Category: फिचर

  • नेपाली आइटी कम्पनीलाई विदेशमा लगानीको बाटो खुल्यो

    नेपाली आइटी कम्पनीलाई विदेशमा लगानीको बाटो खुल्यो

    काठमाडौं । सरकारले नेपाली आइटी कम्पनीलाई विदेशमा लगानीको बाटो खुला गको छ । सरकारले नेपाली आइटी कम्पनीले अब विदेशमा लगानी गर्न पाउने गरी अध्यादेश ल्याएको हो । शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको छ ।

    सरकारले नेपाली आइटी कम्पनीले विदेशी बजारसँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने कानुनी व्यवस्था अध्यादेशमार्फत गर्दैछ । अध्यादेशमा नेपाली आइटी कम्पनीले विदेशमा शाखा कार्यालय खोल्न पाउने व्यवस्था पनि गरिएको छ । सार्वजनिक सेवा सहजीकरण गर्नका लागि केही कानुनहरू संशोधन गर्ने उद्देश्यले मन्त्रिपरिषद्ले अध्यादेश ल्याएको हो । राष्ट्रपतिबाट सो अध्यादेश प्रमाणीकरण भएपछि नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्ने बाटो खुल्नेछ ।

  • गैरआवासीय नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने

    गैरआवासीय नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने

    काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब नेपालमा कम्पनी खोल्न सक्ने भएका छन् । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको छ । जसमा गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिएको हो गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति यहाँ लगानी गर्न यसअघि कानुनी जटिलता थियो । त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको वातावरण सहज बनाउन सरकारले अध्यादेशमार्फत् यस्तो व्यवस्था गरेको हो ।

  • पोर्न स्टारसँग जोडिएको मुद्दामा ट्रम्पले पाए सफाई

    पोर्न स्टारसँग जोडिएको मुद्दामा ट्रम्पले पाए सफाई

    काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा सफाइ दिएको छ । पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दामा उनले उन्मुक्ति पाएका हुन् । समाचार संस्था एएफपीका अनुसार एक न्यायाधीशले शुक्रबार डोनाल्ड ट्रम्पलाई पोर्न स्टारलाई दिइएको गुप्त रकम लुकाएको मुद्दामा बिना शर्त रिहाइको सजाय सुनाए । योसँगै ट्रम्प जेल वा जरिवाना दुवै सजायबाट मुक्त भएका छन् । यही मुद्दामा उनलाई सन् २०२४ मे महिनामा दोषी ठहर गरिएको थियो ।

    तर न्युयोर्कका न्यायाधीश जुआन मर्चनले ट्रम्पलाई उन्मुक्ति दिएका छन् जसलाई तुलनात्मक रूपमा उन्मुक्तिको दुर्लभ उपाए भनिएको छ ।
    ‘यस अदालतलाई पहिले कहिल्यै यस्तो अद्वितीय र उल्लेखनीय परिस्थितिको साथ प्रस्तुत गरिएको थिएन’, न्यायाधीश मर्चनले भने, ‘मुलुकको सर्वोच्च पदमा हस्तक्षेप नगरी दोषी ठहर गर्न अनुमति दिने एकमात्र कानुनी सजाय बिना शर्त रिहाइ हो ।’

    ट्रम्प भर्चुअल रूपमा आफ्नो सजाय सुनुवाइमा उपस्थित थिए । न्यायाधीश, वकिल र मिडियाले म्यानहट्टनको अदालत कक्षमा खचाखच भरिएका थिए ।
    ‘यो निकै डरलाग्दो अनुभव भएको छ । मलाई लाग्छ यो न्युयोर्क र न्युयोर्कको अदालत प्रणालीका लागि ठूलो धक्का हो’ आरोपमुक्त हुनुअघि ट्रम्पले भने, ‘मैले चुनाव हारौँ भन्ने अभिप्रायले यो मेरो प्रतिष्ठालाई हानि पुर्याउनका लागि गरिएको थियो ।’

    पूर्वराष्ट्रपति आफ्नो पछाडि दुईवटा ठूला अमेरिकी झण्डा लिएर अदालत कक्षमा पर्दामा देखा परेका थिए । उनले सेतो धर्काहरू भएको रातो टाई लगाएका थिए र छोटो कार्यवाही चलिरहँदा अधीर भएर हेरिरहेका थिए ।

    ७८ वर्षीय ट्रम्प योसँगै चार वर्षसम्म जेल बस्नुपर्ने सजायबाट बचेका छन् । अब उनले कानुनी रूपमा दोषी राष्ट्रपतिको रूपमा ह्वाइट हाउस प्रवेश गर्नुपर्ने अवस्थाबाट मुक्ति पाएका छन् । सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो ।

    त्यसपछि यो विषयमा उनलाई चुप लगाउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो । यो कसुरमा ट्रम्प दोषी ठहरिएका थिए । ट्रम्पले भने उक्त आरोप अस्वीकार गर्दै आफूले गलत काम नगरेको जिकिर गर्दै आएका छन् । सन् २०२४ को चुनाव प्रचार अघि यी सहितका अन्य फौजदारी अभियोगको सामना ट्रम्पले गर्नुपरेको थियो । त्यतिबेला उनले आफूलाई राष्ट्रपतिको निर्वाचनमा रोक्ने उद्देश्यले गलत आरोपहरु लगाइएको टिप्पणी गर्दै आएका थिए ।

