काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । बैठक सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जनाएको छ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।
Category: फिचर
-

काभा भलिवलको फाइनल आज : नेपाललाई इतिहास रच्ने अवसर
काठमाडौं । महिला भलिबलका लागि आज इतिहास बनाउने अवसर आएको छ । नेपालले काभा वुमन्स नेसन्स लिगको फाइनलमा आज भारतको सामना गर्दैछ । मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै फाइनल पुगेका छन् । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर आज छ ।
यही प्रतियोगितामा शनिबार लिग चरणको खेलमा भारतलाई हराएकाले नेपाली टिम उच्च मनोबलका साथ उत्रने छ । नेपालले प्रतियोगितामा सहभागी सबै टिमलाई हराएको छ । नेपालले लिग चरणमा भारत, माल्दिभ्स र श्रीलंकालाई हराउन सफल भयो । इरानसँग भने हार व्यहोर्यो । इरानसँग लिग चरणमा भोगेको पराजयले कमजोरी सच्याउँदै सेमिफाइनलमा हराउन सफल भयो । मंगलबार इरानसँगको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो ।
-

बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुस बने अन्तरिम सरकारको प्रमुख
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुस बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए । मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार विजेता युनुसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुख समेत सहभागी थिए ।
मुहम्मद युनुस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । ‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए ।उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन् । किनकि उनलाई शेख हसिनाले गरिबहरुको रगत चुसेको आरोप लगाउने गर्दथिन् । युनुसले आफ्नो पार्टी खोल्ने तयारी गरेको सूचना पाएपछि शेख हसिना उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरेकी थिइन् । गत जनवरी महिनामा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो । यद्यपि उनी जेलमा भने बस्नु परेको थिएन । ८४ वर्षीय युनुस हाल उपचारका लागि फ्रान्समा छन् । उनले अब स्वदेश फर्किने बताएका छन् ।
-

देशैभर भारी वर्षा, सुदूरपश्चिममा अधिक
काठमाडौं । मनसुन सक्रिय भएसँगै कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्म वर्षा जारी छ । अन्य जिल्लाको तुलनामा सुदूरपश्चिमको कञ्चनपुरमा अधिक वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको सुन्दरपुरमा ८५.६ र हनुमाननगरमा ५३ मिलिमिटर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले ती केन्द्रहरुमा थप वर्षाको सम्भावना रहेको बताएको छ । दैजी, चौधर, सुहेली र अन्य साना नदीहरुमा बाढीको जोखिम रहेको समेत बताइएको छ ।
बैतडीको डिनासैली, बाजुराको बाजुरा र अछामको असराघाटमा पनि भारी वर्षा रेकर्ड भएको छ । कोशी प्रदेशमा मोरङको केराबारी, सुनसरीको धरान बजार र धनकुटाको मछुवाघाटमा पनि भारी वर्षा भएको छ । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ ९नेपाल नजिक० अवस्थित रहेकाले देशभर मनसुनी वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि छ ।
-

रात्रि बस नचलाउन सरकारले गरायो सचेत
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ।
जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको हो।विभागले भारी र अतिभारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ।
विभागले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रूकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीलाई उच्च जोखिममा राखेको छ।
प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन सूचित गराएको छ।
प्राधिकरणले उच्च जोखिमका जिल्लामा जुनसुकै बेला विपद् आउनसक्ने हुनाले खोज तथा उद्धारका लागि ती जिल्लाका तीन वटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहने, भारी वर्षाको अवधिभरि अत्यन्त जरूरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन आग्रह गरेको छ।
-

