Category: फिचर

  • विनोद चौधरीलाई टक्कर दिन एमालेको समर्थन हृदयेश त्रिपाठीलाई

    विनोद चौधरीलाई टक्कर दिन एमालेको समर्थन हृदयेश त्रिपाठीलाई

    काठमाडौं । नेकपा एमालेले आफ्नो नवलपरासी (पश्चिम)- १ बाट उमेदवारी फिर्ता लिएको छ ।

    जनता प्रगतिशील पार्टीका त्रिपाठीलाई समर्थन गर्दै एमालेका सिन्धु जलेसा बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    सत्ता गठबन्धनका तर्फवाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी छन् । व्यवसायी चौधरीलाई टक्कर दिन एमालेले त्रिपाठीलाई समर्थन दिएको छ।

    एमालेले यसअघि चितवन ३ कांग्रेसका बाथी रविन कोइराला र डडेलधुरामा बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गरिकसकेको छ।

  • सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार, आईसीयूबाट क्याबिनमा सारियो

    सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार, आईसीयूबाट क्याबिनमा सारियो

    काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।

    किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार देखिएपछि आईसीयूबाट डिलक्स क्याबिनमा सारेर सुक्ष्म निगरानीमा राखिएको अस्पतालले जानकारी दिएको छ ।

    उनको अवस्थामा केही सुधार आएको र दोहोरो कुराकानी गर्नसक्ने भएको अस्पतालले जनाएको छ ।

    छातीमा समस्या देखिएपछि उनलाई यही असोज ७ गते ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

    अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् ।

    किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ । घरमा समेत नर्स पठाएर सेवा दिंदै आएको थियो ।

  • शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ ।

    बुधबार नेप्से परिसूचक ११.३६ अंकले बढेर १८६६.५२ विन्दुमा पुगेको हो ।

    यसदिन २२३ कम्पनीको ६९ करोड १७ लाख रुपैयाँ बढीको २० लाख ८५ हजार २८४ कित्ता सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष र व्यापार बाहेक अरु सबै समूहको बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.६८ प्रतिशतले बढेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ५५ करोड २८ लाख ९ हजार ९८४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ समूह्को परिसूचक बढेको छ भने २ समूहको घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.६८ प्रतिशतले बढेको छ ।

    एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६०७.२० रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, महुली लघुवित्त ५.५१, प्रोग्रेसिभ फाइनान्स ५.३५, दिव्यश्वरी र जोशी हाइड्रोपावरको शेयर मूल्य साढे ४ प्रतिशत बढेको छ ।

    त्यस्तै, युनिभर्सल पावर, घलेम्दी हाइड्रोपावर र श्री इन्भेष्मेन्टका शेयर धनीले ४ प्रतिशत कमाएका छन् ।

    नेप्सेका अनुसार एभरेष्ट बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ ।

    यसको आज दुई करोड ४० लाख भन्दा बढीको कारोबार भएको छ । रिडी पावरको २ करोड बढीको कारोबार भएको छ ।

  • रुपन्देही–१ मा एमालेलाई झड्का, घनश्यामलाई समर्थन गर्दै ३७ नेताले त्यागे पार्टी

    रुपन्देही–१ मा एमालेलाई झड्का, घनश्यामलाई समर्थन गर्दै ३७ नेताले त्यागे पार्टी

    काठमाडौं । रुपन्देही–१ मा एमालेलाई झड्का लागेको छ ।

    केपी ओलीले निरंकुशता लादेजस्तै छविलाल विश्वकर्माले निरंकुशता लादेका कारण ३७ नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

    बुधबार विज्ञप्ति निकालेर उनीहरुले घनश्याम भूसाललाई सर्मथन गर्दै एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

    पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्य मुलायम सिंह यादव, रोहिणी गाउपालिका सचिव इन्द्रजित कुमार राय, गाउँपालिका कमिटी सदस्य जाहिद हुसेन खान लगायत रहेका छन्।

    रुपन्देही–१ मा घनश्याम भुसालले सत्ता गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवारी दिएपछि एमाले त्यागेर उनको पक्षमा खुल्नेहरूको संख्या बढिरहेको छ।

  • उपत्यकामा पानीको बोतल १६ र जार ४७ रुपैयाँ मात्र पर्ने गरी तोकियो मूल्य

    उपत्यकामा पानीको बोतल १६ र जार ४७ रुपैयाँ मात्र पर्ने गरी तोकियो मूल्य

    काठमाडौं । काठमाडौं उपत्यकामा बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ तोकिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य तोकेसँगै उपभोक्ताले यो भन्दा महंगो मूल्य तिर्नुपर्ने छैन ।

    उपत्यकाबाहिर एक लिटर बोतलको पानीको अधिकतम खुद्रा २० रूपियाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रूपियाँ निर्धारण गरिएको छ । संघीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकिएको हो ।

    विभागले निर्धारण गरेको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने चैतावनी समेत दिएको छ । विभागले तोकेको मूल्यभन्दा बढी रकम तिरेर पानी खरिदसमेत नगर्न र काहीँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले उपभोक्तालाई आह्वान गरेको छ ।

