Category: फिचर

  • आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा

    आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा

    काठमाडौं । नवरात्रको पाँचौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको पूजा आराधना हुँदैछ । आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको पूजा आराधना हुन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ ।

    नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैं पर्व मनाउँछन् ।

    दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

  • एमालेका उम्मेदवार अध्यक्ष ओलीले छान्ने

    एमालेका उम्मेदवार अध्यक्ष ओलीले छान्ने

    काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनमा उठ्ने उम्मेदवार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । पार्टी सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको हो । ओली निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । मध्यरात ६ घण्टा बढी बैठक चलेको थियो ।

    बैठकमा उम्मेदवारबारे ठोस निर्णय भने भएन । अन्य दलसँग तालमेलको कुरा टुंगिन समेत बाँकी रहेकाले थप छलफल गर्नु पर्ने एमालेको निष्कर्ष छ । एमालेमा जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएको छ । बाँकी निर्वाचन क्षेत्रमा एक भन्दा बढी आकांक्षीको नाम आएका कारण उनीहरुबाट उम्मेदवार छान्नु पनेर्
    छ ।

  • फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका

    फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका

    फ्लोरिडा\बीबीसी । अमेरिकाको फ्लोरिडा राज्यस्थित एक प्रहरी अधिकारीले समुद्री इयान आँधीका कारण सयौँ मानिसको ज्यान गएको हुन सक्ने आफूले बुझेको बताएका छन्। ती अधिकारीले आँधीका कारण पुगेको क्षति फ्लोरिडा राज्यभरि नै देखिन थालेको र ज्यान गुमाउनेको सङ्ख्या सयौँमा हुनसक्ने बताएका हुन्। हजारौँ उद्धारको पर्खाइमा रहेको पनि उनले बताएका छन्।

    अमेरिकाको न्याश्नल हुरिकेन सेन्टरले बाढीको थप खतरा रहेको भन्दै चेतावनी दिएको छ। उक्त सेन्टरले उत्तरपूर्वी फ्लोरिडाको तटीय क्षेत्रलगायत जोर्जिया र साउथ क्यारोलाइनामा पनि घातक आँधी आउनसक्ने जनाएको छ। शक्तिशाली तुफानसहितको आँधीका कारण उक्त दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी आएको छ। त्यहाँ तीव्र वेगले हावा चलिरहेको छ भने उच्च वर्षाका कारण कैयौँ घरहरू डुबेका छन्।

    उक्त राज्यका गभर्नरले यो आँधी फ्लोरिडामा बज्रिएका हालसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक भएको बताएका छन्। उनका अनुसार आँधीले पूरै राज्यभरि क्षति पुर्‍याएको छ। अमेरिकी सीमामा गस्ती गर्ने सुरक्षाकर्मीले क्युबाबाट फ्लोरिडा कीज्‌तर्फ आप्रवासीलाई बोकेर आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना मानिसहरू हराएका थिए। उक्त राज्यभरि २५ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका छन्।

    इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २४१ किलोमिटर प्रतिघण्टाको गतिमा बज्रिएको थियो। फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उक्त आँधीको चपेटामा पर्नसक्ने स्थानका मानिसलाई केही दिन नराम्रो अवस्थाका लागि तयार रहन चेतावनी दिएका छन्। उक्त आँधीकै कारण क्युबामा मङ्गलवार आएको तुफानले दुईजनाको ज्यान लिएको थियो भने त्यहाँ पनि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

    आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कर्फ्यू घोषणा गरिएको छ। बुधवार बेलुका ६ बजेबाट सुरु भएको कर्फ्यु अर्को सूचना नभएसम्म कायम रहने काउन्टीले जनाएको छ। आँधीका कारण पेट्रोल स्टेशनहरूमा लुटपाट भएका भनी आएका विवरणमा फोर्ट मायर्स प्रहरीले कारबाही गर्न असमर्थ भएपछि कफ्यु लगाइएको हो।

    काउन्टीका प्रबन्धक रोजर डेजार्ली उक्त आदेश कानुन कार्यान्वयन गर्ने निकायद्वारा लागु गरिने बुधवार साँझ एक पत्रकार सम्मेलनमा बताए। उनले आफ्नो सहरमा लुटपाट र हिंसाका लागि शून्य सहनशीलताको नीति अपनाइने बताएका छन्।

  • चुनावमा हुने अत्यधिक खर्च रोक्न अख्तियारले दियो यस्तो सुझाव

    चुनावमा हुने अत्यधिक खर्च रोक्न अख्तियारले दियो यस्तो सुझाव

    काठमाडौं । निर्वाचनमा हुने अपारदर्शी र अत्यधिक खर्च रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार बुँदे सुझाव दिएको छ । आयोगले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा राजनीतिक दलहरुलाई पारदर्शी र जवाफदेही बनाउन चारबुँदे सुझाव समेत दिएको छ । अख्तियारको सुझावको पहिलो बुँदामा राजनीतिक दल सञ्चालनका लागि राज्यले नै आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने परिपाटीको विकास गर्नुपर्ने सुझाव छ ।

    अख्तियारले पारदर्शी र बस्तुगत मापदण्ड बनाई यस्तो व्यवस्था गर्न सुझाव दिएको हो । अख्तियारले राजनीतिक दलसम्बन्धी व्यवस्था परिमार्जन गरी पारदर्शी र जवाफदेहीयुक्त बनाउन सुझाव दिएको छ । अख्तियारले राष्ट्रपति कार्यालयमा पेश गरेको सुझावमा, ‘चन्दा, दान, उपचार लिने÷दिने व्यक्ति लगायतको स्रोत र उपयोगका विवरण सार्वजनिक गरी पारदर्शिता कायम हुनुपर्ने’ भनिएको छ । अख्तियारले दिएका थप दुई सुझाव भने निर्वाचन आयोगले कानूनी परिमार्जनविना नै कार्यान्वयनको तयारी गरेको छ ।

