Category: फिचर

  • कोरिया पुगेर अर्थमन्त्री शर्माले भने : सरकारकै कमजोरीले हुण्डी मौलाएको रहेछ

    कोरिया पुगेर अर्थमन्त्री शर्माले भने : सरकारकै कमजोरीले हुण्डी मौलाएको रहेछ

    सोल । दक्षिण कोरियामा मंगलबारदेखि हुने हरित जलवायु कोष सम्मेलनमा सहभागी हुन आएका अर्थमन्त्री जनार्दन शर्माले यहाँ रहेका धेरै नेपालीले हुन्डीमार्फत् पैसा पठाउनुमा सरकारको कमजोर नीति नै प्रमुख कारण रहेका बताएका छन् । सोमबार सोलमा भएको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    ‘वैधानिक बाटोबाट पैसा पठाउँदा देश र घर समाजलाई नै फाइदा हुने हो । अझ हामी पैसा पठाउने व्यक्तिलाई तत्काल र दीर्घकालमा फाइदा हुने खालका नीति पनि बनाउँदै छौं । अहिले भएका नीति कसरी सच्याउने भन्ने बारेमा छलफल गरिरहेका छौं । नयाँ र सहज नीति आएपछि वैधानिक बाटोबाटै नेपाल पैसा पठाउने वातावरण हुनेछ’ अर्थमन्त्री शर्माले भने ।

    दक्षिण कोरियामा काम गर्ने आधाभन्दा बढी कामदारले हुन्डीमार्फत् पैसा पठाइरहेको अनुमान छ । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत् आएका कामदार अहिले ४० हजारभन्दा बढी छन् । कोरियामा रहेका कामदारको न्यूनतम ज्याला मासिक झण्डै १ लाख ८० हजार हुन्छ ।

    ‘कोरियामा रहेका सबै नेपालीले वैधानिक बाटोबाट रकम पठाउने हो भने न्यूनतम नै एक महिनामा ६ अर्ब भन्दा बढी हुन्छ । अहिले त्यसको आधा जति पैसा मात्रै रेमिट्यान्समार्फत् नेपाल गएको पाइन्छ’ स्टार रेमिट नेपाल विभागका निर्देशक अशोक मैनालीले भने ‘हुन्डी अवैधानिक भए पनि रेमिट्यान्सको शुल्कभन्दा धेरै सस्तो भएकोले त्यसैमार्फत् रकम पठाउँछन् ।’

    अहिले यहाँबाट रेमिट्यान्समार्फत् पैसा पठाउने १२ वटा कम्पनी छन् । यहाँ रेमिट्यान्स कम्पनी खुलेको सन् २०१७ पछि मात्रै हो । यसअघि दक्षिण कोरियामा अधिकांश नेपालीले अवैधानिक बाटोबाटै नेपाल पैसा पठाउँथे । छल्लानाम्दोको प्लास्टिक कम्पनीमा काम गर्ने ईश्वर सापकोटाले भने ‘म सन् २०१४ मा कोरिया आउँदा कुनै रेमिट्यान्स कम्पनी थिएन । दुई चार वटा बैंकमार्फत् नेपाल पैसा त पठाउन सकिन्थ्यो तर अति महँगो । यता बैंकले पनि सेवा शुल्क काट्ने, उता नेपालमा पनि । त्यसमाथि झन्झटिलो थियो । विकल्प भनेकै अवैधानिक बाटोबाट पैसा पठाउनु पर्थ्यो । कति पैसा त हुन्डी गर्ने मान्छेले खाएर भाग्थे ।’

    अहिले भने नेपाल पैसा पठाउन सजिलो रहेको उनी बताउँछन् । सबै रेमिट्यान्स कम्पनीका मोबाइल एपमार्फत् नै कारोबार हुन्छ । तर पनि रेमिट्यान्स सेवातिर कामदारको आकर्षण बढेको छैन । दुई महिनाअघि मात्रै कोरिया आइपुगेका अजय सोडारी भने राज्यले वास्ता नगरेका कारण यस्तो अवस्था आएको महसुस गर्छन् । ‘यहाँ हुन्डी सस्तो हुने भयो । अनि वैधानिक बाटोबाट महँगोमा पैसा पठाउँदा पनि राज्यले केही सुविधा दिने होइन । त्यसैले सस्तोमै पैसा पठाउँ भन्ने महसुस धेरैलाई हुँदो रहेछ । अन्य देशका कामदारले रेमिट्यान्स कम्पनीबाटै पैसा पठाउँदा त्यहाँको सरकारले प्रोत्साहन स्वरुप विभिन्न प्रकारका स्किमहरु दिने रहेछ । हाम्रोमा छैन’ उनले भने ।

    फरक फरक रेमिट्यान्स कम्पनीका पैसा पठाउँदा लाग्ने शुल्क पनि फरक छन् । ‘नेपालमा भएको पार्टनर कम्पनीले डलरको भाउको आधारमा नै नेपाल पैसा पठाउने रेट निर्धारण गर्छ, त्यसैले कम्पनी अनुसार थोरै रेट फरक पर्न पनि सक्छ’ स्टार रेमिटका मैनालीले भने । रेमिट्यान्स कम्पनीमार्फत् नेपालमा एक लाख रुपैयाँ पैसा पठाउँदा सोमबारको दरअनुसार यहाँबाट १० लाख ८८ हजार वन पठाउनुपर्छ । तर हुन्डीमार्फत् पठाउने हो भने १० लाख २० हजारदेखि ३५ हजारसम्म मात्रै भए पुग्छ । एक लाख नेपाली रुपैयाँ पठाउँदा नै कम्पनी र हुन्डीबीच पाँच हजारदेखि सात हजार रुपैयाँसम्म फरक पर्ने गरेको छ ।

  • एएफसी यू-२० एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार

    एएफसी यू-२० एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार

    काठमाडौं । बहराइनमा चलिरहेको एएफसी यू–२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। गतराति सम्पन्न खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो। शेख अलिबिन मोहमद अल खालिफा स्टेडियममा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गरे। नेपालले भने एक मात्र गोल आत्मघाती उपहार पायो । खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरूआती अग्रता दिलाएका थिए।

    इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारलाई पहिलो हाफमा नेपालविरूद्ध २–० को अग्रता दिलाए। खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३–० को अग्रता दिलाए। त्यसपछि खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरे । यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरूआत गरेको छ। कतारले पहिलो खेलमा ३ अंक जोडेको छ । लगातार दुई खेलमा हार व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन। समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ।

    यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो । यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश रहेका छन्। अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ। यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ। समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू२० एसियन कपमा स्थान बनाउने छन्।

