Category: फिचर

  • सहकारी कसुर हेर्ने समर्पित इजलास गठन अनुरोध गर्दै प्रधानन्यायाधीशलाई प्रतिवेदन

    सहकारी कसुर हेर्ने समर्पित इजलास गठन अनुरोध गर्दै प्रधानन्यायाधीशलाई प्रतिवेदन

    १७ साउन, काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको छ।

    उक्त विषय अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको थियो। कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिस अनुसार मन्त्रालयले समर्पित इजलास गठन गरिदिन सर्वोच्च अदालतमा अनुरोध गरेको हो। सर्वोच्च अदालतले २०८२ माघ ११ गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुरसम्बन्धी मुद्दाको चाप बढी भएका जिल्ला अदालतहरूमा आवश्यकताअनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न भनेपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो।

    सहकारी क्षेत्रका समस्या समाधानलाई उच्च प्राथमिकता दिँदै मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्यहरूसहित उक्त प्रतिवेदन सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा। मनोज शर्मालाइ प्रतिवेदन बुझाएकी हुन्।

    कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक, ठूलो संख्यामा नागरिकको जीवन, सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक–आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ। यस्ता मुद्दाको प्रभावकारी र छिटो सुनुवाइका लागि विशेष प्राथमिकतासहित समर्पित इजलास आवश्यक रहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ।

    प्रतिवेदनमा सहकारी ठगीका मुद्दा लामो समयसम्म विचाराधीन रहँदा पीडित बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन नसक्ने, न्यायमा ढिलाइ हुने तथा दोषीलाई विभिन्न प्रकारका संरक्षण हुने जोखिम बढ्ने उल्लेख गरिएको छ। त्यसैले पीडितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनःस्थापित गर्न तथा वित्तीय सुशासन कायम गर्न समर्पित इजलास गठन अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ।

  • आयोजना निर्माण भन्दा बाहिरका समस्या चिर्नु सबैभन्दा ठूलो समस्या : ऊर्जामन्त्री

    आयोजना निर्माण भन्दा बाहिरका समस्या चिर्नु सबैभन्दा ठूलो समस्या : ऊर्जामन्त्री

    १७ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासमा सबैभन्दा ठूलो चुनौती आयोजना निर्माणभन्दा बाहिर रहेका नीतिगत तथा प्रक्रियागत अवरोध भएको बताएका छन् । जग्गा अधिग्रहण, मुआब्जा व्यवस्थापन, स्रोत सुनिश्चितता, अन्तरनिकाय समन्वय र ठेक्का व्यवस्थापनमा सुधार नगरी अपेक्षित विकास सम्भव नहुने उनको भनाइ छ ।


    आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफूले आर्थिक वर्षको अन्तिम चरणतिर मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै छोटो अवधिमा मन्त्रालयका नीति, कार्यक्रम तथा आयोजनाको समीक्षा गर्दा गत वर्ष उपलब्धि र आत्मसमीक्षा दुवैका दृष्टिले महत्वपूर्ण रहेको बताए ।

    उनले विभिन्न चुनौतीका बाबजुद मन्त्रालयले सन्तोषजनक भौतिक प्रगति हासिल गरेको बताए । मन्त्री श्रेष्ठले नेपाल–भारत ऊर्जा सहकार्य थप सुदृढ हुनु, प्रसारण पूर्वाधार विस्तारको प्रक्रिया अघि बढ्नु, नेपाल विद्युत प्राधिकरणलाई ऊर्जा बण्ड जारी गर्ने निर्णय हुनु तथा राष्ट्रिय प्राथमिकताका आयोजनाहरूलाई थप गति दिनु गत आर्थिक वर्षका महत्वपूर्ण उपलब्धि बताए ।


    उहाँले चालु आर्थिक वर्ष २०८३–८४ लाई अवसर र परिणामको वर्षका रूपमा लिइएको उल्लेख गर्दै विद्युत उत्पादन, प्रसारण, वितरण तथा ऊर्जा व्यापार विस्तारसँगै हरित ऊर्जाको प्रवद्र्धन, निजी क्षेत्रको सक्रिय सहभागिता, क्षेत्रीय ऊर्जा बजारमा नेपालको उपस्थिति, भूमिगत जल व्यवस्थापन तथा बहुउद्देश्यीय आयोजनाको प्रभावकारी कार्यान्वयनमार्फत गुणात्मक परिवर्तन ल्याउने आधार तयार भएको बताए ।

    ‘हाम्रो प्राथमिकता बजेट खर्च बढाउनु मात्र होइन, परिणाममुखी कार्यसम्पादन सुनिश्चित गर्नु हो,’ मन्त्री श्रेष्ठले भने, ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने, विद्युत उत्पादन तथा प्रसारण क्षमता विस्तार गर्ने, वर्षभरि सिँचाइ सुविधा विस्तार गर्ने र आयोजना कार्यान्वयनमा देखिएका संरचनागत अवरोध हटाउने दिशामा मन्त्रालय पूर्ण प्रतिबद्ध छ ।’

    मन्त्री श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्र नै मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधार भएकाले सुशासन, पारदर्शिता, जवाफदेहिता, समयबद्ध कार्यसम्पादन र समन्वयलाई केन्द्रमा राखेर नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाम दिने गरी मन्त्रालय अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्रगति समीक्षाअनुसार आर्थिक वर्ष २०८२–८३ मा मन्त्रालयको कुल बजेट ८४ अर्ब ३३ करोड मध्ये ५२ अर्ब २८ करोड रुपियाँ खर्च भएको छ। मन्त्रालयको वित्तीय प्रगति करिब ६२ प्रतिशत र भौतिक प्रगति ७१.३५ प्रतिशत पुगेको छ । ऊर्जा क्षेत्रको भौतिक प्रगति ६३.२७ प्रतिशत र जलस्रोत तथा सिँचाइ क्षेत्रको भौतिक प्रगति ७९.२७ प्रतिशत रहेको छ।

    बैठकमा बुढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी स्वीकृत हुनु, ट्यारिफ बेस्ड कम्पेटिटिभ बिडिङ मार्फत प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्नु, ऊर्जा, जलविद्युत र सिँचाइका महत्वपूर्ण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गर्नु, नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयन्त्रको १३औँ बैठक सम्पन्न हुनु, ऊर्जा तथा जलस्रोतसम्बन्धी नयाँ विधेयकहरू अगाडि बढ्नु र नेपाल विद्युत प्राधिकरणलाई २० अर्ब बराबरको ऊर्जा बण्ड जारी गर्न स्वीकृति दिनु मन्त्रालयका प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएको थियो ।

    यसैगरी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जलस्रोत तथा सिँचाइ विभाग र नेपाल विद्युत प्राधिकरणको प्रगति सन्तोषजनक रहेको तथा विद्युत विकास विभाग र जल तथा ऊर्जा आयोगको कार्यसम्पादन अपेक्षाकृत कमजोर रहेको जानकारी बैठकमा दिइयो । स्रोत सहमति ढिलाइ, स्थानीय अवरोध, जनशक्ति अभाव तथा वातावरणीय स्वीकृतिमा हुने ढिलाइलाई कमजोर प्रगतिका मुख्य कारणका रूपमा औँल्याइएको छ।

    राष्ट्रिय गौरवका आयोजनामध्ये रानी–जमरा–कुलरिया, बबई र सिक्टा सिँचाइ आयोजनाले उल्लेखनीय प्रगति हासिल गरेका छन् भने भेरी–बबई डाइभर्सन, सुनकोशी–मरिन र बुढीगण्डकी आयोजनामा जग्गा अधिग्रहण, ठेक्का व्यवस्थापन तथा स्रोत परिचालनका चुनौती अझै कायम रहेको समीक्षा प्रस्तुत गरिएको छ । बैठकले आगामी वर्षको सफलता जग्गा अधिग्रहण, वन तथा वातावरणीय स्वीकृति, प्रसारण लाइनको ‘राइट अफ वे’ समस्या समाधान, निर्माण व्यवसायीको कार्यसम्पादन सुधार, स्रोत सुनिश्चितता तथा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन सकिएमा मात्र सम्भव हुने निष्कर्ष निकालेको छ ।

  • पहलमानपुर र महेन्द्रनगर सबस्टेशनको क्षमता विस्तार सम्पन्न, मोरङको केरौन सबस्टेशन सञ्चालनको अन्तिम तयारी तीव्र

    पहलमानपुर र महेन्द्रनगर सबस्टेशनको क्षमता विस्तार सम्पन्न, मोरङको केरौन सबस्टेशन सञ्चालनको अन्तिम तयारी तीव्र

