Category: फिचर

  • रुसमा हजारौं प्रदर्शनकारी पक्राउ

    रुसमा हजारौं प्रदर्शनकारी पक्राउ

    मस्को । युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको विवरण छ। बीबीसीका अनुसार रुसी मानवअधिकार समूह ओभीडी(इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ। सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन्। इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन्।

    राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानका टिकटहरूको तीव्र रूपमा बिक्री भएको छ। पुटिनले आंशिक रूपमा सेना परिचालनको आदेश दिएका छन्। उक्त आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकहरूलाई युक्रेनी युद्धभूमिमा हालै रुसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ। जगेडा सेनामा ती मानिसहरू समेटिएका छन् जसले अनिवार्य रूपमा रुसी सैन्य सेवा गर्नुपर्छ।

    रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रहरूमा रुसमा सामेल हुनेबारे जनमतसङ्ग्रह गर्ने घोषणा गरिएको भोलिपल्ट उक्त घोषणा गरिएको हो। युक्रेन र उसका साझेदारहरूले निन्दा गरेको टिप्पणीमा पुटिनले रुसी क्षेत्रको रक्षा गर्न सबै उपलब्ध साधनहरू आफूले प्रयोग गर्ने बताएका छन्। त्यसमा आणविक अस्त्र पनि समावेश हुन सक्नेछ। मस्को अभियोजनकर्ता कार्यालयले बुधवार अनधिकृत सडक आन्दोलनमा सामेल हुन इन्टरनेटमा आह्वान गर्ने वा त्यसमा सहभागी हुनेलाई १५ वर्षसम्म जेल सजाय हुनसक्ने चेतावनी दिएको छ।

    उता, टर्कीको इस्तानबुल र आर्मेनियाको येरेभान जस्ता लोकप्रिय गन्तव्यमा उडानहरू घटाइएका छन् र बाँकी सिटहरूको मूल्य आकासिएको छ। पुटिनको घोषणापछि मस्कोबाट इस्तानबुल वा दुबईसम्मको उडानको इकोनोमी क्लासको भाडा एकतर्फी ९,११९ डलर पुगेको एसोसिएटेड प्रेसले जनाएको छ।

    युक्रेनमा आक्रमण गरेकोमा रुसले न्यायिक सजायू भोग्नैपर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घीय महासभालाई बताएका छन्। पहिले नै रेकर्ड गरिएको भिडिओमा उनले एक विशेष वार ट्रिब्युनल गठनको आह्वान गरे र रुसद्वारा गरिएको भनिएका युद्ध अपराधको विस्तृत जानकारी दिए। उनले शान्तिका लागि युक्रेनलाई थप सैन्य सहयोग दिनुपर्ने र रुसलाई विश्व मञ्चमा दण्डित गर्नुपर्ने बताए।

  • नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा आज सुनुवाई

    नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा आज सुनुवाई

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा दरर्ता भएका रिटको आज (शुक्रबार) सुनुवाइ हुने भएको छ ।
    राष्ट्रपतिको कदम संविधान विपरीत भन्दै बिहीबार सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । उक्त रिटको पेसी आजका लागि तोकिएको छ ।


    राष्ट्रपतिको यो कदम संविधान विपरीत भन्दै उक्त विधेयक प्रमाणीकरण गर्न आदेश माग गर्दै सर्वोच्चमा कानुन व्यवसायी, कानुनका विद्यार्थी र सर्वसाधारणले समेत रिट हालेका छन् । अधिवक्ता सुनील रञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव र विजय पोखरेल, अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ ल मा अध्ययनरत अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले संयुक्त रुपमा र मोरङको रंगेली नगरपालिकाका देव शर्माले नागरिकता विधेयक प्रमाणीकरण नगरेकामा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले तोकेको १५ दिनसम्म पनि प्रमाणीकरण गरेकी छैनन् । रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा ११३ ९४०बमोजिम संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपति कार्यालयका नाममा परमादेशको आदेश माग गरिएको छ । त्यस्तै विधेयक प्रमाणीकरणका विषयमा राष्ट्रपतिलाई स्वविवेकको अधिकार संविधानले नदिएको उल्लेख गरेका छन् । उनीहरुले रिटलाई अग्राधिकार दिन पनि माग गरेका छन् ।

  • देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना

    देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । शुक्रबार मौसममा बदली भएको छ । मौसम आंशिकदेखि सामान्य बदली भएकोले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ ।

    विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

    दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

    दार्चुला । दार्चुलामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा बिहीबार राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताएका छन् । तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

  • रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु

    रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु

    रुकुम । रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङ्सी बगरमा बस दुर्घटनामा परेको छ । बिहीबार अपरान्ह भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।

    काठमाडौंबाट रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटनामा परेको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । चार जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ । मृतकको सनाखत भइसकेको छैन ।

  • प्रहरीमा रहँदै ओली निकट पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

    प्रहरीमा रहँदै ओली निकट पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

    काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    बिहीबार राजधानीमा आयोजित कार्यक्रमका बीच पूर्वआइजिपी खनाल एमाले प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरे ।

    कार्यक्रममा पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मिया लगायतका व्यक्तिहरु पनि एमाले प्रवेश गरेका छन् ।

    खनाल प्रहरीमा रहँदै ओली निकट मानिन्थे । ओली प्रधानमन्त्री रहेकै बेलादेखि खनालले एमालेका लागि काम गर्दै आएका थिए । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।

  • काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ७ जनाको मृत्यु

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

    काठमाडौंबाट फाखेल-कुलेखानी-भीमफेदी सडकखण्ड हुँदै हेटौँडातर्फ आउँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको भएको हो।

    दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचार गर्न लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

    दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई हेटौंडाका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसका चालक भने फरार छन् । उनको खोजी भइरहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

  • डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, सबैभन्दा बढी संक्रमित उपत्यकामा

    डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, सबैभन्दा बढी संक्रमित उपत्यकामा

    काठमाडौं । देशभर डेंगु फैलिएको छ ।देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

    तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा ४ हजार ८७८ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै, काठमाडौंमा ५ हजार ४२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ५ हजार २०६ र भक्तपुरमा ७८६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या एघार हजार ४१४ पुगेको छ ।

    उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ९७७ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् ।

    तथ्यांक अनुसार हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या १९ हजार ७६६ पुगेको छ । डेंगुको कारण यो वर्ष २५ जनाको मृत्यु भएको भइसकेको छ ।

    डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

    गत वर्षको आँकडा असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगु संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आकलन छ ।

    सन् २०१९ पछि यो वर्ष डेंगु फेरि प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

    यसअघि सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो भने छ जनाको मृत्यु भएको थियो ।

  • नेप्सेमा झिनो अंकको गिरावट, कारोबार ६५ करोडमै सीमित

    नेप्सेमा झिनो अंकको गिरावट, कारोबार ६५ करोडमै सीमित

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्राले फेरि निरन्तरता पाएको छ ।

    बुधवार झिनो अंकले रोकिएको शेयर बजारमा साताको कारोबारको अन्तिम दिन झिनो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२९ कम्पनीको ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै १.५६ प्रतिशतले घटेको छ । त्यस्तै, माइक्रोफाइनान्स समूह पनि १.०४ प्रतिशतले घटेको छ ।

    आज कारोबार भएका कम्पनीमध्य एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५३१.१० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज प्रभु बैंक डिबेञ्चर र गरिमा डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।

  • वीर अस्पताल अगाडिका फार्मेसीमा काठमाडौं महानगरले लगायो डोजर

    वीर अस्पताल अगाडिका फार्मेसीमा काठमाडौं महानगरले लगायो डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपासमा बनेको अवैध संरचना डोजर चलाएको छ।

    महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि विहीवार दिउँसो डोजर चलाएको हो।

    बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो।

    त्यही निर्देशन अनुसार उक्त स्थान खाली गर्न लागेको महानगरपपालिकाका प्रहरीले जनाएको छ ।

    फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ।

    वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो।

  • कपन आगलागीमा ज्यान गुमाउने तीन जनाकै पहिचान

    कपन आगलागीमा ज्यान गुमाउने तीन जनाकै पहिचान

    काठमाडौं । काठमाडौंको कपनमा भिषण आगलागीमा परी ज्यान गुमाउने तीन जनाकै पहिचान खुलेको छ । प्रहरीका अनुसार ताप्लेजुङ घर भएका २७ वर्षका कासाङ तेञ्जी शेर्पा, सङ्खुवासभा घर भइ सुकेधारा बस्ने अशोक राई र काठमाण्डौ महानगरपालिका वडा नं २६ रानीबारी बस्ने २५ वर्षका छेवाङ शेर्पाको ज्यान गएको छ ।

    ज्यान गुमाएकाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आगलागीमा एक जना घाइते भएका छन् । घाइतेको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार जारी छ । बुढानीलकण्ठ नगरपालिका– ११ कपनमा बुधबार बेलुका आगलागी भएको हो ।

  • गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा

    गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा

    काठमाडौं । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी सबैभन्दा कम कमाउने विजेता मध्येका एक बनेका छन् ।

    मजुजले साप्ताहिक रूपमा खुलाउने यो चिठ्ठामा भरतले दुई वर्षदेखि काटिरहेका थिए। अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए। यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन। चिट्टा जितेपछि उनले खुसी व्यक्त गरेका छन् । उनले भने, ‘शनिबार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ।’

    यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन्। आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ। साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् । चिठ्ठा जिते पनि कार धुने काम नछाड्ने उनको भनाई छ ।

    युएईको दी नेशनल न्यूजसँग उनले भने, ‘युएईले मलाई धेरै अवसरहरू दिएको छ, त्यसैले म यहाँ बस्न चाहन्छु, अहिले छुट्टि लिएर परिवारलाई भेटेर आउँछु।’ तीन वर्षअघि दुबई आएका भरत त्यसअघि वैदेशिक रोजगारीकै सिलसिलामा साउदी अरबको पावर प्लान्टमा काम गर्थे। मजुजका सिईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीले यसमा सहभागिता जनाउँदै आएको भन्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताए।

    ‘अहिलेसम्म करिव ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेका छन्, जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेका छन्,’ सीईओ सामजीले भने।

    लामो समयदेखि चिठ्ठा किनिरहेका उनको यसपालिको लक्की नम्बर १६, २७, ३१, ३७ र ४२ हुन्। उनले हरेक पटक चिठ्ठा किन्दा दुई वटा नम्बर कहिल्यै छुट्टाउँदैन्। किनकि, भरतले जितेका दुई नम्बरमध्ये २७ आफ्नो जन्मदिन र १६ आफ्नो विवाह गरेको दिन हो।

    आफूले पाएको पुरस्कारले अब जीवननै परिवर्तन हुने उनले अपेक्षा गरे। धेरै मानिसहरूका लागि, डिएच ३५ पैसा कमाउने राम्रो अवसर हो, त्यसैले भरतजस्ता पात्रहरूले यो चिठ्ठा किन्ने मजुजका सिईओ फरिद सामजीले भने। ‘भरत हाम्रा विजेतामध्ये सबैभन्दा कम कमाउनेहरू मध्ये एक हुन्, त्यसैले यसले उनी र उनको परिवारमा ठूलो फरक पार्नेछ’, उनले भने, ‘हामीले यी विजेताहरू उत्पादन गरिरहनुको एउटै कारण छ, यो निष्पक्ष र विश्वसनीय, त्यसैले मानिसहरू भाग लिन चाहन्छन्। हामी सपना साकार बनाउँछौं।’

  • आजबाट अस्थायी मतदाताको नामावली संकलन गरिँदै

    आजबाट अस्थायी मतदाताको नामावली संकलन गरिँदै

    काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन थाल्दैछ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ । यस्ता मतदाताले प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।

    थुनुवा\कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिई सञ्चालन भएको बृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । अस्थायी मतदात नामावलीमा नाम समावेश गर्न (प्रदेश\जिल्ला निर्वाचन अधिकारी) को सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख दर्ता अधिकारीको कार्यालयमा पठाउनु पर्नेछ ।

    अस्थायी मतदाताको विवरण रुजु गरी कात्तिक १ गते सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन गर्ने, कात्तिक २ देखि ३ गते अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले त्रुटि सच्याउन निवेदन दिने तालिका छ ।

    कात्तिक ४ गते प्राप्त निवेदन उपर जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गर्ने, कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेश गर्ने, दाबी विरोधको निवेदन उपर कात्तिक ७ देखि ११ गतेसम्म जाँचबुझ गरी निर्णय गर्ने, कात्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने र कात्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

    संकलित अस्थायी मतदाता नामावली तथा निर्धारित मापदण्डका आधारमा अस्थायी मतदान केन्द्रको सिफारिस जिल्ला तहमा रहेको अस्थायी मतदाता नामावली संकलन तथा व्यवस्थापन समितिले गर्ने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

  • खोला तर्ने क्रममा बगाउँदा दैलेखमा दुई जनाको मृत्यु

    खोला तर्ने क्रममा बगाउँदा दैलेखमा दुई जनाको मृत्यु

    दैलेख । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बगेर बुधबार दिउँसो मृत्यु भएको हो । उनीहरु महावुबाट भैरवी गाउँपालिकातर्फ जाँदै गरेको अवस्थामा खोला तर्दैगर्दा बगेको र पछि मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

