Category: फिचर

  • टर्की भूकम्पपछि २१ जना नेपाली सम्पर्कमा

    टर्की भूकम्पपछि २१ जना नेपाली सम्पर्कमा

    काठमाडौं । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २१ जना नेपाली सम्पर्कमा आएका छन् । टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित टर्कीमा रहेका २१ जना नेपाली दूतावासको सम्पर्कमा आएका हुन् । दूतावासका अनुसार सम्पर्कमा आएका २१ जना सकुशल छन् । ‘अहिलेसम्म भूकम्पमा परेर नेपाली हताहत भएको खबर छैन,’ दूतावासले भन्यो । दूतावासको सम्पर्कमा आएका २१ जनामध्ये २ जना नेपाली सुरक्षित स्थान खोज्दै टर्कीको राजधानी अंकारा शहर पुगेका छन् ।

    सम्पर्कमा आएका नेपाली मध्ये ६ जना कामदार हुन भने बाँकी विद्यार्थी हुन् । भूकम्पले गर्दा कतिपय स्थानमा सडक र सञ्चार सम्पर्क समेत विच्छेद भएको छ । ‘सबै ठाउँमा सञ्चार सम्पर्क हुन सकिरहेको छैन,’ अनलाइनखबरसँग कुराकानी गर्दै दूतावासका एक कर्मचारीले भने, ‘भूकम्पग्रस्त क्षेत्रमा अरु पनि नेपाली हुन सक्छन् ।’

    टर्कीस्थित गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलका अनुसार सञ्चार सम्पर्क टुटेका कारण भूकम्पग्रस्त सबैठाउँमा सम्पर्क हुन सकिरहेको छैन । भूकम्प गएको गाजियान्टेपमा कति नेपाली छन भन्ने यकिन तथ्यांक छैन । ‘भूकम्प गएको ठाउँ मुख्य शहर होइन,’ महासचिव पौडेलले भने, ‘त्यसैले भूकम्प गएको शहरमा धेरै नेपाली छैनन् ।’ सडक र सञ्चार सम्पर्क स्थापित हुने बित्तिकै सम्पर्कमा आएका नेपालीलाई उद्धार गरेर टर्कीको राजधानी अंकारा पठाउने तयारी भइरहेको पौडेलले बताए ।

    उनले भने, ‘सम्पर्कमा आएका सबै नेपाली सुरक्षित छन् । राहत सामग्री पनि पाइरहेको बताइरहनु भएको छ । सडक र सञ्चार सम्पर्क बलियो हुनेबित्तिकै उहाँहरुलाई राजधानी अंकारा पठाउने तयारी भइरहेको छ ।’ भूकम्प प्रभावित क्षेत्रमा नेपाली रहे÷नरहेको खोजी भइरहेको पनि पौडेलले बताए । टर्कीको गाजियान्टेप शहरलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान चार बजेर १७ मिनेटमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    त्यसपछि लगातार आइरहेका पराकम्प ५ रेक्टर स्केलसम्मका छन् । चिसो, झरी र सडक भत्किएका कारण राहत तथा उद्धारमा कठिनाई भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् । समाचार संस्था रोयटर्सका अनुसार भूकम्पमा परेर ११ हजार मानिसको मृत्यु भइसकेको छ । आजै मात्र नेपालले टर्कीलाई राहत सामग्री पठाउने निर्णय गरेको छ ।

  • राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौदी विजयी

    राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौदी विजयी

    काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी निर्वाचित भएका छन्। सत्ता साझेदार दलको तर्फबाट उम्मेदवार बनेका दसौदीले ४ हजार २६ मतभार प्राप्त गर्दै विजयी भए । नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे। यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन्। प्रदेशसभातर्फ तीन मत बदर भएको छ। राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको थियो ।

  • टर्कीका भूकम्प पीडितलाई सघाउन नेपालले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने

    टर्कीका भूकम्प पीडितलाई सघाउन नेपालले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने

    काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितलाई सघाउन मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए । ‘टर्की हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ’, उनले भने, ‘त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं ।’बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए ।

  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । प्रचण्ड ओलीको बालकोटस्थित निवासमा पुगेका छन् । भेटमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।


    राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने अडान एमालेको छ । गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको छ ।
    सभामुख र केही महत्वपूर्ण मन्त्रालय पाइसकेको नेकपा एमालेले राष्ट्रपति पद आफूले लिन प्रयास गरिरहँदा कांग्रेस समेत राष्ट्रपति पदको दौडमा छ । प्रचण्ड आफ्नो रोजाइको व्यक्ति राष्ट्रपति बनेको हेर्न चाहन्छन् ।

  • टर्की भूकम्पमा नेपाली सुरक्षित

    टर्की भूकम्पमा नेपाली सुरक्षित

    काठमाडौं । टर्कि र सिरियामा गएको भूकम्पका कारण भएको जनधन र भौतिक क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले मूल्यवान् मानवीय जीवन गुमेको भन्दै भूकम्पको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यस्तो सङ्कटको घडीमा नेपाल सरकार टर्किए र सिरियाको साथमा रहेको मन्त्रालयले जनाएको छ।

