Category: फिचर

  • अमेरिकी राष्ट्रपतिका रुपमा चीन भ्रमण गर्न ट्रम्प इच्छुक

    अमेरिकी राष्ट्रपतिका रुपमा चीन भ्रमण गर्न ट्रम्प इच्छुक

    काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न इच्छुक रहेको आफ्ना सल्लाहकारहरुलाई बताएका छन् । ट्रम्पले आफ्नो कार्यकालको पहिलो १०० दिनमा चीन भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । तर यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्रोतलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलको समाचारमा उल्लेख छ ।

    ट्रम्पले सोमबार दोस्रो कार्यकालका लागि शपथ लिनेछन् । उनले पहिलो चार वर्षे कार्यकालको एक वर्ष नपुग्दै सन् २०१७ मा बेइजिङको भ्रमण गरेका थिए । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधि उपराष्ट्रपति हान झेङ जनवरी २० मा वासिङ्टन डीसीमा हुने ट्रम्पको उद्घाटन समारोहमा सहभागी हुने घोषणा गरेका छन् । शुक्रबार सीले ट्रम्पसँग फोनवार्ता गरेका थिए ।

  • खोखो विश्वकपमा नेपाल उपविजेता, रच्यो इतिहास

    खोखो विश्वकपमा नेपाल उपविजेता, रच्यो इतिहास

    काठमाडौं । नयाँ दिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपाली महिला टिमले नयाँ इतिहास बनेको छ । नेपाल विश्वकपको उपविजेता बनेको छ । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । भारतले ७८–४० स्कोरमा खेल जित्दै पहिलो खो खो विश्वकपको उपाधि जितेको छ । भारतले एट्याकिङमा भरपुर अंक बटुलेको थियो । सरस्वती कडायतको कप्तानीमा उत्रेको नेपाली टिम अपराजित रहँदै फाइनल पुगेको थियो । खो खोको महारथी भारतले आफ्नो प्रभुत्व कायम राख्दै उपाधि जित्यो ।

    यो फाइनल पनि नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनल पुनरावृत्ति भएको छ । भारतले १७–५ स्कोरले नेपाललाई हराएर सागको स्वर्ण जितेको थियो । यद्यपि कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो अवसर हो । पुरुषतर्फ पनि नेपालले उपाधिका लागि आयोजक भारतसँगै अहिले केहीबेरमा प्रतिस्पर्धा गर्नेछ ।

  • हमासले पहिलो चरणमा ३३ बन्धक रिहा गर्दै, विपिनको नाम परेन

    हमासले पहिलो चरणमा ३३ बन्धक रिहा गर्दै, विपिनको नाम परेन

    काठमाडौं । इजरायलसँगको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमास नियन्त्रणबाट मुक्त हुने ३३ बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम अटाएको छैन । सम्झौताअनुसार नै आइतबार तीन महिला बन्धक रिहा गर्ने हमासको घोषणासँगै युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । सो सम्झौताअन्तर्गत पहिलो चरणमा इजरायलले तत्काल रिहा गर्नुपर्ने ३३ जनाको सूची हमासलाई बुझाएको थियो भने हमासले रिहाइको प्रतिबद्धता जनाएको थियो

    । पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो । आइतबार बिहान ६ बजेबाट युद्धविराम सम्झौता कार्यान्वयनमा जाने भनिए पनि हमासको तर्फबाट रिहा गरिने बन्धकहरूको नाम उपलब्ध गराउन ढिलाइ भएपछि इजरायलले गाजामा आक्रमण गरेको थियो ।

    त्यसको केहीपछि हमासले तीन बन्धक रिहा गर्न लागेको सार्वजनिक गर्‍यो भने इजरायलले पनि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको घोषणा गर्‍यो ।
    युद्धविरामको पहिलो चरणअन्तर्गत आगामी ६ साताको अवधिमा हमासले ती ३३ बन्दीको रिहाइ गर्ने जनाएको छ । तर, त्यो सूचीमा नेपाली नागरिक विपिनको नाम समावेश गरिएको छैन ।

    अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ । बीबीसीका अनुसार ३३ जनाको सूचीमा नौ महिनाका कफिर विवासदेखि ८६ वर्षका शलोमो मन्जरसम्मको नाम छ । बन्धक बन्दा नौ महिनाका कफिरले कैदमै दोस्रो जन्मदिनसमेत मनाइसकेका छन् ।

  • यस्तो छ ६ महिनाको आर्थिक सूचक, निर्यात उत्साहजनक

    यस्तो छ ६ महिनाको आर्थिक सूचक, निर्यात उत्साहजनक

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक सार्वजनकि गरेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७.२ प्रशितले घटेको थियो । मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।

    त्यसैगरी पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । यो ७.१ प्रतिशतले बढेको हो । गत आव पहिलो ६ महिनामा भने ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो । चालु आव पहिलो ६ महिनामा आयात–निर्यात अनुपात ८.३ः१ रहेको छ । गत आव सोही अवधिमा १०.२ः१ थियो । अर्थ मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा भने ८.२ प्रतिशतमात्र बढेको थियो ।

    त्यसैगरी पहिलो ६ महिनामा सरकारको खर्च ७.८ प्रतिशतले बढेको छ । गत आव सोही अवधिमा १.७ प्रतिशतले घटेको थियो । वित्तीय संस्थामा निक्षेप संकलन २ खर्ब ११ अर्बले बढेको छ भने निक्षेप संकलन ३.३ प्रतिशतले सुधार भएको छ । कर्जा प्रवाह पनि ४.४१ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ । यो कुल व्ययको ३६.५ प्रतिशत हो ।

    त्यस्तै कुल विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड पूँजीगत खर्चमध्ये ६ महिनामा ५६ अर्ब ९४ करोड खर्च भएको छ । यो वार्षिक विनियोजनको तुलनामा १६.२ प्रतिशत खर्च हो । यसैगरी वित्तीय व्यवस्थातर्फ विनियोजित ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये पुस मसान्तसम्म १ खर्ब ५८ अर्ब ६६ करोड खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यो वार्षिक विनियोजनाको तुलनामा ४३.२ प्रतिशत खर्च हो ।