    १७ साउन, काठमाडौं । बढ्दो विद्युत् माग व्यवस्थापन गर्दै सुरक्षित, भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न क्षेत्रमा सबस्टेशनको क्षमता विस्तार तथा विद्युत् पूर्वाधार सुदृढीकरणका कार्यलाई तीव्रता दिएको छ। प्राधिकरणले सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण सबस्टेशनहरूको क्षमता विस्तार सम्पन्न गर्नुका साथै पूर्वी नेपालमा नयाँ सबस्टेशन सञ्चालनको अन्तिम तयारीलाई तीव्र बनाएको हो।

    यसअन्तर्गत कैलालीस्थित पहलमानपुर ३३र११ केभी सबस्टेशन मा बढ्दो विद्युत् मागलाई मध्यनजर गर्दै थप १६।६ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरी २०८३ साउन १६ गते सफलतापूर्वक चार्ज गरिएको छ। यसअघि उक्त सबस्टेशनमा ८ एमभीए क्षमताको एउटा मात्र पावर ट्रान्सफर्मर सञ्चालनमा रहेको थियो। नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै पहलमानपुर, सुखड, भजनी तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्तिको क्षमता, गुणस्तर र विश्वसनीयतामा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।

    त्यसैगरी, कञ्चनपुरस्थित महेन्द्रनगर १३२ केभी सबस्टेशन मा रहेका दुईवटा ३० एमभीए, १३२र३३ केभी पावर ट्रान्सफर्मरलाई प्रतिस्थापन गरी दुईवटा ६३ एमभीए क्षमताका नयाँ पावर ट्रान्सफर्मर सफलतापूर्वक सञ्चालनमा ल्याइएको छ। यससँगै सबस्टेशनको कुल रूपान्तरण क्षमता ६० एमभीएबाट १२६ एमभीए पुगेको छ। क्षमता विस्तारपछि महेन्द्रनगर तथा आसपासका क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन, विद्युत् आपूर्तिको विश्वसनीयता, सञ्चालन लचकता तथा सेवा निरन्तरतामा उल्लेखनीय सुधार हुने प्राधिकरणले जनाएको छ।

    सुदूरपश्चिममा क्षमता विस्तारका कार्य सम्पन्न भएसँगै प्राधिकरणले अहिले मोरङस्थित केरौन १३२र३३र११ केभी सबस्टेशन लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याउने अन्तिम तयारीलाई तीव्र बनाएको छ। गत हप्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा प्रवक्ता तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल लगायतको उच्चस्तरीय टोलीले केरौन सबस्टेशनको स्थलगत निरीक्षण गरी निर्माण प्रगति, सञ्चालन तयारी तथा बाँकी प्राविधिक कार्यहरूको विस्तृत समीक्षा गरेको थियो।

    निरीक्षणका क्रममा कार्यकारी निर्देशक श्रेष्ठले आयोजना निर्धारित समयभित्र सञ्चालनमा ल्याउन आवश्यक निर्देशन दिएपछि निर्माण व्यवसायीले १३२ केभी लाइन ट्यापिङसम्बन्धी बाँकी कार्यलाई द्रुत गतिमा अघि बढाएको छ। हाल नयाँ टावर निर्माण, आवश्यक संरचनागत कार्य, लाइन क्लियरेन्सलगायत अधिकांश पूर्वतयारी सम्पन्न भइसकेका छन् भने बाँकी प्राविधिक कार्य अन्तिम चरणमा पुगेका छन्।

    सबस्टेशनलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्न आवश्यक १३२ केभी लाइन ट्यापिङ कार्य सम्पन्न गर्न निर्माण व्यवसायीले १२ घण्टाको शटडाउन आवश्यक पर्ने प्रस्ताव गरेको छ। तर, आम उपभोक्तामा पर्ने प्रभावलाई न्यूनतम बनाउन बिहान ३स्०० बजेदेखि नै शटडाउन सुरु गरी सकेसम्म छोटो अवधिमै सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी विस्तृत कार्ययोजना तयार गर्न कार्यकारी निर्देशक श्रेष्ठले निर्देशन दिएका छन् ।
    सोहीअनुसार आवश्यक प्राविधिक तयारी, कार्यतालिका, जनशक्ति परिचालन तथा समन्वयका कार्यहरू तीव्र रूपमा अघि बढाइएको प्राधिकरणले जनाएको छ। त्यसैगरी, शटडाउन अवधिमा पूर्वी क्षेत्रका उपभोक्तामा विद्युत् आपूर्तिको असर न्यूनतम बनाउन पूर्वी क्षेत्रकै विद्युत् उत्पादन केन्द्रहरूको अधिकतम उपयोग गर्दै ‘मिनी ग्रिड’ अवधारणामार्फत प्रभाव पर्न सक्ने क्षेत्रमा सम्भव भएसम्म निरन्तर विद्युत् आपूर्ति कायम राख्ने व्यवस्थाको तयारी गर्न पनि कार्यकारी निर्देशक श्रेष्ठले निर्देशन दिएका छन् । सोहीअनुसार आवश्यक प्राविधिक अध्ययन, प्रणाली विश्लेषण तथा सञ्चालन तयारी भइरहेको छ।


    नेपाल विद्युत् प्राधिकरणका अनुसार आवश्यक स्वीकृति प्राप्त भएपछि आगामी शनिबार शटडाउन गरी १३२ केभी लाइन ट्यापिङ कार्य सम्पन्न गरिनेछ। त्यसपश्चात् परीक्षण तथा कमिसनिङका अन्तिम प्राविधिक कार्य सम्पन्न गरी केरौन १३२–३३–११ केभी सबस्टेशन शीघ्र सञ्चालन (चार्ज) मा ल्याइने तयारी गरिएको छ। केरौन सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रंगेली तथा आसपासका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुनुका साथै पूर्वी नेपालको वितरण प्रणालीको विश्वसनीयता, सञ्चालन लचकता तथा विद्युत् सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुने नेपाल विद्युत् प्राधिकरणको विश्वास रहेको छ।

  • प्यालेस्टिनी झण्डा प्रदर्शनपछि ‘म्यासिभ अट्याक’लाई सिङ्गापुरमा प्रतिबन्ध

    प्यालेस्टिनी झण्डा प्रदर्शनपछि ‘म्यासिभ अट्याक’लाई सिङ्गापुरमा प्रतिबन्ध

    १७ साउन, सिङ्गापुर । कन्सर्टका क्रममा प्यालेस्टिनी झण्डा प्रदर्शन गरेको पुष्टि भएपछि बेलायती ट्रिप–हप ब्यान्ड ‘म्यासिभ अट्याक’ लाई सिङ्गापुरमा भविष्यमा प्रस्तुति दिन प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार आयोजित कन्सर्टका क्रममा मञ्चमा प्यालेस्टिनी झण्डा प्रदर्शन गर्ने ब्यान्डका दुई सदस्यलाई कडा चेतावनी दिइएको छ । साथै उनीहरूलाई सिङ्गापुरमा पुनःप्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको छ । यद्यपि, उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

    सार्वजनिक सभा तथा अभिव्यक्तिसम्बन्धी कडा कानुनका लागि परिचित सिङ्गापुरमा सरकारी अनुमति बिना विदेशी झण्डा, राष्ट्रिय प्रतीक वा ब्यानर सार्वजनिक रूपमा प्रदर्शन गर्न निषेध छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ब्यान्डका दुई सदस्यले मञ्चमा प्यालेस्टिनी झण्डा फहराएको तथा तीमध्ये एकले ‘फ्रि प्यालेस्टाइन’ भन्ने नारा लगाएको देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

    अनुसन्धान पूरा गरी सरकारी वकिलसँग परामर्श गरेपछि प्रहरीले दुवै सदस्यलाई चेतावनी दिँदै सिङ्गापुर प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको छ । सिङ्गापुरको मिडिया नियामक निकायले पनि कन्सर्ट आयोजकले लाइसेन्सका सर्त उल्लङ्घन गरेको हुन सक्ने विषयमा छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार आयोजकले लाइसेन्सका सबै सर्त स्वीकार गरे पनि कार्यक्रमका क्रममा ब्यान्डका सदस्यहरूले विदेशी झण्डा प्रदर्शन गरेका थिए । यसैलाई आधार बनाएर भविष्यमा उक्त ब्यान्डलाई सिङ्गापुरमा प्रस्तुति दिन अनुमति नदिने निर्णय गरिएको छ ।

    कन्सर्ट आयोजकले एएफपीको प्रतिक्रिया माग्ने अनुरोधको तत्काल जवाफ दिएको छैन । गाजामा इजरायली सैन्य कारबाहीको आलोचना गर्दै आएको ‘म्यासिभ अट्याक’ प्यालेस्टिनी पक्षको समर्थनमा खुलेर आवाज उठाउने ब्यान्डका रूपमा परिचित छ ।

