Category: फिचर

  • वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

    वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् । वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेका हुन् । उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए ।

    चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो । चिकित्सकीय भाषामा उनलाई लागेको रोगलाई ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । पुनको पहिला पटक थाइल्याण्ड उपचार भएको थियो । त्यसपछि उनलाई चीनमा लगेर उपचार गरिएको थियो ।

  • नामिबियामाथि नेपालको सानदार जित

    नामिबियामाथि नेपालको सानदार जित

    काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराएकाे छ ।

    नामिबियाले दिएकाे २ सय ८६ रनकाे लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायाे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले ७२, सन्दीप जाेराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले २० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका रुबेन ट्रमपेलमानले ३ र जन निकाेल लाेफ्टी–एटनले २ विकेट लिए ।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायाे । नामिबियाका लागि माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाए । १ सय ३७ बलकाे सामना गरेका लिगेनले ९ चाैका र ५ छक्का प्रहार गरे । एकदिवसीयमा उनकाे याे अहिलेसम्मकै व्यक्तिगत उच्च स्काेर हाे । यस्तै कप्तान गेरहार्ड इरासमसले ५६ र जेन ग्रीनले ३४ रन बनाए ।

    बलिङतर्फ नेपालका करण केसीले ५, सन्दीप लामिछानेले ३ तथा साेमपाल कामी र कुशल मल्लले १/१ विकेट लिए ।

  • दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७८ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७८ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५५ कम्पनीको १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँ बराबरको ४६ लाख ८५ हजार ८०९ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादनमूलक बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । लगानी समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले घटेको छ ।

    दोहोरो अंकले घटेको बजारमा आज बाराही हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ५.०७ प्रतिशत गुमाएका छन् ।

    लक्ष्मी लघुवित्त, सामुदायिक लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ भने सबैको लघुवित्त, आशा लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, किसान लघुवित्त र युनाइटेड लघुवित्तको शेयरमूल्य ३ प्रतिशतले घटेको छ ।

    आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै पौने ८ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, ङादी पावर साढे ७ करोड र एनआइसी एशिया बैंक पौने ७ करोड बढीको कारोबार भएको छ ।

  • अब बैंकले एकतर्फी रूपमा सेवा शुल्क लिन नपाउने

    अब बैंकले एकतर्फी रूपमा सेवा शुल्क लिन नपाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अनुमतिबिना सेवाग्राहीसँग सेवा शुल्क लिएमा सो सेवा शुल्कमा १० प्रतिशत थपेर बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको छ ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना सेवा दिएर शुल्क लिएमा गुनासो गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको अनुमतीबिना एकतर्फी रुपमा सेवाशुल्क लिन नपाउने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले ग्राहकको गुनासोलाई मध्येनजर गर्दै यस्तो व्यवस्था गरेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको अनुमति नै नलिई मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता सेवामा शुल्क लिएकाे भन्ने गुनासो बढेसँगै यस्तो व्यवस्था गरेको हो ।

    यसरी दर्ता गरिएको गुनासोमा सम्बन्धित संस्थाले सुनवाई नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउन राष्ट्र बैंकले भनेको छ ।

  • नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट

    नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट

    काडमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत मंगलबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको उच्च लक्ष्य दिएको छ।

    जारी विश्वकप लिग-२ मा नेपालले कुनै पनि टिमबाट पाएको यो सर्वाधिक ठूलो लक्ष्य हो। यसअघि नामिबियाले नै नेपाललाई गत ७ डिसेम्बरमा भएको खेलमा २७५ रनको लक्ष्य दिएको थियो।

    नामिबियाले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनाएको थियो। मिबियाका लागि माइकल भान लिंगेनले आफ्नो एकदिवसीय करिअरकै उच्च रन बनाउँदै शतकीय इनिङ खेलेका थिए।

    उनले घरेलु टोली विरुद्ध १३३ रन बनाए। जुन जारी विश्वकप लिग २ मा कुनै पनि ब्याटरले प्रहार गरेको सर्वाधिक दोस्रो धेरै रन हो।

    विश्वकप लिग-२ मा सर्वाधिक रनको कीर्तिमान भने नामिबियाकै जिन पिएरेर कोटेजका नाममा रहेको छ। उनले युएसएविरुद्ध १३६ रन प्रहार गरेका थिए।

    नामिबियाका लागि थप स्कोरका रूपमा कप्तान गेर्हाड एरासमुसले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा जने ग्रिनले ३४ रन बनाए। नेपालका लागि करण केसीले ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ विकेट लिएका थिए।

