Category: फिचर

  • स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्डतर्फ

    स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्डतर्फ

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली गतराति स्वीटजरल्याण्ड प्रस्थान गरेको छ ।

    कार्यशाला स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरी (फागुन ११ र १२ गते) आयोजना हुँदैछ । टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्णप्रसा पौडेल र मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी छन् । यो स्वास्थ्य मन्त्रीका रुपमा उनको पहिलो विदेश भ्रमण हो ।

  • प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतारबाट हुँदै

    प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतारबाट हुँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमण कतार हुने भएको छ । उनी फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा रहेको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयले पुष्टी गरेको हो ।

    अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख (फागुन २१ देखि २५ गते)सम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

  • साउदीको जेलमा रहेका नेपाली युवालाई नेपाल फर्काउने प्रधानमन्त्रीको प्रतिवद्धता

    साउदीको जेलमा रहेका नेपाली युवालाई नेपाल फर्काउने प्रधानमन्त्रीको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिबद्धता गरेका हुन् । प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् ।


    कार्कीका परिवारजनसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध छ। धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा नं–४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा रहेका छन्।

  • बहराइनका राजाले डा. रुइतलाई प्रदान गरे १४ करोड पुरस्कार राशीको इशा अवार्ड

    बहराइनका राजाले डा. रुइतलाई प्रदान गरे १४ करोड पुरस्कार राशीको इशा अवार्ड

    काठमाडौं । नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारले प्रतिष्ठित इशा अवार्ड प्रदान प्रदान गरेको छ । सरकारको तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले अवार्ड हस्तान्तरण गरेका हुन् । मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा रुइतलाई प्रदान गरे । राजा हमाद बिन इशा अल खालिफाले ुलोकहितकारी कामका अर्थमा डा रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी कामु गर्दै आएको बताए । इशा अवार्ड कमिटीका अधयक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताए ।

    आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो ।

    ‘यो घडी म तिलगंगा प्रतिष्ठानका हरेक सदस्यलाई उनीहरुको स्तुत्य सेवालाई धन्यवाद दिन चाहन्छु । यो काममा जुटेका मेरा अन्तर्राष्ट्रिय तहका सहयोगी र साझेदार द फ्रेड होलोज फाउन्डेसन, हिमालयन क्याटाराक्ट प्रोजेक्ट र तेज कोहली एण्ड रुइत फाउन्डेसनलाई यो क्षणमा म सम्झन चाहन्छु । र, आँखा उपचारमा आएका मेरा सम्पूर्ण बिरामीहरुमा म यो सम्मान अर्पण गर्न चाहन्छु’,डा. रुइतले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

  • मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने

    मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने

    काठमाडौं । राइड सेयरिङ गर्नेहरुले अब मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने भएका छन् । उच्च अदालत पाटनले मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेटमा क्यामरा राख्न नदिने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । दुर्घटना बढेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागको सहमतिमा ट्राफिक प्रहरीले मोटरसाइकलमा मोबाइल स्ट्यान्ड राख्न नदिने नियम बनाएको थियो । सवारी मोडिफिकेसन गर्न नपाइने तर्क गरेर यस्तो प्रयोगको रोकिएको थियो । ट्राफिकको कमदविरुद्ध सजिलो साथी प्रालिका डेभिड चौधरी र आर्यनराज पाण्डेले अदालतमा मुद्दा दायर गरेका थिए ।

    अदालतले स्ट्यान्ड र गोप्रो क्यामेरा प्रयोग गर्नेमाथि जरिबाना पनि नगर्न आदेश दिएको छ । सरकारले नियम नमान्नेलाई पाँच सयदेखि २० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने चेतावनी दिएको थियो । अदालतले भने यस्तो जरिबाना गर्न रोक्नुपर्ने भन्दै रिट निवेदकले गरेको माग समसामयिक, जायज र कानून अनुकूल नै देखिएको ठहर गरेको छ । यस्ता उपकरण प्रयोगबाट हुनसक्ने सबल र निर्बल पक्षहरुको प्राविधिक अध्ययन र विश्लेषण गरी नियमन गर्न र आवश्यक कारबाही गरी उपयुक्त कानुनी मापदण्ड निर्धारण गर्न अदालतले सरकारलाई भनेको छ ।

  • नेपालको रोमाञ्चक जित,आईसीसी विश्वकप लिग टू सिरिज ‘क्लीन स्वीप’

    नेपालको रोमाञ्चक जित,आईसीसी विश्वकप लिग टू सिरिज ‘क्लीन स्वीप’

