Category: फिचर

  • गोठाटारमा हत्या भएका अन्सारीको विवादाष्पद पृष्ठभूमी, अनुसन्धानमा जुट्यो प्रहरी

    गोठाटारमा हत्या भएका अन्सारीको विवादाष्पद पृष्ठभूमी, अनुसन्धानमा जुट्यो प्रहरी

    काठमाडौं । फिल्मी शैलीमा गोली हानी हत्या भएका काठमाडौंको गोठाटारस्थित जम्बुडाँडाका गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको पृष्ठभूमि विवादास्पद पाइएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार उनी तयारी पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालक हुन् । उनको स्थानीय घर सर्लाही हो । अज्ञात समूहले उनलाई कारमा लखेटी लखेटी गोली हानीको सीसीटीभी फुटेजमा देखिएको छ । उनको टाउको, छाती र पेटमा गोली हानी लागेको छ ।

    सोमबार साँझ गोली लागेर घाइते भएका उनलाई शंखरापुर अस्पतालमा लगिएको थियो । उक्त अस्पतालमा उपचार नभएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । त्यसको केही बेरमै चिकित्सकले मृत घोषणा गरे । बा ६ च ५१५२ नम्बरको मोटर चढेर आएका मोहम्मदलाई गोठाटारको जम्बुडाँडामा रहेको उनको गार्मेन्ट फ्याक्ट्री अघि सोमबार गोली हानिएको थियो । गोली हान्ने व्यक्ति अझै फरार छन् । हत्या भएका ५७ वर्षिय अन्सारी करिब ९ वर्ष जेल बसेर ६ वर्षअघि रिहा भएका व्यक्ति भएको खुलेको छ ।

    जाली नोट र कर्तव्य ज्यान मुद्दामा जोडिएका उनी २०६४ साउन ९ गते जेलमा ८ वर्ष ७ महिना बसेर छुटेका थिए । उनी लाल मोहम्मद, लाल अन्सारी, लाल थापाजी लगायत उपनामले चिनिन्थे । उनीमाथि व्यक्ति हत्या र जालीनोटको कारोबारको अभियोग पुष्टी भएको थियो । उनी २०७३ जेठ २५ मा केन्द्रीय कारागारबाट छुटेका हुन् । सोमबार गोठाटारमा भएको गोली प्रहार र हत्या सम्बन्धी घटनामा पनि भारतीय गिरोहको संलग्नता रहेको आशंकाका बीच प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।

  • राजकीय सम्मानका साथ बेलायती महारानीको अन्त्येष्टी

    राजकीय सम्मानका साथ बेलायती महारानीको अन्त्येष्टी

    लण्डन। बेलायतकी महारानी एलिजावेथ द्वितीयाको राजकीय सम्मानका साथ सोमबार अन्त्येष्टि भएको छ । लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबी गिर्जाघरमा अन्तिम संस्कार समारोह आयोजना गरिएको थियो । स्थानीय समयअनुसार सोमबार बिहान आयोजित समारोहमा बेलायतका नयाँ राजा चार्ल्स तृतीय, रानी (क्विन कन्सोर्ट) कमिला, अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी श्रीमती, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रों, ६ जना बेलायती पूर्वप्रधानमन्त्री, युरोपेली शाही परिवारका सदस्यहरू, विभिन्न देशका नेता गरी झन्डै २ हजार जना सहभागी भए ।

    अन्त्येष्टि समारोहमा नेपालबाट परराष्ट्रमन्त्री नारायण खड्काले भाग लिएका छन् । अन्त्येष्टि समारोहको नेतृत्व गरेका डिन अफ वेस्टमिन्स्टर डेभिड होइलले स्वर्गीय रानीले आजीवन वहन गरेको उत्तरदायित्वप्रति कृतज्ञता व्यक्त गरे । होइलले एलिजाबेथ द्वितीयाले महारानी र राष्ट्रमण्डलको प्रमुखका रूपमा कैयौं वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता प्रस्तुत गरेको पनि बताए ।

    महारानीको शवपेटिका वेस्टमिन्स्टर आबी प्रवेश गर्दा श्लोकहरू गाइएको थियो भने प्रधानमन्त्री लिज ट्रसले पनि धार्मिक ग्रन्थको एक अध्याय पाठ गरेकी थिइन् । समारोहको अन्त्यतिर ‘द लास्ट पोस्ट’ धुन बजाइएपछि देशभर दुई मिनेट मौनधारण गरिएको थियो । शवपेटिका वेस्टमिन्स्टर एबी ल्याउँदै गर्दा स्कटिस तथा आइरिस रेजिमेन्टहरू, ब्रिगेड अफ गोर्खाज र रोयल एअर फोर्सका सैनिकहरूले शोक धुन बजाएका थिए । बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजावेथ द्वितीयाको गत सेप्टेम्बर ८ मा निधन भएको थियो ।

  • गोठाटारमा गोली लागेका व्यक्तिको मृत्यु

    गोठाटारमा गोली लागेका व्यक्तिको मृत्यु

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।

    सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय स्रोतलाइ उदुत गर्दै स्थानीय संचार माध्यमले लेखेका छन् । 

    रातो टिर्सट र जिन्स लगाएको र मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली हानेको थियो । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

  • काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते

    काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८, गोठाटारमा गोली चलेको छ । गोली लागेर घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी छन् । तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

    रातो टिर्सट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले बताएका छन् । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको प्रहरीले बताएको छ ।

  • साफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक उपाधी

    साफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक उपाधी

    काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा नेपाल पुनः उपविजेतामा सिमित भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भयो । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । उता, बंगलादेशले भने छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास कायम गरेको छ । दशरथ रंगशालामा सोमबार भएको फाईनलमा १५ हजार बढी घरेलु दर्शक अघि नेपाललाई ३–१ ले पराजित गर्दै बंगलादेशले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो ।

    पहिलो हाफमा २–० ले पछि परेको नेपालले ७० ‌औं मिनेटमा गोल फर्काएको थियो । नेपालका लागि अनिता बस्नेतले गोल गरिन् । बस्नेतको गोलमा नेपाल खेलमा पर्किन खोजे पनि ७७ औं मिनेटमा बंगलादेशले अर्को गोल थपेर खेल आफ्नो पक्षमा पारेको हो । हारसँगै महिला टीमका प्रशिक्षक कुमार थापाले आफ्नो जिम्मेवारी छाडेको घोषणा गरे ।