  • कांग्रेसको घोषणा पत्र लेखन उपसमितिमा स्वर्णिम वाग्ले संयोजक

    कांग्रेसको घोषणा पत्र लेखन उपसमितिमा स्वर्णिम वाग्ले संयोजक

    काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र मस्यौदा गर्न डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन भएको छ । जसमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा. कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र डा. प्रीति मण्डल सदस्य रहेका छन् । बुधबार बसेको घोषणापत्र तयारी समितिले सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शंकर तिवारी सदस्य रहको अध्ययन र विश्लेषण उपसमिति गठन गर्ने निर्णग गरेको छ।

    उक्त उपसमितिले स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्रहरु अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्नेछ ।
    यस्तै छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नविनता’ को दृष्टि केन्द्रमा राखेर ‘नेपाली कांग्रेसको घोषणापत्र’ निर्माण गर्ने घोषणापत्र तयारी समितिले जनाएको छ । बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको सदस्य सचिव डा.प्रदिप पराजुलीले जानकारी दिए ।

  • अमेरिकी एनआरएनएमा तेश्रो धार

    अमेरिकी एनआरएनएमा तेश्रो धार

    बिष्णु सिंह\न्युयोर्क । गैरआवाशीय नेपाली संघ अन्तररास्ट्रिय समन्वय परिषद शेस घले पक्षले पनि अमेरिकी राष्ट्रिय परिषद गठन गरेसंगै न्युयोर्कमा एक पत्रकार भेटघाट तथा अन्तर्कृया आयोजना गरिएको छ । गैर आवासिय नेपाली संघ केन्द्रदेखी नै फुटे सँगै विभिन्न देशमा राष्ट्रिय परिषद फुट्ने क्रम जारी छ । एनआरएनए घले पक्षले अमेरिकामा सुर्य लम्सालको नेतृत्वमा ३५ जना संम्मिलित समिति घोषणा गरेको छ ।

    समिति घोषणा सँगै १९ तारिखमा न्युयोर्कमा अन्तर्कृया गरिएको हो । अन्तर्कृयामा अमेरिकाका अर्का एनआरएनए अध्यक्ष बुद्धी सागर सुबेदीलाई आफुहरु आफ्नो समुहमा जोडीन पटक पटक अनुरोध गर्दा समेत वास्ता नगरेपछी सुबेदीसगै निर्वाचनमा प्रतिस्पर्धा गरेर उपबिजयता बनेका सुर्य लम्सालको नेतृत्वमा अमेरिकि राष्ट्रिय परिषद गठन गरिएको जानकारी गराइयो । अमेरिकामा आफु खुशी राष्ट्रिय परिषद घोषणा गर्ने क्रम पछिल्लो पटक बढ्दै गएको छ । सुर्य लम्साल नेतृत्वमा घोषणा गरिएको यो एनआरएन तेश्रो धार हो ।

    स्थानिय ज्याक्सन हाईट्स थकाली किचेनमा आयोजित अन्तर्कृयामा आयोजकले एनआरएनमा साँचो अर्थमा काम गर्ने नेतृत्व ल्याउनै पर्ने कुरामा जोड दिइयो । यस अगाडि एनआरएन अन्तर्गत विभिन्न पदमा बसेर काम गरी सकेका सोनाम लामाले एनआरएनमा केहि लिनु नभएर दिने मात्र आफ्नो लक्ष्य रहेको बताए । त्यसैले साचो अर्थमा एनआरएनमा काम गर्ने नेतृत्व ल्याउन जरुरी रहेको उनको भनाई छ ।

    आयोजकले बिशेषत अन्तर्कृया कार्यक्रममा नयाँ समिति गठनको आवश्यकताबारे प्रस्ट पार्दै एनआरएन मुभमेण्टमा अमेरिकी एनआरएन अत्यन्त आवश्यक रहेको बताए । अन्तर्कृया कार्यक्रममा उपाधक्ष्य बिआर लामा र उत्तर अमेरिका क्षेत्रीय सयोजक कृष्ण पोखरेललयायत उपस्थित थिए ।

  • टिचिङ हस्पिटल भर्ना भए डा. केसी

    टिचिङ हस्पिटल भर्ना भए डा. केसी

    काठमाडौं । अनसनरत डा. गोविन्द केसी बुधबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी चिकित्सा क्षेत्रमा सुधारका विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशनरत थिए । सरकारले उनको स्वास्थ्य बिग्रिएपछि सेनाको जहाजबाट मंगलबार काठमाडौं ल्याउन चाहेको थियो । तर, उनी आज १० औं दिनमा आफ्नै खर्चमा काठमाडौं आएका छन् । अस्पताल भर्ना भए पनि अनशन जारी रहने बताइएको छ ।

