Category: फिचर

  • सामाजिक संजालमा आतंक फैलाउने गरी पोष्ट राख्ने ७ जना पक्राउ

    सामाजिक संजालमा आतंक फैलाउने गरी पोष्ट राख्ने ७ जना पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमार्फत आतंक फैलाउनेविरुद्ध प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर समाजमा अशान्ति फैलाउने, डर र त्रासको वातावरण सिर्जना गर्नेविरुद्ध कारबाही थालेको हो । अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हाले लगत्तै एसएसपी रमेश बस्नेतले सामाजमा आतंका सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका थिए । सोही नीति अनुसार कारबाही प्रक्रिया सुरु गरिएको हो ।

    बुधबार मात्रै अपराध अनुसन्धान कार्यालयले राजधानीका विभिन्न ठाउँहरूबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, गुणबहादुर गुरुङ, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु र रोशन तामाङ छन् । यो समूहले टिकटकमा ‘ग्याङ स्टार’ प्रदर्शन गरेको, तरबार प्रदर्शन गर्ने गरेको, हतियार र बडी प्रदर्शन गर्दै समाजमा अशान्ति मच्चाएको आरोप छ । पक्राउ परकोहरूविरुद्ध प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा अनुसन्धान गर्ने बताएको छ । एसएसपी बस्नेतका अनुसार समाजमा अशान्ति मच्चाउनेविरुद्ध विशेष अपरेशन नै बनाएर काम सुरु गरिएको छ ।

    ‘एसएसपी बस्नेतको निर्देशनपछि अपराध अनुसन्धान कार्यालयको गुण्डागर्दी हेर्ने ४ नम्बर पिलरले उनीहरूलाई पक्राउ गरेको हो । ४ नम्बर पिलरका डीएसपी अनिल घिमिरे कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाहरूले १०–१५ जनाको समूह बनाई खुकुरी, तरबारले केक काट्ने, मसल प्रदर्शन गर्ने र त्यसको भिडियो बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए । यस्ता पोस्टले सामाज अशान्ति फैलने भन्दै प्रहरीले कारबाही सुरु गरेको जनाएको छ ।

  • द्रुतमार्गको भौतिक प्रगति ३७ प्रतिशत मात्र, दुई वर्षमा सकिएला ?

    द्रुतमार्गको भौतिक प्रगति ३७ प्रतिशत मात्र, दुई वर्षमा सकिएला ?

    काठमाडौं । आगामी २०८३ सालमा सम्पन्न हुनुपर्ने गरी लक्ष्य राखिएको काठमाडौ–मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति ३७.६ प्रतिशतमात्र पुगेको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यस आयोजनाबारे बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिफ्रिङ’ लिएका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेनालाई दिएको जिम्मेवारी गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिए ।

    उनले खोकना क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयलाई थप अध्ययन गरी प्रस्ताव ल्याउन समेत आग्रह गरेका छन् । बुधबारको छलफलमा सेनाले खोकनामा जग्गा अधिग्रहण र रुख कटानमा भएको ढिलाइबारे जानकारी गराएको थियो ।

    यो आयोजना २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतमा बन्दैछ । कुल ७०.९७ किलोमिटर लामो यो आयोजना २०७४ सालमा सुरु भएको थियो । आयोजना चैत २०८३ मा सक्नुपर्ने लक्ष्य छ । आयोजनाको वित्तीय प्रगति ३९.७४ प्रतिशत छ ।

  • अमेरिकाविरुद्ध चीनको जवाफी घोषणा के आयो ?

    अमेरिकाविरुद्ध चीनको जवाफी घोषणा के आयो ?

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनबाट आयात गरिने सामानमा लगाएको थप शुल्कविरुद्ध बेइजिङ्गले जबाफी कदम चालेको बीबीसीले जनाएको छ । अमेरिकाबाट चीन आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत कर लगाउनेसहितका कदम रहेको समाचारमा जनाइएको छ । चिनियाँ घोषणाअनुसार अमेरिकाबाट आयात हुने कच्चा तेल, कृषि औजार, पिकअप ट्रक र ठूला इन्जिन भएका कारमा चीनले १० प्रतिशत शुल्क लगाउने छ।

    चीनबाट अमेरिका आयात गरिने सामानमा नयाँ १० प्रतिशत शुल्क लगाउने डोनल्ड ट्रम्पको घोषणा कार्यान्वयनमा आएको केही घण्टापछि चीनले जबाफी कदम चालेको हो। जबाफी शुल्क घोषणा गरिएको विषयको एउटा वक्तव्यमा चीनले ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय व्यापार नीतिहरू उल्लङ्घन गरेको आरोप लगाएको छ।

    ‘अमेरिकाले एकपक्षीय रूपमा लादेका शुल्कहरूबाट विश्व व्यापार सङ्गठन डब्ल्यूटीओका नीतिहरू गम्भीर रूपमा उल्लङ्घन भएका छन्। उसका समस्याहरूको सम्बोधनका लागि मात्रै त्यो असहयोगी नभई तिनले चीन र अमेरिकाबीच हुने सहज आर्थिक र व्यापार सहकार्यलाई पनि बेवास्ता गरेका छन्, चीनले भनेको छ।

    शुल्कसम्बन्धी चीनको जबाफी घोषणाले बेइजिङ्ग जस्तालाई तस्तै गर्ने पक्षमा रहेको देखाउँछ र त्यो कदमले धेरै पर्यवेक्षकहरूलाई आश्चर्यचकित बनाएको छ।
    यद्यपि चीनले आयात गरिने सबै अमेरिकी सामानमा शुल्क लगाएको नभई निश्चित उत्पादनहरूमा मात्र लगाएको छ। बेइजिङ्गस्थित बीबीसीकी चीन संवाददाता लउरा बिकरका अनुसार चीनको जबाफी कदम डोनल्ड ट्रम्पले अमेरिका आयात हुने चिनियाँ सामानहरूमाथि लगाएको शुल्कको स्तरभन्दा सीमित मात्रामा देखिएको छ।

    अमेरिकाबाट आयात हुने सामानहरूमा चीनले घोषणा गरेका शुल्कहरू आउँदो सोमवारदेखि कार्यान्वयनमा आउने छ। यद्यपि अमेरिकामाथि पर्ने असर चाहिँ सीमित मात्रामा हुन सक्छ। अमेरिका विश्वभरि तरलीकृत प्राकृतिक ग्यास धेरै निर्यात गर्ने देश हो जबकि चीनले त्यसको करिब २.३ प्रतिशत हिस्सा मात्रै ओगट्छ।