बागलुङमा पहिरो : कम्तिमा ६ जनाको मृत्यु
काठमाडौं । बागलुङको बडीगाड गाउँपालिका–१० मा घरमा पहिरो खस्दा ६ जनाको ज्यान गएको छ । ४ जना बेपत्ता भएका छन् । पहिरोमा परेर ९ जना घाइते भएका छन् । पहिरो खस्दा घरधनी ७८ वर्षका जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी, ६ महिनाकी सीता विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांग बरालले जानकारी दिएका छन् ।
जोगबहादुरकी नातिनी ७ वर्षकी मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् । घरमाथिबाट पहिरो खस्दा ५ जनाको घटनास्थलमै र घरधनी जोगबहादुरको उपचारका लागि काठमाडौं पठाउने तयारी गर्दागर्दै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार बिहानैदेखिको झरीले बडीगाडका विभिन्न ठाउँमा पहिरो खसिरहेको थियो भने आरुपाटाको खहरे खोलाले आसपासका घरलाई पनि तान्न सक्ने त्रास गाउँलेमा बढेको थियो । बाढी आएका कारण खोला तरेर बुर्तिबाङ बजार जानेहरु पनि रोकिएका थिए ।
वडा नम्बर १० कै निगलपानी गाउँबाट बुर्तिबाङ हिँडेकाहरु पनि तर्ने स्थिति नदेखिएपछि अलि सुरक्षित घर ठानेर आरुपाटाका जोगबहादुर बुढाको घरमा ओत लागेर बसेका थिए । खोलाको आडमै रहेका छिमेकी पनि सुरक्षित ठानेर त्यही घरमा बस्न पुगेका थिए ।
बुर्तिबाङ हिँडेका र छिमेकीसमेत गरेका जोगबहादुरको घर र गोठमासमेत गरेर करिब २० जनाले शरण लिइरहेका थिए । बिहान सवा ११ बजेको हुँदो हो, सुरक्षित भनेर ओत लागेको त्यही घरमा पहिरो खस्यो र एकाएक बबण्डर मच्चायो ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांग बरालका अनुसार पहिरो परेर ९ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर छ ।जोगबहादुरका छोरा तेजेन्द्रले दौडिएर ज्यान बचाए । अर्का छोरा ज्ञानेन्द्र छिमेकीको घरमा पहिरोले क्षति पुर्याएपछि उद्धारका लागि गएका थिए । त्यही बेला खसेको पहिरोमा आफ्नै परिवार, छिमेकी र ओत लाग्न बसेकाहरु परेपछि, उनी आफैं भावविह्वल हुँदै उद्धारमा खटिएका छन् ।
सल्लेना खोला आसपासमा आरुपाटा, बाख्रे, सल्लेना, पात्ले नाम गरेका ससाना बस्तीहरु छन् भने क्वालजिङ नाम गरेको गाउँ पनि जोखिममा छ । ती गाउँमा साना साना केही खोलाहरु छन् र तीमध्ये सल्लेना एउटा हो । स्थानीय बोमबहादुर बुढाका अनुसार छिमेकीमात्र नभएर बुर्तिबाङ जाने भनेर हिँडेका मानिसहरु पनि त्यहीँ घरमा बसेका थिए । एसइई दिन र काम विशेषले निगलपानी भन्ने ठाउँबाट बुर्तिबाङ हिँडेकाहरु पनि पहिरोमा परेका छन् ।
बेपत्ता ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक छिमेकका थिए, जो सुरक्षित ठानेर जोगबहादुरको घरमा ओत लाग्न पुगेका थिए । आरुषकी आमा सीता थापा गम्भीर घाइते छिन् भने बुबा कुलबहादुर दौडिएर बाँचेका छन् ।
पहिरो खस्दा २६ वर्षीय ओमप्रसाद पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय शशीराम विक, ९ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीय सीता थापा घाइते छन् । रीमा पुन एसइईको पुरक परीक्षा दिने तयारीका लागि आरुपाटाभन्दा माथिको गाउँबाट बुर्तिबाङ बजार जाँदै गर्दा सो घरमा खोला तर्न नसकेर रोकिएकी थिइन् ।
स्थानीय सञ्चारमाध्यमको सहयोगमा -

बेलायतमा हुलदंगा भएको स्थानमा नजान नेपाली दूतावासको अनुरोध
काठमाडौं । बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदंगा चलिरहेको हुँदा त्यस्तो स्थानमा नजान बेलायतस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । मंगलबार अपिल जारी गर्दै बेलायतमा रहेका र बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकलाई त्यस्तो स्थानमा नजान आग्रह गरेको हो । राजदूतावासले आवश्यक सुरक्षा सतर्कता अपनाउन र सुरक्षा निकायले जारी गरेका सूचनाहरूको पालना गर्न अनुरोध पनि गरेको छ ।
साथै बेलायतस्थित नेपाली संघ संगठनहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा आफ्ना सदस्यहरूलाई जानकारी गराउन अनुरोध गरेको छ । गत हप्ता बेलायतको साउथपोर्ट नगरमा तीनजना बालिकाको छुरी हानेर हत्या गरिएको घटनापछि देशका विभिन्न भागमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

-

काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनलमा
काठमाडौं ।, काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३–० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको हो ।
मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ । लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ । अब फाइनलमा नेपाल र भारत उपाधीका लागि भिड्नेछन् ।
-

