Category: फिचर

  • कार चढाएर सिंह घुमाउने महिला पक्राउ

    कार चढाएर सिंह घुमाउने महिला पक्राउ

    काठमाडौं । थाईल्यान्डमा सडकमा कार चढाएर सिंह घुमाउने एक महिला पक्राउ परेकी छिन् । पतायाको सडकमा घरपालुवा सिंह चढेको एउटा कार गुडिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि एक महिला पक्राउ परेको बीबीसीले जनाएको छ । उक्त भिडिओमा पछाडिपट्टिको भाग खुल्ला हुने बेन्ट्ली कारमा सिंहको बच्चा बसेको देखिन्छ। घाँटीमा पेटी बाँधिएको उक्त सिंहलाई कारमा राखेर डुलाउने व्यक्ति श्रीलङ्काका एक पुरुष थिए। उनले थाईल्यान्ड छाडिसकेका छन्।

    ती व्यक्ति अहिले पक्राउ परेकी महिला सवाङ्जित कोसुङ्ननका साथी भएको ठानिएको छ। थाईल्यान्डमा सिंह पाल्नु गैरकानुनी नभए पनि त्यसका लागि दर्ता गराउनुपर्ने नियम छ। थाई अधिकारीहरूका अनुसार सवाङ्जितले उक्त सिंह थाईल्यान्डकै अर्को एक प्रान्तबाट किनेको र बेच्ने व्यक्तिले पतायासम्म सिंह आफू भएको ठाउँमा ल्याउन सहयोग गरेको दाबी गरेकी छन्। तर सिंह ढुवानी गर्नुअघि ती व्यक्तिले आधिकारिक निकायबाट सिंह पालेको ठाउँको जाँच नगराएको र सिंह पाल्ने स्वीकृति पनि नलिएको हुनाले उक्त जनावर पाल्ने र ओसारप्रसार गर्ने काम दुवै गैरकानुनी मानिएको छ।

    सवाङ्जितलाई नियन्त्रित वन्यजन्तु बिनाअनुमति पालेको अभियोग लागेको छ। यस्तो अभियोगमा एक वर्षसम्मको जेल सजायका साथै एक लाख थाई भाट जरिवाना तिर्नुपर्ने हुन सक्छ। प्रहरीले उक्त सिंह घुमाउने श्रीलङ्काली नागरिकको पनि खोजी गरिरहेको बताइएको छ। उनले आफू भाडामा बसेको एउटा घरमा त्यो सिंह राखेका थिए। तर उनी थाईल्यान्डमा नभएका कारण पक्राउ परेका छैनन्।

    उनलाई नियन्त्रित वन्यजीवलाई सार्वजनिक स्थलमा लगेको अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ। त्यस्तो कसुरमा छ महिना कारावास र ५०,००० थाई भाट जरिवाना हुन सक्छ। स्वाङ्जितलाई सिंह बिक्री गर्ने व्यक्तिलाई पनि अनुमति नलिई वन्यजन्तु ओसारप्रसार गरेको अभियोग लाग्ने भएको छ। अधिकारीहरूका अनुसार थाईल्यान्डमा अनुमति लिएर पालिएका सिंहको सङ्ख्या २२४ छ।

  • त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेपछि…

    त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेपछि…

    काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको बताइएको छ । अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए ।

    त्यो विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले बताए । यसको गुनासो आएपछि अध्यागमन कार्यालय प्रमुख हमाल आफैं सीसीटीभी फुटेज हेर्न गए । प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानमाथि दुव्यर्वहार गरेको देखिएको समेत बताइएको छ ।

    हमालले प्रहरी अधिकृतहरुलाई किन त्यसो गरेको भनेर प्रश्न गरेका थिए, तर प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई त्यही लात्ताले हाने । त्यसक्रममा अध्यागमन कार्यालय प्रमुख हमाललाई पनि लागेको समाचारमा उल्लेख छ । लगतै अध्यागमन कार्यालय प्रमुख हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएका थिए । त्यसपछि गृह मन्त्रालयले छानविन समिति बनाएको छ ।

  • यु-१९ विश्वकपको सुपर सिक्समा नेपाल, अफगानिस्थानविरुद्ध रोमाञ्चक जित

    यु-१९ विश्वकपको सुपर सिक्समा नेपाल, अफगानिस्थानविरुद्ध रोमाञ्चक जित

    काठमाडौं । नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा पुगेको छ । समूह चरणको निर्णायक खेलमा अफगानिस्तानविरुद्ध १ विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल अर्को चरणमा प्रवेश गरेको हो । आजको खेलमा तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालले उत्कृष्ट प्रदर्शन गरे । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।

    जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । अफगानिस्तानका फरिदुन दावुड्जाईले ४.४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । खलिल अहमद र नासिर खानले २–२ विकेट लिए । अरब गुल र घजान्फरले १–१ विकेट लिए ।

    त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो । अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।


    नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।

    समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एक सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।

  • नापजाँच गरेर छुट भएको जग्गा दर्ता गर्न दुई वर्षको मौका

    नापजाँच गरेर छुट भएको जग्गा दर्ता गर्न दुई वर्षको मौका

    काठमाडौं । सरकारले यसअघि नै भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको छ ।

    दुई-तीन पुस्तादेखि भोगचलन गर्दै आएको तर विभिन्न कारणले दर्ता नभएको छुट जग्गा दर्ता गर्न खुला गरेको सूचना भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

    जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद यो सूचना प्रकाशित भएको मितिले दुई वर्ष र कार्यालयमा यसअघि नै निवेदन गरी फर्स्योट हुन बाँकी पुराना प्रतिवेदनहरु फस्यौंट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष हुने गरी तोकिएको छ ।

    नेपाल सरकारले मालपोत नियमावली, २०३६ को नियम ४ (क) को उपनियम (१) को प्रयोजनको लागि जग्गा (नाप जाँच) ऐन, २०१९ बमोजिम नाप नक्सा भएको तर दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने र सो सम्बन्धमा यसअघि नै निवेदन परी फर्छ्यौट हुन बाँकी रहेका पुराना निवेदन फर्छ्यौट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष तोकेकोले यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा उल्लेख छ ।

    झण्डै ८ वर्ष देखि छुट जग्गा दर्ता गर्न रोक लगाइएको थियो । दर्ता रोकिदा यसबाट जग्गाको नापजाँच भएको र भोगचलन गर्दै आएका जग्गाधनीहरू मर्कामा परेका थिए । उनीहरूले जग्गाको बेचबिखन गर्न, बैंकमा धितो राखी धरौटी लिन तथा नामसारी गर्न पाएका थिएनन् ।

  • फुटपाथ व्यवसायीले काठमाडौँ महानगर घेराउ गर्ने

    फुटपाथ व्यवसायीले काठमाडौँ महानगर घेराउ गर्ने

    काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते बृहत् सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ।

