Category: फिचर

  • कोटेश्वर-सूर्यविनायक सडक रातैभर उज्यालो हुने, ४५० स्मार्ट लाइट जडान

    कोटेश्वर-सूर्यविनायक सडक रातैभर उज्यालो हुने, ४५० स्मार्ट लाइट जडान

    काठमाडौं । काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नै खर्चमा कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा बत्ती जडान गरेको हो ।

    आइल्याण्डमा राखिएका पोलहरुमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने करिब ४५० वटा बत्ती जडान गरिएको हो । यसबाट सडकको रात्रिकालीन सौन्दर्यता देख्न सकिने छ ।

    काठमाडौं महानगरपालिका, मध्यपुरथिमी र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गर्न स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताए ।

    ‘सडक बत्ती जडान भएपछि पैदल यात्रु र सवारी चालकलाई फाइदा पुगेको छ, उज्यालो भएपछि सडक सुरक्षित बनेको छ, साथै सडक सुन्दर बनेको छ, यसबाट सहरी सौन्दर्यता पनि बढेको छ,’ घिसिङले भने ।

    प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । कोटेश्वर–सूर्यविनायक सडकखण्डका लागि १३ वटा फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ ।

    स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युत्को महसुलको बिलिङ गरिन्छ । बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

    प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ति जडान गरिरहेको छ ।

    यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । पालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ ।

  • सरकारी संस्थामै भेटियो अखाद्य सामग्री, उपमेयर भन्छिन् -‘ठगिएको महसूस भए हटलाइन ११८० मा खबर गर्नू’

    सरकारी संस्थामै भेटियो अखाद्य सामग्री, उपमेयर भन्छिन् -‘ठगिएको महसूस भए हटलाइन ११८० मा खबर गर्नू’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन शुरू गरेको छ । दशैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलवारबाट बजार अनुगमन शुरू भएको हो ।

    आजै महानगरपालिकालेटुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तकारी तथा फलफूल बजारको अनुगमन गरेको छ भने खाद्यन्न पसलहरुमा पनि अनुगमन गरेको छ ।

    उपेमयर डंगोलका अनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन्।

    उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको जानकारी दिइन्। उनले बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताइन्।

    उपप्रमुख डंगोलको नेतृत्वमा आज तीन वटा समुह बजार अनुगमनका लागि परिचालित भएका छन् । ‘कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य बस्तु विक्रि गरिरहेको भेटिएमा हाम्रो हटलाईन ११८० र १६६००१०५५११ मा खवर गर्न पनि आग्रह गर्दछौँ,’ अनुगमनकै रहनु भएकी उपमेयर डंगोलले भनिन्, ‘हामी यो अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिन्छौँ ।

    तपाईँहरुले खवर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउछौँ र आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौँ ।’ बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन्।

    उनले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको जानकारी दिइन्। उनले बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताइन्।

    ‘दशैंको समयमा धेरै अनियमितता हुने देखिएको छ। बजारमा मूल्य धेरै हुने, कति कुराहरु सकिसक्यो भनेर स्टोर गरेर राख्ने भएका छन्’, उनले भनिन् ‘कारबाहीभन्दा पनि सचेतना जगाउनका लागि हामीले अनुगमन गरेका हौँ। सचेत हुँदाहुँदै पनि लापरबाही गरेको खण्डमा कानुनी कारबाही गर्नेछौँ।’

    अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो। जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी तर्फबाट बागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गरिन्।

  • एक सातामा वाणिज्य बैंकहरूमा थपियो २६ अर्ब १४ करोड निक्षेप,कर्जा लगानी ४ अर्बमा सीमित

    एक सातामा वाणिज्य बैंकहरूमा थपियो २६ अर्ब १४ करोड निक्षेप,कर्जा लगानी ४ अर्बमा सीमित

    काठमाडौं । दशैं, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै वाणिज्य बैंकहरूको निक्षेपमा सुधार आएको छ ।

    असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेपमा चाडपर्वहरू नजिकिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा सुधार आएको हो।

    नेपाल बैंकर्स संघका अनुसार असोज महिनाको पहिलो सातामा बैंकहरूमा २६ अर्ब १४ करोड निक्षेप थपिएको छ।