बंगलादेशमा अवामी लिगका नेताको होटेलमा आक्रमण, कम्तिमा २४ जना मारिए
काठमाडौं । राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जना जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ । बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार, अज्ञात व्यक्तिले अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजानी गरेका थिए । त्यसक्रममा होटलमा भएका अधिकांश मानिसहरु धुँवामा निसास्सिएर मारिएको समाचारमा भनिएको छ । कम्तीमा २५ देखि ३० जनाको उद्दार गरिएको समाचारमा उल्लेख गरिएको छ ।
होटलमा सोमबार ४ बजेदेखि आगलागी भएको थियो भने ८ बजे नियन्त्रणमा आएको थियो । ज्यान गुमाउनेमध्ये एक जना इन्डोनेसियाका नागरिक भएको बंगाली भाषाको अखबार प्रथोम आलोले लेखेको छ । जेसोर अस्पतालका डा। प्रार्थो प्रतिम चक्रवर्तीले आगजनीका कारण घाइते १५० जनाको उपचार भइरहेको बताएका छन् । आरक्षणको विरोधमा भएको आन्दोलनले हिंसात्मक रुप लिँदा सोमबार प्रधानमन्त्री शेख हसिना राजीनामा दिन बाध्य भएकी थिइन् ।
उनी राजीनामा दिएर सैनिक हेलिकप्टरमा भारततर्फ गएकी छन् । लगत्तै सत्तारुढ पार्टी अवामी लिगका नेताका घर, होटल लगायतमा भिडले आक्रमण गरेको थियो । प्रथोम आलो पत्रिकाका अनुसार, सतखिरामा भएको आक्रमणमा १४ जना मारिएका छन् । ज्यान गुमाउनेमा ५ जना सत्तारुढ अवामी लिग पार्टीका नेताका आफन्तहरु छन् ।
समाचारमा उल्लेख भएअनुसार हसिनाले देश छाडेको समाचार आएलगत्तै अवामी लिगका नेता जाकिर हुसेनको कल्याणपुरस्थित घरमा आक्रमण भएको थियो । त्यसक्रममा गोली समेत चलेको थियो । भिडले सतखिरा सदर प्रहरी चौकी, ट्राफिक प्रहरी चौकी र श्यामनगर प्रहरी चौकीमा पनि आगजनी र तोडफोड गरेका छन् । स्थानीय प्रहरी कार्यालयमा प्रहरी अधिकारीहरु नभएकाले क्षतिको यकिन विवरण बाहिर नआएको समाचारमा उल्लेख गरिएको छ ।
बंगलादेशका प्रहरी प्रमुखले मंगलबार प्रहरी कानुनको पालक मात्र भएको भन्दै समस्या नेतृत्वमा भएकाले प्रहरीमाथि आक्रमण नगर्न आग्रह गरेका थिए । बंगलादेश प्रहरीका डीआईजी साहेन रानाले विद्यार्थी र आमनागरिकको हत्यामा संलग्नमाथि छानबिन हुने भन्दै संगठनप्रति आक्रमण नगर्न समेत आग्रह गरेका छन् । यहीबीच बंगलादेशी सेनाको उच्च तहमा रहेका अधिकारीहरुको पनि जिम्मेवारी हेरफेर भएको ढाकाको पत्रिका डेली स्टारले समाचार लेखेको छ ।
-

अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड
काठमाडौं । उच्च मूल्यमा पुगेको अमेरिकी डलरले दैनिक नयाँ नयाँ रेकर्ड कायम गर्दैछ । मंगलबार अमेरिकी डलरको भाउ १५ पैसा वृद्धि भएको छ । अमेरिका, भारतसहितका मुलुकको स्टक मार्केटमा गिरावट आउँदा डलरको माग बढेको बताइएको छ । डलरको मूल्य उच्च दरले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ४६ पैसा र खरिददर मूल्य १३३ रुपैयाँ ८६ पैसा तोकेको छ । एक युरोको बिक्रीदर मूल्य १४७ रुपैयाँ २१ पैसा छ भने खरिदर मूल्य १४६ रुपैयाँ ५६ पैसा छ ।
एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८२ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६६ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८७ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ७० पैसा तोकिएको छ ।
एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६१ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ४४ पैसा तोकिएको छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य ३० रुपैयाँ ३९ पैसा तथा खरिददर मूल्य ३० रुपैयाँ २५ पैसा छ ।
-

इजरायलका लागि साढे ३ हजार नेपाली कामदारको आवेदन स्वीकृत
काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्न दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको छ ।
आवेदकमध्ये कागजात नपुगेका तथा रीत नपुगेका कारण १९७ पुरुष र १२४ महिला गरी ३२१ जनाको आवेदन रद्द भएको विभागले जनाएको छ । केयर गिभरका लागि विभागले गत असार ११ गतेदेखि साउन ११ गतेसम्म एक हजार वैकल्पिकसहित दुई हजार आवेदन आह्वान गरेको थियो । नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाइँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन ।
विभागका महानिर्देशक डण्डुराज घिमिरेले कागजात अपुग भएका ३२१ बढी उम्मेदवारको आवेदन रद्द गर्नु परेको जानकारी दिए । विभागका अनुसार योग्यता पुगेका दुई हजारलाई छनोट गरेर एक हजारलाई वैकल्पिकमा राखिने छ । विभागले २५ देखि ४५ वर्ष ननाघेको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन वा १२ कक्षा उत्तीर्ण भएको लगायतका मापदण्ड तोकिएको थियो ।
-

