Category: फिचर

  • ब्याजदर बढ्ने हल्लाले नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    ब्याजदर बढ्ने हल्लाले नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने संकेत पाएपछि पूँजी बजारमा ठूलो प्रभाव परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि खुला हुने भएपछि सेयर बजार राताम्य भएको छ ।

    विहीवार शेयर बजार मापक सूचक (नेप्से) ५७ अंकले घटेर १९२४.४८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २३२ कम्पनीको २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको ६९ लाख ४० हजार ५९६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । बुधवार २२७ कम्पनीको १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ४.५६ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूह पनि साढे ४ प्रतिशतले घटेको छ ।

    नेप्सेका अनुसार एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यसैगरी, समृद्धि फाइनान्स ७.३५, श्वेतगंगा हाइड्रोपावर ७.०४, अपरसोलु हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमालयन हाइड्रो, न्यादी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, रिलायन्स फाइनान्स, युनिभर्सल पावर, श्री इन्भेष्टमेन्टको शेयर मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ ।

    यसको आज २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ । यसैगरी, रिडी पावर साढे ११ करोड र अपी पावर ७ करोड बढीको कारोबार भएको छ ।

  • नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

    नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनी काठमाडौंबाट दषिण कोरिया प्रस्थान गरेका छन् । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गरे । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित भए ।

    उनी सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिए । चार दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय विभिन्न भेटवार्ता गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे ।

    सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरे ।

  • काभ्रेमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

    काभ्रेमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

    काभ्रे । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बिहीबार बिहान करिब दुई बजे आएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उनका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्सिया छोरी सावित्री तामाङको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार ठुलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पताल बनेपा र निर बहादुर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो । पहिरोले ठुलीमायाँको घरमा रहेका केहि बाख्रा समेत पुरिएको छ । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा निरबहादुर र सावित्रीको शव निकालिएको हो ।

  • १ असोजबाट काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुमपान निषेध

    १ असोजबाट काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुमपान निषेध

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।

    सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ। कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।

    ललितपुर महानगरपालिकाले यसअघिनै सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थको सेवनमा प्रतिवन्ध लगाइसकेको छ। सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

  • भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव पौड्यालबीच दिल्लीमा भेटवार्ता

    भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव पौड्यालबीच दिल्लीमा भेटवार्ता

    काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सचिव पौड्याल द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकका लागि मंगलबार दिल्ली पुगेका थिए । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सचिव पौड्यालले बुधबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। दुतावासका अनुसार भेटका क्रममा पौड्याल र विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्ध र सहकार्यको विषयमा कुरा भएको छ ।

    यसअघि मंगलबार पौडेल र क्वात्राबीच सचिवस्तरीय बैठक सम्पन्न भैसकेको छ। बैठकमा दुई देशबीच बाँकी रहेका सीमाका कामलाई द्विपक्षीय संयन्त्रमार्फत टुंग्याउने विषयमा छलफल भएको छ । अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र भारतको मोतीहारीदेखि चितवनसम्म एलपी ग्यासको पाइपलाइन तीव्र रुपमा विस्तार गर्ने सहमति भएको छ । बैठकमा सीमा, कनेक्टिभिटी, पूर्वाधार विकास, व्यापार, संस्कृति, विद्युत सहकार्य र नागरिकस्तरको सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

  • आजबाट नेपालमा दर्ता नभएका मोवाइल नचल्ने

    आजबाट नेपालमा दर्ता नभएका मोवाइल नचल्ने

    काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको ‍औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।

    प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन । प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वतः दर्ता हुनेछन् भने आजबाट भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ । मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ ।

    मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ । यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणको भनाइ छ ।जसले अपराध न्युनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

  • संविधानसँग राष्ट्रपतिको टकरावको संकेतः नागरिकता विधेयक के हुन्छ ?

    संविधानसँग राष्ट्रपतिको टकरावको संकेतः नागरिकता विधेयक के हुन्छ ?

    काठमाडौं । नेपालमा नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चाल्ने सम्भावित कदमका विषयमा चर्चा परिचर्चा सुरु भएको छ । विदेशमा बस्ने नेपाली मूलका नागरिकबीच पनि यो विधेयकका विषयमा महत्वपूर्ण हेराइ र चर्चा रहेको छ । गैरआवासीय नेपाली नागरिकताका विषयमा यो विधेयकले नै टुंगो लाग्ने भएका कारणले विदेशमा बस्ने नेपाली मूलका नागरिकलाई थप चासो र सरोकार रहनु स्वभाविक हो । नेपालमै रहेका अनागरिकका लागि त झन् यो महत्वपूर्ण हुने नै भयो ।
    नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता पहिलो संशोधन ऐन २०७९को विधेयक दोस्रो पटक राष्ट्रपति कार्यालय पुगेको १५ दिन पुग्नै लागेको छ । तर, राष्ट्रपतिबाट भएका विभिन्न प्रकारका परामर्सले विभिन्न प्रकारका आशंका व्यक्त भएका छन् । पहिलो पटक साउन १६ गते राष्ट्रपति कार्यालय पुगेको विधेयकमाथि विभिन्न प्रश्न उठाएर सन्देशसहित फेरि साउन २९ मा प्रतिनिधिसभामा पठाएइएको थियो । तर, प्रतिनिधिसभा र राष्ट्रियसभाले राष्ट्रपति भण्डारीको सन्देशमाथि कुनै पनि सुनुवाइ नगरेरै विधेयक जस्ताको तस्तै प्रक्रियागत हिसाबले फेरि राष्ट्रपति कार्यालय पठाइएको छ ।