  • चिनियाँ जनकांग्रेसका अध्यक्ष आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

    चिनियाँ जनकांग्रेसका अध्यक्ष आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु आज उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। यस्तै परराष्ट्रमन्त्री नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग बिहान ९ बजे भेटवार्ताको तालिका छ ।

    यस्तै, उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने कार्यक्रम तय भएको छ। त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग होटल सोल्टीमा भेटवार्ता हुनेछ। त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न उनी बालुवाटार जानेछन्। उनले भोलि बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ। सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले चीनको राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष लीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गरेका थिए।

    त्यसअघि नेपालको सङ्घीय संसद्को प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कङ्ग्रेस) बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। अध्यक्ष लीको नेतृत्वमा आएको ६ जना चिनियाँ उच्चअधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार फर्कने कार्यक्रम रहेको छ।

  • निर्वाचन आयोगको व्याख्या : प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्र

    निर्वाचन आयोगको व्याख्या : प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्र

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने गरी व्याख्या गरेको छ । समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समय असोज २ र ३ गतेलाई तोकिएको छ । त्यसअगावै प्रतिनिधिसभाको कार्यकाल सकिने व्‍याख्या आयोगले गरेको हो । आयोगले यसबारे संघीय संसद सचिवालयलाई पत्र लेखेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले आइतबार संघीय संसद सचिवालयमा पठाएको पत्रमा हालको प्रतिनिधिसभाको असोज १ गतेसम्म मात्रै कायम रहने व्याख्यात्मक व्‍यहोरा उल्लेख छ ।

    ‘नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (क) तथा धारा १८२ को उपधारा (६) को खण्ड (क) मा प्रतिनिधिसभा वा प्रदेशसभा विघटन भएको अवस्थामा समेत सभामुख र उपसभामुख अर्को निर्वाचनको मनोनयन गर्ने मितिभन्दा अघिल्लो दिनसम्म पदमा बहाल रहने व्यवस्था गरेबाट निर्वाचनको लागि उम्मेदवार मनोनयन हुने दिनदेखि नै सभामुख तथा उपसभामुख पदमा नरहने संवैधानिक व्यवस्था भएको सन्दर्भमा प्रतिनिधिसभा वा प्रदेश सभाका अन्य सदस्यहरु सोही पदको लागि हुने निर्वाचनका लागि मनोनयनपत्र पेश गर्ने मिति पछिसम्म कायम रहने गरी कानून संशोधन गर्नु उपयुक्त देखिँदैन’ केही नेपाल ऐन संशोधन विधेयकमाथि टिप्पणी गर्दै आयोगले भनेको छ ।

    ‘सरकारले केही नेपाल ऐन संशोधनमार्फत प्रतिनिधिसभाको कार्यकाल तय गर्न खोजेको थियो । तर, कार्यकाल लम्ब्याउन खोजेको भनी चौतर्फी विरोध भएपछि सरकार पछि हटेको छ । सरकार पछि हटेसम्म प्रतिनिधिसभाको कार्यकालका सम्बन्धमा कतिपयले अन्योलता प्रकट गरिरहेका बेला निर्वाचन अयोगले प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने व्‍याख्यासहितको पत्र संघीय संसद सचिवालयमा पठाएको हो ।

  • डा. गोविन्द केसीले धनगढीबाट थाले अनसन

    डा. गोविन्द केसीले धनगढीबाट थाले अनसन

    काठमाडौं । चिकित्सक डा. गोविन्द केसी धनगढीमा आमरण अनसन बसेका छन् । धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ७ बुँदे माग राख्दै अनसन थालेका हुन् । सरकारी अस्पतालमा बेड संख्याको आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, स्थानीय तहको बजेटको आधा हिस्सा शिक्षा र स्वास्थ्यमा छुट्याउनुपर्नेसहितका विभिन्न माग राख्दै उनी आमरण अनसनमा बसेका हुन् ।

    माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनले अनसन सुरु गरेका हुन् । डा. केसीले जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेसमेत बताएका छन् । उनले जनसंख्या बढे अनुसार सरकार िअस्पतालको क्षमता बढाउन समेत माग गरेका छन् ।

  • महिला साफ च्याम्पियनसिप : श्रीलंकामाथि सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

    महिला साफ च्याम्पियनसिप : श्रीलंकामाथि सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गर्दै नेपाल अन्तिम चारमा समूह विजेता बनेर पुगेको हो। नेपालले पहिलो हाफमै चार गोल गरेको थियो। नेपालका लागि खेलको दशौं मिनेटमा रश्मीकुमारी घिसिङले हेडमार्फत पहिलो गोल गरेकी थिइन्। लगत्तै अर्को मिनेटमा सुरू लिम्बुले नेपालको अग्रता दोब्बर पारिन्।

    खेलको १७ मिनेटमा अमृत जैशीले नेपालका लागि तेस्रो गोल गरिन्। नेपालले सात मिनेटको अन्तरमा तीन गोल गरेपछि श्रीलंका दबाबमा आएको थियो। नेपालका लागि चौथो गोल दिपा शाहीले गरिन्। उनले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरिन्। ७७ मिनेटमा अमिसा कार्कीले अर्को गोल थपिन्। रेखा पौडेलको स्थानमा दोस्रो हाफमा मैदान छिरेकी अमिसाले उत्कृष्ट फिनिसिङ गरेकी थिइन्। अमिसाले दोस्रो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो तथा टिमका लागि छैठौं गोल गरिन्। उनले एकल प्रयासमा श्रीलंकाका तीन डिफेन्डरलाई पार गर्दै उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।

    नेपाल समूह विजेता बनेसँगै भुटान भने उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ। यसअघि भुटानले आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ५–० गोलले पराजित गरेको थियो। समूहको पहिलो खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको थियो। अब सेमिफाइनलमा ‍नेपालले शुक्रबार भारत वा बंगलादेशसँग खेल्नेछ। समूह ‘ए’ बाट भारत र बंगलादेश अन्तिम चारमा पुगे पनि समूह विजेताको टुंगो लाग्न बाँकी छ। भारत र बंगलादेश भोलि भिड्दैछ। हार बेहोर्ने टिमसँग नेपालले शुक्रबार साँझ खेल्नेछ। यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो। नेपाल भने चार पटक फाइनलमा पराजित भएको थियो।

