Category: फिचर

  • न्यायाधीश चढेको कार दुर्घटनामा

    न्यायाधीश चढेको कार दुर्घटनामा

    काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा मंगलबार सवारी दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित दुई जना घाइते भएका छन्। न्यायाधीश रेग्मी चढेको बिएबी ७१४६ नम्बरको कार मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    मदन भण्डारी राजमार्गमा पर्ने बराहक्षेत्र ३ को जंगलमा कार दुर्घटना भएको हो। ५४ वर्षीय न्यायाधीश रेग्मी र उनीसँगै कारमा सवार कृष्ण खनाल घाइते भएको र उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • पर्यटनमा मुन्दुम पदमार्गको प्रचुर सम्भावना

    पर्यटनमा मुन्दुम पदमार्गको प्रचुर सम्भावना

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त सम्भावना बोकेको बताएका छन् । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको ‘मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५’ उद्घाटन गर्दै मन्त्री पाण्डेले मुन्दुम पदमार्ग कोसी प्रदेश पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको बताए । ‘यो पदमार्गले किराँती र मुन्दुम संस्कृति संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारमा उल्लेख्य योगदान गर्छ,’ उनले भने, ‘यस पदमार्गको बीचमा थुप्रै पर्यटकीय र किराँती संस्कृतिसँग जोडिएका स्थान छन् । यसले यो पदमार्गको महत्त्व अझ बढाएको छ ।’

    झन्डै १ सय किलोमिटर दुरीको यो पदमार्गमा अधिकांश किराँत समुदायका बस्ती छन् । ‘मुन्दुम’ मा उल्लेखित किराँती जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएका स्थान भएकाले यो पदमार्गको नाम ‘मुन्दुम’ राखिएको हो । मुन्दुम पदमार्ग एक भए पनि संस्कृति र पर्यटनलाई सँगसँगै जोडेको मन्त्री पाण्डेले उल्लेख गरे । भोजपुर र खोटाङ सीमामा पर्ने ३ हजार १ सय ६५ मिटरको टेम्केडाँडा क्षेत्रबाट सुरु हुने पदमार्ग ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङ डाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पा पोखरीसम्म पुग्छ ।

    मौसम सफा भएका बेला पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से लगायत ८ हजार मिटरभन्दा अग्ला ६ हिमाल देख्न सकिन्छ । फरक प्रसंगमा पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि हवाई क्षेत्रको विकास पनि उत्तिकै आवश्यक रहेको बताए । नेपालको आवश्यकता अनुसार जहाज नभएकाले जहाज संख्या थप गर्न र बन्द रहेका विमानस्थललाई पनि सञ्चालनमा ल्याउन आफूले प्रयास गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो ।

  • इजरायल र हमासबीच युद्धबिरामको तयारी, विपिनको रिहाईमा पहल

    इजरायल र हमासबीच युद्धबिरामको तयारी, विपिनको रिहाईमा पहल

    काठमाडौं । इजरायल र हमासबीच गाजा युद्धविरामसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेका बेला नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले कतारका विदेशराज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग टेलिफोन वार्ता गरेर हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको हुन् । इजरायल र हमासबीचको शान्तिवार्तामा कतार सरकारले मध्यस्थता गरिरहेको छ । र, विदेशराज्यमन्त्री अल–खुलाइफी एक प्रमुख वार्ताकार हुन् ।

    कतारी विदेशराज्यमन्त्रीसँगको टेलिफोन वार्ताबारे जानकारी दिँदै मन्त्री राणाले यथासक्य चाँडो विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरिएको जनाएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै परराष्ट्रमन्त्री डा। राणाले टेलिफोन वार्तामा अल खुलाइफीले हमासलाई युद्धविराममा ल्याई बन्दीहरूलाई रिहा गर्ने वातावरण बनाउन कतार सरकारले प्रयास गरिरहेको भन्दै छिट्टै सकारात्मक खबर आउने विश्वास दिलाएको उल्लेख गरेकी छन् ।

    समाचार संस्था बीबीसीका अनुसार गजा युद्धविरामको लागि काम गरिरहेका दुवैतर्फका वार्ताकारहरू मंगलबार राति कतारको दोहामा अन्तिम सम्झौताका लागि भेट्दैछन् । रोयटर्सका अनुसार अन्तिम चरणमा रहेको शान्तिवार्ताको प्रयास केही दिनभित्रै टुंगोमा पुग्ने अनुमान मध्यस्थकर्ताहरूले गरेका छन् ।

    यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत युद्धविराम सम्झौतालाई अन्तिम दिन आवश्यक तयारीका लागि आफ्नो प्रशासनसमेत सक्रिय रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग तथा सोमबार मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमद अल–थानीसँग कुराकानी गरेका थिए ।

  • चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौं । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय माडीको टोली घट्नास्थलतर्फ गएको उनले बताए ।

  • नुवाकोट, रसुवासहितका जिल्लामा आज गोरु जुधाइ महोत्सव

    नुवाकोट, रसुवासहितका जिल्लामा आज गोरु जुधाइ महोत्सव


    काठमाडौं । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ ।

    माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ ।

    जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार किसानले पालेकामध्येबाट जुधाइका तोकिएका मापदण्ड पूरा गरेका गोरु दर्ता भएका छन् । ‘विगत वर्षका तुलनामा जुधाइ प्रदर्शनीमा सहभागी गराउने गोरु दर्ताका लागि मापदण्डमा गरिएको कडाइले यो वर्ष सङ्ख्या कम भएको छ’, संयोजक श्रेष्ठले भने, ‘जुधाइमा सहभागी हुने गोरुको प्रस्तुति उत्कृष्ट र दर्शकलाई भरपू्र मनोरञ्जन दिन प्रदर्शनी केन्द्रित गर्ने लक्ष्य लिएका छौँ ।’

    ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित आयोजना गरिएको कार्यक्रममार्फत संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन केन्द्रित गरिँदै आएको संयोजक श्रेष्ठको भनाइ छ ।

    तारुकाको गोरु जुधाइको सुरुआत बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा १८८७ सालमा गोरु जुधाएर मनोरञ्जन दिएकाले सोहीको निरन्तरता भनिए पनि इतिहासमा उक्त तथ्य पुष्टि भएको पाइन्न ।

    यस्तै, माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीमा ११ हल गोरु दर्ता भएका छन् । गोरु जुधाउन किसानले पालेकामध्येबाट उत्कृष्ट ११र हल गोरु दर्ता गरेर गोरु जुधाइ प्रदर्शनी गर्न लागिएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ ।

    गोरु जुधाइ प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटका अनुसार गोरु जुधाइ प्रदर्शनीका लागि छनोट भएका गोरुको समूह विभाजन, गोरु जुधाइको नियम र आचारसंहिता, जुध्ने गोरुका धनीलाई दिइने पुरस्कार, चोटपटक तथा कुनै भवितव्य भएमा उपलब्ध गराइने क्षतिपूर्तिसहितको व्यवस्था गरिएको छ ।

    वेत्रावतीमा आयोजित गोरु जुधाइ प्रदर्शनी नेपाल र भोटबीच भएको युद्धअन्तर्गत १८४९ सालमा वेत्रावतीमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जित भएको उत्सवसँग जोडेर लिने गरिएको छ । यद्यपि उक्त तथ्यको पनि एकीन इतिहास कहीँ उल्लेख छैन ।

    माघे सङ्क्रान्ति मनाउने क्रममा आजै नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछाप, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, शिवपुरी गाउँपालिका–५ शेराबगरलगायत स्थानमा पनि गोरु जुधाइ प्रदर्शनी गरेर किसानले सङ्क्रान्ति पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् ।

    किसानले पालेका गोरुलाई एकअर्कासँग अर्थात् ‘वान भर्सेस वान’का आधारमा नछुट्टिएसम्म जुधाइने हुँदा त्यसको अवलोकनका लागि स्वेदश तथा विदेशी पर्यटकहरूको पनि ध्यान केन्द्रित गर्दै आएको छ ।

  • एसईई परिक्षाको तालिका सार्वजनिक

    एसईई परिक्षाको तालिका सार्वजनिक


    काठमाडौं । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ ।

    पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।
    दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ ।

    चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।

  • ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन-गत वर्षको तुलनामा ६३ अर्ब बढी

    ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन-गत वर्षको तुलनामा ६३ अर्ब बढी


    काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३  प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।
    चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४०  प्रतिशत हो ।

    चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो ।  पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भएको उल्लेख गर्दै लक्ष्य अनुरुप राजस्व संकलनमा केन्द्रित हुने बताए ।
    अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले गत असोजको बाढी पहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात प्रभावित, विद्युतीय सवारी साधनको आयात संख्या वृद्धि, दुरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात तथा मागमा कमी लगायतले असर पारेपनि चालु आर्थिक वर्षको ६ महिनामा उल्लेखनीय रुपमा राजस्व संकलन भएको बताए ।

  • अमेरिकामा घातक आगलागी, कम्तीमा २४ को मृत्यु

    अमेरिकामा घातक आगलागी, कम्तीमा २४ को मृत्यु

    काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको डढेलो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ 

    सबैभन्दा धेरै प्रभावित क्षेत्रको पहिलो नम्बरमा प्यालिसेड्स छ । प्यालिसेड्सको २३ एकडभन्दा बढी क्षेत्रमा आगो फैलिएको र जम्मा १४ प्रतिशत हिस्सामामात्र आगो नियन्त्रणमा सफलता मिलेको बीबीसीले जनाएको छ । आगो निभाउन पाँच हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।

    आगोबाट अति प्रभावित क्षेत्रको दोस्रो नम्बरमा इटन छ । यसको १४ हजार एकड क्षेत्रमा आगो फैलिएको छ र ३३ प्रतिशत हिस्सामा मात्र नियन्त्रणमा लिन सकिएको छ । यसको अर्थ ३३ प्रतिशत क्षेत्रमा आगो निभाइएको नभई आगो फैलिन नदिइएको हो ।

    मौसम विभागका वैज्ञानिक रिच थम्प्सनले सेन्टा आना हावाको वेगले आगो फैलिन मद्दत गरेको र यो तत्काल रोकिने अवस्था नरहेको बताएका छन् ।

  • जापानमा भूकम्प : सुनामीको चेतावनी जारी

    जापानमा भूकम्प : सुनामीको चेतावनी जारी

    काठमाडौं । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ ।

    युएसजिएसले आफ्नो अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ । तैपनि जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले एक्समा भनेको छ, “सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।” रासस, एएफपी

  • माइती नेपालको अक्षय कोषमा १ करोड दिने प्रधानमन्त्रीको घोषणा

    माइती नेपालको अक्षय कोषमा १ करोड दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा सोमबार स्थलगत अवलोकन गरेका छन् । उनले उक्त संस्थाको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गरे । चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरे । उहाँले नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकोमा सन्तोष व्यक्त गरे ।

    अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले संस्थामा महिलाको उद्धार गरी ल्याइएका महिलाका लागि सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुललगायत स्थल पुगेका थिए । प्रधानमन्त्री ओलीले माइती नेपालमा रहेका प्रभावित महिला, बालबालिका र विद्यार्थीसँग भेटसमेत गरेका थिए ।