    शुक्रवार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएर १६ गते व्यापक जनप्रदर्शनसहित महानगरमा धर्ना दिने र बीचमा सबै फुटपाथ व्यवसायीलाई एक ठाउँमा ल्याएर माघ २८ गते बृहत् सडक आन्दोलन गर्ने कार्यक्रम तय गरिएको बताएको छ।

    नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्न माघ १७ गते जिल्ला प्रशासन कार्यालय, १८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालयमा र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए।

    उनले एक हप्ता सबै स्वरोजगार श्रमिकहरूलाई एक ठाउँमा ल्याएर माघ २८ गते थालचम्चा सहित ठूलो जनसहभागितामा सडक आन्दोलन तथा महानगर घेराउ गर्ने कार्यक्रम तय भएको बताए। उनले काठमाडौं महानगरले फुटपाथ र साना व्यवसायीको माग अहिलेसम्म सम्बोधन नगरेकाले आन्दोलन गर्न बाध्य भएको बताए।

    उनले महानगरले फुटपाथ व्यापारीहरूको जफत गरेको सामान फिर्ता गर्न माग गरे। उनले निम्न वर्गका व्यवसायीको सामान कब्जा गरी लिलाम गर्ने काम महानगरले तत्काल रोक्नुपर्ने बताए। उनले स्वरोजगार श्रमिकका लागि वैकल्पिक कार्यस्थलको सुनिश्चित गरी महानगरभित्रका सबै वडामा सस्तो बजार व्यवस्था गर्न माग गरे।

    उनले वैकल्पिक व्यवस्था नगरेसम्म महानगरले अहिले फुटपाथ व्यवसायीहरूले व्यवसाय गरिरहेको स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सुचारु गर्न दिन माग गरे। उनले महानगरले स्वरोजगार व्यवसायीलाई पञ्जीकरण गर्न सम्झौता भए पनि कार्यान्वयन गर्ने भन्दा बढी व्यवसायीहरूलाई धरपकड गर्ने काम भएको बताए। फुटपाथ व्यापारीको उचित व्यवस्थापनका लागि मेयर तथा उपमेयरको संयोजकत्वमा संघर्ष समितिका प्रतिनिधिसहित उच्चस्तरीय व्यवस्थापन कार्यदल बनाउनुपर्ने उनको माग छ।

    महानगरले फुटपाथ र साना व्यवसायीलाई निर्मम ढंगले लखेट्ने धरपकड गर्ने काम तत्काल रोक्नुपर्ने नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरुङले बताइन्। उनले ७ बजेपछि सडक पेटीमा व्यापार गर्ने महिलालाई महानगर प्रहरीले अमानवीय व्यवहार गरी सामान लुट्ने गरेको बताइन्।

    उनले फुटपाथमा बेलुका दुई घण्टा व्यापार गरेर दुई छाक टार्ने निम्न वर्गका व्यापारीलाई महानगरले अमानवीय व्यवहार गर्ने गरेको बताइन्। उनले फुटपाथ व्यवसायीको समस्या समाधानका लागि भएका महानगरले गरेको ४ बुँदे सम्झौता कार्यान्वयनमा नगरेको आरोप लगाइन्।

  • ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोश- काम तपाईंले बिगार्ने, गाली हामीले खाने ?

    ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोश- काम तपाईंले बिगार्ने, गाली हामीले खाने ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले निर्माणाधीन सहिद मार्गअन्तर्गत दाङको घोराहीदेखि होलेरीसम्मको सडक अनुगमन गरेका छन् ।

    पूर्वसभामुख ओनसरी घर्ती र लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुनसहित पुनले निर्माण व्यवसायीको लापरबाहीले कालोपत्रे उप्किएर खण्डहर भएको उक्त सडक आयोजनाको अनुगमन गरेका हुन् ।

    भारतीय एक्जिम बैंकको ४० करोड ऋण लगानीमा होराही उपमहानगरपालिकाको बगालेदेखि होलेरीसम्मको ३१.५ किलोमिटरमध्ये २६ किलोमिटर सडक चार वर्षअघि कालोपत्रे गरिएको थियो । तर, निर्माण कम्पनीले सडक आयोजनालाई हस्तान्तरण नगर्दै कालोपत्रे उप्किएर सडक खण्डहरमा परिणत भएपछि सो सडक भएर यात्रा गर्ने सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

    सडकखण्डका दर्जनौं स्थानमा ठूला खाल्डा छन् भने धुलोका कारण यात्रु र मानव बस्ती नै जोखिमपूर्ण अवस्थामा छ । ०७१ सालमा उक्त सडक बनाउने ठेक्का सील/प्यासी फीक जेभी कम्पनीले पाएको थियो ।

    सम्झौताअनुसार निर्माण कम्पनीले एक वर्षसम्म मर्मत सम्भार र त्रुटी सच्याउने काम नगरेकाले सडक जीर्ण भएको सहिद मार्ग आयोजनाका इन्जिनियर सुमन सुवेदी बताउँछन् । बाँकी काम गर्न र मर्मत सम्भार तथा त्रुटी सच्याउन पटकपटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले अटेर गरेपछि २०७८ मंसिर ६ मा सडक विभागले निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने सिफारिससहित ठेक्का तोडेको थियो । निर्माण व्यवसायसम्बन्धी मुद्दा हेर्ने न्यायिक निकाय नेपाल मध्यस्थता परिषद् (नेप्का) मा ठेकेदार कम्पनीले उजुरी दिएकामा नेप्काले सडक आयोजनाले निर्माण व्यवसायीलाई साढे ७ करोड क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

    सरकार निर्माण पक्षबीच सडक निर्माणको काम फेरि अघि बढाउने सहमतिविपरीत निर्माण पक्षले दाङका दुई सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ ढुवानी गर्ने कम्तिमा २ सय टिपर दैनिक सो सडकखण्ड भएर गुडेको तथा सडकको डिजाइन नै फेल भएका कारण गुणस्तरमा समस्या आएको दाबी निर्माण पक्षको छ ।

    तर, सरकारी पक्षले नै नेप्काको निर्णयमा असहमति जनाउँदै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि आयोजना निर्माणको काम विगत चार वर्षयता अलपत्र छ । इन्जिनियर सुवेदी भने आयोजनाका तर्फबाट नभइ कन्सल्ट्याण्टका तर्फबाट मुद्दा दायर गरिएको बताउँछन् । ‘वैदेशिक लगानी भएको आयोजनामा अनिवार्य कन्सल्ट्याण्ट राखिएको हुन्छ । सडक विभागका तर्फबाट नभइ कन्सल्ट्याण्टका तर्फबाट मुद्दा दायर भएको हो,’ सुवेदीले भने,’ सडक निर्माण भएको एक वर्षभित्र मर्मत सम्भार र त्रुटी सच्याउनुपर्नेमा निर्माण कम्पनीले पटकपटक ताकेता र म्याद थप गर्दा पनि त्यो काम गरेन । त्यस कारण ठेक्का तोडियो ।’