  • मिटर ब्याजीविरुद्ध २२८९ उजुरी

    मिटर ब्याजीविरुद्ध २२८९ उजुरी

    काठमाडौं । गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस कार्यलदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक भीष्मकुमार भूसालले २२ बुँदे सिफारिससहित मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् । कार्यदलका अनुसार मिटरव्याजीविरुद्ध भदौ २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयहरुमा दुई हजार २८९ वटा उजुरी परेको छ । तीमध्ये भदौ २६ गतेसम्म ५९ वटा उजुरी फरफारक भइसकेका छन् भने ७ वटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको कार्यदलले जनाएको छ । त्यस्तै ७ वटा उजुरीमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    कार्यदलले गत भदौ ८ देखि १२ गतेसम्म लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, मधेश प्रदेशका सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिरहा तथा प्रदेश १ को मोरङ गरी ७ जिल्लाका मिटरव्याजीसँग छलफल गरेको थियो । उजुरीहरूको विश्लेषण गर्दा ४ वा सो भन्दा बढी उजुरी परेका आरोपितहरूको संख्या ३३ रहेको र एकै व्यक्तिले २३ जना विरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको देखिएको कार्यदलले जनाएको छ । प्रतिवेदन बुझाएसँगै कार्यदलको कार्यकाल समाप्त भएको छ । तर स्थानीय प्रशासनले उजुरी उपर छानबिन प्रक्रियालाई निरन्तरता दिने गृह मन्त्रालयले जनाएको छ ।

  • चिनियाँ जनकांग्रेसका प्रमुख र नेपाली सभामुखबीच ६ बुँदै समझदारी

    चिनियाँ जनकांग्रेसका प्रमुख र नेपाली सभामुखबीच ६ बुँदै समझदारी

    काठमाडौं । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ल्ट एण्ड रोड इनिसिएटिभमार्फत दुई देशबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने लगायतका ६ बुँदे समझदारी भएको छ ।

    १. दुवै पक्ष आपसी विश्वास सदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् ।

    २. दुबै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्‍याउन बहुआयमिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्नेछन् ।

    ३. दुबै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन् । ।

    ४. दुवै पक्षले संसदीय मैत्री समूहहरुलाई उनीहरुको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्नेछन् र साथ दिनेछन् तथा दुई व्यवस्थापिका बीच सदभाव र समझदारी प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नेछन् ।

    ५. दुबै पक्षले एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन सञ्चालन सम्बन्धी अभ्यासका वारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकार बीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरु बीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछन् ।

    ६. दुबै पक्ष साझा हितको विषयमा इन्टर पार्लियामेण्टरी यूनियन लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरुको खाका अन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएका छन् ।

  • केराउ, सुपारी र कालो मरिचको आयात खुला

    केराउ, सुपारी र कालो मरिचको आयात खुला

    काठमाडौं । सरकारले आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रुपमा ल्याउन सकिने गरी खुला गरेको छ । २१ भदौमा प्रकाशित राजपत्रको सूचना सोमबार सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी गराएको हो । सूचना अनुसार उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यी वस्तु आयात गर्न सकिने भएको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एचएसकोड ०७१३.१०.०० (केराउ), एचएसकोड ०८०२.८०.०० सुपारी र एचएसकोड ०९०४.११.३० (कालोमरिच) को पैठारी गर्न अनुमति दिने निर्णय सरकारले गरेको हो । नेपालमा तेस्रो मुलुकबाट उक्त वस्तुहरु आयात गरी भारततर्फ तस्करी हुने गरेको पाइएपछि सरकारले २४ चैत २०७६ मा राजपत्रमा सूचना प्रकाशित गरी आयात रोकेको थियो ।

  • ‘जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छ’-ऊर्जा मन्त्री

    ‘जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छ’-ऊर्जा मन्त्री

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायत जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएकी छन् ।

    नेपाल हाइड्रो पावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएनको आज यहाँ आयोजना गरेको Building Back Better and Greener with Sustainable Hydropower विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले जलविद्युत आयोजनाहरूको दिगो विकासका लागि भरपर्दो र बलियो संरचनाहरु निर्माण गर्न, वातावरणलाई न्यून असर गर्दै प्रभावित समुदायको जीवनस्तरलाई गुणस्तरीय बनाउन सरकार लागि परेको बताइन् ।

    मन्त्री भुसालले जनताको गुणस्तरीय जीवनका लागि आवश्यक कानून, निर्देशिका र मापदण्डहरु तयार गरी लागू गरेको स्पष्ट पारिन् ।

    हरित ऊर्जा, विशेषगरी जलविद्युत र नवीकरणीय ऊर्जाको दिगो विकासका लागि अन्तर्राष्ट्रिय अनुभव र अभ्यास, नयाँ प्रविधिको विकास समेतलाई ध्यानमा राख्दै सम्मेलन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवालाहरूको छलफलबाट महत्त्वपूर्ण सुझाव प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

    जलवायु परिवर्तनको कारण अप्रत्यासित बाढी पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप, जैविक विविधतामा ह्रास लगायतका असरहरू भोग्नु परिरहेको उल्लेख गर्दै उनले दिगो रूपमा जलविद्युत आयोजनाका विकास, व्यवस्थापन र उपयोग गर्ने विषय अत्यन्त महत्त्वपूर्ण हुने बताइन् ।

    गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन जलविद्युत आयोजना, प्रसारण एवं वितरण लाइन तथा सब–स्टेशनह निर्माणमा विशेष प्राथमिकता दिईएको बताउँदै मन्त्री भुसालले जलविद्युतको विकासका लागि सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थित रूपमा आयोजना विकासलाई अघि बढाउने नीति लिइएको जानकारी दिइन् ।

  • खुल्न थाल्यो खासा नाका, भित्रिन थाल्यो रोकिएका कन्टेनर

    खुल्न थाल्यो खासा नाका, भित्रिन थाल्यो रोकिएका कन्टेनर

    काठमाडौं । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैँ–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो ।

    तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका छन् । त्यसमा लसुन, खुद्रा तथा स्याउ रहेको तर स्याउ बिग्रिसकेका बताइएको छ ।

    कन्टेनरको आवश्यक भन्सार प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर सम्बन्धित ठाउँमा पठाउने प्रक्रिया धमाधम भइरहेको गौतमले बताए। गत साउन २३ गतेदेखि लगाएको लकडाउनले तातोपानी र केरुङ नाका ठप्प थिए ।

  • रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८३ करोडमा सीमित

    रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८३ करोडमा सीमित

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १३.५९ अंकले घटेर १९१२.६६९ विन्दुमा झरेको हो ।

    सोमवार २२५ कम्पनीको ८३ करोड १६ लाख ३ हजार ६५० रुपैयाँ बराबरको २६ लाख १३ हजार ५४० कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । आइतवार ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ समूहको परिसूचक बढेको छ भने १२ समूहको घटेको छ । अन्य समूहको परिसूचक सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ ।