  • रवि आज पनि न्यायिक हिरासतमा

    रवि आज पनि न्यायिक हिरासतमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाइएको छ। लामिछाने बयान सकिए पनि थुनछेक बहस नसकिएपछि अदालतले सोमबार उनलाई न्यायिक हिरासतमा पठाएको हो । आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस नसकिएपछि लामिछानेलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी हिरासतमा पठाएको थियो ।

    स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस जारी रहेकाले उनी हिरासतमै बस्नुपर्ने भएको हो । मंगलबार माघ १ गते माघीको सार्वजनिक बिदा भएकाले अदालत बन्द हुन्छ । अब लामिछाने बुधबार मात्र अदालतमा उपस्थित हुनेछन् ।

    लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीको हिरासतमा राखिएको छ । लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा मुद्दा दर्ता भएको छ। लामिछानेसहितका प्रतिवादीविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार दुई सय ७० रुपियाँ बिगो कायम गरिएको छ ।

  • निर्माणाधिन संसद भवन अवलोकनमा पुगे राष्ट्रपति

    निर्माणाधिन संसद भवन अवलोकनमा पुगे राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल उपस्थित थिए । राष्ट्रपति पौडेललाई अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराए ।

    सो क्रममा पौडेलले भवनसम्बन्धी विभिन्न जिज्ञासा राख्दै सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन दिए । सङ्घीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको भव्य संरचना निर्माण गरिएको छ । एक सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधि सभा र राष्ट्रिय सभा रहनेछ । सङ्घीय संसद् भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको छ ।

  • प्रचण्ड सुकुटे पुगे, सडक मर्मतमा तिव्रता दिन आग्रह

    प्रचण्ड सुकुटे पुगे, सडक मर्मतमा तिव्रता दिन आग्रह

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । उनले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गरेका हुन् ।

    उनले तत्काल सरकारले मर्मतमा मात्रै ध्यान दिँदा पनि आवागमन सहज हुने अवस्था रहेकाले तत्काल मर्मत कार्य अघि बढाएर पुनर्निर्माणलाई गति दिन आग्रह गरे । काठमाडौँ–सिन्धुपाल्चोक खण्डमा दुई वटा बेलीबृज बनाउने र पहिरो गएको खण्डमा राम्रोसँग मर्मत गर्ने हो भने आवागमन सहज हुने अवस्था रहेको उनले बताए ।

    यसपटकको बाढीपहिरोले काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको थियो। प्रकोप लगत्तै अध्यक्ष प्रचण्डले प्रभावितस्थलको निरीक्षण गर्नुका साथै प्रभावितस्थलमा उद्दार, राहत र पुनर्स्थापनामा नेता कार्यकर्ता परिचालन गरेर विपत व्यवस्थापनको पहल लिएका थिए ।

  • राष्ट्रपतिबाट जारी भए चार अध्यादेश, एक अध्यादेश रोके

    राष्ट्रपतिबाट जारी भए चार अध्यादेश, एक अध्यादेश रोके

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४ अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् ।

    सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन् ।

    भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिमा उक्त अध्यादेश जारी गरिएको विवरण उल्लेख छैन । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनकै क्रममा रहेको छ ।

  • बार्सिलोनाले जित्यो सुपर कप, रियलको पोष्टमा गोल वर्षा

    बार्सिलोनाले जित्यो सुपर कप, रियलको पोष्टमा गोल वर्षा

    काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि हात पारेको छ । गतराति रियल मड्रिडलाई हराउँदै बार्सिलोना सुपर कप च्याम्पियन बनेको हो। साउदी अरेबियाको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोलले हरायो । केलियन एम्बाप्पेले पाँच मिनेटमै उत्कृष्ट गोल गरेर टिमलाई सुरूवाती अग्रता दिलाए ।

    तर त्यसपछिको पहिलो हाफमा बार्सिलोनाले रियलविरूद्ध गोलवर्षा गर्‍यो। लामिन यामलले २२ मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसपछि ३६ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे। राफिन्हाले ३९ मिनेटमा गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा अलेजान्द्रो बाल्डेले गोल थपेपछि पहिलो हाफमा बार्सिलोनाले ४–१ गोलले अग्रता लिएको थियो।

    दोस्रो हाफको तेस्रो मिनेटमै राफिन्हाले गोल थपे। ५६ मिनेटमा गोलकिपर वज्शियक रातो कार्ड खाँदै बाहिरिएपछि भने बार्सिलोना १० खेलाडीमा समेटिएको थियो। त्यसको चार मिनेटमै रियलका रोद्रिगोले गोल गरे। यद्यपि त्यसपछि भने १० खेलाडीमा सिमित बार्सिलोनाविरूद्ध रियलले कुनै गोल गर्न नसक्दा बार्सिलोनाले उपाधि जितेको हो।

  • रविको थुनछेक बहस आजबाट

    रविको थुनछेक बहस आजबाट

    काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दा लड्न दिने भन्नेबारे सरकारपक्ष र विपक्षी वकिलहरूबीच बहस हुनेछ।

    आइतबार लामिछानेको बयान लम्बिएपछि थुनछेक बहस हुन सकेन। त्यसपछि न्यायाधीश अधिकारीले लामिछानेलाई प्रहरीको जिम्मा लगाएको थियो। उनी काठमाडौं प्रहरीको हिरासतमा छ। प्रहरीले नै उनलाई थुनछेक बहसमा अदालत उपस्थित गराउनेछ। आइतबार थुनछेक बहस नहुने भएपछि रवि लामिछाने र उनका वकिलहरूले प्रतिवादी आफै अदालतमा हाजिर हुन आएकाले परिवारको जिम्मा लगाउन माग गरेका थिए।