    अदालतमा विचाराधीन मुद्दाको अवस्था बुझ्न आयोजना प्रमुख नेत्रप्रसाद देवकोटा हाल काठमाडौँ गएको र उनी फर्किएपछि नयाँ ठेक्काको प्रक्रियाले गति लिन सक्ने उनको भनाइ थियो ।

    माओवादीले सशस्त्र जनयुद्धकै बेला आफ्नो आधार इलाकामा श्रमदानबाट २०६० सालमा नुवागाउँबाट उक्त सडक निर्माणको काम थालेको हो । शान्ति प्रक्रिया हुँदै माओवादी सरकारमा सहभागी भएपछि राज्यले उक्त सडकको जिम्मा लिएको थियो । उक्त सडक दक्षिणी रोल्पाको होलेरी-तिला-दारबोट-घर्तीगाउँ -दुई खोली-खरिबोट हुँदै रुकुमपुर्वको काँक्रीमा गएर मध्यपहाडी राजमार्गमा जोडिन्छ । ९ किलोमिटर मध्यपहाडी राजमार्ग पार गरेर फेरि उक्त सडक रुकुमको तकसेरा, हुमाम मौकोट हुँदै कर्णाली प्रदेशको डोल्पाबाट चीन जोड्ने रणनीतिक सडकका रुपमा विकास गर्ने योजना सरकारको छ । होलेरीदेखि काँक्रीसम्म २ सय २० किलोमिटर दूरी छ ।

    प्रतिनिधिसभा सदस्य पुनसहित रोल्पाका स्थानीय पालिका प्रमुखहरूले गत १२ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटारमा भेटेर घोराही- होलेरी सडक निर्माणका लागि बजेट व्यवस्थापन गर्न र ठेक्का प्रक्रिया अघि बढाइदिन आग्रह गरेका थिए ।

    अनुगमनपछि होलेरीमा आयोजित कार्यक्रममा पुनले नयाँ डिजाइनसहित सडक निर्माणको काम अघि बढाउन आफू प्रयासरत रहेको बताए । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिको चरणमा पुगेको र श्रोत सुनिश्चित गरी यसै वर्ष टेण्डर निकाल्न काठमाडाैँ फर्किएलगत्तै तालुकदार अर्थ र भौतिक पूर्वाधार मन्त्रालयसँग कुरा गर्ने उनको भनाइ थियो । सडक आयोजना वा निर्माण कम्पनीको कमजोरीले काम बिग्रिने तार जनताले सास्ती पाएको भन्दै तत्काल काम अघि बढाउन आग्रह गरे । उनले सरकारी निकाय र निर्माण कम्पनीले काम बिगार्ने तर जनताले प्रश्न भने राजनीतिक दलका नेता र जनप्रतिधिमाथि गर्ने गरेको उल्लेख गरे ।

    ‘पिचको क्वालिटी किन पुगेन ? निर्माण व्यवसायीको कमजोरी भयो कि निर्माण व्यवसायीले राम्रो काम गर्दा पनि गाडीको चाप बढी भएका कारण धान्न नसकेर पिच भत्किएको हो कि ? अब दिगो हुने गरी तत्काल सडक पिच टिक्नुपर्छ,’ उनले भने, ‘नेता, कर्मचारी र ठेकेदार मिलेर के-के गरे, गुणस्तरीय काम भए । अहिले तैं चुप मै चुप छन् भनिरहेका छन् । बिना कारण हामी जनप्रतिनिधिले गाली खानुपर्ने अवस्था हुनुभएन । हामीलाई गाली गराउने मात्र काम तपाईंहरूले गर्नुभएन ।’

    पुनले उक्त सडक निर्माणका लागि आफूसहित रोल्पाका जनप्रतिनिधिले प्रयास गरिरहेको र प्रधानमन्त्रीसम्म पनि डेलिगेसन गएको बताए । ‘हामीले कोसिस गरिराखेका छौं । काठमाडाैँ आएर मेरै नेतृत्वमा प्रधानमन्त्रीलाई भेटेका थियौँ । उहाँले आवश्यक निर्देशन पनि गर्नुभएको छ । होलेरी-घोराही खण्डको डिपीआर सकाउने र यही वर्ष टेण्डर गर्ने भन्ने हाम्रो योजना छ,’ उनले भने, ‘अर्थ र भौतिक मन्त्रालयसँग कुरा गरेर श्रोत व्यवस्थापन गर्न सहयोग गर्छु ।’

    मिलापत्र गरेर पुरानै कम्पनीलाई मर्मत गर्न लगाउने सहमति भएकामा सरकारी पक्ष नै मुद्दामा जानु आश्चर्यको विषय भएको बताए । ‘मिलापत्र गरेर उच्च अदालतमा गएको किन हो ? यो त आफ्नो काम आफैं रोक्ने जस्तो भयो । निर्माण व्यवसाय मिलेर राज्य पक्ष उच्च अदालतमा गएको किन हो ? यो बाटो लम्ब्याएर ढिला गर्न खोजेको किन हो ? हामी जनप्रतिनिधिमाथि प्रश्न खडा गर्न यसो गरिएको पनि हो कि ? कसैले यसमा नियत राखेरै काम गरेको छ कि भन्ने आशंका भएको छ,’ उनले भने ।

    पुनले वैकल्पिक सडक हुँदाहुँदै सर्वसाधारणका लागि प्रयोग गर्ने बाटो खानी वा सिमेन्ट उद्योगले प्रयोग गर्न नमिल्ने उल्लेख गरे । दाङमा रहेका दुई सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिपर दैनिक दुई सयको हाराहारीमा सो सडकमा गुड्ने गरेका छन् । कार्यक्रममा सहिद मार्ग आयोजनाका प्रतिनिधि, रोल्पाका विभिन्न पालिकाका प्रमुख तथा निर्माण व्यवसायीका प्रतिनिधि सहभागी थिए ।

  • म्याराथन डेब्यूमा सन्तोषीले जितिन् कीर्तिमानी स्वर्ण

    म्याराथन डेब्यूमा सन्तोषीले जितिन् कीर्तिमानी स्वर्ण

    काठमाडौं । नेपाली धाविका सन्तोषी श्रेष्ठले शुक्रबार बंगबन्धु सेख मुजिव ढाका इन्टरनेसनल म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

    दक्षिण एसियाको महिलातर्फको म्याराथनमा उनको यो डेब्यु दौड हो र उनले दुई घण्टा ४६.२२ मिनेटमा दौड पूरा गरिन् । यो नेपालको नयाँ राष्ट्रिय कीर्तिमान पनि हो । उनले यसअघि नेपालकै पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेट ०२ सेकेण्ड दुरीको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन् ।