    काठमाडौं । नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकाल्दै घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप लिग टू अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज नेपालले क्लीन स्वीप गरेको छ।

    मंगलबार भएको अन्तिम खेलमा लिग टू च्याम्पियन स्कटल्याण्ड २ विकेटको पराजित गर्दै सिरिज क्लीन स्वीप गरेको हो। १३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

    रोहितले अविजित ९५ रन बनाए । करणले ३१ रन बनाए । ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७, आशिफ शेखले १२, सन्दीप लामिछाने ९, सोमपाल कामी २, कुशल भुर्तेल १ रनमा आउट भए । स्कटल्यान्डका मार्क वाट्टले ३ र क्रिस ग्रिभ्सले २ तथा साफयान सरिफ, ब्रान्डन म्याकमुलन र माइकल लिस्क १-१ विकेट लिए ।

    नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितपछि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै दश विकेट गुमाएर २१२ रन बनाएको थियो ।

    स्कटल्यान्डका लागि जर्ज मुन्सीले ६० रन तथा म्याथ्यू क्रसले ४२ रनको योगदान गरे । ब्रान्डन म्याकमुलनले ३१ रन तथा कायल कोएट्जर र क्रिस्टोफर माइकब्राइडले समान २२-२२ रन जोडे ।

    नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा कुशल मल्ल ललित राजवंशीले एक-एक विकेट लिए ।

  • दुई छोरासहित गण्डक नहरमा हाम फालिन् प्रतिमा,अवस्था अज्ञात

    दुई छोरासहित गण्डक नहरमा हाम फालिन् प्रतिमा,अवस्था अज्ञात

    काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा त्यही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको छिन् ।

    मंगलबार दिउँको २ बजे हाम फालेका उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन्। के कति कारणले हाम फालिन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, गर्न थाले दोहोरो संवाद

    चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, गर्न थाले दोहोरो संवाद

    काठमाडौं । ग्यास सिलिण्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंगलबारबाट दोहोरो संवाद गर्न थालेका छन् । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीले घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका हुन् । उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको र सुन्निएको अनुहार घट्दै गएको छ ।

  • प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अग्नि सापकोटाका छोरा नियुक्त

    प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अग्नि सापकोटाका छोरा नियुक्त

    काठमाडौं । पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाका छोरा रुपक सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र सल्लाहकारमा नियुक्त गरिएको छ। प्रधानमन्त्रीले नियुक्ति दिएसँगै सापकोटाले औपचारिक रुपमा काम थालिसकेका छन् ।

    त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापनसमेत गराउँदै आएका सापकोटा अन्तराष्ट्रिय सम्बन्ध एवम् परराष्ट्र मामिलाको जानकारका रूपमा सापकोटा परिचित छन् ।

    टीयूको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषय समिति सदस्यका रूपमा पनि जिम्मेवारीमा रहेका सापकोटासँग अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा गहिरो ज्ञान रहेको छ ।

    डा. सापकोटाले सन् २०१८मा चीनको बेइजिङस्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधि हासिल गरेका थिए । उनमा विश्वका विभिन्न विश्वविद्यालयमा सिनियर स्कलर तथा रिर्सच फेलोका रूपमा पनि काम गरेको अनुभव छ । भने चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।

    उनले सन् २०१९, नोभेम्बर देखि सन् २०२१ अक्टोबरसम्म नेपाल सरकारको महत्वपूर्ण थिंकटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

    उनका भूराजनीतिक, वैदेशिक तथा सामारिक मामिलामा थुप्रै लेख रचना प्रकाशित छन् । उनले थुप्रै पुस्तक सहलेखन र सम्पादन पनि गरेका छन् । साथै, उनका थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरुमा अनुसन्धनात्मक लेखहरू पनि प्रकाशित भएका छन् ।

    प्रधानमन्त्रीले यसअघि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल, मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल, प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त गरिसकेका छन्।

    यस्तै, स्वकीय सहसचिवमा गोकर्ण प्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी, प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भइसकेका छन् ।

  • स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

    स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

    एजेन्सी । नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेल जित्न २ सय १३ रनको लक्ष्य पाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २ सय १२ रन बनायो । उसका लागि जर्ज मुन्शेले अर्धशतकीय पारी खेले ।

    ५० बलको सामना गरेका उनले ९ चौका र २ छक्कासहित ६० रन बनाए । त्यस्तै, म्याथ्यू क्रसले ४२, ब्रान्डन म्याकमुलेनले ३१, क्रिस्टोफर म्याकब्राइड र कायल कोट्जरले २२–२२ रन जोडे ।