    भूकम्पको इपिसेन्टर आसपास बसोबास गर्ने सबै नेपाली नागरिकको अवस्था हालसम्म थाहा नभए पनि सम्पर्कमा आएजतिको अवस्था सुरक्षित रहेको पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले बताएका छन् । टर्कि लगायत आसपासका देश र नेपालको अवस्थिति पाकिस्तानस्थित दूतावासले हेर्ने गर्छ। टर्किएको दक्षिणी भू–भाग पाकिस्तानसँग छोएको छ। सिरियासँग छोएको सीमा क्षेत्रको सहर भूकम्पको इपिसेन्टर हो।

    गाजियन्टेपमा काम गर्न गएका तीन जना नेपाली युवतीले आफ्नो अवस्थाको जानकारी सञ्चारमाध्यमलाई गराएका छन्। केही समयको फरकमा आएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यस क्षेत्रमा आइपरेको सङ्कटमा नेपाली नागरिक प्रभावित भएको हुन सक्ने सम्भावना रहेकाले पाकिस्तानस्थित नेपाली दूतावासले निरन्तर आफ्ना नागरिकको खोजी र सम्पर्कमा ल्याउने काम जारी राखेको राजदूत अधिकारीले बताए ।

    दूतावासले अपिल जारी गर्दै सङ्कटग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकलाई आफ्ना परिवार र साथीभाइको सम्पर्कमा आउन तथा आफ्नो समस्याका बारेमा जानकारी दिन भनेको छ। कतै समूहमा बसेको भए पनि दूतावासले उपलब्ध गराएको सम्पर्क नम्बरमा फोन गरेर जानकारी गराउन अनुरोध गरिएको छ। त्यहाँका नेपाली नागरिकको अवस्थाबारे परराष्ट्र मन्त्रालयले बुझ्ने कार्य जारी राखेको र समन्वय गर्न दूतावासलाई निर्देशन दिएको जनाइएको छ।

    टर्किमा करिब दुई हजारको सङ्ख्यामा नेपाली नागरिक बस्दै आएका छन्। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार सिरियासँगको सीमा क्षेत्रनजिकै रहेको गाजियन्टेप सहरको इपिसेन्टर भएर सोमबार बिहान ७.८ म्याग्निच्युटको पहिलो भूकम्प गयो।

  • बङ्ग्लादेशमा एकै रात दर्जनौं हिन्दु मन्दिरमा तोडफोड

    बङ्ग्लादेशमा एकै रात दर्जनौं हिन्दु मन्दिरमा तोडफोड

    ढाका । बङ्ग्लादेशको ठाकुरगाँव जिल्लामा सडक छेउमा बनाइएका १२ वटा मन्दिरमा तोडफोड भएको छ । मन्दिरमा भएका १४ वटा मूर्ति रातिको समयमा तोडफोड गरिएको बताइएको छ। घटना सम्बन्धमा अज्ञात आरोपितहरूविरुद्ध उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ। “फेब्रुअरी ४ तारिखको राति केही अज्ञात व्यक्तिहरूले मूर्ति तोडफोड गरेका रहेछन्। प्रहरीले यसबारे छानबिन गरिरहेको छ,” बालियाडाँगी थानाका कार्यवाहक अधिकारी खैरुल अनामले भने।

    बालियाडाँगी उपजिल्लाका कार्यकारी अधिकारी विपुल कुमारका अनुसार ६७ किलोमिटर लामो सडक किनारमा बनाइएका ससाना मन्दिरका मूर्ति तोडफोड भएको छ। उनका अनुसार मन्दिरहरू एकदम सानासाना थिए र तिनको रेखदेख गर्ने खासै व्यवस्था थिएन। “ती ठूला वा चर्चित मन्दिर होइनन्। सडकछेउमा रूख र बाँसघारीनजिक अथवा सुनसान स्थानमा बनाइएका मन्दिर हुन्,” प्रहरी अधिकारी खैरुल अनामले भने।

    विवरणमा जनाइएअनुसार ती मन्दिरहरूमा कुनै पूजाआजा हुने गरेको थिएन। धनतला क्षेत्रमा सबैभन्दा धेरै आठवटा मूर्ति तोडफोड गरिएको छ। उपजिल्ला कार्यकारी अधिकारी विपुल कुमारका अनुसार रातिको समयमा मोटरसाइकलमा आएका मानिसहरू तोडफोडमा संलग्न हुनसक्छन्। “मोटरसाइकलमा सवार व्यक्तिले फलामको छडले मूर्ति तोडफोड गर्दै हिँडेको देखिन्छ। दलबलका साथ आएर सुनियोजित रूपमा घटना भएको जस्तो छैन,” उनले थपे। विगत सय वर्षमा सो क्षेत्रमा यो प्रकृतिको पहिलो घटना भएको विपुल कुमारले बताए।घटनामा बाहिरी मानिसहरूको संलग्नता हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन्।