    त्यही विधामा पुष्पा भण्डारी दोस्रो रहिन् । उनले दुई घण्टा ४९.३३ मिनेटमा दौड पूरा गरिन् । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण र पुष्पा रजत पदक विजेता हुन् । सन् २०१९ मा नेपालमा भएको १३ औं सागमा सन्तोषीले १० हजार मिटर र पुष्पाले म्याराथनमा रजत पदक जितेकी‌ थिइन् ।

  • क्रिप्टोकरेन्सी कारोबारमा ४२ करोड बिगोसहित दुई जना विरुद्ध मुद्दा दायर

    क्रिप्टोकरेन्सी कारोबारमा ४२ करोड बिगोसहित दुई जना विरुद्ध मुद्दा दायर

    काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार अभियोगमा करिब ४२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय मागदाबीसहित दुई जना विरुद्ध बिहीबार मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले यस्तो माग दाविसहित मुद्दा दायर गरेको हो । विभागका अनुसन्धान अधिकृत नवराज अधिकारीका अनुसार पाँच महिना लामो अनुसन्धानपछि झापाका रोहन चौधरी र शुभमकुमार यादवविरुद्ध बिहीबार ललितपुर जिल्ला अदालतमा अभियोग दायर गरेको हो ।

    राजस्वले क्रिप्टोकरेन्सी कारोबारमा मुद्दा दायर गरेको यो पहिलो घटना हो । क्रिप्टोकरेन्सी भनेको निजी क्षेत्रबाट जारी गरिएको मुद्राको रूपमा समेत कारोबार गर्न सकिने डिजिटल वस्तु हो । त्यसैले नेपालमा यसको कारोबारमा विदेशी विनिमयअन्तर्गत मुद्दा चल्ने गरेको छ । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ अनुसार बिगो बमोजिमको जरिवाना ४१ करोड ९४ लाख रुपैयाँ र जेल सजाय मागदाबीसहित अभियोग दायर गरेको जानकारी उनले दिए ।

    अभौतिक मुद्राको कारोबारबाट विदेशी विनिमयको अपचलन हुने गरेको विभागको भनाइ छ । राष्ट्र बैंकले यो कारोबारलाई २०७४ सालमै अवैध मान्दै आएको छ । त्यसैले क्रिप्टोकरेन्सीको कारोबारलाई आर्थिक अपराध मानिँदै आएको छ । शुभमकुमारले कारोबारको रकम राख्न र झिक्न रोहनको बैंक खाता प्रयोग गरेको खुलेको छ । अभियुक्तहरुले आफ्नो डिजिलट डिभाइसको तथ्यांक छोटो समयमा मेटाउन सक्ने भएकाले अन्य विषयभन्दा यो कारोबार अनुन्धानका लागि चुनौती देखिएको विभागको भनाइ रहेको छ ।

  • एसियन कपको अन्तिम १६ मा को-को पुगे ?

    एसियन कपको अन्तिम १६ मा को-को पुगे ?

    काठमाडौं । एसियन कप २०२३ मा बिहीबार लिग चरणका खेल सकिएका छन् । लिग चरणको अन्तिम दुई खेलमा साउदी अरेबिया र थाइल्यान्डले गोलरहित बराबरी खेले । यस्तै किर्गिस्तान र ओमानबीचको खेल १–१ को बराबरीमा रह्यो । यस नतिजापछि समूह ‘एफ’ मा साउदी अरेबिया सात अंकमा शीर्षमा रह्यो भने थाइल्यान्ड पाँच अंकमा दोस्रो स्थानमा रह्यो । यससँगै प्रतियोगिताको अन्तिम १६ को समीकरण पनि पूरा भएको छ ।

    अब क्वाटरफाइनल प्रवेशका लागि ताजाकिस्तान र यूएई, इराक र जोर्डन, अस्ट्रेलिया र इन्डोनेसिया, साउदी अरेबिया र दक्षिण कोरिया, इरान र सिरिया, बहराइन र जापान, कतार र प्यालेस्टाइन तथा उज्वेकिस्तान र थाइल्यान्ड भिड्ने छन् । समूहको तेस्रो स्थानमा रहेका उत्कृष्ट चार टिम नकआउट चरण पुगेका थिए र त्यसमा जोर्डन, प्यालेस्टाइन, सिरिया र इन्डोनेसिया छन् । ओमान र चीन भने भाग्यमानी रहेनन् ।

  • यसरी बढ्दैछ नेपालमा अनौपचारिक अर्थतन्त्र

    यसरी बढ्दैछ नेपालमा अनौपचारिक अर्थतन्त्र

    काठमाडौं । नेपालमा कुल गार्हस्थ उत्पादनको ४३ प्रतिशतसम्म अनौपचारिक अर्थतन्त्र रहेको अनुमान एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले नेपालमा अनौपचारिक अर्थतन्त्रको सम्भावित दायरा कुल गार्हस्थ उत्पादन (जीडीपी) को औसत ४२.६६ प्रतिशत रहेको छ । राष्ट्रिय लेखा विधिअनुसार आर्थिक वर्ष २०१०–११–२०२०–२१ लाई आधार मानेर गरेको अध्ययनले यस्तो देखाएको हो । विभाग प्रमुख प्राडा शिवराज अधिकारीका अनुसार नेपालमा अस्थिर सरकार, अस्थिर नीति र सरकारले लगाउने प्रतिबन्धका समयमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गरेको पाइएको छ ।

    कोभिड–१९ महामारीका बेला सरकारले नाकाबन्दी लगाएको थियो । त्यसबेला अनौपचारिक अर्थतन्त्रको आकार बढेको देखिएको छ । २०१८–१९ मा जीडीपीको ३७.६० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रको आकार २०१९–२० मा ३९.१० प्रतिशतमा उक्लिएको छ । यस अध्ययनमा मुद्रा माग विधि र राष्ट्रिय लेखा विधि प्रयोग गरिएको छ । उनका अनुसार राष्ट्रिय लेखा अनुमान गर्दा अनौपचारिक वा प्रत्यक्ष अवलोकन नभएका आर्थिक गतिविधि अप्रत्यक्ष विधि प्रयोग गरी मापन गरिन्छ ।

    राष्ट्रिय लेखाले अर्थतन्त्रका सबै पक्ष समेट्न थालेसँगै अनौपचारिक अर्थतन्त्रको आकारसमेत क्रमशः घट्दो क्रममा रहेको देखिएको छ । २०१०–११ मा राष्ट्रिय लेखा दृष्टिकोणबाट ४९.१० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रको आकार २०२०–२१ मा आइपुग्दा ३८.६० प्रतिशतमा झरेको देखिएको छ । नेपालमा घरजग्गा र कृषि क्षेत्रमा सबैभन्दा धेरै अनौपचारिक अर्थतन्त्रको हिस्सा रहेको देखिएको छ ।