    अख्तियारले निर्वाचनको प्रचारप्रसार, कार्यकर्ता परिचालन जस्ता क्रियाकलापमा हुने खर्चको मापदण्ड र आचारसंहितालाई कडाइका साथ लागू गर्न सुझाव दिएको हो । आयोगको चौथो सुझावमा ‘निर्वाचनमा भाग लिने पदाधिकारीले उम्मेदवारी दिंदा नै अनिवार्य सम्पत्ति घोषणा गर्नुपर्ने, निर्वाचन सम्बन्धी आम्दानी र खर्च बैंकिङ प्रणालीसँग अनिवार्य आबद्ध गर्ने’ भनी सुझाव दिएको थियो ।


    मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले जारी गरेको आचारसंहितामा निर्वाचन परिचालनका लागि हुने खर्चमा निगरानी गर्न खोजेको देखिन्छ । निर्वाचन आयोगले निर्वाचन खर्चका लागि उम्मेदवारहरुले छुट्टै खाता खोल्नुपर्ने र त्यसको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरेको थियो । खाता सञ्चालन गर्ने व्यक्ति समेत एउटै हुनुपर्छ ।

  • नेपाल एयरलाइन्सको ग्राउण्ड ह्यान्डलिङ सेवालाई आइसागो प्रमाणपत्र

    नेपाल एयरलाइन्सको ग्राउण्ड ह्यान्डलिङ सेवालाई आइसागो प्रमाणपत्र

    काठमाडौं । नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा इन्टरनेसन एयर ट्रान्सपोर्ट एसोसिएसन (आइटा) सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन (आइसागो)को मापदण्ड पूरा गरेको छ । सोही अनुसार निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा आइसागो प्रमाणित भएको निगमकी प्रवक्ता अर्चना खड्काले जनाएकी छिन् ।

    उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाको सन् २०१६ देखि निरन्तर सेफ्टी अडिट भइरहेको छ । लोड कन्ट्रोल, प्यासेन्जर तथा ब्यागेज ह्यान्डलिङ, एयरक्राफ्ट ह्याडिलिङ तथा लोडिङ, संगठन तथा व्यवस्थापन, एयरक्राफ्ट ग्राउन्ड मुभमेन्टमा निगमले यसअघि नै प्रमाणित भएकोमा अहिले कार्गो ह्यान्डलिङमा पनि यस्तो मापदण्ड पूरा गरेको जनाएको छ ।

    यसबाट ग्राउन्ड ह्यान्डलिङका सबै क्षेत्रमा आइसागोको मापदण्ड पूरा भएको निगमले जनाएको छ । आइसागोको यस्तो प्रमाणपत्र आइटाले आवधिक रुपमा गर्ने निरीक्षणरअनुगमन, दुईरदुई वर्षमा हुने आइसागो अडिटबाट निर्धारित मापदण्ड पूरा गरे मात्र प्रदान गर्ने निगमले बताएको छ । निगमले सेवालाई निरन्तर सुधार गर्दै जाने समेत बताएको छ ।

  • नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमणबाट धेरै प्रभावित बागमती प्रदेश

    नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमणबाट धेरै प्रभावित बागमती प्रदेश

    काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामा नै डेंगु फेला परेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित बागमती प्रदेश रहेको छ ।

    मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ ।

    त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ ।

    यसपल्ट साउनपछि तीव्र गतिमा संक्रमण बढेसँगै पछिल्लो एक सातायता मृत्यु हुनेको संख्या पनि बढेको छ। डेंगुबाट हालसम्म ३८ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजीले जनाएको छ।

    संक्रमितको सख्या २८ हजार १०९ जना पुगेको छ । डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

    नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

    इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

    यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

    सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

    नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

  • तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा, १५ दिनसम्म परीक्षणकाल

    तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा, १५ दिनसम्म परीक्षणकाल

    काठमाडौं । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरे। पाँचवटा विद्युतीय बस लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीबाट तिलौराकोट साइट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस, लुम्बिनीबाट एयरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह रूटमा गाडी चल्नेछन्।

    होटल एशोसिएशन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका तर्फबाट एक–एक बसका लागि चालकको जिम्मेवारी लिएका छन् । कम्तीमा १५ दिनसम्म नै यो सेवा सञ्चालन गरी परीक्षणकाल सकेर औपचारिक सुरु गर्ने कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए।

    कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय परीक्षण एकाइ पनि गठन गरेको छ । यसअघि कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा गठित कार्यदलले विद्युतीय बस सञ्चालनका लागि कार्यविधि बनाएर कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाइसकेको छ ।

    गृहमन्त्री बालकृष्ण खाणले पर्यटन दिवसमा विद्युतीय गाडी तुरून्त सञ्चालन गर्न निर्देशन दिएपछि हरियो नम्बर प्लेटका लागि प्रदेश पर्यटन मन्त्रालयले सहमति दिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा लुम्बिनीलाई विशेष प्राथमिकता दिएर एसियाली विकास बैंकको सहयोगमा लुम्बिनीमा बिजुली बस ल्याइएको थियो ।