    नेप्सेका अनुसार आज नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर सानिमा लार्ज क्याप फण्ड र छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यसैगरी, सामुदायिक लघुवित्त ५.८७, अपर हेवाखोला ४.१५, दोर्दीखोला ४.१४, माउन्टेन इनर्जी, शिवश्री हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ३ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ४ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ ।

    रिडी पवरको २ करोड ७९ लाख र हिमालय डिस्टिलरीको २ करोड ५६ लाखको कारोबार भएको छ ।

  • काठमाडौंबाट कतारको हमाद विमानस्थलमा भइरहेका उडान अब दोहा सरे

    काठमाडौंबाट कतारको हमाद विमानस्थलमा भइरहेका उडान अब दोहा सरे

    काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौबाट कतारमा गरिरहेको उडानको विमानस्थल परिवर्तन भएको छ । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमलाई यस्तो जानकारी गराएको हो । निगमकाअनुसार अहिले हमाद इण्टरनेशनल एयरपोर्टबाट भइरहेको निगमको उडान अब दोहा इन्टरनेसनल एयरपोर्टमा सरेको हो ।

    यस्तो नियम १५ सेप्टेम्बर २०२२ बाट ३० डिसेम्बर २०२२ सम्मका लागि लागू हुने भएको हो । कतारमा विश्वकप नजिकिएसँगै हमाद विमानस्थल बढी व्यस्त हुन थालेको छ । यससँगै नेपालजस्ता मुलुकका उडानहरु कटौती गर्ने वा दोहामा सार्ने काम भइरहेको छ ।

  • निर्वाचनको सुरक्षामा तीन लाख सुरक्षाकर्मी खटिने

    निर्वाचनको सुरक्षामा तीन लाख सुरक्षाकर्मी खटिने

    काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन लाख सुरक्षाकर्मी खटिने भएका छन् । सरकारले निर्वाचन लक्षित सुरक्षा योजना स्वीकृत गरेको छ । आमनिर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी परिचालन हुनेछन् । सुरक्षा योजनामा सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट पौने २ लाख तथा म्यादीका १ लाख १५ हजार परिचालन गरिने छ ।

    गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना–२०७९’ स्वीकृत गरेको हो । केन्द्रीय सुरक्षा समितिले सुरक्षा योजना एकीकृत रूपमा पेस गर्न गृह र रक्षा मन्त्रालय तथा चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको थियो । त्यसपछि गृह सचिव, गृह प्रवक्ता तथा चारवटै सुरक्षा निकायले आ–आफ्नातर्फबाट बनाएका संयन्त्रमार्फत सुरक्षा योजनाको मस्यौदा तयार पारेका थिए ।

    त्यसैलाई एकीकृत रूपमा छलफल गरेर आइतबार सुरक्षा समिति बैठकले निर्वाचन सुरक्षा योजना अनुमोदन गरेको हो । योजना स्वीकृत गर्दै गृहमन्त्री खाँणले निर्वाचन निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी जिम्मेवारी निर्वाह गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिए । सुरक्षा योजना स्वीकृतसँगै अब निर्वाचन लक्षित कार्ययोजना लागू गर्न सुरक्षा निकाय तथा जिल्ला सुरक्षा समितिलाई बाटो खुलेको छ ।

    निर्वाचनमा बाहिरी सुरक्षा सेना र प्रहरी तथा निर्वाचन स्थल र मतदान केन्द्रको सुरक्षामा प्रहरी र म्यादीलाई परिचालन गरिनेछ । जोखिमका आधारमा मतदान स्थलको सुरक्षामा प्रहरी र म्यादीको संख्या निर्धारण गरिनेछ । सेना र सशस्त्रलाई काममा दोहोरोपन नहुने गरी सुरक्षा चुनौती र जोखिम हेरेर परिचालन गरिनेछ ।

    कारागार, विमानस्थल, भीआईपी (अतिविशिष्ट व्यक्ति) का निवास तथा कार्यालयलगायत महत्त्वपूर्ण प्रतिष्ठान, विद्युत् आयोजनालगायतमा खटिएका प्रहरी र सशस्त्रलाई चुनावकेन्द्रित गरेर अस्थायी रूपमा सेनालाई जिम्मेवारी दिइनेछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट सेना परिचालनको निर्णय भएपछि औपचारिक रूपमा सैनिकहरू तोकिएको जिम्मेवारीमा खट्ने गृह मन्त्रालयले जनाएको छ ।

    निर्वाचनमा करिब ७५ हजार सैनिक, ६५ हजारभन्दा बढी प्रहरी, करिब ३२ हजार सशस्त्र र १ लाख १५ हजार म्यादी प्रहरीलाई सुरक्षा व्यवस्थापनमा परिचालन गरिनेछ । राष्ट्रिय अनुसन्धान विभागबाट करिब एक हजार पाँच सयलाई खटाइनेछ । निर्वाचनमा १० हजार ८ सय ८८ मतदान स्थल र करिब २३ हजार मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ ।

  • महिला साफ च्याम्पियन्सिप : आज नेपाल र श्रीलंका भिड्दै

    महिला साफ च्याम्पियन्सिप : आज नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।समूह ’बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ । नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ ।

    श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलङ्का भने पहिलो जितको खोजीमा हुनेछ । समूह ुएु बाट भारत र बङ्गलादेशले अन्तिम चारमा स्थान बनाइसकेका छन् । माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

  • टी-२० एसिया कपको उपाधी श्रीलंकालाई

    टी-२० एसिया कपको उपाधी श्रीलंकालाई

    काठमाडौं । टी–२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ । बलिङ, ब्याटिङ र फिल्डिङ तीन वटै क्षेत्रमा श्रीलंकाका खेलाडीले उत्कृष्ट प्रदर्शन गन सफल भए । श्रीलंकाले फाइनलमा पाकिस्तानलाई २३ रनले हराएको हो । पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनाउन सक्यो ।

    पाकिस्तानका मोहम्मद रिजवानले ५५ रनमा बनाए । इफित्खार अहमदले ३२ रन र हरिस रौफले १३ रन जोडे । श्रीलंकाका प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । दुबई इन्टरनेशल स्टेडियममा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

    श्रीलंकाका भानुका राजपक्षे अविजित सर्वाधिक ७१ रन बनाए, वानिन्दु हसरंगा ३६, धनन्जय डे सिल्भाले २८ र चमिकाले १४ रन बनाए । श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधी जितेको हो ।

  • राष्ट्रपतिको वरियतापछिका चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आजबाट नेपाल भ्रमणमा

    राष्ट्रपतिको वरियतापछिका चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आजबाट नेपाल भ्रमणमा

    काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका सिलसिलामा आज काठमाडौं आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियतामा उनी छन् । उनीभन्दा माथि राष्ट्रपति रहेका छन् । चीनबाट हुन लागेको यो उच्च स्तरीय भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । चान्सु सभामुख अग्नि सापकोटाको औपचारिक निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् ।

    भ्रमणको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नेछन् । प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेट्दैछन् । २५ चैतमा भएको भर्चुअल संवादका क्रममा सापकोटाले चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए । त्यसको केही समयपछि चैत महिनामा विदेशमन्त्री वाङ यी र असार अन्तिम साता सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण गरेका थिए ।

    चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु नेपाल भ्रमणमा आउने राष्ट्रपति सी जिनपिङ पछिका दोस्रो ठूलो तहका नेता हुन् । सीले २०७६ सालको २५ देखि २७ असोजसम्म राजकीय भ्रमण गरेका थिए । त्यसपछि चीनबाट विभिन्न तहका भ्रमणहरू निरन्तर भइरहेका छन् । आगामी १६ अक्टोबरमा सीपीसीको २०औं राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहेका बेला अहिले चान्सु नेपाल भ्रमणमा आउन लागेका हुन् ।

  • डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गरिँदै

    डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गरिँदै

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । डेङ्गुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेङ्गु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासनमन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जानकारी दिए ।

    उनका अनुसार प्रत्येक स्थानीय तहले ‘प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट’ छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँहरु ‘खोजौं र नष्ट गरौँ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने छन्। अभियान सफल बनाउन स्थानीय जनप्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार सङ्घसंस्था परिचालन गरी वडामा हरेक घरधुरीमा अभियान सञ्चालन गर्ने छन्। सबै स्वास्थ्य संस्थाबाट डेङ्गुका बिरामीको विवरण स्थानीय तहमार्फत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पनि पठाउन निर्देशन दिइएको छ। अहिलेसम्म नेपालमा सात हजार पाँच सयभन्दा बढी डेङ्गुका बिरामी फेला परेका छन्।

  • समानूपातिकको बन्द सूचि पेश गर्न दलहरुलाई एक साताको समय

    समानूपातिकको बन्द सूचि पेश गर्न दलहरुलाई एक साताको समय

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिएको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेद्वारा आज आइतबार जारी विज्ञप्तिमा सो निर्णय भएको जनाइएको हो ।
    निर्वाचन आयोगले बन्दसूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ ।

    उम्मेदवारको बन्दसूची आगामी असोज २ देखि ३ गतेसम्म बुझाउने समय निर्धारण गरी आयोगले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । प्रवक्ता वाग्लेका अनुसार बन्दसूची छानविन गरी दलहरुलाई सच्याउने समय पनि प्रदान गरिएको छ । असोज ४ देखि ९ गतेसम्म बन्दसूची सच्याउने समय दिने निर्णय आयोगले गरेको वाग्लेले जानकारी दिए ।

    “कानूनी व्यवस्था तथा निर्वाचन कार्यक्रम बमोजिम राजनीतिक दलहरुले २०७९–०६–०२ र ०६–०३ मा उम्मेदवारको बन्दसूची पेश गर्दा आवश्यक कागजातहरु संलग्न राखी सम्बन्धित कानूनी व्यवस्था बमोजिमको संख्यामा समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्रतिनिधित्व हुनेगरी उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने छ” प्रवक्ता वाग्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    बन्दसूची पेश गर्दा नियमावली तथा निर्देशिकामा उल्लेख भएबमोजिमको विधि, प्रक्रिया पूरा नभएको वा संलग्न गर्नुपर्ने कागजात संलग्न नभएको अवस्थामा त्यस्तो बन्दसूची दर्ता नहुने पनि प्रवक्ता वाग्लेले प्रष्ट पारेका छन् ।

  • युक्रेनले फिर्ता लिन थाल्यो गुमेको भू-भाग

    युक्रेनले फिर्ता लिन थाल्यो गुमेको भू-भाग

    काठमाडौं । युक्रेनको सेनाले पूर्वी युक्रेनमा तीव्र गतिमा गरिएको प्रत्याक्रमणका क्रममा आफ्नो फौजले ३,००० वर्गकिलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुनःप्राप्ति गरेको जनाएको छ। प्रत्याक्रमणको यो उल्लेख्य अवस्था यदि पुष्टि भएमा त्यो किएभका फौजले ४८ घण्टाभन्दा केही बढी समयमा तीन गुणाले गुमेका भुभाग पुनःप्राप्ति गरेको देखिने बीबीसीले जनाएको छ । बिहीवार साँझ राष्ट्रपति जेलेन्स्कीले १,००० वर्गकिलोमिटर र शनिवार साँझ २,००० वर्गकिलोमिटर भूमि पुनःप्राप्ति गरेको बताए ।

    बीबीसीले युक्रेनले गरेको दाबीलाई पुष्टि गर्न नसकेको र पत्रकारहरूलाई अग्रमोर्चामा जान रोकेको समेत जनाएको छ । युक्रेनले तीव्र गतिमा गरेको प्रत्याक्रमणसँगै थप भूभाग उसको नियन्त्रणमा आएपछि रुसी सैनिकहरू पूर्वी युक्रेनका महत्त्वपूर्ण सहरहरूबाट पछि हटेको समेत समाचारमा उल्लेख छ । युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेना शनिवार कुपियान्स्क सहरमा प्रवेश गरेको छ। रुसी फौजका लागि सामान आपूर्ति गर्न उक्त सहर निकै महत्त्वपूर्ण मानिन्थ्यो। रुसी रक्षा मन्त्रालयले आफ्नो सेना फेरि सङ्गठित हुनू का लागि नजिकै रहेको इन्ज्यूमतिर गएको जनाएको छ।

    रुसले तेस्रो महत्त्वपूर्ण सहर बालाक्लियाबाट पनि आफ्ना सैनिकहरू फिर्ता भएको पुष्टि गरेको छ। उसका अनुसार डोनेट्स्कको मोर्चालाई बलियो बनाउन त्यहाँबाट सैनिकहरू फिर्ता भएका हुन्। यदि युक्रेनले आफू अगाडि बढेको ठाउँलाई नियन्त्रणमा राख्न सक्यो भने एप्रिल महिनामा किएभवरपरबाट फिर्ता भएको घटनापछि यो सबैभन्दा उल्लेखनीय उपलब्धि भएको समेत समाचारमा जनाइएको छ ।