  • दिल्ली विधानसभा चुनाव आज, के होला केजरीवालको भविष्य

    दिल्ली विधानसभा चुनाव आज, के होला केजरीवालको भविष्य

    काठमाडौं । भारतको दिल्ली विधानसभा चुनावमा मतदान सुरू भएको छ। दिल्लीको सबै ७० विधानसभा सिटमा बुधबार बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । मतदानको समय साँझ ६ बजेसम्म तोकिएको छ । दिल्ली विधानसभा चुनावका लागि ६९९ उम्मेदवार मैदानमा छन्। मतदान गर्न १ करोड ५६ लाख मतदाता योग्य छन् ।

    आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा दिइएको छ। दिल्लीमा सन् २०१५ र सन् २०२० मा आम आदमी पार्टीले बहुमत ल्याएको थियो। २०१५ मा ७० मध्ये ६७ सिट र २०२० मा ७० मध्ये ६२ सिट आम आदमी पार्टीले जितेको थियो। यसबीच अरबिन्द केजरिवाल पक्राउ, लोकसभा चुनावपछि बढेको भारतीय कंग्रेस आईको शक्ति लगायत विभिन्न हिसाबले दिल्ली बिधानसभा चुनावलाई चासोका साथ हेरिएको छ।

  • पाथिभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, आन्दोलनका कार्यक्रम पनि फिर्ता

    पाथिभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, आन्दोलनका कार्यक्रम पनि फिर्ता

    काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्कालका लागि रोकिएको छ । यससँगै नो केबलकार समूहले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका पक्षबीच मंगलबार भएको वार्तामा ६ बुँदे सहमति भएको हो। हिजो र आज भएको वार्तापछि दुई पक्षबीच ६ बुँदे सहमति भएको हो । सहमति अनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य हाललाई स्थगन हुनेछ । स्टेसनका सन्दर्भमा आउँदो २७ माघमा हुने वार्तामा विस्तृत छलफल हुनेछ ।

    यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने छ । यसैगरी, गत १२ माघको घटनाको विषयमा छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने सहमति भएको छ । आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमतिमा उल्लेख छ ।

    यससँगै मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने, मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न आगामी २७ माघमा पुनः वार्तामा बस्ने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

  • पाथिभरा केवलकार विवाद : नेपालमा लगानीको वातावरण बिग्रने निजी क्षेत्रको चिन्ता

    पाथिभरा केवलकार विवाद : नेपालमा लगानीको वातावरण बिग्रने निजी क्षेत्रको चिन्ता

    काठमाडौं । नेपालका तीन निजी क्षेत्रका संस्थाहरुले पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केबलकार निर्माणलाई लिएर भइरहेको बन्द हडतालले मुलुकको पूर्वाधार विकासका लगानीमैत्री वातावरण बिथोलिने बताएका छन् । केबलकार परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निजी क्षेत्रले बन्द हडतालका कार्यक्रम तत्काल रोक्नसमेत आग्रह गरेका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवनसमेत अस्तव्यस्त भएको, सर्वसाधारणले सास्ती भोग्नु परेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुने बताएका छन् ।

    ‘नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ, उद्योग, व्यापार, बैंकिङ, उर्जा, कृषि, पर्यटन, सञ्चारलगायत विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहरूलाई यस विषयमा गम्भीर बन्न, विकास निर्माणलाई सहज र निर्बाध रुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दछौं । ’

    पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको, हजारौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथीभरा ९मुक्कुम्लुङ० मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने वृद्धवृद्धा, अशक्त बालबालिकासहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा सहासिक पर्यटन प्रवर्द्धन, कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवर्द्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा उल्लेख छ ।

    ‘केबलकार निर्माणका लागि स्थानीय तह र स्थानीय बासिन्दाहरु सहमत रहेको बन्नु पर्छ भन्ने धारणा राखिरहेको सन्दर्भमा केबलकार बन्न दिनु हुँदैन भनेर बाहृय हस्तक्षेपसहित केबलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद् मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा निजी क्षेत्रले लिएको छ,ु विज्ञप्तिमा उल्लेख छ ।


    उनीहरुले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुनुको साथै नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई यसले नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । समस्याको समाधान वार्ताबाट गर्न सकिने जनाउँदै विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथीभरा (मुक्कुम्लुङ) केबलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई निजी क्षेत्रले आग्रह गरेका छन् ।

  • ट्रम्पको निम्तामा मोदी अमेरिका भ्रमणमा जाँदै

    ट्रम्पको निम्तामा मोदी अमेरिका भ्रमणमा जाँदै

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्‍पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमण गर्न निम्तो दिएका छन्। रोयटर्सका अनुसार ट्रम्पले अर्को साता मोदीलाई भ्रमणमा आउन निम्तो दिएका छन् । ट्रम्प र मोदीबीच जनवरी २७ मा टेलिफोन वार्ता समेत भएको थियो । दुई नेताबीच आप्रवासी र भारतले अमेरिकामा बनेका सुरक्षाका सामान खरिद गर्ने विषयमा कुराकानी भएको थियो ।

    सोमबार मात्र अमेरिकाको सैन्य जहाजमा २०५ जना अवैध आप्रवासी भारतीय नागरिकलाई भारत पठाइएको छ । ट्रम्पलाई खुशी पार्न मोदीले करिब १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिने तयारी गरेको खबर छ । पहिलो कार्यकालमा पनि मोदी र ट्रम्पको राम्रो सम्बन्ध थियो।

    ट्रम्पले सन‍् २०२० मा भारत भ्रमण गरेका बेला मोदीले आफ्नो गृहराज्य गुजरातको राजधानी अहमदाबादमा उनकै नाममा बनाएको विशाल क्रिकेट स्टेडियमको उद्घाटन गराएर एक लाख जनतामाझ स्वागत गरेका थिए। बाइडेनको पालामा पनि भारत–अमेरिका सम्बन्ध सुधार भएको थियो ।

  • बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माणको काम वर्षाअघि सक्न निर्देशन

    बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माणको काम वर्षाअघि सक्न निर्देशन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्पछिको पुननिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।
    मन्त्रालयका विभागीय प्रमुख एवं आयोजना प्रमुखलाई मंगलबार निर्देशन दिँदै उनले बाढी पहिरोले क्षतिग्रस्त बनाएका सडकमा आगामी वर्षायाममा समेत सवारी सञ्चालन हुने गरी काम थाल्न निर्देशन दिए । ‘हामीले विभिन्न माइलस्टोन कायम गरेका छौं, तिनको उपलब्धिबारे समीक्षा गर्नुहोला,’ मन्त्री दाहालले भने, ‘अहिले सबैभन्दा बढी काम गर्ने बेला हो, यसको अधिकतम उपयोग गरी लक्ष्य हासिलतर्फ लाग्न आवश्यक छ ।’

