Category: फिचर

  • नवौं राष्ट्रिय खेलकुदमा क्रिकेटका खेलहरु आजबाट

    नवौं राष्ट्रिय खेलकुदमा क्रिकेटका खेलहरु आजबाट

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरूष क्रिकेट प्रतियोगिता आजबाट सुरू हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ। तर, पुरूष क्रिकेट भने अगाडि नै चल्नेछ । प्रतियोगिताको पहिलो दिन बिहीबार चार खेल हुदैछन् । दुई खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा र दुई खेल मुलपानी मैदानमा हुनेछन्। टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एनआरएनए नेपाल टिमले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

    खेल बिहान ९ः१५ बजे सुरू हुनेछ। टियुमै दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश १ को सामना गर्नेछ। मुलपानी मैदानमा आजै हुने पहिलो खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशको सामना गर्नेछ। सो मैदानमा दोस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशको सामना गर्नेछ। प्रतियोगितामा तीन विभागीय, सात प्रदेश तथा एनआरएन नेपालको टोली गरी ११ टिमको सहभागिता रहेको छ। सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

  • सत्ता गठबन्धनको कार्यदलले सकेन सिट बाडफाँट मिलाउन, जिम्मा शीर्ष नेतालाई

    सत्ता गठबन्धनको कार्यदलले सकेन सिट बाडफाँट मिलाउन, जिम्मा शीर्ष नेतालाई

    काठमाडौं । सत्ता गठबन्धनमा रहेको पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनाएको कार्यदलले आज आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउँदैछ । कार्यदलले ठोस निष्कर्ष भने निकाल्न सकेको छैन । बिहान नौ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने र शीर्ष नेताहरुलाई बुझाउने कार्यक्रम छ । साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    नेपाली कांग्रेसका पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो । तर सहमति नजुट्दा निर्धारित समयसीमामा कार्यदलले प्रतिवेदन बुझाउन सकेन । सहमति नजुटे बाँकी कामको जिम्मा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिइने छ ।

  • दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि, घटस्थापनादेखि रुट परमिट खुला

    दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि, घटस्थापनादेखि रुट परमिट खुला

    काठमाडौं। दशैँको लागि लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ असोज १ देखि खुल्ने भएको छ ।

    यातायात व्यवस्था विभागले यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज १ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

    टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने/गराउने सहमति भएको छ ।

    टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ ।

    टिकट लिन र यात्रु छुट्ने स्थानमा सामुदायिक प्रहरी,ट्राफिक प्रहरी, विभागसहितको हेल्प डेस्क रहने छ।

    यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। विभागले यसअघि असार २७ गते अन्तरप्रदेश भाडा समायोजन गरिसकेको छ। साेहीअनुसार भाडा लिनुपर्ने छ।

    यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूणिर्मासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने र तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार-प्रकारका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहने गरी सहमति भएको छ ।

    एकैपटक काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत केही वर्षदेखि दशैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ ।

  • जनार्दनले उपमहासचिव अस्वीकार गरेपछि प्रचण्ड–जनार्दनबीच घोचपेच

    जनार्दनले उपमहासचिव अस्वीकार गरेपछि प्रचण्ड–जनार्दनबीच घोचपेच

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेपछि प्रचण्डसँग सवाल जवाफ भएको छ ।

    बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका थिए ।

    शर्मा, महासचिवका दावेदार थिए । तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाएका थिए ।

    बुधबार अखिल क्रान्तिकारीको कार्यक्रममा यसर बारेमो ठूलै चर्चा भयो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्मा ‘प्रभाकर’ लाई हुर्काउन मुख्य भूमिका खेलेको दाबी गरेका छन् ।

    पार्टीको उपमहासचिव पद अस्वीकार गरेपछि प्रचण्डले जनार्दनको नामै किटान गर्दै भने, ‘जनार्दनले जाँदा जाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा, जर्नादनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो ।’

    उनले आफ्नो उत्तराधिकारी तयार पार्न खोजेको बताए । बुधबार अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेताहरूको रक्षा गर्ने र हुर्काउन आफूले मुख्य भूमिका खलेको समेत बताए ।

    ‘अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होऊन्, तिनले पार्टीलाई एकताबद्ध गरेर लैजाऊन्, तिनले तामाम क्रान्तिकारीलाई सही स्कुलिङ गरून् । र, हाम्रो विरासत, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाऊन्, ठूलो छाति लिएर सबै अगाडि बढून् भन्ने छ,’ उनले भनेका छन् ।

  • रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८२ करोडमा सीमित

    रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८२ करोडमा सीमित

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ ।

    साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) ११.९७ अंकले घटेर २१३९.८८ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२४ कम्पनीको ८२ करोड ६२ लाख ३० हजार ५८२ रुपैयाँ बराबरको २९ लाख ४३ हजार ७६९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ समूहको परिसूचक बढेको छ भने १२ समूहको घटेको छ । एक कम्पनीको शेयरमुल्यमा वृद्धि भएको छ । सनराइज फर्स्ट म्युचुअल फण्डको शेयरमूल्य ७.७२ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज प्राइम डिबेञ्चर र उन्नति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार प्राधिकरणको कम्पनीको भएको छ । यसको आज ५ करोड १५ लाखभन्दा बढीको कारोबार भएको छ ।