    असोज ७ गतेसम्ममा बैंकहरुमा ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जुन भदौको अन्तिम सातामा ४४ खर्ब ८६ अर्ब रुपैयाँ थियो ।

    त्यस्तै, समीक्षा अवधिमा बैंकहरुले ४ अर्ब कर्जा लगानी गरेका छन् । असोज पहिलो सातासम्ममा ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

    बैंकहरुले भदौको अन्तिम सातामा ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

    हाल बैंकहरुको कर्जा निक्षेप अनुपात अर्थात सीडी रेसियो ८७।.१ प्रतिशत पुगेको छ ।

  • नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ ।

    साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से १५.९२ अंकले बढेर १८३१.०५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको ६६ करोड ३० लाख १३ हजार बराबरको २१ लाख ७ हजार ७४२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार। १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ११ वटाको बढेको छ भने २ बटा राताम्मे भएको छ ।

    फाइनान्स समूह सबैभन्दा धेरै १.४६ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूह पनि १.६२ प्रतिशतले बढेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १३०८.९० रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, अभियान लघुवित्त ६.०७, अपर हेवाखोल ६.०३, हिमालयन पावर ५.९९, माउन्टेन इनर्जी ५.७१, मिथिला लघुवित्त ५.२९, सपोर्ट माइक्रोफाइनान्स, हिमाल दोलखा र रिभर फल्स पावरको शेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज गरिमा डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरको भएको छ । यसको आज २ करोड ८५लाखभन्दा बढीको कारोबार भएको छ ।

  • नेपाल र बंगलादेश मैत्रीपूर्ण फुटबलमा आज भिड्दै

    नेपाल र बंगलादेश मैत्रीपूर्ण फुटबलमा आज भिड्दै

    काठमाडौं । नेपाल र बंगलादेशबीच आज मैत्रीपूर्ण फुटबल हुने भएको छ । खेल बेलुका साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुँदैछ । नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्दैछन् । यसअघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठलाई दिइएको थियो ।

    पछिल्लो समय नोपली फुटबलमा गुटउपगुट देखिएका छन् । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरणसहित ११ खेलाडीलाई टीमबाट निकालेपछि असन्तुष्टी बढेको छ । किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किदैछन् ।

    एन्फाले सामान्यमा ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ । सीमित ८० सिटका लागि भने ५ हजार रुपैयाँ तोकिएको छ । नेपालले बंगलादेशसँग अहिलेसम्म २४ खेल खेलेकोमा बंगलादेशले १२ खेलमा जितेको छ । नेपालले ७ खेल मात्रै जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

  • रातो स्टीकर लागेको खसी बोका खान अयोग्य, आजबाट स्वास्थ्य परीक्षण

    रातो स्टीकर लागेको खसी बोका खान अयोग्य, आजबाट स्वास्थ्य परीक्षण

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण हुने भएको छ । पशुसेवा विभागका अनुसार दशैंलाई लक्षित गरी खसीबोकाको स्वास्थ्य परीक्षण गरिने छ । दशैँमा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने अस्वस्थकर खसीबोका कारोबार हुन सक्ने आशंकाका बीच स्वास्थ्य परीक्षण गर्न लागिएको हो । आजदेखि १८ गते नवमीसम्म ५० जना पशु चिकित्सक विभिन्न बजारमा अनुगमनमा खटिने भएका छन् ।

    उनीहरुले खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन् । विभागले कलङ्की, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खुु, लोकन्थली, सल्लाघारीमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ । खसिबोका आयात हुने मुख्य नाका र कारोबार हुने ठाउँमा स्वास्थ्य परीक्षण गरी स्टिकर लगाइनेछ । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ । उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुनेगर्छ ।

    जाजरकोट, सल्यान, बैतडी, डडेल्धुरा, अछाम, नेपालगञ्ज, गुल्मी, पाल्पा, झापा, इलाम, ओखलढुङ्गालगायतका जिल्लाबाट खरिद गरी उपत्यकामा ल्याएर खसीबोका बिक्री गर्छन् । भारतको लखनउ, हरियाणा, राजस्थानबाट पनि खसी आउँछ ।

