Category: फिचर

  • गाँजासँग सम्बन्धित कसुरमा थुनिएकालाई अमेरिकामा माफी

    गाँजासँग सम्बन्धित कसुरमा थुनिएकालाई अमेरिकामा माफी

    काठमाडौं । अमेरिमा गाँजासँग सम्बन्धित कसुरमा थुनिएकालाई आम माफी दिइएको छ । राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन् । बाइडेनले बिहीबार एक भिडियो सन्देशमा देशको संघीय कारागारमा गाँजा सेवन र राख्ने आरोपमा थुनिएका सबै मानिसलाई रिहा गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रपति चुनावको प्रचारप्रसारका क्रममा उनले उक्त निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    उनको यो कदमले गाँजासम्बन्धि संघीय अपराधमा सजाय भोगिरहेका हजारौं अमेरिकीहरू लाभान्वित हुने समाचार एजेन्सीहरुले लेखेका छन् । बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै कसैलाई जेल हाल्नु उचित नहुने बताएका छन् । बाइडेनले आफ्नो नयाँ निर्णयले गाँजाको अवैध खरिदबिक्री, व्यापार र कम उमेरमा बिक्रीमा आवश्यक प्रतिबन्ध कायमै रहने बताएका छन् ।

    उनले गाँजाप्रतिको गलत दृष्टिकोणका कारण धेरै जीवन बर्बाद भएकोले यो गल्ती सच्याउने समय आएको तर्क गरे । उनले गोरा र काला मानिसहरूले समान मात्रामा गाँजा प्रयोग गरे पनि काला मानिसलाई गोराहरू भन्दा बढी पक्राउ गरिने र सजाय दिइने अभ्यासको पनि विरोध गरेका छन् ।

  • काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुरियो, तीन जनाको मृत्यु

    काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुरियो, तीन जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोमा घर पुँरिदा तीन जनाको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

    पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको समेत प्रहरीको भनाई छ । मध्यरातमा गएको पहिरोपछि बिहानसम्म उद्धार कार्य जारी रहेको थियो ।

  • मौसममा सुधार देखिँदै,  पश्चिम भेगमा अझै जोखिम

    मौसममा सुधार देखिँदै, पश्चिम भेगमा अझै जोखिम

    काठमाडौं । नेपालमा निरन्तर जारी भारती वर्षा क्रमशः सुधार भइरहेको छ । पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना भने कायमै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजबाट पूर्वी नेपालमा भने मौसममा सुधार हुँदै जाने भएको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनु पर्ने भएको छ ।

    नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको छ । केही दिनयता लगातार वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा भने सामान्य बदली रहेको र सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार कन्चनपुरको शान्तिपुर बेलौरी, बर्दियाको रम्भापुर, नवलपुरको दुम्कौली, तनहुँको अत्रउलीटार तथा पाल्पाका अर्चले र गण्डाकोटमा भारी वर्षा भइरहेको छ । यी स्थानहरुमा पर्ने महाकाली, बबई र काली गण्डकी जलाधार क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण खतराको संकेत देखाइएको छ । २४ घण्टाको अवधिमा पाल्पामा सबैभन्दा बढी २११ मिलिमिटर वर्षा मापन भएको छ ।

  • थाइल्याण्डमा बाल स्याहार केन्द्रमा नरसंहार, कम्तिमा ३४ मारिए

    थाइल्याण्डमा बाल स्याहार केन्द्रमा नरसंहार, कम्तिमा ३४ मारिए

    बैंकक । थाईल्यान्डस्थित एउटा प्रि–स्कूल डेकेअर सेन्टरमा एक पूर्वप्रहरी अधिकारीले बन्दुक तथा चक्कु आक्रमण गर्दा कम्तीमा ३४ जान मारिएका छन्। बीबीसीका अनुसार नोङ्ग बुआ लाम्पु प्रान्तमा भएको घटनालगत्तै प्रहरीले खोजी कार्य शुरू गरेपछि आक्रमणकारीले परिवारका सदस्यलाई मारेर पछि आफ्नै ज्यान लिएका थिए। बन्दुक तथा चक्कु आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका तथा वयस्क पनि छन्।