    नेपालका लागि प्रमुख बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ४५ रन दिएर महत्वपूर्ण ४ विकेट लिए ।

    सन्दीपले कायल कोट्जर (२२), जर्ज मुन्शे (६०), कप्तान रिची बेरिङ्टन (०) र टमस म्याकिन्टोस (१) को विकेट लिएका हुन् । झण्डै ६ महिनापछि मैदान फर्किएका उनले यो सिरिजमा ४ खेलमा १३ विकेट लिए ।

    नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । सन्दीपले यस शृख्लामा कूल १३ विकेट लिए ।

    उनले यसअघिका तीन खेमा ३-३ विकेट लिएका थिए । लिग टु मा सन्दीपले ५५ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् ।

    करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।

  • राष्ट्रपतिको होडमा माधव नेपालको इन्ट्री, रोचक बन्दै राजनीति

    राष्ट्रपतिको होडमा माधव नेपालको इन्ट्री, रोचक बन्दै राजनीति

    काठमाडौं । राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएको छ । तर, दलहरु अहिलेसम्म उम्मेदवार टुंगो लगाउने कुरामा चुकिरहेका छन् । यसै सन्दर्भमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम इन्ट्री भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटेरै उनलाई राष्ट्रपतिको प्रस्ताव गरेको बताइएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत राष्ट्रपतिमा नेता नेपालको नाम विकल्पको रूपमा चर्चा गर्दै आएका थिए ।

    पछिल्लो समय नेपाली कांग्रेसबाट रामचन्दै पौडेल र एमालेबाट माधव नेपालको नाम प्रस्ताव हुने सम्भावना बढेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका कांग्रेस नेतासँगको औपचारिक छलफलमा नेकपा एमालेबाट नेता नेपालको नाम प्रस्ताव हुनसक्ने सम्भावना औँल्याएको बताएका थिए । तर एमालेले कांग्रेस आफूसँग नयाँ समीकरण गर्न तयार नहुने र माओवादीले कुनै हालतमा राष्ट्रपति नदिए एमालेले कांग्रेस–माओवादी सम्भावित समीकरण रोक्न जुनसुकै विकल्पहरू अघि सार्न सक्ने अवस्था छ ।

  • बाइक राइडर र टयाक्सी ड्राइभरमा श्रम स्वीकृति नपाइने

    बाइक राइडर र टयाक्सी ड्राइभरमा श्रम स्वीकृति नपाइने

    काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति नदिने भएको छ । विभागले सोमबार सूचना सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म उक्त श्रम स्वीकृति नदिने जानकारी गराएको हो । विभागका अनुसार वैदेशिक रोजगारीका लागि यूएई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा गएका अधिकांश श्रमिक विभिन्न समस्यामा परेको गुुनासो आएकाले अर्को निर्णय नहुँदासम्म यी पदका लागि पूर्वस्वीकृति नदिने निर्णय गरेको छ ।

    विभागले सूचनामार्फत यूएई र कतारमा यी पदका लागि स्वीकृत भएका मागपत्रको न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन बस्नु परेको, धेरै पटक ट्राफिक कारबाहीमा परेर धेरै जरिवाना तिर्नुुपरेकोजस्ता थुुप्रै गुुनासो आएको जनाएको छ । सडक अनुशासनको ज्ञान र अनुभवको कमीले धेरै दुर्घटना हुने गरेको बताइएको छ ।

  • टर्की र सिरियाको सीमानामा पुनः ठूलो भूकम्प, क्षतिको विवरण आउँदै

    टर्की र सिरियाको सीमानामा पुनः ठूलो भूकम्प, क्षतिको विवरण आउँदै

    काठमाडौं । टर्की र सिरियाको सीमा क्षेत्रमा पुनः ठूलो भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार त्यहाँ ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको हो । टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार राती आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको ज्यान गएको पुष्टी भइसकेको छ । भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ । टर्की र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ ।

    नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्की र सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । टर्की सरकारले यो भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको बताएको केही समय बित्न नपाउँदै फेरि अर्को भूकम्प गएको हो ।

  • राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

    राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिने बताए।

    नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको र देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै तिनीहरूको रक्षा र प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारीसमेत रहेको उनले बताए।

    ‘ग्याल्बो ल्होसार नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष हो। ऐतिहासिक र प्रेरणादायी दिन हो। विभिन्न मिष्ठान्न भोजनका साथै शेर्पा समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिन्छ,’ सन्देशमा भनिएको छ।