    आउँदा दिनमा मन्दिरहरू बेवारिसे नरहून् भन्ने हिसाबले प्रशासन अगाडि बढ्ने विपुल कुमारले बताए। धनतलाका अध्यक्ष समरकुमार चटोपाध्यायका अनुसार मूर्तिमा तोडफोड गरिएको घटनाका कारण कुनै प्रकारको अशान्ति सिर्जना भएको छैन। “यो क्षेत्रमा सनातन धर्म मान्ने मानिसहरूको सङ्ख्या उल्लेख्य छ। सोमवार पनि प्रहरीले गस्ती गरेको थियो,” उनले भने। तोडफोडमा फलानो नै संलग्न होलान् भनेर किटान गर्न सक्ने अवस्था नरहेको चटोपाध्यायले थपे। चारोल क्षेत्रका अध्यक्ष दिलिपकुमार चटर्जीका अनुसार सो क्षेत्रमा पनि एउटा मन्दिरको मूर्ति तोडफोड भएको छ। घटनालाई लिएर सो क्षेत्रका मानिसहरूमा त्यस्तो कुनै सन्त्रास नरहेको उनले बताए।

  • टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ७८ सय भन्दा माथि

    टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ७८ सय भन्दा माथि

    काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ७ हजार ८ सय भन्दा माथि पुगेको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म सिरिया र टर्कीमा गरी करिब ८ हजारको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

    एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। त्यहाँ मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ। अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ।

    विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। युरोपका लागि विश्व स्वास्थ्य संगठनकी प्रमुख आपतकालीन अधिकारी क्याथरिन स्मालवुडले मृतकको संख्या २० हजार नाघ्न सक्ने बताएकी छन्। हजारौं मानिसहरू अहिले पनि सम्पर्कविहीन भएका छन्। केही अपार्टमेन्टसहित थुप्रै घरहरू भत्किएका छन्।

    उद्धारका लागि ६५ भन्दा बढी मुलुकले आफ्ना सैनिक र उद्धारकर्मी टर्की पठाएका छन्। अत्यधिक चिसोका कारण उद्धारमा कठिनाइ भरहेको छ। अधिकारीहरूले मानिसहरूलाई आफ्ना घरमा तत्काल नफर्किन भनेका छन्। स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसपछि लगातार दर्जनौं परकम्पहरू गएका छन्। तीमध्ये एउटा ७।७ म्याग्नेच्युडको थियो। अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ।

  • साढे ५७ लाख उठाएर सिंगापुर पठाइदिन्छु भन्दै ठगी  गर्ने व्यक्ति पक्राउ

    साढे ५७ लाख उठाएर सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं । सिंगापुरलगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका(७ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका ३ बस्‍ने ३० वर्षीय अनिल श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले भीमबहादुर रानासमेत गरी ७ जनालाई वैदेशिक रोजगारीका लागि सिंगापुर, अफगानिस्तानलगायतका देशमा पठाइदिने प्रलोभन दिई प्रतिव्‍यक्ति १० लाख रुपैयाँ गरी ५७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

  • यस्तो रहनेछ आजको मौसम

    यस्तो रहनेछ आजको मौसम

    काठमाडौं । देशको पहाडी भभेगमा आंशिक बदली भएको छ । तराईका थोरै क्षेत्रमा कुहिरो लागेको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने भएको छ ।
    आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली हुने सम्भावना छ ।

    प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार पनि प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश नं. १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा मौसम बदली भई थोरै ठाउँमा हिमपातको सम्भावना छ । शुक्रबार पहाडी भू–भागमा आंशिक बदली हुने देखिएको छ भने राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना रहेको छ ।

  • युएसएआइडी प्रमुखबाट नेपाललाई ७ अर्ब सहायता घोषणा

    युएसएआइडी प्रमुखबाट नेपाललाई ७ अर्ब सहायता घोषणा

    काठमाडौं । युएसएआइडीकी प्रशासक समान्था पावरले नेपाल सरकारलाई करिब ६ करोड डलर सहयोग गर्ने घोषणा गरेकी छन्। प्रशासक पावरले मंगलबार सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन ५ करोड ८५ लाख अमेरिकी डलर (७ अर्ब रुपैयाँभन्दा बढी) सहयोग दिने घोषणा गरेकी हुन्। सो रकम स्रोतको उपलब्धतामा निर्भर हुने युएसएआइडीले जनाएको छ।

    युएसएआइडीका अनुसार उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो। लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गर्ने भनिएको छ।

    नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धीहरू मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने युएसएआइडीले जनाएको छ। साथै यसले मानव बेचबिखनविरूद्ध लड्न पनि सहयोग पुग्ने जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

    उक्त लगानीमा प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न दुई करोड डलरसम्म छुट्याएको छ। ‘उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायहरूका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम समाविष्‍ट छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

  • नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

    नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

    काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको निर्णायक खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

    नेपालले खेलमा १-० गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित निकाल्यो। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

  • किसानहरुद्वारा कुखुरा र अण्डा सडकमा फालेर विरोध

    किसानहरुद्वारा कुखुरा र अण्डा सडकमा फालेर विरोध

    काठमाडौं । उचित बजार मूल्य नपाएको भन्दै झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध प्रदर्शन गरेका छन् ।

    मंगलबार उचित बजार नपाएको भन्दै किसानहरुले अण्डा र कुखुरा सडकमा फालेर विरोधसँगै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    सरकारले कृषि कर्मममा लागेका किसानहरुको मर्म नबुझेको भन्दै बाध्य भएर आफूहरु सडकमा उत्रिनु परेको उनीहरुको दुःखेसो छ ।