    अर्थका अनुसार चालु आव पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण भएको छ । यो भनेको वार्षिक विनियोजनको तुलनामा ४५.४ प्रतिशत बराबर हस्तान्तरण हो । त्यस्तै राजस्व बाँडफाँटतर्फ ५१ अर्ब ७४ करोड हस्तान्तरण भएको छ । वार्षिक विनियोजन भने १ खर्ब ५९ अर्ब बराबर थियो । यो ३२.५ प्रतिशत हस्तान्तरण हो ।

  • बामदेव गौतम एमालेमा जाने तयारीमा

    बामदेव गौतम एमालेमा जाने तयारीमा

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) मै फर्किने तयारी गरेको पाइएको छ । उनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । संवाद सकारात्मक भएको समेत बताइएको छ । उनी २०७८ सालमा एमाले परित्याग गरी नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका छन् ।

    प्रधानमन्त्री ओली र गौतम बीच आज पनि टेलिफोन संवाद भएको उनी निकट नेताले बताएका छन् । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा गौतम प्रभावशाली थिए। अहिले प्रधानमन्त्री रहेका अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अन्तरविरोध चुलिँदा नेता गौतम प्रचण्डतिर लागेका थिए।


    उनै गौतमले ओलीलाई एक व्यक्ति एक पदको मान्यताअनुरूप पार्टी अध्यक्षको पूर्ण भूमिका प्रचण्डलाई हस्तान्तरण गर्न स्थायी कमिटीमा फरक मत नै राखेका थिए। अध्यक्ष ओली प्रधानमन्त्री भएकाले सरकारतिरै उनको बढ्ता ध्यान हुनुपर्ने गौतमको मत थियो। तर नेकपा विभाजनका बेला प्रचण्डलाई साथ दिएनन्। पछि एमाले र माओवादी केन्द्र अलगअलग अस्तित्वमा फर्कंदा एमाले उपाध्यक्षबाट राजीनामा दिएर एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए ।

  • आइसिसी यू-१९ महिला टी–२० : पहिलो खेलमा नेपाल पराजित

    आइसिसी यू-१९ महिला टी–२० : पहिलो खेलमा नेपाल पराजित

    काठमाडौं । आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियसा मलेसियाको बांगीस्थित युकेएम क्रिकेट ओभलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो।
    त्यस क्रममा साडिया इस्लामले सर्वाधिक १६ रन बनाउँदा कप्तान सुमैया अख्तरले १२ रन बनाइन्।

    बलिङतर्फ रचना उपाध्याय, रिया शर्मा, सिमाना केसी र पुजा महतोले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८.२ ओभरमा अल आउट हुँदै ५२ रन बनाएको थियो। नेपालका लागि ओपनर साना प्रविनले बनाएको १६ रन सर्वाधिक रह्यो। उनले ३२ बल खेलिन्। त्यसपछि सिमाना केसीले १० रन बनाउनुबाहेक कसैले पनि दोहोर अंकमा स्कोर जोड्न सकेनन्।

    सावित्री धामी १ रनमा, कप्तान पुजा महतो २ रनमा, सोनी पाख्रिन शून्यमा, किरण कुँवर १ रनमा, अलिशा यादव ४ रनमा, तिर्सना विश्वकर्मा ३ रनमा, अनु कडायत शून्यमा, रचना चौधरी ३ रनमा आउट हुँदा रिया शर्मा ५ रन बनाएर नट आउट रहिन्।

    बलिङमा बंगलादेशकी जन्नतउल मौसाले २ विकेट लिइन्। निशिता अख्तर निशी, फहोमिदा चोया र अनिशा अख्तर सोबाले एक–एक विकेट लिए। नेपाली महिला टिमले पहिलो पटक विश्वकप खेलेको हो। समूह डी मा रहेको नेपाललाई सुपर-६ मा पुग्न कम्तिमा एक खेल जित्न आवश्यक रहन्छ। नेपालको समूहमा बंगलादेशसँगै स्कटल्याण्ड र अस्ट्रेलिया छन्। नेपालले सोमबार स्कटल्याण्डसँग र बुधबार अस्ट्रेलियासँग खेल्नेछ।

  • अर्जेण्टिनाको अग्लो हिमाल आरोहणमा जान लागेका पाण्डेलाई प्रधानमन्त्रीको बिदाई

    अर्जेण्टिनाको अग्लो हिमाल आरोहणमा जान लागेका पाण्डेलाई प्रधानमन्त्रीको बिदाई

    काठमाडौं । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्दैछन् । आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिइ नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना दिए । प्रधानमन्त्रीले समाजमा सकारात्मकता फैलाउने युवाहरुको सबै अभियानमा आफ्नो सधैं साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका लागि प्रस्थान गर्दैछन् ।

    सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान शुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका थिए । त्यसपछि सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गरेका थिए ।

    रामेछाप लिखु तामाकोशी ७, तिल्पुङ स्थायी घरभई हाल महालक्ष्मी नगरपालिका–२, ललितपुरमा बसोबास गरिरहेका पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाको आरोहण गरेयता निरन्तर हिमालहरू चढ्दै आएका छन् । अब नियमितरुपमा सबै महादेशका हिमालहरु चढ्दै जाने लक्ष्य रहेको बताउँदै आरोही पाण्डेले उनको यो अभियान हिमाल चढ्ने अभियान मात्रै नरहेको प्रतिक्रिया दिए । आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरुका बारेमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने गरेको उनले बताए ।

    जलवायु परिवर्तन निम्त्याउन हाम्रो नगण्य भूमिका भएपनि यसका कारणले हामीले विषम परिस्थितिको सामना गरिरहनु परेको हुँदा सबै ठूला र शक्तिशाली राष्ट्रहरुको चासोको विषय हुनुपर्ने उनले बताए । अन्य आरोहणमा जस्तै यस आरोहणमा पनि जलवायु परिवर्तनका विषयमा उक्त हिमाल रहेको देशमा छलफल गर्ने र परिवर्तनका असरलाई नजिकैबाट नियाली आफ्नो अनुभव सम्बन्धित तहसम्म लैजाने विचार रहेको उनले बताए ।

    लोकप्रिय खेल फुटबल मार्फत अर्जेन्टिना चिनेका धेरैजसो नेपाली मध्ये थोरैलाइ मात्र दक्षिण अमेरिकाको उच्च हिमशिखर अर्जेन्टिनामा छ भन्ने थाहा हुनसक्छ तरपनि आफनो आरोहण अभियानले नेपाली युवामाझ अर्जेन्टिनाका बारेमा जानकारी पुग्ने र अर्जेन्टिनामा पनि सुन्दर पर्वतीय देश नेपालको बारेमा थप परिचय स्थापित गर्न भूमिका खेल्ने विश्वास पाण्डेको छ ।