    शनिवार राति भिडिओबाट सम्बोधन गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो महिनाको आरम्भतिर प्रत्याक्रमणको कारबाही सुरु भएपछि युक्रेनले २,००० वर्ग किलोमिटर क्षेत्र रुसको नियन्त्रणबाट मुक्त गरेको दाबी गरेका छन्। उनको दाबीअनुसार त्यसमध्ये आधा भूभाग ४८ घण्टामा फेरि युक्रेनको नियन्त्रणमा आएको भन्ने बुझिन्छ। बिहीवारको सम्बोधनमा उनले भनेकोभन्दा यो दुईगुना क्षेत्र हो।

    इज्यूमबाट आफ्नो सेना फिर्ता भएको रुसको घोषणा पनि महत्त्वपूर्ण छ। उक्त सहर रुसका लागि एउटा मुख्य सैन्य केन्द्र बनेको थियो। तीन दिन लगाएर इज्यूम(बालाक्लियाबाट सैनिकहरूलाई डोनेट्स्क सारिएको रुसी विज्ञप्तिमा उल्लेख गरिएको छ। रुसी सैनिकहरूतर्फ क्षति हुन नदिन शत्रुपक्षलाई हराइएको दाबी रुसले गरेको छ।


    त्यसको केही समयपछि खार्किभमा रुसी नियन्त्रणमा रहेका क्षेत्रहरूको प्रशासक स्थानीयवासीहरूलाई ज्यान जोगाउन रुसतिर जान भनेको रुसको सरकारी समाचारसंस्था तासले जनाएको छ। नजिकै रुसपट्टि रहेको बेल्गोरोड क्षेत्रका गभर्नरले सीमा पार गर्न पालो कुरिरहेका मानिसलाई सहयोग गर्न खानेकुरा, ताप र औषधिको व्यवस्था गरिएको जनाएका छन्।

    युक्रेनले पश्चिमा साझेदार राष्ट्रहरूलाई सैन्य सहयोग उपलब्ध गराउन निरन्तर आग्रह गरिरहेको बेला युक्रेनी सेनाको उपलब्धिले उससँग रुसले नियन्त्रणमा लिएको भूभाग फिर्ता लिन सक्ने सामर्थ्य भएको सङ्केत मानिएको छ। यसअघि यूकेका रक्षा अधिकारीहरूले यसअघि रुसनियन्त्रित भूभागमा युक्रेन ५० किलोमिटरभित्र अघि बढेको बताएका थिए।

  • नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

    नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनसम्म फुटबल प्रशिक्षक भएर काम गर्न पाउँदा खुसी, माया र पीडामा साथ दिने सबैलाई धन्यवाद दिँदै उनले आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् ।

    उनले लेखेका छन्, ‘नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दुःख र पीडा बिनाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।
    एउटा टोली, जय नेपाल ।’

    हाल विदामा रहेका अलमुताइरी आफ्नो देश कुवेतमा छन्। नेपालले एएफसी एसिया कपको छनोट कुवेतमा खेलेपछि उनी उपाचारका लागि उतै बसेका थिए।

    एएफसी एसिया कप छनोटअघि अलमुताइरी र राष्ट्रिय टिमका १० जना खेलाडीबीच विवाद भएको थियो। विवादका कारण उनले खेलाडीलाई क्याम्प छाड्न निर्देशन दिएपछि खेलाडी र प्रशिक्षक विवादले उग्ररुप लिएको थियो।

    त्यसपछि एन्फाले गठन गरेको कार्यदलले विवादमा आइरहने अलमुताइरीको विकल्प खोज्न एन्फालाई सिफारिस गरेको थियो।

    एन्फा र अलमुताइरीबीच सन् २०२४ सम्मका लागि सम्झौता छ। उनलाई खान र बस्न एन्फाले व्यवस्था गरे पनि तलब भने कतार फुटबल एसोसिएसनले उपलब्ध गराइरहेको छ। कतारले सहयोगस्वरुप प्रो-लाइसेन्सप्राप्त अलमुताइरीलाई २०७७ को चैतमा नेपाल पठाएको थियो।

  • काठमाडौं महानगरले तीनकुने–कोटेश्वर क्षेत्रमा पुनः चलायो ‘डोजर’

    काठमाडौं महानगरले तीनकुने–कोटेश्वर क्षेत्रमा पुनः चलायो ‘डोजर’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन पुन डोजर चलाएको छ ।

    तीनकुने–कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन यसअघि पटक–पटक माइकिङ गर्दै आएको महानगरले फुटपाथ मिचेर बनाइएको भर्‍याङ भत्काउन आइतवार डोजर चलाएको हो ।

    महानगरले सूचना दिँदा पनि अटेर गरेर फुटापाथ ढाकेर बनाएको पाली, भर्‍याङ तथा सिँढीहरू हटाएको महानगरले जनाएको छ । अघिल्लो हप्ता पनि कोटेश्वरको सुन्दर बजारसहितको क्षेत्रमा डोजर चलाएको थियो ।

    अवैध संरचनाहरू हटाउने अभियान निरन्तर रहेको महानगरले जनाएको छ । कोटेश्वेर क्षेत्रमा महानगरले यस महिनामात्रै ३ पटक डोजर चलाइसकेको छ । त्यस्तै, यो अभियान निरनतर जारी रहने महानगरको भनाइ छ ।

  • देश विकास गर्न अर्थतन्त्रका साना-साना सूचकलाई बलियो बनाउनुपर्छ – न्यायाधीश सिन्हा

    देश विकास गर्न अर्थतन्त्रका साना-साना सूचकलाई बलियो बनाउनुपर्छ – न्यायाधीश सिन्हा

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन् ।

    नेपाल बार एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको साताव्यापी व्यावसायिक कानुनसम्बन्धी तालिमको समापनमा न्यायाधीश सिन्हाले उक्त कुरा बताएका हुन् ।

    नेपालले खुला अर्थतन्त्रको नीति अबलम्बन गरेको स्मरण गराउँदै न्यायाधीश सिन्हाले देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्ने धारणा राखे ।

    अर्थतन्त्रका स–साना विषयले देश, समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस विषयमा सबै सचेत हुनुपर्ने आवश्यक औँल्याए ।

    उनले अर्थतन्त्रमा हरेक शब्द–शब्दको गहिरो अर्थ हुने गरेको भन्दै त्यसको अर्थ बुझ्न सकिएन भने अर्थको अनर्थ लाग्ने बताए । अर्थतन्त्रसँग सम्बन्धित कानूनसँग जोडिएका शब्दको अर्थ भने अझै गम्भीर हुने उल्लेख गरे । यस्ता सबैमा सबैजना सचेत भएर आ–आफ्नो क्षेत्रबाट देशको अर्थतन्त्र विकासमा भूमिका खेल्नु पर्ने न्यायाधीश सिन्हाको भनाइ छ ।