बंगलादेशी राजनीतिमा अब हुने छैन हसिनाको पुनरागमन
काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा पुनरागमन नगर्ने भएकी छन् । उनका छोरा सजीब वाजेदले आफ्नी आमाको राजनीतिक पुनरागमन नहुने स्पष्ट पारेका हुन् । सोमबार बिबिसी वर्ल्ड सर्भिससँग कुराकानी गर्दै वाजेदले हसिनाको राजनीतिक पुनरागमन नहुने स्पष्ट पारे ।
अल्पसंख्यक समुदायलाई लक्षित गरी काम गरेको भए पनि हसिनाविरूद्ध नै प्रदर्शन भएको देखेर उनी निकै निराश रहेको समेत वाजेदले बताए । वाजेद हसिनाका आधिकारिक सल्लाहकार समेत हुन् ।
बंगलादेशमा प्रदर्शन बढ्दै गएपछि हसिनाले आइतबारदेखि नै राजीनामा दिने सोच बनाएको उनले जानकारी दिए । उनको सुरक्षाका लागि परिवारले दबाब दिएपछि देश छाडेको समेत वाजेदको भनाई छ । ‘उनले बंगलादेशलाई परिवर्तन गरेको छ। जब उनले बंगलादेशको सत्ता हातमा लिएकी थिइन्, त्यही बेलादेखि राज्य असफल हुँदै थियो। बंगलादेश एक गरिब राष्ट्र थियो। आज बंगलादेशलाई विकसित एसियन टाइगरको रूपमा मान्न थालेको थियो। उनी निकै निराश छिन्,’ वाजेदले बिबिसीसँगको अन्तर्वार्तामा भनेका छन् ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना हाल भारतमा छिन्। उनी त्यहाँबाट बेलायत जाने चर्चा छ। यद्यपि उनी कहिले र कसरी जान्छिन् भन्ने खुलिसकेको छैन।हसिनाले बंगलादेश छाडेसँगै त्यहाँ सेना प्रमुखले अन्तरिम सरकार बनाउन तयारी थालिसकेका छन्। प्रदर्शनकारीहरूले पनि खुसीयाली मनाएका छन् ।प्रदर्शनकारीहरूले सोमबार बंगलादेशको प्रधानमन्त्री निवास नै कब्जा गरे । आरक्षणविरूद्धको प्रदर्शनमा बंगलादेशमा हालसम्म ३ सय जना भन्दा बढीले ज्यान गुमाएका छन्।
आइतबारमात्रै कम्तिमा ९१ जनाले ज्यान गुमाएका थिए। यस्तै सोमबार ढाकामा भएको प्रदर्शनमा झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकको शव ढाका मेडिकल कलेजमा राखिएको एक प्रहरी इन्स्पेक्टरले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग भनेका छन्।
बंगलादेशमा भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको हो। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका थिए।
हसिना सन् २००९ देखि सत्तामा थिइन्। १५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो। उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ। ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन्।
-

अमेरिका, जापान, भारतसहितका ठूला स्टक बजारमा किन गयो पहिरो ?
काठमाडौं । भारत, अमेरिका, जापानसहित शक्तिशाली स्टक बजारमा ठूलो गिरावट आएको छ ।शुक्रबार र सोमबार ती बजार ठूलो दरमा घटेका छन् । अमेरिकाको रोजगारी सम्बन्धी एक रिपोर्टले मन्दीको त्रास देखाएपछि अमेरिका सहित भारत तथा जापानको सेयर बजार बढी प्रभावित भएको उल्लेख गरेको छ ।
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने तयारी गरिरहँदा पनि स्टक बजारमा उच्च गिरावट देखिएको छ । अमेरिकामा रोजगार वृद्धिदर अपेक्षाभन्दा न्यून भएपछि त्यसले थप मन्दीको संकेत जनाएको भन्दै विश्लेषण भइरहेको छ ।
सोमबार भारतीय बजारको बीएसई सेन्सेक्स २.७१ प्रतिशत अर्थात् २२२२ अंक घटेको छ । सो गिरावटपछि बीएसई सेन्सेक्स ७८७५९ मा झरेको छ । त्यस्तै ५० ठूला कम्पनीको सूचक निफ्टी ५० पनि २.६८ प्रतिशत घटेको छ । ६६२ अंक घटेर निफ्टी ५० सूचक २४०५५ मा झरेको छ ।
अमेरिकी डो जोन्स शुक्रबार ३.३ प्रतिशत घटेको छ । १२७४ अंक घटेर डो जोन्स ३९६०० सय नजिक झरेको छ । सोमबार पनि कारोबार भइरहँदा यो घट्ने क्रममा निरन्तरता देखिएको छ । कारोबार भइरहँदा नेपाली समयअनुसार साँझ ६ः४० बजे यो सूचक ३ प्रतिशत घटेर ३८६४८ मा छ ।
त्यस्तै एस एन्ड पी–५०० फ्युचर पनि शुक्रबार ४.६ प्रतिशत घट्यो । सोमबार पनि यो घट्ने क्रममा निरन्तरता देखिएको छ । कारोबार भइरहँदा नेपाली समय अनुसार साँझ ६ः४० मा यो सूचक ४.१ प्रतिशत घटेर ५१४९ मा झरेको छ ।
नास्डाक १०० फ्युचर शुक्रबार ६ प्रतिशत घट्यो । सोमबार पनि कारोबार भइरहँदा यस सूचकमा गिरावट जारी छ । नेपाली समय अनुसार साँझ ६ः४० सम्म कारोबार भइरहँदा यो सूचक ५.९८ प्रतिशत झरेर १७४४७ अंकमा झरेको छ । जापानी स्टक मार्केट निक्की सोमबार १२।७९ प्रतिशत घटेर ३१४५८ मा कायम भएको छ ।
-