  • एकै पटक ४३३ उपसचिव र ११२ सहसचिव पदमा आवेदन खुल्यो

    एकै पटक ४३३ उपसचिव र ११२ सहसचिव पदमा आवेदन खुल्यो

    काठमाडौं । एकै पटक ठूलो सं्ख्यामा उपसचिव र सहसचिवको माग भएको छ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको हो । आयोगले सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलाएको छ । दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ । आर्थिक योजना तथा तथ्यांक सेवा, विविध सेवा र संघीय संसद सेवातर्फ सहसचिवमा विज्ञापन खुलेको छैन ।

    तर उपसचिव पदमा भने क्रमशः ३, ६ र ११ पदमा विज्ञापन खुलाइएको छ । इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना कर्मचारी भर्ना गरिने छ । कृषि सेवातर्फ २ सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिवको लागि भर्ना खुलेको लोक सेवा आयोगले जनाएको छ ।

    लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६, शिक्षा सेवातर्फ सहसचिवमा २ र उपसचिवमा २२, स्वास्थ्य सेवातर्फ सहसचिवमा ४३ र उपसचिवमा ५९, राष्ट्रिय मानव अधिकार सेवातर्फ सहसचिवमा ४ र उपसचिवमा ८ जनाका लागि लोक सेवा आयोगले भर्ना खुलाएको छ ।

  • रेशम चौधरी पनि चुनाव लड्न नपाउने

    रेशम चौधरी पनि चुनाव लड्न नपाउने

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका दुबै प्रतिनिधिसभा सदस्य उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए । ७ भदौ २०७२ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो । यो घटनामा संलग्नताको अभियोग लागेका चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो ।

    तर उच्च अदालत डोटीले चौधरी र थारु दुबैलाई जन्मकैदको सजाय सुनाएको थियो । फौजदारी मुद्दामा दोषी ठहर भएको व्यक्ति उम्मेदवार भएको भन्दै परेको उजुरीमाथि सुनुवाइ गर्दै निर्वाचन अधिकृतको कार्यालयले दुबैको उम्मेदवारी खारेज गरेको हो । बर्दिया–२ का निर्वाचन अधिकृत नगेन्द्र लम्सालले निरन्तर कैदमा रहेका व्यक्ति कैदमा रहँदासम्म उम्मेदवार हुन नसक्ने कानुनी व्यवस्था भएकाले रेशमको उम्मेदवारी खारेज भएको बताएका छन् ।

  • विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज

    विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज

    काठमाडौं । एमाले नेता विष्णु पौडेलको क्षेत्रमा गठबन्धनका उम्मेदवारको उम्मेदवारी दर्ता खारेज भएको छ । रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । गुरुङ नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् । अन्य दुई भने हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको हो ।

    अब नेकपा एमालेबाट उम्मेदवार रहेका विष्णु पौडेललाई निर्वाचनमा सहज हुने आंकलन गरिएको छ । गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको पाइएको छ ।

  • आयोगले आज अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने

    आयोगले आज अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावाली आज प्रकाशन गर्दैछ । त्यसपछि आज निर्वाचन चिह्न प्रदान समेत प्रदान गर्ने भएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ । स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले चिह्न दिनेछ । निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको छ ।

    आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने समय दिउँसो १ बजेदेखि ३ बजेसम्म तोको छ । अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने छन् । उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्म राखिएको छ ।

  • प्रधानमन्त्रीविरुद्ध परेको उजुरी खारेज, उम्मेदवारी कायम

    प्रधानमन्त्रीविरुद्ध परेको उजुरी खारेज, उम्मेदवारी कायम

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहेको छ । उनको उम्मेदवारीविरूद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जनाएका छन् । उम्मेदवारविरूद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गर्दा उम्मेदवारविरूद्ध रेको उजुरी भने कानुनसम्मत नदेखिएको उनको भनाई छ ।

    एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका थिए।

  • नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर

    नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर भएको छ । उृनीमाथि उच्च अदालत दिपायलले जन्म कैदको फैसला सुनाएको छ । वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थारुको उम्मेदवारी बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला सुनाएका थारुको उम्मेदवारी खारेज गर्न माग गर्दै हालेको निवेदनमाथि सुनवाइ गर्दै मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले उम्मेदवारी बदर हुने निर्णय सुनाए ।

    थारुलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकेकाले उनको उम्मेदवारी बदर हुने निर्णय गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले थारुलाई मंगलबार दिउँसो ३ बजेभित्र प्रमाणसहित उम्मेदवारी बदर गर्न नपर्ने कारण पेश गर्ने समय दिएको थियो । नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई उच्च अदालत दिपायलले २ पुस २०७७ मा जन्म कैदको फैसला सुनाएको थियो ।

    त्यसअघि जिल्ला अदालत कैलालीले थारुलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनी पुर्पक्षमै तीन वर्ष भन्दा बढि बसेर छुटेका थिए । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका थारुलाई उच्च अदालतले भने जन्म कैदको फैसला सुनाएको थियो । उक्त फैसलापछि उनी फरारको सूचीमा छन् । २३ असोजमा वारेसमार्फत उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