    हिमालय एभरेष्ट इन्सोरेन्सको ४ करोड ६१ लाख र रिडी पावरको ३ करोड बढीको कारोबार भएको छ ।

  • ‘सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवर्द्धन सम्भव’- मेयर साह

    ‘सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवर्द्धन सम्भव’- मेयर साह

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन्।

    नेपालमा भएका सम्पदाहरू संरक्षण गर्न सकेमात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने उनकाे भनाइ छ।

    इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौँ महानगरपालिकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरूको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताए।

    उनले भने, ‘महानगरले इन्द्रजात्रालाई काठमाडौँ महानगरपालिकाभित्र मात्रै नभएर नेपालभर र विश्वमा समेत गरी विश्वमा नै फैल्याउने उद्देश्य रहेको छ। देशको सौन्दर्य भनेकै मूर्त र अमूर्त सम्पदा हुन्।

    नेपाल पर्यटनमा धेरै अगाडि बढ्नसक्ने देश हो। नेपालमा भएका सम्पदा संरक्षण गर्न सक्यौँ भने मात्रै पनि पर्यटन क्षेत्रको राम्रो विकास गर्न सक्छौँ।

    नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा र परम्परा पर्वहरू आफैँमा पूजा गर्ने मात्रै नभएर मनोरञ्जन, उत्साह र उमङ्ग, खुसीसँग पनि जोडिएको हुनाले संरक्षण गर्नुपर्छ। काठमाडौँ उपत्यकाका तीन जिल्लाका पर्वहरूको छुट्टाछुट्टै महत्त्व रहेको छ। सबैलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्छ।’

    काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताइन्।

    उनले यसका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो गरिसकेको भन्दै अतिथिहरू बिहीबारबाट काठमाडौँ आउन थाल्ने जानकारी दिइन्।

    इन्द्रजात्रा कोभिडको कारण केही वर्ष मनाउन सकिएको थिएन। तर यो वर्ष भने स्वदेशी तथा विदेशी पाहुनाहरूलाई समेत बोलाएर जात्रा मनाउन लागिएको महानगरले जानकारी दिएको छ।

    राजधानी सहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको छ। काठमाडौँ उपत्यकामा बुधवारदेखि इन्द्रजात्रा विधिवत रूपमा सुरु भएको छ।

  • आजबाट काठमाडौंमा इन्द्रजात्रा शुरु

    आजबाट काठमाडौंमा इन्द्रजात्रा शुरु

    काठमाडौं । आजदेखि विधिवत् रुपमा इन्द्रजात्रा सुरु भएको छ । काठमाडौंमा मनाइने ठूलो पर्व आज बिहान हनुमानढोकामा यःसिं ठड्याएर जात्रा शुरु गरिएको हो । बेलुका काठमाडौंमा उपाकु यात्रा हुँदैछ । ईन्द्रजात्राको पहिलो दिन भाद्रशुक्ल द्वादशीमा उपाकु यात्रा गरिन्छ । आज दिउँसो लाखे, सवःभक्कु, पुलुकिसिलगायत विभिन्न मुखौटा लगाइएका नाचहरु पनि सार्वजनिक रुपमा प्रदर्शन गरिन्छ ।

    यसै क्रममा बेलुका काठमाण्डौका भित्री बस्तीमा यसवर्ष दिवंगत भएकाहरुका परिवारजनले दीपयात्रा निकालेर उपाकु यात्रा जाने चलन छ । त्यसका लागि काठमाण्डौ महानगरपालिकाले आवश्यक मार्गको व्यवस्थापन गरेको छ । उपाकु दीपयात्राका कारण काठमाण्डौ महानगरको भित्री शहरी क्षेत्र ठमेलदेखि टेकुसम्म र भोटाहिटीदेखि परोपकारसम्म बेलुका गाडी चलाउन रोक लगाएको छ ।

  • यूरोपको सबैभन्दा ठूलो परमाणु केन्द्रको सुरक्षालाई लिएर संयुक्त राष्ट्रसंघको गम्भीर चेतावनी

    यूरोपको सबैभन्दा ठूलो परमाणु केन्द्रको सुरक्षालाई लिएर संयुक्त राष्ट्रसंघको गम्भीर चेतावनी

    काठमाडौं–बीबसिी । युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र वरपर भएको गोलाबारीका कारण त्यहाँको रेडियोधर्मी विकिरणहरूको असीमित निकास हुनसक्ने र त्यस क्षेत्रमा रुसी सैन्य उपकरणहरूले गर्दा त्यसको सुरक्षालाई कमजोर पार्न सक्ने संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले चेतावनी दिएको छ। गत मार्च महिनादेखि युक्रेनको जापोरीजा केन्द्र रुसको कब्जामा छ र त्यहाँ पटकपटक आक्रमण भएका छन्। गत साताको अवलोकनपछि राष्ट्रसङ्घको नियामक निकाय आइएइएले त्यस केन्द्र वरपर सुरक्षित र संरक्षित क्षेत्रको निर्माणको आह्वान गरेको हो। उसले त्यहाँ तत्काल गोलाबारी रोकिनु पर्ने बताएको छ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त प्रतिवेदनलाई सकारे र यसले परमाणु ऊर्जा केन्द्रको वरपर रुसी सेनाको उपस्थिति, त्यहाँ युक्रेनी कर्मचारीहरूमाथि दबाव, र रुसी सैन्य कब्जाको स्पष्ट सन्दर्भहरूबारे उल्लेख गरिएको जनाए। उनले ूपरमाणु ऊर्जा केन्द्रको क्षेत्रूलाई निःशस्त्रीकरण गर्ने उद्देश्य हो भने सुरक्षित क्षेत्रलाई समर्थन गर्ने बताएका छन्। यस केन्द्र युक्रेन नियन्त्रित सहरहरू र सैन्य उपस्थितिभन्दा पर नीपर नदीको दक्षिणी किनारमा अवस्थित छ। जारी युद्धको दुवै पक्षले एकअर्कालाई उक्त केन्द्र निशाना बनाएको आरोप लगाउँदै आएका छन्।