    भाग्नुअघि आक्रमणकारीले पीडितहरूमाथि गोली चलाउनुका साथै चक्कु पनि प्रहार गरेका थिए। आक्रमणको उद्देश्य थाहा हुन सकेको छैन। तर प्रहरीका अनुसार उनी गत वर्ष मात्रै बर्खास्तीमा परेका थिए । आक्रमणमा मारिनेमा दुई वर्षसम्मका बालबालिका पनि रहेको विवरणमा जनाइएको छ। कम्तीमा १२ जना घाइते भएका छन्। खाना खाने समयमा आएर आक्रमणकारीले शुरूमा बालस्याहार केन्द्रका चार अथवा पाँचजना अधिकारीको गोली हानी हत्या गरेका थिए ।

    बालबालिका सुतिरहेको कोठामा आक्रमणकारी पुगेर हत्या गरेको बताइएको छ । थाई प्रधानमन्त्री प्रायुथ चान(ओचाले त्यसलाई स्तब्ध बनाउने घटना भनेका छन्। आक्रमणकारीको नाम पान्या काम्राब भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनापछि उनी ब्याङ्ककमा दर्ता गरिएको नम्बर प्लेट भएको सेतो चारढोके टोयोटा पिकअप ट्रक चढेर भागेका थिए।


    घटनामा ज्यान गुमाउनेमा २३ जना बालबालिका रहेको नोङ्ग बुआ लाम्पु प्रान्तस्थित एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। थाईल्यान्डमा गोली हानेर ठूलो सङ्ख्यामा मान्छे मार्ने घटना विरलै हुन्छ। सन् २०२० मा न्याकोन र्‍याटचासिमा शहरमा एक सैनिकले गोली हानी २१ जनाको हत्या गरेका थिए भने अन्य कैयौँलाई घाइते बनाएका थिए।

  • सन्दीपले प्रहरी समक्ष गरे आत्मसमर्पण

    सन्दीपले प्रहरी समक्ष गरे आत्मसमर्पण

    काठमाडौं । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । पक्राउ गरेर गौशाला लगिएका सन्दीपलाई तत्काल स्वास्थ्य परीक्षणका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज समेत लगिएको थियो । सिनामंगलबाट सन्दीपलाई पुनः प्रहरी वृत्त गौशाला लगिएको छ ।

    प्रहरीका अनुसार सन्दीपलाई आइतबार अदालत उपस्थित गराइने भएको छ । शुक्रबारसम्म दशैंको बिदा र शनिबार सार्वजनिक बिदा परेका कारण अदालत बन्द हुने भएकोले आइतबार अदालत खुलेपछि म्याद थपका लागि सन्दीपलाई उपस्थित गराइने बताइएको छ ।

    राष्ट्रिय टोलीको कप्तानका रूपमा भदौ ६ गते केन्यामा क्रिकेट सिरिज खेल्न गएका उनलाई विदेशमै रहेका बेला नेपालमा जाहेरी परेको थियो । केन्या जानु अघिल्लो दिन अर्थात् भदौ ५ गते सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक १७ वर्षीया नाबालिगले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

    सोही उजुरीका आधारमा भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीपले आफूविरुद्ध लागेको आरोप निराधार भएको भन्दै कानुनी लडाईमा सफल हुने विश्वास व्यक्त गरेका छन् ।

  • बारामा बस दुर्घटना, १६ जनाको मृत्यु

    बारामा बस दुर्घटना, १६ जनाको मृत्यु

    बारा । बिहीबार बिहान भएको बारामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चालक फरार छन् । १६ जनामध्ये १४ जनाको सनाखत भइसकेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ मा बिहान साढे १० बजे बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला छन् ।

    मृत्यु हुनेमा जिल्ला बारा कलैया उपमहानगर पालिका २ बस्ने अन्दाजी वर्ष ४० को लिलाराज चौधरी, जिल्ला चितवन खैरेनी नगरपालिका ५ बुडौली बस्ने वर्ष ६३ की नन्दकुमारी पुडासैनी, सोही ठाउँ कालिका नगरपालिका रमाइलो चोक बस्ने शंकर कँडेलको छोरा अन्दाजी वर्ष १४ को सफल कँडेल, जिल्ला पर्सा वीरगन्ज महानगरपालिका १६ बस्ने वर्ष ६५ को सोमप्रसाद चौरसिया, सोही ठाउँ बस्ने वर्ष ३६ कि मन्निदेवी चौरसिया, जिल्ला मकवानपुर हेटौडा उपमहानगर पालिका ७ बस्ने वर्ष ५६ कि शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउँ बस्ने वर्ष १९ कि स्वस्तिका श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापालाई उदृत गर्दे सञ्चारमाध्यमले जनाएका छन् ।