    सञ्चालनको मोडालिटी तय गर्न नसक्दा यी बिजुली गाडी विगत तीन वर्षदेखि थन्किरहेका थिए । बस खरिद हुनुभन्दा अगाडिदेखि नै लुम्बिनी विकास कोषले यसको सञ्चालनको मोडालिटी बनाउन निजी क्षेत्रका यातायात व्यवसायीलाई समेत बोलाएर छलफल गरेको थियो ।

    दशैँको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गर्ने तयारी गरिए पनि लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि भने अझै टुङ्ग्याएको छैन ।

    यसअघि प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सङ्घसंस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँच बस सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

    तत्कालका लागि पाँचवटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको थियो । थन्किएका बस निःशुल्करूपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने विश्वास लिइएको उनले बताए।

    मङ्गलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैँको उपलक्ष्यमा केही दिन चार्जिङ स्टेशन र गाडीको मेसेरेनरी परीक्षणस्वरूप अफिसियल यान्त्रिक परीक्षणका लागि बिजुली गाडी सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए। १२ करोडका पाँचवटा बस र १४ वटा भ्यान (ट्याक्सी) एडिबीले तीन वर्षअघि दिएको थियो।

    अहिले सबै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन् । गाडी चार्ज गर्न लुम्बिनीमै दुई वर्षअघि सोलार प्लान्टसमेत जडान भएको छ। बस सञ्चालन नहुँदा त्यो परियोजनासमेत खेर गइरहेको छ। गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनी घुम्ने पर्यटकको सङ्ख्या उल्लेख्य बढ्ने प्रक्षेपण गर्दै सरकारले एडिबीसँग विद्युतीय बस अनुदान सहयोगका लागि पत्र लेखेको थियो।

  • गठबन्धनले खुम्चियो कांग्रेस, यी ८६ निर्वाचन क्षेत्रमा मात्रै हुनेछन् प्रतिनिधिसभा सदस्यका उम्मेदवार

    गठबन्धनले खुम्चियो कांग्रेस, यी ८६ निर्वाचन क्षेत्रमा मात्रै हुनेछन् प्रतिनिधिसभा सदस्यका उम्मेदवार

    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबीच प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत १६५ सिट बाँडफाँट अन्तिम चरणमा पुगेको छ। जसअनुसार कांग्रेसले ८६ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने छ अन्यत्र भने अन्य दललाई सहयोग गर्नेछ। उता एकीकृत समाजवादीले भने १७ सिट पाउने सहमति दलहरूबीच भइसकेको छ।

    केही ठाउँमा दुई वटा दलले दाबी कायम राखेको त्यो पनि सहमतिकै आधारमा भागबन्डा गरेर मिल्ने नेताहरूले बताएका छन्। नेताहरूको अनुसार अब सिट बाँडफाँट टुंगिन धेरै समय लाग्ने छैन। करिब २ महिनाको छलफलपछि सिट बाँडफाँट सहमति उन्मुख भएको छ।

    गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको छ।

    कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख – २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ । दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।

    यसैगरी चितवन – १ र २, गोरखा – १, मनाङ, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ- ३ र बाँके – ३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।

    यसैगरी पाँचथर, इलाम-२, झापा – १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी -३, ४, सिरहा – १, २ धनुषा- २, ३ र ४ महोत्तरी – २ र ३ निर्वाचन क्षेत्र पनि कांग्रेसले लिने सहमति भएको छ ।

    यस्तै सर्लाही – ४, बारा- १, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ – २, नुवाकोट -२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे –२ सिन्धुपाल्चोक – २ र मकवानपुर- १ कांग्रेसले लिने बताइएको छ ।

    जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ।

    गठबन्धनमा सहमति गरे पनि कांग्रेसभित्रको विवादले सभापति शेरबहादुर देउवा भने अप्ठ्यारोमा छन्। डा.शेखर कोइराला पक्षलाई पेलेर अघि बढेका देउवा सत्ता गठबन्धनमा भने नरम देखिए। यो थाहा पाएको शेखर समूहले आफ्नो पक्षले ४० प्रतिशत भाग पाउनुपर्ने अडान राखेको छ। आन्दोलनमै उत्रिएको छ। दबाब भेला तथा पार्टी कार्यालयमै धर्नाको कार्यक्रम यो समूहले गरिसकेको छ।

  • ‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार हो,पर्व विशेषका नाममा लचिलो हुन्नौं’

    ‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार हो,पर्व विशेषका नाममा लचिलो हुन्नौं’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार भएको बताएका छन् ।

    महानगरपालिकाका मेयर शाहले बिहीबार आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै फुटपाथमा पहिलो अधिकार पैदलयात्रीको हुने बतएका छन् ।

    फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको भन्दै उक्त कुरा बताएका हुन् ।

    विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिकरुपमा होइन पूर्ण र दीर्घकालीनरुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरासमेत स्पष्ट पार्न चाहन्छौँ ।’

    पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्ने भन्दै मेयर साहले अन्य समयभन्दा यो बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने बताएका छन् । ‘उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो’ उनले भनेका छन् ।

    यस्तो छ विज्ञप्ति

    प्रेस विज्ञप्ति
    असोज १३, २०७९
    काठमाडौँ

    फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन÷प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।

    सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो ।

    यो कायम छ । यसैगरी सहरी सरसफाईलाई पूर्ण सरसफाइसम्म पु¥याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छाँ ।

    आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

    यो नीति प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको छ । पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने समय हो ।

    उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो । सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो ।

    त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ ।

    अन्त्यमा, सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा दोहो-याउन चाहन्छौँ ।
    धन्यवाद

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा आज पनि दोहोरो अंकले बढेको छ ।

    साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से १६.२९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ बराबरको १७ लाख ९१ हजार ४८० कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा सुधार आएको छ । बुधवार ४८ करोड ५४ लाख ८ हजार ७६७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.६५ प्रतिशतले बढेको छ ।

    आज नेपाल इन्स्योरेन्सको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको पौने ५ करोड बढीको शेयर किनबेच भएको छ ।

    त्यस्तै, नबिल बैंक पौने ३ करोड र नेपाल टेलिकम साढे २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    बिहीबार अभियान लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले करिब १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, गुराँग लघुवित्त ५.७६, समिट लघुवित्त ५.४०, नबिल ब्यालेन्स फण्ड–३, ५.१७, जनउत्थान लघुवित्त ५.१३, सिटिजन्स बैंक ४.७७, समता घरेलु लघुवित्त ४, नेपाल ल्युब आय ३.९९, बिन्भ्यवासिन हाइड्रोपावर, नेरुडे लघुवित्त र गुह्येश्वरी मर्चेन्टको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

  • लुम्बिनीमा आजबाट चल्ने भए विद्युतीय बस

    लुम्बिनीमा आजबाट चल्ने भए विद्युतीय बस

    काठमाडौं । लुम्बिनीमा आजबाट पाँचवटा विद्युतीय बस चल्ने भएका छन् । यी बस एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई दिएको थियो । तीन वर्ष अगाडी नै भित्रिएका विद्युतीय पाँचवटा बस र १४ वटा भ्यान चलाउने मोडालिटी नहुँदा अड्किएको थियो । पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषलाई यी सवारी हस्तान्तरण समेत गरेको थिएन । गृहमन्त्री बालकृष्ण खाँणले विश्व पर्यटन दिवसका अवसरमा मंगलबार भैरहवामा आयोजित समारोहमा विद्युतीय सवारी साधन तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।

    ती सवारीसाधन सञ्चालन गर्न बुधबार लुम्बिनी विकास कोषसहित अन्य सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्न मन्त्रीले निर्देशन दिएका थिए । निर्देशनलगत्तै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा बुधबार भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँचवटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

    पाँचवटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको छ । ती बसमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकसँग दसैंभरि शुल्क लिइने छैन । तत्कालका लागि रूपन्देहीको सीमा नाका बेलहिया, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी, बुद्ध मावली स्थान रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन हुनेछ ।

  • बिहीबार डलरको मूल्यले पुनः राख्यो कीर्तिमान

    बिहीबार डलरको मूल्यले पुनः राख्यो कीर्तिमान

    काठमाडौं । अमेरिकी डलरको भाउले बिहीबार पुनः कीर्तिमान राखेको छ । डलर अहिलेसम्मकै महँगो भएको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ। एक महिनायता गएको शुक्रवार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ ।

    हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर बनेको छ। पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घट्छ । भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष रुपमा प्रभावित हुन्छ ।

  • रवीन्द्र मिश्र काठमाडौं १ बाट उठ्ने

    रवीन्द्र मिश्र काठमाडौं १ बाट उठ्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेको भोलीपल्टै रवीन्द्र मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । उनले यसपटक पनि काठमाडौं क्षेत्रनम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरका हुन् । मिश्रले शुक्रबार औपचारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गर्ने बताएका छन् । दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

    अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्रनम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए । त्यसबेला तराजु चिह्नमा चुनाव लडेका मिश्रले १० हजार ११८ मत ल्याएका थिए । विजयी भएका कांग्रेसका प्रकाशमान सिंहले १० हजार ९३७ मत ल्याएका थिए । राप्रपामा उनी हलो चिह्नमा चुनाव लड्दैछन् । राप्रपाले मिश्रलाई तेस्रो वरीयतामा भित्र्याएको छ । उनलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिने निर्णय राप्रापाको छ ।

  • फ्लोरिडामा शक्तिशाली इयान तुफान

    फ्लोरिडामा शक्तिशाली इयान तुफान

    फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यमा दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ। इयानको कारण भारी वर्षा र बाढी आएको छ। अमेरिकामा पछिल्लो एक दशकमा पहिलो पटक यति शक्तिशाली तुफान आएको बिबीसीले जनाएको छ। बुधबार आएको यो तुफानलाई तीव्रताको आधारमा पाँचौं श्रेणीमा राखिएको छ र यसमा प्रतिघण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेको छ। तुफानको कारण असर पर्न सक्ने घरहरू खाली गर्न आदेश दिइएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

    प्रभावित क्षेत्रको विद्युत आपूर्ति बन्द भएको छ। करिब १८ लाख मानिसको विद्युत आपूर्ति रोकिएको छ। फ्लोरिडाका गभर्नर रन डिसेनटिसले बुधबार यो निकै खराब दिन भएको भन्दै मानिसहरुलाई प्रार्थना गर्न आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय हरिकेन रिसर्च सेन्टरका एसोसिएट डायरेक्टर एरिक सालनाका अनुसार अहिले नै तुफानको क्षतिबारे कल्पना गर्न कठिन छ। इतिहास हेर्ने हो भने हावाको कारण आउने पानीबाट धेरैको मृत्यु हुने गरेको छ। फ्लोरिडाको पूरै पश्चिमी क्षेत्रमा तुफान तीव्र हुन सक्ने चेतावनी दिइएको छ। तुफानको कारण अमेरिकाको आन्तरिक र बाह्य गरी चार हजारभन्दा धेरै उडान रद्द गरिएको छ।

  • दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा

    दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा

    काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ ।
    यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।

    उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतल हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजा गर्ने चलन छ । त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत चढाउने गरिन्छ । कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्यलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