    सन् १९६२ मा दौत्य सम्बन्ध कायम भएका दुई देश नेपाल र अर्जेन्टिना बीच भौगोलिक दुरीकै कारण हुनुपर्छ, सामान्य व्यापारिक सम्बन्ध बाहेक विशेष आदानप्रदान भएको देखिंदैन । तरपनि एउटा नेपाली युवाले आफूबाट पृथ्वीको अर्को छेउमा रहेको देश अर्जेन्टिनामा भएको समग्र अमेरिकी महादेशकै उच्च हिमाल आरोहण गर्नुले दुई देशको दौत्य सम्बन्धका लागि पनि सेतुको काम गर्ने विश्वास उनले लिएका छन् ।

    समृद्ध रहिसकेको अर्जेन्टिनाले हालैका दिनमा आर्थिक र राजनीतिक उतारचढाव भोगिरहेको भएपनि लाखौं अर्जेन्टिनीहरु बिदामा विश्वका विभिन्न मुलुकको भ्रमणमा निस्कन्छन् । अर्जेन्टिनाबाट घुम्न निस्कने ठूलो संख्याको पर्यटकको उल्लेख्य हिस्सा भित्र्याउन सक्ने गरी नेपालको पर्यटनको प्रवर्द्धन र प्रचारप्रसारमा समेत आफ्नो अभियानले टेवा पुर्‍याउन सक्ने पाण्डे बताउँछन् ।

    हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको क्रममा सातै महादेशका अग्ला हिमालहरुमा फहराएको नेपालको झण्डा नेपाली भूमिमै फर्किएर सगरमाथामा पुनः फहराउने पाण्डेले बताए । पाण्डे पर्वतारोहणका अतिरिक्त अन्तर्राष्ट्रिय युवा अभियान स्काउट र रोटरी इन्टरनेशनलमा समेत आवद्ध छन् ।

    स्काउटका संस्थापकको नाउँमा नामाकरण गरिएको नेपालमा रहेको हिमाल बेडेन पावेल स्काउट पिक पनि उनले दुइपटक चढिसकेका छन् । स्काउट र रोटरी मार्फत पनि नेपालको पर्यटन प्रवर्द्धन गर्ने गरेको पर्वतारोही पाण्डे बताउँछन् । उनको अभियानमा मकालु आउटफिटले आवश्यक माउन्टेनियरिंग गियरहरु उपलब्ध गराएको छ भने अन्य व्यवसायिक तथा रणनीतिक साझेदारहरु जोडिने क्रम बढ्दै गएकोले आफ्नो अभियान छिटै सफल हुनेमा आरोही पाण्डे विश्वस्त छन ।

  • इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानेर हत्या

    इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानेर हत्या

    काठमाडौं । इरानको तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ । सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी दुई जनाको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ ।
    उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटनालगत्तै आत्महत्या गरेको बताइएको छ । सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको मृत्य भएको र अन्य एक न्यायाधीश घाइते भएको जनाएको छ ।

    मिजान अनलाइनका अनुसार मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह हुन् । उनीहरूले ‘राष्ट्रिय सुरक्षा, जासूसी र आतंकवादविरुद्धको अपराधसम्बन्धी’ मुद्दाहरू हेर्ने गरेको पनि बताएको छ । उनीहरूको हत्याको कारण तत्काल स्पष्ट नभएको मिजानले जनाएको छ । आक्रमणकारीको पहिचानबारे थप जानकारी नदिई सर्वोच्च अदालतमा कुनै पनि मुद्दामा आक्रमणकारीको संलग्नता नरहेको उल्लेख गरेको छ ।

    मिजानका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको अधिकारीले बताएका छन् । अमेरिकी अर्थ मन्त्रालयका अनुसार ६८ वर्षीय वरिष्ठ न्यायाधीश मोगिसेहलाई सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले ‘अनगिन्ती अनुचित मार्गहरूको निरीक्षण गरेको भनी प्रतिबन्ध लगाएको थियो । उक्त समयमा आरोपहरूमा प्रमाणको अभाव रहेको भन्दै इरानले आरोपका खण्डन गरेको थियो । मिजानका अनुसार ७१ वर्षीय रजिनीले इरानको न्यायपालिकामा धेरै महत्त्वपूर्ण पदहरू सम्हालिसकेका थिए । यसअघि सन् १९९८ मा आक्रमणकारीहरूले उनको गाडीमा म्याग्नेटिक बम राखी हत्या प्रयास गरेका थिए ।

    न्यायाधीशलाई लक्षित गरी हुने आक्रमण विरलै हुने भए तापनि इरानले पछिल्ला वर्षहरूमा उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी थुप्रै गोलीकाण्डहरू देखेको छ । गत अक्टोबरमा दक्षिणी शहर काजेरुनमा शुक्रबारको नमाजको नेतृत्व गरिरहेका एक शिया मुस्लिम उपदेशकको गोली हानी हत्या गरिएको थियो । सन् २०२३ को अप्रिलमा अब्बास अली सुलेमानी नाम गरेका एक शक्तिशाली धर्मगुरुको उत्तरी प्रान्त मजन्दरानको एक बैंकमा गोली हानी हत्या गरिएको थियो ।

    सन् २००५ को अगष्टमा तेहरानको एक व्यस्त व्यापारिक क्षेत्रको बीचमा दुई जना बन्दुकधारीले प्रसिद्ध इरानी न्यायाधीश हसन मोघदासको हत्या गरेका थिए । उनको हत्यामा दोषी ठहर भएका दुई जनालाई दुई वर्षपछि फाँसी दिएर सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको थियो । (रासस–एएफपी)

  • खो-खो विश्वकपमा नेपालको चामत्कारिक प्रदर्शन

    खो-खो विश्वकपमा नेपालको चामत्कारिक प्रदर्शन

    काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राखेकोछ । खोखो विश्वकपको महिलातर्फ टोली फाइनलमा पुगेको छ । नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेको हो । नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हरायो । नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ ।


    नेपालको कुनै पनि टोली कुनै पनि खेलको विश्वकपमा फाइनलमा पुगेको यो पहिलो पटक हो । नेपालको लागि कुनै पनि खेलको विश्वकप पुग्नु नै ठूलो विषय हुन्छ । त्यसमा पनि खो खो विश्वकप खेलेर अपराजित रहँदै फाइनल नै पुग्नु नेपाली खेलकुदकै ऐतिहासिक क्षण हो ।

