Category: फिचर

  • टर्कीमा होटेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७६ पुग्यो

    टर्कीमा होटेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७६ पुग्यो

    काठमाडौं । उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना थिए ।
    आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए ।

    होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो । अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो । आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो । त्यसैले धेरैलाई होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो । स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन । टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको जानकारी पत्रकारहरुलाई दिएका छन् । उनले यो घटनाबाट सरकार दुःखी भएको बताए ।

  • यूरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित

    यूरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित

    काठमाडौं । यूरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार पुनरागमन जित हासिल गरेको छ । बार्सिलोनाले पोर्चुगिज क्लब बेनफिकालाई उसैको मैदानमा ५–४ गोलअन्तरले हराएको हो । खेलमा ४–२ ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले शानदार पुनरागमन गर्‍यो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र राफिन्हाले दुई-दुई गोल गरे भने एरिक गार्सियाको नाममा एक गोल रह्‍यो । बेनफिकाका लागि भान्जेलिस पाभिल्डिसले पहिलो हाफमै ह्‍याट्रिक गरे पनि व्यर्थ रह्‍यो । खेलको दोस्रो मिनेटमा नै बेनफिकाले अग्रता लिएको थियो । पाभिल्डिसले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए । १३औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि खेल बराबरीमा आयो ।

    २२औं मिनेटमा फेरि पाभिल्डिसको गोलमा बेनफिका खेलमा अगाडि आयो । ३०औं मिनेटमा उनले पेनाल्टीमार्फत ह्‍याट्रिक नै पूरा गर्दा पहिलो हाफमा बार्सिलोना ३–१ ले पछाडि रह्‍यो । दोस्रो हाफको ६४औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे । त्यसको चार मिनेटमा आत्मघाती गोलमार्फत बेनफिका ४–२ को अग्रतामा पुग्यो ।

    त्यसपछि बार्सिलोनाको पुनरागमन सुरू भयो । ७८औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे । ८६औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै खेल ४४ को बराबरीमा ल्याए । इन्जुरी समयको छैटौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट पुनरागमन जित दिलाए ।

    च्याम्पियन्स लिग इतिहासमा ५–४ को अन्तरले खेलको नतिजा आएको यो पहिलोपटक हो । बार्सिलोनाले च्याम्पियन्स लिग वा यूरोपियन कपको कुनै पनि खेलमा २ गोलले पछाडि परेर पुनरागमन गर्दै खेल जितेको यो पहिलोपटक हो । ४ भन्दा बढी गोल व्यहोरेर पनि खेल जित्ने बार्सिलोना दोस्रो टोली हो । यसअघि २०१६ मा बोरुसिया डर्टमुन्डले लेगिया वार्सलाई ८–४ गोलअन्तरले हराएको थियो । गएराति नै भएका अन्य खेलहरूमा लिभरपुलले लिललाई २–१ ले हराउँदा एट्लेटिको मड्रिडले बायर्न लेभरकुसनलाई २–१ ले हरायो ।

  • टर्कीमा होटेलमा आगलागी, कम्तिमा १० जनाको मृत्यु

    टर्कीमा होटेलमा आगलागी, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । टर्कीको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको आन्तरिक मन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । गभर्नर अब्दुलअजीज आयडिनले स्थानीय समय अनुसार बिहान ३ः३० बजे एउटा होटेलमा आगलागी भएको र दुई जनाको भवनबाट हाम फालेर मृत्यु भएको बताए ।

    एनटिभी प्रसारकका अनुसार आगलागीको कारण खुल्न सकेको छैन ।आगलागीको सूचना पाएपछि नगर केन्द्रले दमकल, खोज तथा उद्धार टोली र मेडिकल टोली पठाइएको थियो । विद्यालयहरूमा सेमेस्टर बिदा भएकाले यस क्षेत्रका होटलहरूमा विशेष भीड थियो । रासस, सिन्ह्वा

  • ट्रम्पले लिएको आप्रवासन नियन्त्रण सम्बन्धी नयाँ नियमहरु के के छन् ?

    ट्रम्पले लिएको आप्रवासन नियन्त्रण सम्बन्धी नयाँ नियमहरु के के छन् ?

    काठमाडौं । नयाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओभल अफिसको आफ्नो कार्यालयबाट कार्यकारी आदेशहरू जारी गरेर आप्रवासनलाई नियन्त्रण गर्ने कदम चालेका छन्। ुजन्मका आधारमा नागरिकताको हकु को परिभाषा परिवर्तन गर्नेदेखि सीमाबाट हुने गैरकानुनी प्रवेशलाई रोक्न मेक्सिकोसँगको सीमामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने विषय त्यसमा समेटिएका छन्। तर जन्मिएकै आधारमा नागरिकता प्राप्त गर्ने अधिकारलाई बदल्ने उद्देश्य राखेकासहित उनका कतिपय आदेशले कानुनी कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ।

    ट्रम्पले यसअघि बाइडन नेतृत्वको ह्वाइट हाउसको विध्वशंकारीु नीतिहरू पाँच मिनेटभित्रै खारेज गर्ने बताउँदै आएका थिए। नयाँ प्रशासनले सीबीपी वान नामक एप रद्द गरेपछि केही घण्टाअघि नै हजारौँ विदेशीहरूका आप्रवासनसम्बन्धी कामका लागि सरकारी भेटका लागि आरक्षित समयहरू रद्द भएका थिए। उक्त एप सीमा प्रवेश बिन्दुमा उपस्थितिको समय लिनका लागि प्रयोग गर्ने गरिन्थ्यो।

    आफ्नो शपथग्रहणपछिको मन्तव्यमा ट्रम्पले अमेरिकामा हुने सबै गैर कानुनी प्रवेश रोकिने भन्दै दशौँ लाख अपराधी विदेशीलाई देशनिकाला गरिने बताए । सीमासम्बन्धी विस्तारित योजना अन्तर्गत ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयलाई सीमालाई बन्द गर्न आदेश दिनेछन्।

    कतिपय आदेशबारेका विस्तृत विवरणहरू आउनै बाँकी छ तर अधिकारीहरूले ट्रम्पले अमेरिकामा जन्म भएकै आधारमा अमेरिकी नागरिकता पाउने अधिकारलाई अन्त्य गरिदिने बताएका छन्। त्यसको अर्थ कागजातविहीन र सरकारी अभिलेखमा नरहेका आप्रवासीहरूका अमेरिकामा जन्मेका सन्तानहरू अब उप्रान्त स्वतः अमेरिकी नागरिक बन्न पाउने छैनन्।

    तर त्यस्तो अधिकार अमेरिकी संविधानमा नै उल्लेख गरिएको छ र यसलाई परिवर्तन गर्न कंग्रेसका दुवै सदनमा दुई तिहाइ मतको आवश्यकता पर्छ। ती अधिकारीले ट्रम्पले यस्तो प्रावधान कसरी पालना गर्नेछन् भन्नेबारे थप बताएका छैनन्। नयाँ प्रशासनले तत्कालै ुसीबीपी वानु नामक एप खारेज गरेको छ जुन प्रवेश बिन्दुहरूमा अधिकारीहरूसँग औपचारिक भेटको लागि समय मिलाउन आप्रवासीहरूले प्रयोग गर्दै आएका थिए।