    बढ्दो ब्याज, महँगीका कारणले देशभरका किसानहरु मारमा परेको भन्दै प्रदर्शनमा सहभागी किसानहरुले यो प्रतिनिधिमुलक आन्दोलन भएको र यसमा झापाका सबै किसानको समर्थन रहेको बताएका छन् ।

  • उच्च अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    उच्च अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)७६.६४ अंकले बढेर २१७७.३४विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६० कम्पनीको ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहका परिसूचकमा हरियाली छाएको छ । लगानी समूह सबभन्दा धेरै ६.२५ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक र फाइनान्स समूह पनि ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    उच्च अंकले बढेको बजारमा ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । १ कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत भन्दा बढीले बढेको छ ।

    आदर्श लघुवित्त, बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र राधी विद्युत् कम्पनीका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । त्यसैगरी, रिडी पावर, ग्रीन भेन्चर र ङादी ग्रपको शेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

    आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप ११ करोड र अपि पावर ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडी डब्लूपीएलको अक्सनमा

    रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडी डब्लूपीएलको अक्सनमा

    काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पहिलोपटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लूपीएल)को अक्सनमा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडीले पनि नाम दर्ता गराएका छन् ।

    नेपालबाट कप्तान रुबिनासहित अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अस्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले अक्सनमा नाम दर्ता गराएका हुन् ।

    पाँच टोलीको प्रतिस्पर्धा रहने प्रतियोगिता ४ मार्चदेखि सुरु हुने बताइएको छ । प्रतियोगितको १५०० खेलाडी दर्ता भएका छन् भने अन्तिम लिस्ट यो हप्ताको अन्तिममा आउने भएको छ।

  • प्रेम आचार्य प्रकरण: उपेन्द्र महतोसहित १२ जनासँग प्रहरीले लियो बयान

    प्रेम आचार्य प्रकरण: उपेन्द्र महतोसहित १२ जनासँग प्रहरीले लियो बयान

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नु पहिले फेसबुकमा नाम उल्लेख गरेका व्यवसायीमाथिको आरोपबारे भाटभटेनीका सञ्चालन मीनबहादुर गुरुङ, व्यवसायी उपेन्द्र महतोसहित विभिन्न व्यवसायी १२ जनासँग बयान लिएको छ ।

    जसमा पवन गोल्यानको गोल्यान एग्रो र नक्सालस्थित सान इन्टरनेसनल कलेजका प्रतिनिधिसँग, बालकुमारीस्थित क्याथफोर्ड कलेज र थापाथलीस्थित सुजुकी शोरुमका सञ्चालकसँग रहेका छन् । लामो फेसबुक स्ट्याटस र उनकी पत्नीले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • मैतीदेवी प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर

    मैतीदेवी प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीचोकस्थित प्रहरी बिटमा डोजर चलाएको छ । सडक अतिक्रमण गरी बनाइएको नेपाल प्रहरीको बिट महानगरले भत्काएको हो ।

    मंगलबार दिउँसो नगर प्रहरीसहित गएको टोलीले प्रहरी बिटमा डोजर चलाएको हो । उक्त बिटलाई अन्य ठाउँमा सार्ने सहमती भएपछि भत्काइएको नगर प्रहरीले जनाएको छ ।

    पछिल्लो समय महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने क्रम तीव्र बनाएको छ ।

    यसअघि महानगरले नयाँ बानेश्वर, न्यूरोड, धोबिखोला करिडोर लगायत दर्जनौं ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काइसकेको छ ।

  • उपत्यकाको कुन-कुन भेगमा भेटियो वर्डफ्लू ?

    उपत्यकाको कुन-कुन भेगमा भेटियो वर्डफ्लू ?

    काठमाडौं । काठमाडौँ उपत्यकाका तीन ठाउँमा कुखुरामा बर्डफ्लु फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखा परेको हो । मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार तीन ठाउँमा पालिएका कुखुरामा बर्डफ्लु देखा परेको हो ।

    नार्गाजुन नगरपालिका–६, रामकोटको फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि फार्ममा रहेका चार हजार पाँच सय कुखुरा र दुई हजार पाँचवटा अन्डा नष्ट गरिएको छ । बर्डफ्लु देखिएका अन्य दुई फार्मलाई निगरानीमा राखिएकाले मङ्गलबारसम्म नष्ट गरिसक्ने मन्त्रालयले जनाएको छ । खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क)को अनुसन्धानबाट गत शुक्रबार पहिलो सङ्क्रमण पुष्टि भएको थियो ।

  • टर्की भूकम्पमा मर्नेको संख्या ८ गुणासम्म बढ्न सक्ने डब्चूएचओको अनुमान

    टर्की भूकम्पमा मर्नेको संख्या ८ गुणासम्म बढ्न सक्ने डब्चूएचओको अनुमान

    काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म दुई देशमा ४३ सय जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको छ । उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन्।

    विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो। भूकम्पविद्हरूले सोमवार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन्।

    भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो। पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो। यस क्षेत्रमा परकम्पहरू पटकपटक महसुस भइरहेका छन्। टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ। उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटेका छन् र त्यो सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने डब्लूएचओले चेतावनी दिएको छ।