  • रवीन्द्र मिश्रले विवेकशील पार्टीबाट दिए राजीनामा, राप्रपा जाने

    रवीन्द्र मिश्रले विवेकशील पार्टीबाट दिए राजीनामा, राप्रपा जाने

    काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा गरेका छन् । सोमबार मिश्रले विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पत्र लेख्दै आफूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको बताएका हुन्। उनले सोमबार राति ९ बजेतिर सामाजिक सञ्जालमा लेख्दै पार्टी अध्यक्षसमक्ष राजीनामा पत्र पेस गरेको जानकारी दिएका छन्। मिश्र राप्रपामा जाने तयारीमा छन्। उनले झन्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम सम्वर्द्धनवादी राष्ट्रवादी शक्तिको निर्माणमा आफु लागेको बताएका छन् ।

    पार्टी छाड्नु आफ्नो जीवनकै एक सबैभन्दा कठिनतम निर्णय भएको समेत उनको भनाई छ । लामो गृहकार्यपछि आफैंले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय नभएको उनको भनाई छ

  • आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा

    आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा

    काठमाडौं । आज बडा दशैंको दोस्रो दिन देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा हुँदैछ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

    नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने धार्मिक मान्यता छ ।

    आज पनि राजधानीका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरुको बिहानैदेखि भिड लागेको छ । राजधानी बाहिरका दाङको अम्बिकेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको मनकामना लगायतका मन्दिरहरु पनि पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।

  • क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा दुर्घटना हुँदा बंगलादेशमा कम्तिमा ४३ जनाको मृत्यु

    क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा दुर्घटना हुँदा बंगलादेशमा कम्तिमा ४३ जनाको मृत्यु

    काठमाडौं । बंगलादेशमा डुंगा डुब्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेका मानिस दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ ।

    पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् । प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार थिए । बीबीसीका अनुसार डुंगामा १ सय भन्दा बढी यात्रु चढेका थिए ।

  • मनास्लु हिमालमा हिम पहिरोमा परी एक जनाको मृत्यु भएको पुष्टी

    मनास्लु हिमालमा हिम पहिरोमा परी एक जनाको मृत्यु भएको पुष्टी

    काठमाडौं । मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परेर एक जनाको मृत्यु भएको पुष्टी भएको छ । सोमबार दिउँसो हिउँ पहिरोमा परेर क्याम्प ३ बाट क्याम्प ४ तर्फ अक्सिजनलगायत सामग्री लिएर जाँदै गरेका अनुप राईको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    मनास्लु हिमाल नजिकैको बस्ती सामागाउँमा हेलिकप्टरहरु पुगे पनि दिनभर मौसम प्रतिकुल भएपछि समस्या भएको पर्यटन विभागकी अधिकृत यशोदा अर्याललाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । पहिरोमा परी १२ जना घाइते भएका थिए। तीमध्ये ९ जनाको उद्धार हुनै बाँकी छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

  • सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्धारा डिफ्युजन नोटिस जारी

    सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्धारा डिफ्युजन नोटिस जारी

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रह गरेपछि इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्न सक्नेछन् ।

    आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् । सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लागेको छैन ।

  • नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाटै

    नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाटै

    काठमाडौं । अब नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) कोे अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाटै काट्न सकिने भएको छ । एयरलाइन्सले सोमबारदेखि अनलाइन टिकट बुकिङ सुरु गरेको हो ।

    आजदेखि एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

    उनका अनुसार अब नेपाल एयरलाइन्सको वेबसाइटमार्फत विश्वको जुनसुकै कुनाबाट एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने भएको छ ।

    उनले भनिन्, ‘नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने छ।’

    नेपाल वायुसेवा निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ ।

  • कुमारी र एनसीसी बैंक बीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

    कुमारी र एनसीसी बैंक बीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ ।

    एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुवै बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ ।

    मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बैंकको सिईओ बन्ने बताइएको छ ।

    कुमारीका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन्। मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ । एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ ।

    हाल कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ भने एनसीसीको ११ अर्ब १३ करोड रहेको छ । मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी २५ अर्ब ८४ करोड रुपैयाँ पुग्ने छ ।

