Category: फिचर

  • तराईका चार जिल्लामा कडा सुरक्षा: विभिन्न क्षेत्रमा कर्फ्यु

    तराईका चार जिल्लामा कडा सुरक्षा: विभिन्न क्षेत्रमा कर्फ्यु

    १४ साउन, काठमाडौं । पछिल्लो समय उत्पन्न सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै तराईका चार जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासनका अनुसार सुनसरी, सिरहा, धनुषा र पर्सा जिल्लाका तोकिएका क्षेत्रमा आवतजावत, भेला तथा प्रदर्शनमा रोक लगाउँदै कर्फ्यु लागू गरिएको हो । सुनसरी जिल्लाका १० वटै स्थानीय तहमा मङ्गलबार रातिदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

    सिरहाको गोलबजार क्षेत्र, पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका ३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं. ४ को क्याम्पस वरपरको क्षेत्रमा दिउँसो २ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

    सिरहामा लहान क्षेत्र, पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिम सरस्वती खोला (बाटिका होटल पश्चिम)सम्म, उत्तरमा खुट्टी खोलासम्म र दक्षिणतर्फ पूर्व(पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लागू गरिएको छ। धनुषामा जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिका क्षेत्रमा दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

    पर्साको वीरगञ्ज महानगरपालिकाका पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ। स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम राख्न सबै नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न र संयमता अपनाउन आग्रह गरेको छ।

  • आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

    आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

    १४ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज लगायतका क्षेत्रमा हालै देखा परेको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन अपिल गरेका छन् ।
    राष्ट्रपति पौडेलले बिहीबार एक अपिल जारी गर्दै बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय नेपाली समाजमा सदियौँदेखि रहिआएको सद्भाव, मेलमिलाप र भ्रातृत्व नै नेपालको मौलिक पहिचान तथा परम्परा भएको उल्लेख गरे ।


    उनले भनेका छन्, नेपालको यो ऐतिहासिक पहिचानलाई कायम राख्दै देशमा शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछु।

    राष्ट्रपति पौडेलले हाल उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याउन र नागरिकको सहज जीवनयापन गर्ने वातावरण निर्माण गर्न सरकार हरसम्भव प्रयासमा लाग्ने विश्वास व्यक्त गरे । अपिलमा उनले भनेका छन्, यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायबिच आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न म सबैमा हार्दिक अपिल गर्दछु।

    उनले घटनाको निष्पक्ष एवम् सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र आगामी दिनमा यस्ता अवाञ्छित घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबै निकायलाई सचेत रहन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले सो दुःखद् घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घटनामा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

  • मधेशबासी दलका नेतासँग रविले आज पनि गरे छुट्टै छलफल

    मधेशबासी दलका नेतासँग रविले आज पनि गरे छुट्टै छलफल

    १४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अशान्त बन्दै गएको तराई मधेशको अवस्थालाई लिएर मधेशवादी दलका नेताहरुसँग छलफल गरेका छन् । देशमा देखिएको वर्तमान समस्याको निकासका सम्बन्धमा मधेश केन्द्रित दलसँग छलफल भएको हो । छलफलपछि लामिछानेले अहिले आरोप प्रत्यारोप छाडेर बलेको आगो निभाउन लाग्नु पर्ने बताए । सरकारसँगै राजनीतिक दल, समाज, सञ्चारमाध्यम, धार्मिक व्यक्तिहरु समेत अहिले जिम्मेवार बन्नुपर्ने उनले बताए । नेताहरुबाट समेत यस्तै सुझाव आएको उनले बताए । लामिछानेले कसैलाई पनि अरुको हानी नोक्सानीमा नलाग्न र आफन्तलाई त्यस्तो काममा जानबाट रोक्न आह्वान समेत गरेका छन् ।

  • प्रधानमन्त्री बालेनले पहिलो पटक भेटे राष्ट्रपति

    प्रधानमन्त्री बालेनले पहिलो पटक भेटे राष्ट्रपति

    १४ साउन, काठमाडौं । सरकार गठन भएको करीव ४ महिनापछि प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । आज देशका नाममा सम्बोधन गरेपछि उनी राष्ट्रपति भवन शीतल निवासमा पुगेका थिए । भेटवार्ताका क्रममा उनीहरुबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ। सुनसरीबाट सुरु भएको दंगा अन्य जिल्लामा समेत फैलिन थालेसँगै लामो समय निष्कृय रहेका प्रधानमन्त्री आजबाट सक्रिय भएका छन् ।

  • प्रधानमन्त्रीले गरे राष्ट्रका नाममा सम्बोधन, के भने ?

    प्रधानमन्त्रीले गरे राष्ट्रका नाममा सम्बोधन, के भने ?

    १४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष र पारदर्शी हुने बताएका छन् ।
    बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध भएको जिकिर गरे । ‘म विश्वास दिलान चाहन्छु, यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ,’ प्रधानमन्त्री बालेनले भने, ‘घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।’


    यस्तो छ प्रधानमन्त्रीको पुरै सम्बोधन
    म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरूसामू उपस्थित भएको छु ।

    केही दिनअघि सुनसरीको देवानगञ्ज, सिराहालगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ ।

    यस दुस्खद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शोक सन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु ।

    घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी कमजोरी हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइएको छ ।

    घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटना स्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन् ।

    घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृहमन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । म सबैमा विश्वास दिलाउन चाहन्छु ।

    यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।

    अवस्था थप नबिग्रियोस्कु, नै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ ।

    परिस्थिति सामान्यीकरण गर्न केन्द्रस्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ ।

    स्थानीय तहसमेत जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ ।

    स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं स्वस्थानमा पुगिसक्नुभएको छ ।

    साथै, देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ ।

    यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना अफवाह घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न नगराउन अनुरोध गर्दछु ।

    साथै सरकार निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु प्रत्येक नागरिकको जिउ धनको रक्षा गर्नु सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो ।

    आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरु अहोरात्र खटिनेछन् शान्ति सुरक्षा भंग गर्ने अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलाप प्रति सरकार पूर्ण रुपमा सचेत छ र यस गतिविधिमाथि कडा कदम चालिनेछन् ।

    नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ ।

    धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा घृणा र विभाजन सिकाउँदैन सबै धर्मको मूल सार करुणा दया प्रेम र शान्ति नै हो देशको कुनै एक स्थानमा भएको अनअपेक्षित र दुस्खद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायचित वा न्यायसंगत हुन सक्दैन ।

    आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरु,

    हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन् । हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ ।

    हम आम नागरिक नागरिक समाज धार्मिक समुदाय सब आदरणीय अगुवा सब राजनीतिक दल आज जिम्मेवार संचार के माध्यम सब के धैर्यता आ संयमता अपनाके शान्ति सद्भाव भाइचारा आज राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफसे हार्दिक अपील कर रहल छि ।

    धन्यवाद

  • उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन

    उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन

    १४ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

    मन्त्री यादवले उद्योग प्रशासनलाई डिजिटल प्रविधिमैत्री बनाउँदै सेवाग्राहीले अनावश्यक रूपमा विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएपछि विभागले सूचना जारी गर्दै उद्योग दर्ता, नवीकरण, उद्योग अद्यावधिक, उद्योग स्थानान्तरण, पुँजी तथा क्षमता वृद्धि, नाम तथा उद्देश्य संशोधन, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस, वार्षिक प्रगति विवरण, सीएसआर सम्बन्धी सेवा तथा आइइइ÷टीओर स्वीकृतिलगायतका अधिकांश सेवा अब आइएमआइएस मार्फत अनलाइनबाटै उपलब्ध हुने जनाएको छ।

    विभागका अनुसार अनलाइन प्रणालीमा समावेश भइसकेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ। आवश्यक परे सम्बन्धित उद्योग वा कम्पनीका आधिकारिक प्रतिनिधिले मात्र आवश्यक परिचयपत्रसहित उपस्थित भई सेवा लिन सक्नेछन्। त्यस्तै, अनलाइन प्रणालीमा समावेश भएका सेवाका आवेदन र कागजात अब भौतिक रूपमा दर्ता गरिने छैनन्। सम्पूर्ण प्रक्रिया विद्युतीय माध्यमबाटै सम्पन्न गरिने विभागले स्पष्ट पारेको छ।

    मन्त्री गौरी यादवले मन्त्रालयको नेतृत्व सम्हालेसँगै उद्योग प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउने अभियानलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन निरन्तर निर्देशन दिँदै आएकी छन्। विभागले लागू गरेको यो व्यवस्था सोही अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उद्योग विभागले उद्योगी–व्यवसायीलाई अनलाइन प्रणालीको अधिकतम उपयोग गर्न आग्रह गर्दै आवश्यक जानकारी विभागको वेबसाइट तथा प्रणालीमार्फत प्राप्त गर्न सकिने जनाएको छ।

  • शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

    १४ साउन, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा विद्यालय शिक्षा ऐन, सामुदायिक विद्यालयले भोगिरहेका समस्या, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, स्रोत–साधनको व्यवस्थापन, विद्यार्थी सिकाइ सुधार तथा विद्यालय सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल भएको थियो ।


    अन्तरक्रियाका क्रममा प्रधानाध्यापकहरूले विद्यालय तहका वास्तविक समस्या, ऐन कार्यान्वयनसँग सम्बन्धित सुझाव तथा शिक्षा क्षेत्र सुधारका लागि आवश्यक नीतिगत विषयहरू प्रस्तुत गरेका थिए । सो अवसरमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले विद्यालयबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्दै विद्यालय शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन तथा सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि आवश्यक पहल गरिने बताए ।

    उनले शिक्षा क्षेत्रका समस्या समाधानका लागि सरोकारवालासँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिइने धारणा व्यक्त गरे । मन्त्री पोखरेलले समग्र शिक्षा क्षेत्रको सुधारका लागि दीर्घकालीन रुपमा नीतिगत समाधान खोज्नेगरी मन्त्रालयले काम अगाडि बढाएको उल्लेख गरे । शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले सबैको समन्वय र सहकार्यबाट विद्यालय शिक्षाको दीर्घकालीन सुधार गरिनुपर्नेमा जोड दिए ।

  • नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन निर्देशन

    नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन निर्देशन

    १४ साउन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन् ।

    सञ्चार मन्त्रालयमा आयोजित अन्तर निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतका पदाधिकारीहरु उपस्थित थिए । छलफलमा नेपाल टेलिकमका ‘बेस ट्रान्ससिभर स्टेशन’ (बीटीएस), टावर तथा अन्य दूरसञ्चार उपकरणमा भरपर्दो विद्युत् आपूर्ति नपुग्दा देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवामा समस्या देखिएको विषयमा विस्तृत समीक्षा गरिएको थियो ।

    सो छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै सीमित नभई नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिए । उनले नेपाल टेलिकमले राख्ने टेलिफोन टावरमा विद्युत् पहुँच पुर्याउनका लागि टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्यसमूह गठन गरी स्पष्ट कार्ययोजना सहित अघि बढ्न निर्देशनसमेत दिए ।

    “विगतमा अन्तरनिकाय समन्वय कमजोर हुँदा अहिलेका धेरै समस्या देखिएका छन् । अब प्रत्येक निकायले सम्पर्क व्यक्ति तोकेर नियमित समन्वय गर्ने व्यवस्था मिलाउनुहोला । मन्त्रालय नीतिगत समन्वयका लागि आवश्यक सहयोग गर्न तयार छ, सञ्चारमन्त्री तिमिल्सिनाले भने ।

    सम्भव भएसम्म सबै टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्‍याउने विषयमा सञ्चार मन्त्रालय र ऊर्जा मन्त्रालय दुवै प्रतिबद्ध रहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल टेलिकमका टावरमा विद्युत् पहुँच नपुगेका स्थानहरूको स्पष्ट तथ्यांक नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने र त्यसका आधारमा प्राथमिकताका साथ विद्युत् विस्तारको योजना बनाउनुपर्ने बताए ।

    विद्युत् पुगेका क्षेत्रमा समेत कमजोर भोल्टेजका कारण सेवा प्रभावित भइरहेको गुनासो आउने गरेका छन् । त्यस्ता समस्या समाधानका लागि वितरण प्रणालीको क्षमता विस्तार गरिनुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाई थियो ।

    उहाँले फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए । दुर्गम तथा ग्रामीण क्षेत्रमा टेलिफोन र उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम प्रभावकारी रूपमा परिचालन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

    उनले काठमाडौँ उपत्यकासहित प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तार व्यवस्थापनका लागि पनि नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै सहरी सौन्दर्य र सुरक्षित पूर्वाधार निर्माणका लागि तार व्यवस्थापनलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
    छलफलमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले विद्युत् पहुँचको अभाव दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको प्रमुख चुनौती बनेको बताइन् । उनका अनुसार हाल नेपाल टेलिकमका ३१६ वटा टावरमा राष्ट्रिय प्रसारण लाइनबाट भरपर्दो विद्युत् उपलब्ध छैन र ती टावर सोलार ऊर्जाको भरमा सञ्चालन भइरहेका छन् ।