    पर्वमा मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ। ‘ग्याल्बो ल्होसारको ऐतिहासिक दिनले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत गर्नेछ भन्ने विश्वासका साथ शेर्पा समुदायलगायत सम्पूर्ण जनसमुदायमा फेरि एकपटक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ।

  • ग्याल्बो ल्होछार आज, सार्वजनिक बिदा

    ग्याल्बो ल्होछार आज, सार्वजनिक बिदा

    काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।
    नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्बो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्बो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्बो ल्होछार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

    समय क्रममा ग्याल्बो ल्होसार नामकरण भएको अनुसन्धानदाता टीका शेर्पाको भनाइ छ । उनका अनुसार ल्होसारलाई कसैले ग्याल्बो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् । ग्याल्बो ल्होछारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

  • आईसीसी लिग २ : अन्तिम खेलमा स्कटल्याण्डसँग नेपालले फिल्डिङ गर्दै

    आईसीसी लिग २ : अन्तिम खेलमा स्कटल्याण्डसँग नेपालले फिल्डिङ गर्दै

    काठमाडौं । आईसीसी लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेल आज हुँदैछ । नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।नेपाली टिममा एक परिवर्तन गरिएको छ ।

    तेस्रो खेलमा खेलेका तीव्र गतिका बलर गुल्सन झालाई स्पिनर ललित राजवंशीले प्रतिस्थापन गरेका छन् । नेपालले जारी घरेलु मैदानमा भएको सिरिजको पहिलो खेलमा नामिबीयालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेट र तेस्रो खेलमा नामिबीयालाई ३ विकेटले पराजित गरेको थियो ।

  • राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार माओवादीले अध्यक्ष प्रचण्डलाई दियो

    राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार माओवादीले अध्यक्ष प्रचण्डलाई दियो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सोमबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिए ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै महराले यस्तो जानकारी गराए । उनका अनुसार आजको बैठकमा व्यक्तिमा छलफल भएन । बैठकमा पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय भएको उनले बताए ।

  • रासायनिक मल किन्न साढे ७ अर्बको स्रोत सुनिश्चित

    रासायनिक मल किन्न साढे ७ अर्बको स्रोत सुनिश्चित

    काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिद गर्न थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।

    स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

    रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको माग अनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो ।

    रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने सम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो साता कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए । सो अवसरमा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउँदै अबिलम्व आवश्यक प्रकृया सुरु गर्न आग्रह गरेका थिए ।

  • युक्रेनको राजधानी किएभमा पुगे अमेरिकी राष्ट्रपति बाइडन

    युक्रेनको राजधानी किएभमा पुगे अमेरिकी राष्ट्रपति बाइडन

    काठमाडौं\बीबीसी। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुगेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो टेलिग्राम खातामा बाइडनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका थिए। ‘जोसेफ बाइडन, (तपाईँलाई) कीएभमा स्वागत छ, तपाईँको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण सङ्केत हो’, उनले लेखेका छन्। पोलिश समकक्षी आन्जेइ दुदालाई भेट्न युक्रेनको छिमेकी राष्ट्र पोल्यान्ड पुगेका अमेरिकी राष्ट्रपति अकस्मात् किएभ पुगेका हुन्।

    अघोषित किएभ भ्रमण गरेका बाइडन हाल त्यहाँबाट फर्किसकेको बताइएको छ। युक्रेनको राजधानीमा महत्त्वपूर्ण व्यक्ति आउने सङ्केत त्यसअघि नै प्राप्त भइसकेको थियो। तर सुरक्षाका कारण बाइडनको भ्रमण गोप्य राखिएको थियो। उच्चस्तरीय भ्रमणको खबरका बीच किएभमा केही सडक खाली गराइएको थियो।

    युक्रेनमाथि रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेको एक दिनअघि बाइडन युक्रेन पुगेका हुन्। नौ वर्षअघि सरकारविरोधी प्रदर्शनका क्रममा मृत्यु भएका १०७ व्यक्तिको सम्झना गरिने दिन बाइडनले जेलेन्स्कीलाई भेट गरेका हुन्। किएभस्थित बीबीसी संवाददाता जेम्स वाटरहाउसले द्वन्द्वका बीच युक्रेनको केन्द्रमा अमेरिकी राष्ट्रपतिले युक्रेनी नेतृत्वसँग भेट गर्नु महत्त्वपूर्ण अनि साङ्केतिक रहेको जनाएका छन्। उनका अनुसार पूर्ण स्तरको आक्रमण सुरु भएको एक वर्ष पुग्न लागेको बेला यो भ्रमणले मस्कोलाई अमेरिका र पश्चिमा राष्ट्रहरू युक्रेनलाई सहयोग गर्नबाट पछि नहट्ने स्पष्ट सङ्केत दिएको छ।

    एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति बाइडनले आफ्नो किएभ भ्रमणले युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको हाम्रो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने बताएका छन्। ‘एक वर्षअघि रुसले आक्रमण सुरु गर्दा पुटिनले युक्रेन कमजोर रहेको र पश्चिमा राष्ट्रहरू विभाजित रहेको ठानेका थिए। उनले हामीलाई परास्त गर्न सकिने ठानेका थिए। तर उनी पूर्ण रूपमा गलत थिए,’’ बाइडनले भने। विज्ञप्तिमा रुसमाथि थप प्रतिबन्धहरू लगाइने समेत उल्लेख गरिएको छ। किएभमा जेलेन्स्की र बाइडन साथमा रहेका बेला हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेका थिए। त्यसअघि वाशिङ्टनले किएभलाई ५० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहयोग उपलब्ध गराउने बाइडनले घोषणा गरेका थिए।

    केही साताअघि जेलेन्स्की पनि अकस्मात् वाशिङ्टन पुगेका थिए। आफ्नो भ्रमणका बेला उनले रुससँग सङ्घर्ष गर्न युक्रेनलाई थप हातहतियार उपलब्ध गराउन अमेरिकाको कङ्ग्रेसलाई आग्रह गरेका थिए। अकस्मात् युक्रेन पुगेका अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तापछि जेलेन्स्कीले ‘‘लोकतान्त्रिक दुनियाँले’’ यो ‘’ऐतिहासिक युद्ध जित्नुपर्ने’’ बताएका छन्। ‘ुयो अमेरिका र युक्रेन सम्बन्धको इतिहासमै सबैभन्दा महत्त्वपूर्ण भ्रमण हो। यसले हामीले पहिले नै प्राप्त गरिसकेको नतिजाहरूलाई प्रस्ट पारेको छ,’’ जेलेन्स्कीले भने। आजको हाम्रो छलफल निकै फलदायी रह्यो।’’

    उनले यस भ्रमणको नतिजा युद्धभूमिमा देखिने समेत बताएका छन्। ज्यानुअरी महिनाको सुरुमा युक्रेनलाई एब्राम्स ट्याङ्कहरू दिने अमेरिकाको निर्णयले युक्रेनको प्रतिरक्षालाई सुदृढ पार्न योगदान गरेको जेलेन्स्कीले बताएका छन्। उनले आफ्ना समकक्षीसँगको वार्तामा लामो दूरी प्रहार गर्न सकिने हातहतियारहरूबारे पनि कुराकानी भएको बताए। न्यूयोर्क टाइम्सका अनुसार बाइडन पोल्यान्डसँगको सीमाबाट रेल चढेर युक्रेन पुगेका हुन्।

    व्यापक सुरक्षा चासोहरूलाई ध्यानमा राख्दै बाइडनको भ्रमण गोप्य राखिएको थियो। विरलै हुने घटनाक्रममा अमेरिकी राष्ट्रपति र उनकी श्रीमतीले शनिवार राति एउटा रेस्टुराँमा खाना खाएका थिए। त्यसपछि बिनासूचना उनी वाशिङ्टनबाट बाहिरिएका थिए। पूर्वनिर्धारित पूर्वी युरोप भ्रमणका क्रममा बाइडन युक्रेन पुग्ने कुरालाई अधिकारीहरूले अस्वीकार गर्दै आएका थिए।

    न्यूयोर्क टाइम्स लेखेको छ, ‘वास्तवमै ह्वाइट हाउसले आइतवार राति सार्वजनिक गरेको सोमवारको तालिकाका अनुसार राष्ट्रपति अझै वाशिङ्टनमै थिए र साँझ वार्सा प्रस्थान गर्दै थिए। तर वास्तवमा उनले आधा संसार पार गरिसकेका थिए।’ अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले राष्ट्रपति बाइडनको किएभ भ्रमणबारे रुसलाई पहिले नै जानकारी गराइएको पुष्टि गरेका छन्।