    तथ्यांकअनुसार घरजग्गामा ९९.९७ प्रतिशत अनौपचारिक अर्थतन्त्रको हिस्सा देखिएको छ । यो पछिल्लो १० वर्षको औसतका आधारमा देखिएको हो । कृषि, वन र मत्स्यपालनमा ९६।.८ प्रतिशत हिस्सा छ । भोजन तथा आवासमा ५०.४२ प्रतिशत हिस्सा अनौपचारिक छ ।

    कार्यालयका पूर्वनिर्देशक तथा तथ्यांक जानकार भण्डारीका अनुसार नेपालमा देशभरि रहेका घरजग्गाले अर्थतन्त्रमा गरिरहेको योगदानका गणना नै भएको छैन । अहिले हुने घरजग्गा किनबेच र घरभाडा कारोबार कुल घरजग्गा अर्थतन्त्रको एक प्रतिशत पनि छैन । सोहीकारण घरजग्गामा शतप्रतिशत हिस्सा अनौपचारिक देखिएको हो ।

  • यू-१९ विश्वकप : निर्णायक खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल

    यू-१९ विश्वकप : निर्णायक खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । यो दुबै टिमका लागि निर्णायक छ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले हारिसकेको छ ।

    अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले हारेको थियो । दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

    दक्षिण एसियाका दुई चर्चित यू १९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले आज यी दुई टोलीबीच यू-१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ । पछिल्लो पटक नेपाल र अफगानिस्तान गत डिसेम्बरमा युएईको आइसीसी ओभल एकेडेमीमा भिडेका थिए । त्यो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । नेपालका अर्जुन कुमालले ९१ रन बनाए पनि जिताउन सकेका थिएनन् । अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रनको इनिङ खेलेका थिए ।

  • काठमाडौंमा बिहीबार सिजनकै कम तापक्रम

    काठमाडौंमा बिहीबार सिजनकै कम तापक्रम

    काठमाडौं । काठमाडौंमा बिहीबार यस सिजनकै कम तापक्रम मापन भएको छ । काठमाडौंमा न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।

    यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो । यसअघि यही माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । माथिल्लो तहमा चिसो बादल आएकाले मौसम पनि चिसिएको छ । त्यसैले अघिल्ला दिनको तुलनामा जाडो झन् बढेको छ ।

    यद्यपि लामो समयदेखि हिउँदे वर्षा नभएकाले यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा कम जाडो छ । यदि पानी पर्ने हो भने काठमाडौंको न्यूनतम तापक्रम घटेर जाडो झन् बढ्न सक्ने मौसमविदहरु बताउँछन् । २०७५ साल पुसमा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो । सन् १९७८ मा भने काठमाडौंको न्यूनतम तापक्रम माइनससम्म पुगेको रेकर्ड छ ।

  • ‘द क्लिफ नेपाल’ले भारतको केरलामा समेत बिस्तार गर्यो विजनेश

    ‘द क्लिफ नेपाल’ले भारतको केरलामा समेत बिस्तार गर्यो विजनेश

    काठमाडौं । बाग्लुङ–कुश्मालाई साहसिक खेल स्थलको रूपमा स्थापित गरेको द क्लिफ नेपालले भारतको कम्पनीमा व्यवस्थापन सम्हालेको छ । द क्लिफ को व्यवस्थापनमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । योसँगै क्लिफ अन्तर्राष्ट्रियस्तरमा पहिलो पटक बन्जीको व्यवस्थापनमा संलग्न भएको हो ।

    केरलामा वाया नाडा कम्पनीले निर्माण गरेको बन्जी जम्प तथा अन्य साहसिक गतिविधि स्काई वाक, स्विङ, सुपरम्यान स्विङको व्यवस्थापन गर्नुका साथै प्राविधिक जनशक्ति द क्लिफले उपलब्ध गराउने अध्यक्ष राजु कार्कीको भनाइ छ । बन्जीको सञ्चालनका लागि प्रशिक्षक तहका कर्मचारीसमेत भएकाले ुक्लिफु सँग सहकार्य गरेको भारतीय कम्पनीले जनाएको छ ।

    भारतीय रुपैयाँ झन्डै ४० करोड लगानीमा निर्माण भएको बन्जीसहितको एड्भेन्चर पार्कमा रहेको बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुनेछ । निर्माणाधीन बन्जी सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बन्जी हुने अध्यक्ष कार्की बताउनुहुन्छ । यससँगै केरलाका तीन वटा ठाउँमा पनि बन्जी सञ्चालन गर्ने क्लिफको तयारी छ । मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा द क्लिफद्वारा सञ्चालित बन्जी देखेपछि भारतीय व्यवसायीले चासो राखेका थिए ।

  • स्वयम्भु क्षेत्रबाट संकलन भयो ६१ टन फोहोर

    स्वयम्भु क्षेत्रबाट संकलन भयो ६१ टन फोहोर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइ कार्यक्रम अन्तर्गत स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन गरेको छ । स्वयम्भू परिक्रमा मार्ग, सिँढी, जङ्गल र स्तुप क्षेत्रको सरसफाइबाट ६१ टन फोहोर संकलन भएको महानगरले जनाएको छ । २१ मंसिरेदेखि सो क्षेत्रको सरसफाइका लागि १ सय जना जनशक्ति परिचालन गरिएको महानगरको भनाइ छ । सफाइका क्रममा प्लास्टिक, कपडा, बोतल, सिसा, रुखका पात लगायत संकलन भएको महानगरले जनाएको छ ।

  • राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो दल

    राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो दल

    काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १–१ जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको छ ।

    यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ । माओवादी केन्द्रका ५ जना निर्वाचित भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल बनेको हो ।

    हाल सबैभन्दा ठूलो दल रहेको भएता पनि अब राष्ट्रिय सभामा एमाले तेस्रो दल बन्नेछ । पदावधि पूरा हुने राष्ट्रिय सभाका २० सदस्यमध्ये ९ जना एमालेका परेका छन । जसमा निर्वाचित ८ जना हुन भने एक जना राष्ट्रपतिले मनोनीत गरेका सांसद छन् । निर्वाचित र मनोनित समेत गरी ९ सांसद घट्दा एमालेका एक सांसद मात्रै नयाँ अनुहार आए । फागुन २० पछि राष्ट्रिय सभामा एमाले १० सिटसहित तेस्रो दलको रुपमा रहनेछ ।

    हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन । जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ । बिहीबार एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ ।

    राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल सकिँदैछ । यो ठाउँमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारी छ । यसो भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन् । निर्वाचित र मनोनित समेत गरी ९ सांसद घट्दा एमालेका एक सांसद मात्रै आए । फागुन २० पछि राष्ट्रिय सभामा एमाले १० सिटसहित तेस्रो दल रहनेछ ।
    लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ । राष्ट्रिय सभा सदस्यका लागि बिहीबार भएको चुनावमा कोशी प्रदेशबाट कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला निर्वाचित भए । मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भए ।