    सडक एवं पुल निर्माणका लागि बाँकी ठेक्का लगाइसक्न सडक विभागलाई निर्देशन दिँदै उनले रुग्ण आयोजना व्यवस्थापनतर्फ लाग्न समेत आग्रह गरे ।
    सवारी चालक अनुमतिपत्र वितरण प्रदेश स्तरबाटै प्रभावकारी बनाउन आवश्यक समन्वय गर्न यातायात व्यवस्था विभागलाई मन्त्री दाहालले निर्देशन दिए ।
    सम्भावनायुक्त थप नदीमा पानीजहाज सञ्चालन अध्ययनका लागि नेपाल पानीजहाज कार्यालयलाई निर्देशन दिँदै मन्त्री दाहालले समुद्रमा नेपाली पानीजहाज सञ्चालनको कानुनी व्यवस्थाका लागि मन्त्रालयले काम गरिरहेको बताए ।

    त्यस्तै पूर्वपश्चिम रेलमार्गका लागि अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा वितरणका लागि समेत मन्त्रालयले काम गरिरहेको जानकारी दिए । मन्त्रालयका सचिव केशवकुमार शर्माले राष्ट्रिय गौरवका आयोजनालाई विशेष ध्यान दिएर काम गर्न निर्देशन दिए । हुलाकी राजमार्ग एवं पुल, पूर्वपश्चिम राजमार्ग विस्तार लगायत महत्त्वपूर्ण योजनामा ढिलासुस्ती हुन नदिन सडक विभागलाई निर्देशन दिए । वर्षाका बेला यातायात अवरुद्ध हुन नदिन बीपी राजमार्ग साथै काठमाडौं–मुग्लिन, कृष्णभिर, झ्याप्ले खोला क्षेत्रमा विशेष ध्यान दिएर काम गर्न उनले निर्देशन दिए ।

    ग्वार्को फ्लाइओभर चैतभित्र पूरा गराउनुपर्ने भन्दै उनले छिचोलिएको सिद्धबाबा सुरुङको बाँकी कामलाई तीव्रता दिन आग्रह गरे । नागढुंगा सुरुङ सञ्चालन मोडालिटी बनाउन समेत उनले आयोजना कार्यालयहरूलाई निर्देशन दिए ।

  • सेवा प्रवाह प्रभावकारी बनाउन प्रविधिमा जोड गरौं : अर्थमन्त्री

    सेवा प्रवाह प्रभावकारी बनाउन प्रविधिमा जोड गरौं : अर्थमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवा प्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणाली पूर्णरूपमा आधुनिक, प्रभावकारी एवं विश्वसनीय बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र मातहत निकायमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले त्यस्तो निर्देशन दिएका हुन् । वर्तमान अवस्थामा सेवा प्रवाह चुस्तदुरुस्त एवं छिटोछरितो र प्रभावकारी बनाउन सूचना प्रविधि प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अब तदर्थवादी ढंगले चल्ने स्थिति नरहेको बताए ।

    सेवा प्रवाह भरपर्दो र अविछिन्न ‍बनाउन अत्याधुनिक प्रविधि प्रयोग बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक योग्य जनशक्ति र प्राविधिक सक्षमता विकसित गर्दै जानसमेत उनले सम्बन्धित अधिकारीलाई निर्देशन दिए । हरेक निकाय सूचना प्रणालीमा सक्षम भएमात्र गुणस्तरीय सेवा प्रवाह हुन सक्ने अर्थमन्त्रीको भनाइ छ ।

    छलफलमा सहभागी निकायका अधिकारीले आ–आफ्ना निकायमा सञ्चालनमा रहेका सूचना प्रविधि सम्बन्धी प्रणालीको आवधिक सेक्युरिटी अडिट गर्ने गरिएको र सुरक्षाका दृष्टिकोणले सबल रहेको बताउँदै प्रणालीको ब्याकअप क्षमता वृद्धि गर्न थप लगानी योजना प्रस्तुत गरेका थिए । साथै, सूचना प्रविधि प्रयोग बढाउँदै जाँदा दक्ष प्राविधिक जनशक्ति माग बढ्दै जाने तर त्यस्ता जनशक्ति संस्थाभित्र टिकाइ राख्‍न न्यून सेवा सुविधाका कारण चुनौतीपूर्ण रहेको बताएका थिए ।

    यस्ता समस्या सम्बोधन गर्न सरकारले उपयुक्त नीतिगत निर्णय लिने पनि अर्थमन्त्री पौडेलले बताए । बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रकको कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नागरिक लगानी कोष, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नागरिक लगानी कोष, नेपाल स्टक एक्स्चेन्ज, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड लगायतका अधिकारीहरू सहभागी थिए ।

  • चितवनमा रविविरुद्ध दर्ता भयो मुद्दा, अरु को को परे ?

    चितवनमा रविविरुद्ध दर्ता भयो मुद्दा, अरु को को परे ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलले लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताए । सरकारी वकिलले लामिछानेसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नविन अछामी, कविता तामाङ, असरफ अली सिद्धिकीविरुद्ध ठगीमा मात्र मुद्दा दायर गरेको छ ।

    मुलुकी अपराध संहिताको दफा २४९ मा रहेको ठगीको दफा १ र २ मा कसैलाई बेइमानीपूर्वक कुनै किमिसको हानी, नोक्सानी पुर्‍याए ठगी गरेको मानिने भनिएको छ । सरकारी वकिलले उल्लेख गरेको दफा २४९ को उपदफा ३ मा यस किसिमको ठगीमा संलग्नलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहितामा व्यवस्था छ ।

    संगठित अपराध र ठगी दुवैमा मुद्दा दायर भएकाहरुमा जिबी राई, सागर केसी, हेमन्त अधिकारी, आशिष राना मगर, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्र राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी, दिपक लामा र नेत्रप्रसाद बाँस्तोला समेत गरी १२ जना छन् । चितवनको सहकारी प्रकरणमा बयान दिने क्रममा रविले अन्यत्रझैँ रकम ल्याउने क्रममा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।


    अदालतमा दायर अभियोग पत्रमा सहकारीमा बचतकर्ताले राखेको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ, नेचर हब्र्स इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८९७, जीबी ग्रुप अफ कम्पनिजमा ९ करोड २७ लाख ५० हजार ८५४, स्प्रिङउड रियलस्टेट एण्ड हाउजिङमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ गएको देखिएको छ ।

    नेचर नेष्ट कम्पनीमा ६ करोड ५१ लाख १० हजार ३२२ र गोरखा ग्रुप अफ मल्टी इन्भेष्टमेन्ट– १७ लाख ५८ हजार रुपैयाँ गएको देखिएको छ । गोर्खा मिडियामा गएको रकममध्ये जिबी राई, छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेल र जिबी ग्रुप अफ कम्पनीबाट भराउनुपर्ने मागदाबी अभियोग पत्रमा गरिएको छ । अन्य कम्पनीमा गएको रकम समेत त्यसका सञ्चालकहरुबाट भराउनुपर्ने माग दाबी लिइएको छ ।

  • बेलायती राजकुमार दम्पत्ति र राष्ट्रपति पौडेलबीच भेट, के भयो कुराकानी ?