    साथै उनले नेपाल टेलिकमले करिब दुई हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिँदै तीमध्ये करिब १४ सय टावरमा नेपाल विद्युत् प्राधिकरणबाट नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने अवस्था रहेको बताइन् । सञ्चालनमा रहेका कतिपय टावरमा समेत कम भोल्टेजका कारण उपकरण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उल्लेख गर्दै नयाँ साइटमा विद्युत् जडान, पुराना साइटमा भरपर्दो आपूर्ति तथा भोल्टेज क्षमता वृद्धि आवश्यक रहेको धारणा राखिन् ।

    नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विगतमा दुई निकायले छुट्टाछुट्टै योजना बनाउँदा आवश्यक समन्वय हुन नसकेको बताए । आगामी दिनमा नेपाल टेलिकमले नयाँ टावर निर्माण गर्ने स्थानमा विद्युत् पूर्वाधार पनि सँगसँगै विस्तार गर्ने गरी संयुक्त योजना बनाउनुपर्नेमा उनीहरुको जोड थियो ।

    प्राधिकरणले कम भोल्टेजको समस्या समाधान गर्न प्रसारण तथा वितरण लाइनको क्षमता विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिने जानकारी दिँदै विगतका कमजोर पूर्वाधारलाई क्रमशः सुधार गरी सेवा थप भरपर्दो बनाइने बताएको छ । साथै, नियमित समन्वयका लागि संयुक्त समिति गठन गर्न सकिए समस्या समाधान अझ प्रभावकारी हुने प्राधिकरणको भनाई छ । काठमाडौँ उपत्यका, पोखरा, चितवनलगायत क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने कार्यसँग दूरसञ्चार पूर्वाधारलाई कसरी समन्वय गर्ने भन्ने विषयमा पनि छलफल भएको छ ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले देशव्यापी पूर्ण विद्युतीकरण अभियानमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य भइरहेको जानकारी दिँदै दुर्गम तथा ग्रामीण क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जामार्फत टेलिकम टावरमा विद्युत् उपलब्ध गराउन केन्द्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विशेषगरी राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन कठिन हुने स्थानमा सौर्य प्रविधि जडानमार्फत दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा सहयोग गर्ने उनले बताए ।

  • स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापन गर्न सञ्चारमन्त्रीको निर्देशन

    स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापन गर्न सञ्चारमन्त्रीको निर्देशन

    १३ साउन, काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीय भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गरेका छन् ।

    सञ्चार मन्त्रालयमा आयोजित छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ, महानगरको वातावरण विभाग प्रमुख सरिता राई, सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर रुपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधि सहभागी थिए ।

    छलफलपछि सञ्चारमन्त्री तिमिल्सिनाले फोहोर व्यवस्थापनमा प्रभावकारी अनुगमन, स्थानीयवासीका गुनासोको सुनुवाइ, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहोर व्यवस्थापन गर्न निर्देशन दिए । साथै फोहोर व्यवस्थापन बारे स्थानीयले उठाउँदै आएका गुनासालाई गम्भीर रूपमा लिनुपर्ने बताए ।


    स्थानीयवासीले बञ्चरेडाँडा फोहोर बिसर्जनस्थलसम्म पुग्ने सडक अत्यन्तै जीर्ण रहेको, फोहोरबाट दुर्गन्ध फैलिने, फोहोर बोकेका सवारीसाधन नछोपेरै सञ्चालन गरिने, बीच बाटोमै फोहोर खसाल्ने, फोहोर विसर्जनपछि गाडी नधोई उपत्यकातर्फ फर्काइने तथा फोहोरमाथि पर्याप्त मात्रामा माटोले छोप्ने (क्यापिङ) कार्यमा लापरवाही भइरहेको गुनासो गर्दै आएका छन् । सञ्चारमन्त्री तिमिल्सिनाले स्थानीयका यी गुनासा सम्बोधनका लागि सम्बन्धित निकायहरुलाई बोलाएर छलफल गरेका छन् ।


    बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकाबाहेक अन्य २० वटा स्थानीय तहबाट समेत फोहोर ल्याइने भए पनि ती स्थानीय तहलाई व्यवस्थापनको जिम्मेवारीमा प्रभावकारी रूपमा सहभागी गराउन नसकिएको विषय उठाइएको छलफलमा उठाइएको । हाल बन्चरेडाँडाको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी र आर्थिक भार काठमाडौँ महानगरपालिकाले व्यहोर्दै आएको छ ।

    सञ्चारमन्त्री तिमिल्सिनाले बञ्चरेडाँडामा भइरहेको फोहोर व्यवस्थापनको सम्बन्धमा सम्बन्धित निकायबाट नियमित तथा छड्के अनुगमन हुनुपर्नेमा जोड दिए । उनले स्थानीयवासीका गुनासो तत्काल सुनुवाइ हुने व्यवस्था मिलाउन निर्देशन दिनुहुँद्यै बञ्चरेडाँडा पुग्ने सडक जसरी पनि निर्माण गर्नुपर्ने बताए ।

    “बञ्चरेडाँडा ल्याण्डफिल साइटसम्म जाने बाटो निकै खराब छ भन्ने गुनासो निकै धेरै आएका छन् । बाटो बनाउने काम जसरी हुन्छ तत्काल थाल्नुहोला । त्यसका लागि आर्थिक स्रोत व्यवस्थापन कसले गर्ने हो, सम्बन्धित निकायले समन्वय गरेर गर्नुहोला,” उनले भने, “पीडामा रहेका स्थानीयलाई केही राहत दिनका लागि पनि आवश्यक पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्छ ।”


    फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्न ल्याण्डफिल साइटमै पुग्ने फोहोरको मात्रा घटाउन स्रोतमै फोहोर छुट्याउने, संकलन तथा ढुवानी प्रणालीलाई प्रभावकारी बनाउने, नागरिकको सेवा सन्तुष्टि बढाउनेलगायतका विषयमा भएका प्रगति तथा पहल बारे पनि सञ्चारमन्त्री तिमिल्सिनाले जानकारी लिएका छन् ।