    न्यायाधीश अधिकारीले थुनछेक नभएका कारण मुद्दा हेर्दाहेर्दैमा परेको र हेर्दाहेर्दैमा परेका मुद्दाका प्रतिवादीलाई परिवारको जिम्मामा छाड्ने नजीर नरहेको बताउँदै लामिछानेलाई प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएका हुन्।

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ । लामिछाने र उनी र गोर्खा मिडियाका तत्कालीन सञ्चालक जिबी राईको हकमा पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ संयुक्त बिगो मागदाबी गरिएको छ। सोही मुद्दामा प्रतिवादी रहेका सुनिता नेवा र कमल लामा धरौटीमा रिहा भइसकेका छन्।

  • स्वस्थानी व्रत आजबाट आरम्भ

    स्वस्थानी व्रत आजबाट आरम्भ

    काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ । आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।

    माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौं भक्तजन आउने गर्छन् । स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चाको विषय बन्ने गर्छ । स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् ।

    यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन रु यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन रु भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।

  • कृषि मन्त्रीद्धारा पहिलो पटक सार्वजनिक भयो कृषि अनुदान लैजानेको नामसहितको विवरण

    कृषि मन्त्रीद्धारा पहिलो पटक सार्वजनिक भयो कृषि अनुदान लैजानेको नामसहितको विवरण

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पहिलो पटक कृषि अनुदान लैजानेहरुको नामसहितको विवरण सार्वजनिक गरेका छन् । यसअघि कृषि अनुदान लक्षित वर्गसम्म नपुगेको भन्दै आलोचना भइरहेको थियो । मन्त्रालयले पछिल्लो पाँच वर्षमा रु एक खर्ब सात अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको जानकारी गराएको छ ।

    आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्म मन्त्रालयबाट अनुदान लिने कृषि सहकारी, कृषि समूह तथा कृषि फार्महरूका नाम पनि सार्वजनिक गरेका हुन् । मन्त्री अधिकारीका अनुसार कृषि सहकारी समूहले रु २० अर्ब ३० करोड ३० लाख १४ हजार अनुदान लिएका छन् । यसरी राज्य कोषबाट दिइएको अनुदान दुरुपयोग गरेको भेटिए कारबाहीको दायरामा ल्याइने मन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।
    यस अवधिमा मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रकारका अनुदान प्रवाह भएका छन् । त्यसमध्ये प्रत्यक्षतर्फ यस मन्त्रालयअन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फार्मलाई रु २० अर्ब ३० करोड ३० लाख १४ हजार वितरण गरिएको छ ।

    अप्रत्यक्षतर्फ रासायनिक मलका लागि रु ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार अनुदान वितरण भएको मन्त्री अधिकारीले जानकारी दिए । उनले यसरी दिइएको अनुदानको प्रयोगबारे खोज्न र जान्न आमनागरिक र सञ्चारमाध्यमलाई आग्रह गरे ।

    “मन्त्रालयबाट वितरण गरिएको अनुदानको अवस्था के कस्तो छ भनेर अध्ययनका लागि हामीले समिति नै गठन गरेर काम सुरु गरिसकेका छौ”, मन्त्री अधिकारीले भने, “कृषि अनुदान लगेर दुरुपयोग गरिएको छभने कारबाही हुन्छ र हुनुपर्दछ । त्यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।”

    उनले लोकतान्त्रिक शासन व्यवस्था देश र जनताप्रति उत्तरदायी तथा जवाफदेही हुने भएकाले जनतालाई आशा जगाउने गरी काम गर्नुपर्नेमा जोड दिए । “पारदर्शिताले मात्र यो शासन व्यवस्था र सरकारप्रति जनताको विश्वास तथा भरोसा जागृत हुने भएकाले प्रदेश र स्थानीय सरकारलाई पनि कृषि अनुदान लिने सङ्-(संस्था, सहकारी र व्यक्तिको नाम सार्वजनिक गर्न अपिल गर्दछु”, कृषिमन्त्री अधिकारीले भने ।

    मन्त्रालयका कृषि विकास सचिव डा गोविन्दप्रसाद शर्मा, सहसचिवहरू हरिबहादुर केसी, डा मतिना वैद्य जोशीलगायतले अनुदानबापत वितरण गरिएको रकम दुरुपयोग गरिएको भेटिए कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता जनाए ।

  • कुलमानले सरकारलाई के दिए स्पष्टीकरण ?

    कुलमानले सरकारलाई के दिए स्पष्टीकरण ?

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नियुक्ति रद्द गर्ने विषय कानुनसम्मत नहुने बताएका छन् । उनले आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सोधेको स्पष्टीकरणमा यस्तो जवाफ पठाएका हुन् । मन्त्रालयले पुस २२ मा सोधेको स्पष्टीकरणको आइतबार जवाफ दिँदै घिसिङले आफ्नो नियुक्ति रद्द कानुनसम्मत नहुने तर्क गरेका छन् ।

    तपाईंको नियुक्तिपत्र रद्द किन नगर्ने ? भनी मन्त्रालयले सोधेको प्रश्नको जवाफमा घिसिङले भनेका छन्, ुकार्यसम्पादन विवरणमा तोकिएको लक्ष्यअनुरुप ९८.९९ प्रतिशत अंक प्राप्त हुने गरी नतिजा तथा कार्यप्रगति हासिल भएको अवस्थामा नियुक्तिपत्र रद्द गर्ने भन्ने विषय आफैंमा विधिसम्मत नहुने व्यहोरासमेत निवेदन गर्दछु ।’