    गत अप्रिलमा बेलायतमा प्रतिबन्धित अभियानकारी समूह ‘प्यालेस्टाइन एक्सन’को समर्थनमा लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित प्रदर्शनमा पक्राउ परेका २०० भन्दा बढी व्यक्तिमध्ये ब्यान्डका प्रमुख गायक रोबर्ट डेल नाजा पनि थिए । दक्षिण–पूर्वी एसियाको प्रमुख कन्सर्ट गन्तव्यका रूपमा परिचित सिङ्गापुरले हालै टेलर स्विफ्ट, कोल्डप्ले, एड शिरान र ब्रुनो मार्सजस्ता अन्तरराष्ट्रिय कलाकारका प्रस्तुति आयोजना गरेको छ । प्रहरीले विदेशी नागरिकसहित सबैलाई विदेशी राजनीतिक मुद्दालाई सिङ्गापुरमा नल्याउन आग्रह गर्दै त्यसले सामाजिक सद्भाव र कानुनको शासनमा असर पार्न सक्ने चेतावनी दिएको छ । रासस-एएफपी

  • मनसुनको प्रभाव कायमै, केही स्थानमा भारी वर्षा हुने

    मनसुनको प्रभाव कायमै, केही स्थानमा भारी वर्षा हुने

    १७ साउन, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको तथा बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

    आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

    त्यसैगरी, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भाग, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने छ ।

    महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि अनुरोध गरेको छ । रासस

  • अमेरिकी भिसा पाउन नेपालसहित ५० देशका नागरिकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    अमेरिकी भिसा पाउन नेपालसहित ५० देशका नागरिकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    १७ साउन, काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै उक्त व्यवस्थालाई स्थायी नियमका रूपमा लागू गर्ने निर्णय गरेको हो ।

    नयाँ व्यवस्थाअनुसार अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसाका लागि आवेदन दिने नेपाली नागरिकले भिसा प्राप्त गर्नुअघि अनिवार्य रूपमा कम्तीमा १० हजारदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ । नेपाली रुपैयाँमा यो रकम करिब ३० लाख रुपैयाँसम्म पुग्न सक्छ ।

    यसअघि परीक्षण कार्यक्रम सञ्चालनका क्रममा कन्सुलर अधिकारीको विवेकमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो । तर नयाँ नियम लागू भएपछि ५ हजार डलरको विकल्प हटाइएको छ । अब १० हजार र २० हजार अमेरिकी डलर गरी दुईवटा विकल्प मात्र कायम गरिएको छ ।

    यो रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ । भिसा अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरेपछि भिसाको अवधि समाप्त हुनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    यो व्यवस्था मुख्य रूपमा अमेरिका भ्रमण, पर्यटन तथा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसा आवेदन दिने नागरिकका लागि लागू हुनेछ । दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटान यस सूचीमा परेका छन् । त्यस्तै, अफ्रिकाका अधिकांश मुलुकसहित विश्वका ५० देशका नागरिकलाई यो व्यवस्थाको दायरामा राखिएको छ ।

    अमेरिकाले भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने अर्थात् ‘भिसा ओभरस्टे’ गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था लागू गरेको जनाएको छ । अमेरिकी सरकारी तथ्यांकअनुसार भिसाको अवधि नाघेर बसेका व्यक्तिलाई पक्राउ गरी स्वदेश फिर्ता गर्न प्रतिव्यक्ति करिब १८ हजार अमेरिकी डलर खर्च हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

  • करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

    करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

    काठमाडौँ।आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो।

    विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान (PAN) तथा भ्याट (VAT) बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन्।

    “हामीले प्राइज डट आइआरडी डट जीओभी डट एनपि (prize.ird.gov.np)नामक नयाँ वेबसाइट शनिबारदेखि सञ्चालनमा ल्याएका छौँ,” उपमहानिर्देशक शर्माले भन्नुभयो, “नगद भुक्तानी गरी स्व-प्रयोजनका लागि नेपालभित्र एक पटकमा रु. १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने बीजक लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्नुहुन्छ।”

    क्यूआर (QR) मार्फत गरिने कारोबार प्रणालीमार्फत नै उपहार कार्यक्रमको प्रणालीमा समावेश गरिसकिएकाले उनीहरूले अहिले बिल प्रविष्ट (इन्ट्री) गर्नु नपर्ने पनि विभागले स्पष्ट पारेको छ।

    विभागका अनुसार बैंक तथा वालेटको क्यूआर मार्फत रु. १०० भन्दा बढीको वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताहरूले अहिले बिल दर्ता गराउनुपर्दैन। क्यूआरबाट पैसा तिरेको कारोबार (Transaction) डाउनलोड गरेर राख्ने र सोही ट्रान्स्याक्सन नम्बर नै उपहारका लागि विभागको प्रणालीमा प्रविष्ट भइसकेकाले उक्त नम्बर नै उपहारका लागि योग्य हुनेछ।

    तर, उपहार घोषणापछि सक्कल बिल अनिवार्य हुने भएकाले बिलहरू भने सुरक्षित राख्न विभागले सबै उपभोक्ताको ध्यानाकर्षण गराएको छ।

    विभागले आफूले गरेको खरिदको सक्कल भ्याट तथा प्यान बिल माग्न र बिल नपाएको खण्डमा विभागमा जानकारी गराउन पनि उपभोक्तालाई आग्रह गरेको छ।

    विभागले साउन १ गतेदेखि लागू गरेको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ।

    “प्राविधिक हिसाबले हामी तयारी अवस्थामा छौँ। कुनै ठूलो प्राविधिक समस्या नआए आगामी साता पहिलो १५ दिनको (हरेक दिनको रु. १ लाखका दरले १५ जना विजेता र १५ दिनको बम्पर रु. १० लाखका विजेता १ जना) नतिजा घोषणा गर्न सक्ने अवस्थामा छौँ,” विभागले भनेको छ।

    आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई कर प्रणालीमा ल्याउन र बिल लिने संस्कृतिको विकास गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो।

    सोही घोषणाअनुसार मन्त्रालयले असार अन्तिम साता उपहार सञ्चालन कार्यविधि स्वीकृत गरेको थियो। कार्यविधिअनुसार हरेक दिन एक जना उपभोक्तालाई कर कट्टी गरेर रु. १ लाख नगद र हरेक १५-१५ दिनमा (महिनाको दुई जनालाई) बम्पर उपहारस्वरूप रु. १० लाख नगद प्रदान गरिने उल्लेख छ।

  • मिस नेपालको उपाधी दीपमाला ढकाललाई, प्रवाशी नेपालीको सान

    मिस नेपालको उपाधी दीपमाला ढकाललाई, प्रवाशी नेपालीको सान

    १६ साउन, काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । ललितपुरको प्लाजामा शनिबार भएको फाइनलमा २३ प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बनेकी हुन् । दीपमालाले यसअघि मिस नेपाल हङकङ इन्टरनेश्नलको उपाधिसमेत जितेकी हुन् । त्यस्तै मिस नेपाल कस्मो कशिस सुब्बा र मिस नेपाल इन्टरनेसनल उपाधि आर्या निशान्तले जितेका छन् ।कशिस सुब्बाले अन्तर्राष्ट्रिय मञ्चमा १८ वर्षको उमेरमै नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् ।

    २४ वर्षीय दीपमाला आफ्नी आमाबाट प्रेरणा पाएको बताउँछिन् । उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् । प्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छन् । यसबाहेक उनी तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडी, म्याराथन धावक पनि हुन् । उनले अर्थशास्त्रमा स्नातक गरेकी छिन् ।

    जनकपुरकी २४ वर्षीय आर्याले सन् २०२१ को मिस युनिभर्स नेपाल प्रतियोगिताको शीर्ष १० प्रतिस्पर्धीमध्ये एक थिइन्। उनले बिजनेस एडमिनिस्ट्रेसन गरेकी छन् । आर्या हाल शिक्षण क्षेत्रमा कार्यरत रहँदै उच्च शिक्षा र अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने प्रयासमा छिन् । उनी शिक्षा र युवा सशक्तीकरणका क्षेत्रमा रुचि राख्छिन् ।

  • ‘निम्सदाइ’ को निधनले गैरआवासीय नेपाली संघ स्तब्ध

    ‘निम्सदाइ’ को निधनले गैरआवासीय नेपाली संघ स्तब्ध

    १६ साउन, काठमाडौं । विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनको खबरले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्तब्ध भएको बताएको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल ‘निम्सदाइ’ पुर्जा केवल नेपालको मात्र नभई विश्वभर रहेका गैरआवासीय नेपालीहरूको पनि गौरव तथा प्रेरणाका स्रोत भएको संघको भनाई छ ।