    नेपालको महिला टोली अपराजित रहँदै फाईनल पुगेको हो । यसक्रममा नेपालले हालसम्म खेलेको सबै ६ खेल जित्यो । महिलातर्फ समूह सी मा रहेको नेपालले सबै चार खेल जित्दै समूह सी को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो ।

    नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो । त्यसैगरी क्‍वाटरफाइनलमा इरानलाई १०३–८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो । खो खो विश्वकपमै पुरुषतर्फ नेपालले आजै सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ ।

  • राष्ट्रपति बाइडेनले दिए २ हजार ५ सय बढीलाई क्षमादान

    राष्ट्रपति बाइडेनले दिए २ हजार ५ सय बढीलाई क्षमादान

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिंसात्मक लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार पाँच सय व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले शुक्रबार जनाएको छ । राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा भन्नुभएको छ, “जसको सजाय घटाइएको छ, उनीहरूले आज पाउनेभन्दा ‘असमान रूपमा लामो सजाय’ भोगिरहेका छन् ।”

    उनले यो कदमलाई ‘ऐतिहासिक गल्तीहरू सच्याउन, सजायमा हुने असमानता सच्याउन र योग्य व्यक्तिहरूलाई उनीहरूको परिवारमा फर्कने अवसर प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम’ बताए । राष्ट्रपति बाइडेनले भने, “यो कदमसँगै मैले अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिको तुलनामा धेरैलाई व्यक्तिगत क्षमादान र कम्युटेसन जारी गरेको छु र सोमबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि थप कम्युटेसन वा क्षमादान जारी गर्न सक्छु।” कानुनमा कम्युटेसन भनेको अपराधको लागि दोषी ठहरिएपछि दिइने कम दण्डको प्रतिस्थापन हो ।

    राष्ट्रपति बाइडेनले गत महिना करिब एक हजार पाँच सय व्यक्तिको सजाय घटाउने र अन्य ३९ जनालाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका थिए । गत डिसेम्बरमा माफी पाउनेमा बन्दुक र करसम्बन्धी अपराधमा दोषी ठहर भएपछि जेल सजाय सुनाइएका राष्ट्रपति बाइडेनका छोरा हन्टर पनि थिए । यसैबिच बाइडेनले केही सहयोगी र पूर्व अधिकारीहरूलाई पूर्ण माफी दिने वा नदिने भन्ने विषयमा बहस गरिरहेका छन्, किनकि ट्रम्पले यसअघि ‘प्रतिशोध’ को संज्ञा दिएका थिए । गत डिसेम्बरमा राष्ट्रपति बाइडेनले सङ्घीय मृत्युदण्डमा रहेका ४० मध्ये ३७ जना कैदीको मृत्युदण्डको सजाय घटाइएको थियो ।

    सन् २०१३ को बोस्टन म्याराथन बम वर्षकमध्ये एक, सन् २०१८ मा ११ जना यहूदी उपासकको हत्या गर्ने एक बन्दुकधारी र सन् २०१५ मा नौ जना अश्वेत चर्च गएको आरोपमा हत्या गर्ने श्वेत सर्वोच्चतावादीलाई यस सजाय छुटको निर्णयबाट हटाइएको थियो । रिपब्लिकन नेता ट्रम्पले बाइडेनको कार्यकालमा रोकिएका सङ्घीय मृत्युदण्ड पुनः सुरु गर्ने सङ्केत दिएका छन् ।

  • सरकारविरुद्ध विपक्षी दलको एक स्वर, के भने ?

    सरकारविरुद्ध विपक्षी दलको एक स्वर, के भने ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित ६ विपक्षी दलले संसद छलेर अध्यादेश ल्याउने सरकारको कदमलाई निरंकुश प्रवृत्तिको प्रदर्शनको संज्ञा दिएका छन्। संघीय संसद भवन परिसरमा शुक्रबार बसेको विपक्षी दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश ल्याउने सरकारको कदमबाट संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको उपहास भएको बताए।

    ‘संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयकहरू फिर्तासमेत नलिई सोही विषयमा गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत् जारी गर्ने सरकारको कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकारले खतरनाक, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्ति प्रदर्शन गरेको छ भन्ने हाम्रो ठहर छ,’ उनले भने।

    सरकारले हालै पाँच वटा अध्यादेश ल्याएको थियो। सरकार र सत्तारूढ गठबन्धनका दलहरूको निहित स्वार्थ पूर्ति गर्न संसद छलेर राष्ट्रको दूरगामी भविष्यमा गम्भीर असर पार्ने प्रकृतिका कानुन अध्यादेशमार्फत् ल्याएको भन्दै विपक्षी दलहरूले त्यसको निन्दा गरेका हुन्। साथै उनीहरूले आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको बताएका छन्।

    ‘सरकारले भ्रष्टाचार विरोधी अभियानलाई पूरै अवरूद्ध गरेको छ। भ्रष्टाचारीहरूलाई जोगाएको छ, भ्रष्टाचार बढाएको छ। विगतमा अघि बढाइएका गिरिबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइल बन्द हुन पुगेका छन्। सत्तारुढ दलका भ्रष्टाचारमा मुछिएका नेता तथा कार्यकर्तालाई यो वा त्यो बहानामा उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ,’ उनले भने। साथै सरकार विद्युत महसुलको बक्यौता नतिर्नेहरूका पक्षमा उभिएको उनको भनाइ छ।

    ‘नेपाल विद्युत प्राधिकरणमा चरम राजनीतिक हस्तक्षेप बढाइएको छ। भूमिहीन तथा सुकुम्बासी जनतालाई जग्गा उपलब्ध गराउने बहानामा भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले अध्यादेश जारी गरिएको छ,’ विपक्षी दलहरूले आरोप लगाउँदै भनेका छन्। विपक्षी दलहरूले देशमा महँगी र सार्वजनिक ऋण बढेको, सुधारोन्मुख अर्थतन्त्र झनै समस्यातर्फ उन्मुख भइरहेको र आर्थिक क्षेत्र चलायमान हुन नसक्दा आर्थिक परिसूचकहरू सकारात्मक हुन नसकेको बताएका छन्।