    घटस्थापनाको दिनदेखि नवरात्रसम्म दूर्गादेवीका नौ रुपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदूर्गा पनि भन्ने गरिन्छ । नवरात्रभर शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।

  • वाईसीएलले निर्वाचन लक्षित अभियान चलाउने

    वाईसीएलले निर्वाचन लक्षित अभियान चलाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले निर्वाचन लक्षित अभियान सन्चालन गर्ने निर्णय गरेको छ । वाईसीएल अध्यक्ष सुबोध शेर्पाइलीका अनुसार मतदाता र उम्मेदवारको सुरक्षाका लागि भन्दै ‘एक बुथ, २ सय युथ’ परिचालन गर्ने भएको छ ।

    वाईसीएलले असोज ३ गतेबाट सुरु गरेको प्रदेश स्तरीय बैठक सकाएर तीन महिने सुदृढीकरण तथा विस्तार अभियान समेत घोषणा गरेको छ । अभियानको उद्देश्य देशभर ९ लाख सदस्यता वितरण गर्ने रहेको शेपाईलीले बताए । वाईसीएलको विधानको व्यवस्था अनुसार हरेक वडामा कम्तीमा १ सय सदस्यता वितरण हुने छ । त्यस्तै प्रत्येक वडामा १ वडा कमिटी र ३ इकाइ कमिटी समेत बन्ने छन् ।

  • लोसपा नेता चौधरी कांग्रेस प्रवेश

    लोसपा नेता चौधरी कांग्रेस प्रवेश

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु देउवाले नेता चौधरीलाई बालुवाटारमा बुधबार कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरे । प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता लागू भएकै दिन आचारसंहिता विपरीत सरकारी निवासको दुरुपयोग गर्दै लोसपा नेता चौधरीलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

    ०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट समानुपातिकतर्फ सांसद रहेकी चौधरी गतवर्ष मन्त्री समेत बनिन् उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएका थिए । अदालतको आदेशपछि उनको मन्त्री पद गुमेको थियो ।

  • विश्वचर्चित अमेरिकी स्की खेलाडी हिलारीको मनास्लुमा भेटियो शव

    विश्वचर्चित अमेरिकी स्की खेलाडी हिलारीको मनास्लुमा भेटियो शव

    काठमाडौं । विश्व प्रसिद्ध स्की खेलाडी हिलारी नेल्सनको मनास्लुमा शव भेटिएको छ । मनास्लु हिमालमा आरोहण र स्कीका लागि आफ्ना पार्टनरसँगै पुगेकी उनको बुधबार बिहान मनास्लु हिमालमा शव भेटिएको हो विश्वविख्यात स्की खेलाडी हिलारी नेल्सनले आफ्नो करिअरका ठूला सफलता नेपालकै अग्ला चुचुरामा पाएकी हुन् । उनी २४ घन्टाको अन्तरालमा सर्वोच्च शिखर सगरमाथा र ८ हजार मिटर भन्दा अग्लो अर्को हिमाल ल्होत्सेको सफल आरोहण गर्ने आरोही समेत हुन् । मनास्लु जाँदा हिलारी आफ्ना जीवन साथी जिम मोरिसन सँगै थिइन् । उनका पार्टनर समेत विश्वमा नाम चलेका स्की खेलाडीमध्ये एक मानिन्छन् ।

  • खाद्य कम्पनीले बेच्न थाल्यो खसीबोका, मूल्य पोहोरकोभन्दा ४० रुपैयाँ महंगो

    खाद्य कम्पनीले बेच्न थाल्यो खसीबोका, मूल्य पोहोरकोभन्दा ४० रुपैयाँ महंगो

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दशैंका लागि खसीबोका विक्री शुरु गरेको छ ।

    खाद्य कम्पनीले यस वर्षको बडादशैँका लागि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्राको विक्री वितरण शुरु गरेको हो ।

    कम्पनीले गत वर्षकोे तुलनामा जिउँदो खसीबोकामा प्रति किलो ४० रुपैयाँ बढाएको छ ।

    गत वर्ष प्रतिकिलो ६४० रुपैयाँमा बिक्री गरेको कम्पनीले यस वर्ष मूल्य बढाएर ६८० रुपैयाँ बनाएको हो ।

    कम्पनीले जिउँदो च्यांग्राको प्रतिकिलो मूल्य १२६० तोकेको छ । छुट पछि खसी र च्यांग्राको खुद्रा बिक्री मूल्य क्रमशस् ६७० रुपैयाँ र १२५० रुपैयाँ प्रतिकिलो हुने कम्पनीले जनाएको छ ।

    यसपटक ३ हजार वटा खसी(बोका किन्ने लक्ष्य राखेपनि त्यसलाई अहिले करिब २ हजार ४ सय वटा खरिदको प्रक्रिया पूरा भएको र आवश्यक परे थप खरिद गर्ने कम्पनीले जनाएको छ । यस पटक दार्चुलाबाट २०६ वटा च्यांग्रा ल्याइएको कम्पनीले जनाएको छ ।

  • देशैभर फैलियो डेंगु: २७ हजार ५६९ जनामा संक्रमण, १० वटा जिल्ला उच्च जोखिममा

    देशैभर फैलियो डेंगु: २७ हजार ५६९ जनामा संक्रमण, १० वटा जिल्ला उच्च जोखिममा

    काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामा नै डेंगु फेला परेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित बागमती प्रदेश रहेको छ ।

    बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाले जानकारी दिएको छ।

    हाल काठमाडौंमा सबैभन्दा धेरै ९ हजार ४९६ जनामा डेंगु देखिएको छ। यस्तै, ललितपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१ जनामा डेंगु देखा परेको छ ।