    यद्यपि उनी सन् २०२४ मा राष्ट्रपति पदको निर्वाचनमा विजयी भएका थिए । केही पदहरुमा नियुक्ति समेत गरिसकेका ट्रम्पले जनवरी २० देखि अमेरिकी सत्ता सम्हाल्दै छन् ।

  • विपिनको रिहाईमा पहल गरिदिन कतार र इजिप्ट सरकारसँग आग्रह

    विपिनको रिहाईमा पहल गरिदिन कतार र इजिप्ट सरकारसँग आग्रह

    काठमाडौं । नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ । नेपाल सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो ।

    हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी हुन् । नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग शुक्रबार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री डा. देउवाले इजिप्ट सरकारसमक्ष सो आग्रह गरेकी हुन् ।

    आजै मन्त्री डा. देउवाले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । हाल कतारमा रहेका राजदूत अन्सारीले यस विषयमा आफूले कतारका विदेशमन्त्रीसँग कुराकानी गरेर थप जानकारी गराउने बताएका छन् ।

    हमासले पहिलो चरणमा आफ्नो नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला, बालबालिका एवम् नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको भन्ने सूचना आएकाले यही चरणमै विपिनको पनि रिहाइका लागि पहल गरिदिन मन्त्री डा. देउवाले दुवै देशका सरकारलाई आग्रह गरेकी हुन् ।


    यसअघि पनि गत बुधबार मन्त्री डा. देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग सो आग्रह गरेकी हुन् ।
    हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा वृद्धवृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेका समाचार बाहिरिएपछि मन्त्री डा. राणाले विपिनको रिहाइका लागि पुनः कूटनीतिक पहल अघि बढाएको बताइएको छ ।

  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री जयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

  • विदेशमा रहेका नेपालीले ५ महिनामा घरमा पठाए साढे ६ खर्ब रेमिट्यान्स

    विदेशमा रहेका नेपालीले ५ महिनामा घरमा पठाए साढे ६ खर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४.४ प्रतिशतमात्र बढी हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह वृद्धि २.५ प्रतिशतमात्र रहेको देखिन्छ ।

    अमेरिकी डलरमा यस वर्ष ४ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशत थियो । मंसिरमा १ खर्ब १९ अर्ब रुपैयाँ हाराहारी रेमिट्यास आएको छ । यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृतितर्फ १ लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृतितर्फ १ लाख ३५ हजार ४ सय २५ छ ।

    यो संख्या अघिल्लो वर्ष मंसिरमा क्रमशः १ लाख ७१ हजार ९ सय ७५ र १ लाख २ हजार ५ सय ४२ थियो । यस अवधिमा खुद ट्रान्सफर ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड थियो ।

  • मूल्यवृद्धि १४ महिनायताकै उच्च

    मूल्यवृद्धि १४ महिनायताकै उच्च

    काठमाडौं । गत आर्थिक वर्षमा केही नियन्त्रणमा देखिएको मूल्यवृद्धि चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पुनः बढ्न लागेको छ । चालु आर्थिक वर्ष २०८१–८२ को मंसिरमा वार्षिक उपभोक्ता मुद्रास्फीति १४ महिनायताकै उच्च पुगेको छ । २०८१ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०–८१ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो । २०८० असोजमा ७.५० प्रतिशत रहेको मुद्रास्फीति त्यसयता लगातार ६ प्रतिशतभन्दा तल रहेको थियो । चालु आर्थिक वर्षको मंसिरमा भने ६ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    महंगी दर बढ्दै जाँदा खाद्य तथा पेयपदार्थको समूहको मुद्रास्फीति दोहोरो अंकनजिक पुगेको छ । मंसिरमा उक्त समूहको वार्षिक बिन्दुगत मुद्रास्फीति ९.९९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.९२ प्रतिशतले वृद्धि भएको थियो । खाद्य तथा पेयपदार्थ समूहको महंगीदर करिब दोब्बरले वृद्धि हुँदा गैरखाद्य तथा सेवा समूहका महंगीदर भने घटेको छ ।

    खाद्य तथा पेयपदार्थ समूहमा पनि उपभोक्ताको दैनिक भान्समा अत्यावश्यक तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४३.०५ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा महंगी उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ । मंसिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.८९ प्रतिशतले बढेको छ ।

    मंसिरमा प्रदेशगत रूपमा कोशी र मधेश प्रदेशमा महंगी उच्च देखिन्छ । कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६ प्रतिशत, मधेश प्रदेशको ६.७७ प्रतिशत र बागमती प्रदेशको ५.८४ प्रतिशत छ । त्यस्तै, गण्डकी प्रदेशको ४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको छ ।

    मंसिरमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत रहेको छ । उपभोक्ता मुद्रास्फीति मात्रै नभएर थोक मुद्रास्फीतिसमेत बढेको छ । २०८१ मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५२ प्रतिशत रहेको छ । गत आवको मंसिरमा यस्तो मुद्रास्फीति २.६३ प्रतिशत मात्रै थियो ।


    मंसिरमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १२.५९ प्रतिशतु, मध्यवर्ती वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.७७ प्रतिशत र पूँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.२० प्रतिशत रहेको छ । मंसिरमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.१४ प्रतिशतले घटेको छ ।