    कार्यसम्पादन विवरण नभरेकै आधारमा नियुक्तिपत्र रद्द हुने कानुनी आधार नरहेको घिसिङको स्पष्टीकरण छ । कार्यसम्पादन विवरण मूलतः कार्यकारी निर्देशकको प्रोत्साहन भत्तासँग सम्बन्धित रहेको र सो विवरण बुझाउन नियमित तथा आकस्मिक कार्यभार एवं संस्थाको अति जरुरी कार्यको लागि खटिनु परेकोले केही समय लाग्न गई भाद्र मसान्तपश्चात् पेस भएको कारणले सो कार्यसम्पादन विवरण मूल्यांकन हुनै नसक्ने र सेवा अन्त्य गर्ने आधार हुन सक्दैन ।’

    घिसिङले आफ्नो कार्यअवधि ४ वर्षको भएको पनि मन्त्रालयलाई स्मरण गराएका छन् । मन्त्रिपरिषद्‌बाट नियुक्त आफूलाई अन्य निकायले नियुक्ति अन्त्य गर्ने अधिकार नराख्ने पनि घिसिङले लेखेका छन् ।

    नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८ साउन २५ को निर्णयबमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षको कार्य अवधिका लागि मेरो नियुक्ति भएकोमा संस्थागत हित र उल्लेख्य कार्य प्रगति भइरहेको अवस्था एवं माथि उल्लिखित तथ्य, आधार र विवेचना समेतका आधारमा तहाँको उक्त पत्रमा उल्लेख भएबमोजिम नियुक्ति अन्त्य गर्ने सम्बन्धी कुनै पनि कारबाही तथा निर्णय गर्ने अधिकार अन्यमा नरहेको व्यहोरा समेत अनुरोध छ,’घिसिङको जवाफ छ ।

  • रविलाई पुनः हिरासतमा लिइयो

    रविलाई पुनः हिरासतमा लिइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा लगिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको न्यायिक हिरासतमा लगिएको हो । काठमाडौं जिल्ला अदालतबाट उनलाई प्रहरीले लगेको हो । उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले जनाएको छ ।

    सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो । गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए । रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।

    उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै न्यायाधीश अधिकारीले प्रहरीकै जिम्मा लगाइदिएका हुन् । न्यौपानेका अनुसार भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।

  • नाइजेरियामा डाकाहरुको आक्रमणमा कम्तिमा २१ सरकारी लडाकु मारिए

    नाइजेरियामा डाकाहरुको आक्रमणमा कम्तिमा २१ सरकारी लडाकु मारिए

    काठमाडौं । नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा २१ जना सरकारी लडाकू मारिएका छन् । कात्सिना प्रहरीप्रवक्ता अबुबकर सादिक अलियुका अनुसार सफाना जिल्लाको बौरे गाउँमा एक मृत सहकर्मीको परिवारप्रति समवेदना व्यक्त गरी फर्कंदै गरेको सरकारलाई सहयोग गर्दै आएका लडाकूको एक टोलीमाथि डाकुहरूले गोली चलाएका थिए।

    “दुःखको कुरा, आक्रमणका कारण २१ जनाको मृत्यु भएको छ”, अलियुले भने, “प्रहरीले आक्रमणका दोषीलाई पक्राउ गर्न प्रयास गरिरहेको छ।”
    उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक कात्सिना राज्यमा डाकुहरूले गाउँहरूमा आक्रमण गर्ने, बासिन्दाहरूको हत्या गर्ने र अपहरण गर्ने साथै घरहरू जलाउने र लुट्ने गर्दै आएका छन् ।

    जाम्फारा, कात्सिना, काडुना र नाइजर राज्यको विशाल जङ्गलमा लुकीछिपी बस्दै आएको गिरोहले हालैका वर्षहरूमा विद्यालयबाट विद्यार्थीहरूको सामूहिक अपहरणका लागि कुख्याति कमाएका छन् । सन् २०२३ मा कात्सिना राज्यका गभर्नर डिक्को उमर रड्डाले ‘कात्सिना कम्युनिटी वाच कोर (केसीडब्ल्युसी)’ को स्थापना गरी सरकारलाई सघाउन करिब दुई हजार लडाकू भर्ती गरेका थिए ।

    rss

  • समुद्रमा शरणार्थी डुङ्गामै जन्मियो शिशु

    समुद्रमा शरणार्थी डुङ्गामै जन्मियो शिशु

    काठमाडौं । स्पेनको समुद्री उद्धार सेवाका अनुसार सोमबार अफ्रिकाबाट स्पेनतर्फ गइरहेको शरणार्थी डुङ्गामा एक बालिकाको जन्म भएको छ । स्पेनको क्यानरी टापुमा उद्धारकर्मीहरूले लान्जारोट टापुको नजिक ६० जना मानिससहितको डुङ्गा फेला पारेका थिए, जसमा १४ महिला र चार बालबालिका थिए। पछिल्लो समय अफ्रिकी मुलुकबाट यूरोप छिर्नेहरुको ठूलो ताँती देखिन्छ ।

  • वनमा वेथिति : ७ करोडको काठ कार्यालयमा कुहिँदै

    वनमा वेथिति : ७ करोडको काठ कार्यालयमा कुहिँदै

    काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ। लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय पाँचकन्याका प्रमुख महेशकुमार साहले जानकारी दिए। दुई दशकदेखिको काठ यहाँ रहेको छ । विशेषगरी मुद्दाको काठ वर्षौँदेखि थन्किएको छ।