    दाङमा १ हजार ४१०, भक्तपुरमा १ हजार ७६, रुपन्देहीमा ७३७, चितवनमा ७१७, धादिङमा ४४९, गुल्मीमा २९९ र कैलालीमा २९८ जना डेंगुका संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

    डेंगु संक्रमण दरका हिसाबले १० वटा जिल्ला सबैभन्दा उच्च जोखिममा रहेका महाशाखाले जानकारी दिएको छ।

    डेंगु संक्रमणका हिसाबले काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, रुपन्देही, चितवन, धादिङ, गुल्मी र कैलाली क्रमश: उच्च जोखिममा रहेका मन्त्रालयले जानकारी दिएको छ।

    यसपल्ट साउनपछि तीव्र गतिमा संक्रमण बढेसँगै पछिल्लो एक सातायता मृत्यु हुनेको संख्या पनि बढेको छ। डेंगुबाट हालसम्म ३६ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजीले जनाएको छ।

    संक्रमितको सख्या २७ हजार ५६९ जना पुगेको छ । डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

    गत वर्षको आँकडा असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगु संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकलन छ ।

    नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

    इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

    यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

    सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

    नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

  • शंख घण्ट बजाउँदै राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता

    शंख घण्ट बजाउँदै राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता

    काठमाडौं । राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज एकता घोषणा भएको छ।

    बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन्। एकता घोषणा क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए ।

    एकता घोषणा अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउने बताइएको छ।

  • नेप्सेमा सामान्य अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा सामान्य अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । सेयर बजारमा सामान्य बढोत्तरी भएको छ । मंगलबार १६ अंकले बढेको नेप्से आज ६ अंकले बढेको हो ।

    सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोडले घटेर जम्मा ४८ करोडमा सीमित भएको छ ।

    बुधबार नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ बिन्दुमा पुगेको छ । यसदिन २२१ कम्पनीको ४८ करोड ५४ लाख ८ हजार ७६८ रुपैयाँ बराबरको १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ समूहको घटेको छ । माइक्रोफाइनान्स समूहकाे परिसूचक सबैभन्दा धेरै ०.९६ प्रतिशतले बढेको छ ।

    आज नेशनल माइक्रोफाइनान्सको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको पौने ५ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक साढे २ करोड र रिडी पावर २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    बुधबार मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.२० प्रतिशतले बढेको छ । त्यसैगरी, अभियान लघुवित्त ८.१९, सपोर्ट माइक्रोफाइनान्स ७.८०, न्यादी हाइड्रोपावर ५.३९, पञ्चकन्यामाइ हाइड्रो ४.२३, विजया लघुवित्त ४.२०, सामलिङ पावर, आरएसडीसी लघुवित्त र गणपति लघुवित्तको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

  • आजबाट खाद्य कम्पनीले बिक्रि गर्ने खसी बोका किन्न पाइने

    आजबाट खाद्य कम्पनीले बिक्रि गर्ने खसी बोका किन्न पाइने

    काठमाडौं । आजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रि गर्ने खसीबोका र च्याङ्ग्रा किन्न पाइने भएको छ । कम्पनीले बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री सुरु गर्ने जनाएको छ । दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्ग्रा पनि काठमाडौं ल्याइएको छ । कम्पनीले मंगलबार खसीबोका प्रतिकेजी ६ सय ८० रुपैयाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूूल्य निर्धारण गरेको थियो । च्याङ्ग्रा र खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुुट दिइएको छ । छुटमा खरिद गर्दा उपभोक्ताले खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ तिर्नुपर्नेछ । खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोमा ५० रुपैयाँ सस्तो पर्नेछ ।

  • सल्यान जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै पहिचान

    सल्यान जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै पहिचान

    सल्यान । सल्यानमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै पहिचान भएको छ । जिल्लाको कपुरकोटमा बुधबार बिहान जिप सडकबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको हो । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली रहेको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    दुर्घटनामा घाइते भएका कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार जारी छ ।

  • त्रिभुवन विमानस्थल आसपास चंगा उडान नपाइने

    त्रिभुवन विमानस्थल आसपास चंगा उडान नपाइने

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंको समयमा उडाइने चंगाका कारण हवाई सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । खासगरी त्रिभुवन विमानस्थल आसपास जहाजको बढी उडान तथा अवतरण हुने क्षेत्रमा चंगा उडाउँदा त्यसले उडान सुरक्षामा असर पर्ने प्राधिकरणको भनाई छ ।

    प्राधिकरणले यस्तो कार्य नगर्न भनेको छ । अटेर गरी गरिरहेमा भने कानून अनुसार कारवाहीको चेतावनी समेत प्राधिकरणले दिएको छ । दशैंमा चंगा उडाउने परम्परा रहेको छ । तर, घना बस्ती नजिकै विमानस्थल रहेका कारण काठमाडौंमा मानवीय गतिविधिका कारण हवाई सुरक्षामा भने असर परिरहेको हुन्छ ।

  • सल्यानमा जिप दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु

    काठमाडौं । सल्यानमा बुधबार बिहान भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोटमा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका ३ मुलपानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार दुर्घटनामा ८ जना मृत्यु भएको हो ,। मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् । उनीको सनाखत भएको छैन । दुर्घटनामा सख्त घाइते एक जनाको उपचारका लागि दाङको तुलसीपुर लैजाने तयारी छ । जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको थियो । जीपमा ९ जना सवार थिए ।

  • आज राती १२ बजेपछि निर्वाचन आचारसंहित लागु, के के गर्न बन्देज ?