    जिल्ला बारा कलैया उपमहानगर पालिका १० बस्ने वर्ष ३५ कि नाजलिन खातुन, सोही ठाउँकी वर्ष २६ को ईताजत अन्सारी, बाराको जितपुरसिमरा उपमहानगर पालिका २२ बस्ने वर्ष २८ को सुरेश बिक, जिल्ला ओखलढुङ्गा बस्ने पूर्व प्रहरी नायब निरीक्षक लालबहादुर बोगटी, जिल्ला चितवन खैरेनी नगरपालिका ५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कँडेल, जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ५ बस्ने वर्ष ५० को सन्तोषकुमार राय रहेको प्रहरीले जनाएको छ ।

    मृत्यु भएका २ को हेटौडा अस्पतालमा शव रहेको र नामथर वतन खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराको भनाई छ । घाइते सबैलाई उपचारको लागी ९ जनालाई हेटौडा, ४ जना वीरगन्ज र १९ जनाको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

  • गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलियो

    गण्डक ब्यारेजका ३६ मध्ये २२ वटा ढोका खोलियो

    काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेसँगै थालेपछि त्रिवेणीमा रहेको गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।
    रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानालाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

    लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले क्षति पुर्याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो । उनका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्युसेक पुगेको छ । गण्डक ब्यारेजमा पानीको सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमलाई मध्यनजर गरी आफूहरुले समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

    गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकताअनुसार ढोका खोल्ने काम हुने उहाँको भनाइ थियो । पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रुपमा रहनसमेत उनले आग्रह गरेका छन् । गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ ।

    पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो । बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गदैै नवलपरासी र चितवनका तटीय क्षेत्रमा जोखिम बढ्ने चेतावनी दिएको छ ।

  • पहिरोका कारण देशका मूख्य राजमार्ग अवरुद्ध

    पहिरोका कारण देशका मूख्य राजमार्ग अवरुद्ध

    काठमाडौं । निरन्तरको वर्षा र बाढी पहिरोका कारण दशैंको समयमा मूख्य राजमार्गहरु अवरुद्ध बनेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । उता, सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ-गल्याङखण्ड पनि पहिरोले अवरुद्ध भएको छ ।

    बिहान ४ बजेतिर गल्याङ-८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग भने एकतर्फी खुलाइएको छ । निरन्तरको वर्षाका कारण लम्जुङको बेंसीसहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको छ ।


    मनाङको नासों गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय प्रशासनले जनाएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा नेपालमा पनि निरन्तर वर्षा भइरहेको छ ।

  • सन्दीप आज नेपाल आउँदै

    सन्दीप आज नेपाल आउँदै

    काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्कने भएका छन् । कतार एयरवेजको नियमित उडानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ । स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनको भनाई छ ।

    उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए । उनी लामो समय सम्पर्कविहिन रहेपछि नेपाल आउन लागेका हुन् ।

  • कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्ललाई उदृत गदै सञ्चारमाध्यमले जनाए अनुसार बुधबार राति करिब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका ३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका १० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो ।

    गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुवै जनाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

  • निरन्तर वर्षाले नदीमा बढ्यो वहाव, तीन दिन जोखिम कायमै

    निरन्तर वर्षाले नदीमा बढ्यो वहाव, तीन दिन जोखिम कायमै

    काठमाडौं । नेपालका अधिकांश स्थानमा अविरल जारी वर्षाका कारण जोखिम बढेको छ । यसले नारायणी, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा पानीको बहाव उल्लेख्य बढाएको मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । केही नदीहरुमा खतराको तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।


    बाढी सूचना केन्द्रले आज बिहान ७ बजे एक सूचना जारी गर्दै देशभरका नदीहरुको अवस्थाबारे जानकारी दिएको छ । उक्त सूचनामा लेखिए अनुसार आज पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीहरुमा पानीको बहाव खतरा तह आसपास पुगेको छ । बाढी बढ्दो क्रममा छ ।

    प्यूठानको स्वर्गद्वारी, दाङको बेलझुण्डी, पाल्पाको गण्डाकोट, जाल्पा, अर्चले, रुपन्देहीको लुम्बिनी, नवलपुरको देउराली, स्याङ्जाको मालुङ्गा, तनहुँको अत्रुलिटार, चितवनको गोविन्द वस्ती कास्कीको जुम्लेटी र लामपाटन केन्द्रमा भारी वर्षा भएर खतराको संकेतसम्म पुगेको छ ।