  • दुम्कीबासमा पुल भाच्चियो, महेन्द्र राजमार्ग अवरुद्ध

    दुम्कीबासमा पुल भाच्चियो, महेन्द्र राजमार्ग अवरुद्ध

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिदा सवारी आवागमन बन्द भएको छ । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको हो । विनयी खोलामा बनेको पुल शुक्रबार साँझ साढे ५ बजेतिर भाँचिएको हो । इभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने प्रहरीले जनाएको छ ।

    पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पुल हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए । भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।

  • १ माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    १ माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।

    लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ० निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण .(मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ । ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यमबाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने निर्देशनमा उल्लेख छ ।

    त्यस्तो कार्यविधिले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात तथा विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रूपमा सम्पुष्टि गरिने विधिसमेत तय गरको हुनुपर्ने व्यवस्था छ ।

    विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरूपयोगबाट सुरक्षित रहन बैंक वा वित्तीय संस्थाले पर्याप्त उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ । यस्तै आगामी माघ १ सम्ममा संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा पनि राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।

  • पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाबाट भिडियो सन्देश जारी, के भने ?

    पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाबाट भिडियो सन्देश जारी, के भने ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा १२ मिनेट लामो भिडियो सन्देश जारी गरेका छन् । बिहीबार साँझ जारी भिडियो सन्देशमा पूर्वराजा शाहले नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई शुभकामना दिएका हुन् । २७ पुसमा पृथ्वी जयन्ती पर्छ ।

    पूर्वराजा शाहले नेपाल राष्ट्र निर्माणको पृष्ठभूमि चर्चा गर्दै भिडियो सन्देशमा भनेका छन्, ‘विश्व साम्राज्य कसैको अधिनमा थियो । संसारमा अधिकांश देशले औपनिवेशिक नियति भोग्दै थिए । थुप्रै साना देशहरूले अस्तित्व र पहिचान गुमाउँदै गर्दा साम्राज्यका आँखै अघिल्तिर एउटा देश खडा गर्नु सानो चुनौती थिएन ।’

    पृथ्वीनारायण शाहले तितरबितर भएर छरिएको र स(सानो भूखण्डमा विभक्त भएको नेपाललाई ठूलो प्रयासबाट एक सिंगो र सबल राष्ट्र दिएको पूर्वराजा शाहको वक्तव्यमा भनिएको छ । शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उक्त एकतालाई भूगोलमात्रै नभई विविधता र सामाजिक समन्वयको कडी पनि भनेका छन् ।

    उनले देशको आन्तरिक एकता र अविच्छिन्न राष्ट्रिय अस्मिता रक्षाका सूत्र दिव्योपदेशबाट प्राप्त भएको, चार वर्ण छत्तिस जातको फूलबारी नेपाल भएको चर्चा गरेका छन् । शाहले नेपाल मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, राजनीतिक सुरक्षा, न्याय, कूटनीति भएको देश भन्दै यसका लागि बाहिरी मुलुकबाट आएको वैचारिक विवाद आवश्यक नरहेको तर्क पनि गरेका छन् ।

    ‘हामीसँग मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, न्याय, कूटनीति हुँदाहुँदै परायाबाट सिर्जित वाद र विवादको चक्रव्युहमा किन फस्यौं भनी आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ,’ शाहले भनेका छन्, ‘राष्ट्रियता सहितको पूर्ण प्रजातन्त्र नै बडामहाराजधिराजको विचार थियो । सबै संस्कृतिहरूको सम्मान गर्दै उनीहरूको संरक्षण गर्ने, प्रकृतिको सुन्दर भण्डारलाई सबै मिलाएर समुन्नत बनाउनु पर्छ ।’

    पूर्वराजा शाहले दलहरूलाई लक्षित गरेर कुनै टिप्पणी नगरे पनि देशमा पराधीनता र परनिर्भरताले आत्मग्लानी सिर्जना गरेको गुनासो गरेका छन् । पराधीनता, परनिर्भरता, आत्मग्लानीको दिशातर्फ जानु विडम्बना भएको भन्दै उनले स्रोत साधान, श्रम सिप देशको विकासमा पूर्ण उपयोग नभएकामा दुःख व्यक्त गरेका छन् ।

    शाहले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको पनि वक्तव्यमा उल्लेख गरेका छन् । ‘राष्ट्रनिर्माताको स्मरण गर्दा हाम्रो ध्यान त्यता जानुपर्छ । समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिँड्नुपर्छ,’ वक्तव्यमा भनिएको छ, ‘नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ । साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्रनिर्माताको आकांक्षा पूरा हुन्छ भन्ने हाम्रो धारणा हो ।’

  • रास्वपा सभापति लामिछाने आज काठमाडौं अदालत आफै उपस्थित हुने

    रास्वपा सभापति लामिछाने आज काठमाडौं अदालत आफै उपस्थित हुने

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जानकारी दिए ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए । रविलाई धरौटीमा छाड्न दिएको आदेशमा न्यायाधीश राईले उनी किन कसुरदार छैनन् भन्न सकिँदैन भन्नेमा पर्याप्त आधार प्रस्तुत गरे पनि धरौटी माग्नुको कारणबारे उल्लेख गरेका छैनन् । उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने कागज गराई विहीबार परिवारको जिम्मा लगाइएको थियो । कास्की जिल्ला अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।

    रविसँगै छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् । न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँ भने विहीबार धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।