  • २० घण्टाभित्र बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

    २० घण्टाभित्र बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

    काठमाडौं । गठबन्धनले २० घण्टाभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको हो।

    प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन्।

    ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ,’ उनीहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

  • नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६५ प्रतिशत सकियो

    नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६५ प्रतिशत सकियो

    काठमाडौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ ।

    कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ६५.३० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

    नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार असोज २४ गतेसम्म सुरुङ खन्ने काम ३ हजार ५९३ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

    काठमाडौंतर्फ मुख्य सुरुङ ७८३.४० मिटर र इभाकुएसन ९६६.९० मिटर पूरा भएको छ ।

    धादिङतर्फ ८१०.४० मिटर मुख्य र ८३२.५० मिटर इभाकुएसन टनेल खन्‍ने काम सकिएको छ । धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ ।

    इभाकुएसन टनेल आपत्कालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो ।

    सुरुङमार्गको फिनिसिङको काम पनि दुवैतर्फबाट भइरहेको आयोजनाले जनाएको छ ।

    नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ ।

    टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

    नागढुंगा सुरुङमार्गको निर्माण अवधि २०७९ चैत २३ गतेसम्म रहेको छ । कोभिडका कारणले ढिलाइ हुन गएकोमा म्याद थप गरिएको छ ।

    यो आयोजना २०७६ कात्तिक ४४ महिनाभित्र सक्ने गरी निर्माण सुरु गरिए पनि सम्पूर्ण भौतिक प्रगतिको काम ४४ प्रतिशत मात्रै भएको छ ।

  • सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार,अक्सिजनको मात्रा घटाइयो

    सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार,अक्सिजनको मात्रा घटाइयो

    काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ ।

    किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार देखिएपछि अक्सिजनको मात्रा घटाइएको अस्पताल स्रोतले जनाएको छ । उनले बोल्न र नजिकै रहेकालाई चिन्न पनि थालेका छन् ।

    छातीमा समस्या देखिएपछि उनलाई यही असोज ७ गते ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

    अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् ।

    किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ । घरमा समेत नर्स पठाएर सेवा दिंदै आएको थियो ।

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ५५ करोडमा खुम्चियो

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ५५ करोडमा खुम्चियो

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको ५५ करोड २८ लाख ९ हजार ९८४ रुपैयाँ बराबरको १७ लाख ६८ हजार ६९२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमबार ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३समूह्को परिसूचक बढेको छ भने १० समूहको घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.४० प्रतिशतले घटेको छ ।

    आज दुई कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । समिट लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेर प्रतिकित्ता ९२९.५० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५२ रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार विन्ध्यावासिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, सिंगटी हाइड्रो ४.२६, नेरुडे लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, सामलिङ पावर, ङादी ग्रुपको शेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

    विजय लघुवित्त, गणपति लघुवित्त र बोटलर्स नेपालका शेयरधनीले पनि ३ प्रतिशत गुमाएका छन् ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज तीन करोड १० लाख भन्दा बढीको कारोबार भएको छ ।

    नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन पावर कम्पनीको पनि २ करोड बढीको सेयर खरिदविक्री भएको छ ।

  • गैर आवासीय नेपालीलाई नागरिकता दिन ऐन संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

    गैर आवासीय नेपालीलाई नागरिकता दिन ऐन संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपालीलाई नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उनले निकट भविष्यमै उक्त ऐन संशोधन गर्ने बताएका हुन् । गैर आवासीय नेपाली संघ(एनआरएनए)को वार्षिक साधारणसभालाई सम्बोन गर्दै प्रधानमन्त्री देउवालले गैर आवासीय नेपालीलाई नेपाल आगमनमा सहजीकरण गर्ने देखि सम्पत्ति सुरक्षित गर्नेसम्मका कार्यमा सरहारले सहयोग गर्दै आएको समेत बताएका छन् ।

    गैर आवसीय नेपालीले नेपालमा पूँजी लगानी गरी देश विकासमा सहयोग उनले आह्वान गरेका छन् । नेपालमा लगानी गर्ने सहजीकरण गर्ने, लगानकिो प्रतिफल उपभोग गर्न सहज बनाउने बताए । हरेक गैरआवासीय नेपालीले नेपालको पहिचान जोगाउन विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न, महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

    गैर आवसीय नेपाली नागरिकले नेपाली उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिनुपर्ने बताए । नेपालको श्रम, सीप र कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगको संरक्षणमा टेवा दिनुपर्ने समेत उनले बताए ।

    चालू आर्थिक वर्षदेखि न्युनतम लगानी सीमा २ करोड रुपैयाँ कायम गरी गैर आवासीय नेपालीले नेपालमा लगानी सहज गरिएको बताए ।

    त्यस्तै, धितोपत्र खरिदमा गैरआवासीय नेपालीलाई प्राथमिकता दिइने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिकता सेयर निष्काशन (आईपीओ)मा १० प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था समेत गरिएको उनले बताए ।

  • अमेरिकासहित थप ४ देशमा नेपालबाट सिधा हवाई उडानको तयारी

    अमेरिकासहित थप ४ देशमा नेपालबाट सिधा हवाई उडानको तयारी

    काठमाडौं । नेपालले थप ४ मुलुकमा सिधा हवाई उडान संचालनको तयारी गरेको छ ।

    अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डालसँग हवाई सम्झौताको तयारी गरेको हो ।