    यसैगरी कोशी, कर्णाली, नारायणी, महाकाली, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती र तीनका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल सामान्य अवस्थामा छ । आज बागमती प्रदेशको चितवन, रुकुम पूर्वबाहेक लुम्बिनी प्रदेशका सबै जिल्ला, गण्डकी प्रदेशका नवलपरासी पूर्व, तनहुँ र स्याङ्जा तथा कर्णाली प्रदेशको जाजरकोटका नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

    यसैगरी झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा गोरखा, लम्जुङ, कास्की, मनाङ, मुस्ताङका नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान छ ।

    यसैगरी बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलाका नदीहरुमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान रहेको बाढी सूचना केन्द्रले जनाएको छ । असोज २१ गते भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने अधिकांश नदीहरुमा बहाव उल्लेख्य बढ्ने छ ।

  • रसायन शास्त्रको नोबेल पुरस्कार तीन जनालाई

    रसायन शास्त्रको नोबेल पुरस्कार तीन जनालाई

    काठमाडौं । रसायनशास्त्रका लागि दिइने यस वर्षको नोबेल पुरस्कार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई क्लिक केमिस्ट्री पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गर्ने घोषणा गरिएको छ। ८१ वर्षीय शार्पलेसले नोबेल पुरस्कार पाएको यो दोस्रो पटक हो। यसअघि उनले सन् २००१ मा नोबेल पुरस्कार पाएका थिए।

    तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम बाँडेर लिनेछन्। गत वर्षको पुरस्कार दुईजना वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरेका थिए। ती वैज्ञानिकले अणु उत्पादनका लागि प्रयोग गरिने उपकरणहरू विकास गरेका थिए। यो वर्षको भौतिक शास्त्रतर्फ दिइने नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने मङ्गलवार घोषणा गरिएको थियो।

    सोमवार चिकित्साशास्त्रसम्बन्धी नोबेल पुरस्कार मानव विकासक्रमसम्बन्धी काम गरेका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गर्ने घोषणा गरिएको थियो। भोलि बिहीवार साहित्यतर्फ र पर्सि शुक्रवार शान्ति तर्फका विजेताका नाम घोषणा गरिनेछ। आउँदो सोमवार अर्थशास्त्र तर्फका विजेताका नाम घोषणा गरिनेछ।

  • रुसले अमेरिकालाई दियो प्रत्यक्ष युद्धको चेतावनी

    रुसले अमेरिकालाई दियो प्रत्यक्ष युद्धको चेतावनी

    काठमाडौं । युक्रेनलाई थप सैन्य सहायता पठाउने संयुक्त राज्य अमेरिकाको निर्णयले रुस र पश्चिमा देशबीच प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएको मस्कोले चेतावनी दिएको छ। बीबीसीका अनुसार अमेरिका अहिलेको द्वन्द्वको एउटा पक्ष भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि सीधा खतरा भएको बताए। अमेरिकाले युक्रेनलाई अर्को ६२५ मिलियन डलर बराबरको सैन्य सहायता घोषणा गरेको छ।

    अहिले जारी द्वन्द्वमा युक्रेनी फौजले रुसी फौजविरुद्ध सफलता हासिल गर्दै जानुको पछाडि अमेरिकी अस्त्रहरूको योगदान रहेको बताइन्छ। पछिल्ला साताहरूमा युक्रेनी फौजहरूले देशको पूर्वोत्तर र दक्षिणी क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरिरहेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण शुरू गराएयता किएभलाई वाशिङ्गटन दिएको सैन्य सहायता करिब १७ अर्ब डलर बराबर पुगेको छ।

    बिहीवार एउटा वक्तव्यमार्फत्‌ रुसी राजदूत एन्टोनोभले किएथस्थित सत्तालाई अस्त्रहरू दिइराख्नुको अर्थ वाशिङ्गटन द्वन्द्वको एउटा पक्ष हुने चेतावनी दिएका हुन्। त्यसले अहिलेको रक्तपातलाई लम्ब्याउने र नयाँ हताहती निम्त्याउने उनले दाबी गरे। एकदमै गम्भीर परिणाम निम्त्याउन सक्ने उक्साहटपूर्ण कामहरू बन्द गर्न हामी वाशिङ्गटनलाई आग्रह गर्छौँ,’ रुसी रादजूतले भने।