    एक गैरआवासीय नेपालीका रूपमा उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको साहस, क्षमता र पहिचानलाई विश्वसामु गौरवका साथ स्थापित गरेको संघले जनाएको छ । उनको असामयिक निधनसँगै गैरआवासीय नेपाली समुदायले एक असाधारण अभियन्ता, प्रेरणादायी व्यक्तित्व तथा विश्वमञ्चमा नेपालीको साहस र क्षमताको परिचय गराउने अमूल्य धरोहर गुमाएको संघको भनाई छ ।

    उनका असम्भवलाई सम्भव बनाउने सोच, अदम्य साहस, दृढ संकल्प, समर्पण र राष्ट्रप्रतिको योगदान नेपाल तथा विश्वभर रहेका नेपालीहरूको मनमस्तिष्कमा सदैव अमर रहने समेत संघले जनाएको छ । योगदान नेपाल र विश्वभर रहेका नेपालीहरुको मनमष्तिस्कमा सदैव अमर रहने समेत उल्लेख गरिएको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्मल ‘निम्सदाइ’ पुर्जा सहित यस दुःखद घटनामा ज्यान गुमाउनु भएका छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दछ। साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

  • प्रधानमन्त्रीले सम्झिए आरोही : साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ

    प्रधानमन्त्रीले सम्झिए आरोही : साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ

    १६ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हिमालमा अस्ताएका शाहसी आरोहीहरुलाई श्रद्धान्जली दिएका छन्, उनी लेख्छन्, आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।

    विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा ९निम्स दाइ० सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ । निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।


    सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।

  • विश्वचर्चित पर्वतारोही निर्मल पूर्जाको निधन भएको पुष्टी

    विश्वचर्चित पर्वतारोही निर्मल पूर्जाको निधन भएको पुष्टी

    १६ साउन, काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको छ ।
    बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार मध्याह्न हिमपहिरो गएको थियो ।

    उक्त हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए । पुर्जा टोलीका नेता थिए । पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । पूर्जा बेलायती सेनामा कार्यरत गोर्खा सैनिक थिए । उनी सैनिक पेशा छाडेर पर्वतारोहणमा होमिएसँगै विश्वमा कठिन भन्दा कठिन मानिएका कीर्तिमान बनाउँदै गएका थिए । उनले ८ हजार मिटर अग्ला चुचुरो ५७ पटक चुमिसकेका थिए ।

  • एआई पूर्वाधारबाट भारतीय उद्योगलाई ठूलो अवसर

    एआई पूर्वाधारबाट भारतीय उद्योगलाई ठूलो अवसर

    मुम्बई, साउन १५ गते । कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तारका लागि विश्वभर तीव्र गतिमा निर्माण भइरहेका डाटा सेन्टरले भारतका केबल, विद्युत प्रणाली, फाइबर(अप्टिक र कुलिङ उपकरण उत्पादक कम्पनीलाई उल्लेखनीय व्यावसायिक अवसर दिलाएका छन् । विश्वस्तरीय एआई मोडेल विकासमा भारत पछाडि परे पनि त्यसका लागि आवश्यक पूर्वाधार आपूर्ति गर्ने उद्योग भने तीव्ररूपमा लाभान्वित भइरहेका छन् । पश्चिम भारतस्थित स्टरलाइट टेक्नोलोजीको कारखानामा प्राविधिक चौबीसै घण्टा डाटा सेन्टरका लागि आवश्यक कपालभन्दा पनि पातलो फाइबर(अप्टिक केबल उत्पादनमा व्यस्त छन् ।

    कम्पनीका प्रबन्ध निर्देशक अङ्कित अग्रवालले एआई पूर्वाधार विस्तारलाई आफ्नो उद्योगका लागि ‘जीवनमा एक पटक आउने अवसर’ भएको बताए । उनका अनुसार विश्वका ठूला प्रविधि कम्पनीको बढ्दो मागले कम्पनीको व्यवसायको स्वरूप नै परिवर्तन गरिरहेको छ । विश्लेषकले यसलाई ‘पिक एन्ड शोभल’ रणनीतिसँग तुलना गरेका छन् ।

    यस रणनतिमा सुन खोज्नेभन्दा आवश्यक उपकरण बेच्नेले बढी लाभ कमाउने अवस्था सिर्जना हुन्छ । भारतले अत्याधुनिक एआई चिप वा विश्वस्तरीय मोडेल विकासमा अग्रता नलिएको भए पनि त्यसका लागि आवश्यक केबल, ट्रान्सफर्मर, स्विचगियर, कुलिङ प्रणाली र विद्युत पूर्वाधार आपूर्ति गर्ने क्षेत्रमा बलियो उपस्थिति बनाएको छ ।

    श्रीराम एएमसीका कोष प्रबन्धक प्रतीक निगुडकरका अनुसार भारतले एआई चिप उत्पादन वा मोडेल प्रशिक्षण नगरे पनि प्रत्येक डाटा सेन्टरका लागि आवश्यक उपकरण उत्पादन गर्ने क्षमता हासिल गरिसकेको छ । यही कारण भारतीय उत्पादक अहिले विश्वव्यापी आपूर्ति शृङ्खलामा महत्वपूर्ण स्थान ओगटिरहेका छन् ।

    फाइबर(अप्टिक केबल उत्पादक यसबाट सबैभन्दा बढी लाभान्वित भएका छन् । स्टरलाइट टेक्नोलोजीजले यसै वर्ष एक अमेरिकी ‘हाइपरस्केल’ क्लाउड सेवा प्रदायकसँग एक अर्ब १० करोड अमेरिकी डलर बराबरको बहुवर्षीय सम्झौता गरेको छ । त्यसपछि कम्पनीको शेयर मूल्य चार गुणाभन्दा बढीले वृद्धि भएको छ ।

    दूरसञ्चार उपकरण निर्माता एचएफसीएलले पनि एआईसम्बन्धी मागका कारण अप्रिल(जुन त्रैमासिकमा उल्लेखनीय आम्दानी वृद्धि गरेको जनाएको छ । कम्पनीका संस्थापक महेन्द्र नाहटाले उत्पादन क्षमता विस्तार अहिले नियमित प्रक्रिया बनिसकेको र मागलाई ‘सुनामी’ जस्तै तीव्र भएको बताए ।


    एआई पूर्वाधार विस्तारबाट पावर प्रणाली निर्माता टीडी पावर सिस्टम्स, ऊर्जा उपकरण निर्माता एमटिएआर टेक्नोलोजीलगायत अन्य कम्पनीले पनि लाभ उठाइरहेका छन् । डाटा सेन्टरको बढ्दो मागका कारण यी कम्पनीको बजार मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । यद्यपि विश्लेषकले केही जोखिम पनि औँल्याएका छन् ।

    ऊर्जा बढी खपत गर्ने डाटा सेन्टर परियोजनाप्रति बढ्दो वातावरणीय चिन्ता, उच्च मूल्याङ्कन तथा केही अन्तर्राष्ट्रिय परियोजना ढिलाइ हुँदा निकट भविष्यमा बजारमा दबाब पर्न सक्ने उनीहरूको भनाइ छ । १०ए ल्याब्सको तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा अमेरिकाका करिब एक खर्ब ३० अर्ब अमेरिकी डलर बराबरका कम्तीमा ७५ डाटा सेन्टर परियोजना ढिलाइ वा अवरुद्ध भएका छन् ।

    भारतीय अधिकारी भने आन्तरिक माग बलियो रहेकाले दीर्घकालीन सम्भावना सकारात्मक रहेको बताउँछन् । भारतमा विश्वको करिब पाँचौँ भाग डाटा होस्ट हुने भए पनि विश्वव्यापी डाटा सेन्टर क्षमतामा यसको हिस्सा पाँच प्रतिशतभन्दा कम रहेको छ र यसले विस्तारको ठूलो सम्भावना देखाउँछ । गत वर्ष अमेरिकी ‘हाइपरस्केल’ कम्पनीले भारतमा नयाँ डाटा सेन्टर पूर्वाधारका लागि करिब ५७ अर्ब अमेरिकी डलर लगानी प्रतिबद्धता जनाएका छन् ।

    त्यस्तै अडानी समूह र रिलायन्स इन्डस्ट्रिजले डिजिटल तथा पूर्वाधार क्षेत्रमा करिब एक खर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् । डाटा सेन्टर सञ्चालक सिफी इन्फिनिट स्पेसका प्रमुख कार्यकारी शरद अग्रवालले भारतमा डाटा सेन्टर विस्तारले हालसम्म सीमित विरोध मात्र सामना गरेको बताए ।