  • अमेरिकामा डढेलो कहर, नियन्त्रणमा लिन असफल

    अमेरिकामा डढेलो कहर, नियन्त्रणमा लिन असफल

    काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा लिन अमेरिका असफल देखिएको छ । प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । डढेलो भयावह बन्दा लसएन्जलस शहरको ठूलो क्षेत्र जलेर खरानी भएको बीबीसीले लेखेको छ । कयौं घर, पसल, स्कुल, प्रार्थनास्थल, होटलहरु जलेका छन् । हेलिकप्टर र दमकलबाट समेत आगो निभाउने प्रयास जारी रहे पनि प्रभावकारी देखिएको छैन । आगो नियन्त्रणका लागि गरिएका प्रयास लगभग पूरै विफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    आगो फैलिएपछि निभाउने पानीको समेत अभाव हुन थालेको बीबीसीले जनाएको छ । सरकारले स्थानीयबासीलाई पानी जोगाउन अपिल गरेको छ । स्वीमिङ पुलबाट समेत पानी ओसारेर आगो निभाउने प्रयास भने गरिएको छ । हालसम्म आगलागीबाट ५ जनाको मृत्यु भइसकेको छ भने हजारौं व्यक्तिहरु विस्थापित भएका छन् । बीबीसीले कम्तिमा एक लाख जना व्यक्ति घर छाड्न बाध्य भएको जनाएको छ ।

    आगो १७ हजार एकड भन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरुले बताएका छन् । हलिउड हिल्स पनि डढेलोको चपेटामा परेको छ । कयौं फिल्म स्टारहरुको घर पनि आगोमा जलेको छ । डढेलोको विपत्तीका कारण ओस्कार अवार्डको नोमिनेसन पनि प्रभावित भएको छ । १७ जनवरीदेखि सुरु हुने भनिएको नोमिनेसन दुई दिनपछि सारिएको छ ।

    अमेरिकाको लसएन्जलसमा डढेलो बस्तीमा पसेर विपत्ती परेका बेला लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको छ । यो डढेलोलाई क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा विनाशकारी भनिएको छ । बीबीसीका अनुसार अमेरिकामा डढेलो भयानक हुनुका पछाडि मुख्य दुई कारण छन् ।

    पहिलो सुख्खा मौसम र दोस्रो तीव्र गतिमा चलेको हावा । बीबीसीका पर्यावरण सम्वाददाता मेट म्याकग्राथका अनुसार क्यालिफोर्नियामा केही महिनायता पानी नै परेको छैन । दिनभरको गर्मीका कारण पातपतिङ्गर सुकेका छन् । जंगलका रुखहरु पनि सुकेका छन् । त्यसले इन्धनको काम गरेको छ ।

    यस मौसममा दक्षिणी क्यालिफोर्नियामा तीव्र वेगमा हावा चल्ने गर्दछ । यसलाई ‘सेन्टा ऐना विन्ड्स’ भनिन्छ । यो हावा सामान्यतया १०० देखि ११० किलोमिटर प्रतिघण्टाको वेगमा दक्षिणी क्यालिफोर्नियाबाट भित्री इलाका हुँदै समुद्री तटतर्फ अगाडि बढ्दछ । तर एक दशकयता पनि यो क्षेत्रमा खतरनाक ढंगको हावा चलेको बीबीसीले जनाएको छ ।

    हावाको वेगले आगोलाई छिटो जताततै फैलाउन मद्दत गरेको बताइएको छ । विगतमा पनि डढेलो लाग्ने गरे पनि पहाडी क्षेत्रमा मात्र सीमित हुन्थ्यो । अहिले भने तीव्र गतिको हावाकै कारण शहरी क्षेत्रमा आगो फैलिएको बताइएको छ । अमेरिकाका जलवायु विज्ञहरुका अनुसार अझै पनि तीव्र हावा चल्ने सम्भावना रहेकाले आगो अझै फैलिने सम्भावना छ । जलवायु अध्येता ड्यानियल स्वेनले सामाजिक सन्जालमा लेखेका छन्, ‘शहरी क्षेत्रमा अझै आगो फैलिने आशंका छ ।’

  • अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु

    अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु

    काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एनबीसी वाशिङ्गटन डटकमले लेखेको छ ।

    खड्का सोही होटलमा हाउस किपिङमा काम गर्दथे । उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई त्यही होटलमा काम लगाइदिने भनेर उनले होटलमा ल्याएका थिए । तर कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खसेको थियो । दुर्घटना स्थलको भिडियो हेर्दा कारको अघिल्लो भाग पानीमा डुबेको देखिन्छ ।

    अत्यधिक चिसो मौसम र उद्धारमा पनि ढिलाइ भएकाले उनीहरुको मृत्यु भएको त्यहाँस्थित नेपालीहरुले बताएका छन् । मृतक कर्ण थापा छोरी ज्वाइँ र श्रीमतीसहित अमेरिकामा बस्दै आए पनि मृतक अर्का व्यक्तिको परिवार भने नेपालमा रहेको बताइएको छ ।

  • निजगढ विमानस्थल तत्काल निर्माण अगाडी बढाउन संसदीय समितिको निर्देशन

    निजगढ विमानस्थल तत्काल निर्माण अगाडी बढाउन संसदीय समितिको निर्देशन

    काठमाडौं । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल अघि बढाउन संसदीय समितिले निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले यस्तो निर्देशन दिएको हो । नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गरेपछि समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ ।

    समितिको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने ।’ समितिले वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन पनि निर्देश गरेको छ ।