  • तपाइको फोनमा ई–सिम  चल्छ कि चल्दैन् ? यसरी थाहा पाउनुहोस्

    तपाइको फोनमा ई–सिम चल्छ कि चल्दैन् ? यसरी थाहा पाउनुहोस्

    काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरूलाई निःशुल्क इ-सिम वितरण गरिरहेको छ। इ-सिमका लागि यथेष्ट संख्या मौज्दात रहेको कम्पनीले जनाएको छ।

    रुचि र मागलाई मध्यनजर गर्दै ग्राहकको सुविधाका लागि हालसम्म सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको इ-सिम भोलिदेखि कम्पनीको नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरू लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण गरिने छ।

    मोबाइल सेटमा इ-सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ-सिम प्रयोग गर्न सकिन्छ। त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा इ-सिम चल्ने/नचल्ने यकिन गरेर मात्र इ-सिमका लागि केन्द्रमा जान कम्पनीले अनुरोध गरेको छ।

    यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ। यसरी डायल गर्दा इआइडी लेखिएको संकेतसहित नम्बरहरू देखियो भने उक्त सेटमा इ-सिम चल्छ भनी थाहा पाउन सकिन्छ।

    त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि इ-सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ।

    आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डाटा प्लान देखियो भने पनि त्यसमा सामान्यतः इ-सिम चल्छ भन्ने कुरा थाहा हुन्छ।

    फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ।

    त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ।

    इ-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। इ-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ।

  • आरजु राणा र विमलेन्द्र निधि कांग्रेसबाट समानुपातिक उम्मेदवार

    आरजु राणा र विमलेन्द्र निधि कांग्रेसबाट समानुपातिक उम्मेदवार

    काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची टुंग्याउने अन्तिम कसरत गरिरहेको छ। त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ।

    जसमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजु देउवा राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा सूचीकृत भएकी छन्।

    उनलाई सुदुरपश्चिम कांग्रेस प्रदेश समितिले खसआर्य कोटामा राखेको हो। आरजुलाई खसआर्य महिला डडेलधुरा ठेगाना राखेर सूचीमा समावेश गरिएको

    त्यस्तै विमलेन्द्र निधिलाई मधेसी कोटाबाट सूचीमा राखिएको छ। उनले सुरुवातदेखि नै समानुपातिक सूचीमा बस्ने इच्छा राखेका थिए। सोही अनुसार उनलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनका लागि सिफारिस गरिएको थिएन।

    २०७४ को निर्वाचनमा निधि धनुषा-३ बाट पराजित भएका थिए। राजपा (हाल लोसपा) का उम्मेदवार राजेन्द्र महतोले ३० हजार ७५० मत पाउँदा कांग्रेस उम्मेदवार निधिले २७ हजार ८४७ मत मात्रै पाएका थिए।

  • नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो, जोखिममा काठमाडौं उपत्यका

    नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो, जोखिममा काठमाडौं उपत्यका

    काठमाडौं । देशभर डेंगु फैलिएको छ ।देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

    तथ्यांक अनुसार सबैभन्दा धेरै सबैभन्दा धेरै ललितपुरमा ४ हजार ६०४ जनामा संक्रमण पुष्टी भएको छ ।

    काठमाडौंमा ४ हजार ४५४, भक्तपुरमा ७१३ गरी उपत्यकामा, डेंगी संक्रमितको संख्या नौ हजार ७७१ पुगेको छ ।

    काठमाडौंका टेकु, कालिमाटी, छाउनी, न्यूरोड, कोटेश्वर नरेफाँट क्षेत्रमा धेरै डेंगुका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

    उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै १ हजार ५९७ जनामा संक्रमण देखिएको छ ।

    दाङमा ९९४, रुपन्देहीमा ६५९ चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ तथा काभ्रेमा १५२ जनामा संक्रमण देखिएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । डेंगुको कारण यो वर्ष २० जनाको मृत्यु भएको भइसकेको छ ।

    डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

    गत वर्षको आँकडाअनुसार डेंगु असोज अन्तिमसम्मै फैलिने महाशाखाको अनुमान छ । सन् २०१९ पछि यो वर्ष डेंगु फेरि प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

    यसअघि सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो भने छ जनाको मृत्यु भएको थियो ।

  • टुकुचा खोला खोज्ने अभियान निरन्तर, महानगर भन्छ– ‘संरचना नभत्काउने लिखित आदेश आएको छैन’

    टुकुचा खोला खोज्ने अभियान निरन्तर, महानगर भन्छ– ‘संरचना नभत्काउने लिखित आदेश आएको छैन’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खननको काम जारी राखेको छ ।

    आइतबार उच्च अदालत पाटनले टकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरे पनि काठमाडौं महानगरपालिकाले टुकुचा उत्खननको कामलाई निरन्तरता दिएको हो ।

    प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले दिएको रिटको सुनुवाइ गर्दै आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले उक्त आदेश दिएको थियो ।

    अदालतको आदेशको महानगरले सम्मान गर्ने तर अहिलेसम्म कुनै लिखित आदेश नआएको महानगरले जनाएको छ ।

    काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । उसले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो ।

    नारायणहिटी दरबार संग्रहालयबाट बाहिर निस्केपछि टुकुचा खोला भूमिगत गरिएको छ । त्यसपछि पुतलीसडकको काठमाडौं प्लाजा छेउमा मात्र टुकुचा देखिन्छ ।

    महानगरले यसअघि नै टुकुचा भूमिगत भएको सुरुवाती बिन्दु र अन्तिम बिन्दु उत्खनन गरिसकेको छ ।

  • अमेरिकासम्म पुग्छ नेपाली पानी, एक वर्षमा ३० करोडको निर्यात,

    अमेरिकासम्म पुग्छ नेपाली पानी, एक वर्षमा ३० करोडको निर्यात,

    काठमाडौं । नेपालबाट एक वर्षमा ३० करोडको पानी विदेश निर्यात भएको छ। नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८\०७९ मा नेपालबाट ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो।
    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट पीडित व्यवसायीले चाडपर्वको मुखमा तरलताको अभाव झेल्नुपरेको बताए ।