    बैठकमा काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा भइरहेको फोहोर व्यवस्थापनका कामबारे जानकारी गराएको थियो । विशेषगरी फोहोर विसर्जनपछि आवश्यक समयमा माटोले ढाक्ने काम (क्यापिङ) भए–नभएको, दैनिक व्यवस्थापनको अवस्था, कर्मचारी परिचालन तथा सञ्चालन प्रक्रियाबारे छलफल भएको थियो ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुराँगाईले बञ्चरेडाँडा ल्याण्डफिल साइटको दीर्घकालीन व्यवस्थापनका लागि फोहोर संकलन केन्द्रको संख्या बढाउने, फोहोर वर्गीकरण र ग्रेडिङ प्रणालीलाई विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिए ।

    उनका अनुसार महानगरपालिकाले विकेन्द्रित फोहोरमैला व्यवस्थापनको अवधारणाअनुसार महानगरलाई सात वटा फोहोर क्लस्टरमा विभाजन गरी सुख्खा फोहोर पुनःप्रयोग (रिसाइकल) का लागि आफ्नै क्षेत्रमा व्यवस्थापन गर्ने योजना अघि बढाएको छ । तर ती सातवटै स्थानमा फोहोर ग्रेडिङ केन्द्र निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा अन्य प्रक्रिया समयमा सम्पन्न हुन नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको समस्या पनि बैठकमा उठाइएको थियो ।

    हाल बञ्चरेडाँडामा पुग्ने फोहोरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने रहेको छ । स्रोतमै फोहोर छुट्याउने अभ्यास प्रभावकारी हुन नसक्दा वर्गीकरणमा समस्या देखिएको र त्यसले ल्याण्डफिल साइटमा थप समस्या सिर्जना गरेको महानगरपालिकाको भनाई छ । त्यस्तै, दैनिक दुई सयभन्दा बढी फोहोर बोकेका ट्रक बञ्चरेडाँडा पुग्ने गरेकोमा वर्षायाममा कच्ची सडकका कारण सवारीसाधन पटक–पटक बाटोमै अड्किने, त्यसबाट दुर्गन्ध फैलिने तथा स्थानीय जनजीवन प्रभावित हुने अवस्था रहेको विषय बैठकमा उठाइएको थियो ।

    नेपाल सरकारले १,७९२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण गरिएको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा २०७९ जेठ १० गतेदेखि फोहोर विसर्जन सुरु गरिएको थियो । यो नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा अवस्थित छ ।

    हाल बञ्चरेडाँडामा काठमाडौँ उपत्यकासहित २१ वटा स्थानीय तहबाट दैनिक औसत दुई सय ट्रक फोहोर विसर्जन हुँदै आएको छ । बैठकले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन सबै स्थानीय तहको साझा जिम्मेवारी र समन्वय आवश्यक रहेकोसमेत निष्कर्ष निकालेको छ ।

  • हुलाकमार्फत ८,१८० राहदानी सेवाग्राहीको घरमा

    हुलाकमार्फत ८,१८० राहदानी सेवाग्राहीको घरमा

    १४ साउन, काठमाडौं । सरकारले हुलाकमार्फत ८ हजार १८० राहदानी सेवाग्राहीको घरमै पुर्याएको छ । सञ्चार मन्त्रालयको आंकडा अनुसार कूरियर सेवामार्फत ती राहदानी घरमै लगिएको हो । हुलाकमार्फत हालसम्म हुम्लाबाहेक सबै जिल्लामा राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य प्रयोगशाला नमुनालगायतका सामग्री नागरिकको घरसम्मै पुर्‍याउन थालिएको छ। हालसम्म हुलाकमार्फत २,३७,८४० वटा राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरिएको छ ।

    ८,१८० वटा राहदानी सेवाग्राहीको घरमै पुर्‍याइएको छ। सवारी चालक अनुमतिपत्रतर्फ १०,३८,५२३ वटा अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म ढुवानी गरिएको छ भने १,०९४ वटा लाइसेन्स सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ। यसैगरी, हालसम्म त्रिभुवन विश्वविद्यालयका २६३ वटा शैक्षिक प्रमाणपत्र तथा विभिन्न १७ वटा अस्पतालका १,४३६ वटा स्वास्थ्य प्रयोगशाला नमुना ढुवानी गरिसकिएको छ।

  • प्रतिनिधिसभा बैठक आज बस्दै

    प्रतिनिधिसभा बैठक आज बस्दै

    १४ साउन, काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

    यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ । रासस

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    १४ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिमा उल्लेखछ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी कोशी प्रदेशको पहाडी र तराई भू–भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । रासस

  • विद्युत् महसुल संरचना समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया सुरु

    विद्युत् महसुल संरचना समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया सुरु

    १३ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो ।


    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समय सीमासहित समिति गठन गरेको जनाएको छ । समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोगसमक्ष प्रक्रिया अघि बढाउनेछ ।


    प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी वर्षायाममा उत्पादन भएको विद्युत् पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढाउने नीति आवश्यक देखिएको छ । सोही सन्दर्भमा घरायसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्ने तयारी गरिएको हो ।


    प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखिएको जनाएको छ । यसबाट उपभोक्ताको मासिक विद्युत् खर्चमा कमी आउनुका साथै उद्योगहरूको उत्पादन लागत घट्ने अपेक्षा गरिएको छ।


    महसुल पुनरावलोकनका लागि सञ्चालक समितिका सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा ऊर्जा मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा तथा वित्त क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।


    त्यस्तै सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ । सञ्चालक समितिका सदस्य शम्भु केसीको संयोजकत्वमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् ।


    छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालन परियोजना तथा प्राप्त उजुरीहरूको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

  • सभामुखले भेटे प्रधानमन्त्रीसहितका नेता, के भयो छलफल ?

    सभामुखले भेटे प्रधानमन्त्रीसहितका नेता, के भयो छलफल ?

    १३ साउन, काठमाडौं । सभामुख डीपी अर्यालले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका छन् । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह तथा नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गरे । अर्यालले विपक्षी दलका नेता भिष्मराज आङदेम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो।

    त्यसैगरी, मंगलबार नै सम्माननीय सभामुख अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका छन् । छलफलमा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो।

  • आजको मन्त्रीपरिषद् बैठकले के के गर्यो निर्णय ?

    आजको मन्त्रीपरिषद् बैठकले के के गर्यो निर्णय ?