    यस्तै, कुमारीको जगोडा कोष ४ अर्ब ६१ करोड, रिटेन्ड अर्निङमा १ अर्ब ७७ करोड छ भने एनसीसीको जगेडा कोषमा ३ अर्ब ८४ करोड र सेयर रिटेन्ड अर्निङमा १ अर्ब ४७ करोड रुपैयाँ छ ।

    नयाँ बैंकको कुल पूँजी कोष ३७ अर्ब ५३ करोड रुपैयाँ हुनेछ । बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड र कर्जा लगानी २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ।

    यस्तै, कुमारी बैंकको कर्जा १ खर्ब ५३ अर्ब ३६ करोड ८ं९८ लाख १२ हजार रुपैयाँ र एनसीसी बैंकको कर्जा १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ गरी कूल २ खर्ब ७४ अर्ब ५६ करोड २ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

    यस्तै, गत असार मसान्तसम्मकाे तथ्याङ्क अनुसार कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ र खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ गरी कूल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

    दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार तयारी सुरु भएको मर्जरले अन्तिम रुपम पाएको हो।

    पछिल्लो १ वर्षको अवधिमा १० वटा वाणिज्य बैंकहरुले मर्जर सम्झौता गरिसकेका छन् ।

  • दशैंको रौनक: दैनिक ५० हजारले काठमाडौँ उपत्यका छोड्दै,२० लाख बाहिरिने अनुमान

    दशैंको रौनक: दैनिक ५० हजारले काठमाडौँ उपत्यका छोड्दै,२० लाख बाहिरिने अनुमान


    काठमाडौं । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ ।

    यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दसैंका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून थियो ।

    तीन वर्षअघि काठमाडौँ उपत्यकाबाट दसैंका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाखको हाराहारीमा रहेको तथ्याङ्क छ । दसैंमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

    यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ ।

    सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिए ।

    महानगरीय ट्राफिक प्रहरी कार्यालयले दसैँ मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएमा खबर गर्न आग्रह गरेको छ ।

    यातयात व्यवसायीले पनि दसैंका लागि पर्याप्त सवारीसाधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ ।

    अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारी साधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।

  • मनास्लु आधार शिविरमा हिमपहिरो, ५ नेपाली आरोही बेपत्ता

    मनास्लु आधार शिविरमा हिमपहिरो, ५ नेपाली आरोही बेपत्ता

    काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ ।

    चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    पहिरोमा परि मनास्लु आरोहणका लागि गएका पाँच नेपाली आराही हिमपहिरोमा पारी वेपत्ता भएका भएका छन्।

    हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन्।

    प्रहरीको अनुसार सोमबार बिहान ११ बजेको समयमा खसेको हिमपहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन्।

    बेपत्ता आरोहीहरुको खोजीका लागि दुइटा हेलिकोप्टर परिचालन गरिएको छ ।

    तर मौसम खराबीका कारण मनास्लुको ३ नम्बर ४ नम्बर बेस क्याम्पका लागि पठाइएका हेलिकोप्टर अवतरण गर्न नसकी फर्किएका छन्।

    प्रहरीका अनुसार बेपत्ता आरोहीको खोजीका लागि सिम्रिक र एभरेस्टका हेलिकोप्टर पठाइएको थियो।

  • नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

    नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

    काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फेला परेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो ।

    काठमाडौंमा डेंगु संक्रमण ५ गुणा बढी रहको तथ्यांकले देखाएको छ । पछिल्लो विवरणअनुसार यस वर्ष डेंगुका बिरामीको संख्या २५ हजार ५४३ पुगिसकेको छ।

    यसपल्ट साउनपछि तीव्र गतिमा संक्रमण बढेसँगै पछिल्लो एक सातायता मृत्यु हुनेको संख्या पनि बढेको छ। डेंगुबाट हालसम्म ३२ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजीले जनाएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौं उपत्यकामा १६ हजार बढी लाई डेंगु भएको छ ।

    सबैभन्दा धेरै काठमाडौंमा ८ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या १६ हजार बढी पुगेको छ ।

    उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार २७५ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या २०० भन्दा माथि रहेकामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला छन् ।

    यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या २०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

    डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

    गत वर्षको आँकडा असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगु संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकलन छ ।

    नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

    इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

    यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

    सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

    नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

  • वन मन्त्री यादव अमेरिका प्रस्थान

    वन मन्त्री यादव अमेरिका प्रस्थान

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव गतराति अमेरिका प्रस्थान गरेका हुन्।

    अमेरिकी सरकारको निम्तोमा त्यहाँ गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यस्को प्रयोग कसरी गर्नेलगायतका विषयमा छलफल गर्ने उनको सचिवालयले जनाएको छ।

    उनले मिथेन र अन्य अल्पकालीन जलवायु प्रदूषणलाई कम गर्न विश्वव्यापीरुपमा भइरहेका उच्चस्तरीय प्रयास, विकसित मुलुकले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गरिने जनाइएको छ।

  • म्यादी प्रहरीको छनोट प्रक्रिया थालियो

    म्यादी प्रहरीको छनोट प्रक्रिया थालियो

    काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खटिने म्यादी प्रहरीका लागि छनोट प्रक्रिया थालिएको छ । चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी छ । १ लाख १५ हजार म्यादीका लागि २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । १४ असोजसम्म म्यादी प्रहरीको छनोट गरेर २५ गते नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका छ ।

    छनोट भएका म्यादी प्रहरीलाई असोज २७ र २८ गते नियुक्तिपत्र दिइने छ । असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म उनीहरुले तालिम हुनेछ । नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी सुरक्षा ड्युटीमा खटिनेछन्। उनीहरूलाई चुनाव सकिएको ४ दिनपछि मंसिर ८ गते प्रमाणपत्र दिएर बिदाइ गरिन्छ ।

  • आजबाट सवारी साधनलाई रुट परमिट खुला

    आजबाट सवारी साधनलाई रुट परमिट खुला

    काठमाडौं । आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ ।

    आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।


    काठमाण्डौसँग नाका जोडिएका सबै नाकामा गाडीको यान्त्रिक परीक्षण गर्न भनिएको छ । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ । बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा यान्त्रिक परीक्षण नभएका गाडी दुर्घटनामा पर्ने जोखिम रहेकाले यस्ता गाडीले रुट परमिट नपाउने पनि गृह मन्त्रालयले जनाएको छ ।

    आइतबार भक्तपुरको जगातीमा यान्त्रिक परीक्षणका क्रममा अवस्था ठीक नभएका २७ वटा भाडाका गाडीलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै १२ वटा गाडीलाई नियन्त्रणमा लिएको छ । ह्यान्ड ब्रेक नभएका, लाइट नभएका, टायर धेरै खिइएका गाडीका चालकलाई कारबाही गरिएको हो ।


    नियन्त्रणमा लिएका १२ गाडीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाबाट बाहिरिने मात्रै नभइ उपत्यकाभित्रै चल्ने गाडीलाई लक्षित गरेर सुरक्षा जाँच बढाउन लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    उपत्यकामा दशैँका बेलामा सडक खाली हुँदा चालकले तीव्र गतिमा गाडी चलाउने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता प्रवृत्ति देखिएकाले थप सुरक्षा जाँच गर्न लागिएको कार्यालयले जनाएको छ ।

    यस्तै, आजदेखि छतमा यात्रा गर्न नदिन, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिन र चालकले जाँडरक्सी खाएर गाडी चलाएको छरछैन भनेर कडाइका साथ जाँच हुँदैछ । यस्तै, यात्राका क्रममा कुनै समस्या परेमा प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर गुनासो टिपाउन यात्रुलाई प्रहरीको अनुरोध छ ।

  • न्यूरोडमा दशैंका केही दिन चार पांग्रे सवारी निषेध

    न्यूरोडमा दशैंका केही दिन चार पांग्रे सवारी निषेध

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ।

    कार्यालयले आइतबार एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि ‘डाइभर्सन’ गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ। प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ ।

  • बडा दशैं शुरु, आज घटस्थापना

    बडा दशैं शुरु, आज घटस्थापना

    काठमाडौं । नेपालीहरुको महान पर्व बडादसैं आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

    पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

    यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधिको रुपमा सेवन गर्ने गरिएको छ ।

    आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान १० ः २३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको उनले बताए । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

    यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

    आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

    दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । वडादसैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

    नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

    नवरात्र भनेर समेत चिनिने दशैँ नौ रात र दश दिनको हुन्छ । कुनै वर्ष तिथि घटेर आठ रात र नौ दिनको मात्र हुने गर्छ । तिथिको घटबढका कारण आठ राता र नौ दिनको नवरात्र हुने समयमा खोपेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताएए ।

    आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।

    असोज १९ गते देवी विसर्जनको साइत बिहान १० : ३४ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ स् ५१ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

    विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।

    पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।

    आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । यस वर्ष असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

    रासस

  • बलात्कार आरोपपछि विदेशमा सम्पर्कविहिन सन्दीपले लेखे स्टाटस, के भने ?