    कोरोनाको समयमा व्यक्तिको घरघरमा पुगेर सेवा प्रदान गरेका पानी व्यवसायलाई राज्यले बेवास्ता गरेको उनको भनाई छ । खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महङ्गो भएको भन्दै त्यसलाई चाँडो घटाउन उनले माग गरे । सङ्घका अध्यक्ष ध्रुवबहादुर गौतमले खाद्य स्वच्छता ऐन व्यवसायीमैत्री नभएको भन्दै यसलाई तत्काल सच्याउन माग गर्नुभयो। अति आवश्यक वस्तुका रूपमा रहेको पानी व्यवसायीलाई ऐनले अपराधीको रूपमा हेरेको उहाँको भनाइ थियो। अध्यक्ष गौतमले ट्राफिक प्रहरीले पानी व्यवसायीलाई दुःख दिने गरेको गुनासो गरे ।


    नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अष्ट्रेलियालगायतका देशमा पानी बिक्रीवितरण हुँदै आएको सङ्घका सचिव एवं हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीले जानकारी दिए । उनका अनुसार हाल बोटलर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्राण्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’लगायतका पानी विदेशमा निर्यात हुँदै आएका छन्। विसं २०६५ मा स्थापित नेपाल बोटल वाटर उद्योग सङ्घमा काठमाडौंभित्रका १८२ र देशभरका ६०० भन्दा बढी पानी उत्पादन गर्ने कम्पनीहरु आबद्ध छन्।

  • बेलायती महारानीको अन्त्येष्टी आज, संसारभरका २ हजार पाहुना सहभागी हुने

    बेलायती महारानीको अन्त्येष्टी आज, संसारभरका २ हजार पाहुना सहभागी हुने

    लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ आज अन्त्येष्टि हुँदैछ । अन्त्येष्टि गर्ने यस दिन बेलायतमा सार्वजनिक बिदा समेत दिइएको छ । ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर आबीमा रानीको अन्त्येष्टि समारोह हुँदैछ । सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि यही गिर्जाघरमा भएको थियो । बेलायतकी महारानीको शव राखिएको शव पेटिका सोमबार बिहान स्थानीय समयअनुसार १०ः४४ बजे शाही नौसेनाको १२३ वर्ष पुरानो ‘गन क्यारेज’ मा राखेर वेस्टमिन्स्टर आबी गिर्जाघरमा लगिने बीबीसीले लेखेको छ ।

    बेलायतका नयाँ राजा चार्ल्स तृतीय शवपेटिका पछाडि आफ्ना भाइ बहिनीहरूसँगै हिँड्नेछन् भने स्वर्गीय महारानीका नाति, नातिनीहरूले उनीहरूलाई पछ्याउनेछन् । शवपेटिकाभन्दा अगाडि स्कटिस तथा आइरिस रेजिमेन्टहरू, ब्रिगेड अफ गोर्खाज् र रोयल एअर फोर्सका सैनिकहरू परम्परागत बाजा बजाउँदै हिँड्ने जनाइएको छ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुने बताइएको छ । ११ः५५ बजे लास्ट पोस्ट बजाएपछि ब्रिटेनभर दुई मिनेट मौनधारण गरिनेछ । रानीका पाइपरले राष्ट्रिय गीत बजाएपछि अन्त्येष्टि समारोह टुंगिनेछ ।

    महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बताइएको छ । उनका पति फिलिपसँगै उनलाई समाधिस्थ गरिनेछ । महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गत सेप्टेम्बर ८ मा स्कटल्यान्डस्थित बाल्मोरल दरबारमा निधन भएको थियो । अन्त्येष्टि समारोहमा विश्व नेताहरू, बेलायती राजनीतिज्ञ, च्यारिटी संस्थाका प्रतिनिधि आदि गरी करिब २ हजार सहभागी हुने अपेक्षा छ । स्वर्गीय महारानीको अत्येष्टि समारोहमा भाग लिन विश्व नेताहरू लन्डन आइपुगेका छन् । विश्व नेताहरू एकैपटक बेलायतमा भेला भएको यो दशकौं पछिको संयोग हो ।

    बेलायत सरकारले विश्वका राष्ट्रप्रमुख तथा वरिष्ठ सरकारी अधिकारी गरी झन्डै ५ सय जना पाहुनालाई आमन्त्रण गरेको छ । महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन शनिबार राति लन्डन आइपुगेका छन् । त्यसैगरी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजी, न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा आर्डन, भारतकी राष्ट्रपति द्रोपदी मुर्मु, चीनका उपराष्ट्रपति वाङ चिसान, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना लन्डन आइसकेका छन् ।

    जापानका नरेश, स्पेनका राजारानी, बेल्जियमका राजारानी, स्पेनका पूर्वराजा, नेदरल्यान्ड्सका राजारानी, डेनमार्ककी रानी र राजपरिवार, स्विडेनका राजारानी, नर्वेका राजारानी, भुटानका राजा, ब्रुनाईका सुल्तान, जोर्डनका राजा, कुवेतका युवराज, लेसोथोका राजा, मलेसियाका सुल्तान, कतारका अमिर, ओमानका सुल्तान आदि आमन्त्रित पाहुना हुन् ।

    अन्त्येष्टि समारोहमा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र राजदूत ज्ञानचन्द्र आचार्यले भाग लिनेछन् । मन्त्री खड्काले आइतबार ल्यानक्यास्टर हाउस पुगेर शोक पुस्तिकामा हस्ताक्षरसमेत गरेको दूतावासले जनाएको छ । विभिन्न देशबाट आएका राष्ट्रमण्डल र अन्य देशका पाहुनालाई बेलायतका राजा चार्ल्सले आइतबार ‘रिसेप्सन’ दिएका थिए । रुस, म्यान्मार, बेलारुस, सिरिया, भेनेजुएला र अफगानिस्तानका नेतालाई भने अन्त्येष्टिमा निमन्त्रणा नगरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । रानीको अन्त्येष्टि कार्यक्रम विभिन्न पार्क, सिनेमा हल र चोकमा राखिएका ठूला स्क्रिनबाट समेत सर्वसाधारणले अवलोकन गर्न सक्नेछन् ।

