Category: फिचर

  • सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश

    सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न दिएको आदेशको कैफियत प्रतिवेदन झिकाउर्न आदेश दिएको छ ।

    न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो ।

    नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी दिएको आदेश उच्च अदालत पाटनले उल्टाइदिएको थियो ।

    तर १० वर्षभन्दा बढी कैद सजाय हुने जघन्य कसुरमा अभियुक्तलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश बेरितको भएको भन्दै महान्यायाधिवक्ता कार्यालय निवेदन लिएर सर्वोच्च अदालत गएको थियो ।

  • नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चाैधरी कारागार चलान

    नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चाैधरी कारागार चलान

    काठमाडौं । ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएपछि पनि फरार रहेका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी कारागार चलान भएका छन् ।
    बिहीबार पक्राउ परेका उनलाई कैलाली प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कारागार चलान गरेको हो ।

    ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्षअगाडि नै दोषी ठहर भएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए । उनलाई सुरक्षा संवेदनशीलता भन्दै बाँकेबाट जहाजमा काठमाडौं ल्याएर जहाजमै धनगढी लगिएको थियो ।

    फरार सूचीमै रहेका बेला चुनाव लडेका उनी विजयी भएका थिए । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद् ‍चौधरीको रिहाइकाे माग गर्दै बिहीबार नै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

    २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले अरुण चौधरीसहित पर्शराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

    याे मुद्दामा २०७० वैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद सजाय सुनाएको थियो ।

  • मिस नेपालका लागि आवेदन खुला

    मिस नेपालका लागि आवेदन खुला

    काठमाडौं । द हिडेन ट्रेजर मिस नेपालले – २०२३ को आवेदन खुला गरेको छ । द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्रा शुभारम्भ गर्न लागिएको जानकारी गराए । उनले मिस नेपाल २०२३ को फाइनल प्रतियोगिता दुई हजार आठ सय दर्शकको क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज कन्भेसन सेन्टरमा हुने समेत जानकारी दिए । न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिनसक्ने आयोजकले बताएको छ ।

    इच्छुक आवेदकसँग नेपाली नागरिकतासहित नेपाली राहदानी हुनुपर्ने प्रावधान छ । आयोजकले देशका सातै प्रदेशमा अडिसनको मिति तोकेको छ । काठमाडौं अडिसन मार्च १८ मा साझेदार होटेल बुढानीलकण्ठस्थित केजीएच पार्क भिलेजमा हुनेछ । त्यस्तै, इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीको क्षेत्रीय अडिसन मार्च १५ गतेभित्रै हुने जनाइएको छ । यसको स्थान र मिति पछि घोषणा गरिनेछ ।

  • भिजिट भिषामा दुबई पुगेकी युवती बेचबिखनमा परेपछि…

    भिजिट भिषामा दुबई पुगेकी युवती बेचबिखनमा परेपछि…

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पुर्याई बेचबिखनमा परेको पाइएको छ । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेको सरकारी सञ्चारमाध्यम गोरखापत्रमा उल्लेख छ । बेचबिखनमा परेकी किशोरी कुवेतमा पुर्याई यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचनापछि कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको उद्धारको प्रयास भइरहेको छ । गत मङ्सिर २६ गते भिजिट भिसाबाट दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पुर्याई जनही कम्तीमा पाँच लाखमा बिक्री गरिएको खुलेको छ ।

    मानव बेचबिखनमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका–२ का लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ का डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको छ । उद्धार गरी नेपाल ल्याइएकी युवतीका अनुसार पोर्चुगल र अमेरिकालगायतका मुलुकमा पठाउने भन्दै कुवेतमा पुर्याएपछि एक हजार तीन सय कुवेती दिनारमा बिक्री गरिएको थियो । बेचबिखनमा परेपछि आफूहरूमाथि निरन्तर यौनशोषण तथा चर्को श्रम शोषणमा गरेका छन् ।

    पीडित युवतीले कुवेतमा पुगेपछि पाँच जना व्यक्तिले गर्नुपर्ने काम एक्लै गर्न बाध्य पारिएको तथा तोकिएको काम गर्न नसके कुटपिट हुने गरेको प्रहरीको बयानमा उल्लेख गरेका छन् । उपरीक्षक मल्लले बेचबिखनमा परेका युवतीलाई दैनिक १८ घण्टासम्म काममा लगाई श्रम शोषण गरेको तथा काम गर्न नसक्ने युवतीलाई चोरीलगायतका आरोपमा फसाउने गरिएको बताएका छन् ।

    कुवेतमा रहेका मानव तस्करका गिरोहले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुकलगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरी त्यसलाई रेकर्ड गरेर परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिई थप शोषण गरिएको थियो । यस्ता घटनामा संलग्न फरार अन्य व्यक्तिको खोजी जारी रहेको समेत ब्युरोले जनाएको छ ।

  • गृह मन्त्रालय विवादबारे आज माओवादीले पार्टी भित्र छलफल गर्दै

    गृह मन्त्रालय विवादबारे आज माओवादीले पार्टी भित्र छलफल गर्दै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, गृहमन्त्रालय लगायत विषयमा छलफल हुने बताइएको छ । बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको समेत जानकारी गराएका थिए।

    यता गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट हट्नेसम्मको कुरा गरेको रास्वपाले दुई दिनसम्म पर्खने निर्णय गरेको छ। अध्यक्ष प्रचण्डले रविको मुद्दाको अन्तिम टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन्। तर सत्ता साझेदार दल नेकपा एमालेले भने गृह मन्त्रालय रविलाई दिनुपर्ने अडानमा छ ।

  • सन्दीपलाई थुनामा राख्न माग गर्दै दायर निवेदनमा आज सुनुवाई

    सन्दीपलाई थुनामा राख्न माग गर्दै दायर निवेदनमा आज सुनुवाई

    काठमाडौं । बलात्कारको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि जेलमा थिए । तर, उनलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेशपछि अहिले उनी राष्ट्रिय टीममा समेत परिसकेका छन् । यो निर्णय बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज पहिलो सुनुवाइ हुँदैछ । मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी शुक्रबार तोकिएको हो ।


    ‘सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेकबारे गरेको व्याख्याको प्रतिकूल भएको आधार लिएर बिहीबार निवेदन दर्ता गरिएको हो । दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो।

    मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु लागेको छ। देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन।

    जसका कारण देशभरकै तापक्रम क्रमशः बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागले आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रहने जनाएको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति प्रदेश– १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    विभागले तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। यस्तै भोलि शनिबार प्रदेश नं= १, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।

    आइतबार पनि प्रदेश नं= १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। तराईमा बिहान र बेलुकीपख हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • सिक्किमका नेपालीभाषी ‘विदेशी आप्रवासी’ भएको अदालतको फैसला

    सिक्किमका नेपालीभाषी ‘विदेशी आप्रवासी’ भएको अदालतको फैसला

    काठमाडौं । कुनै बेला अलग्गै देश रहेको सिक्किम भारतमा बिलय भएको चार दशक भइसक्यो । तर भारतीय सर्वोच्च अदालतले त्यहाँका नेपालीभाषी जनतालाई आप्रवासी विदेशीको हैसियत दिँदै फैसला गरेको छ । त्यसको विरोधमा अहिले सिक्किमभरी विरोध प्रदर्शन भइरहेको छ । भारतीय सर्वोच्च अदालतले पछिल्लो एक फैसलामा सिक्किममा रहेका नेपाली भाषा बोल्ने नागरिकलाई आप्रवासी र विदेशी करार गरेको भन्दै सिक्किमका नागरिक आक्रोशित भएका हुन् । गान्तोक लगायत मुख्य बजारहरुमा प्रदर्शन चर्केको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।
    सिक्किम स्टुडेन्ट्स एशोसियसन दिल्लीलगायत संस्थाले सर्वोच्चको फैसलाविरुद्ध वक्तव्य जारी गर्दै यही रबैया कायम रहे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