    बागमतीबाट नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भए । राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा निर्वाचित भए ।

    लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भए । कर्णाली प्रदेश्बाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भए । नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भए । सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भए ।

  • लुम्बिनीमा कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी विजयी

    लुम्बिनीमा कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी विजयी

    काठमाडौं । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्मन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।
    विजयी बिष्णुकुमारी सापकोटाले ५४३५ मत भार प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनलाई सत्तारुढ गठबन्धन दलको समर्थन रहेको थियो । उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् ।

  • कोशीमा महिलातर्फ एमाले विजयी, गठबन्धनबाट फ्लोरक्रस

    कोशीमा महिलातर्फ एमाले विजयी, गठबन्धनबाट फ्लोरक्रस

    काठमाडौं । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् । सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित हात पारेकी हुन् ।

    कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।
    कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर एमाले उम्मेदवारलाई भोट दिएपछि गठबन्धनका उम्मेदवार कार्की पराजित भएकी हुन् ।

  • न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर, यी ठाउँ व्यवस्था मिलाउने प्रस्ताव

    न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर, यी ठाउँ व्यवस्था मिलाउने प्रस्ताव

    काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्यूरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ ।

    राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमा असर पर्ने भन्दै व्यापारी आन्दोलनमा उत्रिएका छन् । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पको रूपमा नयाँ सडक वरपरका विभिन्न स्थानमा पार्किङका लागि व्यवस्था गर्न लागिएको जानकारी दिए।

    प्रवक्ता अधिकारीले भने, ‘बन्दै गरेको धरहरा, पिपल्स प्लाजा, आरबी कम्पलेक्स, ताम्राकार हाउस, रञ्जना कम्पलेक्स, विशालबजार, वीर अस्पताल, आर्मी भवन र सुन्धाराको सञ्चय कोष भवन विकल्पका रूपमा छन् । यी स्थानमा पार्किङका लागि महानगरले छलफल गरिरहेको छ ।’

    धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए । उनले भने, ‘तत्कालका लागि नयाँ सडक जान खोजेका सवारीसाधनका धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) ठाउँमा ३०० चारपाङ्ग्रे सवारीसाधन र ७०० दुईपाङ्ग्रे सवारीसाधनलाई निःशुल्क पार्किङको सुविधा उपलब्ध गराएका छौँ । सञ्चय कोष भवनको पार्किङ खोल्न व्यवसायीसँग छलफल गरिरहेका छौँ ।’

    सहायक प्रवक्ता अधिकारीले नयाँ सडकमा पार्किङको व्यवस्था गर्न ‘ह्वील टुल्स प्रालि’ नामक कम्पनीसँग पाँच वर्षका लागि भएको सम्झौताको समय सकिएपछि अब नवीकरण नगर्ने निर्णय भएको जानकारी दिए ।

    महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कर्मचारी सञ्चय कोषले पार्किङ भनेर नक्सापास गराएर व्यापारिक प्रयोजनका लागि सटर भाडामा दिएको आरोप लगाए । उनले भने, ‘सरकारी निकायले महानगरको काममा सहयोग गर्नुपर्ने हो । आफ्नो भवन आफैँले खाली गर्नुपर्ने हो । तर कोषले पार्किङ प्रयोजन भनेर नक्सापास गराउने अनि व्यापारीलाई भाडामा दिने काम गरिरहेको छ ।’

    एक वर्ष पहिले महानगरले कर्मचारी सञ्चय कोष भवनका व्यापारीलाई पसलको अन्य स्थानमा विकल्प खोज्न समय दिए पनि व्यापारीले सुनवाई नगरेको महानगर प्रहरी प्रमुख पाण्डेले गुनासो गरे । अदालतले पार्किङ बनाउनुपर्छ भन्ने निर्णय गरे पनि पसल हटाउन कर्मचारी सञ्चय कोषले सहयोग नगरेको उनको आरोप छ ।

    महानगरपालिकाले मङ्गलबारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध सालिकबाट इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पतालवरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । उक्त क्षेत्रका व्यवसायीले महानगरले व्यवसायीसँग समन्वय र पार्किङको विकल्पबिना एकतर्फीरूपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरिरहेका छन् । व्यवसायीले स्थानीय सामाजिक, व्यावसायिक सङ्घसंस्था र सरोकारवाला सम्मिलित सङ्घर्ष समिति बनाएर सडक आन्दोलन गरिरहेका छन् ।

    नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले महानगरले सरोकारवालासँग परामर्श नगरी एकोहोरोरूपमा पार्किङ निषेधको निर्णय गरेको बताए । उनले भने, ‘पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेका छन् । अहिले न्यूरोडको व्यावसायिक भविष्य सङ्कटमा देखियो । विकल्प नदिई पार्किङ निषेधित गर्नु न्यूरोड क्षेत्रका व्यवसायीलाई धरासायी र विदेश पलायन गराउनु हो ।’

    नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले देशभरको व्यापारिक मुटु न्यूरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए । उनले व्यापारीले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकलाई के जवाफ दिने भन्ने समस्या भएको बताए ।

    पार्किङको व्यवस्था गरेर मात्रै निषेधित क्षेत्र घोषणा गर्नुपर्ने उनले बताए । अध्यक्ष श्रेष्ठले भने, ‘तीन–चार सय सवारीसाधनका लागि पार्किङ व्यवस्था गरेर हुँदैन । न्यूरोडमा दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्छन् । त्यसको दीर्घकालीन व्यवस्था गरेर मात्रै महानगरले ‘नो पार्किङ’को निर्णय गर्नुपर्ने हो ।’

  • भूकम्प पीडितका लागि २८ करोड ७१ लाख संकलन

    भूकम्प पीडितका लागि २८ करोड ७१ लाख संकलन

    काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार ६६५ रुपैयाँ बराबर सङ्कलन भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्ममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिका तर्फबाट सो बराबरको सहयोग रकम जुटेको हो ।

    भूकम्पपछिको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोगको घोषणा भएको थियो । उक्त सहयोगलाई एकद्वार प्रणालीबाट सङ्कलन तथा वितरणका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमार्फत् सहयोग गर्न सरकारले आग्रह गरेको थियो । राहत वितरण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग रकम जम्मा गर्न विभिन्न नौवटा बैंकमा खाता रहेका छन् ।

    भूकम्पपीडितलाई राहत तथा पुनःस्थापनाका लागि केही समयअघि मात्र सरकारले रू २ अर्ब बराबर निकासा गर्ने निर्णय गरेको थियो । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषलाई रू दुई अर्ब उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्पित्ररिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।