    काठमाडौँ, साउन १३ गते । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नौ वटा विधेयक स्वीकृत गर्दै महत्त्वपूर्ण पाँच निर्णय गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार बसेको मन्त्रीपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरे । बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सङ्घीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ।

    यसैगरी राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, बालश्रम (निषेध र नियमित गर्ने) सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयकसमेत संसद्‌मा पेस गर्न स्वीकृति दिइएको छ।

    बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ। त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसम्बन्धी निर्णय गर्नुका साथै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गरिएको छ। यसका साथै मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको छ।

  • सुनसरी घटना छानबिन समितिमा दुई सदस्य थप, यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन

    सुनसरी घटना छानबिन समितिमा दुई सदस्य थप, यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन

    १३ साउन, काठमाडौं । सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई जना सदस्य थप गरेको छ। गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी उपरीक्षक मोहनसिंह धामी र प्रहरी निरीक्षक दिपेश अवस्थीलाई सदस्यका रूपमा मनोनयन गरेको हो। यससँगै समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिइएको छ।

    गत आइतबार राति सुनसरीको देवानगन्जमा दुई समूहबिच भएको झडपका सम्बन्धमा छानबिन गर्न सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। मन्त्रालयले सुनसरीलगायत अन्य जिल्लामा सोही प्रकृतिका घटना दोहोरिन नदिनका लागि पूर्वतयारीसमेत तीव्र पारेको छ। यसका लागि बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लामा शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय भइरहेको छ।

    यसैबिच, गृह मन्त्रालयमा आज गृहमन्त्रीसहित सचिव र सुरक्षा निकायका प्रमुखको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे गम्भीर समीक्षा गरिएको छ। मन्त्रालयले वार्ताको माध्यमबाट सुनसरीको समस्या समाधान गर्न पहल गरिरहेको र हाल देवानगन्जलगायत संवेदनशील क्षेत्रमा अवस्था सामान्य बन्दै गएको जनाएको छ।

  • सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

    सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

    १३ साउन, काठमाडौं । सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।

    सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ ।

    यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एक कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ । सहमतिपछि नेपाल चिकित्सक संघले जारी राखेको आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने सहमति भएको छ ।

  • सुनसरी घटना : प्रहरी र सशस्त्रका आईजीपीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

    सुनसरी घटना : प्रहरी र सशस्त्रका आईजीपीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

    १३ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् । गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

    ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्‍याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिए । प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएका छन् ।

  • सामाजिक सदभाव कायम राख्न कांग्रेसको आह्वान

    सामाजिक सदभाव कायम राख्न कांग्रेसको आह्वान

    १३ साउन, काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आग्रह गरेको छ । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनाबारे कांग्रेस प्रवक्ता देवराज चालिसेले बुधबार एक सन्देश जारी गरी यस्तो आग्रह गरेका हुन् । ‘यस घडीमा थप हिंसा र क्षति हुन नदिन धैर्य, संयम र संवादको बाटो अपनाउन सबैको कर्तव्य हो,’ सन्देशमा भनिएको छ, ‘धमिलो पानीमा माछा मारेर सामाजिक सद्भाव खलबल्याउने र साम्प्रदायिक हिंसा भड्काउने तत्त्वप्रति चनाखो रहन आवश्यक छ ।’

    अफवाह र उत्तेजनाले परिस्थिति थप जटिल बनाउनसक्ने कांग्रेसले भनेको छ । ‘यस परिस्थितिमा सरकारले संवेदनशीलता गुमाएपनि समाजले संयम गुमाउनु हुँदैन । अतस् अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण स्थानीयवासी, नागरिक समाज र राजनीतिक दलहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ कांग्रेसको सन्देशमा भनिएको छ ।

    यस्तै, कांग्रेसले पार्टीका सबै समिति, नेता र सदस्यहरूलाई पीडित परिवारमा सहयोग पुर्‍याउन, घाइतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने कार्यमा खटिन निर्देशन दिएको छ । ‘साथै, सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आफ्ना सबै नेता, कार्यकर्ता र सदस्य साथीहरूमा पार्टी कडा निर्देश गर्दछ,’ कांग्रेसले भनेको छ । निर्देशनको उल्लंघन गरेमा विधानबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।

    यस्तै, सुनसरी घटनामा सरकार देश र नागरिकको सुरक्षासँग अनभिज्ञ रहेको टिप्पणी गरेको छ । ‘विशेषगरी पछिल्लो समयमा देखिएका सुरक्षा सम्बन्धी विभिन्न घटना हेर्दा यो सरकार देश र नागरिकको सुरक्षा संवेदनशीलता र चुनौतीसँग पूर्णतः अनभिज्ञ रहेको प्रतित हुन्छ,’ कांग्रेसले भनेको छ । कांग्रेसले सामान्य विवादमा नागरिकको ज्यान जानेगरी गोली चलाउनु पर्ने अवस्था किन आयो ? भन्दै प्रश्न पनि गरेको छ । ‘र, संवेदनशील परिस्थितिमा राज्य संयमित हुन किन सकेन ? यी प्रश्नहरूको जवाफ सरकारले दिनु पर्दछ र घटनाको सम्पूर्ण जिम्मेवारी लिनु पर्दछ,’ कांग्रेसले भनेको छ । यस्तै, घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ ।

  • बालेन बने रास्वपाको वरिष्ठ नेता

    बालेन बने रास्वपाको वरिष्ठ नेता

    १३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेतामा बालेन्द्र शाह (बालेन)लाई मनोनीत गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । रास्वपा र काठमाडौं महानगरका तत्कालीन मेयर बालेन्द्र शाह वीचमा चुनावअघि राजनीतिक सहमतिका आधारमा वरिष्ठ नेता बनाइएको थियो । संशोधित विधानमा वरिष्ठ नेताको व्यवस्था राखिएको छ ।

  • सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

    सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

    १३ साउन, काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्ने बताए ।


    “विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ,” उनले भने । पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको भन्दै प्रश्न उठाए । उनले सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवादसमेत दिए ।


    उनले सरकारले अझ जिम्मेवार, सक्रिय र संवेदनशील भएर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्नेमा जोड दिए । संसद्मा पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उनको भनाइ थियो।

    “बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन। संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ,” उनले भने । प्रचण्डले आफ्नो पार्टीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशनसमेत दिएको जानकारी दिए ।

    उनले घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाह्य रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहनुपर्ने बताए । “यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो,” उनले भने । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने उनको धारणा थियो।

    उनले सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

  • कपिलवस्तुमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

    कपिलवस्तुमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

    १३ साउन, काठमाडौं । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले मोटरसाइकल, साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो। अस्पतालका चिकित्सकले तीमध्ये तीन जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घाइते एक जनाको उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार मृत्यु हुनेमा दुई जना साइकल यात्री र एक जना पैदल यात्री रहेका छन्। गोरखापत्रबाट