    तर नेपाली बलरले सुरुवाती विकेट लिन नसक्दा नेपालले उच्च स्कोरको लक्ष्य पाएको हो।

  • सरकार र यातायात मजदुरहरुबीच सहमतिः सवारी बन्द फिर्ता

    सरकार र यातायात मजदुरहरुबीच सहमतिः सवारी बन्द फिर्ता

    काठमाडौं । यातायात संगठनका मजदुरले सार्वजनिक यातायात बन्द र आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसंग वार्तापछि बन्द फिर्ता लिन सहमत भएका हुन्।

    यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा अहिले यातायात क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि कमिटी बनेको छ।

    उक्त कमिटीले मंगलबारबाटै काम थाल्ने र यहि फागुन ११ गतेभित्र प्रतिवेदन दिनेछ। उक्त प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने सहमति हुन लागेको बताइएको छ।

    यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए ।

  • सरकारका काम प्रभावकारी बनाउने निर्णय

    सरकारका काम प्रभावकारी बनाउने निर्णय

    काठमाडौं । सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्यगरी सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र सहकार्यलाई थप मजबुत बनाएर लैजाने विषयमा महत्त्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए ।   

    “सरकारमा सहभागी दलकाबीचमा सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र भएका कमीकमजोरीलाई सच्याउने विषयमा समीक्षा भयो । आगामी दिनमा यो सहकार्यलाई अझ मजबुत बनाएर लैजाने विषयमा पनि गम्भीर छलफल भएको छ”, उनले भने ।

    बैठकले नियमितरुपमा यस प्रकारका भेटघाटलाई निरन्तरता दिने सहमति गरेको छ । राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनका अनुसार वर्तमान सरकार निर्माणका क्रममा गरिएको सहमतिमा आफूहरू कायम रहेको र त्यसमा सत्ता साझेदार दलकाबीच समान धारणा रहेको भन्दै थप कुनै विषयमा सहमति गर्नुपर्ने भए त्यसका लागि पनि तयार रहेको बैठकको निष्कर्ष छ ।     

    बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने विषयमा पनि छलफल भएको थियो । “उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्या छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने विषयमा छलफल भएको छ”, उनले भने ।

    बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा कुनै छलफल नभएको उनको भनाइ छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

  • दूतावासमा श्रमिक डेक्स राखिने

    दूतावासमा श्रमिक डेक्स राखिने

    काठमाडौं ।  नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो।

    माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौँ झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारका समस्या सम्बोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए ।

    प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो। गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवम् कामदारहरूको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको हो।

    विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवम् कामदारको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्कको व्यवस्थासम्बन्धी माघ २५ गतेको निर्णयमा भनिएको छ, “विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकका समस्यालाई तत्काल सम्बोधन गर्न तथा समस्या समाधानमा थप सहजीकरण गर्नका लागि विदेशस्थित सबै नेपाली नियोगमा श्रमिकका सबै प्रकारका समस्या सम्बोधन, सहजीकरण एवं मन्त्रालयमा प्रतिवेदन गर्न सबै नियोगहरूमा श्रम डेस्क स्थापना गर्ने सम्बन्धमा यही मिति २०७९।१०।२५ गते सम्माननीय प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय भएको छ। त्यसैगरी परराष्ट्र मन्त्रालयमा समेत श्रमिकका समस्या समाधानार्थ समन्वय गर्न छुट्टै “डेडिकेटेड फोकल प्वाइन्ट” तोकी कार्यारम्भ गर्ने निर्णय भएको छ। यसबाट विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिकका समस्या तत्काल सम्बोधन हुने अपेक्षा गरिएको छ।”

  • भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ: काठमाडौं

    भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ: काठमाडौं

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए ।

    अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

    सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई काम थालेको उनले बताए । उनले अघि भने, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता सरकारले गरेको छ ।’

  • आइतबार देशभरका स्वास्थ संस्था बन्द हुने

    आइतबार देशभरका स्वास्थ संस्था बन्द हुने

    काठमाडौं । नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले जनाएको छ ।

    शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको सङ्घले जनाएको छ ।

    शनिबार एक विज्ञप्ति जारी गर्दै सङ्घले माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    ‘‘२०७९ माघ २७ गते नेपाल चिकित्सक सङ्घका  आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको घटनप्रति नेपाल चिकित्सक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।,’’ सङ्घका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