    ब्रिटिस इतिहासमै सबैभन्दा बढी करिब ४ बिलियन दर्शकले टेलिभिजनबाट अन्त्येष्टि समारोह हेर्ने अनुमान छ । बीबीसी, स्काई र आईटीभीले अन्त्येष्टि समारोह प्रत्यक्ष प्रसारण गर्ने भएका छन् । कामदारहरूलाई रानीप्रति श्रद्धाञ्जलीको अवसर दिन खाद्यान्न तथा अन्य ठूला डिपार्टमेन्टल स्टोर, सुपरमार्केट, सिनेमाघर र स्कुल बन्द गरिएको छ ।

    करिब २० लाख मानिस प्रत्यक्ष रूपमा लन्डन पुग्ने अनुमान गरिएको छ । ट्रान्सपोर्ट फर लन्डनले थप १० लाख मानिसलाई सेवा दिन आफू तयार रहेको जनाएको छ । करिब अढाई सय अतिरिक्त रेलले सेवा दिनेछन् भने इंग्ल्यान्डमा राजमार्ग मर्मतका लागि बाटो बन्द गर्ने योजना स्थगित गरिएको नेसनल हाइवेजले जनाएको छ । मेट्रोपोलिटन प्रहरीले इतिहासकै सबैभन्दा ठूलो इभेन्ट बताउँदै १० हजार हाराहारी प्रहरी अधिकृत परिचालन हुने जनाएको छ ।

  • ठूला दलले समानूपातिकको सूची आज बुझाउने

    ठूला दलले समानूपातिकको सूची आज बुझाउने

    काठमाडौं । निर्वाचन आयोगले दिएको समय सीमा भित्र ठूला राजनीतिक दलहरुले आज समानुपातिक तर्फको बन्द सूची आयोगमा बुझाउने भएका छन् । यसअघि आइतबार दिनभर जसो पार्टीहरुका आन्तरिक बैठक चलेका थिए । ती बैठकले नेताहरुको नाम काटछाँछ गर्दै अन्तिम रुप दिएका थिए । सोही अनुसार आज नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादीसहितका दलले आज बन्दसूची बुझाउने कार्यक्रम छ ।

    आयोगले आइतबार र सोमबारका लागि बन्दसूची बुझाउन समय दिएको छ। आइतबार प्रतिनिधि सभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची बुझाएका थिए। बाँकी दलहरूले आज बन्दसूची बुझाउनेछन्।

    नेकपा एमालेले आइतबार सचिवालय बैठक गरी प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना समानुपातिक उम्मेदवार छनौट गरी बन्दसूची तयार गरेको थियो। माओवादीले महासचिव देव गुरूङको नेतृत्वमा कार्यदल गठन गरी समानुपातिक उम्मेदवार तयार गर्दैछ भने कांग्रेसले पनि समानुपातिक उम्मेदवार तयार गर्दैछ। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ

  • जनभावना अनुसार काम गर्न सरकार कट्टीवद्ध छ : प्रधानमन्त्री

    जनभावना अनुसार काम गर्न सरकार कट्टीवद्ध छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

    आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट असोज ३ गते, २०७२ मा घोषणा भएको नेपालको संविधान हाम्रो सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् ।

    यस उपलब्धि हासिल गर्नका लागि भएका सङ्घर्षहरूमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानीक क्षति व्यहोर्नुभएका महानुभावलाई उच्च सम्मानपूर्वक स्मरण गर्दै उनले प्राकृतिक विपत् र कोभिड–१९ को महामारीबाट अल्पायुमै ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइलगायत सबैमा श्रद्धासुमन अर्पण गरेका छन् ।

    कांग्रेस नेतृत्वको सरकार मुलुकमा सङ्घीय लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उनले बताएका छन् । ‘सरकारले यसै वर्ष स्थानीय तहको आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ भने आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुनेछ’, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदा झैँ सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएका छन् । उनले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

  • संविधानले नेपालीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति

    संविधानले नेपालीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति

    काठमाडा\रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गरेकी छन् ।

    ‘नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ’ सन्देशमा भनिएको छ, ‘वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।’

    उनले संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिँदै नवस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेको उल्लेख गरेकी छन् ।

    ‘देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट अनुप्राणित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु’ राष्ट्रपति भण्डारीले भनिन्, ‘संविधान जारी भएपश्चात् प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो निर्वाचन आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको छ । आम निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्नमा सबै मतदाताहरूमा हार्दिक अपिल गर्दछु ।’

    उनले शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारमाध्यमका साथै सम्पूर्ण जनसमुदायमा आह्वान पनि गरेकी छन्।

  • राष्ट्रपतिबाट ९९८ जनालाई विभुषण घोषणा

    राष्ट्रपतिबाट ९९८ जनालाई विभुषण घोषणा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो ।

    यो पटक नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ । राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ । विभुषण आज घोषणा गरिए पनि विशेष कार्यक्रम आयोजना गरी प्रदान गर्ने प्रचलन रहेको छ ।

  • राष्ट्रपतिबाट ७०२ जना कैदी बन्दीको कैद माफ

    राष्ट्रपतिबाट ७०२ जना कैदी बन्दीको कैद माफ

    काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ७०२ जनाको कैद माफी भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभिन्न मितिमा अदालतबाट भएका फैसला बमोजिम ७०२ जनाको कैद सजाय माफी मिनाहा गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको सूचीमा रहेका महेन्द्रप्रसाद कानुसहित २१ जनालाई कैद सजाय माफी गरेकी छिन् ।

    त्यसैगरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशका आधारमा असल चालचलन भएका पासाङ शेर्पासहित २०३ र इन्द्रकुमार लिम्बूसमेतका ४७८ गरेर जम्मा ६८१ जनाको कैद माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालमा सोमबार संविधान दिवस मनाईदै छ ।