    उक्त भ्रमणको तयारी केही महिना अघिदेखि गरिएको भए तापनि शुक्रवार मात्रै ‘‘जाने’’ निर्णय गरिएको बताइएको छ। किएभस्थित बीबीसी संवाददाता समान्था ग्रयानभीलका अनुसार बाइडनले यात्रा सुरु गर्नुभन्दा केही घण्टा अघि आइतवार बिहान ह्वाइटहाउसले रुसलाई उक्त भ्रमणबारे जानकारी गराएको थियो।

  • कर्मचारीलाई तलब नखुवाएको भन्दै गुणको सम्पूर्ण उडानमा प्रतिबन्ध

    कर्मचारीलाई तलब नखुवाएको भन्दै गुणको सम्पूर्ण उडानमा प्रतिबन्ध

    काठमाडौं । कर्मचारीलाई तलब समेत खुवाउन नसकेपछि उडान सुरक्षासँग जोडेर नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको छ ।

    आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले ७ वटै विमानलाई सोमबारदेखि नै उडान भर्न नदिने निर्णय गरेको हो ।

    यद्यपि गत बुधबारदेखि नै गुणका उडान बन्द थिए । कम्पनीले सबै कर्मचारीको बक्यौता तलब भुक्तान गरेको र थप तलब सुविधा प्रदान गर्न समस्या नभएको पत्र पठाएपछि प्राधिकरणले अनुगमन गरेर प्रतिबन्ध हटाउने बताएको छ ।

  • त्रिदेशीय शृंखलामा नामिबिया जितविहीन

    त्रिदेशीय शृंखलामा नामिबिया जितविहीन

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय श्रृङ्खलाको पाँचौ खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको छ ।

    स्कटल्यान्ड दिएको २२२ रनको लक्ष्य पछ्याउने क्रममा नामिबिया ३८.४ ‌ओभरमा १७८ रनमा समेटियो। नामिबियाका लागि लो-हन्ड्रे लोरेन्सले ५२ र जेहार्ड इरसमसले ४३ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

    टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४८.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन बनाएको थियो। पहिलो खेलमा नेपाल, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नेपालसँग नै पराजित भएको नामिबिया यो शृंखलामा जितविहीन छ। नेपालसँग पराजित भएको स्कटल्यान्डले दोस्रो जित निकालेको छ।

    शृंखलाको अन्तिम खेलमा मंगलबार नेपाल र स्कटल्यान्ड भिड्ने छन्। जितसँगै स्कटल्यान्डले लिग २ मा ३४ खेलबाट ४८ अंक बनाएको छ। नामिबिया ३३ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानामा छ। नेपाल २७ खेलबाट २४ अंक जोडेर ३७ अंकसहित छैटौं स्थानमा छ।

  • विन्ध्यबासिनी म्युजिकका संचालक सुवास रेग्मी विमानस्थलबाट पक्राउ

    विन्ध्यबासिनी म्युजिकका संचालक सुवास रेग्मी विमानस्थलबाट पक्राउ

    काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मी पक्राउ परेका छन् ।

    प्रहरीको केन्द्रिय साइबर ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार आज बिहान पक्राउ गरेको हो । उनी आज थाइल्याण्डबाट नेपाल आइपुगेका हुन् ।

    रेग्मी विरुद्ध विद्युतीय स्वरुपमा चरित्र हत्याको आरोप छ । महेशचन्द्र आचार्यले आफ्नो चरित्र हत्या गरेको भन्दै रेग्मविरुद्ध ब्यूरोमा उजुरी दिएका थिए ।

  • रोकिएन् शेयर बजारको ओरालो यात्रा, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    रोकिएन् शेयर बजारको ओरालो यात्रा, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा एकसाता देखि लगातार दोहोरो अंकको घटेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लगानीकर्ताले शेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन र जोखिमभार घटाउन माग गरे पनि सुनुवाई नगरेपछि नेप्से लगातार घटेको हो ।

    साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २३.६०अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५८ कम्पनीको १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बढीको ६० लाख ९१ हजार ३५३ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तु्लनामा कारोबार रकम बढेको छ । विहीबार १ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

  • त्रिभुवन विमानस्थल अध्यागमनको सेवा अवरुद्ध, हवाई यात्रुहरु प्रभावित

    त्रिभुवन विमानस्थल अध्यागमनको सेवा अवरुद्ध, हवाई यात्रुहरु प्रभावित

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ ।

    कार्यालयको इण्टरनेट नचल्दा सेवा अवरुद्धका कारण नेपालबाट बाहिर जाने र आउने यात्रुहरु मर्कामा परेका छन् । अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ ।