    ‘यसअघि समेत हामीलाई परदेशीजस्तो गरी व्यवहार गरिन्थ्यो, अब त अदालतकै फैसलामा हामीलाई गलत धारणा र परिभाषाको शिकार बनाउन खोजिएको छ,’ एशोसियसनका अध्यक्ष रिगेल तामाङले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘संविधानको आठौं अनुसूचीको खिलाफ हुनेगरी आएको फैसलाले नेपाली भाषा बोल्ने नागरिकको भावनामाथि अपमान भएको छ । हामी यसको विरोध गर्छौं र पुनरावेदनका लागि अपील पनि गर्छौं ।

    ’द प्रिन्ट डिजिटल पत्रिकाका अनुसार सिक्किमको सरकार चलाइरहेको पार्टी, विपक्षी सबै कार्यकर्ताहरुले अदालती कदमको विरोध गरेका छन् ।

  • सरकारबाट तत्काल नबाहिरिने र गृहबारे निर्णय लिन २ दिनको अल्टिमेटम दिने रास्वपाको निर्णय

    सरकारबाट तत्काल नबाहिरिने र गृहबारे निर्णय लिन २ दिनको अल्टिमेटम दिने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ । गृह मन्त्रालय दिन प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो । बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेका थिए ।

    दुबै नेताले २ दिनको समय मागेकाले पर्खिनो निर्णय गरेको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए । नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटेका थिए । तर प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।

    रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट फिर्ता आउने चेतावनीसमेत दिएको थियो । वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्की रहेका छन् ।

  • सन्दीप राष्ट्रिय टीममा परे

    सन्दीप राष्ट्रिय टीममा परे

    काठमाडौं । नेपालको राष्ट्रिय टीममा सन्दीप लामिछानेलाई बोलाइएको छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गर्दा उनलाई पनि समावेश गरिएको हो । दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले २० जनाको टिम बिहीबार साँझ घोषणा गरेको हो। टिममा बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ।

    यसअघि बिहीबार साँझ मात्र सन्दीपलाई नेपाली टिमको बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको थियो। सूर्य तामाङ र मौसम ढकालले दोस्रो चरणको टिममा पनि स्थान बनाएका छन्। विनोद भण्डारी, सागर ढकाल, सिद्धान्त लोहनी, अभिनास बोहरा, अनिल साह, विक्रम शोव, भुवन कर्की, अंकित सुवेदी र शरद भेषवाकर बाहिरिएका छन्। कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ र अर्जुन साउद टीममा परेका छन् ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिज फागुन २ मा सुरू भएर फागुन ९ मा सकिनेछ। लिग २ को ९ वटा सिरिज मध्ये नेपालले आफ्नो सातौं सिरिज खेल्न लागेको हो। यस्तै नेपालले लिग २ मा आफ्नो दोस्रो सिरिज घरेलु मैदानमा खेल्न लागेको हो। यो सिरिजपछि नेपालले पपुवा न्युगिनी र युएईविरुद्धको सिरिज घरेलु मैदानमा खेल्नेछ भने यी दुवै टिमविरुद्धको अन्तिम सिरिज पपुवा न्युगिनीमा खेल्नेछ। दुवै सिरिजको मिति पक्का भइसकेको छैन।

  • सांसद अरुण चौधरी पक्राउ

    सांसद अरुण चौधरी पक्राउ

    काठमाडौं । ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएपछि पनि फरार रहेका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ परेका छन् ।

    आगजानी मुद्दामा अदालतबाट दोषी ठहर भएका उनी बाँकेको वैजनाथ गाउँपालिका–२, गावरबाट आज पक्राउ परेका हुन् ।

    २०७० सालमा ट्याक्टरमा आगो लगाएको घटनामा जिल्ला अदालत कैलालीले उनीमाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनको निम्ति सांसद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सांसद चौधरी उन्मुक्ति पार्टीका नेता हुन् ।

  • दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ९ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ९ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से)२२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५७ कम्पनीको २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ बराबरको ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । बुधवार १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक राताम्मे भएको छ । घटेको बजारमा १ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त कम्पनीको शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • रविलाई न्याय गर्नु पर्ने भन्दै एक युवकले गरे आत्मदाहको प्रयास

    रविलाई न्याय गर्नु पर्ने भन्दै एक युवकले गरे आत्मदाहको प्रयास

    काठमाडौं । रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेको हो । ।

  • आलोचकलाई रविको जवाफ-म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो’

    आलोचकलाई रविको जवाफ-म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् ।

    उनले सामाजिक सञ्जालमा मौनता तोड्ने बताउँदै लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

    अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन्। अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन। त्यही भएर उनको चक्रव्युहभित्र उनको हत्या भएको थियो।

  • नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो । आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार रुपैयाँ तोकिएको छ । बुधबार सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ ।

  • माघ १९, प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’, यस्तो थियो पूर्व राजा ज्ञानेन्द्रको शाही घोषणा

    माघ १९, प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’, यस्तो थियो पूर्व राजा ज्ञानेन्द्रको शाही घोषणा

    काठमाडौं । नेपालको राजनीतिक इतिहासमा माघ १९ गतेलाई कालो दिनका रुपमा स्मरण गरिँदैछ ।

    वि.स. २०६१ साल माघ १९ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले आजको दिनलाई प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य गरी आफ्नो हातमा सत्ता हत्याएको दिन हो ।

    आजकै दिन प्रजातान्त्रिक व्यवस्थामाथि धावा वोल्दै पूर्व राजा ज्ञानेन्द्रको निरङकुश राजतन्त्रले सत्ता हत्याएकोले आजको दिनलाई कालो दिनको रुपमा चिनिन्छ ।

    शाह आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए। दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए।

    रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो। शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए।

    दरबार हत्याकाण्डपछि राजगद्धी सम्हालेका राजा ज्ञानेन्द्रले शान्ति सुरक्षाको पुनःस्थापना र प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने नाममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डललाई २०६१ माघ १९ मा अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गरी शासन सत्ता आफनो हातमा लिएका थिए । तर, राजा ज्ञानेन्द्रको शासन सत्ताको त्यही महत्वकांक्षाले आज राजतन्त्रको अवसान गराउन सफल भयो ।

    ज्ञानेन्द्रको निरङकुसताका विरुद्ध राजनीतिक दलहरु आन्दोलनमा उत्रिए तर त्यस आन्दोलनलाई शाहि सरकारले दमन गर्यो । एक वर्र्ष सम्म पनि आन्दोलन गर्दा पनि ज्ञानेन्द्रको दमनका विरुद्ध जनताहरु सहभागीता हुन सकेन ।

    यसबाट तत्कालीन संसदवादी दलहरु माओवादी समक्ष सहमती गर्न वाध्य भए र माओवादी संग वार्ता गरे । यसैक्रममा द्धन्द्ध माओवादी र सात राजनीतिक दलबीच २०६२ मंसिरमा ऐतिहासिक १२ बुँदे समझदारी भयो ।