    पछिल्ला हप्ताहरूमा युद्ध मैदानमा युक्रेनसँग ठूलो पराजय बेहोरिरहेको रुसले उपलब्ध सबै माध्यमबाट प्रतिरक्षा गर्ने बताएको छ। सो क्रममा उसले परमाणुअस्त्रको प्रयोगको सम्भावनालाई पनि नकारेको छैन। मस्कोले युक्रेनका चार क्षेत्र (डोनेट्स्क, लुहान्स्क, खेअरसन र ज्यापोरिज्यालाई रुसमा गाभ्ने प्रयासलाई बल दिइरहेको छ। यद्यपि उसले अहिलेसम्म कुनै क्षेत्रमाथि पूर्ण रूपमा नियन्त्रण गरिसकेको छैन र पछिल्ला दिनमा युक्रेनी फौजहरूले खेअरसन क्षेत्रमा प्रगति हासिल गरिरहेका छन्।

  • राष्ट्रपतिबाट टिका ग्रहण तथा सर्वसाधारणलाई वितरण

    राष्ट्रपतिबाट टिका ग्रहण तथा सर्वसाधारणलाई वितरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैंको टीका ग्रहण गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गरेको राष्ट्रपति कार्यालयको भनाई छ ।

    राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान वितरण गरेकी छिन् । आज नेपालसहित विश्वभर रहेका हिन्दु धर्मावलम्बीले विजया दशमी धुमधामसहित मनाइरहेका छन् ।

  • देशभर भारी वर्षा, दशैंको टिका लगाउन गरिने यात्रा कष्टकर

    देशभर भारी वर्षा, दशैंको टिका लगाउन गरिने यात्रा कष्टकर

    काठमाडौं । देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहे पनि केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले आज दशैंको टिकाको दिन यात्रा गर्नेहरुको यात्रा कष्टकर हुने देखिएको छ । आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र वाग्मती प्रदेशका केही तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश २ र वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध छ ।

  • अमेरिकासहित कुन देशमा दशैंको टिकाको साइत कति बजे ?

    अमेरिकासहित कुन देशमा दशैंको टिकाको साइत कति बजे ?

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार २०७९ सालको विजया दशमीमा टीका-जमरा लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले नेपालमा टीकाका लागि शुभ मुहूर्त भए पनि अन्य देशमा त्यो समय उपयुक्त नहुन सक्ने भएकाले विभिन्न देशका लागि छुट्टाछुट्टै साइत सार्वजनिक गरिएको हो ।

    स्थानीय पञ्चाङ्गअनुसार एउटै प्रकृतिको मुहूर्त पनि फरक समयमा हुने भएकाले स्थानीय पञ्चाङ्गबाट मात्र शुभमुहूर्त यकिन हुने भएकाले भिन्न भिन्न देशका लागि त्यहाँको समयअनुसारको साइत तोकिएको समितिले जनाएको छ । गत असोज ४ गते समितिद्वारा जारी विज्ञप्तिमा नेपालका लागि बिहान ११ः५१ बजे, देहली, भारतका लागि बिहान १०:४५ बजे शुभ साइत तोकेको छ ।

    त्यस्तै न्युयोर्क, अमेरिकाका लागि अक्टोबर ४ तारिकका दिन बिहान ११:११, केन्टुकी, अमेरिकामा सोही दिन बिहान ११:५५, टेक्सासमा ११:३५ बजे, क्यालिफोर्नियामा ११:४५ बजे, वासिंटन डीसीमा बिहान ११:२५ बजे टीकाका लागि उत्तम साइत रहेको छ ।

    क्यानडाको टोरन्टोमा पनि सोही दिन बिहान ११:३९ बजे, क्यानडाको भ्यानकुभरमा बिहान ११:४५ बजे, स्विट्जरल्यान्डमा बिहान ९:५५, बेलायतमा बिहान ११:५७ बजे, पोर्चुगलको लिस्बनमा बिहान ११:३५ बजे, फ्रान्सको पेरिसमा बिहान ११:५५ बजे र नर्वेको ओस्लोमा टीकाको उत्तम साइत बिहान ११:५५ बजे रहेको समितिले जनाएको छ ।