    आज राती १२ बजेपछि निर्वाचन आचारसंहित लागु, के के गर्न बन्देज ?

    काठमाडौं । आज राती १२ बजेबाट निर्वाचन आचारसंहित लागु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बुधबार मध्यरातिदेखि आचारसंहिता लागू हुने भएको हो । १३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ ।

    आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् । तर सरकारी स्रोतसाधन प्रयोग गर्न पाउने छैनन् । यो व्यवस्था अनुसार अहिले पदमा रहेका व्यक्तिहरु आफू उम्मेद्वार भएको अवस्था बाहेक अन्यत्र प्रचारप्रसार गर्न जान नपाउने भएका छन् ।

    संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ । उनीहरुले आफ्नो कार्यालय र आवास कुनैपनि उम्मेदवारहरुलाई प्रयोग गर्न दिन पाउने छैनन् । आचारसंहिताले सरकारी कर्मचारीलाई कुनै दलको पक्ष वा विपक्षमा लाग्न निषेध गरेको छ । कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाउने व्यवस्था छ ।

    सार्वजनिक संस्थान र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई समेत यही नियम लागू हुनेछ । कुनै परियोजना वा विकास समितिमा आवद्ध कर्मचारीले पनि दल र उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न नपाउने आचार संहितामा व्यवस्था छ ।

    निर्वाचनमा खटिने कर्मचारीले कुनै उम्मेदवारको पक्षविपक्ष लिन नहुने नियम बनाइएको छ । सुरक्षा निकाय र सुरक्षासम्वद्ध कर्मचारीलाई पनि कुनै दल वा उम्मेद्वारको पक्षविपक्षमा लाग्न रोक लगाइएको छ । विश्वविद्यालयदेखि विद्यालयसम्म काम गर्ने अध्यापकले तटस्थता अपनाउनुपर्नेछ । उनीहरुले कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन् ।

    गैरसरकारी संस्थाहरुले कुनै नयाँ योजना सुरुवात गर्न, शिलान्यास गर्न र उद्घाटन लगायतका काम गर्न पाउने छैनन् । यस्ता संस्थाका स्रोतसाधन राजनीतिक प्रचारप्रचारका क्रममा प्रयोग गर्न रोक लगाइएको छ ।

    आचारसंहितामा राजनीतिक दलहरुले सभ्य र अनुशासित भई चुनाव प्रचारप्रसार गर्नुपर्ने नियम बनाइएको छ । प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ । प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन् ।

    दलहरुले देशव्यापी रुपमा प्रचारप्रसारका लागि दुईजनालाई मात्रै मुख्य प्रचारकको रुपमा व्यवस्थापन गर्नुपर्नेछ । त्यसका लागि निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ र आयोगको अनुमतिपछि उनीहरुले हेलिकप्टर प्रयोग गर्न पाउने भएका छन् ।

    आचारसंहितामा प्रधानमन्त्रीदेखि स्थानीय तहको कार्यपालिका सदस्य यसरी मुख्य प्रचारक भएर प्रचार प्रसारमा हिँड्न बन्देज लगाइएको छ । कार्यपालिकाको पदमा नरहेका व्यक्तिमात्रै मुख्य प्रचारक बन्न सक्ने देखिएको छ ।

    दलहरुलाई प्रचारप्रसारका कार्यक्रम गर्दा एक अर्कालाई नबिथोल्न भनिएको छ । सार्वजनिक ठाउँमा दलको झण्डा र चिह्न राख्न नपाउने भएको छ । यस्ता कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्नुपर्नेछ । निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ ।

    दलको कार्यालयमा समेत तोकिएको आकारमा भन्दा ठूला चुनाव चिह्न र झण्डा राख्न पाइने छैन । मनोनयन र घरदैलो कार्यक्रममा जाँदा बढीमा २५ जनाको टोली हुनुपर्ने नियम छ । त्यस्तो कार्यक्रममा बाजा, गाजा र झाँकी समावेश गर्न रोक लगाइएको छ । सवारीसाधन प्रयोगका क्रममा समेत निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्नेछ ।

    रेडियो, टिभीले तोकिएको समयावधिभित्र रहेर दलहरुको प्रचार सामग्री प्रशारण गर्न पाउनेछन् । तोकिएको सीमामा रहेर पत्रपत्रिकामा पनि प्रकाशन गर्न पाउनेछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निर्वाचन सामग्री प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ ।

    यसपालिको नयाँ व्यवस्था अनुसार, उम्मेदवारहरुले मनोनयन दर्ता गर्दा नै अनुमानित खर्च रकम र त्यसको स्रोत खुलाउनुपर्नेछ । त्यसका लागि छुट्टै बैंक खाता खोल्नुपर्नेछ र खर्च गर्ने पदाधिकारी तोक्नुपर्नेछ । त्यसको सबै विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ । २५ हजारभन्दा बढी चन्दा लिएमा बैंकिङ च्यानलमात्रै प्रयोग गर्नुपर्नेछ ।

    आयोगले उम्मेदवारहरुलाई मनोनयनपत्रका साथ सम्पत्ति विवरण समेत पेश गर्नुपर्ने नियम बनाएको छ । गोप्य रहने त्यस्तो विवरण उम्मेदवार निर्वाचित भएमा सार्वजनिक हुने आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ ।

    निर्वाचित हुन नसकेका उम्मेदवारहरुले सम्पत्ति विवरण फिर्ता लैजान पाउनेछन् । फिर्ता नलैजानेहरुको विवरण नष्ट गरिने आचार संहितामा उल्लेख छ ।