    व्यावसायिक योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेस गर्न भनिएको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबीच सम्झौता, समन्वय एवं पहलकदमी लिन पनि निर्देशन गरिएको छ । पर्यटन मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी समितिलाई जानकारी गराउन पनि भनिएको छ ।

  • धरौटीमा रिहा भएसँगै अदालतबाट निस्किए रवि, स्वास्थ्य जाँच हुँदै

    धरौटीमा रिहा भएसँगै अदालतबाट निस्किए रवि, स्वास्थ्य जाँच हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किएका छन् । न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो ।

    सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् । प्रहरीका अनुसार उनलाई आजै मेडिकल जाँच गराएर छाड्ने तयारी छ । रविले भोलि काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने प्रहरीलाई बताएका छन् । सभापति लामिछानेसहित सोही प्रकरणका छविलाल जोशी र रामबहादुर खनाललाई पनि मेडिकल जाँचका लागि लगिएको छ ।

  • कास्की प्रहरीको हिरासतमा रविको ८४ दिन

    कास्की प्रहरीको हिरासतमा रविको ८४ दिन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकको राति काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्‍याएको थियो । भोलिपल्ट शनिबार परेकाले ४ गते आइतबार मात्र म्याद लिनका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो । त्यसयता पटकपटक म्याद थप्दै हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले सात पुसमा उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीनवटा मुद्दा दर्ता गराएको थियो ।

    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँँच रुपैयाँ बिगो दाबी गरेको छ । त्यसयता अदालतमा अभियुक्तहरूको बयान तथा वादी र प्रतिवादीको तर्फका वकिलको थुनछेक बहस चलिरहेको थियो ।

    सहकारी समस्याबारे छानबिन गर्न सत्तारुढ नेकपा एमालेका सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा बनेको संसदीय विशेष समितिले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकम अपचलनमा लामिछानेलाई दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो । तत्कालै मन्त्रिपरिषद् बैठकले संसदीय समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएपछि कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो ।

    त्यसक्रममा प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले ६ असोजमा ‘जरुरी पक्राउ पूर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । पोखराको सूर्यदर्शनसमेतका सात सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय समितिको अनुसन्धानबाट खुलेको छ ।

  • रविले आजै बुझाए धरौटी

    रविले आजै बुझाए धरौटी

    काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो । लामिछाने, जोशी र खनालले भने बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् ।

    रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको छ । लिला पछाईको हकमा भने भोलि मात्रै हुने बताइएको छ । पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेको छ । अदालतको आदेशलगत्तै तीन जना धरौटी बुझाएर रिहा भइसकेका छन् ।

    सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । त्यस्तै, कृष्णलाई १ लाख, मीना र आरतीलाई ५–५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । काठमाडौं लगायतका जिल्लामा पनि अरु मुद्दा भएकाले रवि भने तत्काल छुट्ने छैनन् ।

  • रविलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    रविलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

    पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलगायत ६३ जना विरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावी सहित ५ पुसमा थप र ७ पुसमा पूरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

    लामिछानेसहित पूर्वडीआईजी समेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लीला पछाईं, पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्वकोषाध्यक्ष आरती गुरुङ पनि प्रतिवादी छन् ।

  • अमेरिकी कम्पनी माइक्रोसफ्टले भारतमा एआई क्षेत्रमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने

    अमेरिकी कम्पनी माइक्रोसफ्टले भारतमा एआई क्षेत्रमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने

    काठमाडौं । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले हाल बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गरे । टेक दिग्गजले सन् २०३० सम्ममा भारतमा एक करोड मानिसलाई एआई सीपमा तालिम दिनेछ ।

    माइक्रोसफ्टले देशका डाटा सेन्टर क्याम्पसमा आफ्नो क्लाउड र एआई पूर्वाधार विस्तार गर्ने बताएको छ । माइक्रोसफ्टसँग पहिले नै बजारमा तीन डाटा केन्द्र क्षेत्रहरू छन् । यो लगानीले भारतको द्रुत रूपमा विस्तार भइरहेको एआई स्टार्ट–अप र अनुसन्धान को बढ्दो मागहरू पूरा गर्ने लक्ष्य राखेको छ, ”टेक विशालले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । रासस, सिन्ह्वा

  • रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै

    रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ ।

    प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।

    थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।

    सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

  • मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बेलुका सुन्दरहरैंचा नगरपालिका ९ र बेलबारी नगरपालिका १० मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको सुन्दरहरैंचा नगरपालिका–९ नागदेवी खण्डमा प्र१–०२–०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२-०५१ प ७६३५ नम्बरको स्कुटर दुर्घटना भएका थियो ।

    दुर्घटनामा परी स्कुटर चालक मोरङ सुन्दरहरैंचा नगरपलिका– ९ बस्ने ३८ वर्षीया प्रमिला श्रेष्ठको मृत्यु भएको हो । सवारी दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि विराट नर्सिङहोममा भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सुनसरी इटहरी बस्ने ४० वर्षीय नवीन सिंह ठकुरी घाइते भएका छन् ।

    बेलबारी नगरपालिका१० चाँदनी चोकस्थित भित्री सडक खण्डमा बेलबारी नगरपालिका १०४–२०८१–८२ नम्बरको सिटी सफारी दुर्घट्ना हुँदा सिटी सफारीमा सवार सोही स्थानकी ५० वर्षीया मायादेवी राजवंशीको मृत्यु भएको छ । उनको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सिटी सफारी चालक सोही स्थानका ५० वर्षीय भुपे दाहाल घाइते छन् । उनको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • दाउन्नेमा शितलहर र हिलोले हरेक दिन यात्रा कष्टकर