    तत्कालिन संसदवादी सात दलहरु र नेपाली राजनीतिमा सशस्त्र जनयुद्धमा होमिएको माओवादीबीच दिल्लीमा भएको १२ वुदे संझौतामा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने, संविधानसभाको निर्वाचन गर्ने लगायतका सहमतीमा संयुक्त आन्दोलनको लागि एकता गर्ने आधार बन्यो । माओवादी र संसदवादी दलहरुविचको सहमतीपछि आन्दोलनले चर्कोरुप लियो ।

    आन्दोलनमा व्यापक जनसहभागिता भयो भने दमनका विरुद्ध लाखौ लाख जनताहरु सडकमा उत्रिए । १९ दिन सम्म चलेको आन्दोलमा २९ जना शहिद भए । यहि आन्दोलनको कारणले राजतन्त्रले घुडा टेक्यो र जनतासामु आत्मसमर्पण गर्यो । माओवादी र संसदवादी दलहरुविचको १२ वुदे समझदारीको आधारमा भएको आन्दोलन नै २३८ वर्र्ष लामो राजसंस्था अन्त्यको कारण पनि बन्न पुग्यो ।

    राजा ज्ञानेन्द्रको २०६१ माघ १९ को शाही घोषणा

    प्यारा देशवासीहरू,

    १. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्रारम्भ गरिबक्सेको एकीकरण अभियानबाट निर्माण भएको नेपाल अधिराज्यमा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउन हाम्रा पूर्वजबाट ऐतिहासिक महत्वका क्रान्तिकारी पाइला चालिबक्सेर देश र जनतालाई उज्ज्वल भविष्यप्रति आलोकित गरिबक्सेको सर्वविदितै छ। नेपालको एकीकरण, प्रजातन्त्रीकरण र आधुनिकीकरणको प्रत्येक मोडमा नेपाली जनता र राजा दुवै मिलेर निर्णायक भूमिका खेलेको इतिहास स्वयं साक्षी छ।

    २. आज जनचाहनाबमोजिम देश र जनताका लागि शान्ति पुनःस्थापना गरी बहुदलीय प्रजातन्त्रको रक्षाका लागि फेरि एकपटक ऐतिहासिक निर्णयको घडीमा हामी आइपुगेका छौं। हत्या, हिंसा र विध्वंसले देशलाई विनाशको भिरालोमा पुर्‍याउँदा पनि देश र जनताको नाममा राजनीति गर्नेहरूले देश र जनताको हितप्रति आँखा चिम्लिन छाडेनन्। सत्ताका लागि हानाथाप, सत्ता पाएपछि राज्य संयन्त्रको दुरूपयोग तथा देश र जनताको मूल्यमा व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्ने प्रतिस्पर्धाले परिस्थिति निरन्तर बिग्रने क्रम चली नै रह्यो।

    राजनैतिको नाममा कानूनी राज्यको सर्वमान्य मर्यादा पनि भंग गर्ने प्रयास भए। बहुदलीय प्रजातन्त्रको सार्थक अभ्यासद्वारा हाम्रा प्यारा जनताले सामाजिक, राजनैतिक एवं आर्थिक न्याय पाऊन् भन्ने हाम्रो चाहनाले मूर्तरूप लिन सकेन। जनहितमा निर्माण गरिएका विकासका पूर्वाधारसमेत ध्वस्त पार्नेजस्ता देश र जनविरोधी अपराध निरन्तर बढ्दै गए।

    आतंकवादविरुद्ध सम्पूर्ण प्रजातान्त्रिक शक्ति संगठित रूपमा प्रस्तुत हुनुपर्नेमा सत्ताको हानाथापमा लागेर सोझा कार्यकर्तालाई जनहितका लागि बनेका सुविधाहरू ध्वस्त पार्न उक्साउनुलाई नै नेताहरूले राजनैतिको नाम दिन थाले। यसरी निरन्तर बिग्रदै गएको अवस्थामा आतंककारी गतिविधिमा पूर्णविराम लगाएर शान्ति सुरक्षाको पुनःस्थापनाद्वारा जनचाहना पूरा गर्ने संकल्प लिनुपरेको छ।

    प्यारा देशबासीहरू,

    ३. प्रजातन्त्र र प्रगति एक अर्काको परिपूरक हुन्। तर नेपालको विगत केही वर्षको तितो अनुभवले यसलाई असंगति सावित गर्ने चेष्टा गर्‍यो। सत्ताका लागि केन्द्रीत राजनीतिमा नै अल्मल्याएर बहुदलीय प्रजातन्त्रलाई अवमूल्यन गरियो।

    सरकार टिकाउने र फाल्ने होडमा संसदमा विकृति भित्र्याइयो। कुनै पनि प्रतिनिधिसभालाई आफ्नो अवधि पूरा गर्न दिइएन। प्रजातान्त्रिक प्रक्रिया बेथितिको निरन्तरताले अवरुद्ध हुन थाल्यो। जनताको आशा भंग गर्ने, भरोसा भत्काउने र प्रजातन्त्रमा नै वितृष्णा फैलाउने क्रम बढ्दै गयो। चुनाव गराउन नसकेपछि कसैप्रति पनि उत्तरदायी हुनु नपर्ने अप्रजातान्त्रिक सरकारको अभ्यास सुरु गर्ने तारतम्य मिलाउन खोजियो।

    जनप्रतिनिधिहरूको शून्यता सिर्जना गर्न सबै दल लिखित रूपमा एकजुट भए, तर यो शून्यता हटाउन मिलेर काम गर्न भने सहमत भएनन्। राजनैतिक दलहरूको संलग्नता र सहमतिमा भएको जनप्रतिनिधित्वबिनाको शासन व्यवस्थाको चाँजोपाँजो जनचाहना तथा बहुदलीय प्रजातन्त्रको मर्यादा अनुकुल थिएन। त्यसैले शीघ्रतिशीघ्र जनप्रतिनिधित्व प्रणालीलाई क्रियाशिल तुल्याउने उद्देश्यले प्रजातन्त्रमा निष्ठा राख्ने सबैलाई हामीबाट आह्वान गरिबक्सेका थियौं।

    आमजनता, जेठा नागरिक, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलका नेतालाई पटकपटक भेटेर जनमत बुझ्ने र जनचाहना तथा देशको आवश्यकता सम्झाउने प्रयास पनि गरिएकै हो। नेपाल र नेपाली जनताले भोग्नु परिरहेको अशान्ति र ध्वंसात्मक गतिविधिको अन्त गरी देशलाई शान्तिपूर्ण अवस्थामा फर्काउन अब ढिलो गर्नुहुँदैन भन्ने नेपाली जनता र नेपालका हितैषीहरूको एकमात्र चाहना भएको तथ्य पनि सम्झाइएकै हो।

    शान्ति सुरक्षा कायम गरी आमचुनाव गराउन विभिन्न दलका नेतालाई कार्यकारिणी अधिकारसहित मन्त्रिपरिषद् गठन गर्ने अवसर पनि पटकपटक दिइएकै हो। तर परिस्थितिमा सुधार आउन सकेन। मिलेर सरकार नचलाउने, सत्ता बाहिर जाने बित्तिकै सरकारको विरोधमा उत्रने संक्रामक रोगले राष्ट्रिय राजनीतिलाई सिकिस्त बनायो। प्रजातन्त्रसमक्ष आतंकवादले तेर्साएको एकदलीय निरकुंशताको चुनौतीलाई निष्तेज तुल्याउने गम्भीर प्रयास हुनै सकेन।