    नेपालले हालसम्म विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । अमेरिकालगायत विभिन्न मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौताका लागि आवश्यक प्रक्रिया अघि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखा प्रमुख एवम् सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

    उनले भने, ‘अमेरिकाले हवाई सम्झौताका लागि चासो देखाएको छ । त्यस मुलुकसँग छिट्टै हवाई सम्झौता गर्ने तयारीमा छौँ ।’नेपालले हाल ४० देश र युरोपेली सङ्घ (ईयू)सँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तीमध्ये २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सरकारले पछिल्लो पटक अष्ट्रेलियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको थियो ।

    अमेरिकासँगको हवाई सम्झौतापछि अमेरिकाको युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स, नेपालका तर्फबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान गर्न सक्ने जनाइएको छ ।

    हाल नेपालमा टर्किस एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, थाई एयरलगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन् ।

  • रुसले युक्रेनमा गरेको क्षेप्यास्त्र हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्धारा निन्दा

    रुसले युक्रेनमा गरेको क्षेप्यास्त्र हमलाको अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्धारा निन्दा

    काठमाडौं । रुसले युक्रेनको राजधानी किएभको केन्द्र भागमा पहिलो पटक गरेको क्षेप्यास्त्र हमलासहित कैयौँ सहरमा बमबारी गरेपछि रुसको व्यापक निन्दा भइरहेको छ। अमेरिकाले ती निर्मम हमलाहरू गैर सैनिक निशानाहरू गरिएको जनाउँदै सैन्य सहायता जारी रहने बाचा गरेको बीबीसीले लेखेको छ । जसमा एउटा विश्वविद्यालय र बालबालिकाको खेल मैदान समेत छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले आफू स्तब्धमा परेको बताएका छन्।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती हमलाहरू रुस–क्राइमिया जोडिने मुख्य पुलमा शनिवार भएका विस्फोटनको जवाफ बताएका छन्। युक्रेनले त्यस घटनामा आफ्नो भूमिकाबारे कुनै पुष्टि गरेको छैन। युक्रेनका अनुसार ८३ वटा क्षेप्यास्त्रहरू प्रहार गरिएकामा ४३ वटालाई निष्क्रिय पारिएको थियो। एउटा भिडिओमार्फत् युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई त्रसित हुन नसक्ने, यो थप एकताबद्ध मात्र हुने बताएका छन्।

    लभिभ, खार्किभ, डिनिप्रो र जापोरिजामा भएका ती घातक प्रहारहरू युक्रेनले हालैका महिनामा देखेका सबैभन्दा खराबमध्येका हुन्। अधिकारीहरूले कम्तीमा १४ जना मानिसहरू मारिएको र २० जनाभन्दा धेरै घाइते भएको जनाएका छन्। ऊर्जा सम्बन्धी पूर्वाधारमा क्षेप्यास्त्रहरू प्रहारसँगै कैयौँ क्षेत्रमा विद्युत् र पानीको आपूर्ति रोकिएको छ। राजधानी किएभका बासिन्दाहरूले सोमवार बिहानको मानिसहरू काममा फर्कने व्यस्त समयमा रुसले नागरिक क्षेत्रहरूमा निशाना गरेको बताएका छन्। जसमा बालबालिकाको खेलमैदान, विश्वविद्यालय र एउटा प्रख्यात पार्क समेत छ।

    युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन देर लेयनले रुसले आतङ्क र क्रूरताको पक्ष लिएको बताइन्। अमेरिकी राष्ट्रपति जो बाइडन भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गर्ने कैयौँ विदेशी नेताहरूमध्ये थिए। उनले युक्रेनलाई विशिष्ट हवाई प्रतिरक्षा प्रणाली सहित आफ्नो प्रतिरक्षाका लागि आवश्यक पर्ने सहायता दिने काम जारी राखिने बाचा गरेको ह्वाइटहाउसले जनाएको छ।

  • मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचन घोषणा

    मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचन घोषणा

    क्लावालाम्पुर । मलेसियामा संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरिएको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका हुन् । देशका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन् ।

    सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ । ‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौं । जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ,’ सम्बोधनका क्रममा याकोबले भनेका छन् । देशमा राजनीतिक स्थायित्व आवश्यक रहेको बताउँदै उनले सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाएका छन्  ।

  • पश्चिम नेपालमा बाढी र पहिरोको वितण्डा, कम्तिमा १६ जनाको मृत्यु

    पश्चिम नेपालमा बाढी र पहिरोको वितण्डा, कम्तिमा १६ जनाको मृत्यु

    काठमाडौं । पश्चिम नेपालमा बाढी र पहिरोमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ । २० जना वेपत्ता भएका छन् । निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा मुगु, हुम्ला र कालीकोटमा १६ जनाको मत्यु भएको छ । २० बेपत्ता भएका छन् । मुगुको छायानाथरारा नगरपालिका–११ सालिम गाउँमा मात्र ८ जनाको ज्यान गएको छ । हुम्लाको चंखेली–६ देनबाडामा पनि घर पुरिँदा ४ जनाले ज्यान गुमाएका छन् । कालीकोटमा बेपत्ता भएका २३ मध्ये ४ जनाको शव फेला परेको छ ।