    काठमाडौं । थाइ स्माइल जहाजको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

    गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    तत्कालीन महाप्रबन्धक भोलाप्रसाद गुरागाईं उमेरहदका कारण सेवानिवृत्त भएपछि ठाकुर २०७६ फागुन ६ गते विमानस्थलको महाप्रबन्धकमा नियुक्त भएका थिए ।

  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: ऋणीलाई राहत, नीतिगत दर ७ प्रतिशत

    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: ऋणीलाई राहत, नीतिगत दर ७ प्रतिशत

    काठमाडौं । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।

    समीक्षामार्फत २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको छ ।

    केन्द्रीय बैंकले गरेको समीक्षामा भनिएको छ, “२०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिनेछ ।” यसले ऋणीलाई केही राहत प्रदान गर्नेछ ।

    यस्तै, साना तथा मझौला उद्योग–व्यवसायसञ्चालनका लागि सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई गत पुस मसान्तसम्ममा सक्रिय वर्गमा रहेको रू दुई करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आगामी असार मसान्तभित्र पुनःसंरचना तथा पुनः तालिकीकरण गर्न पाउने व्यवस्था मिलाउने प्रबन्ध गरिएको छ ।

    बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्क्रिय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवं सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्नेलगायत व्यवस्था पुनरावलोकन गर्ने नीति लिइएको छ ।

  • शुभम पावरको आइपीओ बाँडफाँड, साढे १२ लाख बढीको हात खाली

    शुभम पावरको आइपीओ बाँडफाँड, साढे १२ लाख बढीको हात खाली

    काठमाडौं । शुभम पावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल आज बिहान आइपीओ बाँडफाँड गरेको हो ।

    क्यापिटलका अनुसार गोलाप्रथाबाट ४८ हजार १८६ जनाले १० कित्ताका दरले सेयर हात पारेका छ भने २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । साढे १२ लाख बढीको हात रित्तो भएको छ ।

    कम्पनीले माघ १८ गतेदेखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड ८१ लाख ८२ हजार २०० रुपैयाँ बराबरको ४ लाख ८१ हजार ८२२ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

    कहाँबाट हेर्ने रिजल्ट ?

    कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

    यसैगरी, विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र शुभम पावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

  • खाग तस्करी गर्ने १५ जनाको गिरोह पक्राउ

    खाग तस्करी गर्ने १५ जनाको गिरोह पक्राउ

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडाको चोरी सिकारीमा संलग्न रहेका १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा सिकारीमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । ब्युरोले अपरेसन ‘रुट टु रुट’ चलाएर प्रहरीले यी सिकारीहरूलाई पक्राउ गर्न सफल भएको ब्युरोका प्रवक्ता सञ्जय सिंह थापाले जानकारी दिए ।

    लामो समय देखि काठमाडौँ र अन्य क्षेत्रमा रहेर गैँडाको खाग विक्रीमा संलग्न रहँदै आएका १५ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको थापाले जानकारी दिए । थापाका अनुसार पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँकेकी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, प्रताप चौधरी, ललितपुरका डम्बरकुमार आले मगर, गोरखाका दानबहादुर राना, स्याङ्जाका निर्मल शाही, हरिमाया राना, भरतपुरकी सम्झना चेपाङ, चितवनका राजु भनिने सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान बाइबा छन् ।

    सीआईबीले चितवनबाट राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पनि पक्राउ गरेको छ । १९ पुसमा प्रहरीले काठमाडौँ–७, सरस्वतीनगरमा गैँडाको खाग किनबेच हुन लागेको सूचना पाएको थियो । त्यही सूचनाको आधारमा पुगेको टोलीले इन्द्रमणि र जमुनाकुमारीलाई ५२२ ग्राम तौलको खागसहित समातेको थियो ।

    त्यस बेला उनीहरूलाई खागसहित डिभिजन वन कार्यालय, हात्तीसार बुझाएको थियो । त्यसमाथि विस्तृत अनुसन्धान गर्दै जाँदा गिरोह नै समातिएको व्युरोले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने क्रममा सोमबहादुर चेपाङ सहितको टोलीले भरतपुरको नवजागृति सामुदायिक वन उपभोक्ता समितिको सीमामा पर्ने खगेडी खोला वन क्षेत्रमा गैँडा मारेर खाग विक्री गर्न पठाएको खुलेको छ ।