    राष्ट्रिय सुरक्षाका विषयमा हलुका टिप्पणी गर्ने बानी हटेन। देश र जनताको सुरक्षाका लागि रातदिन क्रियाशील रहने सुरक्षा निकायका कर्तव्यनिष्ठ अधिकारी तथा जवानको देशभक्तिको सत्प्रयासमा बल पुर्‍याउने जिम्मेवारपन दलहरूमा देखिएन। देश र जनताविरुद्ध चलिरहेको विनाशको दुष्कर्मलाई सदाका लागि अन्त गर्न बहुदलीय प्रजातन्त्रवादीहरूबीच देशहितको बिन्दुमा निष्ठापूर्ण एकता कायम हुन सकेन। दलहरूले जनचाहनाअनुसार राष्ट्रिय प्राथमिकता ठम्याउन पनि सकेनन्।

    ४. नेपाली जनताले इतिहासमा यस्तो आतंक, सास्ती र शोषण कहिल्यै भोग्नुपरेको थिएन। अपराधीहरूबाट नै दण्डित हुनुपर्ने, आफ्नो वैध सम्पत्ति अपराधीले कब्जा गर्दा पनि जनताका नाममा सत्तामा पुगेकाहरूबाट संरक्षण पाउन नसक्ने, जनताको प्रतिनिधित्व गर्छु भन्ने दलहरू जनताको पक्षमा नउभिने दुरावस्था कुनै पनि प्रजातन्त्रले कहिल्यै पनि भोग्नुपरेको थिएन।

    नेपाली जनताको चाहना र राष्ट्र हितलाई बेवास्ता गरी प्रायोजित भीडलाई अघि सारेर व्यक्ति वा झुन्डको दुराग्रहलाई राष्ट्रिय एजेन्डा बनाउन सकिंदैन। देश र जनताको भविष्यप्रतिको दायित्वबोधले धेरैपटक घच्घच्यायो। परिस्थिति एउटा यस्तो नाजुक मोडमा आइपुग्यो, जब देश र जनताको हितमा जनभावनाबमोजिम निर्णय लिन हामी बाध्य हुनै पर्‍यो।

    प्यारा देशबासीहरू,

    ५. राजा र जनताबीचको घनिष्ट सम्बन्ध नै नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र निर्वाध सार्वभौमसत्ताको मुख्य कवच हो। देश र जनताको हितमा सदा समर्पित रहने राजसंस्था र देशभक्तिको संस्कार भएका जनता नै नेपाल अधिराज्यको इतिहासको गौरवमय परम्पराको निरन्तरतामा लोकसम्मतिअनुसार चल्नु नै राजसंस्थाको अपरिवर्तनीय प्रतिबद्धता रहँदै आएको छ। अधिनायकवाद वा निरंकुशता शाहवंशीय राजतन्त्रात्मक संस्कारकै असंगति हुन्।

    सामाजिक न्यायमा हामी विश्वास गर्दछौ। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नै सबै नेपालीको अटल विश्वास तथा अपरिवर्तनीय प्रतिबद्धता भएको तथ्यसँग हामीले आफूलाई आत्मसात गरेका छौ।

    शक्तिको केन्द्रीकरण प्रजातान्त्रिक मूल्यविपरीत हो भन्ने हाम्रो ठहर छ। माथिल्लो तहदेखि तल्लो तहसम्म निर्वाचित जनप्रतिनिधिहरूका निकायलाई शक्ति विकेन्द्रीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालनको सच्चा हकदार बनाएरमात्रै प्रजातन्त्रको सार्थक अभ्यास गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ। कुनै पनि नेपालीले दुःख कष्ट भोग्नु नपरोस, सबैले सामाजिक, आर्थिक र राजनैतिक न्याय निर्वाध पाऊन् भन्ने हाम्रो चाहना छ।

    शासन सञ्चालनमा आफ्नो चाहनाको पूर्ण मान्यता तथा आफ्नो हितको पूर्ण संरक्षण भएको अनुभूति जनताले सधैं गर्न पाउनै पर्छ भन्ने हाम्रो अडान छ। सबै देशभक्त प्रजातन्त्रवादीको संयुक्त निक्र्यौल, समझदारी र दूरदृष्टिबाट नेपाल अधिराज्यलाई परिपक्व प्रजातन्त्र र लोककल्याणकारी समाज निर्माणको फराकिलो राजमार्गमा उन्मुख गराउने हाम्रो चाहना छ। प्रजातन्त्रवादीहरूबीच राष्ट्रिय हितको मूल नीतिमा द्वन्द्व हुनै सक्तैन भन्ने हाम्रो ठहर छ।

    ६. नेपाल र नेपालीको हितका लागि दिगो शान्तिको पुनःस्थापना तथा सार्थक प्रजातन्त्रको अभ्यासबाहेक हाम्रो अरू कुनै स्वार्थ छैन। राजसंस्था सस्तो लोकप्रीयताबाट होइन, नेपाल राष्ट्र र नेपाली जनताको सर्वोत्तम हित र निरन्तर उन्नतिबाट मात्रै निर्देशित रहन्छ।

    जनताको प्रभावकारी सुधारको चाहनालाई सबैले सम्मान गर्नै पर्दछ भन्ने हामीलाई लाग्दछ। कसैलाई पनि आफ्नो असहमति व्यक्त गर्न, निराशा प्रदर्शन गर्न हतियार उठाउने बाध्यता महसुस गर्नु नपरोस। जनताको शान्ति नखल्बलाईकन प्रभावकारी ढंगमा असहमति प्रदर्शन गर्ने अवसरको सुनिश्चितता होस भन्ने हाम्रो चाहना छ।

    प्रजातन्त्रको निष्ठापूर्ण अभ्यास, सार्थक बजारमुखी अर्थतन्त्र, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त विधिको शासन नै जनताको स्पष्ट चाहना हो। प्रजातन्त्रको माध्यमबाट जनतालाई सुखी बनाउनु, युवापुस्तालाई उज्ज्वल भविष्यप्रति आश्वस्त तुल्याउनु र नेपाललाई विश्व समुदायमा सम्मानपूर्ण स्थान दिलाउनु नै हाम्रो एकमात्र चाहना हो।

    हाम्रा सबै भाषा, सबै जाति, सबै संस्कृतिको समान उन्नतिबाट नै नेपाल अधिराज्यको विशिष्ट पहिचान कायम रहन्छ, सुदृढ रहन्छ।

    ७. सार्वभौमसत्ता निहित नेपाली जनताको चाहनाबमोजिम देशमा सकेसम्म शान्ति सुरक्षा कायम गरी २०६१ सालभित्र प्रतिनिधिसभाको निर्वाचन प्रारम्भ गर्ने दायित्व निर्वाहको गम्भीर प्रयास हुन सकेन, मतदाता र दललाई निर्वाचनमा सहभागी हुन तयार पारेर कानूनी, व्यवस्थापकीय, प्राविधिक तयारीमा जुट्नुपर्नेमा चुनावको शाब्दिक रट लगाएर, मौखिक तत्परता र आतुरता देखाउनमा नै समय खेर फालियो।

    राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी पनि हामीमा भएकाले नेपाल अधिराज्यको संवैधानिक रीतिथिति र हामीबाट प्रयोग भई आएको राजकीय सत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधान, २०४७ को मर्म र भावनाअनुरूप संविधानको धारा २७को उपधारा (३) लाई समेत विचार गरी देशमा शान्ति सुरक्षाको पुनःस्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशिल तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्रिपरिषद् आजैबाट विघटन गरिबक्सेका छौं। अब गठन हुने मन्त्रिपरिषद् हाम्रै अध्यक्षतामा हुनेछ। आगामी ३ वर्षभित्र देशमा शान्ति सुव्यवस्था मिलाई प्रभावकारी सुधार गरेर बहुदलीय प्रजातन्त्रलाई पुनः सक्रिय तुल्याउन अब गठन हुने मन्त्रिपरिषद् प्राथमिकताका साथ लाग्नेछ।

    प्यारा देशबासी,

    ८. सार्थक बहुदलीय प्रजातन्त्र नै जनताको प्रभावकारी शासन प्रणाली हो। सफल प्रजातन्त्र नै सक्कली जनवाद हो। यस्तो जनहितकारी, परिपक्व एवम् सुसंस्कृत र सभ्य व्यवस्थालाई खल्बलाएर, निर्दोष जनतालाई आतंकित तुल्याएर, जनतालाई त्रसित पारी जबरजस्ती चन्दा संकलन गरेर, असहमत हुनेहरूको निर्मम हत्या गरेर, विद्यार्थीहरूलाई अपहरण तथा गुरुहरूलाई पाशविक व्यवहार गरेर, सिधा जनतालाई झूटो आश्वासन र सपना बाँडेर, जनताको हितमा बनेका विकास योजना ध्वस्त पारेर चलाइएको देश र जनता विरोधी अपराध अब बन्द हुनै पर्दछ। अब यस्ता देश र जनता विरोधी अपराधलाई कानूनबमोजिम कडा कारबाही गरिनेछ।

    हाम्रा सुरक्षाकर्मीलाई देश र जनताको हितमा अझै बढी सशक्त भई आतंकवाद समाप्त गरी शान्ति सुरक्षा पुनःस्थापना गर्न खटाइएको छ। मानव अधिकारको सम्मान र संरक्षणमा राज्यका सबै अङ्ग विशेषरूपमा सतर्क र सजग रहनुपर्दछ। तर राज्य र आतंककारीलाई एउटै तराजुमा तौलिनु न्यायोचित हुंदैन। प्रजातन्त्रमा विश्वास गर्ने सबै शान्तिप्रेमी नेपाली जनताले शान्ति सुरक्षा कायम गर्ने कार्यमा सुरक्षाकर्मीलाई साथ दिएका छन् र दिने नै छन्।

    ९. बाटो बिराएर देश र जनताविरुद्ध हतियार उठाएका, शान्ति र प्रजातन्त्रविरुद्ध अपराधिक कार्यमा संलग्न रहेकालाई हतियार बुझाएर शान्तिपूर्वक राष्ट्रिय राजनैतिको मूलप्रवाहमा समाहित हुन हामी आह्वान गर्दछौं। देशभक्तिको मिलनविन्दुमा आफ्नो विचार मुखरित गर्न, आकांक्षा पूरा गर्न तथा देश र जनताको हितमा योगदान दिन सक्ने अवसरको सुनिश्चितता नै बहुदलीय प्रजातन्त्रको विशेषता हो। यो मौकाको उपयोग गरि राष्ट्रिय राजनैतिको मूल प्रवाहमा आउनेहरूका लागि राज्यका तर्फबाट सबै नागरिक सरह अवसर र अधिकार बिनाभेदभाव प्राप्त हुने आश्वासन दिन चाहन्छौ। देश र जनताविरुद्ध आतंककारी गतिविधि कायमै राखेमा जनताले सहने छैनन्, कानूनले छाड्ने छैन।

    प्यारा देशबासी,

    १०. आतंकवाद विरुद्ध नेपालको संकल्पलाई सराहना गर्दै उदारतापूर्वक साथ दिइरहेका मित्र राष्ट्र, विकास प्रयासलाई अगाडि बढाई राख्न सहयोग गरिरहेका अन्तर्राष्ट्रिय दातृ तथा वित्तीय संस्थालाई हामी धन्यवाद दिन चाहन्छौं। भौगोलिक रूपमा परिभाषित हुनै नसक्ने आतंकवादको जोखिमलाई आज विश्व प्रजातन्त्रले समेत भोग्नुपरेको छ।

    वास्तवमा सानो देश जति सुरक्षित रहन्छ, जति स्थायित्व अनुभव गर्छ, जति सम्पन्न हुन्छ, त्यति नै त्यस क्षेत्र र स्वयम् विश्वको सुरक्षा, स्थायित्व र सम्पन्नता सुनिश्चित हुन्छ भन्ने अनुभूति विश्व समुदायले गरी नै सकेको छ। यसै अनुकुल नेपाल आफ्नो हितमा र विश्व प्रजातन्त्रको हितमा आतंकवादलाई निष्तेज तुल्याउन कटिबद्ध भएको छ।

    नेपाल आफ्नो लागि शान्ति चाहन्छ, छिमेकीहरू र दक्षिण एसियाका लागि शान्ति चाहन्छ, विश्व शान्तिमा टड्कारो भइसकेको जोखिम हटाउन शान्ति चाहन्छ।

    ११. यसै क्रममा, बहुदलीय प्रजातन्त्रमा हाम्रो प्रतिबद्धता अपरिवर्तनीय रहेको तथा आर्थिक र संस्थागत सुधार जारी रहने, सार्वजनिक खर्चको उपयोग तथा सार्वजनिक सेवा प्रणालीमा सुधारका प्रयास अझै प्रभावकारी ढंगमा कायमै राखिने, बैंकिङ अनुशासन पुनर्बहाली गरिने, गरिबी न्यूनीकरणसम्बन्धी रणनीति तथा भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चालिने कुरा पनि उल्लेख गर्न चाहन्छौं। दिगो विकास अब नेपालको राष्ट्रिय एजेन्डा भएको छ।

    अब जनताको सुरक्षा र प्रजातन्त्रको भविष्यलाई जोखिममा पार्न दिइने छैन। नेपालविरुद्ध वा मित्रराष्ट्र विरुद्ध आतंकवादलाई नेपाली माटोमा आश्रय दिइने छैन। मित्रराष्ट्रहरूसँग वास्तविक र व्यवहारिक रूपमा आपसी हितका लागि सकारात्मक सम्बन्धमा जोड दिइनेछ।

    १२. निरन्तर झांगिदै गएको भ्रष्टाचारले राजनीति र प्रशासनलाई दुषित बनाएकोमात्र होइन, प्रगतितर्फ अग्रसर हुनुपर्ने देशको पाइला पनि अवरुद्ध पारेको छ। भ्रष्टाचार हाम्रो समाजका लागि धमिरा सिद्ध भइसकेको छ। परिणामस्वरूप कानूनप्रति साधारण जनताको विश्वास धरमराउन थालेको छ। यसैले जनताको चाहना र सुशासनको प्रमुख आवश्यकता पूरा गर्न न्यायको सिद्धान्त उल्लंघन नहुने गरी भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम अविलम्ब चालिनेछ।