  • बेलायती महारानीलाई श्रद्धाञ्जली दिन लण्डन पुगे परराष्ट्र मन्त्री खड्का

    बेलायती महारानीलाई श्रद्धाञ्जली दिन लण्डन पुगे परराष्ट्र मन्त्री खड्का

    काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का लण्डन पुगेका छन् । उनले बेलायत पुगेर महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्‍जली अर्पण गरेका छन्। आइतबार बेलायतको वेष्टमिनिस्टर हलमा पुगेर उनले महारानी एलिबेथप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले साँझ नेपाल सरकारको प्रतिनिधित्व गर्दै लानक्यास्टर हाउसमा रहेको समवेदना किताबमा हस्ताक्षर समेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्री खड्का शनिबार बेलायत पुगेका हुन् । महारानीको सोमबार अन्तिम संस्कार हुँदैछ । अन्तिम संस्कारमा संसारभरबाट ५ सय भन्दा बढी सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्च अधिकारी सहभागी हुँदैछन् । उनको अन्तेष्टीमा भाग लिन भारतले राष्ट्रपतिलाई लण्डन पठाएको छ ।

  • संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा टोली अमेरिका जाने

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा टोली अमेरिका जाने

    काठमाडौं । परराष्ट्र सचिव भरत पौडेल आज अमेरिका जाँदैछन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन् । उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्यूयोर्क बसाईमा उनले उच्चस्तरीय भेटवार्ता समेत गर्ने छन् ।

  • टुकुचा खोलामाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश

    टुकुचा खोलामाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले टुकुचाको भूमिगत खोलामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

    प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले दिएको रिटको सुनुवाइ गर्दै आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले उक्त आदेश दिएको हो ।

    अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो।

    ‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्‍याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू-नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ।

    यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ।
    काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । उसले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो ।

  • घुस रकमसहित पक्राउ परेका उपसचिवविरुद्ध विशेष अदालतमा आरोपत्र दायर

    घुस रकमसहित पक्राउ परेका उपसचिवविरुद्ध विशेष अदालतमा आरोपत्र दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले घुस रकमसहति रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, नागरिक उड्‌डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    प्याराग्लाईडिङ्ग सञ्चालन अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

    उनी चढ्ने गाडी खान तलासी गर्दा थप १६ लाख ५० हजार पनि बराम बरामद गरिएको थियो । अनुसन्धानको सिलसिलामा उप-सचिव नेपालले सेवाग्राहीसँग प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र (लाईसेन्स) दिने क्रममा घुसररिसवत लिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

    सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज प्रमोद नेपाललाई बिगो ६ लाख रुपैयाँ कायम गरी ऐन अनुसार जरिवानाको सजाय र सोही ऐन अनुसार कैद सजाय मागदावी गरिएको छ ।

  • नेप्सेमा लगातार दोहोरो अंकको पहिरो यथावत, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    नेप्सेमा लगातार दोहोरो अंकको पहिरो यथावत, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि त्यसको प्रभाव पूँजी बजारमा परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि बढ्न थालेकोले शेयर बजार राताम्य भएको छ ।

    साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक (नेप्से) ३३.९७ अंकले घटेर १८७६.४१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२९ कम्पनीको १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । शुक्रवार दुईघण्टाको कारोकारमा ९० करोड ८१ लाख ८६ हजार ४८७ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् । व्यापार समूह सबैभन्दा धेरै ३.२४ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूह पनि ३ प्रतिशतले घटेको छ ।

    आज कारोबार भएका कम्पनीमध्य एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ग्लोबल आइएमई समुन्नत स्किम १ को शेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार बलेफी हाइड्रोपावर लिमिटेडका सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । आज बलेफी हाइड्रोपावरका शेयर धनीले सबैभन्दा धेरै ७.८५ प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, राप्ती हाइड्रो ७.३०, दोर्दी खोला ७.२३, माउन्टेन, युनाइटेड मोदी, दिव्यश्वरी, लिबर्टी इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • निजगढमा अन्तराष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, प्रधानमन्त्रीलाई बुझाइयो प्रतिवेदन

    निजगढमा अन्तराष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, प्रधानमन्त्रीलाई बुझाइयो प्रतिवेदन

    काठमाडौं । अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।

    आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक बीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

    सर्वोच्च अदालतको परमादेश अनुसार पूर्ण क्षमताको अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्‌को गत साउन २६ गतेको निर्णयानुसार गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन तयार गरेको हो ।

    नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेको छ ।

    प्रतिवेदन अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र पूर्व(पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको छ । रुख कटानी तथा वातावरणीय क्षती न्यूनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखी एयरपोर्ट सिटीको अवधारणालाई पुरै त्याग्नुपर्ने सुझाव विज्ञ समुहले दिएको छ ।

    करिब ९ हजार हेक्टरको विमानस्थल संरक्षण क्षेत्र घोषणा गरी विभिन्न चरणमा विमानस्थल निर्माण गर्ने गरी जम्मा करिब ४ हजार हेक्टर क्षेत्रफलमात्र विमानस्थल निर्माणको लागि उपयोग गर्ने र बाँकी क्षेत्रमा भएका रुखको संरक्षण लगायत नदी कटान रोकथाम तथा अन्य आवश्यक संरक्षण कार्य विमानस्थल व्यवस्थापनले गर्नुपर्ने र पहिलो चरणमा करिव पन्ध्र सय हेक्टर क्षेत्रफलमा मात्र रुख कटानी गर्ने र बाँकी क्षेत्रमा दोश्रो चरण सुरु नभएसम्म रुख कटान नगर्न भनिएको छ ।

    वातावरणमा प्रतिकुल असर नपर्ने गरी वातावरणीय व्यवस्थापन योजना तयार गर्ने गरी सोको कानुनी विधि र प्रक्रिया पुरा गरी आवश्यक स्विकृती प्राप्त गरी विमानस्थल निर्माण कार्य गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    वातावरण र विकासलाई सरकारले समुचित सन्तुलन तथा व्यवस्थापन गर्दै जान सक्ने अन्तराष्ट्रिय कानुन एवं सर्वोच्च अदालतवाट प्रतिपादित नजिर सिद्धान्त समेत रहेकोले देश विकास सम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था गर्न नेपालको संविधानले सरकारलाई संवैधानिक दायित्व दिएको प्रतिवेदनमा स्मरण गरिएको छ ।

    पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माणकालागि आवश्यक जग्गा प्राप्त गरी प्रभावित सरोकारवालाहरुलाई कानून बमोजिमको मुआव्जा, क्षतिपुर्ति तथा पुनर्वासको व्यवस्था गरी निर्माण कार्य गर्नु विज्ञ समुहको प्रतिवेदनमा उल्लेख छ ।