  • जापानमा शक्तिशाली भूकम्पपछि यस्तो छ अहिलेसम्मको क्षतिको विवरण

    जापानमा शक्तिशाली भूकम्पपछि यस्तो छ अहिलेसम्मको क्षतिको विवरण

    १३ साउन, काठमाडौं । जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७।१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २० वर्ष उमेर समूहका दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना कार्डियोपल्मोनरी अरेस्ट (हृदय र श्वासप्रश्वास बन्द भएको अवस्था) मा भेटिएका छन् ।

    अन्य पाँच जना घाइते भए पनि उनीहरूको अवस्था गम्भीर नरहेको जनाइएको छ । जापानको अग्नि नियन्त्रण निकाय, प्रहरी र सेल्फ डिफेन्स फोर्सले रातभर उद्धार अभियान सञ्चालन गरेका थिए । भवनभित्रबाट सहयोगको आग्रह आएको स्थानलाई केन्द्रित गरेर खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन् ।

    जापानी प्रधानमन्त्री सानाए ताकाइचीले क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताउँदै केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको, आगलागी भएको तथा सडक, पुल र भवनमा व्यापक क्षति पुगेको जानकारी दिइन् । भूकम्पपछि करिब तीन लाख मानिसलाई सुरक्षित स्थान तथा अस्थायी आश्रय केन्द्रमा जान निर्देशन दिइएको छ । क्युसु क्षेत्रमा लगातार परकम्प (आफ्टरसक) आइरहेकाले उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

    करीब २०० पसल रहेको एइअन सपिङ मलको एक भाग विस्फोटपछि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । भवनको बाहिरी भाग भत्किँदा फलामका संरचना बाहिर निस्किएका र पार्किङ क्षेत्रमा भग्नावशेष छरिएको दृश्य सार्वजनिक भएका छन् । मल सञ्चालक कम्पनीले भूकम्पलगत्तै ग्राहक र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ । विस्फोटको कारण अझै खुल्न नसके पनि ग्यास चुहावटका कारण विस्फोट भएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

    घटनास्थल नजिकै रहेका एक प्रत्यक्षदर्शीले भूकम्पपछि भाँडा सफा गरिरहेको बेला ठूलो विस्फोट भएको र धुवाँको मुस्लो उड्दा ज्वालामुखीको खरानी झरेजस्तै वातावरण बनेको बताएका छन् । यसैबीच, निप्पोन पेपर इन्डस्ट्रिजको एक कारखानामा चिम्नी भत्किँदा केही कर्मचारी सम्पर्कविहीन भएका छन् । दुई अस्पतालमा ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । भूकम्पका बेला सञ्चालनमा रहेका तीव्र गतिको रेलका केही यात्रु पनि घाइते भएका छन् ।

    भूकम्पपछि विभिन्न स्थानमा भवनहरू आंशिक रूपमा भत्किएका तथा आगलागीका घटना भएका छन् । केन्द्रबिन्दु नजिकैको एक सहरमा भवन भत्किँदा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्य राजमार्गमा ठूला चिरा परेपछि सडक यातायात प्रभावित भएको छ । रेल सेवा स्थगित गरिएको छ भने कुमामोटो विमानस्थलको धावनमार्ग बन्द भएपछि धेरै उडान रद्द तथा अन्यत्र मोडिएका छन् ।

    भूकम्पपछि विश्वकै ठूलो चिप उत्पादन गर्ने कम्पनी टीएसएमसी, सोनी र फुजिफिल्मले आफ्ना कारखानाबाट कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेका छन् । टीएसएमसीले आफ्नो उत्पादन केन्द्रमा ठूलो क्षति नभएको र क्रमशः उत्पादन पुनः सञ्चालन भइरहेको जनाएको छ । टोकियो इलेक्ट्रोनले भने कुमामोटोस्थित आफ्ना दुई कारखानाको सञ्चालन बुधबारसम्मका लागि स्थगित गरेको छ ।

    होन्डाले पनि मोटरसाइकल कारखानाको उत्पादन अस्थायी रूपमा रोकेको जनाएको छ । भूकम्पको केन्द्रबिन्दु कुमामोटो सहरबाट करिब २० किलोमिटर दक्षिणमा रहेको जापानको मौसम विज्ञान निकायले जनाएको छ । प्रभावित क्षेत्रमा आगामी एक सातासम्म शक्तिशाली परकम्प आउन सक्ने तथा पहिरोको जोखिम उच्च रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

    क्युसु इलेक्ट्रिक पावरका अनुसार भूकम्पपछि करिब ४८ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । यद्यपि, प्रभावित क्षेत्रमा रहेका कुनै पनि आणविक विद्युत् केन्द्रमा असामान्य अवस्था नदेखिएको जापानको आणविक नियमन प्राधिकरणले जनाएको छ । कुमामोटोमा एक दशकअघि आएको विनाशकारी भूकम्पमा २७५ जनाको मृत्यु भएको थियो भने हजारौं भवन क्षतिग्रस्त भएका थिए । यसपटक पनि ठूलो क्षति हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् ।

  • आज गुरु गुरुपूर्णिमा मनाइदै

    आज गुरु गुरुपूर्णिमा मनाइदै

    १३ साउन, काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरुपूर्णिमाका रूपमा लिने गरिएको छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजन खुवाउनुका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।

    गुरुपूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघ–संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरिन्छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको जानकारहरु बताउँछन् ।

  • ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

    ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

    १३ साउन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग मङ्गलबार ह्वाइट हाउसमा छुट्टाछुट्टै उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । युक्रेन युद्ध, इरानसँगको तनाव तथा पश्चिम एसियाको सुरक्षा अवस्था यी भेटवार्ताका मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ । ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प–जेलेन्स्की भेटवार्ता मुख्य रूपमा रुस–युक्रेनबिच जारी शान्ति प्रक्रियामा केन्द्रित हुनेछ । अधिकारीले अब युद्ध अन्त्य गर्ने समय आएको धारणा व्यक्त गरेका छन् ।