    मङ्गलवार रुसले किएभलाई २४ घण्टामा तीनपटक उक्त क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको थियो। युक्रेनले रुसी सेनाले यसलाई निकट सहरहरूमा गोलाबारी गर्न प्रयोग गरेको बताएको छ। यद्यपि, रुसले भने उक्त ठाउँको सुरक्षा गरिरहेको दाबी गरेको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय भने कुनै पक्षमाथि दोष नथोपर्न सतर्क देखिएको छ।

    गत साता आइएइएका विज्ञहरूले त्यहाँको वास्तविक अवस्थाको मूल्याङ्कनका निम्ति निगरानी गर्दै गर्दा र निकायका प्रमुख रफायल ग्रोसीले पारमाणविक प्रकोपको वास्तविक जोखिमबारे चेतावनी दिँदै गर्दा पनि गोलाबारी जारी रह्यो। समूहका निगरानीकर्ताहरूले दुई दिनपछि केन्द्र छोडेको भए पनि यसका दुई जना अधिकारीहरू स्थायी रूपमा त्यहाँ रहने बताइएको छ।


    मङ्गलवार सार्वजनिक भएको प्रतिवेदनमा निकायले रुसी सैन्य नियन्त्रणमा रहेर काम गरिरहेका ९०७ जना कर्मचारीले भोगिरहेको अति तनावपूर्ण परिस्थितिहरूमाथि प्रकाश पारेको छ। त्यस्तै ती थकित कर्मचारीहरूलाई पारिवारिक सहायता र काम गर्ने उपयुक्त वातावरणको व्यवस्था गरिनु पर्ने कुरामा जोड दिइएको छ। आइएइएले केन्द्रमा भएको क्षतिको विस्तृत विवरण दिँदै निरन्तर भएको गोलाबारीका कारण हालसम्म पारमाणविक आपत्काल ननिम्तिए पनि यसको सुरक्षाबारे खतराको सङ्केत दिएको बताएको छ। सुरक्षामा गम्भीर असर पर्ने गरी रेडियोधर्मी परिणामहरू निम्त्याउन सक्ने उसले उल्लेख गरेको छ।

    रुसी सेना, सैन्य सवारीसाधन र उपकरणहरू केन्द्रको वरिपरि देखिएका थिए र धेरै सैन्य ट्रकहरू केन्द्रका ६ वटा मध्ये दुईवटा टर्बाइन हलभित्र रहेको निकायले जनाएको छ। उसले त्यस क्षेत्रमा सैन्य उपकरणहरू र त्यस महत्त्वपूर्ण क्षेत्र नजिक हुने झडपहरूले केन्द्रको सुरक्षा प्रणालीलाई कमजोर बनाएको चेतावनी दिएको छ। र, सुरक्षा प्रणालीहरूमा हस्तक्षेप गर्न सक्ने सवारीसाधनहरू हटाउन आह्वान गरेको छ।

    नियामक संस्थाका अनुसार कर्मचारीहरूले केन्द्रको चिस्यान पोखरीहरू भ्रमण गर्न रुसी सेनाबाट अनुमति लिनुपर्‍यो। उसले रुसको पारमाणविक निकाय रोसाटोमका अधिकारीहरूको उपस्थितिको आलोचना समेत गरेको छ। उक्त उपस्थितिले प्रमुख निर्णयहरू लिनुपरेको अवस्थामा द्वन्द्व निम्त्याउन सक्ने बताइएको छ। संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूतले आइएइएले कब्जा गरिएको परमाणु केन्द्रमा गोलाबारी गरेकोमा युक्रेनलाई दोष दिनुपर्ने बताए।

    तपाईँको प्रतिवेदनमा गोलाबारीको स्रोतको प्रत्यक्ष नाम नहुनुप्रति हामी खेद प्रकट गर्दछौँ, भसिली नेबेन्ज्याले सुरक्षा परिषद्को बैठकमा भर्चुअल उपस्थितिमार्फत् भने। जापोरीजा केन्द्रमा ६ वटा रियाक्टर भएपनि युद्ध सुरु भए यता दुई वटा मात्र सञ्चालित थिए। र हाल तीमध्ये पनि एउटाले मात्रै काम गरिरहेको छ।

  • बलात्कार मुद्दामा पलले पाए सफाई, बाल यौनदुराचारको मुद्दामा साढे २ वर्ष जेल

    बलात्कार मुद्दामा पलले पाए सफाई, बाल यौनदुराचारको मुद्दामा साढे २ वर्ष जेल

    काठमाडौं । अभिनेता पल (पूर्णविक्रम) शाहले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले उनलाई सफाई दिएको हो । तर बाल यौन दुरुपयोगको मुद्दामा भने उनले साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना भोग्नु पर्ने भएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि नभएपनि यौनजन्य अस्वभाविक व्यवहार देखाएको ठहर अदालतले गरेको छ ।