    पाँच दिनदेखिको भीषण वर्षाका कारण गाउँमाथिबाट ठूलो पहिरो आउँदा सालिम गाउँकी ६१ वर्षीया हाजिरा भग्री, ३० वर्षीया होइजाली भग्री, १६ वर्षीया सुस्मिता भग्री, ४२ वर्षीय वीरबहादुर ऐडी, २४ वर्षीय सत्ता सावत, ३२ वर्षीय कृष्ण सावत, १६ वर्षीय चक्रबीर बोहरा र १३ वर्षीया गौकला बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार बेपत्ता ९ मध्ये सोमबार ८ को शव भेटिएको हो । करिब डेढ दर्जन घर भत्किएको प्रहरीले जनाएको छ । विस्थापितलाई प्रभात माध्यमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।

    हुम्लाको चंखेली–६ देनबाडास्थित देउच्या विकको घर पुरिँदा श्रीमतीसहित एक छोरा र दुई छोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार साँझ ७ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया होइजाली विक, ९ वर्षीया छोरी तुल्सी विक, ७ वर्षीया सुस्मिता विक र ५ वर्षीय छोरा वसन्त विकको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लगातार वर्षा र राति घटना भएकाले सोमबार बिहान मात्र प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    घटनामा देउच्या विकसहित ३ जना गम्भीर घाइते भएका छन् । ठाउँ–ठाउँमा पहिरो खस्दा कालीकोटका विभिन्न ठाउँमा बेपत्ता २३ मध्ये सोमबार ४ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता छन् । तिलागुफा–४ राचुलीमा आइतबार दिउँसो मलामी गएका ५२ मध्ये १३ जना बेपत्ता छन् । राचुलीका २२ वर्षीय हेमराज शाहीको मलामी गएकाहरूलाई माथिबाट आएको पहिरोले बगाएको थियो । उनीहरू तिला नदीको किनारामा दागबत्ती दिने क्रममा थिए । घटनामा २ बाँचेका टेकराज शाही र अबराज शाहीलार्ई उपचारका लागि हेलिकोप्टरमा सुर्खेत लगिएको छ ।

    यस्तै, आइतबार बिहान साढे १० बजे तिलागुफा–७ बालीमा गएको पहिरोले घर पुरिँदा बेपत्ता ध्रुवराज विष्टका ५ परिवारमध्ये २ छोराको शव फेला परे पनि ३ जना अझै बेपत्ता छन् । त्यस्तै खाडाचक्र–८ सेराबाडामा पहिरोले बगाउँदा सुर्खेतमा कार्यरत प्रहरी जवान पदम रावत, तिलागुफा–६ भैसेकी ८० वर्षीया लालका शाही र तिलागुफा–७ बालीमा अब्दुल बटु बेपत्ता छन् ।

    पहिरोमा पुरिएका सान्नीत्रिवेणी–८ का १६ वर्षीय केवल केसी र पचालझरना–७ का ४७ वर्षीय परिलाल बोहराको शव भेटिएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

  • कस्तो हुँदैछ आजको मौसम ?

    कस्तो हुँदैछ आजको मौसम ?

    काठमाडौं । एक साता देखि मुलुकका विभिन्न स्थानमा परिरहेको वर्षा अब क्रमशः कम हुे भएको छ । यसअघिको मौसमी प्रणाली कमजोर बन्ने क्रममा रहेका कारण अब तत्काल ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । हिजोसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा गराएको प्रणाली आजदेखि कमजोर भएको छ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा बदली भएर केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको र बेलुकीदेखि मौसम सफा हुँदै जाने छ ।

    काठमाडौं उपत्यकासहित पूर्वका क्षेत्रमा भने अझै तीन दिनसम्म मौसम बदली हुने सम्भावना छ । मौसम बदली भएर सामान्य पानी परे पनि ठूलो वर्षाको सम्भावना भने नरहेको बताइएको छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश(१, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा सामान्य पानी परिरहेको छ । बङ्गालको खाडीमा विकास भएको न्यून चापीय क्षेत्र सर्दै भारतको हरियाणा आसपासमा रहेको र त्यसको प्रभावले नेपालमा बदली भएको हो ।

  • आज उम्मेदवारको नामावली प्रकाशन

    आज उम्मेदवारको नामावली प्रकाशन

    काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुने भएकोछ । बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगको तयारी छ । हिजो उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ । उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।

    आयोगमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेलदेखि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी विरुद्धसम्म उजुरी परेका कारण आयोगको निर्णय रोचक हुनेछ । आयोगले आज प्रकाशन गर्ने नामावलीहरुमध्ये कुनै उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने मन भए भोलि बिहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सकिने छ ।

    त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि २ हजार ५२६ र प्रदेश सभाका लागि ३ हजार ४७६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