    पर्सा राष्ट्रिय निकुन्जको विस्तारित क्षेत्रभित्र हात्तीको प्रमुख जैविक मार्ग रहेको तर केहि हात्तीहरु निर्माणस्थलको नजिकै विचरण गर्न आउने क्षेत्र निर्माणस्थलभन्दा वाहिर रहेकोले सो क्षेत्र समेत सरकारले संरक्षण गर्न सक्ने साथै चराचुरुङ्गीहरुको हकमा लामो दूरीका अन्तराष्ट्रिय बसाई(सराई गर्ने तथा हवाई दुर्घटनाका कारक हुन सक्ने ठुला प्रजातिका चराहरु (हाँस, चिल, गिद्ध)को मार्ग निर्माणस्थल नजिक नदेखिएको साथै नेपालका संकटापन्न गिद्धहरुको उपस्थिति पनि सो क्षेत्रमा न्यून रहेको प्रतिवेदनमा उल्लेख छ ।

    पूर्ण क्षमताको अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा संचालन भएपछि नेपालको हवाई आकाशमाथिबाट उडने गरी प्रस्तावित हिमालय २ रुट (काठमाडौं( गुवाहाटी ( कुनमिङ्ग) र एल ६२६ (काठमाडौं( महेन्द्रनगर दिल्ली) लाई दुई तर्फी गर्न सकिने र यसबाट युरोप, मध्यपूर्व, पूर्वी एसिया प्रशान्त क्षेत्रका मुलुकहरुसम्म आउने जाने दुई तर्फी अन्तराष्ट्रिय हवाई उडानहरुको दूरी, समय र ईन्धन खपत उल्लेखनीय रुपमा घट्न जाने र ईन्धनको बचतबाट कार्बन उर्सजन कम हुन जाने प्रतिवेदनमा जनाइएको छ ।

    पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माण जति ढिला भयो, उति महँगो र जटिल हुँदै जाने र नेपालको विकासको प्रतिफल ढिलो हुँदै जाने हुँदा विशेष अधिकार सम्पन्न विकास संस्था गठन गरी यसलाई समयबद्ध तबरले छिटो निर्माण गर्नुपर्ने सुझाव समेत विज्ञ समूहले दिएको छ ।

    प्रधानमन्त्री देउवाले विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । निर्धारित समयमै विज्ञ समूहले अध्ययन गरी प्रतिवेदन बुझाएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिए। मन्त्री श्रेष्ठले विज्ञ समूहले दिएको प्रतिवेदन अनुसार काम अघि बढाउने बताए । पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य छिट्टै सुरु गरिने उनको भनाइ छ ।

    हवाई पूर्वाधार विज्ञ बीरेन्द्र बहादुर देउजाको संयोजकत्वमा रहेको विज्ञ समुहमा अर्थशास्त्री रामेश्वर खनाल, विकास योजना विज्ञ डा. सूर्यराज आचार्य, शहरी विकास विज्ञ प्राडा संगीता सिंह, वन्यजन्तु तथा वातावरण विज्ञ प्राडा प्रेम बहादुर बुढा, वनस्पती तथा वातावरण विज्ञ प्राडा सुरेश कुमार घिमिरे, समाजशास्त्री डा लछी सिंह, वरिष्ठ पाइलट कृष्णविक्रम पौडेल, वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र हवाईरुट विज्ञ महेशकुमार बस्नेत सदस्य थिए ।

  • विश्व बैंकले नेपाललाई दुई आयोजनाका लागि ५२ अर्ब सहुलियतपूर्ण ऋण दिने

    विश्व बैंकले नेपाललाई दुई आयोजनाका लागि ५२ अर्ब सहुलियतपूर्ण ऋण दिने

    काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच आइतबार ५२ अर्ब ९६ करोड सहुलीयतपूर्ण ऋण प्राप्ति सम्बन्धी सम्झौता भएको छ ।

    नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (रु. ३४ अर्ब ९६ करोड नेपाली रूपैंया) र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १४ करोड डलर (रु. १८ अर्ब नेपाली रूपैंया) को सहुलियतपूर्ण वित्तिय सम्झौतामा हस्ताक्षर भएको छ ।

    अर्थमन्त्री जनार्दन शर्मा तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरको समुस्पथितिमा यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्ण हरी पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका थिए ।

    क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि आयोजना (ACCESS) अन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई जलवायु अनुकुलित चार लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ ।

    समावेशी रूपमा आर्थिक–सामाजिक विकासलाई सघाउन सुदृढ आबद्धता तथा व्यापार, सेवाग्राही र व्यवसायबीच सूचना प्रविधि मार्फत राम्रो सम्पर्क तथा क्षेत्रीय बजारहरूमा पहुँच आदिका माध्यमबाट नेपालको आर्थिक सम्भावनाहरू उजागर गर्न नेपाललाई यी आयोजनाहरूले सहयोग गर्ने अर्थ सचिव पुष्करले बताए ।

    राम्रो सडक सुरक्षा सुनिश्चित गर्नमा ध्यान केन्द्रित गर्दै, यस आयोजनाले भारतको पश्चिमी बन्दरगाहहरूसम्म राम्रो पहुँच प्रदान गर्दै यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ। विशेष गरी महिला उद्यमी र व्यापारीहरूलाई आर्थिक अवसरहरू बृद्धि गर्नमा ध्यान दिँदै यस आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितको कम्तीमा तीनवटा बजार क्षेत्रहरू निर्माण गर्नेछ।

    डिजिटल नेपाल गतिवृद्धि (DNA) आयोजनाले वि. सं.२०७६ मा नेपाल सरकारले घोषणा गरेको देशको डिजिटल अर्थतन्त्र रणनीति अन्तर्गत रहेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गर्न सघाउनेछ।