    उता, ट्रम्प र नेतान्याहुबिचको वार्तामा इरानसँगको द्वन्द्व, इजरायल–लेबनान वार्ताको प्रगति तथा अब्राहम सम्झौता विस्तारका विषय प्राथमिकतामा रहनेछन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानका केही विषयमा नेतान्याहुसँग सामान्य मतभेद भए पनि दुवै देशबीचको गठबन्धन अत्यन्त निकट रहेको बताएका छन् । यसअघि सोमबार नेतान्याहु उच्चस्तरीय वार्ताका लागि वासिङ्टन पुग्नुभएको थियो । प्रस्थानअघि उहाँले इरानबाट उत्पन्न सुरक्षा चुनौती नै आफ्नो भ्रमणको प्रमुख विषय हुने स्पष्ट पार्दै इजरायलको सुरक्षा सुदृढ गर्नु र क्षेत्रीय शान्तिको दायरा विस्तार गर्नु भ्रमणको उद्देश्य रहेको बताएका थिए ।

    यो भेट ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि उनी र नेतान्याहुबिच हुने आठौँ आमनेसामने द्विपक्षीय बैठक हो र यो भेटले वासिङ्टन र जेरुसेलमबीचको घनिष्ठ समन्वयलाई थप पुष्टि गर्ने अपेक्षा गरिएको छ । यसैबिच, ट्रम्पले जेलेन्स्कीले लगाएको रुसले इरानलाई अमेरिकी सैन्य अड्डामाथि आक्रमण गर्न खुफिया सूचना उपलब्ध गराएको आरोपलाई तत्काल स्वीकार गर्न अस्वीकार गरेका छन् । उनले त्यस्तो गतिविधि उच्च तहबाट भएको आफूलाई नलागेको बताउँदै आवश्यक परे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यसबारे प्रत्यक्ष सोध्ने जानकारी दिए ।


    जेलेन्स्कीले मस्कोले इरानलाई अमेरिकी सैन्य चौकी तथा खाडी क्षेत्रका पूर्वाधारमाथि आक्रमण गर्न स्याटेलाइटमार्फत खुफिया सूचना उपलब्ध गराएको आरोप लगाएका थिए । उनले रुसले आफ्नो सैन्य क्षमता सुदृढ बनाउन उत्तर कोरियाबाट ३० हजार सैनिक परिचालन गर्ने तयारी गरिरहेको दाबी पनि गरे ।

    एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमता कमजोर बनाएको दाबी दोहोर्‍याउँदै रुसबाट सहयोग प्राप्त भए पनि त्यसले तेहरानलाई निर्णायक लाभ नदिएको टिप्पणी गरे । उनले जेलेन्स्कीको आरोप सत्य भए–नभएको विषयमा आवश्यक जानकारी सङ्कलन गरिने पनि बताए । ह्वाइट हाउसको भेटवार्तापछि ट्रम्प, जेलेन्स्की र नेतान्याहु वासिङ्टनमा आयोजित अमेरिकी सिनेटर स्वर्गीय लिन्डसे ग्राहमको अन्त्येष्टि कार्यक्रममा पनि सहभागी हुने अपेक्षा गरिएको छ । राससएएनआई

  • रास्वपा सभापतिको आह्वानमा सर्वदलीय बैठक सुरु हुँदै

    रास्वपा सभापतिको आह्वानमा सर्वदलीय बैठक सुरु हुँदै

    १३ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक बिहान ८ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा सहभागी हुन नेताहरु जाने क्रम जारी छ । बैठकमा सहभागी हुन नेकपाका संयोजक प्रचण्ड समेत सिंहदरबार पुगेका छन् । सीके राउत, उपेन्द्र यादवलगायत मधेशबादी दलका नेतासमेत बैठकमा सहभागी हुँदैछन् ।

    छलफलका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै र मधेशवादी दललाई आमन्त्रण गरिएको छ । सभापति लामिछानेको सचिवालयका अनुसार सबै दललाई पत्राचार गरिसकिएको छ । साथै लामिछानेले विभिन्न दलका नेताहरूसँग आफैं फोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन् । रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन् ।

    ‘अत्यन्तै संवेदनशील र दुखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेका हौं,’ आचार्यले भने ।

  • गाङखेलबाट ठूलो परिणामको लागू औषधसहित तीन पक्राउ, दुई जना भारतीय नागरिक

    गाङखेलबाट ठूलो परिणामको लागू औषधसहित तीन पक्राउ, दुई जना भारतीय नागरिक

    १३ साउन, काठमाडौं । ससश्त्र प्रहरीले काठमाडौं महानगरपालिका१४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषधसहित तीनजनालाई पक्राउ रेको छ ।
    भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया ५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान ६ बस्ने २४ वर्षीय दिपक राई पक्राउ परेका हुन् ।
    भारतबाट ल्याएर नेपालमा लागुऔषध बेचबिखन गरिरहेको सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएकाहरूका साथबाट डामाडोल नामको लागुऔषध एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनी को बीएसी ७०१७ नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२-०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान र नेपाली रूपैयाँसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद सामानसहित कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • चौतर्फी आलोचनाका बीच मध्यराती आयो प्रधानमन्त्रीको स्टाटस

    चौतर्फी आलोचनाका बीच मध्यराती आयो प्रधानमन्त्रीको स्टाटस

    १३ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरीमा भएको घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सो प्रतिबद्धता जनाएका हुन् । घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको भन्दै उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको भन्दै दोषीमाथि कानुनअनुसार कारबाही हुने जनाएका छन् । मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले लेखेका छन्, ‘सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ ।’

    उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन् । एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न पनि प्रधामन्त्रीले आह्वान गरेका छन् ।

    प्रधानमन्त्रीले लेखेका छन्, ‘फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।’

    सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छन् । प्रधानमन्त्री शाहले सामाजिक घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । सुनसरीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गइसकेको छ । धार्मिक कारणलाई उचाल्दै भड्किएको हिंसा कम गर्न समयमै पहल नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना भइरहेको छ ।

  • सुनसरी घटनामा प्रधानमन्त्री मौन, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक

    सुनसरी घटनामा प्रधानमन्त्री मौन, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक

    १२ साउन, काठमाडौं । सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले भोलि विहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका छन् । यस घटनामा प्रधानमन्त्री बालेन शाह मौन छन् । रास्वपा सभापति लामिछानेले छलफल विहान ८ बजे लेखा समितिको बैठक कक्षमा बोलाएका छन् । छलफलमा संसदमा रहेका सबैे दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई आमन्त्रण गरिएको छ।

    सबै दललाई पत्राचार गरिएको छ। सभापतिले नेताहरूलाई आफैं फोन गरेर पनि आमन्त्रण गरेको सभापतिको सचिवालयले जनाएको छ । अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रुपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरि सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रुपमा पनि सामुहिक सन्देश र अपीलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिए ।

  • सञ्चारमन्त्री तिमिल्सिनासँग एनआरएनए प्रतिनिधिको भेट, के भयो कुराकानी ?