    उनका अनुसार कम्पनीले स्थानीय जलस्रोतमा पर्ने प्रभाव कम गर्न ‘क्लोज्ड(लूप वाटर कुलिङ’ जस्ता प्रविधि प्रयोग गरिरहेको छ । हाल १६ वटा डाटा सेन्टर सञ्चालन गरिरहेको सिफीले थप करिब एक दर्जन केन्द्र निर्माण गरिरहेको छ र भारतकै पहिलो सूचीकृत डाटा सेन्टर सञ्चालक बन्न प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) ल्याउने तयारीसमेत गरिरहेको छ ।

    अग्रवालका अनुसार ‘हाइपरस्केल’ स्तरको एक गिगावाट कम्प्युटिङ क्षमता विकास गर्न मात्रै करिब पाँच अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्छ । उनले यति ठूलो लगानी जुटेपछि मात्र भारतले डाटा सेन्टर क्षेत्रमा अझ तीव्र विस्तार गर्न सक्ने विश्वास व्यक्त गरे । रासस-एएफपी

  • एनआरएनएद्धारा राष्ट्रपतिसमक्ष विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत

    एनआरएनएद्धारा राष्ट्रपतिसमक्ष विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत

    काठमाडौं, साउन १६ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शिष्टाचार भेट गरी संघद्वारा आयोजना गरिने विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत गरेका छन् । भेटमा संघका उपमहासचिव कृष्ण पोखरेल पनि सहभागी भए ।

    भेटका क्रममा उपाध्यक्ष डा. रेग्मीले विश्व ज्ञान सम्मेलनको तयारीबारे जानकारी गराउँदै विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक तथा विभिन्न क्षेत्रका दक्ष जनशक्तिलाई नेपालको विकाससँग प्रभावकारी रूपमा जोड्ने उद्देश्य रहेको बताए । उनले सम्मेलनमार्फत विदेशमा आर्जन भएको ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा अनुभवलाई नेपालको समृद्धि र दिगो विकासमा उपयोग गर्ने लक्ष्य रहेको उल्लेख गरे ।


    उनले नेपाल सरकार, निजी क्षेत्र, विश्वविद्यालय तथा विश्वभर रहेका नेपाली विज्ञहरूबीच दीर्घकालीन ज्ञान साझेदारी, अनुसन्धान सहकार्य र नवप्रवर्तनको वातावरण निर्माण गर्न विश्व ज्ञान सम्मेलन महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे । साथै, यस साताभरि नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय तथा उच्च पदस्थ पदाधिकारीहरूसँग भएका भेटघाट, छलफल र त्यसबाट प्राप्त सकारात्मक प्रगतिबारे पनि राष्ट्रपतिलाई जानकारी गराए ।


    सो अवसरमा संघका उपमहासचिव कृष्ण पोखरेलले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी संवैधानिक व्यवस्थाको कार्यान्वयन अझै पूर्ण रूपमा व्यवहारमा आउन नसकेको उल्लेख गर्दै त्यसका कारण गैरआवासीय नेपालीहरूले विभिन्न प्रशासनिक तथा कानुनी जटिलता भोग्नुपरेको विषयमा राष्ट्रपतिसमक्ष अवगत गराए ।
    जवाफमा राष्ट्रपति पौडेलले विश्वभर रहेका नेपाली विज्ञहरूलाई एउटै मञ्चमा ल्याई ज्ञान, सीप र अनुभवको आदानप्रदान गर्ने उद्देश्यसहित विश्व ज्ञान सम्मेलन आयोजना गर्न लागिएको पहलको प्रशंसा गर्दै यसलाई अत्यन्त सकारात्मक र समयसापेक्ष अभियानका रूपमा लिनुभएको बताए । उनले नेपालको समृद्धिका लागि विदेशबाट पूँजी मात्र नभई ज्ञान, सीप, प्रविधि र नवप्रवर्तनको समेत लगानी आवश्यक रहेकोमा जोड दिए ।


    राष्ट्रपतिले विदेशमा रहेका नेपालीहरूको बौद्धिक क्षमता, अनुभव र विशेषज्ञतालाई नेपालको विकाससँग प्रभावकारी रूपमा जोड्न सके देशले दीर्घकालीन रूपमा ठूलो लाभ लिन सक्ने उल्लेख गर्दै विश्व ज्ञान सम्मेलनले त्यस दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले गैरआवासीय नेपाली समुदायले नेपालको आर्थिक, सामाजिक तथा बौद्धिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै सरकार, निजी क्षेत्र, शैक्षिक संस्थाहरू तथा गैरआवासीय नेपाली समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएको जानकारी उपाध्यक्ष रेग्मीले दिए ।

  • चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, साउन १६ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली भएको छ भने बाँकी भागमा साधारणतया बदली भएको छ । बागमती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    शनिबार दिउँसो देशभर साधारणतया बदली हुनेछ । हिमाली भेगका केही तथा पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै, तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति पनि देशभर साधारणतया बदली हुने पूर्वानुमान गरिएको छ । हिमाली र पहाडी भागका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरोको जोखिम बढ्ने तथा दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत आंशिक असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । रासस

  • धनुषामा कर्फ्यु कायम, समय घटाइयो

    धनुषामा कर्फ्यु कायम, समय घटाइयो

    १६ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार प्रमुख जिल्ला अधिकारीद्वारा साउन १४ गते जारी गरिएको कर्फ्यु आदेश यथावत् रहे पनि सर्वसाधारणको दैनिक जीवन सहज बनाउन बिहान ५ देखि १० बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि कर्फ्यु आंशिक रूपमा खुला गरिएको हो। प्रशासनले तोकिएको पाँच घण्टाको अवधिभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि कर्फ्यु आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

    सूचनाअनुसार कर्फ्यु अवधिमा पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी तथा दूध बोक्ने सवारी, फोहोर व्यवस्थापनलगायत अत्यावश्यक सेवाहरू नियमित रूपमा सञ्चालन हुनेछन्। त्यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल जाने–आउने यात्रु तथा उनीहरूलाई लिन–पुर्‍याउन जाने व्यक्तिले परिचयपत्र वा सम्बन्धित प्रमाणपत्र साथमा राखी आवतजावत गर्न सक्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनामा जिल्लाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रशासनका निर्देशनको पालना गर्न तथा शान्ति–सुव्यवस्था कायम राख्न सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।

  • सिरहामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

    सिरहामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

    १६ साउन, काठमाडौं । सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ ।

    गए राति गृहमन्त्री गुरुङ मृतक यादवको घर औरही गाउँपालिका–२ तुलसियाहीमा पुगेर सहमति गरेका हुन् । सहमति अनुसार सरकारले यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ ।

    गृहमन्त्री सुदन गुरुङ र मृतकका बुबा रामवृक्ष यादवबीच भएको सहमतिअनुसार मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ।

    साथै परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गरिने, मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षा तथा बुबा–आमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

    यस्तै, गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमतिमा समेटिएको छ ।

    सहमतिअनुसार गणेश यादवको दाहसंस्कार गर्ने पनि उल्लेख गरिएको छ । सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

  • २४ घण्टामा ६० हजार आप्रवासी स्पेन छिरे

    २४ घण्टामा ६० हजार आप्रवासी स्पेन छिरे

    १५ साउन, काठमाडौं । विगत २४ घण्टामा झन्डै ६०,००० आप्रवासीहरू जल र स्थलमार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिकास्थित स्पेनी भूभाग स्यूटामा प्रवेश गरेको अधिकारीहरूले बताएका छन्। बिहीवार हजारौँ मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त सहरतिर आइरहेका देखिने भिडिओ र तस्बिरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू स्यूटा छिरेको विवरण स्थानीय सञ्चारमाध्यमहरूले दिएका छन्।

    केही दिनयता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना स्यूटा वा अर्को स्पेनी भूभाग मेलीया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको सङ्ख्या बढेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए।

    हजारौँ मानिस ओइरिन थालेपछि बिहीवार स्यूटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि स्यूटा र मेलीयामा सुरक्षाव्यवस्था कडा पार्न सशस्त्र बल परिचालन गर्‍यो। मेलीयामा बिहीवार राति ३०० देखि ४०० मानिस प्रवेश गरेको विवरण आएको छ। स्पेनी अधिकारीले गरेको आकलनअनुसार २४ घण्टाको अवधिमा स्यूटा प्रवेश गरेका आप्रवासीहरूको सङ्ख्या उक्त सहरको कुल जनसङ्ख्याको आधाभन्दा बढी हुन सक्छ। आधिकारिक तथ्याङ्कअनुसार स्यूटामा ८३,६०० मानिसको बसोबास रहेको थियो।