    बेलायती राजकुमार दम्पत्ति र राष्ट्रपति पौडेलबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेलायती राजकुमार एडवार्ड र श्रीमती सोफियासँग शिष्टाचार भेटवार्ता गरेका छन् । ६ दिने भ्रमणका लागि आजै नेपाल आइपुगेका उनीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतनिवासस्थित राष्ट्रपति कार्यालय पुगेका थिए । भेटमा दुई देशबीच भएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी गराएकी छिन् । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।

    ‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ’, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

    यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गईरहेको उनको भनाइ थियो । उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण पनि भेटवार्ताका क्रममा गरेका छन् ।

    ‘नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रही आएको छ, महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पुर्‍याउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु’, राष्ट्रपति पौडेलले भने । सो अवसरमा एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनिकरणमा नेपालले गरेको प्रयासका बारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवतर्नले कस्तो असर पारेको छ भनेर जान्न बुझ्न पाउने पनि विश्वास उनले व्यक्त गरे ।

    बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै राजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तिकरणको विषय सान्दर्भिक हुने बताए ।

    ब्रिटिस सेनामा नेपालले भर्तीका लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिस गोर्खा सेना कोशेढुंगा रहेको उल्लेख गरे । सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे ।

    राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै ‘ब्रिटिस–गोर्खा’ हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी भएको बताए । ‘ब्रिटिस–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ’, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

  • आजदेखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपिभी खोप’ लगाइदैं

    आजदेखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपिभी खोप’ लगाइदैं

    काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ९मङ्गलबार०देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।

    नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

    यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे । उनले भने, “हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं ।”

    स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराए । त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।

    चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणले हुने स्त्री क्यान्सररोग विशेषज्ञ डा सृष्टि श्रेष्ठ प्रजापतिले बताइन् । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उनले जानकारी दिइन् ।
    उनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपिभीले गराउँछ । उनले भनिन्, “एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन् । ढुक्क भएर लगाउँदा हुन्छ ।”

    नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष एक हजार तीन सय १३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ ।

    स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा बुढाथोकीले एचपिभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गरे । उनले भने, “विश्वका एक सय ४५ भन्दाबढी देशमा यो खोप प्रयोग भइरहेको छ भने ६१ देशमा प्रयोग भइसकेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको र औषधी व्यवस्था विभागले पनि स्वीकृति दिएको छ । विज्ञानले प्रमाणित गरेको खोप लगाइने हुनाले निर्धक्क भएर लगाउन अनुरोध गर्दछौँ ।”

    खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर (साइडइफेक्ट) हुनसक्ने बताउँदै डा बुढाथोकीले ती असर केही दिनमा आफैँ निको भएर जाने बताए । “केहीले यो खोप लगाउन हुन्न भन्ने हल्ला पनि फिैलाएका पाएका छौँ । ती भ्रण मात्र हुन् । हामीले खोप लगाएपछि केही असर देखिए उपचारका लागि चिकित्सकको समूह तयारी अवस्थामा राखेका छौँ । खोप लगाइसकेपछि ३० मिनेट जति असर देखिए–नदेखिए हेर्न छुट्टै कोठामा राख्छौँ । उमेर समूहभन्दा बाहिर र ज्वरो आएकाले भने खोप नलगाइदिनुस् ।”

    राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२–७३ र आव २०७३–७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । आव २०८०÷८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक–एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ । त्यसैगरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ ।

    सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तरराष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपिभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनःपरीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ । रासस

  • अमेरिकी डलरको भाउ निरन्तर उकालो

    अमेरिकी डलरको भाउ निरन्तर उकालो

    काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ । यसैगरी युरोपियन युरो एकको खरिदर एक सय ४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रूपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ तथा स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिदर ८५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रूपैयाँ १२ पैसा तथा सिङ्गापुर डलर एकको खरिदर एक सय एक रूपैयाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

    यस्तै जापानी येन १० को खरिदर नौ रूपैयाँ र बिक्रीदर नौ रूपैयाँ चार पैसा तथा चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा कायम भएको छ । साउदी अरेबियन रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा तथा कतारी रियाल एकको खरिदर ३८ रूपैयाँ १८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रूपैयाँ नौ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा तथा युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ९० पैसा र बिक्रीदर ३८ रूपैयाँ ६ पैसा तोकिएको छ ।

    मलेसियन रिङ्गेट एकको खरिदर ३१ रूपैयाँ ११ पैसा र बिक्रीदर ३१ रूपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९ रूपैयाँ ५३ पैसा तोकिएको छ ।

    यस्तै स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ ३९ पैसा र बिक्रीदर १२ रूपैयाँ ४५ पैसा तथा डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १० पैसा र बिक्री दर १९ रूपैयाँ १८ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ८६ पैसा र बिक्रीदर १७ रूपैयाँ ९४ पैसा तोकेको छ ।

    कुवेती दिनार एकको खरिदर ४ सय ५० रूपैयाँ ४६ पैसा र बिक्रीदर ४ सय ५२ रूपैयाँ ४० पैसा तथा बहराइन दिनार एकको खरिदर ३ सय ६९ रूपैयाँ २२ पैसा र बिक्रीदर ३ सय ७० रूपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर ३ सय ६१ रूयैयाँ ५७ पैसा र बिक्रीदर ३ सय ६३ रूपैयाँ १३ पैसा निर्धारण भएको छ ।

    यस्तै, भारतीय रूपैयाँ एक सयको खरिदर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । rss

  • क्यानडा र मेक्सिकन सामानमा शूल्क बढाउने निर्णयबाट किन पछि हटे ट्रम्प ?

    क्यानडा र मेक्सिकन सामानमा शूल्क बढाउने निर्णयबाट किन पछि हटे ट्रम्प ?

    काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ लगाउने निर्णय स्थगित गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तर, चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ । ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५–२५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत शुल्क लगाउने निर्णय गरेका थिए । ट्यारिफको लडाइँ सुरु गरेको भन्दै ट्रम्पको आलोचना जारी छ ।

    अमेरिकाको प्रतिक्रियास्वरुप क्यानडाले पनि अमेरिकी वस्तुमा ट्यारिफ लगाउने घोषणा गरेको छ । सुरुमा मेक्सिकोबाट आयात हुने वस्तुमा ट्यारिफ लगाउने निर्णयबाट पछि हटेका ट्रम्पले पछि क्यानडालाई ट्यारिफ लगाउने निर्णय पनि स्थगित गरेको समाचारमा उल्लेख छ ।

    ट्रम्पले ट्यारिफ लगाउने निर्णय ३० दिनका लागि स्थगित गरेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् दिएका छन् । क्यानडाले अमेरिका प्रवेश हुने फेन्टालिन जस्ता अवैध लागूऔषध रोक्न सीमा क्षेत्र मा आवश्यक कदम उठाएपछि ट्यारिफ लगाउने निर्णय ३० दिनका लागि स्थगित गरेको उनले जनाएका छन् ।

  • सिरियामा बम विष्फोट, कम्तिमा १५ जना मारिए

    सिरियामा बम विष्फोट, कम्तिमा १५ जना मारिए

    काठमाडौं । सिरियाको उत्तरी सहर मानबिज नजिकै सोमबार भएको कार बम विस्फोटमा परी १५ जनाको मृत्यु भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ । आक्रमणमा १४ महिला एक पुरूष गरी १५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् । ह्वाइट हेल्मेट उद्धारकर्तालाई उद्धृत गर्दै सानाले लेखेको छ, स्थानीय सडकमा ‘नरसंहार’ भएको र ‘कृषि मजदुरहरू चढेको गाडी नजिकै कार बम विस्फोट’ भएको थियो । आक्रमणमा परी १४ महिला र एक पुरुषको मृत्यु भएको र १५ जना महिला घाइते भएको र केहीको अवस्था गम्भीर रहेका छन् ।

    सिरियामा तत्कालिन राष्ट्रपति बसर अल असद्को अन्त्यका लागि सन् २०११ मा सुरू भएको आन्दोलनले पछि गृहयुद्धको रूप लिँदा पाँच लाखभन्दा बढी सिरियालीको मृत्यु भएको र कूशल जनसङ्ख्याको करिब आधा जनसङ्ख्या आन्तरिक वा बाह्यरूपमा विस्थापित बनेको थियो । राजनीतिक सुधारको दिशामा केही प्रारम्भिक कदमहरूको बावजुद, पूर्व राष्ट्रपति असदले सिरियाको शक्तिशाली सैन्य र सुरक्षा सेवाहरू प्रयोग गरी राजनीतिक असहमतिलाई दबाउन अन्ततः आफ्नो पिताको अधिनायकवादी शासन शैलीलाई जारी राखेपछि उहाँप्रतिको आक्रोश चुलिएको पाइन्छ ।

    गृहयुद्धमा असदको क्रूर प्रतिक्रियाका कारण ठुलो मात्रामा मृत्यु र विनाशपछि अन्ततः डिसेम्बर २०२४ मा उहाँलाई पदच्युत गरिएको थियो । लामो समय असदलाई सहयोग गर्दै आएका केही तत्कालिन सरकारका सहयोगी लडाकू समूह र असदप्रति बफादार समूहले नयाँ सरकारविरूद्ध उनीहरूको राम्रो प्रभाव रहेको स्थानमा यदाकदा आक्रमण गर्ने गरेका छन् ।

    डिसेम्बर २०२४ मा हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा विद्रोहीहरूले दमास्कसलाई बलपूर्वक नियन्त्रणमा लिएपछि असदको शासनको अन्त्य भएको र एचटिएसले अन्तरिम सरकार गठन गरेको छ । नयाँ सरकार गठनको केही दिनपछि सन् २०१२ को संविधानलाई निलम्बित गरी नयाँ संविधान जारी गर्न संविधानको मस्यौदा तयार गरिरहेको छ । रासस/एएफपी

  • सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता हुन सरकारको आह्वान

    सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता हुन सरकारको आह्वान

    काठमाडौं । फेसबुक, इन्स्टाग्राम, एक्स, लिंक्डइनजस्ता सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्ना प्लाटफर्म नेपालमा सूचिकृत गर्न सरकारले आह्वान गरेकोछ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ती तोक्न भनेको छ ।

    मन्त्रालयले विगत एक वर्षदेखि ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को प्रावधानहरूअनुरुप सूचिकृत हुन प्लाटफर्म सञ्चालकहरूलाई पटक(पटक अनुरोध गर्दै आएको छ । हालसम्म नेपालमा टिकटक, भाइबर र विटकसहित तीनवटा मात्रै सामाजिक सञ्जाल प्लाटफर्म सूचीकृत भएको मन्त्रालयले जनाएको छ ।

    सामाजिक सञ्जालसम्बन्धी निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाको दफा ६ ले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

    निर्देशिकाका सर्तसँगै मन्त्रीपरिषद् बैठकले पनि सामाजिक सञ्जाल प्लाटफर्महरूले पालना गर्नुपर्ने जिम्मेवारीहरू तोकेको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । प्लाटफर्महरूले नेपालमा पालना र सञ्चालन गर्नुपर्ने चार बुँदे सूचीको पहिलो बुँदामा कम्पनीहरूले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने कार्य गर्नुपर्ने भनिएको छ । दोस्रोमा, सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा देशभर साइबर सुरक्षा र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने कार्य सञ्चालन गर्नुपर्ने उल्लेख छ ।


    त्यस्तै, तेस्रोमा, शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधार गर्ने गरी डिजिटल सहयोग कार्यक्रम सञ्चालन गर्नुपर्ने विषय समावेश छ । चौथो बुँदामा भनिएको छ, ‘नेपाली भाषा तथा अन्य राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु (कन्टेन्ट) फिल्टरिङ एवं मोडरेसनलाई प्रभावकारी बनाउने, सामाजिक सद्भाव बिगार्ने तथा अश्लिलता फैलाउने विषयवस्तु हटाउन सहयोग गर्ने र विद्युतीय अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने ।’

    सरोकारवालाहरूलाई निर्देशिकाका सर्त र मन्त्रिपरिषद्ले थप गरेका जिम्मेवारी पालना गर्न नेपालमा सुरक्षित र नियमनको दायराभित्र रहेर सरकारसँग सहकार्य गर्न विज्ञप्तीमार्फत आग्रह गरिएकोछ । सरकारले पटक(पटक अनुरोध गर्दासमेत नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेका फेसबुक र म्यासेन्जरको प्यारेन्ट कम्पनी मेटा, एक्स, लिंक्डइनलगायतले अटेर गर्दै आएका छन् ।