    १३. प्रजातन्त्र जीवन शैली बनोस्, राजनीति प्रजातान्त्रिक मूल्य र मान्यताबमोजिम चलून्, सबैले सबै क्षेत्रमा प्रजातान्त्रिक विचार पद्धतिलाई इमानदारीपूर्वक अनुसरण गरून्, देश र जनताको हितले मात्रै सबैलाई सधैं निर्देशित गरोस् भन्ने नै हाम्रो चाहना हो।

    शान्तिपूर्ण वातावरणमा प्रजातान्त्रिक मूल्यहरूलाई जीवन्त तुल्याएर एक उन्नतशील एवम् विश्व समुदायमा सम्मानित नेपाल नै सबै नेपालीको भविष्यको परिकल्पना हो। मानव अधिकारको सम्मान र रक्षाले प्रजातान्त्रिक मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्नेमात्र हैन, २१ औं शताब्दी सुहाउँदो जीवन प्रणाली र सभ्यताको पनि विकास हुन्छ भन्ने हाम्रो विश्वास छ।

    प्यारा देशबासीहरू,

    १४. हामीबाट गरिबक्सेको निर्णयबाट जंगी, निजामती र कुनै पनि राष्ट्रसेवकले आफ्नो जिम्मेवारी, काम र कर्तव्यबाट विचलित हुन वा अल्मलिनुपर्दैन। आज नेपाल र नेपालीको भविष्यका लागि सर्वप्रथम हामी आफैंले कम्मर कसी अघि बढ्नुपरेको छ। स्वतन्त्र सञ्चार क्षेत्र प्रजातन्त्रको चेतना वृद्धि गर्ने माध्यम हुन्।

    राष्ट्रिय हितको संवर्धनमा यसको विशेष भूमिका रहन्छ। शासन शैलीसँगै जीवन पद्धतिलाई नै प्रजातान्त्रिक मूल्य र आदर्शबाट प्रेरित बनाउन सञ्चार माध्यमले सशक्त योगदान दिनेछन् भन्ने हामीले विश्वास लिएका छौं। यसै कुरालाई मनन् गरेर बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले आ-आफ्नो कर्तव्य पालन गर्नेछन र सबै देशबासीको साझा प्रयासबाट जनताको चाहना र देशको आवश्यकता पूरा हुनेछ भन्ने हामीबाट पूर्ण विश्वास लिएका छौ।

    १५. आज देशले स्पष्ट अठोट गरेको छ। यस अनुकूल निर्णय पनि भएको छ। अशान्ति, असुरक्षा र द्वन्द्वग्रस्त अवस्थालाई बिसाएर देशले प्रजातन्त्र र प्रगतिको पक्षमा अग्रसर हुन पाइला सारेको छ। देश आतंकवादको चपेटामा परेको बेलामा सम्पूर्ण शान्ति तथा प्रजातन्त्रप्रेमी जनता एक हुनै पर्छ।

    यसैले अब हामी सामूहिक विवेकबाट प्रभावित हौं, राष्ट्रिय दृष्टिकोणबाट परिचालित हौं। देश र जनताको शान्ति सुरक्षामा खलल पार्ने, प्रजातन्त्रलाई सार्थक बनाउने प्रयासमा छेकबार हाल्ने दुष्प्रयासलाई देश र जनताले सहने छैनन्। तर उदारताको नाममा हामीले हाम्रो जीवन पद्धतिको उच्चतम पक्ष अनुशासनलाई कहिले पनि बिर्सनुहुँदैन। २१ औं शताब्दीको विचार पद्धति पनि यही नै हो। नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामूहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि दोहर्‍याउन चाहन्छौ।

    श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्।

    जय नेपाल।”

  • नेपालको कालिगण्डकीबाट लगिएका दुई देवशिला अयोध्या पुर्याइयो, भब्य स्वागत

    नेपालको कालिगण्डकीबाट लगिएका दुई देवशिला अयोध्या पुर्याइयो, भब्य स्वागत

    अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला भारतको उत्तर प्रदेशस्थित अयोध्या पु¥याइएको छ । सो क्रममा स्थानीयले भब्य स्वागत गरेका छन् । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन शिला नेपालबाट लगिएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो ।


    अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरे । ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए । शिलालाई बुधबार नै यहाँस्थित राम सेवकपुरममा राखिएको छ भने आज बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए ।

    ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि आज देवशिला ग्रहण गर्ने बताए । उनले आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्ने राससलाई जानकारी दिए । यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडी बढाइएको थियो ।

  • युक्रेनले भन्यो : रुसले २४ फेब्रुअरीमा ठूलो आक्रमणको योजना बनाइरहेको छ

    युक्रेनले भन्यो : रुसले २४ फेब्रुअरीमा ठूलो आक्रमणको योजना बनाइरहेको छ

    काठमाडौं\बीबीसी । युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुन सक्ने चेतावनी दिएका छन्। अलेक्सी रेज्निकोफले मस्कोले हजारौँ सेनालाई तयारी अवस्थामा राखेको र गत वर्ष आक्रमण सुरु गरेको वार्षिकोत्सव मनाउन केही प्रयास गर्न सक्ने बताए। फेब्रुअरी २३ मा सेनाहरूप्रति समर्पित उत्सव मनाइने रुसी डिफेन्डर अफ फादरल्यान्ड डेकै सेरोफेरोमा युक्रेनमाथि आक्रमण सुरु भएको थियो।

    रेज्निकोफका अनुसार मस्कोले आक्रमण गर्नका लागि करिब ५००,००० सेना परिचालन गरेको थियो। गत सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले करिब ३००,००० जगेडा सेनाको आंशिक परिचालनको घोषणा गरेका थियो। उक्त कदम “भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको” उनले बताएका थिए। तर भर्ती भएका र युक्रेनमा तैनाथ गरिएको वास्तविक सैन्य सङ्ख्या अझै बढी हुनसक्ने रेज्निकोफले बताए।

    ूउनीहरूले आधिकारिक रूपमा ३००,००० जगेडा सेना परिचालन गर्ने बताए। तर, सीमा क्षेत्रहरूमा देखिने सेनाको सङ्ख्या अझै बढी भएको हाम्रो मूल्याङ्कन छ,” उनले फ्रान्सेली बीएफएम नेटवर्कसँग भने। यद्यपि, बीबीसी यस तथ्याङ्कको स्वतन्त्र पुष्टि गर्न सकेको छैन । पूर्वी डोनबास क्षेत्रमा लडाइँ तीव्र रूपमा जारी रहे पनि युक्रेनले दक्षिणी सहर खेअरसनलाई पुनः आफ्नो नियन्त्रणमा लिएपछि हालैका महिनाहरूमा युद्धको गतिमा केही सुस्त बनेको छ।

    सोलेदार सहर रुसले नियन्त्रणमा लिए बाहेक दुवै पक्षले कुनै ठूलो भौगोलिक प्रगति गरेका छैनन्। तर लामो समयदेखि रुसी ‘स्प्रिङ’ आक्रमण र युक्रेनी प्रत्याक्रमण सम्भावित ठानिएको छ। हालै अमेरिकास्थित युद्ध अध्ययन संस्था आइएसडब्ल्यूले मस्कोले ूनिर्णायक कदम चाल्नू र पूर्वमा ूठूलो आक्रमणू गर्न खोज्न सक्ने बताएको छ।