    आउँदो हप्ता संवैधानिकरुपमा राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपर्ने विधेयकको भविष्य टुंगो लाग्ने देखिन्छ । तर, राष्ट्रपतिका पछिल्ला भेटघाट र नेताहरुसँगको सवालजवाफले उनले संविधानको पालना गर्छिन भन्नेमा शंकाहरु व्यक्त भएका छन् । राष्ट्रपतिले पाँचदलीय गठबन्धले आफ्नो अपमान गरेर विधेयक जस्ताको तस्तै पठाएको भन्दै विभिन्न भेटवार्तामार्फत उचित कदम चाल्ने बताउन थालेकी छन् । उनलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ दिने देखिएको छ ।


    के होला त राष्ट्रपतिको कदम ?
    नेपालको संविधानको धारा ११३ को उपधारा ५अनुसार कुनै पनि विधेयक कानूनकोरुपमा धारणा गर्नका लागि राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । तर, धारा ११३अनुसार संघीय संसदबाट पारित भएर आएको विधेयक प्रमाणीकरण गर्ने, सुझावसहित फिर्ता पठाउने, त्यसरी फिर्ता पठाएको विधेयक संशोधन वा जस्ताको तस्तै आएमा १५ दिनभित्र प्रमाणीकरण गर्ने व्यवस्था गरेको छ । यो धारालाई आधार मानेर हेर्दा अब नागरिकता विधेयक संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।


    संवैधानिक कानूनका जानाकार कानुन व्यवसायी शालिकराम सापकोटाले राष्ट्रपति संविधानको पालक पनि भएकाले धारा ११३अनुसार विधेयक प्रमाणीकरण गर्नुको अन्य विकल्प नभएको बताउँछन् । तर, राष्ट्रपति भण्डारीले आफ्नो सुझावलाई व्यवास्था गरिएकाले जुनसुकै कदम उठाउन सक्ने उनी निकट स्रोतले बताएको छ । उनले विधेयक प्रमाणीकरण गरेमा सहज ढंगले नेपालको राजनीतिक बाटो र चुनावी वातावरण सहज तरिकाले अगाडि बढ्ने छ । तर, उनले अन्य कदम चालेमा नयाँ विवाद सुरु हुनेछ । जसले फेरि एक पटक नेपालमा राजनीतिक दलहरुबीच चर्को विवाद र बहस हुनेछ ।


    राष्ट्रपति भण्डारीले तीनवटा विकल्पमा छलफल गरिरहेको स्रोतको भनाइ छ । पहिलो विकल्पकारुपमा उनले १५ दिनको समयसीमाभित्रै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नेछिन् । दोस्रो प्रमाणीकरण नगर्ने र तेस्रो विकल्पकारुपमा प्रमाणीकरण नगर्ने तथा राजीनामा दिने । पहिलो र तेस्रो विकल्पमा पुगेमा देशमा नयाँ प्रकारको द्वन्द्वको अवस्था आउँदैन् । तर, दोस्रो विकल्पले देशमा फेरि एक पटक अस्थिरता ल्याउने निश्चित छ । संवैधानिक कानूनका ज्ञाताहरुले राष्ट्रपतिलाई दोस्रो विकल्पमा जान संविधानले कुनै पनि छिद्रसमेत नदिएको बताउँछन् ।


    संविधान दिवसको दिन राष्ट्रपतिको कदम !
    नेपालमा संविधान दिवसको दिन आम नागरिकसम्म पुगेका यी प्रश्नको उत्तर आइसकेको हुनेछ । सरोकारवाला गैरआवासीय नेपालीसहित अनागरिकको पीडा भोगिरहेका व्यक्तिका लागि अबको हप्ता राष्ट्रपतिबाट आउने कदमले अर्थपूर्ण महत्व राख्नेछ । विधेयक प्रमाणीकरण भएमा नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजका आधारमा नागरिकता लिने बाटो खुल्नेछ । त्यस्तै गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नागरिकता प्राप्त हुनेछ भने नेपाली आमाबाट नेपालमै जन्म भइ नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिले पनि वंशजको आधारमा नागरिकता पाउने छन् ।


    प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको विधेयक प्रमाणीकरण भएमा नेपालमा फेला परेका तर, बाबुआमाको ठेगाना नभएका नाबालकले पनि वंशजको आधारमा नागरिकता प्राप्त गर्नेछन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले भने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको मात्र प्रयोग गर्नेछन् । उनीहरुले नेपालको राजनीतिक अधिकार प्राप्त गर्न नसक्ने व्यवस्था गरिएको छ । गैरआवासीय नेपाली नागरिकले यसलाई दोस्रो दर्ताको नेपालीको पहिचान भएको टिप्पणी गरेका छन् ।


    असोज ४ गतेभित्र राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने हुन्छ । अहिले राष्ट्रपति भण्डारीले विभिन्न राजनीतिक दलका प्रतिनिधि, संवैधानिक कानूनका विज्ञ, नागरिक समाजका अगुवा, पूर्व सुरक्षा अधिकारीलगायतसँग नागरिकता विधेयकका विषयमा निरन्तर छलफल गरिनै रहेकी छन् । उनले वैवाहिक अंगीकृत र आमाका नाममा नागरिकता लिँदा स्वघोषणा गर्नुपर्ने लगायतका विधेयकका प्रावधानमा पुनर्विचार हुनुपर्ने तर्क गरिरहेकी छन् ।