    नेपालमा सूचीकृत नभइ र अनुमती पत्र नलिइ सामाजिक सञ्जाल एप सञ्चालन गरेमा सरकारले प्लाटफर्म नै बन्द गरिदिने प्रावधान प्रस्ताव गर्दै सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । राष्ट्रिय सभामा दर्ता भएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा लाइसेन्स लिएर मात्रै प्लाटफर्म चलाउन पाउने सर्त प्रस्ताव गरिएको छ । लाइसेन्स लिनुअघि प्लाटफर्महरू मन्त्रालयमा अनिवार्य सूचीकृत भएको हुनुपर्छ ।

  • इलन मस्क भन्छन : यूएसएआईडी बन्द हुन्छ

    इलन मस्क भन्छन : यूएसएआईडी बन्द हुन्छ

    काठमाडौं । अमेरिकी ुसरकारी दक्षता विभागुका निर्देशक तथा टेक खर्बपति इलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागिएको बताएका छन् । उनले आफ्नै सामाजिक सञ्जाल एक्समा सोमबार एक अडियो पोस्ट गरेका छन् । जसमा उनले यूएसएआईडी बन्दको प्रक्रिया थालिएको जानकारी गराएका छन् ।

    ‘यो सुधार्नै नसक्ने अवस्थामा छ,’ मस्कले भनेका छन्, ‘हामी यसलाई बन्द गर्दै छौँ । यूएसएआईडी बन्द गर्ने प्रक्रियामा छौँ ।’ ट्रम्पले बन्द गर्ने निर्णयमा समर्थन जनाएको समेत उनको दावि छ । एनबीसी न्युजका अनुसार यस कदमले संघीय प्रशासनविरुद्ध ट्रम्प र मस्कको संघर्षलाई सघन बनाएको छ । साथै, बजेट कहाँ र कसरी प्रयोग गर्ने भन्ने संसद्को संवैधानिक अधिकारलाई पनि चुनौती दिएको छ ।

    संसदीय स्विकृतिबेगर संघीय निकाय बन्द गर्ने कानुनी अधिकार के हो भन्नेबारे मस्कले आफ्नो पोस्टमा केही पनि उल्लेख गरेका छैनन् । यो प्रक्रिया कहिलेदेखि शुरु गर्ने भन्ने पनि खुलाएका छैनन् । यस विषयमा ट्रम्पसँगै धेरैपटक छलफल भएको र यसमा राष्ट्रपतिको पूर्ण समर्थन रहेको मस्कको दाबी छ ।


    ह्वाइट हाउसले यस विषयमा कुनै प्रतिकृया दिएको छैन । ट्रम्पले भने आइतबार मात्रै मस्कले ‘राम्रो काम गरिरहेको’ बताएका थिए । उनले यूएसएआईडी चाहिँ ‘केही उग्र मूर्खहरूको समूहले चलाएको’ भनेर आलोचना गरेका थिए । तथापी ट्रम्पले सदनको समर्थनबेगर नियोग बन्द गर्ने कुनै योजना सुनाएका थिएनन् । सन् २०२३ मा १ सय ७६ देशलाई ६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रदान गरेको थियो । अमेरिकाले अनुदान दिने मुलुकहरूको सूचीमा नेपाल १६ औं स्थानमा छ ।

  • बेलायती राजकुमार दम्पत्ति मंगलबार नेपाल भ्रमणमा आउँदै

    बेलायती राजकुमार दम्पत्ति मंगलबार नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । बेलायतका राजकुमार एडवार्ड मंगलबार श्रीमतीसहित नेपाल भ्रमणमा आउँदैछन् । एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई–बुहारी हुन् । उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेको समाचारमा उल्लेख छ ।

    गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम छ । राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम छ ।

    राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचलन गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । बेलायती राजपरिवारको वेब साइडमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो। राजकुमार एडवार्ड र उनको टोली माघ २७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

  • दक्षिण अफ्रिकामा समेत सहायता रोक्ने ट्रम्पको चेतावनी

    दक्षिण अफ्रिकामा समेत सहायता रोक्ने ट्रम्पको चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा समेत सहायता रोक्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथमार्फत यस्तो जानकारी गराएका हुन् । दक्षिण अफ्रिकाले केही वर्गका मानिसमाथि गरेको व्यवहारका कारण त्यहाँ सहायता रोकिने चेतावनी ट्रम्पले दिएका हुन् । दक्षिण अफ्रिकामा व्यापाक मानवाधिकार उल्लंघनका घटना भइरहेको समेत उनको भनाई छ ।

    अमेरिकाले यस्तो सहन नसक्ने भन्दै यसको विरुद्धमा कदम उठाउने चेतावनी ट्रम्पले दिए । अमेरिकाले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत महसुल बढाएर आर्थिक कारवाही सुरु गरिसकेको छ । सन् २०२३ मा दक्षिण अफ्रिकामा मात्र अमेरिकाबाट ५५ करोड डलर सहायता गएको आंकडा छ ।

  • अमेरिकाको महसुल बढाउने निर्णयमा मेक्सिकोले दियो यस्तो प्रतिक्रिया

    अमेरिकाको महसुल बढाउने निर्णयमा मेक्सिकोले दियो यस्तो प्रतिक्रिया

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आउने सामानमा शूल्क बढाउने निर्णय गरेसँगै विश्वभर यसले तरंग उत्पन्न गराएको छ । यसै सन्दर्भमा मेक्सिकोका तर्फबाट प्रतिक्रिया सार्वजनिक भएको छ । अमेरिकाले मेक्सिकन सामानमा २५ प्रतिशत शूल्क बढाउने निर्णय गरेको थियो । राष्ट्रपति क्लायडिा शिनबामले अमेरिकासँग कुनै पनि प्रकारको टकराव आफ्नो मुलुकले नचाहेको बताइन् ।

    यद्यपि आफ्नो मुलुक त्यति कमजोर नरहेको चेतावनी समेत उनले दिएकी छिन् । आफ्नो समर्थनमा जनता रहेको भन्दै उनले मेक्सिको सरकारप्रति अमेरिकाले लगाएका आरोपको समेत खण्डन गरेकी छिन् । अमेरिकाले मेक्सिको सरकारलाई आपराधिक संगठनलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।

    आफ्नो देशले सम्प्रभुता रक्षाका लागि कसैसँग सम्झौता नगर्ने उनको भनाई छ । उनले आफ्नो मुलुकले समेत अमेरिकी सामानमा कर बढाउने बारे तयारी गरिरहेको बताएकी छिन् । अमेरिकी कदमबारे उनले आफ्नो मुलुकले प्लान बी अनुसार काम गर्ने बताइन् ।

