Category: फिचर

  • आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो । ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका थिए भने करण केसीले ५ विकेट लिएका थिए ।
    त्यसपछि स्कटल्याण्डले पनि नामिबियालाई सहजै हराएर तीन खेल अगावै लिग २ मा शीर्ष स्थान पक्का गरिसकेको छ ।

    जर्ज मुन्सीको शानदार शतकमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो । शीर्ष पाँच स्थानमा रहँदै ओडिआई मान्यतालाई जोगाउने अभियानमा रहेको नेपालले घरेलु मैदानमा भइरहेको श्रृंखलामा सकेसम्म धेरै खेल जित्ने लक्ष्य बनाएको छ ।
    पछिल्ला दुई श्रृंखलामा ८ खेल खेल्दा नेपालले जम्मा १ खेल जितेको थियो । त्यो जित स्कटल्याण्ड विरुद्ध नै गत जुलाईमा थियो । त्यसपछि नामिबियामा गत डिसेम्बरमा खेलेको श्रृंखलामा नेपालले कुनै खेल जित्न सकेन । यस पटक घरेलु मैदान र दर्शकको साथ पाएको नेपालले श्रृंखलाको पहिलो खेलमै नामिबियालाई हरायो । ओडिआई मान्यता पाएपछि नेपालले नामिबियालाई हराएको पनि यो पटक हो ।

    अब स्कटल्याण्ड विरुद्ध नेपालको असली परिक्षा हुनेछ । लिग–२ को अन्तिम श्रृंखला खेलिरहेको स्कटल्याण्डको ३३ खेलबाट ४८ अंक छ । २५ खेलबाट २० अंक जोडेको नेपाल छैटौं स्थानमा छ । लिग–२ को शीर्ष स्थानमा रहेर आगामी जुन–जुलाईमा जिम्बावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान पक्का गरिसकेको स्कटल्याण्डका लागि अबका खेलमा कुनै दबाब हुने छैन ।

    नेपालले यसअघि स्कटल्याण्ड विरुद्ध खेलेको पहिलो ओडिआई खेल नै जितेको थियो । तर त्यसपछिका लगातार तीन खेलमा नेपाल पराजित भएको छ । समग्रमा स्कटल्याण्ड विरुद्ध नेपालले चार ओडिआई खेल्दा एक खेल मात्र जितेको छ भने तीन खेलमा स्कटल्याण्ड विजयी भएको छ । गत जुलाईमा लिग टु अन्तर्गत स्कटल्याण्डमै भएको श्रृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

    त्यही श्रृंखलाको अर्को खेलमा नेपाल स्कटल्याण्डसँग सहजै ८ विकेटले पराजित भयो । डिसेम्बरमा नामिबियामा भएको लिग–२ श्रृंखलाको पहिलो खेलमा नेपालले टक्कर दिएपनि स्कटल्याण्डसँग ३ विकेटले पराजित हुँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । जारी श्रृंखलामा नेपाल र स्कटल्याण्डबीचकै दोस्रो खेल शनिबार हुनेछ ।

  • नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु

    नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । नुवाकोटमा बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो।


    दुर्घटनापछि बसका चालक फरार भएका छन्। मृतक २ पुरूषको पहिचान खुलेको छैन। बसमा सवार २० जना घाइते छन्। उनीहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ। बस सडकबाट २० फिट तल खसेको छ। प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ।

  • शिवपुरीको धाप ड्याम उद्घाटन, शिवरात्रीका दिन बागमतीमा पानी बगाइने

    शिवपुरीको धाप ड्याम उद्घाटन, शिवरात्रीका दिन बागमतीमा पानी बगाइने

    काठमाडौं । बागमतीको मुहानक्षेत्र धापम बनेको जलाशयको बिहीबार उद्घाटन गरिएको छ । सुन्दरीजलबाट १८ किलोमिटर टाढा रहेको धाप ड्यामको उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरे । गोकर्णेश्वर नगरपालिका वडा नं १ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट शिवरात्रीको अवसरमा बागमती नदीको बहाव बढाउने बागमती एकीकृत सभ्यता विकास समितिले जनाएको छ ।

    धाप ड्याममा आयोजित समारोहमा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले ड्यामको निर्माण बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको उल्लेख गरे । धाप ड्याम जस्तै अर्को नागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन पनि दिए । जलाधारको विकास, जलाशयको निर्माण र यस्ता संरचनाहरु पर्यटकीय दृष्टिले समेत आकर्षणको केन्द्र बन्ने, वन्यजन्तुको संरक्षण हुने, पर्यावरण जोगाउन योगदान पुग्ने लिङ्देनले उल्लेख गरे ।

    शहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिए । परामर्शदाता र निर्माण पक्षको आपसी समन्वय नहुँदा नेपालमा सञ्चालित आयोजना निर्धारित समयमा बन्न नसकेको र लागत बढ्ने गरेको हुँदा निर्माण प्रक्रियामा रहेका आयोजनाले ध्यान पुर्‍याउन निर्देशन दिए ।