    सहायता कोषमा सबैभन्दा धेरै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट रू एक करोड ११ लाख ११ हजार एक सय ११ बराबर सहयोग जम्मा भएको छ । त्यस्तै, बुद्धएयर प्रालि, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक लिमिटेड, सूर्य नेपाल प्रालि, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्राइभेट लिमिटेड, युनीलिभर नेपाल लिमिटेड मकवानपुरले समान रू एक करोड बराबर सहयोग गरेका छन् ।

    जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । पीडितलाई राहत तथा पुनःस्थापनाको काम अहिले पनि सञ्चालन भइरहेको छ ।

  • रोकिएन नेप्सेको ओरालो यात्रा, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार

    रोकिएन नेप्सेको ओरालो यात्रा, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार

    काठमाडौं । शेयर बजारमा लगातार सातौं दिन गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज पनि सोही लय कायम राखेको हो । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.९ विन्दुमा पुगेको हो ।

    यसदिन ३०४ कम्पनीको ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ बराबरको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ७ को परिसूचक घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले घटेको छ ।

    आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ६७ लाख रुपैयाँको ४ लाख ३९ हजार ८५९ कित्ता शेयर किनबेच भएको छ ।

    दोहोरो अंकले घटेको बजारमा पनि सामलिङ पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • अनौपचारिक अर्थतन्त्रको आकार ४२.६६ प्रतिशत

    अनौपचारिक अर्थतन्त्रको आकार ४२.६६ प्रतिशत

    काठमाडौं । नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४२ दशमलव ६६ प्रतिशत रहेको रहेको एक अध्ययनले देखाएको छ।

    त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागले गरेको नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार बारेको अध्ययनले अर्थतन्त्रको आकार कुल ग्राह्यस्थ उत्पादनको करिव ४३ प्रतिशत रहेको देखाएको हो ।

    यस अध्ययनले राष्ट्रिय लेखा र मुद्रा माग दृष्टिकोण प्रयोग गरेर नेपालमा अनौपचारिक अर्थतन्त्रको सम्भावित दायरा प्रस्तुत गरेको छ । राष्ट्रिय लेखा बिधि अनुसारः आर्थिक वर्ष २०१०् ११ ९ २०२०्२१ सम्मस् औसत ४२दशमलव ६६ प्रतिशत छ ।

    अर्थतन्त्रको आकार ४०, ४२ प्रतिशत हुनु भनेको धेरै हो । अनौपचारिक अर्थतन्त्रको आकारलाई क्रमशः घटाउदै लैजानु पर्ने अध्ययनमा बताइएको छ ।

    यस अध्ययनले देखाएको अनौपचारिक अर्थतन्त्रको विस्तारलाई ध्यानमा राख्दै, नेपालको अनौपचारिक अर्थतन्त्रको प्रकृति, प्रकार र कभरेज बुझ्न थप अनुसन्धानको आवश्यकता रहेको बताइएको छ। यस्ता अनौपचारिक लेनदेनहरू व्यापक रूपमा हुने पहिचान गरिएका क्षेत्रहरूको थप निदान गर्न सर्वेक्षणमा आधारित अध्ययनको आवश्यकता छ।

  • ऋण तिर्न डेढ खर्ब ऋण लिँदै नेपाल एयरलाइन्स

    ऋण तिर्न डेढ खर्ब ऋण लिँदै नेपाल एयरलाइन्स

    काठमाडौं । जहाज खरिद गर्न लिएको पुरानो ऋण तिर्न र नयाँ जहाज किन्न नेपाल एयरलाइन्स ९वायुसेवा निगम० ले १ खर्ब ३५ अर्ब रुपैयाँबराबर ऋण लिने भएको छ । सो प्रयोजनका लागि निगमले अन्तर्राष्ट्रिय आशय पत्र निकालेको हो । निगमले मंगलबार आशय पत्र निकालेको जानकारी बुधबार विज्ञप्तिमार्फत दिएको हो ।

    १ सय ५८ सिट क्षमताका ‘ए३२०’ र २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०’ जहाज किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको चर्को ब्याजदरको ऋण तिर्न र नयाँ जहाज खरिद प्रयोजनसहित कम ब्याजदरको ऋण लिन आशय पत्र निकालिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । यसरी लिइने रकमले ऋण तिर्ने, १० वर्षे व्यावसायिक योजनाअनुसार आन्तरिक तथा वाह्य सेक्टरमा उडान गर्न जहाज किन्ने र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत गर्ने ह्यांगर निर्माणमा प्रयोग गर्ने योजना रहेको पौडेलले बताए ।

    यस्तो ऋण एकैपटक नलिई व्यावसायिक लगानीको आवश्यकताअनुसार पटक–पटक लिइने र यस्तो ऋण प्राप्त भएपछि वार्षिक साढे ३ अर्ब रुपैयाँबराबर ब्याज रकम कम तिर्नुपर्ने देखिएको समेत पौडेलले जानकारी दिए ।

    प्रवक्ता पौडेलका अनुसार यो रकम आगामी १० वर्ष भित्र लिइसक्ने योजना छ । त्यसमध्ये कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्न ४८ अर्ब ऋण तत्काल लिने र अन्य रकम भने फण्ड सुरक्षित गरी राख्ने योजना छ । ‘जुन बेला निगमलाई जहाज किन्न पैसा चाहिन्छ, सम्झौता अनुसार सोही कम्पनीबाट ऋण लिने भन्ने योजनासहित अगाडी बढेका हौं,’ उनले भने ।

    निगमको १० वर्षे कार्ययोजना कार्यान्वयन गर्न आवश्यक रकमको जोहो गर्न सहुलीयतपूर्ण ऋण खोजिएको भन्दै उनले यसको प्राप्ति १० वर्ष भित्रै हुने र तत्काल यो सबै पैसा नलिइने उनले बताए । निगमको कार्ययोजनामा १० वर्ष भित्र १२ वटा जहाज थप्ने योजना छ । नेपाल भित्र मंहगो ब्याजदरको मात्र रकम हुने भएकाले विदेशी कम्पनीबाट यस्तो रकम आउने सक्ने अनुमानसहित अन्तर्राष्ट्रिय आषय पत्र निकालिएको उनले बताए ।

  • चीनमा आगलागीमा परी कम्तिमा ३९ जनाको मृत्यु

    चीनमा आगलागीमा परी कम्तिमा ३९ जनाको मृत्यु

    काठमाडौं । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा फसेका बीबीसीको खबरमा उल्लेख छ ।

    आगलागी पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले देशमा पहिरो, आगलागीलगायतका आकस्मिक दुर्घटना बढिरहेकाले यसको नियन्त्रणका लागि डटेर लड्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    उनले मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरता सुनिश्चित गर्नका लागि बारम्बार भइरहेका यस्ता दुर्घटनाहरूलाई रोकथाम गर्न आवश्यक रहेको बताएका छन् । यसअघि युनान प्रान्तमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ३१ जना पुगेको बीबीसीले जनाएको छ ।