काठमाडौं उपत्यकामा बिहानैबाट भारी वर्षा
काठमाडौं । आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज काठमाडौं उपत्यकामा बिहानैबाट भारी वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार प्रायः सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।
रातिको समयमा झन् धेरै वर्षा हुने अनुमान महाशाखाकको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा अति भारी वर्षा हुनेछ । सबै प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना छ । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ भने १०० मिलिमिटरदेखि २०० सम्म पर्नुलाई धेरै भारी वर्षा भएको मानिन्छ । यसले खतरा निम्त्याउँछ ।
महाशाखाका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुनेछ । केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकोले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क सरहन महाशाखाले अपिल गरेको छ । महाशाखाले विषेध बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले बुधबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार हुन भनेको छ ।
-

तीन दर्जन जिल्लामा भारी वर्षा, जनजिवन प्रभावित हुने
काठमाडौं । मंगलबार र बुधबार नेपालमा मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यसबारे विशेष बुलेटिन जारी गरी जानकारी गराएको हो । मनसुनका कारण तीन दर्जन जिल्ला अति प्रभावित हुने सम्भावना रहेको बताइएको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला रेड जोनमा परेका छन् ।
यसैगरी गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा जिल्ला पनि अति खतराको रेड जोनमा परेका छन् । लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि रेड जोनमा राखिएको छ ।
मनसुन न्यून चापीय रेखा मंगलबारदेखि नेपाल नजिक सर्ने भएकाले दुई दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ । साउन २२ गतेदेखि २३ गतेसम्म सम्म भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन महाशाखाले भनेको छ । मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।
‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’ बुलेटिनमा लेखिएको छ ।
-

बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीले गरे लुटपाट
काठमाडौं । बंगलादेशमा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले भने केही समय अगाडि मात्र निवास छाडेकी थिइन् । उनले राजीनामा ममेत दिइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो ।
तर आन्दोलन रोकिएन । पछिल्लो दिन प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आन्दोलन चर्किएको थियो । हिंसात्मक आन्दोलनका क्रममा आइतबार मात्र ९१ जनाको मृत्यु भएको थियो । आन्दोलनकारी प्रधानमन्त्री निवास गणभवनभित्रै प्रवेश गरेका छन् । त्यहाँबाट टेबुल कुर्सीहरु बाहिर निकालेका भिडियो सार्वजनिक भएका छन् । स्वीमिङ पुलमा बोटिङ गर्नुका साथै घरपालुवा जनावारहरु समेत निकालेको देखिएको छ ।
-

लेवनानमा सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय
काठमाडौं । मध्यपूर्वमा तनाव बढ्न थाले पनि त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित नै रहेको र उनीहरुको सहजताका लागि निरन्तर प्रयत्न गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गरी लेबनानमा विकसित पछिल्लो घटनाक्रममा त्यहाँ सम्पूर्ण नेपालीको सुरक्षा तथा हितका लागि नेपाल सरकार सचेत रहेको जनाएको हो ।
मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा कायरोस्थित नेपाली राजदूतावास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा सम्पर्क राख्नसमेत सूचनामार्फत जानकारी दिएको छ ।
अहिले कायरोस्थित नेपाली राजदूतावासले लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक गरिरहेकोसमेत जनाएको छ । इरानको राजधानी तेहरानमा बुधबार हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनावपूर्ण बनेको छ ।
-

बंगलादेशमा राजनीतिक संकट, नेपालमा सुरक्षा सतर्कता
काठमाडौं । आरक्षणको विरोधमा बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्रीले समेत देश छोडेपछि नेपालमा समेत उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन भन्दै निर्देशन दिएको हो । नेपाल प्रहरीले उच्च सतर्कता अपनाउँदे थप जनशक्ति परिचालन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
सशस्त्र प्रहरी बलले पनि उच्च सतर्कता अपनाएको छ । बिदामा गएकाहरूलाई समेत फिर्ता बोलाउने तयारी भएको सशस्त्र प्रहरीले जनाएको छ । बोर्डर आउट पोस्ट (बीओपी)हरूमा समेत थप जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार प्रत्येक बीओपीमा ५–६ जनाको दरले जनशक्ति थप गरेर परिचालन गरिएको छ । ड्युटीलाई पनि चौबिसै घण्टा बनाइएको उनले बताए । विशेषगरी कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशलाई केन्द्रित गरेर जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।बंगलादेशमा सरकारी जागिरमा आरक्षण र कोटा प्रणालीको विरोधमा भएको आन्दोलन सोमबार थप हिंसात्मक भएको थियो । बंगलादेशको राजधानी ढाकामा जारी तनावका बीच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेकी छन् ।
बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दलसँग संवाद गरेको उनले बताएका छन् ।
-