    हाल उच्च गुणस्तर र किफायती इन्टरनेटको सेवाबाट बञ्चित ग्रामीण क्षेत्रमा यस आयोजनाले ब्रोडब्यान्ड ईन्टर्नेट सेवाहरूको पहुँच बढाउन निजी क्षेत्रको पूँजी परिचालन गर्नेछ, जसले त्यहाँका बासिन्दा तथा व्यवसायहरूलाई फाइदा पुर्‍याउनेछ। यसले नेपालको सार्वजनिक डाटा पूर्वाधार र साइबरसुरक्षा क्षमतामा सुधार मार्फत सरकारी सेवाहरूलाई सुरक्षित तवरले डिजिटल प्रविधि मार्फत वितरण गर्न सघाउनेछ जसको फलस्वरूप महिला, आदिवासी तथा सामाजिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिहरू सम्म डिजिटल सेवाको पहुँच बृद्धि हुनेछ।

  • अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २१ पुग्यो

    अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २१ पुग्यो

    काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण शनिवार राति अछामका चार स्थानमा घर भत्किएर २१ जनाको मृत्यु भएको छ । भने दुई जना पहिरोमा बेपत्ता भएका छन् । वेपत्ताको खोजी तथा राहत वितरण र थप पीडित स्थानीयको उद्धारको काम सुरु गरेको जनाएको छ ।

    अछाममा पहिरोले घर पुरिएर तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ, कमलबजार नगरपालिका–६ वीर पथमा सात कमलबजार नगरपालिका–८ डाँकुको डुँगालामा पाँच र ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा एक जना गरेर १७ जनाको मृत्यु भएको हो । तुर्माखाँद गाउँपालिका–५ नाडामा घर पुरिएपछि पहिरोमा परेर हराएका ४५ वर्षीय नेत्र शाही, उहाँकी ३५ वर्षीया मनीषा शाही, १७ वर्षीया छोरी विमला शाही, १६ वर्षीया भतिजी जानकी शाही, १७ वर्षीया कल्पना शाही, एक वर्षीया करिष्मा शाही, २० वर्षीया भावना शाही र ३ वर्षीया मेलिना शाहीको शव भेटिएको छ ।

    पहिरोमा हराएका १३ वर्षीया सुन्दर शाही हालसम्म पनि बेपत्ता छन् । राती करिब तीन बजेतिर घर माथिबाट पहिरोले नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर भत्किएपछि धेरै माटो भएकोले शव निकाल्न कठिनाइ भएको स्थानीयले बताएका छन् । यस्तै कमलबजार नगरपालिका–६ वीर पथमा इन्द्र परियारको घर पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको छ । घर पुरिँदा सात जना घाइते भएका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी गराएका छन् ।

    मृत्यु हुनेमा ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामी रहेका छन् । सोही घटनाका घाइते भक्त कामी, इन्द्र कामी, डिक्रा कामी, कल्पना कामी, ममता कामी, सफलता कामी, सुशील कामीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

    कमलबजार नगरपालिका–८ डाँकुको डुँगालामा थिरे दमाईको घर भत्केर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै घरका पाँच जना रहेका छन् । मृत्यु हुनेमा २६ वर्षीय गंगे दमाई, २३ वर्षीया भना दमाई, सात वर्षीया डिक्रा दमाई, चार वर्षीया कल्पना दमाई र तीन वर्षीया सृष्टी दमाई रहेका छन् ।

    यस्तै ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा पहिरोले घर पुरिएर दुई वर्षीया नवीन बुढाको मृत्यु भएको छ । सो घटनामा ६५ वर्षीय हर्क बुढा, २५ वर्षीया चन्द्रादेवी बुढा, १२ वर्षीया धर्म बुढा जना गम्भीर घाइते भएपछि उद्धार गरेर हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याइएको छ ।

    सोही गाउँपालिका–१ ढकारीमा खोलाले बगाउँदा मोती बुढा बेपत्ता भएको अछाम प्रहरी प्रमुख नारायण डाँगीले जानकारी दिएका छन् । तुर्माखाँदको पहिरोमा परेर बेपत्ता भएका व्यक्तिहरुको मङ्गलसेनबाट हेलिकप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई लिएर पुरिएका शवको उत्खनन गर्ने काम भइरहेको प्रशासकीय अधिकृत मीनराज आचार्यले जानकारी गराएका छन् ।

  • ताइवानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    ताइवानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    ताइपेई । दक्षिणपूर्वी ताइवानमा शनिबार साँझ शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो। युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङबाट ९१ किलोमिटर पूर्वमा छ। ताइवान मौसम विभागका अनुसार भूकम्पको केन्द्रविन्दु सतहबाट ७.३ किलोमिटर गहिराइमा थियो। ताइवानभर भूकम्पको धक्का महसुस गरिएको थियो।

    राजधानी ताइपेईमा केही समय भवनहरू हल्लिएका थिए। विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको क्षेत्रमा थोरै जनसङ्ख्या रहेको क्षेत्र हो। रोयटर्सका अनुसार भूकम्प गए पनि ताइवानको पूर्वी तटमा बिजुली आपूर्तिमा कुनै अवरोध भएको छैन। यस्तै दक्षिणी सहर ताइनान र काओसिङमा रहेको विज्ञान पार्क, प्रमुख अर्धचालक कारखानाको घर लगयातमा कुनै प्रभाव परेको छैन।

    भूकम्पको रेक्टर स्केल ७ भन्दा माथि नभएसम्म ताइवानले सुनामीको चेतावनी दिने गरेको छैन। दुई टेक्टोनिक प्लेटको संगम नजिकै रहेको ताइवान भूकम्पको उच्च जोखिममा रहेको मुलुक हो। सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीले ज्यान गुमाएका थिए।

  • समानुपातिको सूची तयार पार्न एमाले र कांग्रेस पार्टी कमिटीका बैठक बस्दै

    समानुपातिको सूची तयार पार्न एमाले र कांग्रेस पार्टी कमिटीका बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो । शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि पुनः आज बैठक बस्न लागेको हो । आजको बैठकले उम्मेदवारको सूची तयार गर्ने नेताहरूले बताएका छन् । शनिबारको बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो । आजको बैठक ११ बजेपछि बोलाइएको छ ।


    उता, समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । पदाधिकारीमा नेता रामचन्द्र पौडेललाई पनि थपिएको संसदीय समितिको बैठक हिजो पनि बसेको थियो । कांग्रेसले क्लस्टर अनुसारको सूची बनाउन आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी टुंगो लगाइने छ । निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने समय आज र भोलिको लागि निर्धारण गरेको छ ।