  • यो सरकार आगामी चुनावसम्मै टिकोस : प्रचण्ड

    यो सरकार आगामी चुनावसम्मै टिकोस : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार २०८४ को आम निर्वाचनसम्मै गए हुने बताएका छन्। चितवनमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले माओवादीको अहिलेको प्राथमिकता सरकार नभएको बताए। ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन, मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो,’ उनले भने।

    वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गइदिए हुन्थ्यो भन्नेमा माओवादी रहेको अध्यक्ष दाहालले बताए। ‘यो सरकार २०८४ सम्मै गइदिए हुन्थ्यो, गएन भने कांग्रेस हाम्रो पार्टनर छँदैछ,’ उनले भने। विमानस्थलमा प्रचण्डले यसो भन्दा कांग्रेस पूर्वमहामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य चन्द्र भण्डारी पनि सँगै थिए।

  • पाथिभरामा केबुलकार बनाउन सुरु

    पाथिभरामा केबुलकार बनाउन सुरु

    काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने ‘पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार’ परियोजना निर्माण मंगलबारदेखि सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबुलकार निर्माण कार्य सुरु भएको जानकारी दिए । जिल्लाका सबै राजनीतिक दल, सांसद्, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने केदेमले बताए ।

    केबुलकार कम्पनी सञ्चालक रुद्र पौडेलले पाथीभरा केबुलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुंगा बन्ने बताए । केबुलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने उनको भनाइ छ ।

    पौडेलका अनुसार आगामी १५ महिनाभित्र केबुलकार चढेर पाथीभरा देवी दर्शन गर्न सकिने छ । केबुलकारले अशक्त वृद्धवृद्धा तथा बालबालिका लगायत भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुनेछ । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबुलकार उदाहरण बन्ने विश्वास छ ।

    केबुलकार सञ्चालनमा आएपछि पाथीभरा देवी दर्शन गर्न आउने पर्यटक संख्या वार्षिक १० लाखसम्म पुग्ने पौडेलको भनाइ छ । केबुलकार सञ्चालनले पाथीभरा देवी दर्शनको मौका सबैले सहजै प्राप्त गर्दा भक्तजन संख्या ह्वात्तै बढ्ने उनले बताए ।

    साथै, केबुलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्वस्तरीय पर्यटन उत्पादन र सेवा सुविधा सहित अनुपम पर्यटन गन्तव्यका रूपमा स्थापित गराउन सहयोग पुग्ने उनले उल्लेख गरे ।

    पाथीभरा केबुलकार सञ्चालन तथा व्यवस्थापन आईएमई ग्रुपले गरिरहेको छ । आईएमईले केबुलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको छ ।

    काठमाडौं चन्द्रागिरिमा पहिलो केबुलकार निर्माण गरी काठमाडौंमा नयाँ पर्यटन गन्तव्य बनाएको आईएमईले नवलपुरमा मौलाकाली र बुटवलमा लुम्बिनी केबुलकार सञ्चालन गरिरहेको छ । यी दुवै केबुलकार तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आएका थिए । त्यस्तै कर्णालीमा जालपादेवी केबुलकार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।

    अब पाथीभरा देवी दर्शन केबुलकारको काम छिटोभन्दा छिटो सकेर नेपालको पर्यटन बजारमा थप ‘गेम चेन्जर’ परियोजना अघि बढाउने कार्यमा हातेमालो गर्न पनि आईएमई ग्रुपले आह्वान गरेको छ ।

  • अदालत हाजिर हुन भैरहवा पुगे रवि

    अदालत हाजिर हुन भैरहवा पुगे रवि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार भैरहवा गएका हुन् । बुद्ध एयरको विमानमार्फत मंगलबार दिउँसो उनी भैरहवा पुगेका हुन् । भैरहवास्थित होटल मेरि गोल्डमा लामिछानेले पार्टीका कार्यकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    उनी भैरहवाको देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बास बस्ने रास्वपा रुपन्देहीका अध्यक्ष डा. बुद्धि प्रसाद शर्माले बताए । उनी बुधबार अदालत हाजिर हुँदैछन् । लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

    काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो । लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

    लामिछाने र पूर्व डीआईजी समेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई जीबीसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । लामिछाने सँग ४ करोड बढी विगो माग गरिएको छ ।

  • राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आह्वान

    राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते अधिवेशन आह्वान गरेका हुन् । यसअघि सोमबार मन्त्रिपरिषद् १८ गते बैठकले बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।

    संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयदेखि संसद् नचल्दा सरकारको विरोधसमेत भएको थियो । यसबीचमा सरकारले केही अध्यादेशसमेत ल्याएको थियो ।

  • ट्रम्पले तोडे सपथका परम्परा, के के गरे ?

    ट्रम्पले तोडे सपथका परम्परा, के के गरे ?

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहणका केही परम्परा तोडेका छन् । अमेरिकी राष्ट्रपतिले शपथ ग्रहण गर्ने बेला बाइबलमा हात राख्ने परम्परा ४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्पले तोडे । राष्ट्रपति जो बाइडेनले यसलाई निरन्तरा दिएका थिए । यसअघि अमेरिकाका छैटौं राष्ट्रपति जोन क्विन्सी एडम्सले बाइबलको सट्टा संविधानमा हात राखेर शपथ लिएका थिए । त्यस्तै, थियोडोर रुजबेल्टले कुनै पनि पुस्तकमा हात नराखेर राष्ट्रपतिको शपथ लिएका थिए ।

    शपथ ग्रहण गर्ने बेलामा बाइबलमाथि वा अरु कुनै पुस्तकमाथि हात राख्नुपर्ने भन्ने संवैधानिक व्यवस्था भने छैन । त्यसैले ट्रम्पले शपथ ग्रहण गर्ने बेलामा उनले एक हात माथि उठाए भने उनको छेउँमा पत्नी मेलानिया दुई हात बाँधेर उभिइरहिन् । ट्रम्पले शपथ ग्रहणपछि कार्यकारी आदेशहरु जारी गरेका छन् ।

    यस क्रममा उनले अघिल्लो राष्ट्रपति जो बाइडेनको पालाका ७८ कार्यकारी आदेशहरु रद्द गरे । ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका कलमहरु समर्थकहरुको भिडमा फ्याँके । शपथ ग्रहण समारोह स्थलमा अत्यधिक जाडो भएकाले हलभित्र ट्रम्पको शपथ ग्रहण भएको थियो । हलभित्र शपथ ग्रहण गरेपछि ट्रम्पले समर्थकहरुलाई क्यापिल वान एरिनामा सम्बोधन गरे ।

  • क्यापिटल हिल हिंसा मामलाका १५ सय दोषिलाई ट्रम्पले दिए सजाय माफ

    क्यापिटल हिल हिंसा मामलाका १५ सय दोषिलाई ट्रम्पले दिए सजाय माफ

    काठमाडौं । अमेरिकी संसद भवन क्यापिटल हिल हिंसाको घटनामा दोषि पाइएका १५ सय मानिसलाई राष्ट्रपति ट्रम्पले सजाय माफ गरिदिएका छन् । घटना ६ जनवरी २०२१ मा भएको थियो । पदभार ग्रहण गरे लगत्तै ट्रम्पले केही कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेका छन् ।