नेपाली दूतावासले भन्यो : बंगलादेशमा सबै नेपाली सतर्क रहनु
काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन पुनस् चर्किएर हिंसात्मक बन्न थालेपछि ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन भनेको छ । दूतावासले सोमबार एक सूचना जारी गरेर नेपाली विद्यार्थीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन अनुरोध गरेको हो ।
आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्न थालेपछि अहिले बंगलादेश सरकारले कर्फ्यू आदेश जारी गरेको छ । दूतावासले त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी नेपाल फर्किइसकेको र बाँकी रहेका करिब ४ सय विद्यार्थी निरन्तर आफ्नो सम्पर्कमै रहेको जनाएको छ ।
साथै नेपाल फर्किन चाहने विद्यार्थीसहित अन्य नेपालीहरुले राजदूतावाससँग समन्वय गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछिमात्रै यात्रा गर्नसमेत दूतावासले आग्रह गरेको छ । सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका आफन्तहरूलाई निजामती सेवाका विभिन्न जागिरहरूमा दिइएको आरक्षण सुविधाको विरोधमा गत महिना विद्यार्थीहरू सडकमा उत्रिएका थिए ।
सरकारले अधिकांश कोटा फिर्ता लिने निर्णय गरेपछि पनि विद्यार्थीले आन्दोलन जारी राखेका हुन् । सोही प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको छ ।
सुरुमा आरक्षण विरोधी आन्दोलनको रूपमा भएको आन्दोलन अहिले सरकार विरोधी आन्दोलनमा बदलिएको छ । विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् ।
-

बंगलादेशको राजनीति सेनाको कब्जामा
काठमाडौं । बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् ।
उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले देश छाडेको केहीबेरपछि सेना प्रमुख उज–जमानले पत्रकार सम्मेलन गर्दै अन्तरिम सरकार बनाउने बताएका हुन् । अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दल नागरिक समाजसँग सम्वाद गरेको बताए । तर हसिनाको दल अवामी लिगको भने उनले नाम लिएनन् ।
साँझसम्म एउटा निकासमा पुग्ने आश रहेको भक्न्दै उनले भने, ‘अवस्थामा सुधार आयो भने कफ्र्यू आवश्यक हुन्न ।’ उनले सबै जिम्मेवारी आफूले लिने भन्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरे । अब सुरक्षाकर्मीहरुलाई गोली नचलाउन निर्देशन दिइसकेको भन्दै सेना प्रमुखले भने, ‘देशलाई धेरै क्षति भयो । अर्थ व्यवस्था प्रभावित भयो कयौं मानिस मानिए । मलाई आश छ, यो सम्बोधनपछि अवस्थामा सुधार आउनेछ ।’
-

बंगलादेशमा प्रदर्शनकारीले लखेटे प्रधानमन्त्री, देश छाडेर निर्वासनमा
काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ ।
प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् । बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् । तर, सम्भव भएन ।
बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी समेत छ ।
आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ । प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा आइतबार मात्रै कम्तीमा ९० जना मारिएको र सयौं घाइते भएको बीबीसीले लेखेको छ ।
प्रधानमन्त्री हसिनाले सुरक्षा निकायका प्रमुखहरुसँग छलफलपछि आइतबार हसिनाले आन्दोलनकारीहरु ‘विद्यार्थी नभई देशमा अस्थिरता चाहने आतंकवादी भएको’ बताएको प्रतिक्रिया दिएकी थिइन् । तनावका कारण बंगलादेशमा सोमबार देशभर इन्टरनेट सेवा समेत अबरुद्ध छ ।
-

ऐतिहासिक सांस्कृतिक महत्व बाेकेका पर्व हाम्रा अमूल्य निधि हुन् : पर्यटन मन्त्री
काठमाडौं-संस्कृति नागरिक तथा पर्यटन मन्त्री बद्री पाण्डेले ऐतिहासिक तथा सांस्कृतिक महत्व बाेकेका पर्वहरू अमूल्य निधि भएको बताएका छन् ।आईतबार राताे मच्छिन्द्र नाथकाे यात्राकाे सन्दर्भमा शुभकामना दिँदै मन्त्री पाण्डेले सहकाल र वर्षाका देवताका रुपमा चिनिने रातो मच्छिन्द्र नाथको रथयात्राकाे छुट्टै विशेषता रहेकाे बताए । नेपाल भाषामा बुंग द्यः भनिने राताे मच्छिन्द्र नाथकाे रथयात्राले प्रकृति र संस्कृतिलाई जीवन्त बनाउने विश्वास व्यक्त गरे ।
मन्त्री पाण्डेले शुभकामना सन्देशमा भन्नू भएकाे छ, ऐतिहासिक तथा सांस्कृतिक महत्वको यो पर्व हाम्रा अनेकन अमूर्त सम्पदा मध्यको एक विशिष्ठ सम्पदा हो । हरेक वर्ष बैशाख शुक्ल प्रतिपदाबाट सुरु भई असार शुक्ल चौथीमा समापन गरिने यो जात्रा विश्वमा नै लामो समयसम्म चल्ने जात्राको रुपमा रहेको छ । यो पर्वलाई विश्वभर चिनाउन सके हामीले विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सक्ने प्रशस्त सम्भावना रहेकाे छ ।
जात्राकाे अवसरमा राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,मन्त्रीहरूका साथै अन्य विशिष्टकृत व्यक्तित्वहरूकाे समेत उपस्थिति रहेकाे थियाे
-