  • भन्सार अधिकृत विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

    भन्सार अधिकृत विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा भेटिएको अन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०४३ साउन १ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०७८ असार ३० गतेसम्म ३ केसीको वैध आम्दानी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ २२ पैसा हुनेमा उनको खर्च ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ ७३ पैसा भेटिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    पदमा बहाल रहँदा अमिल्दो र अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकाले उनले भ्रष्टाचार गरेको देखिएको अख्तियारको दावी छ । केसीले आफ्नो आम्दानीबाट घर जग्गा किन्नुका साथै आफ्नो र पत्नी सुशीला पण्डितको नाममा बैंकमा राखेको अख्तियारले बताएको छ ।अख्तियारले केसीको स्रोत नखुलेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

  • कसरी थाहा पाउने म्याद गुज्रिएको ग्यास सिलिन्डर

    कसरी थाहा पाउने म्याद गुज्रिएको ग्यास सिलिन्डर

    काठमाडौं । खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन। सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् ।

    त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् ।सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् ।

    त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् । जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २०, लगायतका अंक लेखिएका हुन्छन् ।

    अंकले वर्षलाई बुझाउँछ । ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३/३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् ।

    ए, वी, सी र डि लेखिएको हुन्छ जसअनुसार ए ले शुरुको वर्षको पहिलो ३ महिना भन्ने बुझनुपर्छ । त्यसैगरी बी ले अप्रिल, मे र जून महिनालाई संकेत गर्दछ । त्यस्तै सि ले त्यसपछिको ३ महिना र डी ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई बुझाउछ ।

    त्यसैगरी सिलिण्डरको घाटीमा लेखिएको १८,१९,२०,२१,२२,२३ र २४ जस्ता अंकले त्यस बर्षसम्म ग्याँसको मिति रहने स्पष्ट रुपले चिन्न सकिन्छ ।

    यदि सिलिन्डरमा ए.२६ लेखिएको छ भने त्यो सन् २०२६ मार्चसम्म प्रयोग गर्न मिल्छ भन्ने बुझ्नुपर्छ। त्यस्तै, सी.३० लेखिएको छ भने त्यो सिलिन्डर सन् २०३० सेप्टेम्बरसम्म प्रयोग गर्न लायक हुन्छ।

    यस्तै एक्सपायर्ड डेट बाँकी रहेपनि सिलिन्डरका कुनैपनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्छ ।

  • कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो

    कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो

    काठमाडौं । ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रस नेता डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

    नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लगिएको हो ।

    नेता भण्डारीसँग क्रिटिकल कियर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थिसिया क्रिटिकल कियर डा बृहस्पति, डा. रोशन शर्मा, पारामेडिसियन दिनेश राई, सागर महर्जन र राज तामाङसहितको टोली पनि मुम्बई गएको छ।

    सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी आमासँगै घाइते भएका थिए। विस्फोटमा परी गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको उपचारका क्रममा किर्तिपुर अस्पतालमा निधन भएको छ।

  • ल्होत्से मल घटनामा छानबिन गर्न डीआईजी नेतृत्वको समिति गठन

    ल्होत्से मल घटनामा छानबिन गर्न डीआईजी नेतृत्वको समिति गठन

    काठमाडौं । सोमबार यातायात व्यवसायीले गोंगबुमा गरेको आन्दोलनका क्रममा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्न समिति गठन भएको छ ।प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक ९डीएसपी० खुमलाल भुसाल सदस्य छन् ।

  • ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएकी कांग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन

    ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएकी कांग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन

    काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

    उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हिजो राति ग्यास सिलिन्डर लिक भएर चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। घाइते भएका सांसद भण्डारी र उनकी आमालाई बानेश्वरस्थित सिभिल हस्पिटल हुँदै कीर्तिपुर अस्पताल लगिएको थियो।

    कीर्तिपुर अस्पतालले सांसद भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ। उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।

  • सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सबाट मुम्बई लगिने

    सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सबाट मुम्बई लगिने

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ । स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

  • सांसद भण्डारीको नेपालमा उपचार असम्भव, सिघ्र विदेश लैजान सिफारिस

    सांसद भण्डारीको नेपालमा उपचार असम्भव, सिघ्र विदेश लैजान सिफारिस

    काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमाको अवस्था गम्भीर बनेको छ। कीर्तिपुर अस्पतालले उनीहरुको उपचार नेपालमा सम्भव नहुने भन्दै सिघ्र देशबाहिर लैजान समेत सिफारिस गरेको छ । सांसद भण्डारीका २५ देखि ३० प्रतिशत शरीरको भाग जलेको छ ।

    उनको फोक्सोमा समेत असर परेको अस्पतालले जनाएको छ । गतराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका हुन् । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा उपचार जारी छ ।

  • महाशिवरात्रीमा मूख्य पाहुना बन्दै शङ्कराचार्य

    महाशिवरात्रीमा मूख्य पाहुना बन्दै शङ्कराचार्य

    काठमाडौं । महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी बिहीबार काठमाडौँ आउने भएका छन् । तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोलीसहित उनी काठमाडौँ आउन लागेको बताइएको छ । यस वर्षको महाशिवरात्रि शनिबार हो ।