    बलात्कार आरोपपछि विदेशमा सम्पर्कविहिन सन्दीपले लेखे स्टाटस, के भने ?

    काठमाडौं । नाबालिग बलात्कारको आरोपमा जाहेरी परेपछि विदेशमै सम्पर्क विहिन भएका सन्दीप लामिछानेले फेसबुकमा स्टाटस लेखेका छन् । उनी वेपत्ता भएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको थियो । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको १८ दिन पुगेको छ । अदालतले उनलाई २३ भदौमा पक्राउ गर्न अनुमति दिएको हो । त्यसपछि उनी सम्पर्क बिहिन भएका हुन् । उनले आइतबार राति सवा दस बजे फेसबुकमा यस्तो स्टाटस राखेका छन् …


    १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शौभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफूलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथीभाइ र अग्रजहरू लगायत मेरो पूरै क्रिकेट टिमको साथ, सहयोग र आशीर्वादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्वित महसुस गर्छु।

    मविरूद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। मविरूद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्यतथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आए। मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरूद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विछिप्त बनायो। के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।

    यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मैले मलाई आइसोलेसनमा राखेर बसेको छु। झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदैछ र जतिसक्दो चाँडो नेपाल फर्किएर मविरूद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु।

    क्रिकेट प्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ, नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ। चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा। राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको म एउटा इमानदार क्रिकेट खेलाडी आज एउटा गम्भीर षड्यन्त्रको सिकार भएको महशुस भएको छ।

    मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुट्टा जाहेरी प्रपञ्चहरूको मैले कानुनी लडाइँ लड्ने छु। मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ। साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरूद्धको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हक समेत छ।

    म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवाआमा, दाजुभाइ, मित्रहरू र क्रिकेट प्रेमीहरू, मेरा समर्थकहरू प्रति आभार व्यक्त गर्दछु। म वा मविरूद्ध अफवाह फैलाउने समाचारहरू सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।

  • नेपाली मुद्राको अवमूल्यन जारी, डलरको मूल्यले फेरी राख्यो कीर्तिमान

    नेपाली मुद्राको अवमूल्यन जारी, डलरको मूल्यले फेरी राख्यो कीर्तिमान

    काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार फेरि बढेर १ डलर बराबर १२९ रुपैयाँ ८९ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको छ ।

    गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो । बिहीबार १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २७ पैसा रहेकोमा शुक्रबार एकैदिन १ रुपैयाँ ४१ पैसाले बढेको थियो ।

    आइतबार पनि डलरको मूल्य थप २१ पैसा बढेको छ । शुक्रबार डलरको मूल्य २ महिना अगाडिको रेकर्ड तोड्दै माथि लागेको थियो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेको थियो ।

    १८ साउनमा १ अमेरिकी डलरको बिक्री मूल्य १२६ रुपैयाँ २५ पैसा र खरिद मूल्य १२५ रुपैयाँ ६५ पैसासम्म झरेको थियो । त्यसपछि पुनः बढ्न लागेको डलरको मूल्यले शुक्रबार नयाँ उचाई कायम गरेको हो । अमेरिकी केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ’ (फेड) ले ब्याजदर बढाउँदा अमेरिक डलर बलियो भएको हो ।

  • दुई महिनामा २ खर्ब ४४ अर्बको व्यापार घाटा

    दुई महिनामा २ खर्ब ४४ अर्बको व्यापार घाटा

    काठमाडौं । भदौ महिनामा वस्तु आयातमा उच्च वृद्धि हुँदा व्यापार घाटा साढे दुई खर्ब पुगेको छ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो दुई महिनामा आयात २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । कुल २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको भएको छ । यसअनुसार दुई महिनामा व्यापार घाटा २ खर्ब ४४ अर्ब पुगेको हो । भन्सार विभागको तथ्यांक अनुसार भदौमा मात्र नेपालले १ खर्ब ४२ रुपैयाँको वस्तु आयात गरेको छ ।