    पल स्वयंमले आफू मदिरा सेवन गरेको तथा घटना भएको भनिएको दिन नाबापलका एक्लै सुत्न डराएको भनि भोलिपल्ट बेलुका एक्लै सुत्न डर लाग्छ लाग्दैन भनेर सोधपुछ गरेको स्वीकार गरेको र मेसेज लगायतका अन्य गतिविधिमा छलफल भन्दै पटकपटक भेटघाट गरेको देखिएको भन्दै अदालतले सो फैसला सुनाएको हो ।

    ‘मसँग कोही कसैले नजिक हुने चाहना राख्यो भन्दै त्यसलाई स्वीकार गरी वार्तालाप लगायतका नाबालिकासँग मेसेज लगायतका अन्य गतिविधिमा छलफल भन्दै पटकपटक भेटघाट गरेको देखिँदा मुलुकी अपराध संहिता २०७४ को दफा २२५(२) मा उल्लेखित अन्य कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेको देखिँदा यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले मुलुकी अपराध संहिताको दफा २२५ (२) विपरितको बाल यौन दुरुपयोगको कसुर अपराध गरेको ठहर्छ ।’ फैसलामा उल्लेख छ ।

    फैसलामा पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन समेत भनिएको छ । अदालतले पीडितको अभिभावकलाई पनि सचेत गराएको छ । उमेर नपुगेको नाबालक छोरीलाई गायन र अभिनय क्षेत्रमा एक्लै छाडेको र आफूले पुरा गर्नुपर्ने अविभावकीय कर्तव्यबाट च्युत रहेका कारण यौन दुव्यर्वहार भएको भन्दै अदालतले ‘जाहेरवाला (पीडितका बाबु)लाई आगामी दिनहरुमा आफ्नो अविभावकीय कर्तव्य वहन गर्न र नाबालक छोरीलाई आफ्नो पूर्ण संरक्षणमा राख्न सचेत गराइन्छ ।’


    गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो । पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।

    त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो । रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको आरोपपत्रमा उल्लेख थियो ।

  • नेपाली क्रिकेट टीमका कप्तान लामिछानेमाथि बलात्कारको संघीन आरोप, प्रहरीमा पर्यो उजुरी

    नेपाली क्रिकेट टीमका कप्तान लामिछानेमाथि बलात्कारको संघीन आरोप, प्रहरीमा पर्यो उजुरी

    काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जबरजस्ती करणीको कसूरमा उजुरी परेको छ । उनीमाथि १७ वर्षकी नाबालिगमाथि बलत्कार गरेको संघीन आरोप लागेको हो । सन्दीप अहिले क्यारेवियन लीग खेलिरहेका छन् । प्रहरीका अनुसार लामिछानेले १७ वर्षकी नाबालिगलाई बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी आएको हो । घटना ५ भदौको हो । उनले निजी कारमा पीडित बालिकालाई लिन उनको होस्टल छेउ पुगेका थिए ।

    अपरान्ह उनलाई लिन पुगेका सन्दिपले घुम्न भन्दै नगरकोट लगेका थिए । त्यहाँ खाजा खाएर फर्किँदा राति १० बजेको बताइएको छ । उनले होस्टल राति ८ बजे बन्द हुन्छ भनेकी थिइन् । तर लामिछानेले वेवास्ता गर्दै रातिसम्म राखेको उजुरीमा उल्लेख छ । फर्किँएर आउँदा काठमाडौंको एक होटलमा बसेको र राति दुई पटक बलात्कार गरेको पीडितको भनाइ छ । प्रहरीले मंगलबार नै पीडितको स्वास्थ्य परीक्षण गराएको छ ।

  • १७ संस्थालाई कर बुझाउन महानगरको १० दिने अल्टिमेटम, कुन-कुन परे ?

    १७ संस्थालाई कर बुझाउन महानगरको १० दिने अल्टिमेटम, कुन-कुन परे ?


    काठमाडौं। काठमाडौं महानगरपालिकाले विभिन्न १७ वटा संस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ।

    महानगरपालिकाको राजस्व विभागले मंगलवार पत्र लेख्दै कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो।

    सम्पत्ति कर नबुझाउनेमा हाइट फिल स्कूल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स रहेको छ ।

    त्यस्तै कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामग्री संस्थान, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, आरवि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल प्रालि र डेन्टल कलेज रहेका छन्।

    यी संस्थाले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।

  • विनोद चौधरीको नाम दुई जिल्लाका तीन ठाउँबाट सिफारिस

    विनोद चौधरीको नाम दुई जिल्लाका तीन ठाउँबाट सिफारिस

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ ।

    प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य चौधरीको नाम नवलपरासीको क्षेत्र नम्बर १ का साथै नवलपुर निर्वाचन क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको हो ।

    नवलपरासी १ मा कांग्रेस नेता चौधरीसहित पाँचजनाको नाम सिफारिस भएको छ । नवलपुर क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले निर्वाचन लड्दै आएका छन् । उनी तीनपटक यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुन् । यसपटक पनि पूर्वमहामन्त्री कोइरालाले निर्वाचन लड्ने आकांक्षा राखेका छन् ।