    पशुपति क्षेत्र विकास कोषले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले महाशिवरात्रिको अघिल्लो दिनदेखि शिवरात्रिको भोलिपल्टसम्म पशुपतिमा शङ्कराचार्य पूजन महोत्सव कार्यक्रममा सहभागी हुन शङ्कराचार्य बिहीबार पशुपतिनाथ आइपुग्ने जानकारी दिए । कोषका अनुसार हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शङ्कराचार्यमध्ये उनी सबैभन्दा वरिष्ठ व्याख्याता हुन् । उनी आठौँ शताब्दीबाट सुरु भएको मानिने जगतगुरु शङ्कराचार्यका १४५औँ उत्तराधिकारी रहेको कोषले जनाएको छ ।

    शङ्कराचार्यले पहिलो दिन आशीर्वचन दिने कार्यक्रम रहेको छ । पशुपति परिसरमा महाशिवरात्रिका अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम आयोजना हुन लागेको हो । शङ्कराचार्यका लागि नेपाल–भारत मैत्री पशुपति धर्मशालाको अति विशिष्ट कक्षमा बस्ने बन्दोबस्त मिलाइएको कोषले जनाएको छ ।

  • लघुवित्तका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

    लघुवित्तका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । परिस्थितिजन्य कारणले ऋण तिर्न नसकेका ऋणीलाई संस्थाको ग्राहक संरक्षण कोषको रकमबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लघुवित्त वित्तीय संस्थालाई निर्देशन दिएका छन् । लघुवित्त क्षेत्रको अवस्थाबारे बुधबार नेपाल राष्ट्र बैंक, लघुवित्त बैंकर्स संघ र अर्थ मन्त्रालयबीच भएको छलफलपछि अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन । बैठकमा अर्थमन्त्री पौडेलले त्यस्ता ऋणीको विवरण एक महिनाभित्र तयार पारी व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

    अब वार्षिक १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क नलिन पनि लघुवित्तहरूले सहमति जनाएका छन् । अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ग्राहकले एउटा लघुवित्त संस्थाभन्दा धेरैबाट कर्जा लिन नपाउने व्यवस्था गर्ने सम्बन्धमा पनि त्रिपक्षीय सहमति भएको उल्लेख छ ।


    लघुवित्त वित्तीय संस्थाको सबैभन्दा ठूलो समस्या भनेकै बहुबैंकिङ (एउटै व्यक्तिले एकभन्दा बढी संस्थाबाट ऋण लिने) हो । क्षमता मूल्यांकन नगरी एउटै व्यक्तिलाई धेरै संस्थाले ऋण प्रवाह गर्दा ऋणी ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् । छलफलमा अर्थमन्त्री पौडेलले बहुबैंकिङको समस्या समाधान गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको स्रोतले बताएको छ । अर्थमन्त्रीको निर्देशनपछि राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले हालका लागि एक व्यक्तिले एउटा संस्थाबाट मात्र ऋण लिन पाउने व्यवस्था गरिने आश्वासन दिएका थिए ।

    छलफलमा लघुवित्त वित्तीय संस्थाले नियमविपरीत लिएको सेवा शुल्कबापतको करिब १ अर्ब ६० करोड रुपैयाँ एक साताभित्र फिर्ता गर्ने सहमति जनाएका छन् । यो ती संस्थाहरूले राष्ट्र बैंकको निर्देशनविपरीत बढी सेवाशुल्कमार्फत ग्राहकबाट असुली गरेको रकम हो । गत आर्थिक वर्षको वार्षिक साधारणसभाका लागि अनुमति दिँदा गत पुसअघि नै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई नियमविपरीत सेवाशुल्कमार्फत असुली रकम फिर्ता गर्ने प्रतिबद्धता गराएको छ । सोही रकम एक साताभित्र फिर्ता गर्न अर्थमन्त्री पौडेलले निर्देशन दिएका हुन् ।

    वित्तीय संस्थाले अर्थतन्त्र, रोजगारी, कर, वित्तीय साक्षरता र सामाजिक क्षेत्रमा गरेको योगदान तथा यस क्षेत्रमा देखापरेका समस्या समाधानबारे अध्ययन गरेर प्रतिवेदन पेस गर्न पनि अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । छलफलमा अर्थ मन्त्रालयका सचिव तोयम राया, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ, अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लघु वित्त संघ नेपालका अध्यक्ष जगत पोखरेललगायत सहभागी थिए ।

  • मास्टर सेफ साहले अष्ट्रेलियामा रैथाने खानाको प्रवर्धन गर्ने

    मास्टर सेफ साहले अष्ट्रेलियामा रैथाने खानाको प्रवर्धन गर्ने

    काठमाडौं । मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाको नमस्ते रेस्टुरेन्टमा नेपाली खानाको प्रवर्धन कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली खाना प्रवर्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा खाना प्रवर्धन कार्यक्रम हुने भएको हो । नेपाली खानालाई विश्वभर प्रचारप्रसार गर्दै आएका मास्टर सेफ सन्तोष साहको आफ्नै मेनुमा अस्ट्रेलियनलाई नेपाली खानाको स्वाद र परिकारहरू पस्किने कार्यक्रम रहेको छ ।