    केसी आफ्नै खर्चमा ४ः४५ बजेको उडानबाट धनगढीबाट काठमाडौं आए । अनशनका क्रममा केसीको स्वास्थ्य स्थिति झन्‌ झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले पहल गरेको हो । अनशन सुरु गरेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएको छ । उनी धनगढीको सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना भएका थिए । औषधि समेत सेवन नगरेपछि स्वास्थ्य स्थिति गम्भीर भएको थियो ।

  • कपन आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो

    कपन आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको कपनस्थित एक घरमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । कपनको राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी रहेको घरमाआगलागी भएको हो । घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ । घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको काठमाडौं प्रहरीका एसएसपी भरत बोहरालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    एजेन्सी सञ्चालकले भुइँतलामा राखेका सिलिन्डर पड्किएको र त्यही फ्लाटमा बस्नेहरु तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ । सञ्चालकको परिवार माथिल्लो तलामा बस्ने भएकोले सकुशल उद्धार गरिएको बताइएको छ । शव टिचिङ अस्पतालमा लगिएको छ । मृतकको पहिचान भइसकेको छैन । दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी भने नियन्त्रणमा लिइएको छ ।

  • कपनमा भिषण आगलागी, एक जनाको मृत्यु

    कपनमा भिषण आगलागी, एक जनाको मृत्यु

    काठमाडौं । कपनको एक घरमा भीषण आगलागी भएको छ । घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिने प्रयास बुधबार राती अबेरसम्म जारी छ । कपनको राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको हो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डर पड्किएर ठूलो क्षति भएको प्रहरीको अनुमान छ ।

    घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ । अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

  • यी हुन् काठमाडौं महानगरले १० दिन भित्र कर तिर्न ‘अल्टिमेटम’ दिएको ४१ संघ संस्था

    यी हुन् काठमाडौं महानगरले १० दिन भित्र कर तिर्न ‘अल्टिमेटम’ दिएको ४१ संघ संस्था

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सिभिल मल, सिद्धार्थ वनस्थली स्कूलसहित ४१ वटा संघसंस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।

    महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले सूचना जारी गर्दै घरजग्गा तथा सम्पत्ति कर बुझाउन अल्टिमेटम दिएका हुन् ।

    महनगरले १० दिन भित्रमा सम्बन्धित वडा कार्यालयमा गएर घरजग्गा/ सम्पत्ति कर र सोको जरिवाना बुझाउन आग्रह गरेको हो।

    महानगरले बहालमा लगाएको भए बहालमा लिने दिने बीच भएको सम्झौतामा उल्लेखित रकमको १० प्रतिशतले हुन आउने बहाल कर सहित बुझाउन अनुरोध गरेको छ।

    १० दिन भित्रमा नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गर्ने भनेको छ।v पछिल्लो समय महानगरले लामो समयदेखि कर नबुझाउने संघसंस्थाहरूबाट राजस्व संकलन गरिरहेको छ ।