  • माओवादी सांसद गजेन्द्र महतको आरोप-‘चोलेन्द्रले स्मरण शक्ति गुमाए, विशेषज्ञ चिकित्सकबाट जाँच गरौं’

    माओवादी सांसद गजेन्द्र महतको आरोप-‘चोलेन्द्रले स्मरण शक्ति गुमाए, विशेषज्ञ चिकित्सकबाट जाँच गरौं’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले महाभियोग सिफारिस समितिमा गलत बयान दिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन् ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा महतले प्रधानन्यायाधीश जबराले पूर्वाग्रही बयान दिएको भन्दै विशेषज्ञ चिकित्सकबाट मानसिक स्वास्थ्य जाँच गराउन माग गरेका हुन् ।

    उनले भने भने,‘न्यायालयको बोझ सावित भइसकेका चोलेन्द्रले पूर्वाग्रही, आवेगमा आएर, स्मरण शक्ति गुमाएर, चरित्रहत्या गर्ने र कसैको जयजयकार गर्ने गरेकोले कानूनमा भएको व्यवस्थाअनुसार विशेषज्ञ चिकित्सकबाट उनको मानसिक स्वास्थ्य जाँच गर्न समितिको ध्यानाकर्षण गराउँछु ।’ महतले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजीनामा गरेर जाँदा प्रतिनिधिसभाको बोझ कम भएको टिप्पणी गरे ।

  • दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता

    दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा झरेको हो ।

    मंगलवार २२७ कम्पनीको १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६१२ रुपैयाँ बराबरको ३२ लाख ९ हजार ९८३ कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा सुधार आएको छ । सोमवार ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ समूहको परिसूचक बढेको छ भने १२ समूहको घटेको छ । एक कम्पनीको शेयरमुल्यमा वृद्धि भएको छ उन्नती लघुवित्त कम्पनीको शेयरमुल्यु ९.६८ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज सानिमामाई हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । हिमालय एभरेष्ट इन्सोरेन्सको ६ प्रतिशले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालय एभरेष्ट इन्सोरेन्सको कम्पनीको भएको छ । यसको आज ९ करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ ।

    रिडी पावरको ९ करोड ११ लाख र सानिमामाई हाइड्रोपावरको ८ करोड ५५ लाख बढीको कारोबार भएको छ ।

  • केयुकेएलले तोड्यो चिनियाँ निर्माण कम्पनी होल्डिङसँगको ठेक्का

    केयुकेएलले तोड्यो चिनियाँ निर्माण कम्पनी होल्डिङसँगको ठेक्का

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चीनको निर्माण कम्पनी होल्डिङसँगको ठेक्का तोडेको छ ।

    चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो ।

    उक्त कमपनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता गरेको थियो ।

    कम्पनीसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा गरी प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरु २ वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म संचालन गर्ने गरी सन् २०१७ को जनवरी २६ मा सम्झौता भएको थियो ।

    तर, उक्त कम्पनीले फोहोरपानी प्रशोधन केन्द्रहरुको निर्माण कार्यलाई सम्झौता बमोजिम अघि नबढाएको र तोकिएको समयमा निर्माण सम्पन्न गर्न बारम्बार ताकेता गरिनुका साथै पाँच पटकसम्म म्याद थप गरी पछिल्लो पटक यही सन् २०२२ को जुलाई ३१ सम्म समय दिँदा समेत सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नगरेका कारण सँगको सम्झौता अन्त्य गरिएको हो ।

    फोहोरपानी प्रशोधन केन्द्र निर्माणमा असफल देखिएको, निर्माण स्थलमा कम्पनीका आधिकारिक प्रतिनिधि तथा मुख्य व्यक्ति अनुपस्थित रहेको, सम्झौता अनुसार काम नगरेको, बीमालेख नवीकरण नगरेको, सम्झौता उल्लंघन गरेको र एक्ष्म् बाट दिइएका निर्देशनलाई बेवास्ता गरेको कारणले सम्झौता अन्त्य गरिएको ई. चन्द्रकुमार पाँ श्रेष्ठद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    तीनवटै फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि उक्त कम्पनीसँग कूल लागत रु. ३ अर्ब ९२ करोडमा सम्झौता भएकोमा उक्त कम्पनीले सम्झौता बमोजिम बैङ्क ग्यारेन्टीस्वरुप राखेको करिव रु। ४९ करोड धरौटी रकम जफत गरिएको छ ।

    उक्त कम्पनीले थपिएको अवधि समेत गरी ५ वर्ष ३ महिनामा जम्मा २७।१ प्रतिशत मात्र काम गरेको छ भने करिव रु. ७७ करोड २७ लाख भुक्तानी लगेको छ ।

    अब, तीनवटै फोहोरपानी प्रशोधन केन्द्रहरुको बाँकी निर्माण कार्य नयाँ ठेक्का प्रक्रियाबाट छिटोछरितो ढंगले अघि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • आगामी चुनावमा १० हजार ८८८ मतदानस्थल