    नेपाली मेनुमा २० प्रकारका खानाको परिकार र नेपाली एला पनि समावेश हुनेछ । खाना प्रवर्धन कार्यक्रममा टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २०० अस्ट्रेलियन डलर तोकिएको छ । सेफ साहले नेपाली खानाको प्रवर्धनका लागि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँले नेपाली खानाले पनि विश्वमा न्याय पाउनुपर्छ र पुस्तकमा मात्रै भनेर र सुनेर होइन नेपाली खानाको स्वाद विदेशीले चाख्नै पाउनुपर्छ भनेर नै आफूले अस्ट्रेलियामा नेपाली खानाको प्रवर्धन गर्न लागेको बताए ।

  • शिवरात्रीमा ३० लाख भक्तजनले अवलोकन गर्ने कोषको अनुमान

    शिवरात्रीमा ३० लाख भक्तजनले अवलोकन गर्ने कोषको अनुमान

    काठमाडौं । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ।
    यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र डेंगीको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो।

    महाशिवरात्रि पर्वका अवसरमा जानकारी दिन आज पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचारप्रसार तथा स्वयंसेवा परिचालन व्यवस्था उपसमितिका संयोजकसमेत रहेका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा भक्तजनको भीड हुने भएकाले ५० भन्दा बढी विशेष पूजाको कार्यक्रम नराखिने पनि उनले बताए। कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

    महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार काठमाडौं आउने छन्। फागुन ५, ६ र ७ गते तीन दिन उनले पशुपति क्षेत्रमा विशेष प्रवचन गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।
    महाशिवरात्रिमा कम्तीमा पाँच हजार साधुसन्त भारतलगायत विभिन्न देशबाट आउने अनुमान गरिएको छ।

    साधुसन्तलाई महाशिवरात्रिको पर्वको रौनकका रूपमा हेरिन्छ। पर्वका अवसरमा कोषले पशुपति क्षेत्रलाई रङरोगन गरिरहेको छ। फूल र बत्तीले पशुपति क्षेत्रलाई बिहीबारदेखि सजाउने तयारी भएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए। महाशिवरात्रि पर्वको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। मूल समारोह समितिअन्तर्गत आठ वटा उपसमिति पनि बनाइएको छ। मूल समारोह समिति र यसअन्तर्गत गठन भएका उपसमितिले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुर्‍याएका हुन्।

    फागुन ६ गते परेको महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई लाममा व्यवस्थापन गराउनका लागि चार हजार स्वयंसेवक खटाइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। पर्वका दिन पशुपतिनाथ मन्दिरअघि संस्कृति महाशाखा रहेको भवनको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिएको छ।

  • हज यात्रामा जानेका लागि निवेदन खुला

    हज यात्रामा जानेका लागि निवेदन खुला

    काठमाडौं । सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला भएको छ । नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ । यसपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १२०० कोटा तोकेको छ । सोही अनुसार प्रक्रिया पुर्‍याएर निवेदन दिएका १२०० जनाले हज यात्रा गर्न पाउनेछन् ।

    हज यात्राका लागि पहिलो किस्तावापतको दुई लाख २५ हजार रुपैयाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ । निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको छायाप्रति, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको फोटोकपी पेस गर्नुपर्नेछ ।

  • ग्याँस सिलिण्डर विष्फोटमा परी सांसद चन्द्र भण्डारी र आमा गम्भीर घाइते

    ग्याँस सिलिण्डर विष्फोटमा परी सांसद चन्द्र भण्डारी र आमा गम्भीर घाइते

    काठमाडौं । ग्याँस सिलिण्डर विस्फोटमा परी नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गत राति ग्याँस सिलिण्डर विस्फोट भएको छ । राति खाना खाएर सुतिसकेको अवस्थामा सिलिण्डर विस्फोट भएको हो ।

    उनीहरुको कीर्तिपुरस्थित अस्पतालमा उपचार जारी छ । चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर पुगेको छ ।

  • गोंगबुमा प्रहरीको भ्यान तोडफोड गर्ने ६ जना पक्राउ

    गोंगबुमा प्रहरीको भ्यान तोडफोड गर्ने ६ जना पक्राउ

    काठमाडौं । सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। साथै, सो घटनामा संलग्न रहेको आशंकामा अन्य ९–१० जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको छ ।


    गोंगबुमा सोमबार भएको घटनामा प्रहरीको दुईवटा गाडी पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै दुईवटा मोबाइल पसलबाट करोडौंको सामान लुटपाटसमेत भएको थियो । सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग सर्वत्र उठेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले समेत प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सुरक्षा निकायका प्रमुखलाई बोलाएर कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।

    उक्त घटनालाई नियन्त्रणमा लिन बालाजु प्रहरी वृत्तले समयमै यथोचित कदम नचालेको भन्दै त्यहाँका डीएसपी रविन विष्टलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिएको थियो ।

  • वाणिज्य विभागबाट तीन जना विचौलिया पक्राउ

    वाणिज्य विभागबाट तीन जना विचौलिया पक्राउ

    काठमाडौं । वाणिज्‍य विभाग बबरमहलबाट ३ जना विचौलिया पक्राउ परेका छन् । काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी दुःख दिएको आरोपमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

    पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका ५ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ९ बस्‍ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप नगरपालिका -९ घर भई हाल सूर्यविनायक नगरपालिका(२ बस्‍ने ३४ वर्षीय राज लामा र उदयपुरको ताप्ली गाउँपालिका ५ घर भई मध्‍यपुर ठिमी बस्‍ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।

    पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसर टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले बताए ।

  • पोखरा जहाज दुर्घटना: रनवे १२ बाट अवतरण गर्न रोक

    पोखरा जहाज दुर्घटना: रनवे १२ बाट अवतरण गर्न रोक

    काठमाडौं । जहाज दुर्घटना जाँच आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग १२ बाट जहाज अवतरणमा रोक लगाएको छ । आयोगले सरकारलाई यस्तो सिफारिस गरेको हो । पोखरामा १ माघमा दुर्घटनामा परेको यती एयरको जहाजमा दुर्घटना यसै दिशामा भएको थियो । दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै आयोगले रनवे १२ मा अवतरणको अनुमति दिनु अगाडी पर्याप्त अध्ययन गर्न समेत भनेको छ ।

    उता, दुर्घटनाको अन्तिम केही सेकेण्डमा जहाजमा पाइलटको कमाण्ड समेत परिवर्तन भएको पाइएको छ । दुर्घटना जाँच आयोगका अनुसार दुर्घटनाको १४ सेकेण्ड अघिमात्र पाइलट अञ्जु खतिवडाबाट कमाण्ड प्रशिक्षक पाइलट कमल केसीले लिएका थिए । जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्ड अगाडि को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रतिवेदनमा देखिएको छ ।

    त्यसबेला जहाजमा खतरा जनाउने संकेत देखिइसकेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उल्लेख गरेको छ । अवतरणका दौरान गराउने क्रममा पाइलट सिटमा बसेकी अञ्जुले को–पाइलटको सिटमा बसेका प्रशिक्षक पाइलट केसीसँग निरन्तर सुझाव मागेको समेत पाइएको छ । उनले जहाजलाई निरन्तर देब्रे मोड्ने कि नमोड्ने भनेर सोधेकी थिइन् ।

    जसमा केसीले मोड्न अनुमति दिएका थिए । खतिवडाले जहाज अझै तल लैजाने वा नलैजाने भनी सोध्दा त्यसो नगरी इन्जिनको पावर बढाउन भनेका थिए । तर, इन्जिनमा पावर नआएको पत्तो पाएसँगै अन्तिम क्षणमा उनले जहाजको कमाण्ड प्रशिक्षक पाइलट केसीको हातमा सुम्पिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनाका बेला जहाज धावनमार्गको बेस लेगमा थियो । अर्थात जहाज मोड्नुपर्ने अवस्थामा थियो ।

    त्यसबेला जहाजका दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको छ । यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज सेती खोँचमा झरेको थियो । यो अवस्था आउनुमा इन्जिनकै खराबी थियो, मानवीय कमजोरी भयो वा अवतरण गर्ने मार्गमै केही समस्या थियो भन्नेबारे भने विस्तृत प्रतिवेदनले मात्र देखाउने भएको छ । दुर्घटना जाँच आयोगले अबको अनुसन्धान यी तीन विषयमा केन्द्रित हुने बताएको छ ।

  • ‘स्पट फिक्सिङ’ आरोपमा १० जनालाई कारबाहीको सिफारिस

    ‘स्पट फिक्सिङ’ आरोपमा १० जनालाई कारबाहीको सिफारिस

    काठमाडौं । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिपोर्टमा १० जनालाई कारबाहीको सिफारिस गर्दै सरकारी कार्यालयलाई बुझाएको हो ।

    प्रहरीले सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया, नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई प्रतिवादी बनाएको छ।

    प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्, बाँकीलाई पक्राउ वा मुद्धा चलाउन सिआइबीले सरकार वकिलको कार्यालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनु पर्ने माग राखिएको छ । नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो ।

  • रवि लामिछानेविरुद्ध राहदानी कसुरमा फेरि जाहेरी लिनु नपर्ने

    रवि लामिछानेविरुद्ध राहदानी कसुरमा फेरि जाहेरी लिनु नपर्ने

    काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निष्कर्ष निकालेको छ । पहिले नै लामिछानेविरुद्ध राहदानी कसुरमा छानबिन भइरहेकाले पुनः जाहेरी लिनु नपर्ने निर्णय गरेको हो ।

    सर्वोच्चमा सांसद पदसम्बन्धी रिटमा सुनुवाइ हुँदा नै पौडेलले गृह मन्त्रालयमा लामिछानेविरुद्ध राहदानीसम्बन्धी विषयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अहिले प्रहरीले छानबिन गरिरहेको छ ।

    लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

    तर प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि उनले प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए ।

  • संसद अवरोध गर्ने नागरिक उन्मुक्तिको चेतावनी

    संसद अवरोध गर्ने नागरिक उन्मुक्तिको चेतावनी

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा संलग्नको अभियोगमा जेलमा रहेका आफ्नो पार्टीका नेताहरूलाई रिहाइ नगरिए संसद् अवरोध गर्ने चेतावनी दिएको छ ।