    ‘ठेक्का नलाग्दा रु सात करोड बराबरको काठ त्यत्तिकै थन्किएर वन कार्यालयमै कुहिन थालेको छ,’ प्रमुख साहले भने। अहिले ‘ए ग्रेड’ को प्रतिक्युफिट काठ रु एक हजार दुई सय, ‘बी ग्रेड’को नौ सय र ‘सी ग्रेड’को छ सय ५० मा बिक्री हुँदैआएको छ। नेपाल वन पैदावर उद्योग व्यवसायी संघका अध्यक्ष डिकबहादुर भुजेलले झन्झटिला नीति–नियमका कारण काठ त्यसै खेर गइरहेको बताए। नेपाली काठ उत्पादन प्रशस्त भए पनि सरकारको नीति र कर्मचारीले नै विभिन्न झमेला गरिदिँदा काठ त्यत्तिकै खेर जाने गरेको उनको भनाइ छ।

    जिल्ला वन कार्यालयका अनुसार यहाँ आर्थिक वर्ष २०८०÷८१ मा ६४ हजार पाँच सय क्युफिट काठ थन्किएको छ । चालु आव २०८१र८२ को हालसम्ममा २५ हजार चार सय क्युफिट काठ नयाँ थपिएको छ। एक महिनाअघि वन कार्यालयले १६ हजार नौ सय क्युफिट काठ बोलपत्र प्रक्रियाबाट बिक्री गरेको छ भने हाल वन कार्यायलमा ७२ हजार नौ सय क्युफिट काठ घाटगद्दी गरिएको कार्यालयले जनाएको छ।


    जिल्ला वन कार्यालयका डिभिजन वन अधिकृत खुद्रिस मियाँले अदालती प्रक्रिया र केही झन्झटिलो कानुनी प्रक्रियाका कारण चाहेको समयमा काठ लिलामी गर्न नसकिएको बताए। उनले भने, ‘पाँच पटकसम्म ठेक्का रद्द भएको छ। दुई–तीन पटक ठेक्का लागेर पनि ठेकेदारले धरौटी नै छाडेर पनि काठ उठाएनन्।’

    बर्सेनि चाहिनेभन्दा तीन गुणा बढी काठ उत्पादन गर्न सकिन्छ। तर सरकारी नियम र कर्मचारीको बदमासीका कारण स्वदेशमै आवश्यक काठ आपूर्ति हुन नसकेको काठ व्यापारीको भनाइ छ। आफ्नो काठ जंगलमै कुहाएर बजारमा कृत्रिम अभाव खडा गर्दै विदेशबाट काठ आयात भइरहेको व्यवसायीको आरोप छ। विदेशी काठको आयात रोक्न स्वदेशमा उत्पादित काठको सदुपयोग र प्रयोग बढाउँदै जानुपर्ने व्यवसायीहरुको सुझाव छ।
    रासस

  • नागरिकता विधेयकमा के के व्यवस्था थपिए ?

    नागरिकता विधेयकमा के के व्यवस्था थपिए ?

    काठमाडौं । सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिएको छ । विधेयकमा विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको स्रोतले बताएको छ । नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्था थपिएका छन् ।

    स्रोतका अनुसार पहिलो, कुनै सन्तानको कुनै पनि किसिमको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर बाबु सम्पर्कमा छैन वा पहिचान भेटिएको छैन भने त्यसरी नागरिकता नपाएका सन्तानलाई बाबुको पहिचान नभएको मानेर नागरिकता दिनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

    त्यस्तै, आमा देशबाहिर गएका बखत जन्मेका बच्चाहरुलाई बाबुको पहिचान भए त्यसका आधारमा र पहिचान नभए पनि आमाको नामको नागरिकताका आधारमा नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसका साथै, बाबुको मृत्यु भएका कारण पहिचान भएको छैन भने त्यस्ता सन्तानलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकमा राखिएको छ ।

    यसअघि नाबालक परिचयपत्रलाई नागरिकता ऐनमा नराखिएकोमा त्यसलाई पनि ऐनमा समेटिने भएको छ । नागरिकता प्राप्त गर्ने उमेर नभएका बालबालिकालाई नाबालक परिचयपत्रका आधारमा राहदानीलगायत अन्य सुविधा राज्यले प्रदान गर्दै आएको छ । यसका साथै, एनआरएन नागरिकता प्राप्त गरेका व्यक्तिहरुलाई सामाजिक, सांस्कृतिक एवम् आर्थिक अधिकार दिने विषयलाई पनि ऐनमा स्पष्ट पारिएको छ ।

  • आज नेपालमा मौसम बदली, केही स्थानमा पानी पर्न सक्ने

    आज नेपालमा मौसम बदली, केही स्थानमा पानी पर्न सक्ने

    काठमाडौं । सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँहरुमा पनि हल्का पानी पर्ने पूर्वानुमान छ ।

    बाँकी भूभागमा आंशिकदेखि साधारणसभा बादल लागी एक–दुई स्थानमा मात्र छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिउँ र पानी पर्ने भएको बताइएको छ । यो प्रणालीको प्रभावले पुस २७ गते शनिबार रातिदेखि पश्चिम तिरबाट बादल लाग्न सुरु गरेको थियो । २७ गते राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँहरुमा हल्का हिउँ समेत परेको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पनि परेको छ ।

    त्यो बादल पुस २८ गते आइतबार पश्चिमतिरबाट पूर्वतिर फैलिँदै गएको छ । सोमबार दिउँसोसम्म पनि देशका पूर्वी र मध्य पहाडी भूभागमा बादल लागेर छिटपुट हिउँ र पानी पर्ने सम्भावना रहेको छ । सोमबार रातिबाट भने क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले तराई क्षेत्रमा लागेको हुस्सु कम भएको छ । केही दिन धेरै ठाउँमा बाक्लो देखिएको हुस्सु आज भने कम भएको छ । आइतबार तराईका थोरै भू–भागमा मात्रै हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिविरुद्ध किन तोक्यो साढे दुई करोड डलर टाउकाको मूल्य

    अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिविरुद्ध किन तोक्यो साढे दुई करोड डलर टाउकाको मूल्य

    काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई दुई करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । मदुरोले तेस्रो कार्यकालका लागि शपथ लिएकै दिन अमेरिकाले पुरस्कार घोषणा गरेको हो । मदुरोले हिजो आउँदो छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपति पदको सपथ लिनुभएको हो । गएको जुलाई २८ मा भएको चुनावको परिणाम छिमेकी देशहरू बाजिल र कोलम्बियासहित अमेरिका, बेलायत, यूरोपेली संघ लगायतका अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेका थिए ।

    अमेरिकाले सन् २०२० मा मदुरोमाथि लागेको लागूऔषध र भ्रष्टाचारको मुद्दाका कारण पक्राउ गर्न सघाउनेलाई पुरस्कार दिने घोषणा गरेको जनाएको छ । त्यसबेला अमेरिकाले मदुरो र उहाँको सरकारका वरिष्ठ अधिकारीहरूमाथि लागूऔषध र आतङ्कवादको आरोप लगाएको थियो । मदुरोले भने आफ्नो देशको आर्थिक सङ्कटको कारण अमेरिकी प्रतिबन्धहरू रहेको र अमेरिकी प्रतिबन्ध अवैध र साम्राज्यवादी भएको आरोपसमेत लगाउँदै आएका छन् । यसैबीच यूरोपेली संघले पनि विधिको शासन र प्रजातन्त्रको पुनर्बहालीमा प्रगति नभएको भन्दै भेनेजुएलामाथि प्रतिबन्ध बढाउने जनाएको छ ।

  • भीषण आगोको चपेटामा क्यालिफोर्निया, कम्तिमा ११ जनाको ज्यान गयो

    भीषण आगोको चपेटामा क्यालिफोर्निया, कम्तिमा ११ जनाको ज्यान गयो

    काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा ११ जना मानिसको भीषण डडेलोका कारण ज्यान गएको छ । भीषण डढेलोपछि लस एन्जलसका बासिन्दालाई धुवाँबाट जोगिन घरभित्रै बस्न भनिएको छ। डढेलोका कारण धुवाँ र खरानीले आकाश ढाकेर अत्यधिक वायुप्रदूषण बढेको छ । लस एन्जलस प्रशासनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ। स्थानीय जनस्वास्थ्य निकायले आगो र तीव्र बेगको हावाका कारण वायुको गुणस्तर निकै खराब भएको चेतावनी जारी गरेको छ। जसका कारण जनस्वास्थ्यमा तत्काल देखिने देखि र दिगो जोखिम हुनसक्ने चेतावनीमा उल्लेख छ।

    सहरमा परेको आगोले स्वास्थ्य संस्थाहरूमा समेत क्षति पुर्‍याएका कारण महत्त्वपूर्ण सेवा र स्रोत साधन अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्।
    प्रशासनले धुलो उडाउने कुनै पनि उपकरण प्रयोग नगर्न निर्देशन दिएको छ। अत्यधिक खरानी र धुवाँका कारण श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिममा रहेका मानिसहरू, बालबालिका र वृद्धवृद्धालाई समस्या हुनसक्ने भन्दै सजग गराइएको छ।

    प्रशासनले मानिसहरूलाई झ्याल र ढोका थुनेर घरभित्रै रहन प्रदूषित वायुलाई घरभित्र प्रवेश गर्न नदिन वातानुकूलनका लागि प्रयोग हुने एअर कन्डिसनर उपकरण प्रयोग गर्न भनेको छ। धुवाँ फैलिएका क्षेत्रमा घर बाहिर निस्कँदा मास्क लगाउन पनि प्रशासनले निर्देशन दिएको छ। यसअघि प्रशासनले लस एन्जलसका केही भागमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको थियो।

    मङ्गलवारदेखिको भीषण डढेलोका कारण सहरबाट अनिवार्य रूपमा बाहिरिनुपर्ने आदेशका कारण डेढ लाख भन्दा धेरै मानिसहरूले घर छाडेका छन्। सहरमा छ वटा मुख्य डढेलो सक्रिय रहेको अधिकारीहरूले बताएका छन्। ती सबै क्षेत्रका मानिसहरूलाई उद्धारका लागि निर्देशन दिइएको छ। प्रहरीले मानिसहरू नभएका घरहरूमा कुनै पनि किसिमको आपराधिक गतिविधि नगर्न चेतावनी दिएको छ।

    मानव रहित बस्तीहरूबाट कम्तीमा १२ जना सन्दिग्ध लुटेराहरूलाई पक्राउ गरिएको छ। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले केही अग्निनियन्त्रकले पानी अभाव झेलिररहेको अवस्थाको स्वतन्त्र समीक्षा गर्न आदेश दिएका छन्। विस्थापित कैयौँ मानिसहरूले घरमा अब फर्कनका लागि केही बाँकी नरहेको बताएका छन्। आपत्कालीन सेवाहरूले आगोका ज्वालासँग जुझ्ने काममा आफूहरूले प्रगति गरिरहेको बताएका छन्।

    केही ठाउँमा हावाको बेग सहज हुँदा आंशिक सफलता मिलेको उनीहरूले बताएका छन्। अधिकारीहरूले मानवीय क्षतिबाहेक १० हजार भन्दा धेरै घरहरू डढेलोबाट नष्ट भएको र थप ६० हजार जोखिममा रहेको बताएका छन्। प्रारम्भिक अनुमानहरूमा कुल क्षति १५० अर्ब अमेरिकी डलरभन्दा बढी हुनसक्ने बताइएको छ। लस एन्जलसमा एक लाखभन्दा धेरै घर तथा व्यवसायहरूमा बिजुली आपूर्ति टुटेको छ।