    उनीहरूले विश्वविद्यालय, संस्थानहरू र कर्मचारीतन्त्रमा चरम हस्तक्षेप, राजनीतिकरण भइरहेको तथा केही सीमित समूहको स्वार्थमा सरकारका संयन्त्रहरू परिचालित हुन पुगेको निष्कर्ष निकालेका छन्। ‘मिटरब्याज पीडितहरूका समस्या समाधानमा सरकारले कुनै काम गर्न सकेको छैन।

    गृह प्रशासन र महान्यायाधिवक्ताको कार्यालयमार्फत् कानुनी प्रक्रियामा दलीय छायाँ र विधिको चरम राजनीतिकरण गर्दै सहकारी ठगीमा आफू निकटलाई जोगाउने र विपक्षीहरुमाथि प्रतिशोधपूर्ण र पूर्वाग्रही तवरले अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढाइएको छ। सहकारी पीडितहरूलाई न्याय दिनुको साटो उल्टै थप पीडा दिने किसिमले सहकारी अध्यादेश जारी गरिएको छ,’ विपक्षी दलहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    सरकारले बहुमतको दम्भमा एकपछि अर्को जनविरोधी कार्य गरिरहेको र त्यसको जनस्तरबाटै विरोध हुन थालेपछि संसदमा प्रतिरक्षा गर्न नसकी अध्यादेशको भर पर्नुपर्ने अवस्था आएको विपक्षी दलहरूको आरोप छ। यसकारण पनि सत्तारूढ गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसकेको प्रष्ट हुने उनीहरूले बताएका छन्।

    मौजुदा संविधानले बहुदलीय प्रतिस्पर्धालाई लोकतन्त्रको एक महत्वपूर्ण अन्तरवस्तुका रूपमा आत्मसात गर्दै लोकतन्त्रमा जनमत नै सर्वोपरि हो भन्ने तथ्य स्थापित गरेको विपक्षी दलहरूले बताएका छन्। ‘थ्रेसहोल्ड’ या अन्य कुनै नाममा दुई दलीय तानाशाही लाद्ने परिकल्पना संविधानले नगरेको उनीहरूको भनाइ छ।

    ‘तर स्वेच्छाचारी र तानाशाही ढंगले सत्तामा टिकिराख्न र विपक्षी दलहरूलाई फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने पटक–पटकको कसरतले नेपाली जनताले विभिन्न संघर्षबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धि खोसिनेसम्मको परिस्थिति देखा परिरहेको छ। लोकतन्त्रको सुन्दरता नै फरक मत र विविधताको सम्मान हो। यो वा त्यो बहानामा निरङ्कुशता, स्वेच्छाचारिता र तानाशाही सिर्जना गर्ने सरकारका उपर्युक्त कदमको हामी विरोध गर्दछौं,’ विपक्षी दलले भनेका छन्।

    शान्ति प्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता नागरिकको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको प्रक्रिया अवरुद्ध पारिएको उनीहरूको आरोप छ। उक्त प्रक्रियालाई अबिलम्व अघि बढाई पीडितहरूलाई न्याय दिन पनि विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

    ‘यसका साथै, हामी सरकारलाई खराब नजीर बस्ने गरी बिना आधार संवैधानिक परिषदमा शक्ति सन्तुलन खल्बल्याउने दुष्प्रयास नगर्न समेत चेतावनी दिन चाहन्छौं। संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ। सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढंगले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।

    उनीहरूले संसदको मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग पनि गरेका छन्। ‘सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा संघर्षमा उत्रिने चेतावनी दिन चाहन्छौं,’ उनीहरूले भनेका छन्।

  • द्रुतमार्ग अवलोकनमा पुगे राष्ट्रपति

    द्रुतमार्ग अवलोकनमा पुगे राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको शुक्रबार अवलोकन गरेका छन् । अवलोकनको क्रममा राष्ट्रपति पौडेलले निर्माणाधीन फास्ट ट्र्याकको कामको प्रगतिबारे जानकारी लिएका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएका छन् ।

    मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र नै पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।

    काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

  • नेपाल भित्रै ठूला कारखाना खुल्ने क्रममा छन् : प्रधानमन्त्री

    नेपाल भित्रै ठूला कारखाना खुल्ने क्रममा छन् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशमा फलामखानी र मलकारखाना जस्ता ठूला उद्योगहरू खुल्ने क्रममा रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ऊर्जाले खपतका ठाउँहरू आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने उनको भनाइ छ ।

    ‘हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरू छन् । धौबादी फलामखानी र मल कारखाना खोल्दैछौं । दैलेखमा ग्यास उत्पादन हुँदैछ । ध्वस्त भएको उद्योगहरूले पुनर्जीवन पाउँदैछन् । ती सबैमा ऊर्जाका खपत हुनेछ,’ प्रधानमन्त्री ओलीले भने । ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको उनको भनाइ छ । यस क्षेत्रमा नयाँ(नयाँ सम्भावनाको खोजी गर्नुपर्ने भन्दै उनले भने, ‘देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको योगदानको उच्च मूल्यांकन र प्रशंसा गर्दछु । तपाईँहरू लगानी गर्नुस् ।’

    आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र सरकारले तयार गरिसकेको उनले बताए । प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्त्व दिइएको बताउँदै उनले व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरूलाई उत्पादकहरूले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे ।

  • पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइयो

    पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइयो

    काठमाडौं । पाकिस्तानको एक अदालतले सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय सुनाएको छ । यसैगरी उनकी पत्नी बुशरा बीबीलाई सात वर्ष जेल सजायँ सुनाइएको छ । उनीहरूले राज्यकोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    अल कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा न्यायाधीश नासिर जावेद राणाले इमरान खानलाई १४ र उनकी पत्नी बुशरालाई ७ वर्ष जेल सजायँको फैसला सुनाएको द डनको अनलाइन संस्करणले जनाएको छ । यो मुद्दाको सुनुवाइ यसअघि तीन पटकसम्म स्थगित हुँदै आएको थियो ।

    ट्रस्टको जग्गा हिनामिना आरोपमा खान ९ मेमा पक्राउ परेका थिए । उनी अदिआला जेलमा बन्द छन् । सजायँ सुनाउँदा उनीहरूलाई अदालत उपस्थित गराइएको थियो । त्यसपछि उनीहरूलाई पुनः जेलमा पठाइएको थियो ।