    सांसद गंगाराम चौधरीले प्रतिनिधिसभाको बुधबारको बैठकमा लाल आयोगको प्रतिवेदन र निर्दोष राजबन्दीको रिहाइको माग गर्दै संसद अवरोध गर्ने चेतावनी दिएका हुन् ।

    ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न सक्दैन । सदनमा पनि आन्दोलन सुरु भयो । नभए सडक पनि ठप्प हुनेछ’ चौधरीले भने । ‘कानुन एउटाले पालना गर्नुपर्ने र अर्कोले लत्याउने हुँदैन । राज्यले झुटा मुद्दा लगाएर थारुहरूलाई थुन्न पाइँदैन ।

    अब हामी चुप लागेर बस्नेवाला छैनौं । या त राज्यले हाम्रा मान्छेलाई तुरुन्त छोड्नुपर्‍यो होइन भने टीकापुर घटनाका दोषी देखाइदिने तागत हामीसँग पनि छ ।’

  • स्कटल्यान्डले नामिबियालाई १० विकेटले हरायो, मुन्सेको शतक

    स्कटल्यान्डले नामिबियालाई १० विकेटले हरायो, मुन्सेको शतक

    काठमाडौं । नेपालमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । खेलमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले शतक बनाए ।

    मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासहित १०३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मुन्सेको यो पहिलो शतक हो । नामिबियालाई सस्तैमा समेट्न स्कटल्यान्डका माइकल लियस्कले चार विकेट लिए ।

    ८.२ ओभर बलिङ गरेका लियस्कले एक मेडनसहित २४ रन मात्र खर्चिए । सफ्यान सरिफ र मार्क वाटले समान तीन विकेट लिए । केल कोट्जरले ४६ रन बनाए ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३९ ओभर २ बलमा १ सय ५३ रनमा अलआउट भयो । नामिबियाका लोह्यान्ड्रे लरेन्सले ५४ र बेर्नाड स्कोल्टेजले ३० रन बनाए । स्कटल्यान्डका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए ।

  • भारतीय मुलकी हेली अमेरिकी राष्ट्रपतिको दौडमा होमिँदै

    भारतीय मुलकी हेली अमेरिकी राष्ट्रपतिको दौडमा होमिँदै

    काठमाडौं । रिपब्लिकन पार्टीकी साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेकी छिन् । सोही पार्टीका तर्फबाट करिब तीन महिना अघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवार हुने औपचारिक घोषणा गरेका थिए । मंगलबार आयोजित कार्यक्रममा ५१ वर्षीया हेलीले वाशिंटन बारम्वार अनुत्तीर्ण भइरहेको बताइन् ।

    नयाँ पुस्ताको नेतृत्व लिने समय आएको भन्दै उनले आर्थिक उत्तरदायित्वको पुन खोजी, सीमाको सुरक्षा, देशलाई गर्विलो र सबल बनाउने कुरामा आफ्नो प्राथमिकता हुने उनले बताइन् । हेलीको खास नाम निम्रता निक्की रान्धवा हेली हो । हेली भारतीय सिख सम्प्रदायका अजित सिंह रान्धवा र राजकौर रान्धवाकी पुत्री हुन् । उनको जन्म साउथ क्यारोलिनमा भएको हो र उनले २४ वर्षको उमेरमा माइकल हेलीसँग विवाह गरेकी हुन् ।

    हेलीले साउथ क्यारोलिनाको क्लिम्सन कलेजबाट स्नातकोत्तर गरेकी छिन् । सन् २००४ देखि राजनीतिमा पाइला टेक्नुभएकी हेलीले सन् २०१७ मा संयुक्त राष्ट्र संघको राजदूत पद सम्हालेकी छिन् । सन् २०१० मा गभर्नर निर्वाचित हुँदा उनले अमेरिकाको इतिहासमा नै सबैभन्दा कम उमेरकी गभर्नर बनेकी थिइन् । नागरिक अधिकारका लागि संघर्षरत हेलीसँग विभिन्न वाणिज्य संघहरुमा रहेर काम गरेको लामो अनुभव छ ।

  • लागूऔषधको अन्तर्राष्ट्रिय गिरोह नेपालमा पक्राउ

    लागूऔषधको अन्तर्राष्ट्रिय गिरोह नेपालमा पक्राउ

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ४ थाई, २ भारतीय र ७ नेपालीलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर उनीहरुविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।


    ब्युरोले काठमाडौं महानगरपालिका–२१ दलाछी टोलबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन २० हजार ३ सय एम्पुल, नाइट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट र नगद ४ लाख ५ हजार रुपैयाँसहित सोलुखुम्बु माप्यदुधकोसी गाउँपालिका–४ ठेगाना भएका ३५ वर्षीय लाक्पा शेर्पालाई माघ २४ मा पक्राउ गरेको थियो । शेर्पा २०७० असार ७ मा हातहतियार मुद्दामा ३ वर्ष कैद भुक्तान गरी छुटेको पाइएको ब्युरो प्रमुख एसएसपी विकासराज खनालले बताए ।