    दाउन्नेमा शितलहर र हिलोले हरेक दिन यात्रा कष्टकर

    काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो ।

    शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको छ । शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरुपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन छ ।

    रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिंडेर दाउन्ने खण्ड पार गरेका छन् । ठाउँ-ठाउँमा चिप्लोका कारण सवारी साधन एकआपसमा ठोक्किएका छन् । जसले गर्दा पूर्णरूपमा सवारी आवागमन सञ्चालनमा ल्याउन समय लाग्ने प्रहरीले जनाएको छ ।


    नारायणगढ-बुटवल सडक विस्तारको क्रममा रहेकाले दाउने खण्डमा सडक विस्तारको काम पनि भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या बनाएको छ। पटक(पटक दाउन्ने खण्डमा हुने अवरोधले यात्रुले सास्ती भोग्दै आएका छन् ।

  • संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्तारुढ दल कांग्रेसको आपत्ति

    संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्तारुढ दल कांग्रेसको आपत्ति

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८७ सालमा संविधान संशोधन हुन्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार झापाको कचनकवलमा आयोजित पार्टीको कचनकवल–सगरमाथा जागरण अभियानको शुभारम्भ गर्दै उनले ओलीको भनाइप्रति विमति जनाएका हुन् ।

    यदी उहाँले नेकपा एमालेको बैठक हुँदैगर्दा संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु,’ शर्माले भनेका छन् । साथै, उनले सात बुँदे समझदारी हुँदैगर्दा संविधान संशोधन अहिलेकै आवश्यकता भएको जिकिर गर्दै सोही जगमा रहेर पुनःमुल्याकंन आवश्यक रहेको जिकिर गरे ।

    ‘संविधान संशेधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादी पार्टीको सहभागीता भएन भने दुई तिहाइको गणित पुग्दैन,’ शर्माले भने, ‘हामीले संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यू ।’ प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी केन्द्रीय समिति बैठकलाई समापन गर्ने क्रममा संविधान संशोधन ०८७ सालमा मात्रै हुने बताएका थिए । ‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर ०८७ मा मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भनेका थिए ।

  • सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ नजिक, अब ८ मिटर मात्र बाँकी

    सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ नजिक, अब ८ मिटर मात्र बाँकी

    काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ नजिक पुगेको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार बुधबारसम्म मुख्य सुरुङ १ हजार ८१ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यो आयोजनाको मुख्य सुरुङ १ हजार ८९ मिटर लामो छ । मुख्य सुरुङ उत्तरतर्फबाट ४७७.२ मिटर र दक्षिणतर्फबाट ६ सय ४ मिटर खन्ने काम भइसकेको छ । आयोजनाका बाइपास सुरुङ तीन वटा छन् । ती बाइपास सुरुङ यसअघि नै ब्रेक थ्रु भइसकेका छन् । पछिल्लो एक वर्षमा सुरुङमार्ग आयोजनाको कामले गति लिएको छ ।

    यो आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । यहाँ टनेल सहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् । बुटवललाई पोखरा र पश्चिम नेपालका विभिन्न गन्तब्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा छ ।

    यो आयोजना ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बन्दैछ ।
    बुधबारसम्म आयोजनाको कुल भौतिक प्रगति ३८.८५ प्रतिशत पुगिसकेको छ । वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । स्लोप प्रोटेक्सन र टनेल लाइनिङको काम भने अझै बाँकी छ ।

  • नेपाल भित्रियो ‘मेगाट्रोल’, द क्लिफमा सञ्चालनमा आउने

    नेपाल भित्रियो ‘मेगाट्रोल’, द क्लिफमा सञ्चालनमा आउने

    काठमाडौं । साहसिक पर्यटनका लागि प्रख्यात कुश्मास्थित द क्लिफमा अब विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने भएको छ । मेगाट्रोल एक साहसिक गतिविधि हो । जसले जिपलाइन र रोलरकोस्टरको ‘ब्लेन्डेड’ अनुभव दिन्छ । २ सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १ हजार २ सय २८ मिटर छ । यसमा एक पटकमा तीन जनासम्म खेल्न सकिने कम्पनीले जनाएको छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ ।

    द क्लिफले विश्वकै दोस्रो अग्लो बन्जी जम्प, स्विङ, स्काई साइक्लिङ लगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्ट समेत चलाइरहेको छ । अब पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागिएको अध्यक्ष कार्कीले बताए । एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल करिब दुई सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेको उनले जानकारी दिए । अहिले यसको परीक्षणको काम जारी छ । उनका अनुसार कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै यसको अनुभव लिन सकिन्छ ।

  • उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो अन्तरिम प्रतिवेदन, के के दियो सुझाव

    उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो अन्तरिम प्रतिवेदन, के के दियो सुझाव

    काठमाडौं । सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने उपाय खोज्ने जिम्मेवारी पाएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अधुरो भुक्तानी अर्थतन्त्र चलायमान हुन नसक्नुको प्रमुख बाधक भएको निष्कर्ष निकालेको छ । सरकारलाई अन्तरिम प्रतिवेदन बुझाउँदै आयोगले पूँजीगत खर्च बढाउँदै भएको कामको भुक्तानीको गति बढाउन सुझाव दिएको हो ।