    ूभूकम्प जाँदा दुर्भाग्यवश परिस्थिति दोहोरिन्छन्। मृतक र घाइते भएकाहरूको सङ्ख्याबारे प्रारम्भिक विवरण केही सातापछि उल्लेख्य रूपमा वृद्धि हुन्छ,” युरोपका लागि डब्लूएचओका वरिष्ठ आपत्कालीन अधिकारी क्याथरिन स्मलवुडले समाचार संस्था एएफपीलाई भनेकी छन्। स्मलवुडले हिउँका कारण धेरै मानिसहरू आवासविहीन हुने जोखिमसमेत बढाएको जानकारी दिइन्।

    धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् जहाँ लाखौँ शरणार्थीहरू टर्कीसँगको सीमा क्षेत्रमा दुवै भूभागका शिविरहरूमा आश्रित छन्। विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ।

    दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन्। थुप्रै भिडिओहरूमा ती भवन भत्किँदै गरेको क्षण देखिन्छ। सडकहरू भत्किएका छन् र वरपर भग्नावशेषका थुप्राहरू देखिन्छन्। ध्वस्त भएका भवनहरू मध्ये गाजीयान्टेप कासल ऐतिहासिक महत्त्वको थियो जुन दुई हजार वर्षभन्दा पुरानो हो। बीबीसीको मध्यपूर्वस्थित संवाददाता आना फोस्टरले टर्कीको भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको सहर ओस्मानीयाबाट एक विनाशकारी दृश्यको वर्णन गरिन्।

    पानी परिरहेको छ जसले उद्धार कार्यमा अड्चन थपेको छ। आज रातभर सहरमा बिजुली छैन। ‘हामी अझै पनि निरन्तर परकम्पहरू महसुस गरिरहेका छौँ र त्यहाँ अझै धेरै भवनहरू भत्कन सक्ने चिन्ता छ,’उनले भनिन्। टर्कीको ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ र दक्षिणी टर्कीमा ठूलो आगलागी भएको भिडिओहरू सार्वजनिक भएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ग्यास प्रवाह प्रणालीमा क्षति पुगेका कारण आगो लागेको दाबी गरेका छन्। टर्कीका ऊर्जा मन्त्री फातिह डोन्मेजले पूर्वाधारमा गम्भीर क्षति पुगेको पुष्टि गरे तर विस्फोटबारे कुनै जानकारी दिएनन्। टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो।

    सन् १९९९ मा देशको उत्तर-पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए। सन् १९३९ मा टर्कीको पूर्वी एर्जिनजन प्रान्तमा भूकम्प जाँदा ३३,००० मानिसको ज्यान गएको थियो र त्यसलाई सबैभन्दा विध्वंसकारी भूकम्प ठानिन्छ। टर्की रेड क्रिसेन्टले त्यहाँका सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेको छ।

    उक्त सङ्गठनका अध्यक्ष केरेम किनिकले ट्विटरमा लेखेअनुसार प्रभावित क्षेत्रमा थप रगत र चिकित्सकीय सामग्रीहरू पठाइँदै छ। टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले बताए।

  • टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ४३ सय माथि

    टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ४३ सय माथि

    टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको आंकडा ४३ सय नाघेको छ । राज्य सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा मात्र २ हजार ९२१ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । १३ हजार २९३ मानिस घाइते भएका छन्। यहाँ ५६०० भन्दा बढी भवन ध्वस्त भएका छन्।

    राष्ट्रपति रेसेप तैयप एर्दोगानले मृतकको संख्या अझै बढ्न सक्ने भन्दै उनले उद्धार र राहतलाई तिब्रता दिइरहेको बताएका छन् । उक्त भूकम्पका कारण छिमेकी मुलुक सिरियामा पनि ठूलो संख्यामा मानवीय क्षति भएको छ। सिरियामा उद्धारकर्ताहरूले रातभर काम गर्न हेडलाइट र फ्लड लाइटहरू प्रयोग गरेका थिए। राज्यको स्वास्थ्य मन्त्रालय र ह्वाइट हेल्मेट राहत समूहका अनुसार यहाँ १,४५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

    देशभरि हजारौं घाइते भएका छन्। टर्कीको भूकम्प प्रभावित क्षेत्रमा धेरै सिरियाली युद्ध शरणार्थीहरू पनि छन्। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार टर्कीले ३.६ मिलियन सिरियाली शरणार्थीलाई राखेको छ। जुन कुनै पनि अन्य देश भन्दा बढी छ। भूकम्प प्रभावित दक्षिणी टर्की र उत्तरी सिरियाको धेरै जसो क्षेत्रमा उद्धार कार्य जारी रहेको समाचार संस्था एपीले जनाएको छ। टर्की र सिरियाका उद्धारकर्मीहरु भत्केका भवनहरुमा फसेका मानिसहरुलाई बाहिर निकाल्न खटिरहेका छन्।

  • बढ्यो इन्धनको मूल्य

    बढ्यो इन्धनको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेलरमट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल–मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ ।

    हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ । निगमले नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्व ३० करोड रुपैयाँ रहेको दाबी गरेको छ ।

    ‘इण्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था छ,’ निगमले विज्ञप्तिमा भनेको छ । १६ माघमा प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर ८.१ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ, मटितेलमा ४.६१ रुपैयाँ र हवाई इन्धनमा ७.८ रुपैयाँ मुल्य बढेर आएकाले मूल्यवृद्धि गर्नुपरेको निगमले बताएको छ ।