    गैँडा मारेपछि केही दिन सोमबहादुरले कालिका नगरपालिका–९, शेरवासमा लगेर लुकाएको पाइएको उनी बताउँछन् । ‘उनले सम्झना भन्ने कमला तामाङलाई खाग विक्री गर्न दिएको पाइएको छ’, सिंह भन्छन्, ‘कमलाले काठमाडौँ लैजान वीरमानसहितको सहयोग लिएको पाइएको छ ।’ चितवनबाट मोटरसाइकलमा मुग्लिङ हुँदै काठमाडौँसम्म खाग ल्याएर लाखौँ रुपैयाँमा विक्री गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।

  • भूकम्प प्रभावित टर्की\ सिरियामा हिउँ र ठन्डीले अर्को संकट निम्त्याउँदै

    भूकम्प प्रभावित टर्की\ सिरियामा हिउँ र ठन्डीले अर्को संकट निम्त्याउँदै

    काठमाडौं । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०,००० भन्दा बढी पुगेको छ। यद्यपि संयुक्त राष्ट्र सङ्घले प्रकोपको पूर्ण असरबारे अझै यकिन नभएको बताएको छ। उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। तर भूकम्प गएको १०० घण्टा पुग्न लाग्दा बाँचेका कोही भेटिनेबारे आशा हराउँदै गएको छ। अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्प पीडितको जीवन समेत जोखिममा छ। उनीहरू प्रकोपपछि आवास, पिउने पानी र खानाबाट वञ्चित छन्।

    टर्कीका राष्ट्रपतिले उक्त भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन्। प्रभावितहरूका लागि एक प्रमुख अन्तर्राष्ट्रिय राहत प्रयासले गति लिएको छ। विहीवार विश्व ब्याङ्कले टर्कीलाई आधारभूत पूर्वाधारको पुनर्निर्माण र भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न तत्काल वित्तीय सहायतासहित १.७८ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    तर भूकम्पले क्षति गरेका ठाउँहरूमा खटेका १,००,००० भन्दा बढी उद्धारकर्मीहरूको प्रयासमा भने सवारीसाधनको अभाव र सडकहरू भत्किनुलगायत समस्याका कारण अवरोध निम्तिरहेको छ। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले विपत्तिको पूर्ण हद अझै ‘हाम्रो आँखा अगाडि देखा परिरहेको” चेतावनी दिए। विशेषगरी लामो समयदेखि जारी गृहयुद्धले ध्वस्त पारेको सिरियाको स्थितिमा उनले जोड दिए।

    विहीवार इडलिब प्रान्तको बाब अल(हवा क्रशिङ हुँदै उत्तर-पश्चिम सिरियामा पहिलो संयुक्त राष्ट्र सङ्घीय मानवीय सहायता पठाइएको छ। सिरियाली सरकार पक्षधर सेना नियन्त्रित क्षेत्रहरूमा नपुगी संयुक्त राष्ट्र सङ्घको सहायता प्रभावित क्षेत्रमा पुग्ने एक मात्र बाटो उक्त क्रशिङ हो। गुटेरसले थप सहयोगको पठाउने प्रतिबद्धता जनाए र उनले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई एकभन्दा बढी सीमामार्फत सहायता पठाउने अनुमति दिन आग्रह गरे।

  • राजनीतिक अस्थिरताप्रति बाबुराम भट्टराई चिन्तित

    राजनीतिक अस्थिरताप्रति बाबुराम भट्टराई चिन्तित

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चुनावको तीन महिना नपुग्दै सरकार परिवर्तन हुनुजस्ता घटनाले अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत गर्ने बताएका छन्। विश्वासको मत नपाएर नेकपा एमाले नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार बेलुकी ट्वीट गर्दै उनले यस्ता घटनाले अस्थिरता निम्त्याउन सक्ने उल्लेख गरेका छन्। ‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम प्रदेश सरकार पतन। यी घटनाले देश अर्को अस्थिरताको दुष्चक्रममा फस्न लागेको संकेत गर्छ,’ भट्टराईले भने।

    गत मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो। सत्ता गठबन्धनबाट बनेको सुदूरपश्चिम सरकार सत्ताघटक दल नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत नदिने भएपछि बिहीबार ढलेको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरेको प्रदेश सभा बैठकमा ७ जना सांसद रहेको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित रहे। सुदूरपश्चिममा बिहीबार नै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ।

