जना नेपाली विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ । यूएन मिसनमा ५ हजार ८४७ जना विदेशिएको देखिन्छ । खेलकुदजन्य गतिविधिका लागि २ हजार ६८०९ जना विदेश गएका थिए ।

  • सुडानमा विमान दुर्घटना, कम्तिमा २० जनाको मृत्यु

    सुडानमा विमान दुर्घटना, कम्तिमा २० जनाको मृत्यु

    काठमाडौं । दक्षिण सुडानमा विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालका अनुसार राजधानी जुबाका लागि उडेको विमान बुधबार युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो । ‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनामा परेको हो ।

    विमानमा २१ जना सवार थिए । जसमध्ये एक जना मात्रै बाँचेका छन्,’ गतवेच विपालले भने । ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी) ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए । उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए ।

  • स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत

    स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धि कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेखित विषयका आधारमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटी नेतृत्वको समितिलाई जिम्मेवारी दिएका थिए।

    सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएका हुन् । कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धि निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ।

    मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै बीमा रकम ५ लाख पुर्‍याउने तयारी गरिरहेको बताएका थिए । प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने तयारी मन्त्री पौडेलले गरेका छन्।

  • कुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

    कुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

    काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाकुम्भमा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए । जसमध्ये २५ जनाको सनाखत भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा ६० जना घाइते भएका छन् ।

    १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोडभन्दा धेरै श्रद्धालु कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । तर, मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । मानिसहरूको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरू हटाएर सडक खुला गरेको थियो ।

  • कर्मचारीलाई ट्रम्प सरकारको अफर : ८ महिनाको तलव लिएर राजिनामा

    कर्मचारीलाई ट्रम्प सरकारको अफर : ८ महिनाको तलव लिएर राजिनामा

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारीको कटौतीलाई प्राथमिकतामा राख्दै नयाँ प्रस्ताव ल्याएको छ । ट्रम्प प्रशासनले लाखौं संघीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ । कोभिड १९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा उपभोग गरिरहेका सबै संघीय कर्मचारीहरूलाई पूर्णकालीन रूपमा कार्यालयमा फर्कने विकल्पका रूपमा ट्रम्पको आदेश आएको हो ।

    राष्ट्रपति ट्रम्पले कार्यालय फर्कन नचाहने लगभग सबै संघीय कामदारहरूलाई लक्षित गर्दै सो प्याकेजमार्फत् बहिर्गमनको प्रस्ताव गरेका हुन् । मंगलबार करिब एकै समयमा लाखौं कर्मचारीहरूलाई इमेल सन्देश पठाउँदै ट्रम्प प्रशासनले कामदारहरूलाई फेब्रुअरी ६ सम्ममा निर्णय लिन भनेको छ ।

    यदि, उनीहरूले त्यो मितिसम्म आफ्नो जागिर छोड्न राजी भए,’ सन्देशमा भनिएको छ, ‘उनीहरूले विच्छेद प्याकेजको रूपमा करिब आठ महिनाको तलब पाउनेछन् ।’ बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार ट्रम्प प्रशासनले कर्मचारीहरूले प्रस्ताव स्वीकार गर्ने वा संघीय सरकारले काम गर्ने २० लाखभन्दा बढी कामदारहरूमध्ये करिब दुई लाखले स्वीकार गर्ने अपेक्षा गरेको छ ।

    ट्रम्पका वरिष्ठ अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमलाई उक्त खरिदले सरकारलाई एक सय अर्ब डलर (८० अर्ब पाउण्ड)सम्म बचाउन सक्ने बताए ।
    अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार अर्बपति व्यापारी एलन मस्कले सामाजिक सञ्जाल ‘एक्स’ ऐतिहासिक ‘विकल्प’ का रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख सङ्घीय कर्मचारीलाई पठाइएको छ । २० जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेयता संघीय खर्च कटौतीविरुद्ध यो अहिलेसम्मकै ठूलो कदम हो ।