  • सामाजिक सञ्जालमा गरेको खर्च समेत अब निर्वाचन खर्चमा गणना हुने

    सामाजिक सञ्जालमा गरेको खर्च समेत अब निर्वाचन खर्चमा गणना हुने

    काठमाडौं । अब सामाजिक सञ्जालमा गरिएको खर्च समेत उम्मेदवारले निर्वाचन खर्तको विवरणमा जोड्नु पर्ने भएको छ । निर्वाचन आयोगले चुनावका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले चुनाव सकिएपछि कानुन बमोजिम पेस गर्ने चुनाव खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ ।

    आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारबाट सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र विज्ञापन हुन थालेको छ । आयोगले जारी गरेको ुनिर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति २०७७ु बमोजिम चुनावका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने जनाइएको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज सोमवार विज्ञप्ति निकालेर सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालयसमेतको संयन्त्र बनाइ नीतिको कार्ययोजना बमोजिम भए गरेका काम कारबाहीको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने काम भइरहेको जानकारी गराएका छन् ।

    आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने चुनाव खर्चको हद निर्धारण गरिसकेको छ । निर्वाचन आचारसंहिता २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले चुनाव खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको छ ।

    सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले चुनाव सम्पन्न भएपछि कानुन बमोजिम पेस गर्ने चुनाव खर्च विवरणमा समावेश गरेरनगरेकोबारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाइ परीक्षण गरिने भएकाले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका सबै खर्च विवरणसमेत चुस्तदुरुस्त राख्न सम्बन्धित सबै राजनीतिक दल र उम्मेदवारलाई आयोगले आग्रह गरेको हो ।

  • डेंगुबाट नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु

    डेंगुबाट नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु

    काठमाडौंं । नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको हो । यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो ।


    मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

    प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ । लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।

  • संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

    संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

    काठमाडौं । संस्कृतिविद् एवम वाङ्‍मय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनको अवस्था चिन्ताजनक रहेको जानकारी गराएको छ । ‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले भनेका छन् ।

    गत २३ असोजदेखि जोशीको छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको बज्राचार्यले जानकारी दिए । मुटुको चालमा समेत समस्या देखिएका उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् । किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ । घरमा समेत नर्स पठाएर सेवा दिंदै आएको थियो ।

  • ‘हाइड्रोबाट हाइड्रोजन’को यात्रामा मुलुक, बन्दैछ ऊर्जाको वैकल्पिक स्रोत

    ‘हाइड्रोबाट हाइड्रोजन’को यात्रामा मुलुक, बन्दैछ ऊर्जाको वैकल्पिक स्रोत

    काठमाडौं । ‘दुई वर्षअघि हाइड्रोजनबाट ऊर्जा उतपादन हुन्छ र त्यसमा नेपालले पहल गर्नुपर्छ भन्ने धारणा राख्दा धेरैले उडाएका थिए । नचाहिँदो कुरा भन्दै यसलाई अस्वीकार गर्नेहरु धेरै थिए । तर, आज ऊर्जाको वैकल्पिक स्रोतका रुपमा संसारभर नै हाइड्रोजनलाई उपयोग गर्ने योजना बनेको छ । नेपालले पनि यसलाई क्रमशः आत्मसात् गर्न थालेको छ ।’ यो भनाइ हो, काठमाडौँ विश्वविद्यालयका उपकूलपति भोला थापाको ।

    काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजनको प्राज्ञिक अध्यापनसमेत सुरु गरेको छ । नेपालमा ऊर्जाको वैकल्पिक स्रोतका रुपमा ग्रीन हाइड्रोजन पनि एउटा उत्तम किवल्प हुनसक्छ भन्ने मान्यता नीति निर्माणको तहले बल्ल अनुभूत गरेको बताउँछन् । उपकूलपति थापा ।

    काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजनका सन्दर्भमा नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगमजस्ता निकायसँग सहकार्य गरिरहेको छ । नेपालमा जलविद्युत्को प्रचूर सम्भाव्यता रहेकै सन्दर्भमा अब ‘हाइड्रोबाट हाइड्रोजन’ को नयाँ यात्रा प्रारम्भ भएको छ । यसै सन्दर्भमा नीति निर्मातालाई जानकारी गराउने लक्ष्यका साथ आजदेखि यहाँ ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ सुरु भएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो समिटको आज यहाँ उद्घाटन गरिन् । ऊर्जाको आगामी भविष्यका रुपमा विश्वले प्राथमिकतामा राखेको हरित हाइड्रोजनसम्बन्धी हुन लागेको यो सम्मेलन हरित हाइड्रोजनसँग मात्र सम्बन्धित भएर यस तहमा गरिएको नेपालको पहिलो सम्मेलन भएको उनले उल्लेख गरिन् ।

    हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको छ । विभिन्न विकसित मुलुकले यसको उत्पादन र उपयोगको सम्बन्धमा नीति निर्माण सुरु गरिसकेको जानकारी दिँदै मन्त्री भुसालले प्रविधिको अनुसन्धान र अन्वेषण गर्ने, खपतको क्षेत्र निर्धारण गरी त्यसलाई अन्वेषण र विस्तार गर्ने कार्यमा छिट्टै नीति निर्माण गरी अगाडि बढ्नुपर्ने बताइन् ।