    1. बुद्धबारी कम्प्लेक्स, वडा नं १२,२०७३
    2. सिग्नेचर अपार्टमेन्ट, वडा नं १२,
    3. काठमाडौं इन्जिनियरिङ्ग कलेज
    4. नेपाल रेडक्रस सोसाइटी, वडा नं १३,२८,
    5. ब्लु बर्ड ईन्भेष्टमेन्ट, वडा नं १३,
    6. होटल प्लाटिनियम (महावीर प्यालेस ) वडा नं १३,
    7. आदर कम्प्लेक्स, बल्खु, वडा नं १४,
    8. ब्याट्री कारखाना, बालाजु, वडा नं १६,
    9. सिद्धार्थ वनस्थली स्कूल, वडा नं १६,
    10. एडभान्स अटोमोबाइल्स प्रा.लि., वडा नं २०,
    11. भि.जि. अटोमोबाइल्स प्रा.लि., वडा नं २०,
    12. आदर्श नगर बिजनेश प्रा.लि., वडा नं २२,
    13. रञ्जना ट्रेड सेन्टर, वडा नं २२,
    14. नेपाल स्काउट, वडा नं २६,
    15. नेपाल सेन्टर फर डेभलमेण्ट एण्ड पोलीसी स्टडीज प्रा.लि, पुतलीसडक, वडा नं २८,
    16. नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशन प्रा. लि., पुतलीसडक, वडा नं २८,
    17. स्टार होल्डीङ्ग, पुतलीसडक, वडा नं ३०,
    18. पुण्य मेन्सन प्रा.लि, पुतलीसडक, वडा नं ३०,
    19. रिद्धिसिद्धि डेभलपर्स, वडा नं ३२,
    20. वरुण वेभरेज नेपाल प्रा.लि., वडा नं ३२,
    21. रविन्द्र बहादुर मल्ल, वडा नं १,
    22. सुभाष कुमार घिमिरे / सानुभाई बखुन्छे, वडा नं १,
    23. मसिना अमात्य, लाजिम्पाट वडा नं १,
    24. रविना श्रेष्ठ, लाजिम्पाट, वडा नं २,
    25. शिशु अर्याल, वडा नं २,३१,
    26. योगनाथ पौडेल, वडा नं १६,
    27. प्रदीप रत्न ताम्राकार, उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार, वडा नं २०,
    28. बसुन्धरा तुलाधर, वडा नं २२,
    29. पुरुषोत्तम संघई, वडा नं २८,
    30. किरण संघई, वडा नं २८ काठमाडौं ।
    31. जय नेपाल हल, हात्तिसार, वडा नं १,
    32. इम्पेरियल अपार्टमेन्ट, वडा नं १, –
    33. सगरमाथा इन्स्योरेन्स क. लि, वडा नं १,
    34. ग्लोबल ट्रेडिङ्ग कन्सर्न, वडा नं १,
    35. पुजा इन्टरप्राइजेज प्रा.लि. वडा नं १,
    36. ल्याण्डमार्क होटल, वडा नं १,
    37. ॐ सान इन्टरनेशनल कलेज, वडा नं ७,
    38. क्लर्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, वडा नं ११,
    39. सिभिल मल, सुन्धारा, वडा नं ११,
    40. सि.टि.सि मल, सुन्धारा, वडा नं ११,
    41. एन आर टी क्लव, वडा नं ११, काठमाडौ ।
  • एडीबीले भन्यो -‘नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा खुम्चिन्छ’

    एडीबीले भन्यो -‘नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा खुम्चिन्छ’

    काठमाडौं । एसियाली विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको छ।

    सरकारले ८ प्रतिशतको लक्ष्य लिएको बेला एसियाली विकास बैंकले डेभलपमेन्ट आउटलुकमा प्रकाशित गर्दै नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो ।

    यो गत अप्रिलमा गरेको ५ प्रतिशतको अनुमान भन्दा पनि कम हो । अर्थतन्त्रमा देखिएका दबाबले चालु वर्षमा प्रभाव पार्ने बैंकको विश्लेषण छ।

    बाह्य क्षेत्रको सन्तुलनका लागि भन्दै सरकारले आयातमा लगाएको प्रतिबन्ध, मूल्यवृद्धि तथा भुक्तानी सन्तुलनका लागि राष्ट्र बैंकले बढाएको ब्याजदर लगायतका कारणले गर्दा आर्थिक गतिविधिमा उल्लेखनीय विस्तार नदेखिएको बैंकले प्रक्षेपण गरेको छ।

    चालु आर्थिक वर्ष नेपालको मुद्रास्फीति ६.३ प्रतिशतबाट केही सामान्य अंकले घटेर ६.१ प्रतिशत कायम हुने उसको आकलन छ। संकुचनकारी मौद्रिक नीति, विश्व अर्थतन्त्रमा आएको मन्दी तथा पेट्रोलियम पदार्थको मूल्यम आएको गिरावटले मुद्रास्फीति वाञ्चित सिमाभित्र रहने एसियाली विकास बैंकले भनेको छ।

    स्थिर रेमिट्यान्स आप्रवाह र आयातमा भएको कमी चालु खाता घाटा यस आर्थिक वर्ष कुल गार्हस्थ उत्पादनको ८.१ प्रतिशतमा सीमित ‍हुने एडीबीले प्रक्षेपण गरेको छ

    नेपालका लागि एडीबीका क्षेत्रीय निर्देशक अर्नाउड काउकोइसले भनेका छन्, ‘कोभिड संक्रमणको रोकथामका लागि लगाइएको लडकाउनका र पुनरुत्थान, कमजोर स्वास्थ्य प्रणालीलाई तनाव दिने डेंगु ज्वरोको तीव्रता, प्राकृतिक प्रकोपहरूबाट उत्पन्न प्रकोपहरू र भूराजनीतिक उथलपुथलले आर्थिक वृद्धिको सम्भावनालाई अझ कम गर्न सक्छ।’