  • ब्यूतिने भयो कृषि औजार कारखाना, महाविर पुनको आविष्कार केन्द्रले पायो जिम्मेवारी

    ब्यूतिने भयो कृषि औजार कारखाना, महाविर पुनको आविष्कार केन्द्रले पायो जिम्मेवारी

    काठमाडौं । सरकारले कृषि औजार कारखाना ब्यूताउने भएको छ । आगामी १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले कारखाना जिम्मा लगाएको हो । वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे ।

    ३१ भदौको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो । । सोही निर्णयअनुसार आविष्कार केन्द्रसँग अर्थ मन्त्रालयले सञ्चालनको सम्झौता गरेको अर्थ मन्त्रालयले जनाएको छ । तीन महिनाको अग्रिम सूचना दिएर भने दुई पक्षले जुनसुकै बेला सम्झौता रद्द गर्न सक्ने गरी सम्झौता भएको छ ।

    मन्त्रालय र केन्द्रबीच भएको सम्झौता अनुसार कारखानाको मर्मत सम्भार र मेसिनरी औजार थप गर्न आवश्यक रकम सञ्चालक समितिको सिफारिसमा पहिलो पटकलाई नेपाल सरकार अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखानामा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम समेत सञ्चालन गरी जनशक्ति उत्पादन गर्नु पर्ने भएको छ । केन्द्रले आधुनिक कृषि औजार उत्पादन र बिक्री गर्ने समेत जिम्मा पाएको छ ।

    बिक्री–वितरणबाट प्राप्त रकम कारखानाको सञ्चालन एवं स्तरोन्नती गर्ने खर्च गरी प्रचलित कानुन बमोजिम करपछि रकममध्ये ५० प्रतिशत कोष खडा गरी बाँकी ५० प्रतिशत रकम वार्षिक रुपमा नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने समेत शर्तमा उल्लेख छ । कारखाना करिब तीन दशकदेखि बन्द रहेको थियो ।

    सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सोही अनुसार आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दिइएको अर्थमन्त्री जनार्दन शर्माले बताए । यसअघि मन्त्री शर्माले २१ जेठमा वीरगञ्ज पुगेर कारखानाको स्थलगत निरीक्षण गरेका थिए ।

    सम्झौतापछि आविष्कार केन्द्रका अध्यक्ष पुनले आफूले कहिल्यै नसोचेको जिम्मेवारी पाउँदा चिठ्ठा परेको जस्तो महसुस भएको बताए । आफूहरूको ज्ञान र विवेकले भ्याएसम्म राम्रो गरेर देखाउने प्रतिबद्धता उनको छ ।

  • बंगलादेशमाथि नेपालको सानदार जित, अन्जनले गरे ह्याट्रिक

    बंगलादेशमाथि नेपालको सानदार जित, अन्जनले गरे ह्याट्रिक

    काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा अन्जन विष्टले ह्याट्रिकको मद्दतमा नेपालले बंगलादेशमाथि ३–१ गोल अन्तरको जित निकालेको हो । नेपालका लागि सबै गोल अन्जनले गरेका हुन् । नेपालले १८औं मिनेटमा अन्जनले गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिमा उनले हेडर गोल गरे । २७औं मिनेटमाअन्जनले नै नेपालको अग्रता दोब्बर बनाए ।

    विशाल राईले राइड साइडबाट गरेको क्रसमा विमलले पेनाल्टी क्षेत्रमा तेज तामाङलाई बल मिलाइदिए । सोही बलमा तेजको प्रहार बंगलादेशी गोलकिपर अनुसुर रहमानले पञ्च गरेका थिए, तर रिबाउन्ड आएको बललाई अन्जनले १८ यार्ड बक्सभित्रबाट सहजै जालीको दिशा दिए । खेलको ३८औं मिनेटमा अन्जनले ह्याट्रिक गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्‍याए ।

    विशाल राईले प्रहार गरेको फ्रिकिकमा अन्जनले पेनाल्टी क्षेत्रमा हेडर गोल गरे । अन्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो । उनी नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी बने । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् । खेलको ५७औं मिनेटमा बंगलादेशका मोहम्मद टुटुल हुसैन बादशाहले एक गोल फर्काए ।

  • आकासियो अमेरिकी डलरको भाउ, प्रत्यक्ष असर नेपाली मुद्रामा

    आकासियो अमेरिकी डलरको भाउ, प्रत्यक्ष असर नेपाली मुद्रामा

    काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ।

    यो हालसम्मकै उच्च हो । यसअघि ९ असोज मा एक अमेरिकी डलरको १२९ रुपैयाँ ८९ पैसा (बिक्री दर) तोकेको थियो ।

    त्यस्तै युरो १ को खरिद दर १२५ रुपैयाँ ७४ पैसा तथा बिक्री दर १२६ रुपैयाँ ३२ पैसा तोकिएको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

    यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन ।

    अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

    डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ। पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ ।

    नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ ।

    विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स डलरमा पठाउँछन् । डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि केहि बृद्धि हुन्छ । त्यस्तै डलरको भाउ बढेसँगै पर्यटन क्षेत्र पनि राम्रो हुनेछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् ।

    अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् ।

    त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

    स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । डलरको भाउ बढ्दा वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा असर पर्छ ।

    अहिले दशैँ/तिहार जस्ता मुख्य चाडपर्वका बेला नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव परे पनि आयात बढ्दो हुँदा त्यसबापतको भुक्तानीमा दायित्व बढेको छ।