    सम्मेलनले नेपाललाई हरित हाइड्रोजन ऊर्जाका सम्बन्धमा विश्वमा अग्रणी भूमिका निर्वाह गर्नका लागि मार्गनिर्देश गर्ने आफूले विश्वास लिएको मन्त्री भुसालको भनाइ छ । नेपालको प्रमुख प्राकृतिक स्रोतको रुपमा रहेको जलस्रोतलाई जलविद्युत्मा परिणत गर्ने र जलविद्युत्को प्रयोग गरी जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, पर्यावरणीय सुरक्षा, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासका दृष्टिले निकै गहन र महत्वपूर्ण रहेको मन्त्री भुसालको भनाइ छ ।

    किफायति, विश्वसनीय, भरपर्दो र हरित ऊर्जामा सबै जनताको पहुँच सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न जलविद्युत् आयोजनाको दिगो रुपमा विकास गरिनुपर्ने आवश्यकता औल्याउँदै उनले नेपालमा उपलब्ध प्रचूर जलस्रोतको विकासबाट देशभित्रको नवीकरणीय ऊर्जाको बढ्दो माग पूरा गर्दै बढी भएको स्वच्छ ऊर्जा छिमेकी मुलुकसम्म पुर्याइ विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राखे।

    मन्त्री भुसालले भनिन्, ‘जीवाष्म इन्धनको खपतबाट उत्पन्न पर्यावरणीय असर, जलवायु परिवर्तनलगायतका समस्याले मानव समुदाय र पृथ्वीकै अस्तित्वमा खतरा पैदा भइरहेकाले विश्व मानव समुदायको रक्षा गर्दै भावि सन्ततिलाई सुरक्षित भविष्य दिनका लागि दिगो विकास र ऊर्जाका रुपमा नवीकरणीय ऊर्जाको प्रयोग आजको अपरीहार्य आवश्यकता हो ।’

    जलविद्युतको विकास गरी हामीले प्रयोग गर्ने सबै ऊर्जाका स्रोतका रुपमा जलविद्युत्लाई प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने साथै जलविद्युत्लाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने सरकारको लक्ष्य रहेको मन्त्री भुसालको भनाइ छ । त्यसका लागि मन्त्रालयले आवश्यक तयारीसमेत गरेको जानकारी दिँदै उनले त्यसका लागि कार्यदल गठन गरी जलविद्युत्को प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको बताइन् ।

    सन् २०३० भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने, सन् २०२६ मा मध्यम आय भएको मुलुकमा पुग्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न एवं सबल अर्थतन्त्रको विकास गर्न कृषि, पर्यटन, औद्योगीकक्षेत्र सहित जलविद्युत् आयोजनाको तीव्रतर विकास हुनु आवश्यक रहको उनको भनाइ छ ।

    ग्रीन हाइड्रोजनसम्बन्धी नीति तत्काल बनाउनुपर्छ : घले

    सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष शेष घलेले ग्रीन हाइड्रोजनसम्बन्धी नीति तत्काल बनाउन सरकारको ध्यानाकर्षण गराए।

    कोरोनाकालका संसारभर नै लकडाउन भएको अवस्थामा ग्रीन हाइड्रोजनको विकल्पका बारेमा आफू र आफ्नो समूहले विशेष अध्ययन गरेको जानकारी दिँदै उनले नेपालले ग्रीन हाइड्रोजन उत्पादनमा विश्वव्यापी रुपमा नै नेतृत्व लिनसक्ने बताए ।

    नेपालले विद्युत् उत्पादनमा ठूलो फड्को मारेको छ । यसबाट प्राप्त हुने लाभ अर्थतन्त्रका लागि जुन हिसाबले लाभदायी छ त्यो भन्दा ठूलो रणनीतिक लाभ वातावरणीय क्षेत्रमा हुनेछ । नेपालको बिजुलीले अब नेपालभित्रको कार्बन उत्सर्जन मात्र प्रतिस्थापन गर्ने छैन ।

    भारत बङ्गलादेश भुटान श्रीलङ्कासम्म नेपालको स्वच्छ हरित जलविद्युत् पुर्याएर दक्षिण एसियाली क्षेत्रमा नै योगदान गर्ने प्रबल सम्भावना पनि बोकेको छ । बिजुलीको खपत गरेर इलेक्ट्रोलाईसिस पद्धतिमार्फत पानी खण्डीकरण गरी हाइड्रोजन उत्पादन गर्ने र त्यसलाई स्वदेशी खपत तथा विदेश निर्यातको सम्भावना छ ।

    नवीकरणीय ऊर्जाबाट उत्पादन गरेको विद्युत्को प्रयोग गरी पानीको विद्युतीय विच्छेदन (इलेक्ट्रोलाइसिस)बाट उत्पादित हरित हाइड्रोजनलाई केमिकल फिडस्टकको रुपमा रासायनिक मल उद्योग, स्टील उद्योग, यातायातमा प्रयोग गर्न सकिन्छ । हरित हाइड्रोजनको उत्पादन लागत ग्रे हाइड्रोजनको तुलनामा धेरै रहेको बताइन्छ ।