  • युएसआइडी प्रमुख आज नेपाल आउँदै

    युएसआइडी प्रमुख आज नेपाल आउँदै

    काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउने भएकी छिन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

    पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो । उनको भ्रमण नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको पहिलो उच्चस्तरीय र सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले औपचारिक भ्रमणपछि अमेरिकाबाट हुन लागेको उच्चस्तरीय भ्रमण हो ।

    राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उनी ७ फेब्रुअरीमा फर्किने कार्यक्रम गरहेको छ । यूएसएडको विज्ञप्तिअनुसार भ्रमणका क्रममा पावरले नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने उल्लेख छ । यहाँको नागरिक समाज, सामुदायिक समूहहरू, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर लोकतान्त्र, समृद्धि र समावेशीका लागि भइरहेका प्रयास र उपलब्धिहरूबारे छलफल हुनेछ ।

    पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उक्त भेटघाटमा । यूएसएड र अर्थ मन्त्रालयबीच गत २१ वैशाखमा पाँच वर्षभित्र खर्च गर्ने योजनासहित हस्ताक्षर भएको सम्झौताअनुसार प्राप्त हुने ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे कुराकानी हुनेछ ।

    साथै, यूएसएडले नेपालमा सञ्चालन गरिरहेका परियोजनाको प्रगति बारे पनि छलफल हुनेछ । अर्थमन्त्रालय स्रोतका अनुसार पावरले यूएसएडको एउटा परियोजना समेत उद्घाटन गर्ने कार्यक्रमको तयारी भएको छ ।

  • यतीको जहाज दुर्घटनामा डाटा रेकर्डरले दियो यस्तो संकेत

    यतीको जहाज दुर्घटनामा डाटा रेकर्डरले दियो यस्तो संकेत

    काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ। यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ (रनवे–१२) बाट अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो।

    आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिवहरू पठाइएकामा उक्त कार्य सफलतापूर्वक सम्पन्न गरी आयोगका पदाधिकारी नेपाल फर्किएका हुन्।

    उक्त फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटा विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ। त्यो बेला सिंगापुरस्थित एटिआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षको थप अध्ययनसमेत भएको छ।

    विज्ञसहितको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ। उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र मानवीय पक्षहरूको थप अनुसन्धान अगाडि बढाइसकेको आयोगका सदस्यसचिव लामिछानेले बताए।

    आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारीसमेत गरेको आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो। लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो। आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो। आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिंगापुर गएका थिए। उनीहरू अनुसन्धान र विश्लेषणपछि नेपाल फर्किएका छन्

  • मनोज पाण्डेलाई ७ वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति

    मनोज पाण्डेलाई ७ वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिने गरी सजाय सुनाएको छ । उनलाई सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका थियो ।

    माघ १० गते उनलाई दुवै कसुरमा दोषी ठहर गरेको थियो  । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।

    पाण्डेलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ७ मा पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले असार ६ मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि उनी डिल्लीबजार कारागार पठाइएका थिए ।

  • २४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ६ महिनामा ५ खर्ब ८५ अर्ब भित्रियो

    २४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ६ महिनामा ५ खर्ब ८५ अर्ब भित्रियो

    काठमाडौं । नेपालमा पछिल्लो ६ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ८५ अर्ब ८ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

    द्दण्। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २,७५,६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १,४२,५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।

  • प्रधानमन्त्री प्रचण्डलाई ५ वटा मन्त्रालयको जिम्मेवारी

    प्रधानमन्त्री प्रचण्डलाई ५ वटा मन्त्रालयको जिम्मेवारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

    सोमवार रिक्त रहेको थप २ मन्त्रालयको कामकाज थपिएसँगै उनको काँधमा ५ वटा मन्त्रालय परेको हो । रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रधानमन्त्री प्रचण्डलाई नै तोकेकी हुन् ।

    आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू शिक्षामन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमाका कार्कीले पदबाट राजीनामा दिएका थिए ।

    रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रधानमन्त्री प्रचण्डलाई नै तोकेकी हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्री शिशिर खनाल र श्रममन्त्री डोल प्रसाद अर्यालले आइतबार राजीनामा दिएका थिए। रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने कायम राखेको छ।

    यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका थिए।

  • टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३०० नाघ्यो

    टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३०० नाघ्यो

    एजेन्सी । टर्किमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। बीबीसीका अनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या तीन सय नाघेको छ भने १ हजारभन्दा बढी गम्भीर घाइते भएका छन् ।

    अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार ४:१७ बजे गजिएन्टेप सहर नजिक १७।९ किलोमिटर गहिराइमा ७।८ म्याग्निच्युडको भूकम्प गएको छ।

    भूकम्पले सबैभन्दा बढी क्षति अंकारा, नुरदागीलगायतका १० शहरमा पुर्‍याएको छ । टर्कीमा भूकम्प आएको केही सेकेण्डमै सिरिया, लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको कारण सबैभन्दा बढी क्षति सिरियामा भएको छ। हालसम्म त्यहाँ २३० जना भन्दा बढीको मृत्यु भइसकेको छ। सिरियाको एलोपो, लताकिया, हमा र टउरसमा धेरै क्षति भएको छ।