    यो मुद्दामा अदालतले खानलाई १० लाख र उनकी श्रीमतीलाई ५ लाख रुपैयाँ जरिवाना समेत सुनाएको छ । यदि यो रकम बुझाउन नसके उनीहरूले थप ६ महिना जेलमा बस्नु पर्ने छ । सरकारको आरोप अनुसार खान प्रधानमन्त्री बनेपछि जग्गा व्यवसायी रियाजलाई सम्पत्ती शुद्धीकरण मुद्दामा फसाइएको थियो । लण्डनबाट उनीबाट ४० अर्ब रुपैयाँ जफत गराइएको थियो ।

    यो रकम बेलायत सरकारले पाकिस्तान सरकारलाई दिलाएको थियो । तर इमरान खानले त्यसको जानकारी मन्त्रिपरिषदलाई नगराएको र इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)को खातामा गोप्य तरिकाले पठाएको आरोप छ ।

    त्यसपछि इमरान खानले अल कादिर ट्रस्ट बनाएका थिए । यसमार्फत् तालिम दिका लागि अल कादिर विश्वविद्यालय बनाइएको थियो । त्यसका लागि अरबौं मूल्य बराबरको जग्गा व्यवसायी रियाजले दिएको बताइएको छ । उनले इमरान पत्नी बुशरालाई हिराको औंठी पनि दिएका थिए । त्यसपछि रियाजविरुद्धका मुद्दा खारेज गरिदिएको आरोप इमरान माथि लगाइएको छ । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले भनेका छन्, ‘यसबाट सरकारी ढुकुटीमा ५० अर्ब रुपैयाँ नोक्सान भएको छ । चार वर्ष भइसक्दा पनि यो विश्वविद्यालयमा केबल ३२ विद्यार्थी छन् ।’

  • अमेरिकामा टिकटक बन्द गर्ने तयारी

    अमेरिकामा टिकटक बन्द गर्ने तयारी

    काठमाडौं । टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बन्द गर्ने तयारी गरेको छ । जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको रोयटर्सले जनाएको छ । योसँगै अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ताले एप चलाउन पाउने छैनन् । सोमबार ह्वाइट हाउस प्रवेशसँगै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्नुअघि नै अमेरिकामा टिकटक बन्द हुन लागेको हो । वासिङ्टन पोस्टका अनुसार ट्रम्पले भने टिकटकमाथि प्रतिबन्ध लगाउने मिति जनवरी १९ मा नभएर त्योभन्दा ६० देखि ९० दिन पर धकेल्ने गरी कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन् । तथापि, उनले कानुनी रूपमा कसरी त्यस्तो आदेश जारी गर्न सक्छन् भन्नेमा प्रश्न छ ।

    टिकटकको योजनाबारे जानकार स्रोतलाई उद्धृत गर्दै एनबीसी न्युजले पनि आइतबारबाटै कम्पनीले सञ्चालन रोक्ने तयारी गरेको जनाएको छ । राष्ट्रपति जो बाइडेनले गत अप्रिलमा हस्ताक्षर गरेको कानुनमा टिकटकको अमेरिकी सञ्चालन कम्पनीले कि त गैर चिनियाँ उद्यमीलाई बिक्री गर्नुपर्ने नभए प्रतिबन्ध लगाइने व्यवस्था छ । यसका लागि अमेरिकी सरकारले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई जनवरी १९ सम्मको समय सीमा दिएको थियो ।

    बाइटडान्सले भने सो कानुनले अभिव्यक्ति स्वतन्त्रता उल्लङ्घन गर्नुका साथै व्यवसायमा समान अवसर नदिएको लगायत आरोप लगाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । मुद्दाको सुनुवाइका क्रममा अमेरिकी प्रयोगकर्ताको डेटा सङ्कलन गरेर टिकटकले चिनियाँ सरकारलाई दिने अमेरिकी सरकारको आशङ्काप्रति न्यायाधीशहरूले बढी जोड दिएका थिए । यसले पनि प्रतिबन्ध लगाउन सक्ने कानुन उल्ट्याउने बाइटडान्सको चाहना पूरा नहुने सङ्केत देखिएको छ ।

  • बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, कस्तो छ स्वास्थ्य ?

    बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, कस्तो छ स्वास्थ्य ?

    काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई धारिलो हतियारले आक्रमण भएको बताइएको छ । उनको जिउको ६ ठाउँमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ ।

    खानको बान्द्रास्थित ’सतगुरु शरण’ भवनको १२ औँ तलामा रहेको निवासमा बिहान करिब २ः४५ बजेतिर एक घुसपैठिया र घरमा काम गर्ने एक महिलाबिच मुठभेड भएपछि छुट्याउने क्रममा चोट लागेको बताइएको छ । घटना बिहान करिब २ः४५ बजेतिर भएको थियो ।

    बलिउड अभिनेता खानको उपचारमा संलग्न लीलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था खतरामुक्त रहेको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ । उनको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन् ।”

    उनको परिवारका सबै सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । अभिनेता खानमाथि भएको आक्रमणको अनुसन्धान टोलीमा रहेका मुम्बई प्रहरीको ‘डीसीपी जोन ९’ दिक्षित गेदामले घटनाको अनुसन्धान भइरहेको बताए ।

  • उत्तरी म्यानमारमा खानीमा गयो पहिरो, कम्तिमा ३२ जनाको मृत्यु

    उत्तरी म्यानमारमा खानीमा गयो पहिरो, कम्तिमा ३२ जनाको मृत्यु

    काठमाडौं । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी गराएको थियो ।

    स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले बिहीबार भने, “खानीमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।” उनले भने, “तीन दिनको खोजी प्रयासपछि ३१ जनाको मृत शरीर खानीबाट निकालिएको छ र दुर्घटनाको पहिलो दिन घाइते अवस्थामा उद्धार गरिएका एक जनाको अस्पतालमा मृत्यु भएको थियो।” केही व्यक्ति अझै बेपत्ता रहेका तर उनीहरूका जीवित उद्धार हुने आशा हराएको स्थानीय अधिकारीलाई उद्धृत गरी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रासस,सिन्ह्वा

  • १५ महिनामा ४६ हजार मानिस मारिए, अनि भयो हमास-इजरायल युद्धबिराम

    १५ महिनामा ४६ हजार मानिस मारिए, अनि भयो हमास-इजरायल युद्धबिराम

    काठमाडौं । १५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ । पहिलो चरणमा सुरुमा केही इजरेली बन्धकहरुलाई छाडिने छ ।