    संविधानविद् राधेश्याम अधिकारीले समयमा नै राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुने बताउँछन् । तर, एमालेका केही नेताहरुले राष्ट्रपतिलाई विशेषाधिकार भएको दावी गरिरहेका छन् । यो विधेयक एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको थियो । त्यसलाई फिर्ता लिएर सरकारले नयाँ विधेयककोरुपमा दर्ता गरेको थियो ।


    एक पटकको नेपाली सधैँको नेपाली नारा हरायो
    नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार विधेयकमा गैरआवासीय नेपाली नागरिकताको प्राप्तिका आधारहरु तोकिएका छन् । ‘विदेशी मुलुकको नागरिकता प्राप्तगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’ उल्लेख गरिएको छ ।

    गैरआवासीय नेपाली नागरिकता लिनका लागि विभिन्न कागजात संलग्न राखेर मन्त्रालय समक्ष निवेदन दिनुपर्ने प्रावधान पनि राखएको छ । विधेयकअनुसार निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, विदेशी मलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र पनि उपलब्ध गराउनु पर्नेछ ।


    त्यस्तै साविकमा नेपालको नागरिकता लिइ नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताका लागि निवेदन दिँदा पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत पेश गर्नुपर्नेछ । गैर आवासीय नेपाली नागरिकताका लागि निवेदन दिएपछि मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझी निजलाई तोकिए बमोजिम गैर आवासीय नेपाली नागरिकता दिनेछ । त्यसरी नागरिकता प्राप्त गर्ने व्यक्तिले तोकिए बमोजिम सपथ गराउनु पर्ने व्यवस्था पनि विधेयकमा रहेको छ ।

    गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले झुठ्टो विवरण लिइ त्यस्तो नागरिकता प्राप्त गरेमा वा निजले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैर आवासीय नेपाली नागरिकता रद्द गर्ने प्रावधान पनि विधेयकमा रहेको छ ।


    विधेयकअनुसार अब गैरआवासीय नेपाली संघ एनआरएनएले भनेजस्तै विदेशका नियोग तथा दूतावास अर्थात कन्सुलर सेवा लिईरहेका नेपालका कन्सुलर सेवा कार्यालय मार्फत गैर आवासीय नागरिकता प्राप्त गर्न अब नसकिने भएको छ । अर्को गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालको राहदानी प्राप्त गर्न सक्ने छैनन् । गैरआवासीय नागरिकता लिन नेपाल आउनु पर्ने भएको छ ।

    एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको नारा अब सकिएको छ । पुरानै नागरिकताको निरन्तरताका लागि लड्नुपर्ने गैरआवासीय नेपाली संघ एनआरएनएका तीन तीन जना अध्यक्षले आफ्नो पदका लागि मात्रै लडिरहेका छन् । गैरआवासीय नेपालीलाई सजिलो र सहज हुने व्यवस्थाका लागि पहल गर्न एनआरएनए नेतृत्व चुकेकोछ ।

  • विदेशी लगानी भित्राउन बोर्डको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

    विदेशी लगानी भित्राउन बोर्डको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानी आकर्षण र सहजीकरणका लागि लगानी बोर्डले परिपक्व भूमिका निर्वाह गरेको बताएका छन् ।
    बुधबार लगानी बोर्डले आयोजना गरेको दीगो पूर्वधार लगानी फोरमको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री देउवाले विदेशी लगानी आकर्षण गर्न बोर्डले सकारात्मक भूमिका खेलेको बताएका हुन् । प्रधानमन्त्री देउवाले शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताए ।

    यो उद्देश्य प्राप्तिका लागि विकास साझेदारहरूलाई सहयोग बढाउन प्रधानमन्त्री देउवाले आह्वान पनि गरे । कार्यक्रममा प्रधानमन्त्रीले बोर्डले सञ्चालनमा ल्याएको डिजिटल एकल बिन्दु सेवाको पनि उद्घाटन गरे । प्रधानमन्त्री देउवाले लगानी बोर्डको परियोजना बैंक निर्देशिका पनि सार्वजनिक गरेका छन् । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानी योग्य परियोजनाहरूको संग्रहको सूची निर्दशिकामा समेटिएका छन् ।

  • अस्पताल भर्ना भए अनसनरत डा. केसी

    अस्पताल भर्ना भए अनसनरत डा. केसी

    धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

    डा.केसीका सहयोगी डा. अमृत जैशीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । ब्लड प्रेसर निकै घटेको र ब्लडमा सुगरको मात्रा पनि कम देखिएको बताइएको छ । धनगढी पुगेर सोमबार साँझदेखि २० औं पटकको सत्याग्रह थालेका डा. केसीको स्वास्थ्यमा मंगलबार रातिदेखि समस्या देखिन थालेको थियो । स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २०औं सत्याग्रहमा बसेका डा. केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन ।