    अपडेटले सामान्य मनसुनका कारण कृषिको वृद्धि हुने सम्भावना देखिए पनि मलको निरन्तर अभावले धान उत्पादनमा प्रतिकूल असर पार्न सक्ने बताइएको छ। जलविद्युतको बढ्दो उत्पादन र उद्योगहरुमा जलविद्युतको बढ्दव उपयोगले आर्थिक बृद्धिदरमा केही भरथेक गर्ने बताइएको छ।

  • दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, बागमती प्रदेशमा मात्रै ११ जनाको निधन

    दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, बागमती प्रदेशमा मात्रै ११ जनाको निधन

    काठमाडौं । बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा ४, ललितपुरमा २ , सिन्धुपाल्चोकमा २, मकवानपुरका १, सिन्धुलीमा १ र धादिङमा १ जनाको मृत्यु भएको बताएका छन् ।

    यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगुका बिरामी फेला परेको छ । ती मध्ये सबैभन्दा धेरै ललितपुर जिल्लामा ४ हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन् ।

    यसैगरी, काठमाडौंमा ४ हजार ६ सय ७४, मकवानपुरमा १ हजार ८ सय १०, भक्तपुरमा ७ सय १३, चितवनमा ४ सय २९ र धादिङमा ३ सय ९९ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

  • नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको चौंथो दिन बजार झिनो अंकले बढेको हो ।

    बजार मापक सूचक (नेप्से)११.२२ अंकले बढेर १८४८.८२ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२६ कम्पनीको ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । मंगलवार १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये एक वटाको परिसूचक घटेको छ भने अन्य सबैको हरियो भएको छ ।

    फाइनान्स समूह सबैभन्दा धेरै १.७९ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूह पनि १.३८ प्रतिशतले बढेको छ ।

    आज कारोबार भएका कम्पनीमध्य एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेको हो ।

    नेप्सेका अनुसार वीन नेपाल लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड र राप्ती हाइड्रोको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ३ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।

    रिडी पावरको २ करोड ४१ लाखको कारोबार भएको छ ।

  • नेपाल र जापानबीच दुई आयोजना कार्यान्वयन लागि १६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता

    नेपाल र जापानबीच दुई आयोजना कार्यान्वयन लागि १६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता


    काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न दुई सम्झौतामा हस्ताक्षर भएको छ ।

    जापानी येन २२५.६० करोड (करिब रु. २ अर्ब) अनुदान सहायता र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.०१ करोड (करिब रु १४.२ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्वन्धी दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको हो ।

    अनुदान सहायता मुख्यतया पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिँचाइ सुविधाका लागि चन्द्र नहर सिँचाइ प्रणालीको मर्मत सम्भार एवम् सुधारका लागि प्रयोग गरिनेछ ।

    त्यसैगरी,वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी अवधि र १० वर्षको ग्रेस अवधि रहेको सहुलियतपूर्ण ऋण काठमाडौं र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घटाउन र वितरण प्रणालीको विश्वसनीयता बढाउनका लागि प्रयोग गरिनेछ।

    नेपाल सरकारका तर्फबाट अर्थ सचिव श्री कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका महामहिम राजदूत श्री किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरे ।

    त्यसैगरी, अनुदान तथा ऋण सम्झौतामा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरे ।

    अर्थ सचिवले आफ्नो मन्तव्यमा यी दुई आयोजनाको कार्यान्वयनबाट नेपालमा सिँचाइ सुविधाको सुधारगर्न तथा विद्युत आपूर्तिको विश्वसनीयता बढाउन र प्रशारण चुहावट कम गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।

    उक्त अवसरमा अर्थ सचिवले नेपालको सामाजिक(आर्थिक एवम् मानव संसाधन विकासमा जापान सरकारबाट प्राप्त भैरहेको निरन्तर सहयोगको प्रसंशा गर्दै दुई देशवीचको लामो र सुमधुर सम्बन्ध तथा विकास साझेदारी अझ नयाँ उचाइमा पुग्ने विश्वाससमेत ब्यक्त गरे ।

  • ‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’

    ‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’

    काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणीकरण नगर्नू संविधानमाथिको उल्लंघन भएको निचोड निकालेको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएकोमा राष्ट्रपतिको यो कदम संविधान र संसदीय मर्यादामाथिको प्रहार रहेको निष्कर्ष निकाल्दै वक्तव्य जारी गरेको छ ।

    बैठकपछि जारी गरेको धारणामा भनिएको छ, ‘समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गर्दछ।’

    मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने समयसीमा थियो। तर, राष्ट्रपतिले बेवास्ता गरिदिएकी थिइन्।

    राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरेको भन्दै अहिले आलोचना भइरहेको छ। साउन २९ गते भण्डारीले विधेयकलाई आफ्नो सन्देश सहित पुन: संसदमै पठाएकी थिइन।

    संसदका दुवै सदनबाट पारित गरेर फेरि सरकारले विधेयक प्रमाणिकरणक लागि भण्डारीलाई भदौ २० मा पठाएको थियो।

  • काठमाडौं महानगरपालिकाले भन्यो : अनुमति बीना होर्डिङ बोर्ड नराख्नु

    काठमाडौं महानगरपालिकाले भन्यो : अनुमति बीना होर्डिङ बोर्ड नराख्नु

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्न सूचित गरेको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको छ । ‘असोज ५ गतेबाट अनुमति बीना बाह्य विज्ञापन सञ्चालन नगर्नर नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।

    उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा आजैका मिति (२०७९ साल असोज ५ गते) बाट बाह्य विज्ञापन सञ्चालन नगर्न–नगराउन भनेको छ। नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि महानगरले दिएको छ ।

  • वासिङ्टन डिसीमा दशैं तिहार मेला हुँदै

    वासिङ्टन डिसीमा दशैं तिहार मेला हुँदै

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सेप्टेम्बर २५ तारिख (असोज ९ गते) दशैं तिहार मेला आयोजना हुने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी वासिङ्टन डिसीको बुल रन पार्कमा दशैं तिहार फेस्टिबल आयोजना गर्न लागिएको हो । अमेरिकामा बसोबास गरिरहेका नेपाली र विदेशीमाझ नेपाली संस्कृतिको प्रवद्र्धन गर्नका लागि उक्त फेस्टिबल कोसेढुंगा सावित कार्यक्रम संयोजक राजश्री श्रेष्ठले बताइन् ।

    मेलामा दशैं बजार, नेपाली खानाका परिकार, नेवारी खाना, सेलरोटी, गहना पसल र अन्य विभिन्न सामानका स्टल रहनेछन् । मेलामा दिउँसोको समय मंगलधुन, लाखे नाच, रथ प्रदर्शनीलगायतका सांस्कृतिक कार्यक्रम तथा तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति पनि हुने छन् । दिवा समयका सबै प्रस्तुति अवलोकन गर्न र सहभागी बन्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम संयोजनमा खटिएकी मनिषा प्रसाईं अधिकारीले जानकारी दिइन् ।

    साँझको समयमा प्रसिद्ध गायक एड्रिन प्रधान, निमा रुम्बा र अमेरिकामा रहेका स्थानीय नेपाली ब्याण्डका सदस्यले पनि सांगीतिक प्रस्तुति दिनेछन् । उक्त मेलामा नेपालको प्रसिद्ध प्रकाशन गृह फाइनप्रिन्टले नेपाली पुस्तक प्रदर्शन गर्नेछ ।

  • राष्ट्रपतिले व्यवस्थामाथि प्रहार गर्नुभयो : रामचन्द्र पौडेल

    राष्ट्रपतिले व्यवस्थामाथि प्रहार गर्नुभयो : रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले व्यवस्थामाथि नै प्रहार गर्ने काम गरेको प्रतिक्रिया दिएका छन् । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र पारित गर्नुपर्ने भए पनि मंगलबार अस्वीकार गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको पौडेलको तर्क छ ।

    पौडेलले ट्वीट गर्दै संसदबाट अनुमोदन भएको विधेयक प्रमाणीकरण गरी संवैधानिक अधिकार प्रयोग गर्नुको साटो राष्ट्रपतिबाट विद्यमान राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताए। उनले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिकै प्रहार भएको बताए।

    ‘जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु,’ उनले भनेका छन्।

  • आज पनि देशभर मौसम प्रतिकुल, पश्चिम भेगमा वर्षा

    आज पनि देशभर मौसम प्रतिकुल, पश्चिम भेगमा वर्षा

    काठमाडौं । बुधबार समेत देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा हुने भएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • सत्तारुढ दल राष्ट्रपतिको कदमबारे छलफलमा जुट्दै

    सत्तारुढ दल राष्ट्रपतिको कदमबारे छलफलमा जुट्दै

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे सत्तारुढ दलबीच छलफल हुने भएको छ । सत्तारुद दलको बैठक अहिले केहीबेरमा प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने थियो । सभामुखले २० भदौमा पठाएका थिए ।

    तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण नभएपछि नेपालमा नयाँ बहस प्रारम्भ भएको छ । बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुने बताइएको छ ।