    रेज्निकोफले युक्रेनका कमान्डरहरूले युद्धमा रुसको कथित प्रगतिअघि आफ्नो मोर्चालाई स्थिर बनाउने र प्रत्याक्रमणको लागि तयारी गर्ने बताए। सन् २०२३ सैन्य जितको वर्ष हुन सक्ने मेरो विश्वास छ, उनले भने। उनले युक्रेनी सेनाले पछिल्ला केही महिनाहरूमा गरेको सुधार गुमाउन नसक्ने बताए।

    रक्षामन्त्री रेज्निकोफ थप हवाई प्रतिरक्षाका निम्ति आवश्यक एमजी-२०० र्‍याडरहरू खरिद् गर्ने सम्झौता गर्न फ्रान्समा थिए। ती र्‍याडरले ूविङ्ग्ड तथा बलिस्टिक क्षेप्यास्त्रहरू र विभिन्न किसिमका ड्रोनलगायत हवाई निशानाहरू पत्ता लगाउन सशस्त्र सेनाको क्षमतामा उल्लेख्य वृद्धि गर्नेू उनले बताए। युक्रेनी गुप्तचरहरूले रुसी राष्ट्रपति पुटिनले आफ्ना सेनालाई आउँदो वसन्त यामको अन्त्यअघि डोनबास कब्जा गर्न निर्देशन दिएको दाबी गरेसँगै रेज्निकोफले पछिल्लो टिप्पणी गरेका हुन्।

  • त्रिभुवन विमानस्थलमा ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलमा ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन विमानस्थलमा ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । उनी दुबईबाट आएका थिए । युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको जनाइएको छ । मोहमदको साथबाट ९ केजी १३५ ग्राम अवैध सुन बरामद भएको हो ।

    ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको छ । उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

  • परराष्ट्र मन्त्री राई आज श्रीलंका प्रस्थान गर्ने

    परराष्ट्र मन्त्री राई आज श्रीलंका प्रस्थान गर्ने

    काठमाडौं । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलंकाको राजधानी कोलम्बो जाँदैछिन् । उनले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री पौड्यालको श्रीलंकन समकक्षीका साथै राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनसँग शिष्टाचार भेट हुने भएको छ । श्रीलंकाका राष्ट्रपति बिक्रमासिंघेको सचिवालयले ७५औं स्वतन्त्रता दिवसको अवसरमा ‘लंकारेलंका’ कार्यक्रम राखेको छ, जसमा सहभागी हुन मन्त्री पौड्याल बिहीबार कोलम्बो प्रस्थान गर्ने कार्यक्रम छ ।

    भ्रमण तालिकाअनुसार शुक्रबार मन्त्री पौड्यालले श्रीलंकन समकक्षी अलि साब्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन मन्त्री पौड्याललगायत विभिन्न देशका पाहुनाहरूका लागि स्वागत लञ्चको कार्यक्रम राखिएको छ । लञ्चपछि मन्त्री पौड्यालको उच्चस्तरीय राजनीतिक भेटघाटका क्रममा श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि मन्त्री पौड्याल अन्य समकक्षीसँगै ‘लंकारेलंका’ कार्यक्रममा सहभागी हुनेछिन् ।

    त्यसको अर्को दिन समारोहअन्तर्गत आयोजना हुने परेड र झण्डोत्तोलन कार्यक्रममा सहभागी हुने मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमपछि राष्ट्रपति रनिल बिक्रमासिंघेसँग मन्त्री पौड्यालको शिष्टाचार भेट हुनेछ । भेटपश्चात मन्त्री पौड्याल राष्ट्रपति भवनमा आयोजित हुने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार भ्रमणका क्रममा विभिन्न मुलुकका विदेशमन्त्रीहरूसँग साइडलाइन भेटवार्ता हुनेछ ।

  • यस्तो रहनेछ आजको मौसम

    यस्तो रहनेछ आजको मौसम

    काठमाडौं । मुुलुकका पहाडी भेगमा बिहीबार आंशिक बदली भएको छ । अन्य भेगमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही भागमा हुस्सु लागेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुनेछ । मोसममा आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने न्यून रहेको छ ।

    शुक्रबार दिउँसो पनि देशका पहाडी भू(भागहरूमा आंशिक बदली रहनेछ भने प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ । राति प्रदेश नं. १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागहरूमा पहाडी भागमा आंशिक बदली रहने छ भने बाँकी भेगमा सामान्यतया सफा रहनेछ ।

  • जनवरीमा आए ५५ हजार पर्यटक, अमेरिकी दोस्रो स्थानमा

    जनवरीमा आए ५५ हजार पर्यटक, अमेरिकी दोस्रो स्थानमा

    काठमाडौं । नेपालमा जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक भित्रिएका छन् । यसमा सबैभन्दा धेरै पर्यटक भारतीय छन् । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए । सन् २०२१ मा मात्र ८ हजार ६७४ जना पर्यटक यस महिनामा आएका थिए । सन् २०२० को जनवरीमा भने ७९ हजार ७०२ र सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक आएका थिए ।

    यी दुई वर्ष कोरोना महामारीको संकट सुरु भइसकेको थिएन् । सन् २०२० को मार्चपछि मुलुकमा लकडाउन सुरु भएको हो । तथ्यांक अनुसार जनवरी २०२३ मा भारतबाट मात्र १६ हजार ४३६ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ६ हजार ५६१ जना नेपाल आएको तथ्यांक छ । अष्ट्रेलियाबाट ३ हजार ४४१ र बंगलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल आएका छन् ।

  • टुकुचा उत्खननमा अदालतले दियो घरधनीको पक्षमा फैसला

    टुकुचा उत्खननमा अदालतले दियो घरधनीको पक्षमा फैसला

    काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ । बुधबार न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भन्दै जग्गाधनीको पक्षमा फैसला गरेको हो । काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो ।

    उसले जय नेपाल फिल्म हललगायत विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको जग्गा खनेर टुकुचा खोलालाई सतहमा फर्काउन खोजेको थियो । त्यसपछि टुकुचा खोलामाथि घर तथा जग्गा भएका जग्गाधनी र संघसंस्था गरी २२ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए ।

    रिट निवेदकको कानुन व्यवसायी रहेका अधिवक्ता अमृत सापकोटाका अनुसार अब काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्न पाउने छैन । सो निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतले टुकुचा उत्खनन नगर्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको थियो

  • किसानलाई दिन्छु भनेको क्षतिपूर्ति पाउन अप्रिय निर्णय नगरुनजेल कुर्ने हो ?

    किसानलाई दिन्छु भनेको क्षतिपूर्ति पाउन अप्रिय निर्णय नगरुनजेल कुर्ने हो ?