    तथ्यांकअनुसार भदौसम्म भएको कुल आयात गत आर्थिक वर्षको यसै महिनासम्मको तुलनामा १३.०१ प्रतिशतले कम हो । गत आवमा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । व्यापार घाटा गत आवको पहिलो ९.४५ प्रतिशतले कम भएको हो । गत आवमा साउन र भदौ महिनामा व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको थियो । चालु आवको पहिलो दुई महिनामा वैदेशिक व्यापारको आकार भने ३ खर्ब नाघेको छ ।

    तथ्यांक अनुसार ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको तुलनामा कुल वैदेशिक व्यापार भने १५.७० प्रतिशत कम भएको छ । गत आवको पहिलो दुई महिनामा ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । पहिलो दुई महिनामा पेट्रोलियम पदार्थको आयातमा मात्र ५० अर्ब ८८ करोड रुपैयाँ बराबरको खर्च भएको छ । सबैभन्दा ठूलो व्यापार घाटा समेत यसै वस्तुमा रहेको छ ।

  • व्याकुल माइलालाई मासिक ५० हजार भत्ता, सत्यमोहनलाई नर्स सुविधा दिने निर्णय

    व्याकुल माइलालाई मासिक ५० हजार भत्ता, सत्यमोहनलाई नर्स सुविधा दिने निर्णय

    काठमाडौं । सरकारले राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (ब्याकुल माइला)लाई मासिक ५० हजार रुपैयाँ र संस्कृतिविद् सत्यमोहन जोशीलाई नर्स सुविधा दिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले राईलाई सहज जीवनयापनको लागि यस अघि दिँदै आएको २५ हजार रुपैयाँको मासिक भत्तालाई शत प्रतिशतले बढाएर ५० हजार रुपैयाँ पुर्याउने निर्णय भएको गरेको हो ।

    उनलाई यसअघि मासिक २५ हजार दिइन्थ्यो । त्यसलाई वृद्धि गरी ५० हजार पुर्‍याइएको हो ।

    त्यस्तै वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक नर्स उपलब्ध गराउने निर्णय गरिएको छ ।

    ७ असोजमा गरेको मन्त्रिपरिषद्को निर्णयमा दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकट क्षेत्र घोषणा गर्नेसहितका विभिन्न १३ निर्णय गरेको छ ।

  • अब बसपार्क क्षेत्रका होटलले अनिवार्य सीसी क्यामेरा राख्नुपर्ने

    अब बसपार्क क्षेत्रका होटलले अनिवार्य सीसी क्यामेरा राख्नुपर्ने

    काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने भएको छ ।

    नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो ।

    सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आवद्ध होटलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिँदै सबै होटलले अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिइएको जानकारी दिए ।

    यस्तै वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । कानुनले नदिएका अनैतिक क्रियाकलापलाई रोक्नका लागि होटलमा आउने पाहुनाको अनिवार्यरूपमा रेकर्ड राख्नुपर्ने भएको छ ।

    होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क, सुन्धारा, बाँसवारीलगायतका क्षेत्रका ४०० भन्दा बढी होटल व्यवसायी आबद्ध छन् ।

  • थामिएन शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    थामिएन शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्राले निरन्तरता पाएको छ ।

    साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २३.८३ अंकले घटेर १८१५.१३ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको ४० लाख १४ हजार ४१९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । इन्भेष्टमेन्ट समूह सबैभन्दा धेरै २.८२ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स, हाइड्रोपावर समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३४७.६० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज तेह्रथुम पावर कम्पनी र कुमारी धनवृद्धि योजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यसैगरी, कुमारी धनवृद्धि योजना ७, सामुदायिक लघुवित्त ६.६५, निफ्रा ६.४१, बुद्धभूमि नेपाल, अरुण भ्याली, ग्रीनलाइफ हाइड्रोपावर, मन्दकिनी हाइड्रोपावर, मल्टिपर्पस फाइनान्स र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २६ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ ।