    शेर्पामाथि अनुसन्धान गर्ने क्रममा लागूऔषध कारोबारमा संलग्न भारत बिहारको मधुवनीका ३८ वर्षीय फैज अहमदलाई काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट माघ २५ मा, धनुषा औरही गाउँपालिका–३ कपटोलका २९ वर्षीय रिहासद भन्ने अयान रेजा तथा औरही गाउँपालिका–३ कपटोलका ४५ वर्षीय जाकिर नदाफलाई माघ २६ मा पक्राउ गरेको हो ।

    काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ का २४ वर्षीय दीपक तामाङलाई काठमाडौं महानगर–१६ बालाजुबाट नगद ६ हजार रुपैयाँसहित माघ २७, नुवाकोट शिवपुरी गाउँपालिका–८ का २९ वर्षीय लक्ष्मण बखतीलाई काठमाडौं महानगर–२२ काठमाडौं मलबाट नगद ६ हजार रुपैयाँसहित माघ २७ मा प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौंका मुख्य डिलर शेर्पालाई फैज अहमदले पटनाबाट लागूऔषध खरिद गरी पठाउन रिहासदलाई जिम्मा दिने गरेको, रिहासदले तरकारी बोक्ने गाडीमा लागूऔषध लुकाई जाकिर नदाफलाई गाडीमा राखेर काठमाडौं पठाउने र जाकिर नदाफले शेर्पालाई दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । फैज अहमद बिक्री गरेको लागूऔषधको रकम लिन आफैं काठमाडौं आउने गरेको खुलेको छ । उनले लागूऔषध बिक्रीको १७ लाख ७५ हजार रुपैयाँ बुझिसकेको समेत प्रहरीले जनाएको छ ।

    ब्युरोले २३ किलो ८ ग्राम लागूऔषध चरेससहित थाइल्यान्डका ४ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता डीएसपी नारायण रञ्जितकारका अनुसार ब्युरोबाट खटिएका प्रहरीले माघ २८ मा काठमाडौंबाट बैंकक जान लागेका उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ४८ वर्षीया याओवालुक जुआब्स्री, ४२ वर्षीया परिचार्ट पम्प्रुक, २५ वर्षीय नाटापोल ट्रिचैया, १९ वर्षीया नट्नारी ट्रिचैया छन् । उनीहरुले लगेजभित्र फल्स बटम बनाई चरेस थाइल्यान्ड लैजान लागेका थिए ।

    प्रहरीले माघ २७ मा सिनामंगलस्थित एक होटलबाट अवैध लागूऔषध १ ग्राम खैरो हेरोइनसहित मोरङ लेटाङ नगरपालिका–२ का ३४ वर्षीय रोशन रिसाललाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उक्त लागूऔषध बिक्री गर्ने कार्यमा संलग्न आरोपमा मोरङ केराबारी गाउँपालिका–३ का ३५ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं महानगर–३२ कोटेश्वरस्थित अर्को होटलबाट अवैध लागूऔषध खैरो हेरोइन ३८ ग्रामसहित पक्राउ परेका छन् ।

    यस्तै, कोटेश्वरस्थित एक होटलबाट १२ ग्राम लागूऔषध खैरो हेरोइन र डिजिटल तराजुसहित एक भारतीय नागरिक पनि समातिएका छन् । भारत बिहार मधुवनी जयनगर हथलेटेवा–४ का ३२ वर्षीय श्रवणकुमार महरालाई माघ २९ मा ब्युरोले पक्राउ गरेको हो ।

  • बीबीसी र भारत सरकारबीच बढ्दै तनाव, आयकरले हान्यो छापा

    बीबीसी र भारत सरकारबीच बढ्दै तनाव, आयकरले हान्यो छापा

    नयाँ दिल्ली । बीबीसीका भारतस्थित कार्यालयहरूमा एउटा अनुसन्धानका सिलसिलामा आयकर विभागका अधिकारीहरूले खानतलासी गरेका छन्। उक्त प्रसारणसंस्थाले यूकेमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा डक्यूमेन्ट्री प्रसारण गरेको केही सातापछि उसका नयाँदिल्ली र मुम्बईस्थित कार्यालयहरूमा खानतलासी गरिएको हो। उक्त डक्यूमेन्ट्री सन् २००२ मा गुजरात राज्यमा भएका मुस्लिमविरोधी हिंसामा अहिलेका भारतीय प्रधानमन्त्रीको भूमिकामा केन्द्रित थियो। त्यतिबेला उनी गुजरातका मुख्यमन्त्री थिए।

    बीबीसीले उसले अधिकारीहरूलाई “पूर्ण सहयोग गरिरहेको” जनाएको छ। एउटा सङ्क्षिप्त विज्ञप्तिमा भनिएको छ, हामी यो अवस्थाको चाँडोभन्दा चाँडो समाधान निस्कियोस् भन्ने चाहन्छौँ। उक्त डक्यूमेन्ट्री यूकेको टेलिभिजनमा मात्र प्रसारण गरिएको भए पनि भारत सरकारले उक्त डक्यूमेन्ट्री अनलाइनमार्फत् मानिसहरूले शेअर गर्न नपाऊन् भनेर रोक्ने प्रयास गरेको थियो। गत महिना दिल्लीमा उक्त डक्यूमेन्ट्री हेर्न जम्मा भएका विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