    जसमा क्यापिटल हिल घटनाका दोषिलाई आममाफी दिने समेत रहेको छ । यससँगै अब कैदीहरुलाई रिहाई गरिने भएको छ । अहिले वासिंटन डिसीबाहिर ठूलो भिड रहेको र कैदीहरुको रिहाईको प्रतिक्षा गरिरहेको समाचार एजेन्सीहरुले बताएका छन् ।

  • ट्रम्पद्धारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी

    ट्रम्पद्धारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी

    काठमाडौं । सपथग्रहण लगत्तै राष्ट्रपति ट्रम्पले केही महत्वपूर्ण कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेका छन् । जसमध्ये अब अमेरिका विश्व स्वास्थ्य संगठनको हिस्सा रहने छैन ।

    यस आदेशमा हस्ताक्षर गर्दै उनले भनेका छन्, यो एक ठूलो फैसला हो । यस संगठनमार्फत अमेरिकाले ठूलो मूल्य चुकाउनु परेको उनको तर्क छ । यद्दपी उनले पुनः अमेरिका फिर्ता आउनुपर्ने संगठनको तर्क रहेको समेत बताए ।

  • सन् २०२४ मा विश्वका धनी व्यक्तिको सम्पत्ति तीन गुणाभन्दा धेरैले वृद्धि

    सन् २०२४ मा विश्वका धनी व्यक्तिको सम्पत्ति तीन गुणाभन्दा धेरैले वृद्धि

    विश्वका अर्बपतिहरूको सम्पत्ति सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा तीन गुणा तीव्र गतिमा बढेको रिपोर्ट सार्वजनिक भएको छ । विश्वका धनी व्यक्तिहरुको सम्मेलन मानिने विश्व आर्थिक मञ्चको बैठक स्वीटजरल्याण्डमा सुरु हुँदैछ । त्यस अवसरमा वैश्विक असमानताको आफ्नो नवीनतम मूल्याङ्कनमा अक्सफाम इन्टरनेसनलले आगामी दशकमा कम्तीमा पाँच खर्बपति देखापर्ने अनुमान गरेको छ । एक वर्षअघि समूहले त्यो समयमा एक मात्र खर्बपति देखापर्ने पूर्वानुमान गरेको थियो ।

    अक्सफामको अनुसन्धानले निवर्तमान राष्ट्रपति जो बाइडेनले गत हप्ता दिएको ‘थोरै अति–धनी व्यक्तिहरूको हातमा शक्तिको खतरनाक केन्द्रीकरण’ को चेतावनीलाई थप बल दिएको बताइएको छ । समूहको ‘टेकर्स नट मेकर्स’ शीर्षकको तीखो रिपोर्टले पनि सन् १९९० देखि गरिबीमा परेका मानिसहरूको सङ्ख्यामा मुस्किलले परिवर्तन भएको बताएको छ ।

    विश्व आर्थिक मञ्चले डाभोसको अल्पाइन गाउँमा हुने वार्षिक बैठकमा व्यापारिक अधिकारी, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समूहका नेताहरूसहित करिब तीन हजार सहभागी हुने अपेक्षा गरेको छ । शीर्ष टेक कम्पनीहरू र एस एन्ड पी ५०० जस्ता स्टक–मार्केट सूचकाङ्कहरूका साथै सुनको मूल्य र बिटक्वाइन जस्ता क्रिप्टोकरन्सीहरूको लागि बलियो प्रदर्शनका कारण धेरै लगानीकर्ताहरूले २०२४ मा बलियो लाभ उठाए ।

    गत वर्ष अर्बपतिको सम्पत्ति दुई खर्ब डलरले बढेको अक्सफामले जनाएको छ । यो सन् २०२३ को तुलनामा तीन गुणा बढी हो र दैनिक पाँच अर्ब ७० करोड डलर हो । अर्बपतिहरूको सङ्ख्या २०४ ले बढेर दुई हजार ७६९ पुगेको छ र १० धनी व्यक्तिहरूको सम्पत्ति औसतमा एक दिनमा लगभग १० करोड डलर बढेको छ ।

    विश्व बैंकको तथ्याङ्कलाई उद्धृत गर्दै उक्त समूहले सन् १९९० देखि दैनिक छ दशमलव ८५ डलरभन्दा कम आयमा जीवनयापन गर्ने मानिसहरूको सङ्ख्यामा ‘मुस्किलले परिवर्तन’ भएको भन्दै लामो समयसम्म चलेको गरिबीलाई औँल्याएको छ । अक्सफामले अति–धनीहरूको तथ्याङ्कका लागि नोभेम्बरको अन्त्यसम्मको फोर्ब्सको ‘रियल–टाइम बिलियनेयर लिस्ट’ प्रयोग गरेको छ ।

    यसको विपरीत सन् २०२४ मा प्रत्येक हप्ता कम्तीमा चार नयाँ अर्बपति ‘टकमरी (अत्यन्त धनी)’ भएका थिए र अर्बपति सम्पत्तिको तीन–पाँचौँ भाग उत्तराधिकार, एकाधिकार शक्ति वा ‘क्रोनी कनेक्सन’ बाट आउँछ । औसतमा अक्सफामले कम र मध्यम आय भएका देशहरूले आफ्नो राष्ट्रिय बजेटको लगभग आधा ऋण भुक्तानीमा खर्च गरिरहेको बताएको छ ।

    साथै समूहले युरोपमा ७९ वर्ष भन्दा बढीको तुलनामा अफ्रिकामा आयु ६४ वर्ष भन्दा कम रहेको बताएको छ । केही पश्चिमी देशहरूमा बलियो नेताहरूको उदय भइरहेको र व्यवसाय जगत्मा विविधता र जलवायु परिवर्तन जस्ता प्रगतिशील मुद्दाहरू कमजोर हुँदै गएको अवस्थामा अति धनी र गरिबबीचको बढ्दो खाडलका बावजुद मङ्गलबारदेखि औपचारिक रूपमा सुरु हुने वार्षिक डाभोस सम्मेलनले यस वर्ष पनि पैसा कमाउने र सम्झौता गर्नेमा ध्यान केन्द्रित गर्ने सम्भावना छ ।
    राससको सहयोगमा

  • राष्ट्रपति पौडेलले टम्पलाई दिए बधाई

    राष्ट्रपति पौडेलले टम्पलाई दिए बधाई

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डोनाल्ड जे। ट्रम्पलाई अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति पौडेलले एक सन्देशमार्फत राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त राज्य अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गरे ।

    राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा नेपाल र अमेरिकाबिचको सम्बन्धले दुवै मुलुकका जनताको हितमा अझ सुदृढ भूमिका खेल्ने उल्लेख गरे ।

  • रित्तो गाग्री बोकेर किन काठमाडौं आए हर्क ?

    रित्तो गाग्री बोकेर किन काठमाडौं आए हर्क ?

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएका छन् । उनि सरकारसँग धरानका लागि पानी माग्न भन्दै सोमबार काठमाडौं आएका हुन्।

    संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर काठमाडौं आएका हुन् । मेयर साम्पाङले भोलि रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्‍ने बताएका छन् ।

  • ट्रम्पको पहिलो भाषण, के के विषय समेटिए ?