    सत्ता गठबन्धनकै समर्थनमा बनेको सरकार एक महिनामै ढलेपछि सात दलीय सत्ता गठबन्धनभित्र असन्तुष्टिसमेत देखिएका छन्। नागरिक उन्मुक्तिले भने जेलमा रहेका रेशम चौधरीलगायत रिहाइ हुनुपर्ने अडान राख्दै आइरहेको छ। यो माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने पनि नागरिक उन्मुक्तिको अडान छ।
    भट्टराईले अब हुने राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने पनि बताएका छन्। फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्ने पक्षमा छन् भने सत्ता साझेदार दल नेकपा एमालेले पूर्वसहमतिअनुसार आफूहरूले राष्ट्रपति पाउनुपर्ने बताइरहेको छ। तर प्रधानमन्त्रीलाई गत पुस २६ मा विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि संसदको ठूलो दलको हैसियतमा राष्ट्रपति आफूहरूले पाउनुपर्ने बताइरहेको छ। साथै भट्टराईले अर्थतन्त्रमा गम्भीर संकट देखा परेकोसमेत उल्लेख गर्दै भनेका छन्, ‘अब पनि द्वन्द्व कि सहमतिको बाटो ?’

  • राष्ट्रपतिबाट आज संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने

    राष्ट्रपतिबाट आज संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्दैछिन् । आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएको छ । राष्ट्रपतिको कार्यकाल सकिन लागेको छ । आगामी फागुन २८ गते उनको कार्यकाल सकिने भएकोले राष्ट्रपति भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

    भण्डारीको यो दोस्रो कार्यकाल हो । संवैधानिक व्यवस्था अनुसार एकै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुने व्यवस्था छैन । फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिने भएकोले त्यसअघि २५ गते नै राष्ट्रपति निर्वाचनको मिति तय गरिएको छ । त्यसका लागि तयारी थालिएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको सम्बोधनपछि संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रचण्डले सम्बोधनको प्रति टेबल गर्नेछन् भने सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

  • लिग टूका लागि नेपाली टोली घोषणा, सन्दीपले खेल्ने निश्चित

    लिग टूका लागि नेपाली टोली घोषणा, सन्दीपले खेल्ने निश्चित

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टू अन्तरगत फागुन २ बाट सुरु हुने नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । बलात्कारको आरोप लागेपछि निलम्लनमा परेका पूर्वकप्तान सन्दीप लामिछानेलाई पनि टिममा समावेश गरिएको छ । २९ कात्तिकमा धरौटीमा छुटेका उनको निलम्बन फुकुवा गरेको भन्दै क्रिकेट संघको चर्को आलोचना भएको थियो । त्यसका बाबजुद प्रशिक्षण गराएको क्यानले उनलाई टिममै समावेश गरेको छ ।


    यस्तै ब्याटर सन्दिप जोरा र भिम शार्की तथा अलराउण्डर कुशल मल्ल टिममा पुनरागमन गरेका छन् । युवा स्पीनर सूर्य तामाङ पहिलो पटक राष्ट्रिय टिममा पर्दा आरिफ शेख र अर्जुन साउदले भने स्थान बनाउन सकेनन् । आरिफ र अर्जुन सहित प्रतिश जिसी र मौसम ढकाल रिजर्भमा छन् ।

    नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल , आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, भिम शार्की, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ

  • किन त्याग्दैछ माओवादीले ‘माओवाद’ ?

    किन त्याग्दैछ माओवादीले ‘माओवाद’ ?

    काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टीको नाम, चुनाव चिन्ह र पार्टीको संरचना बदल्ने निष्कर्षमा पुगेको छ । बिहीबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी नाम, चुनाव चिह्न र पार्टी संरचना परिवर्तनको प्रस्ताव आएसँगै माओवादीले नयाँ बहस सुरु गरेको हो । १२–२१ माघमा सम्पन्न स्थायी कमिटी बैठकबाट अनुमोदन भएको यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको भर्चुअल बैठकमा प्रस्तुत गरे ।

    सशस्त्र विद्रोहको राजनीतिक कार्यक्रमसहित २०५२ मा नेकपा एकता केन्द्रलाई नेकपा माओवादीमा परिवर्तन गरिएको थियो । ‘गाउँदेखि सहर घेर्दै जनवादी क्रान्ति पूरा गर्न’ भन्दै त्यति बेला पार्टीको सिद्धान्तमै मार्क्सवाद र लेनिवादसँगसँगै माओवाद राखिएको थियो ।