  • आज सरस्वती पूजा, देशभर बालबालिकालाई अक्षाराम्भ गराइदै

    आज सरस्वती पूजा, देशभर बालबालिकालाई अक्षाराम्भ गराइदै

    काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ : ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।

    यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

    विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

    आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

    उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

  • पाथिभरामा केवलकार बनाउने विषयमा उत्पन्न विवादमा वार्ता गर्न टोली गठन

    पाथिभरामा केवलकार बनाउने विषयमा उत्पन्न विवादमा वार्ता गर्न टोली गठन

    काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो ।

    टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने उल्लेख छ । साथै मन्त्रालयले आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग अपिल गरेको छ ।

  • जनवरीमा ८० हजार पर्यटक : अमेरिकी-यूरोपेली बढे

    जनवरीमा ८० हजार पर्यटक : अमेरिकी-यूरोपेली बढे

    काठमाडौं । सन् २०२५ को पहिलो महिना जनवरीमा करिब ८० हजार पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक आएका थिए ।

    समग्र पर्यटक आगमनमा यस वर्ष पहिलो महिना आगमनमा सुधार भएको छ । तर, भारतीय पर्यटक आगमनमा कमी आएको छ । यस वर्ष जनवरीमा भारतबाट २० हजार ४ सय ८५ पर्यटक आए । यो अघिल्लो वर्ष जनवरीको दाँजोमा १५ प्रतिशतले कम हो । अघिल्लो वर्ष जनवरीमा २४ हजार १ सय ३९ भारतीय नेपाल भ्रमणमा आएका थिए ।


    भारतीय घट्दा बंगलादेशबाट भने आगमनमा उच्च सुधार देखिएको छ । जनवरीमा बंगलादेशबाट ५ हजार ४ सय ६ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको तुलनामा यो ४९ प्रतिशत धेरै हो । २०२४ जनवरीमा बंगलादेशबाट ३ हजार ६ सय २९ पर्यटक नेपाल आएका थिए । चीनबाट हुने आगमन समेत सुधार भएको छ ।

    एसियाली देशमध्ये भियतनाम, इन्डोनेसिया सहितबाट पर्यटक बढ्दा थाइल्यान्ड, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया लगायतबाट घटेका छन् ।
    चीनबाट जनवरीमा ८ हजार १ सय ९१ पर्यटक आएका छन् । यो २०२४ जनवरीको तुलनामा १२।७ प्रतिशतको सुधार हो । गत वर्ष ७ हजार २ सय ६७ चिनियाँ पर्यटक नेपाल आएको तथ्यांकले देखाउँछ ।

    यद्यपि, चिनियाँको आगमन कोभिड–१९ अगाडिको तुलनामा भने अझै पुगेको छैन । २०१९ जनवरीमा समग्र पर्यटक आगमन ८१ हजार २ सय ७३ रहँदा चिनियाँ १२ हजार ९ सय १६ आएका थिए । त्यो वर्ष भारतीय भने १७ हजार ६ सय ९० मात्र आएका थिए ।

    दक्षिण एसियाली भेगको समग्र आगमन खस्किएको देखिन्छ । यसो हुनुमा भारतीयको संख्यामा कमी आउनु हो । बंगलादेशी पर्यटक आगमन बढे पनि श्रीलंकाली पर्यटक आगमन भने केही कम भएको छ । श्रीलंकाबाट ४ सय ७ पर्यटक नेपाल भ्रमणमा आएका छन् । पाकिस्तानी पर्यटक आगमन सुधार हुँदा भुटानबाट आउने पर्यटक समेत बढेका छन् । एसियाली देशमध्ये भियतनाम, इन्डोनेसिया सहितबाट पर्यटक बढ्दा थाइल्यान्ड, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया लगायतबाट घटेका छन् । एसियाली भेगको आगमन समग्रमा घटेको छ ।

    जनवरीमा युरोपबाट आउने पर्यटक संख्या सुधार भएको छ । युरोपेलीमध्ये सबैभन्दा धेरै बेलायतबाट ३ हजार ५ सय २१ पर्यटक आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ७।५ प्रतिशत धेरै हो । २०२४ जनवरीमा ३ हजार २ सय ७६ पर्यटक बेलायतबाट आएका थिए । जर्मनीबाट १ हजार ३ सय २१, फ्रान्स १ हजार १०, रुस ६ सय १६ पर्यटक आएको देखिन्छ । यी सबै देशबाट आगमनमा सुधार भएको छ ।

    यस वर्ष जनवरीमा अस्ट्रेलिया–न्युजिल्यान्डबाट आउने पर्यटक संख्यामा राम्रो सुधार देखिएको छ । अस्ट्रेलियाबाट ४ हजार ३ सय १ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष ३ हजार ४ सय २१ पर्यटक त्यहाँबाट आएका थिए । अमेरिकाबाट एक महिनामा ८ हजार ६३ जना नेपाल आएका छन् । अघिल्लो वर्ष ७ हजार ४७ आएका थिए । यस वर्ष मध्यपूर्व र अफ्रिकी देशबाट पर्यटक आगमन घटेको छ । घटे

  • विदेशबाट ६ महिनामा नेपालीले पठाए पौने ८ खर्ब रेमिट्यान्स

    विदेशबाट ६ महिनामा नेपालीले पठाए पौने ८ खर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ पहिलो ६ महिना (साउन–पुस) अवधिमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म उक्त रकम बराबर रेमिट्यान्स भित्रिएको हो । पुसमा मात्र १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको छ । यस वर्ष औसत १ खर्ब माथि रेमिट्यान्स आएको देखिन्छ ।

    यस वर्ष रेमिट्यान्स आप्रवाहमा ४.१ प्रतिशतको मात्र वृद्धि देखिन्छ । अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १.१ प्रतिशतले सुधार भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा रेमिट्यान्स १९.५ प्रतिशतले बढेको थियो ।

    यस वर्ष वैदेशिक रोजगारीमा जाने युवा संख्यामा भने सुधार देखिएको छ । यस वर्ष ६ महिनामा नयाँ श्रम स्वीकृति (संस्थागत–व्यक्तिगत) लिने नेपालीको संख्या २ लाख ३० हजार ४ सय ३९ र पुनः श्रम स्वीकृति (संस्थागत–व्यक्तिगत) लिनेको संख्या १ लाख ६२ हजार ६ सय २८ रहेको छ । अघिल्लो वर्ष यसै अवधिमा यो संख्या क्रमशः २ लाख ६ हजार ३ सय ९० र १ लाख ३३ हजार ९ सय ४० थियो । ६ महिनामा खुद द्वितीय आय (ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड थियो ।