  • युक्रेन सीमा नजिक रुसी विमान दुर्घटना ग्रस्त, कम्तिमा ७४ जना मारिए

    युक्रेन सीमा नजिक रुसी विमान दुर्घटना ग्रस्त, कम्तिमा ७४ जना मारिए

    काठमाडौं । रुस र युक्रेनको सीमामा रुसी विमान दुर्घटनामा परेको छ । यस क्रममा ७४ जनाको ज्यान गएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटनामा परेको हो । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।

    दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) थिए । उक्त विमान युक्रेनले खसालेको आरोप रुसले लगाएको छ । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त घटनालाई ‘आतंकवादी काम’ भनेको छ । मन्त्रालयका अनुसार उक्त दुर्घटना बुधबार बेलगोरोडको सीमामा भएको बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि भएको थियो ।

    यसबारे युक्रेनले भने कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय मिडियाले सुरुमा रक्षा स्रोतहरूलाई उद्धृत गर्दै युक्रेनी सेनाले विमानलाई खसालेको र त्यसमा क्षेप्यास्त्र रहेको बताएको थियो । पछि उक्त दावी फिर्ता लिइएको थियो । बन्दीहरूको आदानप्रदानका लागि जिम्मेवार अधिकारीमध्येका युक्रेनी जाँच अधिकारी दिमित्रो लुबिनेट्सले आफ्नो कार्यालयले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् ।

  • यु १९ विश्वकप : पाकिस्तानसँग हार्यो नेपाल

    यु १९ विश्वकप : पाकिस्तानसँग हार्यो नेपाल

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानले नेपाललाई ५ विकेटले हराएको छ । लगातार दोस्रो हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना कम भएको छ । अब नेपालले अफगानिस्तानसँगको खेल जित्नै पर्नेछ । लगातार दोस्रो जितसँगै समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगिसकेका छन् । १९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा आजन आविसले ८२ बलमा ६ चौकासहित नटआउट ६३ रन जोडे ।

    पाकिस्तानलाई ओपनर शम्याल हुसेन र शाहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी दिए हुसेन ५९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । खान ७० बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । नेपालका आकाश चन्दले ९ ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । आकाश त्रिपाठी र दीपेश कँडेलले १–१ विकेट लिए ।

    त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ५० ओभरमा १९७ रनमा अल आउट भएको थियो । नेपालका विपिनले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे । नेपालले शीर्षक्रमका दुई ब्याटर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमै गुमाएको थियो । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रन बनाउन सके ।

    उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे १ छक्कासहित २६ रनमा आउट भएका थिए । पाकिस्तानका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । उनले पाकिस्तानको सिनियर टोलीबाट समेत खेलेका छन् । अहमद हसन र उबेद साहले २–२ विकेट लिए ।

  • स्वस्थानी व्रत प्रारम्भ

    स्वस्थानी व्रत प्रारम्भ

    काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ ।

    स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

    आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।

    माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौं भक्तजन आउने गर्छन् । स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चाको विषय बन्ने गर्छ ।

    स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् । यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन रु यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन ? भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।

  • आज राष्ट्रिय सभा निर्वाचन, नतिजा आजै आउने

    आज राष्ट्रिय सभा निर्वाचन, नतिजा आजै आउने

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

    राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६र६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।

    प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ । कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

    कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो । ६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका सदस्यहरु बिदा हुँदैछन् ।

  • उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पौडेलसहित ८ जनाले ‘भेरिएबल फ्रिक्विन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएकाले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । विना अध्ययन र औचित्यसमेत यकिन नगरि तथा लागत अनुमानसमेत नबनाई उपयोग नहुने सामग्री खरिद गरेको पाइएको अख्तियारले जनाएको छ ।

    सामान खरिदपछि गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरि निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १ सय ६० किलोवाटको भीएफडी प्यानले ५ वर्षसम्म पनि परीक्षण नगराएको अस्वाभाविक रूपमा बढी सामान खरिद गरेको पाइएको अख्यितारले जनाएको छ ।

    अख्यितारले तत्कालीन महाप्रबन्धक पौडेलसहित त्यतिबेलाका नायब महाप्रबन्धक नवलकिशोर साह, कायममुकायम उपनिर्देशक पवनकुमार लाल कर्ण, प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल, निर्देशकद्वय ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई विपक्षी बनाएको छ । उनीहरूले २२ लाख ७८ हजार ३ सय ५ रुपैयाँ उद्योगलाई क्षति गराएको जनाउँदै त्यही बराबरको बिगो दाबी गरी मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकसमेत भइसकेका थिए ।

  • भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ

    भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ

    काठमाडौं । भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान गरिरहेको छ।

    उनीहरूले अनुसन्धानलाई प्रभावित पार्न सक्ने गरी भाग्न खोजेको भन्दै अख्तियारले दुवै जनालाई पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। नेपाल राष्ट्र बैंकको अनुमतिबिना उनीहरूले विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोलेर रकम जम्मा गरेको पाएको प्रवक्ता घिमिरेले बताए।

    उनीहरूले सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको देखिएको पनि अख्तियारले जनाएको छ।
    अख्तियारका अनुसार विकलले अमेरिकामा स्थायी आवासीय अनुमति (ग्रिनकार्ड) लिएको देखिएको हो।

    ‘विकल पौडेलको हकमा उनले अमेरिकाको स्‍थायी आवासीय अनुमतिसमेत लिएको देखिएकोले निजहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले निजहरूलाई बुधबार पक्राउ पुर्जी दिएर थप अनुसन्धान भइरहेको छ,’ अख्तियार प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    उनीहरू दुवै जना हाल निलम्बित छन्। विशेष अदालतमा दायर भएका दुई वटा छुट्टाछुट्टै कसुरको मुद्दा विचाराधीन छ। सुनिल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा प्रतिवादी छन्। अख्तियारले गत असोज १५ गते सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। यसमा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरेको थियो।

    विकल भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रतिवादी छन्। उनीविरूद्ध गत वैशाखमा मुद्दा दायर भएको थियो। अख्तियारले विकल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर २ अर्ब ६९ करोड रुपैयाँको मुद्दा दायर गरेको थियो। विकल एक्लैविरूद्ध अख्तियारले ६९ करोड ८ लाख ८२ हजार ८५४ रुपैयाँको बिगो मागदाबी कायम गरेको थियो।

  • काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र

    काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ । महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो । तर, नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन पत्र पठाएको हो ।

    महानगरको पर्खालसम्बन्धी मापदण्ड छ । उक्त मापदण्ड भन्दा बाहिर कुनैपनि पर्खाल बनाउन पाँइैदन । नारायणहिटीको मापदण्ड भन्दा अग्लो भएकोले संरचना सुधार गर्नको लागि महागरले ताकेता गरेको हो । महानगरको मापदण्ड अनुसार १.२ मिटर अग्लो पर्खाल र ०.६ मिटर जाली लगाउन पाइन्छ ।