    लस एन्जलसका अधिकारीहरूले दोस्रो पटक भूलवश पठाइएको आपत्कालीन चेतावनी अलर्टका लागि क्षमा मागेका छन्। तर त्यस्ता अलर्ट बन्द गरेर भने नबस्न सजग गराएका छन्। राष्ट्रपति जो बाइडनले लस एन्जलसले आफूलाई युद्धभूमि सम्झाएको बताउँदै मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको बताए। उनले यस विपद्सँग जलवायु परिवर्तनका पक्ष जोडिएको बताए।

    राज्यका गभर्नर न्यूजमले राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पलाई क्षति प्रत्यक्ष हेर्नका लागि क्यालिफोर्निया आउन निम्त्याउँदै विपद्लाई राजनीतिकरण नगर्न आह्वान गरेका गरेका छन्। रिपब्लिकन दलबाट प्रतिनिधित्व गर्ने ट्रम्प क्यालिफोर्नियाका डेमोक्र्याटहरूले यस आपत्कालमा गरिरहेको कामलाई लिएर चर्को आलोचना गरिरहेका छन्। लस एन्जलस सहरका मेयरले त्यहाँका मानिसहरूलाई आफूहरूप्रति भरोसा राख्न आह्वान गरेका छन्। ब्रिटिश राजकुमार ह्यारी र उनकी पत्नी मेगन राहत केन्द्रमा पुगेर सुरुवाती उद्धारकर्ता र विस्थापित मानिसहरूलाई भेटेका छन्।
    बीबीसीको सहयोगमा

  • राप्रपाको जलपान, पुगे प्रधानमन्त्री

    राप्रपाको जलपान, पुगे प्रधानमन्त्री

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा जलपान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भएका छन् । कार्यक्रममा सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, परराष्ट्रमन्त्री आरजु राणा, नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सांसद र अन्य विभिन्न दलका नेताहरु सहभागी छन् ।

    सहभागीहरुले पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै जलपान कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री ओलीले पनि पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरे । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली आजै कमल थापा नेतृत्वको राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा पनि सहभागी भएका छन् । राप्रपा नेपालले बालुवाटारको एक ब्याङ्क्वेटमा जलपान आयोजना गरेको थियो ।

  • गैरआवासीय नेपालीले नेपालमा बस्न अब १० वर्ष सम्म नि:शूल्क भिसा पाउने

    गैरआवासीय नेपालीले नेपालमा बस्न अब १० वर्ष सम्म नि:शूल्क भिसा पाउने

    काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने भएका छन् । सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने गरी कानुन संशोधनको तयारी गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले गैरआवासी नेपालीहरूलाई लगानी सहजताका लागि आवश्यक कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद्बाट पारित भएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यस्तो कानुनी व्यवस्था कार्यान्वयनमा जानेछ । अध्यादेशमार्फत् सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने, विदेशी लगानीका रूपमा अनुमति लिनु नपर्ने व्यवस्था पनि गरेको छ ।

    नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको हो । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार तीनहजार भन्दा बढीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् ।

  • नेपाल–भारत संयुक्त व्यापार मञ्चको बैठक सम्पन्न, के भयो सहमति ?

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको बैठक सम्पन्न, के भयो सहमति ?

    काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा लगानी र व्यापारमा दुवै देशले एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ । बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरुले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए ।

    दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए । सो बैठक नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठककै अंगकै रुपमा आयोजना गरिएको थियो । बैठकमा व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकास लगायतका विषयहरुमा छलफल भएको थियो ।

    साथै सीमापार व्यापार तथा लगानी सहज बनाउँदै कृषि उत्पादनको कोटा हटाउने, उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यावसायीकरणका लागि सहकार्य गर्ने र डिजिटल प्रविधि एवम् स्टार्टअपमा सहयोगका लागि सहजीकरण गर्ने सहमति भएको बैठकमा सहभागीहरुले बताए । मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघि बढ्नुपर्ने बताए ।

    सो अवसरमा उनले गैर भन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्स ९बीआईएस० को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानका लागि सहजीकरण आवश्यक रहेको बताए । साथै नेपालका जलविद्युत तथा अन्य निमार्णजन्य विकासका लागि आवश्यक विस्फोटक पदार्थहरू सहज आपूर्ती तथा भैरहवा र पोखरा विमानस्थलसँग भारतका शहर जोड्नुपर्ने आवश्यकतामा जोड दिए ।

    यस्तै उनले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरू (मुम्बई) लगायत भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषयहरु उठान गरेका थिए । बैठकमा भएका सहमतीका विषयलाई नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्द बहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले हस्तान्तरण गरेका थिए ।

    मञ्चको बैठकपछि आयोजित ९जेबीएफ० सदस्य तथा दुवै देशका सरकारी निकायबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबीएफको मिटिङमा भएका सहमतीलाई दुवै पक्षले कार्यान्वयनमा लैजानु पर्ने बताए । उनँले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्याको समाधान सहज ढंगले हुने गरी काम गर्नुपर्ने धारणा समेत राखे ।

    उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत विषयहरुको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए । भारतका वाणिज्य सचिव सुनिल बर्थवालले जेबीएफमा उठेका एजेण्डा कार्यान्वयनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता जनाए । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहमति कार्यान्वयनका लागि दुवै पक्षले पहल गर्नुपर्ने धारणा राखे ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्दाहरुमा यो बैठक महत्वपूर्ण रहेको बताउँदै यहाँ उठेका विषयहरुमा सहजीकरणको लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धछा जनाए । सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल भारत बीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको र त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने बताइन् । यस्तै भारतीय पक्षबाट एन।सुनिल कुमारले नेपाल–भारत बीच सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकाले आउने दिनमा थप सहजता थपिने बताए ।