    यसैगरी टोकियो, जापानका लागि अक्टोबर ५ मा बिहान १०:३९ बजे, न्युजिल्यान्डमा सोही दिन बिहान १०:५७, अस्ट्रेलियाको सिड्नीमा बिहान १०:४१, मेलबर्नमा बिहान १०:५५ बजे, ब्रिसबेनमा बिहान ११:०५ बजे, मलेसियाको क्वालालाम्पुरमा बिहान १०:२५ बजे, सिंगापुरमा बिहान ११:२७ बजे, थाइल्यान्डमा बिहान १०:२१ बजे, हङकङमा बिहाना १०:५५, दक्षिण कोरियामा बिहान १०:५१ बजे, साउदी अरेबियामा बिहान ९:५५ बजे, कतारमा बिहान ८:१५ बजे र यूएईमा सोही दिन बिहान ९:०१ बजे टीकाको उत्तम साइत रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै इजरायलमा पनि अक्टोबर ५ मा बिहान १०:२७ बजे, म्यानमारमा बिहान ९:५५ बजे टीकाको शुभ साइत रहेको छ ।

  • पूर्वराजाले सर्वसाधारणलाई टिका नलगाइदिने, राष्ट्रपतिले भने लगाउने

    पूर्वराजाले सर्वसाधारणलाई टिका नलगाइदिने, राष्ट्रपतिले भने लगाउने

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट दशैंको टिका थाप्न चाहनेहरुले आज ३ बजेपछि टिका ग्रहण गर्न सक्ने भएका छन् । तर, पूर्व राजा ज्ञानेन्द्र शाहले भने यस पटक सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरेका छन् । उनको स्वास्थ्य कारण टिका वितरणको कार्यक्रम स्थगित भएको हो । राष्ट्रपति कार्यलयमा आज दुईथरि कार्यक्रम छ ।

    विजया दशमीको दिन राष्ट्रपतिले दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखिएको छ । डेंगुका कारण पूर्व राजा भने दशैंमा शक्तिपीठमा समेत सहभागी भएनन् ।

  • आज बडा दशैंको टिका, उत्तम साइत ११ बजे ५१ मिनेटमा

    आज बडा दशैंको टिका, उत्तम साइत ११ बजे ५१ मिनेटमा

    काठमाडौं । आज बडा दशैंको मुख्य दिन मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भने ।


    घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

    समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३४ मिनेटमा तोकिदिएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ । देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष अधिकारीले बताए ।

  • तीन जना वैज्ञानिकले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

    तीन जना वैज्ञानिकले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

    काठमाडौं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। क्वान्टम मेकानिक्स सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो। यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले आपसमा बराबरी रूपमा बाँड्नेछन्। पुरस्कारको राशि एक करोड स्वीडिश क्रोनर छ।

    गत वर्ष पनि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरूलाई नै दिइएको थियो। यस वर्षको पुरस्कार विजेताहरूले जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर नवीन खोजहरू सञ्चालन गरेका थिए। उक्त खोजले दुई उप(पारमाणविक कणहरू छुट्टिए पनि तीनले एउटै एकाइको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ। त्यो प्रयोगको नतिजाले क्वान्टम जानकारीमा आधारित नयाँ प्रविधिका लागि बाटो खोली दिएको छ।

    क्वान्टम सूचना विज्ञान एउटा जीवन्त र द्रुत रूपमा विकास भइरहेको क्षेत्र रहेको भौतिक विज्ञानको नोबेल समितिका सदस्य इभा उल्सनले भनेकी छिन् । फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस-सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध छन्। अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसन क्यालिफोर्नियामा आफ्नै कम्पनी चलाउँछन्।

    सतहत्तर वर्षका एन्टोन साइलिङ्गर चाहिँ भियना विश्वविद्यालयमा संलग्न छन्। यी तीन जनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए। चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकास क्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गर्ने घोषणा सोमवार गरिएको थियो।

  • भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा २ को मृत्यु, २८ वेपत्ता

    भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा २ को मृत्यु, २८ वेपत्ता

    नयाँ दिल्ली । भारतको उत्तराखण्डमा हिम पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । उत्तराखण्डको उत्तरकाशी जिल्लामा रहेको (द्रोपदीको डाँडा) २’मा हिम पहिरो गएको हो । हिम पहिरोमा परेर भारतको नेहरु पर्वतारोहण संस्थानका दुई प्रशिक्षकको मृत्यु भएको छ । २८ जना हिम पहिरोमा हराइरहेका छन् । पाँच हजार मिटर अग्लो यो हिमालमा आरोहीहरु प्रशिक्षणका लागि जाने गर्छन् । हराइरहेका २८ जना पनि प्रशिक्षार्थी रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