    आयोग अध्यक्ष रामेश्वर खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई बुधबार अर्थ मन्त्रालयमा अन्तरिम प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा अर्थतन्त्र थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषय उल्लेख गरिएको मन्त्रालयले उल्लेख गरेको छ । जसमा सरकारी दायित्व र अन्य बक्यौता रकम भुक्तानी दिन सुझाव दिइएको छ ।

    वित्तीय क्षेत्रका वास्तविक समस्याग्रस्त ऋणीलाई सहजीकरण गर्न र व्यापारिक उधारो नियमन गर्न कानुन बनाउन समेत सुझाव दिइएको छ । सरकारले लामो समयदेखि निर्माण व्यवसायीको भुक्तानी चुक्ता गर्न सकेको छैन । यसमा व्यवसायीले सरकारको आलोचना गर्दै आएका छन् । आयोगको प्रतिवेदनमा चालू आर्थिक वर्ष नयाँ ठेक्का नलगाइ निर्माण सम्पन्न कामको भुक्तानीलाई प्राथमिकता दिन सुझाव दिइएको छ ।

    यसैगरी बहुवर्षीय ठेक्का लागेर सिर्जित दायित्व पूरा गरेर बजेट उपलब्ध हुन सक्ने भएमात्र नयाँ आयोजना आउने वर्षको बजेटमा राख्न समेत आयोगले सुझाव दिएको छ । सरकारले अर्थतन्त्रबारे सुझाव दिन गत असोज तेस्रो साता विज्ञ र निजी क्षेत्रको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको थियो ।

    चालु आव बाँकी अवधिमा पूँजीगत खर्च बढाउन आयोगले सुझाव दिएको छ । जाजरकोट भूकम्प लगायत विपद्जन्य घटनाबाट क्षति पुगेको भौतिक पूर्वाधार पुनर्निर्माणमा तीव्रता दिन समेत आयोगले भनेको छ । सरकारले जग्गा प्राप्तिको कारबाही चलाएको वा प्रक्रिया टुंगो लागेका जग्गाको मुआव्जा वितरणमा तीव्रता दिन र स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई थप सहजीकरण गर्न समेत भनेको छ ।

    आयोगले स्वास्थ्य बीमाको प्रिमियम बढाउन सुझाव दिएको छ । कोभिड अगाडि राम्रो अवस्थामा रहेको व्यवसाय अहिले समस्यामा रहेको तर पछि सुधार हुने अवस्था रहेमा विषय हेरेर एक वर्षसम्म कर्जा पुनर्तालिकीकरण गर्न अवसर दिन समेत आयोगले सुझाव दिएको छ । घरजग्गा बजार शिथिल रहेको र बैंकहरूको गैरबंैकिङ सम्पत्ति बढ्दै गएको सन्दर्भमा सार्वजनिक–निजी साझेदारीमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न आवश्यक कानुन ल्याउन समेत आयोगले सुझाव दिएको छ ।

    सरकारले विभिन्न क्षेत्रमा प्रदान गरेका अनुदानले उत्पादन र रोजगारीमा पारेको प्रभावका आधारमा स्रोतको उपलब्धता मध्यनजर गर्न र सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रममा पुनरावलोकन गर्न पनि सुझाव दिइएको मन्त्रालयले उल्लेख गरेको छ ।

    आयोगले प्रतिवेदनमा समस्याग्रस्त सहकारीबाट देखिएका समस्या सम्बोधन गर्न समेत सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न बचत तथा ऋण सहकारी संस्थाहरूको कार्यक्षेत्र एक स्थानीय तहको भौगोलिक क्षेत्रभन्दा बढी हुन नदिने गरी कानुनी व्यवस्था गर्न भनिएको छ ।

    सहकारी संस्थाले कम्पनीलाई वा कुनै संगठित संस्थालाई सदस्य बनाउन निषेध गर्ने, प्राकृतिक व्यक्तिमात्र सदस्य हुन पाउने व्यवस्था गर्ने सुझाव दिइएको छ । यसैगरी बचत तथा ऋण सहकारी संस्थामा वित्तीय संस्थामा जस्तै एकल कर्जा सीमाको कानुनी व्यवस्था गर्न, तत्कालका लागि एकै व्यक्तिलाई एउटा वा एकभन्दा बढी तमसुकबाट हुने कुल ऋण लगानी संस्थाको कुल सेयर पूँजीको १० प्रतिशतभन्दा बढी हुन नदिने व्यवस्था गर्ने लगायत समेत सुझाव दिएको छ ।

    आयोगले चालु आव बाँकी अवधिमा पूँजीगत खर्च वृद्धि गर्न १० करोडभन्दा बढी रकम विनियोजन भएका सबै आयोजनाको नियमित अनुगमन र स्थलगत रूपमा समस्या समाधान गर्ने अधिकार सम्पन्न टोली परिचालन गर्नुपर्ने सुझाव समेत दिएको छ ।

  • सल्यानमा दुई बालिका घरमै मृत फेला, आमा पक्राउ

    सल्यानमा दुई बालिका घरमै मृत फेला, आमा पक्राउ

    काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदीबहिनी बालिका मृत फेला परेका छन् । प्रहरीले आमा पुर्णिमा रानालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी गराएको छ । लगत्तै घटनास्थलमा पुगेको प्रहरीले टोलीले आमालाई नियन्त्रणमा लिएको हो ।