  • महंगी निरन्तर बढ्दै, ६ महिनामा ५.४१ प्रतिशत वृद्धि

    महंगी निरन्तर बढ्दै, ६ महिनामा ५.४१ प्रतिशत वृद्धि

    काठमाडौं । महँगी ५ प्रतिशत माथि उक्लिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार महँगी उक्लिएको हो । पुस २०८१ मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत छ । अघिल्लो वर्ष सोही महिनामा ५.२६ प्रतिशत थियो । पुसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष मुद्रास्फीति बढेको छ । पुस २०८० मा खाद्य तथा पेय पदार्थमा ५.७५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहमा ४.९३ प्रतिशत मुद्राीफीति थियो ।

    मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.१२ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । पुसमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २८.५२ प्रतिशत, घिउ तथा तेल १०.६७ प्रतिशत, दाल तथा गेडागुडी ९.४८ र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ ।

    त्यस्तै मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक .।१२ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
    गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.३५ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१, कपडाजन्य तथा जुत्ताचप्पल ६.७५ र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ ।


    पुसमा विवरण हेर्दा सहरभन्दा ग्रामीण क्षेत्रमा उपभोक्ता मूल्य सूचकांक धेरै देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.६८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.३१ प्रतिशत बढेको छ ।
    प्रदेशगत हेर्दा मूल्यवृद्धि सबैभन्दा धेरै कोशीमा छ ।

    पुसमा कोशीको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत छ । यस्तै मधेशको ५.९६ प्रतिशत, बागमती ५.१४, गण्डकी ४.३७, लुम्बिनी ४.८३, कर्णाली ४.६० र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत छ । काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०३ प्रतिशत, तराई ५.६०, पहाड ५.४१ र हिमालको ५.२७ प्रतिशत छ ।

  • विदेशी मुद्रा सञ्चिति २३ खर्ब माथि पुग्यो

    विदेशी मुद्रा सञ्चिति २३ खर्ब माथि पुग्यो

    काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार असार मसान्तयता विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेको हो । अमेरिकी डलरमा भने यस्तो सञ्चिति सोही अवधिमा १०.३ प्रतिशत बढेको छ । पुस मसान्तसम्म १६ अर्ब ८४ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिति छ ।

    पुस मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । पछिल्लो आयातको तथ्यांकअनुसार हालको सञ्चिति रकमले १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने र १७.३ महिनाको वस्तु आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

  • साउदी अरवमा सडक दुर्घटना, तीन नेपालीसहित १५ जनाको ज्यान गयो

    साउदी अरवमा सडक दुर्घटना, तीन नेपालीसहित १५ जनाको ज्यान गयो

    काठमाडौं । साउदी अरबमा भयानक सडक दुर्घटना भएको छ । घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गत सोमबार श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको बताएको छ ।

    जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको छ । भारतका ९ र घानाका ३ नागरिकको उक्त दुर्घटनामा ज्यान गएको छ ।
    साउदी रेड क्रेसेन्टका प्रवक्ता अहम्मद असिरीका अनुसार गम्भीर घाइते भएका ११ जनाको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ ।

    घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको छ । जिजानको बाइस अस्पतालमा उनको उपचार भइरहेको छ । कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा गर्ने श्रमिक दुर्घटनामा परेका हुन् । साउदी अधिकारीहरूले ड्राइभरको लापरबाही, सवारी साधनको सुरक्षासम्बन्धी मापदण्ड र सडकको अवस्थाका विषयमा अनुसन्धान थालेको साउदीका सञ्चारमाध्यमले जनाएका छन् ।

  • अमेरिकामा एक सातामै दोस्रो विमान दुर्घटना, कम्तिमा ७जनाको मृत्यु

    अमेरिकामा एक सातामै दोस्रो विमान दुर्घटना, कम्तिमा ७जनाको मृत्यु

    काठमाडौं । अमेरिकामा एक साताको बीचमै दोस्रो जहाज दुर्घटनामा परेको छ । ६७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटना ताजा रहँदै अर्को एक विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एक सानो विमान दुर्घटना हुँदा सात जनाको मृत्यु र १९ जना घाइते भएका हुन् ।

    विमानमा सवार ६ जना र भुइँमा रहेका कम्तिमा एक जनाको मृत्यु भएको फिलाडेल्फिया शहरका मेयर चेरेल पार्करलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । उनले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिए । उनीहरु सबै मेक्सिकन नागरिक थिए ।

    लिअरजेट ५५ विमान मिसौरीमा केहीबेर रोकिएर मेक्सिकोको तिजुआनातर्फ जाँदै थियो । उडान भरेको एक मिनेटमै उक्त विमान जमिनमा खसेको थियो । भिडियोमा उक्त विमान तीव्र गतीले भुइँमा तल झरेको र आगो लागेको देखिन्छ । थुप्रै घरहरुमा ठोक्किँदै जहाज भुइँमा खसेको थियो । बुधबार मात्रै अमेरिकाको वाशिङ्टन डिसीमा सैनिक हेलिकोप्टर र यात्रुवाहक विमान ठोक्किएर दुर्घटना हुँदा कम्तिमा ६७ जनाको मृत्यु भएको थियो ।

  • अमेरिकाले तीन मुलुकबाट हुने आयातमा महसुल बढायो

    अमेरिकाले तीन मुलुकबाट हुने आयातमा महसुल बढायो

    काठमाडौं । अमेरिकाले चीन, क्यानडा र मेक्सिकोसहितका तीन मुलुकबाट आयात हुने वस्तुमा महसुल बढाउने निर्णय गरेको छ । ट्रम्पको नयाँ नीति अनुसार अमेरिकाले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमाथि २५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत महसुल वृद्धि गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यो निर्णय १ फेब्रुअरी सन् २०२५ अर्थात् १९ माघ २०८१ बाट लागू भएको छ ।

    ओभल अफिसमा मिडिया ब्रिफिङको क्रममा ट्रम्पले यस्तो जानकारी गराए । ट्रम्पले चीन, क्यानडा र मेक्सिको यो निर्णयाबाट बच्न केही गर्न नसक्ने उनको दावि छ । ट्रम्पले शुल्क बढाउने निर्णयबारे जानकारी दिँदै , ‘ट्यारिफ मुद्रास्फीतिको कारण बन्दैन, बरु सफलताको कारण बन्छ,’ भनेका छन् ।

  • बालाजुमा एक जना मृत फेला

    बालाजुमा एक जना मृत फेला

    काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ । प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत भएको छैन ।

    उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीले आसपासको क्लोज सर्किट (सीसी) टिभी समेत हेरेको प्रहरीले जनाएको छ । त्यसक्रममा उनी एक्लै आएर बसेको जस्तो देखिएको छ । उनको साथमा कालो झोला र बैशाखी समेत भेटिएको छ । उनको मृत्युको कारण जान्न प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।