    विमानस्थलमा नेपाल टेलिकमको इण्टरनेट जडान गरिएको छ ।

    यसअघि विमानस्थलमा सरकारी सर्भर डाउन हुँदा सेवा प्रभावित भएको थियो । सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ ।

  • पशुपतिमा आएका साधुसन्तको बिदाइ

    पशुपतिमा आएका साधुसन्तको बिदाइ

    काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले २०० देखि नौ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको छ ।

    सामान्य माग्दै हिँड्नेलाई २०० देखि नागाबाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको हो ।

    महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अरू मुलुकबाट पनि साधुसन्त आएका थिए ।

  • इजरायलले सिरियामा हान्यो क्षेप्यास्त्र, कम्तिमा १५ जना मारिए

    इजरायलले सिरियामा हान्यो क्षेप्यास्त्र, कम्तिमा १५ जना मारिए

    काठमाडौं । इजरायलले आइतबार बिहान सिरियामा गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ । एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

    सन् २०११ मा सिरियमा युद्ध सुरु भएदेखि इजरायलले सिरियामा हवाई हमला गर्दै आएको छ । उसले सिरियाली सेना, इरानी सेना र सिरियाली शासकका सहयोगी लेबनानको हिजबुल्लाह रहेका स्थानलाई लक्षित गरेर आक्रमण गर्दै आएको छ । यद्यपि राजधानीका आवासीय क्षेत्रमा हमला भएको थिएन ।

    इजरायलले कब्जा गरेको गोलान हाइट्सबाट दमास्कस र यसको आसपासका आवासीय क्षेत्रलाई ताकेर हवाई आक्रमण गरेको सिरियाको रक्षा मन्त्रालयले जनाएको छ । प्रारम्भिक विवरणअनुसार एक जना सिपाहीसहित पाँच जनाको मृत्यु भएको तथा १५ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । काफर सुसा त्यो क्षेत्र हो जहाँ सिरियाली उच्च अधिकारी, सुरक्षा तथा गुप्तचर निकायका मुख्य कार्यालय छन् ।

    इजरायली सेनाले सिरियामाथि हुने आक्रमणबारे कहिल्यै कुनै जानकारी दिँदैन । आफ्नो सीमा क्षेत्रमा इरानी प्रभाव बढ्न नदिन नियमितरूपमा उसले निगरानी तथा आवश्यकताअनुसार क्षेप्यास्त्र प्रहार गर्दै आएको छ । आजको आक्रमणलाई सुरक्षा अधिकारीहरूले भीषण भनेका छन् । रासस\एएफपी

  • नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं । नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुगेको छ ।
    संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूतरस्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि मलावी गणतन्त्रका राजदूत स्थायी प्रतिनिधि एग्नेस मेरी चिम्बीरी–मोलान्डेले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कमा गत बिहीबार सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

    हस्ताक्षरपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाका बारेमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा दुवै राजदूतले हस्ताक्षर गर्नुभएको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

    सो अवसरमा दुई राजदूतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विपक्षीय सहयोगलाई मजबुत बनाउन साझा हितका विभिन्न विषयमा विचारविमर्श गरेका थिए । उनीहरुले समूहको साझा हितको संरक्षण र प्रवर्द्धनका लागि संयुक्त राष्ट्र सङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा समूहका रूपमा अतिकम विकसित देशको भूमिकाबारे पनि छलफल गरेका छन् । नेपालले अर्को महिना मलावीबाट एलडिसीको ग्लोबल समन्वय ब्युरोको अध्यक्षको भूमिका सम्हाल्दैछ ।

    दक्षिणी अफ्रिकामा अवस्थित, मलावी पनि एक भूपरिवेष्टित देश हो भने मोजाम्बिक, जाम्बिया र ताञ्जानियासँग यसको सिमाना जोडिएको छ । करिब दुई करोड जनसङ्ख्या रहेको मलावीको कूल क्षेत्रफल एक लाख १८ हजार चार सय ८४ रहेको छ । नेपाल र मलावी दुवै असंलग्न आन्दोलन (एनएएम), ७७ को समूह, अतिकम विकसित देशहरू (एलडिसिज) र भूपरिवेष्टित विकासशील देशहरू (एलएलडिसिज) का सदस्य हुन् । रासस

  • उत्तर कोरियाले गर्यो अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण, के हो संकेत ?

    उत्तर कोरियाले गर्यो अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण, के हो संकेत ?