    कार्यक्रममा नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कानून व्यवसायी वकालत गरेर पैसा कमाउने मात्र नभई समाजको अभियान्ता पनि भएको बताए । ‘कानून व्यवसायी भनेको अभियान्ता पनि हो, व्यवसायीले पैसा कमाउने ध्येय मात्रै राखेको पनि हुँदैन’ उनले भने ‘उनीहरूको समाजप्रतिको दायित्व पनि हुन्छ ।’ दायित्व पूरा गर्ने सन्दर्भमा बार सँधै अग्रसर रहेको धारणा उनले राखे ।

    अबको युग आर्थिक युग भएको भन्दै अर्थतन्त्रभित्र निकै कानूनी जटिलता रहेको तर्क गरे । त्यस्ता कानूनी जटितलाको विषयमा कानून व्यवसायी मात्रै नभएर सञ्चार माध्यमले पनि निकै ध्यान दिन आवश्यक रहेको बताए ।

    ‘हामीले प्रयोग गर्ने शब्दमा धेरै नै महत्व रहेको हुन्छ, त्यसभित्र केही जटिलता पनि हुन्छ’ उनले भने ‘यस्ता विषय सहजै बुझ्न र अरुलाई बुझाउनका लागि कानूनलाई उदृत गरियो भने धेरै राम्रो हुन्छ ।’ त्यसले उठान गरेका विषयको महत्व झल्कने अध्यक्ष घिमिरेको तर्क छ ।

    कार्यक्रममा अध्यक्ष घिमिरेले देश, जनताको श्री वृद्धिमा बारले सक्ने हरेक क्षेत्रबाट सहयोग गर्ने बताए ।

    कार्यक्रममा बारकी महासचिव अन्जिता खनालले आगामी दिनमा पनि सेजनसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् । ‘८ दिने तालिम पूर्ण होइन, यो कार्यक्रमले सञ्चारकर्मीहरू विषयमा विज्ञ बन्नुहुन्छ भन्ने होइन’ उनले भने ‘यस्ता तालिमले सचारकर्मीले उठाउने विषयहरू कानूनी रुपमा कसरी जोडिन्छन् भन्ने जानकारी लिन केही सहयोग भएको छ ।’

    कतिपय समयमा अदालतले गर्ने फैसला र सञ्चार माध्यममा आउने समाचारमा केही फरक पर्ने भएको स्मरण गर्दै सञ्चारकर्मीले कानूनी विषयमा बढी जानकारी राख्यो भने वास्तविक सूचना सम्प्रेषण हुने धारण राखिन् ।उनले आगामी दिनमा पनि सेजनसँग मिलेर यस्ता क्षमता अभिवृद्धि लगायतका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

    कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले सेजन र बारले आगामी दिनमा पनि क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने बताए । यो तालिमले सञ्चारमाध्यमले उठाउने विषयमा देखिने कानूनी जटिलतालाई सम्बोधन गर्न केही सहज हुने अध्यक्ष बरालले बताए ।

    ८ दिने तालिममा बैंक तथा वित्तीय कानून, विदेशी लगानी, अन्तर्राष्ट्रिय व्यापार, बीमा, वित्तीय कारोबार तथा करार, कर, बौद्धिक सम्पत्ति, मिडियासम्बन्धी कानून, सार्वजनिक खरिद कानून, कर्पोरेट, धितोपत्र बजारसँग सम्बन्धित ऐनका बारेमा विभिन्न वरिष्ठ अधिवक्ताहरूले तालिम दिएका छन् ।

    तालिम वरिष्ठ अधिवक्ताहरू मेघराज पोखरेल, सविता भण्डारी बराल, डा. गान्धी पण्डित, मात्रिका निरौला, शिवप्रसाद रिजाल तथा अधिवक्ताहरू अमरजिवी घिमिरे, सजनबरसिंह थापा, भरतकुमार लकाई, राजकुमार सुवाल, सन्तोष तिवारी, सेमन्त दाहाल, दीपक घिमिरे, धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले तालिम दिएका थिए ।

  • भाटभटेनी सुपरमार्केटमा पनि पस्यो महानगर, बेसमेन्टको बनेको संरचना हटाउन २४ घण्टे अल्टिमेटम

    भाटभटेनी सुपरमार्केटमा पनि पस्यो महानगर, बेसमेन्टको बनेको संरचना हटाउन २४ घण्टे अल्टिमेटम

    काठमाडौं । काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा रहेको संरचना हटाउन शुरु गरेको छ ।

    बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको हो । अन्डरग्राउन्डमा बनेका अवैध संरचना हटाउन नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोलीलाई भाटभटेनी आफैँले हटाउने भनेपछि २४ घण्टे अल्टिमेटम दिएर फर्किएको छ ।

    निरीक्षणमा निस्किएको नगर प्रहरीको साथमा डोजर पनि छ ।

    भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको बताइएको छ ।

    पछिल्लो समय महानगर विभिन्न ठाउँमा पार्किङका लागि निर्माण भएका बेसमेन्टको अनुगमन गरिरहेको छ ।

  • दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता

    दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ११.४७ अंकले घटेर १९२६.२८ विन्दुमा झरेको हो ।

    आइतवार २२१ कम्पनीको ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरको २५ लाख २४ हजार ६२५ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । विहीवार १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १समूहको परिसूचक बढेको छ भने १२ समूहको घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ ।

    यसको आज ३ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको छ ।

    नबिल बैकको ३ कारोड १७ लाखको कारोबार भएको छ । रिडी पावरको २ करोड ७५ लाख बढीको कारोबार भएको छ ।

    मैलुङखोला जलविद्युत्त कम्पनीको शेयरमुल्य ४.५६ प्रतिशतले बढेर प्रतिकित्ता ५०४ रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज सानिमा लार्ज क्याप फण्ड र छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

  • चीनले अघोषित नाकाबन्दीले नाकामै अड्किए अर्बौका सामान

    चीनले अघोषित नाकाबन्दीले नाकामै अड्किए अर्बौका सामान

    काठमाडौं । चिनियाँ नाकामा अड्किएका अर्बौका सामान छुटाउन राज्यका तर्फबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

    उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । नेपालीहरुको ठूलो चाड दशैं नजिएको तर दशैंमा बेच्नु पर्ने सामान नाकामै रोकिदा अर्बौका सामान सडेर बिग्रने अवस्थामा पुगेको महासंघका अध्यक्ष कुमार कार्कीले बताएका छन् ।

    ‘संयन्त्रका कारण उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नु परेको छ’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयौ मालवाहक कन्टेनरहरु नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रीत अर्बौका सामानहरु सडिने, कुहिने र बिग्रने भइ नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार देखिन्छ ।’