    हरित हाइड्रोजनको उत्पादन लागत प्रतिकेजी ५.५ अमेरिकी डलर रहेको छ भने ग्रे हाइड्रोजनको उत्पादन लागत दुई डलर रहेको छ । उत्पादन लागत घटाउन विद्युतीय विच्छेदनमा लागेको लागत र नवीकरणीय ऊर्जा उत्पादनमा लाग्ने लागत कम गर्नुपर्छ । हालको अध्ययन अनुसार इलेक्ट्रोलाइजरको लागत सात सयदेखि एक हजार अमेरिकी डलर बराबर रहेको छ ।

    कोभिड–१९ का कारण सिर्जित माग आपूर्तिबीचको असन्तुलन र रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य आकाशिएको सन्दर्भमा संसारभर नै हाइड्रोजनलाई ऊर्जाको विकल्पका रुपमा प्रयोग गर्ने गरी लगानीसमेत विस्तार भएको छ ।

  • चुनावी मैदानबाट बाहिरिए यी २ दर्जन शीर्ष नेता, कतिपय चर्चित अनुहारले टिकटनै पाएनन्

    चुनावी मैदानबाट बाहिरिए यी २ दर्जन शीर्ष नेता, कतिपय चर्चित अनुहारले टिकटनै पाएनन्

    काठमाडौं । नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिएनन् ।

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिएका हुन् ।

    निर्वाचनका लागि आइतबार प्रतिनिधिसभाका १६५ र प्रदेशसभामा ३३० निर्वाचन क्षेत्रका लागि सयौँले उम्मेदवारी दिएका छन् । त्यसमा कतिपय चर्चित अनुहार देखिएनन् ।

    नेपाली कांग्रेसबाट यस निर्वाचनमा शीर्ष नेता केबी गुरुङ, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, मन्त्री उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायत उम्मेदवारका रुपमा देखिएनन् ।

    यसैगरी नेकपा (एमाले) नेता डा भीम रावल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, घनश्याम भुसाल (पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार), थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेललगायत पनि कुनै पनि उम्मेदवारका रुपमा छैनन् ।

    निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट सभामुख अग्निप्रसाद सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरा, नेताहरु हरिबोल गजुरेल, मुख्यमन्त्री त्रिलोचन भट्ट र कुलप्रसाद केसीलगायतको पनि उम्मेदवारी देखिएन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि यस निर्वाचनमा उम्मेदवार बनेनन्।

    निर्वाचन आयोगका अनुसार आइतबार भएको मनोनयनपत्रमा दर्ता प्रक्रियामा प्रतिनिधिसभातर्फ पुरुष २ हजार २६९ र महिला २३३ गरी कुल २ हजार ५०२ जना उम्मेदवार रहेका छन् । यस्तै प्रदेशसभातर्फ पुरुष ३ हजार १३९, महिला २९६ र एक अन्य गरी कुल ३ हजार ४३६ उम्मेदवार रहेका छन् ।

    यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता सङ्ख्या छ । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार ८०६, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ छ । निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ ।

    निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

  • एकदिन पनि टिकेन नेप्सेको उछाल, यी हुुन् धेरै मूल्य घट्ने कम्पनी

    एकदिन पनि टिकेन नेप्सेको उछाल, यी हुुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से २७.१६ अंकले घटेर १८७१.२२ विन्दुमा झरेको छ ।

    दशैंको बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ४४.६२ अंकले बढेको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२१ कम्पनीको ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँ बराबरको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आइतवार ८३ करोड ६८ लाख ७३ हजार १३९ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभ्न्दा धेरै २.६५ प्रतिशतले घटेको छ ।

    आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेरको छ ।

    नेप्सेका अनुसार गरिमा डिभेञ्चर २०८५ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तैगरी, सिभिल लघुवित्त ६.३३, कृषि विकास बैंकको डिबेन्चर (२०८३) ५.८६, कर्णाली डेभलपमेन्ट बैंक ५.४६, पन्चकन्यामाइ हाइड्रोपावर, महुली लघुवित्त, पाँचथर पावर, मिथिला लघुवित्त, आशा लघुवित्तको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड प्रमोटर शेयरको भएको छ । यसको आज १६ करोड ५८ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी आज अदालतमा उपस्थित गराएको थियो । यो म्याद उनी पक्राउ परेको मिति असोज २० गतेबाट नै लागु हुनेछ ।

    असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

    विमानस्थलबाट उत्रिने वित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीको जिम्मा लगाएको थियो। त्यसपछि विमानस्थल प्रहरीले महानगरीय प्रहरी वृत गौशालालाई बुझाएको हो।

    भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो ।

  • हुम्लामा पहिरो, कम्तिमा ४ जनाको मृत्यु

    हुम्लामा पहिरो, कम्तिमा ४ जनाको मृत्यु

    काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना मृत्यु भएको छ । ३ जना घाइतेको उद्धार गरिएको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकोले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थलमा नजिकैको प्रहरी जाँदै छ ।

    घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट ३ दिन हिँडेपछि मात्रै पुगिन्छ । ३ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न नसकिएको समेत समाचारमा उल्लेख छ ।