    त्यसपछि इजरायलले प्यालेस्टिनी बन्धकहरुलाई छाड्ने छ । इजरेली सेना पनि युद्ध क्षेत्रबाट फिर्ता हुने छ । यसबीचमा युद्धविराम कार्यान्वयनका लागि वार्ता पनि जारी रहने छ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीका केही सदस्य र वामपन्थी नेताहरु युद्धविरामको विपक्षमा उभिएका वेला भएको यो सम्झौताको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित कतार, इजिप्ट लगायत देशले युद्धविरामको स्वागत गरेका छन् ।

    यो सम्झौताले लाखौं विस्थापित गाजावासीहरूलाई घर फर्कन अनुमति दिने छ भने बन्धकहरू रिहाइको सुनिश्चितता गर्नेछ । इजरायल र हमासबीच ७ अक्टुबर २०२३ मा युद्ध सुरु भएको थियो । हमास लडाकुहरु प्यालेस्टिनी भूमिको गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी आक्रमण गरेर १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको ज्यान लिएका थिए ।

    नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक पनि बनाएर लगेका थिए । त्यसपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । इजरायलले हवाई र स्थल दुवैतर्फबाट कारबाही गर्दा ४६ हजार जनाको मृत्यु भएको छ ।

  • दिदिको अश्लिल भिडियो बहिनीलाई पठाउने एक जना पक्राउ

    दिदिको अश्लिल भिडियो बहिनीलाई पठाउने एक जना पक्राउ

    काठमाडौं । सहमति बिना अश्लील भिडियो खिचेर पीडितको बहिनीलाई पठाएको आरोपमा एक जना ३१ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पीडित महिलाले दिएको उजुरीको आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–५ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सरोज कटुवाल रहेका छन् । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा गत पुस २९ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको छ । पीडित महिलाको उजुरीको आधारमा उनीविरुद्ध थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

  • बूढानिलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु

    बूढानिलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जना श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ घर भई काठमाडौंको पेप्सिकोलामा बस्ने २७ वर्षीय रोशन माझी रहेका छन् ।

    बूढानीलकण्ठ नगरपालिका-१३ बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधी नि:शूल्क दिने

    सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधी नि:शूल्क दिने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ । अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट हरेक वर्ष झण्डै आठ सयजनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ ।

    ‘उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गइरहेको पायौं,’ पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, ‘त्यसैले जीवनरक्षाका लागि सरकारले नै औषधी प्रदान गर्ने व्यवस्था मिलाउन लागेका हौँ ।’ रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

    थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने चिकित्सकहरूले बताउने गरेका छन् । यो औषधीको एउटा मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । र, सहजै उपलब्ध नहुने भएकाले पनि धेरैको ज्यान गइरहेको छ ।

    अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।

    मन्त्रालयले औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधी र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरूमा लागू हुने छ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण भएको न्यूरो चिकित्सक डा। राजु पौडेलले बताए ।

  • काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला

    काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला

    काठमाडौं । काठमाडौं गोकर्णेश्‍वरमा एक जना पुरुष मृत फेला परेका छन् । गोकर्णेश्‍वर नगरपालिका(५ जम्बुडाँडास्थित सडकपेटीमा पहिचान खुल्न नस्केका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • एनआरएनएको एक समूहले गर्यो भिसा व्यवस्थाको विरोध

    एनआरएनएको एक समूहले गर्यो भिसा व्यवस्थाको विरोध

    काठमाडौं । गैर आवासीय संघको आरके शर्मा समूहले सरकारले गैर आवासीय नेपालीलाई १० वर्षे निःशुल्क भिसा प्रदान गर्ने व्यवस्था संविधान विपरित हुने बताएको छ । एनआरएनएको एउटा समूहको अध्यक्ष रहेका शर्मा र महासचिव बुद्धिसागर सुवेदीले विज्ञप्ति निकालेर अध्यादेशमा उल्लेखित १० वर्षे भिसाको व्यवस्थाले मूल कानुन कानुनसँग मेल नखाने बताएका हुन्। ‘

    अध्यादेशले गैरआवासीय नेपाली नागरिकताधारीले नेपालमा कम्पनी स्थापना गर्न र विदेशी लगानीका रूपमा अनुमति नलिई आर्थिक गतिविधि सञ्चालन गर्न सक्ने प्रावधानसमेत गरेको छ । लगानीसम्बन्धी यो व्यवस्थालाई सकारात्मक रूपमा लिइए तापनि १० वर्षे भिसाको प्रावधानले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई चिन्तित बनाएको छ,’ शर्मा र सुवेदीले निकालेको विज्ञप्तिमा भनिएको छ ।

    संविधानको धारा १४ ले गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकारबाहेक अन्य सम्पूर्ण अधिकार सुनिश्चित गरेको ध्यानाकर्षण गराइएको छ। ‘मूल कानुनसँग असंगत हुने गरी कुनै कानुनी प्रावधान वा अध्यादेश ल्याइनेमा हामीलाई विश्वास छैन। सरकार संविधानको मर्मलाई बेवास्ता गरेर अघि बढ्छ भन्ने हामीलाई लाग्दैन । बरु हामीलाई विश्वास छ कि हालको बहुमतप्राप्त सरकारले नागरिकताको निरन्तरताका लागि आवश्यक पहल गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

    गैरआवासीय नेपालीहरूले नेपालको जीडीपीमा झन्डै ३० प्रतिशत योगदान दिएको विज्ञप्तिमा दाबी गरिएको छ । गैरआवासीय नेपालीहरूले नेपालमा जोडेको सम्पत्ति र पुख्यौली सम्पत्तिको भविष्यबारे देखिएको अन्योललाई चिर्न सरकारको सहजीकरण आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

  • रास्वपा सभापति लामिछाने काठमाडौं अदालतबाट रिहा

    रास्वपा सभापति लामिछाने काठमाडौं अदालतबाट रिहा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत् रविले धरौटी रकम बुझाएका हुन् ।

    उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।

    जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । तर, कास्कीमा पनि उनी धरौटी बुझाएपछि छुटेर आफैं अदालतमा हाजिर भएको हुँदा काठमाडौंमा पनि त्यही नीति अपनाइएको एक प्रहरी अधिकृतले बताए ।

  • काठमाडौं जिल्ला अदालतमा रविले के दिए बयान ?