  • पाँच दलीय गठबन्धनको प्रचण्डलाई आह्वान : चितवन ३ नछाड्नु

    पाँच दलीय गठबन्धनको प्रचण्डलाई आह्वान : चितवन ३ नछाड्नु

    काठमाडौं । पाँचदलीय गठवन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न आग्रह गरेको छ । कांग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने ठहर गरेको छ ।

    बैठकको निर्णयमा भनिएको छ, ‘मंसिर ४ गते सम्पन्न हुन गरहेको संघीय निवाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरिन्छ ।’

    बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरुले अघि सार्ने उम्मेदवारहरुलाई विजयी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेको छ । बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादीका प्रेमराज भूजेल पनि सहभागी थिए ।

  • राष्ट्रपतिले ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दशैंको टिका लगाइदिने

    राष्ट्रपतिले ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दशैंको टिका लगाइदिने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं २०७९ को अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीमा टीका र प्रसाद प्रदान गर्ने भएकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ।

    राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने छिन‍्। सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ। टीका ग्रहण गर्न राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुन भनेको छ ।

  • मनास्लु हिउँ पहिरो : अहिलेसम्म तीन जनाको मृत्यु

    मनास्लु हिउँ पहिरो : अहिलेसम्म तीन जनाको मृत्यु

    काठमाडौं । उत्तरी गोरखाको मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । अघिल्लो साता दुई जनाको मृत्यु भएको थियो । आइतबार पुनः आधार शिविरमै हिउँ पहिरो आएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको हो । आइतबार साढे ४ बजेतिर हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, गोरखा अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना तत्काल नै सम्पर्कमा आएका थिए ।

    पहिरामा परेका शेर्पा भने वेपत्ता भएका थिए । उनको शव सोमबार दिउँसो भेटिएको छ । उनको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाइएको छ । गत सोमबार हिमपहिरामा परी सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।

  • आज महानवमी, नवदूर्गा भगवतीको भब्य पूजा आरधना गरिँदै

    आज महानवमी, नवदूर्गा भगवतीको भब्य पूजा आरधना गरिँदै

    काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

    पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

    कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

    महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक दिन महानवमीमा मात्र खुल्ने गर्दछ ।

  • आजबाट वर्षा शुरु, दशैं हिलाम्य बन्दै

    आजबाट वर्षा शुरु, दशैं हिलाम्य बन्दै

    काठमाडौं । आजबाट वर्षा शुरु हुने भएको छ । जसका कारण दशैं हिलाम्य हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो ।

    मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा लेखिए अनुसार असोज १८ गते नवमीको दिन दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ । राति भने लुम्बिनी, बागमती, गण्डकी, मधेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    असोज १९ गते दशैंको टीकाको दिन देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।
    आजदेखि देशका केही स्थानमा भारी वर्षा सहितको पानी पर्ने पूर्वानुमान छ । के तपाई यसका लागि तयार हुनुहुन्छ । यति गरे विपद्का बेला आपत पर्दैन ।
    असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ ।

    त्यसैले पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र सडक तथा हवाई यातायात तथा कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भए तापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने महाशाखाले जनाएको छ ।

  • मानव विकास क्रम:को खोज गरेका वैज्ञानिक पाबोले पाए चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार

    मानव विकास क्रम:को खोज गरेका वैज्ञानिक पाबोले पाए चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार

    काठमाडौं । स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । नोबेल पुरस्कार वितरण समितिले सोमबार पुरस्कार घोषणा गर्यो । पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहरूको आनुवांसिक संकेत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ।

    ‘अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उहाँको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौं भन्ने पत्ता लगाउने आधार बनेको छ,’ नोबेल कमिटीले भनेको छ। नीयनडर्थल डिएनए र संसारभरि रहेका मानवको डिएनएबीच गरिएको तुलनापछि उनीहरूको डिएनए युरोप र एसियाका मानिसहरूको डिएनएसँग मिल्दोजुल्दो पाइएको छ।