    आप्रवासीहरूको ओइरो लागेकाले स्यूटामा राष्ट्रिय मानवीय सङ्कट को अवस्था उत्पन्न भएको त्यहाँका स्थानीय प्रशासकले बताएका छन्। शुक्रबार राति पनि मानिसहरू सीमा पार गर्ने क्रम जारी रहेको र सीमा क्षेत्रमा आप्रवासीहरू तथा प्रहरीबीच झडपहरू भएको विवरण स्थानीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्। अहिले आएका आप्रवासीमध्थे अधिकांश युवा र विशेष गरी पुरुष छन्। यद्यपि भिडमा केही महिला, बालबालिका र साना शिशुहरू पनि देखिन्छन्।

    अधिकारीहरूका अनुसार विगत २४ घण्टामा अवैध रूपमा स्यूटा प्रवेश गर्नेहरूमध्ये कम्तीमा ७,००० जना नाबालिग छन्। सामान्यतया स्यूटा प्रवेश गर्ने प्रयासमा आप्रवासीहरू तटीय क्षेत्रभन्दा निकै टाढाबाट पौडी खेल्दै आउँछन्। तर यस पटक भने उनीहरू सीमा क्षेत्रको तारबारनजिकै सजिलैसँग पुग्न सकेको देखिएको छ। सुरुमा केही मानिसहरू तटबन्धमा हिँड्दै स्यूटाको सीमाभित्र छिरेका थिए। तर अधिकांश मानिसहरू भने समुद्रमा पौडी खेल्दै अर्कोतर्फ रहेको तटमा पुगेका थिए।

    त्यतिबेला त्यहाँ मोरक्कोका सीमा सुरक्षाकर्मीहरू भए नभएको अनि ठूलो हुलमा आएका आप्रवासीहरूलाई किन तितरबितर पारिएन वा रोकिएन भन्ने कुरा स्पष्ट हुन सकेको छैन। बिहीवार आप्रवासीहरू अकस्मात् ठूलो सङ्ख्यामा आउनुभन्दा केही दिनअघिदेखि नै पौडिएर स्यूटा पुग्नेहरूको सङ्ख्या बढेको देखिएको थियो। उनीहरू स्यूटा प्रवेश गर्न सफल भएको खबर द्रुत गतिमा फैलिएको देखिन्छ।
    स्यूटा मोरक्कोको उत्तरी तटमा अवस्थित छ। स्यूटा र स्पेनलाई जिब्रल्टर जलमार्गले छुट्ट्याउँछ। स्यूटा र मेलीयामा युरोप पुग्न चाहने आप्रवासीहरूको ओइरो विगतमा पनि बेलाबेलामा लाग्ने गरेको थियो। अधिकारीहरूको आकलन सही ठहरिएमा अहिले स्यूटामा आप्रवासीहरूको प्रवेश सङ्ख्या सन् २०२१ को मे महिनापछि सबैभन्दा ठूलो हो।

    त्यतिबेला पश्चिमी सहाराको सार्वभौमसत्ताको विषयमा मड्रिडसँग विवाद उत्पन्न भएपछि मोरक्कोका अधिकारीहरूले झन्डै ८,००० मानिसलाई सीमा पार गर्ने अनुमति दिएका थिए। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पश्चिम सहारा क्षेत्रको स्वतन्त्रतालाई समर्थन गर्ने एल्जिरियाको भ्रमण गरेपछि मोरक्को र स्पेनबीच फेरि कूटनीतिक विवाद उत्कर्षमा पुगेको छ।

    यद्यपि स्पेनको गृह मन्त्रालयले आफ्नो भूभागमा गैरकानुनी रूपमा प्रवेश गरेका सबै मानिसहरूलाई यथाशीघ्र फिर्ता पठाउन मोरक्कोसँग सहकार्य गरिरहेको जनाएको छ। स्पेनका प्रधानमन्त्री शुक्रवार स्यूटाको भ्रमण गर्ने योजनामा छन्। मोरक्कोले पनि स्यूटा र मेलीयामाथि आफ्नो स्वामित्व रहेको दाबी गर्दै आएकाले यी दुई सहर मोरक्को र स्पेनबीचको कूटनीतिक सम्बन्धमा लामो समयदेखि विवादको विषय रहँदै आएका छन्।

    मड्रिडले ती दुवै क्षेत्रहरू स्पेनका अभिन्न अङ्ग भएको बताउने गरेको छ। ती दुई सहरले स्पेनको मुख्य भूभागमा रहेका अर्धस्वायत्त क्षेत्रहरूसरह मान्यता पाएका छन्। ईयू र अफ्रिकाको स्थलसीमा स्यूटा र मेलीयाबाहेक अरू भूभाग पर्दैन।
    बीबीसीबाट

  • मधेशवादी दलका नेतासँग प्रधानमन्त्री : प्रदेशको सशक्तिकरण र अधिकारलाई उच्च प्राथमिकतामा

    मधेशवादी दलका नेतासँग प्रधानमन्त्री : प्रदेशको सशक्तिकरण र अधिकारलाई उच्च प्राथमिकतामा

    काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले आफू नेतृत्वको सरकारले प्रदेशको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् । तराई–मधेसमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेश पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औँल्याए ।

    संविधान जारी भएपछि सङ्घीयताको अभ्यास निरन्तर भइरहेको उल्लेख गर्दै उनले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार सुम्पन र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गर्न सक्षम बनाउन वर्तमान सरकार पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहेको प्रस्ट पारे ।


    प्रधानमन्त्री शाहले सरकारद्वारा प्रस्तुत बजेट पूर्ण रूपमा समावेशी रहेको र यसले देशका सबै भौगोलिक क्षेत्र, समुदाय तथा सीमान्तकृत वर्गको हितलाई समेट्ने उद्देश्य राखेको स्मरण गराए । प्रधानमन्त्रीको सर्वोच्च पदमा रहेर आफूले सम्पूर्ण नेपाली नागरिकलाई सधैँ समान दृष्टिले हेर्ने र प्रधानमन्त्री कार्यालय देशका प्रत्येक नागरिकप्रति समान रूपमा उत्तरदायी रहने प्रतिबद्धता उनले दोहोर्‍याए ।


    वर्तमान संवेदनशील परिस्थितिमा देशको संविधानले अङ्गीकार गरेका आधारभूत मूल्य, लोकतान्त्रिक प्रणाली, विधिको शासन तथा राष्ट्रिय एकतामाथि कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने उनको जोड थियो। “संविधान बलियो भए मात्रै सम्पूर्ण नेपालीको भविष्य बलियो हुन्छ” भन्ने राष्ट्रिय सङ्कल्प व्यक्त गर्दै प्रधानमन्त्री शाहले सबै राजनीतिक दल, सामाजिक तथा धार्मिक नेतृत्व एवम् आम नागरिकलाई संयमता, संवाद र अटुट राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरे ।


    बैठकमा तराई–मधेस क्षेत्रका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अन्सारी, प्रभु साह, शरतसिंह भण्डारी र डा। सिके राऊतलगायतको सहभागिता रहेको थियो। बैठकमा उहाँहरूले तराई–मधेस क्षेत्रका विविध समसामयिक समस्या, सुरक्षा चुनौती, सुशासनको प्रत्याभूति र सङ्घीयताको सबलीकरणका सम्बन्धमा आफ्ना माग, विश्लेषण तथा सुझाव प्रस्तुत गरेका थिए ।

  • सामाजिक सद्भाव र सुरक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

    सामाजिक सद्भाव र सुरक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

    काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहितका जिल्लामा उत्पन्न संवेदनशील परिस्थिति समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे ।

    प्रधानमन्त्री शाहले प्रभावित नागरिकसम्म पुग्न, सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु सरकारको प्राथमिक ध्यान रहेको बताए । शान्ति–सुरक्षा चुस्त बनाउन र परिस्थिति बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको उनको भनाइ थियो।

    छलफलका क्रममा प्रधानमन्त्री शाहले सबै सांसदलाई आआफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबिच सद्भावको बलियो पुल बन्न आह्वान गरे । अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर सुखदुःखमा उभिनु नै जनप्रतिनिधिको वास्तविक दायित्व भएको उनले स्मरण गराए ।

    सो अवसरमा सांसदले प्रधानमन्त्रीको अनुरोधलाई सकारात्मक रूपमा लिँदै तत्कालै निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता व्यक्त गरे । बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गरेको सम्बोधनले देशैभर र विशेष गरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको उनीहरुले उल्लेख गरे ।