    सशस्त्र विद्रोह त्यागेर संसदीय राजनीतिको अभ्यास गर्ने क्रममा २०७५ मा एमालेसँग एकता हुँदा पनि माओवादीले पार्टीको नाम र मार्गदर्शक सिद्धान्त स्थगन गरेको थियो । तर, सर्वोच्च अदालतले ३३ फागुन २०७७ मा नेकपा एकता बदर गरेर दुवै पार्टीलाई पुरानै स्थितिमा फर्काइदियो । यसपछि १ चैत २०७७ को केन्द्रीय कमिटी बैठकमा पनि प्रचण्डले पार्टी नाम र विचारधारा बदल्ने प्रस्ताव ल्याएका थिए । तर त्यसबेला प्रचण्डको प्रस्ताव अगाडि बढेन ।

    फेरि अध्यक्ष प्रचण्डले नै पार्टी बैठकमा नाम र चुनाव चिह्न परिवर्तनको प्रस्ताव ल्याएका छन् । माओवादीका कतिपय नेताहरुले भने विभिन्न पार्टीहरुसँग एकता गरी समाजवादी केन्द्र निर्माण गर्न नाम परिवर्तनको प्रस्ताव आएको बताउँछन् । एकीकृत समाजवादीसँग एकताका लागि वार्ता चलिरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता नजिक पुगिएको माओवादी केन्द्रले बताएको छ ।

    माओवादी नाम, माओ विचारधारा र हसिया हथौडा चुनाव चिह्नले शहरीया जनमत आकर्षण गर्न नसकेको माओवादी नेताहरुको निष्कर्ष छ । २०६४ को संविधानसभा चुनावमा पहिलो शक्ति भएको माओवादी त्यसयता भने निरन्तर ओरालो यात्रामा छ । पहिलो संविधानसभामा ३१ प्रतिशत मत पाएको माओवादी यस पटकको प्रतिनिधिसभामा ११ प्रतिशतमा खुम्चिन पुगेको छ ।

  • यू-२० महिला साफमा नेपाल उपविजेतामा सिमित

    यू-२० महिला साफमा नेपाल उपविजेतामा सिमित

    काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–० गोलले पराजित भयो । पहिलो हाफमा दुई गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १–१ गोल गरे । लिग चरणको अन्तिम खेलमा भारतलाई हराउँदै फाइनल पुगेको नेपाल उपविजेता बन्न पुग्यो ।

    बङ्गलादेश भने अपराजित रहँदै विजेता बन्यो । नेपाल लिग चरणको खेलमा पनि बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । प्रतियोगितामा नेपाल र बङ्गलादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो । सिङ्गल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा बङ्गलादेश र नेपाल शीर्ष दुई टोलीको रूपमा फाइनलमा पुगेका हुन् ।यसअघि १८ र १९ वर्षमुनिको फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिको फर्म्याटमा भएको हो ।

  • सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

    सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गर्न आजै दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री शाहको शुक्रबार शपथ ग्रहण गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    ५३ सदस्यीय प्रदेशसभामा कांग्रेस १९, माओवादी केन्द्र १० (सभामुख बाहेक), एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् । यसअघि पुस २७ गते माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, र एक जना राप्रपा सांसदको समर्थनमा गठित एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन असफल भएपछि सरकार ढलेको थियो । लगत्तै रावलले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका थिए ।

  • टर्की र सिरियामा नेपालले पठायो राहत सामग्री

    टर्की र सिरियामा नेपालले पठायो राहत सामग्री

    काठमाडौं । टर्की र सिरियामा भूकम्पबाट प्रभावितहरुका लागि नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री पठाएको जनाएको छ ।
    टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

    त्यसको सोही दिन दिउँसो पुनः ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । टर्की र सिरिया क्षेत्रमा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रबिन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् । भूकम्पमा परी आज (बिहीबार) बिहानसम्म १५ हजार ३८३ जनाको मृत्यु भइसकेको छ ।

  • एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

    एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् ।

    उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।

    ध्वनि मतमार्फत विश्वासको प्रस्तावमा मत विभाजन भएको थियो। तर विश्वासको मतको प्रस्तावको छलफलको विपक्षमा धेरै मत देखिएपछि रावल नेतृत्वको सरकार ढलेको हो। रावलले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्ताव अस्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।

  • प्रधानमन्त्री र ओलीबीचको वार्ताले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

    प्रधानमन्त्री र ओलीबीचको वार्ताले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच सिंहदबारमा भेटवार्ता भएको छ ।