    विपक्षी दल कांग्रेसका महासचिव केसी वेणुगोपालले मङ्गलवारको कारबाहीमा ‘‘हताश मनस्थितिको गन्ध आएको र मोदी सरकार आलोचनाबाट डराएको देखिएको’’ बताएका छन्। ूहामी यी धम्की दिने रणनीतिको कडा शब्दमा निन्दा गछौँ। यो अलोकतान्त्रिक र तानाशाही मनोवृत्ति अब चल्न सक्दैन,ू ट्वीट गर्दै उनले भनेका छन्।

    तर सत्तारूढ भारतीय जनता पार्टीका प्रवक्ता गौरव भाटियाले बीबीसीलाई संसारको सबैभन्दा भ्रष्ट सङ्गठन को सङ्ज्ञा दिएका छन्। उनले बीबीसीका कार्यालयहरूमा गरिएको खानतलासीको कार्य कानुनसम्मत रहेको तर्क गर्दै त्यस्तो कारबाहीको समयसँग सरकारको सम्बन्ध नरहेको दाबी गरे।

    सम्पादकहरूको समूह एडिटर्स गिल्ड अफ इन्डियाले आफू खानतलासीको उक्त घटनाबाट गम्भीर रूपमा चिन्तित भएको बताएको छ। यो सरकारी निकायहरूको प्रयोग गरेर सरकारको नीतिहरू वा सत्तारूढ संस्थापनको आलोचना गर्ने प्रेस सङ्गठनहरूलाई दुःख दिने प्रचलनको नियमितता भएको उक्त संस्थाले जनाएको छ।

  • आईसीसी विश्वकप क्रिकेट लिग टू : आज नामिविया र स्कटल्याण्ड भिड्दै

    आईसीसी विश्वकप क्रिकेट लिग टू : आज नामिविया र स्कटल्याण्ड भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नामिबियाले शीर्ष स्थानको स्कटल्याण्डको सामना गर्दैछ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपाल भ्रमणमा रहेको नामिबिया आफ्नो दोस्रो खेलमा पहिलो जित चाहान्छ भने स्कटल्याण्ड नेपालमा विजयी सुरूआत गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

    यसअघि पहिलो खेलमा नामिबिया घरेलु टोली नेपालसँग २ विकेटले पराजित भएको थियो । नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबियाले बाजी मारेको छ। सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३२ खेल खेल्दै ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। नामिबिया भने ३१ खेलबाट ३७ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा छ।

    आफ्ना सबै खेल खेलिसकेको ओमान ४४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। यस्तै सबै खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ। युएईले अझै १० खेल खेल्न बाँकी रहँदा नेपालले ११ र पपुवा न्यूगिनिले सिरिजमा ८ खेल खेल्न बाँकी छ। मंगलबारबाट सुरू त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ। यस सिरिजमा सहभागी तीन वटै टिमले एक अर्काविरुद्ध समान २२ खेल खेल्नेछन्।

  • अनेरास्ववियुमा आज नयाँ नेतृत्व चयन हुँदै

    अनेरास्ववियुमा आज नयाँ नेतृत्व चयन हुँदै

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा मंगलबारदेखि जारी छ। महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ। सहमति हुन सकेन भने सम्भवत आजै निर्वाचन हुनेछ। सुनिता बराल नेतृत्वमा रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर मंगलबार महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको थियो।

    एमाले नेता भानुभक्त ढकालको संयोजकत्वमा अध्यक्षमण्डल गठन गरिएको छ। अनेरास्ववियुको अध्यक्ष पदका लागि आरसी लामिछाने र मोती विश्वकर्मालगायत दाबेदार छन्। अनेरास्ववियुमा १९९ सदस्यीय केन्द्रीय कमिटी पनि महाधिवेशनबाट बन्नेछ। साथै अनुशासनलगायत विभिन्न आयोग पनि गठनको तयारी छ।

  • राष्टपति आज दाङ जाँदै, के छ कार्यक्रम ?

    राष्टपति आज दाङ जाँदै, के छ कार्यक्रम ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ जाने भएकी छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् । नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्‌घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

    रु. २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

    नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बताए । तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको हो ।

    महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै संस्कृत वाङ्मयका गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जानकारी गराउने प्रयास गरिरहेको कुलसचिव अधिकारीले बताए ।

  • सरकार र आन्दोलनरत महिलाहरुबीच सहमति

    सरकार र आन्दोलनरत महिलाहरुबीच सहमति

    काठमाडौं । सरकार र माइतीघरमा धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मङ्गलवार गृह मन्त्रालयमा भएको छलफलपछि सरकार र धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको हो । सहमतिअनुसार बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने भएको छ ।

    त्यस्तै अनुसन्धान प्रक्रिया समीक्षा गर्न धर्नारत महिलाहरूले राखेको न्यायिक आयोग गठनको मागलाई तत्काल थाती राखेर धर्ना स्थगित गर्ने र धर्नामा रहेका महिलाहरूको सुरक्षाका लागि सरकारले समन्वय गर्ने सहमति भएको छ । बाँकेबाट काठमाण्डौ आएर ४८ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका महिलाहरूले सहमतिपछि धर्नाका कार्यक्रम स्थगित गरिएको छ ।