    टर्कीएमा ७६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। र्कीएका आन्तरिक मन्त्री सुलेमोन सोयलुले गाजिएन्टेप, कहरामनमारास, हाटे, उस्मानीय, अदियामान, मालत्या, सानलिउर्फा, अडाना, दियारबाकिर र किलिस गरी १० शहर प्रभावित भएको बताए।

  • राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

    राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

    काठमाडौं । भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो ।

    नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।

    लिग टू मा रहेका ७ टिमबीच अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालले आसन्न एकदिवशीय विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवशीय मान्यता कायम राख्न शृंखलामा अधिकांश खेल जित्नुपर्ने स्थिति छ ।

    उनीसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ । यसअघि उनले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका थिए ।

    देसाई सन् २०१७ को एसीसी यू-१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकार थिए ।

  • देउवा र शेखर–गगन पक्ष विद्यर्थीबीच झडप

    देउवा र शेखर–गगन पक्ष विद्यर्थीबीच झडप

    काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूह संस्थापन र इतर पक्षबीच झगडाबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ ।

    शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर–पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।

    स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया राखेकोमा दुजाङ शेर्पा आफूसहित गुण्डागर्दी शैलीमा आएर कार्यक्रम भाँडेको शेखर समूहका आरोप छ ।

  • आप्रवासी नेपालीका समस्या समाधान गर्न आयोग बन्ने

    आप्रवासी नेपालीका समस्या समाधान गर्न आयोग बन्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशमा रहेका आप्रवासी नेपालीको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग बनाउन सहमत भएका छन् । विदेशमा रहेका ४० लाखभन्दा बढी नेपाली आप्रवासीको समस्या बुझ्न र समाधान गर्न हाल अवस्थित सरकारी संयन्त्रहरू पूर्ण अधिकारसम्पन्न नहुँदा प्रवासी नेपालीले दुःख पाइरहेकाले छुट्टै शक्तिशाली आयोग गठन गर्न प्रधानमन्त्री सकारात्मक भएका हुन् ।

    नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका इन्चार्ज लक्ष्मण पन्तको नेतृत्वमा युरोप, दक्षिणपूर्व एसिया र पश्चिम एसियाका यूएई, कतार, साउदी अरबका प्रवास समन्वय समितिका सदस्यहरू तथा सम्बन्धित मुलुकमा रहेका राष्ट्रिय समितिका सदस्यहरूसहितको प्रतिनिधिमण्डलसँग भएको भेटमा प्रवासी नेपालीको हितमा आयोग गठनको माग गरिएको हो।

    प्रवासमा रहेका नेपालीका मागका विषयमा दशकौँदेखि आवाज उठाइए पनि आजसम्मका कुनै पनि सरकारले यसतर्फ ध्यान नदिएकाले दुःख भोग्न बाध्य भएको गुनासो प्रतिनिधिमण्डलका सहभागीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष व्यक्त गरे । इन्चार्ज पन्तका अनुसार प्रवासीका धेरै समस्या छन्। हाल कायम श्रम मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका आफ्ना अन्य जिम्मेवारी धेरै हुने र प्रवासीका समस्या समाधान गर्न पूर्ण अधिकार नभएका कारण समस्या बल्झिँदो अवस्था रहेका छन्।

    प्रवासी नेपालीलाई दोहोरो नागरिकताका विषयमा अझै पनि अन्योल छ। रेमिट्यान्समा निर्भर नेपालजस्तो देशमा छुट्टै मन्त्रालय वा त्यो नभए शक्तिशाली आयोग जरुरी भइसकेको भन्दै प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको थियो। प्रवासमा आफ्ना नागरिकलाई श्रममा पठाउने छिमेकी मुलुक भारतमा छुट्टै मन्त्रालय छ। श्रीलङ्कामा प्रवासी नागरिकको समस्या हेर्ने र समाधान गर्ने छुट्टै संयन्त्र छ। फिलिपिन्समा पनि त्यहाँको सरकारले शक्तिशाली आयोग बनाएर समस्या समाधान गरिरहेको छ।

  • नयाँ भिषण आक्रमणको त्रासमा युक्रेन

    नयाँ भिषण आक्रमणको त्रासमा युक्रेन

    काठमाडौं\बीबीसी । युक्रेनका निवर्तमान रक्षामन्त्रीले यसै महिनाको अन्त्यतिर देशमा नयाँ रुसी आक्रमण अपेक्षित रहेको बताएका छन्। त्यतिन्जेल सम्पूर्ण पश्चिमी अस्त्रहरू नआइपुगे पनि रुसी सेनालाई रोक्न युक्रेनसँग पर्याप्त भण्डारण रहेको अलेक्सी रेज्निकोफले एक पत्रकार सम्मेलनमा बताए। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वमा रहेको बाख्मुत, वुहलेदार र लिम्यानमा सेनाहरूबीच व्यापक लडाइँ भइरहेको बताएका छन्।