    प्रदेश सरकार ढल्ने अवस्थामा पुगेपछि संयन्त्रको बैठक स्थगित गरेर छलफलमा जुगेका हुन् । निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि सरकार जोखिममा परेको छ। ३ बजे बस्ने तय भएको संयन्त्रको बैठक बस्दै नबसी स्थगित भएको हो।

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) १२.४३ अंकले बढेर २१८२.६१ विन्दुमा पुगेको हो, छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५७ कम्पनीको २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँ बराबरको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वट उपसमूहमध्ये एकवटाको बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

    यस्तै, आज सबैभन्दा धेरै बारही हाइड्रोपावर कम्पनीको शेयरधनीले कमाएका छन् भने नबिल ब्यालेन्स्ड फण्ड-३ का सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।

    यसको ५ करोड ८६ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नविल बैंकको ५ करोड ७३ लाख र ङादी ग्रुप पावर झन्डै ५ करोड ३३ रुपैयाँको कारोबार भएको छ ।

  • माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने, वरीयतामा जनार्दनभन्दा वर्षमान अघि

    माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने, वरीयतामा जनार्दनभन्दा वर्षमान अघि

    काठमाडौं । नेकपा माओवादी केन्द्रले माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारण गरेको छ ।

    पहिलो वरीयतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डरहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रोमा त्यसपछि उपाध्यक्षहरु क्रमश कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल परेका छन् । यसपछि महासचिव देवप्रसाद गुरुङ छन् ।

    उपमहासचिवको वरियतामा जनार्दन शर्माभन्दा अगाडि वर्षमान पुन परेका छन् । क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादवको वरीयता निर्धारण गरिएको छ ।

    बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो ।

    प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सारेका छन् ।

  • फेरि सर्‍यो सुदूरपश्चिम प्रदेशसभा बैठक,रावलले विश्वासको मत पाउने सम्भावना न्यून

    फेरि सर्‍यो सुदूरपश्चिम प्रदेशसभा बैठक,रावलले विश्वासको मत पाउने सम्भावना न्यून

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ। बिहीबार दिउँसो १ बजे तोकिएको बैठक ३ घण्टापछिका लागि सारिएको छ।

    आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ। यसअघि बुधबार बस्ने तय भएको बैठक नागरिक उन्मुक्ति पार्टीलाई सहमतिमा ल्याउनकै लागि भनेर बिहीबार सम्मलाई स्थगित भएको थियो।

    ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।

    सावल मुख्यमन्त्री नियुक्त हुँदा भने नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन जनाएको थियो। मुख्यमन्त्रीमा दाबी पेस गर्दा रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन थियो।

    नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत नदिने निर्णय गरिसकेको छ। उनमुक्ति पार्टीको यो निर्णयसँगै मुख्यमन्त्री रावल अप्ठेरोमा परेका छन्।

    नागरिक उन्मुक्तिले प्रदेश सरकारलाई विश्वासको मत दिन टीकापुर घटनाका राजबन्दीको रिहाइ र मुद्दा फिर्तालाई प्रमुख शर्त बनाएको थियो । तर, १० वर्ष अगाडि दोषी ठहर भएका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि उक्त पार्टी वर्तमान सरकारलाई विश्वास गर्ने अवस्थामा छैन ।

    रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

  • अघि बढ्यो रवि लामिछानेको दोहोरो पासपोर्टसम्बन्धी अनुसन्धान

    अघि बढ्यो रवि लामिछानेको दोहोरो पासपोर्टसम्बन्धी अनुसन्धान

    काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अघि बढाएको छ।

    लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न नागरिकता, राहदानीलगायत कागजात मगाएको हो । गत मंगलबार युवराज सफलले प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको हुँदा जाहेरी दरखास्त दर्ता प्रक्रिया अघि बढाइदिन भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा निदेवन दिएका थिए।

    सरकारी वकिल कार्यालयले उनको जाहेरीमा उल्लेखित विवरणहरू हेरेर दर्ता गर्नुपर्ने भए दर्ता गर्न र नपर्ने भए नगर्न प्रहरीलाई निर्देशन दिने छ।

    रास्वपा सभापति लामिछानेले अमेरिकी नागरिक रहेका बेला जानीजानी झुटो विवरण पेश गरेर नेपाली राहदानी लिएको हुँदा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)अनुसार पाँच वर्षसम्मको कैद र हदैसम्मको जरिवाना हुने गरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ।

    अमेरिकी पासपोर्ट लिएर नातेदार भिसामा नेपाल छिरेका रवि लामिछानेले त्यसकै १६ दिनमै नेपाली राहदानी बनाएका थिए।