  • राप्रपामा जाने भए रवीन्द्र मिश्र

    राप्रपामा जाने भए रवीन्द्र मिश्र

    काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपामा जाने भएका छन् । उनलाइ राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता दिने भएको हो ।
    विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरुले मिश्रलाई लिङ्देनपछिको वरीयता दिंदै एकता टुंग्याउने सहमति नजिक पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    मिश्रको पद उपाध्यक्ष हुनेछ । उनले यसअघि सहअध्यक्ष पद माग्दै आएका थिए । असोज पहिलो साता प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्नुअघि एकता प्रक्रिया टुंग्याउने गरी उनले राप्रपामा छलफल अगाडी बढाएका छन् ।

  • नेपालमा थप ११९ जनामा कोरोना संक्रमण, १३० डिस्चार्ज

    नेपालमा थप ११९ जनामा कोरोना संक्रमण, १३० डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ४०८४ नमूना परीक्षण गर्दा ११९ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

    मन्त्रालयका अनुसार पीसीआरबाट ८९ र एन्टिजेन विधिबाट ३० जनामा संक्रमण देखिएको हो।

    बुधबार थप १३० जना कोरोनामु्क्त भएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

    हाल २१९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

  • सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर

    सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरको ‘अल्टिमेटम’ अटेर गरिएपछि अवैध संरचनामा डोजर चलाइएको हो ।

    महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरको अभियानअन्तर्गत काम भइरहेको बताए ।

    यही भदौ ६ गतेदेखि महानगरले अवैध संरचनामा डोजर चलाउने अभियान सञ्चालन गर्दै आएको छ ।

  • चोलेन्द्रले आरोप लगाएका नेताहरुलाई बयानका लागि नबोलाउने

    चोलेन्द्रले आरोप लगाएका नेताहरुलाई बयानका लागि नबोलाउने

    काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका बहालवाला न्यायाधीशलाई बयानका लागि बोलाउने निर्णय गरेको छ ।

    समितिको बुधबार बसेको बैठकले जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका न्यायाधीशलाई बोलाउने निर्णय गरेको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए ।

    समितिमा बयान दिने क्रममा राणाले सर्वोच्च अदालतका न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको नाम लिएर विभिन्न आरोप लगाएका छन् । बैठकले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ । आजको बैठकले सो निर्णय गरेको विश्वकर्माले बताए ।

    जबराले बयानमा एमाले अध्यक्ष केपी ओली, एमाले उपाध्यक्ष विष्णु पौडेल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतको नाम लिएका थिए ।

    गत १ फागुनमा कांग्रेस र माओवादी केन्द्रका सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

  • लगानी बोर्डको ‘वान स्टप सेवा’ सञ्चालनमा, अब यी सेवा अनलाइनबाटै पाउने

    लगानी बोर्डको ‘वान स्टप सेवा’ सञ्चालनमा, अब यी सेवा अनलाइनबाटै पाउने

    काठमाडौं । लगानी बोर्डको कार्यालयले वेबसाइटमा आधारित ‘वान स्टप सेवा’ सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्‍घाटन गरेपछि नयाँ सेवा सञ्चालनमा ल्याइएको हाे।

    लगानीकर्ताहरुको सहजताका लागि सेवा सञ्चालनमा ल्याइएको बताइएको छ । बोर्डले आयोजना गरेको दिगो लगानी पूर्वाधार सम्मेलनमा यो सेवा उद्घाटन गरिएको हो।

    अब, लगानीकर्ताले भिषा सहजीकरण, श्रम स्वीकृती, परियोजनाको लगानी गर्न आशय पत्र पेश गर्ने, वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन पारित, निजी जग्गा अधिकरणमा सहजीकरण, कम्पनी दर्ता, कर कार्यालय जस्ता सेवा अनलाइन माध्यमबाटै पाउने छन् ।

    यससँगै लगानीकर्ताहरुले अनलाइनबाटै आयोजनाका लागि आवेदन दिन सक्नेछ्न्। यसमार्फत आवश्यक कागजातहरु अपलोड गर्न सकिन्छ। परियोजनाको कागजी काम कहाँ पुगेको छ भनेर वेबसाइटबाटै हेर्न सकिनेछ।

  • उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम डेढ अर्ब नजिक

    उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम डेढ अर्ब नजिक

    काठमाडौं । साताको कारोबारको चौंथोदिन शेयर बजार उच्च अंकले बढेको छ ।

    बुधवार शेयर बजार मापक सूचक (नेप्से) ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँ बराबरको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । मंगलवार ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ५.९३ प्रतिशतले बढेको छ ।

    एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नेप्सेका अनुसार आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    त्यस्तै, गुराँस फाइनान्सको ४ करोड ५७ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्स ४ करोड ३४ लाखको कारोबार भएको छ ।

  • नेपालले पाकिस्तानलाई दियो राहत सामग्री

    नेपालले पाकिस्तानलाई दियो राहत सामग्री

    काठमाडौं । प्राकृतिक विपद्‍मा परेको पाकिस्तानलाई नेपाल सरकारले राहत हस्तान्तरण गरेको छ । नेपाल सरकारको टोली नेपाल वायुसेवा निगमको जहाजमार्फत राहत लिएर पाकिस्तान पुगेको हो । मंगलबार परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालको नेतृत्वमा उक्त टोली टोली कराँची पुगेको हो । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्रमन्त्री नारायण खड्काले उक्त टोलीलाई बिदाइ गरेका थिए ।