  • कच्चा तेलको मूल्यमा उच्च गिरावट, ९ महिना यताकै सस्तो

    कच्चा तेलको मूल्यमा उच्च गिरावट, ९ महिना यताकै सस्तो

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै ९ महिना यताकै सस्तो भएको छ ।

    विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८ डलरसम्म आइपुगेको छ । आइतबार अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआइ)क्रुड आयलको भाउ ५.६९ प्रतिशतले घटेर प्रतिब्यारेल ७८.७४४ डलरमा आएको छ । जुन ९ महिना अर्थात् सन् २०२२ जनवरी यताकै सस्तो हो ।

    त्यस्तै, ग्लोबल ब्रेन्ट बेन्चमार्क ४.३१ प्रतिशतले घटेर ८६.१५ डलरमा झरेको छ । अमेरिकी अर्थतन्त्रमा मन्दी आउने हल्ला र डलरको भाउ आकाशिएसँगै कच्चा तेलको भाउमा उच्च गिरावट आएको हो ।

    अन्तर्राष्टिय बजारमा डलरको भाउ बढ्दा माग घट्ने डरले तेलको भाउमा गिरावट आएको विश्लेषकहरु बताउँछन् । बलियो अमेरिकी डलरले विदेशमा तेलको मागलाई कमजोर बनाउने गरेको छ ।

    विश्वव्यापी आर्थिक मन्दी आउने हल्लाका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउमा लगातार गिरावट आइरहेको छ ।

    रुसले युक्रेनमा आक्रमण सुरु गरेसँगै अमेरिका र युरोपेली देशहरुले रसियन तेलमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा तेलको भाउ प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो । तर, पछिल्लो समय युद्ध कायमै रहे पनि अन्य उत्पादक देशहरुले उत्पादन बढाउँदा मूल्यमा केही गिरावट आएको थियो ।

    पछिल्लो दुई महिना यता विभिन्न अध्ययनहरुले विश्वभर आर्थिक मन्दी आउने प्रक्षेपण गरेपछि तेलको खपतमा समेत केही गिरावट आएको छ । जसकारण कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ ।

    यदि विश्वव्यापी आर्थिक मन्दी आएमा यस वर्षको अन्त्यसम्म कच्चा तेलको भाउ प्रतिब्यारेल ६५ डलरसम्म आउने अमेरिकाको सिटी बैंकले चेतावनी दिएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै नेपाललाई पनि केही राहत मिल्ने देखिन्छ । नेपाल भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । विश्व बजारमा तेलको भाउ घटेपछि भारतमा पनि घट्ने हुँदा नेपालमा पनि केही सस्तोमा आउने छ ।

    यद्यपि, गत महिना लगातार तीनपटकसम्म इन्धनको भाउ घटेर आए पनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन ।

  • नागरिकता विधेयक प्रकरण : प्रमाणीकरण नगर्नुको कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश

    नागरिकता विधेयक प्रकरण : प्रमाणीकरण नगर्नुको कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको सन्दर्शमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

    न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो ।

    इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न भनेको छ। सर्वोच्चको आदेशानुसार राष्ट्रपतिले अब लिखित जवाफ पेस गर्नुपर्ने छ।

    संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ। दुबै सदनले फेरि सोही विधेयक पारित गरेर राष्ट्रपति कार्यालय पठाएका थिए।

    नागरिकता विधेयक पहिलो पटक राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन्।

    राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधान उल्लंघन भएको भन्दै सर्वोच्चमा ५ वटा रिट गरेको छ । सबै रिटमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश जारी गर्न समेत माग गरिएको छ ।

  • वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण दशक मनाउने निर्णय

    वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण दशक मनाउने निर्णय

    काठमाडौं । नेपालमा वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित सरकारले नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय भएको हो । यसले कोभिडबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानमा समेत सहयोग गर्नेछ । नेपालले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको सचिव अधिकारीले जानकारी दिए ।

    सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । तर, कोभिडका कारण यो अभियान रोकिएको थियो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने उद्देश्य लिइएको छ । यसले पर्यटनको जीडीपीमा योगदान १५ प्रतिशत पु¥याउन समेत लक्ष्य लिएको छ ।