चितवनमा मान्छे माथि आक्रमण गर्ने बाघलाइ नियन्त्रणमा लिइयो
काठमाडौं । चितवनको नारायणगढ बजार नजिकै शनिबार विहान एक ब्यक्तिलाई आक्रमण गरी घाइते बनाउने बाघलाई १७ घण्टापछि डार्ट गरेर नियन्त्रणमा लिइएको छ ।
चितवन महोत्सव हुने प्रर्दशनी मैदानको माथिल्लो भेगमा विहान मर्निङवाक गर्न गएका भरतपुर-२ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका श्रेष्ठको हात, घाँटीमा चोट लागेको छ । बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले हात्तीको सहयोगमा दिनभर नियन्त्रणमा लिने प्रयास गरे पनि सकेका थिएनन् ।
नजिकैको नरकटको घना झाडीमा लुकेर बसेको बाघले पटकपटक हात्तीलाईसमेत तर्साउने गरेको थियो । बाघसँग बिच्किएका हात्तीहरु माहुतेलाई छाडेर बजार क्षेत्रबाट भागेका थिए
एउटा हात्ती पश्चिम चितवनको शिशुवार पुगेको थियो भने अर्को हात्ती भागेर भरतपुर १९ को निलडाँडा पुगेको थियो । पछि फेरि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट २ वटा हात्ती ल्याएर बाघलाई तीनतिरबाट घेरा हालेर डार्ट गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
सौराहामा रहेका २ वटा खोरमध्ये एक खोर खाली छ, अर्को खोरमा ठोरीबाट डार्ट गरेर ल्याएको बाघ राखिएको छ । निकुञ्जसँग सौराहामा २, कसरामा ३ र भरतपुर- १३ देवनगरमा २ बाघ राख्न सक्ने क्षमता छ ।
-

विकास आयोजनामा गुणस्तरमा ध्यान दिउ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले सडकको सुरक्षा र मानिसको सुरक्षा हुने गरी चालु योजना सम्पन्न गर्न निर्देशन दिए ।मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै फाइदा छैन, मानव बस्ती छुने र छोटो हुनेगरी सडक निर्माण गर्न आवश्यक छ, अनावश्यक ठाउँमा ‘ट्र्याक’ खोलेर उपयुक्त हुँदैन, भिरमा बाटो लगेर मानिसका लागि फाइदा हुँदैन, यसका लागि ध्यान दिन जरुरी छ’, प्रधानमन्त्री ओलीले भने ।
उनले राजनीतिक दबाबका आधारमा जनतालाई फाइदा नहुने ठाउँमा सडक निर्माणमा ध्यान दिनु आवश्यक नभएको बताए । ‘एउटै खालका योजना पटक–पटक बनाउने भन्ने हुँदैन, सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी काम गर्नु आवश्यक छ । वन विभागसँग समन्वय राखेर काम गर्नूहोला’, उनले भने ।
प्रधानमन्त्री ओलीले योजनालाई आवधिक योजनामा वितरण गरेर काम गर्न उचित भएको उल्लेख गर्दै अन्तर मन्त्रालयबीच समन्वय गरेर परिणाम आउनेगरी काम काम गर्न सुझाव दिए । आफू पहिलो पटक प्रधानमन्त्री भएको समयमा पूर्वाधारको विकासमा जोड दिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले देशलाई दिगो र टिकाउ हुने पूर्वाधार निर्माणको आवश्यकता परेको उल्लेख गरे ।
नेपाललाई पानीजहाज र रेलमार्गको सञ्जाल विस्तार गरेर अन्तरदेशीय र सहज यातायात सञ्चालनको योजना तर्जुमा गर्न आवश्यक रहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले २०४६ सालपछि गरिएको निजीकरणले उपलब्धि दिन नसकेको बताए। उनले ७० देखि ८० को दशक राजनीतिक प्रगतिको दशक मात्रै नभई आर्थिक प्रगतिको दशक पनि भएको
-