    आगामी चुनावमा १० हजार ८८८ मतदानस्थल

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८८८ मतदानस्थल निश्चित गरेको छ । यसअघिको चुनावको भन्दा १३२ धेरै मतदान स्थल भ्थप भएका छन् यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा समग्रमा १ हजार १२३ मतदानस्थलमा केही न केही परिवर्तन गरिएको छ । देशभरका ४०१ मतदान स्थललाई हटाइ नयाँ मतदानस्थल निर्धारण गरिएको छ ।

    मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरिएको आयोगले जनाएको छ । साविकका ३६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३६४ मतदानस्थल निर्धारण गरिएको छ भने १६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १६९ मतदानस्थल निर्धारण गरिएको छ ।

    आयोगका अनुसार २८ वटा मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदान स्थलमा र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको छ । मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदानस्थल पुनरावलोकन गरिएको हो ।

    मतदान स्थल पुनरावलोकन भए पश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिंड्नुपर्ने लगायतको गुनासो समेत सम्बोधन भई मतदातालाई मतदान स्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगको रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् ।

  • त्रिपुरेश्वरको डिजिटल बोर्ड हटाउने बालेनको निर्णयमा अदालतको रोक

    त्रिपुरेश्वरको डिजिटल बोर्ड हटाउने बालेनको निर्णयमा अदालतको रोक

    काठमाडौं । उच्च अदालत पाटनले वर्ल्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय होर्डिङ बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ। शकुन्तलाल हिराचनले दिएको रिटमा न्यायाधीश श्यामजी प्रधानको इजलासले बुधबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले बुधबार दुवै पक्षलाई उपस्थित हुन भनेको छ ।

    रिट निवेदक र महानगर दुवै पक्षको बहस सुनेर यो विषयमा अन्तरिम आदेश हुने वा नहुने निर्णय हुने ताइएको छ । आफूसँग गरेको सम्झौता विपरीत महानगरले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको भन्दै सो निर्णय बदर गर्न माग गर्दै हिराचन उच्च अदालत पाटन गएका थिए।

  • चीनमा विनासकारी भूकम्प, कम्तिमा ४६ जनाको मृत्यु भएको पुष्टी

    चीनमा विनासकारी भूकम्प, कम्तिमा ४६ जनाको मृत्यु भएको पुष्टी

    काठमाडौं\एजेन्सी । चीनमा सोमबार शक्तिशाली भूकम्प गएको छ । जसमा परी कम्तिमा ४६ जनाको मृत्यु भएको पुष्टी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । १६ जना वेपत्ता भएको र दर्जनौ घाइते भएको समेत समाचारमा उल्लेख छ । स्थानीय समय अनुसार सोमबार दिउँसो १ बजे भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।

    भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिमस्थित दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ। भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ। सरकारी सञ्चार माध्यम सिसिटिभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ।

    भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दूरसञ्चार सेवा अवरूद्ध भएको छ। चिनीयाँ अधिकारीका अनुसार पहाडबाट ढुंगा र माटो खसेपछि सडक र बिजुली अवरुद्ध भएको छ।

  • पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

    पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहा गर्न निर्देशन दिएका छन्।

    गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

    पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा दुर्व्यवहार भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर पाँच दिन म्याद लिएर हिरासतमा राखेको छ।

    दुर्ब्यवहारको आरोपमा प्रमुख जिल्ला अधिकारीले धरौटी लिएर हिरासतमुक्त गर्न सक्ने कानुनी प्रावधान छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले आइतबार हिरासतमा राखेको छ।

    भिएसएफमा बायोमेट्रिक लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो।

  • झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ९० करोडमा खुम्चियो

    झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ९० करोडमा खुम्चियो

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४.२९ अंकले घटेर १९७३.१ विन्दुमा झरेको हो ।

    सोमवार २२४ कम्पनीको ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँ बराबरको २४ लाख ४४ हजार ३४४ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ समूहको परिसूचक बढेको छ भने ११ समूहको घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ आइतवार १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    एक कम्पनीको शेयरमुल्यमा वृद्धि भएको छ मैलुङखोला जलविद्युत कम्पनीको शेयरमुल्यु ७.४३ प्रतिशतले बढेर प्रतिकित्ता ४९३.३० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज रुरु जलविद्युत्त परियोजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ९ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ ।

    हिमालय एभरेष्ट इन्सोरेन्सको ४ करोड ५९ लाख, नबिल बैंकको ४ करोड ५६ लाखको कारोबार भएको छ ।

  • बैंकहरुको निक्षेपमा सुधार, एकैपटक थपियो ११ अर्ब ३० करोड रुपैयाँ

    बैंकहरुको निक्षेपमा सुधार, एकैपटक थपियो ११ अर्ब ३० करोड रुपैयाँ

    काठमाडौं । दसैँ, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै वाणिज्य बैंकहरूको निक्षेपमा सुधार आएको छ ।

    असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेपमा चाडपर्वहरू नजिकिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा सुधार आएको हो।

    नेपाल बैंकर्स संघका अनुसार भदौंको तेस्रोसाता गत साताभन्दा ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप थपिएको बैंकर्स संघले जनाएको छ।

    भदौको दोस्रो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेस्रोसातामा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ पहिलो सातामा भने उक्त निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमै सीमित थियो ।

    त्यस्तै, समीक्षा अवधिमा कर्जा लगानी पनि एक अर्ब रुपैयाँले बढेको छ । अघिल्लो साता ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।

    निक्षेप बढेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेर ८८.२५ प्रतिशतमा झरेको छ । अघिल्लो साता उक्त रेसियो ८८.४२ प्रतिशत थियो ।

  • गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा तीन जनाको नाम सिफारिस, प्रदीप ज्ञवाली सर्वसम्मत

    गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा तीन जनाको नाम सिफारिस, प्रदीप ज्ञवाली सर्वसम्मत

    गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण बिष्टको निर्वाचन क्षेत्रमा विष्टसहित तीन जनाको नाम सिफारिस भएको छ ।

    एमालका दुई पदाधिकारी रहेका गुल्मीका प्रदीप ज्ञवाली क्षेत्र नं १ मा एकल सिफारिसमा परेका छन् । । क्षेत्र नं २ बाट विष्टको स्थानमा तीन जनाको सिफारिस भएको छ ।

    केन्द्रीय उपमहासचिव रहेका सांसद ज्ञवालीलाई पुनः सोही क्षेत्रमा उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको हो ।

    गुल्मीको रिडीमा सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले छत्रकोटका सचिव यज्ञ पाण्डेले जानकारी दिए ।

    क्षेत्र नम्बर २ मा भने पार्टी सचिव बिष्टसहित प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस भएको हो । क्षेत्र नम्बर २ को क प्रदेश सदस्य उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, रेसुङगा नगरपालिकाका पूर्वमेयर डिल्लिराज भुसाल, र मुसिकोटका पूर्वमेयर सोमनाथ सापकोटा, पूर्वउपमेयर सिता भण्डारी , मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस भएका छन् ।

    प्रदेश ख मा केन्द्रीय सदस्य, दिनेश पन्थी, अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेका नकपा एमाले गुल्मीले जनाएको छ ।

  • क्यानडामा अन्धाधुन्ध चक्कु प्रहारबाट १० जनाको हत्या

    क्यानडामा अन्धाधुन्ध चक्कु प्रहारबाट १० जनाको हत्या

    काठमाडौं । क्यानडामा अन्धाधुन्ध चक्कु प्रहार गरी १० जनाको हत्या गरिएको छ । १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको भन्दै प्रहरीले फोटो सार्वजनिक गरेको छ ।

    उनीहरुको आक्रमणको उद्देश्य खुलेको छैन । उनीहरु कालो कार चढेर भागेको र पक्राउ गर्न खोजी अभियान चलाइएको प्रहरीको भनाई छ । हतियार बोकेका उनीहरुलाई प्रहरीले खतरनाक भनेको छ । प्रहरीले स्थानीयवासीलाई घर भित्रै रहन सूचित गरेको छ ।

    प्रहरीले ट्वीट गरेर भनेको छ, ‘सुरक्षित स्थानबाट बाहिर ननिस्किनुस् र सतर्कताका लागि घरमा अरु कसैलाई आउन नदिनुस् ।’ प्रहरीले चालकहरुलाई पनि कसैलाई लिफ्ट नदिन भनेको छ ।

    प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर चेकिङमा कडाइ गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस आक्रमणलाई भयावह भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले ज्यान गुमाएकाका आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • सुरक्षागार्डसँग झगडा गरेपछि पर्यटनमन्त्री श्रेष्ठ आलोचित, गार्डलाई ५ दिन थुनामा राख्न अनुमती

    सुरक्षागार्डसँग झगडा गरेपछि पर्यटनमन्त्री श्रेष्ठ आलोचित, गार्डलाई ५ दिन थुनामा राख्न अनुमती

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठसँग सुरक्षागार्डसँगको झगडामा आलोचित बनेका छन् । त्यसमाथि शक्तिको दम्भ देखाउँदै गार्डलाई पक्राउ गराएको भन्दै उनको आलोचना भएको हो । मन्त्रीसँगको विवादमा मुछिएका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

    जिल्ला प्रशासनले आइतबार छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजङ्ग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । क्यानडा जान श्रीमतीको बायोमेट्रिक गराउन गत शुक्रवार ठमेलमा रहेको छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए ।

    मन्त्री आउने पूर्व जानकारी नभएको भन्दै सुरक्षागार्ड गुरुङले अरु सेवाग्राही जस्तै उनले पनि लाइनमा बस्नु पर्ने बताएपछि विवाद भएको हो । त्यसपछि मन्त्रीका पीएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा धकेलाधकेल भएको बताइएको छ । प्रहरीले गुरुङलाई शुक्रवार नै पक्राउ गरेको हो ।

  • देशैभर फैलियो डेङ्गी, सतर्क रहन आह्वान

    देशैभर फैलियो डेङ्गी, सतर्क रहन आह्वान

    काठमाडौं । मनाङ र हुम्लाबाहेक नेपालका ७५ वटा जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसको ठूलो प्रकोप ललितपुर र काठमाडौंमा देखिएको छ । ललितपुरका कतिपय परिवारका सबै सदस्यमा डेङ्गी देखिएको छ । देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेङ्गी भएको मन्त्रालयको तथ्याङ्क छ । यसमध्ये सबैभन्दा धेरै ललितपुरमा १ हजार ८ सय ३२ जना छन् भने काठमाडौंमा ८ सय ८८ जना छन् ।

    डेङ्गीको सङ्क्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि सङ्क्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाले जनाएको छ । डेङ्गीको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा महाशाखाले विज्ञहरुसित छलफल थालेको छ ।