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका छन् । बुधबार संसद्‌मा बोल्दै थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका हुन् ।

    ‘बैंकको ऋणले थिचिएका साना किसानहरूले अप्रिय निर्णय नगरुनजेल कुर्ने हो ? समिति बनाउने हो ?’ सरकारलाई प्रश्न गरे । उनले क्षतिपूर्ति बापत् किसानलाई दिन्छु भनेर छुट्टाइएको रकम दिइयोस् भनेका हुन् ।

    सयौँको संख्यामा किसानहरू कृषि मन्त्रालय धाउने, रुने गरेपनि सरकारले बेवास्ता गरेको उनले बताए । बर्डफ्लुका कारण कुखुरा फार्म नष्ट गरिएको र नियम अनुसार पाउनुपर्ने क्षतिपूर्तिको रकम पाउनुपर्ने उनले बताए ।

  • भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने

    भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने

    काठमाडौं । भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरेको छ । बुधबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ ।

    तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ । यो गत वर्षको विनियोजित बजेट भन्दा कम हो ।

    गत आवमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन भएको थियो । वित्त वर्ष २०२१/२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो ।

    भारत सरकारले दक्षिण एसियामा नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सलाई सहयोग गर्छ । भारतले दक्षिण पूर्वी एसिया र अफ्रिकी देशहरूलाई पनि सहयोग गर्ने गर्छ ।

    यस वर्ष भुटानले २४ अर्ब भारु सहायता भारतबाट पाउने भएको छ । अफगानिस्तानले २ अर्ब पाउने भएको छ । बंगलादेशले २ अर्ब, श्रीलंकालाई १ अर्ब, माल्दिभ्सलाई ४ अर्ब, म्यानमारलाई ४ अर्ब र मंगोलियालाई ७ करोड भारु सहायता दिने भएको छ । अफ्रिकी मुलुकहरुलाई २ अर्ब ५० अर्ब रुपैयाँ सहायता पाउने भएका छन् ।

  • झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७६ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७६ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ ।। साताको कारोबारको चौथो दिन शेयर बजार मापक सूचक (नेप्से) ४.९७ अंकलेबढेर २११६.६५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६१ कम्पनीको १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँ बराबरको ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । मंगलवार २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ७ वटा बढेको छ भने अन्य ६ वटा घटेको छ ।

    बढ्दो बजारमा १ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त कम्पनीको शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    आज कारोबारको आधारमा सबैभन्दा नेपाल बैंकको ५ करोड ९३लाख ,रिडी पावरको ४ करोड ९२ लाख र एनआइसी एसिया बैंकको ४ करोड ७६ लाखको कारोबार भएको छ ।

  • बागलुङमा पेट्रोल छर्केर एक पुरुषले गरे आत्मदाहको प्रयास

    बागलुङमा पेट्रोल छर्केर एक पुरुषले गरे आत्मदाहको प्रयास

    काठमाडौं । बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बुधवार घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर घाइते भएका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आत्मदाहको कारणबारे केही खुलेको छैन।

  • राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

    राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

    युवराज पौडेलले पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको नागरिकता पेस गरी दर्ता गरेकाले तत्काल पार्टी खारेजको माग गरेका हुन् । साथै लामिछानेले गरेका निर्णयहरु समेत अवैध हुने उनको तर्क छ ।

  • भारतीय धर्म गुरु आशारामलाई बलात्कार मुद्दामा जन्मकैद

    भारतीय धर्म गुरु आशारामलाई बलात्कार मुद्दामा जन्मकैद

    काठमाडौं । एक भारतीय अदालतले स्वघोषित आध्यात्मिक गुरु आसाराम बापूलाई आफ्ना एक अनुयायीलाई बलात्कार गरेकामा जन्मकैदको सजाय सुनाएको छ। पश्चिम भारतीय राज्य गुजरातस्थित आफ्नो आश्रममा सन् २००१ र सन् २००६ बिचमा ती महिलालाई बारम्बार दुर्व्यवहार गरेको आरोपमा उनी दोषी पाइएका हुन्। ८१ वर्षे उनलाई सन् २०१८ मै एक १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा आजीवन जेल सजाय सुनाइएपछि हाल उनी जेलमै छन्। आसारामले अदालतको पछिल्लो आदेशबारे पुनरावेदन दिने उनका वकिलले बताएका छन्।

    योग र ध्यानसम्बन्धी आफ्ना कामका लागि परिचित उनका संसारभर दशौँ लाख अनुयायी र सयौँ आश्रमहरू थिए। मङ्गलवारको आदेशअघि ती गुरुका समर्थकहरूबाट हिंसा हुनसक्ने आशङ्काबीच अधिकारीहरूले गुजरातको सुरक्षा व्यवस्था कडा पारेका थिए। त्यसको एक दिनअघि गान्धीनगर सहरको उक्त अदालतले आसारामलाई भारतीय दण्ड संहिताका कैयौँ व्यवस्था अन्तर्गत रहेर बलात्कार र बदनियतपूर्ण रूपले बन्धक बनाएको सहितका आरोपमा दोषी ठहर्‍याएको थियो।

    उक्त मुद्दामा आरोपित आसारामकी श्रीमती र छोरीसहित ६ अन्यलाई भने अपर्याप्त प्रमाणका आधारमा निर्दोष घोषित गरिएको छ। मङ्गलवार अदालतले आसारामलाई २३ हजार भारतीय रुपैयाँ जरिबाना तिराउँदै पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ। आसारामविरूद्धका यौन दुर्व्यवहारका आरोपहरू ती महिलाले सबैभन्दा पहिले सन् २०१३ मा उजुरी दिएपछि सार्वजनिक भएका थिए।

    उनले आसारामले आफ्नो मुटेरा सहरस्थित आश्रममा कैयौँ पटक बलात्कार गरेको आरोप लगाएकी थिइन् जहाँबाट भाग्न सफल हुनुअघि उनलाई पाँच वर्ष बन्धक बनाइएको थियो। सन् २०१९ मा आसारामका छोरा नारायण साईलाई समेत ती महिलाकी कान्छी बहिनीलाई बलात्कार गरेको भन्दै जन्मकैदको सजाय सुनाइएको थियो। बेग्लै मुद्दामा उनीविरूद्ध दुईजना अनुयायीहरूले यौन दुर्व्यवहारका भिन्न(भिन्न मुद्दा दायर गरेपछि सन् २०१३ मा आसारामलाई पक्राउ गरिएको थियो। ती दुवैले आफ्ना छोरीहरूको बलात्कार भएको आरोप लगाएका थिए।

    प्रहरीका अनुसार उनले पीडितलाई राजस्थानको जोधपुर सहरस्थित आफ्नो कोठामा बोलाएर ूउपचारू गर्ने भन्दै बलात्कार गरेका थिए। उनीहरूका अनुसार आसारामले पीडितलाई यौनिक गतिविधिहरू गर्न बाध्य पार्दै त्यसबारे बोलेमा उनको परिवारका सदस्यहरूको हत्या गर्ने भनेका थिए। आसारामका दुईजना सहयोगीहरू समेत यस घटनामा दोषी पाइएका छन् जसलाई २० वर्षको जेल सजाय सुनाइएको छ।

  • फरक क्षमता भएका व्यक्तिले सिंहदरवार छिर्दा ट्याक्सी लैजान पाउने

    फरक क्षमता भएका व्यक्तिले सिंहदरवार छिर्दा ट्याक्सी लैजान पाउने

    काठमाडौं । सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ। अपांग र अशक्त नागरिकलाई सहज रूपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिएका छन् । यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाध रूपमा सिंहदरबारमा प्रवेश पाउँदै आएका छन्।

    सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका गाडीलाई सिंहदरबार प्रवेशमा रोक लगाउँदै आएको छ। ‘गृह मन्त्रालयसँग समन्वय गरेर अपांग र अशक्त नागरिकलाई सहज रूपमा सिंहदरबार प्रवेश गर्न सहजीकरण गर्ने उद्देश्यले सो व्यवस्था गरिएको हो’ मन्त्री अर्यालले भने। अपांग र अशक्त नागरिकलाई राज्यले उपलब्ध गराएको परिचयपत्रका आधारमा सुरक्षाकर्मीले उनीहरू सवार भाडाका गाडीलाई सहज रूपमा सिंहदरबार प्रवेश गराउने उनले बताए।