  • प्रधानमन्त्री प्रचण्ड र यूएसएआईडी प्रमुखबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र यूएसएआईडी प्रमुखबीच भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो।

    यसअघि उनले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मंगलबार नै भेटवार्ता गरेकी थिइन् । अर्थ मन्त्रीसँगको भेटमा नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिएकी थिइन् । उनले मङ्गलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी हुन् ।

  • हवाई यात्रुले नेपाली आकासमा पनि इन्टरनेट  चलाउन पाइने गरी सेवा थपिने

    हवाई यात्रुले नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने गरी सेवा थपिने

    काठमाडौं । हवाई यात्राका दौरान नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने गरी बाटो खुलेको छ । यसका लागि अब वायुसेवा कम्पनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको शर्त पुरा गरी यस्तो सेवा जडान गर्न सक्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले इनफ्लाइट कम्युनिकेसन (आईएफसी) सर्भिस सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो बाटो खोलेको हो । यसअघि सरकारले यस्तो सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न प्राधिकरणले निर्देशिका जारी गरेको हो ।

    निर्देशिका अनुसार नेपाली आकाशमा १० हजार फिटभन्दा माथिको उचाइमा उडानमा रहेको जहाजमा यस्तो सेवा दिइनेछ । ट्याक्सिङ, उडान वा अवतरणका दौरान र १० हजार फिट भन्दा तलको उचाइमा भने कुनै पनि जहाजमा यस्तो सेवा यात्रुले चलाउन पाउने छैनन् । यसअघि नेपालको आकाश हुँदै अन्य मुलुकमा जाने वायुसेवा कम्पनीहरुको उडानका दौरान चलिरहेको वाइफाइ तथा अन्य फ्रिक्वेन्सी सेवाहरु काटिने अवस्था थियो । त्यसमा पनि नेपालको आकाश हुँदै उचाइमा उड्ने विदेशी जहाजहरुमा चलिरहेको सेवा अब नेपाली आकाशमा ‘ओभरफ्लाइङ’ गर्दा समेत सेवा अवरुद्ध हुने छैन ।

    प्राधिकरणका अनुसार नेपाली कम्पनीहरुले समेत संसारका धेरै मुलुकमा प्रयोगमा आएको यो सुविधा प्रयोग गर्नेबारे चासो राखेसँगै निर्देशन जारी गरी यसको प्रयोग गर्ने बाटो खुला गरिएको हो । इनफ्लाइट कम्युनिकेसन सर्भिस सर्भिस प्रदायक कम्पनीले स्याटलाइट अपरेटरबाट इन्टरनेट नेटवर्क सेटअप गर्छन् । प्राधिकरणका अनुसार इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिस आन्तरिक तथा बाह्य दुवै कम्पनीहरुले उपलब्ध गराउन सक्ने भएका छन् ।

    नेपालमा दर्ता भएका विमानमा आईएफसी सेवा उपलब्ध गराउन चाहने नेपालका वायुसेवा कम्पनीले आफूले कस्तो सेवा प्रदान गर्न चाहेको सो बारे खुलाएर निवेदन दिने सक्ने भएका छन् । आईएफसी सेवा प्रदायकबारे जानकारी, एयरलाइन्स र आईएफसी सेवा प्रदायक कम्पनी बीचको समझदारी, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस पत्र, अन्य आवश्यक कागजात नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएसँगै वायुसेवा कम्पनीले यो सेवा सञ्चालनको अनुमति पाउने छन् ।

    त्यसका लागि ‘नो अब्जेक्सन प्रमाणपत्र (एनओसी)’ नेपाली वायुसेवा कम्पनीका लागि जारी गर्न सक्छ । एनओसी र अनुमति पत्र जारी गरी सञ्चार मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राकिकरणलाई जानकारी गराउने भएको छ ।

    विदेशी वायुसेवा कम्पनीले यस्तो सेवा लिन चाहेमा नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस लिई दूरसञ्चार प्राधिकरणमा अनुमति लिन निवेदन दिनुपर्छ । यस्तो सेवा विमान ग्राउन्डमा रहेका बेला, अवतरणको बेला र जमिनबाट १० हजार फिट भित्र रहेको अवस्थामा प्रयोग गर्न पाइने छैन । यस्तो सेवाले दूरसञ्चार सेवा प्रदायको फ्रिक्वेन्सीलाई प्रभावित गर्न पाउने छैन ।