    यसले होमो स्यापियन्सले ७० हजार वर्ष अगाडि अफ्रिकाबाट बसाइँ सरेपछि होमो स्यापियन्ससँग यौनसम्पर्क राखेर बच्चा जन्माएका थिए भन्ने बताउँछ र हामी आज पनि त्यसको विरासत देख्न सक्छौं। उनले यसभन्दा अघि अज्ञात होमिनिन, डेनिसोभाहरू पत्ता लगाएर सनसनीपूर्ण खोज पनि गरेका थिए।

    नोबेल कमिटी फर फिजिओलोजी अर मेडिसिनका सचिव थोमस पर्लमनले प्रोफेसर पाबोलाई फोन गरी पुरस्कृत भएको जानकारी दिएका थिए। पर्लमनले स्वान्टे पाबोलाई पुरस्कारबारे जानकारी गराउँदा उनले आफू शब्दविहीन र खुसी भएको बताएका थिए। उनले १ करोड स्वीडिस क्रोनर अर्थात् ८ लाख बेलायती पाउन्ड बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

  • माओवादीका हुम्लाका सांसद छक्कबहादुर लामा एमाले प्रवेश

    माओवादीका हुम्लाका सांसद छक्कबहादुर लामा एमाले प्रवेश

    काठमाडौं । माओवादीका नेता तथा गत निर्वाचनमा हुम्लाबाट जितेका सांसद छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । उनी माओवादीको केन्द्रीय सदस्य समेत थिए । लामालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा पार्टी प्रवेश गराए ।

    हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी माओवादीका उम्मेदवार छिमी दोर्जेविरुद्ध बागी उठेका थिए । छिमी यसअघि नै एमाले प्रवेश गरिसकेका छन् ।

  • नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनले लिए सपथ, बेरी बिदा भए

    नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनले लिए सपथ, बेरी बिदा भए

    काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शुक्रबार शपथ ग्रहण गरेका छन् । थम्पसनलाई अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले शपथ गराएकी छन् । उनी केही साताभित्र आफ्नो कार्यकाल सम्हाल्न नेपाल आइपुग्ने बताइएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएसँगै उनको नियुक्ती भएको हो ।

    अमेरिकाले उनलाई नामिबियाका लागि राजदूत नियुक्त गरेको छ । उनी आइतबार स्वदेश फर्किएका हुन् । ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समाबेस हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु,’ बेरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको अनेकौं माया, सदभाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु ।’

    उनले नेपालको भविष्यका विषयमा अत्यन्तै आशावादी रहेको भन्दै आफूले यहाँका नागरिक, भूभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने अवसर प्राप्त गरेको समेत उल्लेख गरेका छन् ।

  • बाबुराम भट्टराईको घोषणा : आगामी चुनावमा उम्मेदबार बन्दिन

    बाबुराम भट्टराईको घोषणा : आगामी चुनावमा उम्मेदबार बन्दिन

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले सोमबार यस्तो घोषणा गरेका हुन् । उनले २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराउने गोर्खाका मतदातालाई धन्यवाद भनेका छन् । आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधार बनेको उनले जनाएका छन् केही शुरूभएका आयोजना पूरा हुन बॉकी रहेको भन्दै बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने घोषणा समेत उनले गरेका छन् । २०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखेको स्मरण गराउँदै उनले यसले धेरै सिकाएको समेत बताएका छन् । आगामी दिनमा पनि म निरन्तर सेवामा रहने समेत उनको भनाई छ । चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन भन्दै उनले सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा नहुने समेत बताए । उनले भनेका छन्, ‘सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता÷समाजको सेवा गर्ने साधन हो, म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।’

  • मकवानपुरमा बस दुर्घटना, २ जनाको मृत्यु

    मकवानपुरमा बस दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । मकवानपुरको चुरियामाईमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् । दुर्घटनामा झापाको दमक–५ बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी–८ का कल्पना राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमलाई उदृत गर्दै सञ्चारमाधयमले जनाएका छन् ।

    एक जनाको हेटौँडा अस्पताल र एक जनाको चुरेहिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर नजिक गएराति साढे १२ बजे काठमाण्डौबाट दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

    घाइते ३६ जनामध्ये दुई जनाको काठमाण्डौको बीएण्डबी अस्पताल, तीन जनाको पुरानो मेडिकल कलेज चितवन र एक जनाको हेटौँडा अस्पताल र एक जनाको हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ । अरु २९ जना हेटौँडाका विभिन्न अस्पतालमा उपचारपछि घर फर्किएका प्रहरीको भनाई छ ।