  • चोलेन्द्रलाई महाअभियोग लगाउनेबारे ५ सांसदले राखे फरक मत

    चोलेन्द्रलाई महाअभियोग लगाउनेबारे ५ सांसदले राखे फरक मत

    काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का गरी ५ सदस्य निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन गरिएको सिफारिसमा फरक मत राखेका छन् । जबराबारे छानबिन नै नसकिएकाले निर्णयमा पुग्ने आधार नभएको भन्दै ५ सांसदले लिखित रुपमै ८ बुँदे फरकमत राखेका हुन् । महाअभियोग लाग्नुपर्छ वा पर्दैन भन्नका निम्ति तथ्य यकिन हुनुपर्ने एमालेको तर्क छ ।

    फरक मतमा उनीहरुले ६ महिनासम्म महाअभियोगलाई संसदमा किन अल्झाइयो, महाअभियोग सिफारिस समितिले पाउनुपर्ने न्यूनमत ३ महिना किन दिइएन र, छोटो अवधिमा नै काम सकेर प्रतिवेदन दिइयो भने संसदमा प्रस्तुत भएर निर्णयमा पुग्छ भन्ने आधार के भन्ने प्रश्न उठाएका छन् । सिफारिस समितिले माग गरेका अधिकांश कागजात पनि अझैसम्म प्राप्त नभएको फरक मतमा उल्लेख छ ।


    सत्ता गठबन्धन र सभामुखले काम गर्न समय अभाव हुने गरी महाअभियोग सिफारिस समिति समक्ष पठाएको भन्दै उनीहरुले फरक मतमा भनेका छन्, ‘समितिले आफूलाई प्राप्त जिम्मेवारीका सम्बन्धमा निरन्तर कार्य गर्दा समेत विद्यमान प्रतिनिधिसभाको कार्यकाल (१ असोज २०७९) भित्र प्रस्तुत महाअभियोगको सम्बन्धमा निर्णयमा पुग्न, सिफारिस समिति प्रतिवेदन तयार गर्न र प्रस्तुत गर्न सकिने अवस्था रहेन ।’

    समितिले हालसम्म गरेको कामको विवरण, जबराको बयान लगायतका सम्पूर्ण सामग्री संघीय संसद सचिवालयमा बुझाउने भन्दै एमाले र लोसपाका ५ सांसदले फरक मतमा लेखेका छन्, ‘बहुमत नामको कथित प्रतिवेदन वस्तुतः प्रतिवेदन नै होइन । आंशिक रुपमा संकलित कागज पुलिन्दालाई प्रतिवेदन मान्न सकिँदैन । यसमा प्रतिवेदनको कुनै पनि अंग पुगेको छैन ।’

  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस

    काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ । ११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका छन् । समितिमा प्राप्त प्रमाण र जबराको वयानका आधारमा महाअभियोग सिफारिस गरिएको समितिले जनाएको छ । प्रतिवेदनमा जबराको निलम्बनको निरन्तरताको विषय समावेश छ । ‘मुद्दा चलेपछि त्यो किनारा नलागेसम्म यथावत रहने गरी सिफारिस गरिएको छ । सिफारिस समितिले जबरालाई महाअभियोग लगाउनुपर्ने ९ वटा आधार दिएको छ ।

    समितिले वादी नेपाल सरकार र प्रतिवादी रञ्जनकृष्ण कोइराला भएको कर्तव्य ज्यान मुद्दामा सजाय घटाइ कानुनको गम्भीर उल्लंघन गरेको, संवैधानिक नियुक्तिसम्बन्धी मुद्दालाई सुनुवाइ प्रक्रियामा नलगी न्यायाधीशले पालना गर्नुपर्ने आचारसंहिताको गम्भीर उल्लंघन गरेको, संसद विघटनसम्बन्धी मुद्दामा संलग्न पाँचै जना न्यायाधीशलाई महाअभियोग लगाइदिनु भनी निजले समितिमा वयानका क्रममा भनेको देखिँदा न्यायपालिकाको स्वतन्त्रतापूर्वक गर्नुपर्ने काम नगरी कार्यकारिणीका मानसिसँग सल्लाह गर्ने गरेको पुष्टि भई निष्पक्ष रुपमा कार्यसम्पादन गर्ने कार्यक्षमताको अभाव रहेको देखिएको उल्लेख छ ।

    यसैगरी सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम सर्वोच्च अदालत भवन निर्माण सम्बन्धी ठेक्कामा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान नगरी कानुनको गम्भीर उल्लंघन गरेको समेत अभियोगमा उल्लेख छ ।

    संवैधानिक नियुक्तिसम्बन्धी बैठकमा निष्पक्ष भूमिका खेल्न नसकेको, कानुन व्यवसायी, पक्षलगायत न्यायका उपभोक्ताले अदालतप्रति विश्वासै हुन नसक्ने वातावरण बनार्य न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न चिह्न खडा भएको र कृष्णमानविरुद्ध हंसमान सिंहको मुद्दा, प्रेरणा शाहको मुद्दा, वीरगञ्जको सार्वजनिक पोखरीसम्बन्धी मुद्दा, क्यासिनोको सञ्चालन तथा राजस्वसम्बन्धी मुद्दा, एनसेलको कर छलीको मुद्दालगायतमा कानुनको व्याख्यामा गम्भीर त्रुटी गरेको देखिएको उल्लेख छ ।

    निज प्रधनन्यायाधीश नियुक्ति हुनुपूर्व भएको संसदीय सुनुवाईमा गरेका प्रतिवद्धता पूरा गर्न नसकी पदीय जिम्मेवारी र कर्तव्य पूरा गर्न नसकेको र न्याय प्रशासनको अन्तिम जिम्मेवारी लिने संवैधानिक व्यवस्था बमोजिम कर्तव्य पूरा गर्न नसकेको समेत अभियोग छ ।

  • समानुपातिकको बन्द सूची बुझाउने समय आज र भोली

    समानुपातिकको बन्द सूची बुझाउने समय आज र भोली

    काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएराती सकिएको छ । यससँगै नेपालमा नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजबाट राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् ।

    दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ । त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ । बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ गतेदेखि सुरु हुने छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

  • ६३ जनामा कोरोना पुष्टी

    ६३ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६३ जनामा झरेको छ । एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ भने कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार ९६६ रहेको छ ।