    ट्रम्पको पहिलो भाषण, के के विषय समेटिए ?

    काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणपछि एक भव्य समारोहलाई उनले सम्बोधन गरेका छन् । उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए । ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो,’ उनले भने, ‘यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ ।’


    उनले थपे, ‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु हुँदै छ । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म स्पष्टसँग भन्न चाहन्छु कि सधैं अमेरिकालाई प्राथमिकता दिनेछु ।’ अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने भन्दै उनले अमेरिकाको प्रगतिका लागि कडा प्रयास गर्ने र नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि सबै अमेरिकी नागरिकलाई एकताबद्ध भएर काम गर्न उनले आह्वान गरे ।

    राष्ट्रपति ट्रम्पको शपथ ग्रहणपछि उपराष्ट्रपति जेडी भान्सले पनि शपथ ग्रहण गरे । राजधानी वाशिङ्टन डीसीमा रहेको संसद भवन यूएस क्यापिटलमा आयोजित शपथग्रहण समारोहमा पूर्वराष्ट्रपतिहरु, मन्त्रिपरिषदका सदस्य, विभिन्न देशका राष्ट्र प्रमुख वा प्रतिनिधि, व्यापारी लगायतको उपस्थिति थियो ।

    डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध रुपमा आप्रवासी प्रवेशलाई रोक्न मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल घोषणा गर्ने बताए । उनले यस सम्बन्धमा कार्यकारी आदेश जारी गर्ने बताए । उनले लाखौं अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने प्रक्रिया सुरु गर्ने बताए ।साथै उनले ‘गल्फ अफ मेक्सिको’को नाम बदलेर ‘गल्फ अफ अमेरिका’ राख्ने पनि बताए । ट्रम्पले पनामा नहरलाई एक मूर्खतापूर्ण उपहारको संज्ञा दिए । उनले पनामा नहरलाई चीनले चलाइरहेको आरोपसमेत लगाए । ‘हामीले पनामा नहर चीनलाई दिएका होइनौं, हामीले त्यसलाई फर्काउने छौं,’ ट्रम्पले भने ।

    ट्रम्पले यो भाषण गर्दा समर्थकहरुले ताली बजाएका थिए । तर निवर्तमान राष्ट्रपति जो बाइडन र कमला ह्यारिस भने कुनै प्रतिक्रिया नजनाई शान्त बसे । ट्रम्पले आफ्नो भाषणमा अमेरिकालाई नयाँ उचाइमा र ठूलो सफलतासम्म पुर्‍याउने बताए । अमेरिकाको सम्पत्ति बढाउने, आफ्नो क्षेत्र बिस्तार गर्ने र मंगल ग्रहमा पनि अमेरिकी झण्डा फहराउने उनले बताए । ‘हामी तारातर्फ अघि बढ्ने छौं र मंगल ग्रहमा अमेरिकी झण्डा फहराउने छौं,’ ट्रम्पले भने ।

    ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रतिबद्धता पनि जनाए । त्यसका लागि सबैलाई जोड्न नेतृत्व गर्ने उनको भनाइ छ । ट्रम्पले नेतृत्व गरेपछि रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्ध रोकिने अनुमान कतिपयले गरिरहेका छन् । अमेरिका पूरै विश्वका लागि प्रेरणा र प्रशंसाको केन्द्र बन्ने बताउँदै ट्रम्पले भने, ‘अमेरिका आफ्नो सही स्थान हासिल गर्दै सबैभन्दा महान, शक्तिशाली र सम्मानित देश बन्ने छ ।’

    ट्रम्पले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जाति र लिङ्गलाई समावेश गर्ने हालको नीति अन्त्य गर्ने बताए । अब केबल महिला र पुरुष गरी दुई मात्र लिङ्ग हुने बताउँदै उनले आजैदेखि अमेरिकाको आधिकारिक नीति हुने घोषणा गरे । कूटनीतिक मामिलाका बीबीसी सम्वाददाता पोल एडम्सले ट्रम्पको यो भाषणलाई विश्वका लागि कडा सन्देश भएको बताएका छन् । ट्रम्पले अमेरिकालाई समृद्ध बनाउने क्रममा विदेशबाट आयात हुने सामग्रीमा कर र शुल्क बढाउने समेत बताए ।

    साथै उनले मन्त्रिपरिषदबाट महँगी नियन्त्रणका लागि हरसम्भव कोसिस गर्ने र बढ्दो ऊर्जाको आवश्यकता पूर्ति गर्ने बताए । त्यसका लागि मन्त्रिपरिषदका प्रत्येक सदस्यलाई काम गर्न निर्देशन दिने उनले बताए । ऊर्जाको आवश्यकता पूर्ति गर्ने क्रममा ‘नेशनल इनर्जी इमर्जेन्सी’ घोषणा गर्ने बताए । साथै उनले अमेरिकामा तेल र ग्याँस उत्खनन बढाउने प्रतिबद्धता दोहोर्‍याए ।

  • ट्रम्पले गरे सपथ ग्रहण

    ट्रम्पले गरे सपथ ग्रहण


    काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाए ।

    रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७औँ राष्ट्रपति चुनिएका हुन् ।

    राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । यसअघि सन् २०१६ मा उनी राष्ट्रपति निर्वाचित भएका थिए ।

    शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए ।

    अत्यधिक चिसोका कारण यसपटक शपथ ग्रहण समारोह खुला स्थानमा आयोजना गरिएको थिएन ।

    ट्रम्पले शपथ ग्रहणसँगै अमेरिका–मेक्सिको सीमामा ‘राष्ट्रिय संकटकाल’ घोषणा गर्ने, केही ड्रग्स तस्करलाई आतंकवादी घोषणा गर्ने र सरकारी विविधता कार्यक्रमहरू खारेज गर्ने तयारी गरेका समाचार आइरहेका छन् ।

  • आयात सामान्य बढ्दा, निर्यात कस्तो ?

    आयात सामान्य बढ्दा, निर्यात कस्तो ?

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा आयात ७ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आव पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको हो ।
    गत आव सोही अवधिको दाँजोमा यो ७.०६ प्रतिशतले बढी हो । गत आव ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको थियो ।

    भन्सार विभागको तथ्याङ्कले बजारमा वस्तु माग बढेको देखाउँछ । गत पुसमा १ खर्ब ६१ अर्ब बराबर आयात भएको छ । यो गत मंसिरको दाँजोमा १३ अर्ब रुपैयाँले धेरै हो । चालु आव पहिलो ६ महिनामा २० अर्ब १७ करोड रुपैयाँ बराबर कच्चा भटमास तेल आयात भएको छ । त्यस्तै कच्चा सनफ्लावर तेल ११ अर्ब ६७ करोड, डिजेल ५४ अर्ब ३६ करोड, पेट्रोल ३२ अर्ब १४ करोड र खाना पकाउने ग्यास २९ अर्ब ७९ करोड रुपैयाँ बराबर आयात भएको भन्सार विभागले जनाएको छ ।

    आयातसँगै निर्यात पनि उल्लेख्य परिमाणले बढेको छ । विभागका अनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा निर्यात ३१.७८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७.२ प्रशितले घटेको थियो । उक्त अवधिमा नेपालबाट ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।