    काठमाडौं । उत्तर कोरियाले शनिवार अप्रत्याशित अभ्यासका रूपमा एक अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गर्दै उक्त हतियारको विश्वसनीयता पुष्टि गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।६७ मिनेटसम्म उडेपछि ९०० भन्दा धेरै किलोमिटर पर सी अफ जापानमा उक्त क्षेप्यास्त्रलाई खसालिएको थियो।

    प्योङ्याङले उक्त परीक्षणमार्फत त्यस क्षेप्यास्त्र अमेरिका र दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको देखाएको जनाएको छ। यो परीक्षण अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो। यो अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो। ती सैन्य अभ्यासहरू उत्तर कोरियाका बढ्दो परमाणु जोखिम सामना गर्ने गरी तय गरिएका छन्।

    प्योङ्याङका अधिकारीकाहरूले त्यस्ता कुनै अभ्यासहरूविरूद्ध अभूतपूर्व रूपमा कडा प्रतिरोध गर्ने धम्की दिएका छन् जसलाई उनीहरूले उत्तर कोरियामा अतिक्रमण गर्ने तयारीका रूपमा बुझेको बताएका छन्।शनिवार सबेरै उत्तर कोरियाली नेता किम जङ(अनकी बहिनी किम यो(जङले पुनः यसलाई दोहोर्‍याएकी थिइन्। उनले जुन कुनै शत्रुतापूर्ण कार्यहरूको कडा र भयानक जवाफहरू हुने बताइन्।

    उनले अमेरिकालाई उत्तर कोरियाली शासनलाई खतरामा पार्ने खालका गतिविधिहरू बन्द गर्न आह्वान गरिन्। किम यो जङले दक्षिण कोरियाली राजधानी सोल भने उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा नपारिने बताइन्। शुक्रवार उत्तर कोरियाले उसको विशाल सैन्य क्षमता एउटा परेडमार्फत देखाएको थियो जसमा एक दर्जनभन्दा बढी सङ्ख्यामा आईसीबीएमहरू थिए।

    नयाँ वर्षको दिनपछि शनिवार पहिलोपटक क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो जुन होकाइदोको पश्चिमपट्टि जापानको विशेष आर्थिक क्षेत्रमा साँझको ६ बजेर २७ मिनेटमा खसेको जापानी प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन्। त्यो जापानको तटभन्दा २०० नटिकल माइल पर हो।

    जापान सरकारका प्रवक्ताले टोक्योमा बताए अनुसार उक्त क्षेप्यास्त्र ५,७०० किलोमिटरको उचाइमा पुगेको थियो। अन्तरिक्षको छेउ झण्डै १०० किलोमिटर हुनेमा यो निकै नै माथि हो। तर उत्तर कोरियाली क्षेप्यास्त्र उडेको अहिलेसम्मकै सर्वाधिक उचाइ भने होइन। नोभेम्बरमा एउटा आइसीबीएम ६,१०० किलोमिटरको उचाइमा पुगेको थियो।

    यसअघि सन् २०२२ को ज्यानुअरीमा उत्तर कोरियाले पृथ्वीका अभूतपूर्व तस्बिरहरू सार्वजनिक गर्दै ती २,००० किलोमिटर माथि पुगेको क्षेप्यास्त्र प्रहारका क्रममा खिचिएको जनाएको थियो।
    बीबीसी

  • प्रधानमन्त्री समक्ष कांग्रेस नेताले भने : राष्ट्रपतिमा सहयोग गर्नुहोस

    प्रधानमन्त्री समक्ष कांग्रेस नेताले भने : राष्ट्रपतिमा सहयोग गर्नुहोस

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष नेपाली कांग्रेसका शीर्ष नेताले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा आइतबार साँझ बालुवाटार पुगेका थिए ।

    भेटमा कांग्रेस नेताहरुले औपचारिक रुपमा राष्ट्रपतिमा आफ्नो दललाई सहयोग गर्न आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गर्ने आश्वासन दिएका छन् । माओवादीको पदाधिकारी बैठक आज बस्दैछ ।

  • माओवादी पदाधिकारी बैठक आज

    माओवादी पदाधिकारी बैठक आज

    काठमाडौं । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले राष्ट्रपतिमा आफ्नो पार्टीले अघि सार्ने उम्मेदवारलाई समर्थन गर्न प्रधानमन्त्री प्रचण्डसमक्ष औपचारिक आग्रह गरेका थिए ।

    जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गर्ने बताएका थिए । सोही अनुसार आज पदाधिकारी बैठक बस्न लागेको नेताहरुले बताएका छन् । राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुनेछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत हुन सकेको छैन ।