    अझै दुई महिना डेङ्गीको सङ्क्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् । समुदायमा डेङ्गी फैलिरहेकाले घर परिवार र समुदाय सचेत हुनुपर्नेमा विज्ञको जोड छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न विज्ञको सुझाव छ ।

    कोठामा सजाएर राखिएका फूलदानीमा पनि डेङ्गी सार्ने लामखुट्टेले फुल पार्ने हुँदा बेलाबेला पानी फाल्न र सफा गरिरहनु पर्छ । लामखुट्टे नियन्त्रण नै डेङ्गी रोकथामको मुख्य उपाय हो । यसैबीच, ज्वरो आउनासाथ र जिउ दुख्नासाथ जथाभाबी औषधि नखान पनि डाक्टरको सुझाव छ ।

  • किन लम्ब्याउन खोजिदैछ संसदको कार्यकाल ?

    किन लम्ब्याउन खोजिदैछ संसदको कार्यकाल ?

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने गरी सरकारले संसदमा विधेयक दर्ता गरेको छ । चुनावपछि पनि कार्यकाल कायमै राखेर तलबभत्ताको नाममा राज्यकोष दोहन गर्न खोजिएको भन्दै सरकारको यो कदमको भने विरोध भएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले उम्मेदवारी मनोनयन दर्तापछि संसद्को कार्यकाल अन्त्य हुने प्रावधान राख्नुपर्ने बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनले भने संसद्को आयु लम्ब्याउने कामलाई अनैतिक भन्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरे । कांग्रेस र माओवादीका सांसदहरुले भने विधेयकको समर्थन गरेका छन् । मन्त्रिपरिषदबाट पारित भएर हिजो प्रतिनिधि सभामा पेस भएको विधेयकमा प्रतिनिधि सभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनदेखि गणना गर्ने र नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बसेको दिनदेखि अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त हुने उल्लेख छ ।

  • असन र ईन्द्रचोक क्षेत्र वरपरमा मन्दिर तथा सम्पदामा भइरहेका अवैध व्यापार हटाइने

    असन र ईन्द्रचोक क्षेत्र वरपरमा मन्दिर तथा सम्पदामा भइरहेका अवैध व्यापार हटाइने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान शुरु गरेको छ।

    काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ कार्यालयले सूचना जारी गर्दै २४ घन्टाभित्र इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन अल्टिमेटम दिएको हो।

    २५ वडाका अध्यक्ष राजेश शाक्यले इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन अल्टिमेटम दिएका हुन्।

    वडाले यसअघि पनि पटक–पटक हटाउन माइकिङ्ग अनुरोध गर्दै आएको थियो । वडा नं। २५ का अध्यक्ष राजेश डंगोलले निरन्तरको आग्रहलाई नमानेपछि सूचना निकालको बताए ।

    उनले पछिल्लो आग्रहलाई नेटेरे प्रहरी लगाएर खाली गराइने बताएका छन् । उनले मन्दिर तथा सम्पदामा व्यापार गर्न नदिइने स्पष्ट पारे ।

    उक्त क्षेत्रमा रहेका सन्तानेश्वर महादेव मन्दिर, भवानी शंकर मन्दिर क्षेत्र, असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ(बायाँ रहेका पसलहरु हटाउन अल्टिमेटम दिइएको हो।

  • सातवटा क्यासिनोलाई कर बुझाउन महानगरको अल्टिमेटम, नतिरे कारबाहीको चेतावनी

    सातवटा क्यासिनोलाई कर बुझाउन महानगरको अल्टिमेटम, नतिरे कारबाहीको चेतावनी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर बुझाउन अल्टिमेटम दिएको छ ।

    आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न आग्रह गरेको हो ।

    महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीद्धारा जारी विज्ञप्तिमा प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने जनाइएको छ ।
    यी क्यासिनोलाई कर बुझाउन पटकपटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५र०७६ देखि नै नबुझाएको महानगरले जनाएको छ ।

  • झिनो अंकले बढ्यो नेप्से, रुरु जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले बढ्यो नेप्से, रुरु जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा झरेको हो ।

    आइतवार २२७ कम्पनीको १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ समूहको घटेको छ । दुई कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । रु रु जलविद्युत्त कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य ९।१८ प्रतिशतले बढेर प्रतिकित्ता ४३३ रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी वापर कम्पनीको भएको छ । यसको आज ८ करोड ९१ लाखभन्दा बढीको कारोबार भएको छ ।
    नेपाल दूरसञ्चार कम्पनीको ६ करोड ५३ लाख र नविल बैंकको ६ करोड ५३ लाखकको करोबार भएको छ ।

  • राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले दिए सांसद पदबाट राजीनामा

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले दिए सांसद पदबाट राजीनामा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राजीनामा घोषणा गरेका हुन्।

    निर्वाचन घोषणा भइसके पनि सेवा सुविधा लिने र संसद्को कार्यकाल लम्ब्याउन खोजिएको भन्दै राजीनामा घोषणा गरेको बताए ।

    ‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस्,’ उनले भने।

    संसदको म्याद चुनावपछि पनि लम्ब्याउन काम अनैतिक भएको उनले बताए। पाँच वर्षको कार्यकालमा नीतिगत रुपमा आफ्नो उपेक्षा गरिएको अनुभव भएको उनले बताए।