    यस क्रममा नेपाल सरकारले पाकिस्तानलाई २ करोड रुपैयाँबराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले पाकिस्तानमा बाढीबाट प्रभावित नागरिकहरूलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिने निर्णय गरेको थियो। यस वर्षको जुन १४ यता वर्षासँगै आएको बाढीका कारण पाकिस्तानमा १२ सयभन्दा बढीको मृत्यु भएको छ । शनिबार मात्रै पाकिस्तानमा बाढीले ५७ जनाको मृत्यु भएको थियो ।

  • साफ यू-१७ :उपाधीका लागि नेपाल र भारत आज भिड्दै

    साफ यू-१७ :उपाधीका लागि नेपाल र भारत आज भिड्दै

    काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै उपाधि जित्ने अभियानमा छ । भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने तयारीमा छ । भारत साविक विजेता हो ।

    नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले भारतलाई कडा टक्कर दिने योजनामा रहेको बताउँछन् । नेपालले समूह चरणमा भारतलाई ३–१ गोलले हराएको थियो । त्यसैले पनि नेपाल उच्च मनोबल सहित भारतसँग त्यही नतिजा कायम राख्ने दाउमा छ । भारत समूह चरणमा खेपेको हारको बदला लिन चाहन्छ । च्याम्पियनसिपको सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ र नेपालले आयोजक श्रीलंकालाई ६–० गोलले पराजित गरेको थियो ।

  • ९ वटा क्यासिनोले काठमाडौं महानगरलाई बुझाए ८४ लाख मनोरन्जन कर

    ९ वटा क्यासिनोले काठमाडौं महानगरलाई बुझाए ८४ लाख मनोरन्जन कर

    काठमाडौं । काठमाडौँ महानगरपालिकालाई मनोरञ्जन कर नबुझाउने पाँचवटा क्यासिनोसहित नौवटा संस्थाले ८४ लाख ३४ हजार ३६३ रुपियाँ राजस्व बुझाएका छन् । महानगरले ४५ वटा संस्थालाई मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन पत्र काटेकोमा नौवटा संस्थाले मात्रै राजस्व बुझाएका हुन् । पत्र काटेका मध्ये दुईवटा क्यासिनोले सञ्चालनमा नरहेको भन्दै कर बुझाएका छैनन् । महानगरलाई कर बुझाउनेमा काठमाडौँ फन पार्क, डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट, प्राइम इन्टरटेन्मेन्ट एन्ड रिक्रिएसन, बाल्को क्यासिनो, बेलिज क्यासिनो, रोयल क्यासिनो र माजोङ इन्टरटेनमेन्ट रहेका छन् ।

    महानगरपालिकाले काठमाडौँ फन पार्कलाई २४ घण्टाभित्र कर बुझाउन भदौ १६ गते पत्र काटेको थियो । मनोरञ्जन कर बुझाउन ताकेतामा परेको र्याडिसन होटलमा सञ्चालित क्यासिनो र्याट र याक एन्ड यतीमा सञ्चालित रोयल क्यासिनोले भने कर तिरेका छैनन् । महानगरको राजस्व विभागका अनुसार म्यारियट क्यासिनोले २१ लाख ४२ हजार, अन्नपूर्णको क्यासिनोले ११ लाख ८५ हजार, हायातको क्यासिनोले नौ लाख ८९ हजार, सोल्टीको क्यासिनोले नौ लाख ९३ हजार, मल्ल होटलको क्यासिनोले १३ लाख ८८ हजार रुपियाँ महानगरलाई मनोरञ्जनबापत कर बुझाएका हुन् ।

  • बालबालिकाको संरक्षण परिवार र राज्य दुबैको दायित्व हो : प्रधानमन्त्री

    बालबालिकाको संरक्षण परिवार र राज्य दुबैको दायित्व हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताए। प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गरेका छन्।

    राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधार– जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ। नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ।

    बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हकअधिकार निर्वाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित गर्न सरकार लागि परेको बताए।

    उनीहरूलाई उचित शिक्षा दीक्षा दिई असल जिम्मेवार, देशभक्त र उत्पादनशील नागरिकका रूपमा तयार गर्न सबैले जोड दिन आवश्यक रहेकोसमेत उनले बताए। ‘बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वाङ्गीण व्यक्तित्व विकासको लागि नेपाल सरकारले नीतिगत, कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्दै विभिन्न कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्दै आइरहेको छ’, उनले भने।

    मुलुक सङ्घीय शासन प्रणालीमा रुपान्तरित भएको वर्तमान परिप्रेक्ष्यमा बालबालिकाको समय हकअधिकारको संरक्षण एवं विकासमा सङ्घका अतिरिक्त प्रदेश र स्थानीय सरकारले पनि उत्तिकै जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने खाँचो उनले औँल्याए। बालबालिकाको हकअधिकारको संरक्षण र बालमैत्री समाज निर्माणका लागि तीनै तहका सरकारबीच पारस्परिक सहयोग, समन्वय र सहकार्य अनिवार्य रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

    बालबालिकाको उज्ज्वल भविष्यका लागि घर परिवार, समाज एवं सबै सरोकारवाला जिम्मेवार बन्नु आवश्यक रहेको बताउँदै उनले सबैको साझा लक्ष्य र गन्तव्य भनेको बालअधिकार सुनिश्चित भएको बालमैत्री राष्ट्र निर्माण गर्नुपर्ने बताए। बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु सबैको दायित्व भएको बताउँदै प्रधानमन्त्री देउवाले सबैको साझा प्रयास, सहयोग, समन्वय र सहकार्यबाट मात्र बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाज निर्माण गर्न सकिन्छ भन्ने अपेक्षा गरेका छन्।