    विभागका अनुसार गत ६ महिनामा १८ अर्ब ९१ करोड बराबर भटमास तेल निर्यात भएको छ भने ४ अर्ब ९८ करोड बराबर सनफ्लावर तेल निर्यात भएको छ । चालु आव पहिलो ६ महिनामा मुलुको व्यापार घाटा ४.३८ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार दोस्रो त्रैमाससम्ममा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ । गत आव सोही अवधिमा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख बराबर व्यापार घाटा थियो ।

  • यू-१९ विश्वकप : नेपाल स्कटल्याण्डसँग पराजित

    यू-१९ विश्वकप : नेपाल स्कटल्याण्डसँग पराजित

    काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्‍यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् ।

    बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो ।

    नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडिन् । त्यसैगरी, सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् भने अमी बलडाइ र नइमा शेखले समान दुई–दुई विकेट लिए ।

    त्यस्तै, क्रिस्टी म्यायाकोलले एक विकेट झारिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । जितसँगै स्कटल्यान्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । स्कटल्यान्ड पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

  • अमेरिकी राष्ट्रपतिको सपथमा के के हुन्छ ? जान्नै पर्ने विषय यी हुन्

    अमेरिकी राष्ट्रपतिको सपथमा के के हुन्छ ? जान्नै पर्ने विषय यी हुन्

    काठमाडौं । राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा औपचारिक रूपमा सोमवार शपथ लिँदैछन् । त्यसपछि उनी ह्वाइट हाउस सर्ने छन्। औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीहरूको परेड र साँझमा औपचारिक बल डान्स पनि राखिएको छ ।

    ट्रम्पपछि उपराष्ट्रपति जेडी भान्सले पनि शपथ लिने छन् र उनीहरूको नयाँ प्रशासनिक कार्यकाल औपचारिक रूपमा सुरु हुने छ। ट्रम्पले अमेरिकाको राष्ट्रपतिको भूमिका औपचारिक रूपमा सुरु गर्ने यस दिनका बारे थाहा पाउनुपर्ने कुराहरू यस्ता छन्। यस दिनको औपचारिक कार्यक्रमले पुरानो राष्ट्रपतिको कार्यकाल अन्त्य र नयाँ राष्ट्रपतिको प्रशासनको थालनी भएको जनाउँछ।

    यो वाशिङ्टन डीसीमा सरकारका नेताहरूबीच सत्ताको हस्तान्तरण हुने सबैभन्दा माथिल्लो स्तरको समारोह हो। यो कार्यक्रमको मुख्य हिस्सामा राष्ट्रपति निर्वाचित व्यक्तिले शपथ लिँदा यो वाक्य वाचन गर्नुपर्छ, म यो कुराको गम्भीरतापूर्वक शपथ लिन्छु कि म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदलाई निष्ठापूर्वक निर्वाह गर्ने छु र आफ्नो पूर्ण क्षमताअनुसार अमेरिकाको संविधानको संरक्षण, बचाउ र रक्षा गर्ने छु।

    ट्रम्पले गत नोभेम्बरमै चुनाव जिते पनि यो माथिको वाक्य वाचन गरेपछि मात्रै उनी औपचारिक रूपमा ४७औँ राष्ट्रपति बन्ने छन्। भान्सले पनि उपराष्ट्रपतिको पद सम्हाल्नुअघि शपथ लिने छन्। शपथ लिने दिन हुने कार्यक्रममा साङ्गीतिक प्रदर्शनीहरू, भाषण, परेड र उत्सव मनाउन विशेष किसिमको नृत्य समेत हुने छ। भाषणका क्रममा ट्रम्पले आफ्नो निर्वाचन क्षेत्रलाई सम्बोधन गर्ने छन् र आउँदो चार वर्षका आफ्ना लक्ष्यहरू तय गर्ने छन्।

    ट्रम्पले दोस्रो पटक गर्न लागेको शपथ कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक सेन्ट जोन्स गिर्जाघरमा हुनेछ र त्यसपछि विशेष चियापान कार्यक्रम हुने छ। यूएस क्यापिटलको वेस्ट लनमा हुने मुख्य कार्यक्रम १४स्३० जीएमटीमा हुने छ र त्यसमा कार्यक्रमको सुरुवाती भाषण र साङ्गितीक प्रदर्शनीहरू हुने छ। त्यसपछि ट्रम्प र भान्सको शपथ र उद्घाटन भाषण हुने छ। ट्रम्प त्यसपछि सिनेट चेम्बर नजिकै रहेको कक्षमा जान्छन् र आफ्नो नयाँ प्रशासन सुरु गर्न मुख्य कागजातहरूमा हस्ताक्षर गर्छन्।

    कङ्ग्रेसनल कमिटीले त्यसपछि दिउँसोको भोजनको कार्यक्रम आयोजना गर्ने छ र त्यसमा ट्रम्प पनि सहभागी हुने छन्। क्यापिटलबाट जाने परेड पेनसिल्भेनिया एभेन्यु हुँदै ह्वाइट हाउससम्म पुग्छ र त्यसपछि सुरु हुनेछ। साँझ भने ट्रम्प सहरभरि हुने तीनवटा परेडमा उपस्थित हुनेछन् । उनले ती तीनवटै कार्यक्रममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ। यी विभिन्न कार्यक्रमहरू उपस्थित भएर हेर्नका लागि धेरै माग हुन्छ र टिकटहरूको व्यापक खोजी हुन्छ।

    कङ्ग्रेसका सांसदहरूले उक्त कार्यक्रममा भाग लिन केही सङ्ख्यामा टिकटहरू प्राप्त गर्छन् जुन उनीहरूले आफ्ना क्षेत्रका मतदाताहरूलाई वितरण गर्न सक्छन्। यी टिकटहरू निःशुल्क हुन्छन् तर पाउन भने चुनौतीपूर्ण हुन्छ। अमेरिकीहरूले टिकटका लागि आफ्ना सांसदसँग प्रत्यक्ष माग गर्न सक्छन्। यदि व्यक्तिगत रूपमा उपस्थित हुन नसके टाढैबाट हेर्न सकिने थुप्रै उपायहरू छन्। ह्वाइट हाउसले कार्यक्रम प्रत्यक्ष प्रशारण गर्ने छ।

    बीबीसीले आफ्नो च्यानलमा पनि प्रत्यक्ष प्रसारण गर्ने छ। तपाईँले हाम्रो वेबसाइटमा पनि हेर्न सक्नुहुन्छ र लाइभ पेजमा हामी पछिल्ला विवरणहरू, विश्लेषण र मुख्य क्षणहरू हुने बित्तिकै ताजा खबरहरू राख्नेछौँ। स्थानीय र सङ्घीय अधिकारीहरूले करिब २,००,००० मानिसहरू वाशिङ्टन डीसीमा उपस्थित हुने ठानेका छन्। त्यसरी उपस्थित हुनेमा उनका समर्थक र प्रदर्शन गर्नेहरू दुवै हुन सक्छन्।