नेपाल एयरलाइन्स अष्ट्रेलिया उडानको तयारी
काठमाडौं । नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान सुरु गर्ने तयारी थालेको छ । सो बारे नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको छ ।अस्ट्रेलिया-नेपाल सीधा हवाई उडान गर्ने बिषयमा करिब ५ वर्षअघि दुईदेशका बीचमा आपसी सहमति भएको थियो । विशेष गरेर कोरोनाकालमा नेपाल एयरलाइन्सले आफ्नै विमान मार्फत आफ्ना नागरिकलाई अस्ट्रेलियाबाट उद्धार गरेर लगेपछि सिधा उडान हुने बिषयमा यहाँका नेपाली थप आशावादी बनेका थिए ।
डेढ वर्षदेखि छलफलले थप तीब्रता पाएपछि अब आगामी दशैँबाट यहाँका नेपालीले आफ्नै जहाजबाट स्वदेश यात्रा गर्न पाउने सम्भावना बढेको छ । यसकालागि दुई देशका बिभिन्न तहका उड्डयन प्राधिकरण, नियमन निकाय तथा अन्य सम्बन्धित अधिकारीबीच लामो समयदेखि छलफल तथा गृहकार्य हुँदै आएको छ । पछिल्लो पटक नेपाल एयरलाइन्सका चार उच्च अधिकारीले सिड्नी आएर संवाद गरेका छन् ।
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ्ग निर्देशक टेकनिधि दहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र बोर्ड सदस्य किशोर प्रधान अष्ट्रेलिया पुगेका छन् ।
उनीहरुले सो मुलुकको सिभिल एभिएसन सेफ्टी अथोरिटी (कासा), पूर्वाधार बिभाग, बिदेश मन्त्रालयका अधिकारी तथा गृहमन्त्रीका प्रतिनिधीसँग बिभिन्न छलफल समेत गरेका छन् ।
-

बागमती किनारमा एक पुरुषको शव फेला
काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव भेटिएको हो ।जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०/४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको हो ।
आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । -

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : तत्काल लेबनान छाड्नु
काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो।बीबीसीका अनुसार यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न भनेका थिए । उनले यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने बताएका चेतावनी दिएका थिए ।
यता जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन्
तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएसँगै मध्यपूर्वमा तनाव बढ्ने सम्भावना बढेको हो ।
इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि हानियाको मृत्युको आएको थियो ।
बीबीसीका अनुसार यही घटनाक्रमको बीचमा आइतबार राति हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको छ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई नष्ट गरेको देख्न सकिन्छ । रकेट प्रहारबाट भएका क्षतिबारे कुनै विवरण आएको छैन ।
सम्भावित घटनाक्रमको अनुमान गर्दै कैयौं एयरलाइनहरूले उडान रोकेका छन् । उडानमा रहेकाहरूको पनि टिकट पूर्ण रूपमा बिक्री भइसकेको छ ।
-

भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो । घरेलु समर्थकको साथ पाएको नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिदै शानदार सुरुवात गर्यो । तर भारतले पुनरागमन गर्दै ११–१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।
अग्रतालाई निरन्तर्ता दिदै २२–१८ मा पुर्याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सेट २५–१८ ले सहजै जितेको थियो ।
दोस्रो सेटमा सुरुवातमा नेपाल ६–६ को अवस्थामा थियो । तर त्यसपछि भारतले निरन्तर अंक बटुल्दै १५–१२ को सहज जित हात पार्यो । खेलाडी परिवर्तनमा गल्ती गरेपछि नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली पाएको थियो ।तेस्रो सेटमा नेपालले १६–९ को अग्रता लिँदै सहज जितको आधार तयार पारेको थियो । तेस्रो सेटमा २५–१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट जित टाढा थियो । चौथो सेटमा भारत सुरुवातमा ८–३ ले अघि थियो । भारत निरन्तर चौथो सेटमा अघि थियो । भारत मध्य समयमा १५–१० ले अघि थियो ।
नेपालले १५–१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा २ अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५–१८ ले जितेको थियो । निर्णायक पाँचौं सेटको सुरुवात प्रतिस्पर्धात्मक बनेको थियो । उषा भण्डारी र सरस्वती चौधरीको स्पाइकमा अंक जोड्दै नेपाल ५–२ को अग्रता लिदै ऐतिहासिक जितको संकेत दिएको थियो । नेपालले ८–५ मा पाँचौं सेटको कोर्ट परिवर्तन गरेको थियो ।
यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनल दशरथ रंगशालामा थियो । उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो । काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन् ।
शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।
-

यस वर्षको मिस नेपालको उपाधी आश्मा कुमारी केसीलाई
काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो ।
उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् । आज मिस नेपालको ग्राण्ड फाइनल भएको हो ।
-

पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता, अमेरिका चौथो
काठमाडौं । फ्रान्सको पेरिसमा जारी ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम गरेको छ । उसले १३ स्वर्ण जितेको छ । कुल ३१ पदक जितेको चीन पहिलो स्थानमा छ । समान ११ स्वर्ण पदक जितेका फ्रान्स र अष्ट्रेलिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन । आयोजक फ्रान्सले ३६ पदक जितेको छ । चौथो स्थानमा रहेको अमेरिकाले ९ स्वर्ण जितेको छ ।
अमेरिकाले सर्वाधिक ४३ पदक जिते पनि उसको रजत पदक अधिक रहँदा चौथो स्थानमा रहेको हो । ग्रेट ब्रिटेन पाँचौं स्थानमा छ । जापान छैठौं, कोरिया सातौं र इटाली आठौं स्थानमा छ । अहिलेसम्म ७० भन्दा धेरै मुलुकले पदक भित्राएका छन् । दक्षिण मुलुकमध्ये भारतले तीन काष्य पदक जित्नु नै सफलता मानिएको छ ।