    उनले दिवसका अवसरमा बालबालिकाको हकअधिकार र कल्याणका क्षेत्रमा कार्यरत सरोकारवाला निकायलाई आगामी दिनमा बालबालिकाको हकअधिकारको संरक्षण र विकासमा अझ बढी जिम्मेवार भई कार्य गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गरेका छन्।

  • बुधबार समेत दिनभर प्रभावित हुनेछ काठमाडौंको ट्राफिक

    बुधबार समेत दिनभर प्रभावित हुनेछ काठमाडौंको ट्राफिक

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुको भ्रमणका कारण पछिल्लो तीन दिन देखि काठमाडौंमा सवारी साधनले निकै सास्ती पाएका छन् । यसले पैदल यात्रुले समेत ठूलो कष्ट बेहोर्नु परेको छ । यो क्रम बुधबार पनि जारी रहने छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपरान्ह साढे ३ बजे भेट्ने कार्यक्रम रहेको चान्शु नेतृत्वको टोलीले त्यसअघि भक्तपुर दरबार अवलोकनको कार्यक्रम रहेको छ। उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ।

    आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

    त्यस्तै आजै अपरान्ह साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ। उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

  • चिनियाँ जनकंग्रेसका अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट्दै

    चिनियाँ जनकंग्रेसका अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेट्दै

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् । राष्ट्रपतिसँग अपराह्न चार बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको छ । त्यसअघि आज बिहान उनले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम छ । उनले भक्तपुरमा करिब एक घण्टा बिताउने छन् । मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका थिए ।

    ली चान्सु गत सोमबार काठमाडौं आएका थिए । सोही दिन उनले सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका थिए । राष्ट्रपतिलाई भेटेपछि आज पनि उनले सभामुख सापकोटालाई भेट्ने कार्यसूची छ । उनी सापकोटाकै निमन्त्रणामा नेपाल आएका हुन् । चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार बिहान काठमाडौंबाट दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

  • सरकारले विश्व बैंकबाट लिने भयो थप ३५ अर्ब ऋण

    सरकारले विश्व बैंकबाट लिने भयो थप ३५ अर्ब ऋण

    काठमाडौं । सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो ।

    महिला संरक्षण तथा उथान प्रणाली सुदृढीकरणका लागि एसियाली बैंकबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय समेत भएको कार्कीले जानकारी दिए । नेपालको सार्वजनिक ऋण २० खर्ब भन्दामाथि पुगेको छ ।

  • एनडीसीको लक्ष्य भेटाउन २५ अर्ब डलर आवश्यक : अर्थमन्त्री

    एनडीसीको लक्ष्य भेटाउन २५ अर्ब डलर आवश्यक : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायुसम्बन्धी राष्ट्रिय स्तरमा निर्धारित योगदान (एनडीसी) अन्तर्गतका सशर्त न्यूनीकरण लक्ष्य भेटाउन नेपाललाई करिब २५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । दक्षिण कोरियाको इन्चोनमा मंगलबार आयोजित दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


    पेरिस सम्झौता र जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघ फ्रेमवर्क कन्भेन्सनमा हस्ताक्षर गरिसकेको नेपालले ऊर्जा उत्पादन, यातायात, आवासीय खाना पकाउने र बायोग्याँस, कृषि, वन, भूमि प्रयोग र फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा देशको महत्वाकांक्षी लक्ष्यहरूको रूपरेखा प्रस्तुत गर्दै डिसेम्बर २०२० मा दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) पेस गरेको उनले जानकारी दिए । नेपालले सन् २०४५ सम्ममा कुल शून्य उत्सर्जनको लक्ष्य हासिल गर्न जलवायु कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएको समेत उनले बताए ।

    उनले विविध भू–जलवायु प्रणाली, जलवायु–निर्भर अर्थतन्त्र र सीमित अनुकूलन क्षमताका कारण नेपाल जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये एक रहेको समेत बताए । यसमा देशको नाजुक स्थलाकृतिले जलवायु परिवर्तनले निम्त्याउने जोखिमलाई थप गति दिएको समेत उनले बताए ।

    ‘ग्लोबल वार्मिङ’को वर्तमान परिदृश्यले विभिन्न प्राकृतिक प्रकोप हिमनदी, तालको विस्फोट, बाढी, पहिरो आदिको प्रभावलाई तीव्र बनाएको उनको भनाइ छ ।

    विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनमा न्यून योगदान भए पनि अल्पविकसित देशहरूले जलवायु परिवर्तनको प्रभाव महसुस गरिरहेको शर्माको भनाइ छ ।

    ‘हामीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघ फ्रेमवर्क कन्भेन्सनको सदस्यका रूपमा जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी कार्यलाई सक्रिय रूपमा अगाडि बढाइरहेका छौं, नेपालको हरितगृह ग्याँस उत्सर्जनमा योगदान विगत र वर्तमानमा उल्लेख्य रूपमा कम भएता पनि, हामीले विश्वव्यापी औसत तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित गर्ने हो भने सबै देशहरूले आफ्नो उत्सर्जन घटाउनका लागि ठोस कदम चाल्नुपर्छ’ शर्माले भने ।