    महासंघले यी समस्याहरु तत्काल समाधान गर्न पहल गरिदिनु हुन पनि अनुरोध गरेको छ । धेरै उद्योगी व्यवसायीहरु बैंकको ब्याजदर तिर्न समेत नसक्ने अवस्थामा पुगेको महासंघले बताएको छ ।

    बैंकले दिएको मानसिक तनाबका कारण कतिपय उद्योगी व्यवसायीहरुले आत्महत्याको बाटो रोज्न बाध्य भएको भन्दै महासंघले यसतर्फ गम्भीर बन्न समेत सरकारलाई अनुरोध गरेको छ ।

    ‘व्यापार व्यवसाय गर्न सामान नाकामा थन्किएको, बैंकले ऋण चुक्ता गर्न बारम्बार ताकेता गर्दै सम्पत्ति लिलाम तथा जफथ गर्ने धम्की दिदै मानसिक तनाव दिइरहेको अवस्था छ’ विज्ञप्तिमा भनिएको छ, ‘यावत समस्याले गर्दा व्यवसायीहरु मानसिक सन्तुलन गुमाएर आत्महत्या गर्नुपरेको उदाहरणहरु छन् ।

    ’ बैंकको ब्याजदर अत्यधिक बढेको भन्दै बैंकको ब्याजदर नियन्त्रण गर्न समेत महासंघले नेपाल राष्ट्र बैंक समक्ष महासंघले अनुरोध गरेको छ ।

  • अमेरिकामा आतंकवादी हमलाको २१ वर्ष पुरा

    अमेरिकामा आतंकवादी हमलाको २१ वर्ष पुरा

    न्यूर्योक । अमेरिकाका विभिन्न शहरमा भएको आतङ्ककारी हमलाको आइतबार २१ वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २१औँ स्मृति दिवस मनाइँदैछ । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । यो दुर्घटनामा झण्डै तीन हजार जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए । संयुक्त राज्य मेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए ।

    अपहरणमा परेका विमान न्युयोर्क र वाशिङ्टनका भवनमा ठोक्काइएको थियो । आक्रमणको एक महिना नबित्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले आक्रमणमा संलग्न अल कायदालाई उन्मूलन गर्न र ओसामा विन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्न अनुमति दिएका थिए । पछि सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले लादेनलाई मारेको पुष्टि गरेका थिए । झन्डै दुई दशकपछि अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिएका छन् ।

  • गठबन्धनको बैठक आज पनि बस्दै, सिट बाँडफाँट अझै निस्किएन

    गठबन्धनको बैठक आज पनि बस्दै, सिट बाँडफाँट अझै निस्किएन

    काठमाडौं । गठबन्धनमा आवद्ध दलहरु सिट बाँडफाँट टुंग्गो लगाउन अझै असफल भएका छन् । दलहरुबीच आइतबार समेत यसबारे छलफल हुने भएको छ । कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको छ ।

    सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि अहिल्यै गठबन्धन टुट्ने सम्भावना भने नरहेको नेताहरूको दावि छ । शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौंबाहिर गएका कारण बैठक बस्न सकेको थिएन । नेताहरूले शनिबारको बैठकलाई भने निर्णायक बैठक भनेका थिए । तर सहमतिमा पुग्न सकेन । समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने दिन नजिकिँदा दलहरूलाई सिट बाँडफाँट टुंग्याउन दबाब बढेको छ ।

  • एएफसी यू–२० च्याम्पियनसिप छनोट : नेपाललाई भुटानले हरायो

    एएफसी यू–२० च्याम्पियनसिप छनोट : नेपाललाई भुटानले हरायो

    काठमाडौं । एएफसी यू–२० च्याम्पियनसिप छनोटमा नेपाल भुटानसँग पराजित भएको छ। बहराइनमा जारी एएफसी यू–२० च्याम्पियनसिप २०२३ को छनोट अन्तर्गत शनिबार भएको समूहको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोल अन्तरमा पराजित भएको हो।

    खेलको ३३ औं मिनेटमा सोनाम चोजाङको गोलमा भुटानले सुरूआती अग्रता लिएको थियो। पहिलो हाफमा १-० ले पछि परेको नेपाल दोस्रो हाफमा थप एक गोल खायो । दोस्रो हाफको सुरूवातमै भुटानले अग्रता दोब्बर पार्‍यो। कर्मा टासी जाम्सोले गोल गर्दै भुटानको अग्रता दोब्बर पारे। इन्ज्युरी समयको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटियो।

    अभिषेक वाइबालाई सोझै रातो कार्ड दिएर रेफ्रीले मैदान बाहिर पठाएका थिए। यो जितसँगै भुटानले सानदार प्रतियोगितामा विजयी सुरूआत गरेको छ। गत महिना सम्पन्न साफ यू–२० च्याम्पियनसिपमा तेस्रो भएको नेपाल पहिलो खेलमै पराजित भएको हो।

    छनोटको यो समूहमा नेपाल र भुटानसँगै कतार, आयोजक बहराइन र बंगलादेश छन्। बंगलादेश साफ यू–२० मा उपविजेता बनेको थियो। एएफसी यू–२० छनोटमा अब नेपालले सोमबार कतारको सामना गर्नेछ। खेल नेपाली समयअनुसार रातको ११ः४५ बजे हुनेछ।

  • यस वर्षको स्रोह श्राद्ध शुरु

    यस वर्षको स्रोह श्राद्ध शुरु

    काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार)देखि विधिवत् आरम्भ गरिंदैछ । आज एकै दिन प्रतिपदा र द्वितीया तिथिमा श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

    यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् ।

    कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् ।

    यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिए ।

    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् उनले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

    यसैगरी यस वर्ष असोज १ गते कुनै पनि तिथिको श्राद्ध नपरेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । भदौ ३१ गते सप्तमी तिथि श्राद्ध परेको छ । अष्टमी तिथि भने असोज २ गते परेको छ । असोज २ गते अष्टमी तिथि बढी परेकाले त्यस दिन अष्टमी श्राद्ध गर्नुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

    पुरोहितले आफू अनुकूल बिहानै श्राद्ध गर्नु शास्त्रसम्मत नहुने बताउनुहुँदै उहाँले अपराह्नकाल पारेर पिताका तिथिका दिन सोह्र श्राद्ध गर्नुपर्छ । यसका लागि प्रत्येक दिन कुन समयमा श्राद्ध गर्ने भन्ने तालिका बनाएर दिइएको तोयानाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले राससलाई जानकारी दिए ।

    पितृपक्षभर यही तालिकाका आधारमा श्राद्ध गर्न पनि सुझाव दिनुभयो । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृ तृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।