    स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम राख्न धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग सघन संवाद निरन्तर चलाउनुपर्ने सुझाव सांसदले दिए । साथै, तनावग्रस्त क्षेत्रमा सामाजिक सौहार्द कायम राख्न ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने र सामाजिक सञ्जालका भ्रम तथा अफवाहबाट युवा वर्गलाई जोगाउन जनचेतनामूलक अभियान चलाउनुपर्नेमा सांसदले जोड दिए ।

  • राष्ट्रपति रामचन्द्रद्वारा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल

    राष्ट्रपति रामचन्द्रद्वारा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल

    काठमाडौँ, साउन १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्जलगायत तराई–मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा। रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको छलफलमा तराई–मधेसमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । छलफलका क्रममा प्रथम राष्ट्रपति डा। यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताए ।

  • तराई-मधेशमा प्रहरीले गर्दैछ ड्रोनबाट निगरानी

    तराई-मधेशमा प्रहरीले गर्दैछ ड्रोनबाट निगरानी

    १५ साउन, काठमाडौं । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशेष गरी संवेदनशील क्षेत्रमा ड्रोनमार्फत अनुगमन तीव्र बनाइएको छ। सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, अफवाह फैलाउने वा कानुनविपरीतका गतिविधिमा संलग्न जोकसैलाई प्रमाणका आधारमा कानुनी कारबाही गरिने सुरक्षा निकायले जनाएको छ। स्थानीय प्रशासनले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न नागरिकसमक्ष आग्रह गर्दै कुनै पनि भ्रामक सूचना वा उक्साहटमा नलाग्न अपिल गरेको छ।

  • पाकिस्तान हिमपहिरोमा नेपाली आरोही पुरबहादुर गुरुङको निधन भएको पुष्टी

    पाकिस्तान हिमपहिरोमा नेपाली आरोही पुरबहादुर गुरुङको निधन भएको पुष्टी

    १४ साउन, काठमाडौं । पाकिस्तानमा हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी गोरखा, धार्चे गाउँपालिका–४ लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङको निधन भएको पुष्टी भएको छ । अल्पाइन क्लव अफ पाकिस्तानले उनको निधनको पुष्टी गरेको बीबीसीले जनाएको छ ।

    उनको निधनमा लाप्राकसहित समग्र गोरखा जिल्ला शोकमा डुबेको छ। नेपाली पर्वतारोहण क्षेत्रमा उनको उच्च कद थियो । ३८ वर्षीय गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक तथा आठ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल २८ पटक सफलतापूर्वक आरोहण गरिसकेका थिए । लामो समयदेखि अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियानमा सक्रिय रहँदै उनले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।


    पर्वतारोहणसँगै गुरुङ सामाजिक सेवामा पनि उत्तिकै समर्पित थिए । लाप्राक तथा गोरखाका विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी तथा विभिन्न सामाजिक संस्थालाई नियमित रूपमा सहयोग गर्दै आएका धार्चे–४ का वडाध्यक्ष किसान गुरुङले बताए । पारिवारिक स्रोतका अनुसार विगत एक महिनादेखि पाकिस्तानमा रहेका गुरुङको बिहीबार बेलुकासम्म परिवारसँग सम्पर्क भएको थियो ।

    नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका प्रशासक शोभित कुँवरले हिमपहिरोमा परेका गुरुङको शव पहिचान भइसकेको र अब कानुनी प्रक्रिया पुरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको बताए । हिमपहिरोमा परी ६ जना नेपाली आरोहीसहित १० बेपत्ता भएका थिए । त्यसमध्ये ४ शव फेला परेकोमा दुई जनाको पहिचान भएको छ । एक नेपाली आरोही र अर्का ओमानका आरोहीको पहिचान भएको हो ।

  • धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल

    धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल

    १५ साउन, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई संयमता अपनाउन आग्रह गरेका छन् । शुक्रबार जारी सन्देशमा उनले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधता भए पनि आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको मुलुक भएको उल्लेख गरेका छन् । विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति भएको उनको भनाइ छ ।

    ‘धर्म, भाषा, जातजाति र संस्कृतिको भिन्नताबीच पनि हामी आपसी सम्मान, सहिष्णुता र सम्मानका साथ सँगै बाँच्दै आएका छौं,’ उनले प्रहरी प्रमुख कार्कीले भनेका छन्, ‘विविधतामा एकता नै हाम्रो पहिचान, शान र शक्ति हो ।’ उनले धर्म, संस्कार र संस्कृति फरक भए पनि मुलुक र साझा भावना एउटै भएकाले एकअर्काको संस्कृति, संस्कार र आस्थाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीत गतिविधि गर्ने कार्य कसैको हितमा नहुने उल्लेख गरेका छन् । यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन बढाउने भएकाले सबै नागरिकलाई जिम्मेवार र संयमित बन्न उनले आग्रह गरेका छन् ।

    विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएको भन्दै उनले त्यसप्रति चिन्ता व्यक्त गरेका छन् ।

    यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्न उनले सबैमा आह्वान गरेका छन् ।

    सबै नागरिकलाई संयमता, सहिष्णुता र आपसी सम्मानका साथ सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सहयोग गर्न उनले अपिल गरेका छन् ।

  • बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो

    बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो

    १५ साउन, काठमाडौं । रुपन्देहीको बुटवल उप(महानगरपालिका वडा नम्बर ६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट तीन जना बाल श्रमिकको उद्धार गरिएको छ। श्रम तथा व्यवसायजन्य विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको संयुक्त अनुगमनका क्रममा राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टमा बालश्रम प्रयोग भइरहेको भेटिएको हो।

    जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका र सिविन नेपाल बालहेल्पलाईन १०९८ को संयुक्त टोलीले उक्त स्थानमा निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा राजु रेस्टुरेन्टमा एक जना र सुशान्त रेस्टुरेन्टमा दुई जना बालक श्रमिकका रूपमा कार्यरत रहेको फेला परेको थियो । उद्धार गरिएका ती बालकहरूलाई तत्काल संरक्षणका लागि सिविन नेपालको आपतकालिन बासगृहमा पठाइएको थियो।

    बालश्रम प्रयोग गरेको कसुरमा टोलीले दुवै रेस्टुरेन्टलाई प्रति रेस्टुरेन्ट ५०,००० रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ। यसका साथै, श्रम ऐन अनुसार उनीहरूले काम गरेको अवधिको आधारमा बाँकी पारिश्रमिक र क्षतिपूर्ति बापतको रकम भुक्तानी समेत गराइएको छ। राजु रेस्टुरेन्टमा कार्यरत बालकका लागि ३ लाख ,८४हजार ,३४९ र सुशान्त रेस्टुरेन्टमा कार्यरत दुई बालकका लागि क्रमशः १ लाख ८७ हजार ४८६ र ४१ हजार ५३६ क्षतिपुर्ति बापतको रकम भुक्तानी गराइएको छ ।

    रेस्टुरेन्ट सञ्चालकहरूलाई अब उप्रान्त बालश्रम प्रयोग नगर्न चेतावनी दिइएको छ। उद्धार गरिएका बालकहरूलाई आवश्यक प्रक्रिया पुरा गरी हाल निजका आफन्तको जिम्मा लगाइसकिएको छ।

  • देवानगन्ज घटनाका मृतकका परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति

    देवानगन्ज घटनाका मृतकका परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति

    १५ साउन, काठमाडौं । देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ। सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

    यस्तै, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ।

    सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषय पनि समेटिएको छ।

    सम्झौतापत्रमा मृतकका परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ ले हस्ताक्षर गरेका छन्। सम्झौतापछि पीडित परिवारले सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् भने सरकारका तर्फबाट सम्झौतामा उल्लेखित सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ।

  • देवानगञ्ज पुगे गृहमन्त्री, स्थानीयले गरे नाराबाजी

    देवानगञ्ज पुगे गृहमन्त्री, स्थानीयले गरे नाराबाजी

    १५ साउन, काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाको घाइतेलाई भेट्न नेपाल सरकारका दुई मन्त्री विराटनगर आउँदा नाराबाजी भएको छ । देवानगन्ज गोलीकाण्डका घाइतेलाई भेट्न बिहीबार राति विराटनगर आएका गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता अस्पताल पुगेका बेला बाहिर नाराबाजी भएको हो । घाइतेहरूको उपचार भइरहेको न्युरो अस्पतालमा मन्त्रीद्वय प्रवेश गरेलगत्तै अस्पताल बाहिर भेला भएका प्रदर्शनकारीले मन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

    प्रदर्शनकारीहरूले गोलीकाण्डमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राख्दै चर्को नाराबाजी गरेका थिए । गोलीकाण्डको छानबिनको माग गरेका स्थानीयले गृहमन्त्री सुधन गुरुङको राजीनामा पनि मागेका छन् ।