    नेपाल एक महत्वाकांक्षी जलवायु सरोकारवाला देश भएको र यहाँ जलवायु परिवर्तनको प्रतिरोधी क्षमता बढाउन धेरै नीति फ्रेमवर्कहरु समर्पित भएको उनको भनाइ छ । देशका धेरै नीतिहरू मध्ये, राष्ट्रिय जलवायु परिवर्तन नीति २०१९ ले जलवायु उत्थानशील समाज निर्माण गरी राष्ट्रको सामाजिक–आर्थिक समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य बोकेको उनले बताए । यस नीतिले कृषि तथा खाद्य सुरक्षा, वन, जैविक विविधता तथा जलाधार संरक्षण, जलस्रोत तथा जलविद्युत्, स्वच्छ यातायात, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका प्रमुख विषयगत क्षेत्रहरुमा नीति, रणनीति र कार्यनीतिहरू अवलम्बन गर्ने लक्ष्य राखेको उनले बताए ।

    नेपालको हरित जलवायु कोषको राष्ट्रिय प्राधिकरणको रुपमा अर्थ मन्त्रालयलाई जिम्मेवारी तोकिएको भन्दै उनले नेपालसँग तीन हरित जलवायु कोष अनुमोदित परियोजना रहेको जानकारी दिए । जसमध्ये ८७.८० मिलियन अमेरिकी डलर बराबर रकम प्रत्यक्ष रूपमा हरित जलवायु कोषले योगदान गरेको छ ।

  • साफ महिला च्याम्पियनसिप : बंगलादेशले भारतलाई हरायो

    साफ महिला च्याम्पियनसिप : बंगलादेशले भारतलाई हरायो

    काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने निश्चित भएको छ । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेको छ । यससँगै सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको छ । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा संस्करणमा नेपाल र भारतको भेट भएको छ । चार पटक फाइलनमा र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

    जसमा तीन खेलमा नेपालले गोल गर्दै दुई खेलमा नेपालले भारत विरुद्ध गोल गर्न सकेको छैन । पाँच पटक आमने सामने हुँदा भारतले नेपालको पोष्टमा १६ गोल गरेको छ भने नेपालले जम्मा ३ गोल मात्र फर्काएको छ । नेपाल र भारत तथा बंगलादेश र भुटानबीचको सेमिफाइनल खेल शुक्रबार हुने छ । मंगलबारको खेलमा भारतलाई हराउने क्रममा बंगलादेशका जाहान सोप्नाले २ तथा कृष्णरानी सरकारले एक गोल गरिन् । यो साफ इतिहासमा नै भारतको पहिलो हार हो । यसअघि सन् २०१६ मा भारत र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । त्यो बाहेक अरु सबै खेल भारतले जितेको थियो ।

  • राष्ट्रपति भण्डारीद्वारा एकैपटक पाँचवटा विधेयक प्रमाणीकरण

    राष्ट्रपति भण्डारीद्वारा एकैपटक पाँचवटा विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएका विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।

    उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।

    यसैगरी सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • ‘माधव नेपालको पार्टीले  थ्रेसहोल्ड कटाउँदैन ,एक सिटसम्म जिताइदिनू’

    ‘माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन ,एक सिटसम्म जिताइदिनू’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन आवद्ध दलको बुथ कब्जा गर्ने रणनीति भएको आफूले थाहा पाएको बताएका छन् ।

    लोकतान्त्रि तमु संघको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न मंगलबार पोखरा पुगेका अध्यक्ष ओलीले कुन–कुन जिल्लाको कुन–कुन बुथ कब्जा गर्ने भन्ने रणनीति बनाएको आफूलाई जानकारी आएको बताए ।

    प्रहरी र प्रशासनलाई निस्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले भने ‘कुट्ने, काट्ने, मार्ने र थुनाउने योजना बनाएका छन् । कांग्रेस आफै सत्तामा बसेर चुनाव गराउन नपाए भाग नलिने भन्नुको अर्थ यही रहेछ ।’

    चुनावको मुखमा जनता भड्किन्छन् भनेर अहिले एसपीपी रोकिएको हो, चुनावपछि सरकार बनाउन पाए कांग्रेसले एसपीपी पारित गर्ने बताए ।

    माधव नेपालको पार्टीले थ्रेसहोल्ड नकटाउने दाबी गरे । नेपालको पार्टीमा खास कार्यकता नै नरहने दाबी गरे । उनले भनेका छन्, ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनू ।’

    माधव नेपालको पार्टीसँग विचारै नभएको, बरु देश बर्बाद पार्नेमध्ये एक भएको उनको आरोप छ ।

  • पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

    पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनाको परीक्षणमा २०३ जनामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार १३०० जनाको पीसीआर परीक्षण गर्दा ८७ जना र ३७५९ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको छ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २३२जना पुगेको छ। पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा मृत्यु हुनेको संख्या शून्य रहेको छ।

  • नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी, भारतको मात्रै ७५ अर्ब

    नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी, भारतको मात्रै ७५ अर्ब

    काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी १४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड पुगेको हो ।

    लगानी गर्नेमा विभिन्न ५५ देश रहेको सर्वेक्षणले देखाएको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु. ७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट रु. ३३ अर्ब, आयरल्याण्डबाट रु. १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट रु. १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु. १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

    नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत्क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

    यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।

    समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।

    लगानी भएकोमध्येमा सेवा क्षेत्रमा ४३.९ प्रतिशत, २७.३ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत र होटल तथा रेष्टुरेन्टमा ६ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकको सर्वेक्षणले देखाउँछ ।

    नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ ।

    औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत्क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५, खाद्यान्न सेवामा ५.७ प्रतिशत र सूचना तथा सञ्चारमा ४.८ प्रतिशत प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

  • शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार भने १ अर्ब तल खुम्चियो

    शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार भने १ अर्ब तल खुम्चियो

    काठमाडौं । केही दिनदेखि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको तेस्रोदिन बजार दोहोरो अंकले बढेको हो ।

    मंगलवार बजार मापक सूचक नेप्से २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको हो ।

    मंगलवार २३१ कम्पनीको ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । सोमवार ८३ करोड १६ लाख ३ हजार ६५० रुपैयाँ बराबरको कारोबार भएको थियो । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.३० प्रतिशतले बढेको छ ।

    एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल (बालाजु) शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, मैलुङ खोला जलविद्युत् ७.७६, सानिमा लार्ज क्याप फण्ड ६.६७, युनिभर्सल पावर ४.६७, रिभर फल्स पावर ४.२४, मितेरी डेभलपमेन्ट बैंक ४.१२, गणपति लघुवित्त ४.०३, किसान लघुवित्त, महुली लघुवित्त र नबिल इक्वीटी फण्डको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार नेपाल बैंकको डिभेञ्चरको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

    आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावरको साढे ५ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्स पौने ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • ब्रिटेनका नयाँ राजा चार्ल्सले पहिलो पटक गरे बेलायती संसदमा सम्बोधन

    ब्रिटेनका नयाँ राजा चार्ल्सले पहिलो पटक गरे बेलायती संसदमा सम्बोधन

    लण्डन । ब्रिटेनका राजा चार्ल्स तृतीयले त्यहाँको संसद्‌लाई लोकतन्त्रको जीवन्त अङ्ग भन्दै प्रशंसा गरेका छन्। राजाका रूपमा संसद्‌मा गरेको पहिलो सम्बोधनका क्रममा उनले महारानी एलिजाबेथ द्वितीयाको निधनमा सांसदहरूले व्यक्त गरेको समवेदना स्वीकारेको बीबीसीले लेखेको छ । राजा चार्ल्सले आफ्नी आमाले गरेको निःस्वार्थ सेवाका उदाहरण अनुशरण गर्ने बताए। राजा बनेपछि पहिलो पटक संसद्‌लाई सम्बोधन गर्न वेस्टमिन्स्टर हलमा पुगेका चार्ल्स तृतीयलाई ट्रम्पेटको धुनसहित स्वागत गरिएको थियो।

    महारानी एलिजाबेथ द्वितीयाको निधन भएको पाँचौँ दिन राजा चार्ल्स त्यहाँ पुगेका हुन्। आफ्नो मन्तव्यका क्रममा उनले संसदका दुवै सदनका सभामुखहरूले व्यक्त गरेको समवेदना स्वीकार गर्दै आफ्नो भनाइ राखेका थिए। सो क्रममा क्रममा उनले भने, ‘हाउस अफ लर्ड्स् र हाउस अफ कमन्समा व्यक्त भएका समवेदनाप्रति म एकदमै कृतज्ञ छु।’ म तपाईँहरूको अघि उपस्थित भइरहँदा वेस्टमिन्स्टर हलमा रहने सांसदहरूको इतिहासको ओज महसुस गरिरहेको छु।’ संसद्‌मा सम्बोधन गरेपछि एडिन्बरा पुगेका राजा चार्ल्स तृतीय र क्वीन कन्सोर्ट कमिला सेन्ट जाइल्स कथिड्रलसम्मको शवयात्रामा सहभागी भएका थिए।

    त्यहाँ दिवंगत महारानी एलिजाबेथको पार्थिव शरीर २४ घण्टाका लागि राखिने छ। मानिसहरूले त्यहाँ महारानीप्रति सम्मान व्यक्त गर्न सक्नेछन्। सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ। उक्त समयमा सर्वसाधारणलाई शवपेटिकामा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न दिइने छ। महारानीको राजकीय अन्तिम संस्कारमा उनको परिवार, राजनीतिक नेता र विश्वनेताहरू ब्रिटेनको समयानुसार सेप्टेम्बर १९ को दिन ११ बजे सहभागी हुनेछन्।

    उक्त दिनलाई ब्याङ्क होलिडे अर्थात् सार्वजनिक बिदा घोषणा गरिएको छ। विभिन्न स्थान हुँदै एडिन्बरा विमानस्थलबाट महारानीको शवपेटिका बकिङ्गम प्यालेस लगिने छ। बुधवार अपराह्न ब्रिटेनको समयानुसार ३ बजे त्यसलाई वेस्टमिन्स्टर हलमा पुर्‍याइने छ। त्यसपछि अन्तिम संस्कारअघि बिहीवार चार दिन राजकीय सम्मानसाथ पार्थिव शरीरलाई राखिने छ।

    राजकीय अन्तिम संस्कार सेप्टेम्बर १९ को दिन ११ बजे हुनेछ र त्यस बेला विन्ड्सर कासलसम्म शवयात्रा हुने छ। महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुनेछ। अन्तिम संस्कारअघि नयाँ राजाले स्कटल्यान्ड, नोर्दन आयरल्यान्ड र वेल्सको भ्रमण गर्नेछन्।