    काठमाडौं जिल्ला अदालतमा रविले के दिए बयान ?

    काठमाडौं । काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेले बयानका क्रममा सहकारीको रकम गोर्खा मिडियामा ल्याउने प्रक्रियामा आफ्नो कुनै संग्लनता नरहेको दोहोर्‍याएका छन् । उनले भनेका छन्, ‘मिसिल संग्लन मलाई देखाइएको निवेदनको छायाँकपीमा भएको हस्ताक्षर र औंठाछाप मेरो हो । तर कम्पनीमा जोडिँदा र कम्पनी छोड्दा मैले शेयर बापतको पैसा लगानी गरेको पनि होइन र लिएर गएको पनि होइन ।’

    उनले बयानमा गोर्खा मिडिया नेटवर्कका लगानीकर्ता गितेन्द्रबाबु राई भएको बताउँदै लगानीकर्ताको निर्देशनबिना उल्लिखित प्रक्रियाबिना आफूले कम्पनीको चेक जारी गर्न नसक्ने अवस्थाबारे बताएका छन् । बयानमा उनले भनेका छन्, ‘छविलाल जोशी अधिकांश समय विदेश गएका थिए र गितेन्द्रबाबु राई अत्यन्तै व्यस्त थिए । म मात्र लेखाका कर्मचारीहरुले खोज्दा स्टेशनमा रहेको हुँदा मेरो हस्ताक्षर लिन उनीहरुलाई सहजता थियो,’ बयानमा रविले थपेका छन, ‘आफूमात्रै कार्यालयमा भएका कारण सहजकर्ताका रुपमा मात्रै मैले चेकहरु हस्ताक्षर गरेको हुँ ।’


    उनले बयानमा आफ्नो कार्यकालमा गितेन्द्रबाबु राईबाट लगभग २२ करोड ऋण आएको बताउँदै भनेका छन, ‘आफूले लिएको ऋण उनले को को बाट लिए र कहाँ कहाँबाट लिए त्यो मेरो जानकारीको विषय होइन ।’ उनले लेखासम्बन्धी कार्यको पूर्ण नियन्त्रण कार्यकारी अध्यक्ष गितेन्द्रको हुने भएकाले त्यसमा आफूले केही सोच्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले भनेका छन्, ‘प्राविधिक रुपमा चेकमा सही गर्न म कहाँ चेकहरु ल्याइने भए पनि कम्पनीका लगानीकर्ताको मात्रै त्यसमा नियन्त्रण थियो ।’

  • रविमाथि सरकारले पूर्वाग्रह गरेको छ : प्रचण्ड

    रविमाथि सरकारले पूर्वाग्रह गरेको छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले पूर्वाग्रह साधेको जनतामा परेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् । ‘रविमाथि सरकारले पूर्वाग्रह साधेको हो भन्ने जनतामा परेकै छ ।

    रविमाथि अत्याचार नै हो भन्ने जनतामा परेको छ’ प्रचण्डले भनेका छन् । सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकमा विभिन्न ६ वटा राजनीतिक दलका नेताहरू सहभागी थिए । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन र शक्ति बस्नेत थिए ।

    नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपाल र वरिष्ठ उपाध्यक्ष बेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डीपी अर्याल थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका उपनेता बुद्धिमान तामाङ, आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठ सहभागी थिए ।

    बैठकमा प्रचण्डले विपक्षी दलहरूबीच एजेण्डागत रुपमा सहकार्य आवश्यक रहेको बताएका थिए । त्यसक्रममा उनले रास्वपा सभापति लामिछानेबारे टिप्पणी गरेका हुन् ।

  • अध्यादेशमा सत्तारुढ दलमा असहमति छैन : प्रधानमन्त्री

    अध्यादेशमा सत्तारुढ दलमा असहमति छैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशमा सत्तारुढ दलको कुनै पनि असहमति नभएको दाबी गरेका छन् । बुधबार सिंहदरबारमा अध्यादेशबारे स्पष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    ‘हाम्रो सरकारमा रहेका दलहरूको एकता यसबाट सुदृढ ढंगले प्रस्तुत भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा अक्षरमा पनि कहिँ कतै असहमति छैन । पूर्ण सहमतिका साथ अध्यादेशहरू आएका छन् ।’ उनले नेपाली कांग्रेसको शीर्ष नेतृत्व, ब्युरोक्रेसीको नेतृत्व, विज्ञहरूको सल्लाह सुझाव, उद्यमीको समस्या सुनेर मात्रै अध्यादेश ल्याइएको पनि दाबी गरे ।

    धेरै मिहेनत र तयारीका साथ अध्यादेश ल्याइएको दाबी गर्दै उनले भने, ‘जनताका समस्या पनि सम्बोधन गर्छ, सुशासन र विकासलाई पनि अघि बढाउँछ ।’ उनले राष्ट्रपतिबाट भूमिसम्बन्धी अध्यादेश रोकिएको भन्ने व्याख्या नमिलेको पनि जिकिर गरे ।

  • भूमी सम्बन्धी अध्यादेश जारी भएपछि बालेनको कटाक्ष

    भूमी सम्बन्धी अध्यादेश जारी भएपछि बालेनको कटाक्ष

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति कार्यालयबाट जारी भएको भूमि सम्बन्धी अध्यादेशमाथि कटाक्ष गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका थिए ।


    उक्त अध्यादेश जारी भएसँगै मेयर शाहले आफ्नो फेसबुकमार्फत लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ ।’ उनले बधाई दिँदै लेखेका छन्, ‘बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई ।’

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भूमि सम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ । सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जा सहित उपलब्ध गराउने व्यवस्था यो अध्यादेशमा गरिएको छ ।

  • राष्ट्रपतिबाट भूमि सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिबाट भूमि सम्बन्धी अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् । मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेकोमा आज राष्ट्रपति रामचन्द्र पौडेलले जारि गरेका हुन् । चार ओटा यसअघि नै ४ वटा अध्यादेश जारी भइसकेका छन् भने एउटा बाँकी थियो । बाँकी रहेको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले बुधबार जारी गरेका हुन् ।

  • रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश

    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । न्यायाधीश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । यसै बीचमा इजलास बाहिर आएका कर्मचारीले धरौटी आदेशबारे सूचना दिइरहेका छन् ।

    यो आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ ।लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।

    कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो भने रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।