  • आज १५ साउन, खिर खाने दिनका रुपमा मनाइदैं

    आज १५ साउन, खिर खाने दिनका रुपमा मनाइदैं

    १५ साउन, काठमाडौं । आज साउन १५ गते, नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

    यद्यपि राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई ‘खिर खाने दिन’ अर्थात् ‘खिर दिवस’का रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४।७ प्रतिशत ल्याक्टोज र ३।५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने दुग्ध विकास बोर्डले जनाएको छ ।

    संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

    साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैंसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको बताइन्छ ।

    नेपाली समाजमा असार १५ गते दही–च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने चलन रही आएको छ ।

  • निर्मल पूर्जासहित १० आरोही पाकिस्तानमा हिमाल चढ्दा वेपत्ता

    निर्मल पूर्जासहित १० आरोही पाकिस्तानमा हिमाल चढ्दा वेपत्ता

    १५ साउन, काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।

    टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेका छन् । टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् ।

    विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग निरन्तर समन्वयमा रही तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ । हेलिकोप्टर परिचालनसहित उपलब्ध सबै स्रोत–साधन यथाशीघ्र परिचालन गर्न हरसम्भव प्रयास भइरहेको क्लबले उल्लेख गरेको छ ।

    क्लबले सबै आरोहीहरूको सकुशल उद्धारको कामना गर्दै यस कठिन घडीमा उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता जनाएको छ । निर्मल पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए भने सन् २००९ मा रोयल मरीन बनेका थिए । सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्राका क्रममा पर्वतारोहणप्रति आकर्षित भएका उनले सुरुमा आधार शिविरबाट फर्किने योजना बनाए पनि निर्णय परिवर्तन गर्दै सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता उनी विश्वकै चर्चित पर्वतारोहीमध्ये एकका रूपमा स्थापित भएका छन् ।

  • सिराहामा प्रहरीको गोलीले एकको मृत्यु, तराइ मधेशमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

    सिराहामा प्रहरीको गोलीले एकको मृत्यु, तराइ मधेशमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

    १४ साउन, काठमाडौं । सुनसरीमा भएको घटनाको विरोधमा चर्किँदा बिहीबार मधेश प्रदेश दिनभर नै अशान्त रह्यो । दिनभर विभिन्न संघसंगठनको प्रदर्शनको क्रममा सिरहाको गोलबजार, लहान, धनुषाको जनकपुरधामसहितका स्थानमा प्रहरी र प्रदर्शनकारी बीच झडप भयो । त्यस क्रममा सिरहामा प्रहरीको गोली लागेर सिरहामा एक किशोरको ज्यान गएको छ । अर्का गम्भीर घाइते भएका छन् । धनुषामा ढंगामुढा तथा आक्रमणबाट एक बालकसहित दुईजना घाइते भएका छन् । धनुषा र सिरहामा झडपमा परेर १९ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

    सिरहामा आगजानी समेत भएको छ । आन्दोलन उग्र बनेपछि जनकपुरधामसहित सिरहामा कर्फ्यू आदेश र पर्सामा निषेधाज्ञा आदेश जारी गरिएको छ ।
    प्रशासनले कर्फ्यु जारी गरेपछि पनि गोलबजार नगरपालिका–४ स्थित क्याम्पस रोड क्षेत्रमा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी रामबृक्ष यादवका अन्दाजी १५ वर्षीय छोरा गणेश यादवको मृत्यु भएको छ ।

    उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको थियो । गोली लागेर घाइते भएका धनुषाको धनुषाधामका सुवास ठाकुरलाई स्थानीय अस्पतालबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ ।

    त्यस अघि दिउँसो सिरहाको गोलबजारमा प्रदर्शनकारीको प्रदर्शनले अवस्था असहज बन्दै जाँदा झमझम होटल अगाडि दुई पक्षबीच भएको झडपले उग्ररुप लिएको थियो । त्यस क्रममा नेपाल टेलिकम अगाडि पार्किङमा रहेका करिब २१ वटा मोटरसाइकल र एउटा साइकलमा आगजनी भयो ।

    यस्तै गोलबजारका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटनासमेत भएका छन् । एबी मल,नेहाल आइरन स्टोर ,नौसाद मोटर साइकल ग्यारेज,रोयल प्रिन्स होटेल एन्ड पार्टी प्यालेस र गोलबजार नपा–११ का अध्यक्ष सोहेव अनवरको गोलबजारमा रहेको घरमा आन्दोलनकारीहरूले आगजानी गरेका छन् ।

    सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार झडप नियन्त्रणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रहरी कार्यलयका डिएसपी रमेशबहादुर पालसहित करिब १५ जना सुरक्षाकर्मी घाइते भएका छन् । डिएसपी पाललाई मुखमा चोट लागेको छ । स्थानीय तथा प्रहरी दुवै पक्षका व्यक्तिहरूको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    यता बिहीबार बिहानैदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम अशान्त रह्यो । रामानन्दचोकमा सडकजाम गर्दै प्रदर्शन सुरु गरेका विभिन्न संघसंगठनका युवाहरूले बजार व्यवसायसमेत बन्द गराए । केही स्थानमा तोडफोडसमेत गरे । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच जनकपुरधामको रामानन्दचोक, बजरंगचोक लगायतमा पटकपटक दिनभर झडप भयो । त्यस क्रममा प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गरेका छन् ।

    जनकपुरधाममा ढुंगामुढाबाट एक बालकसहित दुईजना घाइते पनि भएका छन् । केही प्रहरी समेत घाइते भएका छन् । ढुंगामुढा लागेर जनकपुरधाम उपमहानगरपालिका ७ का १२ वर्षीय आनन्द दास गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बताए । यस्तै जनकपुरधाम उपमहानगरपालिका २० का भोगेन्द्र कुमार राम घाइते भएका छन् । उनको टाउको फुटेको छ ।

    झडपको क्रममा आन्दोलनकारीको ढुंगामुढा लागेर धनुषा र सिरहामा १९ जना प्रहरी घाइते भएका छन् । धनुषामा १५ जना प्रहरी घाइते भएका छन् भने सिरहामा ४ जना प्रहरी घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आन्दोलनले उग्र हुँदै गएपछि स्थानीय प्रशासनले दिउँसो साढे ३ बजेदेखि अनिश्चित समयका लागि कर्फ्यु लागू गरेको छ ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिका भित्र, नगराइन नगरपालिकाको नगराइन चोकसम्म र लक्ष्मीनिया गाउँपालिकाको सोहनी सिनुरजोडा एवं लक्ष्मीनिया हाटबजारसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेशपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेतका सुरक्ष निकाय सडकमा सक्रिय छन् ।

    परिस्थिति बिग्रिन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्साको वीरगञ्जमा समेत निषेधाज्ञा जारी गरिएको छ । आज साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि प्रमुख जिल्ला अधिकारी भोला दाहालले निषेधाज्ञा जारी गरेका हुन् । यस्तै सप्तरीको राजविराजस्थित विभिन्न स्थानमा प्रदर्शन भएको छ । त्यस क्रममा प्रहरी संयमित बन्दा अप्रिय घटना भने हुन सकेन ।

    महोत्तरीको मटिहानीमा पनि प्रदर्शन भएको छ । पर्सा, सर्लाही, रौतहटका पनि केही स्थानमा समान्य प्रदर्शन भएको खबर प्राप्त भएको छ । जनकपुरमा प्रदर्शन चर्किएपछि शुक्रबार शैक्षिक संघसंस्था विद्यालय तथा क्याम्पसहरू बन्दको घोषणा गरिएको छ । शैक्षिक क्षेत्रका संस्थाहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर बन्द घोषणा गरेको हो । साथै घटनालाई साम्य बनाउन राज्य तथा सरोकारवालाहरूलाई आग्रह गरिएको छ ।

  • उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको निधन

    उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको निधन

    काठमाडौँ, साउन १४ गते । उत्तरी कुवेतमा बिहीबार बिहान भएको एक आक्रमणमा परी एक जना नेपाली नागरिकको ज्यान गएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार आक्रमणमा परी नेपाली नागरिकको निधन भएको दुःखद् खबर प्राप्त भएलगत्तै घटनाको आधिकारिकता र विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिएको जनाएको छ।

    कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँका सम्बद्ध सरकारी निकाय तथा सम्बन्धित कम्पनीसँग निरन्तर र नजिकको सम्पर्कमा रहेर घटनाबारे थप जानकारी लिने काम गरिरहेको मन्त्रालयले जनाएको छ। यस विषयमा आधिकारिक निकायबाट थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।