    रक्षामन्त्री परिवर्तन हुने घोषणा हुनुभन्दा केही घण्टा अघि मात्र रेज्निकोफले नयाँ आक्रमणबारे प्रतिक्रिया दिएका थिए। जेलेन्स्कीको दलका एक युक्रेनी राजनीतिज्ञका अनुसार उनको ठाउँमा सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभ नियुक्त हुनेछन्। रक्षामन्त्रालयमा भ्रष्टाचारसम्बन्धी घटनाको शृङ्खलाकाबीच यो परिवर्तन भएको हो। केही रक्षा अधिकारीहरूले सेनाका लागि खाद्यान्न खरिदका लागि तय गरिएको कोष हिनामिना गरेको आशङ्कासहित विवरणहरू सार्वजनिक भएका थिए। रेज्निकोफले ती विवरणको खण्डन गरेका छन्।

    युक्रेनी सांसद डेभिड अरखामियाले आइतवार युद्धले कर्मचारी सम्बन्धी नीतिहरू निर्देशित गर्नेू बताउँदै फेरबदलको घोषणा गरेका हुन्। युक्रेनमा पश्चिमी हतियार ल्याउने प्रयासमा खटिएका रेज्निकोफले अब स्ट्रयाटिजिक इन्डस्ट्रीजु मन्त्रीको जिम्मेवारी वहन गर्नेछन्। राष्ट्रपति जेलेन्स्कीले भ्रष्टाचार विरोधी अभियानका रूपमा धेरै वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन्।

    यसअघिको पत्रकार सम्मेलनमा रेज्निकोफले तत्काल नयाँ आक्रमण गर्न रुससँग स्रोतहरू तयार नरहेको बताएका थिए। तर, फेब्रुअरी २४ मा मस्कोले पूर्ण रूपमा आक्रमण सुरु गरेको एक वर्षको पुगेको उपलक्ष्यमा त्यसो गर्न सक्ने बताएका हुन्। उनका अनुसार रुसले पूरै पूर्वी डोनबास कब्जा गर्नुका साथै युक्रेनको दक्षिणी भेगमा आक्रमण सुरु गर्ने ठानिएको छ।

    रक्षामन्त्रीले सोमवारदेखि युक्रेनी सेनाले जर्मन निर्मित लेपर्ड टू ट्याङ्कको तालिम सुरु गर्ने जानकारी दिए। रेज्निकोफले युक्रेनले १५० किलोमिटर परसम्म प्रहार गर्नसक्ने लामो दुरीका नयाँ क्षेप्यास्त्रहरू सुरक्षित गरेको तर ती रुसी भूभागमा प्रयोग नगरिने बताए। उनका अनुसार ती युक्रेन नियन्त्रित रुसी एकाइहरू विरुद्ध मात्र प्रयोग गरिने छ। ‘म हामीले यो युद्ध जित्ने कुरामा ढुक्क छु, रेज्निकोफले भने। तर, पश्चिमी लडाकु विमानहरू नआइपुगेको खण्डमा अझै धेरै मानिसहरूले ज्यान गुमाउने उनले बताए।

    युक्रेनमा पश्चिमी हतियारहरूको प्रवाहका बाबजुद बाख्मुत क्षेत्रमा रुसको प्रभाव बढ्दो छ। उसले त्यहाँ थप सेनाहरू पठाइरहेको छ। रुसमा भाडाको अर्धसैनिक समूह वाग्नरले यस क्षेत्रमा थुप्रै लडाइँहरूको नेतृत्व गरेको छ। उक्त समूहका प्रमुख येभगेनी प्रिगोजिनका अनुसार सहरका केही क्षेत्रहरूमा सडकैपिच्छे भयानक लडाइँहरू भएका छन् र युक्रेनका सशस्त्र सेनाहरू ूजित्नको लागि हरेक प्रयास गरिरहेका छन्।“

    रुसी सेनाले महिनौँदेखि बाख्मुत कब्जा गर्ने प्रयास गर्दै आएका छन्। रुसले करिब एक वर्षअघि युक्रेनविरुद्ध आक्रमण सुरु गरेपछिको यो सबैभन्दा लामो युद्ध हो। डोनबास क्षेत्रलाई आफ्नो पूर्ण नियन्त्रणमा लिने रुसी उद्देश्यको पूर्तिका लागि उक्त भूभाग कब्जा गर्नु उसको लागि निकै महत्त्वपूर्ण छ। यसले हालैका महिनाहरूमा युक्रेनमा प्रभाव गुमाएको रुसको भाग्य परिवर्तनको समेत सङ्केत गर्न सक्छ।

    आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले भने ‘डोनेट्स्क क्षेत्रमा भयङ्कर युद्धहरू भइरहेका छन् र परिस्थिति कठिन छ।’ तर, आफूहरूसँग आफ्नो रक्षा गर्नु र जित्नुको विकल्प नभएको उनले बताए। यूकेको रक्षा मन्त्रालयले रुसी सेनाले बाख्मुतलाई घेरा हाल्दै जाँदा युक्रेनी सेनाहरू झन्झन् दबिँदै गएको जनाएको छ।

    उसका अनुसार त्यहाँ जाने दुई मुख्य सडकहरूमा आक्रमणको खतरा रहेको छ। फरक घटनाक्रममा उत्तर(पूर्वी सहर खार्किभमा आवासीय भवनहरूमा भएको आक्रमणमा पाँच जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्। त्यस्तै डोनेट्स्क क्षेत्रमा रकेट आक्रमणको क्रममा अन्य पाँच जना घाइते भएका क्षेत्रीय नेता पाभ्लो किरिलेन्कोले बताएका छन्।