    थुप्रै अमेरिकी सिनेटर र सांसदहरू, लगायत आउँदो प्रशासनका अतिथिहरू पनि त्यहाँ उपस्थित हुने छन्। ट्रम्प, भान्स र उनीहरूका परिवार, बाहिरिँदै गरेका राष्ट्रपति र उपराष्ट्रपतिहरू उपस्थित हुने छन्। यसको अर्थ हामीले राष्ट्रपति बाइडन र उनी पत्नी जिल बाइडन अनि उपराष्ट्रपति कमला ह्यारिस र उनका श्रीमान्लाई पनि त्यहाँ देख्नेछौँ।

    पूर्व राष्ट्रपतिहरू र उनीहरूका श्रीमतीहरू पनि उक्त समारोहमा प्राय उपस्थित हुने गर्छन्। यो वर्ष जर्ज र लउरा बुशले पनि उपस्थिति जनाउने ठानिएको छ मिसेल ओबामाले भने उपस्थिति नजनाउने ठानिएको छ। उक्त समारोहमा पूर्व अमेरिकन आइडल विजेता तथा गायिका केरी अन्डरवूडले अमेरिका द ब्यूटिफूल गीत गाउने कार्यक्रम तय गरिएको छ।

    म मेरो देशलाई माया गर्छु र समारोहमा गाउन भनिएको कुरालाई मैले सम्मानको रूपमा लिएकी छु। यो ऐतिहासिक कार्यक्रमको म सानो हिस्सा हुन पाउनेछु, सोमवारको विज्ञप्तिमा न्डरवूडले भनिन्। अमेरिकी डिस्को समूह द भिलेज पिपलले पनि ट्रम्प उपस्थित हुने साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने घोषणा गरेको छ। चुनावी अभियानका बेला ट्रम्पले आफ्ना र्‍यालीहरूमा उक्त समूहका वाइएमसीए र माचो म्यान गीतहरू बजाएका थिए।

    BBC nepali sewa

  • सरकारले १८ माघमा बोलायो संसद बैठक

    सरकारले १८ माघमा बोलायो संसद बैठक

    काठमाडौं । सरकारले माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रबार १ बजेका लागि संसद् अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसद्को आगामी अधिवशेन माघ १८ गते बोलाउने निर्णय भएको जानकारी दिए । उनले भने, ‘‘संसदको आगामी अधिवेशन माघ १८ गते शुक्रबार बोलाउने निर्णय भयो ।’’ विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै संसद बोलाउन आग्रह गरिरहेका छन् ।

  • वैदेशिक रोजगारीमा पठाउने नाममा ३० लाख ठगी गरेको आरोपमा तीन जना पक्राउ

    वैदेशिक रोजगारीमा पठाउने नाममा ३० लाख ठगी गरेको आरोपमा तीन जना पक्राउ

    वैदेशिक रोजगारीमा विदेश पठाउने नाममा ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङको ताराखोला गाउँपालिका–३ का ३४ वर्षीय तिलकबहादुर कार्की, प्युठानको नौबाहिनी गाउँपालिका–६ का ३६ वर्षीय हरिबहादुर बिष्ट र स्याङ्जाको गल्याङ नगरपालिका–८ कि ३४ वर्षीया जमुना परियार छन् ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। कार्कीले युके पठाउने भन्दै एक जनाबाट १ लाख, बिष्टले अमेरिका पठाउने भन्दै दुई जनाबाट २ लाख र परियारले अष्ट्रेलिया पठाउने भन्दै एक जनाबाट २८ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।

  • स्ववियु चुनाव ५ चैतमा हुने

    स्ववियु चुनाव ५ चैतमा हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।

    यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका डा।केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।

    ‘वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल राखिएको छ । आगामी चैत ५ गते ठीक दुई वर्ष पुग्छ’, उनले भने, ‘कानुनी जलिटता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिएको छ।’ यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन ।

    विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिवेला नौ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।

  • ट्रम्पको सपथ ग्रहणमा को को हुँदैछन् सहभागी

    ट्रम्पको सपथ ग्रहणमा को को हुँदैछन् सहभागी

    काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहणको अन्तिम तयारी चलिरहेको छ । समारोह आयोजक समितिले राष्ट्रपति ट्रम्पको यो दोस्रो कार्यकाल भव्य रूपमा आयोजना गर्ने गरी तयारी सुरु गरिसकेको बताइएको छ । सबै मुख्य चन्दादातालाई समेत यो कार्यक्रममा सामेल गर्न नसकिने सम्भावना पनि व्यक्त गरेको छ । यो चन्दा रकम सो दिनसम्म पुग्दा २० करोड डलर पुग्ने अनुमान गरिएको छ ।

    अघिल्लो पटक यही कार्यक्रमका लागि जम्मा १० करोड चन्दा उठेको थियो । चन्दादाताहरू सो समारोहमा उपस्थित भएर आफ्नो व्यवसाय वा व्यापारका लागि लबिङ गर्न लालायित हुने भएकाले यसरी चन्दा सङ्कलन भएको हो । यो समारोहमा सर्वाधिक चर्चित व्यक्ति तथा संसारकै सबैभन्दा धनी व्यक्ति एलन मस्क रहने भएका छन् । मार्क जुकरवर्ग र जेफ बेजोज पनि उपस्थित हुनेछन् ।

    यी तीन जना मन्त्रीहरूकै लहरमा रहने भएका छन् । सोही लहरमा तीन जना पूर्वराष्ट्रपति पनि उपस्थित हुनुहुने छ । पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्लु बुस सो समारोहमा सहभागी हुने भएका छन् । ओबामापत्नी मिसेल ओबामा भने उपस्थित नहुने बताइएको छ ।

    अमेरिकास्थित विदेशी मुलुकका राजदूतावासका राजदूत तथा नियोग प्रमुखहरूलाई निमन्त्रणा पठाइने भएकाले विदेशी राष्ट्रप्रमुखहरूको उपस्थिति भने ज्यादै न्यून हुने बताइएको छ । चन्दादाताको नामावली लामो छ तर पनि मेट्रा, अमेजन, गोल्डमेन स्यान्च, बैङ्क अफ अमेरिकालगायतका संस्था तथा खुला एआईका मुख्य कार्यकारी अधिकृत स्याम एल्ट्रम्यान, उवरका प्रमुख कार्यकारी डारा खोस्रोसाही र सिट्राडोलका प्रमुख कार्यकारी केन ग्रिफिनलगायतले १० लाख डलरभन्दा बढी चन्दा दिएका छन् ।

    लोकगायिका क्यारी अन्डरउड यो कार्यक्रमकी सर्वाधिक चर्चित गायिका हुने भएकी छिन् । शपथग्रहण समारोहकी प्रमुख गायिका अन्डरउड र वाइएमसिए नामक गीत गाएर चर्चा बटुलेको भिलेज पिपुल नाम गरेको ब्यान्डले सम्पूर्ण समारोह तताउने छ । अन्डरउडले जनवरी २० मा अमेरिका दी ब्युटिफुल र गड ब्लेस दी युएसए नामक गीत गाउनुहुने छ । केही लोकगायक जेसन एल्डन, रास्कन फ्याल्ट्रस, किड रक र विली रे साइरस र क्रिस्ट्रोफर मासिनो आदिले पनि आआफ्नो प्रस्तुति दिने भएकाछन् ।

  • ट्रम्पको पदभार ग्रहणको तयारी कसरी हुँदैछ ?

    ट्रम्पको पदभार ग्रहणको तयारी कसरी हुँदैछ ?

    काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आइपुगेको छ । उनको यस कार्यक्रमको चर्चा निकै चुलिएको छ । यो समारोह ऐतिहासिक पुनरागमनको सङ्केत गर्दै भव्य रूपमा आयोजना हुने भएको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । शपथग्रहण समारोह चार दिनसम्म अर्थात् शनिबार सुरु भएर मङ्गलबार सम्पन्न हुने छ ।

    शपथग्रहण समारोह समितिले सो समारोहका लागि भनेर हालसम्मकै सर्वाधिक उच्च रकम अर्थात् १७ करोड अमेरिकी डलर सङ्कलन गरिसकेको छ । समारोहका लागि दस लाख डलर वा सोभन्दा बढी चन्दा दिने दाताहरू राष्ट्रपति तथा नवगठित मन्त्रीपरिषद्का सदस्यहरूसँगै चियापान तथा भोजमा सामेल हुने छन् तर पनि स्थानाभावका कारण सबै जनाले यो अवसर पाउँछन् भन्ने निश्चित भने छैन ।

    राष्ट्रपतिको शपथग्रहण भने जनवरी २० तारिख सोमबार १२ बजे हुने छ तर यसअघि नै शनिबार भर्जिनियास्थित गल्फ क्लबबाट यो समारोहको औपचारिक कार्यक्रम सुरु हुने बताइएको छ । विभिन्न समाचारपत्रले दिएको जानकारी अनुसार शनिबार मन्त्रीपरिषद्को रिसेप्सन, उपराष्ट्रपतिको रात्रिभोज र आतसबाजी हुने छ । त्यसै गरी आइतबार वीरगति प्राप्त सैनिकहरूको समाधिस्थल आर्लिङ्गट्रनमा गएर उनीहरूप्रति श्रद्धा र माल्यार्पण र राष्ट्रपति ट्रम्पले विजय जुलुस र रात्रिभोजमा सरिक हुने विशिष्ट महानुभावलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

    जनवरी २० तारिख बिहान राष्ट्रपति ट्रम्प सेन्ट्र जोन्स चर्चमा उपस्थित हुनेछन् । त्यसपछि वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच भेटघाट र सत्ता हस्तान्तरण हुने छ र १२ बजे ट्रम्पको शपथग्रहण हुने छ । त्यसपछि ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्नेछन् । त्यसपछि ह्वाइट हाउसबाट राष्ट्रपति वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको बिदाइ हुने छ ।

    त्यसपछि राष्ट्रपति ट्रम्पले राष्ट्र«पतिको कार्यकक्षमा राष्ट्रपतिको हैसियतले केही नियुक्ति, सीमा र अध्यागमनलाई सम्बोधन गर्न कार्यकारी शक्ति प्रयोग गर्ने भन्नेबारे केही कार्यकारी आदेश र केही महत्वपूर्ण कागजातमा हस्ताक्षर हुने जनाइएको छ । समाचारपत्रहरूका अनुसार ट्रम्पले सोही दिन २५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन् । ट्रम्पले टाइटल ४२ को पुनस्र्थापना र अध्यागमन र राष्ट्रियता ऐन २८७ जीको प्रयोग गर्न सक्नेसमेत जनाइएको छ ।

    सोही दिन दुवै सदनले संयुक्त रूपमा आयोजना गर्ने दिवा भोजमा राष्ट्रपतिलगायत विशिष्ट पदाधिकारी उपस्थित हुनेछन् । त्यसपछि ट्रम्पले राष्ट्रपति भवननजिकै पेन्सिल्भेनिया एभेन्युमा आयोजना हुने सैनिक कवाज र राष्ट्रपतीय परेडको अवलोकन गर्नेछन् । सोही दिन ओभल अफिसमा हस्ताक्षर समारोह हुने छ ।

    सोही दिन अतिथि, विशिष्ट अतिथि, मन्त्रीपरिषद्का सदस्य, पाहुना, चन्दादातालगायत पूर्वराष्ट्रपतिहरू एवं समाजका लब्ध प्रतिष्ठित व्यक्ति सम्मिलित तीन वटा भोज आयोजना हुने छ । सो भोजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको नाचगान, मनोरञ्जनलगायतका विभिन्न कार्यक्रम आयोजना हुने छ । शपथग्रहणको अन्तिम दिन मङ्गलबार राष्ट्रिय प्रार्थना सभा सँगसँगै कार्यक्रम अन्त्य हुने छ ।

  • अमेरिकी राष्ट्रपतिका रुपमा चीन भ्रमण गर्न ट्रम्प इच्छुक

    अमेरिकी राष्ट्रपतिका रुपमा चीन भ्रमण गर्न ट्रम्प इच्छुक

    काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न इच्छुक रहेको आफ्ना सल्लाहकारहरुलाई बताएका छन् । ट्रम्पले आफ्नो कार्यकालको पहिलो १०० दिनमा चीन भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । तर यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्रोतलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलको समाचारमा उल्लेख छ ।

    ट्रम्पले सोमबार दोस्रो कार्यकालका लागि शपथ लिनेछन् । उनले पहिलो चार वर्षे कार्यकालको एक वर्ष नपुग्दै सन् २०१७ मा बेइजिङको भ्रमण गरेका थिए । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधि उपराष्ट्रपति हान झेङ जनवरी २० मा वासिङ्टन डीसीमा हुने ट्रम्पको उद्घाटन समारोहमा सहभागी हुने घोषणा गरेका छन् । शुक्रबार सीले ट्रम्पसँग फोनवार्ता गरेका थिए ।

  • खोखो विश्वकपमा नेपाल उपविजेता, रच्यो इतिहास

    खोखो विश्वकपमा नेपाल उपविजेता, रच्यो इतिहास

    काठमाडौं । नयाँ दिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपाली महिला टिमले नयाँ इतिहास बनेको छ । नेपाल विश्वकपको उपविजेता बनेको छ । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । भारतले ७८–४० स्कोरमा खेल जित्दै पहिलो खो खो विश्वकपको उपाधि जितेको छ । भारतले एट्याकिङमा भरपुर अंक बटुलेको थियो । सरस्वती कडायतको कप्तानीमा उत्रेको नेपाली टिम अपराजित रहँदै फाइनल पुगेको थियो । खो खोको महारथी भारतले आफ्नो प्रभुत्व कायम राख्दै उपाधि जित्यो ।

    यो फाइनल पनि नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनल पुनरावृत्ति भएको छ । भारतले १७–५ स्कोरले नेपाललाई हराएर सागको स्वर्ण जितेको थियो । यद्यपि कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो अवसर हो । पुरुषतर्फ पनि नेपालले उपाधिका लागि आयोजक भारतसँगै अहिले केहीबेरमा प्रतिस्पर्धा गर्नेछ ।

  • हमासले पहिलो चरणमा ३३ बन्धक रिहा गर्दै, विपिनको नाम परेन

    हमासले पहिलो चरणमा ३३ बन्धक रिहा गर्दै, विपिनको नाम परेन

    काठमाडौं । इजरायलसँगको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमास नियन्त्रणबाट मुक्त हुने ३३ बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम अटाएको छैन । सम्झौताअनुसार नै आइतबार तीन महिला बन्धक रिहा गर्ने हमासको घोषणासँगै युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । सो सम्झौताअन्तर्गत पहिलो चरणमा इजरायलले तत्काल रिहा गर्नुपर्ने ३३ जनाको सूची हमासलाई बुझाएको थियो भने हमासले रिहाइको प्रतिबद्धता जनाएको थियो

    । पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो । आइतबार बिहान ६ बजेबाट युद्धविराम सम्झौता कार्यान्वयनमा जाने भनिए पनि हमासको तर्फबाट रिहा गरिने बन्धकहरूको नाम उपलब्ध गराउन ढिलाइ भएपछि इजरायलले गाजामा आक्रमण गरेको थियो ।

    त्यसको केहीपछि हमासले तीन बन्धक रिहा गर्न लागेको सार्वजनिक गर्‍यो भने इजरायलले पनि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको घोषणा गर्‍यो ।
    युद्धविरामको पहिलो चरणअन्तर्गत आगामी ६ साताको अवधिमा हमासले ती ३३ बन्दीको रिहाइ गर्ने जनाएको छ । तर, त्यो सूचीमा नेपाली नागरिक विपिनको नाम समावेश गरिएको छैन ।

    अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ । बीबीसीका अनुसार ३३ जनाको सूचीमा नौ महिनाका कफिर विवासदेखि ८६ वर्षका शलोमो मन्जरसम्मको नाम छ । बन्धक बन्दा नौ महिनाका कफिरले कैदमै दोस्रो जन्मदिनसमेत मनाइसकेका छन् ।

  • यस्तो छ ६ महिनाको आर्थिक सूचक, निर्यात उत्साहजनक

    यस्तो छ ६ महिनाको आर्थिक सूचक, निर्यात उत्साहजनक

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक सार्वजनकि गरेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७.२ प्रशितले घटेको थियो । मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।

    त्यसैगरी पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । यो ७.१ प्रतिशतले बढेको हो । गत आव पहिलो ६ महिनामा भने ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो । चालु आव पहिलो ६ महिनामा आयात–निर्यात अनुपात ८.३ः१ रहेको छ । गत आव सोही अवधिमा १०.२ः१ थियो । अर्थ मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा भने ८.२ प्रतिशतमात्र बढेको थियो ।

    त्यसैगरी पहिलो ६ महिनामा सरकारको खर्च ७.८ प्रतिशतले बढेको छ । गत आव सोही अवधिमा १.७ प्रतिशतले घटेको थियो । वित्तीय संस्थामा निक्षेप संकलन २ खर्ब ११ अर्बले बढेको छ भने निक्षेप संकलन ३.३ प्रतिशतले सुधार भएको छ । कर्जा प्रवाह पनि ४.४१ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ । यो कुल व्ययको ३६.५ प्रतिशत हो ।

    त्यस्तै कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड पूँजीगत खर्चमध्ये ६ महिनामा ५६ अर्ब ९४ करोड खर्च भएको छ । यो वार्षिक विनियोजनको तुलनामा १६.२ प्रतिशत खर्च हो । यसैगरी वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये पुस मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यो वार्षिक विनियोजनाको तुलनामा ४३.२ प्रतिशत खर्च हो ।

    अर्थका अनुसार चालु आव पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण भएको छ । यो भनेको वार्षिक विनियोजनको तुलनामा ४५.४ प्रतिशत बराबर हस्तान्तरण हो । त्यस्तै राजस्व बाँडफाँटतर्फ ५१ अर्ब ७४ करोड हस्तान्तरण भएको छ । वार्षिक विनियोजन भने १ खर्ब ५९ अर्ब बराबर थियो । यो ३२.५ प्रतिशत हस्तान्तरण हो ।

  • बामदेव गौतम एमालेमा जाने तयारीमा

    बामदेव गौतम एमालेमा जाने तयारीमा

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) मै फर्किने तयारी गरेको पाइएको छ । उनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । संवाद सकारात्मक भएको समेत बताइएको छ । उनी २०७८ सालमा एमाले परित्याग गरी नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका छन् ।

    प्रधानमन्त्री ओली र गौतम बीच आज पनि टेलिफोन संवाद भएको उनी निकट नेताले बताएका छन् । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा गौतम प्रभावशाली थिए। अहिले प्रधानमन्त्री रहेका अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अन्तरविरोध चुलिँदा नेता गौतम प्रचण्डतिर लागेका थिए।


    उनै गौतमले ओलीलाई एक व्यक्ति एक पदको मान्यताअनुरूप पार्टी अध्यक्षको पूर्ण भूमिका प्रचण्डलाई हस्तान्तरण गर्न स्थायी कमिटीमा फरक मत नै राखेका थिए। अध्यक्ष ओली प्रधानमन्त्री भएकाले सरकारतिरै उनको बढ्ता ध्यान हुनुपर्ने गौतमको मत थियो। तर नेकपा विभाजनका बेला प्रचण्डलाई साथ दिएनन्। पछि एमाले र माओवादी केन्द्र अलगअलग अस्तित्वमा फर्कंदा एमाले उपाध्यक्षबाट राजीनामा दिएर एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए ।

  • आइसिसी यू-१९ महिला टी–२० : पहिलो खेलमा नेपाल पराजित

    आइसिसी यू-१९ महिला टी–२० : पहिलो खेलमा नेपाल पराजित

    काठमाडौं । आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियसा मलेसियाको बांगीस्थित युकेएम क्रिकेट ओभलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो।
    त्यस क्रममा साडिया इस्लामले सर्वाधिक १६ रन बनाउँदा कप्तान सुमैया अख्तरले १२ रन बनाइन्।

    बलिङतर्फ रचना उपाध्याय, रिया शर्मा, सिमाना केसी र पुजा महतोले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८.२ ओभरमा अल आउट हुँदै ५२ रन बनाएको थियो। नेपालका लागि ओपनर साना प्रविनले बनाएको १६ रन सर्वाधिक रह्यो। उनले ३२ बल खेलिन्। त्यसपछि सिमाना केसीले १० रन बनाउनुबाहेक कसैले पनि दोहोर अंकमा स्कोर जोड्न सकेनन्।

    सावित्री धामी १ रनमा, कप्तान पुजा महतो २ रनमा, सोनी पाख्रिन शून्यमा, किरण कुँवर १ रनमा, अलिशा यादव ४ रनमा, तिर्सना विश्वकर्मा ३ रनमा, अनु कडायत शून्यमा, रचना चौधरी ३ रनमा आउट हुँदा रिया शर्मा ५ रन बनाएर नट आउट रहिन्।

    बलिङमा बंगलादेशकी जन्नतउल मौसाले २ विकेट लिइन्। निशिता अख्तर निशी, फहोमिदा चोया र अनिशा अख्तर सोबाले एक–एक विकेट लिए। नेपाली महिला टिमले पहिलो पटक विश्वकप खेलेको हो। समूह डी मा रहेको नेपाललाई सुपर-६ मा पुग्न कम्तिमा एक खेल जित्न आवश्यक रहन्छ। नेपालको समूहमा बंगलादेशसँगै स्कटल्याण्ड र अस्ट्रेलिया छन्। नेपालले सोमबार स्कटल्याण्डसँग र बुधबार अस्ट्रेलियासँग खेल्नेछ।