    सञ्चारमन्त्री तिमिल्सिनासँग एनआरएनए प्रतिनिधिको भेट, के भयो कुराकानी ?

    १२ साउन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्नेगरी सरकारले नीतिगत, कानुनी तथा व्यावहारिक सुधारलाई प्राथमिकता दिएको बताएका छन् । उनले विदेशमा रहेका नेपालीको अनुभव र लगानीलाई राष्ट्र निर्माणमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर तथा डिजिटल पूर्वाधारजस्ता क्षेत्रमा लगानीका लागि नेपाल तयार रहेको स्पष्ट पारे ।


    आज सूचना र तथा सञ्चार मन्त्रालयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीसँग भएको भेटवार्तामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढाइरहेको बताए । छलफलमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेललगायतको सहभागिता थियो ।

    भेटका क्रममा एनआरएनएका प्रतिनिधिहरुले सन् २०२७ को जनवरीमा काठमाडौँमा आयोजना हुने चौथो ‘एनआरएनए ग्लोबल नलेज कन्भेन्सन–२०२७’ को तयारीबारे जानकारी गराएका छन्। उक्त सम्मेलनले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, अनुभव र नवप्रवर्तनलाई नेपालको विकाससँग जोड्ने उद्देश्य राखेको एनआरएनले जनाएको छ।

    छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारले विभिन्न स्थानमा आधुनिक डाटा सेन्टर निर्माणको प्रक्रिया अघि बढाइरहेको बताउँदै ती परियोजनामा स्वदेशी तथा विदेशी लगानी दुवैको आवश्यकता रहेको बताए । एआई, डाटा सेन्टर, डिजिटल पूर्वाधार र सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्न उपयुक्त वातावरण बनेको उल्लेख गर्दै उनले लगानीकर्ताका लागि थप सहज वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले विदेशमा बसोबास गर्ने नेपालीले स्वदेशप्रति गहिरो माया राख्ने र देशका लागि केही गर्न चाहने भावना सकारात्मक रहेको उल्लेख गरे ।

    त्यस सम्भावनालाई नीतिगत रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालमा सीप, प्रविधि र पुँजी भित्र्याएर राष्ट्र निर्माणमा योगदान गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे । अहिले सरकारले सुशासन र नागरिक सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर राजनीतिक संस्कारमा समेत परिवर्तन ल्याउने उद्देश्यका साथ काम गरिरहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले सुधारका प्रयासमा विभिन्न समस्या तथा व्यवधान आए पनि निरन्तर अघि बढ्ने स्पष्ट पारे ।


    “अहिले जहाँ हेरे पनि सुधार गर्नुपर्ने मात्रै देखिन्छ । हरेक ठाउँमा समस्या र चुनौतीका चाङ छन् । नियत सही हुँदा पनि काम गर्ने क्रममा व्यवधान आउन सक्छन् । अहिले के गर्नेभन्दा पनि कसरी गर्ने भन्ने विषय बढी महत्वपूर्ण बनेको छ” उनले भने । सरकारले प्रक्रियामुखी कार्यशैलीभन्दा नतिजामुखी कार्य सम्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको बताए । नीति, योजना र बजेट कार्यान्वयनमा व्यावहारिक सुधार गर्दै सुशासन र डिजिटल प्रणालीको विस्तारमा सरकार केन्द्रित रहेको सञ्चारमन्त्री तिमिल्सिनाको भनाइ छ।

    एनआरएनएका प्रतिनिधिहरुले पनि सरकारले अघि सारेका डिजिटल रूपान्तरण, विद्युतीय शासन, कृत्रिम बौद्धिकता, सुशासन तथा डिजिटलाइजेसनका कार्यक्रम कार्यान्वयनमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए । कृषि, पर्यटन, सूचना प्रविधि, नवप्रवर्तन तथा अन्य उत्पादनमूलक क्षेत्रमा ज्ञान, सीप र लगानीमार्फत एनआरएनले सहयोग गरिरहेको उल्लेख गर्दै एनआरएनले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटसँग मेल खाने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको एनआरएनएले जानकारी दिएको छ।

    एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपालीलाई निश्चित अधिकारसहितको नागरिकता उपलब्ध गराउने सरकारको निर्णयलाई सकारात्मक कदमको रूपमा स्वागत गर्दै त्यसको कार्यान्वयनलाई थप सहज बनाउन आग्रह गरिन् । उनले गैरआवासीय नेपालीसम्बन्धी ऐन संशोधनका लागि तयार भएको विधेयकलाई पनि सरकारले शीघ्र अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।

    गैरआवासीय नेपालीले नेपालमा सम्पत्ति खरिद–बिक्री, सवारीचालक अनुमतिपत्र प्राप्ति लगायतका सेवामा विभिन्न व्यावहारिक समस्या भोग्नुपरेको तथा आफ्नै देश आउँदा समेत भिसासम्बन्धी जटिलताको सामना गर्नुपरेको उनले उल्लेख गरिन् । “एक पटकको नेपाली सधैँको नेपाली” भन्ने अवधारणाअनुसार सरकारले व्यावहारिक नीति अवलम्बन गर्न सके नेपालमा थप सीप, प्रविधि र पुँजी भित्रिने विश्वास उनले व्यक्त गरिन् ।


    छलफलको क्रममा एनआरएनएका उपाध्यक्ष ज्ञानेन्द्र रेग्मीले विदेशमा रहेका नेपालीले वर्तमान सरकारसँग ठुलो अपेक्षा राखेको बताउँदै संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेका राजनीतिक अधिकारबाहेकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने धारणा राखे । उनले गैरआवासीय नेपालीका हितमा केही सकारात्मक नीतिगत व्यवस्था भए पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुन नहुने बताउँदै विदेशमा रहेका नेपालीको ज्ञान, अनुभव, प्रविधि र लगानीलाई नेपालसँग जोड्ने वातावरण अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

    एनआरएनले आयोजना गर्ने विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकारको उच्चस्तरीय तथा आधिकारिक सहभागिताको अपेक्षा गरिएको पनि एनआरएनले जनाएको छ । त्यस्ता सम्मेलनमार्फत विश्वभर छरिएर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, उद्यमी र लगानीकर्ताको ज्ञान तथा अनुभवलाई नेपालको आर्थिक, सामाजिक र प्राविधिक विकाससँग जोड्ने उद्देश्य रहेको एनआरएनएले जनाएको छ।