    मृतक छोरीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको गरेको पाइएको छ । प्रहरीका अनुसार पुर्णिमाका श्रीमान जेठाजु, सासु, ससुरा नुवाकोटमा काम गर्ने सिलसिलामा गएका छन् । घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको प्रहरीको भनाई छ ।

  • लेखा समिति सभापतिकी पत्नी १० लाख घरौटीमा रिहा

    लेखा समिति सभापतिकी पत्नी १० लाख घरौटीमा रिहा

    काठमाडौं । जिल्ला अदालत मोरङको आदेशपछि सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला रिहा भएकी छिन् । उनले अदालतको आदेश बमोजिम १० लाख धरौटी बुझाएर रिहा भएको मोरङका एसपी नारायण चिमोरियाले जानकारी दिएका छन् ।

    उनलाई मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।

    गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । शिक्षक समेत रहेकी कोइराला मुद्दा दर्तापछि विद्यालयबाट बिदा लिएर फरार भएकी थिइन् । सोही सहकारी ठगी प्रकरणमा सहकारीका पूर्व उपाध्यक्ष तथा रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी भने पुर्पक्षका लागि थुनामा छन् ।

  • इरानले एक वर्षमा ९०१ जनालाई दियो मृत्युदण्ड

    इरानले एक वर्षमा ९०१ जनालाई दियो मृत्युदण्ड

    काठमाडौं । इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घका मानवाधिकार (आइएचआर) प्रमुखले मङ्गलबार बताएका छन् । यसमा डिसेम्बरको एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको छ । “फेरि पनि हामीले इरानमा वर्षैपिच्छे मृत्युदण्ड पाउने व्यक्तिको सङ्ख्यामा वृद्धि देखिरहनु अत्यन्त चिन्ताजनक छ”, भोल्कर टर्कले भने, “सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड दिइएको बताइएको छ ।”

    यो सङ्ख्या सन् २०२३ मा इरानमा मृत्युदण्ड दिइएका कम्तीमा ८५३ जनाको तुलनामा बढी हो । “इरानले मृत्युदण्डको यो बढ्दो लहरलाई रोक्ने समय आएको छ”, टर्कले विज्ञप्तिमा भने । इरानले हत्या, लागुऔषध तस्करी, बलात्कार र यौन दुव्र्यवहार लगायतका प्रमुख अपराधका लागि मृत्युदण्डको सजाय प्रयोग गर्दछ । इरानमा फाँसीमा वृद्धिप्रति कार्यकर्ताहरू बढ्दो रूपमा चिन्तित छन् ।

    एम्नेस्टी इन्टरनेसनल लगायत मानव अधिकार समूहहरूका अनुसार इरानले चीनबाहेक अन्य कुनै पनि मुलुकको तुलनामा प्रतिवर्ष बढी मानिसलाई मृत्युदण्ड दिन्छ । यसका लागि कुनै विश्वसनीय तथ्याङ्क उपलब्ध छैन । उनीहरूले विशेष गरी सन् २०२२–२०२३ को देशव्यापी विरोधको पृष्ठभूमिमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका अधिकारीहरूमाथि समाजमा भय फैलाउने साधनको रूपमा मृत्युदण्डको प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

    संयुक्त राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले गत वर्षको अधिकांश मृत्युदण्ड लागुऔषधसँग सम्बन्धित अपराधका लागि भएको तर ‘विद्रोही र सन् २०२२ को विरोध प्रदर्शनसँग सम्बन्धित मानिसहरूलाई पनि मृत्युदण्ड दिइएको’ बताएको छ । “मृत्युदण्ड दिइएका महिलाहरूको सङ्ख्यामा पनि वृद्धि भएको थियो ।” आइएचआरले सोमबार एक रिपोर्टमा सन् २०२४ मा इरानमा कम्तीमा ३१ महिलालाई मृत्युदण्ड दिइएको बताएको छ । रासस–एएफपी

  • तिब्बत भूकम्प : ज्यान गुमाउनेको संख्या १२६

    तिब्बत भूकम्प : ज्यान गुमाउनेको संख्या १२६

    काठमाडौं । मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा १२६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी बेलुकासम्म मृत्यु हुनेको संख्या १२६ जना पुगेको चिनियाँ अखबार ग्लोबल टाइम्सले जनाएको छ। भूकम्पमा परी १८८ जना घाइते भएका छन्।

    भूकम्पको इपिसेन्टर रहेको डिंग्री कान्टीको २० किलोमिटर दायराभित्र २७ गाउँ र त्यहाँ ६ हजार ९ सय मानिसहरूको बसोबास रहेको ग्लोबल टाइसम्को समाचारमा उल्लेख छ। डिग्री काउन्टीको जनसंख्या ६१ हजार छ। भूकम्प गएपछि त्यहाँ उद्धारका लागि ३ हजार ४०० सुरक्षाकर्मी र ३४० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। भूकम्पबाट धेरै घरहरू भत्किएको र उद्धारका काम चलिरहेको चिनियाँ सञ्चारमाध्यहरूले जनाएका छन्।

    बिहान ६ः५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो। काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा मानिसहरू घरबाहिर निस्किएका थिए। काठमाडौंको स्‍युचाटारमा एक जना पुरूषले घरको छतबाट हामफालेर घाइते भएका छन्। अन्य केही घरहरूमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।